निर्णय नं. ११३२७ - अपुताली हक कायम

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०८०।०१।३१
मुद्दाः अपुताली हक कायम
०७२-CI-१७२५
पुनरावेदक / प्रतिवादी : मिश्री शाक्यको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २३ ओमबहाल बस्ने रमेश शाक्य
विरूद्ध
प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २३ बस्ने सेतकुमारी शाक्यको मु.स. गर्ने ऐ.ऐ. १३ बस्ने भिमा शाक्य
०७२-CI-१७३२
पुनरावेदक / प्रतिवादी : पूर्णमानको नाति मिश्री शाक्यको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २९ सामाखुशी बस्ने उमेश शाक्य
विरूद्ध
प्रत्यर्थी : मिश्री शाक्यको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २३ ओमबहाल बस्ने रमेश शाक्य
सामान्यतया: अपुताली हक मृतकको पालनपोषण, स्याहार-सुसार, हेरचाह गरेको तथा मृतकसँग नाता सम्बन्धमा निकटता रहेको भन्ने आधारमा कायम हुने वा निर्धारण गरिने विषय हो ।
(प्रकरण नं. ४)
बैंकमा खोलिएको खातामा इच्छाइएको, रकम झिकेको जस्ता कुरालाई हेरेर पालनपोषण गरेको भनी निष्कर्ष निकाल्न नसकिने । उमेर, स्वास्थ्य अवस्था, व्यावहारिक अनुकूलता आदि विविध कारणले त्यस प्रकारका बैंकिङ कारोबारका लागि आफ्नो कुनै विश्वास-पात्रबाट सहयोग लिनु स्वाभाविक र नियमित सामाजिक प्रक्रिया हुने । यसैलाई अपुताली हकको आधार बनाउनु मनासिब नहुने । बैंक खाता खोल्दा कसैलाई इच्छाउनुपर्ने प्रक्रिया पूरा गर्न र खाता सञ्चालन कार्यलाई व्यावहारिक रूपमा सहजता प्रदान गर्न कसैलाई इच्छाइएको कुरालाई नै मर्नेको शेषपछि निजको सबै सम्पत्तिमा अपुताली हक कायम हुने आधारको रूपमा ग्रहण गर्नु मनासिब नदेखिने । बैंक खाता खोल्दा इच्छाइएको व्यक्तिको हक सोही इच्छाइएको बैंक खातामा रहेको रकमको कुरामा सम्म सीमित रहने । बैंक खातामा रहेको रकमबाहेकको सम्पत्तिमा बैंक खाता खोल्दा इच्छाइएको कारणबाट नै हक कायम नहुने ।
(प्रकरण नं. ५)
मरेपछि दागबत्ती दिएको वा वार्षिक श्राद्ध गरेको जस्ता कार्य धार्मिक, साँस्कृतिक, सामाजिक सन्दर्भका विषयहरू हुने । बाँचुञ्जेल के सेवा, टहल, पालनपोषण, आदि कार्य गरियो भन्ने कुराले अपुताली पाउने कुरासँग सम्बन्ध राख्ने । मरिसकेपछि दागबत्ती कसले दियो, मलामी गयो गएन, श्राद्ध कसले गर्यो भन्ने जस्ता कुरालाई हेरेर अपुताली हक स्थापित नहुने । बाबु-आमा मर्दा किरिया नबसेका, श्राद्ध गर्ने नगरेका, दागबत्ती नदिएका मानिसले बाबु-आमाको सम्पत्तिको अपुताली पाउने गरेको कुराको दृष्टान्त समाजमा प्रसस्तै पाउन सकिने । मर्ने (अपुताली परेका) मानिसको नामको जग्गाधनी प्रमाणपत्र कुन व्यक्तिसँग रहेको छ ? औषधी उपचारका बील भरपाई कसले हात पारेको छ ? भन्ने कुरालाई नै अपुताली हक स्थापित गराउने निश्चयात्मक प्रमाण मान्न नसकिने । यस प्रकारका प्रमाण कहिले सांयोगिक रूपमा हात परेका हुन सक्ने भने कहिले सिर्जना गरिएका प्रमाणको रूपमा पनि देखा पर्ने । नजिकको नाता सम्बन्धका व्यक्ति छँदाछँदै र निजले मर्नेको अपुताली नपाउने कानूनबमोजिमको कारण नरहेको स्थितिमा पालनपोषण गरेको भन्ने हैसियतबाट तुलनात्मक रूपमा टाढाका नाताका मानिसले अपुताली हक प्राप्त गर्नका लागि पालनपोषण गरेको कुराको भरपर्दो प्रमाण पेस गर्नु अनिवार्य हुने र अन्य परिस्थितिहरूबाट पनि सो तथ्य समर्थित हुनुपर्ने ।
(प्रकरण नं. ६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा र श्री वालकृष्ण न्यौपाने तथा विद्वान् अधिवक्ता श्री पुर्णप्रसाद राजवंशी र श्री जगदिशचन्द्र पाण्डे
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल तथा श्री हरिशंकर निरौला
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी देवानी संहिता, २०७४
सुरू तहमा फैसला गर्ने:
मा. जि. न्या. श्री टेकनारायण कुँवर
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:-
मा. न्या. श्री टीकाबहादुर हमाल
मा. न्या. श्री सुष्मालता माथेमा
पुनरावेदन अदालत पाटन
फैसला
न्या. ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम यस अदालतबाट पुनरावेदन गर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
तथ्यगत बेहोरा
पिता पूर्णमान र माता हर्षमायाका तीन छोरीमध्ये स्व. दिदी उत्तरकुमारी शाक्य र बहिनी स्व. धर्मकुमारी शाक्यको एकै पुस्तामा पर्ने अंशियार म फिरादी सेतकुमारी शाक्य मात्र हुँ । दिदी बहिनीहरू बाँचुञ्जेल मसँगै रहेको र पालनपोषणसमेत मैले गरेको हो । दुवै दिदी बहिनीको सेवा, पालनपोषण गर्ने, दागबत्ती दिने, काजकिरिया गर्ने जस्ता कार्य पनि मैले नै गरेको हो । का.जि. का.म.न.पा. वडा नं. २३ कि.नं. १३२३ को ०-०-१-१ मा आधा हक स्व.धर्मकुमारीको भएकोमा निज बहिनी धर्मकुमारीको जति हिस्सा मेरो नाउँमा, कि.नं. १३२४ को ०-०-३-२ को आधा हक उत्तरकुमारीको भएकोमा निज दिदी उत्तरकुमारीको जति हिस्सा मेरो नाममा, कि.नं. १३०४ को ०-१-१-२ मा स्व. दिदी बहिनी दुवै जनासमेतको नाममा भएकोमा स्व. उत्तरकुमारी र स्व. धर्मकुमारीको जति हिस्सा मेरो नाउँमा, का.जि.सरस्वती गा.वि.स. ७(क) कि.नं.२५५ को १-१२-२-० पूरै स्व.धर्मकुमारीको नाउँबाट मेरो नाममा, का.जि.बालाजु गा.वि.स. ५(ख) कि.नं. ५९ को १-१३-०-०- बाट कि.का. भई कायम कि.नं. २९३ हा.सा.बाट कायम हुन आएको नयाँ कि.नं. ४३५ क्षेत्रफल ०,०४६१.४१ वर्ग मिटर जग्गा स्व.धर्मकुमारीको नामबाट मेरो नाममा र का.जि. झोर गा.वि.स.३(क) कि.नं. १३५ को ३-६-१-० पूरै स्व. धर्मकुमारीको नामबाट मेरो नाममा अपुताली हक कायम गरी नामसारी दर्ता गरी जग्गाधनी दर्ता प्रमाणपुर्जासमेत दिलाइपाउँ भन्ने बेहोराको सेतकुमारी शाक्यको फिराद दाबी ।
फिराद बेहोरा झुठ्ठा हो । मिति २०४१/४/२५ मा आफ्नै स्वेच्छाले अंशबन्डाको लिखत पारित गरी भिन्नै बसी आउनु भएको हो । का.जि. का.म.न.पा. वडा नं.२३ को सिफारिसलगायतका अन्य प्रमाणहरूसमेतमा मृतकहरूलाई पालनपोषण, हेरचाह गर्नेसमेतका कार्य विपक्षीले मात्र गरेको भनी स्पष्ट रूपमा उल्लेख नभएको र वास्तविकतासमेत नभएकाले तथा मृतक फुपूहरूको सम्पूर्ण अपुताली हक दाबी गर्ने अधिकार मेरो भए तापनि अन्य दाजुहरू तथा फुपूहरूलाई समेत बाँडी लिने दिने मनसायले मात्र ४ भागको १ भाग मागदाबी लिएको हो । फिराद दाबीअनुसार अपुताली सम्पत्ति निजले मात्र लिन खान पाउने कुनै कानूनी आधार नभएकाले फिराद खारेज गरी फुपूहरूको सम्पत्ति ४ भाग लगाई १ भाग मेरो नाममा नामसारी गरी जग्गाधनी प्रमाण पुर्जा पाउने गरी फैसला गरिपाउँ भन्ने बेहोराको उमेश शाक्यको प्रतिउत्तर जिकिर ।
फुपूहरूको जिउताभर मैले स्याहार-सम्भार, पालताल, औषधी उपचार गरी मृत्युपश्चात् वार्षिक श्राद्धादि कार्यसमेत गराएको छु । वहाँहरूको घर जग्गाहरूको सक्कल जग्गाधनी प्रमाणपुर्जासमेत मसँग छ । बैंक खाताहरूमा शेषपछि मलाई इच्छाइएको छ । औषधी उपचारको बिल भरपाई मसँग छ । उक्त जग्गाहरूको मैले नै तिरोभरो गरी आयस्ता खाइआएको छु । स्व. फुपूहरूका नाउँमा संयुक्त तथा एकलौटी दर्ता रहेकोमा वहाँहरूको हकजतिको घरजग्गाहरू अपुतालीको २ नं. तथा ११ नं.बमोजिम मेरो अपुताली हक कायम हुने हो । दिदी बहिनी समान पुस्ताको भएकोले सोझै अपुताली खान पाउने अवस्था नहुँदा वादी दाबी नपुग्ने ठहर्याइपाउँ भन्ने बेहोराको रमेश शाक्यको प्रतिउत्तर जिकिर ।
साक्षीहरूको बकपत्र तथा मुद्दासँग सम्बन्धित मिसिल प्रमाणहरू मिसिलसाथ रहेको ।
समान पुस्ताको सेतकुमारी शाक्य जीवितै रहेको, मृतक दिदीबहिनीहरू र वादी सेतकुमारी ओमबहालमा बस्ने गरेको तथ्यमा वादी प्रतिवादीहरूबिच मुख मिलेको अवस्था तथा अपुताली हकका अन्य दाबीकर्ताहरू वादीको भदाहा नाताका र समान पुस्ताका नभई अर्को पुस्ताका व्यक्ति देखिइरहेको समेत परिप्रेक्ष्यमा मुलुकी ऐन, अपुतालीको ११ नं.बमोजिम मर्नेलाई अरू कसैले स्याहार-सम्भार नगरी हामीले मात्र गरेको भन्ने तथ्य निश्चयात्मक प्रमाण र आधार प्रस्तुत गरी स्थापित गर्न नसकेको अवस्था देखिएको हुँदा स्वभावतः अपुतालीको महलको १२ नं. को स्थिति मान्नुपर्ने हुन्छ । उक्त १२ नं. अनुसार मर्नेको अविवाहिता दिदी / बहिनीले अपुताली पाउने प्रस्ट भएको हुँदा मर्ने धर्मकुमारी र उत्तरकुमारीको अपुताली हक वादीको दाबीअनुसार वादी सेतकुमारीको नाउँमा कायम हुने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६७/१२/२७ को फैसला ।
पहिला का.म.न.पा. २३ नं. वडा कार्यालयले केही बुझ्दै नबुझी मिति २०६३/८/२५ मा सेतकुमारीलाई सिफारिस गरी दिएको भए पनि पछि मिति २०६४/७/१६ मा सर्जमिन मुचुल्कासमेत गरी लेखाइदिएको बेहोरामा म रमेश शाक्यले निज मृतक फुपूहरूको लालन-पालन गरेको र निजहरूको सम्पत्ति रमेश शाक्यले नै भोगचलन गरी आएको भनी उल्लेख गरिदिएका छन् । धर्मकुमारीले निजको नामको जग्गा मिति २०६९/८/२० मा विजयराम डंगोललाई हा.ब. गरिदिएको लिखत र सोही मितिमा महर्जन विल्डर्स प्रा.लि.लाई राजीनामा गरिदिएको लिखतमा एकाघरका भदाहा रमेश शाक्य भनी मलाई साक्षी राखिएको छ । निजहरूको उपचार गराउँदा तिरेका बिलहरू मैले पेस गरेको छु । निज मृतक फुपूहरू धर्मकुमारी र उत्तरकुमारीको नेपाल बैंक लि.मा खोलिएका बैंक खाताको ब्याज रमेश शाक्यको बचत खातामा जम्मा हुनेगरी खोलिएको छ । हिमालयन बैंक तथा स्टाण्डर्ड चार्टर्ड बैंकमा निज फुपूहरूको नाममा खोलिएका खाताहरू सञ्चालन गर्ने सम्पूर्ण अधिकार रमेश शाक्यलाई नै दिइएको र शेषपछि इच्छाएको व्यक्ति पनि म नै छु । निज मृतकहरूका नाममा रहेका घर जग्गाको हालसम्म पनि मैले नै तिरो तिरान गरी आएको छु । २०६३ सालको संशोधनपछिको अपुतालीको महलको ११ नं. मा मृतकका नाममा भएको सम्पत्ति स्याहार-सम्भार, पालनपोषण गर्नेको मुख्य हक हुने र अरू हकदारको कुनै हक नहुने प्रस्ट छ । निज उत्तरकुमारी र धर्मकुमारीको नाममा दर्ता रहेको जग्गाको सम्बन्धमा मा.पो.का. कलंकीले सेतकुमारीको नाममा एकलौटी नामसारी दर्ता हुने निर्णय गरेउपर रमेश शाक्यले पुनरावेदन गरेकोमा अदालतबाट मिति २०६५/९/२२ मा मा.पो.का. कलंकीको निर्णय बदर गरी हक कायममा जिल्ला अदालतमा नालिस गर्न जानु भनी सुनाएकोमा मैले र उमेश शाक्यले छुट्टाछुट्टै फिराद गरेको छ । विपक्षी सेतकुमारीले सो फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा सर्वोच्च अदालतबाट मिति २०६७/३/१७ मा पुनरावेदन अदालतको फैसला सदर गरी फैसला भएपश्चात् मात्र जिल्ला अदालतमा फिराद गरेको हो । विपक्षीले सर्वोच्चमा पुनरावेदन गरेको कारण यिनै सम्पत्तिसँग सम्बन्धित म रमेश शाक्य वादी भएको अपुताली हक कायम मुद्दा मुल्तबी रहेकोमा उक्त फैसलापछि मुल्तबी जागेको र यी सेतकुमारी वादी भई पछि दायर गरेको प्रस्तुत अपुताली हक कायम मुद्दा एकै लगाउको विचाराधीन रहेकै अवस्थामा उक्त मुद्दा फैसला गरी म फिरादीलाई हराई प्रस्तुत मुद्दा पछि फैसला गरी उक्त मुद्दाको फैसलामा समेत मलाई हराउन प्रमाण लिएको प्रस्तुत फैसला कानूनी त्रुटिपूर्ण छ । सुरू काठमाडौं जिल्ला अदालतले गरेको फैसला बदर गरी पुनरावेदन जिकिरअनुसार गरिपाउँ भन्ने बेहोराको प्रतिवादी रमेश शाक्यले पुनरावेदन अदालत पाटनमा गरेको पुनरावेदन ।
विपक्षी सेतकुमारी शाक्यले २०४१ सालमा नै अंश लिई भिन्न बस्दै आउनुभएको तथा दाजु रमेश शाक्य कोटेश्वरमा बस्दै आउनुभएको थियो । मृतक फुपूहरू क्रमशः धर्मकुमारी शाक्यले २०४१/६/१४ तथा उत्तरकुमारी शाक्यले २०५१/२/१३ मा मिलापत्रबमोजिम अंश लिए तापनि पिता मिश्री शाक्यसँग बस्ने भएकाले मैले पिता तथा मृतक फुपूहरूको लालनपालन, औषधी उपचार गर्दै आएकोमा धर्मकुमारी शाक्यको मिति २०६१/५/१३ मा र उत्तरकुमारी शाक्यको २०६२/१०/३ मा मृत्यु भएको हो । निजहरूको काजकिरिया तथा श्राद्धसमेत मैले गरिआएको छु । मेरो साक्षीले सो कुरा आफ्नो बकपत्रमा खुलाइदिएका छन् । विपक्षी सेतकुमारी शाक्य तथा अन्य विपक्षीहरूले उत्तरकुमारी शाक्य र धर्मकुमारी शाक्यलाई पालनपोषण गरेको भन्ने कुराको कुनै ठोस सबुद प्रमाण पेस नगरेको र निज फुपूहरू सबैजना छुट्टी भिन्न भइसकेका हुन् । सुरू अदालतले फैसलामा आधार लिएको का.म.न.पा.को सर्जमिन मलाई थाहा जानकारी नगराई विपक्षीले आफ्नो मिलेमतोमा मानिस जम्मा गरी एकलौटी बेहोरा लेखाएका हुन् । विपक्षी सुरेश शाक्यले मृतक फुपूहरूको अपुताली हक सेतकुमारी शाक्यले पाउनुपर्ने हो भनी मन्जुरीनामा तथा स्वीकारोक्ति जनाएको आधार लिइएको छ । विपक्षी बढी उमेरको कारणले अस्वस्थ रही राम्ररी हिँड्डुल गर्नसमेत नसकी रहेको अवस्थामा पिताको मृत्युपश्चात् एकाएक विपक्षीलाई दाजु सुरेश शाक्यले घरमा लगी मलाई समेत भेटघाट गर्न नदिई षड्यन्त्र रच्दै हाल उक्त अपुताली हक कायम गराउन सकेमा फुपूको शेषपछि सम्पूर्ण सम्पत्ति एकलौटी रूपमा खाने घृणित सोचले मात्र उक्त मन्जुरी तथा स्वीकारोक्ति दिएका हुन् । मृतक फुपूहरूले आफू जीवित रहँदा ललितपुर फाइनान्समा खोलेको खातामा शेषपछि इच्छाएको व्यक्तिहरूमा मेरो नामसमेत प्रस्ट रूपमा उल्लेख छ । मृतकहरूलाई गरेको औषधीका बिलहरूसमेत मसँग रहेका छन् । अपुतालीको ७ नं. अनुसार निजहरूले पालनपोषण गरेको देखिएको छैन । सोही महलको ११ नं. तथा १२ नं. ले विपक्षीहरूलाई कुनै सहयोग गर्न नसक्ने स्पष्ट छ । सुरू काठमाडौं जिल्ला अदालतले वादी दाबी पुग्ने गरी गरेको त्रुटिपूर्ण फैसला बदर गरी प्रतिउत्तर जिकिरबमोजिम फैसला गरिपाउँ भन्ने व्यहारको प्रतिवादी उमेश शाक्यले पुनरावेदन अदालत पाटनमा गरेको पुनरावेदन ।
लगाउको ०६८-DP-१२०२ को अपुताली हक कायम नामसारी मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दा पनि सो मुद्दासँग अन्तरप्रभावी हुँदा प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।
सबुद प्रमाणको न्यायिक मनले वस्तुनिष्ठ मूल्याङ्कन गरी कानूनबमोजिम न्याय पर्ने गरी यस मुद्दामा सुरू अदालतबाट फैसला भएको छ । मसमेत तीनै दिदीबहिनीहरू अविवाहित रहेको र पैतृक सम्पत्तिको सबै भाइबहिनीहरूबिच विभिन्न मितिमा अंशबन्डा भइसकेको हो । छुट्टी भिन्न भइसकेको मिश्री शाक्यको तीन छोराहरू रमेश, सुरेश र उमेशसँग सम्बन्ध देखाई विपक्षीले यो मुद्दाको विवाद उठाएको हो । भदाहा नाता पर्ने विपक्षीले मेरो विरूद्धमा त्यसो गर्ने हकाधिकार अ.बं. ८२ नं. अनुसार बिलकुलै छैन । धर्मकुमारी र उत्तरकुमारी परलोक हुनुभन्दा पहिले निज दिदीबहिनीहरू दुवै मसँगै रहनु बस्नुभएको थियो । निजहरूको मैले पालनपोषण, स्याहारसुसार गरेकी थिएँ । एउटै हाँगामा समान पुस्ताको दिदी-बहिनी छँदाछँदै दोस्रो पुस्तामा पर्ने विपक्षीले अपुतालीमा दाबी गरी लिन पाउने होइन । का.म.पा. वडा नं.२३ बाट दिएको मिति २०६३/८/२५ को सिफारिसलाई चुनौती दिँदै २०६४/७/१६ को सिफारिसलाई प्रमाण ग्राह्य देखाउने प्रयास गरे पनि तथ्यसम्बन्धी अघिल्लो काम कारबाही अन्यथा गर्न पछि आएर प्रमाण ऐन, २०३१ को दफा ३१ ले मिल्दैन । मिति २०६३/११/११ मा पुनः त्यही वडा कार्यालयको रोहबरमा मा.पो.का. डिल्लीबजारबाट भएको सर्जमिन मुचुल्कामा पनि वास्तविक तथ्य बेहोरा उल्लेख भएको छ । यसरी मृतक धर्मकुमारी र उत्तरकुमारीको जीवित छउन्जेल मैले हेरविचार, स्याहार, लालनपालन गरेको कुरामा विवाद नहुँदा काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर कायम गरिपाउँ भन्ने बेहोराको प्रत्यर्थी / प्रतिवादी सेतकुमारी शाक्यले पुनरावेदन अदालत पाटनमा गरेको लिखित प्रतिवाद ।
मालपोत कार्यालय काठमाडौंबाट मिति २०६३/११/११ मा गरेको सर्जमिन मुचुल्कालाई प्रतिवादीहरूले अन्यथा प्रमाणित गर्न सकेको देखिँदैन । स्व.उत्तरकुमारी शाक्य र स्व.धर्मकुमारी शाक्य रहेबसेकै ठाउँमा सँगै रही पालनपोषण गर्ने काम समान पुस्ताकी प्रत्यर्थी वादी सेतकुमारी शाक्यले नै गरेकी हुन् भन्ने कुरा तर्कसङ्गत देखिन आउँछ । मृतकहरूसँग साथमा नबसी अन्यत्र बसोबास रहे बसेका प्रतिवादीहरूले पालनपोषण, स्याहार-सुसार गरेको भन्ने जिकिर तथ्यसङ्गत ढङ्गबाट पुष्टि भएको देखिएन । अत: प्रतिवादीहरूले स्व. उत्तरकुमारी र धर्मकुमारीलाई पालनपोषण गरेको भन्ने तथ्ययुक्त आधारबाट पुष्टि नभएको हुँदा अपुतालीको महलको १२ नं. अनुसार मर्ने धर्मकुमारी र उत्तरकुमारीको अपुताली हक वादी सेतकुमारीका नाउँमा कायम हुने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०६९।९।१६ को फैसला ।
निवेदकको पिता मिश्री शाक्य, फुपूहरू उत्तरकुमारी, धर्मकुमारी तथा विपक्षी सेतकुमारी शाक्य दाजुबहिनी / दिदीभाइ हो । विपक्षी सेतकुमारी शाक्य मिति २०४१।४।२५ मा आफ्नो अंश बुझी लिई छुट्टिनु भएको हो । सेतकुमारी छट्टिएर अलग बसेपछि मात्रै मिति २०४१/६/१४ मा धर्मकुमारी, मिति २०५१/२/१३ मा मिलापत्रबाट पिता मिश्री शाक्य र उत्तरकुमारी शाक्यको अंश छुट्टिएको अवस्था छ । यसरी ४ अंशी भएकोमा चारै जना विधिवत् पारित लिखत तथा मिलापत्रबाट अंश छुट्टिएको तथ्यमा विवाद छैन । अपुतालीको ११ नं. र १२ नं. को व्यवस्थाबाट नजिकको हकवालाले स्याहार-सम्भार नगरी अन्य जोसुकै व्यक्तिले स्याहारसम्भार गरे अपुताली उसैले खान पाउँछ । यस्तो अवस्थामा नजिकको हकवाला वा समान पुस्ताको भन्ने सवालै आउँदैन । सँग बसेको वा भिन्न बसेको भन्ने पनि प्रश्न छैन । केवल स्याहार गर्नेले पाउने हो । नजिकको हकवालाले नपाउने, स्याहार गर्ने जोसुकैले पाउने भनेपछि स्याहार कसले गरेको हो भन्नेतर्फ न्यायिक दृष्टि नपुर्याई समान पुस्ताले पाउने भन्ने आधारमा फैसला गरिएको छ । अपुतालीको ११ नं. को अवस्था विद्यमान नभएको खण्डमा मात्रै अपुतालीको १२ नं. आकर्षित हुन्छ । उल्लिखित कानूनी व्यवस्थाबाट अंश लिई भिन्न बसेपछि कुनै भाइ वा अविवाहित बहिनीसँग बसेको हुनुपर्ने र मातृ विमातृतर्फको भए विमातृ भए पनि सँग बसेकोले नै पाउने र अलग बसेको भए सहोदरले पाउने विमातृपट्टिकाले नपाउने व्यवस्था छ । प्रस्तुत विवादमा स्व. उत्तरकुमारी र धर्मकुमारीसँग विपक्षी सेतकुमारी अंश लिई छुट्टिएर बसेको तथ्यमा विवाद छैन । अंश लिई छुट्टी भिन्न भएर बसेको अवस्थामा सँग बसेको तथ्य प्रमाणित गर्न विपक्षी सेतकुमारीले निश्चयात्मक प्रमाण देखाउन सकेको छैन । छुट्टिएपछि पुनः सँगै बसेको देखिने रजिस्ट्रेसनको १ नं.बमोजिम अंश वा मानो जोडिएको कुनै वस्तुनिष्ठ आधार पनि छैन । त्यसमाथि अपुतालीको ११ नं. को अवस्थामा अपुतालीको १२ नं. को कानूनी व्यवस्था आकर्षित हुन नसक्ने हुँदा ११ नं. को व्यवस्थाअन्तर्गत स्व. उत्तरकुमारी र धर्मकुमारीको पालनपोषण, स्याहार म निवेदक रमेश शाक्यले गरेकोमा अपुतालीको १२ नं.समेतको गम्भीर व्याख्यात्मक त्रुटि गरी भएको फैसला बदरभागी छ । स्व. उत्तरकुमारी शाक्यको नाममा भएको हिमालयन बैंक लि.को खाता नं. १५८४७०J, स्टाण्डर्ड चार्टर्ड बैंकको खाता नं.१८-१००४५८१-०१ तथा धर्मकुमारी शाक्यको नाममा रहेको स्टाण्डर्ड चार्टर्ड बैंकको खाता नं. १८-१००४६११-०१, हिमालयन बैंकको खाता नं. १५८४९०J लगायतका खाताहरूमा खातावाल स्व. उत्तरकुमारी र धर्मकुमारीले निवेदक रमेश शाक्यलाई इच्छाएको छ । स्व. दुवै फुपूहरूले म निवेदकको हस्ताक्षरले खाता सञ्चालन गर्न पाउने गरी अधिकार दिएको र सोबमोजिम उक्त खाताहरू सञ्चालन भइआएको अवस्था छ । फुपूहरू स्वर्गे भएपछि उक्त खातामा भएको मौज्दात मैले नै प्राप्त गरी खाता बन्द गरिएको अवस्था छ । सो तथ्य मिसिल संलग्न रहेको २२ मार्च २०११ को स्टाण्डर्ड चार्टर्ड बैंकको पत्रले निर्विवाद पुष्टि गर्दछ । मृतक उत्तरकुमारी र धर्मकुमारीको नाममा रहेको नेपाल बैंक लि. को मु.हि.नं. क्रमशः १९६३६५ र १९६४६५ को ब्याज म रमेश शाक्यको बचत खाता नं. ८५७८२५० मा जम्मा हुने हो । मर्नेहरूको मुद्दति खाताको ब्याज मेरो बचत खातामा जम्मा हुनु भनेको निजहरूलाई मैले हेरविचार, लालनपालन नगरेको भए मेरा खातामा जम्मा हुने सवालै आउने थिएन । उक्त मुद्दती खाताहरूमा पनि शेषपछि मलाई नै इच्छाएको छ । ललितपुर फाइनान्स लि.मा पनि मर्ने धर्मकुमारीले म.हि.नं. ३६-०१०७०१ र ३६-०११७३-० मा मलाई नै इच्छाएको छ । उक्त मुद्दती खाताबाट मेरो बचत खातामा जम्मा भएका बैंकका हिसाब विवरणहरू मिसिल सामेल रहेकै छ । विपक्षीले यसलाई अन्यथा भन्न सकेको अवस्था छैन । यस्तो वस्तुनिष्ठ प्रमाण विपक्षीले पेस गर्न नसकेको र मेरो हकमा मात्रै रहेको अवस्था हुँदाहुँदै पनि अपुताली हक विपक्षीले खान पाउने गरी गरिएको इन्साफ बदरभागी छ ।
स्व.धर्मकुमारीले मिति २०५९/८/२० र.नं. ५८१९ को हा.व. लिखतबाट आफ्नो हकको १ कित्ता जग्गा विजयराम डंगोल र अर्को १ कित्ता सोही मितिमा र.नं. ५८२० बाट महर्जन बिल्डर्स प्रा.लि.लाई राजीनामा लिखत पारित गरी हक हस्तान्तरण गर्दा पनि म निवेदक रमेश शाक्यलाई "एकाघरको भदा" भनी अन्तरसाक्षी राखी लिखत पारित गरिदिएको छ । लिखित रूपमा व्यक्त भएको वस्तुनिष्ठ तथ्यलाई विपक्षीले अन्यथा प्रमाणित गर्न सकेको अवस्था छैन । एउटै घरमा बसेकै कारणले जोसुकैलाई एकाघरको लेखिँदैन । एकाघरको लेख्नुको पछाडि एउटै परिवार भएर पालनपोषण, स्याहार गर्नेलाई मात्रै एकाघर लेखिन्छ । ७२ वर्षकी वृद्ध अवस्थाकी धर्मकुमारीले गरिदिएको उक्त लिखतमा अ.बं. २४ नं.बमोजिम हकवाला वा संरक्षक राखी कागज गराउनुपर्ने अवस्था भएकोले हेरविचार, रेखदेख, स्याहार गर्ने एकाघरको भदा भनी म निवेदक रमेश शाक्यलाई साक्षी राखी उक्त लिखत खडा गरिएको छ । लिखतमा मलाई एकाघरको भदा भनी उल्लेख गरेकोले लिखित रूपमा मर्ने धर्मकुमारीले नै व्यक्त गरेको सो तथ्यबाट म निवेदक धर्मकुमारीसँगै बसी पालनपोषण, स्याहार गरेको तथ्य निर्विवाद छ । यस्तो वस्तुनिष्ठ प्रमाण ग्रहण भएको फैसला एकाघरको सम्बन्धमा वंशमान अमात्य विरूद्ध शंकरमान अमात्यको अंश मुद्दामा प्रतिपादित सिद्धान्त (ने.का.प. २०२९ अङ्क १२ नि.नं. ७१५ पृ.४३०) तथा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ समेतको प्रतिकूल छ ।
उत्तरकुमारी र धर्मकुमारीको मृत्युअघि र पछि निजहरूको नाममा भएका जग्गा जमिनहरूको मालपोतको तिरो निवेदकले नै तिरे बुझाएको छु । सो तिरो तिरेको रसिदमा कुत बुझाउनेको नाम, थर, वतनमा मेरो हस्ताक्षर रहे भएको तथ्य लिखित प्रमाणले पुष्टि गर्दछ । उत्तरकुमारी नाम दर्ताको घरको खानेपानीको महसुल बुझाएको बिल तथा नामसारी हुन बाँकी रहेको बाजे पूर्णमान तथा निजको दाता हरिप्रसाद तण्डुकारकै नाममा रहेको बिजुली बत्तीका महसुल तिरे बुझाएका बिलहरू म रमेश शाक्यले आफैँले तिरे बुझाएको छु । उत्तरकुमारी मिति २०६२/१०/१९ मा मेडिकेयर हस्पिटलमा परलोक हुनुभएको हो । सो तथ्य मैले पेस गरेको उक्त हस्पिटलको Death Certificate बाट निर्विवाद पुष्टि हुन्छ । विपक्षीले सो तथ्यलाई छल्ने र आफूले पालनपोषण गरेको भन्ने तथ्य प्रमाणित गर्नलाई हतार हतार मिति २०६३/७/२ मा २३ नं. वडा कार्यालयमा गई मृत्युदर्ताको प्रमाणपत्र खडा गरेको छ । मेडिकेयर अस्पतालको Death Certificate मा मृत्यु मिति २०६२/१०/१९ छ भने विपक्षीले खडा गरेको मृत्युदर्ता प्रमाणपत्रमा मिति २०६२/१०/३ उल्लेख भएको देखिन्छ । दिदीको मृत्युको मितिसमेत थाहा नहुनेलाई पालनपोषण गरेको कल्पना गर्न मिल्ने ठाउँ छैन । विपक्षीको यस्तो गलत प्रमाणलाई आधार लिन नमिल्ने हुनाले गम्भीर त्रुटिपूर्ण फैसला बदरभागी छ । मा.पो.का. कलंकीबाट भएको मिति २०६४/९/१४ को सर्जमिन मुचुल्कामा ९ जवानले म रमेश शाक्यले स्याहार सम्भार गरेको भन्ने छ भने ६ जनाले विपक्षी सेतकुमारीले गरेको भन्ने भनाइ रहेको छ । अंश र अपुताली बिलकुल पृथक् विषय हुन् । नाता सम्बन्ध भएकै कारणले अंश हक प्राप्त हुन्छ । तर, अपुताली प्राप्त हुन सक्तैन । अपुतालीको ११ नं. ले अपुताली प्राप्त गर्नलाई मर्नेलाई बाँचुञ्जेल स्याहार सम्भार गरेको हुनैपर्छ । बाचुन्जेल स्याहार नगर्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने, तर मरेपछि केवल क्रिया बस्न आउने, मर्नुअगाडिको स्याहार सम्भारसँग सम्बन्धित प्रमाण केही देखाउन नसकी मरेपछि मृत्युदर्ता प्रमाणपत्र खडा गरेर अपुताली खान खोज्नेलाई अपुताली प्राप्त हुन सक्तैन । सो सम्बन्धमा तेजप्रसाद धरेल विरूद्ध तिलप्रसाद धरेलको मुद्दामा (ने.का.प.२०४५ अङ्क ११ नि.नं. ३५५५ पृ.१२०६), हरिनारायण महतो धानुक विरूद्ध गौरी महतो धानुकसमेतको मुद्दामा (ने.का.प. २०६८ अङ्क ८ नि.नं.८६६९ पृ.१३८२) प्रतिपादित सिद्धान्तविपरीत छ ।
मा.पो.का. डिल्लीबजारबाट भएको मिति २०६३/११/११ को सर्जमिन मुचुल्का निवेदकलाई थाहा जानकारी नदिई विपक्षीको मिलीभगतका मानिसहरू राखी गरिएको छ ।२३ नं. वडा कार्यालयबाट भएको मिति २०६४/७/१६ को सर्जमिन मुचुल्का, का.म.न.पा. वडा नं.१६ कि.नं. ५९ ज.रो. १-१३-०-० को जग्गाको हकमा १६ नं. वडा कार्यालयबाट भएको मिति २०६४/७/२० को सर्जमिन मुचुल्का तथा सो मुचुल्काबमोजिमका सिफारिसहरूबाट स्व.उत्तरकुमारी र धर्मकुमारीको पालनपोषण, स्याहार मैले गरेको तथ्य प्रस्ट हुन्छ । धर्मकुमारीको नाममा रहेको टोखा सरस्वती गा.वि.स. वडा नं. ७क कि.नं. २५५ ज. रो. १-१२-०-० जग्गा र झोर महाँकाल गा.वि.स. वडा नं. ३क कि.नं. १३५ ज. रो. ३-६-१-० को जग्गाको हकमा नामसारीको लागि सिफारिस पाउन विपक्षी सेतकुमारी र म निवेदकको दोहोरो निवेदन परेकोमा दुवै निवेदनलाई राखी गा.वि.स.ले यथार्थ तथ्य बुझी दुई निवेदकमध्ये म रमेश शाक्यले धर्मकुमारीलाई पालनपोषण गरेको, उक्त जग्गाको मालपोत अघिपछि म निवेदक रमेश शाक्यले नै बुझाएको र मोहीले कुत पनि म निवेदक रमेश शाक्यलाई बुझाएको कारण मेरै नाममा नामसारी हुनुपर्ने भनी क्रमशः मिति २०६४/६/१४ र मिति २०६४/६/१५ मा सिफारिसहरू गरेको अवस्था छ । मा.पो.का. डिल्लीबजारले गरेको मिति २०६३/११/११ को सर्जमिनभन्दा स्थानीय निकायले गरेको माथि उल्लिखित मिति २०६४/७/१६ र २०६४/७/२० का सर्जमिन मुचुल्का, मिति २०६४/१/२१, मिति २०६४/६/१४, मिति २०६४/६/१५ का सिफारिसहरू कानूनन् ग्राह्य र खम्बिर छन् । अपुतालीको विवाद सिर्जना भएका स्व. उत्तरकुमारी र धर्मकुमारी परलोक हुँदा मेरो पिता मिश्री शाक्य जीवितै रहेको तथ्यमा विवाद छैन । मृतकहरूसँग मेरो पिता मिश्री शाक्यभन्दा विपक्षी सेतकुमारी वर्षौं अघि छुट्टिएको अवस्था छ । पिता मिश्री शाक्य जीवित हुँदै उत्तरकुमारी र धर्मकुमारी परलोक भएकोले पिता मिश्री शाक्यको अपुतालीको हक स्वतः कायम हुने पनि निर्विवाद छ । पिताले त्यो हक त्याग गरेको अवस्था छैन । ज.प.को २क.नं. ले पिता मिश्री शाक्यले नामसारी गर्ने हक सुरक्षित रहेकै अवस्थामा निजको परलोक भएको छ । हाल सेतकुमारीलाई संरक्षण दिने मेरो भाइ सुरेश शाक्यले मा.पो.का. डिल्लीबजारमा मिति २०६४/२/२९ मा दायर गरेको निवेदनअनुसार पिता मिश्री, उत्तरकुमारी र सेतकुमारीले अह्राएअनुसार आफूले धर्मकुमारीको दागबत्ती दिएको र उमेश शाक्यले मा.पो.का.मा मिति २०६४/१/१६ मा दायर गरेको निवेदनअनुसार सेतकुमारी र ३ जना भदासमेत चारै जनालाई अपुताली हक प्राप्त हुनुपर्ने तथ्य उल्लेख छ । उत्तरकुमारी र धर्मकुमारी स्वर्गे हुँदा पिता मिश्री शाक्य जीवितै रहेको र विपक्षी सेतकुमारीले पालनपोषण स्याहार गरेको वस्तुनिष्ठ प्रमाणको अभाव रहेको छ । विपक्षी सेतकुमारी मिति २०४१/४/२५ मा छुट्टी भिन्न हुँदा तत्काल प्रचलित अपुतालीको १२ नं.ले छुट्टिएको दिदी वा बहिनीले अपुताली खान पाउने व्यवस्था नै छैन । अपुताली सम्पत्ति एकलौटी कसैले खान नपाउने भन्ने प्रतिपादित सिद्धान्त (ने.का.प. २०६७ अङ्क ८ नि.नं. ८४४५ पृ.१४००, ने.का.प. २०२८ अङ्क १२ नि.नं.६५३ पृ.३९५) समेतको प्रतिकूल हुने गरी फैसला गरिएको छ । अतः स्व. धर्मकुमारी र उत्तरकुमारी शाक्यको अपुताली हक विपक्षी सेतकुमारी शाक्यका नाउँमा कायम हुने भनी सुरू का.जि.अ.बाट भएको मिति २०६७/१२/२७ को फैसला र सो फैसलालाई सदर गरेको पु.वे.अ. पाटनको मिति २०६९/९/१६ को फैसला त्रुटिपूर्ण छ । न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) को अवस्था विद्यमान भएकोले मुद्दा दोहोर्याई हेरी उक्त त्रुटिपूर्ण फैसला बदर गरी निवेदक प्रतिवादीको प्रतिउत्तर जिकिरबमोजिम स्व. धर्मकुमारी शाक्य र उत्तर कुमारी शाक्यको अपुताली निवेदक प्रतिवादीले खान पाउने गरी हक कायम गरी इन्साफ दिलाइपाउँ भन्ने बेहोराको प्रतिवादी रमेश शाक्यको यस अदालतमा परेको निवेदन ।
मुलुकी ऐन, अपुतालीको ११ नं. र १२ नं.समेतको गलत व्याख्या गरी तथा विपक्षीहरूले मृतक फुपूहरूको अपुताली सम्पत्ति एकलौटी लिने खाने दूषित मनासायले पेस गरेका प्रमाण तथा झुटा विवरणका आधारमा गरेको फैसलाले म निवेदकलाई अन्याय भएको छ । स्व. फुपूहरू जीवित रहँदाको समयमा कसैले कहिल्यै अलग राखी पालन पोषण गरेका छैनन् । पिता मिश्री शाक्य र फुपूहरूबिच अंशबन्डा भए तापनि खाने बस्नेलगायत एकले अर्कालाई हेरचाह गर्ने गराउने कार्य सामूहिक रूपमा भएको हो । पिता जीवित रहुन्जेलसम्म पिताकै आदेशमा घर परिवार चल्ने गर्दथ्यो र निजहरूको रेखदेख औषधी उपचार एकै परिवारमा रहेको हुँदा जो कसैले पनि गर्दथ्यो । विपक्षी सुरेश शाक्यले सबै फुपूहरूको सम्पत्ति लिने मनसायले अपुताली सम्पत्ति सेतकुमारी शाक्यले पाउनुपर्छ भनी लेखाइदिएको हो । हाम्रो परिवारभित्र भएको वास्तविकतालाई नबुझी मलाई रोहबरमा नराखी २३ नं. वडा कार्यालयले दिएको सिफारिसलाई आधार लिई समान पुस्तामा अपुताली सम्पत्ति दा.खा. नामसारी गर्ने गरी अन्यायपूर्वक फैसला भएकोले स्व. धर्मकुमारी र उत्तरकुमारी शाक्यको अपुताली हक सेतकुमारी शाक्यका नाममा कायम हुने ठहरी सुरू अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालतको मिति २०६९।९।१६ को फैसला त्रुटिपूर्ण भएकाले मुद्दा दोहोर्याई हेरी फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी उमेश शाक्यले यस अदालतमा गरेको निवेदन ।
अदालतमा मुद्दा पर्नुअघि मालपोत कार्यालयबाट मिति २०६३।११।११ मा भएको सर्जमिन र मुद्दाका पक्ष रहेका सुरेश शाक्यको भनाइको आधारमा प्रत्यर्थी सेतकुमारी शाक्यले मृतकहरूको अपुताली पाउने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०६९।९।१६ को फैसलामा मुलुकी ऐन, अपुतालीको महलको १, २, ११ र १२ नं. तथा प्रमाण ऐन, २०३१ को दफा २६ र ५४ को त्रुटि देखिन आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने बेहोराको यस अदालतको मिति २०७३।१।३० को आदेश ।
विपक्षी भदाहा एकासगोलको अंशियार नभएको, सँगै साथमा राखेर पालनपोषण पनि नगरेको अवस्थामा निजले निवेदनमा उल्लेख गरेको नजिर प्रस्तुत मुद्दामा आकर्षित हुनै सक्तैन । नाताकै कारणले मात्र विपक्षीले अपुतालीको हक पाउन सक्ने स्थिति छैन । अपुताली हक भनेको सम्पत्तिको धनी वा स्वामीको मृत्यु भएका बखत बहाल रहेको कानूनबमोजिम पाउन सक्ने हो । अन्य मितिमा बहाल रहेको कानूनसँग यसको प्रत्यक्षतः र सारतः सम्बन्ध रहँदैन । दिदी बहिनी उत्तरकुमारी र धर्मकुमारीको मृत्यु हुँदाका बखतसम्म निज दुवैलाई सेतकुमारीले साथैमा बसेर स्याहार गरेको हो । तत्काल बहाल रहेको कानूनी व्यवस्थाको अधीनमा रहेर धर्मकुमारीको र उत्तरकुमारीको अपुताली हक मुलुकी ऐन, अपुतालीको ७ र १२ नं. बमोजिम सेतकुमारी शाक्यले पाउने हो । दिदी बहिनी उत्तरकुमारी र धर्मकुमारीसँग कानूनबमोजिम अलग छुट्टिई भिन्न बसेका विपक्षीका पिता मिश्री शाक्यको ओमबहाल स्थित घरबाट समेत अलग रही जेठो छोरा रमेश शाक्य कोटेश्वरमा र कान्छो छोरा उमेश शाक्य रानीबारी सामाखुसीमा बसोबास गरिआएको तथ्यमा मुख मिलेको छ । यस स्थितिमा मिश्री शाक्यबाट अलग भई सेतकुमारीसँग साथमा रहे बसेका अविवाहिता दुवै दिदी बहिनीहरूको स्याहार-सम्भार विपक्षी भदाहाले गरेको भन्ने जिकिर बिलकुलै झुट्ठा हो । का.म.न.पा. वडा नं. २३ को सिफारिसमा सेतकुमारी शाक्यसँगै अविवाहिता दिदी / बहिनी उत्तरकुमारी र धर्मकुमारी बसेको भन्ने किटानी छ । तीनजना भदाहरूमा तीनै जनाको वादी तथा जिकिर फरक फरक भई विरोधाभासपूर्ण छ । समान पुस्ताको अविवाहिता दिदी-बहिनी सेतकुमारीले स्याहार नगरेको र भदाले गरेको प्रमाणित गर्ने निश्चयात्मक स्वतन्त्र प्रमाण प्रतिवादीसँग केही नभएकोले पुनरावेदन अदालतबाट भएको फैसला सदर गरिपाउँ भन्ने बेहोराको सेतकुमारीको मु.स.गर्ने भिमा शाक्यले यस अदालतमा गरेको लिखित प्रतिवाद ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / प्रतिवादी रमेश शाक्यको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान् अधिवक्ता श्री पूर्णप्रसाद राजवंशीले स्व. उत्तरकुमारी र धर्मकुमारीसँग प्रत्यर्थी / वादी सेतकुमारीले अंश लिई छुट्टिएपछि पुनः सँगै बसेको, अंश वा मानो जोडिएको वस्तुनिष्ठ प्रमाण प्रत्यर्थीले पेस गर्न सकेको छैन; फैसला गर्दा मुख्य आधार लिइएको मालपोत कार्यालय काठमाडौंको सर्जमिन मुचुल्का प्रतिवादी रमेश शाक्यसमेतका भदाहालाई थाहा जानकारी नै नदिई प्रत्यर्थीको मिलीभगतका मानिसहरू राखी गरिएको हुँदा उक्त सर्जमिन मुचुल्कालाई प्रमाणमा लिन मिल्दैन; अपुतालीको विवाद सिर्जना भएका स्व. उत्तरकुमारी र धर्मकुमारी परलोक हुँदा प्रतिवादी रमेश शाक्य र उमेश शाक्यको पिता मिश्री शाक्य जीवितै रहेकोमा निज मिश्री शाक्यमा अपुतालीको हक स्वतः कायम हुनुपर्नेमा सोतर्फ फैसलामा केही बोलिएको छैन; उत्तरकुमारी र धर्मकुमारीको मृत्युअघि र पछि निजहरूको नाममा भएका जग्गा जमिनहरूको मालपोतको तिरो प्रतिवादी रमेश शाक्यले नै तिरे बुझाएको छ; स्व. उत्तरकुमारी शाक्य तथा धर्मकुमारी शाक्यको नाममा रहेका बैंक खाताहरूमा खातावाल स्व. उत्तरकुमारी र धर्मकुमारीले प्रतिवादी रमेश शाक्यलाई इच्छाएको देखिन्छ; स्व. उत्तरकुमारी र धर्मकुमारीको पालनपोषण, स्याहारलगायतका कार्य प्रतिवादी रमेश शाक्यले गरेको स्पष्ट हुँदाहुँदै पनि मुलुकी ऐन, अपुतालीको १२ नं.समेतको त्रुटि गरी स्व. धर्मकुमारी र उत्तरकुमारी शाक्यको अपुताली हक प्रत्यर्थी वादी / सेतकुमारी शाक्यका नाउँमा कायम हुने भनी पुनरावेदन अदालतबाट भएको फैसला बदर गरी रमेश शाक्यको प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भनी तथा पुनरावेदक / प्रतिवादी उमेश शाक्यको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने तथा विद्वान् अधिवक्ता श्री जगदिशचन्द्र पाण्डेले मृतक फुपूहरूको अपुताली सम्पत्ति एकलौटी लिने खाने दूषित मनसायले विपक्षीले पेस गरेका प्रमाण, झुटा विवरणका आधारमा गरेको फैसलाले प्रतिवादी उमेश शाक्यलाई अन्याय भएको छ; स्व. फुपूहरू जीवत रहँदाको समयमा कसैले कहिल्यै अलग राखी पालन पोषण गरेका छैनन्; पिता मिश्री शाक्य र फुपूहरूबिच अंशबन्डा भए तापनि खाने बस्नेलगायत एकले अर्कालाई हेरचाह गर्ने गराउने कार्य सामूहिक रूपमा भएको हो; फुपूहरूको रेखदेख औषधी उपचार एकै परिवारमा रहेको हुँदा जो कसैले पनि गर्दथ्यो; फुपूहरूको अपुताली वादीले मात्र लिन खान पाउने कुनै कानूनी आधार नभएकाले पुनरावेदन अदालतको फैसला बदर गरी उमेश शाक्यको प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भनी बहस जिकिर गर्नुभयो ।
प्रत्यर्थी / वादी सेतकुमारी शाक्यको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल तथा विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिशंकर निरौलाले प्रतिवादीहरू रमेश शाक्य र उमेश शाक्य स्व. उत्तरकुमारी, धर्मकुमारी र प्रत्यर्थी सेतकुमारीको भदाहा नाताका व्यक्ति हुन्; निज भदाहा एकासगोलको अंशियार नभएको र स्व. उत्तरकुमारी र धर्मकुमारीलाई आफ्नो सँगसाथमा राखेर पालनपोषण गरेको कुरालाई निजहरूले प्रमाणद्वारा पुष्टि गर्न सकेको अवस्था छैन; दिदी बहिनी नाताका स्व. उत्तरकुमारी र धर्मकुमारीको मृत्यु हुँदाका बखत निज दुवैलाई सेतकुमारीले साथैमा राखी स्याहार गरेको तथ्यलाई का.म.न.पा. वडा नं.२३ ले गरेको सिफारिस तथा मालपोत कार्यालय काठमाडौंले गरेको सर्जमिन मुचुल्काले पनि पुष्टि गरेको छ; उक्त सर्जमिन मुचुल्का तथा सिफारिस प्रतिवादीले बदर गराउन सकेको छैन; स्व.धर्मकुमारी र उत्तरकुमारीको अपुताली हक मुलुकी ऐन, अपुतालीको ७ र १२ नं.बमोजिम सेतकुमारी शाक्यले पाउने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।
अब, यसमा पुनरावेदन अदालत पाटनबाट स्व. धर्मकुमारी शाक्य र स्व. उत्तरकुमारी शाक्यको अपुताली हक प्रत्यर्थी सेतकुमारी शाक्यले पाउने गरी भएको फैसला कानूनअनुकूल छ वा छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तछ वा सक्तैन ? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, स्व. पूर्णमान र हर्षमायाका तीन छोरीमध्ये दिदी उत्तरकुमारी शाक्य र बहिनी धर्मकुमारी शाक्यको एकै पुस्तामा पर्ने नजिकको अंशियार आफू मात्र भएको र दिदी बहिनीहरू बाँचुञ्जेल मसँगै रही पालनपोषण तथा मरणोपरान्त काजकिरियासमेत गरेको छु; निज दिदी बहिनीको मृत्युपश्चात् एकै पुस्ताको सहोदर बहिनी सेतकुमारी मात्र जीवित रहेको हुँदा निजहरूको नाममा एकलौटी तथा संयुक्त दर्ता रहेका जग्गामा अपुताली हक कायम गरी नामसारी दर्ता गरी जग्गाधनी प्रमाणपुर्जासमेत दिलाइपाउँ भन्ने वादी सेतकुमारीको फिरादपत्र दाबी रहेको देखियो । सेतकुमारी स्वेच्छाले अंशबन्डा गरी भिन्नै बसी आउनुभएको र अपुताली सम्पत्ति निजले मात्र लिन खान पाउने कुनै कानूनी आधारसमेत नरहेको भन्ने प्रतिवादी उमेश शाक्यको प्रतिउत्तर जिकिर रहेको पाइयो । फुपूहरूको जिउताभर मैले स्याहार सम्भार, पालताल, औषधोपचार गरी मृत्युपश्चात् वार्षिक श्राद्धादिसमेत गराएकोले अपुतालीमा मेरो हक कायम हुनुपर्छ भन्ने रमेश शाक्यको समेत प्रतिउत्तर जिकिर रहेको देखिन्छ । वादी दाबीअनुसार स्व. धर्मकुमारी र उत्तरकुमारीको अपुताली हक वादी सेतकुमारीको नाउँमा कायम हुने ठहर गरेको सुरू फैसला पुनरावेदन अदालतबाट समेत सदर गरिएको र सो फैसलाउपर प्रतिवादी रमेश शाक्य र उमेश शाक्यको यस अदालतमा परेको मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदनमा निस्सा प्रदान भई पुनरावेदनको रोहमा विचारार्थ मुद्दा पेस हुन आएको देखियो ।
३. स्व.पूर्णमान र स्व.हर्षमायाका तीन छोरीहरूमा जेठी स्व.उत्तरकुमारी शाक्य, माहिली प्रत्यर्थी वादी सेतकुमारी शाक्य र कान्छी स्व. धर्मकुमारी शाक्य तथा एक छोरा मिश्री शाक्यको जन्म भएको तथ्यमा विवाद देखिँदैन । उत्तरकुमारी शाक्य, सेतकुमारी शाक्य र धर्मकुमारी शाक्य तीनै जना जीवनपर्यन्त अविवाहित रहेको तथ्यमा पनि मुद्दाका पक्षहरूबिच मुख मिलेको देखिन्छ । वादी सेतकुमारीले मिति २०४१/४/२५ मा, धर्मकुमारीले मिति २०४१/६/१४ मा र उत्तरकुमारी र प्रतिवादीका पिता मिश्री शाक्यले मिति २०५१/२/१३ मा मिलापत्रबाट अंश लिई छुट्टी भिन्न भएको तथ्यसमेत निर्विवाद रूपमा स्थापित रहेको पाइयो । कालक्रममा उत्तरकुमारीको २०६२ साल माघमा र धर्मकुमारीको २०६१ साल भाद्रमा मृत्यु भएको कुरामा पनि विवाद छैन । मिश्री शाक्यको समेत २०६३ वैशाखमा मृत्यु भएको तथ्य पेस हुन आएको छ । निज धर्मकुमारी र उत्तरकुमारीको शेषपछि निजहरूको सम्पत्तिमा मृतकको दिदी / बहिनी नाताकी सेतकुमारीले अपुताली पाउने हो वा मृतकका दाजु (वा भाइ) मिश्री शाक्यका छोरा (भदाहा) नाताका रमेश शाक्य, उमेश शाक्य वा सुरेश शाक्यमध्ये को, कसले अपुताली पाउने हो भन्ने नै प्रस्तुत मुद्दामा निरूपण गरिनुपर्ने मूल प्रश्न रहेको देखिन्छ ।
४. सामान्यतया: अपुताली हक मृतकको पालनपोषण, स्याहार-सुसार, हेरचाह गरेको भन्ने आधारमा वा / तथा मृतकसँग नाता सम्बन्धमा निकटता रहेको भन्ने आधारमा कायम हुने वा निर्धारण गरिने विषय हो । प्रतिवादीहरू रमेश शाक्य तथा उमेश शाक्यले फुपू नाताकी व्यक्तिको अपुतालीमा दाबी गरेको देखिन्छ । वादी सेतकुमारी स्व. उत्तरकुमारी तथा स्व. धर्मकुमारीको दिदी / बहिनी हुन् भन्ने तथ्यमा विवाद छैन । एकै उदरका तीन दिदीबहिनीहरूमध्ये विवाह नभएका, छोराछोरी कोही नरहेका दुईजना दिदी / बहिनीको अपुताली परेको अवस्थामा नाता सम्बन्धमा रहेको निकटताको कारणबाट सहोदर दिदी / बहिनी सेतकुमारीले अपुताली पाउने कुरा स्वाभाविक, न्यायोचित र तर्कसङ्गत देखिन्छ । सम्पत्तिउपर महिलाको अधिकार कायम गर्ने सन्दर्भमा विगत करिब तीन दशकमा विकाश भएका विधिशास्त्रीय मान्यताका दृष्टिले हेर्दा पनि सहोदर दिदी / बहिनीको अपुताली परेको अवस्थामा अर्की दिदी / बहिनी छँदाछँदै भदाहा नाताका व्यक्तिले अपुताली पाउँदछ भन्नु मनासिब देखिँदैन । मुलुकी ऐन, अपुतालीको २ नं. मा रहेको अपुताली पाउने नाता सम्बन्धको सूचीमा फुपूको अपुताली भदाहाले पाउने गरी समावेश गरिएको समेत पाइएन । कानूनमा आएको पछिल्लो परिवर्तनलाई हेर्दा पनि मुलुकी देवानी संहिता, २०७४ को दफा २३९(१) ले हकवालाको क्रममा भिन्न भएका दिदीबहिनीलाई समेटेको देखिन्छ भने फुपूको अपुताली भदाहाले पाउने कुरा उल्लेख भएको देखिँदैन । संवत् २०६३ सालमा प्रचलित (संशोधित) मुलुकी ऐन, अपुतालीको महलको ७ नं. मा समेत एकै बाबुबाट जन्मिएका दाजुभाइ वा दिदीबहिनीले स्याहार-सम्भार गरी पालेको अवस्थामा त्यसरी पालेका दाजुभाइ वा दिदीबहिनीको अपुताली पाल्ने दिदीबहिनी वा दाजुभाइले पाउने व्यवस्था रहेको देखिन्छ । यसरी हेर्दा भदाहाको तुलनामा दिदी / बहिनीले नै मर्ने दिदी / बहिनीको अपुताली पाउने कुरा तर्कसङ्गत र कानूनअनुकूल बन्दछ ।
५. मर्नेको जीवनकालमा पालनपोषण, स्याहार-सुसार, हेरचाह गरेको भन्ने आधारमा अपुताली पाउने कुराको सन्दर्भमा हेर्दा प्रतिवादी रमेश शाक्यसमेतका भदाहाहरूले सोअनुसार पालनपोषण आदि कार्य गरेको भनी मान्न सकिने कुनै भरपर्दो वा विश्वसनीय प्रमाण पेस हुन आएको पाइएन । वादी सेतकुमारीलगायत धर्मकुमारी र उत्तरकुमारीसमेत प्रतिवादी रमेश शाक्यका पिता मिश्री शाक्यको जीवनकालमा नै आ-आफ्नो अंश लिई छुट्टिई भिन्न भएको देखिन्छ । मिश्री शाक्यसँग नै अंश लिई छुट्टिई अलग भएका धर्मकुमारी र उत्तरकुमारी (अन्यथा प्रमाणित नभएसम्म) निज मिश्री शाक्यका छोरा (भदाहा) सँग साथमा बसेका थिए भनी मान्न सकिने अवस्था देखिँदैन । बैंकमा खोलिएको खातामा इच्छाइएको, रकम झिकेको जस्ता कुरालाई हेरेर पालनपोषण गरेको भनी निष्कर्ष निकाल्न सकिँदैन । उमेर, स्वास्थ्य अवस्था, व्यावहारिकअनुकूलता आदि विविध कारणले त्यस प्रकारका बैंकिङ कारोबारका लागि आफ्नो कुनै विश्वास-पात्रबाट सहयोग लिनु स्वाभाविक र नियमित सामाजिक प्रक्रिया हो । यसैलाई अपुताली हकको आधार बनाउनु मनासिब हुँदैन । बैंक खाता खोल्दा कसैलाई इच्छाउनुपर्ने प्रक्रिया पूरा गर्न र खाता सञ्चालन कार्यलाई व्यावहारिक रूपमा सहजता प्रदान गर्न कसैलाई इच्छाइएको कुरालाई नै मर्नेको शेषपछि निजको सबै सम्पत्तिमा अपुताली हक कायम हुने आधारको रूपमा ग्रहण गर्नु मनासिब देखिँदैन । बैंक खाता खोल्दा इच्छाइएको व्यक्तिको हक सोही इच्छाइएको बैंक खातामा रहेको रकमको कुरामा सम्म सीमित रहन्छ । बैंक खातामा रहेको रकमबाहेकको सम्पत्तिमा बैंक खाता खोल्दा इच्छाइएको कारणबाट नै हक कायम हुने होइन ।
६. मरेपछि दागबत्ती दिएको वा वार्षिक श्राद्ध गरेको जस्ता कार्य धार्मिक, साँस्कृतिक, सामाजिक सन्दर्भका विषयहरू हुन् । बाँचुञ्जेल के सेवा, टहल, पालनपोषण आदि कार्य गरियो भन्ने कुराले अपुताली पाउने कुरासँग सम्बन्ध राख्दछ । मरिसकेपछि दागबत्ती कसले दियो, मलामी गयो गएन, श्राद्ध कसले गर्यो भन्ने जस्ता कुरालाई हेरेर अपुताली हक स्थापित हुने होइन । बाबु-आमा मर्दा किरिया नबसेका, श्राद्ध गर्ने नगरेका, दागबत्ती नदिएका मानिसले बाबु-आमाको सम्पत्तिको अपुताली पाउने गरेको कुराको दृष्टान्त समाजमा प्रसस्तै पाउन सकिन्छ । मर्ने (अपुताली परेका) मानिसको नामको जग्गाधनी प्रमाणपत्र कुन व्यक्तिसँग रहेको छ ? औषधी उपचारका बील भर्पाई कसले हात पारेको छ ? भन्ने कुरालाई नै अपुताली हक स्थापित गराउने निश्चयात्मक प्रमाण मान्न सकिँदैन । यस प्रकारका प्रमाण कहिले सांयोगिक रूपमा हात परेका हुन सक्तछन् भने कहिले सिर्जना गरिएका प्रमाणको रूपमा पनि देखा पर्दछन् । त्यसैले नजिकको नाता सम्बन्धका व्यक्ति छँदाछँदै र निजले मर्नेको अपुताली नपाउने कानूनबमोजिमको कारण नरहेको स्थितिमा पालनपोषण गरेको भन्ने हैसियतबाट तुलनात्मक रूपमा टाढाका नाताका मानिसले अपुताली हक प्राप्त गर्नका लागि पालनपोषण गरेको कुराको भरपर्दो प्रमाण पेस गर्नु अनिवार्य हुन्छ र अन्य परिस्थितिहरूबाट पनि सो तथ्य समर्थित हुनुपर्दछ । यसरी हेर्दा, धर्मकुमारी र उत्तरकुमारीले क्रमशः २०४१ सालमा र २०५१ सालमा नै मिश्री शाक्यसँग आ-आफ्नो अंशभाग लिई अलग भएको भन्ने देखिएको छ । मिश्री शाक्यका छोराहरूको समेत आ-आफ्नै छुट्टाछुट्टै व्यवहार र बसोबास रहेको भन्ने देखिन्छ । यस अवस्थामा धर्मकुमारी तथा उत्तरकुमारीलाई रमेश शाक्यसमेतले पालनपोषण गरी राखेका थिए भनी मान्न सहज देखिँदैन । आफ्नो भरणपोषणका लागि आफैँसँग सम्पत्ति रहेका तथा जीवनभर अविवाहित रहेका धर्मकुमारी, उत्तरकुमारी र सेतकुमारीको जीवनशैलीको पृष्ठभूमिले निजहरूलाई अरू कोही कसैले पालनपोषण, हेरचाह गरेको नभएर तीन जना दिदी-बहिनीहरूले आपसमा एक-अर्कालाई साथ दिने, सहयोग गर्ने कार्य गरी जीवन निर्वाह गर्ने गरेको भन्ने देखिन आउँदछ । धर्मकुमारी र उत्तरकुमारीलाई पालनपोषण गरेको कुराका सम्बन्धमा भएका सर्जमिन मुचुल्का र स्थानीय वडा कार्यालयबाट गरिएका सिफारिसहरूको बेहोरा पनि परस्पर विरोधाभाषपूर्ण रहेको देखिन्छ । कहिले एउटा पक्षको समर्थनमा र कहिले अर्को पक्षको स्वार्थअनुकूल दिइएका त्यस प्रकारका सिफारिस र सर्जमिन बेहोराका आधारमा कुनै तार्किक निष्कर्ष निकाल्न सकिने अवस्था देखिँदैन ।
७. मुलुकी ऐन, (२०६३ सालको संशोधन अनुसारको) अपुतालीको महलको ११ नं. मा अपुताली पर्दा मर्नेको स्याहार सम्भार नजिकको हकवालाले नगरी अन्य व्यक्तिले गरेको रहेछ भने त्यस्तो व्यक्तिको अपुताली चलमा सबै र अचलमा आधासम्म स्याहार सम्भार गर्नेले र बाँकी आधा ऐनबमोजिम हकवालाले पाउने व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दाका सन्दर्भमा हेर्दा मर्ने धर्मकुमारी र उत्तरकुमारीको पालनपोषण, हेरचाह आदि रमेश शाक्यसमेतले गरेको भन्ने तथ्य पुष्टि हुन सकेको नदेखिएको, सेतकुमारीसहितका तीन जना दिदी-बहिनीहरू आपसमा एक-अर्काको सहयोगीको रूपमा रहेको भन्ने देखिएको हुँदा नातामा समेत सहोदर दिदी / बहिनी भएको कारणबाट वादी सेतकुमारीले नै अपुताली पाउने अवस्था देखिन्छ । अपुतालीको महलको १२ नं. मा समेत खानु पिउनु आफ्ना अंशबाट गरिआएको अवस्थामा भिन्न बसेका अविवाहिता दिदी / बहिनीको अपुताली परेमा मर्नेको सहोदर भाइ वा अविवाहिता बहिनीले पाउने प्रावधान रहेको देखिन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा मिश्री शाक्यको २०६३ सालमा मृत्यु भइसकेको हुँदा धर्मकुमारी र उत्तरकुमारीको सम्पत्तिमा अपुताली हक खाने व्यक्ति वादी सेतकुमारी नै हुन् भन्ने देखिएको छ । तसर्थ, निज सेतकुमारीको अपुतालीमा हक पुग्ने नै देखिन आयो ।
८. अत: स्व. धर्मकुमारी शाक्य र स्व. उत्तरकुमारी शाक्यको सम्पत्तिमा अपुताली हक वादी सेतकुमारीको कायम हुने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६७/१२/२७ को फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६९/९/१६ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरू रमेश शाक्य र उमेश शाक्यको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
९. प्रस्तुत फैसला यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी, दायरीको लगत कट्टा गरी, नियमानुसार मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. हरिप्रसाद फुयाल
इजलास अधिकृत:- भेषराज कोइराला
इति संवत् २०८० साल वैशाख ३१ गते रोज १ शुभम् ।