निर्णय नं. ११३१४ - जालसाज

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री नहकुल सुवेदी
फैसला मिति : २०७९।०१।२८
०७२-CR-०२५५
मुद्दाः जालसाज
पुनरावेदक / प्रतिवादी : बद्रीप्रसाद लामिछानेको नाति, हरिप्रसाद लामिछानेको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १२ बस्ने पुरूषोत्तम लामिछाने
विरूद्ध
प्रत्यर्थी / वादी : श्रीसम्पत्ति शाक्यको छोरा जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १२ बस्ने प्रकाशमान शाक्य
प्रचलित कानूनले वादीलाई दुई वा सोभन्दा बढी उपचारका मार्ग (विकल्प) प्रशस्त गरेको अवस्था छ भने कुन मार्गबाट उपचारको खोजी गर्ने भन्ने वादीको छनोटको विषय हुने । अमुक कानूनी व्यवस्थाबमोजिम नै उपचार खोजी गर्नुपर्छ वा अमुक कानूनी व्यवस्थाबमोजिम दाबी गर्न मिल्दैन भनी प्रतिवादी वा यस अदालतले समेत बाध्य गर्नु उचित नहुने । यस स्थितिमा मुद्दाको तथ्यको रोहबाट प्रतिवादीको कार्य जालसाजपूर्ण देखिएको अवस्थामा वादीले लेनदेन व्यवहारको महलअन्तर्गत लिखत बदरतर्फ दाबी नगरी जालसाजी मुद्दाको फिराद दायर गर्न नसक्ने भन्ने प्रतिउत्तर तथा पुनरावेदन जिकिर कानून र न्यायको रोहमा मिल्दो नदेखिने ।
(प्रकरण नं. ५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री भोजराज सुवेदी, श्री गोपालप्रसाद अर्याल र कमलेश द्विवेदी
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या.श्री ऋषिप्रसाद अधिकारी
मोरङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री भीमकुमार ओझा
मा.न्या.श्री रमेशबहादुर थापा
पुनरावेदन अदालत विराटनगर
फैसला
न्या. नहकुल सुवेदी : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
तथ्य खण्ड
स्व. पिता श्रीसम्पत्ति र माता दिलकुमारी शाक्यको २ भाइ छोरामा जेठा म फिरादी कान्छा नरेशमान शाक्य हो । भाइ नरेशमान २०४५ सालदेखि आफ्नो अंश भाग बुझी छुट्टिई भिन्न भई बसेका छन् । आमा दिलकुमारी शाक्य मूलघरमा मसँगै बस्दै आउनुभएकोमा हाल छुट्टिई भिन्न भएको भाइसँग बस्दै आउनुभएको छ । मेरो परिवार मूलघरमा नै बसी आएका छौं । आमा र मबिच अंशबन्डा नभई सबै चल अचल सम्पत्ति आमाकै नाममा दर्ता एवं जिम्मा छ । पिताको नाममा रहेका पुर्ख्यौली सम्पत्ति रैती नं.३६९ र ३७० घर जग्गा २०४३ सालमा सर्भे नापी हुँदा जिल्ला मोरङ, विराटनगर-१२ सिट नं.१७८-०७४३-१३ मा कि.नं.३२ को ज.वि.०-०-१६-१ र सिट नं.१७८-०७४३-१८ मा कि.नं.२५ को ०-०-७ कायम भएको छ र कि.नं.३२ को जग्गामा पक्की घर जनिएको र नापीमा उपस्थित हुन नसक्दा जग्गा दर्ता गर्न छुट हुन गएकोले छुट दर्ता गर्ने प्रक्रियामा विपक्षी आमाले साबिक रैती नं.३७० का ०-७-२ जग्गा दाइजो पेवाको देखाई कि.नं.३२ लाई फोड गरी कि.नं.६६ को ०-०-७-२ जग्गा आमाका नाममा र सोमध्ये कि.नं.६७ को जग्गा स्व.पिताका नाममा यथावत् कायम रही सो कि.नं.६७ को जग्गामा मेरो परिवार बसोबास गरी भोगचलन गरी आएकोमा आमाले मलाई नदेखाई नभनी गुपचुप रूपमा उक्त जग्गा नामसारी दाखिल खारेज दर्ता गरी मलाई बिचल्ली एवं निरअंशी बनाई घर बसोबासबाट हटाउने नियत लिई छोरा नरेशमान शाक्य र निजकी श्रीमती मनोरमा शाक्यलाई साक्षीमा राखी भाइ सुरेशदास श्रेष्ठलाई र.नं.४६८३(क) मिति २०६४।०८।१३ गते राजीनामा पास गरी जग्गा हक हस्तान्तरण गरी सुरेशदास श्रेष्ठले विपक्षी पुरूषोत्तमप्रसाद लामिछानेलाई र.नं.३७३४(क) मिति २०६६।०८।२३ गते राजीनामा पास गरेर उक्त जग्गामा भएको मेरो हक मेटाउन मलाई थाहा जानकारी नै नदिई विपक्षीहरूले किर्ते कागजको ३ नं.अनुसार कसुर अपराध भएकोले जालसाज ठहर गरी जालसाज गर्ने विपक्षीहरूलाई हदैसम्मको सजाय गरिपाउँ भन्ने बेहोराको फिराद दाबी ।
विपक्षीको हक मेटाउने कार्य मैले गरेको छैन । मेरा दाता सुरेशदास श्रेष्ठलाई रकम दिई जग्गा खरिद बिक्री गरेको कार्य जालसाज होइन । नगद रकम तिरी ऋणीका छोरा बुहारी साक्षी राखी सुरेशदास श्रेष्ठले खरिद गरेको जग्गा नै मैले खरिद गरेको हुँदा जालसाज हुनै सक्दैन । दाबीको कि.नं.६७ को ०-०-८-३ जग्गा दाम तय गरी नरेशमान शाक्यको श्रीमतीलाई लिखतमा साक्षी राखी मिति २०६४।०२।१३ गते जग्गा सुरेशदास श्रेष्ठलाई राजीनामा पास गरी जग्गा बिक्रीबाट प्राप्त रकम विपक्षीको आमाले फाइनान्स कम्पनीमा ऋण कर्जा तिरेको कुरा विपक्षी वादीलाई सोही समयमा थाहा भएकै हो । वादीको आमा दिलकुमारीले मलाई राजीनामा पास गरेको नभई सुरेशदास श्रेष्ठबाट राजीनामा पारित गरी लिएको हुँदा वादी दाबीबमोजिम जालसाज गरेको होइन भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी पुरूषोत्तम लामिछानेको प्रतिउत्तर-पत्र ।
प्रतिवादी दिलकुमारी शाक्य, नरेश सम्पत्ति भन्ने नरेशमान शाक्य, मनोरमा शाक्य र सुरेशदास श्रेष्ठले प्रतिउत्तर पत्र नफिराई सुरू म्यादै गुजारी बसेको ।
तहतह पारित भएको लिखतको सुरूको पारित मिति नै नमिलेको, जग्गा हक हस्तान्तरण पछि परेको अंश मुद्दामा सो कुरा उल्लेख नभएको, छोरा र बुहारीको रोहबरमा घरको मुख्य व्यक्तिले पारित गरिदिएको लिखत एवं सो जग्गा हाल तेस्रो पक्षको हकमा गइसकेको देखिँदा लिखत बदर गरिपाउँ भन्ने फिराद पुग्न नसक्ने ठहरी आजै फैसला भएको हुँदा उक्त मुद्दाको बुँदा प्रमाणको आधारमा प्रस्तुत मुद्दामा समेत फिराद दाबीको लिखत जालसाज ठहर गरी प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्ने फिराद दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेतको सुरू मोरङ जिल्ला अदालतको फैसला ।
आमा दिलकुमारीले आफ्नो दाइजो पेवाले खरिद गरेको साबिक रैती नं.३७० को जग्गा र पिताका नामको सबिक रैती नं.३६९ को जग्गा एकै कित्तामा नापी भई कि.नं.३२ कायम हुन आएको हो । पिताको २०३१ सालमा नै स्वर्गवास भएको हुँदा आमाको नाममा नापी भएकोमा नापीको समयमा भाइ नरेशमानले विवाद जनाएको कारणले दर्ता हुन सकेको थिएन । भाइ नरेशमान २०४२ सालमा नै मानो छुट्टिई अलग भएका र आमासँग अंश मुद्दा गरी मिति २०६४।०१।२० मा अंशबापत रू.५०,०००।-( पचास हजार रूपैयाँ) बुझी मिलापत्र गरी अलग भएका हुन् । साबिक कि.नं.३२ को जग्गाबाट मेरो निजी रैती नं.३७० को ०-०-७ जग्गा छुट्याई दर्ता गरिपाउँ भनी आमाले मालपोत कार्यालयमा निवेदन गरी आमाको साबिक निजी जग्गा कि.नं.६६ मा ०-०-७ जग्गा आमाका नाममा दर्ता कायम भएको थियो । पिताको साबिक रैती नं.३६९ को जग्गा आमाकै नाममा रही कि.नं.६७ कायम हुन आएको थियो । पिताको नामको कि.नं.६७ को जग्गा आमाले पुनः निवेदन गरी आफ्नो नाममा दर्ता गराउनुभएको थियो । साबिक पिताको नामको मेरोसमेत अंश हकको कि.नं.६७ को जग्गा छुट्टिएर अलग बसेका छोरा, बुहारीलाई साक्षी राखी मेरो हक मेट्ने नियतले गरेको बिक्री सत्य व्यवहार नरहेको देखिएको छ । आमा र म वादीसँग अलग भएका भाइ नरेशमानको मिलेमतोमा पिता नामको साबिक रैती नं.३६९ अन्तर्गतको दाबीको कि.नं.६७ को जग्गाबाट मेरो हक मेट्ने नियतले आमा दिलकुमारीले सुरेशदासलाई राजीनामा लिखत गरिदिएको र सुरेशदासले पुरूषोत्तम लामिछानेलाई राजीनामा गरिदिएको लिखतलाई जालसाज घोषित गरी जालसाज गर्ने प्रतिवादीहरूलाई सजाय गर्नुपर्नेमा फिराद दाबी पुग्न नसक्ने ठहर गरेको सुरूको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी फिराद दाबीबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको वादी प्रकाशमान शाक्यको पुनरावेदन पत्र ।
यसमा वादीको समेत अंश हक लाग्ने दाबीको जग्गा वादीलाई साक्षी नराखी, मन्जुरीको लिखत पनि नलिई वादीको अंश हकमा नोक्सान पर्ने गरी हक हस्तान्तरण रहेको परिप्रेक्ष्यमा प्रमाण मूल्याङ्कनको रोहमा सुरूको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाउनु भनी भएको आदेशबमोजिम जारी भएको म्यादमा प्रत्यर्थी प्रतिवादी पुरूषोत्तम लामिछाने हाजिर भई तारेखमा रहेका ।
वादी र दिलकुमारी शाक्यबाट अंश प्राप्त गरी नरेशमान शाक्य छुट्टिई भिन्न भएको र स्व. दिलकुमारी शाक्यबाट वादीले अंश पाएको नदेखिएको, निजहरूबिच अंशियार नातामा विवाद नहुँदा पुनरावेदक वादीको मन्जुरी नलिई निजको समेत अंश भाग लाग्ने सम्पत्ति आमा दिलकुमारी शाक्यले जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं.१२(ख) कि.नं.६७ को ज.वि.०-०-८-३ जग्गा र र.नं. ५६८३(क), र.नं.३७३४(क) मिति २०६४।०२।१३र मिति २०६६।०८।२३मा निजको मन्जुरीबिना बिक्री गरेको देखिँदा विवादित लिखतको २ भागको १ भाग जालसाजी ठहर गर्नुपर्नेमा वादी दाबी पुग्न नसक्ने ठहर्याएको सुरू मोरङ जिल्ला अदालतको मिति २०६९।०६।०३ को फैसला मिलेको नदेखिँदा उल्टी भई विवादित लिखतको २ भागको १ भाग जालसाजी हुने ठहर्छ । सजायको हकमा प्रतिवादी दिलकुमारीको स्वर्गवास भइसकेको हुँदा निजको हकमा जालसाजीमा सजाय गरिरहनु परेन । प्रतिवादीहरू सुरेशदास श्रेष्ठ, पुरूषोत्तम लामिछाने, नरेशमान शाक्य र मनोरमा शाक्यलाई बिगो रू.५,८५,०००।- (पाँच लाख पचासी हजार रूपैयाँ) को आधाको दामासाहीले सयकडा २५ प्रतिशतले जरिवानासमेत हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०७१।१०।२० मा तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला ।
विवादित जग्गा प्रचलित बजार मूल्यमा खरिद बिक्री भएको अवस्थामा जालसाजी गर्नुपर्ने स्थिति नै हुँदैन । आफ्नो रकम तिरेर जालसाजी गर्नुपर्ने कारण पनि छैन । जालसाजी गर्ने मनसाय रहेको पनि देखिँदैन । मुलुकी ऐन, लेनदेन व्यवहारको महल १० नं. मा मन्जुरी नलिई अचल सम्पत्ति बिक्री गरेको सम्बन्धमा उपचार प्राप्त गर्ने कानूनी व्यवस्था हुँदाहुँदै ऐ. ऐन, किर्ते कागजको महलको ३ नं.बमोजिम जालसाजीमा फिराद लाग्न सक्दैन । अन्य कानूनी प्रावधानमा उल्लेख नभएको कुनै कार्य गरी व्यक्तिको हक जाने भएको अवस्थामा मात्र उक्त कानूनी व्यवस्था आकर्षित हुने भएकाले प्रस्तुत विवादमा किर्ते कागजको ३ नं. आकर्षित हुने होइन । मुलुकी ऐन, लेनदेनको महलको १० नं. बमोजिमको हदम्यादभित्र मुद्दा दायर गर्नुपर्नेमा सो हदम्याद नघाई ऐ. ऐन, किर्ते कागजको १८ नं. को हदम्यादको सुविधा प्राप्त हुन सक्दैन । विपक्षीको हक जाने गरी कुनै झुट्टा कार्य गरेको नभई चलन चल्तीको रकम बुझाई राजीनामा गरी जग्गा खरिद गरेको क्रिया जालसाजी हुन नसक्ने अवस्था विद्यमानता रहेको सन्दर्भलाई पूर्ण बेवास्ता गरी वादी दाबी पुग्न नसक्ने गरी भएको सुरू फैसला उल्टी गरी वादी दाबीबमोजिम जालसाजी घोषणा गरी सजाय गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०७१।१०।२० फैसला बदर गरी सुरू फैसला सदर कायम गरिपाउँ भन्ने बेहोराको पुनरावेदक प्रतिवादी पुरूषोत्तम लामिछानेको पुनरावेदन पत्र ।
यस अदालतको ठहर
नियमानुसार पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी पुरूषोत्तम लामिछानेको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री भोजराज सुवेदी, श्री गोपालप्रसाद अर्याल र कमलेश द्विवेदीले पुनरावेदकका दाता सुरेशदास श्रेष्ठले जग्गा धनी दिलकुमारी शाक्यबाट जग्गा खरिद गर्दा छोरा बुहारीसमेतलाई रोहबरमा राखेको छ । लेनदेन व्यवहारको १० नं. ले आधा सम्पत्ति आफूखुसी गर्न पाउने हुँदा हकदैयाको अभावमा फिराद दर्ता भएको छ । मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १० नं.बमोजिमको हदम्यादभित्र मुद्दा दायर गर्नुपर्नेमा सो हदम्याद नघाई किर्ते कागजको १८ नं. को हदम्यादको सुविधा प्राप्त हुन सक्दैन । आफ्नो रकम तिरेर खरिद गरेको क्रिया जालसाज हुन नसक्ने भएकाले सुरू अदालतबाट वादी दाबी पुग्न नसक्ने गरी भएको फैसला न्यायोचित रहेको हुँदा सो फैसला उल्टी गरी जालसाज घोषित हुने गरी भएको उच्च अदालत विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
यसमा, पिता श्रीसम्पत्ति शाक्यका नामको साबिक रैती नं.३६९ अन्तर्गतको प्रतिवादी आमा दिलकुमारीका नाममा कित्ताफोड भई दर्ता हुन आएको मेरोसमेत अंश हकको कि.नं.६७ को जग्गा मलाई थाहा जानकारी नदिई मेरो मन्जुरी नलिई अंश बुझी अलग भएको भाइ र बुहारीलाई लिखतमा साक्षी राखी मेरो हक मार्ने नियतले आमा दिलकुमारीले मिति २०६४।०२।१३ मा र.नं. ५६८३(क) बाट राजीनामा पास गरी सुरेशदास श्रेष्ठलाई र सुरेशदासले मिति २०६६।०८।२३ मा र.नं. ३७३४(क) बाट राजीनामा पास गरी पुरूषोत्तम लामिछानेलाई बिक्री गरेको हुँदा उक्त लिखतहरूलाई जालसाज घोषित गरी प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्ने बेहोराको फिराद दाबी एवम् घरको मुख्य व्यक्तिले व्यवहार चलाउन अचल सम्पत्ति आधासम्म बिक्री व्यवहार गर्न पाउने कानूनी व्यवस्था रहेको, मैले खरिद गरेकोभन्दा बढी जग्गा मेरो दाताको दाता वादीकी आमाका नाममा रहेको, मेरो दातालाई दिलकुमारीले छोरा बुहारीलाई साक्षी रोहबरमा राखी बिक्री गरेको र सोही समयमा वादीलाई थाहा भएको हो । वादी दाबीको जग्गामा घर बसोबास गर्ने नभई काठमाडौंमा बसोबास गरी आएको हुँदा दाबीबमोजिम जालसाज ठहर हुने होइन भन्नेसमेतको पुरूषोत्तम लामिछानेको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा सुरू मोरङ जिल्ला अदालतबाट फिराद दाबी पुग्न नसक्ने ठहरी गरेको फैसला तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट उल्टी भई विवादित लिखतको २ भागको १ भाग जालसाजी ठहरी प्रतिवादीहरू सुरेशदास श्रेष्ठ, पुरूषोत्तम लामिछाने, नरेशमान शाक्य र मनोरमा शाक्यलाई बिगो रू.५,८५,०००।- को आधाको दामासाहीले सयकडा २५ प्रतिशतले जरिवाना ठहर्ने गरी भएको फैसला गरेउपर चित्त नबुझाई यी प्रतिवादी पुरूषोत्तम लामिछानेको यस अदालतमा पुनरावेदन परेको देखिन्छ । अन्य प्रतिवादीहरूले सुरू म्यादै गुजारी प्रतिउत्तर फिराएको देखिँदैन ।
पुनरावेदक प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा विवादित जग्गा प्रचलित बजार मूल्यमा खरिद बिक्री भएको अवस्थामा जालसाजी गर्नुपर्ने स्थिति नै हुँदैन । जालसाजी गर्ने मनसाय रहेको पनि छैन । मुलुकी ऐन, लेनदेन व्यवहारको महल १० नं.बमोजिम मन्जुरी नलिई अचल सम्पत्ति बिक्री गरेको सम्बन्धमा उपचार प्राप्त गर्ने कानूनी व्यवस्था हुँदाहुँदै ऐ. ऐन, किर्ते कागजको महलको ३ नं.बमोजिम जालसाजीमा फिराद लाग्न सक्दैन । मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १० नं.बमोजिमको हदम्यादभित्र मुद्दा दायर गर्नुपर्नेमा सो हदम्याद नघाएपछि ऐ. ऐन,किर्ते कागजको १८ नं. को हदम्यादको सुविधा प्राप्त हुन सक्दैन । विपक्षीको हक जाने गरी कुनै झुट्टा कार्य नगरेको अवस्थामा जालसाजी हुनै नसक्नेमा सुरू फैसला उल्टी गरी वादी दाबीबमोजिम जालसाजी घोषणा गरी सजाय गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०७१।१०।२० फैसला बदर गरी सुरू फैसला सदर कायम गरिनुपर्ने भनी मुख्य जिकिर लिएको देखिन्छ ।
उपर्युक्त तथ्य एवं पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा विद्वान् अधिवक्ताहरूको तर्कपूर्ण बहस जिकिरसमेत सुनी तत्कालीन पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला मिले नमिलेको के छ ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो ? हेरी निर्णय दिनुपर्ने देखिन आयो ।
२. अब, निर्णयतर्फ विचार गर्दा वादी प्रकाशमान शाक्य र प्रतिवादी नरेशमान शाक्य दिलकुमारी शाक्यका छोरा सहोदर दाजुभाइ भएको तथ्यमा विवाद छैन । पिता श्रीसम्पत्ति शाक्यको २०३१ सालमा परलोक भएको देखिन्छ । प्रतिवादी नरेशमान शाक्यले २०४५ सालमा नै वादी प्रकाशमानउपर काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा गरी तह तह फैसला भई आफ्नो भागको अंश पाइसकेको कुरा प्रमाणमा पेस भएको अंश मुद्दाको मिसिलबाट देखिन्छ । उक्त मुद्दाबाट अंश पाइसकेपछि निज नरेशमानले आफू एक मात्र छोरा रहेको भनी यी प्रतिवादी प्रकाशमानलाई अंशियार नै नदेखाई पुनः आमा दिलकुमारीउपर अंश मुद्दा दायर गरेको र आमा दिलकुमारीसमेतले निज प्रकाशमानलाई अंशियार नै नदेखाई वादी मिलानको प्रतिउत्तर फिराई मिति २०६४।१।२० मा अंशबापत रू.५०,०००।- बुझी मिलापत्र गरेकोसमेतका मिसिल प्रमाणबाट प्रतिवादी नरेशमानको आमा दिलकुमारी शाक्यसँग अंश लिई अलग भिन्न भइसकेका र वादी प्रकाशमान आमासँग एकासगोलमा नै रहेको भन्ने देखिन आउँछ ।
३. यस पारिवारिक पृष्ठभूमिमा जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १२(ख) कि.नं.६७ को ज.वि.०-०-८-३ जग्गा र.नं.५६८३(क) बाट मिति २०६४।०२।१३ मा सुरेशदास श्रेष्ठलाई राजीनामा पारित गरिदिएको अवस्था छ । उक्त जग्गा आमा दिलकुमारीको निजी हकको नभई पति श्रीसम्पत्ति शाक्य नामको साबिक रैती नं.३६९ अन्तर्गतको अन्य अंशियारलाई समेत अंश लाग्ने सगोलको पैतृक सम्पत्ति भन्ने देखिन आउँछ । तत्काल कायम रहेको मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. मा "अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडिदिँदा ऐनले आफूखुसी गर्न पाउने अरूको मन्जुरी लिनु नपर्नेमा बाहेक अरूमा एकाघरसँगका अंशियार सबै साक्षी बसेको वा निजहरूले मन्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मन्जुरीको लिखत पनि नभए मन्जुर नहुनेले रजिस्ट्रेसन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको पैंतिस दिनभित्र उजुर गर्यो र निजको मन्जुरी ठहरिएन भने निजको हकजति सो सम्पत्ति निजलाई फिर्ता गराइदिनुपर्छ” भन्ने कानूनी व्यवस्था देखिन्छ । प्रत्यर्थी प्रतिवादीले उक्त जग्गा आफूखुसी गर्न पाउने आफ्नो एकलौटी हकभोगको अरू कसैको हक नलाग्ने हो भनी जिकिर लिई पुष्टि गर्न सकेको अवस्थासमेत देखिँदैन । तथापि प्रस्तुत मुद्दामा आमा दिलकुमारी शाक्यले वादी दाबीको जग्गा सुरेशदास श्रेष्ठलाई राजीनामा पारित गरिदिँदा सगोलका अंशियार छोरा प्रत्यर्थी वादीलाई साक्षी राखी वा मन्जुरी लिई बिक्री गरेको देखिन आउँदैन । अपितु अंश बुझी अलग भएको छोरा प्रतिवादी नरेशमान शाक्य र बुहारी मनोरमा शाक्यलाई साक्षी राखी बिक्री गरेको देखिँदा दाबीको र.नं. ५६८३(क) मिति २०६४।०२।१३ को लिखत व्यवहार सफा नियतबाट भएको भनी मान्न मिल्ने देखिएन ।
४. यसप्रकार प्रतिवादी दिलकुमारी शाक्यले सगोलका अंशियार यी वादीको मन्जुरीबिना निजको समेत अंश हक लाग्ने जग्गा अंश लिई छुट्टी भिन्न भई बसेका अर्का छोरा नरेशमान शाक्यसमेतलाई साक्षी राखी राजीनामा पारित गरेको व्यवहार उक्त कारोबारको स्वरूपबाटै कानूनविपरीत वादीको अंश हक मार्ने गरी दूषित मनसायले गरेको देखिन आयो । जुनसुकै कारणले झुट्टा बेहोराले अर्काको हक मेट्ने, अर्कालाई नोक्सान हुने रीतले कसैले कुनै कागज बनाए बनाउन लगाएमा तत्काल कायम रहेको मुलुकी ऐन, किर्ते कागजको ३ नं.अनुसार जालसाजी ठहर्ने अवस्था हुँदा सगोलको हक लाग्ने अंशियार छोरा प्रत्यर्थी वादीलाई अंशियार नदेखाई साक्षी नराखी मन्जुरी नलिई भिन्न भएका छोरा बुहारीलाई साक्षीमा राखी प्रतिवादी दिलकुमारी शाक्यबाट मिति २०६४।२।१३ मा सुरेशदास श्रेष्ठलाई गरिदिएको राजीनामा मुलुकी ऐन, किर्ते कागजको ३ नं.अनुसार जालसाजपूर्ण देखिन आयो । पुनरावेदक प्रतिवादी पुरूषोत्तम लामिछानेले सोही जग्गा मिति २०६६।८।२३ मा निज सुरेशदास श्रेष्ठसँग राजीनामा रजिस्ट्रेसन पारित गरी लिएको देखिएकोमा उक्त लिखतको स्रोत नै जालसाजी ठहरिएकाले यी प्रतिवादीले पारित गरी लिएको उल्लिखित मिति २०६६।८।२३ को राजीनामा लिखतसमेत जालसाजी कायम हुने देखियो ।
५. जहाँसम्म पुनरावेदक प्रतिवादीले वादीले मुलुकी ऐन, लेनदेन व्यवहारको १० नं.बमोजिमको हदम्याद गुजारेपछि जालसाजीमा फिराद दाबी गर्न मिल्दैन भनी लिएको जिकिर छ, सो सम्बन्धमा हेर्दा प्रचलित कानूनले वादीलाई दुई वा सोभन्दा बढी उपचारका मार्ग (विकल्प) प्रशस्त गरेको अवस्था छ भने कुन मार्गबाट उपचारको खोजी गर्ने भन्ने वादीको छनोटको विषय हुन्छ । अमुक कानूनी व्यवस्थाबमोजिम नै उपचार खोजी गर्नुपर्छ वा अमुक कानूनी व्यवस्थाबमोजिम दाबी गर्न मिल्दैन भनी प्रतिवादी वा यस अदालतले समेत बाध्य गर्नु उचित हुँदैन । यस स्थितिमा मुद्दाको तथ्यको रोहबाट प्रतिवादीको कार्य जालसाजपूर्ण देखिएको अवस्थामा वादीले लेनदेन व्यवहारको महलअन्तर्गत लिखत बदरतर्फ दाबी नगरी जालसाजी मुद्दाको फिराद दायर गर्न नसक्ने भन्ने प्रतिउत्तर तथा पुनरावेदन जिकिर कानून र न्यायको रोहमा मिल्दो देखिएन ।
६. तसर्थ, माथि विवेचित तथ्यगत आधार र कारणबाट वादी दाबीको मिति २०६४।२।१३ र २०६६।०८।२३ को लिखतको २ भागको १ भाग जालसाज घोषित गर्नुपर्ने देखिँदा वादी दाबी पुग्न नसक्ने ठहर्याएको सुरू मोरङ जिल्ला अदालतको मिति २०६९।६।३ को फैसला उल्टी गरी सो लिखतलाई जालसाजी ठहर्याई प्रतिवादी दिलकुमारीको मृत्यु भइसकेको हुँदा निजको हकमा जालसाजीमा सजाय नगरी प्रतिवादीहरू सुरेशदास श्रेष्ठ, पुरूषोत्तम लामिछाने, नरेशमान शाक्य र मनोरमा शाक्यलाई बिगो रू.५,८५,०००।- (पाँच लाख पचासी हजार रूपैयाँ) को आधाको दामासाहीले सयकडा २५ प्रतिशतले जरिवानासमेत हुने गरी भएको पुनरावेदन अदालत विराटनगरको मिति २०७१।१०।२० को फैसला मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन । उक्त फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी पुरूषोत्तम लामिछानेको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको विद्युतीय प्रति अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. प्रकाशमान सिंह राउत
इजलास अधिकृत: हेमराज शर्मा
इति संवत् २०७९ साल वैशाख २८ गते रोज ४ शुभम् ।