शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३१५ - सिसौ बाली दिलाइपाऊँ

भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश श्री विनोद शर्मा

फैसला मिति : २०८०।६।१४

 

मुद्दा: सिसौ बाली दिलाइपाऊँ

 

०७३-CI-०८९८

पुनरावेदक / प्रतिवादी : सवुरलाल भगतको छोरा जिल्ला सप्तरी कुशाह गाउँ विकास समिति वडा नं.१ बस्ने बद्रीनारायण भगत

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ४ को हाल परिवर्तित ऐ. वडा नं.३ बस्ने शुभनारायण भगतको पत्‍नी मीरा देवी भगत

 

०७४-CI-०२८५

पुनरावेदक / वादी : शुभ नारायण भगतको पत्‍नी सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं.४ को हाल परिवर्तित ऐ. वडा नं.३ बस्ने मीरा देवी भगत

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : सबुरलाल भगतको छोरा जिल्ला सप्तरी कुशाहा गाउँ विकास समिति वडा नं.१ को हाल परिवर्तित सुरूङ्गा नगरपालिका वडा नं.६ बस्ने बद्रीनारायण भगत

 

वादीले अंशबापत जग्गा प्राप्‍त गर्दाको अवस्थामा सो जग्गामा रहेको सम्पत्तिको रूपमा रहेका रूखहरूसमेत यथावत् रहनु पर्नेमा यथावत् नरहेको अवस्थामा आफूले अंश हकबाट पाएको जग्गामा भएका रूखहरू प्राप्‍त गर्ने हकबाट वञ्चित हुन पुगेको देखिने । जग्गा प्राप्त गर्दाका अवस्थामा सो जग्गामा रहे भएको सम्पूर्ण रूखबिरूवा तथा अन्य चिजवस्तुहरूसमेत पाउनु वादीको अधिकारभित्र नै पर्ने । अंश हकबाट प्राप्त गरेको जग्गामा भएका रूखबिरूवाहरू जग्गावालाकै हुने र निज जग्गाधनीको मन्जुरीबेगर सो जग्गामा जडित रूखहरू कसैले काटी लैजान्छ र सो अवस्थामा जग्गाधनीले बिगो भराइपाउँ भनी नालिस गर्छ भने निजलाई मुद्दा गर्ने हक रहेको छैन भन्न न्यायोचित नहुने ।

(प्रकरण नं.४)

 

वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री महादेवप्रसाद यादव र श्री सतिषकृष्ण खरेल तथा विद्वान् अधिवक्ताद्वय श्री सतिषकुमार झा र श्री विजयकुमार यादव

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान्‌ अधिवक्ता श्री शिवप्रसाद कोइराला

अवलम्बित नजिर :

सम्बद्ध कानून :

नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१०

 

सुरू तहमा फैसला गर्नेः- 

मा. न्यायाधीश श्री बद्रीप्रसाद ओली

सप्तरी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:- 

मा. न्यायाधीश श्री माधवप्रसाद पोखरेल 

मा. न्यायाधीश श्री उमेशकुमार सिंह 

पुनरावेदन अदालत राजविराज

 

फैसला

न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर यस प्रकार छ ।

संक्षिप्त तथ्य 

हामी वादी प्रतिवादीहरूबिच हित्तचित्त नमिल्दा विपक्षी प्रतिवादी बद्रीनारायण भगत वादी भई मसमेत उपर २०४८ सालमा सा.दे.नं.२३९९।१८७ को अंश मुद्दा दिएको त्यसैगरी विपक्षी सबुरलालले मसमेत उपर २०५६ सालमा २५६८।९३२ को अंश मुद्दा दिएको थियो । उक्त दुवै अंश मुद्दामा वादी दाबी ठहर भई सो अंश मुद्दाहरू अन्तिम भई बसेको अवस्था छ । मेरोसमेत अंश हक लाग्ने विपक्षी प्रतिवादी सबुरलालका नाउँमा दर्ता रहेको जिल्ला सप्तरी कुशहा गा.वि.स. वडा नं.१(ख) कि.नं.१ को ०३-०२-१५ जग्गामा ४ फिट गोलाइका प्रतिगोटा रू.६०००।- पर्ने करिब ७०००।- (सात हजार) थान सिसौका रूखहरू थिए । उक्त अंश मुद्दा चल्दाचल्दैको अवस्थामा विपक्षीहरूले उक्त रूखहरू काट्ने तयारी गर्दा निजहरूउपर निषेधाज्ञा मुद्दा दायर गरेकोमा सर्वोच्च अदालतमा विचाराधीन अंश मुद्दा किनारा नहुन्जेलसम्म उक्त रूखहरू नकाट्नु भनी विपक्षीहरूका नाममा आदेश जारी गर्ने गरी पुनरावेदन अदालत राजविराजबाट निषेधाज्ञा जारी भएको थियो । सो आदेश भएपश्चात् विपक्षीहरूले चारवटा रूख काटेकोले निजहरूउपर २०५५ सालमा पुन: अदालतको अवहेलना मुद्दा दिई सो मुद्दामा २०५६।८।२० मा फैसला हुँदा जनही रू.१००।- जरिवाना हुने ठहर गरी पुनरावेदन अदालत तथा सर्वोच्च अदालतसमेतबाट फैसला भई अन्तिम भइसकेको अवस्था छ । त्यस्तै वादी रन्जीतकुमारसमेत, विपक्षी म मीरादेवी भगत भएको सा.दे.नं.२४०३ को अंश मुद्दा माथि उल्लेख भएका अंश मुद्दाहरूबाट अंशमा आउने सम्पूर्ण जग्गा म वादी मीरादेवी भगतको नाममा एकलौटी दिने गरी मिलापत्र भएको थियो । यसरी प्रतिवादीहरूसँग चलेको अंश मुद्दा अन्तिम भई बिगोतर्फ कारबाही हुँदा विपक्षीहरूले अंश मुचुल्कामा तलमाथि गरेकोले मैले सा.दे.नं. १७९६ को बन्डा मुचुल्का बदर, दा.खा. पुर्जी बदर तथा सा.दे.नं.३०१४ को नक्सा कित्ताकाट बदरसमेत मुद्दा दायर गरी सुरू जिल्ला अदालत, पुनरावेदन हुँदै मिति २०६६।०५।३० मा अन्तिम फैसला भएको थियो । यसरी उक्त फैसला भएपछि २०६८।१२।०९ को बन्डाबमोजिम दा.खा. पुर्जी तथा मिति २०६८।०८।२२ को फुकुवा पुर्जी लिई बन्डाबमोजिमका जग्गा मेरा नाममा मिति २०६८।१२।०९ मा दा.खा. दर्ता भएको हो । उक्त जग्गामध्ये हाल मेरा नाउँमा दा.खा. दर्ता हुने भएको सा.कि.नं. ०१ को ०३-०२-१५ जग्गामध्ये कित्ताकाट भई आएको जिल्ला सप्तरी कुशहा गा.वि.स. वडा नं.१(ख) कि.नं.९२८ को ०–१५–१३.९० जग्गाका सम्पूर्ण सिसौका रूखहरू विपक्षीहरूले काटी लगेको हुँदा सोको बिगो रू.१,०५,०००००।- (एक करोड पाँच लाख रूपैयाँ) विपक्षीहरूबाट दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको मिति २०६९।०६।२९ को मीरादेवी भगतको फिराद दाबी ।

म सबुरलाल भगतको विपक्षी वादीउपर २०५६ सालमा अंश मुद्दा चली जिल्ला अदालत हुँदै पुनरावेदन अदालतबाट मिति २०५९।२।१९ मा अन्तिम फैसला भई सो फैसलाबमोजिम मिति २०६०।५।७ गते दा.खा. पुर्जीसमेत पाइसकेको हो । विपक्षीले आफ्नो छोराहरूसँग भएको मिति २०६८।८।२२ को मन्जुरनामाको आड लिई दायर गरेको फिराद दाबी, हकदैया र हदम्यादविहीन भएकोले झुटा दाबीबाट फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सबुरलाल भगतको मिति २०६९।११।१ को प्रतिउत्तर जिकिर । 

हामीहरूबिच सा.दे.नं. १५१७ को अंश दर्ता मुद्दा चली जिल्ला अदालत, पुनरावेदन अदालत तथा सर्वोच्च अदालतबाट मिति २०५६।६।१७ गते अन्तिम फैसला भएबमोजिम मिति २०५७।१०।२३ मा दा.खा. पुर्जी पाई २०५७।११।५ मा कित्ताकाटसमेत भएको छ । उक्त फैसलामा कि.नं. १ को ३-२-१५ जग्गामा सिसौ बाली भनी उल्लेख छैन । यसरी दाबीबमोजिमको जग्गामा कुनै रूखहरू नभएको हुँदा मैले कुनै रूख काटी लगेको होइन छैन । हदम्यादविहीन दायर भएको झुटा फिराद दाबीवाट फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७०।१।२४ को प्रतिवादी बद्रीनारायण भगतको प्रतिउत्तर जिकिर ।

अदालतको आदेशानुसार द.नं.१५४ को निषेधाज्ञा मुद्दा, सा.दे.नं. ३०१४ को नक्सा कित्ताकाट बदर दर्ता बदर मुद्दा, सा.दे.नं. १७९६ को बन्डा मुचुल्का व.ता.अ.व.दा.खा. मुद्दा सा.दे.नं. १५१७ को अंश मुद्दा, सा.दे.नं. २३९९ को अंश दर्ता मुद्दा, सा.दे.नं. ९३२।२५६८ को अंश दर्ता चलन मुद्दा, बिगो नं. ७५९ को बन्डा छुट्‍याई बिगो मुद्दा, तथा सा.दे.नं. ४९३ को अंशबन्डा मुद्दासमेत प्रमाणको रूपमा मिसिल सामेल रहेको ।

आदेशानुसार मिति २०७१।३।२१ गते भएको सर्जमिन मुचुल्का, तथा जिल्ला वन कार्यलय सप्तरीबाट प्राप्त जवाफसमेत मिसिल सामेल रहेको ।

यसमा वादीले आफ्नो अंश भागको जग्गाको हक छुट्टिई अन्तिम रूपमा मुद्दा किनारा भएको मिति २०६६।५।३० देखि एक वर्षको म्यादभित्रैमा बाली बिगोतर्फ कारबाही चलाएको नदेखिँदा तथ्यभित्र प्रवेश गरी इन्साफ गर्न मिलेन । हदम्यादको अभावमा वादीको फिराद दाबी खारेज हुने ठहर्छ भन्‍ने सुरू सप्तरी जिल्ला अदालतको मिति २०७१।०८।२८ को फैसला ।

म वादीले दाबी गरेको फिराद दाबीमा सिसौका रूखहरू सगोलको दर्ताको जग्गामा लागेकोले अंशबन्डा हुँदा अंशियारको भागबाट अंश हटाउन मिल्दैन । सप्तरी जिल्ला अदालतले कि.नं.१ को ०३-०२-१४ मध्ये बन्डा मुचुल्काबाट म वादीको भागमा परेको कि.नं.९२८ को ०-१५-१३.९३ को जग्गामा सिसौका रूखहरू थियो थिएन भन्‍नेतर्फ स्थलगत सरजमिन मुचुल्का बुझी रूखहरू भएको र बद्रीनारायणले काटी लगेको हुन् भनी खुलाइदिएको हुँदाहुँदै मेरो फिराद माग दाबीविपरीत सुरू सप्‍तरी जिल्ला अदालतबाट भए गरेको फैसला कानूनी रूपले त्रुटिपूर्ण हुँदा उल्टी गरी फिराद मागदाबीबमोजिम गरिपाउँ भन्‍ने बेहोराको वादीको मिति २०७१।११।२७ को पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन ।

यसमा दाबीको जग्गाबाट वादीले बन्डा पाएको र सो जग्गामा रूखहरू भएको तथ्य प्रमाणहरूबाट देखिन आइरहेको अवस्थामा वादीले सिसौका रूपमा रहेको सम्पत्ति प्राप्त नगरेको देखिएबाट अंश र सम्पत्तिको सन्दर्भबाट कानूनी व्यवस्थाको व्याख्याको रोहमा सुरू फैसला विचारणीय देखिँदा छलफलका निमित्त अ.बं. २०२ नं. को प्रयोजनार्थ पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीहरूको नाममा म्याद सूचना जारी गरी झिकाई हाजिर भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भनी पुनरावेदन अदालत राजविराजबाट भएको आदेश ।

बिगो नं. ७५९ बाट बन्डा मुचुल्का हुँदा कि.नं. १ को जग्गामा सिसौका रूखहरू छ भनी कहीँकतै उल्लेख नभएको र उक्त बन्डा मुचुल्काको रोहबरमा निज विपक्षी मीरादेवी भगत बसी सहीछापसमेत गरेको अवस्था रहेको छ । उक्त जग्गामा रूख नै नभएको अवस्थामा सिसौको रूखको बिगो कायम गरी भएको फैसला न्यायसङ्गत रहेको छैन । विपक्षी पुनरावेदक वादीको फिराद गर्ने हकदैया नभएको तथा हदम्याद नाघी फिराद दायर गरेको अवस्थामा सप्‍तरी जिल्‍ला अदालतबाट मिसिल संलग्न सम्पूर्ण प्रमाणहरूको समुचित मूल्याङ्कन गरी भएको फैसला सदर गरी इन्साफ पाउँ भन्‍ने बेहोराको प्रतिवादीको मिति २०७३।०२।०७ को बद्रीनारायण भगतले पुनरावेदन अदालत राजविराजमा पेस गरेको लिखित प्रतिवाद ।

यसमा जग्गामा रूखहरू रहेको सो रूखहरू हाल काटिसकेको भन्‍ने वादीको साक्षीको बकपत्र र भई आएको सरजमिन मुचुल्काबाट समेत पुष्टि भइरहेको हुँदा सो काटिएको रूखहरूमध्ये यो यति रूखहरू वादीले पाएको भन्‍ने प्रतिउत्तर जिकिर देखिँदैन । सिसौका रूखहरू पनि सम्पत्ति नै भएको हुँदा वादीले पाउनुपर्ने नै देखियो । वादीले अनुमानित समस्त कित्तामा ७००० रूखहरू रहेको र सो सम्पूर्ण रूखहरू आफ्नो भागको मानी दाबी गरेको अङ्क बराबरकै रूख काटी प्रतिवादीले लगेको भनी ठर्‍याउन न्यायोचित नहुने हुँदा सिसौका रूखहरूलाई गर्नुपर्ने रेखदेख संरक्षणसमेतलाई दृष्टिगत गरी औसत र औचित्यको आधारमा रू.२०,००,०००।- (बिस लाख रूपैयाँ) सम्म बिगो बराबरको सम्पत्ति वादीले पाउनु न्यायोचित हुने हुँदा रू. २०,००,०००।- वादी मीरादेवी भगतले प्रतिवादी बद्रीनारायण भगतबाट भरिपाउने ठहर्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत, राजविराजबाट मिति २०७३।०५।२१ मा भएको फैसला । 

