निर्णय नं. ११३१६ - अंश दर्ता

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
फैसला मिति : २०७९।१।१९
०६९-CI-०८६९
मुद्दा: अंश दर्ता
पुनरावेदक / वादी : जिल्ला बारा, गन्जभवानीपुर गाउँ विकास समिति वडा नं.७ बस्ने नेसारूलहक अन्सारीसमेत
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला बारा, गाउँ विकास समिति गन्जभवानीपुर वडा नं.७ बस्ने मैमुलहक अन्सारीसमेत
अंशबन्डा हुनु र मानो छुट्टिई अलग अलग व्यवहार गरी बस्नु फरक विषय हो । मानो छुट्टिई अलग अलग व्यवहार गरी बस्दै आए पनि अंशबन्डा नभएको अवस्थामा त्यस्ता अंशियार सगोलकै मान्नुपर्ने । सगोलमा रहेको भन्नु र एकासगोल भन्नु पनि फरक फरक अवस्था हो । "सगोल" शब्दले अंशियारहरूबिच बन्डा नभएको अवस्थालाई जनाउँछ, जुन अवस्थाले अंशियारहरू चुल्हो मानो छुट्टिई अलग रहेको अवस्थालाई समेत जनाउँछ भने "एकासगोल" भन्ने शब्दले अंशियारहरू चुल्हो मानो नछुट्टिई सँगसाथ रही भात भान्सा एउटै रहेको अवस्थालाई इङ्गित गर्दछ । भिन्न हुनु र अंश लिई भिन्न हुनु फरक अवस्था हो । अंशियारहरू आपसमा भिन्न मात्र हुनुले अंशियारहरूबिच बन्डा नभई सगोलमा रहेको मानिन्छ भने अंश लिई छुट्टिई भिन्न भएको अवस्थाले अंशियारहरूबिच अंशबन्डा भइसकेको अवस्थालाई बुझाउने हुन्छ र त्यस्ता अंशियारहरू सगोलमा रहेको भन्न नमिल्ने । मानो छुट्टिएको कारणले सगोलमा नरहेको भन्न नमिल्ने ।
(प्रकरण नं.१०)
पुनरावेदक / वादीका तर्फबाट :
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव
अवलम्बित नजिर :
ने.का.प.२०६५, अङ्क १, नि.नं.७९११
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री बालमुकुन्द दवाडी
बारा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की
पुनरावेदन अदालत हेटौंडा
फैसला
न्या.डा.मनोजकुमार शर्मा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:-
तथ्य खण्ड
ईसमाइल मियाँ र अविरन खातुनबाट ३ छोरामा क्रमश: अबुमहमद, मैमुलहक तथा लालमहमद हुन् । अबुमहमद तथा उनकी पत्नीको मृत्यु भइसकेको हुँदा निजका छोराहरू क्रमश: नेसारूलहक, गफार, इलियास, अब्दुलसतार, अमजतअली अन्सारी तथा नुरूलहोदा हुन् । मैमुलहक तथा निजकी श्रीमती फातमा खातुनका छोरा नाजिर हुसेन हुन् । नाजिरकी श्रीमती मोविना खातुन हुन् । हामी एकासगोलमा बसिआएकोमा हितचित्त नमिली प्रतिवादीहरूसँग मिति २०५९/४/१६ मा अंश छुट्याइदिन माग गर्दा इन्कार गरेकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सोभन्दा पूर्वको चल-अचल सम्पत्तिको तायदाती फाँटवारी प्रतिवादीहरूबाट लिई ३ खण्डको १ खण्ड लाल महमदलाई र १ खण्ड अबुमहमद अन्सारीका ६ जना छोरा हामी वादीलाई छुट्याई हाम्रो नाममा संयुक्त दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी ।
विपक्षीहरूसँग एकसाथ सगोलमै बसी आएको होइन, छैन । सगोलको आर्जनबाट जग्गा जमिन हाम्रो नाममा आर्जन भएको समेत होइन । अंश दिन इन्कार गरेको पनि छैन । ईसमाइल मियाँको जीवनकालमै मिति २०१५/२/१ मा मानो चुल्हो फोडी भिन्द भई आ-आफ्नो आय आर्जन गरी बसेका छौं । वादीको झुठा दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर ।
वादी र प्रतिवादीहरू सबैजना एकासगोलमै रहेकोले दाबीबमोजिम वादीले प्रतिवादीहरूबाट अंश पाउनुपर्ने हो भन्ने वादीका साक्षी नैदिन देवानको बकपत्र ।
वादी र प्रतिवादी एकासगोलको अंशियार होइन । इसमाइलका तीन छोरा अबुमहमद, मैमुलहक र लालमहमद २०१५ सालमा भागबन्डा भएको हो भन्ने प्रतिवादीका साक्षी वासुदेव साह कानूको बकपत्र ।
प्रमाणको लागि आवश्यक खिचोला, लिखत बदर तथा जालसाजी मुद्दा श्री सर्वोच्च अदालतमा विचाराधीन रहेकोले उक्त मुद्दा अन्तिम किनारा नलागेसम्म मुलतबीमा राखिदिनु भन्ने सुरू बारा अदालतको मुलतबी आदेश ।
प्रमाणका मुद्दाहरू फैसला भई प्रमाणित प्रतिलिपि निवेदनसाथ राखी वादी उपस्थित भएकोले मुलतबीबाट जगाइदिएको छ भन्ने सुरू बारा जिल्ला अदालतको आदेश ।
वादी प्रतिवादीबिच २०१५/२/१ मा मानो छुट्टिएको मिति कायम गरी सुरू बारा अदालतबाट भएको तायदाती फाँटवारी लिने आदेश ।
मिति २०६६/२/४ मा द.नं. ४६४७ को दरखास्तबाट वादी लालमहमदले मैमुल र फातमाको मु.स. गर्ने मोविनाको हकमा समेत प्रतिवादी नाजिरले मिति २०६६/२/१२ मा द.नं. ४७९२ को, वादी अमजद अलीसमेत जना ६ को हकमा मिति २०६६/२/२० मा, द.नं. ४९७५ को निवेदनबाट वारेस अनिसु रहमानले दाखेल गरेको तायदाती फाँटवारी ।
प्रतिवादी नाजिर हुसेनको नाम दर्ताको कि. नं. ३४, १०३, ३२, २८१, १०६ र १०८ तथा मोविना खातुनको नाम दर्ताको कि.नं. ७३, ४६६, ३०, ३४, ३३ र १२५ का जग्गाहरू प्रतिवादी नाजिर हुसेनले द.नं. ९५४ मिति २०६६/६/१९ को निवेदन पत्रसाथ पेस गरेको प्रमाणबाट २०१५ सालमा मानो छुट्टिएपछिको आर्जन भएको भन्ने देखिँदा ती जग्गाहरू बन्डा लाग्ने प्रकृतिको देखिएन । सोबाहेक अन्य वादी प्रतिवादीका नाममा रहेका जग्गा बन्डा लाग्ने प्रकृतिको देखिँदा फाँटवारीहरूमा उल्लेख भएका अन्य कि.नं. का जग्गाहरूबाट दाबीबमोजिम वादीहरूले ३ भागको २ भाग अंश छुट्याइलिन पाउने ठहर्छ भन्ने सुरू बारा जिल्ला अदालतको फैसला ।
मिति २०१५/२/१ गते मानो छट्टिएको मिति मुलुकी ऐन, रजिस्ट्रेसन महलको १ नं.अनुसार रजिस्ट्रेसन नभएकोले विबन्धन भनी उनाउ व्यक्तिसँगको उनाउ मुद्दाको कथनलाई आधार लिन मिल्ने होइन । यिनै प्रतिवादी मैमुलहक अन्सारीले पिता इसमाइल मियाँको नाम दर्ताको जिल्ला बारा, गाउँ विकास समिति प्र. टोकनी तेतिरीया वडा नं. ५ र ६अन्तर्गतको कि.नं. १३० र १८६ को ५-१८-१० बाबुको नामबाट नामसारी गराउन लालमहमद मियाँलाई मिति २०२९ साल आषाढमा मन्जुरीनामा गरिदिँदा एकासगोलको भाइ भनी उल्लेख गर्नुभएको छ । यसका अतिरिक्त तत्कालीन श्री ५ को सरकार वादी र महिमुल मियाँसमेत प्रतिवादी भएको २०२२ सालको फौ.नं. ५४६/९०७ को कर्तव्य ज्यान मुद्दामा प्रतिवादी महिमुल मियाँ जोलाहा, ललु मियाँ र अबु मियाँ जोलाहले बयान गर्दा सगोलको देखाई बयान गर्नुभएको छ । यी लिखतहरूबाट २०१५ सालमा मानो छुट्टिएको भन्ने भनाइलाई अन्यथा प्रमाणित गरेको अवस्था छ । यसरी मानो छट्टिएको मितिमा मुद्दापिच्छे कार्यालयमा पेस भएका लिखतबाट विवाद देखिएको अवस्थामा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्नुपर्नेमा मिति २०१५/२/१ लाई मानो छट्टिएको मिति कायम गरी भएको फैसला सो हदसम्म बदरभागी छ भन्ने बेहोराको वादी नेसारूलहकसमेतले तत्कालीन पुनरावेदन अदालत हेटौंडामा गरेको पुनरावेदन ।
यसमा मानो छट्टिएको मिति कायमतर्फ मुख नमिली विवाद रहेकोमा मानो छुट्टिएको मिति कायम गरी सो मितिपछि प्राप्त गरेका जग्गाहरू बन्डा लगाएको सुरूको फैसला फरक पर्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने तत्कालीन पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६८/५/१६ मा भएको आदेश ।
वादी प्रतिवादीहरूबिच मिति २०१५/०२/०१ मा मानो छुट्टिएको मिति कायम हुने र सो मानो छुट्टिएको मिति २०१५/०२/०१ पछि खरिद गरेको कि.नं. ५८, ४६, ४७, ४८, ४९, ५१, २५६, ११३ का जग्गासमेत बन्डा लाग्ने गरी भएको सुरू बारा जिल्ला अदालतको मिति २०६६/०७/०११ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई उक्त जग्गाहरूमा बन्डा नलाग्ने ठहर्छ । सोबाहेक अरूमा सुरूको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसला ।
मानो छुट्टिएको लिखत मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं.बमोजिम रजिस्ट्रेसन भएको छैन । हाम्रो बाजे इसमाइल मियाँ अन्सारीले २०२१ सालमा नापीको बखतको फिल्डबुकमा "यो जग्गा मेरो छोरा अबु मिया अन्सारीको नम्बरी हो, सगोलमा बसी भोग गरी आएको छु" भनी लेखाइदिएको, २०२२ सालको फौ.नं. ५४६/९०७ को कर्तव्य ज्यान मुद्दामा प्रतिवादीहरू महिमुल मियाँ जोलाहा, ललु मियाँ र अबु मियाँ जोलाहले बयान गर्दा आफूहरू सगोलमा रहेको कुरा खुलाएको अवस्था छ । नाजिर हुसेनको नाम दर्ताको कि. नं. ३४, १०३, ३२, २८१, १०६ र १०८, मोविना खातुनको नाम दर्ताको कि.नं. ७३, ४६६, ३०, ३४, ३३ र १२५ जग्गा मानो छुट्टिएपछि आर्जन भएको हुँदा बन्डा नलाग्ने भनी आधार लिए पनि कसबाट कुन माध्यमले कुन मितिमा आर्जन भएको हो सो खुलाइएको छैन । अ.बं.१८४(क) नं.बमोजिम प्रतिप्रमाण प्रतिकित्ता जग्गालाई पुष्टि गरिएको छैन । हामी वादी प्रतिवादी फिराद परेको अघिल्लो दिनसम्म सगोलमा भएको प्रमाण तथा साक्षीसमेत बुझी यकिन गर्नुपर्नेमा विपक्षीको प्रतिउत्तरलाई मात्र आधार मानी बुझ्नुपर्ने प्रमाण नबुझी, नबुझ्नुपर्ने प्रमाण बुझेर गरिएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४, मुलुकी ऐन, अ.बं. १८४(क) र प्रमाण ऐन, २०३१ को दफा ३४ समेतको विपरीत हुँदा तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी गरी फिराद दाबीबमोजिम हुने गरी पूर्ण न्याय पाउँ भन्ने बेहोराको वादी नेसारूल हक अन्सारीसमेतको यस अदालतमा दायर भएको पुनरावेदन ।
यसमा मानो छुट्टिएको मिति कायम गर्दा फिराद परेको अघिल्लो दिनलाई कायम गर्ने वा २०१५ साललाई कायम गर्ने भन्ने सम्बन्धमा नै विवाद भएको देखिन आयो । मानो छुट्टिएको मिति कायम गर्दा मुद्दाका पक्षहरूका बिच मुख मिलेको नदेखिएपछि फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्ने ने.का.प. २०६६, अङ्क ७, नि.नं. ८११८ मा प्रकाशित सिद्धान्तको विपरीत भई पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६९।३।२५ मा भएको फैसला त्रुटिपूर्ण देखिँदा फरक पर्न सक्ने सम्भावना देखिँदा अ.बं. २०२ नं.बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७२/५/१६ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी / प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादवले वादीले प्रतिवादीहरूसँग एकै घरमा बस्दै आएको वा एकै चुल्हामा खानपिन गरी आएको भनी वादीले दाबी लिन सकेको छैन । अंशबन्डा हुनु र मानो छुट्टिनु एउटै होइन । वादी तथा प्रतिवादीहरूको बाबुहरू नै २०१५।२।१ मा मानो चुल्हो फोडी भिन्न भएको भन्ने कुरालाई यी वादीका बुबासमेतले जैतुना खातुनसमेत उपर बारा जिल्ला अदालतमा दायर गरेको २०४९ को दे.दा.नं. २०२४ को टन्टा खिचोला मुद्दाको फिराद पत्रको बेहोराबाट पुष्टि भएको छ । मानो छुट्टिएपछि आर्जन गरेको सम्पत्तिमा बन्डा लाग्ने कुरा हुँदैन । यस स्थितिमा तत्कालीन पुनरावेदन अदालत हेटौंडाले गरेको फैसला मनासिब हुँदा उक्त फैसला सदर होस् भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्त तथ्य एवम् बहस जिकिर समावेश भएको प्रस्तुत मुद्दामा तत्कालीन पुनरावेदन अदालत हेटौंडाले गरेको फैसला मिलेको छ वा छैन ? वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरूसँग अंश छुट्याइदिन माग गर्दा इन्कार गरेकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सोभन्दा पूर्वको चल अचल सम्पत्तिको तायदाती फाँटवारी प्रतिवादीहरूबाट लिई ३ खण्डको १ खण्ड लालमहमदलाई र १ खण्ड अबुमहमद अन्सारीको ६ जना छोराहरूलाई छुट्याई हाम्रो नाममा संयुक्त दर्ता गरिपाउँ भन्ने वादी दाबी र मिति २०१५/२/१ मा चुल्हो मानो छुट्टिई भिन्न भइसकेपछि आफूहरूले आर्जन गरेको सम्पत्तिबाट विपक्षीहरूले अंश पाउने होइन भन्ने प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा सुरू बारा जिल्ला अदालतले प्रतिवादी नाजिर हुसेनको नाम दर्ताको कि. नं. ३४, १०३, ३२, २८१, १०६ र १०८ तथा मोविना खातुनको नाम दर्ताको कि.नं. ७३, ४६६, ३०, ३४, ३३ र १२५ जग्गा मानो छुट्टिएपछि आर्जन भएको ठहर गरी सोबाहेकका जग्गाहरूबाट दाबीबमोजिम वादीहरूले ३ भागको २ दुई भाग अंश छुट्याइलिन पाउने गरी फैसला गरेको रहेछ । सो फैसलाउपर चित्त नबुझाई वादीको तर्फबाट परेको पुनरावेदनमा तत्कालीन पुनरावेदन अदालत हेटौंडाले जिल्ला अदालतको फैसलालाई केही उल्टी गर्दै कि.नं. ५८, ४६, ४७, ४८, ४९, ५१, २५६, ११३ का जग्गासमेत मानो छुट्टिएको मिति २०१५/०२/०१ भन्दा पछि खरिद गरेको भन्ने देखिएकाले बन्डा नलाग्ने र अरूमा सुरूको फैसला सदर हुने ठहराएकोमा प्रतिवादी नाजिर हुसेन र मोविना खातुनको नाम दर्ताको क्रमशः कि.नं. ३४, १०३, ३२, २८१, १०६ र १०८ तथा ७३, ४६६, ३०, ३४, ३३ र १२५ जग्गाहरू बन्डा नलाग्ने ठहर गरेको हदसम्ममा चित्त नबुझाई वादीको तर्फबाट पुनः यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
३. पुनरावेदक / वादीका बुबा अबुमहमदले खरिद गरेको र यी वादीले आफ्नो एकलौटी हकमा रहेको भनी दाबी लिएका कि.नं. ५८, ४६, ४७, ४८, ४९, ५१, २५६, ११३ जग्गाहरू मानो छुट्टिएपछि आर्जन गरेको हुँदा प्रतिवादीहरूलाई बन्डा नलाग्ने भन्दै सो हदसम्म सुरू जिल्ला अदालतको फैसलालाई केही उल्टी हुने ठहर्याएको तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसलाउपर प्रतिवादीहरूले पुनरावेदन नगरी चित्त बुझाई बसेको देखिँदा त्यसतर्फ केही बोलिरहनु परेन ।
४. प्रस्तुत मुद्दामा वादीको पुनरावेदन हेर्दा आफूहरू चुल्हो मानो छुट्टिई भिन्न भइसकेको भनी दाबी गर्नेले त्यसरी मानो छुट्टिएको लिखत साबिक मुलुकी ऐन, रजिस्ट्रेसन महलको १ नं.अनुसार रजिस्ट्रेसन पारित भएको हुनुपर्नेमा त्यस्तो लिखत पेस गर्न नसकेको र मुद्दापिच्छे कार्यालयमा पेस भएका लिखतबाट विवाद देखिएको अवस्थामा फिराद परेको अघिल्लो दिनलाई मानो छट्टिएको मिति कायम गर्नुपर्नेमा मिति २०१५/२/१ गतेलाई मानो छुट्टिएको मिति कायम गरी भएको फैसला सो हदसम्म बदरभागी छ भन्ने मुख्य जिकिर रहेको देखियो ।
५. सो सन्दर्भमा हेर्दा, प्रस्तुत मुद्दामा मूल पुर्खा इसमाइल मियाँ र निजकी श्रीमती अविरन खातुनका ३ छोराहरूमा क्रमशः जेठो अबुमहमद, माहिला मैमुलहक र कान्छो लालमहमद भएकोमा जेठो अबुमहमदतर्फ ६ जना छोराहरूमा नेसारूलहक, गफार मियाँ, इलियास मियाँ, अब्दुलसतार, अमजद र नुरूलहोदा रहेका, माहिला मैमुलहक मियाँतर्फ निजकी श्रीमती फातमा खातुन, छोरा नाजिर हुसेन र बुहारी मोविना खातुन तथा कान्छो लालमहमद मियाँ रहेको देखियो । मूल पुर्खा इसमाइल मियाँ र निजकी श्रीमती अविरन खातुनका साथै जेठा अबुमहमद र निजकी श्रीमती बवुनियाको समेत मृत्यु भइसकेको अवस्थामा जेठो अबुमहमदका छोराहरू, माहिलो मैमुलहक र कान्छो लालमहमदबिच दाजु-भाइ तथा काका-भतिजा नाता सम्बन्धका व्यक्तिहरू भएका र निजहरूबिच विधिवत् रूपमा अंशबन्डा नभएको कुरामा समेत विवाद देखिएन ।
६. अब प्रस्तुत मुद्दाको मूल अंशियारहरू अबुमहमद, मैमुलहक र लालमहमदबिच विधिवत् रूपमा अंशबन्डा नभएको कुरामा विवाद नभएपछि निजहरू एकासगोलका अंशियार हुन् वा होइनन् ? वादी प्रतिवादी फिराद परेको अघिल्लो दिनसम्म एकासगोलमा रहेका हुन् वा मिति २०१५/२/१ मै छुट्टिई भिन्न भएका हुन् ? प्रत्यर्थी / प्रतिवादी नाजिर हुसेन र मोविना खातुनको नाम दर्ताको कि. नं. ३४, १०३, ३२, २८१, १०६ र १०८ तथा कि.नं. ७३, ४६६, ३०, ३४, ३३ र १२५ जग्गाबाट यी पुनरावेदक / वादीले अंश भाग पाउने हुन् वा होइनन्? भन्ने विषयमा केन्द्रित रही प्रस्तुत मुद्दाको निरूपण हुनुपर्ने देखिन आयो ।
७. सर्वप्रथम, वादी तथा प्रतिवादीहरू एकासगोलमा रहे बसेको अवस्था हो वा होइन भन्ने सम्बन्धमा विचार गर्दा निजहरूबिच मानो छुट्टिएको वा मानो जोडिएको लिखत कानूनबमोजिम खडा गरी रजिस्ट्रेसन पारित गरेको अवस्था देखिँदैन । पुनरावेदक वादीहरूले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम हुनुपर्ने भनी फिराद दाबी एवम् पुनरावेदन जिकिर लिएकोमा प्रत्यर्थी प्रतिवादीहरूले आफूहरूको मूल पुर्खा इसमाइल मियाँको जीवनकालमै मिति २०१५/२/१ मा मानो छुट्टिई भिन्न भई आ-आफ्नो आय आर्जन अलग अलग गरी बसेको भन्ने प्रतिवाद जिकिर लिएको पाइन्छ ।
८. पुनरावेदक / वादीहरूले आफूहरू सगोलमा रहेको भन्ने दाबी जिकिरलाई पुष्टि गर्ने मुख्य प्रमाणको रूपमा इसमाइल मियाँ अन्सारीले २०२१ सालमा नापीको समयमा फिल्डबुकमा "यो जग्गा मेरो छोरा अबु मियाँ अन्सारीको नम्बरी हो सगोलमा बसी भोग गरी आएको छु" भनी लेखाइदिएको, संवत् २०२२ सालको फौ.नं.५४६/९०७ को कर्तव्य ज्यान मुद्दामा बयान गर्दा मैमुल मियाँ, ललु मियाँ, अवु मियाँले सगोलको भनी बयान गरेको, त्यसैगरी बाबुको नाउँको दर्ताको जग्गा नामसारी हुँदाको अवस्थामा लालमहमद मियाँलाई २०२९ सालमा मन्जुरीनामा दिएको अवस्थामा एकासगोलको भाइ भनी उल्लेख गरेको कुरालाई लिइएको पाइन्छ । तर यिनै पुनरावेदक / वादीका बुबा अबुमहमद मियाँसमेतले जैनुना खातुनसमेत उपर दिएको २०४९ सालको दे.दा.नं. २०२४ को टन्टा खिचोला मुद्दाको फिराद पत्रको प्रकरण २ मा आफूहरू अबुमहमद, मैमुलहक र लालमहमद तीनै दाजु भाइ पिता इसमाइल मियाँकै जीवनकालमा २०१५।२।१ मा मानो चुल्हो फोडी भिन्न भई आ-आफ्नो जीविका गरी आएका छौं भन्ने बेहोरा उल्लेख गरेको देखिएबाट वादीको उक्त जिकिर खण्डित भएको देखिन्छ । प्रस्तुत मुद्दाको कारबाहीको क्रममा सुरू जिल्ला अदालतले मिति २०६६/१/३ मा आदेश गर्दा मिति २०१५/२/१ लाई मानो छुट्टिएको मिति कायम गरी फाँटवारी झिकाउने आदेश गरेकोमा वादीहरूले सो आदेशलाई कुनै चुनौती नगरी फाँटवारी पेस दाखिल गरेकोबाट सो तथ्यलाई वादीहरूले स्वीकार गरेको मान्नुपर्ने हुन्छ ।
९. यी पुनरावेदक / वादी र प्रत्यर्थी / प्रतिवादी एकै ठाउँ एउटै घरमा बस्दै आएका वा एकै चुलाबाट खानपिन गरी एकैसाथ घर जग्गा जोतभोग गर्दै एकासगोलमा आएका छौं भनी वादीहरूले सप्रमाण जिकिर लिन सकेको देखिँदैन । निजहरूले मोहीको लगत तथा ७ नं. फाँटवारी भर्दा आ-आफ्ना श्रीमती तथा छोराहरू जनाई अलग अलग भरेको देखिएको र माथि उल्लेख भएअनुसार यिनै पुनरावेदकका बाबु अबुमहमदसमेतले आफूहरू तीन दाजुभाइ आफ्ना पिताकै जीवनकालमा चुल्हो फोडी भिन्न भई आ-आफ्नो जीविका गरी आएको भनी लिखित रूपमै स्वीकार गरिसकेको विषयलाई अन्यथा भन्न मिल्ने देखिन आउँदैन । सोही आधारमा वादीहरूको पिता अबुमहमदको नाममा रहेका कि.नं. ५८, ४६, ४७, ४८, ४९, ५१, २५६, ११३ का जग्गाहरू पनि अंशियारबिच बन्डा नलाग्ने भनी सो हदसम्म सुरू फैसला केही उल्टी हुने ठहर्याएको अवस्था छ । सो सम्बन्धमा वादीहरूले पुनरावेदनमा केही उल्लेख गरेको देखिँदैन । "मानो छुट्टिएको प्रमाण नहुँदा मात्र फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्नुपर्ने" (ने.का.प. २०६५ अङ्क-१, नि.नं. ७९११) भनी प्रतिपादन भइरहेको सिद्धान्तसमेतले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्न सकिने अवस्था रहेन ।
१०. जहाँसम्म, २०२१ सालको फिल्डबुकमा इसमाइल मियाँ अन्सारीले खुलाइदिएको कुरा, कर्तव्य ज्यान मुद्दामा गरेको प्रतिवादीको बयान एवम् लालमहमद मियाँलाई २०२९ सालमा दिएको मन्जुरीनामासमेतले आफूहरू एकासगोलको रहे भएको पुष्टि गरेको भन्ने पुनरावेदन जिकिर छ, सो सम्बन्धमा हेर्दा अंशबन्डा हुनु र मानो छुट्टिई अलग अलग व्यवहार गरी बस्नु फरक विषय हो । मानो छुट्टिई अलग अलग व्यवहार गरी बस्दै आए पनि अंशबन्डा नभएको अवस्थामा त्यस्ता अंशियार सगोलकै मान्नुपर्ने हुन्छ । सगोलमा रहेको भन्नु र एकासगोल भन्नु पनि फरक फरक अवस्था हो । "सगोल" शब्दले अंशियारहरूबिच बन्डा नभएको अवस्थालाई जनाउँछ, जुन अवस्थाले अंशियारहरू चुल्हो मानो छुट्टिई अलग रहेको अवस्थालाई समेत जनाउँछ भने "एकासगोल" भन्ने शब्दले अंशियारहरू चुल्हो मानो नछुट्टिई सँगसाथ रही भात भान्सा एउटै रहेको अवस्थालाई इङ्गित गर्दछ । भिन्न हुनु र अंश लिई भिन्न हुनु फरक अवस्था हो । अंशियारहरू आपसमा भिन्न मात्र हुनुले अंशियारहरूबिच बन्डा नभई सगोलमा रहेको मानिन्छ भने अंश लिई छुट्टिई भिन्न भएको अवस्थाले अंशियारहरूबिच अंशबन्डा भइसकेको अवस्थालाई बुझाउने हुन्छ र त्यस्ता अंशियारहरू सगोलमा रहेको भन्ने मानिँदैन । मानो छुट्टिएको कारणले सगोलमा नरहेको भन्न मिल्दैन । तसर्थ प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरू अलग-अलग भात भान्सा गरी आ-आफ्नो छुट्टाछुट्टै व्यवहार गरी बसेकोसम्म देखिँदा वादी प्रतिवादीहरू सगोलमा रहेको तर एकासगोलमा नरहेको देखिन आउँछ र निजहरूबिच अंशबन्डा हुन बाँकी रहेको देखिन आएकोले अंशियारहरू भात भान्सा अलग भएको प्रमाणतः पुष्टि भएको मिति २०१५।२।१ लाई मानो छुट्टिएको मिति कायम गर्ने गरेको सुरू जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला अन्यथा रहेको भन्न मिलेन । मुद्दाका पक्षहरूका बिच मुख मिलेको नदेखिएपछि फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम नगरेको भनी यस अदालतबाट प्रत्यर्थी झिकाउँदाको अवस्थामा लिइएको आधारसँग सहमत हुन सकिएन ।
११. उपर्युक्त आधार कारणबाट सुरू जिल्ला अदालतले गरेको फैसलालाई केही उल्टी गरी वादी प्रतिवादीहरूबिच मानो छुट्टिएको मिति २०१५/०२/०१ पछि खरिद गरेको कि.नं. ५८, ४६, ४७, ४८, ४९, ५१, २५६, ११३ का जग्गासमेत बन्डा लाग्ने गरी भएको सुरू बारा जिल्ला अदालतको फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भई उक्त जग्गाहरूमा बन्डा नलाग्ने ठहर गरेको पुनरावेदन अदालतको फैसला कानूनसम्मत भई मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी नाजिर हुसेन र मोविना खातुनको नाम दर्ताको क्रमशः कि.नं. ३४, १०३, ३२, २८१, १०६ र १०८ तथा ७३, ४६६, ३०, ३४, ३३ र १२५ जग्गाहरू बन्डा गरिपाउँ भन्ने वादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको विद्युतीय प्रति अपलोड गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.टंकबहादुर मोक्तान
इजलास अधिकृत:- कर्णबहादुर राई
इति संवत् २०७९ साल वैशाख १९ गते रोज २ शुभम् ।