निर्णय नं. ११३१३ - उत्प्रेषणयुक्त परमादेशसमेत

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश डा.श्री कुमार चुडाल
आदेश मिति : २०८०।६।२२
०७४-WO-०९०४
विषय : उत्प्रेषणयुक्त परमादेशसमेत
निवेदक : कास्की जिल्ला, पोखरा महानगरपालिका, वडा नं. ८ को हाल काठमाडौं जिल्ला, टोखा नगरपालिका, ७ धापासी बसी कान्ति बाल अस्पतालमा व.क.पे.स. (दशौँ तह) मा कार्यरत विजय थापा
विरूद्ध
विपक्षी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय अनामनगर, काठमाडौंसमेत
एकै निकायमा उही कार्य गर्दा निजले प्राप्त गर्ने अनुभवमा भने फरक निकायबाट हुने नियुक्तिले फरक पर्ने अवस्था नदेखिने । विभिन्न कारणले एक वर्षभन्दा कम सेवा अवधि भएको अवस्थामा पनि पटकपटकको एकै प्रकृतिको सेवालाई गणना गरी एउटै निकायबाट एकमुष्ट सेवा अवधि प्रमाणित गरी ल्याएको अवस्थामा त्यस्तो एकमुष्ट सेवा अवधिलाई मान्यता दिने गरी लोक सेवा आयोगले गरेको निर्णय उचित र न्यायपूर्ण देखिने ।
(प्रकरण नं.७)
निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री रूद्र नेपाल
विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कोषराज खनाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
आदेश
न्या.डा.कुमार चुडाल : नेपालको संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार रहेको छ:-
रिट निवेदनको संक्षिप्त तथ्य
म निवेदक नेपाल सरकार तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कान्ति बाल अस्पताल विकास समितिको मिति २०६४।५।३१ को २०१ औं बैठकको निर्णयानुसार कान्ति बाल अस्पतालको विकास समितितर्फ रिक्त रहेको मेडिकल अधिकृत आठौं तहमा ६ महिनाका लागि मिति २०६४।६।१ देखि लागु हुने गरी करार सेवामा नियुक्त भई मिति २०७१।३।२६ देखि नेपाल सरकारअन्तर्गत कन्सल्टेन्ट पेडियाट्रिक सर्जन (नवौं तह) मा स्थायी नियुक्ति पाई मिति २०७३।४।१ देखि दशौं तहमा बढुवा भई हालसम्म निरन्तर कार्यरत रहेको छु । प्रत्यर्थी लोक सेवा आयोगको मिति २०७४।६।९ तथा मिति २०७४।६।२४ को निर्णयबमोजिम स्वास्थ्य सेवाको एघारौं तहमा रिक्त रहेको पद-१, खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि मिति २०७४।६।२५ मा प्रकाशित सूचना नं. २८६।०७४-७५ को लिखित परीक्षाको विज्ञापनअनुरूपको योग्यता प्राप्त गरेकोले म निवेदकले पनि उक्त पदमा आवेदन गरेको थिएँ । लिखित परीक्षामा उत्तीर्ण भई मिति २०७५।२।११ गतेको अन्तर्वार्तामा समेत सामेल भएको छु । विपक्षी लोक सेवा आयोगले मिति २०७५।२।११ को निर्णयबमोजिम म रिट निवेदकलाई वैकल्पिक उम्मेदवारको रूपमा राखी प्रत्यर्थी बालमुकुन्द बस्नेतलाई उक्त पदका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको छ । प्रत्यर्थी लोक सेवा आयोगद्वारा मिति २०७४।६।२५ मा प्रकाशित लिखित परीक्षाको विज्ञापनको परीक्षा कार्यक्रममा उल्लेख भएबमोजिम उक्त पदका लागि आवश्यक न्यूनतम योग्यता नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १५(३) बमोजिम ऐ. को अनुसूची ६ मा अधिकृत ११ औं तहका लागि कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने व्यवस्था छ । सोही विज्ञापनमा १ वर्षभन्दा कम अवधिको अस्थायी वा करार सेवाको अनुभवलाई गणना गरिने छैन भनिएको छ । प्रत्यर्थी बालमुकुन्द बस्नेतको उक्त व्यवस्थाबमोजिमको ७ वर्षको सेवा अवधि पुगेको छैन भने १ (एक) वर्षभन्दा कम अवधिको अस्थायी वा करार सेवाको अनुभवलाई गणना नगरिने भन्ने प्रावधानविपरीत १ (एक) वर्षभन्दा कम अवधिको सेवासमेत गणना गरिएको छ । प्रत्यर्थी कान्ति बाल अस्पतालले अनुभव सम्बन्धमा मिति २०७४।७।१४ मा दिएको सिफारिस त्रुटिपूर्ण रहेको र सोही सिफारिसबमोजिम विपक्षी लोक सेवा आयोगले विपक्षीको योग्यता कायम गरेको मिलेको छैन । प्रत्यर्थी बालमुकुन्द बस्नेतले कान्ति बाल अस्पतालमा पाएको मिति २०६३।४।१ को करार नियुक्तिपछि राजीनामा दिई मिति २०६४।६।१ देखि सोही अस्पतालमा स्थायी नियुक्ति लिई काम गरेकोमा सो स्थायी नियुक्तिको विषयलाई उल्लेखसम्म नगरी तथ्य लोप गरी ढाँटी निरन्तर सेवा अवधिमा गणना गरेको मिलेको छैन । मिति २०६४।६।१ देखि मिति २०६५।५।११ सम्मको अवधि नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १५(३) को अनुसूची ६ बमोजिम निरन्तर सेवा अवधिमा गणना गर्न मिल्दैन । सोही अस्पतालमा मिति २०६९।५।१८ देखि मिति २०७१।११।१८ का बिचमा निज निरन्तर सेवारत मिति २०६९।०५।१८ देखि मिति २०७१।११।१८ का बिचमा निज निरन्तर सेवारत मिति २०७१।१२।११ सम्म करिब १ महिनाको अवधि खाली रही विपक्षी बालमुकुन्द बस्नेत कार्यरत नरहेकोमा सो सेवामा नरहेको अवधिलाई समेत निरन्तर सेवारत रहेको मानी ७ वर्षे कुल अवधिमा गणना गरेको मिलेको छैन । साथै विपक्षी बालमुकुन्द बस्नेत मिति २०७४।२।१६ देखि पुनः करारमा नयाँ नियुक्ति लिई मिति २०७४।७।१४ सम्म कार्यरत रहेको अवधि केवल ५ महिनाको अवधि रहेकोले सो अवधिसमेत कुल अवधिमा गणना गर्न मिल्दैन । अत: विपक्षी लोक सेवा आयोगको मिति २०७५।२।११ को निर्णयलगायत सोको अघिपछि मेरो प्रतिकूल हुने गरी विपक्षीहरूबाट भए गरेका सम्पूर्ण काम कारबाही, निर्णय, पत्राचार एवं सिफारिस आदि उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकलाई नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, पेडियाट्रिक सर्जरी उपसमूह, ११ औं तह, प्रमुख कन्सल्टेन्ट, पेडियाट्रिक सर्जन पदमा नियुक्तिको लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्नु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरिपाऊँ । साथै प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म मिति २०७५।२।११ को निर्णय तथा सिफारिसलाई तत्काल नरोक्ने हो भने यो निवेदनपत्रसमेत निष्प्रयोजित र औचित्यहीन भई म निवेदकलाई अपूरणीय क्षति पुग्ने भएकोले सुविधा र सन्तुलनबमोजिम हुने गरी हाललाई उक्त सिफारिस कार्यान्वयन नगर्नु नगराउनु भनी स.अ. नियमावली, २०७४ को नियम ४९(२) बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिपाउँ भन्नेसमेत बेहोराको निवेदन ।
यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार र कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १, २ र ३ को हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत र विपक्षी नं. ४ र ५ को हकमा आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूका नाममा यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी म्याद सूचना पठाई सोको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू । अन्तरिम आदेश माग भए सम्बन्धमा विचार गर्दा दुवै पक्ष राखी छलफल गर्नु उपयुक्त हुने देखिएकाले अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि मिति २०७५।३।५ को पेसी तोकी सोको सूचना विपक्षीहरूलाई दिनु साथै प्रत्यर्थी बालमुकुन्द बस्नेतलाई मिति २०७४।२।६ मा सिफारिसबमोजिम नियुक्ति पत्र दिन बाँकी भए अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु, नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ । सोको जानकारी विपक्षीहरूलाई दिई नियमानुसार पेस गर्नुहोला भन्नेसमेत बेहोराको मिति २०७५।०२।२४ मा यस अदालतबाट भएको आदेश ।
यसमा विपक्षी बालमुकुन्द बस्नेतले मिति २०७५।२।२७ मा नियुक्तिपत्र पाइसकेको भन्ने देखिन आएकोले मागबमोजिमको अन्तरिम आदेश जारी गर्न मिलेन । यस अदालतबाट जारी भएको मिति २०७५।२।२४ को अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न परेन । प्रस्तुत रिट निवेदन कर्मचारीको नियुक्ति, सिफारिससम्बन्धी विषय भई छिटो कारबाही किनारा गर्नुपर्ने देखिँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिइएको छ । नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७५।०३।०५ मा यस अदालतबाट भएको आदेश ।
