शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३३८ - करारका सर्त पूरा गर्न ताला खोली बाटो खोली पाऊँ ।

भाग: ६६ साल: २०८१ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कुमार रेग्मी

माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा

फैसला मिति : २०८०।०६।०२

०७३-CI-०२५९

 

मुद्दाः- करारका सर्त पूरा गर्न ताला खोली बाटो खोली पाऊँ ।

 

पुनरावेदक / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.११ स्थित हरिशरणम् स्टोर्स प्रा.लि. चाइनाटाउनमा व्यापार गरी बस्ने हरिशरणम् स्टोर प्रा.लि. का सञ्चालक हरिप्रसाद शर्मा आचार्य

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : हस्तमान सुनुवारको छोरा, काठमाडौं जिल्ला, कपन गा.वि.स. वडा नं.३ बस्ने दिपककुमार सुनुवारसमेत

 

कुनै सम्झौता वा करार, करारका पक्षहरूबाट भएको थियो वा थिएन भन्ने विषयको समाधान गर्न त्यस सम्झौता वा करारको वैधानिकता परीक्षण गर्नुपर्ने । यस्तोमा पहिलो प्रमाण भनेकै सम्झौता वा करारको सक्कल प्रति हुने । यदि सक्कल प्रति अदालतमा प्रस्तुत गर्दा पनि विवाद समाधान हुन नसके त्यस सम्झौता वा करारमा रहेको पक्षहरूको सहीछाप, ल्याप्चे परीक्षणबाट विवादको समाधान गर्नुपर्ने । त्यस्तै सम्झौता वा करार गर्दा साक्षीहरू राखिएको भए साक्षी झिकाई वास्तविकता बुझ्नुपर्ने वा कुनै सरकारी कार्यालयमा गई पक्षहरूले सम्झौता वा करार प्रमाणित गराएको भए प्रमाणित गराएको कार्यालयबाट अधिकारिकता जाँचबाट मात्र सम्झौता भएको हो वा होइन भन्न सक्ने अवस्था रहने ।

(प्रकरण नं. ५)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री डिल्लीप्रसाद पौडेल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री श्याम खरेल तथा अधिवक्ताद्वय श्री उज्ज्वल घिमिरे र श्री युवक कुमार गौतम

अवलम्बित नजिर :

सम्बद्ध कानून :

करार ऐन, २०५६ 

प्रमाण ऐन, २०३१ 

 

सुरू तहमा फैसला गर्नेः

मा.जि.न्या.श्री चिन्तामणी बराल

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा.न्या.श्री बाबुराम रेग्मी

मा.न्या.श्री हरिप्रसाद बंगाले

तत्कालीन पुनरावेदन अदालत पाटन

 

फैसला

 न्या. कुमार रेग्मी : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-

 

तथ्य खण्ड

म निवेदक फिरादी चाइनाटाउन कम्प्लेक्सअन्तर्गत पसल कबल नं.१०१, १०२, १५६, १५७ र १५८ को क्षेत्रफल प्र.लि. स्टल ११२.५० x ५=१०६२.५० वर्ग फिटको पसलधनी हरिशरणम् स्टोरको सञ्चालक हुँ । उक्त पसल कबलको दर्तावाला विष्णुलाल श्रेष्ठ र सविना कर्माचार्यबाट २०७२ सालसम्मका लागि पसल चलाउन पाउने गरी किटानी अधिकार पाएको छु । म फिरादीले माथि उल्लिखित पसल कबलहरू बहालमा लिएपश्चात् उक्त कम्प्लेक्समा स्वतः उपलब्ध हुनुपर्ने मेरो पसलको रूपमा रहने सटरहरू भोग चलन गर्न पाउनुपर्ने मेरो कानूनी अधिकार हो, यसरी मैले सञ्चालन गर्ने पसल कबलका बाहिरी सटरहरू नै मेरो व्यवसायको मेरूदण्ड हो । उक्त मूल सटर ढोकासम्म र ढोकाभित्र प्रवेश गर्न पाउनु मेरो तथा मेरो ग्राहक तथा परिवारसमेतको कानूनी अधिकार हो । मैले बहालमा लिएको पसलहरू चाइना टाउन कम्प्लेक्सको पहिलो तल्लामा पर्दछ । उक्त पसलहरूमा छिर्ने मूल सटर बाटोसँग जोडिएको भई उक्त सटर र बाटो एकआपसमा सम्बन्धित भई बाटो र सटरबिना व्यापारको कल्पनासम्म गर्न सकिँदैन । यस्तो अवस्थामा मेरो पसलहरूमा प्रवेश गर्ने मूल सटरमा विपक्षीमध्ये दिपककुमार सुनुवार भन्ने व्यक्तिले २ वटा ताला जबरजस्ती लगाइदिएकोले मेरो पसल कबलहरूमा विपक्षीले लगाएको ताला खोली मूल बाटोबाट मेरो पसलहरूमा म मेरो परिवार एवम् ग्राहकसमेत आवतजावत गर्ने कार्यका लागि बाटो खुलाई चलन चलाई मेरो पसल स्टलहरूमा काटिदिएको बिजुलीको लाइनसमेत जोडिपाऊँ । साथै विपक्षीहरूलाई सजायसमेत गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६७।०५।२९ मा हरिप्रसाद शर्मा आचार्यले जिल्ला अदालत काठमडौंमा दायर गरेको फिराद ।

विपक्षीले मलाई चाइना टाउन सपिङ तथा अफिस व्यवस्थापन समितिको प्रबन्धक भनेर विपक्षी बनाउनु भएकोमा मैले उक्त कम्प्लेक्सको प्रबन्धकबाट राजीनामा गरिसकेको छु । विपक्षीले दाबी गरेअनुसारको बन्द गर्ने कार्य हामीले गरेको नभई विपक्षी स्वयंले कम्प्लेक्सको प्यासेजको जम्मा क्षेत्रफल ६ x ५३.६०-३२१ मा ताला लगाई व्यापार गर्ने कुनियत मनसाय राखी सटर कबल बनाउनु भएको हो । यसउपर विपक्षीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिई कारबाही भइरहेको छ । साथै विपक्षीले सोही विषयमा काठमाडौं जिल्ला अदालतमा लुटपिट क्षतिपूर्ति मुद्दा दर्ता गराएकोमा दाबी नपुग्ने ठहर फैसला भएको छ । तसर्थ झुठा मुद्दा खारेज गरिपाऊँ । उक्त चर्चिल कम्प्लेक्समा सबै कोठाको सटर मात्र छ । कुनै पनि कोठाको मूल गेट छैन र ग्राहक हिँड्ने प्यासेज मात्र छ । प्रत्येक कोठा २१२.५० वर्ग फिटको मात्र छ । निजको पसलमा पूर्वतिर तीन कोठा र ६ सटर तथा पश्चिमतर्फ २ कोठा र ४ सटर छ । जसमा कुनै गेट नै छैन । जुन कुरा नक्साबाट समेत प्रस्ट देखिन्छ । झुठा फिराद खारेजभागी छ भन्नेसमेत बेहोराको प्रतिवादी दिपककुमार सुनुवारले सुरू अदालतमा पेस गरेको प्रतिउत्तर ।

विपक्षीले उल्लेख गरे जस्तो मैले विपक्षीको पसल कबलमा ताला लगाई बन्द गर्ने कार्य गरेको छैन । विपक्षी आफैँले सार्वजनिक प्यासेजलाई घेरी पसल कबल बनाई करार उल्लङ्घन गरेका छन् । सो सटर कबलमा मैले ताला लगाएको नभई निज विपक्षी स्वयंले ताला लगाएको हो भन्ने जानकारी व्यवस्थापनबाट पाएको हुँ । मैले विपक्षीलाई व्यापार व्यवसायमा हानि नोक्सानी हुने कार्य गरेको छैन । विपक्षीले कम्प्लेक्सको नियमविपरीत सार्वजनिक आवागमनलाई रोक्ने र सो स्थानमा व्यापार गर्ने कुचेष्टा गरी कम्प्लेक्सको प्यासेजमा सटर कबल बनाएकोले त्यस्तो नगर्न पसल कबलधनी, व्यापार व्यवसायीहरू सबैले सम्झाउने प्रयास गरेको हो । पसल धनीले कम्प्लेक्सको हितविपरीत कम्प्लेक्सको सर्वसाधारण हिँड्ने प्यासेजमा सटर लगाउन नपाउने हुँदा फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विष्णुलाल श्रेष्ठले सुरू अदालतमा पेस गरेको प्रतिउत्तर । 

म सविना कर्माचार्यले निज हरिप्रसाद शर्मासँग भाडा सम्झौता गरी उक्त सटरहरू मिति २०६५।१२।३० सम्मलाई मात्र दिएको र प्रतिसटर २१२.५० वर्गफिट क्षेत्रफलमा मात्र पसल राखी सञ्चालन गर्न पाउने गरी करार सम्झौता भएको हो । हाल निजको करार अवधि समाप्त भई म तथा मेरो बुबाले उपर्युक्त पसल कबल खाली गर्न बारम्बार मौखिक तथा लिखित आग्रह गर्दासमेत निजले हालसम्म सटर कबल खाली नगरी उल्टै किर्ते  करार खडा गरेका छन् । मैले विपक्षीको पसल कबलमा ताला लगाई बन्द गर्ने कार्य गरेको छैन । विपक्षी स्वयंले ताला लगाएको हो । विपक्षी आफैँले सार्वजनिक प्यासेजलाई घेरी पसल कबल बनाई करारको उल्लङ्घन गरेका छन् भन्नेसमेत बेहोराको प्रतिवादी सविना कर्माचार्यको अधिकृत वारेस भक्तलाल मास्केले सुरू अदालतमा पेस गरेको प्रतिउत्तर । 

प्रतिवादी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ चाइनाटाउन सपिङ कम्प्लेक्स अवस्थित चर्चिल सपिङ तथा अफिस कम्प्लेक्स व्यवस्थापन समिति बागबजार, काठमाडौंका नाउँको र अर्का प्रतिवादी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.११ चाइनाटाउन सपिङ कम्प्लेक्सका संस्थापक मुख्य कार्यकारिणी अध्यक्ष जयकुमारनाथ शाहको नाउँको सुरू इतलायनामा म्याद मिति २०६७।०७।२४ मा तामेल भई निज प्रतिवादीहरूले प्रतिउत्तर नफिराई सुरू म्यादै गुजारी बसेको ।

वादीबाट पेस भएको सक्कल कागज मिसिल सामेल रहेको ।

वादी विष्णुलाल श्रेष्ठ प्रतिवादी हरिप्रसाद शर्मा भएको २०६८ सालको दु.फौ.नं. ०१७४१ को सम्झौतापत्र किर्ते मुद्दामा सम्झौतापत्र किर्ते गरेको ठहरी यसै अदालतबाट २०६८।१०।२९ मा फैसला भइसकेको प्रमाणमा आएको सम्झौतापत्र किर्ते मुद्दाको मिसिलबाट देखिन आएकोले वादीले जुन आधारमा बाटो खुलाइपाउँ भनी यस अदालतमा प्रवेश गरेका छन् । सो आधार प्रमाण नै गैरकानूनी भइसकेको अवस्थामा विष्णुलाल श्रेष्ठ र सविना कर्माचार्यबाट २०७२ सालसम्मको लागि पसल चलाउन पाउने अधिकारपत्रको कानूनी वैधानिकता नरहेको अवस्थामा सम्झौताबाट हक प्राप्त भएको पसल कबलहरूमा विपक्षीले लगाएको ताला खोली मूल बाटोबाट मेरो पसलमा आवतजावत गर्ने बाटो खुलाई चलन चलाई बिजुलीको लाइनसमेत जोडी पाउँ भन्नेसमेत वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।०३।०६ मा भएको फैसला ।

कम्प्लेक्स बनाउने मुख्य व्यक्तिसमेत उपर मेरो दाबी भएकोमा उक्त चाइनाटाउन कम्प्लेक्सका मुख्य व्यवस्थापक एवं अध्यक्ष निज जयकुमारनाथ साहले मिति २०६७।०७।२४ मा प्रतिउत्तर दिनको लागि म्यादको जानकारी पाएर पनि प्रतिउत्तर नलगाई मेरो दाबी स्वीकार गरी बसेकोमा सो तथ्यलाई बेवास्ता गरी कुनै प्रमाणसम्म पनि नबुझी मनगढन्ते रूपमा कानूनविपरीत किर्ते मुद्दालाई आधार मानी बाटो जस्तो कुरामा सङ्कुचित व्याख्या गरी व्यवसाय गर्नबाट वञ्चित गराई बाटो हिँड्नसमेत बन्द गर्नेहरूको पक्षमा भएको सुरू अदालतको फैसला गर्नु प्रमाण ऐन, २०३१ को दफा ३, ५४ विपरीत रहेको छ । यस आधारमा सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुनुपर्दछ । मेरो पसलका सम्पूर्ण १३ वटै सटरहरूमा सिल बेल्डिङ गरी चाबीहरू लगाई अनधिकृत रूपमा बन्द गरेउपर सम्मानित यसै अदालतमा २०६९।०६।०८ मा क्षतिपूर्ति फिराद दायर गरेको अवस्था छ । सो सम्बन्धमा सोही मुद्दाबाट इन्साफ हुने नै छ । मिति २०६५।०६।०१ मा मूल प्रवेश गर्ने सटरमा २ वटा चाबीहरू लगाई बन्द गरिएको थियो भने मिति २०६८।१०।२० देखि उक्त प्रवेश गर्ने सटरलगायत त्यहाँ अवस्थित मेरो १३ वटै सटरहरूमा सिल बेल्डिङ गरी चाबीहरू लगाई हालसम्म बन्द गरी राखेको विषय प्रमाण खण्डमा प्रस्तुत छ । सर्जमिन गर्दा लिएको वादीको जिरह र साक्षी सर्जमिन महलको अन्तिम साक्षीको रूपमा स्टल नं.०६४ पसलको प्रोपाइटर सुशिला सुवेदीले स्पष्ट रूपमा "वादीको पसलहरूमा पस्ने मूल सटरमा प्रतिवादीले ताला लगाई बन्द गरेको तथा २/३ वर्षदेखि विद्युत्‌लगायतका सुविधा नदिएको कारणले उक्त अवधिको क्षतिपूर्ति वादीले पाउनुपर्छ" भनी किटानीसाथ गरेको साक्षी सर्जमिन नाप नक्साको अध्ययन नै नगरी भएको सुरू फैसला बदरभागी हुँदा बदर होस् भन्ने वादी हरिप्रसाद शर्मा आचार्यले मिति २०६९।१०।०९ मा तत्कालीन पुनरावेदन अदालत पाटनमा पेस गरेको पुनरावेदन ।

वादीले पछिल्लो करार सम्झौता गरेको भनी दाबी लिई करारको प्रतिलिपि प्रमाणको लागि पेस गरेता पनि सोको सक्कल प्रति वादीले पेस गर्न सकेको पाइँदैन । उक्त सम्झौताको प्रतिलिपिको सन्दर्भमा यिनै प्रतिवादीमध्येका विष्णुलाल श्रेष्ठले यी वादीउपर दायर गरेको यसै लगाउको सम्झौता किर्ते मुद्दामा उक्त लिखतलाई किर्ते ठहर गरी वादीलाई रू.७,०००।– जरिवाना गर्ने गरी भएको सुरू फैसलाउपर वादीको पुनरावेदन परेको मुद्दामा आज यसै इजलासबाट सक्कलविनाको नक्कल प्रतिलिपिको आधारमा किर्ते ठहर गरी यी वादीलाई जरिवाना गरेको हदसम्म सुरू फैसला उल्टी भएको भए तापनि उक्त सम्झौता भएको भनिएको नक्कल प्रतिलिपिले कानूनतः मान्यता नदिई फैसला भएको अवस्था छ । यसरी वादीले जुन करारलाई आधार मानी दाबी लिएको हो सो करारको सक्कल लिखत नै पेस नभएको अवस्थामा वादीलाई करारीय हक प्राप्त भएको मान्न मिल्ने देखिएन । प्रतिवादीहरूले दाबीको सम्झौतापत्र किर्ते भनी जिकिर लिएको वादी दाबीको सक्कल लिखत फिरादीले पेस गर्न नसकेको स्थितिसमेतको आधार कारणबाट ताला खोली बाटो खुलाइपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।०९।१३ मा भएको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्नेसमेत बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७१।०२।२५ भएको फैसला । 

म वादी २०६१।०४।०१ देखि २०६५।१२।३० सम्म सम्झौता गरी बहालमा बसेकोमा पुन: मिति २०६६।०१।०१ देखि २०७२ चैत्र मसान्तसम्म बहालमा लिने दिने निर्विवाद लिखित सम्झौता गरिदिएको अवस्थामा मेरो उक्त अधिकारविपरीत मलाई शान्ति सुरक्षा नदिने र विद्युत्‌को लाइन काटिदिने एवं पसलको मूलढोका बन्द गरी ताला लगाइदिने कार्यबाट प्रतिवादीहरूले मलाई हानी नोक्सानी पारेको स्वीकार गरेकोमा पनि मेरो पुनरावेदन जिकिर पुग्दैन भन्नु पुनरावेदन अदालत पाटनको गलत मनोमानी एवं घोर अन्यायपूर्ण फैसला हो । अर्कोतर्फ सम्झौता पत्र किर्ते  मुद्दामा पुनरावेदन अदालत, पाटनबाट सुरू फैसला उल्टी भई म प्रतिवादीले मुद्दा जितेको आधारबाट समेत प्रस्तुत मुद्दामा दाबी नपुग्ने भनी अर्थ गर्नु गलत छ किनकि मूल मुद्दामा मेरो पक्षमा फैसला हुने अन्यमा नहुने गलत कुरा हो । त्यस्तै प्रस्तुत मुद्दा २०६१।०४।०१ को करार एवं कानूनबमोजिम बाटो खुलाइपाउँ भन्ने मुद्दा हो । यसरी कुन करार र कानूनबमोजिमको मुद्दा हो भन्नेसम्म पनि अध्ययन नगरी "अस्तित्व नभएको करार" भन्ने उल्लेख गरी मलाई हराई पुनरावेदन अदालतबाट भएको फैसला को प्रमाण ऐन, २०३१ को दफा ३, ५४ एवम् अ.बं. १८४क को गम्भीर कानूनी त्रुटि हो । यस आधारमा पनि पुनरावेदन अदालतको फैसलाले मलाई अन्याय परेको तथा कानूनविपरीत हुँदा उक्त फैसला दोहोर्‍याई हेरी बदर गरिपाउँ भन्ने बेहोराको हरिशरण स्टोर प्रा.लि.का सञ्चालक हरिप्रसाद शर्मा आचार्यले यस अदालतमा मिति २०७१।०९।०९ मा दायर गरेको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन । 

यसमा यी निवेदक घर बहालमा बसेकोमा घरबाट निकाल्दा र सम्झौताको सर्त पालनामा वादी प्रतिवादीको बिच मुख मिलेको अवस्था भई वादी विष्णुलाल श्रेष्ठ प्रतिवादी यी हरिप्रसाद भई चलेको सम्झौता किर्ते मुद्दामा वादी दाबी नपुग्ने ठहरी फैसला भएपछि वादीले प्रतिवादीलाई हटाउने अवस्था आउने देखिएन । यसरी वादी दाबी नपुग्ने भएपछि त्यसको सुविधा प्रतिवादीले पाउनेमा प्रतिवादीले वादीलाई बाटोसमेतको सुविधाबाट वञ्चित गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसलामा अ.बं. १८४क, १८५ नं., प्रमाण ऐन, २०३१ को दफा ३, ५४ समेतको त्रुटि विद्यमान देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी दिएको छ । विपक्षी झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७२।१२।१७ को आदेश । 

यस अदालतको ठहर

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / वादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री डिल्लीप्रसाद पौडेलले पुनरावेदक / वादी २०६१।०४।०१ देखि २०६५।१२।३० सम्म सम्झौता गरी बहालमा बसेको हो । तत्पश्चात् पुन: मिति २०६६।०१।०१ देखि २०७२ चैत्र मसान्तसम्म बहालमा लिने दिने निर्विवाद लिखित सम्झौता गरिदिएको अवस्था हो । उक्त सम्झौताविपरीत मलाई शान्ति सुरक्षा नदिने र विद्युत्‌को लाइन काटिदिने एवं पसलको मूलढोका बन्द गरी तामा लगाइदिने कार्यगरी प्रतिवादीहरूले मलाई हानि नोक्सानी पुर्‍याउने कार्य गरेको छ । अर्कोतर्फ सम्झौता पत्र किर्ते मुद्दामा पुनरावेदन अदालत पाटनबाट सुरू फैसला उल्टी भई म प्रतिवादीले मुद्दा जितेको आधारबाट समेत प्रस्तुत मुद्दामा दाबी नपुग्ने भनी फैसला भएको मिलेको छैन । अतः सुरू अदालतको फैसला सदर हुने ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७१।०२।२५ मा भएको फैसला नमिलेको हुँदा बदर गरिपाउँ भनी आफ्नो बहस प्रस्तुत गर्नुभयो ।

प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री श्याम खरेलका साथै अधिवक्ताद्वय श्री उज्वल घिमिरे र श्री युवक कुमार गौतमले विपक्षी आफैँले सार्वजनिक प्यासेजलाई घेरी पसल कबल बनाई करार उल्लङ्घन गरेका छन् । सो सटर कबलमा हामीले ताला लगाएको नभई निज विपक्षी स्वयंले ताला लगाएको हो । भाडा सम्झौता गरी उक्त सटरहरू मिति २०६५।१२।३० सम्मलाई मात्र दिएको र प्रति-सटर २१२.५० वर्गफिट क्षेत्रफलमा मात्र पसल राखी सञ्चालन गर्न पाउने गरी करार सम्झौता भएको हो । हाल निजको करार अवधि समाप्त भई उपर्युक्त पसल कबल खाली गर्न बारम्बार मौखिक तथा लिखित आग्रह गर्दासमेत निजले हालसम्म सटर कबल खाली नगरी उल्टै किर्ते  करार खडा गरेका छन् । अतः पुरावेदन अदालत पाटनबाट मिति २०७१।०२।२५ भएको फैसला मिलेको हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

उपर्युक्तानुसारको तथ्य एवम् बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल अध्ययन गरी हेर्दा देहायका प्रश्नहरूमा केन्द्रित रही विवादको निरूपण गर्नुपर्ने देखियोः

क. भाडा सम्झौताको करार भनिएको नक्कलको प्रतिले करारको मान्यता पाउने हो वा होइन ?

ख. पुनरावेदन अदालतले गरेको फैसला मिलेको छ वा छैन ? पुनरावेदक / वादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ?

 

यसमा, चाइनाटाउन कम्प्लेक्सअन्तर्गत पसल कबल नं. १०१, १०२, १५६, १५७ र १५८ को पसल कबलको दर्तावाला विष्णुलाल श्रेष्ठ र सविना कर्माचार्यबाट २०७२ सालसम्मका लागि पसल चलाउन पाउने गरी सम्झौता गरेको हो । उक्त सम्झौताविपरीत मेरो पसलहरूमा प्रवेश गर्ने मूल सटरमा विपक्षीमध्ये दिपककुमार सुनुवार भन्ने व्यक्तिले २ वटा ताला जबरजस्ती लगाई दिएकोले मेरो पसल कबलहरूमा विपक्षीले लगाएको ताला खोली मूल बाटोबाट मेरो पसलहरूमा म, मेरो परिवार, ग्राहकसमेत आवतजावत गर्ने कार्यका लागि बाटो खुलाई चलन चलाई मेरो पसल स्टलहरूमा काटिदिएको बिजुलीको लाइनसमेत जोडिपाउँ भन्ने वादीको फिराद दाबी रहेको देखिन्छ । उक्त सटरहरू कबलमा हामीले ताला लगाएको नभई निज विपक्षी स्वयंले ताला लगाएको हो । घरभाडा सम्झौता गरी उक्त सटरहरू मिति २०६५।१२।३० सम्मलाई मात्र पसल राखी सञ्चालन गर्न पाउने गरी करार सम्झौता भएको हो । हाल निजको करार अवधि समाप्त भएका पसल कबल खाली गर्न बारम्बार मौखिक तथा लिखित आग्रह गर्दासमेत निजले हालसम्म सटर कबल खाली नगरी उल्टै किर्ते करार खडा गरेका छन् । हामीले विपक्षीको पसल कबलमा ताला लगाई बन्द गर्ने कार्य गरेको छैन भन्ने प्रतिवादीहरूको प्रतिउत्तर रहेको देखिन्छ । सम्झौतापत्र किर्ते मुद्दामा सम्झौतापत्र किर्ते गरेको ठहरी यसै अदालतबाट २०६८।१०।२९ मा फैसला भइसकेको प्रमाणमा आएको सम्झौतापत्र किर्ते मुद्दाको मिसिलबाट देखिन आएकोले वादीले जुन आधारमा बाटो खुलाइपाउँ भनी यस अदालतमा प्रवेश गरेका छन् सो आधार प्रमाण नै गैरकानूनी भइसकेको अवस्थामा विष्णुलाल श्रेष्ठ र सविना कर्माचार्यबाट २०७२ सालसम्मको लागि पसल चलाउन पाउने अधिकारपत्रको कानूनी वैधानिकता नरहेको हुँदा विपक्षीले लगाएको ताला खोली मूल बाटोबाट मेरो पसलमा आवतजावत गर्ने बाटो खुलाई चलन चलाई बिजुलीको लाइनसमेत जोडिपाउँ भन्नेसमेत वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्ने सुरू अदालतबाट फैसला भएकोमा प्रतिवादीले उक्त फैसलामा चित्त नबुझाई पुनरावेदन गरेकोमा सक्कल विनाको नक्कल प्रतिलिपिको आधारमा किर्ते ठहर गरी यी वादीलाई जरिवाना गरेको हदसम्म सुरू फैसला उल्टी भएको भए तापनि उक्त सम्झौता भएको भनिएको प्रतिलिपिलाई कानूनतः मान्यता नदिई फैसला भएको अवस्था 

छ । यसरी वादीले जुन करारलाई आधार मानी दाबी लिएको हो सो करारको सक्कल लिखत नै पेस नभएको अवस्थामा वादीलाई करारीय हक प्राप्त भएको मान्न मिल्ने देखिएन । प्रतिवादीहरूले दाबीको सम्झौतापत्र किर्ते भनी जिकिर लिएको वादी दाबीको सक्कल लिखत फिरादीले पेस गर्न नसकेको स्थितिसमेतको आधार, कारणबाट ताला खोली बाटो खुलाइपाउँ भन्ने दाबी पुग्न नसक्ने भनी काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।०३।१२ मा फैसला भएकोमा उक्त फैसला वादी हरिप्रसाद शर्मालाई चित्त नबुझी पुनरावेदन गरेकोमा सुरू अदालतको फैसला नै सदर हुने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर पुनः चित्त नबुझाई वादीले यस अदालतमा दायर गरेको मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदनमा मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई प्रस्तुत मुद्दा पुरावेदनको रोहमा दर्ता हुन आएको देखिन्छ ।

२. निर्णयतर्फ विचार गर्दा, पुनरावेदक /  वादी हरिप्रसाद शर्माले चाइनाटाउन कम्प्लेक्सअन्तर्गत पसल कबल नं. १०१, १०२, १५६, १५७ र १५८ को सटरहरू दर्तावाला विष्णुलाल श्रेष्ठ र सविना कर्माचार्यसँग मिति २०६०।०४।०१ देखि २०६५।१२।३० सम्मको लागि भाडा सम्झौता गरी बहालमा लिएकोमा कुनै विवाद रहेको देखिँदैन । तत्पश्चात् मिति २०६६।१।१ देखि २०७२ चैत्र मसान्तसम्म ७ वर्ष थप गरी नयाँ करार गरेको हुँदा उक्त पसल कबलहरूमा विपक्षीले लगाएको ताला खोली मूल बाटोबाट मेरो पसलहरूमा म, मेरो परिवार, ग्राहकसमेत आवतजावत गर्ने कार्यका लागि बाटो खुलाई चलन चलाई मेरो पसल स्टलहरूमा काटी दिएको बिजुलीको लाइनसमेत जोडिपाउँ भन्ने वादीको मुख्य जिकिर रहेको देखिन्छ भने घरभाडा सम्झौता गरी उक्त सटरहरू मिति २०६५।१२।३० सम्मको लागि मात्र पसल राखी सञ्चालन गर्न पाउने गरी करार सम्झौता भएको हो । सो अवधि समाप्त भएपश्चात् सम्झौताअनुसार बहालमा लिएका पसलहरू कबल खाली गर्न बारम्बार मौखिक तथा लिखित आग्रह गर्दासमेत निजले हालसम्म सटर कबल खाली नगरी उल्टै भाडा सम्झौतासम्बन्धी किर्ते  करार खडा गरेको हुँदा किर्ते गरी खडा गरिएको करारको दायित्व हामीले वहन गर्नुपर्ने हुँदैन भनी प्रतिवादीहरूले जिकिर लिएको देखिन्छ ।

३. पुनरावेदक / वादीले मिति २०६६।१।१ देखि लागु हुने गरी २०७२ चैत मसान्तसम्म बहालमै लिएको पसल कबलहरूको नयाँ भाडा सम्झौता गरी पुनः बहालमा लिएको भनी दाबी लिई सो भाडा सम्झौताको सक्कल प्रति आफूसँग नभई प्रतिवादीहरूसँग नै रहेको हुँदा प्रमाणको रूपमा भाडा सम्झौताको प्रतिलिपि मात्र अदालतसमक्ष पेस गरेको देखिन्छ भने प्रतिवादीहरूले वादीले दाबी लिएको जस्तो कुनै भाडा सम्झौताको करार गरेको छैन, वादीले अदालतसमक्ष प्रस्तुत गरेको भाडा सम्झौता भनिएको करारको प्रतिलिपि वादी आफैँले किर्ते गरी खडा गरेको हो भनी उक्त करारलाई अस्वीकार गरेको देखिन्छ ।

४. यसरी एउटा पक्ष पुनरावेदक / वादीले भाडा सम्झौताको करार भएको भनी करारको प्रतिलिपिसहित दाबी लिएको तथा अर्को पक्ष प्रत्यर्थी / प्रतिवादीहरूले भाडा सम्झौताको करार नै नभएको भनी जिकिर लिएकोमा करार के लाई भनिन्छ भनी हेर्नुपर्ने देखियो । करार ऐन, २०५६ को दफा २(क) ले करारको परिभाषा गरेको छ, जसमा "करार" भन्नाले दुई वा दुईभन्दा बढी पक्षबिच कुनै काम गर्न वा नगर्नका लागि भएको कानूनबमोजिम कार्यान्वयन गर्न सकिने सम्झौता सम्झनुपर्छ" भनिएको पाइन्छ । कुनै पनि करारको अस्तित्व सिर्जना हुन र त्यसको दायित्व पूरा गर्न दुई वा दुईभन्दा बढी पक्षबिच कुनै काम गर्न वा नगर्न कानूनबमोजिम कार्यान्वयन गर्न सकिने सम्झौता हुनु आवश्यक देखिन्छ । यस मुद्दामा वादी तथा प्रतिवादीहरूबिच मिति २०६६।०१।०१ देखि २०७० चैत्र मसान्तसम्म पसल बहालमा लिन दिन भाडा सम्झौताको करार भएको हो वा होइन भन्नेमा नै विवाद रहेको हुँदा सो विषय निरूपण गर्न भाडा सम्झौताको करार भएको भन्ने दाबी पुनरावेदक / वादी हरिप्रसाद शर्माले लिएको देखिँदा सो पुष्टि हुने प्रमाणको भार पनि वादी स्वयम्‌मा नै हुने भनी प्रमाण ऐन, २०३१ को दफा २६ ले देवानी मुद्दामा आफ्नो दाबी प्रमाणित गर्ने भार वादीको हुने छ भनी व्यवस्था गरेको देखिन्छ । सो व्यवस्थाअनुसार, भाडा सम्झौताको करारको सक्कल प्रति पनि वादीले नै उपलब्ध गराउनुपर्नेमा वादीले सो गर्न सकेको देखिँदैन ।

५. कुनै पनि सम्झौता वा करारका पक्षहरूबाट भएको थियो वा थिएन भन्ने विषयको समाधान गर्न त्यस सम्झौता वा करारको वैधानिकता परीक्षण गर्नुपर्ने हुन्छ । यस्तोमा पहिलो प्रमाण भनेकै सम्झौता वा करारको सक्कल प्रति हुन आउँछ । यदि सक्कल प्रति अदालतमा प्रस्तुत गर्दा पनि विवाद समाधान हुने नसके त्यस सम्झौता वा करारमा रहेको पक्षहरूको सहीछाप, ल्याप्चे परीक्षणबाट विवादको समाधान गर्नुपर्ने हुन्छ । त्यस्तै सम्झौता वा करार गर्दा साक्षीहरू राखिएको भए साक्षी झिकाई वास्तविकता बुझ्नुपर्ने हुन्छ वा कुनै सरकारी कार्यालयमा गई पक्षहरूले सम्झौता वा करार प्रमाणित गराएको भए प्रमाणित गराएको कार्यालयबाट आधिकारिकता जाँचबाट मात्र सम्झौता भएको हो वा होइन भन्न सक्ने अवस्था रहने देखिन्छ । तर पुनरावेदक / वादीले भाडा सम्झौता गरिएको भनिएको सो सम्झौताको सक्कल प्रति अदालतसमक्ष प्रस्तुत गर्न सकेको देखिँदैन भने प्रतिवादीहरूले त्यस्तो नयाँ सम्झौता भएको छैन भएको भए त्यसको सक्कल प्रति वादी स्वयंले पेस गर्नुपर्दछ भन्ने दाबी लिएको देखियो । यस्तोमा पुनरावेदक / वादीले प्रस्तुत गरेको नयाँ भाडा सम्झौताको सक्कल कागजको अभावमा करार भनिएको कागजको प्रतिलिपिलाई मात्र करारको मान्यता दिई करारको दायित्व सिर्जना गर्नसक्ने अवस्था रहने देखिँदैन ।

६. पुनरावेदक / वादीले आफूले भाडा सम्झौताको करार गरी लिएको पसलहरू छिर्ने मूल सटर बाटोसँग जोडिएको छ । उक्त सटर र बाटो एक आपसमा सम्बन्धित भई उक्त बाटो र सटरबिना व्यापार गर्न सकिँदैन यस्तो अवस्थामा मेरो पसलहरूमा प्रवेश गर्ने मैले लिएको मूल सटरमा विपक्षीमध्ये दिपककुमार सुनुवार भन्ने व्यक्तिले २ वटा ताला जबरजस्ती लगाई दिएकोले मेरो पसल कबलहरूमा विपक्षीले लगाएको ताला खोली मूल बाटोबाट मेरो पसलहरूमा म मेरो परिवार, ग्राहकसमेत आवतजावत गर्ने कार्यका लागि बाटो खुलाई चलन चलाई मेरो पसल सटरहरूमा काटिदिएको बिजुलीको लाइनसमेत जोडी पाउँ भन्ने दाबीका सन्दर्भमा हेर्दा यसै अदालतबाट मिति २०७३।१०।२४ गते यिनै वादी तथा प्रतिवादीहरू रहेको ०७१-CI-००४१ को क्षतिपूर्ति मुद्दामा "वादी हरिप्रसाद आफैँले निजको पसल कबलमा ताला लगाएपछि मात्रै व्यापार संघ तथा घरधनीसमेतको रोहबरमा थप ताला लगाएको" भन्ने तथ्य स्थापित भएको देखिन्छ । यसबाट वादी आफैँले पहिले उक्त सटरहरूमा ताला लगाएपछि मात्र प्रतिवादीहरूले वादीले लगाएको तालामाथि नै थप ताला लगाएको" भन्ने तथ्यबाट वादी आफैँले ताला लगाउने कार्य गर्ने अनि आफैँले ताला खोली बाटो खोली पाउँ भन्ने दाबी लिने कार्य मिलेको देखिँदैन ।

७. यसरी पुनरावेदक / वादी आफैँले मिति २०६६।०१।०१ देखि २०७२ चैत्र मसान्तसम्म चाइनाटाउन कम्प्लेक्सअन्तर्गत पसल कबल नं. १०१, १०२, १५६, १५७ र १५८ का पसलहरू घरधनी विष्णुलाल श्रेष्ठ र सविना कर्माचार्यसँग पुन: भाडा सम्झौता गरी बहालमा लिएको हो, सो सम्झौताविपरीत प्रतिवादीहरूले पसलहरूमा प्रवेश गर्ने मूल सटरहरूमा ताला लगाएको हुँदा ताला खोली बाटो खोली पाउँ भन्ने दाबी पुष्टि हुने गरी वादी आफैँले भाडा सम्झौताको करार भएको भनिए पनि उक्त सम्झौताको सक्कल प्रति अदालतसमक्ष प्रस्तुत गर्न नसकेको तथा वादी हरिप्रसाद आफैँले निजको पसल कबलमा ताला लगाएपछि मात्रै व्यापार संघ तथा घरधनीसमेतको रोहबरमा थप ताला लगाएको भन्ने देखिँदा वादीको करारका सर्त पूरा गर्न ताला खोली बाटो खोली पाउँ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

८. अतः माथि उल्लिखित आधार, कारणहरूबाट समेत प्रतिवादीहरूले दाबीको सम्झौतापत्र किर्ते भनी जिकिर लिएको वादी दाबीको सक्कल लिखत वादीले पेस गर्न नसकेको स्थितिसमेतको आधार कारणबाट ताला खोली बाटो खुलाइपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।०३।०६ मा भएको फैसलालाई सदर गर्ने तत्कालीन पुनरावेदन अदालत, पाटनको मिति २०७१।०२।२५ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक / वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रति यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.डा.मनोजकुमार शर्मा

 

इजलास अधिकृतः विकेश महर्जन

इति संवत् २०८० साल असोज २ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु