शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३२४ - मानव बेचबिखन तथा ओसारपसार

भाग: ६६ साल: २०८१ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना

माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल

माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल

आदेश मिति : २०८०।१२।२२

०८०-NF-०००८

 

मुद्दाः मानव बेचबिखन तथा ओसारपसार

 

पुनरावलोकनकर्ता / प्रतिवादी : पूर्णबहादुर तामाङको छोरा, नुवाकोट जिल्ला, शिखरवेसी गा.वि.स. वडा नं.८ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेको सुमन तामाङ

विरूद्ध

प्रत्यर्थी / वादी : परिवर्तित नाम बालाजु ४ को जाहेरीले नेपाल सरकार

 

मानव बेचबिखन मुद्दामा कसैलाई मुख्य अभियुक्त वा पूर्ण अपराधको रूपमा कसुरदार कायम गर्न बेचबिखनको उद्देश्यले पीडितलाई नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा सोही उद्देश्यले विदेशमा लाने, किन्ने, बेच्ने वा वेश्यावृत्तिमा लगाउनेसम्मको कार्यमा संलग्न रहेको वा त्यस्तो कार्य गरेको हुनुपर्ने ।

(प्रकरण नं.८)

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ को व्यवस्था भनेको मानव बेचबिखन जस्तो जघन्य कसुरबाट पीडित व्यक्तिको न्याय प्राप्त गर्ने अधिकारको सुनिश्चितताका लागि प्रचलित फौजदारी कानूनको कार्यविधिगत प्रक्रियाभन्दा फरक तथा विशिष्ट रूपमा विधायिकाले उक्त ऐनमा गरेको व्यवस्था हो । मुख्य रूपमा मानव बेचबिखनको मुद्दामा पीडितले मौकामा दिएको जाहेरी बेहोरा पुष्टि गर्न प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम अदालतमा बकपत्र गर्न उपस्थित हुन नसकेको अवस्थामा पनि त्यसरी पीडितले गरेको प्रमाणित बयान अदालतले प्रमाणमा लिन सक्ने । तर सो कानूनी व्यवस्थाको अर्थ कुनै व्यक्तिले आफूउपर मानव बेचबिखनको कसुर गरेको भनी जाहेरी दिई सोहीबमोजिम मौकामा बयान गरी त्यस्तो बयान जिल्ला न्यायाधीशबाट प्रमाणित भएको कुरालाई मात्र प्रमाणको रूपमा ग्रहण गर्ने र मिसिल संलग्न अन्य प्रमाणलाई बेवास्ता वा उपेक्षा गर्ने भन्ने होइन । पीडितको प्रमाणित बयान कसुर प्रमाणित वा खण्डित गर्न महत्त्वपूर्ण भूमिका रहने भए पनि यो मात्र एकल र निरपेक्ष प्रमाण भने होइन । मानव बेचबिखनजस्तो गम्भीर मुद्दामा केवल जाहेरी दरखास्त र मौकाको प्रमाणित बयानको आधारमा मात्र कसैलाई कसुरदार कायम गर्न पर्याप्त नहुने । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ मा गरिएको कानूनी व्यवस्थामा विधिकर्ताको त्यस्तो मनसाय सन्निहित रहेको अवस्था पनि होइन । दफा ६ को उल्लिखित कानूनी व्यवस्थाले पीडितलाई प्रमाण ऐन, २०३१ को दफा १८ को प्रतिबन्धात्मक वाक्यांशमा भएको कानूनी व्यवस्था विरूद्ध संरक्षण प्रदान गरेको सम्म हो । अतः दफा ६ मा उल्लेख भएको व्यवस्थाको विधायिकी मनसायलाई निरपेक्ष रूपमा व्याख्या गर्न नमिल्ने ।

(प्रकरण नं. ११)

 

पुनरावलोकनकर्ता प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री महानन्द दाहाल

प्रत्यर्थी वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री युवराज महत

अवलम्बित नजिर : 

ने.का.प.२०७७, अङ्क १०/११ नि.नं. १०५९६

ने.का.प २०७९ अङ्क ६ नि.नं १०८९२ 

सम्बद्ध कानून : 

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४

प्रमाण ऐन, २०३१ 

 

सुरू तहमा फैसला गर्नेः 

मा.जि.न्या.श्री रमेश राज पोखरेल

काठमाडौं जिल्ला अदालत

उच्च तहमा फैसला गर्नेः

मा.न्या.श्री जीवनहरि अधिकारी

मा.न्या.श्री यमुना भट्टराई

उच्च अदालत पाटन

यस अदालतमा फैसला गर्ने:

मा.न्या.श्री टंकबहादुर मोक्तान

मा.न्या.श्री कुमार रेग्मी

 

आदेश

न्या. सुनिलकुमार पोखरेल : यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।०५।१३ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(क)(ख) बमोजिम यस अदालतमा दायर भएको मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भन्ने निवेदनमा मुद्दा पुनरावलोकन हुने अनुमति प्रदान भई पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः

तथ्य खण्ड

प्रतिवादीहरूमध्येका सुनिल थिङले मसँग प्रेम गर्ने र विवाह गर्ने भनी पटक-पटक फकाउँदै आएको र सुमन तामाङले समेत केटा असल छ, तिमीलाई माया गर्छ भनी पटक-पटक भन्ने गरेको र मिति २०७१।०५।२४ गतेका दिन म आफ्नो घर सिन्धुपाल्चोक जान लागेको समयमा सुनिल थिङ आई मलाई फिल्म हेर्न जाउँ र त्यतैबाट घर जाउली भनी काठमाडौं जमलस्थित विश्वज्योति हलमा प्रतिवादीहरूमध्येका राजु र सुनिलले मलाई लिएर फिल्म हेर्न गएकोमा फिल्म सकिएपछि प्रतिवादीहरू तीनै जना र भिनाजु भन्ने अपरिचित व्यक्तिसमेत आई मलाई जबरजस्ती ट्याक्सीमा राखी बल्खुबाट हेटौंडा काँकडभिट्टा हुँदै भारतको दिल्लीमा पुर्‍याएकोले आफू बेचिएको थाहा पाई कोठीमा काम गर्ने एकजना केटाको सहयोगमा नेपालमा रहेको मेरो भाइ चिनकाजी तामाङलाई फोन गराई निजको सहयोगमा नेपाल आउन सफल भएकी हुँ । प्रतिवादी सुमन तामाङको सहयोगमा प्रतिवादीहरू सुनिल थिङ, राजु थिङ र भिनाजु भन्ने व्यक्तिले मलाई विभिन्न प्रलोभनमा पारी भारतको दिल्लीमा पुर्‍याई बेचबिखन गरेको हुनाले प्रतिवादीहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम बालाजु ४ को जाहेरी तथा बयान कागज ।

परिवर्तित नाम बालाजु ४ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुमन तामाङसमेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दाको अनुसन्धानको सिलसिलामा प्रतिवादी सुमन तामाङलाई पक्राउ गरी दाखिला गरेका छौं भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन । 

मलाई भारत, दिल्ली पुर्‍याई बेचबिखन गर्ने कार्यमा सुनिल थिङ, राजु थिङ र भिनाजु भन्ने व्यक्तिलाई सहयोग गर्ने यी प्रतिवादी सुमन तामाङ नै हुन्, हेरी, चिनी सनाखतसमेत गरिदिएँ भन्नेसमेत बेहोराको पीडित बालाजु ४ ले गरेको सनाखत कागज ।

प्रतिवादीहरू सुनिल थिङ र राजु थिङ एकै गाउँका सानैदेखिका चिनेजानका साथीभाइ हुन् । करिब २ महिनादेखि हामी तीनै जना काठमाडौंमा बसी ज्यामी काम गर्दै गर्दा जाहेरवालीसँग हाम्रो चिनजान भएको हो । सुनिल थिङले जाहेरवालीसँग प्रेम गर्ने, विवाह गर्ने कुरा गरेको हुनाले म र राजु थिङसमेतले विवाह गर्दा राम्रो हुन्छ, तिमीलाई माया पनि गर्छ भनी प्रलोभनमा पारेका थियौं । सुनिल थिङले जाहेरवालीलाई विवाह गर्ने बहानामा भारतमा लगी बेच्न पाए हुन्थ्यो भनी कुरा गरेको र मिति २०७१।०५।२४ गते जाहेरवाली बालाजु ४ लाई बेच्नको लागि लैजाने भनी राजु थिङ, सुनिल थिङसमेत कोठमा बसी सल्लाह गरी मलाई जमलमा आउनु भनेकोले म जमलमा जाँदा राजु थिङ र सुनिल थिङले जाहेरवालीलाई लिएर आएका रहेछन् । प्रतिवादी सुनिलले भिनाजु भन्ने व्यक्तिलाई ट्याक्सी लिएर आऊ भनी बोलाएपछि निजसमेत आई जाहेरवाली घर जान्छु भन्दाभन्दै तीनै जना मिली जाहेरवालीलाई ट्याक्सीमा राखी लिएर गएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी सुमन तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

जाहेरवाली परिवर्तित नाम बालाजु ४ मेरो दिदी हुन् । पक्राउमा परेका तथा फरार प्रतिवादीहरूसँग मेरो पूर्व चिनजान रिसइवीसमेत केही छैन । मिति २०७१।०६।०२ गते निज दिदी बालाजु ४ ले भारतीय नम्बरबाट मेरो मोबाइलमा फोन गरी मलाई सुमन तामाङ, सुनिल थिङ, राजु थिङसमेतले भारतको दिल्लीमा पुर्‍याई बेचे भनी बताएको हुँदा दिदी बेचिएको भन्ने जानकारी पाएको हुँ । दिदीको कोठीमा काम गर्ने एक जना मानिसले मलाई फोन गरी निजसँगसमेत कुरा गराएकी हुँदा मलगायत घर परिवारले निज व्यक्तिसँग दिदीलाई नेपाल पठाइदिन अनुरोध गरेकोमा दिदीले लगाएका गरगहना लिई उक्त कोठीबाट भगाई सुनौलीसम्म आउने टिकट काटी नेपाल पठाइदिएका हुन् । यसरी प्रेम गरी विवाह गर्ने प्रलोभन देखाई सुमन तामाङलगायतका प्रतिवादीहरूले मेरो दिदीलाई भारतमा लगेर बेचेकोमा हदैसम्मको कारबाही र सजाय गरिपाउँ भन्नेसमेत बेहोराको चिनकाजी तामाङले गरेको कागज ।

अनुसन्धानको क्रममा बुझिएका मानकाजी तामाङ, सिता तामाङ, लालसिंह तामाङ, प्रेमबहादुर तामाङ, राममाया वि.क.समेतका मानिसहरूले जाहेरवाली बालाजु ४ लाई भारतमा पुर्‍याई वेश्यालयमा बेचेकोमा प्रतिवादीहरूउपर प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही र सजाय गरी पीडितलाई क्षतिपूर्तिसमेत भराइपाउनुपर्छ भन्नेसमेत बेहोराको मिसिल संलग्न कागज ।

प्रतिवादीहरू सुमन तामाङ, सुनिल थिङ, नुर्वु भन्ने राजु थिङले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ विपरीत एवं सोही दफाले परिभाषित र ऐ.ऐनको दफा ४(१) को देहाय (क) र (ख) तथा दफा ४(२) को देहाय (क) र (ख) बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादीहरू सुमन तामाङ, सुनिल थिङ, राजु थिङसमेतलाई सोही ऐनको दफा १५(१) को देहाय (क), (ख) र (ङ)१ बमोजिम सजाय हुनको साथै ऐ.ऐनको दफा १७ बमोजिम पीडितलाई मनासिब माफिकको क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको अभियोग माग दाबी ।

प्रतिवादीहरू राजु थिङ, सुनिल थिङसँगै म पनि काम गर्ने हुँदा यी जाहेरवालीले मलाई देखी किटानी जाहेरी दिएकी होलिन् । जाहेरी बेहोरा झुठ्ठा हो । बुझिएका मानिसहरूसमेतले गरेको कागज बेहोरा झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी सुमन तामाङले सुरू अदालतमा गरेको बयान । 

जाहेरवाली बालाजु ४ को सम्बन्धमा बुझिएका मानिसहरू लालसिंह तामाङ र चिनकाजी तामाङले गरेको बकपत्रसमेतको मिसिल संलग्न कागज ।

प्रतिवादीहरू सुनिल थिङ र राजु थिङले अदालतबाट जारी भएको म्यादमा हाजिर नभई म्याद गुजारी बसेको देखिँदा निजहरूको हकमा मुलुकी ऐन, मुद्दा अ.बं.१९० नं.बमोजिम प्रस्तुत मुद्दा मुलतबीमा राखिदिएको र प्रतिवादी सुमन तामाङको वारदातमा संलग्नता रहेको देखिएकोले निज प्रतिवादी सुमन तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा २०(१)(क) बमोजिम २० (बिस) वर्ष कैद र रू.२,००,०००।- (दुई लाख रूपैयाँ) जरिवानासमेत हुने र निज प्रतिवादी सुमन तामाङबाट पीडितलाई रू.१,००,०००।- (एक लाख) क्षतिपूर्ति भराइदिनेसमेत ठहर्छ भन्नेसमेत सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७२।३।९ को फैसला ।

जाहेरी दरखास्त अकाट्य प्रमाण होइन, अनुसन्धानको आधार मात्र हो । जाहेरी बेहोरामा अन्य सहअभियुक्तहरूसहित मलाई दोषी ठहर गरी मउपर पोल गर्दा पीडितले मउपरको पोल प्रमाणित हुने गरी घटनाक्रमलाई सविस्तार जाहेरी दरखास्त, निजको बयान कागज र अदालतको बकपत्रमा गरिएको मउपरको पोल मालाकार कडीको रूपमा रहेको छ कि छैन भनी हेर्ने अन्तिम निकाय न्यायालय भएकोले मउपरको उक्त पोल घटनाक्रमसँग मालाकार कडीको रूपमा जोडेर हेरिएमा मेरो निर्दोषिताको भूमिका र संलग्नता स्पष्ट हुने नै छ । यति ठुलो जघन्य अपराधमा अनुमान र आशङ्काको भरमा मलाई दोषी ठहर गर्नु फौजदारी न्यायको सिद्धान्तविपरीत भएको छ । पीडितले जाहेरीमा उल्लेख गरेको मेरो संलग्नता र भूमिकाबारे पीडितको अदालतबाट प्रमाणित भई आएको कागज र निज पीडितको अदालतको बकपत्रमा एकरूपता (Consistency) देखिँदैन । अरू सबै प्रतिवादीहरू फरार रहेका छन् । सहप्रतिवादीमध्येका मुख्य अभियुक्त सुनिल थिङ र राजु थिङ सँगसँगै ज्यामी काम गर्ने र सँगै केही दिन उनीहरूको कोठामा म बसेकोले चिनजानको आधारमा मलाई उनीहरूको साथी भनी मउपर पनि पोल गरिएको हुन सक्दछ । मलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि निज पीडितले मउपर सनाखत गर्न आएपछि मात्रै निज बेचिएको कुरा थाहा पाएको हुँ । उक्त वारदात घटाउनमा मेरो कुनै भूमिका र संलग्नता नरहेको हुँदा उक्त निर्णयाधार उल्टी गरी पीडितको जाहेरी दरखास्त, पीडितको कागज, अदालतको बकपत्र, मेरो अदालतको बयान, मेरो काम र चाल चलनको पृष्ठभूमि, प्रतिवादीहरू फरार भएको वस्तुगत यथार्थ सबैलाई मालाकार रूपमा क्रमबद्ध तरिकाले समन्वय गरी हेरिएमा मेरो संलग्नता रहेको कुरा कहीँकतैबाट पनि पुष्टि हुन सक्दैन । मिसिल संलग्न रहेका परिस्थितिजन्य प्रमाणहरू र वस्तुगत यथार्थलाई व्याख्या, विश्लेषण र विवेचना नगरिएको सुरू जिल्ला अदालतको फैसला उल्टी गरी अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ पाउँ भन्नेसमेत बेहोराको सुमन तामाङको पुनरावेदन ।

प्रतिवादी सुमन तामाङसमेतको संलग्नता र मिलेमतोमा अन्य प्रतिवादीहरूसमेत मिली जाहेरवालीलाई काठमाडौंदेखि दिल्लीको कोठीसम्म लगी बेचबिखन गरेको वारदात स्थापित भएको देखिएको र पीडित जाहेरवाली त्यहाँबाट उम्की भागी आउन सफल भएको भन्ने कुरा  मिसिल संलग्न कागजबाट पुष्टि भएको देखिँदा निज प्रतिवादी सुमन तामाङलाई अभियोग दाबीबमोजिम २० (बिस) वर्ष कैद र रू.२,००,०००।- (दुई लाख) जरिवाना गरी पीडितलाई प्रतिवादी सुमन तामाङबाट रू.१,००,००० (एक लाख) क्षतिपूर्ति भराइदिने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७२।३।९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७४।४।१७।३ को फैसला ।

पीडित बालाजु ४ भारतमा बेचिएको र कोठीबाट भागी फर्की आएको कुरामा विवाद छैन । पीडितलाई बेच्ने कार्यमा मेरो कुनै पनि भूमिका र संलग्नता नरहेको कुरा अदालतमा गरेको मेरो स्वतन्त्र बयानमा प्रस्ट रूपमा बताइसकेको छु । प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम अदालतमा गरेको मेरो बयानलाई मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरू, जाहेरी दरखास्त र पीडितले अदालतमा गरेको बयानसँग समन्वय गरी मालाकार कडीको रूपमा पुष्टि नगरी केबल मैले पीडितलाई प्रतिवादी सुनिल थिङ असल केटा छ, विवाह गर, तिमीलाई माया गर्छ भनी भनेको कुरालाई मात्र उल्लेख गरी सो कुरालाई प्रभावमा लिई मानव बेचबिखनजस्तो जघन्य अपराध गर्नमा संलग्नता र भूमिका खेलेको भनी देखाई मिसिल संलग्न प्रमाणको न्यायिक विवेचना नै नगरी आधुनिक फौजदारी न्यायको सर्वमान्य सिद्धान्त, मर्म, भावनाविपरीत देखिएको सुरू जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत पाटनबाट मिति २०७४।४।१७ मा भएको फैसला त्रुटिपूर्ण देखिएकोले मेरो विरूद्धमा भएको उक्त फैसला बदर गरी काठमाडौं जिल्ला अदालतमा स्वतन्त्ररूपमा गरेको बयान र उच्च अदालत पाटनमा गरेको पुनरावेदन जिकिरबमोजिम आरोपित कसुरबाट सफाइ हुनुपर्ने र सफाइ नदिए पनि सहयोगी / मतियारसम्मको मात्र कसुर अपराध कायम गरी कम सजाय गरी इन्साफ गरिपाउँ  भन्नेसमेत बेहोराको पुनरावेदक / प्रतिवादी सुमन तामाङले यस अदालतमा दायर गरेको पुनरावेदन । 

प्रतिवादीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ विपरीत एवं सोही दफाको परिभाषा र ऐ.ऐनको दफा ४(१) को देहाय (क) र (ख) तथा दफा ४(२) को देहाय (क) र (ख) को कसुर अपराधमा सोही ऐनको दफा १५(१) को (क), (ख) र (ङ) १ बमोजिम सजाय हुन माग दाबी लिएकोमा सोही ऐनको दफा २०(१)(क) बमोजिम २० वर्ष कैद र रू.२,००,०००।- (दुई लाख) जरिवाना गर्ने ठहर भएकोले उक्त दफामा अभियोग माग दाबी नै नभएकोले त्रुटिपूर्ण भई सच्याउनुपर्ने अवस्था रहेको छ । ऐ. ऐ ऐनको दफा २०(१)(क) मा सजायको अवस्था नै छैन र वादी पक्षको मागदाबी पनि होइन तसर्थ फरक गलत दफा प्रयोग गरी तथा प्रतिवादीलाई दाबी लिइएको अन्य दफाको हकमा नबोली भएको फैसला त्रुटिपूर्ण रही बदरभागी भएकोले सो सच्याई प्रतिवादीलाई सुरू अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्नेमा गलत दफा प्रयोग गरी सुरू अदालतले गरेको सजायलाई सदर गर्ने गरी भएको उच्च अदालत पाटनबाट मिति २०७४।४।१७ मा भएको फैसला  कानूनत: असान्दर्भिक रहेकोले उक्त त्रुटिपूर्ण फैसला सच्याई प्रतिवादीलाई सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको पुनरावेदक / वादी परिवर्तित नाम बालाजु ४ को जाहेरीले नेपाल सरकारले यस अदालतमा दायर गरेको पुनरावेदन ।

यी पुनरावेदक / प्रतिवादी सुमन तामाङसमेतको परस्पर संलग्नता र मिलेमतोमा अन्य प्रतिवादीहरूमध्येका नुर्बु भन्ने राजु थिङसँग नेपाल एवं भारतमा रहेको समयमा टेलिफोनमा बारम्बार कुराकानी भएको कुरा मिसिल संलग्न प्रमाणबाट देखिएकोले निज प्रतिवादीहरूबिचको परस्पर संलग्नतामा योजनाबद्ध रूपमा निजहरू मिली पीडितलाई काठमाडौंदेखि दिल्लीको कोठीसम्म लगी बेचबिखन गरेको वारदात स्थापित भएको देखिन्छ । पीडित जाहेरवालीले आफू दिल्ली कोठीबाट उम्की भागी आउन सफल भई यी प्रतिवादीउपर मानव बेचबिखन तथा ओसारपसारजन्य कसुर गरेको भनी दिएको जाहेरीलाई मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भएको देखिएकोले निज पुनरावेदक / प्रतिवादी सुमन तामाङलाई अभियोग माग दाबीबमोजिम २० (बिस) वर्ष कैद र रू.२,००,०००।- (दुई लाख) जरिवाना गरी पीडितलाई यी प्रतिवादी सुमन तामाङबाट रू.१,००,०००/ - (एक लाख) क्षतिपूर्ति भराइदिने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७२।३।९ को फैसला सदर गर्ने गरी उच्च अदालत पाटनबाट मिति २०७४।०४।१७ मा भएको फैसला कानूनबमोजिम रही मिलेकै देखिँदा सदर हुने ठहर्छ । नेपाल सरकार तथा प्रतिवादी सुमन तामाङको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७९।०५।१३ मा भएको फैसला ।

म प्रतिवादीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ विपरीत एवं सोही दफाको परिभाषा र ऐ. को दफा ४(१) को देहाय (क) (ख) तथा १५(१) को (क) (ख) (ङ) (१) बमोजिम सजाय माग दाबी भएको मुद्दामा अन्य प्रतिवादीहरू फरार रहेकोले मलाई नै मुख्य अभियुक्तलाई हुने सजाय ठहर्‍याई २० वर्ष कैद र रू.२,००,०००।- जरिवाना हुने ठहरी भएको फैसलामा मुख्य अभियुक्त र सहयोगीलाई विधायिकाले फरक सजायको व्यवस्था गरेको कानूनलाई अनदेखा गरी भएको फैसला न्याय प्रशासन ऐन, २०७३ को दफा ११(१) (ख) बमोजिम स्थापित नजिर वा कानूनी व्याख्याको विपरीत फैसला गरेकोले यो पुनरावलोकनको निवेदन गर्दछु । मेरा तपसिलमा उल्लिखित प्रमाण नजिर तथा प्रतिपादित सिद्धान्तबमोजिम फैसला पुनरावलोकन गरी न्याय पाऊँ । पीडितले अदालतमा बयान गर्दा सुरूमा कागज गर्दा र उजुरीमा समेत विवाह गर्दा राम्रो हुन्छ । केटा असल छ । तिमीलाई असाध्यै माया गर्छ भनी भनेको सुमन तामाङको सहयोगमा भारत पुर्‍याई बेचबिखन गर्ने प्रतिवादीहरू सुनिल थिङ, राजु थिङ र भिनाजु भन्ने व्यक्ति हुन् भनी उजुरी र पीडितले प्रस्टसँग सहयोगी हुन भनी भनिरहेको अवस्थामा मुख्य अभियुक्तसरह सजाय गरेको कुरा निम्न कानूनको प्रत्यक्ष त्रुटि छ । यो घटनामा को सहयोगी हो, को मुख्य अभियुक्त भनी यकिन गर्ने प्रत्यक्षदर्शी एक मात्र पीडित हुन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ) (२) मा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई दश वर्ष कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने व्यवस्था छ । त्यसैगरी दफा १५(१)(ज) मा मानव बेचबिखन वा ओसारपसारको कसुर गर्न, दुरूत्साहन षड्यन्त्र वा उद्योग गर्नेलाई वा सो कसुरको मतियारलाई सो कसुर गर्दा हुने सजायको आधा सजाय हुने व्यवस्था छ । सो कानूनी व्यवस्थाविपरीत मुख्य अभियुक्तलाई हुने सजाय गरेको फैसलामा उक्त कानूनको प्रत्यक्ष त्रुटि भएको छ । सुमन तामाङको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान तथा मिसिल संलग्न कागजातबाट पनि सुमन तामाङ जमल स्थित विश्वज्योति हलभन्दा अगाडिको कार्यमा संलग्न नभएको र त्यसपछिको कार्यमा पनि कहीँकतै संलग्न नभएको अवस्थामा अन्य प्रतिवादी फरार रहे भन्दैमा मतियार सहयोगीलाई मुख्य अभियुक्तसरह सजाय गरेको फैसला मिलेको छैन । तसर्थः पुनरावलोकनबाट अनुमति प्राप्त भई न्याय सच्याई जति अपराध त्यति मात्र सजाय निर्धारण गरिपाऊँ । सर्वोच्च अदालतबाट ने.का.प. २०७२ अङ्क ११ नि.नं. ९४९६ लाक्पा तामाङ विरूद्ध नेपाल सरकार भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा "मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ग) को खण्ड २ मा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई १० वर्ष कैद र ५० हज़ार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुनेसमेतको व्याख्या भएको देखिन्छ भने सहयोगीलाई १० वर्ष मात्र कैद हुने ठहर्‍याई सिद्धान्त कायम भएको छ । त्यसैगरी ने.का.प.२०७७ अङ्क १०/११ नि.नं. १०५९६ नेपाल सरकार विरूद्ध मुना मगर मेचे भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा "फौजदारी कसुरमा जसले जे जस्तो कसुर गरेको हो सोहीअनुसार नै सजाय हुनु न्यायोचित हुन जाने हुन्छ । केवल कसुर कायम भयो भन्दैमा कसुरको मात्रालाई विचारै नगरी ठुलो सजाय गराउने र गर्ने उद्देश्यबाट अभिप्रेरित भई बलपूर्वक व्याख्या गरी ठुलो सजाय तोकिनु फौजदारी न्यायको मर्मविपरीत हुन जाने भई न्यायको अनुभूतिसमेत हुन सक्दैन । अतः कसुर अनुसारकै सजाय तोकिनु न्यायको मर्म पनि हो भने न्यायोचित कुरा पनि हुन आउने" भन्ने सिद्धान्तविपरीत ठुलो सजाय २० वर्ष कैद ठहर गरेको फैसला उल्लिखित नजिर तथा कानून सिद्धान्तविपरीत भएको प्रस्टै छ । तसर्थः प्रस्तुत मुद्दामा पीडितको बयानमा नै सहयोगी भनी सुमन तामाङलाई उल्लेख गर्नु र प्रहरी तथा अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादीको बयानमा पनि "केटा असल छ, तिमीलाई असध्यै माया गर्छ भनेको साथै सुमन तामाङ जमलको विश्वज्योति हलभन्दा अगाडि नगएको, त्यसपछिको कार्यमा संलग्नता नदेखिएको अवस्थामा मुख्य अभियुक्तलाई हुने सजाय गरेको फैसला नमिलेको हुँदा उक्त फैसलामा अनुमति प्राप्त भई सो फैसला उल्ट्याई सहयोगीलाई सहयोगीकै सजाय निर्धारण गरी न्याय पाऊँ । यो निवेदन पत्र न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) (ख) ले यसै अदालतको क्षेत्राधिकारभित्र पर्दछ र दफा ११ (४) बमोजिम फैसला हस्ताक्षर गरी प्रमाणित गरेको मिति उल्लेख नगरेकोले नक्कल लिएको मितिले ६० दिनभित्र यो निवेदन कारागारमार्फत पेस गरेको छु भन्नेसमेत बेहोराको सुमन तामाङको तर्फबाट यस अदालतमा पेस भएको पुनरावलोकनको निवेदन पत्र । 

यसमा पीडित परिवर्तित नाम बालाजु ४ ले प्रतिवादी सुमन तामाङको सहयोगमा अन्य प्रतिवादीहरूले दिल्ली पुर्‍याएको भन्ने बेहोराको जाहेरी दरखास्त दिएको, प्रतिवादी सुमन तामाङको अनुसन्धान अधिकारीसमक्ष राजु थिङ र सुनिल थिङसमेत कोठामा बसी पीडितलाई भारतमा लगी बेच्ने सल्लाह गरी मलाई जमलमा आउनु भनेकोले म त्यहाँ पुग्दा राजु थिङ र सुनिल थिङसमेतले ट्याक्सीमा राखी पीडितलाई लिएर गएका हुन् भनी बयान गरेको र त्यस पछाडिको कार्यमा निजको सलंग्नता रहेको मिसिल संलग्न कागजबाट नदेखिएको अवस्थामा निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) बमोजिम मुख्य कारणीसरह सजाय गर्ने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।५।१३ मा भएको फैसलामा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) तथा दफा १५(१)(ज) को प्रयोग र व्याख्यामा त्रुटि देखिनुका साथै यस अदालतबाट नेपाल सरकार विरूद्ध मुना मगर मेचे (ने.का.प.२०७७, अङ्क-१०/११ नि.नं. १०५९६) भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल रहेको देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिमको अवस्था विद्यमान रहेकोले प्रस्तुत मुद्दामा पुनरावलोकनको अनुमति प्रदान गरिएको छ । नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०८०।०४।०७ मा भएको आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात तथा पुनरावलोकनको निवेदन अध्ययन गरी हेरियो ।

पुनरावेदक / प्रतिवादी सुमन तामाङको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री महानन्द दाहालले मेरो पक्षले जाहेरवाली पीडित बालाजु ४ लाई मानव बेचबिखन तथा ओसारपसार गरेको होइन, यी प्रतिवादी मुख्य कारणी होइनन्, सुनिल थिङसँग प्रेम गरी विवाह गरेमा राम्रो हुन्छ भनी सल्लाहसम्म दिएको हो, मेरो पक्ष विदेश गएको नभई विश्वज्योति हल जमलसम्म गएको हो । जाहेरवालीले समेत सुमन तामाङको सहयोगमा अन्य प्रतिवादीहरूले दिल्ली पुर्‍याएको हो भन्नेसमेत बकपत्र गरेको आधारमा निज उक्त वारदातमा मतियारको भूमिकामा मात्र रहेको देखिँदा निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ (१) र ४ (२) (ख) को कसुरमा ऐ. ऐनको दफा १५(१)(ज) बमोजिमको सजाय हुनुपर्नेमा सोबमोजिम सजाय नभई उच्च अदालत पाटनले सुरू सदर गरेको फैसलालाई सदर गरेको यस अदालतको संयुक्त इजलासको फैसला उल्टी गरी पुनरावलोकन निवेदन माग दाबीबमोजिम निर्णय गरिपाउँ भनी बहस गर्नुभयो ।

प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री युवराज महतले प्रस्तुत वारदातमा पीडित बालाजु ४ लाई प्रतिवादी सुमन तामाङले ललाइफकाइ गरी विश्वासमा पारी फरार प्रतिवादी सुनिल थिङसँग विवाह गर्ने भनी काठमाडौंबाट झापा हुँदै भारतको दिल्लीसम्म पुर्‍याएर बेचिएको अवस्थालाई पीडितले गरेको प्रमाणित बयान, बकपत्र र बुझिएका मानिसका बकपत्र बेहोरासमेतबाट पुष्टि भइरहेको देखिएकोले प्रतिवादी सुमन तामाङलाई अभियोग दाबीबमोजिम सजाय गरेको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ विपरीत एवं सोही दफाले परिभाषित र ऐ. ऐनको दफा ४(१) को देहाय (क) र (ख) तथा दफा ४(२) को देहाय (क) र (ख) बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा १५(१) को देहाय (क), (ख) र (ङ)१ बमोजिम सजाय हुन र ऐ. ऐनको दफा १७ बमोजिम पीडितलाई मनासिब माफिकको क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भनी बहस गर्नुभयो ।

उपर्युक्त तथ्य एवं बहस जिकिर भएको प्रस्तुत मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरेको उच्च अदालत पाटनको मिति २०७४।०४।१७ को फैसला सदर गर्ने गरेको यस अदालतको संयुक्त इजलासको फैसला मिलेको छ वा छैन ? पुनरावलोकन निवेदन दिने प्रतिवादी सुमन तामाङको पुनरावलोकनको जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, यी पुनरावेदक प्रतिवादी सुमन तामाङसमेतको संलग्नता र मिलेमतोमा अन्य प्रतिवादीहरूसमेत मिली पीडितलाई काठमाडौंदेखि दिल्लीको कोठीसम्म लगी बेचबिखन गरेको वारदात स्थापित भएको देखिएको र पीडित त्यहाँबाट उम्की भागी आउन सफल भएको भन्ने कुरा मिसिल संलग्न कागजबाट पुष्टि भएको देखिँदा निज प्रतिवादीहरूउपर मानव बेचबिखन तथा ओसारपसारजन्य कसुरमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३, ऐ.ऐनको दफा ४(१) को देहाय (क) र (ख) तथा दफा ४(२) को देहाय (क) र (ख) बमोजिमको कसुर गरेको देखिएको हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा १५(१) को देहाय (क), (ख) र (ङ)(१) बमोजिम सजाय हुन एवं ऐ.ऐनको दफा १७ बमोजिम पीडितलाई मनासिब माफिकको क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको मुख्य अभियोग माग दाबी रहेको देखिन्छ । 

३. प्रस्तुत मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतबाट यी प्रतिवादी सुमन तामाङलाई उल्लिखित कसुरमा मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) बमोजिम २० (बिस) वर्ष कैद र रू.२,००,०००।- (दुई लाख रूपैयाँ) जरिवानासमेत हुने र निज प्रतिवादीबाट पीडितलाई रू.१,००,०००।- (एक लाख) क्षतिपूर्ति भराइदिनेसमेत ठहर्छ भन्ने फैसला भई सो फैसलालाई उच्च अदालत पाटनबाट मिति २०७४।०४।१७ मा सुरू सदर हुने फैसला भएको देखिन्छ । 

४. उक्त फैसलाउपर प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउँ भनी यस अदालतमा पुनरावेदन गरेकोमा यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।५।१३ मा उच्च अदालतको फैसला सदर हुने गरी फैसला भएको देखिन्छ । उक्त फैसलाउपर यी प्रतिवादी सुमन तामाङको तर्फबाट उक्त वारदातमा मतियारको भूमिकामा मात्र रहेको अवस्थामा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ (१) र ४ (२) ख को कसुरमा ऐ. ऐनको १५(१)(ज) बमोजिमको सजाय हुनुपर्नेमा सोबमोजिम सजाय नभई उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको यस अदालतको संयुक्त इजलासको फैसला उल्टी गरिपाउँ भनी पुनरावलोकनको निवेदन परेको देखिन्छ ।

५. यस अदालतबाट पुनरावलोकनको अनुमति प्रदान गर्दा मुख्यतया ग्रहण गरिएको आधारहरूमा "यसमा पीडित परिवर्तित नाम बालाजु ४ ले प्रतिवादी सुमन तामाङको सहयोगमा अन्य प्रतिवादीहरूले दिल्ली पुर्‍याएको भन्ने बेहोराको जाहेरी दरखास्त दिएको, प्रतिवादी सुमन तामाङको अनुसन्धान अधिकारीसमक्ष राजु थिङ र सुनिल थिङसमेत कोठामा बसी पीडितलाई भारतमा लगी बेच्ने सल्लाह गरी मलाई जमलमा आउनु भनेकोले म त्यहाँ पुग्दा राजु थिङ र सुनिल थिङसमेतले ट्याक्सीमा राखी पीडितलाई लिएर गएका हुन् भनी बयान गरेको र त्यस पछाडिको कार्यमा निजको संलग्नता रहेको मिसिल संलग्न कागजबाट नदेखिएको अवस्थामा निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) बमोजिम मुख्य कारणीसरह सजाय गर्ने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।५।१३ मा भएको फैसलामा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) तथा दफा १५(१)(ज) को प्रयोग र व्याख्यामा त्रुटि देखिनुका साथै यस अदालतबाट नेपाल सरकार विरूद्ध मुना मगर मेचे (ने.का.प.२०७७, अङ्क-१०/११ नि.नं. १०५९६) भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल रहेको देखिँदा" भनी पुनरावलोकनको अनुमति प्रदान गरिएको देखिन्छ ।

६. प्रस्तुत मुद्दाको उठान के कसरी भएको हो भन्ने सम्बन्धमा हेर्दा "प्रतिवादीहरूमध्येका सुनिल थिङले मसँग प्रेम गर्ने र विवाह गर्ने भनी पटक-पटक फकाउँदै आएको र सुमन तामाङले समेत केटा असल छ, तिमीलाई माया गर्छ भनी पटक-पटक भन्ने गरेको र मिति २०७१।०५।२४ गतेका दिन म आफ्नो घर सिन्धुपाल्चोक जान लागेको समयमा सुनिल थिङ आई मलाई फिल्म हेर्न जाउँ र त्यतैबाट घर जाउली भनी काठमाडौं जमलस्थित विश्वज्योति हलमा प्रतिवादीहरूमध्येका राजु र सुनिलले मलाई लिएर फिल्म हेर्न गएकोमा फिल्म सकिएपछि प्रतिवादीहरू तीनै जना र भिनाजु भन्ने अपरिचित व्यक्तिसमेत आई मलाई जबरजस्ती ट्याक्सीमा राखी बल्खुबाट हेटौंडा काँकडभिट्टा हुँदै भारतको दिल्लीमा पुर्‍याएकोले आफू बेचिएको थाहा पाई कोठीमा काम गर्ने एकजना केटाको सहयोगमा नेपालमा रहेको मेरो भाइ चिनकाजी तामाङलाई फोन गराई निजको सहयोगमा नेपाल आउन सफल भएकी हुँ । प्रतिवादी सुमन तामाङको सहयोगमा प्रतिवादीहरू सुनिल थिङ, राजु थिङ र भिनाजु भन्ने व्यक्तिले मलाई विभिन्न प्रलोभनमा पारी भारतको दिल्लीमा पुर्‍याई बेचबिखन गरेको हुनाले प्रतिवादीहरूउपर कानूनबमोजिम कारबाही गरिपाऊँ" भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम बालाजु ४ को जाहेरी तथा बयान कागजबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । निज पीडितले सुरू अदालतमा समेत सोही अनुसारको बकपत्र गरेको देखिन्छ । 

७. यी प्रतिवादीले सुरू अदालतमा बयान गर्दा प्रतिवादीहरू राजु थिङ, सुनिल थिङसँगै म पनि काम गर्ने हुँदा यी जाहेरवालीले मलाई देखी किटानी जाहेरी दिएकी होलिन् । जाहेरी बेहोरा झुठ्ठा हो । बुझिएका मानिसहरूसमेतले गरेको कागज बेहोरा झुठ्ठा हो भनी पूर्ण इन्कारी बयान गरेको देखिन्छ भने अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा, "प्रतिवादीहरू सुनिल थिङ र राजु थिङ एकै गाउँका सानैदेखिका चिनजानका साथीभाइ हुन् । करिब २ महिनादेखि हामी तीनै जना काठमाडौंमा बसी ज्यामी काम गर्दै गर्दा जाहेरवालीसँग हाम्रो चिनजान भएको हो । सुनिल थिङले जाहेरवालीसँग प्रेम गर्ने, विवाह गर्ने कुरा गरेको हुनाले म र राजु थिङसमेतले विवाह गर्दा राम्रो हुन्छ, तिमीलाई माया पनि गर्छ भनी प्रलोभनमा पारेका थियौं । सुनिल थिङले जाहेरवालीलाई विवाह गर्ने बहानामा भारतमा लगी बेच्न पाए हुन्थ्यो भनी कुरा गरेको र मिति २०७१।०५।२४ गते जाहेरवाली बालाजु ४ लाई बेच्नको लागि लैजाने भनी राजु थिङ, सुनिल थिङसमेत कोठामा बसी सल्लाह गरी मलाई जमलमा आउनु भनेकोले म जमलमा जाँदा राजु थिङ र सुनिल थिङले जाहेरवालीलाई लिएर आएका रहेछन् । प्रतिवादी सुनिलले भिनाजु भन्ने व्यक्तिलाई ट्याक्सी लिएर आऊ भनी बोलाएपछि निजसमेत आई जाहेरवाली घर जान्छु भन्दाभन्दै तीनै जना मिली जाहेरवालीलाई ट्याक्सीमा राखी लिएर गएका हुन्" भनी बयान गरेको देखिन्छ । 

८. प्रतिवादीको उल्लिखित अधिकारप्राप्त अधिकारीसमक्षको बयानतर्फ हेर्दा पनि यी प्रतिवादीले सुनिल थिङसँग पीडितको कथित प्रेम विवाह गराउन सहयोग गरेकोसम्म देखिन्छ । जमलबाट पीडितलाई बल्खु-हेटौंडा-काँकडभिट्टा हुँदै दिल्लीसम्म लैजाने र पीडितलाई बिक्री गर्ने र बिक्रीबाट आएको रकम लिनेसम्मको कार्यमा यी प्रतिवादीको कुनै संलग्नता रहेको वा यिनले कुनै कार्य गरेको देखिँदैन । मानव बेचबिखन मुद्दामा कसैलाई मुख्य अभियुक्त वा पूर्ण अपराधको रूपमा कसुरदार कायम गर्न बेचबिखनको उद्देश्यले पीडितलाई नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा सोही उद्देश्यले विदेशमा लाने, किन्ने, बेच्ने वा वेश्यावृत्तिमा लगाउनेसम्मको कार्यमा संलग्न रहेको वा त्यस्तो गरेको हुनुपर्छ । प्रस्तुत मुद्दाको तथ्यहरू हेर्दा एकै डेरा कोठामा बस्ने भएको कारणले अन्य प्रतिवादीहरूले पीडितलाई बिक्री गर्ने उद्देश्यले विवाह गर्न खोजेको भन्ने जानकारी यी प्रतिवादीलाई रहेको हो कि भन्नेसम्म देखिन्छ । तर माथि उल्लिखित कसुरमध्ये कुनै पनि कसुर पूर्णरूपमा यी प्रतिवादीबाट भए गरेको भन्ने नदेखिई मुख्य आरोपी सुनिल थिङसमेतको मतियारको रूपमा सम्म कसुर गरेको देखिन्छ ।  

९. त्यसैगरी, अनुसन्धानको क्रममा बुझिएका मानकाजी तामाङ, सिता तामाङ, लालसिंह तामाङ, प्रेमबहादुर तामाङ, राममाया वि.क.समेतका मानिसहरूले पनि यी प्रतिवादी सुमन तामाङले यो यसरी जाहेरवाली बालाजु ४ लाई भारतमा बेचेको हुन् भनी उनको भूमिका खुल्ने गरी कागज गरेको देखिँदैन । पीडितले जाहेरी दिँदा, बयान गर्दा, अदालतमा बकपत्र गर्दासमेत यी प्रतिवादी सुमन तामाङको सहयोगमा प्रतिवादीहरू सुनिल थिङ, राजु थिङ र भिनाजु भन्ने व्यक्तिले मलाई विभिन्न प्रलोभनमा पारी भारतको दिल्लीमा पुर्‍याई बेचबिखन गरेका हुन् भनी बकपत्र गरेको नदेखिँदा यी प्रतिवादीले प्रस्तुत वारदातमा मुख्य कसुरदारको रूपमा नभई मुख्य कसुरदार सुनिल थिङको सहयोगी (Aider and abettor) को भूमिकासम्म खेलेको भन्ने पुष्टि हुन आउँछ ।

१०. मतियार अर्थात् Aider and abettor का सम्बन्धमा International Criminal Tribunal for the former Yugoslavia (ICTY, United Nations Court of Law) ले The Prosecutor v. Radovan Karadzic, को मुद्दामा निम्नबमोजिम उल्लेख गरेको पाइन्छ । "Aiding and abetting is a form of liability in which the accused contributes to the perpetration of a crime that is committed by another person. The Prosecution must establish that the crime for which it seeks to make the accused responsible in fact occurred. (Para 574). The physical element of aiding and abetting consists of acts or omissions "specifically directed to assist, encourage or lend moral support to the perpetration of a certain specific crime […]." This support must have a substantial effect upon the perpetration of the crime. (Para 575). Whether an act or omission had a substantial effect on the commission of a crime is a fact- based inquiry. The aider and abettor’s conduct may occur in a location remote from the scene of the crime. It is unnecessary to establish that the crime would not have been committed without the contribution of the aider and abettor. Nor must the Prosecution prove the existence of a plan or agreement between the aider and abettor and the perpetrator; the latter may not even know of the aider and abettor’s contribution. So aiding and abetting is a form of responsibility which generally warrants lower sentences than responsibility as a co perpetrator. (Para 576)." 

११. जहाँसम्म पीडितले प्रतिवादीहरूउपर किटानी जाहेरी दिई मौकामा जाहेरी बेहोरा पुष्टि गरी बयान गरेको र सो बयान बेहोरा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ बमोजिम जिल्ला अदालतको न्यायाधीशबाट प्रमाणित भएको अवस्थामा प्रमाणमा लिइनुपर्ने भन्ने विद्वान् उपन्यायाधिवक्ताको बहस जिकिर छ, उक्त व्यवस्थाअनुरूप प्रस्तुत मुद्दामा पनि पीडित बालाजु ४ को मिति २०७१।०६।०४ मा बयान कागज भई अदालतबाट प्रमाणित भएको देखिन्छ । उक्त ऐनको दफा ६ को व्यवस्था भनेको मानव बेचबिखन जस्तो जघन्य कसुरबाट पीडित व्यक्तिको न्याय प्राप्त गर्ने अधिकारको सुनिश्चितताका लागि प्रचलित फौजदारी कानूनको कार्यविधिगत प्रक्रियाभन्दा फरक तथा विशिष्ट रूपमा विधायिकाले उक्त ऐनमा गरेको व्यवस्था हो । मुख्य रूपमा मानव बेचबिखनको मुद्दामा पीडितले मौकामा दिएको जाहेरी बेहोरा पुष्टि गर्न प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम अदालतमा बकपत्र गर्न उपस्थित हुन नसकेको अवस्थामा पनि त्यसरी पीडितले गरेको प्रमाणित बयान अदालतले प्रमाणमा लिन सक्ने अवस्था हो । सो कानूनी व्यवस्थाको अर्थ कुनै व्यक्तिले आफूउपर मानव बेचबिखनको कसुर गरेको भनी जाहेरी दिई सोहीबमोजिम मौकामा बयान गरी त्यस्तो बयान जिल्ला न्यायाधीशबाट प्रमाणित भएको कुरालाई मात्र प्रमाणको रूपमा ग्रहण गर्ने र मिसिल संलग्न अन्य प्रमाणलाई बेवास्ता वा उपेक्षा गर्ने भन्ने होइन । जाहेरी र पीडितको प्रमाणित बयानको कसुर प्रमाणित वा खण्डित गर्न महत्त्वपूर्ण भूमिका रहने भए पनि यो मात्र एकल र निरपेक्ष प्रमाण होइन । जाहेरी बेहोरा र मौकाको प्रमाणित बयानलाई अन्य स्वतन्त्र प्रमाणले समर्थित र पुष्टि गरेको हुनुपर्छ । मानव बेचबिखन जस्तो गम्भीर मुद्दामा केवल जाहेरी दरखास्त र मौकाको प्रमाणित बयानको आधारमा मात्र कसैलाई कसुरदार कायम गर्न पर्याप्त हुँदैन । साथै, प्रतिवादीको कसुरजन्य कार्य वा कसुरमा संलग्नताको अवस्थालाई पनि सूक्ष्म रूपमा हेर्नुपर्ने हुन्छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ मा गरिएको कानूनी व्यवस्थामा विधिकर्ताको त्यस्तो मनसाय सन्निहित रहेको अवस्था होइन । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ को उल्लिखित कानूनी व्यवस्थाले पीडितलाई प्रमाण ऐन, २०३१ को दफा १८ को प्रतिबन्धात्मक वाक्यांशमा भएको कानूनी व्यवस्था विरूद्ध संरक्षण प्रदान गरेकोसम्म हो । अतः दफा ६ मा उल्लेख भएको व्यवस्थाको विधायिकी मनसायलाई निरपेक्ष रूपमा व्याख्या गर्न मिल्ने होइन । यसै सन्दर्भमा ने.का.प. २०७९ अङ्क ६ नि.नं.१०८९२ मा प्रकाशित सिद्धान्तमा "कुनै महिलाले आफूलाई कसैले बेच्यो भनी जाहेरी दिई सोहीअनुरूप बयान प्रमाणित गराएकै भरमा निजको सो बयानलाई समर्थन गर्ने अन्य प्रमाण नहेरिने हो भने मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ को कानूनी प्रावधानको दुरूपयोग हुन सक्ने भएकाले उक्त प्रावधानलाई एकतर्फी रूपमा पीडित भनी जाहेरी दिने वा बयान प्रमाणित गराउने सन्दर्भमा मात्र नहेरी अपराध घटे नघटेको, आरोपित प्रतिवादीले अपराध गरेको प्रमाण रहे नरहेको, प्रतिवादिले आफ्नो निर्दोषिताको प्रमाण दिन सके नसकेको समग्र विषयवस्तुतर्फ हेर्नुपर्ने" भन्ने उल्लेख भएको पाइन्छ । यस अदालतबाट प्रतिपादित उल्लिखित सिद्धान्त र माथि विवेचित प्रस्तुत मुद्दाको तथ्यगत अवस्थाबाट यो मुद्दामा यी प्रतिवादी सुमन तामाङले जाहेरवालीलाई भारतमा लगी बेचेको भन्ने जाहेरी दरखास्त र जाहेरवालीले गरेको प्रमाणित बयान बेहोरा अन्य प्रमाणबाट समर्थित भएको नदेखिए पनि भारतमा लगी बेच्ने मुख्य कसुरदारको कार्यमा मतियार (Aider and abettor) को रूपमा भूमिकासम्म खेलेको देखियो ।

१२. अब, प्रस्तुत मुद्दासँग सम्बन्धित कानूनी व्यवस्था हेर्दा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१) को (क) मा  "मानिस किन्ने वा बेच्नेलाई बिस वर्ष कैद र दुई लाख रूपैयाँ जरिवाना हुने" व्यवस्था रहेको देखिन्छ । सोही ऐनको दफा १५(१)(ज) मा "मानव बेचबिखन वा ओसारपसारको कसुर गर्न, दुरूत्साहन षड्यन्त्र वा उद्योग गर्नेलाई वा सो कसुरको मतियारलाई सो कसुर गर्दा हुने सजायको आधा सजाय हुने" व्यवस्था रहेको देखिन्छ । नेपाल सरकार विरूद्ध मुना मगर मेचे भएको मानव बेचबिखन मुद्दामा ने.का.प. २०७७ अङ्क १० नि.नं. १०५९६ मा "फौजदारी कसुरमा जसले जे जस्तो कसुर गरेको हो सोहीअनुसारको नै सजाय हुनु न्यायोचित हुन जाने हुन्छ । केबल कसुर कायम भयो भन्दैमा कसुरको मात्रालाई विचारै नगरी ठुलो सजाय गराउने र गर्ने उद्देश्यबाट अभिप्रेरित भई बलपूर्वक व्याख्या गरी ठुलो सजाय तोकिनु फौजदारी न्यायको मर्मविपरीत हुन जाने भई न्यायको अनुभूतिसमेत हुन सक्दैन । अतः कसुरअनुसारकै सजाय तोकिनु न्यायको मर्म पनि हो भने न्यायोचित कुरा पनि हुन आउने ।" भन्ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ ।  

१३. यसरी प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातको रोहमा देखिन आएको तथ्यगत अवस्था, प्रचलित कानून र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट जाहेरवालीलाई प्रतिवादी आफैँले बेचबिखन गरी मुख्य प्रतिवादीको रूपमा भूमिका खेलेको भनी यी प्रतिवादी सुमन तामाङलाई सुरू काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) बमोजिम २० (बिस) वर्ष कैद र रू. २,००,०००।- (दुई लाख रूपैयाँ) जरिवाना हुने र निज प्रतिवादीबाट पीडितलाई रू.१,००,०००।- (एक लाख) क्षतिपूर्ति भराइदिनेसमेत ठहर्छ भन्ने फैसलालाई सदर गर्ने उच्च अदालत पाटनको मिति २०७४।०४।१७ को फैसलालाई सदर गर्ने यस अदालतको संयुक्त इजलासको मिति २०७९।०५।१३ को फैसला कानूनसम्मत मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी सुमन तामाङ मुख्य कसुरदारको सहयोगी मतियार देखिएकाले निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५ (१)(ज) बमोजिम मुख्य कसुरदारलाई हुने सजायको आधा अर्थात् १० (दश) वर्ष  कैद सजाय र एक लाख रूपैयाँ जरिवाना हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल खण्ड

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम प्रतिवादी सुमन तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१) (ज) बमोजिम १० (दश) वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना हुने ठहरेकाले सोबमोजिम लगत संशोधन गरी थुनामा रहेका यी प्रतिवादीलाई संशोधित कैदीपुर्जी दिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाउनू.....................................१

प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी प्रतिवादी थुनामा रहेको कारागारमार्फत निज सुमन तामाङलाई 

दिनू.................................................२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू.........................................३ 

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.प्रकाशकुमार ढुङ्गाना

न्या.महेश शर्मा पौडेल

 

इजलास अधिकृत : लिलाधर सुवेदी 

इति संवत् २०८० साल चैत्र २२ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु