शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३२३ - बेनिस्सा जग्गा दर्ता बदर

भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी

माननीय न्यायाधीश श्री  टेकप्रसाद ढुङ्गाना 

फैसला मिति : २०८०।१०।२

०७२-CI-२०९८

 

मुद्दा:- बेनिस्सा जग्गा दर्ता बदर

 

पुनरावेदक / प्रतिवादी : सूर्य प्रताप राणाकी बुहारी किशोर प्रताप राणाकी श्रीमती भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ४ थालाछे बस्ने उषा विष्ट राणा

विरूद्ध

प्रत्यर्थी / वादी : मेन मानको नाति विकुलालको छोरा काभ्रेपालाञ्‍चोक जिल्ला सागा नासिकास्थान गा.वि.स. वडा नं.३ बस्ने जनकलाल बनमाली

 

दुवै पक्षले दाबीको जग्गा आफूले देखाएको स्रोतबाट कायम हुन आउने भनी साबिक स्रोत पोता लगत आदि देखाउन सकेको अवस्थामा मात्र दोहोरो प्रमाणको विद्यमानता भई तेरो मेरोको स्थिति उत्पन्‍न हुने र हक कायममा सुनाउनुपर्ने स्थिति रहने ।

बेनिस्सा दर्ता कारबाहीमा प्रकाशित सूचनामा कुनै विश्‍वसनीय स्रोत प्रमाण नदेखाई उजुरी गरेकोमा त्यस्तो उजुरीकै आधारमा मालपोत कार्यालयले यान्‍त्रिकरूपमा हक बेहकमा सुनाउनुपर्ने आवश्यकता नरहने । दुवै पक्षले विधिसम्मत तरिकाले प्रमाण पेस गरेको र त्यस्तो प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नुपर्ने अवस्था भएमा मात्र औचित्यको आधारमा हक बेहकमा सुनाउनुपर्ने । जहाँ प्रमाण मूल्याङ्कनको प्रश्‍न नै खडा भएको हुँदैन त्यस्तो स्थितिमा हक बेहकमा सुनाउनुपर्ने औचित्यसमेत नहुने ।

(प्रकरण नं.८)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान्‌ अधिवक्ताहरू श्री श्रीधर उपाध्याय र श्री राजु कटुवाल

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शुसिल थापा र विद्वान् अधिवक्ता श्री हरिप्रसाद दुलाल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मालपोत ऐन, २०३४

बिर्ता उन्मूलन ऐन, २०१६

 

सुरू तहमा निर्णय गर्नेः 

मालपोत कार्यालय भक्तपुर

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्यायाधीश श्री दीपककुमार कार्की

मा. न्यायाधीश श्री विमलप्रसाद ढुङ्गेल

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.डा.नहकुल सुवेदी : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः-

 

तथ्य खण्ड

मेरा पिता विकुलाल बनमालीको नाउँमा नाप नक्सा भई दर्ता बाँकी ठेलीमा कायम रहेको भक्तपुर जिल्ला चित्तपोल गा.वि.स. वडा नं. ५(घ) कि.नं. ११८ को १–११–०–० जग्गा साबिकदेखि हालसम्म जोत कमोद गरिआएको जग्गा हो, उक्त जग्गा नामसारी गर्न बाँकी हुँदै पिता विकुलाल बनमाली २०२६ सालमा परलोक हुनुभयो । उहाँको एक मात्र श्रीमती सुनमाया बनमाली पनि २०१७ सालमा परलोक हुनुभएको हुँदा छोरामध्ये दाजु शिवलाल २०६१।६।१८ मा अविवाहित अवस्थामा परलोक हुनु भई हक खाने छोरा म जनकलाल बनमालीको नाउँमा बेनिस्सा जग्गा दर्ता गरिपाउँ भन्ने जनकलाल बनमालीको निवेदन दाबी ।

मालपोत कार्यालय भक्तपुरबाट मिति २०६९।०४।१७ मा गोरखापत्रमा हक दाबी सम्बन्धमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित हुँदा जगतजंग राणा तथा शाहजादी श्री ५ टिका राज्यलक्ष्मी शाह राणाको विवाहमा दाइजो स्वरूप प्रदान गरेको सम्पत्तिमध्येको उक्त जग्गा हुँदा वि.सं. १९०९देखि १९५२ सम्म भोग चलन गर्दै आएको र निजहरूको मृत्युपश्चात् उनका सन्‍ततिहरूका मात्र हकदैया र हाल साबिक भिडाई दर्ता गर्न पाउने जग्गा भएको र उक्त कि.नं. ११८ को क्षे.फ. १–११–०–० जग्गाको जग्गाधनी महलमा खाली भई जग्गा दर्ता बाँकी हुँदा मेरो लालमोहर तथा खड्ग निशानाको आधारमा दर्ता गरिपाउँ भन्ने उषा विष्ट (राणा) को दाबी उजुर परेको ।

उल्लिखित कि.नं. ११८ को जग्गाको मोही विकुलालको मृत्युपश्चात् उनका छोरा जनकलाल बनमालीले भोग गर्दै आएको छन् भनी उल्लेख गरेको छ । यसमा दाबी गर्ने उषा विष्ट (राणा) को कहीँकतैबाट दाबी पुग्ने जग्गा होइन, निजले पेस गरेको लालमोहर तथा अन्य कागजबाट भिड्दैन भन्ने बेहोरा सर्जमिन मुचुल्का छ । यसमा मिति २०६९।०६।२५ को सदर टिप्पणी र मिसिल संलग्न फिल्डबुक उतार, नाता प्रमाणित, नागरिकता, स्थानीय निकायको सिफारिस सर्जमिन मुचुल्का, सार्वजनिक सूचना टाँस मुचुल्कासमेतका आधारमा दाबी लिने उषा विष्ट (राणा) ले दाबी पुष्टिको ठोस प्रमाण पेस भएको नदेखिँदा भक्तपुर जिल्ला चित्तपोल गा.वि.स. वडा नं.५(घ) को क्षे.फ. १–११–०–० कित्ता जग्गा हकदार २ जनामध्ये शिवलाल बनमाली अविवाहित अवस्थामा मृत्यु भई जनकलाल बनमाली मात्र हकदार बाँकी देखिँदा नापी अवस्थादेखिको मालपोत तथा न्यूनतम मूल्याङ्कनको आधारले लाग्ने १० प्रतिशतले हुने दस्तुरसमेत असुल गरी मालपोत ऐन, २०३४ को दफा ७ को उपदफा १(क) अनुसार गठित समितिबाट जनकलाल बनमालीको नाउँमा बेनिस्सा जग्गा दर्ता नामसारी गर्ने गरी निर्णय गरियो भन्ने गठित समतिको मिति २०६९।०६।२६ को निर्णय पर्चा ।

हामी राणाहरूको पुस्ता जगतजंग राणाका पालादेखि हक भोग गर्दै आएको श्री ५ महाराजा त्रिभुवनबाट बक्सेको खड्ग निशाना, लाल मोहरको भादगाउँ मौजाबाट हाल साबिक भिड्ने विवादको जग्गा हो । उक्त मैले पेस गरेको खड्ग निशाना तथा लालमोहर लिखत हेर्दै नहेरी निज विपक्षीको एकतर्फी सर्जमिन र फिल्डबुकको आधारमा मूल्याङ्कन प्रमाणबेगर निज विपक्षीका नाउँमा दर्ता नामसारी गर्न मिल्ने होइन, मेरो दाबीसमेत सुनी त्यसमा लेखिएका बुँदाहरू मैले पेस गरेका प्रमाणहरूसमेत प्रमाणमा ग्रहण गरी दुवै पक्षको प्रमाण हेरी प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नुपर्नेमा विपक्षीले पेस गरेको गा.वि.स.को सिफारिसका आधारमा मात्र बेनिस्सा जग्गा दर्ता नामसारी गर्न पाउने होइन, तसर्थ मैले पेस गरेको प्रमाणहरू बुझी विपक्षीलाई समेत झिकी बुझी दुवै पक्षको सुनुवाइ र प्रमाणसमेत जे जो बुझ्नुपर्छ, बुझी उक्त मालपोत कार्यालय भक्तपुरको बेनिस्सा जग्गा दर्ता समितिको मिति २०६९।०६।२६ को निर्णय बदर गरी उक्त कि.नं. ११८ को जग्गा पूरै मेरो नाउँमा हक कायम गरी दर्ता गरी न्याय पाउँ भन्नेसमेत बेहोराको उषा विष्ट राणाको तत्कालीन पुनरावेदन अदालतमा गरेको पुनरावेदन ।

यसै लगाउको ०६९–DP–१६९७ मुद्दामा आजै प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा पनि सो मुद्दासँग अन्तरप्रभावी भएकोले छलफलको निमित्त अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने मिति २०७०।४।२० को तत्कालीन पुनरावेदन अदालत पाटनको आदेश ।

मोठको विवरण गा.वि.स.को सिफारिस सर्जमिन मुचुल्का सार्वजनिक सूचना मोही तथा हकदारको छोराहरूको मन्जुरनामा आधारमा विवादित उक्त जग्गा जनकलाल बनमालीको हक भोगमा देखिन आएको हुँदा सुरू बेनिस्सा जग्गा दर्ता समिति मालपोत कार्यालय भक्तपुरको निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने मिति २०७१।०३।१५ को तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला ।

हामी राणाहरूको पुर्खा जगतजङ्ग राणाका पालादेखि हक भोग गर्दै आएको श्री ५ महाराजाधिराजबाट बक्सेको खड्ग निशाना लाल मोहरको भादगाउँ मौजाबाट हाल साबिक भिडी दर्ता हुने जग्गा हो । उक्त मैले पेस गरेको लाल मोहर खड्ग निशाना हेर्दै नहेरी विपक्षको एकतर्फी सर्जमिन फिल्डबुकको आधारमा मूल्याङ्कनविना निज विपक्षीका नाउँमा जग्गा दर्ता गर्न मिल्ने होइन, मेरो दाबीसमेत सुनी बुझी मैले पेस गरेको प्रमाणहरू ग्रहण गरी दुवै पक्षको प्रमाण हेरी प्रमाणको मूल्याङ्कन गर्नुपर्नेमा गा.वि.स.को सिफारिस र सर्जमिनमा विपक्षीकै छरछिमेकी मानिसहरू रहेको हुँदा विपक्षीकै नाउँमा दर्ता कार्य हुने गरी एकतर्फी सर्जमिन बोल्न लगाएको आधारमा मात्र बेनिस्सा जग्गा दर्ता गर्न पाउने होइन । पुनरावेदन अदालत पाटनले मेरो प्रमाण ग्रहण नगरी हचुवा ढङ्गबाट सुरू निर्णयलाई सदर हुने गरी मिति २०६९।०६।२६ मा फैसला भएको र मैले पेस गरेको प्रमाणबाट उक्त मुद्दाको फैसला तात्त्विक असर पर्ने भएबाट उक्त फैसला त्रुटिपूर्ण छ ।

एउटा जग्गाउपर तीन पक्षले आ-आफ्नो प्रमाण देखाई आफ्नो नाउँमा दर्ता गरिनुपर्ने भनी दाबी लिएको देखिँदा कुन व्यक्तिको नाउँमा हक कायम हुने हो भन्ने सम्बन्धमा हक बेहकको अवस्था उत्पन्न भएको छ । कानूनतः कुनै सम्पत्तिउपर विभिन्न पक्षले दाबी गरेको अवस्था सबुद प्रमाणको मूल्याङ्कन गरी सो सम्पत्ति दाबीकर्तामध्ये फलानाको हुन्छ भनी भन्न पाउने अधिकार अदालतलाई रहेको देखिन्छ । त्यस्तो अधिकार मालपोत जस्तो अर्ध न्यायिक निकायलाई रहेको देखिँदैन । प्रस्तुत मुद्दा दाबीको जग्गालाई तीन पक्षले दाबी गरेको अवस्थामा यो जग्गा यसको हुन्छ भन्ने अधिकार प्रचलित कानूनले मालपोत कार्यालयलाई दिएको नदेखिँदा मालपोत कार्यालयबाट भएको निर्णयमा अधिकार क्षेत्रसम्बन्धी त्रुटि भएको र बेहकको प्रश्न खडा भएपछि हक कायम गराई ल्याउनु भनी जिल्ला अदालतमा पठाउनुपर्नेमा सो नगरी भएको मालपोत कार्यालयको निर्णयलाई सदर गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । अतः अधिकार क्षेत्रभन्दा बाहिर गई मालपोत कार्यालय भक्तपुरले गरेको निर्णय र सो निर्णयलाई सदर गर्ने गरी भएको उक्त फैसलामा प्रमाण मूल्याङ्कन नगरी भए अन्यायी भएको हुँदा पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी दाबीबमोजिम गरिपाउँ भन्ने बेहोराको पुनरावेदक उषा विष्ट (राणा) ले यस अदालतमा गरेको पुनरावेदन ।