लोक सेवा आयोगको वि.नं. १७०२५।०७४-७५ (खुला), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, पेडियाट्रिक सर्जरी उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेन्ट, पेडियाट्रिक सर्जन पदको माग पद संख्या १ (एक) का लागि मिति २०७५।१।६ मा प्रकाशित लिखित नतिजाबाट अन्तर्वार्ताका लागि २ (दुई) जना उम्मेदवार छनौट हुनुभएको थियो । लिखित परीक्षाबाट छनौट हुनुभएका २ (दुई) जना उम्मेदवारहरूमध्ये क्रम संख्या २ मा रहनुभएका रोल नं. १३०००४ का निज रिट निवेदक विजय थापाले क्रम संख्या १ मा रहनुभएका रोल नं. १३०००३ का उम्मेदवार बालमुकुन्द बस्नेत विरूद्ध विज्ञापित उपर्युक्त पदका लागि आवश्यक सेवा अवधि नपुगेकाले छानबिन गरिपाउँ भनी यस आयोगमा निवेदन-पत्र दर्ता गराउनुभएको थियो । आयोगबाट मिति २०७५।०२।१० मा "लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०६७ को दफा ११ को उपदफा (५) को देहाय (च) मा एक वर्षभन्दा कम अवधिको सेवा अवधि गणना नहुने भनिएको भए तापनि कुनै उम्मेदवारको कम्तीमा १ वर्ष अवधि निरन्तर कार्य गरेको र सोपछि पटक-पटक सोही वा उस्तै प्रकृतिका निकायमा १ वर्षभन्दा कम अवधि भए पनि काम गरेको अवस्थामा सोही निकायबाट एकमुष्ट सेवा अवधि प्रमाणित गरेको कागजात पेस गरेमा त्यस्तो पूरै सेवा अवधिलाई गणना गर्ने ।" भन्ने निर्णय भएको र बालमुकुन्द बस्नेतको नोकरी अवधि सम्बन्धमा कान्ति बाल अस्पतालको प.सं. २०७४।७५ च.नं. २२३ मिति २०७४।०७।१४ को पत्रमार्फत २०६३।०४।०१ देखि २०६५।०५।११ सम्म २ वर्ष र २०६९।०५।१५ देखि २०७४।०७।१४ सम्म ५ वर्ष १ महिना २९ दिनसम्म निरन्तर अटुट रूपमा सेवा गरेको भनी प्रमाणित पत्रमा उल्लेख भई आएको समेत आधारबाट उक्त विज्ञापनको मिति २०७५।०२।११ मा अन्तर्वार्ताको नतिजा प्रकाशन गरी निज मुख्य उम्मेदवार श्री बालमुकुन्द बस्नेतलाई स्वास्थ्य मन्त्रालयमा नियुक्तिको लागि सिफारिस गरिएको हो । निज बालमुकुन्द बस्नेतको बिच बिचमा टुटेको सेवा अवधि गणना गरिएको होइन । उक्त अवधि कटाई सेवा अवधि गणना गरेको र त्यसरी गणना गर्दासमेत निजको अनुभव अवधि पुगेको हुँदा नियमानुसार निजलाई सिफारिस गरिएको हो । निजको मिति २०७४।०२।१६देखि मिति २०७४।०७।१४ सम्मको अवधि १(एक) वर्षभन्दा कम रहेको देखिए पनि निज उही एउटै संस्थामा कार्यरत रही सेवा गरेको र निरन्तर सेवा गरेको भनी एकमुष्ट सेवा अवधि प्रमाणित गरेको कागजात पेस गरेको हुँदा सोहीबमोजिम आयोगबाट निर्णय भएको हो । एउटै संस्थामा पटक-पटक सेवा गरेको र कुनै पटकको अवधि एक वर्षभन्दा कम रहेको देखिएमा त्यस्तो अवधि गणना गर्न न्यायोचित हुने देखिँदा आयोगबाट कानूनसम्मत रूपमा निर्णय भई सोहीबमोजिम सिफारिस गरिएकोले रिट निवेदकको माग दाबी खारेज भागी छ खारेज गरिपाउँ भन्नेसमेत बेहोराको लोक सेवा आयोग, केन्द्रीय कार्यालय, प्रश्नपत्र परिमार्जन एवं अन्तर्वार्ता तथा सिफारिस महाशाखा र अन्तर्वार्ता तथा सिफारिस शाखा, अनामनगर, काठमाडौंसमेतको तर्फबाट यस अदालतमा परेको लिखित जवाफ ।
यसमा निवेदन मागबमोजिम नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय-१ र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय-१ लाई विपक्षी कायम हुने गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १९(२) बमोजिम निवेदनमा रहेको त्रुटि सच्याउन अनुमति दिइएको छ । प्रस्तुत निवेदनलाई मूल निवेदनको पूरकको रूपमा मिसिल सामेल गर्नू । अन्य विपक्षीहरूको हकमा कारण देखाउ आदेश जारी भइसकेको र कायम हुन आएका विपक्षीहरूका हकमा समेत कारण देखाउ आदेश जारी गर्नुपर्ने भएकोले यसमा के कसो भएको हो ? निवेदन मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरू नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी म्याद सूचना पठाई सोको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७५।०३।१३ मा यस अदालतबाट भएको आदेश ।
म लिखितजवाफ प्रस्तुतकर्ता मिति २०६३।४।१ बाट श्री कान्ति बाल अस्पतालमा सेवा प्रवेश गरी मिति २०६५।५।११ सम्म सोही अस्पतालमा कार्यरत रहेको र मिति २०६५।५।११ बाट नेपाल सरकार शिक्षा मन्त्रालयको छात्रवृत्तिमा Pediatrics विषयमा स्नातकोत्तर अध्ययनको लागि चीनको Fudan University मा भर्ना भई अध्ययन गरेको र उक्त अध्ययन पूरा गरी फर्केपश्चात् पुनः मिति २०६९।५।१८देखि हालसम्म कान्ति बाल अस्पतालमा कार्यरत रहिरहेको अवस्था हो । अध्ययन गरेको अवधिबाहेककै पनि मेरो सेवा गरेको अनुभव अवधि ७ वर्ष २ महिना १५ दिन भएको कान्ति बाल अस्पतालले मिति २०७४।७।१४ मा सिफारिस गरेको सेवा विवरणबाट स्पष्ट हुन्छ । उक्त सेवा विवरणमा उक्त अस्पताल विकास समितिको करारतर्फ मिति २०६३।४।१ देखि मेडिकल अधिकृत सातौं तह पदमा नियुक्ति पाई मिति २०६५।५।११ सम्म कार्यरत रहेको तथा मिति २०६९।५।१८ देखि हालसम्म स्वास्थ्य सेवा विभागको नियुक्ति, स्वास्थ्य मन्त्रालयको नियुक्ति र यस अस्पताल विकास समितिले दिएको नियुक्ति लिई निरन्तर अटुट रूपमा कान्ति बाल अस्पतालमा सेवामा रहेको भनी नोकरी विवरण सिफारिस गरेको छ । यस सम्बन्धमा लोक सेवा आयोगबाट मिति २०७५।२।१० मा १ वर्ष अवधि निरन्तर काम गरेको र सोपछि पटकपटक उस्तै प्रकृतिको निकायमा काम गरेको अवस्थामा सोही निकायबाट एकमुष्ट सेवा प्रमाणित गरेको कागजात पेस गरेमा त्यस्तो पूरै अवधिलाई अनुभवको रूपमा गणना गर्ने भन्ने निर्णय भएको हुँदा विपक्षीको मागदाबीबमोजिम रिट जारी हुन सक्ने अवस्था विद्यमान छैन । त्यसैगरी अध्ययन गर्दाको अवधिको अनुभवसमेतलाई मान्यता दिने गरी नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ (संशोधनसहित) को नियम ८, नियम १५ को उपनियम (१), (३) र अनुसूची ६ बमोजिमको अनुभवको प्रयोजनको लागि गणना गर्न मिल्ने गरी डा. सन्तोष पौडेल विरूद्ध लोक सेवा आयोगसमेत भएको रिट नं. ०७३-WO-०३९० को उत्प्रेषण मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट व्याख्या भएको छ । उक्त मुद्दामा मिति २०७४।१।१३ मा फैसला गर्दा Residential Medical Officer भई MD को अध्ययन गरेको अवधिलाई अनुभवमा गणना गर्नुपर्ने गरी उत्प्रेषण परमादेशको आदेश जारी भएको हुँदासमेत मेरो अनुभव अवधि पुगेको छ । लोक सेवा आयोगको मिति २०७५।२।१३ को (खुल्ला) तर्फको सिफारिसअनुसार मन्त्रिपरिषद्को मिति २०७५।२।२७ को निर्णयबमोजिम म लिखितजवाफ प्रस्तुतकर्तालाई प्रमुख कन्सलटेन्ट पेडिआक्ट्रीक सर्जन नेपाल स्वास्थ्य सेवा, समूह सर्जरी ११ औं तहमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको च.नं. ७।५९२५ मिति २०७५।२।२७ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको श्री कान्ति बाल अस्पतालमा नियुक्ति गरी पदस्थापन गरिएको छ र म हाल उक्त अस्पतालमा कार्यरत रहिरहेको छु । तसर्थ, माथि प्रकरणहरूमा उल्लेख गरिएबमोजिम नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८, नेपाल स्वास्थ्य सेवा नियमावली (संशोधनसहित), २०५५ को नियम ८, १५ र अनुसूची ६ बमोजिमको योग्यता र अनुभवसमेत भएको हुँदा मलाई एघारौं तहका लागि सिफारिस तथा नियुक्ति गरिएको काम कारबाही बदर हुन सक्दैन । विपक्षीको रिट निवेदन खारेज गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको डा.बालमुकुन्द बस्नेतको तर्फबाट यस अदालतमा परेको लिखित जवाफ ।
विपक्षीमध्येका डा.बालमुकुन्द बस्नेत मिति २०६३।४।१ बाट श्री कान्ति बाल अस्पतालमा सेवा प्रवेश गरी मिति २०६५।५।११ सम्म सोही अस्पतालमा कार्यरत रहेको र मिति २०६५।५।११ बाट नेपाल सरकार शिक्षा मन्त्रालयको छात्रवृत्तिमा Pediatrics विषयमा स्नातकोत्तर अध्ययनको लागी Fudan University मा भर्ना भई अध्ययन गरेको र उक्त अध्ययन पूरा गरी फर्केपश्चात् पुनः मिति २०६९।५।१८ देखि हालसम्म कान्ति बाल अस्पतालमा कार्यरत रहिरहेको अवस्था हुँदा निजको सेवा गरेको अनुभव अवधि ७ वर्ष २ महिना १५ दिन भएको स्पष्ट छ । अध्ययन गरेको अवधिबाहेककै पनि निजको न्यूनतम सेवा अवधि उक्त पदका लागि पूरा भएको पुष्टि भइरहेको छ । यस कुराको प्रमाणको रूपमा कान्ति बाल अस्पतालले मिति २०७४।७।१४ मा सिफारिस गरेको सेवा विवरणबाट स्पष्ट हुन्छ । उक्त सेवा विवरणमा अस्पताल विकास समितिको करारतर्फ मिति २०६३।४।१ देखि मेडिकल अधिकृत सातौं तह पदमा नियुक्ति पाई मिति २०६५।५।१९ सम्म कार्यरत रहेको तथा मिति २०६९।५।