निर्णय नं. ११३३५ - बहुविवाह

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७९।१२।२६
मुद्दा:- बहुविवाह
०७१-CR-०७६३
पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १६ डेरा गरी बस्ने मनौवर हसन
विरूद्ध
प्रत्यर्थी / वादी : सविया तनविर हसनको जाहेरीले नेपाल सरकार
०७१-CR-०९४८
पुनरावेदक / प्रतिवादी : बाँके जिल्ला, नेपालगन्ज नगरपालिका, वडा नं. १ बस्ने मिना हलुवाई (अभियोग- पत्रमा मीना हसन उल्लेख भएको)
विरूद्ध
प्रत्यर्थी / वादी : सविया तनविर हसनको जाहेरीले नेपाल सरकार
प्रचलित नेपाल कानूनले कुनै समुदाय वा सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्ध विच्छेदको व्यवहारलाई मान्यता प्रदान नगरी सबै समुदाय र सम्प्रदायलाई लागु हुने एकीकृत कानून प्रचलनमा रहेको अवस्थामा मुस्लिम समुदायमा हुने एकतर्फीय प्रकृतिको सम्बन्ध विच्छेद जस्तै तीन तलाक (triple talaq) लाई अन्य देशहरूमा कसुरजन्य कार्य बनाइँदै गरेको अवस्थामा छरछिमेक वा समाजमा इस्लाम परम्परा र संस्कृतिअनुसार गरेको तलाक वा सम्बन्ध विच्छेदलाई कानूनले मान्यता नगरेको अवस्थामा दोस्रो विवाह गर्न छुट भएको मान्न नमिल्ने ।
(प्रकरण नं. ७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री यदुनाथ खनाल र प्रेमराज सुवेदी तथा विद्वान् अधिवक्ताद्वय श्री मीना थापा खड्का र श्री मनिषा बस्नेत
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी अपराध संहिता, २०७४
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
सुरू तहमा फैसला गर्नेः-
मा. जि. न्या. श्री लेखनाथ घिमिरे
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
मा. न्या. श्री दीपककुमार कार्की
मा. न्या. श्री विष्णुदेव पौडेल
पुनरावेदन अदालत पाटन
फैसला
न्या. हरिप्रसाद फुयाल: न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) (क) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
तथ्य खण्ड
म जाहेरवाली जेठी श्रीमती र २ छोराहरूको साथमा घरमा शारीरिक तथा मानसिक रूपले सद्दे छँदाछँदै मेरो श्रीमान् मनौवर हसनले मिना हसनसँग दोस्रो विवाह गरी बहुविवाहको कसुर गरेको हुँदा निजहरूलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको सविया हसनको जाहेरी दरखास्त ।
जाहेरवाली सविया हसनसँग २०४० सालमा विवाह भई हामीहरूको सम्बन्धबाट २ छोराको जायजन्मसमेत भई हामीहरू खुसीसाथ बस्दै आएकोमा १२/१४ वर्ष पहिलेदेखि निज श्रीमती मसँग राम्रो व्यवहार नगरी आफूखुसी हिँड्ने, भनेको नमान्ने गरेकाले हामी दुवैको मन नमिली धार्मिक परम्परा र इस्लाम धर्मअनुसार हामी सम्बन्ध विच्छेद गरी बसेको र हाल आएर मिना हसनसँग दोस्रो विवाह गरेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी मनौवर हसनले गरेको बयान कागज ।
मैले विवाह गरेको श्रीमान् मनौवर हसनको पहिला नै विवाह भएको छ भन्ने थाहा थियो तर निज श्रीमान्ले जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद गरिसकेको भनेकोले निजसँग विवाह गरेकी हुँ भन्नेसमेत बेहोराको प्रतिवादी मिना हसनको बयान ।
प्रतिवादी मनौवर हसनले आफ्नी जेठी श्रीमती सविया हसन मानसिक तथा शारीरिक रूपमा सद्दे छँदाछँदै प्रतिवादी मिना हसनसँग दोस्रो विवाह गरी बहुविवाह गरेकोमा विश्वास लाग्छ भन्ने बेहोराको बुझिएका अनवर आलमसमेतले गरिदिएको कागज ।
प्रतिवादी मनौवर हसनले घरमा जेठी श्रीमती छँदाछँदै अर्की कान्छी श्रीमती मिना हसनसँग दोस्रो विवाह गरी प्रतिवादीहरूले बहुविवाह गरेको हुँदा निजहरूलाई बिहाबारीको महलको ९ नं. को कसुर गरेको हुँदा ऐ. १० नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६६।०६।२० को अभियोगपत्र ।
जाहेरवालासँग २०४१ सालमा परम्पराअनुसार विवाह भएको हो । निजबाट २ जना छोराको जायजन्म भई विपक्षीसँग राम्रो सम्बन्ध भएकोमा ५/७ वर्षपछिदेखि विपक्षीले मसँग निहुँ खोजी झगडासमेत गरी म कामको सिलसिलामा काठमाडौं बाहिर गएको बेला छोराहरूलाई समेत खान नदिई छोराहरूलाई बोडर्स गरिराख्दासमेत मेरो समस्या समाधान नभएकोले गाउँघरका मानिस राखी आजभन्दा १२ वर्षपहिले सम्बन्ध विच्छेद गरिसकेको छु । मिनासँग मैले विवाह गरेको छैन । निज मेरो चिनजानकी बहिनी हो । मैले विपक्षीसँग सम्बन्ध विच्छेद गरेको अदालतमा कुनै प्रमाण छैन । गाउँघरमा समाज राखी सम्बन्ध विच्छेद गरेको हो । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान बेहोरा झुठ्ठा हो । मैले दोस्रो विवाह नगरेको हुँदा दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी मनौवर हसनले अदालतमा गरेको मिति २०६६।६।२१ को बयान ।
मैले मनौवरसँग दोस्रो विवाह गरेको छैन । निज चिनजानको मानिससम्म हो । म एक महिनापहिले काठमाडौंमा आएकी चिनजानको साथीसँग पायक पर्ने ठाउँमा बस्दा मलाई अनाहकमा मनौवरसँग विवाह गरेको भनी आरोप लगाएको मात्र हो । अनुसन्धानसमक्ष भएको बयान मेरो होइन । मलाई सहीछाप गर भनेकोले डरले सहीछापसम्म गरेको हो । म अविवाहित केटीलाई झुट्ठा मुद्दा लगाएको हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मिना हसनले सुरू अदालतमा आई मिति २०६६।६।२१ मा गरेको बयान ।
प्रतिवादी मनौवर हसनले मीना हसनसँग दोस्रो विवाह गरेका हुन् । मीना हसनलाई मनौवर हसनको विवाह पहिले नै भइसकेको थाहा थियो भन्नेसमेत बेहोराको जाहेरवाली सबिया हसनको बकपत्र एवम् प्रतिवादी मिना हसनको आजको मितिसम्म कोही कसैसँग पनि विवाह भएको थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी मीना हसनको साक्षी विमलादेवी थपलियाको र मनौवर हसन र सबिया हसनबिच धार्मिक विधिअनुसार करिब २० वर्षअगाडि विवाह भएको र करिब १२ वर्षअगाडि यिनीहरूबिच मुस्लिम रीतिरिवाजअनुसार सम्बन्ध विच्छेद भइसकेको हो । मनौवर हसनले पुनः अर्को विवाह गरेको मलाई थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी मनौवर हसनको साक्षी मुकिम साहले सुरू अदालतमा गरिदिएको बकपत्र मिसिल सामेलसमेत रहेको ।
प्रतिवादीहरू पति पत्नीको रूपमा बसेको तथ्यमा इन्कार रहेको अवस्थामा शङ्का तथा अनुमानको भरमा निजहरूको सामाजिक आर्थिक हैसियतसमेत परिवर्तन हुने गरी नाता कायम हुने प्रकृतिको बहुविवाहको कसुर ठहर गर्न न्यायोचित नहुँदा प्रतिवादीहरूउपरको अभियोग दाबी पुग्न सक्दैन । प्रतिवादीहरू मनौवर हसन र मिना हसनले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने बेहोराको मिति २०६७।२।१९ मा भएको काठमाडौं जिल्ला अदालतको फैसला ।
प्रतिवादी मनौवर हसनले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा इस्लाम धर्मअनुसार जेठी श्रीमतीसँग तलाक दिई प्रतिवादी मिना हसनसँग दोस्रो विवाह गरेको भनी लेखाएको र अर्का प्रतिवादी मिना हसनले पनि इस्लाम धर्मअनुसार जेठी श्रीमतीसँग तलाक पाइसकेको भनेकोले निज मनौवर हसनसँग विवाह गरेकी हुँ भनी लेखाइदिएकी छन् । प्रचलित नेपाल कानूनबमोजिम जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद नभई अर्को (दोस्रो) विवाह गरेको र लोग्ने स्वास्नी भई प्रतिवादीहरू रहेबसेका देखिन्छन् । बुझिएका व्यक्तिहरूले समेत बहुविवाह गरेका हुन् भनी बकपत्र गरिदिएबाट यी दुवै प्रतिवादीहरूले बहुविवाहको कसुर गरेको पुष्टि हुन्छ । तसर्थ प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्नेमा सफाइ दिने गरी सुरू अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन ।
यसमा किटानी जाहेरी र अनुसन्धानका क्रममा प्रतिवादीहरू साबित रहेका, जाहेरवालीले अदालतमा समेत आई पोल गरी बकपत्र गरेको अवस्थामा सुरू फैसला प्रमाणको मूल्याङ्कनमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीहरूलाई झिकाई उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने मिति २०६९।०२।१४ मा पुनरावेदन अदालत पाटनबाट भएको आदेश ।
सुरू फैसलाको ठहर खण्डमा उल्लिखित सम्बन्ध विच्छेद र अंशचलन मुद्दाको मिसिल सम्बन्धित निकायबाट झिकाई आएपछि नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०६९।१०।०७ मा भएको पुनरावेदन अदालत पाटनको आदेश ।
प्रतिवादी मिना हसनले जानीजानी दोस्रो विवाह गरेको तथ्य मिसिल प्रमाणबाट पुष्टि हुन नआएकोले सुरू अदालतबाट निजको हकमा आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसला अन्यथा मान्नुपर्ने देखिएन । प्रतिवादी मनौवर हसनले जाहेरवाली जेठी पत्नी हुँदाहुँदै मीना हसनलाई बहुविवाह गरेको ठहर्छ । निज प्रतिवादी मनौवर हसनलाई बिहावारीको १० नं.बमोजिम १ वर्ष कैद र रू. ५,०००।- जरिवाना हुन्छ । अतः निज प्रतिवादीलाई सफाइ दिएको हदसम्म काठमाडौं जिल्ला अदालतको मिति २०६७।०२।१९ को फैसला मिलेको नदेखिँदा उल्टी हुन्छ । प्रतिवादी मिना हसनलाई सफाइ दिने गरी भएको काठमाडौं जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुन्छ । सो सम्बन्धमा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको मिति २०६९।१२।१८ मा पुनरावेदन अदालत पाटनबाट भएको फैसला ।
हामी दुवैजना प्रतिवादीहरू एक अर्कासँग विवाह गरी पति पत्नीको रूपमा रहे बसेको तथ्यमा अदालतमा पूर्ण रूपमा इन्कार रही बयान गर्नुका साथै जाहेरवालीलगायत कुनै पनि व्यक्तिले म निवेदकले कान्छी श्रीमतीसँग विवाह गरी पति पत्नीको रूपमा रहे बसेको देखेको भनी यकिनसाथ भन्न सकेका छैनन् । केवल विवाह गरेको सुनेको भनी शङ्का तथा अनुमानको भरमा पोल गरेको आधारमा बहुविवाह जस्तो सामाजिक आर्थिक हैसियतसमेत परिवर्तन हुने प्रकृतिको कसुरमा शङ्का तथा अनुमानको भरमा दोषी ठहर गर्न मिल्दैन । यसैगरी जाहेरवालीले प्रस्तुत मुद्दाको जाहेरी दिएपश्चात् (जाहेरी परेको मिति २०६६।०४।१४) दायर गरको सम्बन्ध विच्छेद तथा अंशचलन मुद्दामा म प्रतिवादीउपर बहुविवाहमा समेत जाहेरी दिएको भन्ने बेहोरा उल्लेख गरेको पाइँदैन । म प्रतिवादीले विधिवत रूपमा कान्छी श्रीमती विवाह राखेको भए सो मुद्दामा प्रतिवादी मिना हसनलाई नाता देखाई अंशियार कायम गर्नुपर्ने अवस्था हुन्छ । उक्त अंश चलन मुद्दामा मिना हसनलाई अंशियार कायम गरेको देखिँदैन । अनुसन्धान अधिकारीसमक्ष गरेको बयान बेहोरा आफ्नो अनुकूल हुने गरी ठाउँ ठाउँमा थपघट गरी मलाई हेर्ने पढ्ने मौका नदिई तयार पारेको मिसिल कागजात हेर्दा प्रस्ट देखिन्छ । साथै अनुसन्धानको बयानलाई पुष्टि गर्ने कुनै पनि स्वतन्त्र प्रमाणहरू मिसिलमा मौजुद छैनन् । म प्रतिवादीउपरको कसुर पुष्टि गर्ने कुनै पनि ठोस प्रमाण वादी पक्षले पेस गर्न सकेको छैन । बहुविवाह गरेको ठोस एवम् वस्तुनिष्ठ प्रमाणको अभावमा म प्रतिवादीको सामाजिक आर्थिक हैसियतसमेत परिवर्तन हुने गरी नाता कायम हुने तवरबाट बहुविवाहको कसुर ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६९।१२।१८ मा भएको फैसला त्रुटिपूर्ण हुँदा प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी न्याय इन्साफ पाउँ भन्ने बेहोराको मनौवर हसनको यस अदालतमा पर्न आएको निवेदन ।
म निवेदिकाले बहुविवाह नगरेको भनी सुरू अदालतसमक्ष इन्कारी बयान गरेकी छु । मेरो साक्षी विमलादेवी थपलियाको बकपत्र तथा प्रतिवादीमध्येका मनौवर हसनले अदालतमा गरेको बयानसमेतबाट सो कुरा पुष्टि भइरहेको छ । म निवेदिका अविवाहित केटीलाई सामाजिक प्रतिष्ठामा आँच आउने गरी एवम् सामाजिक आर्थिक हैसियत परिवर्तन हुने गरी विना आधार पति पत्नीको नाता कायम हुने गरी बहुविवाह गरेको ठहर गर्न मिल्ने होइन । म निवेदिकाले प्रतिवादी मनौवर हसनसँग दोस्रो विवाह गरेको भए जाहेरवाली सविया तनविर हसनले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अंश मुद्दामा मलाई नाता देखाई म निवेदिका कान्छी श्रीमती रहे भएको उल्लेख गर्नुपर्नेमा सो कुरा कहीँकतै उल्लेख गरिएको छैन । साथै अनुसन्धान अधिकारीसमक्ष भएको बयान बेहोरा ठाउँ ठाउँमा केरमेट गरिएको छ । तसर्थ, काठमाडौं जिल्ला अदालतबाट म निवेदिकालाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसलालाई पुनरावेदन अदालत पाटनले सदर गरेको भए पनि बहुविवाह भए गरेको भनी पति पत्नीको नाता कायम गरेको हदसम्म पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मीना हलुवाईको यस अदालतमा पर्न आएको दोहोर्याई पाउँको निवेदन ।
प्रतिवादी मनौवर हसनले आफूले मीना हसनसँग दोस्रो विवाह गरेको भनी अनुसन्धान अधिकारीसमक्ष साबित भई बयान गरे पनि अदालतमा आफूले दोस्रो विवाह गरेको होइन भनी कसुरमा पूर्ण इन्कार रही बयान गरेका छन् । प्रतिवादी मीनाले पनि आफू अविवाहित रहेकी हुँदा प्रतिवादी मनौवर हसनसँग विवाह नगरेको भनी कसुरमा इन्कार रही अनुसन्धान अधिकारी र अदालतमा समेत बयान गरेकी छन् । वादी नेपाल सरकारको गवाहमध्ये कसैले पनि यो ठाउँमा यस मितिमा विवाह भएको भन्न नसकी निजहरूको कथन परस्पर विरोधाभाषपूर्ण रहेको छ । यी जाहेरवालाले बहुविवाहमा जाहेरी दिई अभियोगपत्र दायर गरिसकेपछि निजले प्रतिवादीउपर दिएको अंश मुद्दामा कान्छी पत्नी भनिएकी मीना हसनलाई अंशियार देखाई नालेस गरेको नदेखिएको र पछि उक्त अंश मुद्दा अ.बं.९२ नं.बमोजिम फिर्ता लिएको देखिन्छ । फौजदारी मुद्दामा प्रतिवादीहरू कसुरमा इन्कार रहेको अवस्थामा प्रत्यक्ष प्रमाणको आधारमा मात्र कसुरदार ठहराउनुपर्नेमा साक्षीहरूको परस्पर विरोधी कथन र आशङ्काका आधारमा मात्र कसुरदार ठहराई काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०६९।१२।१८ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा २५, २ र ५४ तथा अ.बं. १८४क. नं.समेतको कानूनी त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमानुसार गर्नु भन्ने बेहोराको मिति २०७१।०९।१४ मा यस अदालतबाट भएको आदेश ।
यसमा यिनै निवेदिकाले बहुविवाह गरेको भनिएको प्रतिवादी मनौवर हसनले यस अदालतको मिति २०७१।०९।१४ को आदेशबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा पाएको देखिँदा सोही आधार प्रमाणबाट यस मुद्दामा पनि पुनरावेदन अदालत पाटनको मिति २०६९।१२।१८ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, २५ र ५४ तथा अ.बं. १८४क नं.समेतको कानूनी त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान गरिएको छ । नियमानुसार गर्नु भन्ने मिति २०७१।११।०६ मा यस अदालतबाट भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी मनौवर हसनका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री यदुनाथ खनाल र प्रेमराज सुवेदीले इस्लाम धर्म र संस्कारबमोजिम प्रतिवादीको जाहेरवालीसँग सम्बन्ध विच्छेद भइसकेको छ । मिना हसनसँग प्रतिवादीको विवाह भएको नै छैन । विवाह भएको पुष्टि हुने कुनै प्रमाण छैन । जाहेरी नै अस्पष्ट छ । अनुसन्धान अधिकारीसमक्ष भएको बयान बेहोरासमेत ठाउँ ठाउँमा शङ्कास्पद किसिमले केरमेट थपघट गरिएको छ । प्रस्तुत मुद्दाकी जाहेरवाली सविया तनविर हसनले प्रतिवादी मनौवर हसनउपर दायर गरेको अंश मुद्दामा मनौवरले मीना हसनलाई दोस्रो विवाह गरेको भए निज कान्छी श्रीमती रहे भएको कुरा उल्लेख गर्नुपर्नेमा सो बेहोरा कहीँकतै उल्लेख गरिएको छैन । तसर्थ प्रतिवादी मनौवर हसनउपरको कसुर पुष्टि गर्ने कुनै पनि ठोस प्रमाण नरहेकोले निजलाई आरोपित कसुरबाट सफाइ होस् भनी प्रस्तुत गर्नुभएको बहससमेत सुनियो । यसैगरी अर्का प्रतिवादी मीना हसनको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री मीना थापा खड्का र श्री मनिषा बस्नेतले प्रतिवादी मनौवर हसनसँग यी प्रतिवादीले विवाह गरेकी छैनन् । विवाह भएको पुष्टि हुने कुनै पनि प्रमाण छैन । यी प्रतिवादीले अदालतको बयानमा आफूले बहुविवाह नगरेको भनी कसुरमा इन्कार रहेकी छिन् । सो कुरा निज प्रतिवादीका साक्षीको बकपत्र तथा प्रतिवादी मनौवर हसनले अदालतमा गरेको बयानसमेतबाट पुष्टि भइरहेको स्थितिमा यी प्रतिवादीले बहुविवाह गरेको भनी पति पत्नीको नाता कायम गरेको हदसम्म पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरी निजलाई पूर्णरूपमा सफाइ पाउने गरी इन्साफ होस् भनी बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीले प्रतिवादीहरूउपर किटानी जाहेरी परेको, जाहेरवालीले जाहेरी बेहोरालाई समर्थन हुने गरी अदालतमा बकपत्र गरिदिएको, प्रतिवादी अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष आरोपित कसुरमा साबित भएको समेतका प्रमाणहरूलाई ग्रहण नगरी प्रतिवादी मीना हसनलाई कसुरबाट उन्मुक्ति दिने गरी भएको फैसला त्रुटिपूर्ण छ । प्रचलित नेपाल कानूनबमोजिम जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद नभई अर्का श्रीमती ल्याई बसेको अवस्थामा दुवै पक्षलाई बहुविवाहमा सजाय हुनुपर्नेमा सफाइ दिने गरी सुरू अदालतबाट भएको फैसला बदर उल्टी गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।
उपर्युक्त तथ्य एवम् बहस जिकिर रहेको प्रस्तुत मुद्दामा मिति २०६९।१२।१८ मा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक / प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा म जाहेरवाली जेठी श्रीमती शारीरिक तथा मानसिक रूपले सद्दे छँदाछँदै मेरो श्रीमान् मनौवर हसनले मिना हसनसँग दोस्रो विवाह गरी बहुविवाहको कसुर गरेको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको सविया हसनको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको अनुसन्धान कार्य प्रारम्भ भई अनुसन्धानपश्चात् प्रतिवादी मनौवर हसनले घरमा जेठी श्रीमती छँदाछँदै कान्छी श्रीमती मिना हसनसँग दोस्रो विवाह गरी बहुविवाह गरेको हुँदा निजहरूलाई मुलुकी ऐन, बिहावरीको महलको ९ नं. को कसुरमा ऐ. को १० नं.बमोजिम सजायको माग दाबीसहित अभियोग पेस भएको प्रस्तुत मुद्दामा सुरू जिल्ला अदालतबाट प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने गरी मिति २०६७।०२।१९ मा काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनबाट सुरू अदालतको फैसला केही उल्टी गरी प्रतिवादी मनौवर हसनलाई बहुविवाहको कसुरमा बिहाबारीको १० नं.बमोजिम १ वर्ष कैद र रू. ५,०००।- जरिवाना हुने र प्रतिवादी मिना हसनलाई अभियोग दाबीबाट सफाइ दिने गरी मिति २०६९।१२।१८ मा भएको फैसलामा चित्त नबुझाई प्रतिवादी मनौवर हसन र मिना हसनले अलग अलग रूपमा मुद्दा दोहोर्याई हेरिपाउँ भनी यस अदालतमा निवेदन दिएकोमा मनौवर हसनको निवेदनमा मिति २०७१।०९।१४ मा र मिना हसनको निवेदनमा मिति २०७१।११।०६ मा दोहोर्याई हेर्ने निस्सा प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको देखियो ।
३. अब सर्वप्रथम प्रतिवादी मीना हसनले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याएको सुरू अदालतको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालतको फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परेको नदेखिँदा त्यसतर्फ बोलिरहन परेन ।
४. पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर हेर्दा पुनरावेदक प्रतिवादी मनौवर हसनले यस अदालतमा पुनरावेदन गर्दा आफूले मीना हसनसँग विवाह गरी पति पत्नीको रूपमा रहे बसेको तथ्यमा अदालतमा पूर्ण रूपमा इन्कार रही बयान गर्नुका साथै जाहेरवालीलगायत कुनै पनि व्यक्तिले निजलाई कान्छी श्रीमतीको रूपमा विवाह गरी बसेको देखेको भनी यकिनसाथ भन्न सकेका छैनन् । केवल विवाह गरेको सुनेको भनी शङ्का तथा अनुमानको भरमा पोल गरेको आधारमा बहुविवाह जस्तो सामाजिक आर्थिक हैसियतसमेत परिवर्तन हुने प्रकृतिको कसुरमा दोषी ठहर गर्न मिल्दैन । म प्रतिवादीले विधिवत् रूपमा कान्छी श्रीमती विवाह गरी राखेको भए सो मुद्दामा प्रतिवादी मीना हसनलाई नाता देखाई अंशियार कायम गर्नुपर्ने अवस्था हुन्छ । उक्त अंश चलन मुद्दामा मीना हसनलाई अंशियार कायम गरेको देखिँदैन भनी जिकिर लिएको देखियो । यसैगरी प्रतिवादी मीना हसनले पुनरावेदन गर्दा सुरू अदालतमा बयान गर्दा आफूले बहुविवाह नगरेको भनी आरोपित कसुरमा इन्कार रहेकी, निजको साक्षीको बकपत्र तथा प्रतिवादीमध्येका मनौवर हसनले अदालतमा गरेको बयानसमेतबाट सो कुरा पुष्टि भइरहेको, आफूले बहुविवाह नगरेको र अविवाहित नै रहेकोमा पनि सामाजिक प्रतिष्ठामा आँच आउने गरी एवम् सामाजिक आर्थिक हैसियत परिवर्तन हुने गरी विना आधार पति पत्नीको नाता कायम हुने गरी बहुविवाहको कसुर ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेकोले हामी प्रतिवादीहरूबिच पति पत्नीको नाता कायम गरेको हदसम्म उक्त फैसला उल्टी गरी इन्साफ पाउँ भन्ने प्रतिवादी मीना हसनको पुनरावेदन जिकिर रहेको देखियो ।
५. अब, पुनरावेदक प्रतिवादी मनौवर हसनको पुनरावेदन जिकिरतर्फ हेर्दा निजले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा निजले आफ्नो धार्मिक परम्परा र इस्लाम प्रचलनबमोजिम जेठी श्रीमती तथा जाहेरवालीलाई तलाक (सम्बन्ध विच्छेद) दिइसकेकाले इस्लाम धर्म, परम्पराबमोजिम अर्का प्रतिवादी मिना हसनसँग मिति २०६६।०४।०१ मा नेपालगन्जमा दोस्रो विवाह गरेको हुँ भनी (स.ज.८) मा आफूले दोस्रो विवाह गरेको कुरा स्वीकार गरी लेखाइदिएको पाइन्छ । निजले उक्त बयानको (स.ज.१०) मा आफूले कानूनबमोजिम सम्बन्ध विच्छेद नभइसकेको स्थितिमा दोस्रो विवाह गरेको भनी उल्लेख गरेको देखिन्छ । यी प्रतिवादीले सुरू अदालतमा बयान गर्दा आफूले जाहेरवालीसँग गाउँघरका मानिस राखी आजभन्दा १२ वर्षपहिले नै सम्बन्ध विच्छेद गरिसकेको भए पनि मिनासँग विवाह नगरेको भनी आरोपित कसुरमा इन्कार रहेको भए पनि अदालतको सोही बयानको स.ज.८ मा निजले यी जाहेरवालीसँग गाउँमा छिमेक समाज राखी सम्बन्ध विच्छेद गरेको भनी लेखाएबाट निजको जेठी श्रीमतीसँग प्रचलित कानूनबमोजिम सम्बन्ध विच्छेद भएको देखिएन् । जाहेरवालीले यी प्रतिवादीहरूले बहुविवाह गरेका हुन् भनी मौकामा दिएको किटानी जाहेरी बेहोरालाई समर्थन गर्दै अदालतमा आई बकपत्रसमेत गरिदिएकी छन् । प्रतिवादी मनौवर हसनले आफ्नो धार्मिक परम्परा र ईश्लाम प्रचलनबमोजिम जेठी पत्नी जाहेरवालीलाई सम्बन्ध विच्छेद (तलाक) गरिसकेको भने तापनि यी प्रतिवादी र जाहेरवालीबिच कानूनतः सम्बन्ध विच्छेद भएको मान्न नमिल्ने र कानूनबमोजिम सम्बन्ध विच्छेद गरेको भन्ने निजको भनाइ नै रहेको देखिँदैन ।
६. यस प्रसङ्गमा विशेषत: इस्लामिक कानून (Sharia law) अन्तर्गत सम्बन्ध विच्छेदसम्बन्धी प्रचलनहरूलाई हेर्नु उपयुक्त देखियो । इस्लामिक कानूनअन्तर्गत गैरन्यायिक र न्यायिक प्रक्रियाबाट सम्बन्ध विच्छेद हुने देखिन्छ । अदालतको आदेशद्वारा हुने न्यायिक सम्बन्ध विच्छेद, पतिको तर्फबाट गरिने एकतर्फी, पत्नीको तर्फबाट गरिने एकतर्फी र पति पत्नी दुवैको सहमतिमा हुने सम्बन्ध विच्छेदका प्रचलनहरू रहेको पाइन्छ । यसमा मूलत: तलाक (Talaq), लियान (Li’an) र खुला (khula) पर्दछन् । तलाकलाई मुस्लिम सम्प्रदायमा श्रीमान्को विशेषाधिकार मानिन्छ । यसको प्रयोग एकतर्फी हुनसक्दछ । यसलाई औपचारिक वा अनौपचारिक दुवै रूपमा प्रयोग गर्न सकिन्छ । तलाकलाई मुस्लिम सम्प्रदायका सुन्नि र सिया दुवै समुदायले मान्यता दिएको पाइन्छ । यद्यपि सिया समुदायमा तलाकको प्रयोग बढी औपचारिक प्रकृतिको पाइन्छ । सिया समुदायमा तीन तलाकलाई (triple talaq) लाई मान्यता दिइँदैन भने चेतावनी अवधि (iddah) र त्यसभित्र मेलमिलापको गुन्जाइस पनि रहन्छ । मुस्लिम सम्प्रदायमा तलाकको अलावा पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने talaq–q-tafweed र Li’an र दुवैको मन्जुरीले सम्बन्ध विच्छेद गर्न सक्ने Khula र Mubarat को प्रचलन पनि पाइन्छ । भारतको सर्वोच्च अदालतले Shayara Bano vs. Union of India को मुद्दामा तीन तलाक (triple talaq) लाई स्वेच्छाचारी भनी असंवैधानिक घोषणा गरेको पाइन्छ । उक्त निर्णयपश्चात् भारतमा मुस्लिम महिला (विवाह अधिकारको संरक्षण) ऐन, २०१९ जारी गरी तलाक–ए-विद्दत (Talaq-UI-Biddat) लाई अवैध घोषणा गरी कसुरजन्य कार्यको रूपमा मानी सजायको व्यवस्था गरेको पाइन्छ ।
७. यस अवस्थामा इस्लाम सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्ध विच्छेदको सम्बन्धमा प्रचलित नेपाल कानूनले मान्यता प्रदान नगरी सबै समुदाय र सम्प्रदायलाई लागु हुने एकीकृत कानून प्रचलनमा रहेकोले तथा स्वेच्छाचारी प्रकृतिका सम्बन्ध विच्छेद जस्तै तीन तलाक (triple talaq) लाई अन्य देशहरूमा कसुरजन्य कार्य बनाइँदै गरेको अवस्थामा छरछिमेक वा समाजमा इस्लाम परम्परा र संस्कृतिअनुसार गरेको तलाक वा सम्बन्ध विच्छेदलाई कानूनले मान्यता नगरेको अवस्थामा दोस्रो विवाह गर्न छुट भएको भन्न मिल्ने देखिँदैन ।
८. तसर्थ माथि उल्लिखित आधार प्रमाणबाट यी प्रतिवादीले बहुविवाहको कसुर गरेको ठहर गरी निजलाई १ वर्ष कैद र रू.५,०००।- जरिवाना गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६९।१२।१८ मा फैसला भएको देखियो । यी पुनरावेदक प्रतिवादीका हकमा पुनरावेदन अदालत पाटनबाट भएको उक्त फैसला मिलेकै भए पनि प्रस्तुत कसुरमा सजाय निर्धारणका सम्बन्धमा मुलुकी अपराध संहिता, २०७४ ले गरेको कानूनी व्यवस्थालाई उल्लेखन गर्न सान्दर्भिक हुन्छ । यस सम्बन्धमा मुलुकी अपराध संहिता, २०७४ को दफा १७५(४) मा उक्त कसुर गर्ने वा गराउनेलाई १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजार रूपैयाँदेखि ५० हजार रूपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको पाइन्छ । यसैगरी मुलुकी ऐन, बिहाबारीको १० नं. मा "कुनै लोग्ने मानिसले आफ्नो स्वास्नी जीवित छँदै वा कानूनबमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नहुँदै अर्की महिलासँग विवाह गरेमा वा स्वास्नी राखेमा निजलाई १ वर्ष देखि ३ वर्षसम्म कैद र पाँच हजार रूपैयाँदेखि पच्चिस हजार रूपैयाँसम्म जरिवाना हुने छ । स्वास्नी मानिसले जानी जानी त्यस्तो विवाह गरेमा वा स्वास्नी भई बसेमा निजलाई पनि सोहीबमोजिम सजाय हुने छ" भन्ने कानूनी व्यवस्था रहेको देखियो । यस सन्दर्भमा फौज्दारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ मा "कुनै कसुरका सम्बन्धमा कसुर गर्दाका बखतभन्दा सजाय निर्धारण गर्दाका बखत कानूनबमोजिम घटि सजाय हुने रहेछ भने घटि सजाय हुने गरी निर्धारण गर्नुपर्ने" भनी उल्लेख भएको पाइन्छ भने केही नेपाल कानूनलाई संसोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ख) मा "कुनै कानूनअन्तर्गत कुनै अदालतमा दायर भएको कुनै फौज्दारी कसुरको मुद्दामा सजाय गर्नुपर्दा सोही कानूनबमोजिम गर्नुपर्ने छ तर कुनै फौज्दारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने" भनी प्रस्ट उल्लेख भएको देखिन्छ । यसरी साबिकको मुलुकी ऐन, बिहाबारीको महल हालको मुलुकी अपराध संहिता, २०७४ लगायत माथि उल्लिखित अन्य कानूनहरूले समेत बहुविवाहलाई कसुर कायम गरी सजायको समेत व्यवस्था गरेको देखियो । यस प्रसङ्गमा माथि उल्लिखित कानूनी व्यवस्थाहरूको सन्दर्भमा यी प्रतिवादी मनौवर हसनलाई तत्कालीन मुलुकी ऐन, बिहाबारी महलको १० नं.बमोजिम १ वर्ष कैद र रू. ५,०००।- जरिवाना गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६९।१२।१८ मा भएको फैसला अन्यथा देखिन आएन ।
९. मिसिल संलग्न प्रमाणहरू एवम् माथि विवेचित आधार, कारणबाट प्रतिवादी मनौवर हसनले यी पुनरावेदिका मीना हसनलाई दोस्रो विवाह गरेको ठहर भइसकेको र अदालतको बयानमा यी पुनरावेदिकाले आफूले मनौवरसँग दोस्रो विवाह गरेको छैन । निज चिनजानको मानिससम्म भएको भनी बयान गरेको भए पनि अनुसन्धान अधिकारीसमक्षको बयानमा प्रतिवादी मनौवर हसनले जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद गरिसकेको भनेकोले निजसँग विवाह गरेकी हुँ भनी मनौवर हसनसँग विवाह गरेको स्वीकार गरी बयान गरेको देखिएको र अदालतको बयानमा मौकाको बयान यो यस कारणले अन्यथा हो भनी पुष्टि गर्न नसकेको स्थितिमा प्रतिवादी मनौवर हसनसँग विवाह नै नगरेको हुँदा म अविवाहिता केटीलाई सामाजिक प्रतिष्ठामा आँच आउने र आर्थिक हैसियत नै परिवर्तन हुने गरी प्रतिवादी मनौवर हसनसँग विवाह गरेको भनी पति पत्नीको नाता कायम हुने गरी बहुविवाह गरेको ठहर्याएको पुनरावेदन पाटनको फैसला मिलेको नहुँदा सो हदसम्म बदर उल्टी गरिपाउँ भन्ने यी पुनरावेदिका प्रतिवादीको पुनरावेदन जिकिर तथ्यसङ्गत नभई मनासिब नदेखिँदा इजलास सहमत हुन सकेन ।
१०. अतः माथि प्रकरण प्रकरणमा उल्लिखित आधार कारणवाट प्रतिवादी मनौवर हसनलाई १ वर्ष कैद र रू.५,०००।- जरिवाना तथा अर्का प्रतिवादी मिना हसनलाई अभियोग दाबीबाट सफाइ दिने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६९।१२।१८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरू मनौवर हसन र मिना हलुवाई दुवैको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको विद्युतीय प्रति यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. टंकबहादुर मोक्तान
इजलास अधिकृत : मनोज बराल / लक्ष्मी राना
इति संवत् २०७९ साल चैत्र २६ गते रोज १ शुभम् ।