निर्णय नं. ११३०० - उत्प्रेषणयुक्त परमादेशसमेत

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
आदेश मिति : २०७९।१०।१६
०७८-WO-०१२५
विषयः- उत्प्रेषणयुक्त परमादेशसमेत
निवेदक : जनहित संरक्षण मञ्चको तर्फबाट र आफ्नो हकमा समेत जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.१ बस्ने संजय अधिकारी
विरूद्ध
विपक्षी : नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंसमेत
रेट्रोफिटिङ गर्ने वा जीर्णोद्धार गर्ने भन्ने जस्ता कार्यहरू नितान्त प्राविधिक विषय भएकोले यस्तो विषयमा प्राविधिक तवरले प्रमाणित भएमा बाहेक भावनात्मक रूपमा दिइएको सल्लाह र सुझावको खासै अर्थ नरहने । सरसर्ती हेरेर वा अवलोकन गरेर बनाइएको धारणाभन्दा पनि सो घरका सम्बन्धमा गरिएको प्राविधिक जाँच र परीक्षणबाट सो घर संरक्षणका लागि सुदृढीकरण (retrofitting), जीर्णोद्धार (restoration) वा पुनर्निर्माण (reconstruction) मध्ये के कुन पद्धति प्रयोग गर्न उपयुक्त हुने हो भन्ने सम्बन्धमा विज्ञ एवम् प्राविधिकहरूले निकालेको निष्कर्ष नै महत्त्वपूर्ण र स्वीकारयोग्य हुने । विना प्राविधिक आधार र कारण निवेदकले विज्ञलाई उद्धृत गर्दै व्यक्त गरेको कथनको भरमा महाकवि देवकोटाको घर रेट्रोफिटिङ वा जीर्णोद्धार पद्धतिबाट नै दुरूस्त तुल्याउन सम्भव हुने भनी अर्थ गर्न मनासिब नहुने ।
(प्रकरण नं.३)
पुरानोपन बोकेको घर हो भन्दैमा सबै घर पुरातात्विक महत्त्वका नहुने । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले पनि विशिष्ट व्यक्ति बसोबास गरी आएको भन्ने आधारमा नै त्यस्तो घरलाई पुरातात्विक वस्तु मानिने । यस दृष्टिले महाकवि देवकोटालाई कविकुञ्जको सापेक्षतामा नहेरी महाकवि देवकोटाको निवास रहेको कविकुञ्जलाई महाकवि देवकोटाको सापेक्षतामा हेर्नु वाञ्छनीय हुने ।
(प्रकरण नं.६)
निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री पंकजकुमार कर्ण र श्री संजय अधिकारी
विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली, विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिप्रसाद उप्रेती र श्री नरेन्द्रप्रसाद पाठक, विद्वान् अधिवक्ता श्री शंकरप्रसाद पुडासैनी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्राचीन स्मारक संरक्षण ऐन, २०१३
जग्गा प्राप्ति ऐन, २०३४
आदेश
न्या.तिलप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा ४६ एवम् धारा १३३ को उपधारा (१) र (२) बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त बेहोरा र आदेश यसप्रकार छः-
निवेदनको संक्षिप्त तथ्य
ऐतिहासिक एवम् पुरातात्विक सम्पदाहरू राष्ट्रका लागि धरोहर हुन्छ र यिनैबाट ती राष्ट्रहरू कति सभ्य, सम्पन्न र विपन्न र अविकसित भनी आँकलन पनि गर्न सकिन्छ । पूर्वजबाट निर्मित सम्पदा तथा नेपालको इतिहासमा अमूल्य योगदान गर्ने व्यक्तित्वहरूको घर तथा तिनले प्रयोग गरेको सरसामानको संरक्षण गर्दै तिनलाई भावी पुस्तामा जस्ताको त्यस्तै हस्तान्तरण गर्नु वर्तमान पुस्ताको कर्तव्य हो । इतिहाससँग राष्ट्रको अतित जोडिएकोले ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक सम्पदाहरूले हामीलाई अतीतका बारेमा बुझ्न मद्दत गरिरहेको हुन्छ । तिनमा जनताको भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ । त्यसैले ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक धरोहरको बारेमा हामीले युवा पुस्तालाई जानकारी गराउनुपर्छ । नत्र कालान्तरमा आफ्नो पहिचान हराउँदै जाने र बिस्तारैबिस्तारै अस्तित्व नै खतरामा आउन सक्ने हुँदा यस्तो विषय सबैको साझा सरोकारको विषय हो । राजनीतिक स्वाधीनता पुनः प्राप्त गर्न सकिन्छ तर ऐतिहासिक तथा सांस्कृतिक स्वाधीनता गुमेपछि असम्भव प्रायः हुन्छ । २०१३ सालमा प्राचीन स्मारक संरक्षण ऐन जारी भएबाट यस विषयमा हाम्रा पुर्खाहरू गम्भीर थिए भन्ने स्पष्ट छ । सोही कारण नेपालले राजनीतिक स्वाधीनतासमेत गुमाउनु परेको छैन । सम्मानित सर्वोच्च अदालतले समेत भइरहेको भौतिक स्वरूप र मौलिकतामा परिवर्तन नआउने गरी निर्माण कार्य गर्नुपर्ने भनी अनेकौं मुद्दामा सिद्धान्त प्रतिपादन गरेको अवस्था छ । नेपाली साहित्यका महाकवि भनी चिनिने लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घरलाई तत्कालीन प्रधानमन्त्रीबाट रेट्रोफिटिङ गर्ने घोषणा भएको थियो । सोहीअनुरूप महाकविको घर प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण गरिएको र प्रज्ञा प्रतिष्ठानले त्यसलाई सङ्ग्रहालयको रूपमा विकास गर्न विज्ञहरूसँग सल्लाह पनि लिएको थियो । तर अहिले महाकविको घर भत्काउन थालिएको छ । सबै विज्ञहरूले जीर्णोद्धार मात्र गरे पुग्छ भन्ने सुझाव दिए तापनि विज्ञको सुझाव लत्याई देशको प्राज्ञिकहरूको पवित्र संस्था नेपाल प्रज्ञा प्रतिष्ठानले नै देशको अमूल्य निधि महाकविको कलाकुञ्ज विनास गर्न लागि परेको छ । विपक्षीको कार्यले नेपालको ऐतिहासिक व्यक्तित्व महाकविको इतिहास मेटिन लागेकोले मलगायत नेपालीको सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हक हनन भइरहेको छ । साथै, केही वैज्ञानिक प्रविधिको प्रयोगबाट संरक्षण गर्न सकिने भवनलाई पुनः निर्माणको आवरण लगाई भत्काउनका लागि गरिएका विपक्षी प्रज्ञा प्रतिष्ठानको कार्य नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हकको प्रतिकूल छ । तसर्थ, विपक्षीहरूको कार्य संविधान, कानून र सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुनुका साथै देवकोटालाई जीवित राख्ने सामग्रीलाई परिवर्तन गरी भवन निर्माण गर्ने निर्णय बदरभागी भएको हुँदा देवकोटाको घर भत्काई कविकुञ्जको आधिकारिकता मासिने गरी गर्न लागेको निर्माण र सो निर्माणसम्बन्धी सम्पूर्ण निर्णय उत्प्रेषणको आदेशले बदर गरी सो घरको प्राविधिक अध्ययन गरेर मात्र थप कार्य गर्नु र भत्काउँदा निक्लिएका इँट्टा, माटो, झ्याल, ढोकालगायत सो भवन निर्माण हुँदा प्रयोग भएका वस्तुको संरक्षण गर्नु तथा कविकुञ्जलाई संरक्षणको मान्य सिद्धान्तअनुरूप भत्काउनु अगाडिको स्वरूप, प्रविधि र सामान प्रयोग गरी पुनः निर्माण गरी महाकविको घरको आधिकारिकता तथा मौलिकता नमासिने गरी पुरातत्त्व विभागसँग समन्वय गरी कार्य गर्नु, गराउनु भनी परमादेशलगायतका जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ । प्रस्तुत विषय गम्भीर प्रकृतिको चासो र सरोकारको विषय भएकोले रिट निवेदन किनारा नलाग्दासम्मका लागि मैतिदेवीस्थित कविकुञ्ज क्षेत्रमा खन्ने, निर्माण सामग्री थुपार्ने, डोजर लगाउनेलगायतका मौलिक स्वरूप बिगार्ने तथा भग्नावशेषलाई हटाउने कार्य नगर्नु, नगराउनु तथा काठलगायतका सामग्रीहरू सुरक्षितसाथ राख्नु, राख्न लगाउनु तथा सो क्षेत्रलाई नष्ट हुनबाट संरक्षण गर्ने व्यवस्था गर्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेशसमेत जारी गरिपाउँ भन्नेसमेत बेहोराको निवेदन ।
यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. २ र ३ को हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा अन्य विपक्षीहरूको हकमा आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू । निवेदकले अन्तरिम आदेशसमेतको माग गरेको सम्बन्धमा विचार गर्दा, विपयवस्तुको प्रकृति र गम्भीरतालाई विचार गर्दा दुवै पक्ष राखी छलफल गर्न उपयुक्त हुने देखिँदा छलफलको निमित्त मिति २०७८।५।१३ गतेका दिन सम्बन्धित लिखत प्रमाण र कागजातसहित उपस्थित हुन आउनु भनी प्रत्यर्थीहरूलाई म्याद सूचना जारी गरी हाजिर भए वा गुजारेपछि नियमानुसार गरी पेस गर्नू । पेसीको जानकारी विपक्षीहरू र महान्यायाधिवक्ताको कार्यालयलाई समेत दिनु भन्नेसमेत बेहोराको मिति २०७८।४।२७ को आदेश ।
पुरातत्त्व विभाग हाम्रा पुर्खाले निर्माण गरी छोडेर गएका ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदाहरूको जीर्णोद्धार तथा पुनर्निर्माण गर्ने नेपाल सरकारको एक मात्र जिम्मेवार निकायको रूपमा रही प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को परिधिभित्र रही देशभरिकै त्यस्ता सम्पदाहरूको मर्मत, सम्भार, जीर्णोद्धार तथा पुनर्निर्माणको कार्य गर्दै आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउँदा, पुनर्निर्माण गर्दा पुरातत्त्व विभागसँग पूर्व-सहमति लिएर कार्य गर्नुपर्नेमा सो नगरेको देखिँदा विभागको मिति २०७८।४।२४ को विभागीय निर्णयानुसार नेपाल प्रज्ञा प्रतिष्ठानलाई पत्राचार गरिसकिएको छ । सो घर प्रज्ञा प्रतिष्ठानले भत्काइसकेको अवस्थामा जानकारी पाएपश्चात् सो घरको आकार प्रकारमा कुनै परिवर्तन नहुने (साबिकको मौलिकता कायम हुने गरी) गरी तथा पुनः प्रयोगमा आउन सक्ने सामग्रीको अधिकतम उपयोग गरी पुनर्निर्माण गर्न विभागबाट पत्राचार गरिसकेकोले विपक्षीले विभागउपर संविधान तथा कानूनको खिल्ली उडाएको भनी लगाएको आरोप निराधार र कपोलकल्पित छ भन्नेसमेत बेहोराको पुरातत्त्व विभागको लिखित जवाफ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रको ऐतिहासिक व्यक्तित्व भएकोमा विवाद नभए तापनि कविकुञ्ज नामले चिनिने घर महाकविको परिवारले भोगचलन गरेको घर भएकोले प्राचीन एवम् पुरातात्विक वस्तु नभई सबैको निमित्त महत्त्वको घर भने यथार्थ हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७५।८।१७ को निर्णयानुसार प्रज्ञा प्रतिष्ठानलाई मोही कायम गरी देवकोटा सङ्ग्रहालय भवन बनाउने निर्णयअनुरूप संस्कृति तथा पर्यटन मन्त्रालयको मिति २०७६।८।१२ को पत्रबाट रकमसमेत प्राप्त भई रू.२,५०,०००००।- (दुई करोड पचास लाख) महाकवि देवकोटाको छोराहरूलाई प्रदान गरी जग्गा प्रतिष्ठानको भोगाधिकारमा आएको हो । नेपाल सरकारले लगानी गरी यस प्रतिष्ठानलाई जिम्मेवारी दिएअनुरूप महाकविका नाममा सङ्ग्रहालय निर्माण गरी निजको जीवन एवम् व्यक्तित्व, कृतित्व र योगदान झल्किने गरी उपलब्ध भएसम्मका सामग्रीहरू राख्न निर्माण कार्य प्रारम्भ भएको छ । यसबाट महाकविको ऐतिहासिक व्यक्तित्वलाई सयौं वर्षसम्म चिरस्मरणीय तुल्याउन सक्ने कुरामा विश्वस्त छौं । महाकवि देवकोटाले जीवनको १५ वर्षसम्म भोगचलन गरेको घर अविवाहित कान्छी छोरीलाई दिएकोमा निजको मृत्युपश्चात् भाडामा लगाई माहिली छोरीको रेखदेखमा रहेकोमा मर्मतको अभावमा कोही नबसी २०७२ सालको भूकम्पले घरमा भ्वाङ भई भित्र पस्नै नसक्ने गरी जीर्ण रहेको काठहरू मक्किएर भग्नावशेष अवस्थामा रहेको भन्ने बेहोरा प्राविधिक निरीक्षण टोलीको प्रतिवेदनबाट प्रस्ट हुन्छ । भग्नावशेषमा परिणत हुन लागेको कारण सबलीकरण गर्न नसकिने तथा यथास्थितिमा निर्माण हुन नसक्ने बरू मौलिकता नहराउने गरी आधुनिक र सुविधा सम्पन्न महाकवि सङ्ग्रहालय बनाउन सकिने भन्ने प्रतिवेदनको आधारमा उक्त निर्माण कार्य प्रारम्भ भएको हो । नवनिर्मित भवनको भुइँतलामा स्वागत कक्ष, सालिक, श्रव्यदृश्य सामग्री, पहिलो तलामा महाकविले आफ्नो जीवनमा प्रयोग गरेको पलङ, टेवल, कुर्सीलगायतका सामग्री, दोस्रो तलामा प्रकाशित पुस्तक र अप्रकाशित पाण्डुलिपि राख्ने तथा तेस्रो तलामा सभा कक्ष रहने गरी नक्सा तयार गरी ११ सदस्यसमेतको निर्माण समितिमार्फत कार्य प्रारम्भ गरिएको छ । उक्त घरमा रहेका ऐतिहासिक सामग्रीहरू उपयोग गरी संरक्षण गर्न सकिनेसम्मका पुराना संरचना संरक्षण गर्ने योजना छ । यसरी महाकविको भवन प्राचीन एवम् पुरातात्विकभित्र नपरे पनि महाकविजस्तो राष्ट्रको धरोहरको स्मरणलाई बचाइराख्न सङ्ग्रहालयको निर्माण कार्य प्रारम्भ गरिएकोले रिट निवेदन खारेजभागी छ भन्नेसमेत बेहोराको नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीको लिखित जवाफ ।
यसमा भवनको प्रबलीकरणको सम्भाव्यतासमेत वा नयाँ निर्माण गर्ने योजना सम्बन्धमा पुरातत्त्व विभागसँग समन्वय गरी उक्त स्थानमा प्राप्त भएका वा हुने वस्तुको प्रभावकारी संरक्षण गर्नेबारे कुनै कार्ययोजनासमेत तयार गरेको नदेखिएको हुँदा हाल उक्त स्थानमा के कस्तो काम भइरहेको छ । सोको यथार्थ योजनासहितका जानकारी पुरातत्त्व विभागलाई गराई सो सम्बन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर र त्यसको मौलिकता नबिग्रिने गरी अब के कसो गर्न सकिन्छ ? सोबारेमा समन्वय गर्न गराउन यो आदेश प्राप्त भएको मितिले ३ दिनभित्र पुरातत्त्व विभागसँग पत्राचार गर्नु र पुरातत्त्व विभागबाट सो सम्बन्धमा निर्णय भई निश्चित निर्देशन प्राप्त नभएसम्म कविकुञ्ज निर्माणसम्बन्धी कुनै कार्य अगाडि नबढाउनु, हाल जे जस्तो अवस्थामा छ यथाअवस्थामा सुरक्षित तवरबाट राख्न लगाउनू । कविकुञ्ज भत्काउँदा फेला परेका पुरातात्विक वस्तु के कस्ता अवस्थामा फेला परेका थिए र यी वस्तुहरूलाई हाल के कसरी संरक्षण गरिएको छ भन्नेबारेमा तत्काल पुरातत्त्व विभागलाई जानकारी गराई यसमा संरक्षण प्रयोजनार्थ थप के गर्नु आवश्यक छ वा सकिन्छ भन्ने सुझाव पुरातत्त्व विभागबाट लिई सोहीबमोजिम गर्नु र सोको विवरण मिसिल संलग्न गरी यस अदालतलाई पनि दिनु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७८।५।१३ मा जारी भएको अन्तरिम आदेश ।
नेपाल सरकार पुरातात्विक महत्त्वका स्थान तथा कला संस्कृतिको संरक्षण गर्न दृढ संकल्पित रहेको छ । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ कार्यान्वयनमा रही सार्वजनिक तथा निजी प्राचीन स्मारकको संरक्षण, मर्मत तथा जीर्णोद्धार पुरातत्त्व विभागले गर्ने व्यवस्था भई सोहीबमोजिम भइरहेको कार्यका सम्बन्धमा अन्यथा भन्नुपर्ने देखिँदैन । महाकवि देवकोटाको डिल्लीबजारस्थित कविकुञ्ज नामको घर संरक्षणको लागि नै नेपाल सरकारले प्राप्त गरी नेपाल प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । सो घरमा प्रयोग भएका इँटा तथा काठको अध्ययन गर्दा रेट्रोफिटिङ पद्धतिबाट संरक्षण हुन नसक्ने भएकाले विज्ञ तथा प्राविधिकको सल्लाहअनुसार मौलिकता नबिगारी पुनर्निर्माणको कार्य गर्नु परेको हो । घरका काठ तथा झिँगटी संरक्षण गरी पुरातत्त्व विभागसमेतको अनुमतिमा निर्माण कार्य गरिएकोले कानूनविपरीत भन्ने अवस्था छैन । कविकुञ्जको संरचनामा प्रयोग भएका सामग्री, छाना, त्यसको उचाइ तथा महाकविले प्रयोग गरेको स्थानसहित सम्पूर्ण कुरालाई यथारूप दिई भूकम्पको जोखिमबाट हुन सक्ने क्षतिलाई समेत ध्यानमा राखी नयाँ विधिद्वारा निर्माणको लागि काम कारबाही भएको हो । पुराना काँचो इँट्टा, भाँचिनै लागेका काठ भएको घरलाई यथास्थितिमा राख्न सम्भव नभएकाले दुरूस्त पुरानै स्वरूपमा नयाँ भवन निर्माण गर्ने योजना बनाइएको हो । नयाँ पिँढीलाई देवकोटा यही घरमा उसैगरी बाँचिरहेका छन् कि भन्ने भान पर्ने गरी सङ्ग्रहालय निर्माण हुँदै छ । पुनर्निर्माण गर्दैमा भावी पुस्ताले कविकुञ्जको बारेमा जानकारी नपाउने तथा मौलिकता नास हुने भन्ने होइन । भुइँ तला, पहिलो तला, दोस्रो तला तथा तेस्रो तलामा निर्माण हुने भवनमा भुइँ तलामा देवकोटाको आवाजको प्रतिध्वनि र पुराना तस्वीर, अडियो, पहिलो तलामा महाकविले आफ्नो जीवनकालमा प्रयोग गरेका कुर्सी, टेबललगायतका सामग्री, दोस्रो तलामा प्रकाशित अप्रकाशित पुस्तकहरू तथा तेस्रो तलामा सभाकक्ष हुने छ । यसबाट देवकोटालाई वास्तविक रूपमा बुझ्न र वहाँको कृति तथा सिर्जना संरक्षण भई नयाँ पिँढीले जान्न सिक्न पाउने छन् । तसर्थ, विज्ञ तथा प्राज्ञसँगको छलफलबाट नै सम्बन्धित निकायले कार्य अगाडि बढाएको हुँदा यस्तो कार्यलाई अन्यथा भनी दायर गरेको रिट निवेदन अनुचित हुँदा खारेज गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट पर्न आएको लिखित जवाफ ।
रिट निवेदनमा उल्लेख भएको लक्ष्मीप्रसाद देवकोटाको परिवारको घर कविकुञ्जलाई भत्काई देवकोटालाई जीवित राख्ने सामग्रीलाई परिवर्तन गरी नयाँ भवन निर्माण गर्न लागेको र सो सम्बन्धमा भएको सम्पूर्ण निर्णय बदर गर्न माग गरेकोमा काठमाडौं महानगरपालिकाले के निर्णय गरेर पुरातात्त्विक एवम् सांस्कृतिक सम्पदा मास्ने कार्य गरेको हो सोसमेत निवेदनमा खुलाउन नसकी केवल प्रत्यर्थी मात्र बनाई दायर गरेको रिट निवेदन खारेजभागी छ भन्नेसमेत बेहोराको काठमाडौं महानगरपालिकाको लिखित जवाफ ।
महाकवि देवकोटाको कविकुञ्ज नामक घरको प्राविधिक प्रतिवेदन, नयाँ निर्माण हुँदै गरेको भवनको संशोधित नक्सा, नेपाल प्रज्ञा प्रतिष्ठानको निर्णयलगायतका कागजातको प्रतिलिपिहरू मिसिल संलग्न रहेको ।
यस अदालतको ठहर
नियमानुसार पेसी सूचीमा चढी सुनुवाइको लागि यस इजलासमा पेस हुन आएको प्रस्तुत रिट निवेदनमा विवादको मूल विषयलाई हेर्दा नेपाली साहित्यका महाकवि एवम् ऐतिहासिक व्यक्तित्व लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित कविकुञ्ज नामको घर तत्कालीन प्रधानमन्त्रीले रेट्रोफिटिङ गर्ने घोषणा गरी विपक्षी नेपाल प्रज्ञा प्रतिष्ठानलाई सो कार्यका लागि हस्तान्तरण गरेको तथा विज्ञहरूले समेत सो पुरातात्विक महत्त्वको घर जीर्णोद्धार गरी दुरूस्त तुल्याउन सकिने भनी सल्लाह दिए पनि विपक्षी प्रज्ञा प्रतिष्ठानले विज्ञहरूको सल्लाह लत्याई महाकविको घर जीर्णोद्धार नगरी स्वेछाचारी र मनोमानी तरिकाले पुनर्निर्माण गर्न लागेबाट सो घरको मौलिकता र महाकविको आधिकारिकता नै समाप्त हुने अवस्था रहेकोले कविकुञ्जको आधिकारिकता मासिने गरी गर्न लागेको निर्माण र सो निर्माणसम्बन्धी सम्पूर्ण निर्णय उत्प्रेषणको आदेशले बदर गरी सो घरको प्राविधिक अध्ययन गरेर मात्र थप कार्य गर्नु र भत्काउँदा निक्लिएका इँट्टा, माटो, झ्याल, ढोकालगायत सो भवन निर्माण हुँदा प्रयोग भएका वस्तुको संरक्षण गर्नु तथा कविकुञ्जलाई संरक्षणको मान्य सिद्धान्तअनुरूप भत्काउनुअगाडिको स्वरूप, प्रविधि र सामान प्रयोग गरी पुननिर्माण गरी महाकविको घरको आधिकारिकता तथा मौलिकता नमासिने गरी पुरातत्त्व विभागसँग समन्वय गरी कार्य गर्नु, गराउनु भनी परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ भनी निवेदकको तर्फबाट प्रस्तुत निवेदन पर्न आएको देखियो ।
निवेदकको तर्फबाट पर्न आएको प्रस्तुत रिट निवेदन हेर्दा निवेदन मागबमोजिम उत्प्रेषणसहितको परमादेशको आदेश जारी हुनुपर्ने आधारको रूपमा देहायको बुँदाहरू उल्लेख गरेको देखिन्छ :-
(क) ऐतिहासिक व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविकुञ्ज नामको घर पुरातात्विक वस्तु भएको,
(ख) विज्ञहरूले जीर्णोद्धार गरी दुरूस्त तुल्याउन सकिने भनी सुझाव दिए तापनि कविकुञ्ज स्वेछाचारी एवम् मनोमानी ढङ्गले भत्काइएको,
(ग) पुरातत्त्व विभागसँग समन्वय नगरी महाकविको घरको आधिकारिकता र मौलिकता मेटिने गरी पुनर्निर्माणको कार्य गर्न लागिएको,
(घ) महाकविको घर भत्काई हाल गर्न लागिएको पुनर्निर्माण कार्यलगायतको निर्णय उत्प्रेषणको आदेशले बदर गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको आधिकारिकता र मौलिकता नमासिने गरी पुरातत्त्व विभागसँगको समन्वयमा कार्य गर्नु, गराउनु भनी परमादेशको आदेशसमेत जारी
गरिपाऊँ ।
उपर्युक्त निवेदन जिकिर रहेको प्रस्तुत मुद्दामा निवेदकतर्फबाट इजलाससमक्ष उपस्थित हुनुभएका विद्वान् अधिवक्ताद्वय श्री पंकजकुमार कर्ण र श्री संजय अधिकारीले सुप्रसिद्ध व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर पुरातात्विक महत्त्वको सरकारी सम्पत्ति हो, जीर्णोद्धार गर्दा पनि दुरूस्त तुल्याउन सकिने सो घर पुनर्निर्माणको नाममा भत्काउने कार्य गरिएको छ, पुनर्निर्माण गर्दा महाकवि देवकोटाको घर कङ्क्रिटबाट तयार पार्ने कार्य गरी देवकोटाको घर नै होइन जस्तो पारिएको छ, पुनर्निर्माणबाट देवकोटाको घरको मौलिकता पूर्ण रूपले हराएर गएको छ, पुनर्निर्माण गर्ने कार्य गर्दा पुनरातत्त्व विभागसँग समन्वय गर्ने कार्य गरिएको छैन, विपक्षीको यस्तो कार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत हो, सम्मानित अदालतबाट मौलिकता कायम गर्नु भनी अन्तरिम आदेश जारी भए पनि सोसमेतलाई बेवास्ता गरी निर्माण कार्य गरिएको हुँदा सो कार्यलाई गैरकानूनी मानी दोषीलाई दण्डित गरी मौलिकताको संरक्षण गर्नु भनी विपक्षीहरूका नाममा आदेश जारी गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
विपक्षी नेपाल प्रज्ञा प्रतिष्ठानको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिप्रसाद उप्रेती र श्री नरेन्द्रप्रसाद पाठकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर मास्ने, ध्वस्त पार्ने कार्य गरियो भनी रिट निवेदन आएको भए पनि जीर्णोद्धार वा सबलीकरणमार्फत भूकम्पले जिर्ण बनेको महाकवि देवकोटाको घरलाई जोगाइराख्न सम्भव नभएकोले पुनर्निर्माणको कार्य गरिएको हो, पुनर्निर्माण नगरिएको भए सम्पूर्ण संरचना नै बिलाएर जान सक्थ्यो, महाकविको व्यक्तित्व, साहित्य, घरको प्राचीनता एवम् पुरातात्विक महत्त्व नमेटियोस् भन्ने उद्देश्यले नयाँ संरचना तयार पारिएको हो, महाकविको पहिलेको घरलाई नै सम्झिने गरी संरचना तयार पारिएको छ, झ्यालहरू जस्ताको त्यस्तै छ, यसले देवकोटाको पूर्वघरको झल्को दिन्छ, पुनर्निर्माण कार्य गर्दा अहिलेको आधुनिक एवम् विकसित प्रविधिलाई परम्परागत तवरले प्रयोग गरी भूकम्प मापदण्डअनुसार निर्माण कार्य गरिएको हो, नेपाल प्रज्ञा प्रतिष्ठान महाकविको व्यक्तित्वलाई कायम राख्न सदा प्रयत्नशील छ, तसर्थ रिट निवेदन खारेज गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पुरातत्त्व विभागको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीले जग्गा प्राप्ति ऐन, २०३४ को प्रक्रिया पूरा गरी महाकविको घर रहेको स्थानको जग्गा सरकारले प्राप्त गरेको हो, भूकम्पले जीर्ण बनेको महाकवि देवकोटाको घर पुनर्निर्माणको लागि सरकारले करोडौं खर्च गरेको अवस्था छ, तत्कालीन प्रधानमन्त्रीको निर्देशनअनुसार पुनर्निर्माण प्रक्रियाको थालनी गरिएको हो, विज्ञ प्राविधिकहरूको सल्लाहअनुसार नै पुनर्निर्माणको कार्य गरिएको हो, पुरातत्त्व विभागको तर्फबाट पुरानो मौलिकतालाई कायम राखी निर्माण कार्य गर्नु भनी नेपाल प्रज्ञा प्रतिष्ठानलाई निर्देशन दिइएको छ र कविकुञ्ज नामको महाकविको नयाँ घर निर्माणपश्चात् सो घरमा संरक्षण गरी राख्ने गरी देवकोटाका जीवनकालका ३२८ प्रकारका वस्तुको सूचीसमेत तयार पारिएको छ । महाकवि देवकोटाको ऐतिहासिक व्यक्तित्वलाई जोगाइराख्न नै पुनर्निर्माणको कार्य गरिएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
विपक्षी काठमाडौं महानगरपालिकाको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री शंकरप्रसाद पुडासैनीले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाउनेबाहेक महानगरको भूमिकाको सम्बन्धमा रिट निवेदनमा केही बोलिएको छैन । तसर्थ, काठमाडौं महानगरपालिकाको हकमा रिट निवेदन खारेज गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
माथि उल्लेख भएबमोजिम निवेदकका तर्फबाट प्रस्तुत निवेदनमा लिइएका जिकिरहरू, विपक्षीहरूका तर्फबाट पर्न आएको लिखित जवाफको बेहोरा, दुवै पक्षका विद्वान् कानून व्यवसायीहरूबाट प्रस्तुत हुन आएका बहस बुँदाहरू र मिसिल संलग्न कागजात अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत निवेदनका सन्दर्भमा मुख्यत: देहायका प्रश्नहरूमा निरूपण हुनुपर्ने देखिन आयो:-
(क) निवेदकको दाबीबमोजिम महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविकुञ्ज नामको घर पुनर्निर्माण गर्ने निर्णय कानूनविपरीत रहेको देखिन्छ वा देखिँदैन ? र,
(ख) निवेदकहरूको निवेदन मागबमोजिमको आदेश जारी हुनुपर्ने देखिन्छ वा देखिँदैन ?
२. निरूपण हुनुपर्ने उपर्युक्त प्रश्नहरूका सन्दर्भमा मिसिल संलग्न कागजातहरू अध्ययन गर्दा सुप्रसिद्ध ऐतिहासिक विशिष्ट व्यक्ति महाकवि लक्ष्मीप्रसाद देवकोटा बसोबास गरी आएको घर भएकोले कविकुञ्ज प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २(ख) ले परिभाषा गरेअनुसार पुरातात्त्विक वस्तुभित्र परेकोमा विवाद रहेको देखिँदैन । महाकवि देवकोटाको सो घर जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नेपाल सरकारले प्राप्त गरी लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण गर्ने प्रयोजनार्थ नेपाल प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण गरेको देखिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण गर्ने प्रयोजनार्थ काम अगाडि बढाएकोमा प्रधानमन्त्रीबाट रेट्रोफिटिङ गर्ने घोषणा गरिएको र विज्ञहरूले जीर्णोद्धार गर्दा पनि महाकविको घर कविकुञ्जलाई दुरूस्त तुल्याउन सकिने सल्लाह र सुझाव दिएकोमा त्यस्तो सल्लाह र सुझावलाई लत्याई कविकुञ्जलाई भत्काई पुनर्निर्माण गरी सो घरको आधिकारिकता र मौलिकता नै मास्ने काम हुन लागेको भनी निवेदक रिट निवेदन लिई यस अदालतमा प्रवेश गरेको देखिन आयो ।
३. निवेदकले महाकविको घर कविकुञ्जलाई जीर्णोद्धार गर्दा पनि दुरूस्त तुल्याउन सकिने भनी विज्ञहरूको सल्लाह र सुझाव रहेको भनी दाबी लिएको देखिए पनि रेट्रोफिटिङ गर्ने वा जीर्णोद्धार गर्ने भन्ने जस्ता कार्यहरू नितान्त प्राविधिक विषय भएकोले यस्तो विषयमा प्राविधिक तवरले प्रमाणित भएमा बाहेक भावनात्मक रूपमा दिइएको सल्लाह र सुझावको खासै अर्थ रहने देखिँदैन । सरसर्ती हेरेर वा अवलोकन गरेर बनाइएको धारणाभन्दा पनि सो घरका सम्बन्धमा गरिएको प्राविधिक जाँच र परीक्षणबाट सो घर संरक्षणका लागि सुदृढीकरण (Retrofitting), जीर्णोद्धार (Restoration) वा पुनर्निर्माण (Reconstruction) मध्ये के कुन पद्धति प्रयोग गर्न उपयुक्त हुने हो भन्ने सम्बन्धमा विज्ञ एवम् प्राविधिकहरूले निकालेको निष्कर्ष नै महत्त्वपूर्ण र स्वीकारयोग्य हुने देखिँदा विना प्राविधिक आधार र कारण निवेदकले विज्ञलाई उद्धृत गर्दै व्यक्त गरेको कथनको भरमा महाकवि देवकोटाको घर रेट्रोफिटिङ वा जीर्णोद्धार पद्धतिबाट नै दुरूस्त तुल्याउन सम्भव हुने भनी अर्थ गर्न मनासिब हुने देखिँदैन । नेपाल प्रज्ञा प्रतिष्ठानका वरिष्ठ इन्जिनियर महेन्द्रबहादुर कार्कीले "घरका गाराहरू केही छोइँदा मात्रै पनि भत्कन सक्ने र दुर्घटना निम्तिन सक्ने देखिएको सन्दर्भमा प्राविधिक कोणबाट अध्ययन गर्दा उक्त घरलाई सबलीकरण गर्न सकिने सम्भावना नदेखिएको" भनी महाकवि देवकोटाको घर कविकुञ्जको दुरावस्था र यसबाट सिर्जित हुन सक्ने जोखिम उल्लेख गर्दै रायसहितको प्रतिवेदन पेस गरेको देखिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानका वरिष्ठ इन्जिनियरले पेस गरेको सो रायसहितको प्रतिवेदन खण्डन हुने गरी वा सबलीकरण, सुदृढीकरण वा पुनर्निर्माणबाहेकका मान्यता प्राप्त अन्य पद्धति अवलम्बन गरेर नै महाकविको घरलाई दुरूस्त तुल्याउन सकिने कुनै इन्जिनियरिङ दृष्टिकोण तथा प्राविधिक आधारहरू निवेदकले दर्साउन सकेको अवस्था देखिँदैन ।
४. नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लिखित जवाफमा विज्ञ तथा प्राविधिकहरूले महाकवि देवकोटाको घरमा प्रयोग भएको काठ तथा इँटाको अध्ययनबाट अन्य पद्धतिले घरको संरक्षण हुन नसक्ने भनी दिएको सुझावअनुसार नै पुनर्निर्माण गर्नु परेको हो भनी उल्लेख गरेको सन्दर्भमा प्राचीन स्मारक र पुरातात्विक महत्त्वका वस्तुहरू संरक्षण गर्ने सम्बन्धमा अवलम्बन गरिने केही पद्धतिहरूका बारेमा जानकारी लिन आवश्यक हुने देखियो । पुरातत्त्व विभागले तयार पारेको भूकम्पले क्षति पुर्याएका सम्पदाहरूको संरक्षण एवम् पुनर्निर्माणसम्बन्धी आधारभूत निर्देशिका, २०७२ को दफा २ ले सुदृढीकरण (Retrofitting), जीर्णोद्धार (Restoration) र पुनर्निर्माण (Reconstruction) को कार्यलाई निम्नबमोजिम अर्थ्याएको देखिन्छ:-
(क) सुदृढीकरण (Retrofitting):- इन्जिनियरिङ दृष्टिकोणबाट संरचनाको बलियोपनामा कमी आएको भन्ने लागेमा त्यस्तो संरचनाको बलियोपनालाई कायम राख्न वा बढाउन यसमा गरिने संरचनागत सुधारको उपायलाई जनाउँछ ।
(ख) जीर्णोद्धार (Restoration):- विभिन्न कारणले क्षति भएका वा कालक्रमले जीर्ण भएका संरचनालाई प्राप्त प्रमाणको आधारमा परम्परागत सामग्री र प्रविधि प्रयोग गरी साबिककै स्वरूप, आधार प्रकार, बनोट कायम हुने गरी गरिने कार्यलाई बुझ्नुपर्दछ र यसले आंशिक पुनर्निर्माण कार्यलाई पनि जनाउँदछ ।
(ग) पुनर्निर्माण (Reconstruction):- प्राकृतिक प्रकोप वा अन्य कारणले भत्किएका संरचनाहरूको प्राप्त प्रमाणको आधारमा साबिककै स्वरूप, आधार, प्रकार र बनोट कायम हुने गरी परम्परागत सामग्री र प्रविधि प्रयोग गरेर सामान्यतया बाँकी रहेको जगभन्दा माथिबाट नयाँ संरचना निर्माण गर्ने कार्यलाई बुझ्नुपर्दछ ।
५. प्राचीन स्मारक र पुरातात्विक वस्तु संरक्षण गर्ने प्रयोजनका लागि प्रयोगमा ल्याइने उल्लिखित पद्धतिहरूमध्ये सुदृढीकरण र जीर्णोद्धार पद्धति प्रयोगमा नल्याइएको सम्बन्धमा हेर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतिदेवीस्थित घर (कविकुञ्ज) को प्राविधिक अध्ययनमा छानामा प्रयोग भएका थोरै संख्यामा काठका बिम, सिँढीका काठ, रेलिङ तथा पोलिएका इँटाहरू ३५ प्रतिशतजति प्रयोग गर्न सकिने देखिए तापनि सो घरको हरेक तलाको झ्याल र ढोकामा प्रयोग गरिएका अधिकांश काठहरू मक्किएको, भाँचिएको तथा धमिरा लागेको तथा सबै तलाका पार्टिसन गरिएका काठहरू तथा घाममा सुकाई तयार पारिएका इँटाहरू पुनः प्रयोग गर्न नसकिने गरी काम नलाग्ने अवस्थामा रहेको सो घरको प्राविधिक प्रतिवेदनबाट देखिन आउँछ । विगतमा आएको भूकम्प तथा सो भूकम्पबाट सिर्जित परिणामलाई विचार गर्दा प्राविधिक वा विज्ञले त्यसरी किटान गरी घरको दुरावस्था दर्साउँदा दर्साउँदै र घरमा प्रयोग भएका ३५ प्रतिशत पोलेका इँटा र थोरै काठ बाहेक अधिकांश सामग्री पुनः प्रयोग गर्न नसकिने भनी प्रतिवेदन नै दिइसकेको अवस्थामा रेट्रोफिटिङ गर्ने वा त्यस्ता सामग्रीलाई यथावत् रहन दिई जीर्णोद्धारको कार्य गरी देवकोटाको कविकुञ्जलाई दुरूस्त तुल्याउन सकिने अवस्था देखिँदैन । यस अवस्थामा महाकवि देवकोटाको कविकुञ्जको पुनर्निर्माण कार्यलाई विपक्षीहरूको इच्छाभन्दा पनि बाध्यताको रूपमा अर्थ गर्नुपर्ने देखिन आयो ।
६. कविकुञ्जको पुनर्निर्माणबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको आधिकारिकता र मौलिकता सबै मासिने त होइन भनी निवेदकले व्यक्त गरेको सरोकार र चिन्ताका सम्बन्धमा विचार गर्दा सो कविकुञ्ज भन्ने घरको गरिमा वा महत्त्व सो घर भएको कारणले मात्र बढेको नभई सो घरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा बसोबास गरी आएको कारणले बढेको देखिन्छ । उपत्यकामा त्यस्तो पुरानोपन बोकेका अनेकौं घरहरू छन् । पुरानोपन बोकेको घर हो भन्दैमा सबै घर पुरातात्विक महत्त्वका हुने होइनन् । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले पनि विशिष्ट व्यक्ति बसोबास गरी आएको भन्ने आधारमा नै त्यस्तो घरलाई पुरातात्विक वस्तु मानेको हो । यस दृष्टिले महाकवि देवकोटालाई कविकुञ्जको सापेक्षतामा नहेरी कविकुञ्जलाई महाकवि देवकोटाको सापेक्षतामा हेर्नु वाञ्छनीय हुन्छ । नेपाल सरकारलगायतका सबै विपक्षीहरूले देवकोटाको सम्झनालाई चिरस्मरणीय तुल्याउन एवम् पुरानो घरको मौलिकता कायम रहने गरी पुनर्निर्माण गर्न लागिएको भनी प्रतिवद्धता व्यक्त गरेको देखिन्छ । कविकुञ्जमा महाकवि देवकोटाले प्रयोग गरेको साहित्यिक कृति "दिक्क लागेर त हो नी" देखि "कालो ह्याट टोपी" लगायतका ३२८ प्रकारका काम लाग्ने साहित्यिक कृतिलगायतका जिन्सी सामानको सूची बनाई सुरक्षित तवरले राखेको पाइन्छ । ती कृतिलगायतका जिन्सीहरूले सङ्ग्रहालयको शोभा बढाउने देखिन्छ । त्यस्तै, मिसिल संलग्न रहेको देवकोटाको पुनर्निर्माण हुने घरको नक्साबाट पनि घर पुरानो शैलीमा नै निर्माण हुने क्रममा रहेको देखिन आउँछ । सो पुनर्निर्माण हुने घर महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका नामले रहने र सो घरको झ्यालहरू देवकोटाको पुरानो घरको झ्याल जस्तो बुट्टेदार रहने, प्राचीनता झल्कने इँटा प्रयोग हुने एवम् सङ्ग्रहालयको परिसरमा महाकवि देवकोटाको पूर्णकदको शालिक राखिने, घरको भुइँ तलामा महाकविको आवाजको प्रतिध्वनि, पुराना तस्वीर, विभिन्न कालखण्डमा महाकवि देवकोटाले दिएको भाषणसमेतको अडियो, तास्कन्द जाँदा बैठकमा बोलेको लेखेको कुराहरू तथा प्रतिपक्षी दलको नेता हुँदा बोलेका कुराहरूको सङ्कलन राख्ने, पहिलो तलामा महाकविले आफ्नो जीवनकालमा प्रयोग गरेका पलङ्ग, कपडा, भाँडाकुँडा, औजार, दोस्रो तलामा देवकोटाले लेखेको सबै सामग्री, प्रकाशित पुस्तक तथा अप्रकाशित पाण्डुलिपि तथा तेस्रो तलामा अन्तर्क्रिया गर्ने हल रहने भनी विपक्षीहरूले देवकोटाको सम्झना गर्न सकिने स-साना चिजवस्तुहरूसमेतको भविष्यमा गरिने संरक्षणको लघु खाका नै प्रस्तुत गरेको देखिन्छ । साथै, महाकवि देवकोटाको घर कविकुञ्जबाट निस्किएको पाकेको तथा काँचो इँटा, काठहरू एवम् त्यसका टुक्राहरूमध्ये उपयोग गर्न लायकलाई उपयोग गरी संरक्षण गर्न सकिनेसम्मको लाई संरक्षण गरिने गरी विपक्षी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रतिबद्धता जाहेर गरेको पनि पाइन्छ । यसरी विपक्षीहरूको लिखित जवाफ र निजहरूले पेस गरेको कागजातबाट निजहरूले महाकविको घर पुनर्निर्माणबाहेक पनि सो क्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व र निजले नेपाली साहित्यिक एवम् अन्य क्षेत्रमा पुर्याएको योगदान झल्कने र पिँढी दरपिँढीले महाकविको सम्झना गरिरहने गरी कार्य गरेको देखिएको एवम् माथि उल्लेख भएअनुसार पुनर्निर्माण गर्दा पनि भत्किएका संरचनाहरूको प्राप्त प्रमाणहरूको आधारमा साबिककै स्वरूप, आकार, प्रकार र बनोट कायम हुने गरी परम्परागत सामग्री र प्रविधि प्रयोग गर्नुपर्ने देखिँदा पुनर्निर्माणको कारणबाट नै देवकोटाको घरको आधिकारिकता र मौलिकता मासिने भनी अर्थ गर्न मिल्ने देखिएन ।
७. अब, निवेदन मागबमोजिम रिट जारी हुने अवस्था देखिन्छ वा देखिँदैन भन्ने सम्बन्धमा हेर्दा यस अदालतबाट मिति २०७८।५।१३ मा महाकवि देवकोटाको घरको मौलिकता नबिग्रिने गरी के कसो गर्न सकिन्छ पुरातत्त्व विभागलाई पत्राचार गरी पुरातत्त्वबाट निश्चित निर्देशन प्राप्त नभएसम्म कविकुञ्ज निर्माणसम्बन्धी कुनै कार्य अगाडि नबढाउनु भनी निवेदकको निवेदन माग सम्बोधन हुने गरी अन्तरिम आदेश जारी भएपश्चात् विपक्षी नेपाल प्रज्ञा प्रतिष्ठानले पुरातत्त्व विभागसँग समन्वय गरी कार्य अगाडि बढाएको पाइन्छ । सोअनुरूप पुरातत्त्व विभागले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर कविकुञ्जको पुरानो फोटोको आधारमा Ground floor सहित ३ तले २ पाखे छानो मौलिक वास्तु शैलीमा परम्परागत निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गर्नु गराउनु भनी नेपाल प्रज्ञा प्रतिष्ठानमा लेखी पठाएकोमा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रस्तावित लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय कविकुञ्जको नक्साङ्कन र डिजाइन संशोधन गरी पुरातत्त्व विभागले दिएको निर्देशनअनुसार महाकवि देवकोटाको पुरानो घरको शैलीअनुरूप नयाँ नक्साङ्कन र डिजाइन तयार गरेको देखिन्छ । विपक्षी नेपाल प्रज्ञा प्रतिष्ठानले सो नक्साङ्कन र डिजाइनसहितको कार्य प्रगतिको विस्तृत विवरण च.नं. ७४ (स.नि.स.) मिति २०७८।९।६ को पत्रसाथ यस अदालतमा पेस गरी महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय कविकुञ्ज निर्माण गर्ने क्रममा काम लाग्ने इँटा तथा काठहरू सम्भव भएसम्म पुनः प्रयोग गर्ने, प्रयोग हुन नसकेकोलाई सङ्ग्रहालयमा सुरक्षित राख्ने तथा भवन पुरातात्विक रूपमा निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको देखिन आउँछ । यसरी माथि चर्चा गरिएअनुसार प्राविधिक दृष्टिकोणसमेतले कविकुञ्जको पुनर्निर्माण बाध्यता भएको देखिएको र यस अदालतको आदेशपश्चात् महाकवि देवकोटाको नाममा बन्ने सङ्ग्रहालय कविकुञ्ज देवकोटाको पुरानो घरको शैलीलाई कायम राख्दै वास्तु शैलीमा परम्परागत निर्माण सामग्री प्रयोग गरी बनाउन विपक्षीहरू प्रतिबद्ध रहेको देखिएबाट निवेदकको मागसमेत उक्त प्रतिबद्धताबाट सम्बोधन भएको देखिन आउँछ ।
८. अतः निवेदकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सुदृढीकरण वा जीर्णोद्धारको माध्यमबाट नै दुरूस्त तुल्याउन सकिने भन्ने सम्बन्धमा इन्जिनियरिङसम्बन्धी दृष्टिकोण तथा प्राविधिक आधारहरू प्रस्तुत गर्न सकेको नदेखिएको, महाकविको घर कविकुञ्जमा प्रयोग भएका न्यून मात्रामा पोलेको इँटा तथा काठहरू बाहेक अधिकांश इँटा तथा काठहरू पुनः प्रयोग गर्न नसकिने भन्ने प्राविधिक प्रतिवेदन रहेको, देवकोटाको घरको आधिकारिकता र मौलिकता कायम रहने गरी पुनर्निर्माण गर्ने गरी संशोधित नक्साङ्कन र डिजाइन तयार भई कार्य अगाडि बढाएको देखिएको, प्रस्तावित महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय कविकुञ्ज साबिककै स्वरूप, आधार, प्रकार र बनोट रहने एवम् परम्परागत सामग्री र प्रविधि प्रयोग गरी मौलिकता कायम राख्न विपक्षीहरू प्रतिवद्ध रहेको देखिएबाट निवेदकको मागसमेत सम्बोधन हुने अवस्था देखिँदा निवेदन मागदाबीबमोजिम उत्प्रेषण र परमादेशको आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता रहेको देखिएन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । प्रस्तुत आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षीहरूलाई दिई आदेशको विद्युतीय प्रतिलाई यस अदालतको कम्प्युटर सफ्टवेयर प्रणालीमा प्रविष्टि गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशमान सिंह राउत
इजलास अधिकृतः किरणकुमार सिंह / ईश्वरीप्रसाद सुवेदी
इति संवत् २०७९ साल माघ १६ गते रोज २ शुभम् ।