१८ देखि हालसम्म स्वास्थ्य सेवा विभागको नियुक्ति, स्वास्थ्य मन्त्रालयको नियुक्ति र यस अस्पताल विकास समितिले दिएको नियुक्ति लिई निरन्तर अटुट रूपमा कान्ति बाल अस्पतालमा सेवामा रहेको नोकरी विवरणबाट स्पष्ट हुन्छ । यस सम्बन्धमा लोक सेवा आयोगको मिति २०७५।२।१० को निर्णयमा १ वर्ष अवधि निरन्तर काम गरेको र सोपछि पटकपटक उस्तै प्रकृतिको नियकायमा काम गरेको अवस्थामा सोही निकायबाट एकमुष्ट सेवा प्रमाणित गरेको कागजात पेस गरेमा त्यस्तो पूरै अवधिलाई अनुभवको रूपमा गणना गर्ने गरी लोक सेवा आयोगबाट निर्णय भएको हुँदा विपक्षीको माग दाबीबमोजिम रिट जारी हुन सक्ने अवस्था विद्यमान छैन विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको कान्ति बाल अस्पताल विकास समिति महाराजगन्ज, काठमाडौंको तर्फबाट यस अदालतमा परेको लिखित जवाफ ।
विपक्षी रिट निवेदकले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको के कस्तो काम, कारबाही वा निर्णयबाट निवेदकको के कस्तो संवैधानिक तथा कानूनी हक अधिकारको हनन भएको हो । सो सम्बन्धमा स्पष्ट रूपमा उल्लेखसम्म गर्न सकेको नदेखिएको हुँदा बिनाआधार र कारण यस कार्यालयलाई विपक्षी कायम गरी दायर गरिएको रिट निवेदन खारेजभागी छ । स्वास्थ्य सेवा जनसाधारणको लागि अत्यावश्यक सेवा भएकोले यस सेवालाई बढी सक्षम सुदृढ सेवामूलक र जनउत्तरदायी बनाउन नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली, २०५५ जारी भई कार्यान्वयनमा रहेको छ । सोही ऐनको दफा १० मा खुल्ला प्रतियोगिता वा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति हुने पदमा लोक सेवा आयोगको सिफारिसको आधार नियुक्ति गरिने छ भन्ने व्यवस्था रहेको छ । त्यसै गरी नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची ६ मा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदको योग्यतासम्बन्धी व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्थाबमोजिम अधिकारप्राप्त निकायबाट सम्पादन भएको काम कारबाहीको विषयमा यस कार्यालयलाई विपक्षी कायम गरी रिट निवेदन दायर गर्न मिल्ने होइन । अधिकारप्राप्त निकायले कानूनले निर्दिष्ट गरेको व्यवस्थाको अधीनमा रही योग्यताको आधारमा गरेको सिफारिसको विषयलाई निवेदकले अन्यथा भन्न मिल्ने पनि हुँदैन । जहाँसम्म निवेदकको सिफारिस गरिएको उम्मेदवारको योग्यता नपुगेको भन्ने विषय छ, सो सम्बन्धमा सम्बन्धित निकायको लिखित जवाफबाट प्रस्ट हुने नै हुँदा प्रस्तुत लिखित जवाफमा थप उल्लेख गरिरहनुपरेन, तसर्थ रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट यस अदालतमा परेको लिखित जवाफ ।
निवेदन दाबीको लिखित परीक्षा लिने तथा लिखित परीक्षा नतिजा प्रकाशन गर्ने कार्यका सम्बन्धमा यस मन्त्रालयलाई कुनै जानकारी नै छैन । सो कार्य यस मन्त्रालयले गरे गराएको होइन । तत्सम्बन्धी कामकारबाही प्रत्यर्थीमध्येको लोक सेवा आयोगले गरेको तथ्य निवेदनको बेहोराले नै स्पष्ट गरिरहेको अवस्था छ । निवेदकले यस मन्त्रालयलाई विपक्षी बनाए पनि निवेदनमा सरोकार देखाइएको परीक्षा नियुक्ति, सिफारिससम्बन्धी कार्यमा यस मन्त्रालयको कुनै प्रकारको संलग्नता नरहेको र यस मन्त्रालयलाई विपक्षी बनाउनुपर्ने कारणसमेत निवेदनमा उल्लेख नहुनुले निवेदन औचित्यहीन छ । यस मन्त्रालयको कुनै पनि कामकारबाहीले निवेदकलाई बाधा परेको अवस्था छैन । लोक सेवा आयोग नेपालको संविधानको धारा २४२ बमोजिम स्थापित संवैधानिक निकाय हो । स्थापित स्वायत्त निकाय भएकाले त्यस्तो निकाय तथा अन्तर्गतका कार्यालयले कानूनबमोजिम निर्धारण गरेका सर्तहरू पालना गर्नुको विकल्प हुन सक्तैन । कानूनसम्मत निकायबाट कानूनसम्मत तवरबाट भएको सिफारिससम्बन्धी विषयलाई बिनाआधार कारण विपक्षीले अन्यथा भन्न मिल्ने होइन । तसर्थ, निवेदन मागबमोजिम यस मन्त्रालयको हकमा उत्प्रेषण तथा परमादेश जारी गर्नुपर्ने तथा जारी हुनसक्ने कानूनी एवं तथ्यगत अवस्था विद्यमान छैन, रिट खारेजभागी छ, खारेज गरिपाउँ भन्नेसमेत बेहोराको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट यस अदालतमा परेको लिखित जवाफ ।
यस अदालतको आदेश
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनमा मिसिल संलग्न कागजात अध्ययन गरियो । निवेदकका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रूद्र नेपालले विपक्षी कान्ति बाल अस्पतालले विपक्षी बालमुकुन्द बस्नेतको सेवा अवधिको सिफारिस गर्दा बिचमा टुटेको सेवा अवधिसमेत गणना गरी एकमुष्ट सेवा अवधि कायम गरी सिफारिस गरेको त्रुटिपूर्ण छ । निजको अनुभवमा चाहिने न्यूनतम सेवा अवधिको योग्यता पुगेको छैन् । नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १५(३) र अनुसूची ६ बमोजिम अनुभवमा ७ वर्ष सेवा अवधि आवश्यक हुनेमा ७ वर्ष सेवा अवधि नपुगेको साथै १ वर्षभन्दा कम सेवा अवधिलाई गणना नगर्ने भन्ने सर्तविपरीत १ वर्षभन्दा कम सेवा अवधिलाई समेत जोडी सेवा अवधि गणना गरी विपक्षी अस्पतालले सिफारिस गरेको र उक्त तथ्यलाई छानबिन नगरी विपक्षी लोक सेवा आयोगले बालमुकुन्द बस्नेतलाई नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, पेडियाट्रिक सर्जरी उपसमूह, ११ औं तह, प्रमुख कन्सल्टेन्ट, पेडियाट्रिक सर्जन पदमा नियुक्तिका लागि सिफरिस गर्नु त्रुटिपूर्ण रहेको हुँदा उक्त निर्णयलाई बदर गरी उक्त पदमा निवेदकलाई नियुक्तिको लागि सिफारिस गर्नु भनी विपक्षीहरूका नाममा परमादेश जारी गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
विपक्षी लोक सेवा आयोगको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री कोषराज खनालले लोक सेवा आयोग संवैधानिक निकाय भएको र निवेदकले जिकिर लिएका विषयहरूमा यस निकायबाट भएका हरेक कार्यहरू कानूनसम्मत रूपमा भएका छन् । विपक्षी बालमुकुन्द बस्नेतको सेवा अवधिका सम्बन्धमा १ वर्षभन्दा कमको सेवा अवधिको गणनाको सम्बन्धमा आयोगबाट निर्णय भई निजको सेवा अवधि आवश्यकताअनुरूप पुगेको हुँदा निजलाई नियुक्तिका लागि सिफारिस गरिएको हो । त्यसो हुँदा निवेदन जिकिरबमोजिमको आदेश जारी हुने अवस्था रहेको छैन, रिट निवेदन खारेज गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
विपक्षी बालमुकुन्द बस्नेतको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री टंकप्रसाद दुलाल र विद्वान् अधिवक्ता श्री कमलेश पजियारले विपक्षी बाल मुकुन्द बस्नेतको स्वास्थ्य सेवाको ११ औं तहमा नियुक्त हुन अनुभवमा आवश्यक ७ वर्षको सेवा अवधि पुगेको छ । निज बालमुकुन्द बस्नेत मिति २०६३।४।१ बाट कान्ति बाल अस्पतालमा सेवा प्रवेश गरी मिति २०६५।५।११ सम्म कार्यरत रहेको र पुनः मिति २०६९।५।१८ देखि हालसम्म कान्ति बाल अस्पतालमा कार्यरत रहिरहेको अवस्था हो । उक्त सेवा अवधि ७ वर्ष २ महिना १५ दिन हुन आउँछ । उक्त विवरण कान्ति बाल अस्पतालले मिति २०७४।७।१४ मा सिफारिस गरेको सेवाअवधिको विवरणबाट पुष्टि भएको छ । अत: विपक्षीको रिट निवेदन औचित्यपूर्ण नरहेको हुँदा रिट निवेदन खारेज गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
निवेदकको तर्फबाट प्रस्तुत रिट निवेदनमा लिइएका जिकिरहरू, विपक्षीहरूको लिखित जवाफ बेहोरा, दुवै पक्षका कानून व्यवसायीहरू र उपन्यायाधिवक्ताबाट प्रस्तुत हुन आएका बहस बुँदाहरू र मिसिल संलग्न कागजातहरू अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत रिट निवेदनका सन्दर्भमा मुख्यत: देहायका प्रश्नहरूमा निरूपण गर्नुपर्ने देखिन आयो:-
(क) विपक्षी बालमुकुन्द बस्नेतको नेपाल स्वास्थ्य सेवाको ११ औं तह, पेडियाट्रिक सर्जन पदमा नियुक्ति सिफारिस हुँदा अनुभवसम्बन्धी आवश्यक न्यूनतम योग्यता पुगेको हो होइन ?
(ख) निवेदन मागदाबीबमोजिमको आदेश जारी हुनुपर्ने हो होइन ?
२. यस सम्बन्धमा हेर्दा मिति २०७४।०६।२५ गतेको लोक सेवा आयोगको विज्ञापन नं. १७०२५।०७४-७५ बाट नेपाल स्वास्थ्य सेवाको सर्जरी समूह, पेडियाट्रिक सर्जरी उपसमूहअन्तर्गत प्रमुख कन्सल्टेन्ट पेडियाट्रिक सर्जन पद (११ औं तह) मा खुला कोटामा माग पद संख्या १ मा विपक्षी बाल मुकुन्द बस्नेत स्थायी नियुक्तिका लागि सिफारिस भई निवेदक विजय थापा वैकल्पिक सूचीमा परेको देखिन्छ । उक्त पदमा लोक सेवा आयोगको मिति २०७५।२।११ को निर्णयबमोजिम मिति २०७५।२।१३ मा विपक्षी बालमुकुन्द बस्नेतलाई स्थायी नियुक्तिका लागि सिफारिस गरी मिति २०७५।२।२७ को नेपाल सरकारको निर्णयले निज बालमुकुन्द बस्नेत उक्त पदमा नियुक्त भई कार्यरत रहेको देखिन्छ ।
३. स्वास्थ्य सेवाको उल्लिखित ११ औं तहमा आवेदन गर्नका लागि चाहिने अनुभवसम्बन्धी न्यूनतम योग्यता हेर्दा नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १५(३) बमोजिम ऐ. को अनुसूची ६ मा अधिकृत ११ औं तहका लागि उम्मेदवार हुन सम्बन्धित क्षेत्रको अधिकृत स्तरको पदमा कम्तीमा ७ वर्षको कार्य अनुभव हुनुपर्ने व्यवस्था रहेको देखिन्छ । लोक सेवा आयोगको मिति २०७४।०६।२५ को विज्ञापनमा पनि सोहीबमोजिम अनुभव आवश्यक गरिएको देखिन्छ । निवेदन जिकिर र लिखित जवाफ बेहोरा हेर्दासमेत अनुभव सम्बन्धमा आवश्यक सेवा अवधिका सम्बन्धमा अन्यथा जिकिर रहेको देखिँदैन । विवादको विषय प्रत्यर्थी बाल मुकुन्द बस्नेतको सम्बन्धित क्षेत्रको अधिकृत स्तरको पदमा ७ वर्षको सेवा अवधि पुगेको हो होइन भन्ने विषयमा मात्र केन्द्रित रहेको देखिएकोले सोही विषयमा निरूपण हुनुपर्ने देखिन आउँछ ।
४. निज बाल मुकुन्द बस्नेत पटकपटक गरी कान्ति बाल अस्पतालमा सेवा गरेको देखिन आउँछ । निजको सेवा अवधिका सम्बन्धमा कान्ति बाल अस्पतालको पत्र सं. २०७४।७५ च.नं. २२३ मिति २०७४।७।१४ को अनुभवका सम्बन्धमा सिफारिस गरेको सेवा प्रमाणित पत्रबाट "डा. बालमुकुन्द बस्नेत यस अस्पतालको विकास समितिको करारतर्फ मिति २०६३।०४।०१ देखि मेडिकल अधिकृत (आठौं तह) पदमा मिति २०६५।०५।११ सम्म कार्यरत रहनुभएको तथा मिति २०६९।०५।१८ देखि हालसम्म स्वास्थ्य सेवा विभागको नियुक्ति, स्वास्थ्य मन्त्रालयको नियुक्ति र यस अस्पताल विकास समितिले दिएको नियुक्ति लिई निज निरन्तर अटुट रूपमा यस अस्पतालमा सेवारत रहनुभएको बेहोरा अस्पतालको अभिलेखबाट देखिन्छ" भन्ने देखिन आएको छ । उक्त पत्रले प्रमाणित गरेको सेवा अवधि गणना गर्दा मिति २०६३।०४।०१ देखि २०६५।०५।११ सम्म २ वर्ष बढी र पुन: २०६९।०५।१५ देखि २०७४।०७।१४ सम्म ५ वर्ष १ महिना २६ दिनसम्म सेवा गरेको भन्ने देखिन्छ ।
५. विपक्षी बालमुकुन्द बस्नेतको सेवा अवधि अटुट र निरन्तर रहेको होइन । लोक सेवा आयोगको विज्ञापनमा १ वर्षभन्दा कम अवधिको अस्थायी वा करार सेवाको अनुभवलाई गणना गरिने छैन भनिएको छ । सेवा अवधि टुटेको हुँदा १ वर्षभन्दा कमको सेवा अवधि गणना नगरिने भन्ने प्रावधानअनुसार निजको ७ वर्षको सेवा अवधि पुगेको छैन भन्ने निवेदकको जिकिरलाई हेर्दा निज बाल मुकुन्द बस्नेत विभिन्न निकायहरूबाट पटकपटक नियुक्ति पाई कान्ति बाल अस्पतालमा मेडिकल अधिकृत (आठौं तह) पदमा सेवा गरेको भन्ने देखिन्छ । उक्त बेहोरा कान्ति बाल अस्पतालको मिति २०७४।७।१४ को पत्रबाट समेत खुलेको छ । उक्त पत्रको बेहोराले समेत मिति २०६३।०४।०१ देखि २०६५।०५।११ सम्म अस्पताल विकास समितिको करारतर्फ कार्यरत रहेको र मिति २०६९।०५।१८ देखि सिफारिस मिति २०७४।७।१४ सम्म स्वास्थ्य सेवा विभागको नियुक्ति, स्वास्थ्य मन्त्रालयको नियुक्ति र कान्ति बाल अस्पताल विकास समितिले दिएको नियुक्ति लिई उक्त अस्पतालमा सेवारत रहेको भन्ने देखिन्छ । एउटै अस्पतालमा एकै प्रकृतिको काम गरेकोमा बाहेक निज बालमुकुन्द बस्नेतको बिचबिचमा टुटेको अवधि गणना गरिएको देखिँदैन । टुटेको सेवा कटाई सेवा अवधि गणना गरेको र त्यसरी गणना गर्दासमेत निजको अनुभव अवधि पुगेको हुँदा नियमानुसार निजलाई सिफारिस गरिएको पाइन्छ । निजको मिति २०७४।०२।१६ देखि मिति २०७४।०७।१४ सम्मको अवधि १(एक) वर्षभन्दा कम रहेको देखिए पनि निज उही एउटै संस्थामा कार्यरत रही सेवा गरेको र निरन्तर सेवा गरेको भनी एकमुष्ट सेवा अवधि प्रमाणित गरेको कागजात पेस गरेको हुँदा सोहीबमोजिम लोक सेवा आयोगबाट निर्णय भएको भन्ने देखिन्छ ।
६. प्रत्यर्थी बालमुकुन्द बस्नेतको सेवा अवधि गणनाको विषयको सम्बन्धमा निवेदकले विपक्षी लोक सेवा आयोगमा छानबिन गरिपाउँ भनी मिति २०७५।१।३१ मा दर्ता नं. १७४३ को निवेदन दर्ता गराएको देखिन्छ । आयोगले अध्ययन तथा जाँचबुझ गर्दा निज बालमुकुन्द बस्नेतको नोकरी अवधि सम्बन्धमा कान्ति बाल अस्पतालले सिफारिस गरेबमोजिम सेवा अवधि अटुट रूपमा रहेको नदेखिएको भए तापनि पटकपटकको सेवा अवधि जोड्दा ७ वर्ष पुगेको भन्ने देखिएको र सोही आधारमा लोक सेवा आयोगले निज बालमुकुन्द बस्नेतको सेवा अवधिलाई कायम गरेको देखिन्छ । लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०६७ को परिच्छेद ४ दफा ११ (५) (च) बमोजिम एक वर्षभन्दा कम अवधिको अस्थायी वा करार सेवाको अनुभवलाई गणना नगर्ने भन्ने व्यवस्था रहेको र मिति २०७४।६।२५ को विज्ञापनमा समेत उक्त कुरा उल्लेख भएको देखिन्छ । प्रत्यर्थी बालमुकुन्द बस्नेतले एकै निकायमा पटकपटकको नियुक्तिले कार्य गर्दै आएको अवस्थालाई दृष्टिगत गरी लोक सेवा आयोगले उल्लिखित निर्देशिकाको उक्त प्रावधानलाई मिति २०७५।२।१० मा व्याख्या गरेको देखिन्छ । आयोगको उक्त मितिको निर्णयमा लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०६७ को दफा ११ (५) (च) मा १ वर्षभन्दा कम अवधिको सेवा अवधि गणना नहुने भनिएको भए तापनि कुनै उम्मेदवारले कम्तीमा १ वर्ष अवधि निरन्तर कार्य गरेको र सोपछि पटकपटक सोही वा उस्तै प्रकृतिका निकायमा १ वर्षभन्दा कम अवधि भए पनि काम गरेको अवस्थामा सोही निकायबाट एकमुष्ट सेवा अवधि प्रमाणित गरेको कागजात पेस गरेमा त्यस्तो पूरै सेवा अवधिलाई गणना गर्ने भन्ने निर्णय भएको र सोही आधारमा लोक सेवा आयोगले बालमुकुन्द बस्नेतको सेवा अवधिलाई गणना गर्दा ७ वर्ष पूरा गरेको हुँदा निज बालमुकुन्द बस्नेतलाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको देखिन्छ । लोक सेवा आयोगले सेवाअवधि गणनाको सम्बन्धमा गरेको निर्णय नीतिगत निर्णय रहेको र यो निर्णय निवेदकका हकमा मात्र लागु हुने नभई सोही प्रकृतिका सबै व्यक्तिहरूमा समेत लागु हुने हुँदा उक्त निर्णय निवेदकका हकमा पूर्वाग्रही भई गरिएको भन्ने अवस्थासमेत रहेको मान्न सकिने अवस्था रहेन ।
७. लोक सेवा आयोगले लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०६७ मा संशोधन गरी प्रत्यर्थी बालमुकुन्द बस्नेतको सेवा अवधि गणना गर्दा पटकपटक गरेको सेवा अवधि जोडेर एकमुष्ट सेवाअवधि कायम गरेको भन्ने सम्बन्धमा निज बाल मुकुन्द बस्नेतको सेवा अवधि एउटै निकाय कान्ति बाल अस्पताल नै रहेको छ । निज पटकपटक नियुक्त भई यही निकायमा नियुक्त भई सेवा गरेको भन्ने देखिन्छ । निज स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय तथा कान्ति बाल अस्पताल विकास समितिबाट नियुक्ति पाई मेडिकल अधिकृतको रूपमा कार्य गरेको देखिन्छ । विभिन्न निकायबाट नियुक्ति पाए पनि निजले कान्ति बाल अस्पतालमा नै कार्य गरेको भन्ने देखिन्छ । एकै निकायमा उही कार्य गर्दा निजले प्राप्त गर्ने अनुभवमा भने फरक निकायबाट हुने नियुक्तिले फरक पर्ने अवस्था देखिन आएन । विभिन्न कारणले १ वर्षभन्दा कम सेवा अवधि भएको अवस्थामा पनि पटकपटकको एकै प्रकृतिको सेवालाई गणना गरी एउटै निकायबाट एकमुष्ट सेवा अवधि प्रमाणित गरी ल्याएको अवस्थामा त्यस्तो एकमुष्ट सेवा अवधिलाई मान्यता दिने गरी लोक सेवा आयोगले गरेको निर्णय उचित र न्यायपूर्ण नै देखिन आएको हुँदा निवेदन जिकिरबमोजिमको आदेश जारी हुनुपर्ने अवस्था देखिन आएन ।
८. अत: माथि विवेचित आधार र कारणले विपक्षी लोक सेवा आयोगले प्रत्यर्थी बाल मुकुन्द बस्नेतको सेवा अवधिको गणना गर्दा पटकपटकको सेवा अवधिलाई जोडी एकमुष्ट सेवा अवधि कायम गरी आवश्यक सेवा अवधि पुगेको भन्ने निर्णय गरी प्रत्यर्थी बालमुकुन्द बस्नेतलाई ११ औं तहको प्रमुख कन्सल्टेन्ट पेडियाट्रिक सर्जन पदमा गरिएको नियुक्ति सिफारिससमेत त्रुटिपूर्ण रहेको नदेखिँदा निवेदकको निवेदन जिकिरसँग सहमत हुन सकिएन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । निवेदनको दायरीको लगत कट्टा गरी प्रस्तुत आदेशको विद्युतीय प्रति अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशमान सिंह राउत
इजलास अधिकृत : महेन्द्र प्रसाद पौडेल
इति संवत् २०८० साल असोज २२ गते रोज २ शुभम् ।