शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३५१ - लिखित बेइज्जती

भाग: ६६ साल: २०८१ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा

फैसला मिति : २०८०।९।१७

 

मुद्दा:- लिखित बेइज्जती

 

०७८-CR-०७६२

पुनरावेदक / प्रतिवादी : भेषराज पोखरेलको छोरा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.६ बुद्धचोक गाउँ बस्ने नारायणप्रसाद पोखरेल

विरूद्ध

प्रत्यर्थी / वादी : दलबहादुर पुनको श्रीमती जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. ८ स्थित साइनिङ्ग स्टार स्कुल नजिक बस्ने पार्वती आचार्य पुन

 

०७८-CR-०७६३

पुनरावेदक / प्रतिवादी : चेतु गिरीको छोरा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १० चटार गाउँ बस्ने रोमलाल गिरी

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. ८ बस्ने पार्वती आचार्य पुन

 

सामान्य रूपमा मुद्दामा व्यक्त गरिएका कथन केवल मुद्दाको निरूपण गर्ने प्रयोजनसम्मका लागि हो तर कुनै व्यक्तिको इज्जतमा आँच आउने गरी हुँदै नभएको, प्रसङ्गविहीन, अतिशयोक्तिपूर्ण, कोरा कल्पनामा आधारित निकृष्ट अभिव्यक्ति दिने कार्य सधैँ र सबै अवस्थामा स्वीकार्य हुन सक्दैन र मुद्दाको प्रसङ्गमा समेत सो कुरा अपवाद हुन नसक्ने ।

(प्रकरण नं.४)

गाली बेइज्जतीले व्यक्तिको चरित्रमा कति असर र प्रभाव पारेको छ त्यसबाट सिर्जित परिणामले निजलाई समाजमा जीविकोपार्जन गर्न तथा समाजमा निजको प्रतिष्ठामा तथा निजी जीवनमा कति असहज बनाएको भन्ने विषय पनि विचार गर्नुपर्ने । मुद्दाका प्रसङ्गमा भए पनि प्रतिवादीले अरूको इज्जतमा प्रश्न उठाउन नसक्ने । यौन कार्यमा संलग्न महिलालाई पनि सहमतिबिना यौन सम्बन्धमा इन्कार गर्ने अधिकार छ भने जबरजस्ती मुद्दाका प्रतिवादीले एउटी महिला जसको नाबालक छोरी नै जबरजस्ती करणीको कारण मानसिक एवम् शारीरिक रूपमा प्रताडित भइरहेको अवस्थामा उल्टै जाहेरवालाको चरित्रमाथि नै गम्भीर प्रश्न उठ्ने गरी बयान तथा बकपत्र बेहोराबाट यौनधन्दा जस्तो कार्यमा संलग्न रहेको भन्ने कुरा लिखित रूपमा नै प्रस्ट भएबाट प्रतिवादीहरूको त्यस्तो अभिव्यक्तिले फिरादीको मान इज्जत र सामाजिक प्रतिष्ठामा धक्का पुगेको देखिँदा लिखित गाली बेइज्जती ठहर्ने ।

(प्रकरण नं.५)

 

वादीका तर्फबाट : 

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री गोविन्द शर्मा बन्दी तथा विद्वान् अधिवक्ताहरू अजिता के.सी. र विद्वान् अधिवक्ता श्री दिर्घलाल गिरी 

अवलम्बित नजिर :

ने.का.प.२०४८, अङ्क ११, नि.नं.४४०४

सम्बद्ध कानून : 

गाली बेइज्जती ऐन, २०१६

 

सुरू फैसला गर्ने:

माननीय न्यायाधीश श्री विष्णुप्रसाद कोइराला

बाँके जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:

माननीय न्यायाधीश श्री गुणराज ढुंगेल

माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास

 

फैसला

न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई प्रतिवादीको पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:-

तथ्य खण्ड

विपक्षी रोमलाल गिरीले मिति २०७२।१२।१५ गते म फिरादीको ५ वर्ष ६ महिनाकी नाबालिक छोरी परिवर्तित नाम सङ्केत ६५ सम्झना ट-१ लाई जबरजस्ती करणी गरेकाले निजउपर जबरजस्ती करणीको कसुर अपराधमा कारबाही गरिपाउँ भनी जाहेरी दिएकी थिएँ । मिति २०७३।१।३१ मा विपक्षी प्रतिवादीहरूले गरेको बयान तथा बकपत्रसमेतमा “जाहेरवालीले मलाई यौन धन्दामा लाग्ने केटी बनाइदिनुहोस् तपाइँलाई कमिसन दिउँलासमेत भन्ने गर्दथिन् । मैले यस्ता कर्तुत गर्नुहुँदैन भनी सम्झाउँथे । मैले उनले भनेको नमानेकै कारण मुद्दा हालेकी हुन्” भनी प्रतिवादी रोमलाल गिरीले बयानका क्रममा र प्रतिवादी नारायणप्रसाद पोख्रेलले “जाहेरवालीले प्रतिवादीलाई आफ्नो घरमा बोलाउने, रक्सी खुवाउ, घुम्न जाउँ भनी भनेका कुरामा प्रतिवादीले इन्कार गरेकामा आफूले भनेअनुसार स्वार्थ सिद्धि नभएकोले यी प्रतिवादीउपर झुट्टा आरोप लगाएकी हुन्” भन्ने जस्ता आपत्तिजनक र अपमानजनक अभिव्यक्ति लेखाएकोले यी विपक्षीहरूले म फिरादीको व्यक्तिगत आचरण, इज्जत, मानसम्मान मर्यादा विश्वाससमेतमा धक्का पुर्‍याउने नियतका साथ उल्लिखित भाषाको प्रयोग गरेकाले विपक्षीहरूलाई गाली र बेइज्जती ऐन,  २०१६ को दफा ५,  ८ नं.बमोजिम हदैसम्मको कैद र जरिवाना गरी ऐ.ऐनको दफा १२ बमोजिम मनासिब क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको सुरू अदालतमा दिएको पार्वती आचार्य पुनको फिराद दाबी ।

म प्रतिवादी रोमलाल गिरीलाई जबरजस्ती करणी गरेको भनी वादीले झुट्टा दाबी गरेकोले उक्त जबरजस्ती करणी मुद्दा चल्नुपूर्व यी वादी पार्वतीले विभिन्न ठाउँमा रिल्याक्स गरौं भन्ने, कहिले आफ्नो घरमा बोलाई शारीरिक सम्पर्क गरौं जस्ता कुरा गरेकीमा म प्रतिवादी रोमलाल गिरीले नमानेपछि मलाई फसाउनको लागि आफ्नै छोरीलाई जबरजस्ती करणी गर्‍यो भनी झुट्टा मुद्दा दायर गरेकी थिइन् । म प्रतिवादी नारायण पोख्रेलले अर्का प्रतिवादी रोमलालउपर दायर भएको जबरजस्ती करणीको मुद्दामा प्रतिवादीको साक्षीको रूपमा अदालतमा मैले सत्य साँचो देखे जानेको कुरा उल्लेख गरी उक्त मुद्दामा बकपत्र गरेकोले सो भनाइबाट वादीको चरित्रमा आँच पुर्‍याउने गरी जानी जानी कुनै पनि गाली बेइज्जती नगरेको हुँदा वादीको दाबीबाट फुर्सद दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू रोमलाल गिरी र नारायण पोख्रेलको सुरू अदालतमा दिएको संयुक्त प्रतिउत्तर पत्र ।

वादी पार्वती आचार्यको आचरण नराम्रो छैन । प्रतिवादीले वादीको चरित्र हत्या गर्ने तरिकाले सो कुरा भनेका होलान् । प्रतिवादीको भनाइ सत्य होइन । सो कार्यबाट वादीको नैतिकतामा, मान प्रतिष्ठानमा आँच आउने काम भएको छ भन्नेसमेत बेहोराको वादीका साक्षी खुशल भण्डारीले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादीहरूले वादी पार्वती आचार्यको चरित्रमा धक्का पुर्‍याउन खोजेको होइन । वादीको बेइज्जती गर्नका लागि उक्त बयान बकपत्र गरेका होइनन् । प्रतिवादीहरूलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादीहरूका साक्षी भुमबहादुर खड्काले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादीहरूमध्ये रोमलाल गिरीलाई गाली बेइज्जती ऐनको दफा ५ अनुसार एक महिना कैद र एक हजार रूपैयाँ जरिवाना र ऐ.दफा ८ अनुसार थप दुई सय रूपैयाँ जरिवाना र अर्का प्रतिवादी नारायणप्रसाद पोखरेललाई गाली बेइज्जती ऐन, २०१६ को दफा ५ अनुसार पाँच सय रूपैयाँ जरिवाना र ऐ.दफा ८ अनुसार एक सय थप गरी छ सय रूपैयाँ जम्मा जरिवाना हुने ठहर्छ । वादीले प्रतिवादीबाट ऐ.दफा १२ अनुसार दश हजार रूपैयाँ क्षतिपूर्ति पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू बाँके जिल्ला अदालतको फैसला ।

जबरजस्ती करणी मुद्दाका प्रतिवादी रोमलाल गिरीले भनेको कुरालाई मैले साक्षी बकपत्र गर्दा उल्लेख गरेको तर यी वादीको चरित्र सम्बन्धमा जानी जानी आँच आउने गरी बकपत्र गरेको होइन । अदालतमा बकपत्र गर्दा यी विपक्षीको इज्जतमा धक्का पुर्‍याउने नियतले कुनै बेइज्जतीको आरोप लगाएको नभई विपक्षीले रोमलाल गिरीलाई जबरजस्ती करणी मुद्दामा आरोप लगाउनु पर्ने कारण उल्लेख गरेबाट गाली र बेइज्जती नठहरीने हुँदा सुरू अदालतले लिखत गाली र बेइज्जती गरेको ठहर्‍याई भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ पाउँ भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा नारायणप्रसाद पोख्रेलले पेस गरेको पुनरावेदनपत्र ।

जबरजस्ती करणी मुद्दामा आफ्नो प्रतिरक्षा गर्ने सिलसिलामा जाहेरवालीले मलाई जबरजस्ती करणी मुद्दामा फसाउनुपर्ने कारण उल्लेख गर्दै व्यवहारमा भए घटेका सत्य तथ्य कुरा उल्लेख गर्दै जबरजस्ती करणी मुद्दामा बयानको सिलसिलामा व्यक्त गरेको सामान्य शब्दबाट गाली र बेइज्जती ऐन, २०१६ को दफा ३ ले कसैको चरित्र सम्बन्धमा आँच आउने भनी भन्न नमिल्ने र उक्त ऐनअनुसार सजाय जरिवानासमेत हुन नसक्ने हुँदा सुरू बाँके जिल्ला अदालतबाट लिखित गाली र बेइज्जती गरेको ठहराई गरेको फैसला त्रुटिपूर्ण भएकोले बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रोमलाल गिरीले उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा पेस गरेको पुनरावेदन पत्र । 

०७३-CS-०२३५ र ०३४१ को मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी हुँदा यस मुद्दा पनि मुलुकी ऐन अ.बं.२०२ नं.तथा उच्च अदालत नियमावली २०७३ को नियम ११२ बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको आदेश । 

बाँके जिल्ला अदालतबाट मिति २०७३।८।२२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक / प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट मिति २०७४।०७।२८ मा भएको फैसला ।

जबरजस्ती करणी मुद्दाका प्रतिवादी रोमलाल गिरीको साक्षीको रूपमा मैले अदालतमा बकपत्र गर्दा गैरकानूनी सम्बन्ध देखे सुनेको छैन, घरमा बोलाउने, रक्सी खाउ भन्ने र घुम्न जाउँ भन्ने विभिन्न काममा लगाउने आफ्नो प्रयोगमा लिन खोज्थिन् भन्नेसमेतका कुरा गाउँघरमा सुनेको र यी प्रतिवादीले मैले सोध्दा हो भनेकाले मेरो बकपत्रमा उक्त भनाइरहेको हो । मलाई अदालतको आदेशबमोजिम रोमलाल गिरीले बकपत्रमा बोलाएकाले म साक्षीको हैसियतले सम्मानित बेन्चसमक्ष उपस्थित भई मु.ऐ.अ.व.१४३, १४४, १४६, १४७, १५०, १५२, १५४, १५६ नं. को साक्षीलाई प्रमाण ऐन, २०३१ को दफा ४७ बमोजिम ‘साक्षीले जवाफ दिन कर लाग्ने’ मध्येको व्यक्तिले ऐ. ऐनको दफा ४९ को कार्यविधि अपनाई ऐ. ऐनको दफा ५० बमोजिम मलाई सोधपुछ र जिरह गरिएको कुराले विपक्षीको आचरणमा जानी बुझी गाली बेइज्जती नगरेको प्रस्ट हुँदाहुँदै मलाई जरिवाना गर्ने गरी सुरू जिल्ला अदालत र उच्च अदालतबाट भएको फैसला नमिलेको हुँदा दो.पा.को निस्सा दिलाइपाउँ भनी प्रतिवादी नारायणप्रसाद पोखरेलले यस अदालतमा दिएको निवेदन पत्र । 

म प्रतिवादी भएको जबरजस्ती करणी मुद्दामा मेरो बयानको स.ज. ८ लाई दृष्टिगत गर्दा “यी वादीले मलाई नेपालगन्ज, रूपैडिहा घुम्न जाऔं रिल्याक्स गरौं भन्ने कहिले मेला आदिमा जाऔं, मोज मस्ती गरौं रक्सी मासु लिएर आउ भन्ने, कहिले मलाई जंगल लिएर जान्थिन्, होलीमा पनि मलाई बोलाएकी थिइन् म गएन, मलाई पटकपटक सम्भोग गरौं भनी जबरजस्ती प्रस्ताव गरेकोमा मेरो शारीरिक अवस्था कमजोर भएकोले निजले भनेका कुरा मैले नमानेकोले मलाई फसाउन जाहेरी दिएकी हुन यी वादीले आफ्नो भनेअनुसारको स्वार्थ सिद्धि नभएको कारणले मलाई नाबालक छोरीलाई जबरजस्ती करणी गर्‍यो भनी झुट्ठा मुद्दा चलाएकी हुन् भनी मैले बयानमा उल्लेख गरेका कुराबाट यी वादीको चरित्र सम्बन्धमा जानी जानी आँच आउने गरी बयान गरेको र वादीको चरित्रमा धक्का पुग्न गई बेइज्जती भएको मान्न मिल्दैन “कुनै खास तथ्य घटना वा सन्दर्भको उल्लेख गरी प्रयोग गरिएका अभिव्यक्तिहरू जो वास्तमा सत्य पनि हुँदैन तिनीहरूको तुलनामा कुनै खास सन्दर्भको उल्लेख नगरी सामान्य रूपमा अभिव्यक्त गरिएका यस्ता शब्दहरूलाई पीडित पक्षको इज्जतमा धक्का पुग्ने क्षतिको दृष्टिबाट कम गम्भीर मान्नुपर्ने” ने.का.प. २०७० अङ्क २ नि.नं.८९६१) मा प्रकाशित नजिर सिद्धान्तसमेतबाट प्रस्तुत मुद्दामा जानी जानी वादीको बेइज्जती भएको अवस्था नहुँदा वादी दाबी ठहर गर्दै सजाय गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) (क)(ख) बमोजिम मुद्दा दोहोर्‍याई पाउने निस्सा प्रदान गरी त्रुटिपूर्ण फैसलाहरू बदर गरिपाउँ प्रतिवादी रोमलाल गिरीले यस अदालतमा दिएको दोहोर्‍याइपाउँको निवेदन पत्र ।

यसमा प्रस्तुत मुद्दाको सुरू, रेकर्ड तथा भए प्रमाण मिसिलसमेत सम्बन्धित अदालतबाट झिकाउनुका साथै यसै अदालतमा मिति २०७५।०१।१४ मा पुनरावेदन दर्ता भई विचाराधीन रहेको ०७४-CR-१३०१ नं.को जबरजस्ती करणी मुद्दा प्रस्तुत मुद्दासँग साथै राखी नियमानुसार गरी पेस गर्नु भनी यस अदालतबाट भएको आदेश ।

यसमा यसै लगाउको ०७४-CR-१३०१ को जबरजस्ती करणी मुद्दामा आज यसै इजलासबाट प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत निवेदन उक्त मुद्दासँग अन्तरप्रभावी देखिएकोले प्रस्तुत निवेदनमा सोही मुद्दामा उल्लिखित आधार, कारणबाट प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१) (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्न अनुमति प्रदान गरिएको छ । नियमानुसार गर्नु भनी यस अदालतबाट मिति २०७८।०८।१५ मा भएको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको मिसिल, उच्च अदालतको रेकर्ड मिसिल र सुरू मिसिलसमेत अध्ययन गरियो । 

पुनरावेदक प्रतिवादी नारायणप्रसाद पोखरेलको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री दिर्घलाल गिरीले मेरो पक्ष नारायणप्रसाद पोखरेलले रोमलाल गिरीउपर दायर भएको जबरजस्ती करणी मुद्दामा प्रतिवादीको साक्षीको रूपमा अदालतको आदेशअनुसार उपस्थित भई बकपत्र गर्दा देखे जानेको कुरा भनेको हो । निजले जानी जानी वादीको मान मर्यादा सामाजिक इज्जत र व्यक्तिगत चरित्रमा आँच आउने गरी कुनै कुरा नभनेको हुँदा निजलाई सुरू बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट कसुरदार ठहर्ने गरी भएको उच्च अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्मको सुरू बाँके जिल्ला अदालतको फैसला सदर गरेको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको फैसला बदर हुनुपर्छ भनी बहस गर्नुभयो ।

पुनरावेदक प्रतिवादी रोमलाल गिरीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री गोविन्द शर्मा बन्दी र उपस्थित विद्वान् अधिवक्ता अजिता के.सी.ले प्रस्तुत मुद्दा दायर हुनुपूर्व मेराउपरमा दायर भएको जबरजस्ती करणी मुद्दामा मैले अदालतमा बयान गर्दा यी विपक्षीको इज्जतमा धक्का पुर्‍याउने नियतले गरेको होइन । जबरजस्ती करणीको मुद्दामा बयान गर्ने क्रममा घटना विवरण भन्ने सिलसिलामा बोलेका कुरालाई लिएर गाली बेइज्जती मुद्दा चलेको हो । मुद्दाको सिलसिलामा बोलेका कुरालाई लिएर गाली बेइज्जती ठहर हुनुपर्ने होइन । सुरू बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर नेपालगन्जबाट कसुरदार ठहर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्मको सुरू बाँके जिल्ला अदालतको फैसला सदर गरेको उच्च अदालत तुलसीपुर नेपालगन्जको फैसला बदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्त तथ्य, पुनरावेदनसरहको निवेदन जिकिर र बहस बुँदा रहेको प्रस्तुत मुद्दामा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, रोमलाल गिरी प्रतिवादी भएको जबरजस्ती करणी मुद्दाको बयान र बकपत्रमा उल्लिखित बेहोरालाई लिएर पार्वती आचार्य पुनको फिराद परी प्रस्तुत मुद्दाको उठान भएको देखिन आयो । प्रतिवादी नारायणप्रसाद पोखरेलले जबरजस्ती करणी मुद्दामा प्रतिवादी रोमलाल गिरीको साक्षीको रूपमा अदालतमा उपस्थित भई बकपत्र गर्दा जाहेरवालाले प्रतिवादीलाई आफ्नो घर बोलाउने, रक्सी खुवाउ र घुम्न जाउँ भनी भन्दा सो कुरा प्रतिवादीले नमानेको कारण अर्का प्रतिवादी रोमलालउपर जबरजस्ती करणीको झुट्टा मुद्दा दिएको हो भनी बकपत्र गरेको मिसिल संलग्न बकपत्रको बेहोराबाट देखियो । त्यसैगरी अर्का प्रतिवादी रोमलाल गिरीले जबरजस्ती करणी मुद्दामा बयान गर्दा स.ज. ८ मा “यी वादीले मलाई नेपालगन्ज, रूपैडिहा घुम्न जाऔ रिल्याक्स गरौं भन्ने कहिले मेला आदिमा जाऔं, मोज मस्ती गरौं, रक्सी मासु लिएर आउ भन्ने निजले कहिले मलाई जंगल लिएर जान्थिन्, होलीमा पनि मलाई बोलाएकी थिइन् म गएन, मलाई पटकपटक सम्भोग गरौं भनी जबरजस्ती प्रस्ताव गरेकोमा मेरो शारीरिक अवस्था कमजोर भएकोले निजले भनेका कुरा मैले नमानेकोले मलाई फसाउन जाहेरी दिएकी हुन् यी वादीले आफ्नो भनेअनुसारको स्वार्थ सिद्धि नभएको कारणले मलाई नाबालक छोरीलाई जबरजस्ती करणी गर्‍यो भनी झुट्ठा मुद्दा चलाएकी हुन्” भनी लेखाएको मिसिल संलग्न कागजातबाट देखियो ।

३. अब, के कस्तो अवस्थामा बेइज्जती गरेको मानिने भन्ने सम्बन्धमा गाली बेइज्जती ऐन, २०१६ को दफा ३ मा भएको कानूनी व्यवस्था हेर्दा “कसैले अरू कुनै व्यक्तिको इज्जतमा धक्का पुर्‍याउने नियतले वा धक्का पुग्ला भन्ने जानी जानी वा विश्वास गर्ने कारण भई लेखेर वा वचनले वा सङ्केतले वा बुझिने गरी आकार चिह्नद्वारा सो व्यक्तिलाई कुनै दोष लगाएमा वा त्यस्तो कुरा प्रकाशित गरेमा निजले सो व्यक्तिको बेइज्जती गरेको मानिने छ” भन्ने र सोही दफाको स्पष्टीकरण २(क) मा “जानाजान कसैको चरित्र हत्या गर्न वा अनुचित लाञ्छना लगाउने नियतले दोष लगाएमा वा प्रचार प्रसार गरेमा बेइज्जती गरेको ठहर्न सक्ने छ” भन्ने उल्लेख भएको पाइन्छ ।

४. अदालतसमक्ष दायर भएको मुद्दामा पक्षको तर्फबाट उपस्थित भई बकपत्र गर्दा बयान र बकपत्रको बेहोरामा उल्लेख भएको तथ्यलाई आधार मानी लिखित गाली बेइज्जतीको मुद्दा दायर भएको स्थिति भई सो सम्बन्धमा हेर्दा, सामान्य रूपमा मुद्दामा व्यक्त गरिएका कथन केवल मुद्दाको निरूपण गर्ने प्रयोजनसम्मका लागि हो तर कुनै व्यक्तिको इज्जतमा आँच आउने गरी हुँदै नभएको, प्रसङ्गविहीन, अतिशयोक्तिपूर्ण, कोरा कल्पनामा आधारित निकृष्ट अभिव्यक्ति दिने कार्य सधैं र सबै अवस्थामा स्वीकार्य हुन सक्दैन र मुद्दाको प्रसङ्गमा समेत सो कुरा अपवाद हुन सक्दैन । प्रतिवादी ज्वालाप्रसाद तिवारीसमेत विपक्षी वादी लक्ष्मण दास गरी (ने.का.प. २०४८, अङ्क ११, नि.नं. ४४०४) मुद्दामा “मुद्दाको कारबाहीको सिलसिलामा दिइने फिराद प्रतिउत्तरलगायतका लिखतहरू शिष्ट भाषामा लेखिएको हुनुपर्छ । अरूको चरित्र वा प्रतिष्ठामा आघात पर्ने किसिमको बेहोरा वा शैलीमा हुनुहुन्न” भन्ने सिद्धान्त प्रतिपादित स्थापित भएको छ । प्रस्तुत मुद्दामा वादीले फिराद दाबीमा प्रतिवादीहरूले आफ्नो बेइज्जती हुने गरी बयान र बकपत्रमा भनाइ राखेको भन्ने कुरा त्यस्तो भनाइ राखेको कुरा लिखित रूपमा लगाउको जबरजस्ती करणीको मिसिलबाट देखिएको छ भने ती कुराहरू आफूहरूले व्यक्त गरेको भन्ने कुरालाई प्रतिवादीहरूले समेत स्वीकार गरी प्रतिउत्तरमा जिकिर लिएको देखियो ।

५. गाली बेइज्जतीले व्यक्तिको चरित्रमा कति असर र प्रभाव पारेको छ त्यसबाट सिर्जित परिणामले निजलाई समाजमा जीविकोपार्जन गर्न तथा समाजमा निजको प्रतिष्ठामा तथा निजी जीवनमा कति असहज बनाएको भन्ने विषय पनि विचार गर्नुपर्ने हुन्छ । मुद्दाका प्रसङ्गमा भए पनि प्रतिवादीलाई अरूको इज्जत आँचमा प्रश्न उठाउन सकिँदैन । यौन कार्यमा संलग्न महिलालाई पनि सहमतिविना यौन सम्बन्धमा इन्कार गर्ने अधिकार छ भने जबरजस्ती मुद्दाका प्रतिवादीले एउटी महिला जसको नाबालक छोरी नै जबरजस्ती करणीको कारण मानसिक एवम् शारीरिक रूपमा प्रताडित भइरहेको अवस्थामा उल्टै निज जाहेरवालाको चरित्रमाथि नै गम्भीर प्रश्न उठ्ने गरी बयान तथा बकपत्र बेहोराबाट यौनधन्दा जस्तो कार्यमा संलग्न रहेको भन्ने कुरा लिखित रूपमा नै प्रस्ट भएबाट प्रतिवादीहरूको त्यस्तो अभिव्यक्तिले फिरादीको मान इज्जत र सामाजिक प्रतिष्ठामा धक्का पुगेको देखिँदा लिखित गाली बेइज्जती नै ठहर्छ । त्यस्तो कसुरमा निज प्रतिवादीहरूलाई सजाय गर्ने गरी भएको सुरू बाँके जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी भएको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको फैसला मनासिब नै देखिन आयो । 

६. अतः माथि उल्लिखित आधार, कारण र प्रमाणबाट प्रतिवादीहरूमध्ये रोमलाल गिरीलाई गाली बेइज्जती ऐनको दफा ५ अनुसार एक महिना कैद र एक हजार रूपैयाँ जरिवाना र ऐ.दफा ८ अनुसार थप दुई सय रूपैयाँ जरिवाना र अर्का प्रतिवादी नारायणप्रसाद पोखरेललाई गाली बेइज्जती ऐन, २०१६ को दफा ५ अनुसार पाँच सय रूपैयाँ जरिवाना र ऐ.दफा ८ अनुसार एक सय थप गरी छ सय रूपैयाँ जम्मा जरिवाना हुने ठहर्छ । वादीले प्रतिवादीबाट ऐ.दफा १२ अनुसार दश हजार रूपैयाँ क्षतिपूर्ति पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू बाँके जिल्ला अदालतको फैसला सदर ठहर्‍याई भएको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको मिति २०७४।७।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । 

७. प्रस्तुत फैसलाको दायरीको लगत कट्टा गरी सुरू मिसिल बाँके जिल्ला अदालतमा र प्रमाण मिसिल उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा पठाई मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.डा.मनोजकुमार शर्मा

 

इजलास अधिकृतः अमृताकुमारी शर्मा

इति संवत् २०८० पौष १७ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु