निर्णय नं. ४३५५ - हक कायम लिखत बदर

निर्णय नं. ४३५५ ने.का.प. २०४८ अङ्क ९, १०
पूर्णइजलास
सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४६ सालको दे.पु.इ. नं. ८३
फैसला भएको मिति : २०४८।८।२४।३ मा
पुनरावेदक/वादी : जिल्ला चितवन, गाउँ विकास समिति रत्ननगर वडा नं. २ बस्ने क्षेत्रनारायण मल्लसमेत
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने निजानन्द मल्लसमेत
मुद्दा : हक कायम लिखत बदर (साविक पेज नं. ४८२)
(१) वादी दावीको भनाईलाई मात्र आधार मानी वादीहरुको समेत हक लाग्ने भन्न न्यायको दृष्टिमा नमिल्ने ।
(प्रकरण नं. १६)
पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी
विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पंत
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमतिद्वारा पुनरावेदन परी निर्णयार्थ पेश हुँदा सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरुको बीच राय मतैक्य हुन नसकी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :–
२. विपक्षी मध्ये निजानन्द मल्ल एकाघर सगोलका छोरा तथा दाजु हुन् निजानन्दका नाममा दर्ता रहेको जग्गा चितवन नारायणगढ गा.पं. वडा नं. ४(क) कि.नं. ४१८ को क्षेत्रफल ०–१९–१६ मध्ये ज.वि. ०–०–१८ मैले आफ्नो सम्पत्तिले खरिद गरी मेरै हक रही मैले भोग गरी आएको उल्लेखित जग्गा केदारराज जोशीलाई मोल रु. १०,०००।– जाने जति जग्गा भनी उल्लेख गरी ०४०।५।१४ मा छोडपत्र गरी लिनु दिनु गरेकोले विपक्षी निजानन्दको मात्र एकलौटी हकको नभई हामीहरुको जम्मा ४ भागमा ३ भागमा पर्ने मोल रु. ७,५००।– को हुन आउने ज.वि. ०–०–१२ ३/४ को हदसम्मको छोडपत्र लिखत बदर गरी उक्त जग्गामा हामीहरुको हकको हक कायम गरी विपक्षीहरुलाई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको क्षेत्रनारायण मल्ल समेतको संयुक्त फिरादपत्र ।
३. यो छोडपत्र गरी दिएको जग्गा निजानन्दको स्वआर्जनको हुनाले सगोलको भन्ने वादी दावी झुठ्ठा एवं कानुनी आधारविनाको हुनाले ऐन बमोजिमको इन्साफ भई वादीहरुको माग दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी केदारराज जोशीको प्रतिउत्तरपत्र ।
४. मैले दिएको छोडपत्रमा मेरो आफ्नो पैसाले खरिद गरी लिई हक भोग चलनमा रही आजसम्म मैले भोग गरी आएको उल्लेखित जग्गा छोडपत्रमा गरी दिएको हुँ भन्ने मैले उल्लेख गर्न लगाएको होइन केदारराज जोशी आफैंले लेख्न लगाएका हुन वादी समेत हामी चारैजनाको बराबर हक अंश लाग्ने हो भन्ने समेत व्यहोराको निजानन्द मल्लको प्रतिउत्तरपत्र ।
५. स्वआर्जनको जग्गामा मञ्जूरी लिन पर्दैन भन्ने सिद्धान्त समेत भएको र यिनै वादी प्रतिवादीको दे.नं. १७० को मुद्दामा वादी दावी नपुग्ने ठहरी आजै निर्णय भएकोले यसमा पनि लिखत बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन, भन्ने समेत व्यहोराको मिति २०४१।२।२१।१ को चितवन जिल्ला अदालतको फैसला ।
६. उपरोक्त अनुसार गरी हामीलाई हराई गरेको चितवन जिल्ला अदालतको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी सुफत हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको क्षेत्रनारायण मल्ल समेतले नारायणी अञ्चल अदालतमा दिएको संयुक्त पुनरावेदनपत्र ।
७. लिखत बदर गरिपाउँ भन्ने समेत वादी दावी पुग्न नसक्ने ठहराई छिनेको इन्साफ शुरुको मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४१।१।२८ गतेको नारायणी अञ्चल अदालतको फैसला ।
८. नारायणी अञ्चल अदालतको फैसलामा प्रत्यक्षतः त्रुटि हुँदा पुनरावेदनको लागि अनुमति पाउँ भन्ने समेत व्यहोराको क्षेत्रनारायण मल्ल समेतको नारायणी अञ्चल अदालत मार्फत मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको निवेदनपत्र । (साविक पेज नं. ४८३)
९. यसमा लगाउको नि.नं. ७२५ को निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भएकोले प्रस्तुत मुद्दामा पनि सोही आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ, भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।११।२०।२ को आदेश ।
१०. विवादित जग्गा मिति २०३८।२।२१ मा रु. ५००।– मा निजानन्दले खरिद गरेकोमा सोही सम्पत्ति मध्येबाट हक छाडी पास गरी दिएको देखिन्छ । आफ्नो निजी आर्जनको जग्गा आफूखुस गर्न पाउने नै हुँदा वादी दावी बमोजिम लिखत बदर गरी हक कायम गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्याई शुरुको सदर गरेको नारायणी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।२।७।५ को फैसला ।
११. उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने वादीहरुको निवेदन परेकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा प्रमाण ऐनको दफा ६(क) को व्याख्या सम्बन्धी नजीर सम्बन्धी त्रुटि देखिएबाट पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४७।४।२७ गतेको आदेश ।
१२. यसमा वादी क्षेत्रनारायण मल्ल, मानकुमारी मल्ल, ज्ञानेन्द्र मल्ल र प्रतिवादी निजानन्द मल्ल एक सगोलमा रहे बसेका अंशियारहरु हुन भन्ने कुरामा विवाद देखिँदैन । यसरी सगोलमा रहँदा बस्दा प्रतिवादी निजानन्द मल्लले ओमकुमारी श्रेष्ठ समेतसंग विवादको सम्पत्ति रु. ५००।– मा मिति २०३८।२।२१ मा खरिद गरी लिएको देखिन्छ । उक्त सम्पत्ति ओमकुमारी समेतसंग निजानन्द मल्लले खरिद गरी लिंदाको अवस्थामा आफ्नो निजी आर्जनको खरिद भनी उल्लेख गरेको पाइँदैन । आफूले खरिद गरी लिएकै अवस्थामा निजी आर्जनको खरिदी भनी लिखतमा नजनाएको अवस्थामा अन्य अंशियारले उसको निजी आर्जनको खरिदी भनी साक्षी बसी प्रमाणित नगरेसम्म निजी आर्जनको सम्पत्ति भनी मान्न मिल्दैन । आफ्नो नाममा सम्पत्ति खरिद गरी लिंदा निजी आर्जनको खरिदी भनी नजनाएको र पछि सोही सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्दा भने निजी आर्जनको खरिदी भनी लिखतमा उल्लेख गरिएकै आधारमा निजी आर्जनको हो भनी मान्न यस अदालतबाट ने.का.प. २०४१, अंक १०, नि.नं. २१५३, पृष्ठ ९१९ मा प्रतिपादित सिद्धान्त “अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको भनी पक्का रुपले प्रमाणित नभएसम्म संग बसेका अंशियारले बढेबढाएको सम्पत्तिलाई निजी आर्जनको भनि अंशियारलाई भाग लाग्दैन भन्न मिल्दैन” ने.का.प. २०४५, अंक ५, नि.नं. ३४६२, पृष्ठ ४८२ मा प्रतिपादित सिद्धान्त मानो नछुट्टी संग बसेका अंशियार मध्ये जुनसुकैले पनि सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा सबैको भाग लाग्ने त्यस्तो सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म एकाघर अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाममा रहे तापनि सगोलको सम्पत्ति भनी अदालतले अनुमान गर्ने” समेतबाट मिल्ने देखिँदैन । निजी आर्जनको खरिदी भनी अंशियारहरुबाट यो प्रतिवादी निजानन्दले प्रमाणित गराएको अथवा बिक्री गर्दाको अवस्थामा लिखतमा साक्षी राखेको समेत नदेखिएको अवस्थामा विवादित सम्पत्तिलाई निजी आर्जनको हो भनी मान्न नमिल्ने हुँदा वादी दावी बमोजिम हक कायम लिखत बदर हुनु पर्नेमा सो अनुरुप नगरी वादी दावी पुग्न नसक्ने ठहर्याएको जिल्ला र अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी भई वादी दावी बमोजिम छोडपत्रको लिखत बदर हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय ।
१३. यसमा प्रतिवादी मध्येका निजानन्द मल्लले मिति २०३८।२।२१।४ मा ओमकुमारी श्रेष्ठ समेतसंग रु. ५००।– मा खरीद गरी लिई सो मध्ये ०–०–१८ जग्गा प्रतिवादी निजानन्द मल्लले प्रतिवादी मध्येका श्री केदारराज जोशीलाई मिति २०४०।५।१४ मा हक (साविक पेज नं ४८४) छाडी दिएको देखिन्छ । आफुले उक्त जग्गा हक छोडी दिंदा आफ्नो रुपैयाँले खरीद गरेको भए तापनि मेरै हक भोग चलनमा रही मैले भोग गरी आएको उल्लेखित जग्गामा केदारराज जोशीको पनि हक भएको हुँदा सो जग्गा निजलाई छोडपत्र गरी दिन आवश्यक परेकोले आजका मितिमा छोडपत्र लेखी दिएको छु भन्ने व्यहोरा उल्लेख भएको छ तर प्रतिवादी निजानन्दले आफ्नो प्रतिउत्तरपत्रमा उक्त वाक्यांशलाई इन्कार गरी सो शब्द मैले उल्लेख गर्न लगाएको हैन विवादित जग्गा बाबु आमा भाइ समेतको हक लाग्ने भनी जिकिर लिएकोबाट लेखपढ गर्न जान्ने व्यक्तिले सो शब्द मैले उल्लेख गर्न लगाएको हैन आफैंले लेख्न लगाएका हुन भन्नु युक्तिसंगत नहुँदा उक्त प्रतिउत्तरपत्रको जिकिरलाई स्वीकार गर्न सकिन्न साथै वादीहरुले आफ्नो फिराद दावीमा गोश्वारा धनबाट प्रतिवादी मध्ये निजानन्द मल्लका नाममा विवादित जग्गा ओमकुमारी, तोपनारायण समेतबाट राजीनामाबाट खरीद गरी लिएको भनी जिकिर लिएको भए तापनि फलानो ठाउँको पुख्र्यौली सम्पत्ति बिक्री गरी आर्जन भएको गोश्वाराबाट खरीद गरेको हो भन्ने कुराको पुष्टि दिनसकेको छैन । रु. ५००।– लाई सगोलकै सम्पत्तिबाट बढे बढाएको थैली हो भन्न सकिने अवस्था पनि देखिदैन । प्रतिवादी निजानन्दले रु. ५००।– हाली जग्गा खरीद गर्दछ भने अन्यथा प्रमाणित नभएसम्म निज स्वयंको प्रयासबाट आर्जन भएको सम्पत्ति हो भन्ने मान्नु पर्दछ । फिराद दावीमा फलानो ठाउँको पुख्र्यौली सम्पत्ति बिक्री गरी आर्जन भएको गोश्वारा धनबाट खरीद गरेको जग्गा हो भनी दावी लिन नसकेको अवस्थामा संशोधित व्यवस्था अनुसार प्रतिवादी निजानन्द मल्लले आफ्नो प्रयासबाट आर्जन गरेको जग्गा मान्नु पर्दछ । आफूले आर्जन गरेको सम्पत्ति बिक्री गर्न वा अन्य प्रकारले अरुलाई हक छोडी दिन पाउने नै हुँदा प्रतिवादी निजानन्दले आफ्नु आर्जनको सम्पत्ति प्रतिवादी मध्येका केदारराज जोशीलाई छोडपत्र गरी दिएको लिखत बदर हुन नसक्ने हुँदा छोडपत्र लिखत बदर हुन नसक्ने ठहर्याएको जिल्ला र अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब ठहर्छ । सहयोगी माननीय न्यायाधीशज्यूले वादी दावी बमोजिम लिखत बदर हुने ठहर्याउनु भएको रायसंग सहमत हुन नसकी राय नमिलेको हुँदा सर्वोच्च अदालत नियमावलीको नियम ३३(क) बमोजिम प्रस्तुत मुद्दा पूर्णइजलास समक्ष पेश गर्नु भन्ने समेत माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।७।२३।४ को फैसला ।
१४. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरुको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री बसन्त भण्डारीले प्रतिवादी निजानन्द मल्ल समेत सगोलको अंशियार हो । निजको नाममा खरीद गरेको सम्पत्ति सगोलको हो । प्रतिवादी निजानन्द मल्लले पनि सो सम्पत्ति सगोलको भनेको छ । निजी आर्जनको भनी जग्गा छोडपत्र गराई लिने प्रतिवादीले भनेकोमा, निजैले निजीको हो भन्ने प्रमाण पुर्याउनु पर्छ । सगोलको सम्पत्ति छोडपत्र गरेकोमा वादीहरुको मञ्जूरी भएको नहुँदा वादी दावी बमोजिम लिखत बदर गर्ने गरेको माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय सदर हुनुपर्दछ भनी बहस गर्नु भयो । विपक्षी प्रतिवादीको तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले ०–१२–४१४ जग्गा कि.नं. ४७ बाट प्रतिवादी मध्येका निजानन्दले आफ्नो नाममा खरीद गरी लिएको निजी आर्जन हो । सो जग्गा मध्ये ०–२–० कठ्ठा मैना देवी पियालाई मिति २०३८।९।१३ मा शोभाकान्त अमिनको श्रीमती लक्ष्मी देवी पौडेललाई ०–०–८ धुर जग्गा मिति २०३९।३।१८ मा हक छाडी दिंदा मैना देवीको लिखतमा मानकुमारी, ज्ञानेन्द्र मल्ल साक्षी बसेको छ । तर अर्को लिखतमा साक्षी बसेको छैन । त्यस लिखत उपर उजूर परेको पनि छैन । निजानन्दले बाँकी जग्गा मध्ये (साविक पेज नं. ४८५) प्रतिवादीलाई छोडपत्र गरी दिंदा तपाई समेतको हक भोग भएको भन्ने उल्लेख छ । तसर्थ सगोलको सम्पत्ति होइन । प्रतिवादी निजानन्दको निजी आर्जन हो । लिखत बदर हुनु पर्ने होइन । लिखत बदर नहुने ठहराएको माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।
१५. यसमा आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा एकासगोलका छोरा तथा दाजु विपक्षी निजानन्द मल्लले निजका नाममा दर्ताको जग्गा चितवन नारायणगढ गा.पं. वडा नं. ४(क) कि.नं. ४१८ को ०–९–१६ मध्ये ज.वि. ०–०–१८ जग्गा केदारराज जोशीलाई मिति २०४०।५।१४ मा छोडपत्र गरी लिनु दिनु गरे निजको एकलौटी हकको नभई हामी सबको हक लाग्ने गोश्वारा धनबाट राजीनामा गराई लिएको हुँदा ४ भागको तीन भाग छोडपत्र लिखत बदर गरी पाउँ भन्ने समेत वादीहरुले दावी लिएको देखिन्छ । प्रतिवादी मध्ये निजानन्द मल्लले वादी समेत हामी चारै जनाको बराबर हक अंश लाग्ने जग्गा हो भनी प्रतिवाद गरेको छ । तर प्रतिवादी केदारराज जोशीले प्रतिवाद गर्दा म समेतका ६ जनाले संगसंगै घडेरी किनी घर बनाई बस्ने प्रसंग उठाउँदा प्रतिवादी निजानन्द समेतले वादी क्षेत्रनारायणकै साला तोयनारायण श्रेष्ठ र ओमकुमारी श्रेष्ठको संयुक्त दर्ताको ०–१२–४ जग्गा बिक्री गर्न लागेका छन् । हामी किनी दिन सक्छौं रुपैयाँ छाडी राख्नोस भनेकाले मिति २०३८।२।३ गते मैले रु. १०,०००।– र अरुले ९,०००।– का दरले निजानन्दलाई सामूहिक रुपमा जिम्मा लगाएका थियौं । केही समयपछि सोद्धा तपाईहरुको रुपैयाँले किनेको ०–१२–४ जग्गा मध्ये ०–२–० जग्गा बलराम पियालाई र ०–०–६ जग्गा शोभाकान्त अमिनलाई हक छाडी दिई सकेँ हाल जग्गाको मूल्य बृद्धि भएकोले तपाईहरु मध्ये रु. ९,०००।– का दरले दिनेलाई ०–०–१७ को दरले रु. १०,०००।– दिनेलाई ०–०–१८ जग्गा दिन्छु भनी मिति २०४०।५।१४ गतेमा रजिष्ट्रेशन पास गरी दिएको हो । निजानन्दको निजी आर्जन होइन पैतृक सम्पत्ति हो भन्ने प्रमाण पेश गर्न सक्नु भएको छैन भन्ने जिकिर लिएको पाइन्छ । प्रतिवादी मध्ये निजानन्द मल्लले प्रतिवादीलाई छोडपत्र गरी दिएको जग्गा ओमकुमारी समेतबाट प्रतिवादी निजानन्दको नाममा खरीद गरेको कुरामा विवाद देखिन्न । आजै निर्णय भएको यिनै पुनरावेदकहरु र विपक्षी अम्बिकादेवी तिवारी समेत भएको दे.पु.इ.नं. ८२ को लिखत बदर मुद्दामा सर्वोच्च अदालत पूर्णइजलासको मिति २०४७।२।२२ गतेको आदेश बमोजिम झिकाई आएको लिखत नक्कलबाट सोही खरीद गरेको ०–१२–४ जग्गा मध्ये ०–२–० कठ्ठा जग्गा यिनै प्रतिवादी निजानन्द मल्लले मैनादेवी पियालाई हालैदेखिको बकसपत्र रजिष्ट्रेशन पारीत गरी मिति २०३८।९।१३ गतेमा दिएकोमा वादी मानकुमारी र ज्ञानेन्द्र मल्ल साक्षी बसेको देखिन्छ । निजै प्रतिवादी निजानन्द मल्लले ०–०–८ धुर जग्गा लक्ष्मीदेवी पौडेललाई पनि मिति २०३९।३।१८ मा राजीनामा रजिष्ट्रेशन पारीत गरिदिएको देखिन्छ । तर त्यसमा वादीहरु साक्षी बसेको पाइन्न । सो लिखतहरु उपर वादीहरुको उजूर बाजूर परेको देखिँदैन । सो लिखत नक्कल छापावाल फाराममा लेखिएको र लिखतको व्यहोरा हेर्दा “मेरो/हाम्रो मात्र एकलौटी हक भोगको” भन्ने लेखिएको पाइन्छ । सो व्यहोराबाट लिखत गरी दिने व्यक्ति एकजनामात्र भएमा ‘मेरो’ भन्ने बोली प्रयोग हुने र लिखत गरी दिने व्यक्ति एक भन्दा बढी भएमा ‘हाम्रो’ भन्ने बोली प्रयोग हुने हुन्छ । सो लिखत नक्कलबाट प्रतिवादी निजानन्द मल्ल एकजनाले मात्र जग्गा हालैको बकसपत्र र राजीनामा गरी दिएको देखिएकोले त्यसबाट निजानन्द मल्लको मात्र एकलौटी हक भोगको भनी लिखत गरी दिएको मान्नु पर्ने हुन्छ । सो लिखत व्यहोराबाट वादी दावी बमोजिम सगोलको सबै अंशियाराको हक लाग्ने भन्ने उल्लेख भएको देखिँदैन । प्रतिवादी निजानन्द मल्लले ओमकुमारी समेतबाट जग्गा खरीद गरेको लिखतबाट वादीहरु सबैको हक लाग्ने (साविक पेज नं. ४८६) गोश्वारा धनबाट खरीद गरेको भन्ने उल्लेख भएको पाइदैन । यस स्थितिमा उक्त लिखत प्रमाणहरुबाट प्रस्तुत मुद्दामा प्रमाण ऐन, २०३१ को दफा ६(क) अन्तर्गत प्रतिवादी मध्येका निजानन्द मल्लले प्रतिवादी केदारराज जोशीलाई छोडपत्र गरी दिएको जग्गा सगोलको सम्पत्ति हो भनी अनुमान गर्न मिल्ने देखिन आएन ।
१६. प्रतिवादी निजानन्द मल्लले प्रतिवादीलाई गरी दिएको छोडपत्र लिखत हेर्दा मेरो आफ्नो पैसाले खरिद गरेको भन्ने प्रष्ट उल्लेख गरी जम्मा छोडपत्र गरी दिएको पाइन्छ । सो जग्गा सबै अंशियारको हक लाग्ने गोश्वारा धनबाट खरीद गरेको भन्ने वादी दावीको पुष्टि हुने तथ्ययुक्त लिखत सबूद प्रमाण वादीहरुबाट पेश हुनसकेको देखिँदैन । केवल वादी दावीको भनाइलाई मात्र आधार मानी वादीहरुको समेत हक लाग्ने भन्न न्यायको दृष्टिमा मिल्ने देखिँदैन । तसर्थ वादी दावी बमोजिम लिखत बदर गरी पाउँ भन्ने वादीहरुको पुनरावेदन जिकिर पुग्न सक्तैन । अतः छोडपत्र लिखत बदर नहुने गरेको शुरु जिल्ला अदालत र नारायणी अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय श्री प्रचण्डराज अनिलको मिति २०४६।७।२३ गतेको राय मनासिब ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्नु परेन । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु । प्र.न्या.विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री त्रिलोकप्रतापराणाको राय
यसमा मुल कि.नं. ४१८ को जग्गा प्रतिवादी मध्येका निजानन्द मल्लले ओमकुमारी श्रेष्ठ समेतबाट मिति २०३८।२।२१ मा खरीद गरेको र सोही जग्गा मध्ये ०–०–१८ धुर जग्गा प्रतिवादी मध्ये केदारराज जोशीलाई छोडपत्र गरी दिएकोले लेनदेन व्यवहारको १० नं. बमोजिम ४ खण्डको ३ खण्ड लिखत बदर गरी पाउँ भन्ने मुख्य वादी दावी देखिन्छ । विवादको जग्गा प्रतिवादी मध्ये निजानन्दले ओमकुमारी समेतसंग खरीद गर्दा र सोही जग्गा निजानन्दले प्रतिवादी केदारराज जोशीलाई छोडपत्र गर्दाका अवस्था समेत यी वादीहरु र प्रतिवादी निजानन्द समेत अंश नभएकासगोलमा बसेका अंशियार भएकोमा विवाद देखिन्न । लेनदेन व्यवहारको १० नं. ले लाई हेर्दा “अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफू खुशी गर्न पाउने अरुको मन्जूरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघरसंगका अंशियार सबै साक्षी बसेको वा निजहरुले मन्जूरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मन्जूरीको लिखत पनि नभए मन्जूर नहुनेले रजिष्ट्रेशन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको ३५ दिनभित्र उजूर गर्यो र निजको मन्जूरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराई दिनु पर्छ । सो बमोजिम फिर्ता भएकोमा साहुको थैली परेको भए फिर्ता भए जतिको थैली र ऐन बमोजिमको व्याज लिखत रजिष्ट्रेशन दस्तूर समेत सो सम्पत्ति वेचविखन गरी वा अरु कुनै किसिमले हक छाडी दिनेबाट साहुले कपाली सरह असूल गरी लिन पाउँछ । आफ्नो निजी आर्जनको भएसंग बस्नेको मन्जूरी लिनु पर्दैन बेचविखन समेत गै¥ह गर्न हुन्छ” भन्ने लेखिएको पाइन्छ ।प्रतिवादी निजानन्दबाट छोडपत्र गराई लिने प्रतिवादी केदारराज जोशीले विवादको जग्गा प्रतिवादी निजानन्दको निजी स्वआर्जनको भएकोले वादी दावी बमोजिम लिखत बदर हुनु पर्ने होइन भनी प्रतिवाद गरेकोले निजानन्दले मिति २०३८।२।२१ गतेको खरीदी गरेको जग्गा के कस्तो हो ? सो जग्गाबाट पछि बकसपत्र राजीनामा तथा छोडपत्र समेत भएकोले उक्त जग्गा (साविक पेज नं. ४८७) प्रमाणबाट निजी आर्जनको देखिन्छ, देखिँदैन ? सो विवादको जग्गा निजी आर्जनको हो होइन सो नै प्रस्तुत मुद्दामा निराकरण हुनु पर्ने देखिन्छ । प्रतिवादी निजानन्द मल्लले ओमकुमारी श्रेष्ठ समेतबाट मिति २०३८।२।२१ गतेमा जग्गा खरीद गर्दा सो जग्गा निजानन्दले आफ्नो निजी आर्जनबाट खरीद गरेको भन्ने उक्त खरीदी लिखतमा कुनै कतै उल्लेख भएको पाइन्न । निजानन्द मल्लले सोही खरीदी जग्गा मध्ये ज.वि. ०–२–० मैना देवी पियालाई मिति २०३८ ।९।१३ गतेमा बकसपत्र र लक्ष्मीदेवी पौडेललाई ०–०–८ जग्गा मिति २०३९।३।१८ गतेमा राजीनामा गरेकोले सो लिखतहरुबाट उक्त जग्गाको सम्बन्धमा यी अंशियार वादी प्रतिवादीले निजी आर्जन मानी आएको छन् कि भनी हेर्दा निजानन्दले मैना देवीलाई बक्स दिएको मिति २०३८।९।१३ गतेको लिखतमा आमा मानकुमारी र भाइ ज्ञानेन्द्र मल्ल साक्षी बसेको पाइन्छ । उक्त बक्स लिखत छापिएको फाराममा लेखिएको र सो छापिएको लिखतमा मेरो/हाम्रो मात्र एकलौटी हकभोगको “भन्ने” “दुबै” मेरो र “हाम्रो” भन्ने शव्दहरु नकाटिई ती दुबै शब्दहरु यथास्थितिमा राखी लिखत पास भएको देखिन्छ । उक्त बकसपत्र लिखतमा आमा मानकुमारी र भाइ ज्ञानेन्द्र मल्ल साक्षी बसेकोले निजानन्दको मिति २०३८।२।२१ गतेको खरीदी जग्गाको आधारमा बक्स दिएको जग्गा निजानन्दको एकलौटी निजी आर्जनको हो भन्ने तर्फ मानकुमारी र ज्ञानेन्द्र मल्लले सो लिखतमा साक्षी बसेबाट स्वीकारे कि त भन्नलाई सो लिखतमा मेरो एकलौटी निजी आर्जनको भन्ने शव्द परेको पाइन्न । निजी आर्जनको भए सो कुरा छापिएको फारामको कैफियत कलममा लेखिन सकिने थियो । तर सो शव्द लेखिएको छैन । फाराममा परेको शब्द हाम्रो एकलौटी भन्ने किटिएको छैन, कायमै छ यस्तोमा सो बकसपत्र लिखतबाट विवादको सम्पत्ति जग्गा निजानन्दले एकलौटी निजी आर्जनको हो भनी आमा मानकुमारी र ज्ञानेन्द्र मल्लले स्वीकारेको भन्ने स्थिति देखिएन । यस्तोमा मानकुमारी र ज्ञानेन्द्र मल्ल साक्षी बसेकोले सो सो सम्पत्ति सगोलको होइन भन्न निजहरुलाई प्रतिकूल असर नपर्ने र सगोलको सम्पत्ति भएकोले लेनदेन व्यवहारको १० नं. को आधारमा एकाघरसंग बसेका अंशियारको नाताबाट साक्षी बसेको रहेछ भन्नु पर्ने स्थितिको हुन आउछ । प्रतिवादी निजानन्दले आफ्नो मिति २०३८।२।२१ गतेको खरीदी जग्गा मध्ये नै मिति २०३९।३।१८ गतेमाा लक्ष्मीदेवी पौडेललाई बिक्री गरेको राजीनामा लिखत हेर्दा सो लिखतमा पनि निजानन्दले मेरो निजी आर्जनको एकलौटी भन्न सकेको पाइन्न । यस्तो अवस्थामा मिति २०३८।९।१३ गतेमा मैना देवीलाई बक्स दिएको जग्गा र मिति २०३९।३।१८ गतेमा लक्ष्मीदेवी पौडेललाई बिक्री गरेको जग्गा समेतको व्यवहार प्रमाणबाट निजानन्दको मिति ०३८।२।२१ को खरीदी जग्गा निजानन्दको निजी आर्जनको एकलौटी रहेछ र सो नाताबाट समेतको निजानन्दले हाल प्रतिवादी केदारराज जोशीलाई मिति २०४०।५।१४ गतेमा छोडपत्र गरेको जग्गा प्रतिवादी निजानन्दको निजी आर्जनको एकलौटी भनी निष्कर्ष निकाल्न सक्ने देखिएन र त्यस्तो जग्गालाई यी वादीहरुले निजानन्दको निजी आर्जनको एकलौटी मानी स्वीकार गरेको भन्न समेत मिलेन । प्रतिवादी निजानन्दले ओमकुमारी श्रेष्ठ समेतबाट मिति २०३८।२।२१ गतेमा जग्गा खरीद गर्दा र सो जग्गाबाट प्रतिवादी केदारराज जोशीलाई २०४०।५।१४ मा छोडपत्र गर्दाको अवस्थामा समेत प्रतिवादी निजानन्द र यी वादीहरु एकाघर सगोलका अंशियार देखिँदा प्रमाण ऐन, २०३१ को दफा ६ को देहाय (क) अनुसार एकाघरसंगका अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नु पर्ने हुन्छ । अंश नभई सगोलमा बसेको अंशियारका नाममा (साविक पेज नं. ४८८) रहेको सम्पत्तिमा सबैको अंश हक लाग्ने सो बाहेक कुनै अंशियारले आफ्नो शीप, ज्ञान प्रयासबाट निजी आर्जन गरेकोमा आर्जन गर्नेको निजी ठहर्ने व्यवस्था गरी, लेनदेन व्यवहारको १० नं. मा सोही बमोजिम सगोलको अचल सम्पत्ति कुनै किसिमले बेचविखन वा हक छाडी दिन उमेर पुगेको सबै सगोलको अंशियारको मन्जूरी लिनु पर्ने वा हक छाडी दिएको लिखतमा साक्षी बस्नु पर्ने र साक्षी नबसेमा वा मन्जूरी नलिएमा उजूर गर्ने जतिको हक बदर गर्ने हो । तर निजी आर्जनको भए मन्जूरी लिनु नपर्ने व्यवस्था गरेबाट सगोलमा रहेका व्यक्तिले आर्जेको सम्पत्तिमा अनुमान गर्नु पर्ने कुराको अपवाद स्वरुप प्रतिवादीले दावी गर्दा भने सो अपवाद सिद्ध गर्ने भार निजी भन्ने प्रतिवादीको हुने प्रमाण ऐन, २०३१ को दफा २९ ले व्यवस्था गरेको छ तर प्रस्तुत विवादको जग्गामा प्रतिवादी निजानन्द मल्लको निजी आर्जनको भनी जिकिर लिने प्रतिवादी केदारराज जोशीले सो तर्फ कुनै प्रमाण पुर्याउन सक्नु भएको पाइन्न । स्वयं प्रतिवादी केदारराज जोशीलाई बिक्री गर्ने प्रतिवादी निजानन्दले समेत विवादको जग्गा निजी आर्जनको होइन सगोलको हो भन्नु भएको पाइन्छ । विवादको अचल सम्पत्ति निजी आर्जनको हो भन्ने कुरा न त कुनै लिखतकाबाट प्रमाणित भएको छ । न त अंश नभई एकासगोलमा बसेका यी अंशियार वादीहरुले कतै स्वीकार एवं मन्जूर गरेको पाइन्छ । अंश नभएकासगोलका अंशियारको नाममा रहेको सम्पत्ति निजी भए त्यस्तो निजी आर्जनको पक्का सबूद दिनु पर्छ तर प्रस्तुत मुद्दामा सोको अभाव छ । अतः प्रतिवादी केदारराज जोशीको भनाइलाई मात्र आधार मानी विवादको जग्गालाई निजानन्दको निजी आर्जनको भन्न मिलेन । एकाघरसंगको अंशियारको सगोलको विवादको अचल सम्पत्ति जग्गा देखिँदा वादी दावी बमोजिम छोडपत्र लिखत बदर हुने ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमाको राय मनासिब ठहर्छ । वादी दावी नपुग्ने ठहराएको शुरु चितवन जिल्ला अदालत, नारायणी अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहराएको माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय सदर गरेको पूर्णइजलासको बहुमतको रायसंग मेरो सहमत नहुँदा आफ्नो छुट्टै राय व्यक्त गरेको छु ।
इति सम्वत् २०४८ साल मंसीर २४ गते रोज ३ शुभम् ।