निर्णय नं. ११३४६ - अंशबन्डा गरिपाऊँ

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री नहकुल सुवेदी
फैसला मिति : २०८०।४।१६
०७३-CI-०६८१
मुद्दाः अंशबन्डा गरिपाऊँ ।
पुनरावेदक / प्रतिवादी : पदमबहादुर राजभण्डारीको नातिनी कुमार राजभण्डारी भन्ने कुमारबहादुर राजभण्डारीको छोरी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० बुद्धनगर दुर्गामार्ग बस्ने आज्ञा राजभण्डारीसमेत
विरूद्ध
विपक्षी / वादी : पदमबहादुर राजभण्डारीको छोरा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० बुद्धनगर दुर्गामार्ग बस्ने कुमार राजभण्डारी भन्ने कुमारबहादुर राजभण्डारी
कसैले निजी तवरबाट दान बकस पाएको भए त्यस्तो सम्पत्ति अन्य अंशियारलाई बन्डा नलाग्ने तथ्यमा विवाद भएन तर उक्त कानूनमा प्रयुक्त “निजी तवरले दान वा बकस पाएको” भन्ने वाक्यांश हेर्दा त्यस्तो सम्पत्ति बकस पाएको मात्र नभई “निजी तवरले” बकस पाएको हो वा होइन भन्ने हेर्नुपर्ने । सोका लागि दाबीको सम्पत्ति दाबीकर्ताले दातालाई रिझाएबापत कुनै मूल्य नलिई वा उल्लेख्य रूपमा कम मूल्य लिई सही र वास्तविक अर्थमा बकस पाएको तथ्य स्थापित हुनुपर्ने । रकम तिरी खरिद गरिएको जग्गालाई समेत बकसपत्र नामकरण गरी पारित गर्न कानूनले बाधा नगरेको अवस्थामा मुद्दाको तथ्यबाट त्यस्तो कानूनी व्यवस्थाको लाभ लिई रकम तिरी भएको कारोबारलाई समेत रिझबापत भनी कैफियत जनाई बकसपत्र नामकरण गरेको देखिन आएमा त्यसरी प्राप्त गरिएको सम्पत्तिलाई निजी तवरले बकसपत्रबाट प्राप्त सम्पत्ति भनी अन्य अंशियारलाई बन्डा नलाग्ने भन्नु न्यायको रोहमा उचित नहुने ।
(प्रकरण नं.५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री उषा मल्ल पाठक तथा विद्वान् अधिवक्ता श्री विष्णुमाया भुषाल
विपक्षी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री श्रीभक्त भडेल र श्री बलबहादुर राई
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री खिलनाथ रेग्मी
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य
पुनरावेदन अदालत पाटन
फैसला
न्या.नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
विपक्षीमध्येकी धनकुमारी के.सी. (राजभण्डारी) र मेरोबिच २०४५ सालमा सामाजिक परम्पराअनुसार विवाह भई छोरा अनमोल राजभण्डारी र छोरी आज्ञा राजभण्डारीको जायजन्म भएकोले जम्मा ४ जना अंशियार छौं । प्रतिवादीमध्येकी धनकुमारी के.सी. (राजभण्डारी) लाई विवाह गरी ल्याएपछि कुनै दु:ख दिएको छैन । घरको सम्पूर्ण चल अचल श्रीसम्पत्ति उसैको जिम्मामा छ । म पेसाले सव-इन्जिनियर भएको हुँदा आजका मितिसम्म भएको आम्दानी श्रीमती, छोराछोरीको पालन पोषणमा खर्च गरी बचेको पैसाले श्रीमती धनकुमारी के.सी. (राजभण्डारी) समेतको परामर्श लिई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१० कि.नं.६८७ को क्षेत्रफल ०-४-१-० र सो जग्गामा निर्माणाधीन घर तथा भक्तपुर जिल्ला कटुन्जे गा.वि.स. वडा नं.९(क) कि.नं.७४७ को क्षेत्रफल ०-४-०-० समेतका जग्गा किनेर श्रीमतीको नाउँमा पास गरी घरसमेत बनाएको छु । विगत १ वर्षदेखि घरका श्रीमती र छोराछोरी एकमत भई मलाई हेला गर्ने, खाना पकाएर खान नदिने गरेकोमा श्रीमतीले अब म तपाइँसँग बस्न नसक्ने भएँ, मेरो नाउँमा भएको घरजग्गा सबै मेरो र छोराछोरीको हो, तपाइँले यसमा केही गर्न पाउनु हुन्न, जहाँ गएर बस्ने खाने इच्छा छ, उहीँ जानु भनी रूखो वचन गरेको हुँदा जे जसो गरेर भए पनि आफूले गुजारा चलाउँदै आएको थिएँ । घरको सम्पूर्ण चल अचल श्रीसम्पत्ति श्रीमतीको नै नाउँमा रहे भएकाले मुलुकी ऐन, अंशबन्डाको २०, २१, २२, २३, नं.बमोजिम प्रतिवादीसँग तायदाती फाँटवारी मगाई सम्पूर्ण चल अचल सम्पत्तिलाई ४ भाग लगाई सोको १ भाग दिलाइपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी ।
प्रतिउत्तरवालामध्येकी म धनकुमारी के.सी. (राजभण्डारी) र फिरादीबिच मिति २०४५/१०/१५ मा विवाह भई छोरा अनमोल राजभण्डारी र छोरी आज्ञा राजभण्डारीको जायजन्म भएको ठिक साँचो हो । छोराछोरीको जन्मपश्चात् विपक्षी पति तथा बाबुको हामीप्रति गर्ने व्यवहारमा फरक हुन थाल्यो । विपक्षी घरमा राति अबेला आउने, निहुँ खोज्ने, गाली गलौज र अपशब्द प्रयोग गर्ने, बाहिरी मानिसहरू लगाई धम्काउने गरी मानसिक यातना दिने, घरायसी काममा सरसल्लाह नगर्ने र हाम्रो उचित हेरचाह तथा संरक्षणमा समेत उदासीनता देखाउनुभयो । मैले विद्यालयको समय र घरको कामधन्दाबाट फुर्सद निकाली इष्टमित्रका नातिनातिनालाई ट्युसन पढाएकोले सोबापत खुसी भई मैया बस्ताकोटीले २०४८ सालमा कालिमाटी वडा नं.९ कित्ता नं.२९० को ०-५-०-० घडेरी बकसपत्र गरिदिनुभएको थियो । पछि सोही जग्गा हसिना प्रधानलाई बेची आएको रकमबाट काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१० बुद्धनगरमा कि.नं.६८७ को क्षे.फ.०-४-१-० जग्गा किनी सो जग्गामा मेरी आमा गायत्रीदेवी के.सी., दाजु यज्ञबहादुर के.सी., प्रा.डा. बालकुमार के.सी., पवनकुमार के.सी.समेतले पटकपटक गरी दिनुभएको रकम र मेरा माइती आफन्तले गरेको सर-सहयोगको रकमबाट बुद्धनगरमा एक तल्ला घर निर्माण गरी सोही घरमा विपक्षी पति तथा छोराछोरी बस्दै आएका थियौं । मेरी आमा गायत्रीदेवी के.सी.ले २०५४ सालमा बकस गरिदिनुभएको ओखलढुङ्गाको कि.नं.१०३९ क्षे.फ.०-१०-०-० को जग्गा बिक्री गरी सोबाट प्राप्त रकमले भुइँ तलाको घर माथि उठाउने कार्य गरेँ । घर बनाउँदै गर्दा विपक्षी पतिले उक्त घर सञ्चयकोषमा धितो राखी ऋण लिएकोमा उक्त रकम घर बनाउन दिउँला भनेकोमा निजले उक्त ऋण रकमसमेत दिएनन् । यसरी विपक्षीको कुनै पैतृक सम्पत्ति तथा कमाइ हामीले प्रयोग गर्न पाएका छैनौँ । विपक्षीले दाबी गरेका घर जग्गाहरू मेरो स्वआर्जनको मुलुकी ऐन, अंशबन्डाको १८ नं., स्त्री अंशधनको ५ नं.बमोजिमको भागबन्डा लाग्ने घरजग्गा होइन, विपक्षीको झुट्टा दाबीबाट फुर्सद दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू धनकुमारी के.सी.(राजभण्डारी) समेतको संयुक्त प्रतिउत्तरपत्र ।
समग्र जीवनभर कमाएको सम्पत्ति श्रीमतीको नाउँमा भएकोले श्रीमतीबाट नै अंश पाउनुपर्छ भन्ने बेहोराको वादीका साक्षी भरतकुमार ढुंगेलले सुरू अदालतमा गरेको बकपत्र ।
वादी कुमार राजभण्डारीका ४ दाजुभाइ तथा अंशियारबिच अंशबन्डा भएको छैन । वादीले दाबी गर्नुभएको सम्पत्तिको स्रोत तथा आय निज प्रतिवादीको स्वआर्जन तथा माइतीबाट ल्याएको सम्पत्ति हुँदा वादीले सो सम्पत्तिमा दाबी गर्न पाउनु हुन्न भन्ने बेहोराको प्रतिवादीका साक्षी शिवराज भुजेलले सुरू अदालतमा गरेको बकपत्र ।
हाम्रो परिवारमा बुबा पदमबहादुर, आमा गंगामाया, जेठो छोरा कुमार राजभण्डारी, माइला लक्ष्मण, साइँला प्रदिप र कान्छा चक्रबहादुर राजभण्डारी गरी ६ अंशियार छौं । हामी सबै अंशियार एकासगोलमा छौं । धनकुमारी के.सी. (राजभण्डारी) का नाउँमा रहेका जग्गाहरूसमेत हामी सबै अंशियारको सगोलको सम्पत्ति हो । सो सम्पत्ति बन्डा गर्नुपर्छ कि भन्ने सोची जग्गा आफूहरूले मात्र खानका लागि धनकुमारी के.सी.का नाउँमा जग्गा लिई हाम्रो हक मेट्नका लागि यो मुद्दा गरेका हुन् भन्नेसमेत बेहोराको मुलुकी ऐन अ.बं.१३९ नं.बमोजिम बुझिएका लक्ष्मण राजभण्डारी, चक्रबहादुर राजभण्डारी, पदमबहादुर राजभण्डारी, गंगामाया राजभण्डारी, प्रदिप राजभण्डारीले सुरू अदालतमा गरेको बयान ।
वादी प्रतिवादीहरूले तायदाती फाँटवारीमा देखाएका झापा राजगढ ५ कि.नं. ३६१, १०८९ र ५४१ तथा काठमाडौं महानगरपालिका वडा नं.१० कि.नं. ६८७ को जग्गा र घर वादी प्रतिवादी साथै बुझिएका अंशियारको सगोलको सम्पत्ति देखिएको र उक्त सम्पत्तिबाट ६ भागको १ भागमध्ये १ भागलाई ४ भाग लगाई सोमध्ये १ भाग सम्पत्ति घरजग्गा अंशबापत वादी कुमारबहादुर राजभण्डारीले छुट्टयाइलिन पाउने र कि.नं. ७४७ भक्तपुर कटुन्जेको जग्गा भने कुमारबहादुर राजभण्डारीले आफ्नी पत्नी धनकुमारीको नाउँमा खरिद गरिएको स्वआर्जनको देखिँदा ४ खण्डको १ खण्ड जग्गा अंशबापत छुट्ट्याई चलनसमेत चलाउन पाउने र संस्थाको ऋण सबै अंशियारले बेहोर्नुपर्ने तथा व्यक्तिको ऋण साहुको नालेस परेका बखत कानूनबमोजिम हुनेसमेत ठहर्छ भन्ने बेहोराको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।०३।०१ मा भएको फैसला ।
सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलामा म पुनरावेदकको स्वआर्जनको घर जग्गासमेत बन्डा लगाउन लिएका आधारहरू अंशबन्डाको महलको कानूनी प्रावधानको समेत प्रतिकुल भएको हुँदा उक्त फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ अ.बं.१८४(क), १८५ नं., अंशबन्डाको महलको १०, १८ तथा स्त्री अंश धनको १, ५ साथै सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको विपरीत भएकोले सुरू फैसला उल्टी गरी स्वआर्जनको बुद्धनगरको घर जग्गा र भक्तपुरको कटुन्जेको बकसपत्रबाट प्राप्त गरेको जग्गा कसैको बन्डा नलाग्ने गरी न्यायोचित इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादीहरू धनकुमारी के.सी. समेतको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी धनकुमारी के.सी.का नाउँको कि.नं.७४७ को जग्गासमेत वादीलाई बन्डा लाग्ने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।३।१ मा भएको फैसला मुलुकी ऐन, अंशबन्डाको १८ नं. को विवेचना र प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भए वा अवधि नाघेपछि पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०७१।९।४ मा भएको आदेश ।
कि.नं. ६८७ को सम्बन्धमा पुनरावेदकले मिति २०४८।७।२६ मा मैया बस्ताकोटीबाट का.म.न.पा. वडा नं. ९ कि.नं. २९० को ०–५–० जग्गा हालैदेखिको बकसपत्र प्राप्त गरेकोमा सो जग्गा मिति २०५७।६।१६ मा बिक्री गरी आएको रकमबाट मिति २०५८।१२।२ मा उक्त जग्गा किनेको र सो घरमा तला थप्न २०६७ सालमा नक्सा पास गर्नुअघि ओखलढुङ्गाको माइतीले दिएको २ कित्ता जग्गा मिति २०६७।१२।२ मा बिक्री गरी घर बनाएको भन्ने जिकिर लिएका छन् । त्यस्तै भक्तपुरको कि.नं. ७४७ को जग्गा पनि पुनरावेदक धनकुमारी के.सी.ले मिति २०५२।९।१ मा हालैदेखिको बकसपत्र प्राप्त गरेको देखिन्छ । उक्त समयमा यी पुनरावेदकहरूसमेत प्रत्यर्थी वादीसँग एकासगोलमा रहेको र अन्य मूल अंशियारहरूका साथ नरही निजहरू दुवै जना आफ्ना पेसा व्यवसाय गरी आएको देखिन्छ । काठमाडौं बुद्धनगरको घर बनाउन भनी प्रत्यर्थी वादीले सञ्चयकोषबाट सापटी निकालेको भन्ने बेहोरा स्वयं पुनरावेदकले समेत स्वीकारेका छन् । सो ऋण रकम घर निर्माणमा नलगाएको भन्नेसम्म निजको जिकिर भएकोमा सो रकम के कहाँ लगाएको भन्ने पुष्टि गर्न सकेको छैन । मिसिल संलग्न निजको कृषि विकास बैंक न्यूरोडमा रहेको खाताको बैंक स्टेटमेन्ट हेर्दा कुमारले पनि रकम जम्मा गरेको देखिन्छ । यसरी एकापरिवारका दुवैजनाले नोकरी व्यवसायबाट आर्जन गरेको देखिएको अवस्थामा पुनरावेदकका नाममा रहेको घर जग्गामा निजका पतिको हक नै नपुग्ने भन्न पनि न्यायोचित हुने देखिएन । यस्तो अवस्थामा पुनरावेदकका नाममा रहेको भक्तपुरको जग्गा प्रत्यर्थी वादी कुमार राजभण्डारीको अंश लाग्ने ठहर्याएको सुरू जिल्ला अदालतको फैसला मिलेकै देखियो । काठमाडौं महानगरपालिका वडा नं. १० बुद्धनगरको कि.नं. ६८७ को घर जग्गाका हकमा पनि निजहरूको परिवारको बिच मात्र बन्डा हुनुपर्नेमा मूल अंशियारहरूलाई समेत बन्डा लगाइदिएको हदसम्म सुरू जिल्ला अदालतको फैसला मिलेको देखिएन । तसर्थ, माथि विवेचित आधार प्रमाणबाट काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० कि.नं. ६८७ को घरजग्गासमेत सबै अंशियारको अंशहक लाग्ने भनी ठहर्याएको हदसम्म सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।३।१।१ को फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भई उक्त घर जग्गामा प्रत्यर्थी वादी कुमार राजभण्डारीलाई मात्र भागबन्डा लाग्ने देखिएकोले सोबाट ४ भागको १ भाग अंशबन्डा लाग्ने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०७२।१०।२४ मा भएको फैसला ।
म पुनरावेदकको बकसपत्रको लिखतबाट प्राप्त भक्तपुर कटुन्जेको जग्गा र निजी आर्जनको बुद्धनगरको घरजग्गासमेत विपक्षी वादीलाई बन्डा लगाउन लिएका आधारहरू अंशबन्डाको महलको कानूनी प्रावधानको प्रतिकुल रहेको छ । म पुनरावेदकले ३१ वर्ष गरेको शिक्षण पेसा, बकसपत्रबाट प्राप्त गरेको जग्गा बिक्री गरी खरिद गरेको लिखत, माइतीले दिएको ओखलढुङ्गाको घडेरी जग्गा बिक्री गरी रकम आएको बैंक स्टेटमेन्टसमेतका कागजात, माइतीका दाजुहरूबाट भएको सहयोग रकमसमेतबाट जोडेको मेरो नाउँको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० कि.नं. ६८७ जग्गामा निर्माण गरेको घरजग्गा र भक्तपुर कटुञ्जे गा.वि.स. वडा नं. ९(क) कि.नं. ७४७ को बकसपत्रको लिखतबाट प्राप्त गरेको चार आना जग्गा अंशबन्डाको १८ नं. तथा स्त्री अंश धनको १, ५ नं.बमोजिम बन्डा नलाग्ने सम्पत्तिहरू हुन् । विपक्षी वादीसँग विवाह भएपछि सगोलमा रहँदा घरजग्गा जोडिएको भन्दैमा निजी तवरबाट प्राप्त भएको सम्पत्तिमाथि विपक्षी वादीलाई भागबन्डा लाग्ने भन्न मिल्दैन । त्यसैगरी म पुनरावेदकले विपक्षी पतिको नाउँमा रहेको नेपाल टेलिकमको सेयरबाट समेत अंश भाग पाउनुपर्नेमा पुनरावेदन तहबाट सेयर रोक्कासमेत भएकोमा सोबारेमा पुनरावेदन अदालतबाट फैसला हुँदा केही नबोलिएको अवस्था छ । यस स्थितिमा विपक्षी पतिको नाउँमा रहेको सेयरसमेत बन्डा लगाइपाउँ साथै पुनरावेदन तहबाट मेरो निजी सम्पत्ति बन्डा लाग्ने ठहरी भएको फैसलामा अंशबन्डाको महल, स्त्री अंशधन तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतको प्रतिकुल भएकोले उक्त फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक धनकुमारी के.सी.को यस अदालतमा दायर हुन आएको पुनरावेदनपत्र ।
यसमा पुनरावेदक प्रतिवादी धनकुमारी के.सी.(राजभण्डारी) ले र.नं. २७२७ मिति २०५२।०९।०१ मा अशोकप्रसाद फुयालबाट हालैदेखिको बकस पाएको निजको निजी आर्जनको कि.नं. ७४७ को जग्गाबाट समेत प्रतिवादी धनकुमारी के.सी.(राजभण्डारी) का पति कुमार राजभण्डारी भन्ने कुमारबहादुर राजभण्डारीले अंश पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसलामा मुलुकी ऐन अंशबन्डाको १८ नं. र स्त्री अंश धनको महलको १ नं. को व्याख्यात्मक प्रश्न खडा भई पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन अ.बं. २०२ नं.बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने बेहोराको यस अदालतबाट मिति २०७४।०७।०१ मा भएको आदेश ।
म प्रत्यर्थी वादी नेपाल टेलिकमको कर्मचारी भएकोले त्यहाँबाट आएको आम्दानी श्रीमती, छोराछोरीको पालन पोषणमा खर्च गरी बचेको पैसाले काठमाडौं कोटेश्वरमा मेरो एकलौटी नाममा कि.नं. १११७ को जग्गा पारिवारिक सरसल्लाहबाट बिक्री गरी सोबापतको रकमले सिनामंगलमा कि.नं. २९० को ०-५-०-० जग्गा श्रीमतीको नाममा किनिएको थियो । पछि सो जग्गा बिक्री गरी सोही रकमले श्रीमतीको नाउँमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१० कि.नं.६८७ को क्षेत्रफल ०-४-१-० को जग्गा खरिद गरी घर निर्माणसमेत गरेको हो । साथै भक्तपुर जिल्ला कटुन्जे गा.वि.स. वडा नं.९(क) कि.नं.७४७ को क्षेत्रफल ०-४-०-० समेतका जग्गा मेरो आय आर्जनबाट कमाएको रकम, केही सञ्चयकोषको ऋण, टेलिकमको सापटी ऋण कर्जा, व्यक्तिगत ऋण कर्जासमेत जोरजाम गरी श्रीमतीको नाउँमा पास गरेको हो । यस स्थितिमा पुनरावेदक प्रतिवादीले उक्त सम्पत्तिहरू आफ्नो निजी आर्जनको भनी लिएको जिकिरअनुरूप उच्च अदालतको फैसलामा कुनै प्रकारको त्रुटि छैन । तसर्थ, म प्रत्यर्थीको हकमा उच्च अदालतबाट भएको फैसला यथावत् कायम गरी न्याय इन्साफ पाउँ भन्ने बेहोराको प्रत्यर्थी वादी कुमार राजभण्डारी भन्ने कुमारबहादुर राजभण्डारीको तर्फबाट यस अदालतमा दायर भएको लिखित प्रतिवाद ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा समावेश भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको सुरू मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो ।
यसमा पुनरावेदकको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री उषा मल्ल पाठक तथा विद्वान् अधिवक्ता श्री विष्णुमाया भुषालले पुनरावेदक प्रतिवादीले शिक्षण पेसा गरी, बकसपत्रबाट प्राप्त गरेको जग्गा बिक्री गरी, माइतीले दिएको ओखलढुङ्गाको घडेरी बिक्री गरी साथै माइतीका दाजुहरूबाट भएको सहयोग रकमसमेतबाट काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० कि.नं. ६८७ मा रहेको जग्गा खरिद गरेको र सोमा घर निर्माण गरेको साथै भक्तपुर कटुञ्जे गा.वि.स. वडा नं. ९(क) कि.नं. ७४७ को जग्गा बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति मुलुकी ऐन, अंशबन्डाको १८ नं. तथा स्त्री अंशधनको १, ५ नं.बमोजिम बन्डा नलाग्ने सम्पत्तिहरू भएकोले उच्च अदालत पाटनबाट पुनरावेदक प्रतिवादीको यी सम्पत्तिहरूसमेत बन्डा लाग्ने ठहर गरेको फैसला कानूनसम्मत छैन । तसर्थ पुनरावेदन अदालत पाटनबाट भएको उक्त फैसला बदर गरी उल्लिखित सम्पत्तिहरू पुनरावेदक प्रतिवादीको निजी आर्जनको सम्पत्ति ठहर गरिपाऊँ । साथै विपक्षी पति नेपाल टेलिकममा स्थायी जागिरे भएको र हाल त्यसबाट VRS अन्तर्गत स्वेच्छिक अवकाश लिने गरी जागिर छोडेको हुँदा त्यसबाट प्राप्त हुने रकम, निजको नाउँको नेपाल टेलिकमको १४६० कित्ता सेयरबाट समेत पुनरावेदकहरूलाई अंश दिलाई भराइपाऊँ । साथै छोराछोरीहरूको विवाह खर्चसमेत नछुट्याएको हुँदा सोसमेत छुट्याइपाउँ भन्ने बेहोराको बहस प्रस्तुत गर्नुभयो ।
त्यसैगरी प्रत्यर्थीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री श्रीभक्त भडेल र श्री बलबहादुर राईले प्रत्यर्थी वादीले २०३८ सालमा ओखलढुङ्गा गाउँको पुर्ख्यौली जग्गा बिक्री गरेको, काठमाडौं कोटेश्वरमा प्रत्यर्थी वादीको एकलौटी नाममा कि.नं. १११७ को जग्गा बिक्री गरेको, नेपाल टेलिकमबाट मिति २०५१।११।२३ मा ३ वर्षे ऋण सापटी लिएको स्टेटमेन्ट र सोही ऋण रकमले भक्तपुरमा श्रीमतीको नाउँमा जग्गा खरिद गरेको, सञ्चयकोषबाट ७ वर्षे House Loan लिएको र नेपाल टेलिकमबाट मिति २०५६।११।०९ मा ७ वर्षे ऋण सापटी लिएको रकम बुद्धनगरमा घर बनाउँदा लगानी गरेको हुँदा पुनरावेदकले लिएको जिकिरअनुरूप उक्त सम्पत्तिहरू निजी आर्जनको भनी मान्न मिल्ने अवस्था छैन । जहाँसम्म पुनरावेदकले बकसपत्रबाट प्राप्त गरेको भन्ने जिकिर लिएको छ तत्सम्बन्धमा विपक्षीले बकस कायम हुन बकस लिने दिने व्यक्तिको बकस दिनेसम्मको सम्बन्ध स्थापित गर्न सकेको छैन । त्यस्तै नेपाल टेलिकमको सेयरको सम्बन्धमा उक्त सेयर तायदाती फाँटवारीमा उल्लेख गरेको छैन । विपक्षीले मौकामा नै सो सम्बन्धमा दाबी गरेको नहुँदा तत्सम्बन्धमा समेत यस इजलासबाट विवेचना गर्नुपर्ने होइन । तसर्थ, पुनरावेदन अदालत पाटनबाट भएको फैसला कानूनसम्मत नै हुँदा सोही फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्तानुसारको बहस सुनी मिसिलसमेत अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२।१०।२४ मा भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
निर्णयतर्फ विचार गर्दा, वादीले पाउनुपर्ने अंश भागको सम्पत्ति विपक्षी प्रतिवादी (श्रीमती) को जिम्मामा रहेको हुँदा निजबाट तायदाती फाँटवारी मगाई सम्पूर्ण चल अचल सम्पत्तिलाई ४ भाग लगाई सोको १ भाग अंश दिलाइपाउँ भन्ने बेहोराको फिराद दाबी रहेकोमा विपक्षीले दाबी गरेका घर जग्गाहरू आफ्नो निजी आर्जनको सम्पत्ति भएकोले बन्डा लाग्ने होइन भन्नेसमेत बेहोराको प्रतिउत्तर जिकिर रहेको पाइन्छ । वादी प्रतिवादीहरूले तायदाती फाँटवारीमा देखाएका झापा राजगढ ५ कि.नं.३६१, १०८९ र ५४१ तथा काठमाडौं महानगरपालिका वडा नं.१० कि.नं. ६८७ को जग्गा र घर वादी प्रतिवादी साथै बुझिएका अंशियारको सगोलको सम्पत्ति देखिएको र उक्त सम्पत्तिबाट ६ भागको १ भागमध्ये १ भागलाई ४ भाग लगाई सोमध्ये १ भाग सम्पत्ति घरजग्गा अंशबापत वादी कुमारबहादुर राजभण्डारीले छुट्ट्याई लिन पाउने र कि.नं. ७४७ भक्तपुर कटुन्जेको जग्गा कुमारबहादुर राजभण्डारीले आफ्नी पत्नी धनकुमारीको नाउँमा खरिद गरिएको स्वआर्जनको देखिँदा ४ खण्डको १ खण्ड जग्गा अंशबापत छुट्ट्याई चलनसमेत चलाउन पाउने र संस्थाको ऋण सबै अंशियारले बेहोर्नुपर्ने तथा व्यक्तिको ऋण साहुको नालेस परेका बखत कानूनबमोजिम हुने ठहरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।०३।०१ मा फैसला भएको देखिन्छ । सो फैसलाउपर प्रतिवादी धनकुमारी के.सी. (राजभण्डारी) समेतको तर्फबाट पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० कि.नं. ६८७ को घरजग्गासमेत सबै अंशियारको अंश हक लाग्ने भनी ठहर्याएको हदसम्म सुरू काठमाडौं जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भई उक्त घरजग्गामा प्रत्यर्थी वादी कुमार राजभण्डारीलाई मात्र भाग बन्डा लाग्ने देखिएकोले सोबाट ४ भागको १ भाग अंशबन्डा लाग्ने र अन्यमा सुरू अदालतको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत पाटनबाट फैसला भएको पाइयो । उक्त फैसलाउपर चित्त नबुझाई प्रतिवादी धनकुमारी के.सी.समेतको तर्फबाट यस अदालतमा पुनरावेदन दायर भई मिति २०७४।०७।०१ मा प्रत्यर्थी झिकाउने आदेश भएको देखियो ।
पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर हेर्दा, प्रतिवादी धनकुमारी के.सी.ले शिक्षण पेसा गरी, बकसपत्रबाट प्राप्त गरेको जग्गा बिक्री गरी, माइतीले दिएको ओखलढुङ्गाको घडेरी बिक्री गरी साथै माइतीका दाजुहरूबाट भएको सहयोग रकमसमेतबाट काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० कि.नं. ६८७ मा रहेको जग्गा खरिद गरेको र सोमा घर निर्माण गरेको साथै भक्तपुर कटुञ्जे गा.वि.स. वडा नं. ९(क) कि.नं. ७४७ को जग्गा बकसपत्रबाट प्राप्त गरेको स्वआर्जनको सम्पत्ति भएकोले बन्डा लाग्ने होइन । विपक्षी पति नेपाल टेलिकममा स्थायी जागिर भएको र हाल त्यसबाट VRS अन्तर्गत स्वेच्छिक अवकाश लिने गरी जागिर छाडेको हुँदा त्यसबाट प्राप्त हुने रकम र निजको नाउँको नेपाल टेलिकमको १४६० कित्ता सेयर पुनरावेदन अदालतको आदेशबाट रोक्का रहेकोले सोसमेत बन्डा गरिपाउँ भन्ने बेहोराको पुनरावेदक प्रतिवादी धनकुमारी के.सी.समेतको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ । साथै पुनरावेदकको तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीले प्रस्तुत मुद्दाका अन्य प्रतिवादी अविवाहिता छोराछोरीहरूको विवाह खर्च नछुट्याएको हुँदा सोसमेत छुट्याइपाउँ भनी बहसको क्रममा जिकिर लिएको अवस्था छ ।
यस सन्दर्भमा मुद्दाको तथ्य, पुनरावेदन जिकिर र वादी प्रतिवादीको तर्फबाट रहनुभएका विद्वान् कानून व्यवसायीहरूको बहस जिकिरसमेतलाई मध्यनजर गर्दा प्रस्तुत मुद्दामा मुख्य रूपमा देहायका प्रश्नहरूको निरूपण गरी पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ भन्नेतर्फ निर्णय दिनुपर्ने देखिन आउँछ:
(क) काठमाडौंको कि.नं. ६८७ को घरजग्गा र भक्तपुरको कि.नं. ७४७ को जग्गा पुनरावेदक प्रतिवादीको निजी आर्जनको सम्पत्ति हो वा वादीलाई समेत बन्डा हुने सगोलको सम्पत्ति हो ?
(ख) प्रत्यर्थी वादी कुमारबहादुर राजभण्डारीको नाउँमा रहेको नेपाल टेलिकमको १४६० कित्ता सेयर बन्डा लाग्ने हो वा होइन ?
(ग) अविवाहिता छोराछोरीहरूको विवाह खर्च पर सार्नुपर्ने हो वा होइन ?
२. अब, पहिलो प्रश्नतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरू र प्रत्यर्थी वादी अंशियार रहेको र निजहरूका बिच अंशबन्डा हुन बाँकी रहेको भन्ने तथ्यमा विवाद देखिँदैन । पुनरावेदक प्रतिवादी धनकुमारी के.सी.ले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १० को कि.नं. ६८७ र भक्तपुर कटुञ्जे गा.वि.स. वडा नं. ९(क) कि.नं. ७४७ को जग्गा निजी आर्जनको सम्पत्ति हुँदा सो घरजग्गाबाट वादीले अंश पाउने होइन भनी जिकिर लिएको पाइन्छ । प्रतिवादीका तर्फबाट पेस भएको तायदाती फाँटवारीमा काठमाडौंको कि.नं. ६८७ को जग्गा र सोमा बनेको घर आफूले शिक्षण पेसा गरी, बकसपत्रबाट अघि प्राप्त गरेको जग्गा बिक्री गरी, माइतीले दिएको ओखलढुङ्गाको घडेरी बिक्री गरी साथै माइतीका दाजुहरूबाट भएको सहयोग रकमबाट समेत राजीनामा गरी लिएको र भक्तपुरको कि.नं. ७४७ को जग्गा अशोकप्रसाद फुयालबाट हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको भनी विवरण उल्लेख गरेको देखिन आउँछ ।
३. प्रतिवादीको उक्त जिकिरलाई मिसिल संलग्न प्रमाण कागजातको रोहमा हेर्दा प्रतिवादीको नाउँमा रहेको काठमाडौंको कि.नं. ६८७ को जग्गा निजले मिति २०५८।१२।०२ मा पुरूषोत्तम महर्जनबाट र.नं. १०९४१ बाट राजीनामा पारित गरी लिएको देखिन्छ । उक्त जग्गा आफूले अघि बकसबाट प्राप्त जग्गा बिक्री गरी तथा आमा गायत्रीदेवी के.सी.ले बकस गरिदिएको ओखलढुङ्गाको कि.नं. १०३९ को जग्गा बिक्री गरी प्राप्त रकमसमेतबाट खरिद गरी घर निर्माण गरेको भन्ने प्रतिवादीको जिकिर रहेको पाइन्छ । यसैगरी कि.नं. ७४७ को जग्गा निजले दाता अशोकप्रसाद फुयालबाट मिति २०५२।०९।१० मा हालैको बकसपत्रको लिखतबाटै प्राप्त गरेको भन्ने देखिन आउँछ । निजले बिक्री गरेको भनेको कि.नं. २९० को जग्गा दाता मैया बस्ताकोटीबाट र.नं. ६३६४७ बाट मिति २०४८।०७।२६ मा हा.व.को लिखत पारित गरी लिएको, मिति २०५७।०६।१६ मा हसिना प्रधानलाई राजीनामा पारित गरिदिएको देखिन्छ ।
४. अब, उल्लिखित कित्ता जग्गा पुनरावेदक प्रतिवादीको जिकिरबमोजिम निजको निजी आर्जनको वादीलाई बन्डा नलाग्ने सम्पत्ति हो होइन भन्ने सम्बन्धमा हेर्दा कि.नं. ६८७ को जग्गा निजले मिति २०५८।१२।०२ मा राजीनामाबाट खरिद गरी लिएको अवस्था छ । उक्त जग्गा प्रतिवादीको नाममा खरिद गरेको देखिए तापनि वादी प्रतिवादी सगोलमा रहेको अवस्थामा सो जग्गा प्राप्त भएको र प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार अन्यथा प्रमाणित नभएसम्म एकाघरका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी मान्नुपर्ने र प्रतिवादीले उक्त सम्पत्ति निजी आर्जनबाट प्राप्त गरेको भनी अन्यथा पुष्टि गर्न सकेको अवस्था देखिएन ।
५. जहाँसम्म प्रतिवादीले सो जग्गा राजीनामाबाट खरिद गर्दा अघि आफूले बकस पाएको कि.नं. २९० को जग्गा बिक्री गरेको तथा भक्तपुरको कि.नं. ७४७ को जग्गा बकसपत्रबाट प्राप्त भएकोले निजी आर्जन कायम हुनुपर्ने भनी लिएको जिकिर छ त्यसतर्फ हेर्दा साबिक मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. मा "....... कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ । बन्डा गर्न कर लाग्दैन" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त व्यवस्थाअनुसार कसैले निजी तवरबाट दान बकस पाएको भए त्यस्तो सम्पत्ति अन्य अंशियारलाई बन्डा नलाग्ने तथ्यमा विवाद भएन तर उक्त कानूनमा प्रयुक्त “निजी तवरले दान वा बकस पाएको” भन्ने वाक्यांश हेर्दा त्यस्तो सम्पत्ति बकस पाएको मात्र नभई “निजी तवरले” बकस पाएको हो वा होइन ? भन्ने हेर्नुपर्ने देखिन आयो । सोका लागि दाबीको सम्पत्ति दाबीकर्ताले दातालाई रिझाएबापत कुनै मूल्य नलिई वा उल्लेख्य रूपमा कम मूल्य लिई सही र वास्तविक अर्थमा बकस पाएको तथ्य स्थापित हुनुपर्दछ । वस्तुतः रकम तिरी खरिद गरिएको जग्गालाई समेत बकसपत्र नामकरण गरी पारित गर्न कानूनले बाधा नगरेको अवस्थामा मुद्दाको तथ्यबाट त्यस्तो कानूनी व्यवस्थाको लाभ लिई रकम तिरी भएको कारोबारलाई समेत रिझबापत भनी कैफियत जनाई बकसपत्र नामकरण गरेको देखिन आएमा त्यसरी प्राप्त गरिएको सम्पत्तिलाई निजी तवरले बकसपत्रबाट प्राप्त सम्पत्ति भनी अन्य अंशियारलाई बन्डा नलाग्ने भन्नु न्यायको रोहमा उचित हुँदैन ।
६. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले बिक्री गरेको कि.नं. २९० को जग्गा यी पुनरावेदकले भैपरी आएको कामकाजमा मद्दत पुर्याउँदै आउनुभएको भनी दाता मैया बस्ताकोटीले र कि.नं. ७४७ को जग्गा घर व्यवहारमा सहयोग गरेको भनी दाता अशोकप्रसाद फुयालले बकसपत्र दिएको भन्ने बकसपत्र लिखतको कैफियत महलमा उल्लेख भएको देखिन्छ । उल्लिखित दुवै कारोबारमा दाता र बकसपत्र प्राप्त गर्ने यी पुनरावेदक प्रतिवादीबिच कुनै नाता सम्बन्ध वा घनिष्ठता देखिँदैन । पुनरावेदक प्रतिवादीले आफूले जग्गादाताहरूको छोरा छोरीहरूलाई ट्युसन पढाइ रिझाएबापत उल्लिखित जग्गाहरू बकस पाएको भन्ने जिकिर लिए तापनि उक्त जिकिर लिखतको कैफियत बेहोराबाट पुष्टि नहुने र कुनै सम्बन्ध सरोकार नभएको उनाउ व्यक्तिबाट केवल छोराछोरीलाई ट्युसन पढाएकै आधारमा मात्र उल्लिखित जग्गाहरू बकस पाएको भन्ने भनाइ स्वाभाविक र विश्वासलायक देखिँदैन ।
७. अर्कोतर्फ प्रत्यर्थी वादीले आफ्नो नाउँको काठमाडौंको कि.नं. १११७ को जग्गा बिक्री गरी सो बाट कि.नं. २९० को जग्गा श्रीमती (धनकुमारी के.सी.) को नाउँमा बकसपत्रबाट खरिद गरेको र पछि सोही जग्गा बिक्री गरी काठमाडौंको कि.नं. ६८७ को जग्गा खरिद गरेको, आफूले नेपाल टेलिकमबाट मिति २०५१।११।२३ मा ३ वर्षे ऋण सापटी लिएर भक्तपुरको कि.नं. ७४७ को जग्गा श्रीमतीको नाउँमा खरिद गरेको, सञ्चय कोषबाट लिएको ७ वर्षे house loan र नेपाल टेलिकमबाट मिति २०५६।११।०९ मा लिएको ७ वर्षे ऋण सापटीको रकम काठमाडौं बुद्धनगरमा घर बनाउन खर्च गरेको भन्ने जिकिर लिई उल्लिखित तथ्य पुष्टि हुने लिखत प्रमाणसमेत पेस गरेको देखिन्छ । निजले पेस गरेको तायदाती फाँटवारीबाट पैतृक सम्पत्तिबाहेक निजको नाउँमा अन्य कुनै सम्पत्ति रहेको भन्ने देखिन आउँदैन । प्रत्यर्थीले लामो समय नेपाल टेलिकममा नोकरी गरेको, टेलिकमबाट र सञ्चय कोषबाट समेत घर कर्जालगायत ऋण सापटी लिएको देखिएको, ओखलढुङ्गाको पुर्ख्यौली सम्पत्ति र काठमाडौंको कि.नं. १११७ को जग्गासमेत बिक्री गरेकोमा सोबाट प्राप्त रकम उल्लिखित घरजग्गाबाहेक अन्यत्र खर्च भएको वा प्रयोग गरिएको भन्ने देखिन आउँदैन । यसबाट वादी प्रतिवादीहरूका नाउँमा रहेको विभिन्न कित्ता जग्गा बिक्रीबाट प्राप्त रकम र वादीले विभिन्न मितिमा लिएको ऋण सापटीसमेतको रकमबाट कि.नं. ६८७ को जग्गा राजीनामाबाट र कि.नं. ४७४ को जग्गा पुनरावेदक प्रतिवादीको नाउँमा बकसपत्रबाट खरिद गरी लिएको भन्ने पुष्टि हुन आयो ।
८. प्रतिवादीले उल्लिखित कित्ता जग्गा आफ्नो निजी आर्जनबाट राजीनामा र निजी तवरले बकस प्राप्त गरेको भन्नेसमेतको जिकिर लिएको भए तापनि केवल जग्गा दिँदा लिखतमा बकसपत्र नामकरण गरिएको सम्मको कारणबाट मात्र सो सम्पत्ति प्रतिवादीले निजी तवरले बकस प्राप्त गरेको भनी मान्न नमिल्ने र उक्त सम्पत्ति प्राप्त गर्न सगोलको पति प्रत्यर्थी वादीको समेत योगदान रहेको पुष्टि हुन आएकोले विवादित कि.नं. ६८७ र ७४७ को घरजग्गा वादीलाई बन्डा नलाग्ने निजी आर्जनको भन्ने पुनरावेदक प्रतिवादीको जिकिर पुष्टि हुन आएन ।
९. अब, दोस्रो प्रश्नको हकमा हेर्दा, विपक्षी पति कुमारबहादुर राजभण्डारीको नाउँमा रहेको नेपाल टेलिकमको १४६० कित्ता सेयर बन्डा हुनुपर्ने भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर देखिन्छ । निजले पेस गरेको तायदाती फाँटवारीमा बन्डा गर्नुपर्ने सम्पत्तिको विवरणमा उक्त सेयर विवरणसमेत उल्लेख गरेको देखिन्छ । प्रत्यर्थी वादीको नाउँमा नेपाल टेलिकमको १४६० कित्ता सेयर रहेको भन्ने मिसिल संलग्न नेपाल टेलिकमले प्रदान गरेको सेयरको प्रमाणपत्रको प्रतिलिपिबाट देखिन्छ । उक्त संस्थाको सेयर पुनरावेदन अदालत पाटनको मिति २०७२।०९।२७ को आदेशानुसार नेपाल टेलिकमले रोक्का राखेको समेत देखिन्छ । तर सो अदालतको फैसलामा उक्त सेयर बन्डा लाग्ने नलाग्ने सम्बन्धमा केही बोलेको पाइएन । अंशबन्डा गर्दा सगोलको सम्पत्ति तथा दायित्व सबै अंशियारहरूबिच बराबर र जियजियैको अंश गरिदिनुपर्ने अंशबन्डासम्बन्धी कानूनको आधारभूत मान्यता हो । उक्त कानूनी व्यवस्थाको रोहबाट हेर्दा प्रत्यर्थी वादी कुमारबहादुर राजभण्डारीको नाउँमा रहेको उल्लिखित कित्ताका सेयर पुनरावेदक प्रतिवादीहरूका हकमा समेत समान रूपमा बन्डा लाग्ने देखिन आयो ।
१०. तेस्रो प्रश्नतर्फ विचार गर्दा, पुनरावेदकका तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूले प्रस्तुत मुद्दाका अन्य प्रतिवादीहरू अविवाहिता छोराछोरीहरू रहेकोले निजहरूको विवाह खर्च पर सारिएको नहुँदा विवाह खर्च पर सार्नुपर्ने भनी बहसको क्रममा जिकिर लिएको पाइन्छ । सो सम्बन्धमा मुलुकी ऐन अंशबन्डाको महलको १७ नं. मा “विवाह नभएका छोराछोरीको विवाह खर्च पर सार्दा विवाह नभएका छोराछोरी धेरै भए पनि थोरै भए पनि जम्मा धन सम्पत्ति दुई हजारदेखि बढ्ता ठहरे सयकडा पाँच, दुई हजारदेखि मुनि एक हजारसम्म धन सम्पत्ति ठहरे सयकडा दश, एक हजारदेखि घटी धन सम्पत्ति ठहरे सयकडा बिसका दरले विवाह खर्च पर सारी जस्तो हिसाबको अंश पाउँछ सोही हिसाबसित दामासाही गरी विवाह खर्च पनि बाँडिदिनुपर्छ । लेखिएबमोजिम बन्डा गर्दा विवाह खर्च पाउने एक जवान मात्र र अंश पाउने अंशियार धेरै जवान भई अंशियारले पाउने अंशभन्दा विवाह खर्च धेरै पाउने भएमा अंशियार एक जनाले पाउने अंशको चार खण्डको तीन खण्डसम्म विवाह खर्च पाउँछ बढी पाउँदैन । भाइ भाइको अंश गर्दामा भए भाइ भाइको छोरा छोरीहरूलाई विवाह खर्च पर सार्नु पर्दैन” भन्ने उल्लेख गरेको देखिन्छ । उल्लिखित कानूनी व्यवस्था हेर्दा अंशबन्डा गर्दा अंश दिने बुबा वा आमाको छोरा वा छोरी पनि रहेछन् र तिनीहरूको विवाह भएको रहेनछ भने विवाह नभएका छोराछोरीको हकमा विवाह खर्च पर सारेर मात्र अंशबन्डा गर्नुपर्ने देखियो । प्रस्तुत मुद्दाको सन्दर्भमा प्रत्यर्थी वादी कुमार राजभण्डारी र प्रतिवादी धनकुमारी के.सी.का एक छोरा अनमोल राजभण्डारी र एक छोरी आज्ञा राजभण्डारीको जायजन्म भएको र निजहरूको हालसम्म विवाह नभएको भन्ने तथ्यमा विवाद नदेखिएको एवम् अविवाहित छोराछोरीहरूलाई विवाह खर्च छुट्याइसकेको भन्नेसमेत मिसिलबाट नदेखिँदा उल्लिखित कानूनी व्यवस्थाबमोजिम बन्डा गर्नुपर्ने सम्पत्तिबाट अविवाहित छोराछोरीहरूको विवाह खर्चबापत मुलुकी ऐन अंशबन्डाको महलको १७ नं.बमोजिम हुन आउने सम्पत्ति पर सारेर मात्र यी वादी प्रतिवादीबिच अंशबन्डा गर्नुपर्ने देखिन आयो ।
११. यसप्रकार माथि प्रकरणहरूमा विवेचना गरिएका आधार, प्रमाण र कानूनी व्यवस्थाबाट प्रतिवादी धनकुमारी के.सी.को नाउँमा रहेको काठमाडौं स्थित कि.नं. ६८७ को घरजग्गा र भक्तपुरको कि.नं. ७४७ को जग्गा निजको निजी आर्जनको सम्पत्ति पुष्टि भएको नदेखिँदा उल्लिखित घरजग्गा सगोलको सम्पत्ति मानी यी प्रत्यर्थी वादी र पुनरावेदक प्रतिवादीहरूबिच बन्डा हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला सो हदसम्म मिलेको देखिँदा अन्यथा गर्नुपर्ने देखिन आएन । पुनरावेदकले दाबीको सम्पत्ति बकसपत्रबाट पाएको भए तापनि उक्त सम्पत्ति प्राप्त गर्न प्रत्यर्थी वादीसमेतको योगदान रहेको देखिँदा यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेश गर्दा लिएका आधारसँग यो इजलास सहमत हुन सकेन । तथापि प्रत्यर्थी वादीको नाउँमा रहेको नेपाल टेलिकमको १४६० कित्ता सेयर पुनरावेदन अदालतको आदेशबाट रोक्का राखिएको भए तापनि सो सम्बन्धमा फैसलामा केही उल्लेख नगरिएको हदसम्म पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी भई उक्त सेयरलाई ४ भाग लगाई ४ भागको ३ भाग पुनरावेदक प्रतिवादीहरूले बन्डा पाउने र दुई जना अविवाहिता छोराछोरीहरूको विवाह खर्च पर नसारेको हदसम्म पुनरावेदन अदालतको फैसला केही उल्टी गरी मुलुकी ऐन, अंशबन्डाको महलको १७ नं.बमोजिम निजहरूको विवाह खर्च पर सारेर मात्र अंशबन्डा हुनुपर्ने देखियो ।
१२. तसर्थ, माथि विवेचित आधार, प्रमाण, तथा कानूनी व्यवस्थासमेतबाट सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।०३।०१ को फैसला केही उल्टी गरी वादी दाबीको कि.नं. ६८७ र कि.नं. ७४७ को घरजग्गा वादी र प्रतिवादीहरूबिच अंशबन्डा लाग्ने ठहर्याएको हदसम्म पुनरावेदन अदालत पाटनबाट मिति २०७२।१०।२४ मा भएको फैसला मिलेको हुँदा सदर हुने र प्रत्यर्थी वादीको नाउँमा रहेको नेपाल टेलिकमको १४६० कित्ता सेयर सम्बन्धमा फैसलामा केही नबोलेको र अविवाहित अंशियारलाई विवाह खर्च पर नसारेको हदसम्म उक्त फैसला केही उल्टी भई उक्त सेयरको ४ भागको ३ भाग पुनरावेदक प्रतिवादीहरूले बन्डा पाउने तथा अविवाहिता छोराछोरीहरूले कानूनबमोजिम पाउने विवाह खर्चसमेत पर सारी दिनुपर्ने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
१. माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत पाटनबाट भएको फैसला केही उल्टी हुने ठहरेकोले देहायबमोजिम हुने गरी सुरू अदालतको तपसिल खण्डको बेहोरा संशोधन गरी फैसला कार्यान्वयन गर्नु भनी प्रस्तुत फैसलाको प्रतिलिपि साथै राखी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू ।
प्रत्यर्थी वादी कुमारबहादुर राजभण्डारीको नाउँमा रहेको नेपाल टेलिकमको १४६० कित्ता सेयरको ४ भागको ३ भाग पुनरावेदक प्रतिवादीहरूका नाउँमा कायम गरिदिन सम्बन्धित निकायमा लेखी पठाउनू ।
बन्डा छुट्याउँदा अविवाहिता छोराछोरी अनमोल राजभण्डारी र आज्ञा राजभण्डारीको विवाह खर्च मुलुकी ऐन अंशबन्डाको महलको १७ नं.बमोजिम पर सारी बन्डा गर्नू ।
२. पुनरावेदकहरूले यस अदालतमा पुनरावेदन दायर गर्दा रू.१०,००२।- कोर्ट फी यस अदालतको मिति २०७३।०६।१३ को आदेशानुसार सुविधा लिएको देखिँदा उक्त कोर्ट फी पुनरावेदकहरूबाट असुल गर्नु भनी सुरू अदालतमा लगत दिनू ।
३. प्रस्तुत फैसलाको विद्युतीय प्रति विद्युतीय प्रणालीमा प्रविष्ट गरी, दायरीको लगत कट्टा गरी, मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ
इजलास अधिकृत:- सबिनकुमार थिङ तामाङ
इति संवत् २०८० साल साउन १६ गते रोज ३ शुभम् ।