निर्णय नं. ११३६० - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश डा । श्री नहकुल सुवेदी
फैसला मिति : २०८०।९।१२
मुद्दा:- कर्तव्य ज्यान
०७७-CR-०३२९
पुनरावेदक वादी : जगदिशप्रसाद यादवको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी प्रतिवादी : दर्पी दासको छोरा, जिल्ला सिराहा, गोलबजार नगरपालिका, वडा नं ।६ बस्ने कमलदेब दाससमेत
०७७-RC-००५०
वादी : जगदिशप्रसाद यादवको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : सूर्यनारायणको छोरा साबिक जिल्ला सिराहा, पिप्रा प्र ।पि । गा ।वि ।स ।, वडा नं ।७ घर भई हाल जिल्ला मोरङ, विराटनगर महानगरपालिका, वडा नं ।१० बस्ने राकेशकुमार यादवसमेत
०७९-FN-११३४ (पुनरावेदनसरहको निवेदन)
निवेदक प्रतिवादी : सत्यनारायण साहको छोरा जिल्ला सप्तरी, मौवाहा गा ।वि ।स ।, वडा नं । ९ हाल परिवर्तित सप्तरी जिल्ला, बोदेबरसाइन नगरपालिका, वडा नं । ८ घर भई हाल कारागार कार्यालय मोरङमा थुनामा रहेका जितेन्द्रकुमार साह
विरूद्ध
प्रत्यर्थी वादी : जगदिशप्रसाद यादवको जाहेरीले नेपाल सरकार
अभियोगपत्रमा दाबी लिएभन्दा फरक कसुर ठहर गर्दा वा फरक दफाबमोजिम सजाय गर्दा अदालत आफैँले वादीको स्थान लिन पुग्ने भएकाले त्यसतर्फ अदालत सजग रहनु उचित मानिने । तथापि अभियोग दाबीबमोजिमको कसुरमा प्रमाणको परीक्षण हुँदै जाँदा सो कसुर स्थापित नभई सोही प्रमाणबाट अन्य कुनै दोस्रो कसुर स्थापित भएको देखिएमा केवल अभियोगपत्रमा सो कसुरको दाबी नलिएकै आधारमा प्रमाणबाट पुष्टि भएको तथ्यलाई नजर अन्दाज गर्नु न्यायको रोहमा उचित मान्न नसकिने ।
प्रतिवादीले प्रचलित कानूनले निषेध गरेको अन्य कसुर गरेको पुष्टि हुन्छ भने अभियोग दाबीको कसुर पुष्टि नभएका आधारमा प्रमाणले पुष्टि भएका कसुरसमेत ठहर गर्न इन्कारी गर्नु वा माग दाबीभन्दा भिन्न दफाबाट सजाय गर्न इन्कार गर्नु अन्ततः न्यायको इन्कारी गर्नुसरह हुने ।
अभियोगदाबीभन्दा ठुलो वा गम्भीर कसुर ठहर गर्नु वा अर्को कानूनी व्यवस्था वा अर्को दफाबमोजिम सजाय गर्दा अभियोगपत्रमा दाबी लिएभन्दा बढी सजाय गर्नु भने फौजदारी न्यायको मान्यताअनुकूल मान्न नसकिने ।
एउटा दफाबमोजिमको अभियोगदाबी भएकोमा अर्को दफाबमोजिमको कसुर ठहर गर्न वा अभियोग दाबी बराबर वा सोभन्दा कम सजाय गर्न प्रचलित कानून तथा फौजदारी न्यायको मूल्य मान्यताका आधारमा समेत बाधा नदेखिने ।
(प्रकरण नं ।९)
वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री अच्युतमणी न्यौपाने
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सतिशकृष्ण खरेल, विद्वान् अधिवक्ताहरू श्री थीरबहादुर कार्की, श्री सरला मोक्तान र श्री तुलबहादुर श्रेष्ठ
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री राजुकुमार खतिवडा
मोरङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री प्रेमराज कार्की
माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल
उच्च अदालत विराटनगर
फैसला
न्या ।डा ।नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) तथा १० बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई पुनरावेदन तथा साधकको रोहमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः
संक्षिप्त तथ्य
जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं ।१३ स्थित पूर्वमा शान्ति मार्ग, पश्चिममा प्रदिप भगतको खाली जग्गा, उत्तरमा शैलेश ढुंगेलको घर र दक्षिणमा निर्मला वेकरी रहेको भवन यति चार किल्लाभित्र चारैतर्फ कम्पाउन्डले घेरिएको अढाई तले ओमकार श्रेष्ठको पक्की घर उक्त घरको भुइँ तलामा राकेशकुमार यादवसमेत बस्ने गरेको कोठा रहेको उक्त घरको भुइँ तलाको पूर्वपट्टिको कोठाबाट प्रवेश गरी हेर्दा भुइँमा रगतका टाटाहरू देखिएको, सोही कोठाको पश्चिमपट्टिको ढोका १ मि । १ से ।मी । को दुरीमा मन्सुली चामल जय सरस्वती लेखिएको प्लास्टिकको बोरा बाँधेको देखी उक्त बोरा खोली हेर्दा जिल्ला सुनसरी, औराबनी गा ।वि ।स ।, वडा नं । ५ घर भई हाल जिल्ला मोरङ, विराटनगर १३ स्थित अक्सफोर्ड होस्टल सञ्चालन गरी बस्ने वर्ष १९ को विनोद यादवको घाँटी काटी छिनाई टाउको र घुँडामुनिको भाग फेला परेको उक्त बोराबाट पश्चिम दक्षिणको किचन कोठाभित्र बियरका वोतल र २ फिट २ इन्च लामो कट्टी तरबार फेला परेको, सो कोठाबाट सामुन्नेको कोठामा बेडिङ बाँधिएको अवस्थामा खोली हेर्दा उक्त बेडिङभित्र घुँडाभन्दा माथिको भाग र घाँटीभन्दा मुनिको भाग फेला परेको, सो कोठाबाट उत्तरपट्टिको कोठामा हेर्दा पश्चिम उत्तर कुनामा प्लास्टिकको बोराभित्र कटुवा पेश्तोल थान १ फेला परेको सो घटनामा फेला परेको लास ओल्टाई पल्टाई हेर्दा आँखा अर्ध खुल्ला, नाकमा रगत लागी सुकेको, मुख अर्ध खुल्ला घाँटी छिनाएको, छातीको दायाँ भागमा काटिएको खुट्टाको घुँडा काटी छिनाएको दायाँ हातको बुढि औँलाको टुप्पो र हत्केलाको माथिको भाग बायाँ हातको चोरी औँला र बिच औँला काटिएको अवस्थामा रहेको भन्नेसमेत बेहोराको मिति २०७३।०५।२१ को घटनास्थल लास जाँच मुचुल्का ।
जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं ।१३ स्थित पूर्वमा शान्ति मार्ग, पश्चिममा प्रदिप भगतको खाली जग्गा, उत्तरमा शैलेश ढुंगेलको घर र दक्षिणमा निर्मला बेकरीको भवन यति चार किल्लाबिचमा चारैतर्फ कम्पाउन्ड घेरिएको ओमकार श्रेष्ठको अढाई तले पक्की घर, घरको भुइँ तलामा ६ वटा कोठाहरू रहेको, सबै कोठाहरू राकेशकुमार यादव, जितेन्द्रकुमार साह, कृष्णकुमार यादव र सरोज यादवले संयुक्त रूपमा भाडामा लिई बस्ने गरेकोमा मिति २०७३।०५।२१ गते बिहान ०७:३० बजेको समयमा उक्त स्थानमा लास छ भन्ने जानकारी प्राप्त भई प्रहरी टोली खटी गई उक्त घरको पूर्वपट्टिको कोठाबाट प्रवेश गरी राकेशकुमार यादवसमेत बस्ने गरेको कोठा रहेको उक्त घरको भुइँ तलाको पूर्वपट्टिको कोठाबाट भित्र प्रवेश गरी हेर्दा उक्त भुइँ तलाको कोठाहरूमा तथा घटनास्थल वरपर यत्रतत्र रहेका दशी प्रमाणमा लाग्ने टाउको र घुँडाभन्दा मुनिको खुट्टाको भाग पोको पारेको मन्सुली चामलको जय सरस्वती लेखिएको प्लास्टिकको बोरा थान १, सोही बोराभित्र फेला परेको रगत जस्तो पदार्थ लागेको कालो जिन्स पेन्ट थान १, किचन कोठामा रहेको गोर्खा स्ट्रग बियर लेखिएको खाली बोतल थान १४, रूस्लान भोड्का लेखिएको खाली बोतल थान १, १ फिट ७ ।२ इन्च लामो फलामको धारको भाग र ७ इन्च बिँडको भाग भएको फलामको धारिलो कट्टी थान १, घुँडाभन्दा माथि र घाँटीभन्दा मुनिको शरीरको भाग पोको पारेको पहेलो, रातो, निलो र चेक बुटा भएको २ मिटर लम्बाइ १ मिटर २० से ।मी । चौडाइ भएको रगत जस्तो पदार्थ लागेको डसना थान १, उक्त डसनासँगै रातो, सेतो तथा कलेजी रङको लामो बुटा भएको रगत जस्तो पदार्थ लागेको कपडाको पर्दा थान १, पश्चिमतर्फ कोठाको कुनामा रहेको सेतो प्लास्टिकको बोराभित्रबाट बट (समाउने भाग) ४ इन्च र बट छाडी मजलसम्मको भाग ८ ।५ इन्च लामो कटुवा पेस्तोल थान १, सोही प्लास्टिकको झोलाको छेउमा राकेशकुमार यादवको सक्कल नागरिकताको प्रमाण पत्र थान १, सोही कोठामा ९८१९७८०६७१ नं । को सिमकार्ड प्रयोग गरेको सेतो रङको सम्सुण्ग मोबाइल थान १, दक्षिणपट्टिको बिचको कोठामा ९८०१५४३०६७ नम्बरको काटिएको ण्सेल को सिमकार्ड थान १, घटनास्थल घरको भुइँ तलाबाट पश्चिम उत्तर कम्पाउन्डभित्रको कुनामा कालो जिन्स पेन्ट काटिएको अवस्थामा, रगत जस्तो पदार्थ लागेको डसना थान १, सिरानी थान २, छालाको जस्तो देखिने खैरो चप्पल १ जोर र कम्पाउन्डभन्दा बाहिर पश्चिम भागमा रगत जस्तो पदार्थ लागेको कालो काटिएको हाफ पेन्ट थान १, क्रेजी स्मार्ट ९० क ।म लेखिएको रगत जस्तो पदार्थ लागेको सेतो रङको सेन्डो भेस्ट थान १ समेत बरामद भएको भन्नेसमेत बेहोराको मिति २०७३।०५।२१ को घटनास्थल तथा खानतलासी बरामदी मुचुल्का ।
मैले ३, ४ महिना पहिलादेखि विराटनगर १२ बस्ने सन्तोषकुमार साहको नाममा दर्ता रहेको को १ च ९७०३ नं । को टाटा सुमो गाडी चलाउँदै आएको थिएँ । जिल्ला सिराहा पिप्रा प्र ।पि ।गा ।वि ।स । वडा नं ।७ घर भई विराटनगर १३ मा बस्दै आएका राकेशकुमार यादवले केही हप्ताअगाडि पनि मेरो गाडी रिजर्व लगेकाले चिनजान भई मेरो मोबाइल नम्बर लिई गएका थिए । यस्तैमा मिति २०७३।५।२१ गते बिहान अं ।५ ।१५ बजेतिर निज राकेशकुमार यादवले निजको मोबाइलबाट मेरो मोबाइलमा फोन गरी मलाई गाडी रिजर्व चाहियो रूपनी सामान लैजानु छ तुरून्तै गाडी लिएर आउनुहोस् भनेकाले मैले गाडी लिई निजको कोठाअगाडि रोडमा जाँदा निज राकेशकुमार यादवसहित ३ जना उभिइरहेका रहेछन् । म गाडी रोकी बाहिर निस्केपछि निजहरूले गाडी घुमाएर ब्याक गर्नु सामान हाल्नुपर्छ भनेकाले मैले गाडी घुमाएर ब्याक गरी भाडाको कुरा गर्न खोज्दा निजहरू तीनै जनाले कपडाको सिरक जस्तो २ वटा गुन्टा गाडीभित्र ल्याएर राखे म गाडीको स्टेयरिङमा नै बसेँ सोपछि राकेशकुमार यादवले अर्को सामान बिर्सिएला छिटो ल्याएर राख भनेपछि अर्का २ जना कोठाभित्र गई कपडामा बाँधेर राखेको सामान ल्याई गाडीमा राख्न लाग्दा मैले लुकिङ ग्लासबाट हेर्दा रगत बगे चुहे जस्तो लागी यो के सामान हो भाइ भनी राकेशलाई सोध्दा यो लास हो रूपनीसम्म लाने भनेपछि के कस्तो लास हो । यो लास बोक्ने गाडी होइन भनी उक्त लास गाडीमा हाल्न नदिई गाडीमा हालेका सामान निकाल्न लगाई म गाडी लिएर केही पर्तीर गई तुरून्तै गाडी साहु सन्तोषकुमार साहलाई फोन गरी सबै कुरा बताई राकेशकुमार यादवसमेतले कोही कसैलाई मारेको हुनुपर्छ भनेपछि गाडी साहुले वडा प्रहरी कार्यालय विराटनगरका डी ।एस ।पी । साबलाई फोन गरी उक्त कुरा बताएपछि उक्त स्थानमा प्रहरी गई बुझ्दा निज राकेशकुमार यादवसमेतका व्यक्तिहरूले विनोद यादवलाई धारिलो हतियार प्रहार गरी काटी कर्तव्य गरी मारी लास मेरो गाडीमा हाली लुकाई लगी फाल्ने योजना बनाएका रहेछन् भन्ने थाहा भएको र यसरी कर्तव्य गरी मार्ने राकेशकुमार यादवसमेत उपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मनोज भन्ने लाले सहनीको मिति २०७३।०५।२१ को घटना विवरण कागज ।
जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं । २० स्थित पूर्वमा खाली जग्गा, पश्चिममा विकाश मण्डलको टिनको छानो भएको पक्की घर, उत्तर र दक्षिणमा दरैया वस्तीबाट भारततर्फ जाने पक्की सडक यति चार किल्लाभित्र फेला परेका जिल्ला सिराहा पिप्रा प्र ।पि ।७ बस्ने राकेशकुमार यादवले लगाएको जिन्स पेन्टको अगाडि दाहिने गोजीबाट ग्यालेक्सी नोट ३ मा सिम नं ।९८०२७५३७३५ र मेमरी ८ जी ।वी । मोबाइल थान १, सिम नभएको इनटेक्स मोबाइल थान १ र खाली एनसेल सिम २ थान, जिल्ला सिराहा सोठी आइन गा ।वि ।स ।वडा नं ।५ बस्ने कृष्णकुमार यादवको पेन्टको अगाडि गोजीबाट सिम नभएको सामसुङ खरानी रङको थान १ र जितेन्द्र साहले लगाएको रगत जस्तो पदार्थ लागेको ९० सि ।एम ।सेन्डो गन्जी थान १ समेत बरामद भएको भन्नेसमेत बेहोराको मिति २०७३।०५।२१ को घटनास्थल तथा खानतलासी बरामदी मुचुल्का ।
मेरो छोरा जिल्ला सुनसरी, औरावनी ५ बस्ने वर्ष १९ को विनोद यादव ८१० महिनादेखि जिल्ला मोरङ, विराटनगर १३ स्थित दुर्गादेवी बराल (मण्डल) को घरमा अक्सफोर्ड होम होस्टल खोली सञ्चालन गर्दै आएका थिए । यस्तै क्रममा मिति २०७३।०५।२१ गते बिहान म आफ्नै घरमा भएको अवस्थामा मेरो छोरा विनोद यादवलाई सूर्य नारायण यादवको छोरा जिल्ला सिराहा पिप्रा प्र ।पि ।गा ।वि ।स । वडा नं ।७ घर भई हाल विराटनगर १३ स्थित ओमकार श्रेष्ठको घरमा डेरा भाडामा लिई बस्ने वर्ष अं ।२२ को राकेशकुमार यादव, सत्य नारायणको छोरा जिल्ला सप्तरी, मौवाहा गा ।वि ।स ।, वडा नं ।९ दुधेला घर भई हाल विराटनगर १३ स्थित ओमकार श्रेष्ठको घरमा डेरा भाडामा लिई बसी कान्तिपुर कलेज विराटनगरमा कक्षा १२ मा पढ्ने वर्ष अं ।१९ को जितेन्द्रकुमार साह, घुरन यादवको छोरा जिल्ला सिराहा, सोठी आइन गा ।वि ।स ।, वडा नं ।५ घर भई हाल विराटनगर १३ स्थित ओमकार श्रेष्ठको घरमा डेरा भाडामा लिई बसी न्युरो हेल्थ कलेज विराटनगरमा एच ।ए । पढ्ने वर्ष अं ।२२ को कृष्णकुमार यादव र शितलप्रसाद यादवको छोरा जिल्ला सिराहा, भगवतीपुर तमसिया गा ।वि ।स ।,वडा नं ।७ घर भई हाल जिल्ला मोरङ विराटनगर १३ स्थित ओमकार श्रेष्ठको घरमा डेरा भाडामा बसी ग्रिनलेन्ड कलेजमा अध्ययनरत वर्ष अं ।२० को सरोज यादवसमेत व्यक्तिहरूले निजहरूको डेरा कोठामा टाउको तथा दुवै खुट्टाको घुँडाभन्दा मुनिको भाग काटी छिनाई चार टुक्रा बनाई टाउको र खुट्टाको भाग देखी चिनेँ, माथि विरूद्ध खण्डमा उल्लेख भएमध्येका राकेशकुमार यादवले मेरो छोरा विनोद यादवलाई मिति २०७३।०५।२० गते साँझ बोलाई मेरो कान्छो छोरा प्रमोद यादवलाई विनोदसँग गफ गर्नुपर्ने छ राति हामी सँगै बस्छौ भनी मेरो छोराहरू बस्ने गरेको ठाउँबाट निजको डेरा कोठातर्फ लिई गएका भन्ने दाजुसँगै बस्दै आएको मेरो कान्छो छोरा प्रमोद यादवले जानकारी गराएका र घटनास्थलमा वारदातमा प्रयोग भएको धारिलो हतियार कट्टी तथा कटुवा पेस्तोलसमेत फेला परेको हुँदा राकेशकुमार यादव, जितेन्द्रकुमार साह, कृष्णकुमार यादव र सरोज यादवले के कुन विषयको रिसइवी राखी मेरो छोरालाई निजहरूको डेरा कोठा रहेको ओमकार श्रेष्ठको घरमा बोलाई बीभत्स तरिकाले टाउको तथा दुवै खुट्टा काटी छिनाई चार टुक्रा पारी कर्तव्य गरी मारी लाससमेत पोको पारी बेपत्ता पार्ने उदेश्यले को । १ च ९७०३ गाडी बोलाई गाडीमा हाल्ने क्रममा गाडी चालक जि । मोरङ विराटनगर १६ बस्ने मनोज भन्ने लाले सहनीले गाडीमा हाल्न लागेको बेडिङमा रगत जस्तो पदार्थ देखी निजहरूले भनेको गन्तव्यमा जान नमानी सो ठाउँबाट हिँडी सवारी धनी सन्तोषकुमार साहलाई जानकारी गराएपछि सन्तोषकुमार साहले प्रहरीमा जानकारी गराई घटनास्थलमा प्रहरी टोली खटी जाँदा निजहरू भागी फरार भएका हुँदा निजहरूको खोजतलास गरी पक्राउ गरी उक्त घटनामा अन्य को को संलग्न छन् अनुसन्धानबाट खुलाई निजहरूले सामूहिक रूपमा हत्या गरेकोले निजहरूउपर कानूनबमोजिम आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७३।०५।२१ को जगदिशप्रसाद यादवको जाहेरी दरखास्त ।
जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं । १३ स्थित पूर्वमा अशोक टोल जाने ग्रावेल सडक, पश्चिममा भूमि सुधार तिनटोलिया जाने बाटो, उत्तरमा न्युरो अस्पताल जाने बाटो र दक्षिणमा पंकज किराना पसल यति चार किल्लाभित्र फेला परेको जितेन्द्र यादवले लगाएको पेन्टको दायाँ साइडको अगाडिको गोजीबाट ९८१९९८२२४६ नं । को सिम प्रयोग गरेको सामसुङ मोबाइल र सोही मोबाइलमा प्रयोग गरेको मेमोरी कार्ड थान १ र कमल देव दासले लगाएको पाइन्ट अगाडिको दायाँपट्टिको गोजीबाट ९८६२१७२०१२ र ९८००९६४२८९ नं ।को सिमसहितको सामसुङ मोबाइल थान १ र सोही मोबाइलमा प्रयोग भएको मेमोरी कार्ड थान १ समेत फेला परी बरामद भएको भन्नेसमेत बेहोराको मिति २०७३।०५।२१ को घटनास्थल तथा खानतलासी बरामदी मुचुल्का ।
मिति २०७३।०५।२१ गते जिल्ला मोरङ, विराटनगर १३ स्थित ओमकार श्रेष्ठको घरमा डेरा गरी बस्ने राकेशकुमार यादवसमेतको डेरा कोठामा जाहेरवालाको छोरा विनोद यादवलाई धारिलो हतियार प्रहार गरी काटी मारेको घटनामा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा उक्त घटना राकेशकुमार यादव, जितेन्द्रकुमार साह, कृष्णकुमार यादव र सरोज यादवसमेत भई घटाएका र घटनापश्चात् निजहरू जिल्ला सिराहा गोलबजार ६ घर भई हाल विराटनगर १३ बस्ने कमल देव दास र ऐ । धनगढीमाई न ।पा । ४ घर भई हाल विराटनगर १३ बस्ने जितेन्द्र यादवको सहयोगमा भागी फरार भएका भन्ने खुल्न आएको हुँदा उक्त घटनामा संलग्न व्यक्तिहरू राकेशकुमार यादव, जितेन्द्रकुमार साह, कृष्णकुमार यादव र घटनापश्चात् अभियुक्तहरूलाई भगाउन सहयोग गर्ने कमलदेव दास र जितेन्द्र यादवलाई पक्राउ गरी दाखिला गराएका छौँ । निजहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७३।०५।२१ को प्र ।ना ।उ । संजय सिंह थापासमेतको प्रतिवेदन ।
मेरो दाजु जितेन्द्रकुमार साह कान्तिपुर कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आउनुभएको र म पनि सोही स्कुलमा कक्षा ६ मा अध्ययन गर्दै आएको छु । यस्तैमा मिति २०७३।०५।१५ गते मेरो दाजु जितेन्द्रकुमार साहसमेतले विराटनगर १३ स्थित ओमकार श्रेष्ठको घरमा डेरा भाडामा लिई दाजुका साथीहरू राकेशकुमार यादव, कृष्णकुमार यादव र सरोज यादवसमेत आउने जाने गर्थे, मैले कुनै वास्ता गरेको थिइनँ । यस्तैमा मिति २०७३।०५।२० गते साँझ कोठामा दाजुका साथीहरू राकेशकुमार यादव, कृष्णकुमार यादव, सरोज यादव र विनोद यादवसमेत भई बियर रक्सी खान थाले मलाई अर्को कोठामा सुत्न पठाई कोठाको ढोका लगाइदिए । बिहान दाजु जितेन्द्रले कोठाको ढोका खोलिदिएपछि म बाहिर निस्की अर्को कोठामा छिर्न लाग्दा त्यो कोठामा नछिर भन्यो कोठाको भुइँमा पानी पोखिएर भिजेको थियो । त्यसपछि म ब्रस गरेर पढ्न भनी पश्चिमपट्टिको कोठामा छिरेँ । त्यसपछि निजहरूले म बसेको कोठा बन्द गरिदिए, म पढ्न थालेँ । एक छिनपछि मारूती भ्यान आयो । झ्यालबाट हेर्दा बेडिङ तन्दा र प्लास्टिकको तीनवटा लामो छोटो पोका देखेँ । मारूती भ्यान आउने बित्तिकै फर्की हाल्यो, दाजुहरू पनि कता गए । एक छिनपछि पुलिस अङ्कलहरूको भ्यान पुगी पुलिस अङ्कलहरूले ढोका खोलिदिएपछि म बाहिर निस्केँ । एकछिनपछि भुइँ पुछेको पल्लो कोठाबाट विनोद यादवको लास प्लास्टिकको पोकोबाट निकाल्दा घाँटी छिनेको घुँडामुनि गिँडेर टुक्रा पारेको अवस्थामा देखेको हो । विनोदकुमार यादवलाई दाजुहरू राकेशकुमार यादव, कृष्णकुमार यादव, सरोज यादवले जाँड रक्सी खुवाई योजनाबद्ध तरिकाले बीभत्स हत्या गरेका हुँदा निजहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मनोजकुमार साहको मिति २०७३।०५।२१ को घटना विवरण कागज ।
मिति २०७३।०५।२१ गते बिहानको राति विनोद यादवको हत्या भएको घटना सम्बन्धमा मैले सोही दिन अं ।१६ ।०० बजेतिर सुनी थाहा पाएको हो । निजलाई हत्या गरेको घरमा मेरो दाजु राकेशकुमार यादव एक हप्ताअगाडि देखि डेरा गरी बस्ने गरेको कुरा मैले सुनी थाहा पाएको हो । दाजु राकेशकुमार यादव गाउँ घरमा रहँदा बस्दा खराब आचरण व्यवहार गरी गाउँमा झैझगडा गर्ने कुटपिटका घटना घटाउने गुण्डागर्दी गरी हिँड्ने भनेको नमान्ने गरेर बुबा आमाले दाजुलाई करिव एक वर्षअगाडि घरबाट निकाला गरिदिनुभएको थियो । सोही समयदेखि दाजु राकेशकुमार यादव घरमा नआउने बाहिर बाहिर बस्ने नराम्रो काम गरी हिँड्ने गर्दथ्यो । निज करिब एक वर्षदेखि सम्पर्कविहीन जस्तै भएको थियो । निज विनोदकुमार यादवलाई कृष्णकुमार यादव, सरोज यादव, जितेन्द्रकुमार साह र दाजु राकेशकुमार यादवसमेतले धारिलो हतियार कट्टी प्रहार गरी हत्या गरेको भन्ने सुनी थाहा भएको हो, बीभत्स तरिकाले ज्यान मार्ने अभियुक्तहरूउपर कानूनबमोजिम हदैसम्मको सजाय होस् भन्नेसमेत बेहोराको मुकेशकुमार यादवको मिति २०७३।०५।२१ को घटना विवरण कागज ।
कौसे ओफ डेआठ इस् दुए तो शोक्क अस् अ रेसुल्त ओफ देकपितसन (बेहेडएद्) प्रोदुकेद ब्य शर्प वेअपोन भन्नेसमेत बेहोराको वी ।पी ।कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट प्राप्त भएको मिति २०७३।०५।२७ को शव परीक्षण प्रतिवेदन ।
म पढाइको सिलसिलामा भारतको बैंङ्गलोरमा गई केही दिन बैंङ्गलोरमा बसी २०७२ सालको चैत्र महिनातिर विराटनगर आई घुमफिर गरी बसिरहेको अवस्थामा मेरा चिनजानका साथी असिम पौडेलमार्फत विनोद यादवसँग चिनजान भई म निज विनोद यादवले सञ्चालन गरेको होस्टलमा बस्दै आएकोमा निजको होस्टलमा बस्ने क्रममा विनोद यादवसँग घनिष्ठ सम्बन्ध भई निजसँग लेनदेन व्यवहारसमेत भयो । यस्तै क्रममा निज विनोदका साथी निरज यादवलाई बैंगलोरमा इन्जिनियरिङ कलेजमा भर्ना गराउन भनी विनोद र म निरजलाई लिई २०७३ सालको असार पहिलो हप्तातिर बैंगलोर गयौँ । बैंगलोर जाने क्रममा निरजको भर्नाको लागि मेरो एसबिआई बैंकको खातामा भा ।रू ।२,००,०००।– जम्मा गरिदिएका र निरजलाई बैंगलोरमा कलेज भर्ना गराउँदा भा ।रू ।१०,०००।– खर्च भयो बाँकी रकम मसँगै थियो । मसँग रकम भएको कुरा विनोदलाई थाहा भएको हुँदा निजले उक्त रकम मागेपछि मैले मैले उक्त बाँकी रकम भा ।रू ।१,९०,०००।– विनोदलाई दिएँ । पछि विराटनगर आई विनोदसँग उक्त रकम फिर्ता माग्दा विनोदले उक्त रकम फिर्ता गर्न आनाकानी गरी अहिले मलाई सहयोग गर पछि बरू होस्टलको सेयर दिन्छु भनेका र मैले पटकपटक रकम माग्दा निजले आजभोलि भन्दै टार्न थालेका हुँदा मलाई अब विनोदले रकम नदिने भयो जसरी भए पनि निजबाट रकम लिनुपर्छ भन्ने सोची निजको होस्टल छाडी छुट्टै डेरा लिई बस्न थालेँ यस्तैमा विनोदलाई मारी निजले सञ्चालन गरेको होस्टल आफनो बनाउँछु भन्ने सोच राखी निजलाई थप रकम दिलाइदिन्छु भनी सिराहा लगी सिराहाको रकझम होटलमा राखी निजलाई मार्ने प्रयास गर्दा सफल हुन नसकेपछि निज विनोदले मबाट रू ।६,००,०००।– लिएको कपाली तमासुक बनाई विराटनगर फर्की आई निजलाई मार्ने योजना बनाइराखेको थिए । यस्तैमा घटना हुनुभन्दा ४,५ दिन अगाडि मेरै साथी हाल मसँगै पक्राउमा परी आएका कृष्णकुमार यादवलाई सबै कुरा बताउँदा निजले पनि मलाई साथ दिने कुरा गरेपछि निज र म भएर विनोदलाई मार्ने योजना बनाइरहेका थियौँ । यस्तैमा मिति २०७३।०५।२० गते दिउँसो निज विनोद यादवसँग भेट हुँदा निजले मसँग थप ३५,४० हजार मागेका हुँदा मैले निजलाई बरगाछीमा मेरो साथी छ ऊमार्फत दिलाइदिन्छु भनी म आफ्नो डेरा कोठामा गई मसँगै बस्ने मेरा साथीहरू कृष्णकुमार यादव, जितेन्द्रकुमार साह र सरोज यादवलाई सबै कुरा बताई आज घरमा घरभेटी पनि छैनन् हामी मात्रै छौँ विनोदलाई म यहाँ लिएर आउँछु । हामी सबै भएर विनोदलाई मारौं । त्यसपछि निजको होस्टल मेरो हुन्छ हामी सबै होस्टलमा नै सँगै बस्नुपर्छ भन्दा सबै जना विनोदलाई मार्न सहमत भएका हुँदा साँझतिर म विनोदको होस्टलमा गई निजलाई रकम दिलाई दिने बहाना बनाई निजका भाइहरूलाई दाजुको गर्लफ्रेन्ड भेटाउन लानुपर्ने छ भनी ढाँटी विनोद यादवलाई कोठामा ल्याई बियर खुवाई निजलाई धेरै नशा लागेपछि निज त्यही भुइँमा भएको ओछ्यानमा उत्तानो परी सुते । मैले कृष्णलाई हतियार ल्याउ भनेपछि कृष्णकुमार यादवले कोठामा भएको हतियार कट्टी झिकी मलाई दिए । मैले विनोद यादवलाई उक्त कट्टीले प्रहार गर्दा निजको चिउडोमा लाग्यो निजले ओ ब्रो भनी कराएपछि कृष्णकुमार यादवले निजको मुख छोपी दिए । सरोज र जितेन्द्रकुमार साहले खुट्टा थिची समाते मैले लगातार २ पटक प्रहार गर्दा निजको घाँटी नछिनेपछि कट्टी कृष्णकुमार यादवलाई दिए कृष्णकुमार यादवले मच्चाएर विनोद यादवको घाँटीमा प्रहार गर्दा निजको घाँटी छिनी त्यहीँ मृत्यु भएपछि कृष्ण यादव र म भई टाउको प्लास्टिकको झोलामा हाली शरीरको भाग डसनामा बेरी पोको पारी बेडिङ जस्तो बनाई राखेपछि सरोज र जितेन्द्रकुमार साह मिली कोठामा लागेको रगत सफा गर्न थाले । कृष्णकुमार यादव र म लास फ्याँक्न भनी रिक्सा खोज्न कोशी अञ्चल अस्पताल विराटनगरतर्फ गयौँ । जाँदा जाँदै रिक्सामा लास लाँदा डिउटीका प्रहरीले देखी थाहा पाउँछन् गाडीमा लगी फाल्नुपर्छ भनी पुनः कोठामा आई सरोज यादवलाई फोन गरी गेट खोल्न लगाई कोठाभित्र गई मैले विनोदको भाइलाई फोन गरी विनोद हामीसँग छैन भने । बिहानी पख मैले पहिल्यै देखी चिनेका भ्यानवालालाई फोन गरी बोलाई उक्त लास गाडीमा लोड गर्ने क्रममा भ्यानवालाले रगत जस्तो छ के हो भनी सोधे । मैले लास हो भने पछि निजले यो लास बोक्ने गाडी हैन भनी गाडी फर्काई लगेपछि म र कृष्ण साथी कमलदेव दासको कोठामा गई मसँग भएको मृतकको मोबाइल निजलाई राख्न दिई एउटा बोरा ल्याई लासको घुँडाभन्दा मुनिको भाग काटी टाउको र दुवै खुट्टा बोरामा र शरीरको भाग डसनामा बेरी गुन्टा बेडिङ जस्तो बनाई राख्यौँ । सरोज यादव घरमा हजुरआमा बित्नुभएछ भनी घरतर्फ गए । सोही बेला प्रहरीको भ्यान गाडी आउँदै गरेको देखी हामी घरको पछाडिपट्टीको पर्खाल नाघी भाग्यौँ । भाग्ने क्रममा जितेन्द्रकुमार साह जुत्ता चप्पल नलगाई खाली खुट्टा भएका हुँदा निजलाई साथी जितेन्द्रकुमार यादवको कोठामा पठाई हामी विराटनगर २० स्थित दरैयामा गई बसी दिउँसो साथी जितेन्द्रकुमार यादवले साथी जितेन्द्रकुमार साहलाई हामी भएको ठाउमा पुर्याइदिएपछि हामी तीनै जना भेला भई भारततर्फ भागी जान लाग्दा प्रहरीले घेरा हाली पक्राउ गरेको हो । सो दिन मसमेतका साथीहरू जितेन्द्रकुमार साह, सरोज यादव र कृष्णकुमार यादवसमेत भई विनोद यादवको घाँटी काटी कर्तव्य गरी मारेका हौँ । साथी कमलदेव दासले मृतकको मोबाइल राखी र साथी जितेन्द्रकुमार यादवले हामीलाई भाग्न उम्कन सहयोग गरेका हुन् भन्नेसमेत बेहोराले प्रतिवादी राकेशकुमार यादवको मिति २०७३।०५।३० मा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
म पढाइको सिलसिलामा विराटनगर १३ स्थित नमस्ते ब्वाइज होस्टलमा बसी न्युरो हेल्थ कलेजमा एच ।ए । पढ्दै आएको छु । जितेन्द्रकुमार साह र सरोज यादव मेरा पुराना साथी भएका हुँदा निजहरूमार्फत मेरो राकेशकुमार यादवसमेतसँग चिनजान भई राकेशकुमार यादवसँग सम्बन्ध राम्रै हुँदै आयो । यस्तैमा २०७३ सालको भदौ १५ गतेदेखि साथीहरू राकेशकुमार यादव, जितेन्द्रकुमार साह र सरोज यादव विराटनगर १३ स्थित ओमकार श्रेष्ठको घरको भुइँ तलाको पूरै फल्याट भाडामा लिई बस्न थाले, म पनि निजहरूसँगै बस्न थालेँ । घटना हुनुभन्दा ४, ५ दिन अगाडि राकेशकुमार यादवले मलाई गोप्य सल्लाह छ भनी विनोदकुमार यादवलाई मार्ने कुरा गरे निजले मलाई विनोदलाई मारेपछि निजको होस्टल मेरो हुन्छ अनि हामी होस्टलमा बसी होस्टलको आम्दानीले रमाइलो गर्नुपर्छ भनेका हुँदा म पनि निजको कुरामा सहमत भई विनोद यादवलाई मार्ने योजना बनाउन थाल्यौँ । यस्तै क्रममा मिति २०७३।०५।२० गते दिउँसो निज राकेशकुमार यादवले मलागायत अन्य साथीहरू सरोज यादव र जितेन्द्र यादवलाई राखी विनोदलाई मार्ने सल्लाह गरी सबै जना सहमत भएपछि सोही दिन साँझतिर राकेशकुमार यादव विनोदको होस्टलमा गई निजलाई कोठामा लिएर आएपछि बियर ल्याई बियर खान थाल्यो । पूर्वयोजनाअनुसार विनोदलाई धेरै खुवायौँ विनोदलाई नशा लागेपछि राति अं ।२२ ।३० बजेतिर निज त्यही भुइँमा भएको ओछ्यानमा उत्तानो परी सुते । राकेशले मलाई हतियार ल्याउ भनेपछि मैले कोठामा भएको हतियार कट्टी झिकी राकेशलाई दिए राकेशले विनोद यादवलाई उक्त कट्टीले प्रहार गर्दा निजको चिउडोमा लाग्यो । निजले ओ ब्रो भनी कराए पछि मैले निजको मुख छोपिदिएँ, सरोज र जितेन्द्रकुमार साहले खुट्टा थिची समाते राकेशले लगातार २ पटक प्रहार गर्दा निजको घाँटी नछिनेपछि कट्टी मलाई दिए । मैले मच्चाएर विनोद यादवको घाँटीमा प्रहार गर्दा निजको घाँटी छिनी त्यहीँ मृत्यु भएपछि राकेश र म भई टाउको प्लास्टिकमा हाली शरीरको भाग डसनामा बेरी बेडिङ जस्तो बनाई राख्यौं सरोज र जितेन्द्रकुमार साह कोठामा लागेको रगत सफा गर्न थाले । राकेशकुमार यादव र म लास फ्याक्न भनी रिक्सा खोज्न कोशी अञ्चल अस्पताल विराटनगरतर्फ गयौं । जाँदा जाँदै रिक्सामा लास लाँदा डिउटीका प्रहरीले देखी थाहा पाउँछन् गाडीमा लगी फाल्नुपर्छ भनी पुनः कोठामा आई राकेशले सारोज यादवलाई फोन गरी गेट खोल्न लगाई कोठाभित्र गई राकेश यादवले विनोदको भाइलाई फोन गर्यो । बिहानी पख राकेशले भ्यानवालालाई फोन गरी बोलाई उक्त लास गाडीमा लोड गर्ने क्रममा भ्यानवालाले रगत जस्तो छ के हो भनी सोधे । राकेशले लास हो भनेपछि निजले यो लास बोक्ने गाडी हैन भनी गाडी फर्काइ लगेपछि म र राकेश साथी कमलदेव दासको कोठामा गई राकेशसँग भएको मृतकको मोबाइल निजलाई राख्न दिई एउटा बोरामा लासको घुँडाभन्दा मुनिको भाग काटी टाउको र दुवै खुट्टा बोरामा र शरीरको भाग डसनामा बेरी गुन्टा बेडिङ जस्तो बनाई राख्यौँ । सरोज यादव घरमा हजुरआमा बित्नुभएछ भनी घरतर्फ गए । सोही बेला प्रहरीको भ्यान गाडी आउँदै गरेको देखी हामी घरको पछाडिपट्टिको पर्खाल नाघी भाग्यौँ । भाग्ने क्रममा जितेन्द्रकुमार साहको जुत्ता चप्पल छुटी खाली खुट्टा भएको हुँदा निजलाई साथी जितेन्द्रकुमार यादवको कोठामा पठाई हामी विराटनगर २० स्थित दरैयामा गई बसी दिउँसो साथी जितेन्द्रकुमार यादवले साथी जितेन्द्रकुमार साहलाई हामी भएको ठाउमा पुर्याइदिएपछि हामी तीनै जना भेला भई भारततर्फ भागी जान लाग्दा प्रहरीले घेरा हाली पक्राउ गरेको हो । सो दिन मसमेत साथीहरू जितेन्द्रकुमार साह, सरोज यादव र राकेशकुमार यादवसमेत भई विनोद यादवको घाँटी काटी कर्तव्य गरी मारेका हौँ । साथी कमलदेव दासले मृतकको मोबाइल राखी र साथी जितेन्द्रकुमार यादवले हामीलाई भाग्न उम्कन सहयोग गरेका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी कृष्णकुमार यादवले मिति २०७३।०५।३० मा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
म कान्तिपुर कलेज विराटनगरमा पढ्दै आएको छु । गत आषाढ महिनामा हाल मसँगै पक्राउमा परी आएका राकेशकुमार यादवसमेतसँग चिनजान भई निज पनि हामी सँगसँगै बस्न थाले । सरोज यादव र कृष्णकुमार यादवसँग पहिल्यैदेखि चिनजान थियो । यस्तैमा २०७३ सालको भदौ १५ देखि मलगायत साथीहरू राकेशकुमार यादव, सरोज यादव र कृष्णकुमार यादवसमेत भई विराटनगर १३ स्थित ओमकार श्रेष्ठको घरको भुइँ तलाको पूरै फल्याट भाडामा लिई सँगै बस्न थाल्यौं यस्तैमा मिति २०७३।०५।२० गते दिउँसो निज राकेशकुमार यादवले मलगायत अन्य साथीहरू सरोज यादव र कृष्णकुमार यादवलाई राखी विनोदलाई मार्ने सल्लाहा गरी सबैजना सहमत भएपछि सोही दिन साँझतिर राकेशकुमार यादव विनोदको होस्टलमा गई निजलाई कोठामा लिएर आएपछि बियर ल्याई बियर खान थाल्यौं । पूर्वयोजनाअनुसार विनोदलाई धेरै खुवायौं । विनोदलाई नशा लागेपछि राति अं ।२२ ।३० बजेतिर निज त्यही भुइँमा भएको ओछ्यानमा उत्तानो परी सुते राकेशले कृष्णलाई हतियार ल्याउ भनेपछि कृष्णले कोठामा भएको हतियार कट्टी झिकी राकेशलाई दिए । राकेशले विनोद यादवलाई उक्त कट्टीले प्रहार गर्दा निजको चिउँडोमा लाग्यो । निजले ओ ब्रो भनी कराएपछि कृष्णकुमार यादवले निजको मुख छोपी दिए । सरोज र मैले विनोदको खुट्टा थिची समात्यौं । राकेशले लगातार २ पटक प्रहार गर्दा निजको घाँटी नछिनेपछि कट्टी कृष्ण यादवलाई दिए । कृष्णले कट्टी मच्चाएर विनोद यादवको घाँटीमा प्रहार गर्दा निजको घाँटी छिनी त्यहीँ मृत्यु भएपछि राकेश र कृष्ण भई टाउको प्लास्टिकको बोरामा हाली शरीरको भाग डसनामा बेरी बेडिङ जस्तो बनाए सरोज र म कोठामा लागेको रगत सफा गर्न थाल्यौं, राकेशकुमार यादव र कृष्णकुमार लास फ्याँक्न भनी रिक्सा खोज्न बाहिर गए । निजहरू बाहिर गएको केही बेरमा राकेश यादवले सरोजलाई फोन गरी गेट खोल्न लगाई पुनः कोठामा आए । बिहानी पख राकेशले भ्यानवालालाई फोन गरी बोलाई उक्त लास गाडीमा लोड गर्ने क्रममा भ्यानवालाले रगत जस्तो छ के हो भनी सोधे । राकेशले लास हो भनेपछि निजले यो लास बोक्ने गाडी हैन भनी गाडी फर्काइ लगेपछि कृष्ण र राकेश बाहिर गई एउटा बोरा लिई आई लासको घुँडाभन्दा मुनिको भाग काटी टाउको र दुवै खुट्टा बोरामा र शरीरको भाग डसनामा बेरी गुन्टा बेडिङ जस्तो बनाई राख्यौँ । सरोज यादव घरमा हजुरआमा बित्नुभएछ भनी घरतर्फ गए । सोही बेला प्रहरीको भ्यान गाडी आउँदै गरेको देखी हामी घरको पछाडिपट्टिको पर्खाल नाघी भाग्यौं भाग्ने क्रममा मैले जुत्ता चप्पल नलगाई खाली खुट्टा भएको हुँदा म साथी जितेन्द्रकुमार यादवको कोठामा गई सबै कुरा निजलाई बताएपछि निजले मलाई साथीहरू भएको ठाउँ विराटनगर २० स्थित दरैयामा पुर्याइदिएपछि हामी तीनैजना भेला भई भारततर्फ भागी जान लाग्दा प्रहरीले घेरा हाली पक्राउ गरेको हो । सो दिन मसमेत साथीहरू कृष्णकुमार यादव, सरोज यादव र राकेशकुमार यादवसमेत भई विनोद यादवको घाँटी काटी कर्तव्य गरी मारेका हौँ । साथी कमलदेव दासले हामीलाई भाग्न उम्कन सहयोग गरेका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी जितेन्द्रकुमार साहले मिति २०७३।०५।३० मा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
म विराटनगर स्थित न्युरो हेल्थ कलेजमा एच ।ए । पढ्दै आएको छु । हाल पक्राउमा परी आएका कृष्णकुमार यादव मसँगै पढ्ने मेरा साथी भएका हुँदा निजमार्फत अन्य साथीहरू राकेशकुमार यादव, जितेन्द्रकुमार साह, सरोज यादवसमेतसँग चिनजान भएको हुँदा निजहरू मेरो कोठामा आउने जाने गर्थे । यस्तैमा मिति २०७३।५।२१ गते म आफ्नै कोठामा पढिरहेको अवस्थामा जितेन्द्रकुमार साह मेरो कोठामा आई साथीहरू राकेशकुमार यादव, कृष्णकुमार यादव, सरोज यादव र म भएर विनोद यादवलाई मार्यौं अरू भागिसके, मैले जुत्ता चप्पल नलगाएको हुँदा यहाँ आएको हुँ, मलाई चप्पल दिई विराटनगर २० दरैयासम्म पुर्याइ देउ भने । मैले परीक्षा छ, म भ्याउँदिनभन्दा निजले पुर्याइ दिन कर गर्न थाले । यस्तैमा राकेशकुमार यादवले फोन गरी घटनाको बारेमा बताई साथी कमलदेव दाससँग मृतकको मोबाइल छ । उक्त मोबाइल लिई जितेन्द्रकुमार साहलाई लिएर चाँडोभन्दा चाँडो आऊ भनेपछि मैले कमलदेव दासको कोठामा गई उक्त मोबाइल मागी ल्याई एउटा सिटी रिक्सा खोजी जितेन्द्रकुमार साहलाई विराटनगर २० दरैयामा पुर्याइदिएँ । त्यहा अन्य राकेशकुमार यादव र कृष्णकुमार यादवसँग भेट भएपछि जितेन्द्र साहलाई त्यहीँ छाडी म फर्की आएपश्चात् पक्राउमा परेको हो । निजहरूले उक्त घटना के कसरी घटाएका हुन् मलाई थाहा भएन । मैले जितेन्द्रकुमार साहालाई भगाई उक्त स्थानसम्म पुर्याइदिएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी जितेन्द्र यादवले मिति २०७३।०५।३० मा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
म विराटनगर १३ स्थित नमस्ते ब्वाइज होस्टलमा बसी न्युरो हेल्थ कलेज विराटनगरमा एच । ए । तेस्रो वर्षमा अध्ययन गर्दै आएको छु । हाल पक्राउमा परी आएका कृष्णकुमार यादव सोही होस्टलमा बस्ने हुँदा निजमार्फत अन्य राकेशकुमार यादव, सरोज यादव र जितेन्द्रकुमार साहसँग सामान्य चिनजान थियो । निजहरू होस्टलमा कृष्णकुमार यादवसँग आउने जाने गर्दा चिनजान भएको हो । तर निजहरूसँग मेरो त्यस्तो घनिष्ठ सम्बन्ध थिएन । हाल मेरो परीक्षाको टाइम भएकोले म आफ्नो पढाइमा नै व्यस्त थिएँ । यस्तै क्रममा मिति २०७३।०५।२१ गते म आफ्नै कोठामा पढिरहेको अवस्थामा कृष्णकुमार यादव आई एउटा सामसुङ ग्यालेक्सी मोबाइल दिई यो मोबाइल राख्दै गर, पछि कुरा गरौंला भनी फर्की गए । सो दिन म सोही होस्टलमा बस्ने साथी सेराज आलमको कोठामा सँगै बसी पढेका हुँदा मैले उक्त मोबाइल सोही कोठाको टेबुलमाथि राखी आफ्नो पढाइमा व्यास्त भएँ । दिउँसोतिर जितेन्द्रकुमार यादव होस्टलमा आई सेराज बस्ने कोठाबाट उक्त मोबाइल लिई गएका हुन् । दिउँसोतिर राकेशकुमार यादवसमेत बस्ने गरेको कोठामा विनोद यादवलाई काटी मारेको भन्ने हल्लाखल्ला सुनी थाहा भएको हो । कृष्णकुमार यादवले उक्त मोबाइल राख्न दिँदा मलाई घटनाको बारेमा जानकारी गराएका थिएनन् । एक्कासी प्रहरीले पक्राउ गरी ल्याएपछि घटना यिनै राकेशकुमार यादव, जितेन्द्रकुमार साह, सरोज यादव र कृष्णकुमार यादवले विनोद यादवलाई काटी कर्तव्य गरी मारेका भन्ने थाहा भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी कमलदेव दासले मिति २०७३।०५।३० मा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
म कक्षा ८ देखि विराटनगरमा बसी पढेको र विनोद यादव मसँगै पढ्ने भएकाले निजसँग चिनजान थियो । पछि कलेज पढ्ने सिलसिलामा हाल पक्राउमा परी आएका प्रतिवादी राकेशकुमार यादवसमेतसँग चिनजान भई ऊसँग राम्रै सम्बन्ध थियो । यस्तैमा २०७३ साल श्रावण महिनाको अन्तिमतिर मेरो राकेशकुमार यादवसँग भेट भएको थियो । राकेशले मलाई भेटी सिराहामा एक जना साथीमार्फत विनोद यादवलाई पैसा दिलाइदिनुपर्ने छ, मलाई सहयोग गर्नुपर्यो भनेका र मेरो घर सिराहामा नै रहेको हुँदा मैले के सहयोग गर्नुपर्यो म गर्छु भनेपछि भोलिपल्ट मेरो मोटरसाइकलमा राकेश र म सिराहा गयौं । सिराहा पुगेपछि राकेशले मलाई एउटा राम्रो होटलको व्यवस्था मिलाउ भनेपछि मैले सिराहाको इमिली चोकमा भएको रमझम होटलमा कोठाको बन्दोबस्त गरिदिएँ । सो दिन विनोद, राकेश र म सोही होटलमा बस्यौँ । भोलिपल्ट राकेशले मलाई विनोदसँग लेनदेनको विषयमा कागज गर्नुपर्ने छ एउटा लेखनदास खोजिदेउ भनेपछि मैले मेरै गाउँका लेखनदास काम गर्ने देवनारायण यादवको कोठामा पुर्याइदिएँ । त्यहाँ विनोदले राकेशबाट रू ।६,००,०००।- लिएको कपाली तमासुक लेखाई साक्षी किनारमा मलाई पनि सही गर्न अनुरोध गरेका हुँदा मैले पनि सहीछाप गरिदिए । कागज तयार भएपछि कागज राकेशले राख्यो तर विनोदलाई तत्काल पैसा दिएको मैले देखिन । विनोदले पैसा कतिबेला दिन्छौ भन्दा राकेशले साथी पैसा लिएर आउँदै छ एक छिन पर्ख भने तर त्यहाँ कुनै साथीले पैसा लिएर आएको मैले देखिन । विनोदले पटकपटक राकेशसँग पैसा मागिरहेका थिए तर राकेशले ल्याउँछ ल्याउँछ भन्दै अल्मलाएर केही दिनसम्म सोही होटलमा राखे, होटलमा बस्ने क्रममा एक दिन राकेशले मलाई एउटा कट्टी तरवार चाहिएको छ ल्याइदेउ भन्यो । मैले मेरो गाउँमा झगडा परेको छ मलाई कसैले कट्टी दिँदैनन भनेपछि हामी दुवै जना मेरो मोटरसाइकलमा बसी कट्टी खोज्न भनी मेरो गाउँमा गयौं । कट्टी फेला नपरेपछि हामी फर्कि आयौं । हामी आउँदा विनोद सोही होटलमा बसिरहेका थिए त्यसपछि विनोद र राकेश मोटरसाइकलमा बसी विराटनगरतर्फ फर्कि आए । म त्यहीँ बसे । भोलिपल्ट राकेश मोटरसाइकल लिई पुनः सिराहा पुगेपछि मैले निजबाट मेरो मोटरसाइकल लिई घरतर्फ गए राकेश त्यहीँ थिए । त्यसपछि मेरो निजहरूसँग भेटघाट भएको थिएन, त्यसको केही दिनपछि होटलवालाले मलाई फोन गरी विलबापतको पैसा तिर्न भने पछि मैले उक्त होटलको विलबापतको रू ।४५,०००।– तिरी दिएको हुँ । यस्तैमा म आफ्नै घरमा भएको अवस्थामा विनोद यादवलाई राकेशकुमार यादवसमेत भई हत्या गरेको भन्ने सुनी थाहा भएको हो यी राकेशकुमार यादवसमेतका प्रतिवादीहरूले विनोद यादवलाई मार्ने योजना बनाई हत्या गरेको कुरामा विश्वास लाग्छ भन्नेसमेत बेहोराको अमरेशकुमार यादवले मिति २०७३।०५।३१ मा अनुसन्धान अधिकृतसमक्ष गरेको घटना विवरण कागज ।
मिति २०७३।०५।२१ गते बिहान म आफ्नै घरमा थिएँ । समय यकिन याद भएन । बिहानको समयमा मेरो गाडी चालक मनोज भन्ने लाले सहनीले मेरो मोबाइलमा फोन गरी पहिला गाडी मगाउने राकेश भन्ने केटाले आज पनि गाडी मगायो । म गाडी लिएर त्यहाँ पुग्दा राकेशलगायत अन्य २ जनासमेत ३ जना भई गाडीको छेउमा आई सामान पनि छ गाडीभित्र हाल्नुहोस् भने मैले गाडीभित्र हालेपछि सिरक कपडा जस्तो २ वटा पोको गाडीमा राखेर राकेशकुमार यादव गाडीभित्र बस्यो । अर्को सामान बिर्सिएला छिटो राख भन्यो अर्का २ जनाले कोठाभित्र गई अर्को एउटा पोको ल्याउँदा सो पोकाबाट रगतजस्तो पदार्थ देखेपछि यो केको पोका हो भनी सोध्दा राकेशकुमार यादवले यो लास हो भनेपछि मैले उक्त पोका गाडीमा नराखी गाडी मात्र लिएर महेन्द्र चौकमा आएको छु भनेपछि मैले सो कुरा प्रहरीमा जानकारी गराउनुपर्छ भनी फोन राखी प्रहरीमा फोन गरी जानकारी गराएपछि प्रहरीले उक्त घर के कहाँ पर्छ तपाइँहरू पनि यहा आई उक्त घर चिनाइदिनुपर्यो भनेपछि मैले मेरो चालकलाई लिई प्रहरीमा गई उक्त घर देखाइदिएको हुँ । त्यसपछि प्रहरीले अनुसन्धान सुरू गरेको हो । त्यसपछि विराटनगर १३ स्थित अक्सफोर्ड होस्टल सञ्चालन गर्ने सुनसरी औरावनी ५ बस्ने विनोद यादवलाई विराटनगर १३ स्थित ओमकार श्रेष्ठको घरमा डेरा गरी बस्ने राकेशकुमार यादव, जितेन्द्रकुमार साह, कृष्णकुमार यादव र सरोज यादवसमेत भई निज विनोद यादवको घाँटी काटी हत्या गरी लास कपडामा पोको पारी फाल्नको लागि मेरो गाडी बोलाएको रहेछ भन्ने थाहा भएको हो । यसरी विनोद यादवलाई काटी कर्तव्य गर्ने यी प्रतिवादीहरूउपर कानूनबमोजिम कारबाही होस् भन्नेसमेत बेहोराको सन्तोषकुमार साहले मिति २०७३।०६।०२ मा अनुसन्धान अधिकृतसमक्ष गरेको घटना विवरण कागज ।
मृतक विनोद यादव मेरो सहोदर दाजु हो । दाजुले विराटनगर १३ स्थितमा अक्सफोर्ड होस्टल सञ्चालन गरी आउनुभएको थियो । म पनि सोही होस्टलमा बस्दै आएको थिएँ । यस्तैमा मिति २०७३।०५।२० गते बेलुका ६ बजेतिर राकेशकुमार यादव म र दाजु बसिरहेको होस्टलमा आई दाजु विनोद यादवलाई भेटी केही बेरमा दाजु हिँड्नुभयो । मैले कता हिँड्नुभयो भन्दा एकछिन काम छ भनी दुवै जना होस्टलबाट निस्की गएका थिए । दाजुहरू गएपछि केही बेरमा राति ९ बजेतिर म, राम प्रकाश र आरिफ आइसक्रिम खानको लागि न्युरोतर्फ आउने क्रममा विपरीत दिशाबाट सरोज यादवले प्लास्टिकको झोलामा हाले र ३, ४ वटा बियर ल्याउँदै गर्दा राम प्रकाश केहीबेर सरोजसँग गफ गर्न थाल्यो म अलिक अगाडि बढिरहेँ । हामीहरू आइसक्रिम खाई आफ्नो होस्टलमा गयौ । राति अं ।१० बजेतिर मेरो दाजुले फोन गरी मसमेतसँग कुरा गरी मासु ल्याएर राख्नु भनेपछि मैले यति राति मासु पाइँदैन भने त्यसो भए अण्डा ल्याएर पकाउनु भनेपछि बजारमा आई अण्डा किनी भात सब्जी पकाएर राखेँ । रात धेरै परिसकेपश्चात् पनि खाना खान नआएपछि मैले दाजु विनोद यादवको मोबाइलमा ६, ७ पटक फोन सम्पर्क गर्दा नउठेपछि म मोबाइलमा फिलिम हेरी बसिरहेको अवस्थामा करिब रातको १ डेढ बजेतिर राकेशले फोन गरेर विनोद आयो भनेर सोध्यो । मैले छैन, म खाना पकाएर तपाइँहरूलाई पर्खिरहेको छु । खाना खान आउने हैन भन्दा विनोद मबाट अघि हिँडिसकेको थियो । म बरगाछीमा छु आउँदिन भनी राकेशकुमार यादवले फोन राखिदियो । भोलिपल्ट २१ गते बिहान म दुध लिनको लागि न्युरो अस्पताल छेउमा आउँदा राकेशकुमार यादव र कृष्णकुमार यादवलाई मैले राकेशलाई विनोद दाइ त आएन त भन्दा साथीकोमा गयो होला आउँछ होला भनी अगाडि बढ्यो केही बेरमा बिस्कुट लिई फर्कने क्रममा वारदात स्थलको गेटअगाडि पुग्दा सरोज यादवले ब्याग बोकी रिक्सा चढ्दै गरेको देखेपछि मैले कहाँ जान लागेको भनी सोध्दा म मेरो घर लाहान सिराहा जान लागेको भनी हिँडेको थियो । करिब बिहानको आठ साढे आठ बजेतिर नजिकै घटना घटेको कुरा होस्टलका विद्यार्थीहरूले भनी सुनी हेर्न जाँदा दाजुको मृतक लास घुँडाभन्दा मुनि र घाँटी काटेको अवस्थामा देखी चिनेको हुँ । त्यसरी राकेशकुमार यादवले योजना बनाई मेरो दाजु विनोद यादवलाई कोठामा लगी निर्मम तरिकाले हत्या गरेका हुँदा निजहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रमोद यादवले मिति २०७३।०६।०२ मा अनुसन्धान अधिकृतसमक्ष गरेको घटना विवरण कागज ।
सनाखतको लागि देखाइएका मानिसहरूमध्ये मैले पहिल्यै देखि चिनेका राकेशकुमार यादव मिति २०७३।०५।२१ गते बिहान मलाई फोन गरी गाडी बोलाई गाडीमा सामान लोड गरी मैले रगत जस्तो छ के हो, भन्दा लास हो भन्ने व्यक्ति हुन् निजलाई हेरी, देखी, चिनी सनाखतसमेत गरिदिए भन्नेसमेत बेहोराको सनाखत कागज ।
सनाखतको लागि देखाइएका मानिसहरूमध्ये हाल नामथर थाहा भएका जितेन्द्रकुमार साह मिति २०७३।०५।२१ गते बिहान लास बेरिएको बेडिङ गाडीमा लोड गर्नेमध्येका एक जना हुन् निजलाई हेरी, देखी, चिनी सनाखतसमेत गरिदिए भन्नेसमेत बेहोराको सनाखत कागज ।
सनाखतको लागि देखाइएका मानिसहरूमध्ये हाल नामथर थाहा भएका कृष्णकुमार यादव मिति २०७३।०५।२१ गते बिहान जितेन्द्रकुमार साहसँग लास बेरिएको बेडिङ बोकी ल्याई गाडीमा लोड गर्नेमध्येका एक जना हुन् निजलाई हेरी, देखी, चिनी सनाखतसमेत गरिदिए भन्नेसमेत बेहोराको सनाखत कागज ।
म विगत ६, ७ महिनादेखि मृतक विनोद यादवले सञ्चालन गरेको विराटनगर १३ स्थित अक्सफोर्ड होस्टलमा बस्दै आएको छु । यस्तैमा मिति २०७३।०५।२० गते म आफनो होस्टलमा बसिरहेको थिएँ । सो दिन साँझको समयमा राकेशकुमार यादव आई विनोद यादवसँग के के कुरा गरी दुवै जना केही बेरमा निस्की गएका थिए । केहीबेरमा राति ९ बजेतिर म, मृतकका भाइ प्रमोद यादव र आरिफ आइसक्रिम खान आउँदा विपरीत दिशाबाट सरोज यादवले प्लास्टिकको झोलामा बियर लिएर आउँदै थियो । निजसँग सामान्य गफगाफपश्चात् ऊ आफ्नो बाटो लाग्यो । म आफ्नो बाटो लागे । भोलिपल्ट २१ गते हामी बसेको नजिकैको घरमा मान्छे मारेको हल्ला सुनेपछि हेर्न जाँदा हाम्रो होस्टल सञ्चालक विनोद यादव लास घुँडाभन्दा मुनिको भाग काटी बोरामा हालेको शरीरको भाग डसनामा बेरेको अवस्थामा देखेको हुँ । यसरी राकेशकुमार यादवले योजना बनाई विनोद यादवलाई कोठामा लगी निर्मम तरिकाले हत्या गरेका हुँदा निजहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको राम प्रकाश यादवको घटना विवरण कागज ।
म ३, ४ महिनादेखि सिराहा २ स्थित रमझम होटलमा काम गर्दे आएको छु । मिति २०७३।०४।२९ गते दिउँसोतिर सिराहा सनैठा घर बताउने अमरेश यादव, सुनसरी औरावनी घर बताउने विनोद यादव र राकेशकुमार यादव नाम बताउने ३ जना केटा मानिसहरू होटलमा आई होटलको १०३ नं । कोठा बुक गरी बसेका हुन् । मैले निजहरूलाई के काम भएर यहाँ बस्नुभएको भन्दा हामी विराटनगरमा पढ्छौं, सिराहा घुम्न आएका हौँ ३, ४ दिन बसी फर्की जान्छौं भन्थे निजहरूमध्ये छातीमा गणेशको टाटु छाप भएका राकेश यादव चाहिँ धेरै फोन गर्ने कता कता जाने गर्थे । तिनैजना मिति २०७३।०५।०४ गते कोठा बन्द गरी बिलसमेत नतिरी भागी गएका हुन् । पछि निजहरूमध्येका अमरेश यादव सिराहा बजारमा फेला परी निजलाई विलबापतको रकम मागेपछि निजले घरबाट रकम ल्याई भुक्तानी दिएका हुन् । निजहरू होटलबाट कहाँ गई के के गरे मलाई थाहा भएन भन्नेसमेत बेहोराको रूद्र घर्तीको घटना विवरण कागज ।
म सिराहा बजारमा लेखापढीको काम गर्दै आएको छु । मिति मलाई यकिन याद भएन । श्रावण महिनाको अन्तिमतिर मेरो गाउँका भतिजो नातापर्ने अमरेश यादवले मलाई फोन गरी मेरो साथीको कपाली तमासुक बनाउनुपर्ने छ भनेका हुँदा मैले यहाँ आउनु भनी भनेपछि निज अमरेश यादवले विनोद यादव र राकेशकुमार यादवलाई लिएर मेरो लेखापढी गर्ने अफिमा आएपछि मैले राकेशकुमार यादवबाट विनोद यादवले रू ।६,०००,००।- लिएको कपाली तमासुक लेखिदिएपछि निजहरू दुवै जनाले सहीछाप गरी अमरेशकुमार यादवसमेतले साक्षी किनारामा सहीछाप गरी उक्त कागज राकेशकुमार यादवले लिई राखेका हुन । मेरो अगाडि निजहरूको रकम लेना देना भएन । मैले सोध्दा हाम्रो लेनदेन व्यवहार भइसकेको छ भनेका थिए । म लेखापढी व्यवसाय गर्ने भएकोले निजहरू दुवैजनाले मलाई राजीखुसीका साथ तासुक लेखिदिन भनेका हुँदा मैले आफ्नो लाग्ने दस्तुर लिई कागज लेखिदिएको हुँ । निजहरूबिच के कस्तो लेनदेन व्यवहार थियो मलाई थाहा भएन भन्नेसमेत बेहोराको देव नारायण यादवको घटना विवरण कागज ।
मिति २०७३।५।२१ गते बिहान विराटनगर १३ स्थित ओमकार श्रेष्ठको घरमा डेरा भाडामा लिई बस्ने यी प्रतिवादीहरूको डेरा कोठामा लास रहेको भन्ने सुनी जाँदा उक्त लास हाल नाम थर थाहा भएका जाहेरवालाका छोरा वर्ष १९ को विनोद यादवको भएको भन्ने थाहा भएको र निज विनोद यादवलाई यी प्रतिवादीहरूले मार्ने योजना बनाई विनोद यादवलाई निजहरूको कोठामा लगी धारिलो हतियार कट्टी प्रहार गरी काटी कर्तव्य गरी मारी घाँटी र दुवै खुट्टाको घुँडामा काटी छुट्टाई टाउको र खुट्टा बोरामा हाली शरीरको भाग डसनामा बेरी बेडिङ जस्तो बनाई लास अन्यत्र लगी फ्याँकी दबाउने उद्देश्यले गाडी बोलाई गाडीमा लोड गर्ने क्रममा गाडी चालकले थाहा पाई प्रहरीमा खबर गरेपछि निजहरू भागी फरार भएकोमा सोही दिन प्रहरीले प्रतिवादीमध्येका राकेशकुमार यादव, कृष्णकुमार यादव, जितेन्द्रकुमार साहलाई फेला पारी पक्राउ गरेको र वारदातपश्चात् अभियुक्तहरू भगाउन सहयोग गर्ने अन्य २ जना कमलदेव दास र जितेन्द्रकुमार यादवसमेतलाई प्रहरीले पक्राउ गरेको भन्ने थाहा भएको र निज प्रतिवादीहरूले हाल बरामद भएको धारिलो हतियार कट्टी प्रहार गरी विनोद यादवको बीभत्स रूपमा हत्या गरेका हुँदा निज प्रतिवादीहरूउपर कानूनबमोजिम हदैसम्मको सजाय होस् भन्नेसमेत बेहोराको बैजनाथप्रसाद यादव, राधा पौडेल, गोविन्दप्रसाद पौडेलसमेतले गरिदिएको एकै मिलानको मिति २०७३।०६।१० को वस्तुस्थिति मुचुल्का ।
मेरो घर भारत अररिया फारविसगन्जमा भई म सानैदेखि विराटनगरमा बसी पढ्दै आएको छु । विनोद यादवसँग सँगै पढ्ने हुँदा निजसँग राम्रो चिनजान थियो । मैले प्लस टु पास गरी इन्जिनियरिङ पढ्न भारततर्फ जाने सोच बनाइरहेको थिएँ । घटना हुनुभन्दा ४, ५ महिना पहिला साथी विनोदसँग भेटघाट भई कुराकानी हुँदा निजले मेरो राकेशकुमार यादव भन्ने साथी छ, ऊ भारतको बैंगलोर बसेर आएको हो, यसले तिमीलाई बैंगलोरको इन्जिनियरिङ कलेजमा भर्ना गराइदिन्छ भनी राकेशकुमार यादवसँग भेटघाट गराई कुराकानी हुँदा राकेशकुमार यादवले म गराइदिन्छु भनी हामी तिनैजना बैंगलोर जाने निधो गरी असार महिनाको पहिलो हप्तातिर कलेजमा भर्ना हुन लाग्ने रकम भा ।रू ।२,००,०००।– राकेशकुमार यादवको एस ।बी ।आई बैंकको खातामा जम्मा गरी दिई विनोद राकेश र म तीनैजना बैंगलोर गयौँ । बैंगलोर पुगेपछि निजले मलाई बैंगलोरको इस्टवेस्ट इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा भर्ना गराउन भनी लगी त्यहाँको अफिसमा एक्लै गई के के कुरा गर्यो । निजले मलाई कलेजमा भर्ना भएको एउटा कागज र भा ।रू ।२,००,०००।– को रसिद ल्याई दिई तपाइँको भर्ना कार्य पूरा भयो, सबै रकम कलेजमा जम्मा गरिदिएको छु, एक वर्षको लागि होस्टल र कलेजमा शुल्क तिर्नुपर्दैन भन्यो, म कलेजमा भर्ना भएको कुरा विश्वास गरी हामी तिनैजना फर्की आयौँ । पछि कलेज पढ्न जानुपर्यो भनी कलेजमा सम्पर्क गर्दा कलेजमा भर्नाबापत भा ।रू ।५,०००।– जम्मा भएको अन्य रकम जम्मा नभएको जानकारी पाई राकेशकुमार यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको थिएन । यस्तैमा राकेशकुमार यादवसहितका हाल पक्राउमा परी आएका प्रतिवादीहरूले विनोद यादवको हत्या गरेको भन्ने सुनी थाहा पाएको हुँदा निजहरूले विनोद यादवको हत्या गरेकोमा पूर्ण विश्वास लाग्छ निजहरूउपर कानूनबमोजिम कारबाही होस् भन्नेसमेत बेहोराको निरज यादवको घटना विवरण कागज ।
अनुसन्धानको कार्य सम्पन्न भई निर्णयार्थ प्राप्त हुन आएको मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल खानतलासी बरामदी मुचुल्का, लास जाँच प्रकृति मुचुल्का, प्र ।ना ।उ ।संजय सिंह थापासमेतको प्रतिवेदन, प्रतिवादीहरूले गरेको बयान, मौकामा बुझिएका मानिसहरूको कागज, मृतकको पोस्टमार्टम रिपोर्ट एवं वस्तुस्थिति मुचुल्कासमेतका कागज प्रमाणहरूबाट मृतक विनोद यादवसँग लेनदेन व्यवहारको विषयमा रिसइवी राखी मार्ने योजना बनाइरहेका प्रतिवादी राकेशकुमार यादवले मार्ने योजनाअनुसार नै साउन महिनामा सिराहा लगी होटलमा राखी त्यहाँ मार्ने योजना सफल नभएपछि विराटनगर फर्की आई योजना बनाइरहेकोमा निजसँगै डेरामा बस्ने साथीहरू कृष्णकुमार यादव, सरोज यादव, जितेन्द्रकुमार साहसँग सल्लाह गरी सबैजनाको सहमति भएपछि प्रतिवादी राकेशकुमार यादव मिति २०७३।०५।२० गते बेलुका मृतक विनोद यादव बस्ने गरेको अक्सफोर्ड होम होस्टलमा गई निजका भाइहरूलाई गर्लफ्रेन्ड भेटाउन जाने भनी दाजु विनोद यादवलाई आफ्नो विराटनगर १३ स्थित डेरा कोठामा ल्याई साथी सरोज यादव र जितेन्द्रकुमार साहलाई बियर किन्न पठाई बियर लिई आएपछि योजनाअुनरूप नै मृतकलाई बढी मात्रामा बियर खान दिई निज नशामा परी भुइँमा सुतेको अवस्थामा प्रतिवादी सरोज यादव र जितेन्द्रकुमार साहले विनोद यादवको हातखुट्टा समाती प्रतिवादी राकेशकुमार यादवले कट्टीले प्रहार गर्दा मृतक कराएको कारण प्रतिवादी कृष्णकुमार यादवले मुख थुनिदिएपछि पनि पुनः प्रहार गर्दा घाँटी नछिनेपछि उक्त हतियार कट्टीले कृष्णकुमार यादवले प्रहार गरी घाँटी छिनाई कर्तव्य गरी मारेपछि प्रतिवादीहरूले मृतकलाई कर्तव्य गरी मारेको भन्ने कुरा थाहा जानकारी पाई प्रतिवादी कमलदेव दासले मृतकको मोबाइलसमेत लुकाई राखिदिएका र प्रतिवादी जितेन्द्रकुमार साहलाई भाग्न तथा प्रतिवादी राकेशकुमार यादवले कमलदेव दासलाई लुकाउन दिएको मोबाइलसमेत लिई भागी गएका प्रतिवादीहरूलाई पुर्याई दिई प्रतिवादीहरू राकेशकुमार यादव, जितेन्द्रकुमार साह र कृष्णकुमार यादवलाई भाग्न उम्कन मद्दत गरी भारतको सीमानातर्फ दरैया भन्ने ठाउँसम्म पुर्याएको तथ्य पुष्टि हुन आएकोले प्रतिवादी राकेशकुमार यादव र कृष्णकुमार यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं । विपरीत र १३(१) नं ।बमोजिमको कसुरमा ऐ ।१३(१) नं ।बमोजिम सजाय हुन, प्रतिवादी सरोज यादव र जितेन्द्रकुमार साहलाई ऐ ।१ नं । विपरीत र १३(४) नं ।बमोजिमको कसुरमा ऐ । १३(४) नं । बमोजिम सजाय हुन र प्रतिवादी कमलदेव दास र जितेन्द्र यादवलाई ऐ ।१७(३) नं ।बमोजिमको कसुरमा ऐ । १७(३) नं ।बमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको अभियोगपत्र ।
मृतक विनोदकुमार यादवलाई मैले चिनेको छैन । निजलाई को कसले मारे मारेनन् मलाई थाहा छैन । यो घटनामा मेरो कुनै संलग्नता छैन । राकेशकुमार यादवले विनोद यादवलाई कर्तव्य गरी मारेपछि निजलाई भगाउने प्रयास गरेको होइन र घटनाको जानकारी पाए पनि घटनालाई ढाकछोप गर्ने कार्यसमेत गरेको छैन । यो घटनाको बारेमा कसैलाई पनि फोन सम्पर्क गरेको छैन । मिति २०७३।०५।२१ गते अन्दाजी ११ बजे मेरो मोबाइलमा राकेश यादवले ४५ चोटि फोन गरी एकछिन जोगवनी जाने काम छ आउनु भनी भनेको थिए । मेरो परीक्षा छ, म आउँदिन भनी निजसँग गइन, कोठामा नै बसिरहेँ । घटनाको बारेमा निजले मलाई केही पनि भनेका थिएनन् । मौकामा गरेको बयान बेहोरा मेरो होइन । प्रहरीले कुटपिट गरी बयानमा सही गराएका हुन् । म आफ्नै कोठामा बसी पढिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी ल्याएको हो । उक्त घटनामा मेरो संलग्नता छैन । म निर्दोष भएको हुँदा अभियोग दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जितेन्द्र यादवले सुरू अदालतमा गरेको बयान ।
मृतकलाई को कसले मारे म भन्न सक्दिनँ । मैले कर्तव्य गरी मारेको होइन । उक्त मिति २०७३।०५।२० गते म आफ्नै होस्टेलमा थिएँ । बरामद भएका मोबाइल, सिमसमेत मेरो होइन, अनुसन्धान अधिकारीसमक्षको बयान मेरो होइन । राकेशकुमार यादव, जितेन्द्रकुमार साहसमेतले मलाई फसाउन त्यस्तो बयान गरेको हो । म अमरेशकुमार यादवसमेतलाई चिन्दिनँ । लास बेरिएको बेडिङ मैले बोकी ल्याएको होइन । म मृतकलाई चिन्दिनँ, कहाँ बस्थे त्यहाँ थिएन । म प्रतिवादी कमलदेव दाससँगै बस्छु, सो घटनामा मेरो कुनै संलग्नता नरहेको हुँदा अभियोग दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कृष्णकुमार यादवले सुरू अदालतमा गरेको बयान ।
म न्युरो कलेजमा पढ्छु र नमस्ते होम होस्टलमा बस्छु । घटना भएको समयमा होस्टेलमा नै थिएँ । घटना भएको कुरा कलेजमा एडमिट लिन जाँदा थाहा पाएको हो । सो दिन भोलिपल्टको जाँचको तयारीको लागि पढिरहेको थिएँ । बिहानै उठेँ, ५ मिनेट बाथरूम जाँदा मेरो रूममा प्रतिवादी कृष्ण आई मेरो मोबाइल दिई मेरो साथी सेराजलाई दिनु भनी तुरून्तै गए । मलाई घटना बारेमा केही भनेनन्, त्यही होस्टेलमा बस्ने निज सेराजलाई तुरून्तै सो मोबाइल दिएँ । त्यसपश्चात् म भात खाएर कलेज गएँ । एडमिट कार्ड लिन गएपछि सरहरू पनि सो घटनाको बारेमा कुरा गरिरहनुभएको थियो । मैले त्यहीँ थाहा पाएको हो, विवेक, अभिषेकसँगै पढी बसी कलेज जाँदासमेत निजहरू सँगै थिएँ । सरोज आलमलाई यो मोबाइल दिनु भनी कृष्णकुमार यादवले मोबाइल दिएपछि सेराज आलमलाई मोबाइल दिनेबाहेक अरू मलाई केही थाहा छैन । मृतक विनोद यादवलाई कर्तव्य गरी मार्ने राकेशकुमार यादव, कृष्णकुमार यादवसमेतलाई भाग्न उम्कन मद्दत गरी भारतको सीमानातर्फ दरैया भन्ने ठाउँसम्म पुर्याई मोबाइलसमेत लुकाइराखेको हो । मैले अभियोग दाबीअनुसारको कसुर नगरेको हुँदा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कमलदेव दासले सुरू अदालतमा गरेको बयान ।
मिति २०७३।०५।२१ गते राति म जितेन्द्र साह, सरोज यादव र कृष्णकुमार यादव विराटनगर १३ स्थित डेरामा थियौं । रक्सी ल्याई खाएपछि मृतक मातेर लडेका थिए । मैले होस्टलबाट लिनुपर्ने पैसा र एक जना विद्यार्थीको पैसा निजलाई जिम्मा लगाएको पैसासमेत हिनामिना गरेको सम्झी मलाई रिस उठी खुकुरी झिकी भुइँमा लडिरहेका विनोद यादवको गला (घाँटी) मा काटी दुई टुक्रा बनाएको हुँ । निजलाई म एक्लैले काटी हत्या गरेको हुँ । भोलिपल्ट को । १ च ९७०३ नं ।को भाडाको गाडी बोलाई लास खोलातर्फ लान लाग्दा ड्राइभरले थाहा पाई लासलाई फेरि कोठामा लगी बोरामा हाली रिक्सामा लाने सल्लाह भएपछि बोरामा लास हाल्न खोज्दा नसकेकोले प्रतिवादी कृष्णकुमार यादवले लासको खुट्टा काटी बोरामा हाल्न सहयोग गरेका हुन् । निजलाई मारी होस्टल आफ्नो बनाउने मेरो पूर्वयोजना होइन । रक्सीको नशामा उक्त घटना घटेको हो । अन्य साथीहरू बोलाई निजलाई मार्ने योजना थिएन । कानूनबमोजिम सजाय भोग्न मन्जुर छु भन्नेसमेत बेहोराको प्रतिवादी राकेशकुमार यादवले सुरू अदालतमा गरेको बयान ।
म बजारबाट आउँदा मृतक विनोद यादव, प्रतिवादी राकेशकुमार यादव, प्रतिवादी सरोज यादव, प्रतिवादी कृष्णकुमार यादव बियर खादै थिए । राकेशले मलाई पनि खाउभन्दा मैले खान्न भने र मेरो भाइ भएको आफ्नो कोठामा गई पढ्न थाले । एकै चोटि मलाई १०:३० बजेतिर सरोज यादवले बोलाई यो रगत सफा गर, कतै हल्ला गरिस्, प्रहरीमा खबर गरिस् भने तेरो भाइलाई काटेर मारिदिन्छु भनेपछि मैले डराई डराई रगत सफा गरे । सरोज, राकेश र कृष्ण भई मृतकको लास प्याक गर्न खोज्दै थिए । सिङ्गो लास प्याक नहुने भएर प्रतिवादी राकेशकुमार यादवले काटी राति नै प्याक गरे । म भाग्छु भनी सरोजलाई मेरो पछाडि लगाए । डर, त्रास र धम्कीको कारणले कतै पनि होहल्ला गर्न सकिन । प्रतिवादी राकेशकुमार यादव, सरोज यादव, कृष्णकुमार यादवको मृतकलाई मार्ने पूर्वयोजना रहेछ । सो कुरा मलाई थाहा थिएन । आफ्नो ज्यान जोगाउने डरले सो घटनाबारे कसैलाई भन्न नसकेको हुँ । अभियोग दाबीबमोजिम मैले कुनै कसुर नगरेको हुँदा सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जितेन्द्रकुमार साहले सुरू अदालतमा गरेको बयान ।
सुरू अदालतको मिति २०७३।०६।१४ गतेको आदेशानुसार प्रतिवादीहरू राकेशकुमार यादव, कृष्णकुमार यादव, जितेन्द्रकुमार साह, कमलदेव दास र जितेन्द्र यादव पुर्पक्षका निमित्त कारागार कार्यालय मोरङमा थुनामा रहेका ।
प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष र सुरू जिल्ला अदालतमा गरेको बयान, सहअभियुक्तहरूले सुरू जिल्ला अदालतमा गरेको बयानसमेतको तत्काल प्राप्त प्रमाणबाट निज प्रतिवादीको हकमा मुलुकी ऐन, अदालती बन्दोबस्तको ११८(२) को अवस्था विद्यमान नदेखिँदा प्रतिवादी जितेन्द्र यादवलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने भनी मिति २०७३।०६।१४ मा भएको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ । पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई निवेदक प्रतिवादी जितेन्द्र यादवलाई मुलुकी ऐन, अदालती बन्दोबस्तको ४७ नं । बमोजिम तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने भन्ने मिति २०७३।०७।२७ को उच्च अदालत विराटनगरको कैफियत प्रतिवेदनमा भएको आदेशानुसार प्रतिवादी जितेन्द्र यादवलाई साधारण तारेखमा राखिएको ।
प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष र सुरू जिल्ला अदालतमा गरेको बयान, सहअभियुक्तहरू सुरू जिल्ला अदालतमा गरेको बयानसमेतको तत्काल प्राप्त प्रमाणबाट निज प्रतिवादीको हकमा मुलुकी ऐन, अदालती बन्दोबस्तको ११८(२) को अवस्था विद्यमान नदेखिँदा प्रतिवादी कमलदेव दासलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने भनी मिति २०७३।०६।१४ मा भएको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ । पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई निवेदक प्रतिवादी कमलदेव दासलाई मुलुकी ऐन, अदालती बन्दोबस्तको ४७ नं ।बमोजिम तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने मिति २०७३।०८।१६ को उच्च अदालत विराटनगरको कैफियत प्रतिवेदनमा भएको आदेशानुसार प्रतिवादी कमलदेव दासलाई साधारण तारेखमा राखिएको ।
प्रतिवादी सरोज यादवका नाममा जारी भएको वारेन्टसहितको ७०(सत्तरी) दिने म्यादी पुर्जी मिति २०७३।०८।०२ गते तामेल भएकोमा उक्त म्यादमा निज उपस्थित नभई म्यादै गुजारी बसेका ।
मिति २०७३ साल भाद्र २० गतेसम्म जितेन्द्र साह आफ्नै गाउँघरमा थिएँ । निज सोही दिन विराटनगर आएका थिए । जितेन्द्र साह राम्रो चालचलनका मानिस हुन् । साथीको सङ्गतले गर्दा निजलाई फसाउन खोजिएको हो । अभियोग दाबी झुट्टा हुनुपर्छ, निजले विनोद यादवलाई मारेको कुरामा मलाई विश्वास लाग्दैन भन्नेसमेत बेहोराको प्रतिवादी जितेन्द्रकुमार साहका साक्षी अमरेशकुमार साहले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७३।०५।२१ गतेको घटनास्थल तथा खानतलासी तथा बरामदी मुचुल्काको बेहोरा र सहीछाप मेरै हो । घटनास्थल कोठाभित्र रगतै रगत थियो । वाल पर्खालमा पनि रगतका छिटा थिए, लास हेर्ने खालको थिएन । काटेको टुक्राटुक्रा थिए । सो ठाउँमा कट्टी, पेस्तोल, बोतलहरू थिए । लासलाई बेरिएको थियो, अरू अङ्गलाई बोरामा हालिएको थियो भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्कामा बस्ने सरोजकुमार मिश्रले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७३।०५।२१ जाहेरी दरखास्तको बेहोरा र सहीछाप मेरै हो । विनोद यादवलाई राकेशकुमार यादव, जितेन्द्रकुमार साह, कृष्णकुमार यादव, सरोज यादव भई कर्तव्य गरी मारेका हुन् । म घटनास्थल आउँदा छोराको टाउको छुट्टिएको थियो । अन्य शरीरका भागहरू चार टुक्रा पारेको थियो । मेरो छोरालाई मार्ने राकेशकुमार यादव, जितेन्द्रकुमार साह, कृष्णकुमार यादव र सरोज यादवसमेतलाई कडाभन्दा कडा सजाय हुनुपर्ने हो । प्रतिवादी कमलदेव दास र जितेन्द्र यादवले अन्य चार जनालाई भगाउन सहयोग गरेको हुँदा निजहरूलाई पनि सजाय हुनुपर्ने हो भन्नेसमेत बेहोराको जाहेरवाला जगदिशप्रसाद यादवले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७३।०६।१० गतेको वस्तुस्थिति मुचुल्का र सहीछाप मेरै हो । यी जाहेरवालाको छोरा विनोद यादवलाई प्रतिवादीहरू जितेन्द्र साह, सरोज यादव, राकेश यादव र कृष्ण यादव भई कर्तव्य गरी मारेका हुन् । प्रतिवादी जितेन्द्रकुमार यादव र कमलदेव दासले यी चारजना प्रतिवादीहरूलाई भगाउन सहयोग गरेका हुन् भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका गोविन्दप्रसाद शर्माले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७३।०५।२१ गते बिहान म विराटनगर १३ स्थित नमस्ते होम होस्टलमा कमलदेव दास, सरोज यादव सँगै थियौं । सो स्थानमा करिब बिहान ४:३० देखि ५:०० बजेको समयमा प्रतिवादी कृष्णकुमार साह आएका थिएँ । उक्त समयमा कृष्णकुमार आई कमलदेव दासलाई एक थान मोबाइल दिई यो राखिदेउ, पछि म आएर लान्छु भने र बोरासमेत मागेकोमा कमलदेवले बोरा छैन भनेपछि फर्की गएका हुन् । मृतकको मोबाइल प्रतिवादी कमलदेव दासले घटना भइसकेपछि साथीको नाताले राखिदिएको हो । प्रतिवादीहरूलाई भाग्न उम्कन सहयोग गरेको होइन । विनोद यादवलाई को को भई कर्तव्य गरी मारेको मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी कमलदेव दासका साक्षी अभिषेक साहले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७३।०५।२१ गतेको घटना विवरण कागजको बेहोरा र सहीछाप मेरै हो । उक्त मितिको बिहान ५ बजेको समयमा प्रतिवादी राकेशकुमार यादवले फोन गरी मलाई आउनु भनेकाले करिब ६ बजेतिर म मेरो भ्यान लिएर विराटनगर १३ स्थित राकेशकुमारको डेरामा जाँदा त्यहाँ चार जना मानिस उभिइराखेका थिए । राकेशले मलाई भ्यान व्याक गरी पछि ल्याउनु भनेर मैले लगेपछि तीन जनाले सामान ओसारी भ्यानमा राख्दै थिए भने प्रतिवादी राकेश भ्यानभित्रै बसिरहेका थिए । सामान ल्याउने क्रममा बेडिङमा बेरेको सामानबाट रगत तपतप चुहिरहेको देखेर मैले राकेशलाई सोध्दा लास हो दाइ भनेपछि मैले हकारेर सबै सामान मेरो भ्यानबाट निकाली म साहुकामा गई साहु सन्तोषकुमार साहलाई खबर गरेर साहुले प्रहरीलाई जानकारी गराएपछि प्रहरीसहित म घटनास्थलमा पुगेको थिएँ भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने मनोज भन्ने लाले सहनीले गरेको बकपत्र ।
मिति २०७३।०५।२१ गते बिहान म विराटनगर-१३ शान्तिचोक स्थित निर्मल जल अगाडिको आफ्नै डेरामा थिएँ । प्रतिवादी जितेन्द्र यादव र म एउटै कोठामा बस्ने भएकाले मसँगै थिए । निजको परीक्षा भएको कारण निज पढी कोठामा बसेका थिए । हामीले खाना खाई बसिरहेको बेला दिउँसो करिब १ बजेतिर प्रहरी कोठामा आई निजलाई पक्रेर लगेको हो । प्रतिवादी राकेशकुमार यादवसमेतलाई भाग्न उम्कन सहयोग गरेको होइन । जितेन्द्र यादव उक्त घटना घटाउने कार्यमा तथा भाग्न भगाउने कार्यमा संलग्न नभएकोले अभियोग दाबीबमोजिम सजाय पाउने होइन भन्नेसमेत बेहोराको प्रतिवादी जितेन्द्र यादवका साक्षी सुमन महतोले सुरू अदालतमा गरेको बकपत्र ।
वस्तुस्थिति मुचुल्काको बेहोरा र सहीछाप मेरै हो । प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्ने हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका राधा पौडेलले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७३।०५।२१ गतेको घटनास्थल तथा खानतलासी बरामदी मुचुल्काको बेहोरा र सहीछाप मेरो हो । उक्त मितिमा जितेन्द्र यादव र कमलदेव दासबाट एक एक थान सामसुङ कम्पनीको मोबाइल बरामद भएको थियो भन्नेसमेत बेहोराको घटनास्थल तथा खानतलासी मुचुल्काका प्रेम सुवेदीले सुरू अदालतमा गरेको बकपत्र ।
सुरू अदालतको मिति २०७४।०२।०३ का आदेशानुसार मिति २०७४।१२।१४ मा फरार रहेका प्रतिवादी सरोज यादवको अंश रोक्का मुचुल्का भई मिसिल सामेल रहेको ।
मिति २०७३।०५।२१ गतेको घटना विवरण कागज बेहोरा र सहीछाप मेरै हो । प्रहरीहरू आई ढोका खोलिदिएपछि प्रहरीसँगै भित्र पसेर हेर्दा मृत लास मैले देखेको हुँ । म बसेको कोठामा म र दाइ बसेका थियौं । मिति २०७३।०५।२० गते राति उक्त कोठामा म एक्लै थिएँ । उक्त मितिमा दाई जितेन्द्र कोसँग कहाँ बसे थाहा भएन । मेरो दाजु जितेन्द्रकुमार साह राति ११ बजेसम्म मसँगै थिए । सरोजले ढोका ढकढक्यायो दाइले ढोका खोल्नुभयो । सरोजले दाईलाई धम्क्याउनुभयो त्यसपछि सरोजसँग दाई बाहिर जानुभयो । सरोजले बाहिरबाट ढोकाको चुकुल लगाइदिनुभयो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने मनोजकुमार साहले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीमध्येका सरोज यादव अनुसन्धानको क्रममा फरार रही यस अदालतबाट जारी भई मिति २०७३।०८।०२ मा कानूनबमोजिम तामेल भएको ७० (सत्तरी) दिने बारेन्टसहितको म्याद पुर्जीमा समेत उपस्थित नभएको हुँदा निजको हकमा प्रस्तुत मुद्दा मुलुकी ऐन, अदालती बन्दोबस्तको १९० नं ।बमोजिम मुलतबी राखिदिने, प्रतिवादी राकेशकुमार यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) र प्रतिवादी जितेन्द्रकुमार साहलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं ।बमोजिम जन्मकैद हुने, प्रतिवादी कृष्णकुमार यादवले मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं ।बमोजिम जन्म कैदको सजाय हुने कसुर गरेको हुँदा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६(३) समेतको परिप्रेक्ष्यमा प्रतिवादी कृष्णकुमार यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं ।बमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजाय जन्मकैदको आधा सजाय हुने र प्रतिवादीहरू जितेन्द्र यादव र कमलदेव दास विरूद्धको मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं ।बमोजिमको अभियोग दाबी पुग्न नसकी निजहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू मोरङ जिल्ला अदालतबाट मिति २०७५।०८।१९ मा भएको फैसला ।
मैले मृतक विनोदकुमार यादवलाई मार्न निजको खुट्टा समातेको भनी अनुसन्धानमा प्रहरीले आफूखुसी लेखी लेखाएको बयान कागजातमा जबरजस्ती सहीछाप गराएका हुन् भनी सुरू अदालतमा बयानको क्रममा भने पनि सुरूले सोतर्फ बेवास्ता गरिदिएको देखिन्छ । मैले अभियोग माग दाबीअनुसारको मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं । को कार्य नगरेको, ऐ । महलको १३(४) को कसुर नगरेकोमा सुरूबाट मिति २०७५।८।१९ गते फैसला हुँदा मुलुकी ऐन ज्यान महलको १३(३) को कसुर ठहर गरी फैसलामा त्रुटि गर्न गएको हुँदा र अन्य कोही कसैले वारदात घटाएको सूचना पाई सम्बन्धित स्थानमा बेलामा सूचना नगरेको र दबाबमा परेर भए पनि मृतक विनोद कुमार यादवको रगत पुछेकोसम्म मेरो कसुर ठहरिए त्यसैमा कारबाही गर्नुपर्ने हुँदाहुँदै सो नगरी मुख्य अभियुक्तसरह ठहर गरी समान स्तरको कसुर र सजाय ठहर गरेको त्रुटिपूर्ण भएकाले सो त्रुटिपूर्ण फैसला बदर गरी थुना मुक्त गरिपाउँ भन्ने प्रतिवादी जितेन्द्रकुमार साहको तर्फबाट उच्च अदालत विराटनगरमा दायर गरेको पुनरावेदन ।
प्रतिवादी जितेन्द्रकुमार साहले मृतक विनोद यादवको खुट्टा थिची मार्नलाई संयोग पारिदिएकोमा निज प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम जन्मकैदको सजाय भए पनि मागदाबीअनुसार ऐ । महलको १३(४) नं ।बमोजिम कसुर ठहर भई सोहीअनुसार जन्म कैदको सजाय हुनुपर्नेमा सो नभई ऐ ।महलको १३(३) नं ।बमोजिम भएको सजाय मिलेको नदेखिएकोले बदरभागी रहेको छ । प्रतिवादी जितेन्द्र यादवलाई विनोद यादवको हत्या भएको घटनाबारे थाहा पाई प्रतिवादीमध्येका जितेन्द्रकुमार साहलाई भगाउने कार्यमा सहयोग गरेको पुष्टि भएको हुँदा मतलबीलाई हुने सजायसमेत नगरी सफाइ दिएको फैसला त्रुटिपूर्ण छ । साथै प्रतिवादी कमलदेव दासले घटना थाहा पाई घटना लुकाई मतलबीको भूमिका निर्वाह गरेकोले निजलाई सजाय गर्नुपर्नेमा सफाइ दिएको फैसला त्रुटिपूर्ण छ । तसर्थ, प्रतिवादीहरू जितेन्द्रकुमार साहलाई फरक सजाय गरेको तथा प्रतिवादीहरू जितेन्द्र यादव र कमलदेव दासलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भएको हुँदा उल्टी गरी अभियोग मागदाबीबमोजिम गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत विराटनगरमा दायर गरेको पुनरावेदन ।
यसमा सुरू मोरङ जिल्ला अदालतको मिति २०७५।०८।१९ को फैसलाउपर प्रतिवादीमध्येका जितेन्द्र साहले पुनरावेदन गरेको देखिँदा सो पुनरावेदनको जानकारी उच्च सरकारी वकिल कार्यालय, विराटनगरलाई दिनु र निज जितेन्द्र साहको हकमा समेत वादी नेपाल सरकारको पुनरावेदन परेको देखिँदा उक्त पुनरावेदनको जानकारी निज प्रतिवादीलाई दिनू । प्रतिवादीमध्येका कमलदेव दास र जितेन्द्र यादवले वारदात स्थलमा सहप्रतिवादीलाई चप्पल र लास राख्ने बोरा दिएको तथ्यमा मौकामा साबित रहेको देखिएको समेतका आधारमा निजहरूको हकमा समेत उक्त सुरू अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा निजहरूलाई छलफल प्रयोजनार्थ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) तथा उच्च अदालत नियमावली, २०७४ को नियम ११२ बमोजिम म्याद दिई निजहरूलाई हजिर भएपछि वा हाजिर हुने अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने उच्च अदालत विराटनगरबाट मिति २०७६।०५।२५ मा भएको आदेश ।
प्रस्तुत मुद्दामा सुरू मोरङ जिल्ला अदालतबाट मिति २०७५।०८।१९ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी जितेन्द्र साह र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने उच्च अदालत विराटनगरबाट मिति २०७६।०९।२९ मा भएको फैसला ।
प्रतिवादी जितेन्द्र यादवले अदालतसमक्ष आरोपित कसुरमा इन्कारी बयान गरे तापनि अधिकारप्राप्त अधिकारीसमक्ष साबिती बयान गरेको पाइन्छ, त्यस्तै कसुर ठहर भई सजाय पाएका प्रतिवादी जितेन्द्रकुमार शाह र कृष्णकुमार यादवको बयानको पोलबाट समेत मुतलबीको कसुर पुष्टि भएकोमा मतलबीबाट हुने सजायसमेत नगरी यी प्रतिवादीलाई सफाइ दिएको, प्रतिवादी कमलदेव दास अदालतसमक्षको बयानमा कसुरमा इन्कार रहेको भए पनि कसुर ठहर भई सजाय पाएका प्रतिवादी राकेशकुमार यादवले अनुसन्धानको क्रममा बयान गर्दा भ्यानवालाले यो लास बोक्ने गाडी होइन भनेपछि म र कृष्ण कमलदेव दासको कोठामा गई मृतकको मोबाइल राख्न दिई निजसँग बोरा मागी ल्याएको भनी लेखाएका, सोही बेहोरा उल्लेख गरी प्रतिवादी जितेन्द्रकुमार साह र कसुर ठहर भएका प्रतिवादी कृष्णकुमार यादवले बयान लेखाएबाट मृतकको मोबाइल राख्ने र मृतकको लास व्यवस्थापन गर्नका लागि यी प्रतिवादीले बोरा दिएको स्पष्ट देखिई प्रतिवादी कमलदेव दासले घटना थाहा पाई घटना लुकाई मतलबीको भूमिकामा निर्वाह गरेका छन् । यस्तो अवस्थामा एउटै वारदातमा संलग्न अन्य प्रतिवादीहरूलाई सजाय गरी यी प्रतिवादीहरू जितेन्द्र यादव र कमलदेव दासलाई सफाइ दिने गरी भएको फैसला सदर गरेको उच्च अदालत विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी यी प्रतिवादीहरूलाई समेत अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मिति २०७७।०६।०९ मा पेस भएको पुनरावेदन ।
यसमा वादी नेपाल सरकारको तर्फबाट प्रतिवादीहरू कमलदेव यादव र जितेन्द्र यादवउपर पुनरावेदन परेको र कैदमा रहेका प्रतिवादीहरू राकेशकुमार यादव, कृष्णकुमार यादव र जितेन्द्रकुमार साहको हकमा साधक जाँचको लागि मुद्दा पेस भएको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) र (४) को प्रयोजनार्थ छलफलको लागि प्रत्यर्थी कमलदेव यादव र जितेन्द्र यादवलाई झिकाई एवं साधकको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४९(२) को प्रयोजनार्थ नेपाल सरकार तथा कैदमा रहेका प्रतिवादीहरू राकेशकुमार यादव, कृष्णकुमार यादव र जितेन्द्रकुमार साहलाई मुद्दा पेसीको जानकारी दिई नियमानुसार पेस गर्नुहोला भनी यस अदालतबाट मिति २०७८।१०।१६ मा भएको आदेश ।
म पुनरावेदक प्रतिवादी जितेन्द्रकुमार साहलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं ।बमोजिम जन्मकैद हुने ठहर्याई भएको फैसला मिलेको छैन । मलाई गाडीमा लास राख्ने मानिस हुन् भनी गाडी चालक भनिएका प्रमोद भन्ने लाले सहनीले मुलुकी ऐन अदालती बन्दोबस्तको १७३ नं । को प्रक्रिया अपनाई सनाखत गरिएको छैन । सनाखत गर्ने प्रमोद भन्ने लाले सहनीले सुरू अदालतमा उपस्थित भई बकपत्रसमेत गरेको अवस्था छैन । मिति २०७३।०५।२१ मा भएको घटनास्थल तथा बरामदी मुचुल्कामा उल्लिखित सेन्डो भेस्ट म निवेदकले लगाएको अवस्थामा बरामद भएको होइन । प्रतिवादीहरू विनोदकुमार यादव, राकेशकुमार यादव र कृष्णकुमार यादवले अनुसन्धानको क्रममा बयान गर्दा म निवेदकले मृतकको खुट्टा समातेको भनी पोल गरेका छन् । सहप्रतिवादीहरूले सुरू अदातलमा बयान गर्दा म निवेदकलाई पोल गरेको अवस्था छैन । सहप्रतिवादीको पोल अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएमा मात्र प्रमाणमा लिन मिल्ने हो । सहप्रतिवादीले म पुनरावेदकले मृतकको खुट्टा समातेको भनी अनुसन्धान अधकारीसमक्ष गरेको बयान कुरा कुनै स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन । अनुसन्धानमा भएको साबिती कागज अन्य शंकारहित ठोस प्रमाणबाट समर्थन हुन नआएको अवस्थामा मलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं । बमोजिम जन्मकैद हुने ठहर गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भनी प्रतिवादी जितेन्द्रकुमार शाहले यस अदालतमा मिति २०८०।०३।१८ मा पेस गरेको न्याय प्रशासन ऐन, २०७३ को दफा १०(४) बमोजिमको पुनरावेदन सरहको निवेदन ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल संलग्न प्रमाण कागजातहरू अध्ययन गरियो ।
वादी नेपाल सरकारको तर्फबाट विद्वान् सहन्यायाधिवक्ता श्री अच्युतमणी न्यौपानेले प्रतिवादीहरू कमलदेव दास र जितेन्द्र यादवले अन्य प्रतिवादीहरूलाई भगाउन र मृतकको लास दबाउन सहयोग गरेकोमा मौकामा साबित छन । प्रतिवादीहरूको साबिती सहअभियुक्तको पोलबाट समर्थित छ । मौकाको बयान अन्यथा प्रमाणित हुन सकेको छैन । यस स्थितिमा प्रतिवादीहरू कमलदेव दास र जितेन्द्र यादवलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसला मिलेको नहुँदा बदर गरी अभियोग दाबीबमोजिमको सजाय गरिपाउँ भन्ने बहस गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादी जितेन्द्रकुमार शाहका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री थीरबहादुर कार्कीले मेरो पक्षले अनुसन्धान अधिकारीसमक्ष आरोपित कसुर स्वीकार गरी बयान गरे तापनि अदालतमा इन्कारी बयान गरेका छन् । मृतकको हातखुट्टा समाएको भन्ने सहअभियुक्तको पोल रहे तापनि सो तथ्य पुष्टि हुन सकेको छैन । प्रतिवादीहरूले धम्क्याएको कारण वारदात स्थलमा भएको रगतसम्म पुछेको हो भनी उल्लेख गरेको छ । यी प्रतिवादीउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं ।बमोजिम सजायको मागदाबी भएकोमा अभियोग दाबीभन्दा भिन्न ऐ ।१३(४) नं ।बमोजिम सजाय गरेको नमिलेको हुँदा उक्त फैसला बदर गरी थुनामुक्त गरिपाउँ भन्ने बहस गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादी जितेन्द्रकुमार यादवको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री सतिशकृष्ण खरेलले यी प्रतिवादी मौका र अदालतको बयानमा कसुरमा इन्कारी छन् । जाहेरी दरखास्तमा समेत यी प्रतिवादीको नाम उल्लेख छैन । अन्य प्रतिवादीहरूले मौकामा अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा यी प्रतिवादीलाई पोलेको अवस्था छैन । कल डिटेल्सबाट प्रतिवादीको कसुरमा संलग्नता स्थापित हुन नसक्ने भएकाले जिल्ला अदालत तथा उच्च अदालतबाट सफाइ दिएको फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
प्रतिवादी कमलदेवका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री सरला मोक्तान र श्री तुलबहादुर श्रेष्ठले यी प्रतिवादीको नाम जाहेरी दरखास्तमा उल्लेख छैन । प्रतिवादी मौकामा र अदालतको बयानमा समेत कसुरमा इन्कारी छन् । सहप्रतिवादीको मौकाको पोल अन्य प्रमाणबाट समर्थित नभएको र अदालतमा उपस्थित भई बयान गर्दा, पोल गर्ने प्रतिवादी नै इन्कारी भएको अवस्थामा त्यस्तो पोलको आधारमा प्रतिवादीलाई गढाउ गर्न मिल्दैन । घटनाको बारेमा जानकारी नै नपाएको अवस्थामा घटना लुकाई मतलबीको भूमिका निर्वाह गरेको कसुर स्थापित हुन नसक्ने भएकाले जिल्ला अदालत तथा उच्च अदालतबाट सफाइ दिएको फैसला सदर गरिपाउँ भन्ने बहस गर्नुभयो ।
यसमा, प्रतिवादी राकेशकुमार यादव र कृष्णकुमार यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं । र १३(१) नं ।बमोजिमको कसुरमा ऐ । महलको १३(१) नं ।बमोजिम सजाय हुन, प्रतिवादी सरोज यादव र जितेन्द्रकुमार साहलाई ऐ । महलको १ नं । र १३(४) नं ।बमोजिमको कसुरमा ऐ । १३(४) नं ।बमोजिम सजाय हुन र प्रतिवादी कमलदेव दास र जितेन्द्र यादवलाई ऐ । ऐन ऐ । महलको १७(३) नं ।बमोजिमको कसुरमा ऐ ।१७(३) नं ।बमोजिम सजाय हुन मागदाबी लिई अभियोग दायर भएको प्रस्तुत मुद्दामा सुरू जिल्ला अदालतले फरार प्रतिवादी सरोज यादवको हकमा मुलतबी राखी प्रतिवादी राकेशकुमार यादव र कृष्णकुमार यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं । र प्रतिवादी जितेन्द्रकुमार साहलाई ऐ । १३(३) नं ।बमोजिम जन्मकैद हुने, प्रतिवादी कृष्णकुमार यादवलाई बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६(३) समेतको परिप्रेक्ष्यमा जन्मकैदको आधा सजाय हुने र प्रतिवादीहरू जितेन्द्र यादव र कमलदेव दासले आरोपित कसुरबाट सफाइ पाउने ठहरी फैसला भएकोमा सोउपर वादी नेपाल सरकारको प्रतिवादी जितेन्द्रकुमार साह, कमलदेब दास र जितेन्द्र यादव तथा प्रतिवादी जितेन्द्रकुमार साहको पुनरावेदन परेकोमा उच्च अदालत विराटनगरबाट सुरू फैसला सदर हुने गरी फैसला भएको देखिन्छ । सो फैसलामा चित्त नबुझाई प्रतिवादीद्वय कमलदेव दास र जितेन्द्रकुमार यादवउपर अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने भनी वादी नेपाल सरकारको र अभियोग दाबीबाट सफाइ पाउनुपर्ने भनी प्रतिवादी जितेन्द्रकुमार साहले पुनरावेदन सरहको छुट्टै निवेदन पेस गरेको देखिन्छ । साथै प्रस्तुत मुद्दा साधक जाँचको लागि समेत पेस भई आएको देखिएको हुँदा यस अदालतमा पुनरावेदन नगर्ने प्रतिवादीहरू राकेशकुमार यादव, कृष्णकुमार यादव र जितेन्द्रकुमार साहको हकमा साधकको रोहबाट विचार गर्नुपर्ने हुन आयो ।
उपर्युक्तानुसारको तथ्य तथा बहस जिकिर भएको प्रस्तुत मुद्दामा उच्च अदालत विराटनगरको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो, होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२ । अब निर्णयतर्फ विचार गर्दा, मेरो छोरा विनोद यादवलाई प्रतिवादीहरू राकेशकुमार यादव, जितेन्द्रकुमार साह, कृष्णकुमार यादव र सरोज यादवसमेतका व्यक्तिहरूले टाउको तथा दुवै खुट्टाको घुँडाभन्दा मुनिको भाग काटी छिनाई चार टुक्रा बनाई बीभत्स तरिकाले कर्तव्य गरी मारी लाससमेत पोको पारी बेपत्ता पार्ने क्रममा घटनास्थलमा प्रहरी टोली खटी जाँदा निजहरू भागी फरार भएका हुँदा निजहरूको खोजतलास गरी पक्राउ गरी कानूनबमोजिम आवश्यक कारबाही गरिपाउँ भनी परेको मृतकका बुबा जगदिशप्रसाद यादवको जाहेरीबाट प्रस्तुत मुद्दाको अनुसन्धान कारबाहीको उठान भएको देखिन्छ ।
३ । प्रतिवादीहरू राकेशकुमार यादव र कृष्णकुमार यादवलाई सुरू जिल्ला अदालतले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं ।बमोजिम र प्रतिवादी जितेन्द्रकुमार यादवलाई ऐ ।१३(३) नं ।बमोजिमको कसुरमा जन्मकैदको सजाय गरेउपर निजहरूको पुनरावेदन परेको नदेखिएको हुँदा साधकको रोहमा विचार हुनुपर्ने देखिन आयो । प्रतिवादी कमलदेव दास र जितेन्द्र यादवलाई सफाइ दिएउपर वादी नेपाल सरकारको पुनरावेदन परेको देखिन आयो । उक्त पुनरावेदनमा प्रतिवादी कमलदेव दासले मृतकको मोबाइल लुकाई र जितेन्द्र यादवले कसुरदारलाई भगाई मतलबीको कसुर गरेको अवस्थामा अभियोग दाबीबमोजिम कसुर ठहर गरी सजाय हुनुपर्नेमा सफाइ दिएको सुरूको फैसला सदर गर्ने गरी उच्च अदालत विराटनगरबाट भएको फैसला मिलेको नहुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने भनी जिकिर लिएको देखियो ।
४ । मिसिल संलग्न रहेको लास जाँच प्रकृति मुचुल्काबाट मृतक विनोद यादवको घाँटी काटी छिनाई टाउको र घुँडामुनिको भाग छुट्याइएको, घुँडाभन्दा माथिको भाग र घाँटीभन्दा मुनिको भाग बेडिङमा बाँधेको अवस्थामा फेला परेको, घाँटी छिनाएको, छातीको दायाँ भागमा काटिएको खुट्टाको घुँडा काटी छिनाएको लगायतको लासको बीभत्स अवस्था तथा मिति २०७३।०५।२७ को शव परीक्षण प्रतिवेदनमा धारिलो हतियारले टाउको काटी छुट्याएका कौसे ओफ डेआठ इस् दुए तो शोक्क अस् अ रेसुल्त ओफ देकपितसन (बेहेडएद्) प्रोदुकेद ब्य शर्प वेअपोन भनी उल्लेख भएको बेहोरासमेतका आधार प्रमाणबाट मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने तथ्यमा विवाद देखिएन ।
५ । अब उक्त वारदातमा को कसको संलग्नता रहेछ भन्ने सम्बन्धमा मिसिल संलग्न प्रमाण कागजातबाट हेर्दा प्रतिवादी राकेशकुमार यादवले मौकामा र सुरू अदालतमा बयान गर्दासमेत विनोद यादवसँग होस्टलको पैसा लिने विषयसमेतमा रिस उठेकाले खुकरीले घाँटी काटी दुई टुक्रा बनाएको हुँ । लास बोरामा हाल्न कृष्णकुमार यादवले सहयोग गरेको हुन भनी आरोपित कसुरमा साबित रहेको देखिन्छ । प्रतिवादी कृष्णकुमार यादवले सुरू अदालतमा बयान गर्दा आफू वारदातको दिन होस्टेलमा नै बसेको बारदातस्थलमा नै गएको थिइन भनी आरोपित कसुरमा संलग्न नरहेको भनी इन्कार रहेको र अर्का प्रतिवादी जितेन्द्रकुमार साहले सुरू अदालतमा बयान गर्दा वारदात मिति र समयमा मृतक विनोद यादव तथा प्रतिवादीहरू राकेशकुमार यादव तथा कृष्णकुमार यादवसमेत सँगै बियर खाँदै थिए । राकेशले मलाई पनि बियर खाउभन्दा म नखाई सँगै भएको भाइको कोठामा नै पढ्न थालेपछि सरोज यादवले बोलाई यो रगत सफा गर कुनै हल्ला गरिस् भने मारिदिन्छु भनेकाले डराई रगत सफा गरी कसैलाई नभनी बसेको हुँ भनी वारदातको जानकारीसम्म पाएको तर कर्तव्य गर्ने कार्यमा संलग्न नरहेको भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको भए तापनि तीनै जना प्रतिवादीहरूले मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा पूर्वयोजनाबमोजिम नै वारदात मिति र समयमा विनोद यादवलाई होस्टेलबाट कोठामा लगी धेरै रक्सी खुवाई नशा लागेपछि निजलाई उत्तानो पारी कोठामा भएको हतियार कट्टी झिकी पहिले राकेशकुमार यादवले हान्दा चिउडोमा लागेको पछि प्रतिवादी जितेन्द्र साहसमेतले खुट्टा थिची कृष्णकुमार यादवले हान्दा घाँटी छिनी विनोद शाहको मृत्यु भएको, सरोज र जितेन्द्र साहसमेतले रगत सफा गरेको तथा टाउको प्लास्टिकको झोलामा र गिंड डसनामा बेडिङ जस्तो बनाई फाल्न लाग्दा नअटेकाले घुँडामुनिको भागसमेत काटी टाउको खुट्टा बोरामा र शरीर बेडिङमा गुण्टा जस्तो बनाई फाल्न लाग्दा प्रहरीको भ्यान आएको देखी भाग्न लाग्दा प्रहरीले पक्राउ गरेको हो भनी वारदातको सिलसिलेवार विवरणसमेत लेखाई एक अर्कालाई पोल गरी कसुरमा साबित रही बयान गरेको देखिन्छ ।
६ । प्रतिवादी राकेशकुमार यादवले अदालतमा बयान गर्दा आफूले मात्र वारदात घटाएको प्रतिवादी कृष्णकुमार यादवले लास राख्न मात्र सहयोग गरेको भनी मौकाको अनुसन्धानको भन्दा फरक बेहोराको बयान गरेको भए तापनि घटनापश्चात् प्रतिवादी राकेश यादवले भ्यानवालालाई फोन गरी बोलाई भ्यान आएपछि भ्यानमा लास लोड गर्ने क्रममा निजले रगत जस्तो छरेको भनी भन्दा लास हो भनेपछि निज फर्की गएको भन्ने प्रतिवादीहरूको बयानबाट देखिएकोमा सो भ्यानका चालक विनोद भन्ने लाले सहनीले गाडीमा लास राख्ने मानिसहरू यिनै प्रतिवादीहरू राकेशकुमार यादव, कृष्णकुमार यादव र जितेन्द्रकुमार साह भएको भनी सनाखत गरिदिएको देखिन आउँछ । यसबाट आफू वारदात स्थलमा उपस्थित नभएको भन्ने कृष्णकुमार यादवको बयान खण्डित हुन्छ । राकेशकुमार यादव अदालतमा समेत कसुरमा साबित रहेको र प्रतिवादी जितेन्द्रकुमार साहले समेत आफ्नो संलग्नतालाई स्वीकार गरेको तथा निजहरूको साबिती बयान वारदात स्थलबाट रगत लागेको कट्टी हतियार तथा सेन्डो भेस्ट बरामद भएको, मानव रगत भन्ने विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन र लास जाँच मुचुल्का तथा शव परीक्षण प्रतिवेदन, जाहेरवालाको किटानी जाहेरी बेहोरा समर्थित हुने गरी गरेको बकपत्र तथा मौकाको घटनास्थल मुचुल्का, घटना विवरण कागज तथा वस्तुस्थिति मुचुल्कामा रहेका व्यक्तिहरूले अदालतमा आई मौकाको कागज बेहोरा समर्थित हुने गरी गरेको बकपत्रसमेतबाट यी तीनजना प्रतिवादीहरूले विनोद यादवलाई कट्टी प्रहार गरी बीभत्स तरिकाले कर्तव्य गरी मारेको शङ्कारहित तवरले पुष्टि हुन आयो ।
७ । अब सफाइ पाएका प्रतिवादीहरू कमलदेव दास र जितेन्द्र यादवको हकमा विचार गर्दा, प्रतिवादी जितेन्द्र यादवले मौकामा बयान गर्दा प्रतिवादीहरू राकेशकुमार यादव, कृष्णकुमार यादव, सरोज यादव र जितेन्द्रकुमार साह भएर विनोद यादवलाई कर्तव्य गरी मारेको थाहा भएको र प्रतिवादीमध्येका जितेन्द्रकुमार साहले मलाई विराटनगर दरैयासम्म पुर्याइदेउ भनी कर गरेको र राकेशकुमार यादवले समेत फोन गरेको हुँदा अर्का प्रतिवादी कमलदेव दासको कोठामा गई मोबाइल लिएर निज जितेन्द्रकुमार साहलाई सिटी रिक्सामा दरैयासम्म पुर्याइदिएको हुँ नी बयानमा उल्लेख गरेको देखिन्छ । तर सुरू अदालतमा बयान गर्दा उक्त दिन आफू दिनभर आफ्नै कोठामा बसेको बिहान ८ ।०० बजेतिर प्रतिवादी जितेन्द्रकुमार साह आफ्नो कोठामा आएको र एकछिन गफ गरेर गएको हो, घटना सम्बन्धमा उसले मलाई केही बताएको थिएन र मैले निजलाई कतै पुर्याइदिएको समेत होइन भनी कसुरमा इन्कार रहेको देखिन्छ । निजको मौकाको बयानमा समेत वारदातमा आफ्नो संलग्नतातर्फ पूर्ण रूपमा इन्कार रहेको देखियो । अब मिसिल प्रमाणबाट निजले वारदातको बारेमा थाहा पाई प्रतिवादीलाई भगाएको अवस्था हो वा होइन भन्ने सम्बन्धमा हेर्दा, अन्य प्रतिवादीहरू जितेन्द्रकुमार साह, राकेशकुमार यादव र कृष्णकुमार यादवले सुरू अदालतमा गरेको बयानबाट वारदातको सम्बन्धमा यी प्रतिवादी जितेन्द्र यादवलाई जानकारी गराएको भन्ने देखिँदैन । यी प्रतिवादीलाई घटनाको बारेमा जितेन्द्रकुमार साहले बताएको भनेकोमा निज जितेन्द्रकुमार साहको अदालतसमक्षको बयानबाट समेत निजले यी प्रतिवादी जितेन्द्र यादवलाई घटनाबारेमा बताएको वा निजलाई थाहा भएको भन्ने उल्लेख गरेको देखिँदैन । प्रतिवादीका साक्षी सुमन महतोसमेतको बकपत्रबाट निजले प्रतिवादीहरूलाई भाग्न उम्कन सहयोग गर्ने कार्य गरेको भन्ने पुष्टि हुँदैन । यी प्रतिवादीउपर मुख्यतः प्रतिवादी जितेन्द्रकुमार साहलाई सिटी रिक्सा खोजी गर्न पठाएको भन्ने आरोप रहेकोमा यी प्रतिवादीको निज जितेन्द्र साहसँग चिनजान भएको भन्नेसमेत नेदेखिएको र उक्त तथ्य मिसिल संलग्न अन्य प्रमाणबाट समेत समर्थित भएको नदेखिँदा निजउपरको अभियोग दाबी पुष्टि हुन सक्ने देखिएन ।
८ । त्यसैगरी प्रतिवादी कमलदेव दासले अधिकारप्राप्त अधिकारीसमक्ष मौकामा गरेको कागज र सुरू अदालतमा गरेको बयानमा समेत मिति २०७३।०५।२१ को बिहान चिनजानका साथी प्रतिवादी कृष्णकुमार यादव मेरो होस्टेलको कोठामा आई मोबाइल दिएर गएपछि प्रतिवादी राकेशकुमार यादवले विनोद यादवलाई काटी मारेको भन्ने हल्ला सुनेर थाहा पाएको हुँ, उक्त घटनामा मेरो कुनै संलग्नता छैन, विनोद यादवको हत्या बारेमा केही कुरा थाहा नभएको र मेरो संलग्नतासमेत नरहेको भनी कसुरमा इन्कार रहेका छन् । त्यसैगरी मृतक विनोद यादवको मोबाइल यी प्रतिवादी कमलदेव दासको कोठामा पुर्याउने भनिएका प्रतिवादी कृष्णकुमार यादवको अधिकारप्राप्त अधिकारी एवं सुरू अदालतसमक्षको बयानबाट समेत यी प्रतिवादी कमलदेव दासलाई विनोद यादवको हत्या बारेमा बताएको भन्ने खुलेको देखिँदैन । प्रतिवादी कृष्णकुमार यादव कोठामा आई प्रतिवादी कमलदेव दासलाई एउटा मोबाइल राखिदेउ, पछि लिन आउँछु भनी दिएर गए भनी प्रतिवादी कमलदेव दासका साक्षी अभिषेक साहले बकपत्र गरेको देखिन्छ । उक्त बकपत्रबाट समेत वादीको जिकिरअनुसार प्रतिवादी कमलदेव दासले प्रतिवादी कृष्णकुमार यादवलाई लास राख्ने बोरा प्रदान गरेको र निजलाई विनोद यादवको हत्याबारे थाहा भएको एवं वारदातमा संलग्न प्रतिवादीहरूलाई भाग्न उम्कन सहयोग गरेको अभियोग दाबी खण्डित भएको देखिन्छ । यी प्रतिवादीलाई वारदातका बारेमा कुनै थाहा जानकारी नै नभएकोमा वारदातपश्चात् प्रतिवादी कृष्णकुमार यादव यी प्रतिवादीको कोठामा गई मृतकको मोबाइल राख्न दिएकै आधारमा मात्र यी प्रतिवादीलाई वारदातको बारेमा जानकारी भएको र वारदातमा संलग्न प्रतिवादीहरूलाई भगाएको भनी मान्न मिल्ने देखिन आएन । फौजदारी मुद्दामा अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुन्छ । वादीले प्रतिवादीउपरको कसुर खम्बीर गराउन शंकारहित तरिकाले उक्त कसुर प्रमाणित गराउन सक्नुपर्छ तर प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूलाई विनोद यादवको हत्या सम्बन्धमा जानकारी भई प्रतिवादीहरूलाई भगाएको भन्ने अभियोग दाबी पुष्टि हुने प्रमाण वादी पक्षले पेस गर्न सकेको नदेखिँदा प्रतिवादीहरू जितेन्द्र यादव र कमलदेव दासउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं ।बमोजिमको अभियोग दाबी पुग्न नसकी निजहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर गरी भएको फैसला न्यायको रोहमा मिलेकै देखिन आयो ।
९ । जहाँसम्म पुनरावेदनसरहको निवेदन दायर गरेका प्रतिवादी जितेन्द्रकुमार साहका तर्फबाट उपस्थिति विद्वान् अधिवक्ताले निज प्रतिवादीलाई अभियोगपत्रमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं । बमोजिमको कसुरको अभियोगदाबी लिएकोमा सुरू तथा उच्च अदालतले ऐ । १३(३) नं । बमोजिम सजाय ठहर गरेको कानूननः मिल्दैन भनी लिएको जिकिर छ सो सम्बन्धमा विचार गर्दा, अभियोजनात्मक कानूनी प्रणाली (अद्वेर्सारीअल लेगल सिस्टम्) अवलम्बन गरेको र मूलतः कमन ल पद्धतिमा अदालत वा न्यायाधीशलाई निष्पक्ष र तटस्थ निर्णयक (उम्पिरे) को रूपमा लिइने हुँदा सामान्यतयाः अभियोजनकर्ताले दाबी गरेकोभन्दा अन्य कसुरमा सजाय गर्नु सैद्धान्तिक हिसाबले उक्त कानूनी प्रणालीअनुकूल मानिँदैन । खासगरी अभियोगपत्रमा दाबी लिएभन्दा फरक कसुर ठहर गर्दा वा फरक दफाबमोजिम सजाय गर्दा अदालत आफैँले वादीको स्थान लिन पुग्ने भएकाले त्यसतर्फ अदालत सजग रहुन उचित मानिन्छ । तथापि अभियोग दाबीबमोजिमको कसुरमा प्रमाणको परीक्षण हुँदै जाँदा सो कसुर स्थापित नभई सोही प्रमाणबाट अन्य कुनै दोस्रो कसुर स्थापित भएको देखिएमा केवल अभियोगपत्रमा सो कसुरको दाबी नलिएकै आधारमा प्रमाणबाट पुष्टि भएको तथ्यलाई नजर अन्दाज गर्नु न्यायको रोहमा उचित मान्न सकिँदैन । वस्तुतः कुनै पनि सिद्धान्त वा सैद्धान्तिक मान्यताले न्यायलाई अवरूद्ध गरिनु हुँदैन । किनकि सिद्धान्त न्यायका लागि हो, न कि न्याय सिद्धान्तका लागि । यदि मिसिल संलग्न सबुद प्रमाणबाट प्रतिवादीले प्रचलित कानूनले निषेध गरेको अन्य कसुर गरेको पुष्टि हुन्छ भने अभियोग दाबीको कसुर पुष्टि नभएका आधारमा प्रमाणले पुष्टि भएका कसुरसमेत ठहर गर्न इन्कारी गर्नु वा माग दाबीभन्दा भिन्न दफाबाट सजाय गर्न इन्कार गर्नु अन्ततः न्यायको इन्कारी गर्नुसरह हुन जान्छ । तथापि अभियोग दाबीभन्दा ठुलो वा गम्भीर कसुर ठहर गर्नु वा अर्को कानूनी व्यवस्था वा अर्को दफाबमोजिम सजाय गर्दा अभियोगपत्रमा दाबी लिएभन्दा बढी सजाय गर्नु भने फौजदारी न्यायको मान्यताअनुकूल मान्न सकिँदैन । तर समान गाम्भीर्य भएको कसुरमा एउटा दफाबमोजिमको अभियोगदाबी भएकोमा अर्को दफाबमोजिमको कसुर ठहर गर्न वा अभियोग दाबी बराबर वा सोभन्दा कम सजाय गर्न प्रचलित कानून तथा फौजदारी न्यायको मूल्य मान्यताका आधारमा समेत बाधा देखिएन । अभियोग दाबीभन्दा कम सजाय हुने कसुर पुष्टि भएमा तदनुरूप कसुर ठहर्याई सजाय गर्ने हाम्रो न्यायीक अभ्याससमेत रहि आएको छ । कतिपय अवस्थामा, खासगरी मिसिल प्रमाणबाट अर्को कसुर पुष्टि भइरहेको अवस्थामा केवल अभियोग दाबीबमोजिमकै दफा वा कसुर नमिलेको भनी अभियुक्तलाई पूर्ण सफाइ दिँदा प्रतिवादीले प्रमाण मूल्याङ्कनबाट सफाइ पाउनेभन्दा पनि अनुसन्धान वा अभियोजनको गल्तीको फाइदा लिने अवस्था भई फौजदारी न्याय प्रक्रिया बढी यान्त्रिक बन्न जाने र समग्रतामा न्याय पर्न नसक्नेतर्फ न्यायकर्ता सजग हुनुपर्ने आवश्कता देखियो ।
१० । अब प्रस्तुत मुद्दाका सन्दर्भमा प्रतिवादी जितेन्द्रकुमार साहउपर मागदाबीभन्दा चर्कोपर्ने गरी सजाय भएको अवस्था हो होइन भनी हेर्दा मिसिल प्रमाणबाट मृतकलाई कर्तव्य गरी मार्ने कार्यमा निजको संलग्नता पुष्टि भएको अवस्था छ । निजउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं ।बमोजिम मृतकलाई समाई ज्यान मार्नको निमित्त संयोग पारिदिएको कसुरमा जन्मकैदको अभियोग दाबी भएकोमा प्रमाणबाट निजले समेत चोट छाडेको पुष्टि हुन आई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं । बमोजिम जन्मकैदको सजाय ठहर भएको देखिँदा अभियोग दाबीभन्दा गम्भीर कसुर वा अभियोग दाबीभन्दा चर्को सजाय ठहर भएको भन्ने अवस्था देखिएन । निज प्रतिवादी वारदात मितिमा १८ वर्ष उमेर पूरा नभएकाले कम सजाय हुनुपर्ने भन्ने जिकिरका सम्बन्धमा निजले पेस गरेको जन्मदर्ताको प्रमाणपत्र नै वारदात मितिभन्दा पछि जारी भएको देखिँदा वारदात मितिभन्दा पछि जारी भएको प्रमाणपत्रमा उल्लिखित जन्म मितिका आधारमा निजको उमेर नपुगेको भनी कम सजाय गर्न मिल्ने देखिएन ।
११ । तसर्थ, माथि विवेचित आधार, प्रमाण तथा कानूनी व्यवस्थासमेतबाट प्रतिवादी राकेशकुमार यादव र कृष्णकुमार यादवलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(१) नं । बमोजिमको कसुरमा ऐ । १३(१) नं । बमोजिम र प्रतिवादी जितेन्द्रकुमार साहलाई ऐ । १३(३) नं । बमोजिम जन्मकैद हुने तथा प्रतिवादी कृष्णकुमार यादवलाई बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६(३) बमोजिम उमेर पुगेका व्यक्तिलाई हुने जन्मकैदको सजायको आधा सजाय हुने र प्रतिवादीहरू जितेन्द्र यादव र कमलदेव दासले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरेको सुरू मोरङ जिल्ला अदालतको मिति २०७५।०८।१९ को फैसला सदर गरेको उच्च अदालत विराटनगरको मिति २०७६।०९।२९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरू कमलदेव दास र जितेन्द्र यादवलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जानकारी थुनामा रहेका प्रतिवादीहरू र महान्यायाधिवक्ताको कार्यालयलाई दिई मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय मुद्दा व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या ।सपना प्रधान मल्ल
इजलास अधिकृत (उपसचिव) : सरिता रिजाल
इति संवत् २०८० साल पुस १२ गते रोज ५ शुभम् ।