निर्णय नं. ११३०३ - फैसला बदर हक कायम दर्ता
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना
माननीय न्यायाधीश श्री नहकुल सुवेदी
फैसला मिति : २०८०।१।१३
०७६-CI-०५९१
मुद्दाः- फैसला बदर हक कायम दर्ता
पुनरावेदक / वादी : केशरबहादुर रायमाझीको छोरी जिल्ला मकवानपुर साबिक दामन गा.वि.स. वडा नं. ४ हाल थाहा नगरपालिका वडा नं. ७ बस्ने मथुरा रायमाझी
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : लक्ष्मण रायमाझीको श्रीमती जिल्ला मकवानपुर साबिक दामन गा.वि.स. वडा नं. ४ हाल थाहा नगरपालिका वडा नं. ७ बस्ने दिपा रायमाझी
मुद्दामा डिसमिस मिलापत्र खारेज आदि गराउन स्वाभाविक रूपमा दुई पक्ष आवश्यक पर्ने । एक पक्ष मात्र भएमा मुद्दा सिर्जना हुने अवस्था नै नहुने । मुद्दा मिलापत्र वा फैसलालगायतका परिणाम स्वरूप तेस्रो पक्षको हकमा असर पर्न गएमा दुवै पक्षउपर नालेस गर्नुपर्ने । झगडीया भन्ने शब्दले मुद्दाका दुवै पक्षलाई इङ्गित गरेको देखिने । कुनै व्यक्तिलाई प्रतिवादी बनाउने वा नबनाउने वादीको अधिकारको कुरा भए तापनि फैसला वा मिलापत्रको परिणामस्वरूप दुवै पक्षको हक अधिकार निर्धारण भएकोमा सोही फैसला वा मिलापत्रको परिणाम एक पक्षको हकमा मात्र कायम रहने अर्को पक्षको हकमा कायम नरहने गर्नु न्याय र तर्कसङ्गत नहुने । मिलापत्र बदरको नालेस दायर गर्दा वादी प्रतिवादी दुवै पक्षलाई प्रतिवादी बनाई दायर गर्नुपर्ने ।
(प्रकरण नं.५)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्याम प्रसाद पाण्डे, श्री राम नारायण विडारी, श्री विनय स्थापित एवं विद्वान् अधिवक्ताहरू श्री विराज थापा, श्री आर्या श्रेष्ठ र श्री मुकुन्द न्यौपाने
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री उज्जल घिमिरे
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा.जिल्ला न्यायाधीश श्री खडानन्द तिवारी
मकवानपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी
माननीय न्यायाधीश श्री बाल मुकुन्द दवाडी
उच्च अदालत पाटन, हेटौंडा इजलास
फैसला
न्या.नहकुल सुवेदी : उच्च अदालत पाटन, हेटौंडा इजलासबाट मिति २०७६।९।१३ मा भएको फैसलाउपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०७३ को दफा दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः-
तथ्य खण्ड
मूल पुरूष कुविर सिं का ५ छोरामा जेठा भक्तबहादुर, माहिला कर्णबहादुर, साहिँला हस्तबहादुर, काहिला भिमबहादुर र कान्छा विरबहादुर हुन् । कर्णबहादुरको छोरा केशरबहादुर, केशरबहादुरको छोरा लक्ष्मण, लक्ष्मणको कान्छी पत्नी विपक्षी हुन् भने जेठीपट्टिका छोराहरू नवराज र युवराज हुन् । हस्तबहादुरको छोरा केशरबहादुरको २ छोरीमा हरी माया र म मथुरा हुँ । यसरी विपक्षी दिपा कर्णबहादुरको छोरा केशरबहादुरको छोरा बुहारी हुन् भने म हस्तबहादुरको छोरा केशरबहादुरको छोरी हुँ । मैले जोत भोग गरी आएको हस्तबहादुरको छोरा केशरबहादुरको नाममा रहेको जि.मकवानपुर गा.वि.स. दामन (शिखरकोट) वडा नं. ४ हाल थाहा न.पा. वडा नं. ७ को कि.नं.२९९ को ज.वि. ३-१-१ -२ जग्गा २०७१ सालको CP-००६२ को अंश मुद्दामा जनाई विपक्षीले अंश पाउने गरी विपक्षी वादी र नवराजसमेत प्रतिवादी भएको अंश मुद्दाको फैसलाको बारेमा जानकारी पाउँदा मैले विपक्षी तथा नवराज र युवराजलाई मेरो बाबु केशरबहादुरको जग्गा किन लिन खोज्नुभएको भन्दा युवराज र नवराजले हामीलाई यो कि.नं.२९९ को जग्गा चाहिँदैन भनेकाले युवराज र नवराजलाई प्रतिवादी नबनाइएको हो । विपक्षीले उक्त कि.नं.२९९ को जग्गा अंश मुद्दाको फैसला मुताबिक नै पाउनुपर्छ । कर्णबहादुरको छोरा केशरबहादुरकै जग्गा हो भनेकाले विपक्षीउपर मात्र प्रस्तुत मुद्दा दायर गर्नु परेको छ । कर्णबहादुरको छोरा विपक्षीको ससुरा केशरबहादुर र हस्तबहादुरको छोरा मेरो बाबु केशरबहादुरको नाम एउटै भएको भरमा मेरो बाबु केशरबहादुरको नामको उक्त कि.नं.२९९ को ज.रो. ३-१-१-२ मूल्य रू.२,२०,०००/- को जग्गालाई विपक्षीले यस अदालतको मिति २०७२।५।२७ को फैसलामार्फत आफ्नो गराउन खोजेबाट मेरो हकको उक्त कि.नं. २९९ को जग्गाको हदसम्मको फैसला बदर गरिपाउन यो फिराद गर्न आएको छु । उक्त फैसलाबारे २०७३।३।२१ गते नक्कल लिई थाहा पाएको हुँ । तसर्थ हस्तबहादुरको छोरा मेरो बुबा केशरबहादुर रायमाझीको नाममा दर्ता रहेको उक्त कि.नं. २९९ को जग्गाको हदसम्मको ०७१ सालको CP-००६२ को अंश मुद्दाको २०७२।५।२७ को फैसला बदर गरी म वादीको नाउँमा उक्त जग्गाको हक कायम गरी दर्तासमेत गरिपाउँ भन्नेसमेत बेहोराको फिराद पत्र ।
विपक्षी वादी मथुरा रायमाझी गोर्खामा विवाह गरी गएकी हुन् । निजको बाबुको नाउँ र मेरो ससुराको नाम मिल्न गएको मात्र हो । निज वादी आजभन्दा निकै वर्ष पहिला विवाह गरी गइसकेकोले निजलाई मैले राम्रोसँग चिनेकोसम्म छैन । वादीले आफूले कमाइआएको भनेको बेहोरा झुठ्ठा हो । उक्त कि.नं. २९९ को ज.रो ३-१-१-० जग्गामा हाम्रो घर टहरो रहेको छ र त्यसमा मेरी जेठी बुहारी डीना रायमाझी सानो पसल गरी बसिरहेकी छन् । हामीहरूले नै खेतीपाती गरी कमाई खाई आइरहेका छौँ । मेरा छोराहरू नवराज र युवराजले यो जग्गा हाम्रो हजुरबुबा केशरबहादुरको होइन, हाम्रो बन्डा लाग्ने सम्पत्ति पनि होइन भनेका छन् भन्ने कुरा वादीले फिरादमा उल्लेख गरेको भए तापनि मेरो र निजहरू विरूद्धको मुद्दामा कि.नं. २९९ हाम्रो होइन भनी कहीँकतै उल्लेख गरेको छैन । यो हाम्रो एकासगोलको बन्डा लाग्ने सम्पत्ति हो भनेर निजहरूलाई राम्रोसँग थाहा छ । म कान्छी आमा भएको र मलाई दिनुपर्छ भनी निज छोराहरू विपक्षीसँग मिली जालझेल गरी यो मुद्दा दायर गरेका हुन् । विपक्षीको कुनै हक लाग्दैन । निज छोराहरूलाई बन्डा मुचुल्का उठाउने बेलामा पटकपटक खबर गर्दासमेत जग्गा बन्डामा उपस्थित नभएका र बन्डा गर्ने क्रममा कि. नं. ४१३ भुलवश छुट्न गएको र कि.नं.१९५ बन्डा गर्दा सानो परिमाणको जग्गा कित्ताकाट गर्दा निकै स-सानो टुक्रा हुन जाने कारण मैले बन्डा नगरी छोराहरूलाई नै छाडिदिएको हुँ । तर बन्डा गरिसकेपछि मलाई दुःख दिने नियतले यसै अदालतमा मिति २०७३।२।९ गते बेरितको बन्डा मुचुल्का बदर गरिपाउँ भनी निवेदन दिएको अवस्था छ । मेरा छोराहरूमध्येमा नवराजले उक्त अंश मुद्दामा प्रतिउत्तर नै नलगाएको र युवराजले पहिला मलाई मेरो केही नाता छैन भनी अंश दिनबाट वञ्चित गर्न खोजेको भए तापनि सबुत प्रमाणको आधारमा मैले मुद्दा जितिसकेपछि निजहरूले मलाई अप्ठ्यारोमा पार्नको लागि हुँदै नभएको मान्छेको हकाधिकार देखाई मुद्दा गर्न आएको अवस्था हो । तसर्थ यी वादीले नाम मात्र मिलेको भरमा उक्त कि.नं. मैले खान नपाओस् भनी मेरो छोराहरूको मिलीमतोमा मलाई अंशबाट बेहक पार्ने उद्देश्य राखी विवाह गरी अर्काको घरमा गइसकेकी वादीले मुद्दा हाल्नु भएको छ । मुलुकी ऐन, अ.बं. १८० नं.बमोजिम खारेज गरी मेरो प्रतिउत्तर जिकिरबमोजिम न्याय इन्साफ पाउँ साथै गाउँ सर्जमिन बुझी मेरो ससुरा केशरबहादुर रायमाझीको नाउँमा दर्ता रहेको कि.नं. २९९ को जग्गालाई हामीहरूको ३ भाग लगाई ३ भागको १ भाग मेरो नाउँमा दर्ता गरी चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दिपा रायमाझीको प्रतिउत्तर पत्र ।
प्रतिवादी दिपा रायमाझीको साक्षी देवकी ढकालले सुरू अदालतमा गरेको बकपत्र, डोरबाट भई आएको मिति २०७४।१०।२० को सर्जमिन मुचुल्का तथा वादी दिपा रायमाझी र प्रतिवादी नवराज रायमाझीसमेत भएको ०७१ सालको CP-००६२ को अंश मुद्दाको प्रमाण मिसिल साथै रहेको ।
कि.नं. २९९ को जग्गा वादीका पिता हस्तबहादुरको छोरा केशरबहादुरको भन्ने देखिन आएकाले सो जग्गा प्रतिवादी दीपा रायमाझीका ससुरा कर्णबहादुरका छोरा केशरबहादुरको मान्न सकिने भएन । प्रतिवादीका ससुरा केशरबहादुरको सो जग्गा हो भन्न सकिने अवस्था नदेखिएपछि ०७१-CP-००६२ को अंश चलन मुद्दामा तायदातीमा समावेश गरी सो कि.नं. २९९ को जग्गाबाट प्रतिवादी दीपा रायमाझीले अंश प्राप्त गर्न सक्ने देखिन आएन । ०७१-CP-००६२ को सो अंश चलन मुद्दामा दामन शिखरकोट वार्ड नं.४ हाल थाहा न.पा वडा नं.७ को कि.नं.२९९ को जग्गाबाट ३ भागको १ भाग अंश वादी (यस मुद्दाकी प्रतिवादी) दीपा रायमाझीले पाउने ठहर्छ भन्ने हदसम्मको फैसला कायम रहन सक्ने देखिएन । सो कि.नं. २९९ को जग्गाबाट दीपा रायमाझीले ३ भागको १ भाग अंश पाउने हदसम्मको ०७१-CP-००६२ को अंश चलन मुद्दाको फैसला बदर हुने ठहर्छ । सो फैसलाबाट प्रतिवादी दीपा रायमाझीको ३ भागको १ भाग मात्र अंश हक कायम भई २ भाग सो मुद्दाका प्रतिवादीहरूको भएकोमा यी वादीले सो मुद्दाका प्रतिवादीलाई प्रतिवादी बनाएको नदेखिँदा निजहरूको हक प्रस्तुत मुद्दाको फिरादबाट बोल्न सक्ने देखिएन । यस स्थितिमा दाबीको कि.नं. २९९ को जग्गाको ३ भागको १ भाग जग्गासम्म नरम गरम मिलाई वादीको हक कायम भई वादीको नाममा दर्तासमेत हुने ठहर्छ । कि.नं. २९९ को पूरै जग्गाको हक कायम गरी दर्ता गरिपाउँ भन्नेसम्मको वादी दाबी पुग्न सक्दैन भन्नेसमेत मकवानपुर जिल्ला अदालतको मिति २०७४।११।२८ को फैसला ।
मिति २०७४।१०।२० गते भएको सर्जमिनलाई मात्र आधार मानी फैसला भएको छ । जसका पनि २।४ जना आफ्ना गफमेलका साथीहरू हुन्छन् । २।४ जनाले दर्ता स्रेस्ता प्रमाणविपरीत यो जग्गा फलानाको हो भनेको आधारमा हक कायम हुन सक्दैन । कि.नं. २९९को जग्गाबाट ३ भागको १ भाग अंश वादी (यस मुद्दाकी प्रतिवादी दीपा रायमाझी) ले पाउने भनी भएको फैसला सो हदसम्मको कायम नरही सो कि.नं.२९९ को जग्गालाई ३ भागको १ भाग अंश पाउने हदसम्मको ०७२-CP-००६२ को अंश चलन मुद्दाको फैसला बदर हुने भनी प्रस्तुत मुद्दामा सुरू अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी ०७१-CP-००६२ को अंश चलन मुद्दाको फैसला यथावत कायम राखी दाबीको कि.नं. २९९ को जग्गामा म पुनरावेदक प्रतिवादीको अंश हक कायम हुने गरी फैसला गरिपाउँ भन्नेसमेत प्रतिवादी दीपा रायमाझीको पुनरावेदन पत्र ।
वादी दाबीको जग्गाको ७ नं. फाँटवारी, नापीका बखत खडा भएको सक्कलै फिल्डबुक र नापी किताब तथा तीनपुस्ते विवरणसमेतका समकालीन लिखतहरूसमेत बुझ्दै नबुझी प्रतिवादीले पाएको अंशको एउटा मात्र कि.नं.२९९ जग्गाको ३ भागको १ भाग बदर गर्ने गरी भएको सुरू फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. एवं मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २१३(३) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम म्याद जारी गरी प्रत्यर्थी झिकाई हाजिर भए वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत पाटन, हेटौंडा इजलासबाट मिति २०७५।९।८ मा भएको आदेश ।
वादी दाबीको कि. नं. २९९ को जग्गाको ७ नं. फाँटवारी पुनरावेदक प्रतिवादीको ससुरा केशरबहादुर रायमाझीले भरेको देखिन आएको, कर्णबहादुरका छोरा केशरबहादुर रायमाझीले २०६४ सालमा प्राप्त गरेको दर्तास्रेस्ता र उल्लिखित ७ नं. फाँटवारी बदरतर्फसमेत वादीको कुनै दाबी परेको देखिन आउँदैन । प्रत्यर्थी वादी विवाहित रहेको भन्ने प्रतिउत्तर जिकिरलाई वादीले खण्डन गर्न सकेको पाइँदैन । निज वादीका पिता केशरबहादुर रायमाझीको मृत्यु २०५२ सालमै भएको भन्ने सम्बन्धमा समेत मुख मिलेकै देखिन्छ । निज प्रत्यर्थी वादीले तत्कालीन मुलुकी ऐन, अपुतालीको महलको २० नं. को हदम्यादभित्र नालेस गरी दाबीको जग्गामा अपुताली हक कायम गराउन सकेको अवस्था देखिन नआएको समेतबाट यी पुनरावेदक प्रतिवादीसमेतका बिच चलेको अंश मुद्दाको ३ भागको १ भाग फैसला बदर गर्ने गरेको सुरू मकवानपुर जिल्ला अदालतको मिति २०७४।११।२८ को फैसला मिलेको नदेखिँदा सो फैसला उल्टी भई वादीको दाबी नपुग्ने ठहर्छ भन्नेसमेत उच्च अदालत पाटन, हेटौंडा इजलासबाट मिति २०७६।०९।१३ मा भएको फैसला ।
म पुनरावेदक वादी कुवेर सिंहका साहिँला छोरा हस्तबहादुरका छोरा केशरबहादुरको छोरी भएकोमा विवाद छैन । पिता केशरबहादुर रायमाझीका नाउँमा दर्ता स्रेस्ता कायम भएको अचल सम्पत्ति पिता माताको लालन पालन गरी खेतीपाती गर्दै भोग चलन गरिआएको छु । पिताको मृत्युपछि हक खाने छोराहरू नभएकोले म पुनरावेदक छोरीले खान पाउने हुँदा मैले पिता केशरबहादुरका नाउँबाट नामसारी नगरी पिताकै नाउँमा रहेको थियो । विपक्षी र विपक्षीका सौतेनी दुई छोराहरूबिच अंश मुद्दा गरी सो अंश मुद्दामा विपक्षीसमेतले तायदाती पेस गर्दा मेरो पिता केशरबहादुरका नाउँमा रहेको कि.नं. २९९ को जग्गालाई पनि तायदाती फाँटवारीमा पेस गरी आफूहरूको अंश लाग्ने आफ्नो ससुरा तथा हजुरबुबा केशरबहादुरको नाउँको जग्गा हो भनी ३ भागको १ भाग विपक्षीले अंश पाउने गरी मकवानपुर जिल्ला अदालतबाट फैसला भएकोमा सो फैसला बदर गरिपाउन मैले प्रस्तुत मुद्दा दायर गरेको हुँ । सुरू मकवानपुर जिल्ला अदालतबाट म पुनरावेदकको हकमा फैसला भएकोमा सो फैसलालाई उच्च अदालत पाटन, हेटौंडा इजलासले उल्टी गरेको मिलेको छैन । विपक्षीले दाबी गरेको विवादित जग्गा र म पुनरावेदकले दाबी गरेको जग्गा एकै भई जग्गाधनीको नाम पनि एकै मिल्न गएकोले विपक्षीले मेरो ससुराको हो भनी दाबी गरेकी हुन् । विपक्षी एक पुस्तामुनिका व्यक्तिलाई आफ्नो वास्तविक अंश र वंश थाहा जानकारी नभएको अवस्थामा एकाको सम्पत्तिमा कसैको नाउँ मिल्दैमा हक दाबी लाग्ने होइन । सुरू अदालतबाट २०७४।१२।२० मा स्थानीय सर्जमिन गर्दा कि.नं. २९९ को जग्गा मेरो पिता केशरबहादुरको हो र मैले सो जग्गा साबिकदेखि हालसम्म भोग चलन गर्दै आइरहेको भनी लेखिदिएका छन् । सुरूको फैसला उल्टी गरी वादीको दाबी नपुग्ने भनी उच्च अदालत पाटन, हेटौंडा इजलासबाट भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी न्याय दिलाइपाउँ भन्नेसमेत वादी मथुरा रायमाझीको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा प्रमाणमा पेस भएका स्रेस्ता प्रमाण कागजबाट विवादित कि.नं. २९९ को ३- १-१-२ जग्गा वादीका बाबु केशरबहादुर रायमाझीको हकभोगको जग्गा हो भन्ने तथ्य समर्थित भइरहेको अवस्थामा सो प्रमाणको उचित मूल्याङ्कन नगरी भएको उच्च अदालतको मिति २०७६।९।१३ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ समेत प्रमाण मूल्याङ्कनसम्बन्धी त्रुटि देखिएको हुँदा इन्साफ फरक पर्न सक्ने भएकोले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २१३(३) बमोजिम प्रत्यर्थी झिकाई हाजिर भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७९।४।१८ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्याम प्रसाद पाण्डे, श्री राम नारायण विडारी, श्री विनय स्थापित एवं विद्वान् अधिवक्ताहरू श्री विराज थापा, श्री आर्या श्रेष्ठ र श्री मुकुन्द न्यौपानेले वादी दाबीको कि. नं. २९९ को जग्गा वादीका पिता केशरबहादुर रायमाझीको नामको जग्गा हो । सुरू अदालतबाट मिति २०७४।१०।२० मा गरिएको सर्जमिनमा सो जग्गा वादीका पिता केशरबहादुरको हो भनिएको छ । वादीले आफ्ना पिताको सेवा गरी पिताकै घरमा बसेको अवस्थामा उनाउ व्यक्ति यी प्रतिवादीसमेतले आपसमा अंश मुद्दा गरी वादीका पिताको जग्गा बन्डा गरेको हो । तसर्थ प्रत्यर्थी दिपा रायमाझीबाहेकका अन्य प्रतिवादीहरूले आफ्नो भाग छाडेको अवस्थामा ३ भागको १ भाग बदर हुने ठहर गरेको सुरू जिल्ला अदालतको फैसला मनासिब हुँदाहुँदै सो फैसला उल्टी गरी वादी दाबी नपुग्ने भनी गरेको उच्च अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी वादी दाबी एवं पुनरावेदन जिकिरअनुसार न्याय इन्साफ गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री उज्जल घिमिरेले वादी दाबीको कि.नं. २९९ को जग्गा पुनरावेदक वादीका पिताको भए पूरै जग्गामा दाबी लिई आउनुपर्नेमा ३ भागको १ भागसम्मको अंश मुद्दाको फैसला बदर गराउन माग गरेको छ । उक्त अंश मुद्दाका प्रतिवादीहरू युवराज र नवराज रायमाझीलाई प्रस्तुत मुद्दामा प्रतिवादी नै बनाएको छैन । सोही अंश मुद्दाको फैसला कार्यान्वयनका लागि अदालतबाट डोर खटी गएको बेला यदि पुनरावेदक वादीले जग्गा जोत कमोद आफैँले गरेको भए थाहा पाउनुहुन्थ्यो । त्यस्तै ७ नं. फाँटवारी र २०६४ सालको स्रेस्ता बदरतर्फ दाबी नै छैन । प्रत्यर्थी वादी विवाहित रहेको भन्ने प्रतिउत्तर जिकिरलाई वादीले खण्डन गर्न सकेको पाइँदैन । सुरूको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी गरी वादीको दाबी नपुग्ने ठहराएको उच्च अदालत पाटन हेटौंडा इजलासको फैसला न्यायोचित हुँदा सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसमा, हस्तबहादुरको छोरा मेरो बुबा केशरबहादुर रायमाझीको नाममा दर्ता रहेको जि.मकवानपुर गा.वि.स दामन (शिखरकोट) वडा नं.४ हाल थाहा न.पा वडा नं.७ कि.नं.२९९ को ज.वि. ३-१-१-२ जग्गा वादी दीपा रायमाझी र प्रतिवादी नवराज रायमाझीसमेतको बिच चलेको ०७१ सालको CP-००६२ को अंश मुद्दामा विपक्षीले अंश पाउने गरी फैसला गराएकोले सो जग्गा हदसम्म ०७१ सालको CP-००६२ को अंश मुद्दामा मिति २०७२।०५।२७ मा भएको सुरू फैसला बदर गरी म वादीको नाउँमा उक्त जग्गाको हक कायमसमेत गरिपाउँ भन्नेसमेत फिराद दाबी र दाबीको जग्गा वादीका बाबुको नामको जग्गा होइन । मेरो ससुरा केशरबहादुर रायमाझीको नामको हो । वादी आजभन्दा निकै वर्ष पहिला गोरखामा विवाह गरी बसेकेकोले निजलाई मैले राम्रोसँग चिनेकोसम्म छैन । कि.नं. २९९ को ज.वि ३-१-१-० जग्गामा हाम्रो घर टहरो रहेको छ । हामीहरूले नै खेतीपाती गरी कमाई खाइ आइरहेका छौँ । यी वादीको बाबुको नाम मिलेको भरमा उक्त जग्गा मैले नपाओस् भनी मेरो छोराहरूको मिलोमतोमा लागी मुद्दा हाल्नुभएको हो भन्नेसमेत प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा दाबीको कि.नं.२९९ को जग्गाको ३ भागको १ भाग जग्गासम्म नरम गरम मिलाई वादीको हक कायम भई वादीको नाममा दर्तासमेत हुने, कि.न. २९९ को पूरै जग्गामा हक कायम गरी दर्ता गरिपाउँ भन्ने सम्मको वादी दाबी पुग्न सक्दैन भनी सुरू मकवानपुर जिल्ला अदालतबाट भएको फैसलाउपर प्रतिवादी दीपा रायमाझीको उच्च अदालत पाटन, हेटौंडा इजलासमा पुनरावेदन परेको र सो अदालतबाट सुरूको फैसला उल्टी गरी वादीको दाबी नपुग्ने ठहर्याएको फैसलाउपर चित्त नबुझाई वादी मथुरा रायमाझीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
वादीले यस अदालतमा पुनरावेदन गर्दा, मूल पुरूष कुवेर सिंहका ५ छोराहरूमा जेठा छोरा भक्तबहादुर, माइला कर्णबहादुर, साहिँला हस्तबहादुर, काइँला भीमबहादुर र कान्छा विरबहादुर हुन् भने कर्णबहादुरका छोरा केशरबहादुर हुन् भने हस्तबहादुरको छोरा पनि केशरबहादुर नै हुन् । विपक्षी दीपा रायमाझी कर्णबहादुर रायमाझीपट्टिका लक्ष्मणबहादुरका दुई श्रीमतीमध्ये कान्छी श्रीमती हुन् । विपक्षीका पति लक्ष्मणबहादुर रायमाझी र निजका छोरा नवराज र युवराज रायमाझीसमेतले पिता तथा हजुरबुबाको मृत्युपश्चात् अन्य अचल सम्पत्ति केशरबहादुरका नामबाट नामसारी गरी ल्याएका हुन् । विवादित कि.नं. २९९ को जग्गा केशरबहादुर रायमाझीको नै नाउँमा यथावत् रहेको हुँदा पिताको मृत्युपश्चात् मैले आफ्नो नाममा नामसारी गर्न पाउने र सो जग्गामा विपक्षीको हक नलाग्ने हुँदा सुरू मकवानपुर जिल्ला अदालतबाट भएको फैसलालाई उल्टी बदर गरी उच्च अदालत पाटन, हेटौंडा इजलासबाट भएको फैसला उल्टी बदर गरिपाउँ भन्ने मुख्य जिकिर लिएको देखिन्छ ।
उल्लिखित तथ्य र पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा दुवै पक्षबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको तर्कपूर्ण बहस जिकिरसमेत सुनी उच्च अदालत पाटन, हेटौंडा इजलासबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? सो सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, मकवानपुर जिल्ला, दामन (शिखरकोट) गाउँ विकास समिति वडा नं. ४ हाल थाहा नगरपालिका वडा नं. ७ कि.नं. २९९ को जग्गा साबिकमा केशरबहादुर रायमाझी नाउँमा भएको तथ्यमा विवाद भएन । तर प्रस्तुत मुद्दाका वादीका पिताको नाउँ र प्रतिवादीका ससुराको नामसमेत एकै अर्थात् केशरबहादुर रायमाझी भएकाले उक्त जग्गा वादीका पिता वा प्रतिवादीका ससुरा कुन केशरबहादुरको नाउँको रहेछ भन्ने नै प्रस्तुत मुद्दाको मुख्य विवाद देखिएको छ ।
३. सो सम्बन्धमा पुनरावेदक वादीले यस अदालतमा पेस गरेको ७ नं. फाँटवारीको प्रतिलिपि हेर्दा जग्गावालाको नाम केसरवहादुर माझी र बुबाको नाम हस्तबहादुर भनी उल्लेख भएको देखिए तापनि कि.नं. २९९ सो फाँटवारीमा उल्लेख भएको वा नापी नहुँदैको अवस्थाको भए चार किल्ला उल्लेख गरेकोसमेत देखिन आउँदैन । उक्त जग्गा साबिकमा गुठीको रहेको भन्ने देखिन्छ । सो जग्गाको ७ नं. फाँटवारीको क्र.सं. ४ मा गुठीको जग्गा भनी जनाई प्रतिवादीका ससुरा केशरबहादुर रायमाझीले विवरण प्रस्तुत गरेको पाइन्छ । दाबीको जग्गा २०६४ सालमा नै कर्णबहादुरको छोरा केशरबहादुर रायमाझीको नाममा दर्ता स्रेस्ता प्रमाणित भई आएकोमा निजले प्राप्त गरेको स्रेस्ता बदरतर्फसमेत वादीको कुनै दाबी परेको मिसिल प्रमाणबाट देखिन आउँदैन । यदि दाबीको कि. नं. २९९ जग्गा पुनरावेदक वादीले दाबी गरे जस्तो हस्तबहादुर रायमाझीको छोरा केशरबहादुर रायमाझीको नाउँमा रहेको भए वादीले तत्कालीन मुलुकी ऐन, अपुतालीको महलको कानूनी व्यवस्थाअनुसार अपुतालीतर्फ दाबी गरी सो हक स्थापित गराउन सक्नुपर्नेमा अपुताली महलको २० नं.बमोजिमको म्यादभित्र नालेस गरी अपुताली हकसमेत कायम गराउनेतर्फ अग्रसर भएको पाइँदैन । यस्तो अवस्थामा आफ्ना माता पिताको मृत्यु भएको २१ वर्षपछि परेको प्रस्तुत मुद्दाको फिरादबाट वादीको पिताको नाउँको हो कि भनी विचार गर्न सकिने अवस्था देखिएन ।
४. यसबाहेक, वादीले फिराद दाबीमा आफू विवाहित वा अविवाहित के हो, सो कुरा नखुलाई प्रस्तुत दाबी लिई आएको देखिन्छ । निज वादी विवाहित रहेको भनी प्रतिवादीले लिएको प्रतिउत्तर जिकिरलाई वादीले आफ्नो पुनरावेदन पत्रमा खण्डन गर्न सकेको देखिँदैन । यस प्रकार वादी विवाहित रहेको र निजका माता पिताको २०५२ सालअघि नै स्वर्गवास भएको देखिएको अवस्थामा निजले पिताको अंश भाग वा माता पितालाई पालन पोषण गरेबापत अपुतालीतर्फ दाबी गरेको हो भन्ने पनि मिसिलबाट खुल्न आउँदैन । अंश र अपुतालीसम्बन्धी दाबी नै आधारभूत रूपमा दुई फरक अवधारणा भएकोमा वादीले आफ्नो दाबी नै स्पष्ट रूपमा लिन नसकेको अवस्था देखिन आयो ।
५. यसबाहेक, प्रस्तुत मुद्दामा पुनरावेदक वादीले कि.नं. २९९ को जग्गा दिपा रायमाझी वादी र केशरबहादुरका नाति लक्ष्मण रायमाझीका छोराहरू नवराज रायमाझी र युवराज रायमाझी प्रतिवादी भई चलेको मुद्दा नं. ०७१-CP-००६२ को अंश दर्ता चलन मुद्दामा मकवानपुर जिल्ला अदालतबाट मिति २०७२।५।२७ मा भएको फैसला बदर गरिपाउँ भनी फिराद दायर गरेकोमा सो अंश मुद्दाका प्रतिवादीहरू नवराज रायमाझी र युवराज रायमाझीलाई प्रस्तुत मुद्दामा प्रतिवादी नै बनाएको देखिएन । निजले आफ्नो फिरादमा नवराज र युवराज रायमाझीले आफूहरूले मिलापत्रबाट पाएको जग्गा छाडिदिने भनी मौखिक रूपमा भनेकाले प्रतिवादी नबनाइएको भन्ने जिकिर लिएको देखिए तापनि यससम्बन्धी कानूनी व्यवस्था अर्थात् तत्काल कायम रहेको मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ८६ नं. को व्यवस्था हेर्दा, "फैसला डिसमिस, मिलापत्र, खारेज भएका मुद्दामा सो फैसला डिसमिस, मिलापत्र, खारेज भएकाले अर्काको हकसमेत जाने भएको रहेछ भने जसको हक जाने छ त्यसैले थाहा पाएका पैंतिस दिनभित्र यसमा हाम्रो पनि हक लाग्छ यसले मात्र हारी वा डिसमिस, खारेज, मिलापत्र गराएकोले हाम्रो हक जाने होइन भनी आफ्नो हकजतिमा झगडियाका नाउँमा नालिस दिए इन्साफ गरिदिनुपर्छ" भन्ने देखिन आयो । सो कानूनी व्यवस्थामा फैसला, मिलापत्र, डिसमिस, खारेज भएबाट कुनै तेस्रो पक्षको हकहितमा असर पर्न गएमा मर्का पर्ने पक्षले झगडियाका नाउँमा नालेस दिनुपर्छ भन्ने व्यवस्था देखिन आयो । मुद्दामा डिसमिस मिलापत्र खारेज आदि गराउन स्वाभाविक रूपमा दुई पक्ष आवश्यक पर्ने र एक पक्ष मात्र भएमा मुद्दा सिर्जना हुने अवस्था नै नहुने भएकाले मुद्दा मिलापत्र वा फैसलालगायतका परिणाम स्वरूप तेस्रो पक्षको हकमा असर पर्न गएमा दुवै पक्षउपर नालेस गर्नुपर्ने देखिन आयो । सो नम्बरमा उपर्युक्त झगडिया भन्ने शब्दले मुद्दाका दुवै पक्षलाई इङ्गित गरेको देखियो । कुनै व्यक्तिलाई प्रतिवादी बनाउने वा नबनाउने वादीको अधिकारको कुरा भए तापनि फैसला वा मिलापत्रको परिणामस्वरूप दुवै पक्षको हक अधिकार निर्धारण भएकोमा सोही फैसला वा मिलापत्रको परिणाम एक पक्षको हकमा मात्र कायम रहने अर्को पक्षको हकमा कायम नरहने गर्नु न्याय र तर्कसङ्गतसमेत नहुने हुँदा मिलापत्र बदरको नालेस दायर गर्दा वादी प्रतिवादी दुवै पक्षलाई प्रतिवादी बनाई दायर गर्नुपर्ने हुन आयो । मुलुकी ऐन, अ.बं. ८६ नं. कानूनी व्यवस्थाअनुसार एक पक्षलाई मात्र प्रतिवादी बनाई नालेस दायर गरेको फैसला बदर मुद्दाबाट अधिकारप्राप्त अड्डा अदालतबाट कानूनसम्मत रूपमा भए गरेका फैसला वा मिलापत्र बदर गर्न मिल्ने देखिएन ।
६. उपर्युक्त कानूनी व्यवस्थाको रोहबाट प्रस्तुत मुद्दाको विषयवस्तु एवं तथ्यगत अवस्थालाई हेर्दा, वादीले प्रतिवादी दीपा रायमाझी र नवराज रायमाझीसमेत बिच ०७१-CP-००६२ को अंश चलन मुद्दामा कि.नं. २९९ समेतका सम्पत्तिको ३ भागको १ भाग फैसला बदरको माग गरेकोमा सो अंश मुद्दाका प्रतिवादीहरू नवराज रायमाझी एवं युवराज रायमाझीलाई प्रतिवादी नै कायम गराएको नदेखिएको, उक्त अंश मुद्दा अन्तिम भई फैसला कार्यान्वयनसमेत भइसकेको फैसला कार्यान्वयनतर्फ वादीले बदरको दाबी नै नलिएको एवम् दाबीको सम्पत्ति आफूले नै भोग गरेको भन्ने वादी दाबी प्रमाणबाट समर्थित नभएको भन्नेसमेतका आधार प्रमाणबाट दीपा रायमाझी र निजका सौतेनी छोराहरू नवराज / युवराजबिच चलेको उक्त अंश दर्ता चलन मुद्दाको मिति २०७२।५।२७ को फैसलाबाट यी पुनरावेदक वादीको कुनै हक अधिकारमा असर परेको अवस्था देखिएन । यसस्थितिमा दाबीबमोजिम फैसला बदर गरेको सुरूको फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहर्याएको उच्च अदालत पाटन, हेटौंडा इजलासको फैसला मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन ।
७. तसर्थ, माथि विवेचित आधार र कारण तथा कानूनी व्यवस्थासमेतबाट वादीले फिराद दाबीबमोजिम ०७१-CP-००६२ को अंश दर्ता चलन मुद्दाको मिति २०७२।५।२७ को फैसला बदर भई सोको ३ भागको १ भाग जग्गामा निजको हक कायम भई निजको नाममा दर्तासमेत हुने ठहराएको सुरू मकवानपुर जिल्ला अदालतको मिति २०७४।११।२८ को फैसला उल्टी गरी वादी दाबी नपुग्ने ठहर्याई उच्च अदालत पाटन, हेटौंडा इजलासबाट मिति २०७६।९।१३ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशकुमार ढुङ्गाना
इजलास अधिकृत :- निरज पोखरेल
इति संवत् २०८० साल वैशाख १३ गते रोज ४ शुभम् ।