निर्णय नं. ११३६४ - बकसपत्र लिखत बदर गरी अंश नामसारी
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री नहकुल सुवेदी
फैसला मिति : २०७९।१०।१९
०७८-NF-००१७
मुद्दा:- बकसपत्र लिखत बदर गरी अंश नामसारी
पुनरावेदक वादी : जिल्ला रूपन्देही, बुटवल नगरपालिका वडा नं ।१० हाल परिवर्तित बुटवल उपमहानगरपालिका वडा नं ।१० बस्ने भैरवबहादुर श्रेष्ठ (मल्ल) को छोरा प्रभातकुमार मल्लको श्रीमती नन्दा मल्लको वारेस भई आफ्नो हकमा समेत ऐ ।ऐ । बस्ने प्रभातकुमार मल्लको छोरा पवनकुमार मल्ल
विरूद्ध
विपक्षी प्रतिवादी : जिल्ला रूपन्देही, बुटवल नगरपालिका वडा नं ।१० हाल परिवर्तित बुटवल उपमहानगरपालिका वडा नं ।१० बस्ने भैरवबहादुर श्रेष्ठ मल्लको मु ।स । गरी आफ्नो हकमा समेत ऐ ।ऐ । को श्रीमती निर्मला श्रेष्ठ
२०४६ सालको बन्डापत्रबाट प्राप्त सम्पत्ति शेषपछिको बकसपत्र तथा दाखेल खारेजलगायतका प्रक्रियाबाट आफ्नो नाउँमा ल्याई उपभोग गर्ने तर बन्डापत्रलाई स्वीकार नगर्ने भन्न नमिल्ने । बन्डापत्रको परिणामलाई स्वीकार गरेपछि बन्डापत्रको बेहोरालाई पनि स्वीकार गरेको मान्नुपर्ने ।
(प्रकरण नं ।५)
अंश मुद्दामा मूलतः सबै अंशियारहरूले बन्डापत्रमा सगोलको पैतृक सम्पत्ति नरमगरम मिलाई समानुपातिक रूपमा पाए नपाएको तर्फ न्यायोचित दृष्टिकोणले हेर्नुपर्ने । वादीले पाएको सम्पत्ति र अन्य अंशियारहरूले पाएको सम्पत्तिको प्रकृति र परिणामसमेत सालाखाला नरमगरम मिलेको देखिएको स्थितिमा बन्डापत्रमा उल्लेख गरिएको बेहोरा नै खम्बिर हुने ।
(प्रकरण नं ।६)
पुनरावेदक वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हर्कबहादुर भट्टराई र श्री बाबुराम गिरी तथा विद्वान् अधिवक्ता श्री आशिकराम कार्की
विपक्षी प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गोकर्ण सिंह थापा
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः-
मा । जिल्ला न्यायाधीश श्री कमलराज विष्ट
रूपन्देही जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल
माननीय न्यायाधीश श्री नीलम पौडेल
पुनरावेदन अदालत बुटवल
यस अदालतमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री तेजबहादुर के ।सी ।
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला
न्या ।नहकुल सुवेदी : यस अदालतको मिति २०७६।०९।१५ गतेको फैसलाउपर वादीको तर्फबाट मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भनी परेको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) को (क) र (ख) बमोजिम पुनरावलोकनको अनुमति प्राप्त भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
तथ्य खण्ड
भैरवबहादुरका दुई श्रीमतीमध्ये जेठी स्व । कमला श्रेष्ठ (मल्ल) र कान्छी विपक्षी निर्मला श्रेष्ठ (मल्ल) हुनुहुन्छ । भैरवबहादुर र कमला मल्लको सहवासबाट जन्मेको छोरा म प्रभातकुमार मल्ल हुँ । विपक्षी कान्छी आमा निर्मला श्रेष्ठबाट कुनै जायजन्म भएको छैन । आमा कमला श्रेष्ठको परलोक भइसकेकोले हाल म फिरादीसमेत ३ जना अंशियार छौं । विपक्षीहरूले म फिरादीलाई खान लाउनमा पक्षपात गर्ने, सम्पत्ति हिनामिना गर्नुभएकाले मिति २०६७।७।२७ मा विपक्षी प्रतिवादीलाई मेरा छोराछोरीलाई इज्जत आमदअनुसार खान लाउन दिनुहोस् नदिए अंश दिनुहोस् भन्दा खान लगाउनसमेत दिँदैनौं जहाँ जे गर्ने हो गर भन्ने जवाफ दिएकोले के कसो गरी अंश दिन नपर्ने व्यवहार मिलाएका रहेछन् भनी मालपोत कार्यालय चाबहिल, काठमाडौंमा मिति २०६७।७।२८ र मालपोत कार्यालय, रूपन्देहीमा मिति २०६७।७।३० मा गई नक्कल प्राप्त गरी हेर्दा मसमेतको अंश हक निहित रहेको प्रतिवादी भैरवबहादुरका नाममा दर्ता रहेको जिल्ला रूपन्देही, बुटवल नगरपालिका वडा नं ।८(क) कि ।नं ।९४७ बिगाहा ०-०-८ जग्गा तथा त्यसमा घरसमेत रहेकोमा घरसमेत नदेखाई श्रीमती निर्मला श्रेष्ठ मल्लको माइतीले दिएको पेवा मासिदिएबापत दिएको भन्ने बेहोरा पारी मिति २०५०।८।२९ मा र जिल्ला काठमाडौं, धापासी गाउँ विकास समिति वडा नं ।७(क) कि ।नं । ४८२ रोपनी ०-३-०-० जग्गामा घर रहेकोमा सो घर नदेखाई मिति २०६७।२।२६ मा निर्मलालाई हालैको बकसपत्र गरिदिएकाले मसमेतको अंश हक निहित रहेको उपर्युक्त जग्गा मेरो मन्जुरीबेगर प्रतिवादीले लिनु दिनु गरेको बकसपत्र बदर गरी साक्षी प्रमाण बुझी मुलुकी ऐन, अंशबन्डाको महलको २०, २१, २२, २३ नं ।बमोजिम सम्पत्तिको तायदाती फाँटवारी दाखिल गराई विपक्षीहरूले लिनु दिनु गरेको दुवै बकसपत्र लिखत बदर गरी अंशबन्डाको महलको १९(५) अनुसार मिसाई ३ भागको १ भाग अंश दिलाई मैले दाखिल गरेको कोर्ट फी दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।
प्रतिवादीमध्ये म भैरवबहादुर मल्लले २ जना श्रीमती विवाह गरेकोमा जेठी कमलातर्फ वादी प्रभातकुमार र अरूण गरी दुई छोरा जन्मेका हुन् । कमलाले मसँग दोस्रो विवाह गरेकी र कमलाको पहिलो श्रीमान्बाट दुई छोरा नविन र दिलिप भई निजहरू मसँगै आएकोमा निजहरूसमेतलाई मैले पालताल गरी शिक्षादीक्षासमेत प्रदान गरेको अवस्थामा कमलाले मिति २०४६।८।२३ मा अंश लिई निज कमला श्रेष्ठ मल्लले मिति २०४८।८।१ मा आफ्नो अंश हकका बुटवल नगरपालिका वडा नं ।८ (क) कि ।नं ।२२७९, २२७७ र २२७८ गरी ३ कित्ता जग्गाहरू आफ्ना छोराहरू नविन, दिलिप एवं मतर्फको छोराहरू अरूणकुमार र विपक्षी प्रभातकुमारसमेत गरी चार छोराहरूलाई शेषपछिको बकसपत्र गरिदिएकोमा कमलाको मिति २०४८।१२।६ मा मृत्युपछि उक्त जग्गाहरू निजका ४ जना छोराहरूले संयुक्त नाममा नामसारी दाखिल खारेज गराएका हुन् । कान्छी श्रीमती निर्मलालाई २०४६ सालमा विवाह गरी निजले मेरो स्याहार सम्भार गरी आएको हुँदा हामी २ जना मात्र एकासगोलमा रही आएका छौँ । यसरी हामी अंशियारबिच मिति २०४६।८।२३ मा बन्डापत्र भएको छ । विपक्षीको फिराद दाबी झुठ्ठा हो । विपक्षीकी आमा कमलाले अंश पाएको बुटवल नगरपालिका वडा नं ।१० नक्सा नं ।८(क) कि ।नं ।२२७९, २२७७ र २२७८ को जग्गा बिगाहा ०-१-४ र सोमा बनेको घर वादी प्रभातकुमार मल्लसमेतले आमाबाट शेषपछिको बकसपत्र लिँदा उक्त बकसपत्रको लिखतमा सबै अंशियारा छुट्टी भिन्न भएको भन्ने बेहोरा उल्लेख छ । विपक्षीका आमा कमलालाई मैले बुटवलको मुटु मानिने हस्पिटल लाइनबाट सुख्खानगर जाने भित्री बाटोमा कित्ता नं ।२२७९, २२७७ र २२७८ जग्गा अंशबापत बकसपत्र दिएको थिएँ । साथै वादीको आमाले अंश पाएको कि ।नं ।१९०६ को घर जग्गासमेत निजले छोराहरूलाई बकस गरिदिएको सो घर जग्गा कमलाको मृत्युपछि यी वादीसमेतले नामसारी गराई युवराज पाठकलाई मिति २०५८।४।२२ मा राजीनामा पास गरिदिएका छन् । बुटवल नगरपालिका वडा नं ।१०(क) कि ।नं ।९४७ को जग्गा वादीले अंश बुझी लिएपछि गोविन्द न्यौपानेसँग मैले लिएको र सो जग्गामा घरको तला थप गर्दा निर्मला श्रेष्ठका माइती मावलीले दिएको दाइजो पेवासमेतको रूपैयाँ मासी दिएबापत उक्त जग्गा हालैको बकसपत्र पारित गरिदिएको हुँ । काठमाडौं धापासी वडा नं ।७(क) कि ।नं ।४८२ बिगाहा ०-३-०-० जग्गा र सोमा बनेको घरसमेतमा विपक्षी वादीको हक दाबी लाग्ने होइन । वादीले नगद रूपैयाँ र गाडीहरूसमेत अंश बुझी लिई आमाले अंश पाएको घर जग्गा बकसपत्र पारित गरी बिक्रीसमेत गरेका हुँदा अंश पाउँ भन्ने वादीले दाबी गर्न पाउने होइन भन्नेसमेत बेहोराको प्रत्तिउत्तरपत्र ।
वादी र प्रतिवादी एकासगोलका अंशियारा हुँदा शेषपछिको बकसपत्र बदर गरी वादीले अंश पाउनुपर्छ भन्ने वादीका साक्षी शंकरध्वज मल्लले रूपन्देही जिल्ला अदालतमा गरेको बकपत्र ।
वादी प्रतिवादी भैरवबहादुर श्रेष्ठ मल्लबाट २०४३ सालमा छुट्टी भिन्न भएर २ वटा गाडी र नगद रू ।७५,०००।- लिएको हो । भैरवनाथको एक्लै स्याहार सम्भार, औषधी खर्चसमेत निर्मला मल्लले गरेको हुँदा शेषपछिको बकसपत्र बदर हुने होइन भन्ने प्रतिवादीका साक्षी विद्याधर खनालले गरेको बकपत्र ।
प्रभातकुमार मल्लको मिति २०६८।८।१३ मा मृत्यु भएकाले निजको पत्नी तथा छोरा नन्दा र पवन मल्लले सकार गरिपाउँ भनी निवेदन गरी मुद्दा सकार भएको ।
वादी प्रभातकुमारले मिति २०४६।८।२३ को पारित बन्डापत्रअनुसार आफ्नो अंश भागको जग्गाबापत नगदै रकम बुझी लिई छुट्टी भिन्न भएको भनी प्रतिवाद गरे पनि उक्त बन्डापत्रको लिखत मूलत: भैरवबहादुर, कमला श्रेष्ठ मल्ल र अरूणकुमार मल्लले अंश बाँडफाँट गर्ने गरी भएको र उक्त लिखतको पेटबोलीमा भैरवबहादुर, कमला श्रेष्ठतर्फका २ छोराहरूमा प्रभातकुमार श्रेष्ठले आफूले पाउने बन्डाबापत नगद रकम लिई छुट्टी भिन्न भएको भन्ने बेहोरा उल्लेख गरे पनि उक्त लिखत हुँदा प्रभातकुमार सम्मिलित भएको नदेखिएको र निजको अनुपस्थिति अंशियारहरूले त्यस्तो बेहोरा लेखाउँदैमा वादीले अंश पाएको मान्ने अवस्था हुँदैन । वादीले आफ्नो बाबु भैरवबहादुरबाट अंश पाएको देखिने कानूनबमोजिमको प्रत्यक्ष लिखत रहेको नपाइएको, भैरवबहादुरबाट प्रत्यक्ष रूपमा वादीको नाममा कुनै सम्पत्ति पनि कुनै पनि माध्यमबाट आएको भन्ने कुराको लिखतसमेत रहेको नपाइएको, वादीले आफ्नो आमाले अंश पाएको सम्पत्ति शेषपछिको बकस पाएकोमा आमा कमलाको निधन भएपछि सो बकसपत्रको जग्गा निजसमेतले नामसारी गराई लिएको कुराले वादीले आफ्नो अंश हक प्राप्त गरेको भन्न नमिल्ने देखिएको, वादीले अंश पाएको बुझेको भनी प्रतिवादीबाट कुनै लिखत हुन नसकेको अवस्थामा वादीको अनुपस्थितिमा अन्य अंशियारले वादी प्रभातसमेतले अंश पाइसकेको भनी लिखत गरिदिँदैमा वादीले अंश पाइसकेको भन्न नमिल्ने अवस्थाबाट वादीले कानूनबमोजिमको अंश पाइसकेको भन्न मिल्ने नदेखिँदा निजले अंश पाउने अवस्था देखियो तसर्थ वादी प्रतिवादीबाट पेस भएको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट वादीले ४ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७१।३।१७ मा भएको फैसला ।
वादीको आमा कमलाले मिति २०४६।८।२३ मा पारित बन्डापत्रबाट अंश बुझी लिँदा वादीको उपस्थिति नभएको भए तापनि कमलाले अंश प्राप्त गर्दा अंशियार गणना गरी एकमुष्ट अंश गरेको र तिनै आमाले प्राप्त गरेको सम्पत्ति शेषपछिको बकसपत्र प्राप्त गरी सो सम्पत्तिसमेत बिक्री गरिसकेको र उक्त बन्डापत्रलाई बदरतर्फ कुनै कारबाही नगरी बाबु र सौतिनी आमाको सम्पत्ति प्राप्त गर्ने दूषित मनसाय लिई दायर गरिएको प्रस्तुत फिरादको कुनै मूल्याङ्कन नगरी भएको फैसलाले हामीलाई अन्याय पर्न गएको छ । यी वादीले अंशबापत नगद बुझी नलिएको भए बन्डापत्रमा नगद अंश लिएको भन्ने बेहोरा उल्लेख हुने थिएन । विपक्षीले अंशबापत नगद नबुझेको भए उक्त बन्डापत्रलाई बदर गर्नेतर्फ कारबाही चलाउनुपर्ने थियो । विपक्षीले एकातिर आमाले प्राप्त गरेको सम्पत्ति खाने अर्कोतर्फ बन्डापत्रमा मेरो उपस्थिति थिएन भनी झुठ्ठा बेहोरा उल्लेख गर्दैमा वादीलाई हामीले अंश दिनुपर्ने होइन । विपक्षीको घर अलग्गै भएको, विद्युत् खानेपानी विपक्षीकै नाममा जडान भएकोबाट समेत विपक्षी प्रतिवादी २०४६ सालदेखि नै हामीबाट अलग भएको पुष्टि हुँदा वादीले हामीबाट अंश पाउने ठहर्याई भएको सुरू फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहर गरी इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको पुनरावेदनपत्र ।
नविनकुमार मल्लसमेत वादी प्रतिवादीहरूका अंशियार नाता पर्ने हुँदा वादी प्रतिवादीहरू ४ अंशियार देखिएबाट वादीले ४ भागको १ भाग अंश पाउने देखियो । वादीले भैरवबहादुरबाट निर्मलादेवीले प्राप्त गरेको बकसपत्र लिखत बदरतर्फसमेत मागदाबी लिएकोमा निज निर्मलादेवीसमेत यी वादीका अंशियार नाताको व्यक्ति भएको र वादीले निज निर्मलादेवीका नाममा रहेको सम्पत्तिबाट समेत अंश पाउने हुँदा सगोलको अंशियारले सगोलको अंशियारलाई गरिदिएको बकसपत्र बदर गरिरहनुपर्ने देखिएन । अतः ऋणको हकमा साहुको उजुरी परेका बखत कानूनबमोजिम हुने गरी तायदाती फाँटावारीमा उल्लिखित सम्पत्तिबाट वादीले ४ भागको १ भाग अंश लिन पाउने ठहर्याई सुरू रूपन्देही जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर गरी पुनरावेदन अदालत बुटवलबाट मिति २०७२।४।१९ मा भएको फैसला ।
भैरवबहादुरले जेठी श्रीमती र निजतर्फका छोराहरूसमेतलाई २०४६ सालमै अंश भाग दिई म निर्मला श्रेष्ठलाई विवाह गरी मिति २०४६।०८।२३ मा पारित बन्डापत्र लिखतलाई स्वयं वादीले स्वीकार गरी कमला मल्लले मिति २०४८।२।३१ मा यी वादीसमेतलाई शेषपछिको बकसपत्र लिखत पारित गरिदिएको लिखतमा “मेरो पति, म एवं सबै छोराहरू छुट्टि भिन्न भएको” भन्ने बेहोरा उल्लेख रहेको छ । मिति २०४८।१२।६ मा कमला मल्लको मृत्युपछि निजका छोराहरू नविनकुमार, दिलिप, प्रभातकुमार, अरूणले मिति २०४८।१२।२३ मा नामसारी निर्णय गराएका थिए । वादी प्रभातकुमार मल्ल, दिलिपकुमार मल्ल, अरूणकुमार मल्ल प्रतिवादी नविनकुमार मल्लको हकमा विमला मल्ल भएको दे ।नं ।१७७९ को अंश नामसारी मुद्दामा “बाबु भैरवबहादुर मल्ल आफ्नो अंश लिई अलग भइसक्नुभएको छ, बाँकी हामी चार भाइ सगोलमा बसी आएका छौं, अंश पाउँ” भनी दाबी गरेको मुद्दामा अंश लिने दिने गरी मिति २०५६।१।२२ मा रूपन्देही जिल्ला अदालतबाटै मिलापत्र गरी आएका छन् र सो मिलापत्रबमोजिम मिति २०५६।२।९ मा नामसारी दाखिल खारेजसमेत गराई सो सम्पत्ति बिक्रीसमेत गरिदिएको छ । सो तथ्य लुकाई अदालतलाई झुक्याई दोहोरो अंश लिने खाने उद्देश्य राखेको हो । एकपटक छुट्टी भिन्न भई आफ्नो अंश हकको सम्पत्ति कानूनले आफूखुसी गर्न पाउने बकसपत्र गरिदिएको लिखतको सम्पत्तिबाट अंश भाग लगाउने गरी भएको सुरू तथा पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण रहेकोमा सो फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत बेहोराको मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदक प्रतिवादी निर्मला श्रेष्ठ (मल्ल) को यस अदालतमा दायर हुन आएको निवेदनपत्र ।
यसमा प्रभातकुमार मल्ल, अरूणकुमार मल्ल प्रतिवादी नविनकुमार मल्लसमेत भएको अंश मुद्दामा मिति २०५६।१।२२ मा मिलापत्र हुँदा बाबु भैरवबहादुर मल्लले आफ्नो अंश लिई भिन्न भई बसेको भनी प्रस्तुत मुद्दामा प्रत्यर्थी वादीले स्वीकार गरेको देखिएको अवस्थामा पुनः अंश दिलाउने गरी भएको पुनरावेदन अदालत बुटवलको मिति २०७२।४।१९ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३४ को व्याख्यात्मक त्रुटि एवं ने ।का ।प ।२०६२, श्रावण, निर्णय नं ।७५२९, पृष्ठ ४७९ मा प्रतिपादित सिद्धान्तको प्रतिकूल रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी दिइएको छ । विपक्षी झिकाई नियमानुसार गर्नु भन्नेसमेत बेहोराको मिति २०७६।१।१२ मा यस अदालतबाट भएको आदेश ।
स्वर्गीय भैरवबहादुर मल्ल, निजको जेठी श्रीमती स्वर्गीय कमला मल्ल कान्छी श्रीमती निर्मला मल्ल, प्रभात मल्ल र अरूणकुमार मल्लबिच मिति २०४६।८।२३ मा र ।नं ।२३९९ बाट भएको बन्डापत्रमा वादी प्रभातकुमारले नगद लिई र अरू अंशियारहरू कमला, अरूण तथा प्रतिवादी भैरवबहादुरले अचल सम्पत्ति लिई बन्डा छुट्टाएको देखिन्छ । सो बेहोरालाई थप पुष्टि हुने गरी मिति २०४८।२।३१ मा कमला मल्लले आफ्ना छोराहरू नविनकुमार, दिलिप, प्रभातकुमार र अरूणलाई शेषपछिको बकसपत्र लिखतमा “मेरो पति, म एवं सबै छोराहरू छुट्टी भिन्न भएको” भन्ने बेहोरा उल्लेख रहेको देखिन्छ । कमला मल्लको मृत्यु मिति २०४८।१२।६ मा भएपछि निजका छोराहरूले मिति २०४८।१२।२३ मा नामसारी गरिपाउँ भनी दिएको निवेदनको कैफियतमा आमा कमला मल्लले मिति २०४८।२।३१ मा यसै कार्यालयको र ।नं ।९५४७ हामी छोराहरूलाई शेषपछिको बकसपत्र पास गरी दिएकोले पारित शेषपछिको बकसपत्रअनुरूप दाखिल खारेज नामसारी गरिपाउँ भनी निवेदन दिएकोमा मालपोत कार्यालय, रूपन्देहीबाट मिति २०४८।१२।२३ मा नविनकुमार, दिलिपकुमार, प्रभातकुमार र अरूणकुमारका नाउँमा संयुक्त नामसारी भएको देखिन्छ । मिति २०४६।०८।२३ को बन्डापत्रमा यी वादीको मन्जुरी नभएको भए तत्काल बदर गर्नेतर्फ कारबाही चलाउनुपर्नेमा सो बन्डापत्रलाई स्वीकार गरी बसेको देखिन्छ । साथै वादी प्रभातकुमार मल्ल, दिलिपकुमार मल्ल, अरूणकुमार मल्ल प्रतिवादी नविनकुमार मल्लको हकमा बिमला मल्ल भएको २०५५ सालको दे ।नं ।१७७९ को अर्को अंश नामसारी मुद्दामा “बाबु भैरवबहादुर मल्ल आफ्नो अंश लिई अलग भइसक्नुभएको छ बाँकी हामी चार भाइ सगोल बसी आएका छौं अंश पाउँ” भनी दाबी गरेको मुद्दामा अंश लिने दिने गरी मिति २०५६।१।२२ मा रूपन्देही जिल्ला अदालतबाटै मिलापत्र गरी आएको देखिन्छ । वादी प्रतिवादीका बिच २०४६ सालदेखि मानो चुलो अलग गरी बसेको कुरामा मिति २०४६।०८।२३ को बन्डापत्रबाट देखिएको हुँदा प्रतिवादी भैरवबहादुर र यी वादीहरू विधिवत् कानूनी रूपमा नै छुट्टी भिन्न भइसकेपछि प्रतिवादी भैरवबहादुरले कानूनबमोजिम आफूखुसी गर्न पाउने आफ्नो अंश हक लाग्ने सम्पत्ति प्रतिवादी निर्मला श्रेष्ठलाई बकसपत्र गरिदिएको लिखतको सम्पत्तिबाट अंश भाग लगाउने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको नदेखिँदा उल्टी भई बकसपत्र बदर गरी अंश पाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको यस अदालतको संयुक्त इजलासको मिति २०७६।०९।१५ गतेको फैसला ।
हामी ४ अंशियारहरूमध्ये भैरवबहादुर, कमला मल्ल र अरूणकुमार मल्लसमेत ३ जना अंशियारहरूबिच मात्र मिति २०४६।०८।२३ मा अंशबन्डा भएको हो । उक्त बन्डापत्रमा हामीहरूको पति पिता निज प्रभातकुमार मल्लले अंशियारका रूपमा वा साक्षीको रूपमा समेत सहभागी भई हस्ताक्षर नगरेको अवस्थामा उक्त बन्डापत्रमा निज प्रभातकुमार मल्लले “आफ्नो भागमा पाउने बन्डाबापत नगदै बुझी छुट्टिई भिन्न भई बसेको भन्ने बेहोरा निरर्थक रहेको प्रस्ट छ । प्रस्तुत मुद्दाको प्रतिउत्तर पत्रमा यो यति रकम निज प्रतिवादी प्रभातकुमार मल्लले लिए पाएको भन्ने यकिनसाथ प्रमाण पेस गर्न नसकेको अवस्थामा अंश जस्तो नैसर्गिक कानूनी हकबाट वञ्चित गर्नु उचित हुँदैन ।
हामी निवेदकहरूको सासू तथा हजुरआमा निज कमला मल्लले उक्त मिति २०४६।०८।२३ को बन्डापत्रबाट प्राप्त अचल सम्पत्ति निजका छोराहरू नविन कुमार, दिलीप कुमार र अरूणलाई मिति २०४८।०२।३१ मा दिएको शेषपछिको बकसपत्र को लिखतमा “मेरो पति, म एवम् सबै छोराहरू छुट्टी भिन्न भएको” भन्ने बेहोरा तथा उक्त शेषपछिको बकसपत्रको आधारमा भएको नामसारीको विषयलाई समेत हामी निवेदकहरूको विरूद्ध प्रमाणमा लगाएको पाइन्छ । वस्तुतः निज सासू तथा हजुरआमा कमला मल्लले हामीहरूको पति तथा पिताबाहेकका अंशियारहरूबिच भएको उक्त बन्डापत्रको आधारमा प्राप्त गरेको आफ्नो अंश भागको जग्गा आफूखुस गर्न पाउनेमा निज प्रभातकुमारसमेतले लिए पाएको कार्यबाट अंश नै लिइसकेको भनी स्थापित गर्न मिल्दैन । त्यसैगरी फैसलामा २०५५ सालको दे ।नं । १७७९ को अंश नामसारी मुद्दामा उक्त मुद्दाका वादीहरूले “बाबु भैरवबहादुर मल्लले आफ्नो अंश लिई अलग भइसक्नुभएकोमा बाँकी हामी ४ भाइ सगोलमा बसी आएका छौं, अंश पाउँ भन्ने दाबी भएको उक्त मुद्दामा अंश लिने दिने गरी मिति २०५६।०१।२२ मा भएको मिलापत्रको बेहोरालाई हामी विरूद्ध प्रमाण लगाइएकोमा सो सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्तको ठाडै प्रतिकूल भएकाले यस अदालतको संयुक्त इजलासको मिति २०७६।०९।१५ को फैसला पुनरावलोकन गरी हेर्न न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को देहाय (ख) बमोजिम अनुमति पाउँ भन्नेसमेत बेहोराको वादी प्रभातकुमार मल्लको मु ।स । गर्ने पवनकुमार मल्लसमेतको यस अदालतमा दायर भएको पुनरावलोकनको निवेदन ।
यसमा मिति २०४६।०८।२३ को र ।नं । २३९९ को बन्डापत्रमा प्रभातकुमार मल्ल सम्मिलित नरहेको र सो बन्डापत्र भैरवबहादुर मल्ल, कमला मल्ल, निर्मला श्रेष्ठ र अरूणकुमारबिच भएको देखिन्छ । उक्त बन्डापत्रपश्चात् आमा कमला मल्लले मिति २०४८।०२।३१ मा प्रभात कुमारसमेतका छोराहरूलाई शेषपछिको बकसपत्र दिँदा प्रतिवादी भैरवबहादुरसँग बन्डापत्र भएको कुरा उल्लेख गरे पनि निजले उल्लेख गरेको कुराले अंशबन्डाको लिखतमा संलग्न नभएका वादी प्रभातकुमारलाई विबन्धित बनाउँछ भन्न मिल्ने देखिँदैन । अंश गर्दा जियजियैको गर्नुपर्ने भन्ने साबिक मुलुकी ऐन, अंशबन्डाको महलको १ नं । मा उल्लेख भएको र अंश पाइसकेको भन्ने स्थिति स्पष्ट रूपमा नदेखिएको अवस्थामा अरू कसैले लेखाएको बेहोराबाट अंश पाइसकेको अर्थ गरी वादी दाबी नपुग्ने ठहर्याई यस अदालतको संयुक्त इजलासबाट मिति २०७६।०९।१५ मा भएको फैसलामा ने ।का ।प ।२०३०, नि ।नं । ७७५, पृष्ठ २९३, ने ।का ।प ।२०४२, नि ।नं ।२५५३, पृष्ठ १०४४, ने ।का ।प । २०४६, नि ।नं । ३९८४, पृष्ठ ११०९ र ने ।का ।प । २०६८, नि ।नं । ८५९७, पृष्ठ ६४६ मा प्रतिपादित सिद्धान्तहरूको प्रतिकूल भई न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(क) र (ख) को अवस्था विद्यमान रहेको देखिँदा पुनरावलोकनको अनुमति प्रदान गरिएको छ भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७८।११।२६ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावलोकनको निवदेनसहितको मिसिल कागजातहरू अध्ययन गरी हेरियो ।
पुनरावेदक वादी पवनकुमार मल्लसमेतको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हर्कबहादुर भट्टराई र श्री बाबुराम गिरी तथा विद्वान् अधिवक्ता श्री आशिकराम कार्कीले वादीका पिता पति प्रभातकुमार मल्ल र विपक्षी प्रतिवादीका बिच अंशबन्डा भएको छैन । भैरवबहादुर, कमला मल्ल र अरूणकुमार मल्लसमेत ३ जना अंशियारहरूबिच मात्र मिति २०४६।०८।२३ मा अंशबन्डा भएको हो । उक्त बन्डापत्रमा निज प्रभातकुमार मल्ल सम्मिलित रहेको अवस्था छैन । निजको अनुपस्थितिमा अंशबन्डाको कागजमा अन्य अंशियारले यी वादीले समेत अंश लिई बुझेको भनी लेखाएको आधारमा प्रभातकुमारले अंश बुझी बेग्लै बसेको भनी मान्न मिल्दैन । प्रतिउत्तर पत्रमा निज प्रभातकुमार मल्लले अंशबापत के कती रकम लिए पाएका हुन् भन्ने यकिनसाथ प्रमाण पेस गर्न सकेको देखिँदैन । यसैगरी २०५५ सालको दे ।नं । १७७९ को अंश नामसारी मुद्दामा यी वादीका पिता पति प्रभातकुमार मल्लसमेतले अंश लिने दिने गरी गरेको मिलापत्रको बेहोरालाई वादी पक्षका विरूद्ध प्रमाण लगाउन मिल्दैन । निज प्रभातकुमार मल्लले ४ भागको १ भाग अंश लिन पाउनुपर्छ । तदनुरूप अंश पाउने ठहर गरेको सुरू र पुनरावदेन अदालत बुटवलको फैसला उल्टी गरेको यस अदालतको संयुक्त इजलासबाट भएको फैसला उल्टी गरी पुनरावेदन अदालत बुटवलको फैसला कायम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रतिवादी निर्मला श्रेष्ठका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री गोकर्ण सिंह थापाले प्रतिवादी र वादीका बिच मिति २०४६।०८।२३ मा नै अंशबन्डा भइसकेको हो । यी वादीका पिता पति प्रभातकुमारले आफ्नी स्व ।आमा कमला मल्लबाट कानूनी रूपमा प्राप्त भएको अंश भागको सम्पत्ति निजको मृत्युपश्चात् आफ्नो नाममा नामसारी गराई अन्य व्यक्तिलाई बिक्रीसमेत गरिसकेको देखिन्छ । यदि वादीको कथनबमोजिम प्रभातकुमार मल्लले अंश नबुझेको भए निजले सुरू फिराद गर्दा अन्य दाजुभाइलाई समेत विपक्षी बनाई फिराद दायर गर्नुपर्ने हुन्थ्यो तर यस मुद्दामा निज वादी प्रभातकुमार मल्लले फिराद दायर गर्दा पिता भैरवबहादुर श्रेष्ठ र सौतेनी आमा निर्मला श्रेष्ठ मल्ललाई मात्र प्रतिवादी बनाएको देखिन्छ । मुलुकी ऐन, अंशबन्डाको महलको २ नं । मा पटक पटक अंश लिन पाउने व्यवस्था नभएको हुँदा स्व ।भैरवबहादुर मल्लले आफूखुस गर्न पाउने आफ्नो अंश हकको सम्पत्ति आफ्नी श्रीमती निर्मला श्रेष्ठलाई पारित गरिदिएको बकसपत्रको लिखत बदर गरी वादीका पिता पति प्रभातकुमारले ४ भागको १ भाग अंश लिन पाउने ठहर्याएको सुरू तथा पुनरावेदन अदालत बुटवलबाट भएको फैसला उल्टी हुने ठहर्याई वादी र प्रतिवादीहरू कानून र व्यवहार प्रमाणबाट समेत छुट्टी भिन्न भइसकेको स्पष्ट देखिँदा बकसपत्र बदर गरी अंश पाउँ भन्ने वादी दाबी पुग्न नसक्ने भनी यस अदालतको संयुक्त इजलासबाट भएको फैसला कानूनसम्मत हुँदा सदर कायम हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसमा, स्व ।भैरवबहादुरका दुई श्रीमतीमध्ये जेठी स्व । कमला मल्ल र कान्छी विपक्षी निर्मला श्रेष्ठ (मल्ल) हुन् । विपक्षी कान्छी आमा निर्मला श्रेष्ठबाट कुनै जायजन्म भएको छैन । आमा कमला श्रेष्ठ परलोक भइसकेकोले हाल म फिरादीसमेत ३ जना अंशियार छौं । प्रतिवादी निर्मला श्रेष्ठ मल्ललाई पति भैरवबहादुर श्रेष्ठ मल्लले मिति २०५०।८।२९ मा रूपन्देही, बुटवलको कि ।नं ।९४७ को जग्गा हालैको बकसपत्र गरिदिएकाले मसमेतको अंश हक रहेको उपर्युक्त जग्गा मेरो मन्जुरीबेगर प्रतिवादीले लिनुदिनु गरेको बकसपत्र बदर गरी मुलुकी ऐन, अंशबन्डाको महलको २०, २१, २२, २३ नं ।बमोजिम सम्पत्तिको तायदाती फाँटवारी दाखिल गरी गराई विपक्षीहरूले लिनुदिनु गरेको दुवै बकसपत्र लिखत बदर गरी अंशबन्डाको महलको १९(५) नं ।अनुसार ३ भागको १ भाग अंश दिलाइपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी रहेकोमा वादी प्रतिवादी अंशियारबिच मिति २०४६।८।२३ मा बन्डापत्र भएको र वादीकी आमा कमलाले अंशबापत पाएको बुटवल नगरपालिका, वडा नं ।१०, कि ।नं ।२२७९, २२७७ र २२७८ को जग्गा र सोमा बनेको घर वादी प्रभातकुमार मल्लसमेतले आमाबाट शेषपछिको बकसपत्र लिँदा उक्त बकसपत्रको लिखतमा सबै अंशियार छुट्टीभिन्न भएको भन्ने बेहोरा उल्लेख छ । एकपटक छुट्टीभिन्न भई आफ्नो अंश हकको सम्पत्ति कानूनले आफूखुसी गर्न पाउने हुँदा बकसपत्र गरी दिएको लिखत बदर हुनुपर्ने होइन । फिराद खारेज गरिपाउँ भन्ने प्रतिउत्तर जिकिर रहेको देखिन्छ । बकसपत्र लिखत बदर गरी वादी प्रभातकुमारले ४ भागको १ भाग अंश लिन पाउने ठहर गरेको सुरू रूपन्देही जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालत बुटवलबाट सदर भएको देखिन्छ । उक्त फैसलाउपर दोहोर्याई हेरिपाउँ भनी प्रतिवादीको यस अदालतमा निवेदन परी निस्सा प्रदान भई यस अदालतको संयुक्त इजलासबाट वादी दाबी नपुग्ने गरी पुनरावेदन अदालतको फैसला उल्टी गरेकोमा सोउपर वादी पवनकुमार मल्लसमेतको पुनरावलोकन गरी हेरिपाउँ भन्ने निवेदन परेकोमा यस अदालतको पूर्ण इजलासबाट पुनरावलोकन गर्ने अनुमति प्रदान भई निर्णयार्थ पेस हुन आएको देखियो ।
उल्लिखित तथ्य तथा पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा वादी प्रतिवादी दुवैतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले गर्नुभएको तर्कपूर्ण बहस जिकिरसमेत सुनी यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मिलेको छ वा छैन ? सो विषयमा निर्णय हुनुपर्ने देखिन आयो ।
२ । निर्णयतर्फ विचार गर्दा, स्व । भैरवबहादुर मल्लका दुई श्रीमतीहरूमा जेठी स्व । कमला श्रेष्ठतर्फका छोरा पुनरावेदक वादीका पिता पति प्रभातकुमार मल्ल र मु ।स गर्ने प्रतिवादी निर्मला श्रेष्ठ प्रतिवादीकी कान्छी श्रीमती देखिँदा वादी प्रतिवादीहरूबिच नातामा विवाद रहेको देखिएन । निज प्रभातकुमार मल्लकी आमा स्व ।कमला श्रेष्ठले पति भैरवबहादुरसँग मिति २०४६।८।२३ मा र ।नं ।२३९९ बाट अंश बुझिलिएको तथ्यमा पनि मुख मिलेकै देखिन्छ । वादीका पिता पति प्रभातकुमार मल्लले उक्त अंशबन्डाको कागजबाट आफूले अंश बुझेको नभई आमा स्व । कमला मल्लले बुझेको र जियजियैको अंशबन्डा गर्नुपर्ने हुँदा आमाले अंश बुझेबाट आफ्नो अंश हक समाप्त नहुने भन्ने मुख्य जिकिर लिएको देखिन्छ । मिसिल संलग्न उल्लिखित मितिको बन्डापत्रको बेहोरा हेर्दा स्वर्गीय भैरवबहादुर मल्ल, निजकी जेठी श्रीमती कमला मल्ल र निजका छोराहरू प्रभातकुमार मल्ल र अरूणकुमार मल्लबिच अंशबन्डा भएको भन्ने बेहोरा उल्लेख भई वादीका पिता पति प्रभातकुमार मल्लले आफ्नो अंश भागबापत नगदै रकम लिएको र अरू अंशियारहरू कमला, अरूण तथा प्रतिवादी भैरवबहादुरले अचल सम्पत्ति लिई छुट्टिएको भन्ने देखिन्छ । उक्त बन्डापत्रमा वादीका पिता पति प्रभातकुमार मल्लको उपस्थिति नदेखिए तापनि निजले अंशबापत नगद नबुझेको भए आफ्नै बुबा आमा तथा दाजुभाइसमेतले सो बेहोरा लेखाउनुपर्ने कुनै कारण देखिँदैन । २०४६ सालमा बन्डापत्र हुँदा कालान्तरमा मुद्दा पर्ला भनी प्रमाण सिर्जना गर्ने हेतुले नभए नगरेको कुरा लेखेको भनी अनुमान गर्न मिल्दैन । आफू भिन्न भएको होइन भनी तत्कालै यी वादीका पिता पतिले उक्त बन्डापत्र बदरतर्फ उजुरी गरेको अवस्था पनि देखिँदैन । अपितु आमा कमला श्रेष्ठले सोही बन्डापत्रबाट प्राप्त गरेको कि ।नं । २२७७, २२७८ र २२७९ समेतका जग्गा मिति २०४८।२।३१ मा निजले आफ्ना छोराहरू नविनकुमार, दिलिप, अरूण र वादीका पिता पति प्रभातकुमारसमेतलाई शेषपछिको बकसपत्र गरिदिएको र सो लिखतमा “मेरो पति, म एवं सबै छोराहरू छुट्टी भिन्न भएको” भन्ने बेहोरा उल्लेख भएको देखिन्छ ।
३ । यी वादीका पिता पतिसमेतका स्व । कमला श्रेष्ठका छोराहरूले उक्त शेषपछिको बकसपत्रको लिखतबाट प्राप्त बुटवल नगरपालिका वडा नं ।१० नक्सा नं ।८(क) कि ।नं ।२२७७ समेतका तीन कित्ता जग्गा तथा स्व । कमला श्रेष्ठले अंशबाट पाएको कि ।नं ।१९०६ को घर जग्गासमेत मिति २०४८।१२।६ मा निजको मृत्युपश्चात् पुनरावदेक वादीका पिता पति प्रभातकुमार मल्लसमेतका छोराहरूले मालपोत कार्यालय, रूपन्देहीबाट मिति २०४८।१२।२३ मा आफ्नो नाउँमा नामसारी गराई लिएको देखिन्छ । यसबाट वादीका पिता पति प्रभातकुमार श्रेष्ठले स्वयम् बन्डापत्रको पक्ष भई प्रत्यक्ष रूपमा पिताबाट अंश बुझी बन्डापत्रमा दस्तखत गरेको नदेखिए तापनि बन्डापत्रमा निजले नगद बुझी भिन्न भएको भन्ने बेहोरा पारी व्यवहारतः छोराहरू यी प्रभातकुमार मल्ल र अरूणसेमतको भाग आमा कमला श्रेष्ठले बुझी निजमार्फत यी वादीहरूका भागमा आएको र यी वादीहरू अद्यापि पैतृक स्रोतको सोही घरजग्गामा बसोबास गरिरहेको देखिएको अवस्थामा केवल बन्डापत्रमा हस्ताक्षर नगरेको भनी बन्डापत्रको बेहोरालाई इन्कार गर्न मिल्ने देखिएन ।
४ । यस अतिरिक्त, स्व । कमला श्रेष्ठका छोराहरूमध्ये यी वादीका पिता पति प्रभातकुमार मल्ललगायत दिलिपकुमार मल्ल र अरूणकुमार मल्लसमेतले दाजु नविनकुमार मल्लका उपर दायर गरेको २०५५ सालको दे ।नं ।१७७९ को अंश नामसारी मुद्दामा यी वादीका पिता पतिसमेतले फिरादपत्रमा “बाबु भैरवबहादुर मल्लले आफ्नो अंश लिई अलग भइसक्नु भएको छ, बाँकी हामी चार भाइ सगोलमा बसी आएका छौं, अंश पाउँ” भनी दाबी गरेको देखिएबाट समेत वादी प्रतिवादीबिच उल्लिखित बन्डापत्रबाट अंश लिनुदिनु भएको र प्रतिवादी पिता भैरवबहादुर मल्ल अंश लिई बेग्लै बसेको भन्ने तथ्य स्वयम् वादीका पिता पतिले स्वीकार गरेको अवस्था देखिन आयो । यसरी दायर भएको उक्त अंश मुद्दामा निजहरूले पिता भैरवबहादुरलाई प्रतिवादी नबनाई फिराद गरेबाट पनि पिता भैरवबहादुरले पहिले नै अंश लिई बेग्लै बसेको भन्ने तथ्य स्थापित हुन आउँछ । सोही मुद्दामा मिति २०५६।१।२२ मा रूपन्देही जिल्ला अदालतमा भएको मिलापत्रको बेहोरामा समेत “स्व । पिता भैरवबहादुर मल्लले आफ्नो अंश लिई छुट्टी भिन्न भएको” भन्ने उल्लेख भएको देखिँदा वादीका पितापतिले बाबु भैरवबहादुर मल्लसँग सगोलमा बसी अंश लिन बाँकी रहेको भन्ने देखिन आउँदैन ।
५ । यसैगरी, वादी प्रतिवादीको परिवारमा एकआपसमा अंश नामसारी, बकसपत्र बदरलगायतका विभिन्न मुद्दाहरू चलेको देखिन्छ । यिनै वादीका पिता पति प्रभातकुमार मल्लकी श्रीमती नन्दा मल्लले २०६७ सालको दे ।पु ।नं ।१७१० को बकसपत्र बदर अंश नामसारी मुद्दा दायर गरेको देखिन्छ तर निज वादीले मिति २०४६।०८।२३ को बन्डापत्रलाई बदर गरिपाउँ भन्नेतर्फ कुनै किसिमको दाबी लिएको अवस्था छैन । स्वयम् प्रभातकुमार मल्लले समेत आफ्नो जीवनकालमा उक्त बन्डापत्रको बेहोरामा प्रश्न उठाई त्यसलाई बदर गर्नेतर्फ उजुर बाजुर गरेको अवस्था मिसिल संलग्न कागजातबाट देखिँदैन । २०४६ सालको बन्डापत्रमा यी वादी पक्षको मन्जुरी नभएको भए सो बन्डापत्रलाई बदर गर्नेतर्फ कारबाही चलाउनुपर्नेमा त्यसतर्फ कारबाही नचलाई सोही बन्डापत्रबाट बन्डा भएको पैतृक स्रोतको सम्पत्ति आफ्नो नाममा नामसारी गरी ल्याई उपभोग गरी बन्डापत्रको परिणामलाई स्वीकार गरेको अवस्था छ । २०४६ सालको बन्डापत्रबाट प्राप्त सम्पत्ति शेषपछिको बकसपत्र तथा दाखेल खारेजलगायतका प्रक्रियाबाट आफ्नो नाउँमा ल्याई उपभोग गर्ने तर बन्डापत्रलाई स्वीकार नगर्ने भन्न मिल्दैन । बन्डापत्रको परिणामलाई स्वीकार गरेपछि बन्डापत्रको बेहोरालाई पनि स्वीकार गरेको मान्नुपर्ने देखिन्छ ।
६ । वस्तुतः अंशियारहरूबिच बन्डा भए नभएको यकिन गर्ने मुख्य आधार, प्रमाण पारित बन्डापत्र नै हो । २०४६ सालको पारित बन्डापत्रमा वादीका पिता पति प्रभातकुमार मल्लले अंशबापत नगद बुझी अलग भएको भन्ने बेहोरा उल्लेख भएको र माथि उल्लिखित विभिन्न मुद्दामा अदालतमा वादी स्वयम्ले पेस गरेको एवम् अदालतबाट प्रमाणित लिखतहरूमा वादीका पिता पति प्रभातकुमार मल्ल तथा प्रतिवादी भैरवबहादुरसमेतले अंश बुझी भिन्न भएको तथ्य उल्लेख भएको एवम् निज प्रभातकुमारको नाउँमा पिता भैरवबहादुरका नाउँको महत्त्वपूर्ण पैतृक सम्पत्तिसमेत नामसारी दाखिल खारेज भई आएको देखिन्छ । अंश मुद्दामा मूलतः सबै अंशियारहरूले बन्डापत्रमा सगोलको पैतृक सम्पत्ति नरमगरम मिलाई समानुपातिक रूपमा पाए नपाएको तर्फ न्यायोचित दृष्टिकोणले हेर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा वादीले पाएको सम्पत्ति र अन्य अंशियारहरूले पाएको सम्पत्तिको प्रकृति र परिणामसमेत सालाखाला नरमगरम मिलेको देखिएको स्थितिमा बन्डापत्रमा उल्लेख गरिएको बेहोरा नै खम्बिर हुन आयो ।
७ । यसप्रकार, प्रतिवादी र वादीका पिता पति तथा हजुरआमा सासूआमासमेतका व्यक्तिबिच अंशबन्डा भइसकेपछि प्रतिवादी भैरवबहादुर मल्लले खरिद गरी लिएको आफूखुसी गर्न पाउने कि ।नं । ९४७ र ८४२ को घरजग्गा वृद्धावस्थामा आफ्नो स्याहार सुसार गरी बसेकी कान्छी श्रीमती निर्मला श्रेष्ठलाई मिति २०५०।०८।२५ र २०६७।०२।२६ मा बकस गरिदिएकोमा वादीले सोही सम्पत्तिमा दाबी लिई प्रस्तुत फिराद दायर गरेको देखियो । वादी प्रतिवादीबिच विधिवत् अंशबन्डा भइसकेपछि छुट्टी भिन्न भइसकेका प्रतिवादी भैरवबहादुरले कानूनबमोजिम आफूखुसी गर्न पाउने आफ्नो हकको सम्पत्ति प्रतिवादी निर्मला श्रेष्ठलाई बकसपत्र गरिदिएको देखिएकाले सो बकसपत्र बदर गरी अंश पाउँ भन्ने वादी दाबी पुग्न सक्ने देखिएन । उक्त बकसपत्रको सम्पत्तिबाट समेत वादीलाई अंश भाग लगाउने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहर्याएको यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन ।
८ । वादीले विभिन्न मुद्दामा अदालतमा पेस भएका लिखतहरूमा आफूले अंश लिई भिन्न भएको तथ्य उल्लेख गरेका र पिता तथा प्रतिवादी भैरवबहादुरको नाउँबाट पैतृक स्रोतको सम्पत्ति समानुपातिक रूपमा यी वादीका पिता पतिको नाउँमा दाखेल खारेज भई आएको देखिँदा जियजियैको अंश नभएको र अरू कसैले लेखाएको बेहोराबाट अंश पाइसकेको भनी अर्थ गर्न नमिल्ने भनी यस अदालतबाट पुनरावलोकनको अनुमति प्रदान गर्दा लिएको आधारसँग सहमत हुन सकिएन ।
९ । तसर्थ, माथि विवेचित आधार, कारणबाट सुरू रूपन्देही जिल्ला अदालतबाट वादीले ४ भागको १ भाग अंश पाउने ठहर गरी भएको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने ठहर्याएको यस अदालतको संयुक्त इजलासबाट मिति २०७६।०९।१५ मा भएको फैसला मनासिब हुँदा सदर हुने ठहर्छ । वादी पवनकुमार मल्लसमेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा हामी सहमत छौं ।
न्या ।विश्वम्भरप्रसाद श्रेष्ठ
न्या ।ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृतः राजकुमार दाहाल, सदिक्षा नेपाल (शा ।अ ।)
इति संवत् २०७९ साल माघ १९ गते रोज ५ शुभम् ।