विपक्षीले आफ्नो सुरू फिरादमा उल्लेख गरेबमाजिम निजले २०६८।१२।०९ मा दा.खा. पुर्जी लिएको मितिबाट जग्गा मिच्नेको महलको १८ नं.बमोजिमको हदम्याद सुरू हुने भन्ने कुरा तर्कसङ्गत र कानूनसङ्गत छैन । अदालतबाट बन्डा मुचुल्का भएको मिति २०६०।३।०१ मा नै निजको हक छुट्टिएको कुरामा विवाद हुन सक्दैन । बन्डा मुचुल्का भइसकेपछि अरू सबै अंशियारहरूले सोबमोजिम आफ्नो भागको अंश छुट्याई लगिसकेपछि निजले वर्षौंसम्म दा.खा.पुर्जी नलिई बसेको अवस्थामा अनन्त अवधिसम्मको हदम्याद निजलाई प्राप्त हुने भनी अर्थ गर्न कदापि मिल्दैन । मैले आफ्नो प्रतिउत्तर जिकिरमा कहिले कुनै प्रकारले सिसौको रूख काटेको कुरा उल्लेख गरेको छैन । कुनै पनि प्रमाणबाट मैले रूख काटेको भन्ने कुराको पुष्टि भएको छैन । कथित सर्जमिनमा उल्लेख गरेको भनिएको व्यक्तिहरूको कथनको सम्बन्धमा त्यस्तो सर्जमिनमा उल्लेख गर्ने व्यक्तिले न त सपथ खाएर उल्लेख गर्ने न त निजहरूलाई मैले जिरह गर्ने मौका नै पाउने भएको हुनाले जग्गाको वस्तुस्थितिको बारेमा बाहेक त्यस्ता व्यक्तिले उल्लेख गरेको कुरा कुनै कानूनले पनि ग्राह्य हुन सक्ने नै होइन । हकदैया नै नरहेको, हदम्याद नघाई दायर भएको विपक्षीहरूको फिराद दाबी खारेजभागी रहेकोले सुरू सप्तरी जिल्ला अदालतबाट हदम्यादविहीन फिराद खारेज हुने फैसला गरेकोमा पुनरावेदन अदालत राजविराजले हदम्यादभित्रको तथा हकदैयासमेत भएको भनी सुरू फैसला उल्टी गरी गरेको फैसला त्रुटिपूर्ण भई बदरभागी रहेको छ । पुनरावेदन अदालत राजविराजले गरेको फैसला उल्टी गरी सुरू जिल्ला अदालतको फैसला सदर हुने गरी इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी बद्रीनारायण भगतले यस अदालतमा पेस गरेको पुनरावेदन ।

मैले दाबी गरेको जग्गामा सिसौका रूखहरू रहेको तथ्य अदालतमा दिएको निषेधाज्ञाको निवेदन, अवहेलना ठहर भएको फैसला एवम् अंश मुद्दामा भएको फैसलाबाट समेत स्थापित भएको छ । सो सिसौका रूखसमेत यथावत् रूपमा मैले अंश भाग प्राप्त गरेको भन्ने प्रतिवाद पनि देखिएको छैन । जग्गामा रूखहरू रहेको सो हाल काटिसकेको भन्ने मेरो साक्षीको बकपत्र र भई आएको सर्जमिन मुचुल्काबाट समेत पुष्टि भइरहेको हुँदा सो काटिएको रूख मैले पाइसकेको भन्ने प्रतिउत्तर जिकिरसम्म पनि नदेखिँदा सो रूख सम्पत्ति नै भएको हुँदा मैले पाउनुपर्नेमा विवाद गर्नुपर्ने अवस्था रहेको छैन । पुनरावेदन अदालतको मिति २०६६।०५।३० को फैसलाले म वादीको हक छुट्टिएको नभई मिति २०६८।१२।०९ मा मात्र मेरो नाममा जग्गा दर्ता भएको अवस्था रहेको हुँदा जग्गा मिच्नेको १८ नं. ले हक छुट्टिएको एक वर्षभित्रै फिराद दायर गरेको हुनाले फिराद हदम्यादभित्र रहेको छ । मेरो दाबीको कि.नं. १ को ३-२-१४ को जग्गामध्ये बन्डा मुचुल्काबाट मेरो भागमा परेको हाल कायमी कि.नं.९२८ को ०-१५-१३.९३ क्षेत्रफलको जग्गामा ७००० थान सिसौका रूख थिए भन्ने कुरा प्रस्ट रहेको छ । विपक्षीले उक्त जग्गामा सिसौका रूखहरू नै नभएको भनी जिकिर लिएकोमा सो सम्बन्धमा प्रमाण बुझी इन्साफ गर्नुपर्नेमा सो सम्बन्धमा प्रमाण बुझेको छैन ।  मुख नमिलेको कुरामा प्रमाण बुझ्नुपर्ने कानूनी व्यवस्था रहेकोमा त्यसतर्फ कुनै प्रमाण बुझ्नेतर्फ नलागी भएको फैसला ने.का.प २०४३ नि.नं. २९०० मा प्रकाशित सिद्धान्तको प्रतिकूल भएकोले बदर भागी छ बदर गरी मेरो सुरू दाबीबमोजिम न्याय गरिपाऊँ । 

विपक्षीले सिसौको रूख काटेको भन्ने तथ्य पुनरावेदन अदालत राजविराज र सर्वोच्च अदालतको मिति २०६३।३।१२ को फैसलाले पुष्टि भए रहेको छ । मिति २०५५।२।१८ निषेधाज्ञा जारी भएपछि मिति २०५५।१०।२७ मा सिसौको रूख काटेको तर विपक्षीले म पुनरावेदिकाले नै मिति २०५६।९।३० मा उक्त जग्गामा लगाएका सिसौका रूखहरू लुटपिट गरी लगेको भनी फिराएको लिखित जवाफका हकमा विपक्षीको भनाइ विश्वसनीय देखिन आएन भनी २०५७ सालको फौ.पु.न. २५०१ को अवहेलना मुद्दाको ठहर खण्डले विपक्षीहरूले सिसौका रूख काटी लगेको तथ्य पनि पुष्टि भइरहेकोमा वादीले अनुमानित समस्त कित्तामा ७००० रूखहरू रहेको भनी आफ्नो भागको मानी दाबी गरेको अङ्क बराबर नै रूख काटी लगेको ठहर्‍याउन न्यायोचित नहुने हुँदा रूखहरूलाई गर्नुपर्ने देखरेख संरक्षणसमेतलाई दृष्टिगत गरी औसत र औचित्यको आधारमा रू.२०,००,०००।- सम्म बिगो बराबरको सम्पत्ति वादीले पाउनु न्यायोचित हुने भनी ठहर खण्डमा उल्लिखित बुँदा आत्म केन्द्रित रहेको छ । फिरादमा दाबी गरेको रकममध्ये रू. २०,००,०००।- मा के कति कारणले वादी दाबी पुगेको हो र बाँकी रू.८५,००,०००।- मा के कति कारणले वादी दाबी नपुगेको हो सोको आधार र कारण फैसलामा खुलेको देखिँदैन । वादी दाबी पुग्ने र नपुग्ने विषयमा ठोस रूपमा आधार र कारणसमेत उल्लेख नगरी पुनरावेदन अदालत राजविराजबाट मिति २०७३।५।२१ मा भएको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला बदर गरी सुरू फिराद दाबी तथा प्रस्तुत पुनरावेदन जिकिरबमोजिम न्याय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी मीरादेवी भगतले यस अदालतमा पेस गरेको पुनरावेदन ।

यसमा वादी र प्रतिवादीको दोहोरो पुनरावेदन परेको देखिँदा तत्कालीन मुलुकी ऐन, अ.बं. २०२ नं. तथा प्रचलित मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २१३ एवम्‌ सर्वेच्च अदालत नियमावली, २०७४ को नियम ६७ को प्रयोजनार्थ परेका पुनरावेदनहरू एकआपसमा परस्पर जानकारी गराई फैसलामा उल्लिखित अंश मुद्दा र अवहेलना मुद्दाका मिसिलसमेत झिकाई नियमानुसार गरी पेस गर्नुहोला भनी यस अदालतबाट मिति  २०७६।०२।१५ मा भएको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न पुनरावेदन पत्रसमेतका कागज प्रमाणहरूको अध्ययन गरियो ।

पुनरावेदक वादी मीरादेवी भगतका तर्फबाट विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री महादेवप्रसाद यादव र श्री सतिषकृष्ण खरेल तथा विद्वान्‌ अधिवक्ताद्वय श्री सतिषकुमार झा र श्री विजयकुमार यादवले प्रत्यर्थी प्रतिवादीले पुनरावेदक वादी मीरादेवी भगतको जग्गामा रहेको सिसौका रूखहरू काटी लगेको भन्ने कुरा वादीले विपक्षी बद्रीनारायण भगत विरूद्ध दिएको निषेधाज्ञाको निवेदन तथा अवहेलना मुद्दाको ठहर खण्डले समेत पुष्टि भएको अवस्था रहेको छ । फिराद दाबीमा उल्लेख भएको बिगो रू.१,०५,००,०००।- बराबरको सिसौका रूखहरू विपक्षीले काटी लगेको अवस्था भएकोमा औसत र औचित्यका आधारमा भन्ने शब्द उल्लेख गरी मात्र रू. २०,००,०००।- बराबरको बिगो कायम गरी भएको पुनरावेदन अदालत राजविराजको फैसला न्यायसङ्गत नभएको हुँदा सो फैसला उल्टी गरी फिराद दाबीअनुसारको बिगो ठहर्ने गरी फैसला होस् भनी बहस प्रस्तुत गर्नुभयो । 

पुनरावेदक / प्रतिवादी बद्रीनारायण भगतका तर्फबाट विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान्‌ अधिवक्ता श्री शिवप्रसाद कोइरालाले विपक्षी वादीलाई मेरो पक्षको नाममा मुद्दा दर्ता गर्ने हकदैया नै रहेको छैन । हदम्याद नघाई दायर भएको विपक्षीको फिराद दाबी खारेज भागी रहेकोले सुरू सप्तरी जिल्ला अदालतबाट हदम्यादविहीन फिराद खारेज हुने फैसला गरेको अवस्था हो । पुनरावेदन अदालत राजविराजले हदम्यादभित्रको तथा हकदैयासमेत भएको भनी सुरू फैसला उल्टी गरी गरेको फैसला त्रुटिपूर्ण भई बदर भागी रहेकोले पुनरावेदन अदालत राजविराजले गरेको फैसला उल्टी गरी सुरू जिल्ला अदालतको फैसला सदर हुने गरी न्याय इन्साफ होस् भनी बहस प्रस्तुत गर्नुभयो ।

वादी प्रतिवादीहरूबिच अंश मुद्दासमेत तहतह चली अन्तिम किनारा भई साबिक कि.नं.१ को ०३-०२-१५ जग्गामध्ये हाल मीरादेवी भगत नाउँमा दा.खा. दर्ता भएको कि.नं.९२८ को ०-१५-१३.९० जग्गाका सम्पूर्ण सिसौका रूखहरू विपक्षीहरूले काटी लगेको हुँदा सोको  रू.१,०५,०००००।- (एक करोड पाच लाख रूपैयाँ) विपक्षीहरूबाट दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको मीरादेवी भगतले फिराद दाबी रहेकोमा मीरादेवी भगतले दायर गरेको फिराददाबी, हकदैया र हदम्यादविहीन भएकोले झुटा दाबीबाट फुर्सद दिलाइपाउँ भन्‍ने बद्रीनारायण भगतले प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा वादी दाबीको फिराद खारेज हुने ठहरी सुरू सप्‍तरी जिल्ला अदालतबाट फैसला भएको र सो फैसलाउपर वादी मीरादेवी भगतको पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परी पुनरावेदन अदालत राजविराजबाट औसत र औचित्यको आधारमा रू.२०,००,०००।- (बिस लाख रूपैयाँ) सम्म बिगो बराबरको सम्पत्ति वादीले पाउनु न्यायोचित हुने हुँदा रू. २०,००,०००।- वादी मीरादेवी भगतले प्रतिवादी बद्रीनारायण भगतबाट भरी पाउने ठहर्छ भनी फैसला भएकोमा सो फैसलाउपर फिराद दाबीअनुसारको बिगो प्रतिवादीबाट भराइपाउँ भनी वादी मीरादेवी भगतको तथा हकदैया र हदम्यादसमेत नभएको अवस्थामा फिराद दायर भएकोले फिराद खारेज गर्ने गरी सुरू अदालतले गरेको फैसला सदर गरिपाउँ भनी प्रतिवादी बद्रीनारायण भगतको यस अदालतमा छुट्टाछुट्टै पुनरावेदन परेको देखियो ।

उल्लिखित तथ्य एवम् बहससमेत सूनी निर्णयतर्फ विचार गर्दा, तत्कालीन पुनरावेदन अदालत राजविराजले गरेको फैसला मिलेको छ छैन ? वादी तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने सम्बन्धमा नै निर्णय गर्नुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, कि.नं.१ को ०३-०२-१५ मध्ये वादीको अंश भागमा परी कायम भएको कि.नं.९२८ क्षेत्रफल ०-१५-१३.९३ को जग्गा वादीले अंशबापत प्राप्त गरेको देखिन्छ । सो जग्गा प्राप्त गर्नुभन्दा अगाडिदेखि नै यी वादी तथा प्रतिवादीहरूका बिचमा विगत लामो समयदेखि मुद्दा चलिरहेको र अंश मुद्दाबाट जग्गा प्राप्त नभएकै अवस्थामा प्रतिवादी बद्रीनारायण भगतले कि.नं. १ को जग्गामा भएका सिसौका रूखहरू काट्न लागेकोमा सो जग्गामा भएका रूखहरू काट्ने कार्य रोकिपाउँ भनी वादी मीरादेवी भगतले पुनरावेदन अदालत राजविराजमा निषेधाज्ञाको निवेदन दिएकोमा सो निवेदनमा कि.नं. १ मा भएका सिसौका रूखहरू अंश मुद्दाको किनार नलागेसम्मका लागि नकाट्नु नकटाउनु यथास्थितिमा राख्‍नु भनी प्रतिवादी बद्रीनारायण भगतका नाममा निषेधाज्ञा जारी भएको पाइन्छ । यसरी निषेधाज्ञा जारी भएपश्चात् निज प्रतिवादी बद्रनारायण भगतले सो कि.नं. मा भएका रूखहरू काटेको हुनाले अदालतको आदेशको अवहेलना भयो भनी वादी मीरादेवी भगतले तत्कालीन पुनरावेदन अदालत राजविराजमा अवहेलनाको मुद्दा दायर गरेकोमा सो मुद्दामा अवहेलना ठहर भई प्रतिवादी बद्रीनारायण भगतलाई रू. १००।- जरिवानासमेत भएको प्रमाण मिसिलबाट देखिएबाट उक्त जग्गामा सिसौका रूखहरू भएको कुरामा कुनै विवाद रहे भएको देखिँदैन ।

३. नेपाल कानून व्याख्यासम्बन्धी ऐन २०१० को दफा २(ट) ले "अचल सम्पत्ति भन्‍नाले जग्गा जमिन त्यसबाट हुने लाभ, जमिनमा जडिएका चिजवस्तुसमेत जनाउँछ" भनी सम्पत्तिको परिभाषा गरेको छ । सम्पत्ति चल अचल दुवै हुने र जग्गा जमिन तथा त्यसमा जडित रूख बिरूवा पनि अचल सम्पत्ति नै हुन्छ । अचल सम्पत्ति रूखलाई कटान गरी भौतिक स्वरूप परिवर्तन गरी खरिद बिक्री गरिन्छ भने त्यसपछि सो सम्पत्ति  चल सम्पत्तिमा  रूपान्तरण हुन आउँछ । सम्पत्ति चल वा अचल जे भए पनि सो सम्पत्तिमा व्यक्तिको नैसर्गिक अधिकार रहने नै हुन्छ ।

४. वादीले अंशबापत जग्गा प्राप्‍त गर्दाको अवस्थामा सो जग्गामा रहेको सम्पत्तिको रूपमा रहेका रूखहरूसमेत यथावत् रहनुपर्नेमा यथावत् नरहेको अवस्थामा वादीले आफूले अंश हकबाट पाएको जग्गामा भएका रूखहरू प्राप्‍त गर्ने हकबाट वञ्चित हुन पुगेको देखिन्छ । जग्गा प्राप्त गर्दाका अवस्थामा सो जग्गामा रहे भएको सम्पूर्ण रूखबिरूवा तथा अन्य चिजवस्तुहरूसमेत पाउनु वादीको अधिकारभित्र नै पर्ने हुन्छ । अंश हकबाट प्राप्त गरेको जग्गामा भएका रूखबिरूवाहरू जग्गावालाकै हुने र निज जग्गाधनीको मन्जुरीबेगर सो जग्गामा जडित रूखहरू कसैले काटी लैजान्छ र सो अवस्थामा जग्गाधनीले बिगो भराइपाउँ भनी नालिस गर्छ भने निजलाई मुद्दा गर्ने हक रहेको छैन भन्न न्यायोचित हुँदैन । आफ्नो सम्पत्तिमा कसैले नोक्सान गर्दछ भने आफ्नो हक अधिकार सुरक्षित गर्नको लागि हक अधिकारबाट वञ्चित भएको व्यक्तिले कानूनको सहयोग लिन सक्ने नै हुन्छ ।

५. यी वादी तथा प्रतिवादीहरूको बिचमा एकै चोटि बाली बिगोको मुद्दा दायर भएको नभई अंश मुद्दा चलिरहेकै अवस्थामा यस मुद्दाका प्रतिवादीले सगोलको जग्गामा भएका सिसौका रूखहरू काट्न लागेको अवस्थामा सो जग्गा सगोलको भएको र अंश मुद्दा चली मुद्दा विचाराधीन रहेको अवस्थामा भएकोले अंश मुद्दा चलिरहेको जग्गामा भएका रूखहरू प्रतिवादीले काटी लगेमा सो सम्पत्तिबाट वादीले वञ्चित हुनुपर्ने हुँदा रूख काट्ने कार्य रोकिपाउँ भनी वादीले तत्कालीन पुनरावेदन अदालत राजविराजमा निषेधाज्ञाको निवेदन दिएको र सो निवेदनमा निषेधाज्ञा जारी भएको अवस्थामा समेत आदेशको अवज्ञा गरी प्रतिवादीले रूख काटेको हुँदा अदालतबाट जारी भएको आदेशको अवहेलना भयो भनी दायर भएको अवहेलनाको मुद्दामा प्रतिवादीलाई जरिवानासमेत भएको अवस्था रहेको र अंश मुद्दा फैसला भई मिति २०६०।३।१ को बन्डा मुचुल्काबाट सो जग्गा वादीको हिस्सामा परी २०६८।१२।०९ मा मात्र वादीको नाममा दर्ता भएको देखिन्छ । यसरी मुद्दा चल्दाचल्दैको अवस्थामा वादीको अंश हक लाग्ने सिसौका रूखहरू वादीको मन्जुरीबिना प्रतिवादीले काटी लगेको कार्य दूषित रहेकोले जग्गा मिच्नेको १८ नं. को हदम्यादभित्र फिराद नरहेको भनी लिएको पुनरावेदन जिकिर न्यायसङ्गत रहेको देखिँदैन । अंश हकको सम्पत्तिमा बिगो दाबी गरेको अवस्थामा जग्गा मिच्नेको १८ नं. को हदम्यादभित्र दाबी रहेको छैन भन्ने प्रतिवादीको पुनरावेदन जिकिर एवम् प्रतिवादीको तर्फबाट लिइएको बहस जिकिरसँग सहमत हुन सकिएन । वादी दाबी हदम्यादभित्रै प्रस्तुत मुद्दाका सन्दर्भमा दायर भएको पाइयो ।     

६. वादी दाबीको जग्गामा सिसौका रूखहरू रहेको तथ्य वादी प्रतिवादीबिच चलेको निषेधाज्ञाको निवेदन, अवहेलना गरेको ठहर भएको फैसला एवम् अंश मुद्दामा भएको फैसलाबाट समेत स्थापित भएको छ । सो सिसौका रूखसमेत यथावत् रूपमा जग्गासँग वादीले अंश भाग प्राप्‍त गरेको भनी प्रतिवादीले देखाउन सकेको अवस्था छैन । जग्गामा लगाएको रूखलाई मौसम मौसममा लगाउने बालीसँग तुलना गर्ने अवस्था हुँदैन । रूख जग्गामा रहुन्जेल अचल सम्पत्तिको रूपमा रहने सोलाई काटी प्रयोग गरेको खण्डमा मात्र चल सम्पत्तिको रूपमा परिणत हुने प्रकृतिको रूपमा देखिन्छ । जग्गामा रूखहरू रहेको सो हाल काटिसकेको भन्‍ने वादीको साक्षीको बकपत्र र भई आएको सरजमिनबाट समेत पुष्टि भइरहेको हुँदा सो काटिएको रूख यो यति वादीले पाइसकेको भन्‍ने प्रतिउत्तर जिकिरसम्म पनि नदेखिँदा सो रूख वादीले पाउनुपर्ने देखिन्छ । वादीले आफ्नो फिरादमा ७००० थान रूख रहेको भनी उल्लेख गरेको र सोको बिगो एक करोड पाँच लाख भनी उल्लेख गरेको भए तापनि सो जग्गामा सात हजार सिसौका रूखहरू थिए भनी लिएको आफ्नो फिराद दाबीलाई वादीले प्रमाणित गर्न सकेको अवस्था देखिँदैन । सो जग्गामा सिसौका रूखहरू रहेको भनी सर्जमिन मुचुल्का, निषेधाज्ञाको निवेदनमा भएको आदेश तथा अवहेलनाको मुद्दाबाट समेत देखिएको भए तापनि फिरादीले दाबी गरेको जग्गामा ७००० थान रूख थिए भन्ने फिराद दाबी प्रमाणित नभएको अवस्थामा फिराद दाबीअनुसार बिगो कायम गरिपाउँ भन्ने फिराद दाबी न्यायसङ्गत रहेको भन्न मिलेन । तसर्थ तत्कालीन पुनरावेदन अदालतले औचित्यताको आधारमा अंशियार संख्यासमेतलाई विचार गरी बिगो कायम गरी भएको फैसला मिलेकै देखिन आयो ।  

७. अतः वादीले अनुमानित समस्त कित्तामा ७०००।- रूखहरू रहेको भनी आफ्नो भागको मानी दाबी गरेको अङ्क बराबरकै रूख काटी प्रतिवादीले लगेको भन्‍न ठर्‍याउन न्यायोचित नहुने भनी औसत र औचित्यको आधारमा रू.२०,००,०००।- (बिस लाख रूपैयाँ) मूल्य बराबरको सम्पत्ति वादी मीरादेवी भगतले प्रतिवादी बद्रीनारायण भगतबाट भराइपाउने ठहर गरी तत्कालीन पुनरावेदन अदालत राजविराजबाट मिति २०७३।०५।२१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । फिराद दाबीअनुसारको बिगो भराइपाउँ भन्ने वादीको पुनरावेदन जिकिर तथा हदम्यादभित्र फिराद दर्ता नभएकोले फिराद खारेज हुने ठहर्‍याई सुरू अदालतले गरेको फैसला सदर गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.विनोद शर्मा

 

इजलास अधिकृतः- सूर्यप्रसाद भण्डारी

इति संवत् २०८० असोज १४ गते रोज १  शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु