निर्णय नं. ११३३७ - आयकर (०६५ / ६६)

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कुमार रेग्मी
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७९।१०।१६
०७४-RB-०००३
मुद्दाः आयकर (०६५ / ६६)
पुनरावेदक / विपक्षी : ठुला करदाता कार्यालय, हरिहरभवन, ललितपुरको तर्फबाट ऐ. कार्यालयका प्रमुख कर प्रशासक जगदीश रेग्मी
विरूद्ध
प्रत्यर्थी / निवेदक : काठमाडौं जिल्ला, सतुंगल स्थित श्री एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि.
कम्पनीले आफ्नो व्यवसाय प्रवर्द्धनको लागि training, seminar र conference सञ्चालन गर्न कानूनले निषेध गरेको पाइँदैन र व्यावसायिक सशक्तीकरणको लागि व्यवसायको प्रवर्द्धन अपरिहार्य रहेको मान्नुपर्ने । कुनै कानूनले व्यवसाय प्रवर्द्धनसम्बन्धी गतिविधिलाई निषेध नगरेको र आर्थिक ऐनले व्यवसाय प्रवर्द्धनको लागि training, seminar र conference सञ्चालनमा खपत भएका सामग्रीहरू पनि आकस्मिक लाभअन्तर्गत पर्ने भन्ने उल्लेख नगरेको अवस्थामा कर कार्यालयले दाबी लिएको आधारमा मात्र उक्त विषयलाई आकस्मिक लाभको विषय मान्न नमिल्ने । आर्थिक ऐन, २०६५ को दफा १७ ले कुनै चिठ्ठा, उपहार, पुरस्कार, जितौरी तथा अन्य कुनै पनि माध्यमबाट कुनै व्यक्तिलाई नियमित तवरले नभई आकस्मिक तवरले लाभ प्राप्त भएको हुनुपर्ने । Training, seminar र conference सञ्चालनमा खपत भएका सामग्री आफैँमा कुनै लाभ हो भन्न मिल्ने पनि देखिँदैन भने उक्त कार्यमा को कुन व्यक्तिले के कुन लाभ प्राप्त गर्यो भन्ने पनि खुल्न सकेको नदेखिने ।
(प्रकरण नं.४)
पुनरावेदक / विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली
प्रत्यर्थी / निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री तुलसी भट्ट र विद्वान् अधिवक्ता श्री नारायण नेपाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
आर्थिक ऐन, २०६५
सुरू तहमा निर्णय गर्ने निकाय :
महानिर्देशक, श्री टंकमणि शर्मा
ठुला करदाता कार्यालय, हरिहर भवन, ललितपुर
पुनरावेदन तहमा फैसला गर्ने निकाय :
अध्यक्ष, श्री दिपक कुमार कार्की
लेखा सदस्य, श्री भोलाप्रसाद खकुरेल
राजस्व सदस्य, यज्ञबल्क उपाध्याय
राजस्व न्यायाधिकरण, काठमाडौं
फैसला
न्या. कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ तथा राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:-
तथ्य खण्ड
करदाता एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि.ले आ.व.२०६५/०६६ को आय विवरण आयकर ऐन, २०५८ को दफा ९९ बमोजिम कर निर्धारण गरी सोही ऐनको दफा ९६ अनुसार करयोग्य नोक्सानी रू.५०,०९,७५०।– (पचास लाख नौ हजार सात सय पचास रूपैयाँ) कायम गरी ठुला करदाता कार्यालय, ललितपुरमा मिति २०६६।०९।३० मा पेस गरेका रहेछन् ।
प्रस्तुत करदाताको यस आ.व.२०६५।०६६ को सम्बन्धमा आयकर ऐन, २०५८ बमोजिम कट्टी गर्न नपाउने खर्चहरू दाबी भएको र व्यवसायको मुनाफा र लाभतर्फ गणना हुनुपर्ने रकम समावेश भएको नदेखिएकोले सोही ऐनको दफा १०१ बमोजिम संशोधित करयोग्य नोक्सानी कायम गर्नुपर्ने भएको हुँदा सोबमोजिम गर्न नपर्ने कुनै ठोस सबुद प्रमाण भए पत्र प्राप्त भएको मितिले १५ दिनभित्र पेस गर्न आयकर ऐन, २०५८ को दफा १०१ (६) बमोजिम करदाताका नाममा ठुला करदाता कार्यालय, ललितपुरबाट मिति २०६८।०३।०१ मा जारी गरेको र पुनः फ्याक्समार्फत मिति २०६८।०३।०९ मा बुझाएको संशोधित कर निर्धारणको सूचना ।
सो सूचनाबमोजिम संशोधित आय कायम गर्न नमिल्ने बेहोरा अनुरोध गर्दै बुँदागत रूपमा आफ्ना जिकिरहरूसाथ करदाताले ठुला करदाता कार्यालय, ललितपुरमा पेस गरेको मिति २०६८।०३।२३ को जवाफ ।
करदाताले आ.व.२०६५।०६६ को लागि मिति २०६६।०९।३० मा पेस गरेको आय विवरणसाथ संलग्न वासलात तथा नाफा / नोक्सान हिसाब परीक्षणको सिलसिलामा उपलब्ध भएसम्मका कागजात, फाँटवारी तथा प्रमाणहरू, त्यहाँको जिकिर आदिसमेतलाई अध्ययन, छानबिन तथा परीक्षण गर्दा आयकर ऐन, २०५८ बमोजिम समावेश गर्नुपर्ने आय समावेश नभएको / कट्टी गर्न नपाइने खर्च दाबी भएको देखिएकोले सोही ऐनको दफा १०१ बमोजिम संशोधित कर निर्धारण गर्न उक्त आ.व. को लागि रू.४१,६४,७७४।– (एकचालिस लाख चौसठ्ठी हजार सात सय चौहत्तर रूपैयाँ) करयोग्य नोक्सानी कायम हुने ठहर्छ भन्नेसमेत बेहोराको ठुला करदाता कार्यालयबाट मिति २०६८।०३।२९ मा भएको निर्णय । सोबमोजिम ठुला करदाता कार्यालयबाट करदाताको नाममा संशोधित कर निर्धारणको सूचना सोही मिति २०६८।०३।३१ मा जारी गरेको । उक्त निर्णयउपर चित्त नबुझाई करदाताले प्रशासकीय पुनरावलोकनको लागि आन्तरिक राजस्व विभागमा मिति २०६८।०५।२३ मा दिएको निवेदन ।
निवेदकको निवेदन, कार्यालयको प्रतिक्रिया तथा फाइल संलग्न कागजातका आधारमा व्यवसाय प्रवर्द्धनसम्बन्धी खर्च, बिक्री प्रवर्द्धन खर्च, आकस्मिक लाभ करसम्बन्धी खर्च, Employee welfare अन्तर्गतको खर्च र प्रशासनिक खर्चअन्तर्गत Travelling, vehicle running and conveyance सम्बन्धी खर्च सम्बन्धमा लिएको निवेदकको जिकिर कानूनसम्मत रहेको नदेखिँदा खारेज हुने ठहर्छ भन्नेसमेत बेहोराको आन्तरिक राजस्व विभागबाट मिति २०६९।०२।३१ मा भएको निर्णय ।
देहायका शीर्षकमा उल्लिखित खर्च रकमहरू आयमा समावेश गर्ने र खर्च कट्टी नदिने गरी भएको ठुला करदाता कार्यालय, ललितपुरको निर्णय तथा सोलाई सदर गर्ने गरेको आन्तरिक राजस्व विभागको मिति २०६८।०५।०५ को निर्णय बदर गरिपाउँ भनी करदाता करदाता एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि. को तर्फबाट राजस्व न्यायाधिकरणमा दायर भएको पुनरावेदन पत्र ।
Staff Welfare Expenses रू.५,४७,७१५।-
Auxiliary Materials सम्बन्धी खर्च रू.४१,२५५।-
भ्रमण खर्च रू.१,२६,८७४।-
Travelling, vehicle running and conveyance सम्बन्धी खर्च रू.८,६४०।-
अतिथि सत्कार खर्च रू.१,२०,४९२।-
अग्रिम करतर्फ व्यवसाय प्रवर्द्धन खर्च
रू.५२,०४,२१५।-
अग्रिम करतर्फ ब्याज रकम रू.९,८९३।-
प्रचार प्रसार र बिक्री वितरण गर्न निमित्त भएको खर्चमा कर कट्टी नगरेको भनी कर माग गर्ने गरी सुरू कार्यालयले गरेको निर्णय फरक पर्न सक्ने अवस्था हुँदा अ.बं. २०२ नं.बमोजिम सरकारी वकिल, आन्तरिक राजस्व विभागलाई, पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने बेहोराको राजस्व न्यायाधिकरणबाट मिति २०६९।११।१३ मा भएको आदेश ।
ठुला करदाता कार्यालय, ललितपुरको मिति २०६८।०३।२९ को निर्णय र सोलाई सदर गर्ने गरेको आन्तरिक राजस्व विभागको मिति २०६९।०२।३१ को निर्णयमा अग्रिम कर कट्टीअन्तर्गत व्यवसाय प्रवर्द्धन शीर्षकतर्फको खर्च सम्बन्धमा भएको निर्णय मिलेको नदेखिँदा सो हदसम्म उल्टी हुने ठहर्छ । स्टार वेलफेयर एक्सपेन्सेस, अक्जिलरी मेटरियल्स, भ्रमण खर्च, ट्राभलिङ भेहिकल रनिङ एण्ड कन्भेयन्स, अतिथि सत्कार खर्च तथा अग्रिम कर कट्टीतर्फ ब्याज रकमसम्बन्धी निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ । सो सम्बन्धमा पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको राजस्व न्यायाधिकरण, काठमाडौंबाट मिति २०७०।०९।०४ मा भएको फैसला ।
प्रस्तुत मुद्दामा उक्त प्रा.लि. ले यस आ.व. मा बिक्री तथा वितरण खर्चअन्तर्गत Sales Promotion, CME and Training Expenses अन्तर्गत व्यवसाय प्रवर्द्धन शीर्षकतर्फ भएको खर्च दाबी गरेकोमा कर लेखा परीक्षणको क्रममा दाबी खर्चसँग सम्बन्धित लेजर, बिल, तथा कागजात आदिको परीक्षण गर्दा विभिन्न किसिमका जिन्सी सामानहरू जस्तैः टि.भि., रेफ्रिजेरेटर, क्यामरा, कम्प्युटर आदिको खरिद गरी बिक्री प्रवर्द्धनमा संलग्न भनिएका व्यक्तिहरूलाई वितरण गरेको पाइयो । यस सम्बन्धमा आर्थिक ऐन, २०६५ को दफा १७ बमोजिम आ.व.२०६५/६६ मा चिट्ठा, उपहार, पुरस्कार, जितौरी तथा अन्य कुनै आकस्मिक लाभबापतको नगद भुक्तानीकै अवस्थामा भुक्तानीकर्ताले भुक्तानी रकमको २५ प्रतिशतका दरले आकस्मिक लाभ कर कट्टी गरी १५ दिनभित्र आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोले उल्लिखित व्यवसाय प्रवर्द्धन शीर्षकतर्फको खर्च भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्ने देखिँदा राजस्व न्यायाधिकरण, काठमाडौंबाट भएको फैसला राजस्व न्यायाधिकरण ऐन, २०१ को दफा ८ बमोजिम त्रुटिपूर्ण भएकोले साबिककै कर निर्धारण आदेशबमोजिम गरी पाउने प्रयोजनार्थ प्रस्तुत मुद्दा दोहोर्याई हेरी पाउने अनुमति पाउँ भन्नेसमेत बेहोराको ठुला करदाता कार्यालय हरिहर भवन, ललितपुरको तर्फबाट यस अदालतमा दायर भएको निवेदन ।
राजस्व न्यायाधिकरण काठमाडौंबाट पुरावेदन नं. ९७-०६७-०००६० को आयकर (आ.व. २०६५/०६६) मुद्दामा मिति २०७०।०९।०४ गतेमा फैसला भएको मिसिल झिकाई नियमानुसार पेस गर्नु भन्ने बेहोराको यस अदालतबाट मिति २०७३।०४।०६ मा भएको आदेश ।
यसमा टेलिभिजन, कम्प्युटर, वासिङ मेसिन, रेफ्रिजेरेटर, दराज जस्ता सामानमा खर्च गरेको भनिएको रकमसमेत पर्ने गरी व्यवसाय प्रवर्द्धन खर्च देखाएको पाइयो । आर्थिक ऐन, २०६५ को दफा १७ बमोजिम आकस्मिक लाभ कट्टा गर्नुपर्नेमा सो कट्टा गरेको देखिएन । आकस्मिक लाभ कट्टा गर्नुपर्ने नपर्ने भन्ने कानूनी प्रश्नमा राजस्व न्यायाधिकरण काठमाडौंको मिति २०७०।९१४ को फैसलामा व्याख्यात्मक त्रुटि देखिँदा राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(घ) बमोजिमको अवस्था विद्यमान देखिएकाले निवेदन मागबमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ । अरू कानूनबमोजिम गर्नु भन्ने बेहोराको यस अदालतबाट मिति २०७४।०४।०८ मा भएको आदेश ।
कम्पनीले आफ्नो व्यवसाय प्रवर्द्धन गर्न विभिन्न समय र स्थानमा डिलर, डाक्टरसमेतलाई आह्वान गरी वा सञ्चालित त्यस्ता Training र Conference को Sponsorships गर्ने गरेको हुन्छ । औषधी उद्योगले औषधीको प्रचार प्रसार गर्न यस्ता Training दिने र Conference गर्न आवश्यक हुन्छ । त्यस्ता Training र Conference मा Training Materials को रूपमा आवश्यक पर्ने विभिन्न किसिमका उपकरणहरू उपलब्ध गराउनुपर्ने हुन्छ । त्यस्ता Training Materials को अभावमा त्यस्ता प्रोग्राम सञ्चालन गर्न पनि सकिँदैन । यस्तो विभिन्न ठाउँमा र समयमा Training सञ्चालन हुँदा Digital Camera, Co-speaker, D-Link DSL २६४०T, Flash card, Ethernet port & USB, Minidisk Top, Movies HOD, Store jet, Speaker, Co-Speaker, DVD, Jet flash, Flash card (pen drive) Module Jm ६६७, Computer speaker, Welcome, Screen filter, D Link, Speaker Sp, Transcend Micro, Transcend store jet, transcend CF, Webcam, Alkaline Battery, Transcend Sd card, Beng Projector, Transcend SDCH Card, Transcend Micro SDHC Card समेतको प्रयोग हुन्छ । उद्योगद्वारा उत्पादित औषधीको गुण, प्रयोग विधिबारे प्रचार प्रसार गर्न तथा प्राविधिक जस्तैः डाक्टर तथा सेमिनारमा सहभागी अन्यहरूलाई जानकारी गराउन Pen drive, Leaflet, जस्ता Demonstrations का लागि कम्प्युटर र अन्य उपकरणहरू उपलब्ध गराउनुपर्दछ । उक्त वस्तुहरूमा गरिएका खर्चबाट कम्पनी र कम्पनीको औषधीको व्यापार प्रवर्द्धन भएको छ । व्यवसाय उद्योगद्वारा उत्पादित औषधीको बिक्री तथा व्यवसाय प्रवर्द्धन गर्नको निमित्त उक्त खर्चले गर्दा कम्पनीबाट उत्पादित औषधीको सार्वजनिक रूपमा प्रचार प्रसार र बिक्री प्रवर्द्धन भएको छ । औषधी उद्योगले उक्त खर्चहरू अनिवार्य रूपमा गर्नुपर्ने र उद्योगबाट उत्पादित मेडिसिनको प्रचार प्रसार गर्नु र व्यवसाय प्रवर्द्धन गर्नु नितान्त आवश्यक हुन्छ । माथि उल्लिखित उपकरण तथा प्रचार प्रसार सामग्री कुनै व्यक्तिलाई उपलब्ध नगराई ट्रेडिङ तथा सेमिनार मा उपस्थित समूहका लागि उपलब्ध गराइएकोले यस्तो प्रकृतिको खर्चमा अग्रिम कर उठाउन मिल्ने अवस्था हुँदैन, र यस्तो प्रकृतिको खर्च अग्रिम करयोग्य भुक्तानी पनि होइन । यसरी प्रचार प्रसार र बिक्री प्रवर्द्धन गर्न निमित्त गरिएको खर्चलाई आकस्मिक लाभ भन्न मिल्दैन । हामीले गरेको उक्त खर्चबाट कसैलाई पनि आकस्मिक लाभ भएको हुँदैन, यो आकस्मिक लाभको विषय पनि होइन । यस्तो प्रकृतिको खर्चमा करकट्टी गर्न व्यावहारिक र कानूनी दृष्टिकोणले पनि उचित नहुने हुँदा राजस्व न्यायाधिकरण काठमाडौंबाट भएको फैसलामा राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(घ) को कुनै पनि त्रुटि नभएको हुँदा राजस्व न्यायाधिकरण काठमाडौंबाट मिति २०७०।०९।०४ भएको फैसला सदर गर्ने गरि फैसला गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि.को तर्फबाट यस अदालतमा पेस भएको लिखित प्रतिवाद ।
ठहर खण्ड
नियमानुसार पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत पुनरावेदन पत्रसहितको मिसिल संलग्न कागजातहरूको अध्ययन गरी पुनरावेदक ठुला करदाता कार्यालय हरिहरभवन ललितपुरको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवालीले एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि. यस आर्थिक वर्षमा आफ्नो व्यवसाय प्रवर्द्धन शीर्षकअन्तर्गत विभिन्न किसिमका जिन्सि सामानहरू जस्तैः टि.भि., रेफ्रिजेरेटर, क्यामरा, कम्प्युटर आदिको खरिद गरी बिक्री प्रवर्द्धनमा संलग्न भएका व्यक्तिहरूलाई वितरण गरेको र आर्थिक ऐन, २०६५ अनुसार आकस्मिक लाभबापतको नगद भुक्तानीकै अवस्थामा भुक्तानीकर्ताले भुक्तानी रकमको २५ प्रतिशतका दरले आकस्मिक लाभ कर कट्टी गरी १५ दिनभित्र आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने भन्ने व्यवस्था भएको र उक्त व्यवस्थाबमोजिम एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि.ले उक्त आकस्मिक लाभबापतको कर भुक्तान नगरेको अवस्थामा समेत अग्रिम कर कट्टी गर्नु नपर्ने गरी राजस्व न्यायाधिकरण, काठमाडौंबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी साबिककै कर निर्धारण आदेशबमोजिम गरिपाउँ भनी तथा प्रत्यर्थी एस.आर. ड्रग ल्याबरेटोरिज प्रा.लि.को तर्फबाट उपस्थित हुनुभएको विद्वान् वरिष्ठ अधिवक्ता श्री तुलसी भट्ट र विद्वान् अधिवक्ता श्री नारायण नेपालले उद्योगद्वारा उत्पादित औषधीको गुण, प्रयोग विधिबारे प्रचार प्रसार गर्न तथा प्राविधिक डाक्टर तथा सेमिनारमा सहभागीहरूलाई जानकारी गराउन कम्प्युटर र अन्य उपकरणहरू उपलब्ध गराउनुपर्ने र उक्त कार्य आकस्मिक लाभको विषय नभएर पूर्णत: उद्योगद्वारा उत्पादित औषधीको बिक्री तथा व्यवसाय प्रवर्द्धन गर्नको निमित्त भएको हुँदा राजस्व न्यायाधिकरण काठमाडौंबाट भएको फैसला सदर गरिपाउँ भनी गर्नुभएको वहससमेत सुनियो ।
उल्लिखितबमोजिमको तथ्य एवं विद्वान् कानून व्यवसायीहरूको वहस रहेको प्रस्तुत मुद्दामा राजस्व न्यायाधिकरण काठमाडौंबाट मिति २०७०/०९/०४ मा भएको फैसला मिलेको छ वा छैन तथा पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
यसमा करदाता एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि.ले आ.व.२०६५।०६६ को कर निर्धारण गरी करयोग्य नोक्सानी रू.५०,०९,७५०।– (पचास लाख नौ हजार सात सय पचास रूपैयाँ) कायम गरी ठुला करदाता कार्यालय, हरिहरभवन, ललितपुरमा पेस गरेकोमा करदाताको आ.व.२०६५।०६६ को करयोग्य नोक्सानी रू.४१,६४,७७४।– (एकचालिस लाख चौसठ्ठी हजार सात सय चौहत्तर रूपैयाँ) निर्धारण गर्ने गरी ठुला करदाता कार्यालय, हरिहरभवनबाट मिति २०६८/०३/२९ मा संशोधित कर निर्धारणको निर्णय भएको देखिन्छ । ठुला करदाता कार्यालयको निर्णयमा चित्त नबुझाई करदाता एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि.ले प्रशासकीय पुनरावलोकनका लागि आन्तरिक राजस्व विभागमा निवेदन दिएकोमा निवेदकको जिकिर कानूनसम्मत नरहेको भन्दै निवेदन खारेज गरेको पाइन्छ । सोउपर करदाता एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि.ले पुन: राजस्व न्यायाधिकरणमा पुनरावेदन गरेकोमा आन्तरिक राजस्व विभागबाट मिति २०६९/०२/३१ मा भएको निर्णय अग्रिम कर कट्टीअन्तर्गत व्यवसाय प्रवर्द्धन शीर्षकतर्फको खर्च सम्बन्धमा भएको निर्णय सो हदसम्म उल्टी हुने तथा स्टार वेलफेयर एक्सपेन्सेस, अक्जिलरी मेटरियल्स, भ्रमण खर्च, ट्राभलिङ भेहिकल रनिङ एण्ड कन्भेयन्स, अतिथि सत्कार खर्च तथा अग्रिम कर कट्टीतर्फ ब्याज रकमसम्बन्धी निर्णय सदर हुने ठहर गरी राजस्व न्यायाधिकरण काठमाडौंबाट मिति २०७०/०९/०४ मा फैसला भएको देखिन्छ । राजस्व न्यायाधिकरणबाट भएको फैसलामा करदाता एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि. चित्त बुझाई बसे पनि ठुला करदाता कार्यालयले चित्त नबुझाई यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेकोमा यस अदालतबाट मिति २०७४/०४/०८ मा पुनरावेदनको अनुमति प्रदान भई पेस हुन आएको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा ठुला करदाता कार्यालयले यस अदालतमा पुनरावेदन गर्दा आर्थिक ऐन, २०६५ को दफा १७ बमोजिम चिट्ठा, उपहार, पुरस्कार, जितौरी तथा अन्य कुनै आकस्मिक लाभबापतको नगद भुक्तानीकै अवस्थामा भुक्तानीकर्ताले भुक्तानी रकमको २५ प्रतिशतका दरले आकस्मिक लाभ कर कट्टी गरी १५ दिनभित्र आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने भन्ने व्यवस्थाबमोजिम व्यवसाय प्रवर्द्धन शीर्षकतर्फको खर्च भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्ने विषयमा मात्र पुनरावेदन गरेको देखिँदा सोही विषयमा सीमित रहेर निर्णय दिनुपर्ने देखियो ।
३. उल्लिखित सन्दर्भमा आर्थिक ऐन, २०६५ को दफा १७ को कानूनी प्रावधान हेर्दा "आर्थिक वर्ष २०६५ / ०६६ मा चिठ्ठा, उपहार, पुरस्कार, जितौरी तथा अन्य कुनै पनि आकस्मिक लाभबापतको नगद भुक्तानीमा र जिन्सी भए प्रचलित बजार मूल्य कायम गरी सोबापत हुने भुक्तानीमा भुक्तानीकै अवस्थामा भुक्तानीकर्ताले भुक्तानी रकमको २५ प्रतिशतका दरले आकस्मिक लाभ करकट्टी गरी १५ दिनभित्र आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने छ" भन्ने उल्लेख भएको देखिन्छ । अब प्रत्यर्थी एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि.ले आफ्नो व्यवसाय प्रवर्द्धन गर्न भनी विभिन्न Training, seminar र conference लगायतको सिलसिलामा प्रयोग गरेको Teaching materials, television, computer लगायतको सामग्रीहरू आर्थिक ऐन, २०६५ को दफा १७ अन्तर्गतको आकस्मिक लाभबापतको नगद भुक्तानीमा र जिन्सीअन्तर्गत पर्छ वा पर्दैन भनी हेर्नुपर्ने देखियो । उल्लिखित कानूनी प्रावधानले प्रस्ट रूपमा चिठ्ठा, उपहार, पुरस्कार, जितौरी तथा अन्य कुनै पनि माध्यमबाट कुनै व्यक्तिलाई प्राप्त हुने आकस्मिक लाभलाई इङ्गित गरेको देखिन्छ भने प्रस्तुत विवादमा प्रत्यर्थी करदाता एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि.ले प्रयोग गरेको सामग्री कुनै आकस्मिक लाभको माध्यमबाट प्राप्त सामग्री भएको नभएर उक्त कार्यालयले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्ने प्रयोजनार्थ सञ्चालन गरेको Training, seminar र conference लगायतको सिलसिलामा खपत भएको जिन्सी सामग्रीहरू रहे भएको पाइन्छ ।
४. कम्पनीले आफ्नो व्यवसाय प्रवर्द्धको लागि Training, seminar र conference सञ्चालन गर्न कानूनले निषेध गरेको पाइँदैन र व्यावसायिक सशक्तीकरणको लागि व्यवसायको प्रवर्द्धन अपरिहार्य रहेको मान्नुपर्ने हुन्छ । कुनै कानूनले व्यवसाय प्रवर्द्धनसम्बन्धी गतिविधिलाई निषेध नगरेको र आर्थिक ऐनले व्यवसाय प्रवर्द्धनको लागि Training, seminar र conference सञ्चालनमा खपत भएका सामग्रीहरू पनि आकस्मिक लाभअन्तर्गत पर्ने भन्ने उल्लेख नगरेको अवस्थामा कर कार्यालयले दाबी लिएको आधारमा मात्र उक्त विषयलाई आकस्मिक लाभको विषय मान्न मिल्ने देखिँदैन । आकस्मिक लाभको निश्चित आधारहरू रहेको बेहोरा कानूनमा नै उल्लेख भएको देखिन्छ । जसमा कुनै चिठ्ठा, उपहार, पुरस्कार, जितौरी तथा अन्य कुनै पनि माध्यमबाट कुनै व्यक्तिलाई नियमित तवरले नभई आकस्मिक तवरले लाभ प्राप्त भएको हुनुपर्ने देखिन्छ । Training, seminar र conference सञ्चालनमा खपत भएका सामग्री आफैँमा कुनै लाभ हो भन्न मिल्ने पनि देखिँदैन भने उक्त कार्यमा को कुन व्यक्तिले के कुन लाभ प्राप्त गर्यो भन्ने पनि खुल्न सक्ने देखिँदैन । तसर्थ एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि.ले आफ्नो व्यवसाय प्रवर्द्धन हेतु सञ्चालन गरेको Training, seminar र conference मा खपत भएको सामग्री आर्थिक ऐन, २०६५ को दफा १७ ले उल्लेख गरेको आकस्मिक लाभअन्तर्गतको वस्तुहरू नभएको भन्दै उल्लिखित वस्तुहरूमा ठुला करदाता कार्यालय, हरिहरभवन, ललितपुर तथा आन्तरिक राजस्व कार्यालयले अग्रिम कर कट्टी गर्नुपर्ने भनी गरेको निर्णय बदर गर्ने गरी राजस्व न्यायाधिकरणले गरेको फैसला मिलेको देखिन आयो ।
५. अत: माथि विवेचित आधार र कारणसमेतबाट प्रत्यर्थी एस.आर.ड्रग ल्याबरेटोरिज प्रा.लि.ले आफ्नो व्यवसायको प्रवर्द्धको सिलसिलामा सञ्चालन गरेको Training, seminar र conference प्रयोग भएका सामग्रीमा अग्रिम कट्टी गर्ने गरी ठुला करदाता कार्यालय, हरिहरभवन, ललितपुरबाट मिति २०६८/०३/२९ मा भएको निर्णय सदर गर्ने गरी आन्तरिक राजस्व विभागबाट मिति २०६९/०२/३१ मा भएको फैसला उल्टी हुने ठहर गरी राजस्व न्यायाधिकरणबाट मिति २०७०/०९/०४ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक ठुला करदाता कार्यालय हरिहरभवन ललितपुरको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. हरिप्रसाद फुयाल
इजलास अधिकृत: रंजना विश्वकर्मा
इति संवत् २०७९ माघ १६ गते रोज २ शुभम् ।