यसमा ०७१-RI-१७५७ को निवेदनमा आजै यसै इजलासबाट निस्सा प्रदान भएको र प्रस्तुत मुद्दासमेत सोही मुद्दासँग अन्तरप्रभावी देखिँदा प्रस्तुत मुद्दामा समेत न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । कानूनबमोजिम गर्नुहोला भन्ने मिति २०७३।०३।१० को यस अदालतबाट भएको आदेश ।

प्रस्तुत मुद्दामा दुवै पक्षबिच, मेलमिलाप हुन उपयुक्त देखिएकोले १ (एक) महिनाको समयावधि तोकी प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७८(५) बमोजिम यस अदालतको मेलमिलाप केन्द्रमा पठाई प्रतिवेदन प्राप्त भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०७५।०३।२९ को यस अदालतबाट भएको आदेश ।

 

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल संलग्न कागजातको अध्ययन गरियो ।

पुनरावेदक / प्रतिवादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान्‌ अधिवक्ताहरू श्री श्रीधर उपाध्याय र श्री राजु कटुवालले भक्तपुर जिल्ला चित्तपोल गा.वि.स. वडा नं.५(घ) कि.नं.११८ को क्षे.फ.१–११–०–० जग्गा जगतजंग राणा तथा शाहजादी श्री ५ टिका राज्यलक्ष्मी शाह राणाको विवाहमा दाइजो स्वरूप प्रदान गरेको जग्गा हो । उक्त जग्गा वि.सं. १९०९देखि १९५२ सम्म निजहरूकै भोग चलनमा रहेको र निजहरूको मृत्युपश्चात् उनका सन्ततिहरूको हक हुने कुश बिर्ताबाट प्राप्त जग्गा हो । पुनरावेदक / पुनरावेदक निजहरूको हक खाने पुस्ताभित्रको भएको तथ्यमा विवाद छैन । फिल्डबुकमा उक्त कि.नं. ११८ को जग्गाको जग्गाधनी महलमा खाली रहेको अवस्थामा साबिक स्रोत भिडाई दर्ता गर्नुपर्नेमा प्रमाणको उचित मूल्याङ्कन नगरी विपक्षीको नाउँमा जग्गा दर्ता गर्ने मालपोत कार्यालयको निर्णय कानूनसम्मत छैन । हक बेहकको प्रश्‍नमा निर्णय गर्ने अधिकार मालपोत कार्यालयलाई नभएको हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी हक बेहकमा सुनाउनु भनी फैसला होस् भनी बहस गर्नुभयो ।

प्रत्यर्थी / वादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शुसिल थापा र विद्वान् अधिवक्ता श्री हरिप्रसाद दुलालले पुनरावेदक उषा विष्ट (राणा) ले दाबी पुष्टि हुने ठोस प्रमाण पेस गर्न नसकेको, फिल्डबुक उतार, नाता प्रमाणित, नागरिकता, स्थानीय निकायको सिफारिस, सर्जमिन मुचुल्का, सार्वजनिक सूचना टाँस मुचुल्कासमेतका आधारमा भक्तपुर जिल्ला चित्तपोल गा.वि.स. वडा नं.५(घ) को कि.नं. ११८ क्षे.फ. १–११–०–० कित्ता जग्गा जनकलाल बनमालीका नाउँमा दर्ता गर्ने मालपोत कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालतको फैसला सदर कायम गरिपाउँ भनी बहस गर्नुभयो ।

यसमा, मेरा पिता विकुलाल बनमालीको नाउँमा नाप नक्सा भई दर्ता बाँकी ठेलीमा कायम रहेको भक्तपुर जिल्ला चित्तपोल गा.वि.स. वडा नं. ५(घ) कि.नं. ११८ को १–११–०–० जग्गा साबिकदेखि हालसम्म जोत कमोद गरिआएको जग्गा हो, उक्त जग्गा नामसारी गर्न बाँकी हुँदै पिता विकुलाल बनमाली २०२६ सालमा परलोक हुनुभएको र उहाँको एक मात्र श्रीमती सुनमाया बनमाली पनि २०१७ सालमा परलोक हुनुभएको हुँदा उहाँका छोराहरूमध्ये दाजु शिवलालको मिति २०६१।०६।१८ मा अविवाहित अवस्थामा परलोक हुनु भई हक खाने छोरा रहेको हुँदा म जनकलाल बनमालीको नाउँमा बेनिस्सा जग्गा दर्ता गरिपाउँ भन्ने वादी दाबी र जगतजंग राणा तथा शाहजादी श्री ५ टिका राज्यलक्ष्मी शाह राणाको विवाहमा दाइजो स्वरूप प्रदान गरेको सम्पत्तिमध्येको उक्त जग्गा हुँदा वि.सं. १९०९देखि १९५२ सम्म भोग चलन गर्दै आएको र निजहरूको मृत्युपश्चात् उनका सन्‍ततिहरूका मात्र हकदैया र हाल साबिक भिडाई दर्ता गर्न पाउने जग्गा भएको र उक्त कि.नं. ११८ को क्षे.फ. १–११–०–० जग्गाको जग्गाधनी महलमा खाली भई जग्गा दर्ता बाँकी रहेकोले मालपोत कार्यालय भक्तपुरबाट मिति २०६९।०४।१७ मा गोरखापत्रमा हक दाबी सम्बन्धमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित हुँदा मेरो लालमोहर तथा खड्ग निशानाको आधारमा दर्ता गरिपाउँ भन्ने प्रतिवादी उषा विष्ट (राणा) को प्रतिदाबी रहेको प्रस्तुत मुद्दामा निवेदक वादीको मागदाबीबमोजिम निजको नाउँमा बेनिस्सा जग्गा दर्ता गर्ने मालपोत कार्यालय भक्तपुरको निर्णय तत्कालीन पुनरावेदन अदालत पाटनबाट सदर भएउपर प्रतिवादी उषा विष्ट राणाले यस अदालतमा मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी दिएको निवेदनमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा पेस भई आएको देखिन्छ ।

पुनरावेदक / प्रतिवादीले तत्कालीन पुनरावेदन अदालतको फैसलामा चित्त नबुझाई यस अदालतमा पुनरावेदन गर्दा मूलतः निम्न जिकिर लिएको देखियो :

क. जगत जङ्ग राणाका पालादेखि हक भोग गर्दै आएको श्री ५ महाराजाधिराजबाट बक्सेको खड्ग निशाना लाल मोहरको भादगाउ मौजाबाट हाल साबिक भिडी दर्ता हुने जग्गा,

ख. पेस गरेको प्रमाणहरू ग्रहण गरी दुवै पक्षको प्रमाण हेरी प्रमाणको मूल्याङ्कन नगरेको, 

ग. हक बेहकमा दाबी विरोधसमेत परेकोमा हक बेहकको निर्णय गर्ने अधिकार केवल जिल्ला अदालतलाई मात्र रहेको,

 

उल्लिखित तथ्य तथा पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा वादी प्रतिवादी दुवै पक्षबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता तथा विद्वान्‌ अधिवक्ताहरूको तर्कपूर्ण बहस जिकिरसमेत सुनी तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ? र निवेदकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, भक्तपुर जिल्ला चितपोल गा.वि.स. वडा नं. ५(घ) कि.नं. ११८ क्षेत्रफल १-११-०-० को जग्गा वादीका पिता विकुलाल बनमालीले जोत कमोद गरेको नापीको समयमा नै दर्ता हुन बाँकी बेनिस्साको जग्गा भन्ने तथ्यमा विवाद छैन । सो कित्ताको मिसिल संलग्न फिल्डबुक बेहोरा हेर्दा, किसानको नाम, थर र वतन महलमा "विकुलाल बनमाली काभ्रेपलाञ्‍चोक इलाका साँगाडस टोल" तथा किसानको बेहोरा महलमा "यो जग्गा मेरो बाजेको पालादेखि कमाई खाई आएको छु । तिरो तिरान नभई ऐलानी रहेको छ ।" भन्‍ने उल्लेख भएको देखिन्छ । सोही जग्गा प्रत्यर्थी वादी जनकलाल बनमालीले पिता विकुलाल बनमालीको नाममा नाप नक्सा भई बेनिस्सा लगत ठेलीमा कायम रहेको आफूले जोत भोग गरी आएको हुँदा दर्ता गरी नामसारी गरिपाउँ भनी मालपोत कार्यालय भक्तपुरमा निवेदन गरेको देखिन्छ । सो निवेदनउपर कारबाही भई मालपोत कार्यालयले मिति २०६९।०१।२८ मा हक दाबी गर्न आउने सार्वजनिक सूचना प्रकाशित गरेकोमा पुनरावेदक प्रतिवादीले मिति १९७६।०२।३१ को लालमोहोरबाट आफ्नो हक पुग्ने पुर्खाले बिर्ता पाएको जग्गा हुँदा आफ्नो नाउँमा नामसारी गरिपाउँ भनी मालपोत कार्यालय भक्तपुरमा दाबी उजुर गरेको देखिन्छ ।

३. मालपोत कार्यालयले पुनरावेदक / प्रतिवादी उषा विष्ट राणाले पेस गरेको वि.सं. १९७६ सालको लालमोहरमा भादगाउँ मात्र उल्लेख भएको र कुन क्षेत्रको, कति नम्बर मौजाबाट भिड्ने हो, केही नखुलेको भनी मिति २०६९।०४।१५ मा स्थलगत सर्जमिन गर्ने आदेश गरेकोमा सर्जमिन तथा स्थलगत मुचुल्का हुँदा जनकलाल बनमालीले एकलौटी जोत भोग गर्दै आएको उक्त कित्ता जग्गामा सरकारी, सार्वजनिक, ऐलानी, वन, बुटेन, मठ, मन्दिर, गुठी, राजगुठी जग्गाहरू नघुसेको, दाबीवाला उषा विष्ट राणाको कहीँकतैबाट दाबी नपुग्ने भनी सर्जमिन भई आएको मिसिल संलग्न मिति २०६९।०४।२० को सर्जमिन मुचुल्काबाट देखिन आउँछ । निवेदक जनकलाल बनमालीले दाबीको जग्गामा आफूबाहेक अन्य हकदार नभएको हुँदा बेनिस्साअन्तर्गत नामसारीको सिफारिस गरिपाउँ भनी गा.वि.स.को कार्यालयमा दिएको निवेदन तथा मागबमोजिम आवश्यक कारबाहीको लागि चितपोल गा.वि.स.बाट मिति २०६९।०१।२२, च.नं.८०८ मा गरिएको सिफारिससमेत मिसिल संलग्न भएको देखिन्छ ।

४. बेनिस्साको स्ववासी  घर जग्गा मालपोत कार्यालयले दर्ता गर्न सक्ने नसक्ने के रहेछ भनी हेर्दा मालपोत ऐन, २०३४ को दफा ७(२) मा "जग्गा (नाप जाँच) ऐन, २०१९ बमोजिम नाप नक्सा भएको कुनै जग्गा दर्ता गर्नसम्म छुट भएकोमा उक्त जग्गाको साबिक दर्ता, तिरो र भोगसमेतको आवश्यक छानबिन गरी तोकिएको समितिको सिफारिसमा तोकिएको प्रक्रिया अपनाई मालपोत कार्यालयले त्यस्तो जग्गा दर्ता गर्न सक्ने छ । त्यस्तो दर्ता सम्बन्धमा मालपोत कार्यालयले निवेदन परेको मितिले दुई वर्षभित्र टुङ्गो लगाई सक्नुपर्ने छ ।" भन्ने व्यवस्था रहेको देखिन्छ । सो प्रयोजनका लागि नेपाल सरकार भूमि सुधार तथा व्यवस्था मन्त्रालयले मिति २०६८।१०।१६ को नेपाल राजपत्रको खण्ड ६१(संख्या ४०) मा  सूचना प्रकाशन गरी स्ववासी घर जग्गा र बेनिस्सा जग्गा दर्ता समिति गठन गरी सो समितिलाई पूर्व पठित मालपोत ऐन, २०३४ को दफा ७(२) बमोजिम स्ववासी घर जग्गा र बेनिस्सा जग्गा दर्ता गर्न सक्ने काम, कर्तव्य, अधिकार प्रदान गरेको देखिन्छ । कानूनबमोजिम गठित सो समितिले निर्धारित कार्यविधि अवलम्बन गरी गरेको निर्णयमा कानूनी प्रश्‍नको विद्यमानता देखिएन । सो समितिमा प्रचलित कानूनबमोजिमको प्रक्रिया पूरा गरी त्यस्तो जग्गा दर्ताका लागि सिफारिस गर्न सक्ने अख्तियारी रहेको देखिन्छ । 

५. अब पुनरावेदक / प्रतिवादीको सुरू उजुरी निवेदन दाबी तथा पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा, भक्तपुर जिल्ला चित्तपोल गा.वि.स. वडा नं.५(घ) को क्षे.फ. १–११–०–० कित्ता नं. ११८ को विवादित जग्गा वि.सं. १९०९ सालदेखि १९५२ सालसम्म टीका राज्यलक्ष्मी शाह राणाले भोगचलन गर्दै आएको र उनको मृत्युपश्चात् हकदैया पुग्ने सन्ततिहरूले भोग चलन गर्न पाउने भनी वि.स. १९७६।०२।३१ को लालमोहोरले हक भएको भनी निजले उजुरी दाबी लिएको भए तापनि वादी दाबीको कित्ता जग्गा उक्त लालमोहोरअन्तर्गतकै जग्गा हो भनी स्थापित हुने कुनै तथ्य प्रमाण निजले निवेदनसाथ पेस गर्न सकेको देखिँदैन । उक्त लालमोहोरमा भादगाउँ मौजा भन्ने सम्म उल्लेख भए तापनि सोअन्तर्गतको के कुन पोता / लगतबाट दाबीको जग्गा भिड्ने हो भन्‍ने खुल्न आउँदैन । निजले चार किल्ला खोली पोता रसिदसाथ दाबी गरेको अवस्था पनि देखिँदैन । यी पुनरावेदक प्रतिवादीले झन्डै १३० वर्षअघि वि.सं.१९०९ देखि १९५२ सालसम्म आफ्ना पुर्खाले भोगचलन गरेका र निजहरूका सन्ततिले खान पाउने भनी खड्‍ग निशान गरेको भनी दाबी गरे तापनि सो यता उक्त जग्गाको भोगचलन गरेको, आयस्ता खाएको, संरक्षण गरेको कुनै आधार प्रमाण पेस गर्न सकेको देखिँदैन । निवेदकले उल्लेख गरेको बेहोराबाट यी निवेदक र जग्गादाताबिचको पुस्तेवारी / सम्बन्ध स्थापित हुन सक्ने विश्वसनीय आधार प्रमाण देखिँदैन । एकातर्फ वादी दाबीको जग्गा खड्‍ग निशानमा उल्लिखित जग्गासँग मिल्ने भिड्ने यकिन प्रमाण नभएको र अर्कोतर्फ खड्‍ग निशानमा उल्लिखित टीका राज्यलक्ष्मी शाह राणासँग यी पुनरावेदकको पुस्तेवारी नाता सम्बन्धसमेत स्थापित भएको नदेखिएको स्थितिमा केवल निजले पेस गरेको उजुरी निवेदनकै आधारमा हक कायम हुनेसम्मको प्रमाण पेस भएको भनी मान्‍न मिलेन ।

६. साथै पुनरावेदक प्रतिवादीले वादी दाबीको जग्गा उल्लिखित लालमोहरबाट प्राप्‍त कुश बिर्ताको भनी जिकिर लिएकोमा बिर्ता उन्मूलन ऐन, २०१६ को दफा ७ ले उक्त ऐन लागु भएको मिति लेखी एक सय बिस दिनभित्र ‘ख’ श्रेणीको बिर्ता जग्गाको विवरण सम्बन्धित मालपोत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था भएकोमा निजले त्यसरी विवरण बुझाएको नदेखिएको एवम् सोही ऐनको दफा ७क. र १२क. ले ‘ख’ श्रेणीको बिर्ता जग्गा कमाउने व्यक्तिले जग्गा दर्ता गर्न निवेदन दिनुपर्ने म्यादसमेत भुक्तान भइसकेपछि बिर्तावालाको हैसियतले बिर्ता देखाई हक कायमतर्फ दाबी लिन कानूनत: मिल्ने / पाउने अवस्था देखिएन ।

७. अर्कोतर्फ, दाबीको जग्गा बेनिस्सा नापी भएको फिल्डबुकबाट देखिएको, सो जग्गा दाबीकर्ता विकुलाल बनमालीको मृत्युपश्‍चात् शिवलाल बनमाली र जनकलाल बनमालीले जोत भोग गर्दै आएकोमा शिवलालको मृत्युपश्‍चात् जनकलाल बनमालीले मात्र जोतभोग गर्दै आएको एवम् उक्त कित्तामा सरकारी, सर्वजनिक, ऐलानी, वन, बुट्यान, मठ, मन्दिर, गुठी, राजगुठी जग्गाहरू नघुसे नघुसाएको भन्नेसमेत बेहोराको स्थानीय सर्जमिन मुचुल्का तथा साबिक चित्तपोल गा.वि.स. को च.नं. ८०८ मिति २०६९।०१।२२ को सिफारिस पत्रसमेत मिसिल सामेल भएको देखिँदा पुस्तौनी जोत भोग गर्दै आएको र जग्गा (नाप जाँच) ऐन, २०१९ अन्तर्गत नापी भई दर्ता नभएको जग्गा उल्लिखित प्रमाणका आधारमा प्रत्यर्थी वादीका नाउँमा बेनिस्सा दर्ता हुन सक्ने अवस्था देखिँदा सोका लागि अख्तियार प्राप्त समितिले निर्णय गरेको कानूनी त्रुटिपूर्ण रहेको नदेखिँदा प्रत्यर्थी वादीको हक कायम हुने ठहर्‍याई सुरू निर्णय सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन ।

८. जहाँसम्म हकबेहकको प्रश्‍न उत्पन्‍न भएकोले सुरू मालपोत कार्यालयले हक कायमतर्फ सुनाउनुपर्ने भनी यस अदालबाट मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गर्दा लिएको आधार छ, प्रत्यर्थी वादीले पुस्तौनी भोग गर्दै आएको तथ्य सर्जमिन मुचुल्का तथा स्थानीय गा.वि.स. को सिफारिसबाट स्थापित छ । निजले साबिक स्रोत भिडाइ दर्ता दाबी गरेको नभई बेनिस्सा दर्ताका लागि निवेदन गरेको देखिन्छ । तर प्रतिवादीले कानूनबमोजिम क्रियाशील नै हुन नसक्ने बिर्ताको लालमोहर देखाएको र वादी दाबीको जग्गा सो लालमोहरमा उल्लिखित जग्गासमेत के कसरी भिड्ने हो साबिक पोता लगतसमेत केही देखाउन र उजुरी संलग्न गर्न नसकेको स्थितिमा प्रतिवादीले प्रमाण देखाई उजुरी गरेको भनी मान्‍न मिलेन । दुवै पक्षले दाबीको जग्गा आफूले देखाएको स्रोतबाट कायम हुन आउने भनी साबिक स्रोत पोता लगत आदि देखाउन सकेको अवस्थामा मात्र दोहोरो प्रमाणको विद्यमानता भई तेरो मेरोको स्थिति उत्पन्‍न हुने र हक कायममा सुनाउनुपर्ने स्थिति रहन्छ । तर प्रत्यर्थी वादीले साबिक पोता लगतका आधारमा दाबी नगरी भोग चलनका आधारमा बेनिस्सा दर्ता दाबी गरेको हुँदा दोहोरो प्रमाण पेस भई प्रमाणको मूल्याङ्कन गरिनुपर्ने स्थिति देखिएन । बेनिस्सा दर्ता कारबाहीमा प्रकाशित सूचनामा कुनै विश्‍वसनीय स्रोत प्रमाण नदेखाई उजुरी गरेकोमा त्यस्तो उजुरीकै आधारमा मालपोत कार्यालयले यान्‍त्रिकरूपमा हक बेहकमा सुनाउनुपर्ने आवश्यकता रहँदैन । दुवै पक्षले विधिसम्मत तरिकाले प्रमाण पेस गरेको र त्यस्तो प्रमाणको मूल्याङ्कन गरी निर्णय गर्नुपर्ने अवस्था भएमा मात्र औचित्यको आधारमा हक बेहकमा सुनाउनुपर्ने हुन्छ । जहाँ प्रमाण मूल्याङ्कनको प्रश्‍न नै खडा भएको हुँदैन त्यस्तो स्थितिमा हकबेहकमा सुनाउनुपर्ने औचित्यसमेत नहुने हुँदा यस अदालबाट मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गर्दा लिएका आधारसँग यो इजलास सहमत हुन सकेन । 

९. तसर्थ वादी दाबीबमोजिम दाबीको कित्ता जग्गा वादीको नाममा हक कायम दर्ता हुने ठहर्‍याएको मालपोत कार्यालय भक्तपुरको मिति २०६९।०६।२६ को निर्णय सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७१।०३।१५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी, फैसलाको विद्युतीय प्रति यस अदालतको मुद्दा व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार यस अदालतको अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.टेकप्रसाद ढुङ्गाना

 

इजलास अधिकृत : देवेन्द्र पौडेल

इति संवत् २०८० साल माघ ०२ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु