शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३६७ - कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धक

भाग: ६६ साल: २०८१ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश तिलप्रसाद श्रेष्ठ

फैसला मिति : २०७९।११।१५

 

मुद्दाः- कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धक

 

०७४-CR-००८६

पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा देउरी परवाह गा.वि.स. वडा नं. २ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफल बस्ने सन्तोषकुमार पण्डित 

विरूद्ध

प्रत्यर्थी / वादी : रामभगत साहको जाहेरीले नेपाल सरकार

 

०७४-CR-००८७

पुनरावेदक / प्रतिवादी : जिल्ला महोत्तरी लक्ष्मीनिया गा.वि.स. वडा नं. ८ भरतपुर घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँबजार बस्ने जगदिश ठाकुरको छोरा रामजी ठाकुर

विरूद्ध

प्रत्यर्थी / वादी : रामभगत साहको जाहेरीले नेपाल सरकार

 

०७४-CR-०४०८

पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही गा.वि.स. हरिपुर्वा वडा नं. ८ घर भई काठमाडौं जिल्ला  काठमाडौं महानगरपालिका वडा नं. २९ सामाखुशी बस्ने गनेसी ठाकुरको छोरा धर्वेन्द्र ठाकुर

विरूद्ध

प्रत्यर्थी / वादी : रामभगत साहको जाहेरीले नेपाल सरकार

 

०७४-CR-०५२१

पुनरावेदक / प्रतिवादी : जिल्ला तनहुँ स्याम्घा गा.वि.स. वडा नं. ३ घर भई काठमाडौं जिल्ला इचङ्गुनारायण गा.वि.स. वडा नं.६ तिनघरे बस्ने लालबहादुर दुराको छोरा आशिष दुरा

विरूद्ध

प्रत्यर्थी / वादी : रामभगत साहको जाहेरीले नेपाल सरकार

 

०७४-CR-०९३६

पुनरावेदक / प्रतिवादी : जिल्ला महोत्तरी निगौल गा.वि.स. वडा नं. ७ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफल बस्ने नारायण ठाकुरको छोरा भोला भन्‍ने देवेन्द्र ठाकुर

विरूद्ध

प्रत्यर्थी / वादी : रामभगत साहको जाहेरीले नेपाल सरकार

 

०७४-CR-१५३६

पुनरावेदक / वादी : रामभगत साहको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला महोत्तरी निगौल गा.वि.स. वडा नं. ७ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफल बस्ने भोला भन्‍ने देवेन्द्र ठाकुरसमेत

 

कसुरको अवस्थालाई जरियाको सिद्धान्त (Doctrine of Causation) को सन्दर्भमा हेर्दा प्रतिवादीहरूले अपहरण गरी लगेको कार्यकै परिणामस्वरूप मृतकको मृत्यु हुन पुगेको अवस्था भए जरियाको सिद्धान्त (Doctrine of causation) आकर्षित हुनेतर्फ विचार गर्न सकिने । किनभने Doctrine of Causation को सिद्धान्त “a man can only be held liable for the consequences of his actions” भन्ने मान्यतामा आधारित हुन्छ । जरियाको सिद्धान्त (Doctrine of Causation) स्थापित हुन मुख्य गरी Factual Causation र Legal Causation बिचको सम्बन्ध स्थापित हुनुपर्ने । अभियुक्तले गरेको कसुरजन्य कार्यको chain of causation भङ्ग भएको देखिन्छ भने पछिल्लो कसुरबापतको दायित्व अभियुक्तले बेहोर्नु नपर्ने ।

(प्रकरण नं.१६)

 

वादीका तर्फबाट : विद्वान्  उपन्यायाधिवक्ता श्री सुवर्णमान बनेपाली 

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल, श्री रामप्रसाद भट्टराई तथा विद्वान्‌ अधिवक्ताहरू श्री रामप्रसाद ढुङ्गेल, श्री विरेन्द्रप्रसाद साह, श्री रामप्रसाद ढुङ्गेल, श्री भिमप्रसाद धिमाल, श्री दिपेन्द्र अधिकारी, श्री वीरेन्द्र कुमार ठाकुर र श्री सहदेव झा 

अवलम्बित नजिर :

ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००५९

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

मुलुकी अपराध संहिता, २०७४

केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४

 

सुरू तहमा फैसला गर्ने : 

माननीय न्यायाधीश श्री राजेशकुमार काफ्ले

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने : 

माननीय न्यायाधीश श्री उमेशराज पौड्याल

माननीय न्यायाधीश श्री रमेशकुमार खत्री

उच्च अदालत पाटन

 

फैसला

न्या.तिलप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने भनी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार रहेको छ :

मुद्दाको संक्षिप्त तथ्य

मिति २०६८।०८।०२ गते दिउँसो ९८०८७९९५६७ नं. बाट मेरो मोबाइल नं.९८४४०५१५१२ मा फोन सम्पर्क गरेर तिम्रो छोरा शुभमकुमार साह मेरो साथमा छ ५० लाख रूपैयाँ फिरौती लिएर आउनु भनी फोन काटेको हुँदा म जनकपुरदेखि काठमाडौं आई बाफलमा मेरो भतिजोसँगै कोठामा बसी कक्षा ३ मा अध्ययनरत ११ वर्षको मेरो छोरा शुभमकुमार साहको खोजतलास गर्दा फेला नपरेकोले मेरो छोराको खोजतलास गरी अपहरणकारी पत्ता लगाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको मिति २०६८।८।३ गतेको रामभगत साहको निवेदन ।

मिति २०६८।०८।०७ गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगल चोकमा पछि नाम, थर, वतन खुलेको रामजी ठाकुरलाई फेला पारी निजको शरीर तलासी लिँदा ९८०८२३१६१७ नम्बरको सिमकार्ड र सामसुङ मोबाइल थान-१ फेला परेको हुँदा बरामद गरी निजलाई पक्राउसमेत गरिएको भन्‍नेसमेत बेहोराको मिति २०६८।८।७ गतेको खानतलासी तथा बरामदी मुचुल्का ।

मिति २०६८।०८।०७ गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ कपुरधारास्थित धर्वेन्द्र ठाकुरको कोठा तलासी लिँदा कालो छालाको जुत्ता, जुराफ, PACIFIC लेखिएको क्याप, फ्रुटीको खाली बट्टा, औषधीसहितको सिरिन्ज, सलाइन पानी चढाउने सिरिन्ज थान-१ समेत बरामद गरी निज धर्वेन्द्र ठाकुरलाई पक्राउसमेत गरिएको भन्‍नेसमेत बेहोराको मिति २०६८।८।७ गतेको खानतलासी तथा बरामदी मुचुल्का ।

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ कपुरधारास्थित धर्वेन्द्र ठाकुरको कोठामा जाहेरवाला रामभगत साहको वर्ष ११ को छोरा शुभमकुमार साहलाई अपहरण गरी बन्धक बनाई राखी फिरौती मागी निज शुभमकुमार साहलाई कर्तव्य गरी मारेका हौं भनी प्रतिवादी धर्वेन्द्र ठाकुर, भोला ठाकुर, रामजी ठाकुर, लालबाबु ठाकुरले बताएको हुँदा तत्काल खटिएको प्रहरीको डोरले घटनास्थल मुचुल्का तयार परेको हो  भन्‍नेसमेत बेहोराको मिति २०६८।८।७ गतेको घटनास्थल मुचुल्का ।

गौशाला चोकमा प्रतिवादी सन्तोष पण्डितलाई पक्राउ गरी निजको शरीर तलासी लिँदा निजको साथमा रहेको पर्सबाट जाहेरवालालाई धम्क्याउन प्रयोग भएको ९८१३५०९८०३ नं.को सिमकार्ड तथा नोकिया मोबाइल बरामद भएको भन्‍नेसमेत बेहोराको मिति २०६८।८।७ गतेको खानतलासी तथा बरामदी मुचुल्का ।

जाहेरवाला राम भगत साहको छोरा वर्ष ११ को शुभमकुमार साहलाई अपहरण गरेर बन्धक बनाई ५० लाख फिरौती रकम माग गर्ने कार्यमा संलग्न व्यक्तिहरूको खोजतलास गर्ने क्रममा बालक शुभमकुमार साहलाई स्कुल जान लागेको अवस्थामा कालो रंगको आपाचे मोटरसाइकल चलाई बालकलाई अपहरण गरी लैजाने भोला भन्‍ने देवेन्द्र ठाकुरको साथी रहेको भन्‍ने खुलेको हुँदा मिति २०६८।०८।०७ गते निज भोला भन्‍ने देवेन्द्र ठाकुरलाई खोजतलास गर्ने क्रममा काठमाडौं जिल्ला बाफलस्थित कपाल काट्ने सैलुनमा फेला पारी सोधपुछ गर्दा अपहरित बालक शुभमकुमार साहलाई मलगायत सन्तोषकुमार पण्डित, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर र मोटरसाइकल चलाउने भोलाको साथीसमेतले अपहरण गरी सामाखुशीस्थित धर्वेन्द्र ठाकुरको कोठामा सन्तोष पण्डित र धर्वेन्द्र ठाकुरले बन्धक बनाई राखेको भन्‍ने बताएपछि निज प्रतिवादीलाई साथमा राखी अपहरित बालकलाई छुटाउन सामाखुशीतर्फ जाने क्रममा रामजी ठाकुरलाई काठमाडौं जिल्ला सिनामंगलमा पक्राउ गरी खानतलासी गर्दा फिरौती माग गर्न प्रयोग भएको सिमकार्डसहितको मोबाइल फेला परी बरामदी मुचुल्कासमेत तयार गरी निज रामजी ठाकुरसमेतलाई लिई धर्वेन्द्र ठाकुरको कोठामा जाँदा बालक फेला नपरेको तर बच्चाले लगाएको जुत्तासहितका दसीका प्रमाण फेला परेको हुँदा बरामदी मुचुल्का तयार गरी बालक कहाँ छन् भनी धर्वेन्द्रलाई  सोधपुछ गर्दा सन्तोष पण्डितले बालकलाई कर्तव्य गरी मारी लगेका छन्, लास कहाँ छ मलाई थाहा भएन बच्चालाई मेरो डेरा कोठामा पहिला सिरिन्ज दिई बेहोस बनाएपछि मुख थुनी मारेको हो, अपहरणकारीमध्ये लालबाबु ठाकुर नयाँबजारमा छन् भनी बताएकोले निजसमेतलाई साथमा लिई काठमाडौं महानगरपालिका नयाँबजारबाट लालबाबु ठाकुरलाई पक्राउ गरिएको र निजले सन्तोष पण्डित गौशालातिर लुकीछिपी बसेको हुनसक्छ भनी बताएकोले निजलाई समेत साथ लिई काठमाडौं जिल्ला गौशाला गई सो स्थानबाट सन्तोष पण्डितलाई फिरौती रकम माग गर्न प्रयोग भएको ९८१३५०९८०३ नं. को सिमकार्ड र मोबाइलसहित फेला पारी बरामदी मुचुल्कासमेत तयार पारी बालक शुभमकुमार साह र अपहरणमा प्रयोग भएको अपाचे मोटरसाइकल कहाँ छ भनी सोधपुछ गर्दा अपहरित बालकलाई मारेको स्वीकार गरेको र अपहरणमा प्रयोग भएको मोटरसाइकल दिपक बलामीले खोजिदिएका हुन्, दिपक बलामी अहिले सितापाइलामा छन् भनी बताएकोले निजलाई समेत साथै राखी सो स्थानमा जाँदा दिपक बलामीलाई फेला पारी पक्राउ गरिएको र निजलाई ऐन मौकामा सोधपुछ गर्दा बालकलाई अपहरण गरी मोटरसाइकल चलाई लैजाने आशिष दुरा हुन्, निजलाई तिनकुने बानेश्‍वरतिर फेला पार्न सकिन्छ भनी बताएकोले बानेश्‍वर तिनकुनेमा पुगी आशिष दुरालाई पक्राउ गरी अपहरित बाल शुभमकुमार साह र अपहरण गर्दा प्रयोग भएको मोटरसाइकलसमेतको खोजतलास कार्य जारी रहेको छ । हाल पक्राउ परेका प्रतिवादीहरू भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, सन्तोष पण्डित, लालबाबु ठाकुर, दिपक बलामी र आशिष दुरालाई आवश्यक कारबाहीका लागि दाखिला गरिएको छ भन्‍नेसमेत बेहोराको मिति २०६८।८।७ गतेको प्रहरी प्रतिवेदन ।

म जाहेरवालाको छोरा वर्ष ११ को शुभमकुमार साहलाई चर्म रोग भएको र तराईमा उपचार राम्रो नहुने भएकोले उपचार गर्न र शिक्षासमेत दिलाउन भनी भतिजा विजय साहसँग डेरामा राखी हारती माध्यमिक विद्यालयमा पढाउँदै आएको थिएँ । मिति २०६८।०८।०२ गते अपरिचित नम्बर ९८०८७९९५६७ बाट अपरिचित मान्छेले मेरो ९८४४०५१५१२ मा फोन सम्पर्क गरी तिम्रो छोरा मेरो कब्जामा छ, रू.५०,००,०००।– (पचास लाख रूपैयाँ) फिरौती लिएर आउनु भनी पटकपटक फोन गरेकोले मिति २०६८।०८।०३ मा बालक खोजतलास गरिपाउँ भन्‍ने निवेदन दिई खोजतलास भइरहेकोमा ९८१३५०९८०३ नम्बरबाट मेरो मोबाइल नम्बर ९८४४०५१५१२ मा पटकपटक फोन सम्पर्क गरेर रू.४०,००,०००।– (चालिस लाख) फिरौती रकम देउ, हैन भने बालकलाई मारिदिन्छु भनी धम्की दिएकोले अनुसन्धानको क्रममा खुल्न आएका प्रतिवादीहरू भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, सन्तोष पण्डित, लालबाबु ठाकुर, दिपक बलामी र आशिष दुराले फिरौतीको लागि मेरो छोरालाई अपहरण गरेको यकिन भएकोले निजहरू विरूद्ध जाहेरी दिन आएको छु । निजहरू पक्राउ परे पनि मेरो छोरा कहाँ छ, फेला नपरेकोले निज प्रतिवादीहरू भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, सन्तोष पण्डित, लालबाबु ठाकुर, दिपक बलामी र आशिष दुरालाई अपहरण तथा शरीर बन्धकको कसुरमा हदैसम्मको कारबाही गरी मेरो छोराको उद्धार गरिपाऊँ । प्रतिवादीले फिरौतीको धम्की दिएको भ्वाइस रेकर्डको सि.डी.समेत पेस गरेको छु, प्रमाणमा लगाइपाउँ भन्‍नेसमेत बेहोराको रामभगत साहले मिति २०६८।८।७ गते दिएको जाहेरी दरखास्त ।

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी स्थितमा सिता यातायातको काउन्टरमा Pierre Cardin लेखिएको सानो ताल्चा लगाइएको कालो रंगको सुटकेस फेला परेको, सो सुटकेस खोली हेर्दा सुटकेसभित्र पहेँलो रंगको बोरामा सामान पोको पारी राखेको जस्तोमा कपडाको डोरीले मुख बाँधेको, उक्त बोराबाट दुर्गन्ध आइरहेको, डोरी काटी बोराभित्र हेर्दा टाउको डल्लो भइरहेको मृतक बालकको लास रहेको, बालकको हात, गोडा, टाउको, शरीर एउटै ठाउँमा पोको पारी राखेको, सो बोराबाट बाहिर निकाली हेर्दा मृतक लासको कपडामा रगत जस्तो पदार्थ लागेको, कपडा खोलेर हेर्दा टाउको सामान्य, अनुहारको पूरै भाग निलो कालो भएको, दुवै आँखा बन्द, नाक मुखबाट रगत जस्तो तरल पदार्थ निस्केको, कान, चिउँडो, घाँटी सामान्य, हात औंला पाखुरासमेत सामान्य, पेटको भागमा पुरानो दाग अन्य शरीरको भाग सामान्य अवस्थामा रहेको, कुनै चोटपटक नरहेको, मलद्वारबाट दिसा निस्केको मृतकको लाससहित मृतक लास प्याक गरिएको कालो रंगको सुटकेस र पहेँलो रंगको बोरासमेत बरामद गरिएको भन्‍नेसमेत बेहोराको मिति २०६८।८।७ गतेको घटनास्थल एवं लास जाँच मुचुल्का ।

मृतक बालकको सुटकेससहितको बरामदी लास प्रकृतिको फोटाहरू मिसिल सामेल रहेको ।

मिति २०६८।०८।०२ गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफलबाट भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर, सन्तोष पण्डित, दिपक बलामी र आशिष दुरासमेतले मेरो छोरा वर्ष ११ को शुभमकुमार साहलाई अपहरण गरेर बन्धक बनाई ९८०८७९९५६७ र ९८१३५०९८०३ नम्बरबाट मेरो मोबाइल नम्बर ९८४४०५१५१२ मा फोन सम्पर्क गरेर  ५० लाख रूपैयाँ फिरौती रकम माग गर्नुको साथै कपुरधारा स्थित तुलसीनारायण महर्जनको घरमा डेरा गरी बस्ने धर्वेन्द्र ठाकुरको कोठामा मिति २०६८।०८।०४ गते निर्मतापूर्वक कर्तव्य गरी हत्या गरी मिति २०६८।०८।०७ गते कलंकीमा लास फ्याँकेको थाहा हुन आएको र मृतक लास काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१४ कलंकीस्थित बस काउन्टरमा रहेको सुटकेसमा प्याक गरिएको अवस्थामा लास फेला परी सो लास चिनी सनाखत गर्दा मेरो छोरा शुभमकुमार साहको भएको यकिन भएकोले सनाखत गरिदिएको छु । निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलबमोजिम कार्यबाही चलाई हदैसम्मको सजाय गरिपाऊँ । साथै, मृतक छोराको सद्‍गत गर्ने अनुमतिसमेत पाउँ भनी रामभगत साहले कर्तव्य ज्यानसमेत मुद्दामा मिति २०६८।८।८ गते दिएको जाहेरी दरखास्त ।

पक्राउमा परेका प्रतिवादीलाई मुलुकी ऐन, अ.बं. १७३ नम्बरबमोजिम सनाखत परेडमा राखी सनाखत गराइँदा मिति २०६८।०८।०४ गते कलंकीस्थित सुपर सिता यातायातको काउन्टरमा आई टिकट काटेर ना ३ ख २६०४ नम्बरको बसमा कालो सुटकेस राख्‍ने व्यक्ति यिनै हुन्, पेट्रोल पम्पसम्म पुग्दा पनि सुटकेससँग सम्बन्धित व्यक्ति नआएकोले कलंकीस्थित काउन्टरमा फिर्ता ल्याइएको र सोही सुटकेस प्रहरी कर्मचारीले ऐ.७ गते खोल्दा मृतक बालकको लास फेला परेको हो भनी प्रतिवादी सन्तोषकुमार पण्डितलाई चिनी मिति २०६८।८।८ गतेको चुडामणी चौधरीले गरिदिएको सनाखत कागज ।

पक्राउमा परेका प्रतिवादीलाई मुलुकी ऐन, अ.बं. १७३ नम्बरबमोजिम सनाखत परेडमा राखी सनाखत गराइँदा मिति २०६८।०८।०४ गते कलंकीस्थित काउन्टरमा आई टिकट काटेर ना. ३ ख २६०४ नम्बरको बसमा कालो सुटकेस राख्‍ने व्यक्ति यिनै हुन्, पेट्रोल पम्पसम्म पुग्दा पनि सुटकेससँग सम्बन्धित व्यक्ति नआएकोले कलंकीस्थित काउन्टरमा फिर्ता ल्याइएको र सोही सुटकेस प्रहरी कर्मचारीले ऐ. ७ गते खोल्दा मृतक बालकको लास फेला परेको हो भनी प्रतिवादी सन्तोषकुमार पण्डितलाई चिनी मिति २०६८।८।८ गतेको सन्तोष मल्लले गरिदिएको सनाखत कागज ।

म ३ वर्षदेखि सिता यातायातमा बुकिङको काम गर्दै आएको छु । मिति २०६८।०८।०७ गते सोही काउन्टरमा काम गर्ने चुडामणी चौधरीले फोन गरी काउन्टरमा रहेको सुटकेसभित्र मृतक बालकको लास रहेको भनी बताएपछि म काउन्टरमा पुगी हेर्दा उक्त सुटकेस खोली हेर्दा भित्र बालक शुभमकुमार साहको लास फेला परेको थाहा पाएको हुँ । उक्त सुटकेस पक्राउमा परेका हाल नाम थर वतन खुलेका प्रतिवादी सन्तोषकुमार पण्डितले लिएर आएका थिए । इटहरी जाने बताई मिति २०६८।०८।०४ गते ना ३ ख २६०४ नम्बरको बसको A९ नम्बरको टिकट काटी साथमा ल्याएको (मृतकको लास राखिएको) सुटकेस सो बसको पछाडिको सिटमा राखेका थिए । निजले इटहरी जाने बताएकोले टिकट काटिदिएको हुँ । सो गाडी अन्दाजी १८:०० बजेको समयमा धरानको लागि छुटेको तर कलंकी ओरालोस्थित पेट्रोल पम्पअगाडि पुग्दा टिकट चेक गर्दै सिट नं.अनुसारको यात्रु भए नभएको चेक गर्दै जाने क्रममा सो सुटकेसको सम्बन्धित धनी फेला नपरेकोले सुटकेसको धनी छुटेको हुन सक्ने अनुमान गरी चुडामणी चौधरी र रविन कार्कीले उक्त सुटकेस सुरक्षित राखिदिने उद्देश्यले कलंकीस्थित काउन्टरमा ल्याई राखेका हुन् । सो सुटकेसमा बालकको मृत लास प्याक गरिएको कुरा ऐ. ७ गते प्रहरी कर्मचारी आएर खोलेपश्‍चात् मात्र थाहा पाएको हुँ । निज बालकलाई सन्तोष पण्डितसमेतका पक्राउ परेका प्रतिवादीहरू मिली बाफलबाट अपहरण गरी मारेका हुन् भन्‍ने सुनी थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको मिति २०६८।८।८ गतेको सन्तोष मल्लले गरिदिएको घटना विवरण कागज ।

म ३ वर्षदेखि सिता सुपर यातायातमा स्टाफको रूपमा काम गर्दै आइरहेको छु । मिति २०६८।०८।०७ गते म काउन्टमा भएको बेला प्रहरी कर्मचारी आएर ना. २ ख २६०४ नं. को बसमा रहेको कालो रंगको सुटकेसको बारेमा सोधेकोले सुटकेस काउन्टरमा नै रहेको बताएपछि प्रहरीले कलंकीस्थितमा सिता तथा सुपर सिताको काउन्टरमा रहेको कालो रंगको सुटकेस खोली हेर्दा मृतक शुभमकुमार साहको लास प्याक गरिएको अवस्थामा देखेको हुँ । उक्त सुटकेस पक्राउ परेका हाल नाम, थर, वतन खुलेका प्रतिवादी सन्तोषकुमार पण्डितले इटहरी जाने बताई मिति २०६८।०८।०४ गते ना. ३ ख २६०४ नम्बरको बसको टिकट काटी उक्त बसको पछाडिको A९ र १० नम्बरको सिटमा मृतक लास राखिएको सुटकेस राखेका हुन् । मसमेत सोही गाडीमा चढी टिकट चेक गर्दै जाँदा कलंकी ओरालोस्थित पेट्रोल पम्पसम्म जाँदा सो सुटकेसको सम्बन्धित धनी फेला नपरेकोले सुटकेसको धनी छुटेको हुन सक्ने अनुमान गरी म र रविन कार्कीले उक्त सुटकेस सुरक्षित राखिदिने विचार गरेर कलंकीस्थित काउन्टरमा ल्याई राखेका हौं । सो सुटकेसमा बालकको मृत लास प्याक गरिएको कुरा ऐ. ७ गते प्रहरी कर्मचारी आएर खोलेपश्‍चात् मात्र थाहा पाएको हुँ । निज बालकलाई सन्तोष पण्डितसमेतका पक्राउ परेका प्रतिवादीहरू मिली बाफलबाट अपहरण गरी मारेका हुन् भन्‍ने सुनी थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको मिति २०६८।८।८ गतेको चुडामणी चौधरीले गरिदिएको घटना विवरण कागज ।

मिति २०६८।०८।०७ गते प्रहरी कर्मचारीसमेतले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी स्थितमा सिता तथा सुपर सिताको काउन्टरमा रहेको कालो रंगको सुटकेस खोली हेर्दा मृतक शुभमकुमार साहको लास प्याक गरिएको अवस्थामा फेला परेको कुरा सोही काउन्टरमा काम गर्ने चुडामणी चौधरीले फोन गरी बताएकाले म काउन्टरमा पुग्दा मृतक बालक र खोलिएको सुटकेस देखेको हुँ । मिति २०६८।०८।०४ गते अन्दाजी २०:०० बजेको समयमा सो काउन्टरबाट मेरो एउटा बस रौतहट जाने भएको हुँदा म सो काउन्टरमा गएको समयमा एक जना यात्री छुटेको भनी चुडामणी चौधरी र रविन कार्कीले कालो सँगको सुटकेस ल्याएर काउन्टरमा राखेको देखेको हुँ । ताल्चा लगाएको सो सुटकेस मिति २०६८।०८।०७ मा प्रहरी कर्मचारीले खोलेपछि मात्र सुटकेसभित्र मृतक शुभमकुमार साह लास प्याक गरिएको रहेछ । निज बालकलाई सन्तोष पण्डितसमेतका पक्राउ परेका प्रतिवादीहरू मिली बाफलबाट अपहरण गरी मारेका हुन् भन्‍ने सुनी थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको मिति २०६८।८।८ गतेको दिपक ढकालले गरिदिएको घटना विवरण कागज ।

हाजिर गराइएका सन्तोष मल्ल, चुडामणी चौधरी र दिपक ढकाललाई बसन्त आचार्यको जिम्मा जमानीमा छाडिएको कागज मिसिल सामेल रहेको ।

शुभमकुमार साहको अपहरण, हत्या र शव भेटिएको सम्बन्धी पत्रिकामा प्रकाशित समाचारका कट प्रति मिसिल सामेल रहेको ।

मिति २०६८।०८।०७ गते प्रहरी कर्मचारीसमेतले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकीस्थित सिता तथा सुपर सिताको काउन्टरमा रहेको कालो रंगको सुटकेस खोली हेर्दा मृतक शुभमकुमार साहको लास प्याक गरिएको अवस्थामा फेला परेको हो, हाल नाम, थर, वतन खुलेका पक्राउ प्रतिवादी सन्तोषकुमार पण्डितले इटहरी जाने बताई मिति २०६८।०८।०४ गते ना. ३ ख २६०४ नम्बरको बसको टिकट काटी मृत लास राखिएको सुटकेस सो बसमा राखेका हुन् । मसमेत सोही गाडीमा चढी टिकट चेक गर्दै जाँदा कलंकी ओरालोस्थित पेट्रोल पम्मसम्म जाँदा सो सुटकेसको सम्बन्धित धनी फेला नपरेकोले सुटकेसको धनी छुटेको हुन सक्ने अनुमान गरी म र चुडामणी चौधरीले उक्त सुटकेस सुरक्षित राखिदिने उद्देश्यले कलंकीस्थित काउन्टरमा ल्याई राखेका हौं । सो दिन गाडीमा कन्डक्टर नभएको हुँदा म कन्डक्टरको रूपमा सो गाडीमा चढी धरान गएको हुँ । पछि प्रहरी कर्मचारी आएर खोलेपश्‍चात् सो सुटकेसमा बालकको मृत लास प्याक गरिएको फेला पर्‍यो भनी मैले ऐ. को ८ गते मात्र थाहा पाएको हुँ । सो सुटकेस लिएर आउने मानिस मैले देखेको छैन । निज बालकलाई सन्तोष पण्डितसमेतका पक्राउ परेका प्रतिवादीहरू मिली बाफलबाट अपहरण गरी मारेका हुन् भन्‍ने सुनी थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको मिति २०६८।८।९ गतेको रविन कार्कीले गरिदिएको घटना विवरण कागज ।

राघवप्रसाद चौधरीसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सन्तोषकुमार पण्डितसमेत भएको अपहरण तथा शरीर बन्धक मुद्दा सम्मानित जिल्ला अदालत धनुषामा विचाराधीन रहेको हुँदा पक्राउमा परेका प्रतिवादी सन्तोषकुमार पण्डितलाई उपस्थित गराइदिनु हुन भन्‍नेसमेत बेहोराको जिल्ला प्रहरी कार्यालय, धनुषाको मिति २०६८।८।९ गतेको प्रहरी सञ्‍चार पत्र ।

The autopsy findings and the conditions of the body are consistent with the alleged time of death of Subham Kumar Shah. The hyperpigmented area around the mouth over the face are suggestive for some chemical substance contact area through the alleged piece of cloth. There are signs of asphyxia1 mode of death which is possibly by chloroform inhalation through piece of cloth in respiratory artifices which looks forceful because of the presence of fingertip like constitutions in upper arm and contusion in upper lip. The alleged history of the case for time of taken meal and time of passing urine are consistent with findings in stomach and urinary bladder. The collected blood analysis cannot give any presence of chloroform molecule because of its very quick oxidizing property, highly volatile state of the compound and long time span after death. The cause of Death is SUFFOCATION possibly During forceful CHLOROFORM INHALATION.  भन्‍नेसमेत बेहोराको Kathmandu Autopsy Centre, Department of Forensic Medicine, शिक्षण अस्पताल महाराजगन्जको Autopsy report प्रतिवेदन ।

काठमाडौं जिल्ला सितापाइला गा.वि.स. वडा नं.१ स्थित अरूणासिंह डंगोलको घरको माथिल्लो तलाको दक्षिणपट्टिको कोठामा काम नलाग्ने अवस्थामा रहेका चिजवस्तुहरू पाइएको र सोही कोठामा DIESEL लेखिएको पछाडि भिर्ने कालो ब्याग खोली हेर्दा हारती शिक्षा मन्दिर लेखेको शुभमकुमार साहको डायरी, जुनियर स्कुल निबन्ध र चिठी नामको पुस्तकसमेतका किताब  थान ६, ज्यामिति बक्स, कपी थान १४ र सेतो प्लाष्टिकमा पेन्सिलहरूसमेत फेला परेको हुँदा बरामद गरिएको भन्‍नेसमेत बेहोराको मिति २०६८।८।१२ गतेको खानतलासी तथा बरामदी मुचुल्का ।

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ स्थित सिता पौडेलको खाली जग्गामा शुभमकुमार साहको हारती शिक्षा मन्दिरको आई.डी. कार्ड, हारती शिक्षा मन्दिरको लोगो भएको पेटी, टाई र खाली सिसी थान १ फेला पारी बरामद गरिएको भन्‍नेसमेत बेहोराको मिति २०६८।८।१२ गतेको खानतलासी तथा बरामदी मुचुल्का ।

भोला भन्‍ने देवेन्द्र ठाकुर र सन्तोषकुमार पण्डितलाई साथमा लिई निजहरूले देखाएबमोजिम काठमाडौं जिल्ला सितापाइला गा.वि.स. वडा नं.१ स्थित अरूणासिंह डंगोलको घरको दक्षिणपट्टिको कोठाबाट DIESEL लेखिएको कालो ब्याग, हारती शिक्षा मन्दिर लेखेको शुभमकुमार साहको डायरी, जुनियर स्कुल निबन्ध र चिठी नामको पुस्तकसमेतका किताब थान ६, ज्यामिती बक्स, कपी थान १४ र सेतो प्लाष्टिकमा पेन्सिलहरू तथा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा २९ स्थित सिता पौडेलको खाली जग्गामा शुभमकुमार साहको हारती शिक्षा मन्दिरको आई.डी. कार्ड, हारती शिक्षा मन्दिरको लोगो भएको पेटी, टाई र खाली सिसी थान १ स्थानीय मानिसहरूको रोहबरमा रीतपूर्वकको खानतलासी एवम् बरामद गरिएकोले उल्लेख भएको सामान दसी प्रमाणको लागि प्रतिवादीहरू भोला भन्‍ने देवेन्द्र ठाकुर र सन्तोषकुमार पण्डितसमेत दाखिला गरेका छौं भन्‍नेसमेत बेहोराको मिति २०६८।८।१२ गतेको प्रहरी प्रतिवेदन ।

प्रतिवादीहरूको कल डिटेल मिसिल सामेल रहेको ।

९८०८२३१६१७, ९८१३५०९८०३ र ९८०८७९९५६७ नम्बरको कल डिटेल पठाइएको भन्‍नेसमेत बेहोराको महानगररीय प्रहरी अपराध महाशाखा, काठमाडौंको मिति २०६८।८।१४ गतेको पत्र ।

प्रतिवादीहरूको स्वास्थ्य परीक्षण प्रतिवेदन मिसिल सामेल रहेको ।

जाहेरवाला रामभगत साहलाई फिरौती रकम माग गर्दाको फोन संवाद रेकर्ड भएको सि.डी. थान १ र प्रतिवादी सन्तोषकुमार साहको बयानको भिडियो पठाइएको भन्‍नेसमेत बेहोराको महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको पत्र ।

म सामाखुशीमा कपाल काट्ने सैलुन पसल खोली काम गरिआएको छु । मेरो डेरामा श्रीमतीसमेत बसी आएकी थिइन् । पक्राउ परेका रामजी ठाकुर मेरा जेठान नाताका हुन् । भोला भन्‍ने देवेन्द्र ठाकुर, सन्तोष पण्डित, लालबाबु ठाकुर मेरा चिनजानका मानिस हुन् । भोला भन्‍ने देवेन्द्र ठाकुरले रामजी र मलाई निजको सैलुनमा बोलाई एक जना धनाढ्यको छोरा शुभमकुमार साहलाई अपहरण गरी बन्धक बनाई फिरौती लिने कुरा गरेकोले उक्त योजनाका लागि आँटिला राजिव महर्जन, बिनेश महर्जन, आशिष दुरा, विनय शिवहरी साहलाई भोला भन्‍ने देवेन्द्रमार्फत सामेल गराइएको हो । मसमेतको योजनामा सन्तोषकुमार पण्डित, भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी, आशिष दुरा, बिनेश महर्जन, राजिव महर्जन, विनय शिवहरी साहसमेत भई बालक अपहरणको योजना बनायौं । देवेन्द्रले शुभमकुमार साह हिँड्ने बाटो पहिचान गर्ने, सन्तोष र विनयले क्लोरोफर्मको व्यवस्था गर्ने, मोटरसाइकलको व्यवस्था दिपक बलामी र राजिव महर्जनले गर्ने, मोटरसाइकल आशिष दुराले चलाउने, म र सन्तोषले बालकलाई मेरो कपुरधारास्थित कोठामा राखी रेखदेख गर्ने, रामजी ठाकुरले फिरौतीका लागि फोन गर्ने, विनयले पनि समयसमयमा रेखदेख र फोन गर्ने सल्लाह भएको हो । सोही योजनाबमोजिम मिति २०६८।०८।०२ गते ९ बजे शुभमकुमार साह पैदल हिँडी स्कुलतर्फ जाँदै गर्दा रामजी ठाकुरले निज बालकलाई भान्जा भनी बोलाए । बोलाएर स्कुलसम्म मोटरसाइकलमा पुर्‍याइदिने भनी दिपक र राजिवले तयार गरी राखेको मोटरसाइकलमा राखी, विनय शिवहरीले व्यवस्थापन गरेको क्लोरोफर्म कपडामा लगाई रामजी ठाकुरले शुभमकुमार साहलाई सुँघाई सामाखुशीस्थित मेरो कोठामा बन्धक बनाइ म, रामजी ठाकुर र सन्तोष पण्डित कुरूवा बसेका हौँ । विनय शिवहरी साह बेलाबखत आएका तर बच्चाको अगाडि परेनन् । मेरो कोठामा मेरो श्रीमतीसमेत भएको हुँदा निज बालक रामजी ठाकुरको भान्जा नाता पर्ने र उपचारको लागि ल्याएको बताई श्रीमतीलाई बाहिर पठाउने गरेका थियौँ । बालकका बाबुसँग रू.५० लाख फिरौती रकम माग गर्ने काम सन्तोषकुमार पण्डित र रामजी ठाकुरले गरेका हुन् । पहिलो नम्बरमा प्रहरीले अनुसन्धान थालेको जानकारी भोला भन्‍ने देवेन्द्र ठाकुरले दिएकोले अर्को नम्बरबाट फोन गरेको हो । निज बालकले मसमेतलाई चिन्‍ने भएको हुँदा फिरौती रकम प्राप्‍त भए पनि निजलाई मार्ने योजना मसमेतले पहिले नै बनाइसकेका थियौँ । मेरो श्रीमतीले शंका गर्न थालेको र निज बालक रूने कराउने गर्नाले निज बालक शुभमकुमार साहलाई तत्कालै मार्ने मनसायले विनय शिवहरी साहसमेत कोठामा आएको बखत मिति २०६८।०८।०४ गते रामजी ठाकुरले निज बालकको दुवै खुट्टा र मैले दुवै हात समाएर बिस्तारामा सुतायौँ भने सन्तोषकुमार पण्डितले धेरै मात्रामा क्लोरोफर्म सुँघाएको केही क्षणमा निज बालकको मृत्यु भएको हो । उक्त समयमा मेरी श्रीमतीलाई बाहिर उनको दाजुकोमा बस्न पठाएका थियौँ । मारेपछि त्यसको जानकारी भोला भन्‍ने देवेन्द्र ठाकुरलाई र त्यसपछि लालबाबु ठाकुरलाई दियौँ । निज बालकको लासलाई फाल्नको लागि पहिले चामलको खाली बोरामा दुवै हात खुट्टा खुम्च्याएर राखी सो बोरालाई रामजी ठाकुर र सन्तोषकुमार पण्डितले सुन्धाराबाट किनेर ल्याएको सुटकेसमा प्याक गरेपश्‍चात् सो लास भएको सुटकेस सन्तोषकुमार पण्डित र रामजी ठाकुरले ट्याक्सीमा लिई कलंकीमा पुगी निजहरूले टिकट काटी पूर्वतर्फ जाने बसमा राखी फर्केको बताएका हुन् । मेरो कोठाबाट बरामद भएको छालाको जुत्ता, मोजा, क्याप अपहरित एवं मृतक बालक शुभमकुमार साहका हुन् । लठ्याउने औषधी सन्तोषले ल्याएका हुन् । बरामद भएको टाई, पेटी, ब्यागसमेत सन्तोष पण्डितले कता फाले मलाई थाहा भएन । अपहरणमा प्रयोग भएको मोटरसाइकल कसको हो कहाँ छ, मलाई थाहा छैन । बालकलाई मारेपछि पनि फिरौती लिन २५ लाख माग गरी रामजी ठाकुरले फोन गरेका हुन् । मिसिल संलग्न सि.डी.मा भएको फोन संवाद रेकर्डमा भएको फिरौती माग गर्ने व्यक्तिको आवाज रामजी ठाकुरको हो । प्राप्‍त भएको फिरौती रकम कामअनुसार बाँडफाँट गर्ने योजना थियो भन्‍नेसमेत बेहोराको मिति २०६८।८।१६ गतेको प्रतिवादी धर्वेन्द्र ठाकुरले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान कागज ।

जाहेरवाला रामभगत साहको छोरा शुभमकुमार साह धनी बाबुको छोरा भएको कुरा थाहा पाएपछि भोलाले बनाएको निजलाई अपहरण गर्ने योजनाबमोजिम मिति २०६८।०८।०२ गते भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी, आशिष दुरा, बिनेश महर्जन, राजिव महर्जन, विनय शिवहरी साह र मसमेत काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफलमा जम्मा भयौँ । बालक शुभमकुमार साह अध्ययनको लागि बिनेश महर्जनको घरनजिकको बाटो हुँदै हारती शिक्षा मन्दिर जाने हुँदा हामी सोही ठाउँनजिक बस्यौँ । अन्दाजी ०९:०० बजेको समयमा बालक शुभमकुमार साह एक्लै हिँडेर जान लागेको देखी रामजी ठाकुरले भान्जा भनेर बोलाई स्कुलसम्म मोटरसाइकलमा छाडिदिने बताएर मोटरसाइकलमा राखेर सोही मोटरसाइकलको पछाडि बसी क्लोरोफर्म सुँघाएर बेहोस बनायो । मोटरसाइकल विनेश महर्जनले मिलाएको हो । क्लोरोफर्मको व्यवस्था विनय शिवहरी साहले गरेका हुन् । मोटरसाइकल आशिष दुराले चलाएको र रामजी ठाकुर बालक शुभमलाई समाएर मोटरसाइकलमा पछाडि बसे । त्यस ठाउँबाट अपहरण गरेर पूर्वयोजनाबमोजिम निजहरूले निज बालकलाई लिएर काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ कपुरधारास्थित धर्वेन्द्र ठाकुरको कोठामा लिएर गयौँ । त्यसपश्‍चात् म पनि सोही कोठामा गएँ । धर्वेन्द्रको कोठामा निजको श्रीमती पनि भएको हुँदा निज बालक रामजी ठाकुरको भान्जा नाता पर्ने र उपचारको लागि ल्याएको भनी बतायौँ । बालकको झोला राजिव महर्जनले भोला भन्‍ने देवेन्द्र ठाकुरलाई दिए । धर्वेन्द्रको श्रीमतीलाई निजको जेठानकोमा बस्न पठाएका रहेछन् । कोठामा पुगेपश्‍चात् रामजी ठाकुरले ९८०८७९९५६७ मोबाइल नम्बरबाट जाहेरवालाको मोबाइल नं. ९८४४०५१५१२ मा फोन सम्पर्क गरेर तिम्रो छोरा हामीहरूको नियन्त्रणमा रहेको बताउनुको साथै फिरौती रकम पचास लाख माग गरेका हुन् । सो नम्बरमा प्रहरीले अनुसन्धान गर्न थालेको थाहा पाएकाले सो सिम बिगारी फालेको र नयाँ नम्बर ९८१३५०९८०३ फोन गरेर फिरौती रकम माग गर्न थाल्यौँ । रामजी ठाकुर, धर्वेन्द्र ठाकुर र मैले निज बालकको रेखदेख गर्ने गर्दथ्यौँ । निज बालकले मसमेतलाई चिन्‍ने भएको हुँदा फिरौती रकम प्राप्‍त भए पनि निजलाई मार्ने योजना मसमेतले पहिले नै बनाइसकेका थियौँ । मसमेतले निज बालकलाई अपहरण गरेर बन्धक बनाइराखेको कुरामा धर्वेन्द्र ठाकुरको श्रीमतीले शंका गरेको साथै निज बालक रूने कराउने गर्नाले राख्‍न असजिलो भई निज बालक शुभमकुमार साहलाई तत्कालै मार्ने मनसायले मिति २०६८।०८।०४ गते दिउँसो १४:३० बजेतिर रामजी ठाकुरले निज बालकको दुवै खुट्टा र धर्वेन्द्र ठाकुरले दुवै हात समाएर बिस्तारामा सुताए भने मैले धेरै मात्रामा क्लोरोफर्म सुँघाई कर्तव्य गरी मारेका हौँ । त्यसबेलामा विनय शिवहरी साह पनि थिए । त्यसपश्‍चात् निज बालकको लास टाढा फाल्ने उद्देश्यले म र रामजी ठाकुरले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका सुन्धाराबाट रू.२५०० मा सुटकेस किनेर ल्याई उक्त लासलाई पहिले चामलको खाली बोरामा दुवै हात खुट्टा खुम्च्याएर राखी सो बोरालाई सुटकेसमा प्याक गरेर ट्याक्सीमा राखेर कलंकीसम्म लगेर पूर्व जाने गाडीको काउन्टरबाट इटहरीसम्मको लागि टिकट काटेर म र रामजी ठाकुरले सो सुटकेस ना. ३ ख २६०४ नं.को बस खाली नै भएकोले बसको पछाडिको सिटमा राखेर फर्केका हौँ टिकट काट्दा आफूसँग एउटा सुटकेस लगेज भएको भनी काउन्टरमा बताएँ । टिकट काट्दा मैले आफ्नो नाम रन्जित झा भनी लेखाएको थिएँ । सो रात म दाइ नाता पर्ने उमेश ठाकुरकोमा गएर बसेँ । सायद सुटकेसको धनी गाडीमा नभेटेर स्टाफले काउन्टरमा ल्याई राखेको हुनुपर्दछ । बरामदित सामान शुभमकुमार साहको हो । सिरिन्जमा भएको औषधी डाइजेपाम हो । त्यो प्रयोग गरेको छैन । मृतक बालकसहितको सुटकेस गाडीमा राखीसकेपछि मसमेतले जाहेरवालालाई फोन सम्पर्क गरेर पच्चिस लाख फिरौती रकम माग गरेका थियौँ । सो सिम मसँग बरामद भएको हो । जाहेरवालासँग फिरौती रकम माग गर्दा रामजी ठाकुरले कुरा गरेका हुन् । मिसिल संलग्न सि.डी.मा भएको फोन संवाद रेकर्डमा भएको फिरौती माग गर्ने व्यक्तिको आवाज रामजी ठाकुरको हो । बालक शुभमकुमार साहलाई कर्तव्य गरी मारेको कुरा विनय शिवहरी साह, भोला भन्‍ने देवेन्द्र ठाकुर र लालबाबु ठाकुरलाई समेत जानकारी थियो । अरूले थाहा पाए, पाएनन् मलाई थाहा छैन । निज अपहरित एवं मृतक बालकको झोला राजिव महर्जनले भोला भन्‍ने देवेन्द्र ठाकुरलाई राख्‍न दिएका हुन् । निज बालकसँग सम्बन्धित निजको आई.डी. कार्ड, टाई बेल्ट, क्लोरोफर्मको सिसी धर्वेन्द्र ठाकुरको कोठाभन्दा पर खाली जग्गामा फालेकोमा बरामद भइसकेको छ । बरामद सुटकेस मसमेतले बालक शुभमकुमार साहको मृत लास प्याक गरेको सुटकेस हो । अपहरण गर्न प्रयोग गरेको मोटरसाइकल दिपक, विनेश, राजिव, आशिष कसले मिलाएका हुन् मलाई थाहा छैन । आशिषले बालकलाई कोठामा छोडेपछि मोटरसाइकल कता लगे थाहा छैन । निज बालकलाई अपहरण गर्ने सुरू योजना म र भोला भन्‍ने देवेन्द्र ठाकुरबिच भएको हो । भोलाले योजनामा रामजी ठाकुरलाई संलग्न गराएपछि रामजी ठाकुरले लालबाबु ठाकुर र धर्वेन्द्र ठाकुरलाई पनि संलग्न गराए । दिपक बलामी र बिनेश महर्जनलाई भोला भन्‍ने देवेन्द्र ठाकुरले योजनामा संलग्न गराएका र निजहरूले राजिव महर्जन र आशिष दुरालाई पनि योजनामा संलग्न गराए । विनय शिवहरी साहलाई मैले संलग्न गरेको हुँ भन्‍नेसमेत बेहोराको मिति २०६८।८।१६ गतेको प्रतिवादी सन्तोषकुमार पण्डितले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान कागज ।

मेरो चिनजानका भोला भन्‍ने देवेन्द्र ठाकुरले मलाई फोन गरी बोलाएकोले जाँदा निज देवेन्द्र र सन्तोष पण्डितले जाहेरवाला रामभगत साहको छोरा शुभमकुमार साहलाई अपहरण गर्ने र फिरौती माग गर्ने योजना सुनाएकोले उक्त योजनामा म पनि भोला भन्‍ने देवेन्द्र ठाकुर र सन्तोष पण्डितको योजनामा सहमत भएँ । अपहरण गर्न मोटरसाइकल आवश्यकता पर्ने भएकोले भोला भन्‍ने देवेन्द्र ठाकुरले दिपक बलामी, आशिष दुरा, बिनेश महर्जन र राजिव महर्जनलाई सामेल गराए । अपहरण गरी बालकलाई धर्वेन्द्र ठाकुरको कोठामा राख्ने योजनाबमोजिम मिति २०६८।०८।०२ गते अन्दाजी ९:०० बजेको समयमा सन्तोषकुमार पण्डित, भोला भन्‍ने देवेन्द्र ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी, आशिष दुरा, बिनेश महर्जन, राजिव महर्जन, विनय शिवहरी साह र मसमेत काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफलमा जम्मा भई बालक शुभमकुमार साह एक्लै हिँडेर स्कुलतर्फ जान लागेको अवस्थामा मैले भान्जा भनेर बोलाई स्कुलसम्म मोटरसाइकलमा छाडिदिने बताएर मोटरसाइकलमा राखेर सोही मोटरसाइकलको पछाडि बसी क्लोरोफर्म सुँघाएर बेहोस बनाएँ । क्लोरोफर्म विनय शिवहरी साहले व्यवस्था गरेका हुन् । मोटरसाइकल आशिष दुराले चलाएको र म बालक शुभमकुमार साहलाई समाएर मोटरसाइकलमा पछाडि बसी त्यस ठाउँबाट अपहरण गरेर पूर्वयोजनाबमोजिम काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ कपुरधारास्थित धर्वेन्द्र ठाकुरको कोठामा लिई बन्धक बनाई राखेका हौँ । धर्वेन्द्र ठाकुरको कोठामा निजको श्रीमती पनि भएको हुँदा निज बालक मेरो भान्जा नाता पर्ने र उपचारको लागि ल्याएको बतायौँ । मैले मोबाइल नं.  ९८०८७९९५६७ नम्बरबाट जाहेरवालाको मोबाइल नं. ९८४४०५१५१२ मा सम्पर्क गरेर निजको छोरा नियन्त्रणमा रहेकोले फिरौती रकम पचास लाख माग गरेको हो । उक्त ९८०८७९९५६७ नम्बरको सिमकार्ड सम्बन्धमा प्रहरी कर्मचारीहरूले सोधपुछ गर्न लागेको कुरा भोला भन्‍ने देवेन्द्र ठाकुरले बताएको हुँदा सन्तोषले सो सिमकार्ड टोकेर फालेको हो । त्यसपश्‍चात् ९८१३५०९८०३ नम्बरबाट फोन गरेर फिरौती रकम माग गर्न थाल्यौँ । सन्तोष पण्डित, धर्वेन्द्र ठाकुर र मैले निज बालकको रेखदेख गर्ने गर्दथ्यौँ । निज बालकले मसमेतलाई चिन्‍ने भएको हुँदा फिरौती रकम प्राप्‍त भए पनि निजलाई मार्ने योजना मसमेतले पहिले नै बनाइसकेका थियौँ । मसमेतले निज बालकलाई अपहरण गरेर बन्धक बनाई राखेको कुरामा धर्वेन्द्र ठाकुरको श्रीमतीले शंका गरेको साथै निज बालक रूने कराउने गर्नाले निज बालक शुभमकुमार साहलाई तत्कालै मार्ने मनसायले मिति २०६८।०८।०४ गते मैले निज बालकको दुवै खुट्टा र धर्वेन्द्र ठाकुरले दुवै हात समाएर बिस्तारामा सुताई सन्तोष पण्डितले धेरै मात्रामा क्लोरोफर्म सुँघाई कर्तव्य गरी मारेका हौँ । त्यसपश्‍चात् म र सन्तोषले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका सुन्धाराबाट सुटकेस किनेर ल्याई उक्त लासलाई पहिले चामलको खाली बोरामा दुवै हात खुट्टा खुम्च्याएर राखी सो बोरालाई सुटकेसमा प्याक गर्‍यौं । त्यसपश्‍चात् म र सन्तोषकुमार ठाकुरले ट्याक्सीमा राखेर कलंकीसम्म लगी पूर्व जाने गाडीको काउन्टरबाट इटहरीसम्मको लागि टिकट काटेर सो सुटकेस ना. ३ ख २६०४ नं.को बसको पछाडिको सिटमा राखेर फर्किएर लालबाबु ठाकुरको कोठामा सुतेको हुँ । बसको टिकट सन्तोष पण्डितले काटेका हुन् त्यसपश्‍चात् पनि मसमेतले जाहेरवालालाई फोन सम्पर्क गरेर पच्चिस लाख फिरौती रकम माग गरेका थियौँ । बरामदित सामान शुभमकुमार साहका हुन् । बालक शुभमकुमार साहलाई कर्तव्य गरी मारेको कुरा विनय शिवहरी साह, भोला भन्‍ने देवेन्द्र ठाकुर र लालबाबु ठाकुरलाई समेत जानकारी थियो । जाहेरवालासँग फिरौती रकम माग गर्दा सन्तोषले भनेबमोजिम मैले कुरा गरेको हुँ । मिसिल संलग्न सि.डी.मा भएको फोन संवाद रेकर्डमा भएको आवाज मेरै हो भन्‍नेसमेत बेहोराको मिति २०६८।८।१९ गतेको प्रतिवादी रामजी ठाकुरले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान कागज ।

मेरो चिनजानका भोला भन्‍ने देवेन्द्र ठाकुरसँग पुरानो र सन्तोष पण्डितसँग नयाँ चिनजान छ । भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर र सन्तोष पण्डितले जाहेरवाला रामभगत साहको छोरा शुभमकुमार साहलाई अपहरण गर्ने र फिरौती माग गर्ने योजना बनाएको भनी मलाई रामजी ठाकुरले सुनाएका उक्त योजनामा अपहरण गरेका बालकलाई मेरो कोठामा बन्धक बनाइराख्‍ने योजना सुनाएकोले अपहरण योजनामा सहमत भए पनि मेरो कोठा निजलाई राख्‍ने कुरा इन्कार गरेको हुँ । त्यसपछि धर्वेन्द्र ठाकुरको कोठामा अपहरित बालकलाई राख्‍ने कुरा निश्‍चित भएको हो । मिति २०६८।०८।०२ गते अन्दाजी ०९:०० बजेको समयमा सन्तोषकुमार पण्डित, रामजी ठाकुर, भोला भन्‍ने देवेन्द्र ठाकुर, धर्वेन्द्र ठाकुर, दिपक बलामी, आशिष दुरा, बिनेश महर्जन, राजिव महर्जन, विनय शिवहरी साह र मसमेत काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफलबाट बालक शुभमकुमार साह स्कुल जान लागेको समयमा निजलाई स्कुलसम्म मोटरसाइकलमा छाडिदिने बताइ आशिष दुराले चलाएको मोटरसाइकलमा रामजी ठाकुरले क्लोरोफर्म सुँघाएर बेहोस बनाई अपहरण गरेको हो । पूर्वयोजनाबमोजिम निज बालकलाई अपहरण गरी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ कपुरधारास्थित धर्वेन्द्र ठाकुरको कोठामा बन्धक बनाएर राखेको भनी रामजी ठाकुरले बताएका हुन् । म सो ठाउँमा गएको छैन । बालक के कुन अवस्थामा थिए मलाई थाहा छैन । जाहेरवालालाई फोन गरी पचास लाख रूपैयाँ फिरौती रकम माग गरेको कुरा जानकारी थियो । धर्वेन्द्र ठाकुर, सन्तोषकुमार पण्डित र रामजी ठाकुरले क्लोरोफर्म सुँघाइ मारेको र लासलाई सुटकेसमा राखी पूर्व जाने बसमा राखी छाडेको कुरा पछि थाहा पाएको हुँ । के कसरी काउन्टरमा फेला पर्‍यो, मलाई थाहा भएन । निज बालकलाई मार्नुपूर्व मलाई जानकारी गराएका थिएनन् । बरामदित सामान शुभमकुमार साहका हुन् । क्लोरोफर्म सन्तोषकुमार पण्डितले व्यवस्था गरेका हुन् । फिरौती माग गर्न प्रयोग भएका सिमकार्ड को, कसका हुन् ? मलाई थाहा छैन । फिरौती माग गर्दा रेकर्ड भएको आवाज रामजी ठाकुरको हो । निजलाई अपहरण गरेबापत मैले केही धनमाल लिए खाएको छैन । फिरौती रकम प्राप्‍त भएपछि मिलाएर बाँड्ने कुरा सन्तोष पण्डितले बताएका हुन् । फरार रहेका प्रतिवादीहरू अपहरण गर्दाको समयमा मात्र देखेको हुँदा मलाई निजहरूको नाम, थर, वतन जानकारी छैन भन्‍नेसमेत बेहोराको मिति २०६८।८।१९ गतेको प्रतिवादी लालबाबु ठाकुरले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान कागज ।

प्रतिवादीहरू सन्तोष पण्डित, भोला भन्‍ने देवेन्द्र ठाकुर र दिपक बलामी चिनजानका मानिस हुन् । अरूलाई चिन्दिनँ । प्रतिवादी दिपक बलामीले विनेश महर्जनको घरमा बोलाई मसँग अपहरणको योजनाको बारेमा कुरा गरी मोटरसाइकल चलाउने प्रस्ताव गरेकोमा म सहमत भएको हुँ । मिति २०६८।०८।०२ गते अन्दाजी ०९:०० बजेको समयमा योजनाबमोजिम शुभमकुमार साहलाई आउने बाटोमा सन्तोषकुमार पण्डित, रामजी ठाकुर, भोला भन्‍ने देवेन्द्र ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी, बिनेश महर्जन, राजिव महर्जन, विनय शिवहरी साह र मसमेत भई बालक शुभमकुमार साह स्कुल जान लागेको समयमा बाफलबाट पूर्वयोजनाबमोजिम अपहरण गरी निज बालकलाई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका २९ कपुरधारास्थित रामजी ठाकुरले देखाएको बाटो जाँदा एउटा घरबाट धर्वेन्द्र ठाकुर बाहिर निस्किए । निजको कोठामा बालकलाई छाडेँ । त्यसपछि म भोला भन्‍ने देवेन्द्र ठाकुरको पसलमा विनेश महर्जन, राजिव महर्जन, दिपक बलामी, देवेन्द्र ठाकुर त्यहाँ थिए । राजिव महर्जनले मोटरसाइकल कसलाई दिए थाहा भएन । को कसले के कति फिरौती मागे ? सो सम्बन्धमा मलाई थाहा छैन । निज बालकलाई मार्ने कार्यमा मेरो संलग्नता छैन । सन्तोषकुमार पण्डितसमेतले बालक शुभमकुमार साहको हत्या गरेको कुरा म पक्राउ परेपश्‍चात् मात्र थाहा पाएको हुँ । बालकलाई मारेको कुरा मलाई कसैले पनि बताएका थिएनन् । फिरौती माग गरेको सि.डी.मा भएको आवाज कसको हो म चिन्दिनँ अपहरणबापत मैले केही लिए खाएको छैन भन्‍नेसमेत बेहोराको मिति २०६८।८।१९ गतेको प्रतिवादी आशिष दुराले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान कागज ।

पक्राउ परेकामध्ये सन्तोषकुमार पण्डित, रामजी ठाकुर, भोला भन्‍ने देवेन्द्र ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी मेरो पूर्वचिनजानका मानिस हुन् । सन्तोषकुमार पण्डित मेरो पूर्व रूम पार्टनर हुन् । शुभमकुमार साह निजका दाजु नाता पर्ने विजयकुमार साहसँग मेरोमा कपाल काट्न आएका बखत निज बालक धनाढ्य बाबुको छोरा भएको, हाल आफूसँगै बसेर हारती शिक्षा मन्दिरमा अध्ययन गर्ने गरेको कुरा बताएका थिए । सो कुरा थाहा पाएपछि म र सन्तोष पण्डितले निज बालक शुभमकुमार साहलाई अपहरण गरी बन्धक बनाई बालकको बुबासँग फिरौती माग गर्ने योजना बनाइसकेका थियौँ । सो कार्यको लागि अन्य मानिस मोटरसाइकलको आवश्यकता पर्ने भएकोले रामजी ठाकुर र धर्वेन्द्र ठाकुरलाई पनि सामेल गराइयो । मोटरसाइकलको लागि दिपक बलामीसँग कुरा भई निजलाई पनि सामेल गराइयो । तत्‍पश्‍चात् योजनामा आशिष दुरा, विनेश महर्जन, लालबाबु ठाकुर, राजिव महर्जन र विनय शिवहरी साहलाई पनि सामेल गराइयो । योजनाबमोजिम मिति २०६८।०८।०२ गते हामी सबै भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफलबाट बालक शुभमकुमार साह स्कुल जान लागेको समयमा अन्दाजी ९:०० बजेको समयमा एक्लै हिँडिरहेको बेलामा रामजी ठाकुरले भान्जा भनी बोलाई निजलाई स्कुलसम्म मोटरसाइकलमा छाडिदिने बताई आशिष दुराले चलाएको मोटरसाइकलमा राखी रामजी ठाकुर पछाडि बसी क्लोरोफर्म सुँघाएर बेहोस बनाई अपहरण गरी कपुरधारास्थित धर्वेन्द्र ठाकुरको कोठामा बन्धक बनाई राखेका हौँ । सो समयमा धर्वेन्द्रलाई श्रीमती बाहिर बस्न पठाउनु भनेकाले योजनाबमोजिम निजकी श्रीमतीलाई बाहिर पठाएको हो । बच्चाको रेखदेख धर्वेन्द्र ठाकुर, सन्तोष पण्डित र रामजी ठाकुरले गर्ने गर्दथे । बालक शुभमकुमार साहका बुबालाई फोन गरी बालक अपहरण गरी बन्धक बनाएको कुरा जानकारी गराएको र रामजी ठाकुरले फोन गरी पचास लाख रूपैयाँ फिरौती रकम माग गरेको कुरा बताएका हुन् । सो सम्बन्धमा हामीबिच के कसो भइरहेको थियो भन्‍ने खबर आदान प्रदान भइरहन्थ्यो । पहिलेको सिमकार्डको बारेमा सोधपुछ हुन थालेको कुरा मलाई थाहा भएकोले सो सिम प्रयोग नगर्न भनेको थिएँ । सोपश्‍चात् पुरानो सिम फाली नयाँ सिमकार्डबाट पचास लाख रूपैयाँ दिन नसके चालिस लाख रूपैयाँ दिनु भनी फिरौती माग गरेको कुरा सन्तोष पण्डितले मलाई बताएका हुन् । फिरौती रकम माग गर्ने काम सन्तोषकुमार पण्डित र रामजी ठाकुरले गरेका हुन् । निज बालकले मसमेतलाई चिन्‍ने र अपहरण गरेर बन्धक बनाई राखेको कुरामा धर्वेन्द्र ठाकुरको श्रीमतीले शंका गरेको साथै निज बालक रूने कराउने गर्नाले निज बालक शुभमकुमार साहलाई तत्कालै मार्ने मनसायले मिति २०६८।०८।०४ गते रामजी ठाकुर, धर्वेन्द्र ठाकुर र सन्तोषकुमार पण्डितले अत्यधिक मात्रामा क्लोरोफर्म सुँघाई मारेको कुरा निजहरूले मलाई जानकारी गराएका थिए । त्यसपश्‍चात् मसमेतको सल्लाहमा निजहरूले मृतक बालकको लास सुटकेसमा प्याक गरेर पूर्व जाने गाडीमा राखी फर्केको समेत बताएका थिए । बरामदित सामानहरू शुभमकुमार साहको हो । अपहरित एवं मृतक बालकको झोला राजिव महर्जनले मलाई राख्‍न दिएको हुँदा मैले सैलुन सञ्चालन गरेको अरूणा सिंह डंगोलको घरको पछाडिपट्टिको काम नलाग्ने सामान फाल्ने गरेको कोठामा राखेकोमा प्रहरी कर्मचारीहरूले बरामद गरिसकेका छन् । मिसिल संलग्न सि.डी.मा भएको फोन संवाद रेकर्डमा भएको फिरौती माग गर्ने व्यक्तिको आवाज रामजी ठाकुरको हो । प्राप्‍त भएको फिरौती रकमबमोजिम रकम बाँडफाँट गर्ने योजना थियो । बिनेश महर्जन, दिपक बलामी, आशिष दुरा र राजिव महर्जन मेरो सम्पर्कमार्फत योजनामा संलग्न भएका हुन् भन्‍नेसमेत बेहोराको मिति २०६८।८।१९ गतेको प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुरले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान कागज ।

पूर्वचिनजानका भोला भन्‍ने देवेन्द्र ठाकुरले एकजना बालकलाई अपहरण गरी ठुलो मात्रामा फिरौती रकम माग गर्ने योजना बनाएको र सो कार्यको लागि एउटा मोटरसाइकल चाहिएको बताएपछि मसमेत उक्त योजनामा संलग्न भएँ । भोलाले उक्त योजनाको बारेमा विनेश महर्जनलाई समेत भनेका रहेछन् । हामीले आशिष दुरा र राजिव महर्जनलाई समेत सो योजनामा सामेल गरायौँ । अपहरण गर्दा मोटरसाइकल चलाउनको लागि एकजना व्यक्तिको आवश्यकता परेको भनी भोला भन्‍ने देवेन्द्र ठाकुरले मलाई भनेको हुँदा अपहरण गर्ने कार्यमा म पनि सहमत भई आशिष दुरालाई अपहरण गर्ने योजनामा संलग्न गराएको हुँ । राजिव महर्जनले मोटरसाइकलको व्यवस्था गरे भने मोटरसाइकल चलाउन आशिष दुरा सहमत भए । मिति २०६८।०८।०२ गते सन्तोषकुमार पण्डित, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, भोला भन्‍ने देवेन्द्र ठाकुर, लालबाबु ठाकुर, आशिष दुरा, बिनेश महर्जन, राजिव महर्जन, विनय शिवहरी साह र मसमेतले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफलबाट बालक शुभमकुमार साह स्कुल जान लागेको समयमा क्लोरोफर्म सुँघाएर बेहोस बनाई अपहरण गर्ने पूर्व योजनाबमोजिम निज बालकलाई अपहरण गरी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ कपुरधारास्थित धर्वेन्द्र ठाकुरको कोठामा बन्धक बनाई राखेको हो । निज बालकको बाबुलाई फोन गरी फिरौती रकम माग गरेको कुरा मलाई बताएका थिए । तर कुन नम्बरबाट फोन गरेका हुन् थाहा भएन । सन्तोषकुमार पण्डितसमेतले बालक शुभमकुमार साहको हत्या गरेको कुरा म पक्राउ परेपश्‍चात् मात्र थाहा पाएको हुँ । प्राप्‍त भएको फिरौती रकम बाँडफाँट गर्ने कुरा भोला भन्‍ने देवेन्द्र ठाकुर र सन्तोषकुमार पण्डितले बताएका थिए भन्‍नेसमेत बेहोराको मिति २०६८।८।२१ गतेको प्रतिवादी दिपक बलामीले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान कागज ।

मोबाइल नं.८०८९८२७५८, ९८४३०६६१९२, ९८१३४७५३८१ र ९८०३२६६८२४ को कल डिटेल पठाइएको भन्‍नेसमेत बेहोराको महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको पत्र र पत्रसाथ प्राप्‍त कल डिटेल विवरण ।

पक्राउमा परेका प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुरले काठमाडौं जिल्ला सितापाइला गा.वि.स. वडा नं.१ चक्रपथ बाफलस्थित हाम्रो घरमा कोठा भाडामा लिई राजु हेयर ड्रेसर नामको सैलुन सञ्चालन गरेका छन् । निजसमेतले जाहेरवाला रामभगत साहको छोरालाई अपहरण गरेर बन्धक बनाई फिरौती रकम माग गर्नुको साथै हत्या गरेको कुरा पत्रपत्रिका एवं सञ्‍चार माध्यमहरूबाट थाहा पाएको हुँ । मेरो घरको पछाडिपट्टि रहेको काम नलाग्ने सामान फाल्ने गरिएको कोठाबाट अपहरित एवं मृतक बालकको किताबसहितको झोला प्रहरी कर्मचारीले बरामद गरेका हुन् । सो झोला निज भोला भन्‍ने देवेन्द्र ठाकुरले राखेको हुनुपर्छ भन्‍नेसमेत बेहोराको मिति २०६८।८।२६ गतेको अरूणा सिंह डंगोलले गरिदिएको घटना विवरण कागज ।

पक्राउमा परेका प्रतिवादी सन्तोषकुमार पण्डितसमेतले जाहेरवाला रामभगत साहको छोरालाई अपहरण गरेर बन्धक बनाई फिरौती रकम माग गर्नुको साथै हत्या गरेको कुरा पत्र पत्रिका एवं सञ्‍चार माध्यमहरूबाट थाहा पाएको हुँ । निज प्रतिवादीहरूले ९८०८७९९५६७ नम्बरको मेरो नामबाट निकालेको सिमकार्ड प्रयोग गरेर जाहेरवालालाई फोन सम्पर्क गरी फिरौती माग गरेको कुरा प्रहरी कर्मचारीहरू आएर मेरो नामको सो सिमकार्ड माग गर्दा मात्र थाहा पाएको हुँ । उक्त सिमकार्ड मेरो छोरीले प्रयोग गर्ने गरेको र निजका दुईवटा सिमकार्ड भएको हुँदा निजले फेरि फेरि चलाउने र निजले टोकरीमा राखेको समयमा मैले फोहोर सामानहरू फाल्दा सो सिमकार्डसमेत बाहिर फालेको हुनुपर्दछ । निज प्रतिवादीहरूले सो सिमकार्ड के कसरी फेला पारी फिरौती माग गर्न प्रयोग गरेका हुन्, मलाई थाहा छैन भन्‍नेसमेत बेहोराको मिति २०६८।८।२६ गतेको गमसरा खड्गीले गरिदिएको घटना विवरण कागज ।

पक्राउमा परेका प्रतिवादी सन्तोषकुमार पण्डितसमेतले जाहेरवाला रामभगत साहको छोरालाई अपहरण गरेर बन्धक बनाई फिरौती रकम माग गर्नुको साथै हत्या गरेको कुरा पत्रपत्रिका एवं सञ्‍चार माध्यमहरूबाट थाहा पाएको हुँ । निज प्रतिवादीहरूले ९८०८७९९५६७ नम्बरको मेरो आमाको नामबाट निकालेको सिमकार्ड प्रयोग गरेर जाहेरवालालाई फोन सम्पर्क गरी फिरौती माग गरेको कुरा प्रहरी कर्मचारीहरू आएर मसमेतलाई सोधपुछ गर्दा मात्र थाहा पाएको हुँ । उक्त सिमकार्ड मैले प्रयोग गर्ने गर्दथें । सो सिमकार्डमा ब्यालेन्स सकिएको र मसँग अर्को सिमकार्ड पनि भएको हुँदा सो सिमकार्ड मैले कोठाको टोकरीमा राखेको थिएँ, सो सिमकार्डमा ब्यालेन्स नभएको हुँदा मैले त्यसपश्‍चात् याद गरिनँ । मेरो आमाले फोहोर सामानहरू फाल्दा सो सिमकार्डसमेत फालेको हुनुपर्दछ । मैले उक्त नं.को सिमकार्ड कोही कसैलाई दिएको होइन । निज प्रतिवादीहरूले सो सिमकार्ड के कसरी फेला पारी फिरौती माग गर्न प्रयोग गरेका हुन्, मलाई थाहा छैन भन्‍नेसमेत बेहोराको मिति २०६८।८।२६ गतेको रिता शाही (खड्गी) ले गरिदिएको घटना विवरण कागज ।

पक्राउमा परेका प्रतिवादी धर्वेन्द्र ठाकुर काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ स्थित मेरो घरमा एउटा कोठा भाडामा लिई बस्ने गर्दछन् । निज प्रतिवादीसमेतले जाहेरवाला रामभगत साहको छोरालाई अपहरण गरेर निज बस्ने कोठामा बन्धक बनाई फिरौती रकम माग गर्नुको साथै हत्या गरेको कुरा पत्रपत्रिका एवं सञ्‍चार माध्यमहरूबाट थाहा पाएको हुँ भन्नेसमेत बेहोराको मिति २०६८।८।२७ गतेको तुलसीनारायण महर्जनले गरिदिएको घटना विवरण कागज ।

मिसिल संलग्न सि.डी.मा भएको फोन संवाद रेकर्डमा भएको आवाजमध्ये फिरौती माग गर्नेको आवाज पक्राउ प्रतिवादीहरूमध्येको हुनुपर्दछ भने Record 47 मा भएको आवाजबाहेक अन्य रेकर्डमा भएको अर्को व्यक्तिको आवाज मेरो हो । फोन संवाद रेकर्ड सुनी आवाज सनाखत गरिदिएँ भन्‍नेसमेत बेहोराको मिति २०६८।८।२८ गतेको जाहेरवाला रामभगत साहको सनाखत कागज ।

मिसिल संलग्न सि.डी.मा भएको फोन संवाद रेकर्डमा भएको आवाजमध्ये फिरौती माग गर्नेको आवाज पक्राउ प्रतिवादीहरूमध्येको हुनुपर्दछ भने Record 47 मा भएको अर्को व्यक्तिको आवाज मेरो र अन्य रेकर्डहरूमा भएको आवाज जाहेरवाला रामभगत साहको आवाज हो । फोन संवाद रेकर्ड सुनी आवाज सनाखत गरिदिएँ भन्‍नेसमेत बेहोराको मिति २०६८।८।२८ गतेको विजयकुमार साहको सनाखत कागज ।

जाहेरवालाको छोरा शुभमकुमार साह र म काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफलस्थित एउटै कोठामा बस्ने गर्दथ्यौँ । निज शुभमकुमार साह मेरो काकाका छोरा हुन् । निज र म काठमाडौं जिल्ला सितापाइलास्थित भोला भन्‍ने देवेन्द्र ठाकुरको सैलुनमा जाँदा निज भोला र सन्तोषकुमार पण्डित शुभमकुमार साहको बारेमा सामाजिक तथा आर्थिक अवस्थाको बारेमा जानकारी लिने गर्दथे । निज शुभम बिहान अन्दाजी ९ बजेको समयमा हारती शिक्षा मन्दिरमा पढ्न जाने र म भने एक्मी इन्जिनियरिङ कलेजमा पढ्ने भएको हुँदा मिति २०६८।०८।०२ गते बिहान म पढ्न गएँ । कलेजबाट फर्कँदा निज शुभमकुमार साह कोठामा थिएनन् । निज स्कुलबाट बेलुका ३/४ बजे मात्र फर्कने हुँदा निजलाई कुरेर कोठामा बसेको समयमा निजको बुबाले मलाई फोन गरेर एउटा अपरिचित व्यक्तिले फोन गरेर निज शुभम आफ्नो कब्जामा रहेको बताएको भनी मलाई फोन गरेर भनेको हुँदा म तत्काल निज पढ्ने गरेको हारती शिक्षा मन्दिरमा गएर सोधपुछ गर्दा निज सो दिन पढ्न नआएको बताएका थिए । त्यसपश्‍चात् भोला भन्‍ने देवेन्द्र ठाकुरलाई जानकारी छ कि भनेर म निजको पसलमा गई सोधपुछ गर्दा निजले आफूलाई जानकारी नभएको बताएका थिए । मिति २०६८।०८।०७ गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी स्थितमा सिता तथा सुपर सिता यातायातको काउन्टरमा रहेको सुटकेस खोली हेर्दा मृतक शुभमकुमार साहको लास प्याक गरिएको अवस्थामा फेला परेको र बुझ्ने क्रममा भोला भन्‍ने देवेन्द्र ठाकुर, सन्तोषकुमार पण्डितसमेतले शुभमकुमार साहलाई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफलबाट अपहरण गरेर बन्धक बनाई फिरौती रकम माग गर्नुको साथै कर्तव्य गरी मारेको थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको मिति २०६८।८।२८ गतेको विजयकुमार साहले गरिदिएको घटना विवरण कागज ।

कल डिटेल विश्‍लेषणबाट पक्राउ प्रतिवादीहरूबिचमा फोन सम्पर्क देखिएको भन्‍नेसमेत बेहोराको प्रतिवेदन ।

जाहेरवाला राम भगत साहका छोरा वर्ष ११ का बालक शुभमकुमार साहलाई अपहरण गरी बन्धक बनाई फिरौती माग गर्ने योजनाबमोजिम प्रतिवादीहरू सन्तोष पण्डित, धर्वेन्द्र ठाकुर, भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर, लालबाबु ठाकुर, विनय शिवहरी साह, राजिव महर्जन, आशिष दुरा, विनेश महर्जनसमेतले मिति २०६८।०८।०२ गते अन्दाजी ०९:०० बजेको समयमा शुभमकुमार साहलाई आउने बाटोमा फरक फरक भूमिका निर्वाह गर्दै बाटो ढुकी स्कुल जान लागेको समयमा बाफलबाट अपहरण गरी क्लोरोफर्म सुँघाई बेहोस बनाएर निज बालकलाई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ कपुरधारास्थित रामजी ठाकुर र आशिष दुराले धर्वेन्द्र ठाकुरको कोठामा लगी शरीर बन्धक बनाई शुभमकुमार साह आफ्नो कब्जामा रहेको भनी जाहेरवाला रामभगत साहसँग रू.५०,००,०००।- (पचास लाख रूपैयाँ) र बालक शुभमकुमार साहलाई मारिसकेपछि पनि ४० लाख, २५ लाखसम्म भन्दै पटकपटक फिरौती माग गरी अपहरणमुक्त गराउन रामजी ठाकुरले फोन गरेको देखिन्छ । बालकको रेखदेख गर्ने जिम्मा पाएका प्रतिवादीहरू सन्तोषकुमार पण्डित, धर्वेन्द्र ठाकुर र रामजी ठाकुरसमेत भई अपहरित बालकको कर्तव्य गरी हत्या गरी बोरामा पोको पारी सुटकेसमा हाली उक्त लाससहितको सुटकेस कलंकीमा गई सुपर सीता यातायातको टिकट काटी बसको सिटमा छाडी हिँडेको सप्रमाण पुष्‍टि हुन आएकोले प्रतिवादीहरू भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी र आशिष दुरालाई पीडित बालकलाई अपहरण गरी बन्धक बनाएतर्फ मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. को कसुर अपराधमा ऐ.महलको ३ नं.बमोजिम ७ वर्षदेखि १५ वर्षसम्म कैद र पचास हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म जरिवाना सजाय गरी ऐ. महलको ७ र ९ नं.बमोजिम थप सजाय हुन तथा ऐ. महलको १२ नं.अनुसार पीडितको नजिकको हकदारलाई प्रतिवादीहरूबाट क्षतिपूर्तिसमेत दिलाइदिन तथा पीडित बालक शुभमकुमार साहलाई कर्तव्य गरी मारेतर्फ प्रतिवादीहरू सन्तोषकुमार पण्डित, भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी र आशिष दुरालाई ऐ.ऐनको ज्यानसम्बन्धीको महलको १ र १३ नं.को देहाय ३ नं. को कसुर अपराधमा ऐ.महलको १३ नं.को देहाय ३ बमोजिम सजाय गरिपाऊँ । फरार प्रतिवादीहरू राजिव महर्जन, बिनेश महर्जन, विनय शिवहरी साह तथा अन्य नाम थर नखुलेका प्रतिवादीहरूका हकमा कानूनबमोजिम गरिपाऊँ । प्रस्तुत मुद्दाको घटना वारदातमा संलग्न फरार रहेका अभियुक्तहरू राजिब महर्जन, विनेश महर्जन, विनय शिवहरी शाह तथा अन्य नाम, थर, वतन नखुलेका व्यक्तिहरूको यकिन नाम, थर, वतन नखुलेकोले निजहरूको यकिन नाम, थर, वतन खुलिआएका बखत वा पक्राउमा परी आएका बखत कानूनबमोजिम गरिने छ भन्‍नेसमेत बेहोराको अभियोग पत्र ।

जाहेरवाला तथा निजको छोरालाई म चिन्दिनँ । मैले जाहेरवालाको छोरालाई अपहरण गरी बन्धक बनाई राखी जाहेरवालासँग फिरौती रकम माग गरेको होइन । कसैलाई कर्तव्य गरी मारेको पनि छैन । जाहेरवालाको छोरालाई विनय शिवहरी साह भन्‍नेले धर्वेन्द्र ठाकुरको कोठामा ल्याई राखेको र निजलाई ओभरडोज औषधी खुवाई दिई मारेका भन्‍ने कुरा मैले पक्राउ परेपछि मात्र थाहा पाएको हुँ । रामभगत साहको निवेदन र सिनामंगलमा भएको बरामदी मुचुल्का सम्बन्धमा मलाई थाहा छैन । मबाट ९८१३५०९८०३ को सिमकार्ड बरामद भएको होइन । सो सिमकार्ड रामजी ठाकुरबाट बरामद भएको हो । मबाट बरामद भएको हो भनी किन लेखाए मलाई थाहा छैन । मलाई एयरपोर्टबाट एक्लै पक्राउ गरेका हुन् । अन्य प्रतिवादीहरूले के के गरे मलाई थाहा भएन । सन्तोष मल्ल र चुडामणी चौधरीलाई चिन्दिन । उनीहरूको सनाखत कागजबारे मलाई थाहा छैन । प्रस्तुत वारदातमा संलग्न नहुँदा मलाई अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी सन्तोषकुमार पण्डितले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।

प्रतिवादीमध्येका रामजी ठाकुर, सन्तोष पण्डित र दिपक बलामीलाई चिन्दछु अन्य प्रतिवादीहरूलाई म चिन्दिनँ । म जाहेरवालाको छोरा शुमभकुमार साहलाई अपहरण गरी फिरौती माग गर्ने कार्यमा र जाहेरवालाको छोरालाई हत्या गरी सुटकेसमा प्याक गरी कलंकीस्थित बसको काउन्टरमा लगी फाल्ने कार्यमा संलग्न छैन । प्रतिवादी सन्तोषकुमार पण्डितले अनुसन्धानमा गरेको बयान बेहोरा झुट्टा हो । जाहेरवालासँग फिरौती रकम माग गर्न प्रयोग भएको मोबाइल नम्बर कस्को हो, मलाई थाहा छैन । मैले विजयकुमारसँग निजको आर्थिक अवस्थाको बारेमा जानकारी लिने गरेको थिएन । मसमेत भई जाहेरवालाको छोरालाई कर्तव्य गरी मारेको हो भन्‍ने बेहोरा झुट्टा हो । मैले मृतकको झोला राजिव महर्जनलाई राख्‍न दिएको छैन । मैले अभियोग मागदाबीअनुसारको कसुर नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन । अनुसन्धान अधिकारीसमक्षको बयान मेरो स्वेच्छाविपरीत गराइको हो भन्‍नेसमेत बेहोराको प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुरले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।

जाहेरवालाको छोरा शुमभकुमार साहलाई अपहरण गरी निजसँग फिरौती माग गर्ने जाहेरवालाको छोरालाई कर्तव्य गरी मार्ने कार्यमा म संलग्न छैन । जाहेरी बेहोरा झुट्टा हो । फरार प्रतिवादी विनय शिवहरी साह मेरो भान्जा हुन् । निज विनय शिवहरी साहले मेरा कोठामा शुभमकुमार साहलाई लिएर आए । त्यसपछि फ्रुटी किन्‍न लगाई खाए । आइतबार ३/४ बजेतिर मेरो कोठाबाट निज शुभमकुमार साहलाई विनय शिवहरी साहले एक्लै र जिउँदै लगेका हुन् । मलाई निजले अपहरण गरेर ल्याएका हुन् भन्‍ने थाहा थिएन । विनयले को हो भनी सोध्दा मेरो भान्जा हुन् भनी भनेका थिए । मेरो कोठामा बरामद भएका सामान विनय शिवहरी साहले लिएर आएका हुन् । बच्चालाई अपहरण गरेर ल्याउने र निजलाई क्लोरोफर्म सुँघाउने पनि विनय शिवहरी नै हुन् । उनीबाहेक अरू कसैको पनि संलग्नता छैन । निज बालकलाई मेरो कोठामा प्याक गरेपछि सन्तोष पण्डितले बसको टिकट काट्ने काम गरे । विनय शिवहरी साह र मैले लास प्याक गरेको सुटकेस ट्याक्सीमा लिएर गई सो सुटकेस बसको सिटमा राख्‍ने काम गरेका हौं । बसको टिकट काट्ने काम सन्तोष पण्डितले गरेका हुन् । निज शुभमकुमार साहलाई अपहरण गर्न म गएको हैन । मेरो कोठामा ल्याई बच्चाको हत्या गरेपछि लास सुरक्षित किसिमले गायब गर्ने काममा मेरो संलग्नता रहेको हो । मैले गल्ती गरेअनुसारको सजाय भोग्न तयार छु भन्‍नेसमेत बेहोराको प्रतिवादी धर्वेन्द्र ठाकुरले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।

जाहेरवालाको छोरा शुभमकुमार साहको अपहरण तथा निजलाई कर्तव्य गरी हत्या गर्ने कार्य तथा जाहेरवालासँग फिरौती माग गर्ने कार्यमा मेरो संलग्नता छैन । मिति २०६८।८।२ गते म आफ्नो घर महोत्तरी भरतपुर गा.वि.स.मा गएको थिएँ । म काठमाडौंमा थिइनँ । मैले अभियोग मागदाबीअनुसारको कार्य नगरेको हुँदा मलाई अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी लालबाबु ठाकुरले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।

फरार प्रतिवादी विनय शिवहरी साहले मिति २०६८।८।२ गते साँझ मलाई रक्सी खान दिई एकजना मानिससँग ५० लाख रूपैयाँ मागी तिम्रो छोरालाई हामीले अपहरण गरी कब्जामा राखेका छौँ, ५० लाख दिएमा तिम्रो छोरालाई छाडिदिन्छौँ भनी फोन गर भनी भनेको हुँदा मैले जाहेरवालालाई तिम्रो छोरा हाम्रो कब्जामा छ, ५० लाख रूपैयाँ दिएमा छाडिदिन्छौँ भनी विनय शिवहरी साहले फोन सम्पर्क गरी मलाई दिएको जाहेरवालासँग मोबाइलमा कुरा गरेको हुँ । मैले फिरौती माग गर्दा प्रयोग भएका मोबाइल नं.९८०८७९९५६७ र ९८१३५०९८०३ नं.का मोबाइलहरू हुन् । ती मोबाइलहरू विनय शिवहरी साहले ल्याएका थिए । मैले अभियोग मागदाबीअनुसारको अपहरण गर्ने तथा कर्तव्य गरी हत्या गर्ने कार्य नगरेको र विनय शिवहरी साहले भनेअनुसार फिरौती माग गर्नेसम्मको काम गरेको हुँ । कानूनबमोजिम होस् भन्‍नेसमेत बेहोराको प्रतिवादी रामजी ठाकुरले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बयान । 

अपहरण गर्ने कार्यमा मेरो संलग्नता रहेको छैन । देवेन्द्र ठाकुर मसँग झगडा भएको मानिस हो । निजले मलाई समेत फसाउनको लागि मेरो नाम उल्लेख गरी बयान गरेको हुनुपर्छ । मैले शुभमकुमार साहको अपहरण कार्यको लागि मोटरसाइकलको व्यवस्था मिलाएको होइन । आशिष दुरालाई मोटरसाइकल चलाउन भनी भनेको पनि होइन । मैले अभियोग मागदाबीअनुसारको कसुर नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी दिपक बलामीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बयान । 

प्रतिवादीमध्येका दिपक बलामी मेरो स्कुल पढ्दादेखिकै साथी हुन् । नाम अहिले आएर मात्र थाहा भएको देवेन्द्र ठाकुरको सैलुनमा जाँदा दिपक बलामीको मितबुबाको मृत्यु भएको खबर आउँदा निज भोला भन्‍ने देवेन्द्र ठाकुरले खुसी भएका शब्दहरू प्रकट गरेका रहेछन् र निज दिपक बलामी र निजको बिचमा झगडा भएको रहेछ । म दिपक बलामीसँगै हिँड्ने हुँदा निज देवेन्द्र ठाकुरले आफू पक्राउ परेको कारण मसमेतलाई कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धक मुद्दामा नाम दिएको हुनुपर्छ । म अपहरण तथा शरीर बन्धक र कर्तव्य गरी हत्या गरेको मुद्दामा संलग्न भएको छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी आशिष दुराले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।

प्रतिवादीहरू उपरको किटानी जाहरी दरखास्त, घटनास्थल मुचुल्का, बरामदी मुचुल्का, जाहेरवालाको सनाखत कागज मिसिल, संलग्न फिरौती माग गर्दाको अवस्थामा रेकर्ड भएको सि.डी., बुझिएका मानिसहरूको भनाइ, शव परीक्षण प्रतिवेदन, प्रतिवादीहरूको अधिकारप्राप्‍त अधिकारीसमक्षको बयानसमेतका तत्काल प्राप्‍त प्रमाणबाट यी प्रतिवादीहरूले आरोपित  कसुर गरेको कुरामा विश्‍वास गर्नुपर्ने हुँदा र कसुरको गाम्भीर्यसमेतलाई विचार गरी अ.बं.११८ को देहाय २ बमोजिम यी प्रतिवादीहरू सन्तोषकुमार पण्डित, रामजी ठाकुर, लालबाबु ठाकुर, आशिष दुरा, दिपक बलामी, धर्वेन्द्र ठाकुर र भोला भन्‍ने देवेन्द्र ठाकुरलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्‍नु भनी अ.बं. १२१ बमोजिमको थुनुवा पुर्जी दिई कारागार कार्यालयमा लेखी पठाइदिनू । प्रतिवादी चुक्ता भएको हुँदा जाहेरवाला तथा बुझिएका मानिसहरूलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत र प्रतिवादीका साक्षी निजहरूमार्फत उपस्थित गराई बकपत्रको लागि पेस गर्नु र दसीको रूपमा प्राप्‍त सामान जिन्सीमा आम्दानी बाँध्नु भनी अ.बं. १२१ नं.बमोजिम यो आदेश गरिदिएको छ भन्‍नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८।०९।१२ को थुनछेक आदेश ।  

प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुरलाई मैले बच्चैदेखि चिनेको छु । मलाई साक्षी राखेको हिजो मात्र थाहा भएको हो । निजले सैलुन गरेर खाई आएका थिए । निजले यस्तो कसुर गरेको मलाई थाहा छैन । निजलाई सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुरको साक्षी अमिरी ठाकुर हजामले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादी आशिष दुरालाई सानैदेखि चिन्दथेँ । निज असल चालचलन भएका मेहनती केटा हुन् । निजको मोटरसाइकलको लाइसेन्स नभएकोले निजले मोटरसाइकल चलाएको भन्‍ने कुरा मलाई  विश्‍वास लाग्दैन । उनी ब्रिटिस गोर्खा कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी भएकोले वारदात भएको दिन कलेजमा हाजिर भई अध्ययन गरेका छन् । निजउपर लगाएको अभियोग झुट्टा हुँदा सफाइ पाउनुपर्दछ भन्‍नेसमेत बेहोराको प्रतिवादी आशिष दुराको साक्षी गोकुलप्रसाद दुराले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादी लालबाबु ठाकुरलाई चिन्दछु । निजसँग मेरो छोरीको विवाह गर्ने कुरा चलेकोले वारदात भएको दिन निजलाई हेर्न भनी म उसको घर गएको थिएँ । काठमाडौंमा पसल गरेका छन्, चालचलन कमाइ राम्रो छ भन्‍ने सुनेर गएको हुँ । अरू मलाई थाहा छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी लालबाबु ठाकुरको साक्षी देवनारायण ठाकुरले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादी दिपक बलामीको बुबा मेरो साथी थिए । साथी भएको नाताले निजको छोरा दिपक बलामीलाई सानैदेखि चिनेको हुँ । निजको चालचलन राम्रो भएकोले कसुर गरे जस्तो लाग्दैन भन्‍नेसमेत बेहोराको प्रतिवादी दिपक बलामीको साक्षी रूपेस शाहीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादी सन्तोषकुमार पण्डित स्कुलमा पढ्दा पहिलो हुने अध्ययनशील विद्यार्थी हुन् । निजको चालचलन राम्रो थियो । निजले जनकपुरको भानुचोक रेल्वे स्टेसनमा पाण्डे टुर एण्ड ट्राभल खोलेर बसी बसको टिकट, प्लेनको टिकट र पासपोर्ट बनाउने कार्यसमेत गर्दै आएका थिए । जनतान्त्रिक तराईमुक्ति मोर्चा ज्वाला सिंहका पार्टीमा जिल्ला कमान्डर अभय त्यागी भन्‍ने व्यक्ति निज सन्तोषकुमार पण्डित थिए । मिति २०६८।०८।०१ गते जनकपुरबाट निजले काठमाडौं आउँदै छु भनी फोन गरेपछि मैले तिमीलाई पुलिसले खोजेको छ, काठमाडौं नआउभन्दा पुलिसले मलाई नामले चिन्दछ, फेसले चिन्दैन भनी निज काठमाडौं आई मेरो कोठा जडीबुटीमा गई त्यसपछि कुरियर अफिस तिनकुनेमा डकुमेन्ट लिई परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा समेत गएका थियौँ । काम नभएपछि मैले डकुमेन्ट पठाइदिन्छु भनेकोले निज रात्रिबसबाट जनकपुर फर्केका हुन् । जनकपुरका राजनीतिक व्यक्तिहरूले निजलाई प्रस्तुत मुद्दामा फसाएका हुन् भन्‍नेसमेत बेहोराको प्रतिवादी सन्तोषकुमार पण्डितको साक्षी राकेश पंजियारले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

जाहेरवाला तथा प्रतिवादीहरूलाई चिन्दिनँ । प्रतिवादीमध्येका धर्वेन्द्र ठाकुर मेरो घरमा भाडामा बसेकोले घरबेटीको नाताले चिन्दछु । मिति २०६८।०८।२७ गते भएको कागज बेहोरा तथा सहीछापसमेत मेरै हो । सो कागजको विवरणमा मैले अपहरण गरी कर्तव्य गरी मारेको भन्‍ने कुरा टि.भी.मा सुनी थाहा पाएको बेहोरा उल्लेख गरेको हुँ । अरू कुरा थाहा भएन भन्‍नेसमेत बेहोराको बुझिएका मानिस तुल्सीनारायण महर्जनले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

लास जाँचको क्रममा पाइएका लक्षणहरू सफोकेसनसँग मिल्ने भएको र क्लोरोफर्म सुँघाउँदा भएको सफोकेसन नै मृत्युको कारण हो भनी विशेषज्ञ डा.हरिहर वस्तीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र ।

मेरो छोराको अपहरण, शरीर बन्धक र कर्तव्य गर्नेहरू सन्तोष पण्डित, भोला ठाकुर, लालबाबु ठाकुर, रामजी ठाकुर आशिष दुरा, दिपक बलामी, धर्वेन्द्र ठाकुर हुन् । सातै जनाको संलग्नतामा अपहरण गरी ५० लाख रूपैयाँ फिरौती मोबाइल नं. ९८०८७९९५६७ बाट फोन गरी मागेका हुन् । मैले नदिएपछि मेरो छोरालाई मारेछन् भन्‍नेसमेत बेहोराको जाहेरवाला रामभगत साहले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र । 

मृतक मेरो भाइ हो । अपहरण तथा हत्या गर्ने प्रतिवादीसँग चिनाजानी छ । भाइ शुभमकुमार साह अध्ययनको सिलसिलामा मसँगै बसेको थियो । वारदातमा देखाइएको मिति र समयमा शुभमको अपहरण भएको हो । कर्तव्य गरी मारेको हो । सन्तोष पण्डित, भोला भन्‍ने देवेन्द्र ठकुर, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर, आशिष दुरा, दिपक बलामीले अपहरण गरी कर्तव्य गरेका हुन् । यो अपराधमा मेरो संलग्नता छैन । हनुमानढोकामा मैले जे सहीछाप गरेको छु त्यो कुरा ठिक छ, प्रमाणित भएको छ । मैले कुनै पनि साथीको मोबाइल नम्बर लिने गरेको छैन । शुभमबाट फोन लगेको रहेछ । म बकपत्र गर्न आउँदासमेत सन्तोष र भोलाले धम्की दिने गरेका छन् । जेलबाट छुटेमा मार्छु भनेका छन् भन्‍नेसमेत बेहोराको सनाखत कागज गर्ने विजयकुमार साहले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र । 

प्रतिवादी आशिष दुरा, दिपक बलामीलाई चिन्दिन । ९८०८७९९५६७ नं.को सिमकार्ड मेरो नामबाट मेरो भतिजाले बनेपाबाट निकाली मलाई दिएका हुन् । मैले प्रयोग गरेको थिइनँ । मेरो छोरी रिता शाहीले कहिलेकाहीँ प्रयोग गर्ने गरेकी थिइन् । घटना बारेमा सञ्‍चार माध्यमबाट थाहा पाएको हुँ भन्‍नेसमेत बेहोराको बुझिएका मानिस गमसरा खड्गीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र । 

प्रतिवादी दिपक बलामी र आशिष दुरालाई चिन्दिन । निजहरूको भूमिकाको बारेमा थाहा छैन । घटनाको बारेमा सञ्‍चार माध्यमबाट थाहा पाएको हुँ । उक्त मोबाइलको सिमकार्ड राखेको ठाउँबाट हराएको थियो भन्‍नेसमेत बेहोराको रिता शाहीले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र । 

भोलाले मेरो घरमा पसल गरी बसेकाले चिनाजानी छ । अनुसन्धानको क्रममा मिति २०६८।०८।२६ गते गरेको घटना विवरण कागज मेरो हो । प्रतिवादी आशिष दुरा, दिपक बलामीलाई चिन्दिनँ । अरू बारेमा थाहा भएन भन्‍नेसमेत बेहोराको अरूणा सिंह डंगोलले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बकपत्र । 

मिति २०६८।०८।०२ गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफलबाट भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर, सन्तोष पण्डित, दिपक बलामी र आशिष दुरासमेतले मेरो छोरा वर्ष ११ को शुभमकुमार साहलाई अपहरण गरेर बन्धक बनाई ९८०८७९९५६७ र ९८१३५०९८०३ मोबाइल  नम्बरबाट मेरो मोबाइल नम्बर ९८४४०५१५१२ मा फोन सम्पर्क गरेर फिरौती रकम माग गर्नुको साथै मेरो निज छोरालाई हत्या गरेको र मृतक लास काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकीस्थित बस काउन्टरमा रहेको सुटकेसमा प्याक गरिएको अवस्थामा फेला परी खुल्न आएको हुँदा निजहरूउपर कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको रामभगत साहले प्रतिवादीहरूउपर किटानी जाहेरी दिएको पाइयो । मिति २०६८।०८।०७ गते प्रहरी कर्मचारीसमेतले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी स्थित सिता तथा सुपर सिताको काउन्टरमा रहेको कालो रंगको सुटकेस खोली हेर्दा मृतक शुभमकुमार साहको लास प्याक गरिएको अवस्थामा फेला परेको हो, हाल नाम, थर, वतन खुलेका पक्राउ प्रतिवादी सन्तोषकुमार पण्डितले इटहरी जाने बताई मिति २०६८।०८।०४ गते ना. ३ ख २६०४ नम्बरको बसको टिकट काटी मृतकको लास राखिएको सुटकेस सो बसमा राखेका थिए भनी टिकट काउन्टरका सन्तोष मल्लसमेतले कागज गरिदिएको पाइन्छ । काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी स्थित सिता यातायातको काउन्टरमा Pierre Cardin लेखिएको ताल्चा लगाइएको कालो रंगको सुटकेस फेला परेको, सो सुटकेस खोली हेर्दा पहेँलो रंगको बोरामा मृतक बालकको लास रहेको, मृतक लासको कपडामा रगतजस्तो पदार्थ लागेको, अनुहारको पूरै भाग निलो कालो भएको साथै मृतक लास प्याक गरिएको कालो रंगको सुटकेस र पहेँलो रंगको बोरासमेत बरामद गरिएको लास जाँच मुचुल्काबाट देखिएको छ । प्रतिवादीहरू आशिष दुरा, दिपक बलामी, लालबाबु ठाकुरसमेतले जाहेरवालासँग फिरौती माग गरेको र बालकको हत्या गरेको कुरामा इन्कारी बयान गरे तापनि अपहरण गर्ने कार्यमा आ-आफ्नोतर्फबाट संलग्न रहेको कुरालाई स्वीकार गरी बयान गरेको पाइन्छ भने प्रतिवादीहरू देवेन्द्र ठाकुर रामजी ठाकुर र धर्वेन्द्र ठाकुरले बालकको अपहरण गरी फिरौती माग गरी पछि बालकको हत्यासमेत गरेको हो भनी साबित रही अनुसन्धान अधिकारीसमक्ष बयानसमेत गरेको पाइन्छ । जाहेरवालाले अदालतसमक्ष बकपत्र गर्दा प्रतिवादीहरू सातै जनाको संलग्नतामा अपहरण गरी ५० लाख रूपैयाँ मागे मैले नदिएपछि मेरो छोरालाई मारेका हुन् भनी प्रतिवादीहरूउपर किटान गरी मौकाको कागजलाई समर्थन हुने गरी बकपत्रसमेत गरिदिएको पाइयो । मृतक शुभमकुमार साहलाई अपहरण गरी हत्या भएकोमा विवाद नदेखिएको र अपहरण गर्ने कार्यमा प्रतिवादीहरू सन्तोषकुमार पण्डित, भोला भन्‍ने देवेन्द्र ठाकुर, धर्वेन्द्र ठाकुर, रामजी ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी र आशिष दुराको संलग्नता रहेको निजहरूको अधिकारप्राप्‍त अधिकारीसमक्ष भएको कागज र मौकामा संलग्न भएका प्रमाण कागजबाट पुष्‍टि भइरहेको र प्रतिवादीहरूले अदालतसमक्ष आई गरेको केवल इन्कारी बयानलाई मात्र प्रतिवादीहरूको निर्दोषिताको आधार मानी प्रमाणको रूपमा लिन सकिएन अपहरण भइसकेपछि अपहरणको कार्यमा कस्को के कति संलग्नता थियो र हत्या गरिँदा को कस्को कुन किसिमको सहभागिता थियो भन्‍ने कुराको सम्बन्धमा हेर्दा प्रतिवादीमध्येका रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, सन्तोषकुमार पण्डित, विनय शिवहरी साहले अपहरणपछि बालक शुभमकुमार साहलाई हत्या गर्ने कार्यमा प्रमुख भूमिका रहेको र हत्या भइसकेपछि पनि लास दबाउन प्रमुख भूमिका रहेको देखिँदा प्रतिवादी रामजी ठाकुर‚ धर्वेन्द्र ठाकुर र सन्तोषकुमार पण्डितलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादीमध्येका भोला भन्‍ने देवेन्द्र ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी, आशिष दुरा अपहरणको कार्यमा सहभागी रहे पनि मृतक बालक शुभमकुमार साहलाई ज्यानै लिनेसम्मको कार्यमा प्रत्यक्ष सहभागी नरहेको मृतक बालक शुभमकुमार साहलाई हत्या भएको विषयमा अनभिज्ञतासमेत देखिँदा र बालक शुभमको अपहरण गर्ने कार्यमा मात्र संलग्न देखिँदा प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुर‚ लालबाबु ठाकुर‚ दिपक बलामी‚ आशिष दुरालाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको दफा ३ नं.अनुसार जनही ४(चार) वर्ष कैद र जनही रू.२५०००।- (पच्चिस हजार रूपैयाँ) जरिवाना हुने ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७०।१२।०९ को फैसला । 

सुरू जिल्ला अदालतले मलाई शंकाको भरमा सजायभागी गराएको छ । शंकाको भरमा कसैलाई पनि सजाय गर्न मिल्ने होइन । शंकाको फाइदा सुविधा प्रतिवादीले पाउने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त हो । सो सुविधाबाट मलाई वञ्‍चित गराई सजाय गरिँदा म घोर अन्यायमा परेको छु । यी कुरालाई ध्यानमा राखी काठमाडौं जिल्ला अदालतले मलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय गर्ने गरी मलाई हराई गरेको फैसला अन्यायपूर्ण भएकाले उक्त फैसला उल्टी गरी सफाइ पाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी सन्तोषकुमार पण्डितको पुनरावेदन जिकिर ।

मलाई अधिकारप्राप्‍त अधिकारीसमक्ष जबरजस्ती रूपमा साबिती गराइएको, उक्त साबिती बयानलाई खण्डन गरी आफूले जे जति कसुर जानी नजानी अर्काको दबाबमा परी गरेको हो सो मात्रलाई स्वीकार गरी सम्मानित अदालतसमक्ष उपस्थित भई प्रस्ट रूपमा बयान गरेको, मुद्दाको कुनै तथ्य स्वीकार गर्दैमा कसुर नै स्वीकार गरेको मानी सजाय गर्नु अन्यायपूर्ण हुन्छ । यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट थुप्रै नजिर सिद्धान्तहरूसमेत प्रतिपादित भइरहेको अवस्थामा म पुनरावेदकलाई हचुवा तथा अनुमान र आशंकाको भरमा गोश्‍वारा रूपमा सजाय गरेको त्रुटिपूर्ण एवं कानून प्रतिकूलको हुँदा उक्त फैसला उल्टी गरी न्याय इन्साफ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी रामजी ठाकुरको पुनरावेदन जिकिर ।

सम्मानित सुरू जिल्ला अदालतबाट म पुनरावेदकलाई ४ वर्ष कैद र रू.२५,०००।- जरिवाना गर्ने गरी भएको त्रुटिपूर्ण फैसला प्रमाण ऐन, २०३१ को दफा ९(२)(क), २५, २८ र ५४ को प्रतिबन्धात्मक वाक्यांशको आशय, मनसाय र कानूनी प्रावधानको प्रत्यक्षतः गम्भीर कानूनी त्रुटिपूर्ण हुँदा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल एवं त्रुटिपूर्णसमेत भई बदरभागी छ । उक्त सुरू फैसला उल्टी गरी म पुनरावेदकलाई सफाइ दिने गरी इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी लालबाबु ठाकुरको पुनरावेदन जिकिर ।

अभियोग दाबीअनुसारको कसुरमा मेरो संलग्नता रहेको पुष्‍टि गर्ने कुनै पनि आधार, प्रमाण छैन । सुरू काठमाडौं जिल्ला अदालतले फैसला गर्दा अन्यायपूर्ण तवरले फैसला गरेको आभाष हुन्छ । जब अभियोगकर्ताले लगाएको दाबी नै पुष्‍टि भएको छैन भने हचुवाको भरमा अभियोग दाबी पुग्ने गरी मुद्दाको फैसला गर्नु कानूनी सिद्धान्तविपरीत हुन्छ । दाबी प्रमाणित नभए पनि प्रतिवादीलाई सजायको भागीदार बनाउनुपर्छ भनी प्रवृत्त भई फैसला गरेको पुष्‍टि हुन्छ । उक्त त्रुटिपूर्ण फैसला बदर गरी मलाई सफाइ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी दिपक बलामीको पुनरावेदन जिकिर ।

मृतक शुभम साहको अपहरण गरी हत्या गर्ने कार्यमा मेरो बिल्कुलै संलग्नता नभएको भन्‍ने मेरो सुरू काठमाडौं जिल्ला अदालतसमक्ष भएको बयान, सो बयान बेहोरालाई अदालतमा उपस्थित भई वारदातमा संलग्न रहेको भनी साबिती बयान गर्ने प्रतिवादीमध्येका धर्वेन्द्र ठाकुर र रामजी ठाकुरको बयान बेहोराबाट पुष्‍टि भएको साथै अन्य प्रतिवादीहरूले समेत उक्त कार्यमा मेरो संलग्नता रहेको भनी कहीँकतै पोल उजुर गर्न नसकेको अवस्थामा केवल जाहेरवालाको झुट्टा जाहेरीको आधारमा मलाई निज बालकको अपहरण गर्ने कार्यमा संलग्न रहेको ठहर्‍याई गरेको फैसला सो हदसम्म त्रुटिपूर्ण एवं गैरकानूनी हुँदा उक्त फैसला बदर गरी आरोपित कसुरबाट सफाइ दिलाई इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी आशिष दुराको पुनरावेदन जिकिर ।

प्रतिवादीहरूले जाहेरवालाको छोरालाई अपहरण गरी बन्धक बनाई फिरौती माग गर्दा नदिएकोले बालकको हत्या गरेको भनी प्रतिवादीहरूउपर किटानी जाहेरी परेको र उक्त जाहेरी बेहोरालाई समर्थन गर्दै मौकामा कागज गर्ने दिपक ढकाल, चुडामणी चौधरीसमेतका मानिसहरूले गरिदिएको कागज एवं प्रतिवादीहरूले अधिकारप्राप्‍त अधिकारीसमक्ष बालकको अपहरण गरी बन्धक बनाई हत्यासमेत गरेको कसुरमा पूर्ण रूपमा साबित रही बयान गरिदिएको अवस्था विद्यमान रहेको अवस्थामा प्रतिवादीहरू रामजी ठाकुर, धर्वेन्द्र ठाकुर र सन्तोषकुमार डंगोललाई कर्तव्य ज्यानतर्फ मात्र सजाय गरी अपहरण तथा शरीर बन्धकतर्फ फिरौती लिने उद्देश्यगत आधारमा सजाय नगरी र प्रतिवादीहरू भोला भन्‍ने देवेन्द्र ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी र आशिष दुरालाई अपहरण तथा शरीर बन्धकतर्फ घटी सजाय गरी कर्तव्य ज्यानतर्फ सफाइ दिई विद्यमान कानूनी व्यवस्था र तथ्यको त्रुटिपूर्ण विश्‍लेषण गरी भएको उक्त सुरू जिल्ला अदालतको फैसला सो हदसम्म बदरभागी छ, उक्त फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरी इन्साफ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर ।

मृतक बालकको अपहरण गरी हत्या गर्ने कार्यमा मेरो विल्कुलै संलग्नता नभएको भन्‍ने मेरो सुरू काठमाडौं जिल्ला अदालतसमक्ष भएको बयान, सो बयान बेहोरालाई अदालतमा उपस्थित भई वारदातमा संलग्न रहेको भनी साबिती बयान गर्ने प्रतिवादीमध्येका धर्वेन्द्र ठाकुर र रामजी ठाकुरको बयान बेहोराबाट पुष्‍टि भएको साथै अन्य प्रतिवादीहरूले समेत उक्त कार्यमा मेरो संलग्नता रहेको भनी कहीँकतै पोल उजुर गर्न नसकेको अवस्थामा केवल जाहेरवालाको झुट्टा जाहेरीको आधारमा मलाई निज बालकको अपहरण गर्ने कार्यमा संलग्न रहेको ठहर्‍याई गरेको फैसला सो हदसम्म त्रुटिपूर्ण एवं गैरकानूनी हुँदा उक्त फैसला बदर गरी आरोपित कसुरबाट सफाइ दिलाई इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुरको पुनरावेदन जिकिर ।

यसमा प्रतिवादीमध्येका रामजी ठाकुर, सन्तोषकुमार पण्डित र धर्वेन्द्र ठाकुरसहितका ३ जना प्रतिवादीहरूलाई मानव अपहरण तथा शरीर बन्धकसमेतमा र देवेन्द्र ठाकुरसहितका जना ४ प्रतिवादीहरूलाई मानव अपहरण तथा शरीर बन्धक महलको ७ र ९ नं.बमोजिम थप सजाय नगरेउपर वादी नेपाल सरकारको र आफूहरूलाई सजाय गरिएउपर धर्वेन्द्र ठाकुरबाहेकका अन्य प्रतिवादीहरूको पुनरावेदन परेको देखिँदा दुवै पक्षको पुनरावेदन अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम परस्परमा सुनाइ पुनरावेदन नगर्ने प्रतिवादी धर्वेन्द्र ठाकुरलाई समेत प्रत्यर्थी झिकाउने आदेशको सूचना दिई प्रतिवादीमध्येका दिपक बलामी, आशिष ठाकुर र देवेन्द्र ठाकुरले कानून व्यवसायी राखेको नदेखिँदा वैतनिक वकिलबाट प्रतिनिधित्व गराई नियमानुसार गरी पेस गर्नु भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७२।१२।१ को आदेश । 

यसमा प्रतिवादीमध्येका धर्वेन्द्र ठाकुरलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहरी सुरू जिल्ला अदालतबाट फैसला भएको देखिएकोमा निज प्रतिवादी धर्वेन्द्र ठाकुरको तर्फबाट पुनरावेदन दायर भएको नदेखिएको भन्‍ने पुनरावेदन दर्ता शाखाको पत्रबाट देखिँदा निज प्रतिवादी धर्वेन्द्र ठाकुरका हकमा अ.बं. १८६ नं.बमोजिम साधकमा दर्ता गरी नियमानुसार गर्नु भन्‍नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७३।०९।२६ को आदेश ।

यसमा पुनरावेदन नगर्ने प्रतिवादी धर्वेन्द्र ठाकुरको हकमा अ.बं. १८६ नं.बमोजिम साधकमा दर्ता गर्नु भन्‍ने यस अदालतको संयुक्त इजलासबाट मिति २०७३।९।२६ मा भएको आदेशानुसार निज धर्वेन्द्र ठाकुरको हकमा साधकमा दर्ता गरी कानूनबमोजिम गर्नु भन्‍नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७३।१०।११ को आदेश ।

नाबालक शुभमकुमार साहलाई दुईभन्दा बढी प्रतिवादीहरूले अपहरण गरी शरीर बन्धक बनाएको ठहर गरेपछि अपहरण गर्ने र शरीर बन्धक लिनेको महलको ७ र ९ नं.बमोजिम थप सजाय हुने व्यवस्था स्वत: आकर्षित हुने देखिन्छ । प्रतिवादी रामजी ठाकुर‚ धर्वेन्द्र ठाकुर र सन्तोषकुमार पण्डितउपर वादी नेपाल सरकारका तर्फबाट लिएको मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको अभियोग दाबीका हकमा नबोलेको सुरू फैसला त्रुटिपूर्ण देखिएकोले उल्लिखित प्रतिवादीहरूले अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं., ७ नं., र ९ नं.समेतको कसुर गरेको ठहर्छ । निज प्रतिवादीहरूलाई ३ नं.बमोजिम जनही ७ वर्ष कैद र रू. पचास हजार जरिवाना, ७ नं.बमोजिम २ वर्ष थप कैद र ९ नं.बमोजिम थप २ वर्ष कैद सजायसमेत हुन्छ । प्रस्तुत मुद्दामा सुरू फैसला केही उल्टी भई प्रतिवादी रामजी ठाकुर, सन्तोषकुमार पण्डित र धर्वेन्द्र ठाकुरलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३, ७ र ९ नं.बमोजिम जनही ११ वर्ष कैद र रू. पचास हजार जरिवाना हुने ठहरी फैसला भएकोमा निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी भएको सुरू फैसला सदर हुने ठहर्छ । प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुर‚ लालबाबु ठाकुर‚ दिपक बलामी र आशिष दुराको हकमा कम सजाय गरी अभियोग दाबीबारे बोल्दै नबोलेको देखिएकाले प्रतिवादीहरूलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं.बमोजिम जनही ७ वर्ष कैद र रू. पचास हजार जरिवाना ७ नं.बमोजिम थप २ वर्ष कैद र ९ नं.बमोजिम थप २ वर्ष कैद गरी जम्मा ११ वर्ष कैद सजायसमेत हुने ठहर्छ । प्रतिवादीहरूबाट १२ नं.बमोजिम मृतकको हकवालालाई दामासाहीले रू.चार लाख पचास हजार क्षतिपूर्ति भराइदिने ठहर्छ । उपर्युक्त हदसम्म सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७०।१२।०९ को फैसला केही उल्टी हुन्छ । प्रतिवादी धर्वेन्द्र ठाकुरका हकमा साधक सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍नेसमेत बेहोराको मिति २०७३।११।२४ मा उच्च अदालत पाटनबाट भएको फैसला ।

म पुनरावेदक प्रतिवादीसमेतउपर लगाइएको अभियोग दाबीअनुसारको कसुर अपराध आफूबाट भएको छैन । आफूले जानी जानी कुनै पनि अपराध गरेको छैन । सहप्रतिवादीहरूले पोल गरी अधिकारप्राप्‍त अधिकारीसमक्ष बयान गरे तापनि अदालतसमक्ष उपस्थित भई बयान गर्दा निजहरूले आफूले कसुरमा इन्कार रही बयान गरेका र म पुनरावेदक प्रतिवादी सन्तोषकुमार पण्डितसमेतलाई पोल गरी बयान गर्न सकेको अवस्था छैन । विनय शिवहरी साहले भनेअनुसार निजको दबाबमा परी निजको फोनबाट फिरौती रकम माग गर्नेसम्मको काम गरेको हुँ भनी प्रतिवादी रामजी ठाकुरले प्रस्ट रूपमा बयान गरेको अवस्थामा उक्त कसुर म पुनरावेदक प्रतिवादीले गरेको मानी शंका एवम् हचुवाकै भरमा सर्वस्वसहित जन्मकैद गर्ने गरी भएको फैसलामा केही उल्टी गरी थप अपहरण तथा शरीरबन्धकतर्फको दाबीबमोजिम कैद वर्ष ११समेत गरी चर्को एवम् त्रुटिपूर्ण फैसला भएको छ । प्रस्तुत मुद्दामा म पुनरावेदक प्रतिवादी सन्तोषकुमार पण्डितले कसुरमा इन्कार रही अदालतमा भएको बयानको विभिन्‍न सवाल जवाफहरूमा कुराहरू खुलाई बयान गरेको अवस्था एकातिर छ भने अर्कोतिर म पुनरावेदकले नै अभियोग दाबीअनुसारको कार्य गरेको हो भनी देख्‍ने प्रत्यक्षदर्शी कोही छैन । त्यसैगरी अदालतसमक्ष भएको बयानमा धर्वेन्द्र ठाकुरको नामबाट सीता बसको काउन्टरमा टिकट काटिदिएकोसम्म स्वीकार गरेको, कसुरमा पूर्ण इन्कार रही बयान गरेको, प्रहरीले बरामद भएको भनिएको सिमकार्ड आफूबाट बरामद भएको छैन भनी बयान गरेको, वारदात भएको भनिएको दिन दिउँसो २:३० बजे एयरपोर्टबाट पक्राउ गरेको कुरा खुलाएको अवस्था छ । यी समग्र बयान बेहोरालाई बेवास्ता भएको छ । प्रस्तुत मुद्दाको जाहेरवाला प्रत्यक्षदर्शी होइनन् । म पुनरावेदक प्रतिवादीले नै उक्त वारदातमा मुख्य भूमिका खेली उक्त वारदात घटाएको भन्‍ने वस्तुनिष्ठ प्रमाणबाट पुष्‍टि हुन सकेको अवस्था पनि छैन । म पुनरावेदकलाई अधिकारप्राप्‍त अधिकारीसमक्ष जबरजस्ती रूपमा साबिती गराइएको, उक्त साबिती बयानलाई खण्डन गरी म पुनरावेदक प्रतिवादीले जे जति कसुर जानी नजानी अर्काको दबाबमा परी र लहैलहैमा लागी गरेको हो, सो मात्रलाई स्वीकार गरी सम्मानित अदालतसमक्ष उपस्थित भई प्रस्ट यथार्थ रूपमा बयान गरेको, मुद्दाको कुनै तथ्य स्वीकार गर्नु र कसुर नै स्वीकार गर्नु फरक फरक कुराहरू हुन् । तथ्य स्वीकार गर्दैमा कसुर नै स्वीकार गरेको मानी सजाय गर्नु अन्यायपूर्ण हुन्छ । यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट थुप्रै नजिरहरू प्रतिपादन भएको अवस्था छ । म पुनरावेदक प्रतिवादीलाई गोश्‍वारा रूपमा सजाय गरेको सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई अझ अभियोग दाबीबमोजिम अपहरण तथा शरीरबन्धक लिनेतर्फसमेत सजाय थपी उच्च अदालत पाटनबाट मिति २०७३।११।२४ मा भएको फैसला त्रुटिपूर्ण कानूनप्रतिकूलको हुँदा उक्त फैसला उल्टी गरी उचित न्याय इन्साफ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी सन्तोषकुमार पण्डितको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।

म पुनरावेदक प्रतिवादी रामजी ठाकुरले सम्मानित सुरू काठमाडौं जिल्ला अदालतसमक्ष उपस्थित भई बयान गर्दा प्रस्ट रूपमा आफ्नो भएको सत्य साँचो कुराहरू खुलाएको छु । त्यसैगरी अदालतसमक्ष भएको बयानमा मैले अभियोग मागदाबीअनुसारको अपहरण गर्ने तथा कर्तव्य गरी हत्या गर्ने कार्य नगरेको हुँदा र विनय शिवहरी साहले भनेअनुसार निजको दबाबमा परी निजको फोनबाट फिरौती रकम माग गर्नेसम्मको काम गरेको हुँ भनी प्रस्ट रूपमा बयान गरेकोलाई सम्पूर्ण अभियोग दाबीबमोजिमकै कसुर म पुनरावेदक प्रतिवादीले गरेको मानी गोश्‍वारा रूपमा सर्वस्वसहित जन्मकैद गर्ने गरी भएको फैसलामा केही उल्टी गरी अझ अपहरण तथा शरीरबन्धकतर्फको दाबीबमोजिम कैद वर्ष ११ समेत थपी फैसला भएको छ । प्रस्तुत मुद्दामा म पुनरावेदक प्रतिवादी रामजी ठाकुरले कसुरमा इन्कार रही बयान गरेको अवस्था एकातिर छ भने अर्कोतिर म पुनरावेदकले नै अभियोग दाबीअनुसारको कार्य गरेको हो भनी देख्‍ने प्रत्यक्षदर्शी कोही छैन । प्रस्तुत मुद्दाको जाहेरवाला प्रत्यक्षदर्शी होइनन् । म पुनरावेदक प्रतिवादीले नै उक्त वारदातमा मुख्य भूमिका खेली उक्त वारदात घटाएको भन्‍ने वस्तुनिष्ठ प्रमाणबाट पुष्‍टि हुन सकेको अवस्था पनि छैन । म पुनरावेदकलाई अधिकारप्राप्‍त अधिकारीसमक्ष जबरजस्ती रूपमा साबिती गराइएको, उक्त साबिती बयानलाई खण्डन गरी म पुनरावेदक प्रतिवादीले जे जति कसुर जानी नजानी अर्काको दबाबमा परी र लहैलहैमा लागी गरेको हो सो मात्रलाई स्वीकार गरी सम्मानित अदालतसमक्ष उपस्थित भई प्रस्ट यर्थाथ रूपमा बयान गरेको, मुद्दाको कुनै तथ्य स्वीकार गर्नु र कसुर नै स्वीकार गर्नु फरक फरक कुराहरू हुन् । तथ्य स्वीकार गर्दैमा कसुर नै स्वीकार गरेको मानी सजाय गर्नु अन्यायपूर्ण हुन्छ । यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट थुप्रै नजिरहरू प्रतिपादन भएको अवस्था छ । म पुनरावेदक प्रतिवादीलाई गोश्‍वारा रूपमा सजाय गरेको सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई अझ अभियोग दाबीबमोजिम अपहरण तथा शरीर बन्धक लिनेतर्फसमेत सजाय थपी उच्च अदालत पाटनबाट मिति २०७३।११।२४ मा भएको फैसला त्रुटिपूर्ण कानूनप्रतिकूलको हुँदा उक्त फैसला उल्टी गरी उचित न्याय इन्साफ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी रामजी ठाकुरको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।

घटनास्थल मुचुल्का, वारदात घटनामा प्रयोग बरामदी सामाग्रीहरू, जाहेरी दरखास्त, साक्षी बकपत्र, वादी नेपाल सरकारबाट मागदाबी, पुनरावेदक प्रतिवादीहरूको साबिती बयान यी सबै प्रमाणहरूलाई सहज र सरल बनाउन म पुनरावेदकले सक्दो सहयोग दिएको हो । कानूनलाई सर्वमान्य ठानी घटनाको सम्पूर्ण बेहोरा ठिक, साँचो र सत्य तवरबाट प्रहरी प्रतिवेदनमा र अदालतमा अधिकारप्राप्‍त अधिकारीसँग बयान दिई न्यायालयलाई समेत सरल र सहज बनाई कानून र न्यायालयको मर्मलाई ध्यानमा राखी सत्य साँचो बोली सहज बनाएको हुँदा उक्त कुरा सुरू जिल्ला अदालत र उच्च अदालतले कुनै वास्ता गरेको देखिँदैन । म पुनरावेदकले साँचो बोलेकै भरमा कसुरदार ठहर गरिएको छ । कसुरदार ठहर हुनुअगावै कसुरदारले कसुर अपराध घटाएको स्वीकार्नु कसुरदारको सबल र सुधारात्मक पक्ष हो । सो कुराको कुनै वास्ता नगरी सिधै सर्वस्वसहित जन्मकैद सजाय गर्न म पुनरावेदकलाई कानूनसम्मत न्यायोचित लाग्दैन । यसैले यो बदरभागी छ । उल्लिखित घटना घट्ने क्रममा म पुनरावेदक भर्खरै १८(अठार) वर्षको भएको हुँदा उक्त बालक अवस्थाको कुनै मध्यनजर नगरी सुरू जिल्ला अदालत र उच्च अदालतको फैसला मिलेको देखिँदैन । म पुनरावेदक जे जति कसुर जानी नजानी अर्काको दबाबमा गरेको हो, सो म पुनरावेदकले स्वीकार गरिसकेको हुनाले कानूनसम्मत म पुनरावेदकले सजाय पाउनुपर्छ । तर माथि उल्लिखित कुराहरू र म घटना घट्दा म पुनरावेदक भर्खरै १८ वर्षको भएको हुँदा उक्त बालक अवस्थामा घटेको घटना अ.बं. १८८ नं.बमोजिम १० वर्ष कैद सजाय हुनुपर्दछ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी धर्वेन्द्र ठाकुरको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।

म पुनरावेदक प्रतिवादी आशिष दुरा अभियोग पत्रमा दाबी गरेबमोजिम शुभमकुमार साहलाई अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न नहुँदा झुट्टा अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ पाउनुपर्दछ भन्‍ने सादर जिकिर गर्दछु । म अपहरण गर्ने बन्धक बनाउने कार्यमा संलग्न छैन । यद्यपि अपहरण गरी शरीर बन्धक बनाएको भन्‍ने वादी पक्षले स्वतन्त्र आधार प्रमाणहरूबाट पुष्‍टि गर्न सकेको अवस्था छैन । शुभमकुमार साहलाई अपहरण गर्ने सम्बन्धमा कोही कसैसँग सल्लाहमा फसेको वा संलग्नतामा रहेको छैन । जहाँसम्म मैले मोटरसाइकल चलाएर अपहरणमा संलग्न भएको भनी उल्लेख गरिएको छ, जुन बिलकुल झुट्टा हो । मैले मोटरसाइकलको पछाडि राखेर कसैलाई कहीँ पुर्‍याएको छैन । मैले मोटरसाइकल चलाउन जानेको र मोटरसाइकल चलाउने अनुमति पत्र (लाइसेन्स) पनि छैन । म मोटरसाइकल चलाउनसम्म नजान्‍ने मानिसले काठमाडौं जस्तो भिडभाड भएको ठाउँमा बाफलदेखि बालाजु हुँदै कपुरधारा जस्तो व्यस्त ठाउँमा (अफिस समयमा) चलाएको भन्नु कल्पनासम्म गर्न सकिँदैन । प्रहरी अनुसन्धानमा गराइएको बयानमा घटनापूर्वको तथ्य स्वीकार गर्नु र अपराध स्वीकार गर्नु एउटै कुरा होइन । शंकारहित तवरबाट मउपरको अभियोग प्रमाणबाट पुष्‍टि हुन नआएको स्थितिमा केवल शंका र अनुमानका आधारमा दोषी कायम गर्नु न्यायोचित एवं फौजदारी न्यायको मान्य सिद्धान्तबमोजिम भएको मान्‍न मिल्दैन भनी सर्वोच्च अदालतबाट कानूनी सिद्धान्तसमेत प्रतिपादन भएको छ । (ने.का.प. २०६०, अङ्क ९, १० नि.नं. ७२८५, पृष्ठ ८३९) । स्वेच्छाविपरीत अनुसन्धानमा गराइएको बयानलाई मेरो विरूद्धमा प्रमाणमा लिन नमिल्नेमा प्रमाणका रूपमा ग्रहण गरी भएको फैसला कानूनी त्रुटिपूर्ण भएकाले बदरभागी छ । वारदातमा संलग्न रहेको भनी साबिती बयान गर्ने प्रतिवादीमध्येका धर्वेन्द्र ठाकुर र रामजी ठाकुरले गरेको बयानसमेतले उक्त कार्यमा मेरो संलग्नता रहेको भनी कहीँकतै पोल उजुर गर्न नसकेको अवस्थामा अभियोगलाई आधार मानी बालकलाई ज्यान मार्ने कार्यमा संलग्न नभएको भनी कर्तव्य ज्यान मुद्दाको अभियोगबाट म पुनरावेदकलाई सफाइ पाउने ठहर फैसला भए तापनि निज बालकलाई अपहरण गर्ने कार्यमा मेरो संलग्नता रहेको भनी म निर्दोष व्यक्तिलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३, ७ र ९ नं.अनुसार ११ वर्ष कैद र ५०,०००।- जरिवाना हुने ठहर गरी उच्च अदालत पाटनबाट भएको फैसला सो हदसम्म गैरकानूनी, त्रुटिपूर्ण एवं अन्यायपूर्ण हुँदा सो हदसम्मको उक्त फैसला उल्टी गरी आरोपित कसुरबाट सफाइ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी आशिष दुराको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।

म प्रतिवादी देवेन्द्र ठाकुरले वारदातको सम्बन्धमा केही थाहा नभएको म निर्दोष व्यक्ति पुनरावेदक / प्रतिवादीसमेतले मेरोमा आउँदा जाँदा चिनेको र त्यहाँ सबैजना आउने जाने गरेकोले निजले यसको पनि संलग्नता छ कि भन्‍ने आशंकामा मेरा नाम लिएको कारण मलाई पक्राउ गरिएको हो । म पुनरावेदक प्रस्तुत शरीर बन्धक गरी कर्तव्य गरी हत्या गरेको मुद्दामा संलग्न भएको व्यक्ति नभएकोमा यस्तो अवस्थामा अनुसन्धान तहकिकातको सिलसिलामा मसमेतलाई वारदातमा संलग्न रहेको भनी विनेश महर्जन, विकास महर्जन, राजिव महर्जन, विनय शिवहरी साहसमेतको मानिसहरू कहीँकतै मैले अह्राएको वा केही सल्लाह गरेकोसम्म भन्‍न सकेको अवस्था छैन । म पुनरावेदक देवेन्द्र ठाकुरलाई प्रहरी हिरासतमा राखिएको समयमा प्रहरी आफैँले तयार गरेर ल्याएको कागजपत्रमा पढ्ने अवसरसम्म नदिई सहीछाप गराएका हुन् । नाबालक शुभमकुमार साहलाई दुईभन्दा बढी प्रतिवादीहरूले अपहरण गरी शरीर बन्धक बनाएको ठहर गरेपछि अपहरण गर्ने र शरीर बन्धक लिनेको महलका ७ नं. ९ नं.बमोजिम थप सजाय हुने सन्दर्भमा मैले उक्त अपहरण गर्नुपर्ने कारण नै नभएको र म दैनिक कामकाज गरी आएको मानिस भएको मसँग प्रतिवादीलाई ज्यानै मार्नेसम्मको कुनै रिसइवी नभएको अवस्था छ । म पुनरावेदक / प्रतिवादी कसुरदार देखिने वस्तुनिष्ठ आधार र प्रमाण केही नभएको, अपहरण तथा शरीर बन्धक जस्तो जघन्य अपराधमा मेरो संलग्नता कहीँकतैबाट पुष्‍टि नभएको अवस्थामा विनाआधार र कारण, शंका र अनुमानको भरमा मउपर लगाइएको अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ पाउनुपर्दछ । शुभमकुमार साहलाई अपहरण गर्ने सम्बन्धमा कोही कसैसँग सल्लाहमा फसेको वा संलग्नतामा रहेको छैन । अन्य प्रतिवादीहरूले समेत मेरो उक्त कार्यमा संलग्नता रहेको भनी घटना विवरणको कागज गर्ने मानिसहरूले अदालतमा उपस्थित भई गरेको बकपत्र, मेरो साक्षीले अदालतमा गरेको बकपत्रको बेहोरालाई ग्रहण नगरी अधिकारप्राप्‍त अधिकारीसमक्ष अनुसन्धानमा मलाई जबरजस्ती गराइएको बयानलाई प्रमाणको रूपमा ग्रहण गरी सजाय गर्न कुनै हालतमा मिल्दैन । प्रमाण ऐन, २०३१ को दफा २५ ले फौजदारी मुद्दामा प्रतिवादीउपरको कसुर विवादरहित तवरले प्रमाणित गर्ने भार वादीमा रहनेमा सोको पुष्‍टि भएको छैन । काठमाडौं जिल्ला अदालतसमक्ष गरेको बयान, सो बयान बेहोरालाई अदालतमा उपस्थित भई वारदातमा संलग्न रहेको भनी साबिती बयान गर्ने प्रतिवादीमध्येका धर्वेन्द्र ठाकुर र रामजी ठाकुरले गरेको बयानसमेतले पुष्‍टि गर्नुका साथै अन्य प्रतिवादीहरूले समेत मेरो उक्त कार्यमा संलग्नता रहेको भनी कहीँकतै पोल उजुर गर्न नसकेको अवस्थामा केवल जाहेरवालाको गोलमटोल भाषाको अभियोगलाई आधार मानी शुभमकुमार साहको अपहरण गरी हत्या गर्ने कार्यमा म निर्दोष व्यक्तिलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३,७ र ९ नं.अनुसार ११ वर्ष कैद र रू.५०,०००।- जरिवाना हुने ठहर गरी उच्च अदालत पाटनबाट भएको फैसला सो हदसम्म गैरकानूनी, त्रुटिपूर्ण एवं अन्यायपूर्ण हुँदा सो हदसम्मको उक्त फैसला उल्टी आरोपित कसुरबाट सफाइ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुरको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।

जाहेरवाला रामभगत साहको छोरा ११ वर्षको सुभमकुमार साहलाई मिति २०६८।८।२ गते काठमाडौंको बाफलबाट भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर, सन्तोष पण्डित, दिपक बलामी, आशिष दुरासमेतका व्यक्तिले फिरौतीका लागि अपहरण गरी बन्धक बनाई यी प्रतिवादीहरूको बालक आफ्नो कब्जामा रहेको भनी ९८०८७९९५६७ नं. को मोबाइलबाट आफ्नो मोबाइल नं. ९८४४०५१५१२ मा सम्पर्क गरी निज व्यक्तिहरूले ५० लाख चाहिन्छ होइन भने मारेर फालिदिन्छौँ भनी पटकपटक फोनबाट धम्की दिई निज अपहरणकारीहरूले मिति २०६८।८।४ गते कर्तव्य गरी मारी निर्ममतापूर्वक हत्या गरी मिति २०६८।८।७ गते कलंकीमा लास फ्याँकेको यकिन भएको छ । घटना विवरण सम्बन्धमा बुझिएका दिपक ढकाल, चुडामणी चौधरी र सन्तोष मल्लसमेतले प्रतिवादी सन्तोष पण्डितलाई लास राख्‍ने व्यक्ति भनी सनाखतसमेत गरिदिएको, रामजी ठाकुर, भोला भन्‍ने देवेन्द्र ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर, आशिष दुरा, दिपक बलामीसमेतले निज बालक सुभमकुमार साहलाई अपहरण गरी कर्तव्य गरी मारेको भन्‍ने बेहोरा खुलाई लेखाइदिएको र फिरौती रकम लिई मार्ने उद्देश्यले अपहरण गरी काठमाडौं सामाखुशीस्थित कोठामा लगी बन्धक बनाई निज बालकलाई धेरै मात्रामा क्लोरोफर्म सुँघाएर कर्तव्य गरी मारेको र लासलाई बोरामा राखी सुटकेसमा प्याक गरी राखेको भनी सबै प्रतिवादीले एकै मिलानको बयान बेहोरा उल्लेख गरिदिएको एवं घटना विवरण कागज गर्ने मौकामा बुझिएका व्यक्ति अरूण सिंह डंगोल, गमसरा खड्गी, रिता शाही खड्गी, विजयकुमार साहसमेतले यी प्रतिवादीहरूको संलग्नतामा जाहेरवालाको छोरालाई अपहरण गरी हत्या भएको तथ्यलाई पुष्‍टि गरी मौका तथा अदालतमा समेत बकपत्र गरिदिएको अवस्था छ । उक्त प्रमाणहरूबाट जाहेरवालासँग योजनाबद्ध रूपले यी प्रतिवादीहरूले समेत मिलेर अपहरित बालकको हत्या गरेको तथ्य मालाकार रूपमा पुष्‍टि भइरहेको अवस्थामा प्रतिवादीहरू भोला भन्‍ने देवेन्द्र ठाकुर, आशिष दुरा, दिपक बलामी र लालबाबु ठाकुरलाई कर्तव्य ज्यानमा सफाइ दिने गरी भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ९, १८ को गम्भीर कानूनी त्रुटि भएको हुँदा उक्त फैसला बदरभागी छ । अपहरण गरी शरीर बन्धक बनाएको अवस्थाको निरन्तरतामा नै कर्तव्य ज्यानसम्बन्धी वारदात घटिसकेपछि दुवै कार्य अलग अलग अपराध भएको मान्‍नुपर्दछ । एउटा प्रकृतिको आपराधिक कार्यको निरन्तरतामा नै अर्को आपराधिक कार्यसमेत भएको अवस्थाले दुई अलगअलग कसुर स्थापित भई कानूनद्वारा तोकिएका दुवै अपराधका लागि सजाय तोकिने तर दण्ड एवं सजायको सिद्धान्तबमोजिम सो सजाय खापेर सजाय कार्यान्वयन गरिने विषयसम्म प्रस्तुत मुद्दामा आकर्षित हुनेमा बालक सुभमकुमार साहलाई मारेको कुरा फोनबाट लालबाबु ठाकुर र देवेन्द्र ठाकुरलाई जानकारी गराएको भनी मौकामा नै पोल गरेको अवस्थासमेत देखिएकोमा ज्यान मारिसकेको विषयमा कानूनबमोजिम प्रकाश नगरी गोप्य राख्‍नुले उनीहरूको समेत ज्यान मार्ने कार्यको मतलबमा रहेको स्पष्ट देखिन्छ । जाहेरवालाका नाबालक छोरा शुभमकुमार साहलाई अपहरण गरी बन्धक बनाई राखी निर्मम तरिकाले हत्या गरी लास दबाउने छिपाउने कार्य यी सबै प्रतिवादीहरूले योजनाबद्ध ढंगमा गरेको भन्‍ने तथ्य स्वयं प्रतिवादीहरूको अनुसन्धानको बयानबाट खुलेको छ । प्रतिवादीहरूले योजनाबद्ध ढंगले गरेको कार्यको परिणाम प्रस्तुत गम्भीर अपराध घटेको अवस्थामा अपहरणतर्फ सजाय गर्ने तर अपहरणको जरियाबाट हत्या भएकोमा हत्यातर्फ पूर्ण रूपमा उन्मुक्ति दिने गरी भएको फैसला न्यायोचित देखिँदैन । तसर्थ, प्रतिवादीहरू भोला भन्‍ने देवेन्द्र ठाकुर, आशिष दुरा, दिपक बलामी र लालबाबु ठाकुरलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्नेमा कम सजाय हुने गरी भएको उच्च अदालत पाटनको फैसला कानूनतः सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी यी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन । 

यसमा धेरै प्रतिवादीहरू रहेको र ज्यानसम्बन्धी कसुरमा समेत हरेक प्रतिवादीको फरकफरक भूमिका हुनसक्ने अवस्थालाई इन्कार गर्न नसकिने हुँदा उच्च अदालत पाटनको मिति २०७३।११।२४ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिएको र सो फैसलाउपर दोहोरो पुनरावेदन परेको देखिँदा साबिक मुलुकी ऐन, अ.बं. २०२ नं. तथा हालको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) नं.को प्रयोजनार्थ वादी नेपाल सरकारको पुनरावेदन र यो आदेशको प्रतिलिपिसहित निज पुनरावेदक प्रतिवादीहरूमध्ये आशिष दुरा र भोला भन्‍ने देवेन्द्र ठाकुरलाई तथा निज पुनरावेदक प्रतिवादीहरू सन्तोषकुमार पण्डित, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, आशिष दुरा र भोला भन्‍ने देवेन्द्र ठाकुरको पुनरावेदन र यो आदेशको प्रतिलिपिसहित महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिनू र उच्च अदालत पाटनको उक्त फैसलाउपर पुनरावेदन नगर्ने प्रतिवादीहरू लालबाबु ठाकुर र दिपक बलामीलाई वादी नेपाल सरकारको पुनरावेदन र यो आदेशको प्रतिलिपिसहित म्याद सूचना जारी गरी नियमानुसार पेस गर्नुहोला भन्‍नेसमेत बेहोराको मिति २०७६।१।१७ मा यस अदालतबाट भएको आदेश ।

यस अदालतको ठहर 

नियमबमोजिम पेसी सूचीमा चढी सुनुवाइका लागि आज यस इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दामा विवादको मूल विषयलाई हेर्दा मिति २०६८।०८।०२ गते प्रतिवादीहरू सन्तोषकुमार पण्डित, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, भोला भन्‍ने देवन्द्र ठाकुर, दिपक बलामी, आशिष दुरा, लालबाबु ठाकुरसमेतले जाहेरवाला राम भगत साहका नाबालक छोरा शुभमकुमार साहलाई बाफलबाट अपहरण गरी शरीर बन्धक बनाई ५० लाख फिरौतीसमेत मागी कर्तव्य गरी मारेको र लासलाई सुटकेसमा हालेर बसमा राखी छाडिदिएको भनी निजहरूलाई उपर अपहरण गरी बन्धक बनाएतर्फ मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं.को कसुरमा ऐ.महलको ३ नं., ७ नं. र ९ नं.बमोजिम सजाय भई १२ नं.अनुसार पीडितको नजिकको हकदारलाई प्रतिवादीहरूबाट क्षतिपूर्ति भराइपाउन र कर्तव्य गरी मारेतर्फ प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३ (३) नं. को कसुरमा ऐ.महलको १३ नं.को देहाय (३) नं.बमोजिम सजाय गरिपाउन मागदाबी लिई वादी नेपाल सरकारको तर्फबाट अभियोग पत्र दायर भएको रहेछ । सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला हुँदा पक्राउ परेका प्रतिवादीहरू सन्तोषकुमार पण्डित, रामजी ठाकुर र धर्वेन्द्र ठाकुरलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने तथा अन्य प्रतिवादीहरू भोला भन्‍ने देवेन्द्र ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी र आशिष दुरालाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ३ नं.अनुसार जनही ४ वर्ष कैद र जनही रू.२५,०००।- (पच्चिस हजार) जरिवाना हुने ठहरी फैसला भएको रहेछ । उक्त फैसलाउपर वादी नेपाल सरकार तथा प्रतिवादीहरू धर्वेन्द्र ठाकुरबाहेकका अन्यका तर्फबाट उच्च अदालत पाटनमा पुनरावेदन परेकोमा उच्च अदालतबाट फैसला हुँदा सुरू जिल्ला अदालको फैसला केही उल्टी भई प्रतिवादीहरू सन्तोषकुमार पण्डित, रामजी ठाकुर र धर्वेन्द्र ठाकुरका हकमा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३, ७ र ९ नं.बमोजिम जनही ११ वर्ष कैद र रू.पचास हजार जरिवाना हुने तथा निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी भएको फैसला सदर हुने एवं प्रतिवादीहरू भोला भन्‍ने देवेन्द्र ठाकुर‚ लालबाबु ठाकुर‚ दिपक बलामी र आशिष दुराका हकमा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं.बमोजिम जनही ७ वर्ष कैद र रू. पचास हजार जरिवानाका साथै ७ नं.बमोजिम थप २ वर्ष कैद र ९ नं.बमोजिम थप २ वर्ष कैद गरी जम्मा ११ वर्ष कैद सजाय हुने तथा सबै प्रतिवादीहरूबाट ऐ. को १२ नं.बमोजिम मृतकको हकवालालाई दामासाहीले चार लाख पचास हजार रूपैयाँ क्षतिपूर्ति भराइदिने ठहरी फैसला भएको रहेछ । उच्च अदालत पाटनबाट भएको सो फैसलाउपर प्रतिवादीहरू भोला भन्‍ने देवेन्द्र ठाकुर, आशिष दुरा, लालबाबु ठाकुर र दिपक बलामीको हकमा कर्तव्य ज्यानतर्फ सजाय नगरी फैसला भएको हदसम्ममा चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट र आफूहरूलाई कसुरदार ठहर्‍याई भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादीहरूमध्ये सन्तोषकुमार पण्डित, आशिष दुरा, भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर र धर्वेन्द्र ठाकुरको तर्फबाट प्रस्तुत पुनरावेदनहरू यस अदालतमा पर्न आएको देखियो । 

प्रस्तुत मुद्दामा आज सुनुवाइको क्रममा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका महान्यायाधिवक्ता कार्यालयका विद्वान्  उपन्यायाधिवक्ता श्री सुवर्णमान बनेपालीले अपहरण गरी शरीर बन्धक बनाएको अवस्थाको निरन्तरतामा नै कर्तव्य ज्यानसम्बन्धी वारदात घटेकोमा दुवै कार्य अलगअलग अपराध भएको मान्‍नुपर्दछ । एउटा प्रकृतिको आपराधिक कार्यको निरन्तरतामा नै अर्को आपराधिक कार्य भएको अवस्था छ । एउटा कसुर स्थापित भइसकेपछि बालक शुभमकुमार साहलाई मारेको कुरा फोनबाट लालबाबु ठाकुर र देवेन्द्र ठाकुरलाई जानकारी गराएको भनी मौकामा नै पोल गरेको अवस्थासमेत देखिएको र उक्त विषय गोप्य राखेकोले उनीहरूको समेत ज्यान मार्ने कार्यमा संलग्नता रहेको स्पष्ट देखिइरहेकोमा बालक शुभमकुमार साहलाई अपहरण गरी बन्धक बनाई राखी निर्मम तरिकाले हत्या गरी लास दबाउने छिपाउने कार्य यी सबै प्रतिवादीहरूले योजनाबद्ध ढंगमा गरेको अवस्थामा अपहरणतर्फ सजाय गर्ने तर अपहरणको जरियाबाट हत्या भएकोमा हत्यातर्फ पूर्ण रूपमा उन्मुक्ति दिएको मिलेन । निज प्रतिवादीहरू आशिष दुरा, दिपक बलामी, लालबाबु ठाकुर र भोला भन्‍ने देवेन्द्र ठाकुरसमेतलाई अभियोग दाबीबमोजिम ज्यान मारेको तर्फसमेत सजाय हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रत्यर्थी प्रतिवादी सन्तोषकुमार पण्डितका तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ अधिवक्ताहरू श्री रामप्रसाद ढुङ्गेल र श्री विरेन्द्रप्रसाद साहले यी पुनरावेदक प्रतिवादीले आरोपित कसुर अपराध नघटाएको र अदालतमा प्रतिवादीको पूर्ण इन्कारी बयानसमेतका प्रमाणलाई विवेचना नै नगरी अनुसन्धान अधिकारीसमक्षको बयानलाई आधार मानी अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद र ऐ. ऐनको अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३, ७ र ९ नं.बमोजिम ११ वर्ष कैद र रू.पचास हजार जरिवाना हुने ठहरी फैसला भएको त्रुटिपूर्ण हुँदा बदर गरी पुनरावेदक प्रतिवादी सन्तोषकुमार पण्डितलाई आरोपित कसुरबाट सफाइ दिलाइपाउँ भनी बहस गर्नुभयो ।

यसैगरी पुनरावेदक प्रतिवादी रामजी ठाकुरका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुङ्गेलले यी पुनरावेदक प्रतिवादीलाई फरार प्रतिवादी विनय शिवहरी साहले रक्सी खुवाई फोनमार्फत फिरौतीको रकम माग गर्न लगाएको भन्‍ने कुरा स्वीकार गरेकोमा सोही हदसम्म मात्र सजाय हुनुपर्नेमा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३, ७ र ९ नं.बमोजिम ११ वर्ष कैद र रू.पचास हजार जरिवाना तथा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी उच्च अदालत पाटनबाट बएको फैसला अन्यायपूर्ण हुँदा निजका हकमा उक्त फैसला बदर गरी कसुरको मात्रा र संलग्नताको हदसम्म मात्र सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।

पुनरावेदक प्रतिवादी धर्वेन्द्र ठाकुरको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री भिमप्रसाद धिमालले प्रतिवादी धर्वेन्द्र ठाकुर कसुरमा साबित भई अनुसन्धानमा समेत सहयोग गरेको र वारदातको समयमा निजको उमेर १८ वर्ष मात्र पूरा भएकोतर्फ विचारै नगरी सर्वस्वसहित जन्मकैद गरेको सुरू अदालतको फैसलालाई सदर गरी अपहरणतर्फसमेत थप सजाय गरेको उच्च अदालतको फैसला न्यायोचित नहुँदा सोहदसम्मको उक्त फैसला बदर गरी निज प्रतिवादीलाई कसुरको हद र उमेरको अवस्थासमेतलाई विचार गरी कम सजाय गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

यसैगरी, पुनरावेदक प्रतिवादी आशिष दुराको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल र विद्वान् अधिवक्ता श्री दिपेन्द्र अधिकारीले प्रतिवादी आशिष दुरा बालक अपहरणमा संलग्न नभएको, यी प्रतिवादीले बालक अपहरण गरी लैजान मोटरसाइकल चलाएको भनी आरोप लगाएकोमा कोही कसैले पनि बालक अपहरण गर्ने कार्यमा संलग्न हुन यी प्रतिवादीलाई नभनेको, मोटरसाइकल चलाउन नअह्राएको, मोटरसाइकल चलाउने लाइसेन्स नभएको र मोटरसाइकल चलाउन पनि नआउने हुँदा आशिष दुरालाई लगाएको आरोप कपोलकल्पित हुँदा जिल्ला अदालतबाट अपहरणतर्फ ४ वर्ष कैद हुने ठहरी भएको फैसलालाई केही उल्टी गरी ११ वर्ष कैद र ५० हजार जरिवाना हुने ठहरी उच्च अदालतबाट भएको फैसला अन्यायपूर्ण हुँदा सोहदसम्म उक्त फैसला बदर गरी निज प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिलाइपाउँ भनी बहस गर्नुभयो ।

यसैगरी, प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुरका तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भट्टराई तथा विद्वान्‌ अधिवक्ताहरू श्री वीरेन्द्रकुमार ठाकुर र श्री सहदेव झाले यी प्रतिवादीले बालक शुभमकुमार साहको अपहरण गर्ने, फिरौती माग्ने योजना नबनाएको र वारदातमा संलग्नसमेत नभएकोमा अदालतसमक्षको इन्कारी बयानलाई अनदेखा गरी सहप्रतिवादीहरूले समेत अदालतमा पोल नगरेकोमा जबरजस्ती गराएको अनुसन्धान अधिकारीसमक्षको बयानकै आधारमा अपहरणतर्फ ११ वर्ष कैद र रू.५० हजार जरिवाना हुने ठहरी उच्च अदालतबाट भएको फैसला अन्यायपूर्ण हुँदा सो हदसम्म उक्त फैसला बदर गरी निज प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिलाइपाउँ भनी बहस गर्नुभयो ।

प्रस्तुत मुद्दामा वादी नेपाल सरकार र प्रतिवादीहरू सन्तोषकुमार पण्डित, धर्वेन्द्र ठाकुर, रामजी ठाकुर, देवेन्द्र ठाकुर र आशिष दुराका तर्फबाट पर्न आएको पुनरावेदनमा लिइएका जिकिरहरू, दुवै पक्षका विद्वान् उपन्यायाधिवक्ता र अधिवक्ताहरूबाट प्रस्तुत हुन आएका बहस बुँदाहरू तथा मिसिल संलग्न कागजातहरू अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मूलत: देहायका प्रश्‍नहरूमा निरूपण हुनुपर्ने देखिन आयो:-

१. पुनरावेदक प्रतिवादी सन्तोषकुमार पण्डित, आशिष दुरा र भोला भन्‍ने देवेन्द्र ठाकुरको पुनरावेदन जिकिरबमोजिम निजहरूले अभियोग माग दाबीबमोजिमको कसुरबाट सफाइ पाउनुपर्ने देखिन्छ वा देखिँदैन  ?

२. पुनरावेदक प्रतिवादीहरू रामजी ठाकुर र धर्वेन्द्र ठाकुरको पुनरावेदनको जिकिरबमोजिम निजहरूलाई कम सजाय हुनुपर्ने हो, वा होइन ?

३. पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरबमोजिम प्रतिवादीहरू देवेन्द्र ठाकुर, आशिष दुरा, दिपक वलामी र लालबाबु ठाकुरलाई अभियोग मागदाबी कर्तव्य ज्यानतर्फको कसुरमा समेत सजाय हुनुपर्ने देखिन्छ वा देखिँदैन ?

 

२. निरूपण हुनुपर्ने उपर्युक्त प्रश्‍नहरूका सन्दर्भमा मिसिल संलग्न कागजातहरू अध्ययन गर्दा प्रस्तुत मुद्दामा प्रतिवादीहरू दिपक बलामी र लालबाबु ठाकुरमा हकमा उच्च अदालतबाट मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं.बमोजिम ७ वर्ष कैद र सोही महलको ७ नं. र ९ नं.बमोजिमको थप कैदसमेत गरी जम्मा जनही ११ वर्ष कैद र रू ५० हजार जरिवाना हुने ठहराई फैसला भएकोमा सो फैसलाउपर निजहरूको तर्फबाट पुनरावेदन पर्न आएको नदेखिँदा सो हदसम्मको विषयमा विचार गर्नुपर्ने अवस्था देखिएन । प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरू अध्ययन गर्दा जाहेरवालाको जाहेरी, बालक शुभमकुमार साहलाई बाफलबाट स्कुल जाने क्रममा अपहरण गरी सामाखुशी कपुरधारास्थित धर्वेन्द्र ठाकुरको कोठामा शरीर बन्धक बनाएको तथ्य, फिरौती माग गर्दा प्रयोग भएका मोबाइल नम्बरहरू, एकै दिन एउटै लहरमा एकपछि अर्को गर्दै पहिलो पक्राउ परेको प्रतिवादीको भनाइ र देखाएको आधारबाट अरू प्रतिवादीहरू पक्राउ परेको अवस्था, शरीर बन्धक रहेकै अवस्थामा नै धेरै मात्रामा क्लोरोफर्म सुँघाएको कारणबाट मृतकको मृत्यु भएको तथ्य पोष्टमार्टम रिपोर्टबाट देखिइरहेको र अदालतमा भएको विशेषज्ञको बकपत्रबाट समेत सो तथ्य समर्थित भएको, निज प्रतिवादीहरूले नै देखाएबमोजिमको स्थानबाट कलंकीस्थित सुपर सीता यातायातको काउन्टरबाट सुटकेसभित्र बोरामा प्याक गरिएको अवस्थामा मृतकको लास फेला परेको र अन्य दशीका सामानहरूसमेत बरामद भएको भनी उल्लेख भएको देखिँदा निज मृतकलाई अपहरण गरी कर्तव्य गरी मारिएको भन्ने तथ्य स्थापित भएको देखिन्छ । मृतकको लास जाँच प्रकृति मुचुल्काबाट लास सुटकेशभित्र बोरामा टाउको डल्लो पारिएको अवस्थामा भेटिएको, बालकको हात, गोडा, टाउको, शरीर एउटै ठाउँमा पोको पारी राखेको, सो बोराबाट बाहिर निकाली हेर्दा मृतक लासको कपडामा रगत जस्तो पदार्थ लागेको, कपडा खोलेर हेर्दा टाउको सामान्य, अनुहारको पूरै भाग निलो कालो भएको, दुवै आँखा बन्द, नाक मुखबाट रगत जस्तो तरल पदार्थ निस्केको, कान, चिउँडो, घाँटी सामान्य, हात औंला पाखुरासमेत सामान्य, पेटको भागमा पुरानो दाग अन्य शरीरको भाग सामान्य अवस्थामा रहेको, कुनै चोटपटक नरहेको, मलद्वारबाट दिसा निस्केको भनी उल्लेख भएको, प्रतिवादी धर्वेन्द्र ठाकुरको कोठाबाट क्लोरोफर्मसमेत बरामद भएको र शव परीक्षण प्रतिवेदनमा मृत्युको कारणमा The cause of Death is SUFFOCATION possibly During forceful CHLOROFORM INHALATION भनी उल्लेख भएकोबाट निज बालकको मृत्यु अत्यधिक मात्रामा क्लोरोफर्म सुँघाएको कारणबाट भएको थप तथ्य पनि पुष्टि हुन आएको देखिएको छ । 

३. अब, प्रतिवादीहरूमध्येका सन्तोषकुमार पण्डित, भोला भन्‍ने देवेन्द्र ठाकुर र आशिष दुराको पुनरावेदन जिकिरबमोजिम निजहरूले अभियोग दाबीबमोजिमको कसुरबाट सफाइ पाउनुपर्ने अवस्था देखिन्छ वा देखिँदैन भन्‍ने प्रश्‍नमा विचार गरौं । यी पुनरावेदक प्रतिवादीहरूले अदालतमा बयान गर्दा मृतकलाई अपहरण गर्ने योजना बनाउने, अपहरण गर्ने, मोटरसाइकल चलाउने, अपहरण गरी शरीर बन्धक राखेको र निजलाई कर्तव्य गरी मारेकोमा इन्कार रही बयान गरेको देखिएको छ । पुनरावेदक सन्तोषकुमार पण्डितले अदालतमा जाहेरवालाको छोरालाई विनय शिवहरी साह भन्‍नेले धर्वेन्द्र ठाकुरको कोठामा ल्याई राखेको र निजलाई ओभरडोज औषधी खुवाइदिई मारेको भन्‍ने कुरा मैले पक्राउ परेपछि मात्र थाहा पाएको, राम भगत साहको निवेदन र सिनामंगलमा भएको बरामदी मुचुल्काबमोजिमको ९८१३५०९८०३ को सिमकार्ड बरामद बारेमा आफूलाई थाहा नभएको, सो सिमकार्ड रामजी ठाकुरबाट बरामद भएको, सन्तोष मल्ल र चुडामणी चौधरीको सनाखत कागजबारे मलाई थाहा छैन भनी बयान गरेको देखिन्छ । अर्का प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुरले सुरू अदालतसमक्ष गरेको बयान बेहोरा हेर्दा प्रतिवादीमध्येका रामजी ठाकुर, सन्तोष पण्डित र दिपक बलामीलाई चिन्दछु । शुभमकुमार साहलाई अपहरण गर्ने, फिरौती माग गर्ने, निजलाई हत्या गरी सुटकेसमा प्याक गरी फाल्ने कार्यमा संलग्न भन्‍ने बेहोरा झुट्टा हो भनी अदालतमा बयान गरेको पाइन्छ । प्रतिवादी आशिष दुराले अदालतमा बयान गर्दा आफू कुनै पनि अपहरणको कार्यमा संलग्न नभएको, मोटरसाइकल नभएको, मोटरसाइकल चलाउन पनि नआउने र लाइसेन्स पनि नभएको भनी बयान गरेको देखिन्छ । 

४. माथि उल्लेख भएबमोजिम यी प्रतिवादीहरूले अदालतमा बयान गर्द कसुरमा इन्कार रही बयान गरेको देखिएको भए पनि कुनै कसुरका सम्बन्धमा कुनै व्यक्तिले कसुर गरेको देखिन्छ वा देखिँदैन भन्‍ने न्यायिक निष्कर्षमा पुग्नुपर्दा प्रतिवादीहरूले अदालतमा गरेको इन्कारी बयान मात्र निर्णायक आधार बन्‍न सक्दैन । किनभने कुनै कसुरको अभियोग लागेको व्यक्ति आफूलाई लागेको अभियोगका सम्बन्धमा इन्कार रहनु सामान्य मानवीय स्वभावभित्रै पर्ने कुरा हो । कुनै पनि व्यक्तिले हत्तपत्त आफूलाई लागेको आरोप स्वीकार गरी हाल्दैन । त्यसैले प्रमाणका दृष्टिले कसैले आफू विरूद्ध लागेको आरोप स्वीकार नगरेको तथ्य होइन, स्वीकार गर्‍यो भने स्वीकार गरेको अवस्था महत्त्वपूर्ण हुने हो।कतिपय अवस्थामा प्रतिवादीले आफू विरूद्ध लागेको अभियोग स्वीकार गरेकै अवस्थामा पनि कुनै दबाब वा प्रभावमा परेर स्वीकार गरेको अवस्था रहेछ भने अदालतले त्यस्तो स्वीकारोक्तिप्रति प्रमाणमा ग्रहण गर्नुपूर्व थप सतर्कता अपनाउनुपर्ने मान्यताहरू विकास भएका छन् । यस्तो अवस्था परी कसुर स्वीकार गरेको अवस्था देखिन्छ भने कसुर स्वीकार गरेको भन्ने तथ्यलाई मात्र आधार बनाएर कसुरदार ठहर गर्न नहुने मान्यता स्थापित रहेको देखिन्छ । तर कुनै कसुरका सम्बन्धमा प्रतिवादीले स्वेच्छाले कसुर स्वीकार गर्छ भने सामान्यतया साँचो नभई कसैले पनि आफू विरूद्ध लागेको अभियोग स्वीकार गर्दैन भन्ने मान्यतालाई आधार मानी त्यस्तो स्वीकारोक्तिले कसुरदार ठहर गर्ने प्रयोजनका लागि प्राथमिक प्रमाणको स्थान ग्रहण गर्न सक्दछ । यदि कसैले आफू विरूद्ध लागेको अभियोग स्वीकार गर्छ भने अन्यथा प्रमाणित नभएसम्म साँचो भएरै यसरी अभियोग स्वीकार गरेको मानिन्छ र यस्तो स्वीकारोक्तिलाई प्रमाणमा ग्रहण गरिने मान्यता स्थापित भएको छ । हाम्रो प्रमाण ऐन, २०३१ को दफा ९ मा पक्षले व्यक्त गरेको कुरालाई प्रमाणमा लिने सम्बन्धमा गरिएको व्यवस्थालाई हेर्दा पनि यही मान्यतालाई आत्मसात् गरिएको पाइन्छ । उक्त ऐनको दफा ९(२) मा अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरालाई प्रमाणमा लिँदा थप सतर्कता अपनाउनुपर्ने अपवादात्मक व्यवस्था गरिनुका अतिरिक्त दफा ९(१) मा मुद्दाका कुनै पक्षले व्यक्त गरेको कुनै कुरा निजका विरूद्ध प्रमाणमा लिन हुन्छ भनी उल्लेख भएको देखिन्छ । दफा ९(१) को यो व्यवस्थाले स्पष्टत: पक्षले व्यक्त गरेको कुरा निजको पक्षमा होइन, विरूद्धमा प्रमाणमा लिन हुने व्यवस्था गरेको देखिन्छ । त्यसैले प्रस्तुत मुद्दाका प्रतिवादीहरू सन्तोषकुमार पण्डित, भोला भन्‍ने देवेन्द्र ठाकुर र आशिष दुराले अदालतमा गरेको इन्कारी बयानलाई मात्र आधार बनाएर निजको अभियोग दाबीबमोजिमको कसुरमा संलग्नता रहेनछ भनी मान्‍न सकिएन ।

५. प्रतिवादीमध्येका सन्तोषकुमार पण्डित, भोला भन्‍ने देवेन्द्र ठाकुर र आशिष दुराको अभियोग दाबीबमोजिमको कसुरमा संलग्नताको विषयलाई हेर्दा प्रमाण ऐन, २०३१ को दफा २५ मा गरिएको कानूनी व्यवस्थातर्फ पनि ध्यान दिनुपर्ने हुन्छ । उक्त दफा २५ मा फौजदारी मुद्दामा अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुने छ भनी व्यवस्था भएको पाइन्छ । फौजदारी न्याय प्रणालीमा कुनै कसुरको अभियोग लागेको व्यक्ति स्वयंले आफूउपर लागेको अभियोगका सम्बन्धमा सफाइ लिनुपर्नेभन्दा पनि अभियोग लगाउने पक्षले निजको अभियोग प्रमाणित गर्नुपर्ने मान्यतालाई आत्मसात् गरिएको छ ।

६. माथिका प्रकरणहरूमा उल्लिखित कानूनी व्यवस्था र मान्यताहरूका सन्दर्भमा प्रस्तुत मुद्दाको स्थितिलाई हेर्दा, जाहेरवाला रामभगत साहले आफ्नो वर्ष ११ को छोरा शुभमकुमार साहलाई अपरिचित मानिसले अपहरण गरी शरीर बन्धक बनाएको र अपहरण मुक्त गराउन रू ५०,००,०००।– (पचास लाख रूपैयाँ) फिरौती रकम माग गरेको भन्‍ने निवेदनबमोजिम निज बालकको खोजतलास गर्ने क्रममा सन्तोषकुमार पण्डित, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर र लालबाबु ठाकुरसमेतले बालकलाई फिरौती लिने उद्देश्‍यले अपहरण गरी बन्धक बनाई राखेको खुल्न आएको, रामजी ठाकुरबाट बालकलाई अपहरण गरी ल्याई धर्वेन्द्र ठाकुरको कोठामा बन्धक बनाई राखेको खुलेको, धर्वेन्द्र ठाकुरलाई पक्राउ गरी सोधपुछ गर्दा सन्तोष पण्डितसमेत भई अपहरित बालकलाई कर्तव्य गरी मारी फालेको बताएको, अपहरण गर्नका लागि मोटरसाइकल दिपक बलामीले बन्दोबस्त गरेको र अपहरण गर्दा मोटरसाइकल चलाउने आशिष दुरा हुन् भन्‍ने खुल्न आएको, छोराको लास फेला परेपछि छोराको अपहरण गरी हत्या गरेको भनी कर्तव्य ज्यानतर्फसमेत कारबाहीका लागि पुनः थप जाहेरी दरखास्त दिएको र जाहेरवालाले अदालतमा उपस्थित भई प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर, सन्तोष पण्डित, दिपक बलामी र आशिष दुराउपर मौकाको बेहोरालाई समर्थन गरी बकपत्रसमेत गरेको पाइन्छ ।

७. पुनरावेदक प्रतिवादी सन्तोषकुमार पण्डितको हकमा विचार गर्दा, निजले अधिकारप्राप्‍त अधिकारीसमक्ष बयान गर्दा भोला भन्‍ने देवेन्द्र ठाकुर, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी, आशिष दुरासमेत भई फिरौती लिनका लागि जाहेरवाला रामभगत साहको छोरा शुभमकुमार साहलाई अपहरण गर्ने योजना बनाई निज बालक स्कुल जाने बाटोमा निगरानी राखी सोही ठाउँमा निजलाई एक्लै हिँडेर जान लागेको देखी रामजी ठाकुरले भान्जा भनेर बोलाई स्कुलसम्म दिपक बलामीको मोटरसाइकलमा छाडिदिने भनी आशिष दुराले चलाएको मोटरसाइकलको पछाडि राखी क्लोरोफर्म सुँघाई बेहोस बनाई रामजी ठाकुरसमेतले धर्वेन्द्र ठाकुरको कोठामा लगी शरीर बन्धक बनाई जाहेरवालासँग फिरौती रकम पचास लाख माग गरेको हो, रामजी ठाकुर, धर्वेन्द्र ठाकुर र मैले निज बालकको रेखदेख गर्ने गर्दथ्यौं, फिरौती रकम प्राप्‍त भए पनि निजलाई मार्ने थियौं, बालक रूने कराउने गर्नाले राख्न असजिलो भएको हुँदा मिति २०६८।०८।०४ गते रामजी ठाकुरले दुवै खुट्टा र धर्वेन्द्र ठाकुरले दुवै हात समाएर बालकलाई बिस्तारामा सुताई मैले धेरै मात्रामा क्लोरोफर्म सुँघाई कर्तव्य गरी मारेको हो, म र रामजी ठाकुर भई सुन्धाराबाट सुटकेस किनेर ल्याई लासलाई बोरामा हाली बोरालाई सुटकेसमा प्याक गरेर ट्याक्सीमा राखेर कलंकी गई इटहरीसम्म जानको लागि टिकट काटी मैले र रामजी ठाकुरले सो सुटकेस ना. ३ ख २६०४ नं.को बसको पछाडिको सिटमा राखेर फर्केका हौं, त्यसपछि पनि मसमेतले जाहेरवालालाई फोन सम्पर्क गरेर पच्चिस लाख फिरौती रकम माग गरेका थियौं, जाहेरवालासँग फिरौती रकम माग गर्दा रामजी ठाकुरले कुरा गरेका हुन्, सिडीमा भएको फोन संवादमा फिरौती माग गर्ने व्यक्तिको आवाज रामजी ठाकुरको हो भनी लेखाएको पाइन्छ । निज प्रतिवादी सन्तोष पण्डितलाई गौशाला चोकमा पक्राउ गरी तत्काल सोधपुछ गर्दा पनि अपहरित बालकलाई मारेको स्वीकार गरेको र निजको शरीर तलासी लिँदा निजको साथमा रहेको पर्सबाट जाहेरवालालाई धम्क्याउन प्रयोग भएको ९८१३५०९८०३ नं. को सिमकार्डसमेतबरामद भएको खानतलासी तथा बरामदी मुचुल्काबाट देखिन्छ । साथै, प्रतिवादी आशिष दुरालाई समेत निजले देखाएको ठाउँबाट पक्राउ गरेको मिसिल संलग्न कागजातबाट देखिन्छ । 

८. यसैगरी, अनुसन्धानको क्रममा प्रतिवादी रामजी ठाकुरलाई पक्राउ गरी खानतलासी गर्दा फिरौती माग गर्न प्रयोग भएको सिमकार्डसहितको मोबाइल फेला परी निजको भनाइअनुसार कपुरधारास्थित धर्वेन्द्र ठाकुरको कोठामा जाँदा अपहरित बालक फेला नपरेको तर बच्चाले लगाएको जुत्तासहितका दसीका प्रमाण फेला परेको र प्रतिवादी धर्वेन्द्रलाई सोधपुछ गर्दा सन्तोष पण्डितले बालकलाई कर्तव्य गरी मारी लगेका छन्, लास कहाँ छ ? मलाई थाहा भएन, बच्चालाई मेरो डेरा कोठामा पहिला सिरिन्ज दिई बेहोस बनाएपछि मुख थुनी मारेको हो भनी सन्तोष पण्डितलाई पोल गरेको देखिन्छ । अनुसन्धानको क्रममा लिइएको प्रतिवादीहरूको बयान हेर्दा बालकको अपहरण गर्दा प्रयोग भएको क्लोरोफर्म प्रतिवादी सन्तोषकुमार पण्डितले नै व्यवस्था गरेको देखिन्छ । बालकलाई बेहोस बनाउन प्रयोग भएको क्लोरोफर्म र बालक शुभमकुमार साहले लगाउने गरेको जुत्ता धर्वेन्द्र ठाकुरको डेरा कोठाबाट फेला परेको प्रहरी प्रतिवेदन बेहोरामा उल्लेख भएको देखिन्छ । प्रतिवादी सन्तोषकुमार पण्डितसमेतले देखाएबमोजिम काठमाडौं जिल्ला सितापाइला गा.वि.स. वडा नं.१ स्थित अरूणासिंह डंगोलको घरको दक्षिणपट्टिको कोठामा DIESEL लेखिएको कालो ब्याग, शुभमकुमार साहको हारती शिक्षा मन्दिर लेखेको शुभमकुमार साहको डायरी, आई.डी.कार्ड, किताब, कापी पेन्सिल, पेटी, टाई र खाली सिसी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ स्थित सिता पौडेलको खाली जग्गामा फेला परेको भन्‍ने मौकाको बरामदी मुचुल्काबाट देखिएकोमा उक्त सामानहरू मृतक बालकसँग सम्बन्धित सामानहरू हुन् भन्‍ने जाहेरवालाको सनाखत बेहोराबाट पुष्टि हुन्छ ।

९. प्रतिवादी सन्तोषकुमार पण्डितले अनुसन्धानका क्रममा बताएबमोजिम काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१४ कलंकीस्थित सिता यातायातको काउन्टरमा Pierre Cardin लेखिएको ताल्चा लगाइएको कालो रंगको सुटकेसमा बोराभित्र जाहेरवालाको छोरा शुभमकुमार साहको लास प्याक गरिएको अवस्थामा फेला परेको अवस्था छ । सो Pierre Cardin सुटकेस सन्तोषकुमार पण्डितले इटहरी जाने बताई ना. ३ ख २६०४ नं.को बसको टिकट लिई सो बसमा राखेकोमा कलंकी ओरालो पेट्रोल पम्प पुग्दासम्म सुटकेसको सम्बन्धित धनी फेला नपरेको कारण सुटकेस कलंकी स्थित काउन्टरमा ल्याई राखेको भन्‍ने सन्तोष मल्ल, चुडामणी चौधरी, दिपक ढकाल र रविन कार्कीले मौकामा गरेको कागजबाट खुल्न आएको छ । ना. ३ ख २६०४नं. को बसमा उक्त सुटकेस राख्ने व्यक्ति यिनै सन्तोषकुमार पण्डित हुन्, भनी चुडामणी चौधरी र सन्तोष मल्लले सनाखत गरेको देखिँदा यी पुनरावेदक प्रतिवादी सन्तोषकुमार पण्डितले अभियोग माग दाबीबमोजिमको कसुर अपराध गरेको तथ्य पुष्टि हुन आएको देखिन्छ ।

१०. अर्का पुनरावेदक प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुरको हकमा हेर्दा निज प्रतिवादीले अदालतमा आई बयान गर्दा कसुर अपराध घटाएकोमा पूर्ण इन्कार रही जाहेरवालाको छोरा शुमभकुमार साहलाई अपहरण गरी फिरौती माग गर्ने कार्यमा र जाहेरवालाको छोरालाई हत्या गरी सुटकेसमा प्याक गरी फाल्ने कार्यमा संलग्न छैन, मैले मृतकको झोला राजिव महर्जनलाई राख्‍न दिएको छैन, मैले अभियोग मागदाबीअनुसारको कसुर नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन भनी बयान गरे तापनि प्रस्तुत मुद्दाको अनुसन्धानको पहिलो कडीका रूपमा नै निजसमेतले बालक शुभमकुमार साहलाई अपहरण गरी अपाचे मोटरसाइकलमा हाली लगेको खुल्न आएको र निजलाई नै पक्राउ गरी सोधपुछ गर्दा सिलसिलेवार रूपमा सबै प्रतिवादीहरू पक्राउ परेको र निजहरूकै बयान बेहोराअनुसार अपहरण गरी शरीर बन्धक बनाई राखेको स्थान र मृतकको लास र दशीका सामानसमेत बरामद भएको अवस्था तथा सबै अनुसन्धान अधिकारीसमक्षको प्रतिवादीहरूको बयान बेहोरा मिलेको देखिन्छ । प्रस्तुत मुद्दाको मिसिल हेर्दा बालक अपहरण गरी फिरौती माग गर्ने मुख्य योजना निज प्रतिवादीले नै बनाई अन्य प्रतिवादीहरूलाई योजनामा सामेल गराएको तथ्य खुल्न आउँछ । निज प्रतिवादीको अनुसन्धान अधिकारीसमक्ष गरेको बयान बेहोरा हेर्दा, सन्तोषकुमार पण्डित मेरो पूर्व-रूम पार्टनर हुन्, शुभमकुमार साह धनाढ्य बाबुको छोरा भएको थाहा पाएपछि म र सन्तोष पण्डितले निज बालक शुभमकुमार साहलाई अपहरण गरी बन्धक बनाई बालकको बुबासँग फिरौती माग गर्ने योजना बनाई योजनामा मैले रामजी ठाकुर र धर्वेन्द्र ठाकुर, मोटरसाइकलको लागि दिपक बलामी, आशिष दुरा, विनेश महर्जन, लालाबाबु ठाकुर, राजिव महर्जन र विनय शिवहरी साहलाई पनि सामेल गराएको र योजनाबमोजिम मिति २०६८।०८।०२ गते हामी सबै भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ बाफलबाट बालक शुभमकुमार साहलाई अपहरण गरी कपुरधारास्थित धर्वेन्द्र ठाकुरको कोठामा बन्धक बनाइराखेको, बच्चाको रेखदेख धर्वेन्द्र ठाकुर, सन्तोष पण्डित र रामजी ठाकुरले गर्ने, रामजी ठाकुरले फोन गरी पचास लाख रूपैयाँ फिरौती रकम माग गरेको, पहिलो सिमकार्डको बारेमा सोधपुछ हुन थालेको कुरा मलाई थाहा भएकोले सो सिम प्रयोग नगर्न भनेको, मिति २०६८।०८।०४ गते रामजी ठाकुर, धर्वेन्द्र ठाकुर र सन्तोषकुमार पण्डितले अत्यधिक मात्रामा क्लोरोफर्म सुँघाई मारेको कुरा निजहरूले मलाई जानकारी गराएका थिए, अपहरित एवं मृतक बालकको झोला राजिव महर्जनले मलाई राख्‍न दिएको हुँदा मैले सैलुन सञ्चालन गरेको अरूणा सिंह डंगोलको घरको पछाडिपट्टिको काम नलाग्ने सामान फाल्ने गरेको कोठामा राखेको हो, मिसिल संलग्न सि.डी.मा भएको फोन संवाद रेकर्डमा भएको फिरौती माग गर्ने व्यक्तिको आवाज रामजी ठाकुरको हो, प्राप्‍त भएको फिरौती रकमबमोजिम रकम बाँडफाँट गर्ने योजना थियो भनी लेखाएको पाइन्छ । निजले दिएको उक्त बयानकै आधारमा दशीका सामानहरूसमेत बरामद भएको पाइन्छ । यी सम्पूर्ण प्रमाणहरूबाट निज प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुर बालकको अपहरण गरी शरीर बन्धक बनाउने कार्यमा पूर्ण रूपमा संलग्न रहेको देखिन आउँछ ।

११. अर्का प्रतिवादी आशिष दुराको हकमा विचार गर्दा, निजले अदालतमा आई बयान गर्दा आरोपित कसुर अपराध गरेकोमा पूर्ण इन्कार रही आफू कुनै पनि अपहरणको योजनामा संलग्न पनि नभएको, आफ्नो मोटरसाइकल चलाउने लाइसेन्स पनि नभएको र चलाउन पनि नआउने हुँदा आफ्नो हकमा अभियोग दाबी झुट्टा हो भनी बयान लेखाएको पाइन्छ । तर निजले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा शुभमकुमार साहलाई अपहरण गर्ने पूर्वयोजनाबमोजिम अपहरण गरी धर्वेन्द्र ठाकुरको कोठामा शरीर बन्धक बनाइराखेको हो, निज बालकलाई अपहरण गर्दाका अवस्थामा मोटरसाइकल मैले चलाएको थिएँ, रामजी ठाकुर पछाडि बसेर बिचमा बालकलाई राखेको हो, निज बालकको हत्या भएको भन्‍ने कुरा हत्या भएपछि मात्र थाहा पाएको हो भनी बयान गरेको देखिन्छ । यसैगरी, सहप्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुरले दिपक बलामीलाई मोटरसाइकलको व्यवस्था गर्न भनेको र प्रतिवादी दिपक बलामीले यी प्रतिवादी आशिष दुरालाई मोटरसाइकल चलाउन भनी भनेकोमा सहमति जनाई योजनामा संलग्न भएको र अपहरण गर्दा निजले नै मोटरसाइकल चलाएको भनी सबै प्रतिवादीहरूले पोल गरेको अवस्था छ । उपर्युक्त बयानलाई आधार मान्दा निज प्रतिवादी आशिष दुरा बालकको अपहरण गरी शरीर बन्धक बनाउने कार्यसम्ममा संलग्न रहेको देखिन्छ । 

१२. यसप्रकार, पुनरावेदक प्रतिवादीहरू सन्तोषकुमार पण्डित, आशिष दुरा र भोला भन्‍ने देवेन्द्र ठाकुरले अदालतसमक्ष बयान गर्दा आरोपित कसुरमा इन्कार रहे पनि निजहरूले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा सिलसिलाबद्ध रूपमा प्रत्येक घटनाक्रम खुलाई आरोपित कसुरमा साबित भई बेहोरा लेखाएको र उक्त साबिती बयान घटनास्थल मुचुल्का, लास जाँच मुचुल्का, Autopsy Report समेतका प्रमाण कागजातहरूबाट समर्थित भएको छ । यस सन्दर्भमा ने.का.प. २०७५, अङ्क ७, नि.नं. १००५९ मा “सामान्यतया अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयानको आधारमा मात्र कसुर ठहर गर्न पर्याप्त प्रमाण होइन । तर अनुसन्धान अधिकारीसमक्षको बयान कुनै दबाब प्रभावविना आफ्नो अन्तर हृदयबाट स्वस्फूर्त रूपमा आरोपित कसुरसँग स्वाभाविक सामञ्जस्यता हुने गरी बयान गरी सो बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भइराखेको छ भने अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई प्रमाणमा ग्रहण नगर्ने हो भने सो बयान गर्नुपर्ने कानूनी व्यवस्थाको कुनै अर्थ र प्रयोजन देखिन नआउने” भनी नजिर सिद्धान्तसमेत प्रतिपादन भएको अवस्था छ । यस अवस्थामा प्रतिवादीहरूले कसुरमा साबित भई परस्परमा पोल गरी मौकाको बयानमा उल्लिखित तथ्य अनुसन्धानका क्रममा फेला परेका बालक विद्यार्थीको जुत्ता, स्कुल ड्रेस, किताब कलमका साथै सुटकेसमा फेला परेको बालकको लासबाट समर्थित भइरहेकोमा घटनाको प्रत्यक्षदर्शीको रूपमा जाहेरवालाले नरहेको, प्रतिवादीहरूको अदालतमा इन्कारी बयान रहेको, अदालतमा अन्य प्रतिवादीहरूले पोल नगरेको भन्‍नेसम्मको आधारमा यी पुनरावेदक प्रतिवादीहरूलाई निर्दोष ठहर गर्नु मनासिब देखिन आएन । 

१३. अर्का पुनरावेदक प्रतिवादी रामजी ठाकुरको पुरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, निजले अदालतमा आई बयान गर्दा आफूलाई फरार प्रतिवादी विनय शिवहरी साहले रक्सी खुवाई जाहेरवालासँग फोन गरी फिरौती रकम माग गर भनी फोन लगाइदिएकोले बोलेको मात्र हो, वारदातसँग सम्बन्धित अन्य कसुरमा म संलग्न छैन, मेरो संलग्नताको हदसम्म मात्र सजाय होस् भनी बयान गरे तापनि निजको अनुसन्धान अधिकारीसमक्ष भएको बयान हेर्दा पक्राउ परेका प्रतिवादीहरू र आफूसमेत भई बालक शुभमकुमार शाहको अपहरण गरेको, निजलाई भान्जा भनी आफूले बोलाई स्कुलसम्म मोटरसाइकलमा छाडिदिने भनी निजलाई आशिष दुराले चलाएको मोटरसाइकलमा राखी आफू पछाडि बसी निजलाई क्लोरोफर्म सुँघाई बेहोस बनाई धर्वेन्द्र ठाकुरको कोठामा लगी बन्धक बनाएको, जाहेरवालालाई फोनबाट निजको छोरा आफ्नो नियन्त्रणमा रहेकोले पचास लाख रूपैयाँ फिरौती माग गरेको कुरा स्वीकार गरी बयान गरेको देखिन्छ । सन्तोष पण्डित, धर्वेन्द्र ठाकुर र आफूले बालकको रेखदेख गर्ने गरेको र निजले हामीलाई चिन्‍ने हुँदा फिरौती पाए पनि निजलाई मार्ने योजना थियो, बालकले बालकले रूने, कराउने गरी असहज स्थिति सिर्जना गरेको कारण बालकलाई मार्ने सल्लाह गरी म रामजी ठाकुरले दुवै खुट्टा र धर्वेन्द्र ठाकुरले दुवै हात समाई बिस्तारामा सुताई प्रतिवादी सन्तोषकुमार पण्डितले धेरै मात्रामा क्लोरोफर्म सुँघाई बालकलाई मारेको हो, मृतकको उक्त लासलाई बोरामा पोको पारी सुटकेसभित्र हाली म र सन्तोषले कलंकीबाट पूर्व जाने गाडीको टिकट काटी लास भएको सुटकेस बसको सिटमा छोडी आएका हौं भनी साबिती बयान दिएको र उक्त साबिती बयान बरामदित लासको अवस्था, स्थान, दसीका प्रमाण, बरामदित सिमकार्ड र सह-प्रतिवादीहरूको बयान बेहोरासमेतबाट पुष्टि भइरहेकोमा बालकको अपहरण गरी शरीर बन्धक बनाउने र निजलाई कर्तव्य गरी मार्ने कार्यमा निज प्रतिवादीको संलग्नता थिएन भनी मान्‍न मिलेन ।

१४. यसैगरी पुनरावेदक प्रतिवादी धर्वेन्द्र ठाकुरका हकमा विचार गर्दा निजले सुरू अदालतमा आई बयान गर्दा आफ्नो नाताका विनय शिवहरी शाहले आफ्नो भान्जा हो भनी एउटा बालकलाई मेरो कोठामा ल्याई २ दिन राखेको हो, विनय शिवहरीले बढी क्लोरोफर्म सुँघाई बच्चालाई मारेको हो, बच्चा मरेपछि म र विनय शिवहरी साहले सुटकेस किनेर ल्याई लासलाई बोरामा हाली सुटकेसमा प्याक गरेको, बसको टिकट सन्तोषले काटेको र विनय र म भई लासलाई ट्याक्सीमा राखी लगेको तथा बसको सिटमा राखी फर्केको भन्‍नेसमेत बेहोरा उल्लेख गरेको देखिन्छ । यसरी अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा प्रतिवादीले कसुर अपराध स्वीकार गरेको देखिन्छ । प्रतिवादीले अदालतसमक्ष गरेको यो बयानको स्वाभाविकतातर्फ हेर्दा बालकलाई फिरौती लिनका लागि अपहरण गरी शरीर बन्धक बनाई कर्तव्य गरी मारी लास दबाउन सुटकेसमा राखी पूर्व जाने बसमा छाडेको भन्‍ने प्रस्तुत मुद्दाको स्थापित तथ्य हो ।

१५. मुद्दाको प्रकृति, तयारी, घटेका घटनाक्रम, बरामदित सामानको अवस्था, स्थान र प्रतिवादीहरू पक्राउ परेका बखत मौकामा प्रतिवादीहरूले गरेको परस्पर पोल र बयानमा गरिएको परस्पर पोलबिच मेल खाएको देखिएको छ । वारदातको स्थिति र घटनाक्रमलाई हेर्दा एक वा दुई व्यक्तिले मात्र यो अपराध गरेको हो भन्‍न सकिने अवस्था छैन । धेरै मानिस संलग्न भई सुनियोजित तवरले आपराधिक कार्य घटाएको हो भन्‍नेमा कुनै द्विविधा देखिँदैन । प्रतिवादी धर्वेन्द्र ठाकुरले अदालतमा बयान गर्दा विनय शिवहरीलाई पोल गरेको भए तापनि निज विनय शिवहरीको प्रस्ट वतन यकिन गर्न सकेको देखिँदैन । वतन स्पष्ट नभएका व्यक्तिलाई पोल गरेकै भरमा कसुरको सम्पूर्ण जिम्मेवार व्यक्ति सोही व्यक्ति रहेछ भनी मानेर पक्राउ परेका प्रतिवादीहरूले वादी पक्षबाट पेस गरेका प्रमाणहरूको तथ्ययुक्त रूपमा खण्डन गर्न नसकेको अवस्थामा यी प्रतिवादीहरूलाई सफाइ दिन सकिने अवस्था देखिएन ।

१६. अब, प्रतिवादीहरू भोला भन्‍ने देवेन्द्र ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी र आशिष दुरालाई कर्तव्य गरी मारेतर्फसमेत मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सजाय हुनुपर्ने र एकपछि अर्को निरन्तर घटेको वारदातमा को कसले कुन भूमिकामा रहेको भन्‍ने मात्र होइन जरियाको सिद्धान्तसमेतलाई हेर्दा निज बालकलाई अपहरण गरी हत्या गरेको र अपहरणकै कारण निजको मृत्यु भएकोमा सो कसुर अपराधसमेतमा सजाय गर्नुपर्नेमा अपहरणतर्फ मात्र सजाय गरी कर्तव्य ज्यानतर्फ सफाइ दिएको मिलेन भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ हेरौं । प्रतिवादीहरूको प्रारम्भिक योजना र सल्लाह बालकलाई अपहरण गरी फिरौती लिनेसम्मको रहेको भन्ने देखिन्छ । तथापि पछि बालक रून कराउन थालेकोले सोको व्यवस्थापन गर्नुपर्ने भएको र बालकले प्रतिवादीहरूमध्येका केही प्रतिवादीलाई चिनेकोसमेतको कारणले मार्नुपरेको तथ्य पनि प्रस्तुत मुद्दामा प्रकट हुन आएको देखिन्छ । घटित आपराधिक कार्यको प्रकृति हेर्दा कुनै रिसइवी साँध्न वा बदलाको भावका कारण उक्त अपराध घटाइएको हो भन्‍ने देखिएको अवस्था छैन । बालक शुभमकुमारलाई अपहरण गर्नुको उद्देश्य हत्या गर्नका लागि हो भन्‍ने वादी पक्षले प्रस्तुत गरेका कुनै प्रमाणबाट पुष्टि हुन सकेको देखिँदैन । प्रतिवादीहरूउपर कर्तव्य ज्यानतर्फको कसुरमा समेत सजाय हुनुपर्ने जिकिर लिँदा अपहरणको जरियाबाट ज्यान मार्ने कार्य हुन गएको विषयलाई आधार बनाएको देखिन्छ । जरियाको सिद्धान्त (Doctrine of causation) मा कार्य र त्यसको नतिजाबिच प्रत्यक्ष सम्बन्ध स्थापित भएको देखिन्छ वा देखिँदैन भन्ने कुरालाई हेरिन्छ । प्रतिवादीहरूबाट घटाइएको प्रस्तुत कसुरको अवस्थालाई जरियाको सिद्धान्त (Doctrine of Causation) को सन्दर्भमा हेर्दा प्रतिवादीहरूले अपहरण गरी लगेको कार्यकै परिणामस्वरूप मृतकको मृत्यु हुन पुगेको अवस्था भए जरियाको सिद्धान्त (Doctrine of causation) आकर्षित हुनेतर्फ विचार गर्न नसकिने होइन । किनभने Doctrine of Causation को सिद्धान्त “a man can only be held liable for the consequences of his actions” भन्ने मान्यतामा आधारित हुन्छ । जरियाको सिद्धान्त (Doctrine of Causation) स्थापित हुन मुख्य गरी Factual Causation र Legal Causation बिचको सम्बन्ध स्थापित हुनुपर्दछ । अभियुक्तले गरेको कसुरजन्य कार्यको  chain of causation भङ्ग भएको देखिन्छ भने पछिल्लो कसुरबापतको दायित्व अभियुक्तले बेहोर्नु पर्दैन । प्रस्तुत मुद्दाका सन्दर्भमा हेर्दा अपहरित बालक शुभमकुमार साहको मृत्यु अपहरण गर्ने क्रममा वा अपहरण गरेर लैजाने क्रममा वा बन्धक बनाउने क्रममा भएको नभई रेखदेखमा खटिएकाको बदनियतपूर्ण कर्तव्यबाट भएको र यसमा chain of causation टुटिसकेको देखिन्छ । अपहरित बालक शुभमकुमार साहको मृत्यु अपहरणका क्रममा भएको गल्ती र शरीर बन्धक राख्न प्रयोग भएको कोठासम्म पुर्‍याउने क्रममा भएको वा अपहरणका अवस्थामा गरिएको कार्यबाट भएको भन्‍ने देखिँदैन । अपहरित बालकलाई सकुशल शरीर बन्धक राखेको २ दिनपछाडि मात्र रेखदेखमा खटिएका धर्वेन्द्र ठाकुर, सन्तोष पण्डित र रामजी ठाकुरको कर्तव्यबाट मृतकको मृत्यु भएको भन्‍ने पुष्टि हुन आएको र त्यसरी कर्तव्य गरी मार्नुपूर्व अन्य प्रतिवादीहरूसँग सल्लाह गरेको वा अन्य प्रतिवादीहरूलाई समेत संलग्न गराएको भन्‍ने मिसिल संलग्न प्रमाण कागजातबाट देखिँदैन । यो स्थितिमा यी प्रतिवादीहरूलाई जरियाको सिद्धान्तबमोजिम कर्तव्य ज्यानको कसुरतर्फसमेत सजाय हुनुपर्ने भन्ने तर्कसँग सहमत हुन सकिएन । 

१७. अब, प्रतिवादीहरू सन्तोषकुमार पण्डित, धर्वेन्द्र ठाकुर र रामजी ठाकुरको हकमा उच्च अदालतको फैसलाबमोजिम कायम भएको कसुरतर्फ विचार गर्दा, मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) मा “लाठा, ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी, हानी, रोपी, घोची वा अरू ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एकजना र धेरै जनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्‍ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्‍ने कुरा सो हात हतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्मकैद गर्नुपर्छ” भन्‍ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरू सन्तोषकुमार पण्डित, धर्वेन्द्र ठाकुर र रामजी ठाकुरकै कर्तव्यबाट बालक शुभमकुमार साहको मृत्यु भएको देखिँदा निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिमको कसुर गरेको ठहराएको उच्च अदालत पाटनको फैसला मिलेकै देखिन्छ । 

१८. अपहरणतर्फको माग दाबीसँग सम्बन्धित मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं.मा "कसैलाई ज्यान लिने, कुटपिट गरी चोट पुर्‍याउने, जबरजस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, बिक्री गर्ने, दास बनाउने, निजको इच्छा विरूद्ध काममा लगाउने, यातना दिने, वेश्यावृत्तिमा लगाउने, कुनै काम गर्न वा गराउन बाध्य गराउने, छुटकारा रकम (फिरौती) लिने, वा शरीर बन्धकमा लिइएको व्यक्ति वा निजको हकवालाको धन सम्पत्ति प्राप्‍त गर्ने, व्यवसाय समर्पण गराउने वा प्रचलित कानूनबमोजिम कसुर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्‍यले अपहरण वा शरीर बन्धक लिएमा सो गर्ने गराउने व्यक्तिलाई सात वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना र लेखिएदेखिबाहेक अन्य उद्देश्‍यले अपहरण वा शरीर बन्धक लिएमा चारदेखि आठ वर्षसम्म कैद र पच्चिस हजारदेखि एक लाखसम्म जरिवाना हुने” उल्लेख भएको पाइन्छ । यसैगरी ऐ. महलको ७ नं.बमोजिम “दुई वा दुईभन्दा बढी व्यक्ति मिली वा सङ्गठित रूपमा कुनै व्यक्तिलाई अपहरण गरेको वा शरीर बन्धक लिएको भए सो काममा संलग्न सबै व्यक्तिलाई यस महलबमोजिम हुने सजायमा दुई वर्ष थप गरी सजाय गर्नुपर्छ" भनी उल्लेख भएको पाइन्छ । यो व्यवस्थाबाट कसुरजन्य कार्यमा कसुरदारको सहभागिताको संख्याले सजायमा थप हुने व्यवस्था भएको देखिन्छ । यी व्यवस्थाको रोहमा प्रस्तुत मुद्दाको स्थितिलाई हेर्दा नाबालक शुभमकुमार साहलाई दुईभन्दा बढी प्रतिवादीहरूले अपहरण गरी शरीर बन्धक बनाएको ठहर गरेपछि अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ७ नं.बमोजिम थप सजाय हुने व्यवस्था स्वत: आकर्षित हुने नै देखिन्छ । प्रतिवादीहरूले अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं., र ७ नं. समेतको कसुर गरेको ठहरेकोले प्रतिवादीहरू सन्तोषकुमार पण्डित, धर्वेन्द्र ठाकुर, रामजी ठाकुर, आशिष दुरा, भोला भन्‍ने देवेन्द्र ठाकुर, दिपक बलामी र लालबाबु ठाकुरलाई ऐ. महलको ३ नं.बमोजिम जनही ७ वर्ष कैद र रू.पचास हजार जरिवाना तथा ७ नं.बमोजिम २ वर्ष थप कैद सजाय हुने तथा प्रतिवादीहरूबाट १२ नं.बमोजिम मृतकको हकवालालाई दामासाहीले चार लाख पचास हजार रूपैयाँ क्षतिपूर्ति भराइदिने ठहराएको उच्च अदालतको फैसलालाई नमिलेको भनी मान्‍न मिलेन । 

१९. अब, अपहरणतर्फ मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ९ नं.बमोजिमको कसुर ठहराई सोही ९ नं.बमोजिम थप २ वर्ष कैद हुने ठहराएको तर्फ भने विचार गर्नुपर्ने भएको छ । उक्त ९ नं. मा “यस महलको १, २ वा ३ नं.बमोजिमको कसुर महिला वा नाबालक विरूद्ध गरिएको भए यस महलबमोजिम हुने सजायमा दुई वर्ष थप गरी सजाय गर्नुपर्छ” भन्‍ने व्यवस्था रहेको पाइन्छ । यो सजायको हकमा विचार गर्दा तत्काल प्रचलित मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ९ नं. मा नाबालक विरूद्धको कसुर गरेमा दुई वर्ष थप कैद हुने व्यवस्था भए पनि हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २१४ मा उक्त ९ नं. मा व्यवस्था भए जस्तो नाबालकलाई अपहरण गरे वा शरीर बन्धक लिएमा थप सजाय हुने व्यवस्था गरिएको पाइँदैन । केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ख) र (ग) को प्रतिबन्धात्मक वाक्यांशमा "कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्ममा सजाय हुने छ" भन्‍ने व्यवस्था भएको तथा सोही संहिताको दफा ३९(२)(घ) मा "कुनै कानूनअन्तर्गत कसुर मानिने काम मुलुकी अपराध संहिताबमोजिम कसुर नमानिने भएमा त्यस्तो कसुरसँग सम्बन्धित मुद्दा जुनसुकै तहको अदालतमा भए पनि स्वत: खारेज हुने छ" भन्‍ने व्यवस्था रहेको देखिँदा तत्काल प्रचलित मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ९ नं.बमोजिम हुने थप सजाय यी प्रतिवादीहरूका हकमा हुने देखिएन । यसरी तत्काल प्रचलित मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ९ नं.बमोजिम हुने थप २ वर्ष कैद सजाय घटाउँदा प्रतिवादीहरू सन्तोषकुमार पण्डित, धर्वेन्द्र ठाकुर, रामजी ठाकुर, आशिष दुरा, भोला भन्‍ने देवेन्द्र ठाकुरका हकमा जनही ९ वर्ष कैद सजाय मात्र हुन आउने देखियो । प्रतिवादीहरू दिपक बलामी र लालबाबु ठाकुरले यस अदालतमा पुनरावेदन नगरी बसेको देखिए पनि प्रस्तुत विषय कानूनी कुरा भएको र तत्काल प्रचलित मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २०५ मा कसैको पुनरावेदन परेकोबाट जाँचिदा सजाय उल्टिने भई सजाय उल्टाई फैसला गर्दा पुनरावेदन नगर्ने प्रतिवादीका हकमा समेत सजाय उल्टिने भएमा पुनरावेदन परेको छैन भनी सदर गरिदिनु हुँदैन, पुनरावेदन नगर्नेको हकमा समेत पुनरावेदन गर्नेसरह उल्टाई फैसला गर्नुपर्छ भन्ने व्यवस्था भएको देखिँदा यी प्रतिवादीहरूका हकमा पनि जनही ९ वर्ष कैद मात्र कायम हुन आउने देखियो ।

२०. अब, पुनरावेदक प्रतिवादी आशिष दुरा वारदातको समयमा नाबालक रहे नरहेको भन्‍ने प्रश्‍नका सन्दर्भमा हेर्दा निज प्रतिवादीको जन्ममिति जिल्ला प्रशासन कार्यालय, तनहुँबाट मिति २०६७।१२।१५ मा लिएको नागरिकताबाट मिति २०५०।१२।१२ देखिई वारदात मिति २०६८।०८।०२ गते यी प्रतिवादीको उमेर १७ वर्ष ७ महिना २० दिन रहेको खुल्‍न आएको देखिन्छ । केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ख२) मा "मुलुकी अपराध संहिता तथा मुलुकी फौजदारी कार्यविधि संहिता प्रारम्भ हुनुअगावै १६ वर्ष उमेर पूरा भएको र १८ वर्ष उमेर पूरा नभएको व्यक्तिले गरेको कसुरका सम्बन्धमा मुद्दा दायर गर्दा वा फैसला गर्दा मुलुकी अपराध संहिता तथा मुलुकी फौजदारी कार्यविधि संहिताको व्यवस्थाबमोजिम हुने छ" भन्‍ने व्यवस्था भएको सन्दर्भमा मुलुकी अपराध संहिता, २०७४ को दफा ४५(४) को व्यवस्था हेर्दा सोह्र वर्ष वा सोह्र वर्षभन्दा माथि र अठार वर्षभन्दा कम उमेरका व्यक्तिले कुनै कसुर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई हुने सजायको दुई तिहाइ सजाय हुने छ भनी व्यवस्था भएको देखिँदा निजलाई हुने ठहरेको जम्मा ९ वर्षको दुई तिहाइ गर्दा जम्मा ६ वर्ष मात्र कैद तथा रू ५० हजारको जम्मा रू.३३,३३५।- (तेत्तिस हजार तीन सय पैंतिस रूपैयाँ) जरिवानाको सजाय निज प्रतिवादीलाई हुने देखिन आउँछ ।

२१. यसैगरी प्रतिवादीहरू सन्तोषकुमार पण्डित, धर्वेन्द्र ठाकुर र रामजी ठाकुरका हकमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहरेको तर्फ पनि हाल प्रचलनमा आएको मुलुकी अपराध संहितामा गरिएको व्यवस्थाका सन्दर्भमा विचार गर्नुपर्ने भएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) मा "कानूनमा कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो संहिता प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन" भन्ने व्यवस्था भएको पाइन्छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ मा कसुर गर्दाका बखतभन्दा सजाय निर्धारण गर्दाका बखत कानूनबमोजिम घटी सजाय हुने रहेछ भने घटी सजाय हुने गरी निर्धारण गर्नुपर्ने छ भनी उल्लेख भएको देखिन्छ । केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ख) र (ग) को प्रतिबन्धात्मक वाक्यांशमा "कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ" भनी उल्लेख भएको पाइन्छ । यी व्यवस्थाहरूको रोहमा विचार गर्दा यी प्रतिवादीहरूका हकमा तत्काल प्रचलित मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने ठहराएको उच्च अदालतको फैसला सो कानूनका सन्दर्भमा मिलेकै देखिएको भए पनि हाल प्रचलित माथि उल्लिखित कानूनी व्यवस्थाहरूको रोहमा विचार गर्दा मिलेको नदेखिई जन्मकैदको सजायसम्म हुने देखिन आयो ।

२२. तसर्थ, माथिका विभिन्न प्रकरणहरूमा विवेचना गरिएका तथ्य, प्रमाण र कानूनको आधारमा प्रतिवादीहरू सन्तोषकुमार पण्डित, धर्वेन्द्र ठाकुर र रामजी ठाकुरको हकमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७०।१२।०९ मा भएको फैसला सदर हुने ठहराएकोमा सजायको हकमा जन्मकैदको सजाय मात्र हुने ठहर्छ र अपहरण तथा शरीर बन्धक बनाएतर्फ पनि प्रतिवादीहरू सन्तोषकुमार पण्डित, धर्वेन्द्र ठाकुर र रामजी ठाकुरको हकमा सुरू काठमाडौं जिल्ला अदालतको फैसला केही उल्टी गरी सबै प्रतिवादीहरूलाई ऐ. महलको ३ नं.बमोजिम ७ वर्ष कैद र रू. ५० हजार जरिवाना तथा ७ नं. र ९ नं.बमोजिम थप २/२ वर्ष गरी जनही ११ वर्ष कैद हुने ठहर्‍याई उच्च अदालत पाटनबाट मिति २०७३।११।२४ मा फैसला भएकोमा ९ नं.बमोजिमको सजाय नहुने भएकोले जनही ९ वर्ष कैद र रू. ५० हजार जरिवाना हुने ठहर्छ । सोही महलको १२ नं.बमोजिम मृतकका हकवालालाई दामासाहीले रू.४,५०,०००।– क्षतिपूर्ति भराइदिने ठहराएको उच्च अदालतको फैसला सदर हुने ठहर्छ । प्रतिवादीहरू आशिष दुरा, भोला भन्‍ने देवेन्द्र ठाकुर, दिपक बलामी र लालबाबु ठाकुरलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ९ नं.बमोजिमको जनही थप २ वर्ष कैद नहुने भएकोले जनही ९ वर्षका दरले कैद र रू. ५० हजार जरिवाना हुने ठहर्छ । निजहरूबाट समेत दामासाहीले मृतकका हकवालाले क्षतिपूर्ति भराइपाउने ठहराएको उच्च अदालतको फैसला सो हदसम्म मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरू सन्तोषकुमार पण्डित, भोला भन्‍ने देवेन्द्र ठाकुर, आशिष दुरा, रामजी ठाकुर र धर्वेन्द्र ठाकुर तथा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम उच्च अदालत पाटनबाट मिति २०७३।११।२४ मा प्रतिवादीहरू रामजी ठाकुर, सन्तोषकुमार पण्डित र धर्वेन्द्र ठाकुरलाई जन्मकैदको सजायसम्म हुने र सर्वस्था नहुने ठहरेकोले निजहरूका हकमा रहेको सर्वस्वको लगत कट्टा गरी रोक्का सम्पत्ति फुकुवा गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाइदिनू ........१

पुनरावेदक प्रतिवादीहरू सन्तोषकुमार पण्डित, रामजी ठाकुर र धर्वेन्द्र ठाकुरलाई अपहरण तथा शरीर बन्धकतर्फको कसुरमा जनही ९ वर्ष कैद सजाय र रू.५०,०००।– (पचास हजार) जरिवाना हुने ठहरेकोले सोहीबमोजिमको लगत कायम गर्ने गरी संशोधित लगतअनुसारको कैदी पुर्जी दिनु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू ........................२

प्रतिवादी आशिष दुरालाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३, ७ र ९ नं.बमोजिम जनही ११ वर्ष कैद हुने भनी लगत राखेकोमा निज प्रतिवादीलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलबमोजिमको कसुरमा ९ वर्ष कैद र रू.५०,०००।- (पचास हजार) जरिवाना हुनेमा मुलुकी अपराध संहिता, २०७४ को दफा ४५(४) बमोजिम दुई तिहाइ मात्र सजाय हुने ठहरेकोले जम्मा ६ वर्ष कैद र रू. ३३,३३५।- (तेत्तिस हजार तीन सय पैंतिस रूपैयाँ) जरिवाना हुने ठहरेकोले सोहीबमोजिमको लगत कायम गर्नु भनी लेखी पठाइदिनू...................................३

प्रतिवादी भोला भन्‍ने देवेन्द्र ठाकुरलाई अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलबमोजिमको कसुरमा जम्मा ९ वर्ष कैद र रू. ५०,०००।– (पचास हजार रूपैयाँ) जरिवाना हुने ठहरेकोले सोहीबमोजिमको लगत संशोधन गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाइदिनू .....................................................४

प्रतिवादी लालबाबु ठाकुर र दिपक बलामीका हकमा मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर  बन्धक लिनेको महलबमोजिमको कसुरमा जनही ९(नौ) वर्ष कैद र रू.५०,०००।– (पचास हजार रूपैयाँ) जरिवाना हुने ठहरेकाले निज प्रतिवादीहरू मिति २०६८।०८।०७ देखि थुनामा बसी मिति २०७२।०८।०७ मा छुटी गएकाले बाँकी कैद बेरूजु रहेको देखिँदा सोहीबमोजिमको लगत कसी असुलउपर गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू ...........५ 

मृतकको हकवालालाई सबै प्रतिवादीहरूबाट दामासाहीले रू.४,५०,०००।– (चार लाख पचास हजार) क्षतिपूर्ति भराइदिने ठहरेकोले सम्बन्धित सरकारी वकिल कार्यालयमार्फत पीडितको हकवाला / जाहेरवाला रामभगत साहलाई जानकारी गराई प्रतिवादीहरू रामजी ठाकुर, सन्तोषकुमार पण्डित, धर्वेन्द्र ठाकुर, भोला भन्‍ने देवेन्द्र ठाकुर, लालबाबु ठाकुर, दिपक बलामी र आशिष दुराको जायजेथाबाट उक्त क्षतिपूर्ति नियमानुसार दामासाहीले भराइदिनू भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाइदिनू...६

कारागारमा रहेका पुनरावेदक प्रतिवादीहरूलाई नियमानुसार फैसलाको प्रतिलिपि पठाइदिनू ..........७

प्रस्तुत फैसलाको प्रतिलिपि साथै राखी महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिनू...८

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको विद्युतीय प्रति यस अदालतको विद्युतीय प्रणालीमा अपलोड गर्नु र झिकाइएका मिसिल सम्बन्धित अदालतमा पठाई प्रस्तुत मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू .............................९

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशमान सिंह राउत

 

इजलास अधिकृत:  इन्दिरा कार्की

इति संवत् २०७९ साल फागुन १५ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु