निर्णय नं. ११३७८ - भन्सार मूल्याङ्कन
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश डा.श्री नहकुल सुवेदी
माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान
फैसला मिति : २०८१।८।२०
०७९-RF-०००४
मुद्दा:- भन्सार मूल्याङ्कन
पुनरावेदक : नेपाल सरकार, अर्थ मन्त्रालय, मूल्याङ्कन पुनरावलोकन समितिका तर्फबाट अध्यक्ष राजन खनाल
विरूद्ध
प्रत्यर्थी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १० नयाँ बानेश्वर स्थित न्यु एभरेष्ट ट्रेडर्सका प्रो. सज्जन राज राजभण्डारी
भन्सार मूल्य कायम गर्ने प्रयोजनका लागि बीजक मूल्य आधारभूत र महत्त्वपूर्ण प्रमाण हुने भए तापनि बीजक मूल्य शङ्कास्पद देखिएमा सोही मूल्य नै कारोबार मूल्य हो भनी प्रमाण पेस गरी बीजक मूल्यको विश्वसनीयता पुष्टि गराउने जिम्मेवारी पैठारीकर्ताको हुने ।
बीजकको विश्वसनीयतामा शङ्का देखिएको अवस्थामा भन्सार ऐन, २०६४ ले निर्धारण गरेबमोजिमको विधि र प्रक्रिया अवलम्बन गरी भन्सार अधिकृतले कायम गरेको कारोबारको मूल्यलाई नै मान्यता दिनुपर्ने । केबल बीजक र भुक्तानीको प्रमाण वा प्रतीतपत्रको पर्याप्त प्रमाण मात्र कारोबार मूल्य हुने भनी मानेमा भन्सार ऐन, २०६४ को दफा १३ को कारोबार मूल्य निर्धारणसम्बन्धी अन्य व्यवस्था निष्प्रभावी हुने ।
(प्रकरण नं.११)
पुनरावेदकका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली
प्रत्यर्थीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमेशप्रसाद धिताल र विद्वान् अधिवक्ताद्वय श्री राजेन्द्र घिमिरे र श्री सिताराम अधिकारी
अवलम्बित नजिर :
ने.का.प.२०७३, अङ्क १, नि.नं.९५२८
सम्बद्ध कानून :
भन्सार ऐन, २०६४
सुरू तहमा फैसला गर्ने:-
सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्सा
पुनरावेदन तहमा फैसला गर्ने :-
माननीय अध्यक्ष श्री दिपककुमार कार्की
राजस्व सदस्य श्री मणिदेव भट्टराई
लेखा सदस्य श्री हरि पोखरेल
राजस्व न्यायाधिकरण काठमाडौं
यस अदालतबाट फैसला गर्नेः-
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना
माननीय न्यायाधीश श्री नहकुल सुवेदी
फैसला
न्या.डा.नहकुल सुवेदी : राजस्व न्यायाधिकरण काठमाडौंबाट मिति २०६९।३।२८ मा भएको फैसलाउपर यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई संयुक्त इजलाससमक्ष पेस हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को उपनियम २ को खण्ड (ग) बमोजिम पूर्ण इजलाससमक्ष पेस गर्नु भनी मिति २०७९।१०।०९ मा भएको आदेशानुसार यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
न्यु एभरेष्ट ट्रेडर्सले इन्भ्वाइस नं. G5569/70 Dated 25 June, 2009 बाट आयात गरेको मालवस्तु Land Rover Discovery-3 6 CYL TDV6, 7 seaters, 2720cc गाडीको बीजक मूल्य CIFCALUSD 22580.00 र Freelander-2 TD4 5 seater, 2179cc diesel. गाडीको बीजक मूल्य CIFCALUSD 16028.00 घोषणा गरी मूल्य कायम गरिपाउँ भनी मिति २०६६।४।१४ मा सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्सामा पैठारीसम्बन्धी घोषणा पत्र पेस गरेको देखिन्छ ।
उक्त मिति २०६६।४।१४ मा पेस गरेको घोषणापत्रउपर कारबाही हुँदा भन्सार ऐन, २०६४ को दफा १३(९) बमोजिम Freelander-2 TD4 5 seater, 2179cc diesel. गाडीको प्रतियुनिट CIF CAL USD 27,145 र Land Rover Discovery-3 6CYL TDV 6, 7 seater, 2720cc गाडीको USD 29,046 कारोबार मूल्य निर्धारण गर्नु भनी सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्साबाट मिति २०६६।१२।३ मा निर्णय भएको देखिन्छ ।
यस कार्यालयको मिति २०६६।१२।३ को मूल्य निर्धारण निर्णयअनुसार CIF/CAL USD ५६१९१ मा कारोबार खर्च रू.७५,०००।- समायोजन गरी यातायात व्यवस्था विभागको च.नं. २२९९ मिति २०६५।२।२० को पत्रानुसार धरौटीमा राखी जाँचपास भनी सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्साबाट मिति २०६६।१२।४ मा उल्लेख भएको पाइन्छ ।
करदाता कम्पनीले आयात गरेको Land Rover Discovery-३ र Land Rover free lander -२ गाडीको आधिकारिक बिक्रेता Guava International Limited, GV३ INE England बाट प्राप्त मूल्य सूची क्रमश: USD 22580.00 र १६०२८.०० का आधारमा L.C. खोली आयात गरिएको सो बीजक मूल्यलाई मान्यता नदिई गाडीको मूल्य USD 29,046 र CIF CAL GBP २७१४५ कायम गरेकोले सो निर्णय बदर गरिपाउँ भनी करदाताले मूल्याङ्कन पुनरावलोकन समितिसमक्ष मूल्याङ्कन पुनरावलोकनका लागि मिति २०६६।१२।१७ मा दिएको निवेदन ।
करदाताले मिति २०६६।१२।१७ मा दिएको मूल्याङ्कन पुनरावलोकनको सम्बन्धमा भन्सार ऐन, २०६४ को दफा १३(१२) बमोजिम मनासिब (Fall Back Method) बमोजिम Land Rover Discovery-३ र Land Rover free lander -२ को क्रमशः प्रतियुनिट मूल्य CIF CAL USD 29046 र CIF CAL USD 27145 कायम गरेको मूल्यलाई नै मान्यता दिने ठहर्छ भन्ने मूल्याङ्कन पुनरावलोकन समितिको मिति २०६७।९।२० को निर्णय ।
सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सियाको मिति २०६६।१२।४ मा धरौटीमा जाँचपास गरेको Land Rover Discovery-3 र Land Rover free lander-2 गाडीको मूल्य कायम गर्ने निर्णय र मूल्याङ्कन पुनरावलोकन समितिबाट मिति २०६७।९।२० मा Land Rover Freelander-2 को क्रमशः प्रतियुनिट मूल्य CIF CAL USD 29,046 र CIF CAL USD 27,145 कायम गर्ने गरी भएको निर्णय उल्टी गरी धरौटीमा रहेको रकम फिर्ता हुने निर्णय गरिपाउँ भनी न्यु एभरेष्ट ट्रेडर्सका तर्फबाट राजस्व न्यायाधिकरण काठमाडौंसमक्ष दायर भएको पुनरावेदन पत्र ।
यसमा पैठारीकर्ताको बीजक मूल्यलाई मान्यता नदिई छुट्टै मूल्य कायम गरी भन्सार जाँचपास गर्ने गरेको सुरू कार्यालयको निर्णय फरक पर्न सक्ने अवस्था हुँदा छलफलको लागि अ.बं. २०२ नं.बमोजिम सरकारी वकिल, आन्तरिक राजस्व विभागलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भनी राजस्व न्यायाधिकरण काठमाडौंबाट मिति २०६८।८।२५ मा भएको आदेश ।
पुनरावेदकले देखाएको मूल्यलाई मान्यता नदिई सुख्खा बन्दरगाह भन्सार कार्यालय, वीरगन्जले मिति २०६६।१२।३ मा गरेको निर्णय र मूल्याङ्कन पुनरावलोकन समितिको मिति २०६७।९।२० को निर्णयसमेत मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०६९।३।२८ मा राजस्व न्यायाधिकरण काठमाडौंबाट भएको फैसला ।
पैठारीकर्ता विपक्षीले पैठारी गरेको सवारी साधन अन्य पैठारी कर्ताका सम्बन्धमा निर्धारण गरिएको बीजक मूल्यसमेतका कुराहरूलाई हेरी न्यून बीजकीकरण भएको भन्ने आधारमा भन्सार ऐन, २०६४ को दफा १३ को उपदफा (१२) समेतका प्रावधानबमोजिम भन्सार कार्यालयले मनासिब आधारमा भन्सार मूल्य निर्धारण भएको र सोही मूल्यलाई मूल्याङ्कन पुनरावलोकन समितिबाट सदर भएको निर्णय राजस्व न्यायाधिकरणले उल्टी गरी गरेको फैसलामा लिइएको आधार त्रुटिपूर्ण भई गम्भीर त्रुटि रहेको हुँदा राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ देहाय (ख) अवस्था विद्यमान देखिँदा प्रस्तुत पुनरावेदनको अनुमतिको निवेदन दर्ता गरी उक्त फैसला उल्टी गरी न्याय पाउँ भन्नेसमेत बेहोराको यस अदालतमा परेको निवेदन ।
पैठारी गरिएका सामानको मूल्य न्यून बीजकीकरण भएको भन्ने आधारमा भन्सार ऐन, २०६४ को दफा १३ को उपदफा (१२) समेतका प्रावधानबमोजिम अन्य पैठारी कर्ताका सम्बन्धमा निर्धारण गरिएको बीजक मूल्यसमेतका कुराहरूलाई हेरी मनासिब आधारमा भन्सार मूल्य निर्धारण भएको देखिँदा भन्सार कार्यालय र मूल्याङ्कन पुनरावलोकन समितिबाट भएको निर्णय उल्टी गरेको राजस्व न्यायाधिकरणको फैसलामा भन्सार ऐन, २०६४ को दफा १२ समेतका कानूनको व्याख्यामा गम्भीर त्रुटि रहेको हुँदा राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ (ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ । नियमानुसार गर्नु भन्नेसमेत बेहोराको मिति २०७५।४।१८ यस अदालतबाट भएको आदेश ।
यस अदालतको एउटा संयुक्त इजलासबाट राजस्व न्यायाधिकरणको फैसलामा पुनरावेदनको अनुमति नहुने भनी अन्तिम निर्णय भइसकेको अवस्थामा अर्को संयुक्त इजलासबाट सोही फैसलाउपर पुनरावेदनको अनुमति प्रदान भएको यस स्थितिमा पुनः समान स्तरको यस इजलासबाट प्रस्तुत विवादमा निर्णय गर्दा एक संयुक्त इजलासबाट अन्तिम निर्णय भएको मुद्दामा समान स्तरको अर्को इजलासबाट पुनः निर्णय हुन जाने परिस्थिति उत्पन्न भई इजलासको पदसोपान (Hierarchy of Bench) को मान्यताअनुसार दुईभन्दा बढी संख्याको न्यायाधीश संलग्न इजलासले मुद्दाको निर्णय गर्न न्यायोचित र कानूनसम्मत हुने हुँदा प्रस्तुत मुद्दा सुनुवाइको लागि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को उपनियम (२) को खण्ड (ग) बमोजिम पूर्ण इजलाससमक्ष पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०७९।१०।९ मा यस अदालतबाट भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक भन्सार मूल्याङ्कन पुनरावलोकन समितिको तर्फबाट उपस्थित हुनुभएका विद्वान् सहन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवालीले पैठारीकर्ताले पेस गरेको पैठारी मूल्य न्यून बीजकीकरण भएको स्पष्ट देखिने आधारहरू छन् । सवारी साधनको विभिन्न प्राविधिक एवं अन्य कारणले गर्दा समितिबाट कायम भएको मूल्य अन्यथा भन्न मिल्ने देखिँदैन । यसअघि अन्य कम्पनीले पैठारी गरेको सोही ब्राण्डको गाडीसमेतलाई आधार लिई सुरू भन्सार कार्यालय र मूल्याङ्कन पुनरावलोकन समितिको निर्णयले मूल्य कायम गरेको छ । यो कुनै हचुवाको आधारमा भएको होइन । सवारी साधनको विभिन्न प्राविधिक एवं अन्य कारणले गर्दा समितिबाट कायम भएको मूल्य अन्यथा भन्न मिल्ने देखिँदैन । तसर्थ भन्सार ऐन, २०६४ को दफा १३ को उपदफा (१२) बमोजिम मनासिब आधार (Fall Back Method) बमोजिम नै भएको मूल्य निर्धारण कार्यलाई राजस्व न्यायाधिकरणबाट निर्णयलाई उल्टी गर्दा लिइएको आधार त्रुटिपूर्ण भएकोले सो निर्णय बदर गरियोस् भनी गर्नुभएको बहस सुनियो ।
विपक्षी प्रत्यर्थी न्यु एभरेष्ट ट्रेडर्सका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री रमेशप्रसाद धिताल र विद्वान् अधिवक्ताद्वय श्री राजेन्द्र घिमिरे र श्री सिताराम अधिकारीले पैठारीकर्ताले पैठारी गरेको सामानको बीजकमा उल्लिखित मूल्य Nepal Investment Bank Ltd. बाट जारी भएको प्रतीतपत्रमार्फत भुक्तानी गरेको अवस्था छ । सो मूल्यलाई अन्यथा मान्नुपर्ने आधार कारणका रूपमा खुलाइएका गाडीको बनौट, गुण, प्रकृति र विशेषतालगायत सम्पूर्ण कुरा एकै किसिमको भएको तथ्य प्रमाणित हुनुपर्छ । उस्तै प्रकृतिको भनेर मात्र पुग्दैन । भन्सार कार्यालय र मूल्याङ्कन पुनरावलोकन समितिले पनि एउटै मापदण्ड निर्धारण गर्न सकेको अवस्था देखिँदैन । त्यसैले सुरू भन्सार कार्यालय र मूल्याङ्कन पुनरावलोकन समितिबाट भएको निर्णय मिलेको नदेखिँदा राजस्व न्यायाधिकरण काठमाडौंले गरेको निर्णय नै सदर गरियोस भनी गर्नुभएको बहस सुनियो ।
यसमा, विपक्षी न्यु एभरेष्ट ट्रेडर्सका प्रो.सज्जनराज राजभण्डारीले सुरू सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्सा र भन्सार मूल्याङ्कन पुनरावलोकन समितिलाई विपक्षी बनाई राजस्व न्यायाधिकरण काठमाडौंमा दायर पुनरावेदनमा सो न्यायाधिकरणले सुरू भन्सार कार्यालय र मूल्याङ्कन पुनरावलोकन समितिको निर्णयसमेत उल्टी हुने ठहर्याई फैसला गरेको देखिन्छ । सो फैसलाउपर सुरू सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्साको तर्फबाट यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा अनुमति नहुने गरी आदेश भएको देखिन्छ भने मूल्याङ्कन पुनरावलोकन समितिका तर्फबाट अध्यक्ष राजन खनालले दायर गरेको पुनरावेदनको अनुमति पाउँ भन्ने प्रस्तुत निवेदनमा यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान गरेको देखिँदा यस अदालतको एउटा संयुक्त इजलासबाट राजस्व न्यायाधिकरणको फैसलामा पुनरावेदनको अनुमति नहुने भनी अन्तिम निर्णय भइसकेको अवस्थामा अर्को संयुक्त इजलासबाट सोही फैसलाउपर पुनरावेदनको अनुमति प्रदान भएको यस स्थितिमा पुनः समान स्तरको इजलासबाट प्रस्तुत विवादमा निर्णय गर्नु इजलासको पदसोपान (Hierarchy of Bench) को मान्यताअनुसार उपयुक्त नहुने हुँदा संयुक्त इजलासबाट दुईभन्दा बढी संख्याको न्यायाधीश संलग्न इजलासले मुद्दाको निर्णय गर्न सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को उपनियम (२) को खण्ड (ग) बमोजिम पूर्ण इजलाससमक्ष पेस गर्नु भन्ने आदेशअनुरूप यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा सुरू निर्णय उल्टी गरेको राजस्व न्यायाधिकरण काठमाडौंको निर्णय मिले नमिलेको के हो हेरी निर्णय गर्नुपर्ने देखिन आयो ।
२. अब, निर्णयतर्फ विचार गर्दा, न्यु एभरेष्ट ट्रेडर्सले बीजक नं. ‘G5569/70 19 Dated 25-06-2009 बाट आयात गरेको मालवस्तु LAND ROVER DISCOVERY-3, 6CYL TD V6, 7 Seater 2720cc गाडीको बीजक मूल्य CIF CAL USD 22580.00 र Freelander-2 TD 4, 5 Seater, 2179 cc Diesel गाडीको बीजक मूल्य CIF CAL USD 16028.00 घोषणा गरी भन्सार मूल्य कायम गरिपाउँ भनी सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्सामा पैठारीसम्बन्धी घोषणा पत्र पेस गरेको देखिन्छ । सो कार्यालयले आयात भएको LAND ROVER DISCOVERY-3, 6CYL TD V6, 7 Seater 2720cc गाडीको बीजक मूल्य CIF CAL USD 22580.00 र Freelander-2 TD 4 5 Seater, 2179cc Diesel गाडीको आधिकारिक बिक्रेता Guava International Limited, GV3 Ine England बाट प्राप्त मूल्य सूचीको आधारमा बीजक मूल्यलाई मान्यता नदिई Land Rover Discovery गाडीको मूल्य USD 29,046 र Freelander गाडीको मूल्य USD 27,145 कायम गर्ने निर्णय गरेकोमा पैठारीकर्ताले उक्त निर्णयमा चित्त नबुझाई मूल्याङ्कन पुनरावलोकन समितिमा निवेदन दिएको देखिन्छ । सो समितिले पैठारी गरेको सवारी साधनको पैठारी मूल्य न्यून बीजकीकरण गरेको पाइएको भनी भन्सार ऐन, २०६४ को दफा १३ बमोजिम भन्सार कार्यालयले कायम गरेको मूल्यलाई नै मान्यता दिने ठहर्याई निर्णय गरेकोमा पैठारीकर्ताले समितिको निर्णयमा चित्त नबुझाई राजस्व न्यायाधिकरण काठमाडौंमा पुनरावेदन गरेकोमा उक्त न्यायाधिकरणबाट सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्साको निर्णय र समितिबाट भएको निर्णयसमेत उल्टी हुने ठहर्याई निर्णय गरेको देखिन्छ ।
३. पैठारी गरिएका कुनै पनि मालवस्तुको भन्सार मूल्याङ्कन विधिका सम्बन्धमा, भन्सार ऐन, २०६४ को दफा १३ ले विस्तृत व्यवस्था गरेको देखिन्छ । जसअनुसार उक्त दफाको उपदफा (२) ले “पैठारी हुने मालवस्तुको भन्सार मूल्य उपदफा (१) को अधीनमा रही त्यस्तो मालवस्तुको कारोबार मूल्यको आधारमा गरिने छ” भन्ने व्यवस्था देखिन्छ भने सो प्रयोजनको लागि पैठारीकर्ताले ऐ.उपदफा (३) बमोजिम पैठारीकर्ताले आफूले पैठारी गरेको मालवस्तुको मूल्य प्रमाणित गर्ने विवरण तथा कागजात संलग्न गरी कारोबार मूल्य घोषणा गर्नुपर्ने देखिन्छ । यस प्रयोजनको लागि कारोबार मूल्यलाई सो ऐनको दफा २(ख) को परिभाषाअनुसार हेर्नुपर्ने हुन्छ । जसमा “कारोबार मूल्य” भन्नाले “पैठारीकर्ताले पैठारी गरेको मालवस्तुको बिक्रेतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वास्तविक रूपमा भुक्तानी गरेको वा भुक्तानी गर्नुपर्ने रकममा त्यस्तो मालवस्तु नेपालको सीमासम्म ल्याउँदा लागेको वा लाग्न सक्ने भाडा, बिमा तथा अन्य सम्बद्ध खर्च जोडी हुन आउने कुल रकम सम्झनुपर्छ” भन्ने उल्लेख भएको देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाले भन्सार मूल्याङ्कनको आधार कारोबार मूल्यलाई मानेको देखिन आयो । सो कारोबार मूल्य निर्धारण गर्ने प्रक्रिया र आधारका सम्बन्धमा ऐ. उपदफा (३) देखि (७) सम्म विस्तृतमा उल्लेख गरेको देखिन्छ ।
४. भन्सार ऐन, २०६४ को दफा १३ को व्यवस्था हेर्दा पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य वास्तविक मूल्यमा आधारित हुनुपर्ने देखिन्छ । सो दफाको उपदफा (६) मा "पैठारीकर्ताले उपदफा (३) बमोजिम घोषणा गरेको मूल्य शङ्कास्पद छ भन्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएमा भन्सार अधिकृतले निजसँग त्यस्तो मूल्य वास्तविक कारोबार मूल्य हो भनी प्रमाणित गर्न थप कागजात वा प्रमाण लिखित रूपमा माग गर्न सक्ने छ" भन्ने व्यवस्था देखिँदा पैठारीकर्ताले घोषणा गरेको मूल्य कारोबारको वास्तविक मूल्य हो भन्ने नदेखिएमा सो कानूनी व्यवस्थाबमोजिम भन्सार अधिकृतले उक्त मूल्य वास्तविक मूल्य हो भनी पुष्टि हुने थप कागजात पेस गर्न आदेश दिन सक्ने र त्यसरी माग भएका कागजात उपलब्ध गराउने जिम्मेवारी पैठारीकर्ताको हुने देखिन आयो ।
५. भन्सार ऐन, २०६४ ले कारोबार मूल्य पुष्टि हुने गरी भन्सार अधिकृतले माग गरेका कागजात पैठारीकर्ताले पेस नगरेमा वा पेस गरेका कागजातबाट समेत भन्सार मूल्याङ्कन यकिन हुन नसकेमा भन्सार मूल्याङ्कन कायम गर्ने थप आधारसमेत उल्लेख गरेको देखिन आउँछ । जसअनुसार ऐ. दफा १३ को उपदफा (८) मा “उपदफा (२) बमोजिम कारोबार मूल्यका आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य त्यस्तो मालवस्तु पैठारी हुनुभन्दा पहिले नेपालमा पैठारी भइसकेको समरूपको मालवस्तु (Identical Goods) को कारोबार मूल्यको आधारमा गरिने छ” भन्ने तथा ऐ. उपदफा (९) मा “उपदफा (८) बमोजिम समरूपको मालवस्तुको कारोबार मूल्यको आधारमा पनि भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तुको भन्सार मूल्य नेपालमा पहिले पैठारी भएको मिल्दोजुल्दो मालवस्तु (Similar Goods) को कारोबार मूल्यको आधारमा निर्धारण गरिने छ” भन्ने व्यवस्था देखिन्छ । तथापि सबै अवस्थामा नेपालमा पैठारी भएको समरूपको मालवस्तु वा मिल्दोजुल्दो मालवस्तु कारोबार मूल्य प्राप्त नहुन पनि सक्छ । यस अवस्थामा सो ऐनको दफा १३ को उपदफा (१०) ले उपदफा (९) बमोजिम मिल्दोजुल्दो मालवस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु अघि नै नेपालमा पैठारी भई बजारमा पैठारी कर्तासँग असम्बन्धित व्यक्तिलाई बिक्री भएको रहेछ भने त्यसरी बिक्री भएको अधिकतम इकाइको प्रतिइकाइ बिक्री मूल्यमा नेपालमा लागेको कर, महसुल, अन्य सम्बद्ध खर्च र मुनाफा कटाइ (Deductive Value Method) त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गरिने छ भन्ने व्यवस्था देखिन आउँछ । साथै सो विधिबाट समेत कारोबार मूल्य निर्धारण गर्न नसकिएमा ऐ. उपदफा (११) मा उपदफा (१०) बमोजिम भन्सार मूल्य निर्धारण गर्न नसकिएमा त्यस्तो मालवस्तु उत्पादन वा निर्माण गर्न लागेको खर्च र सो मालवस्तु पैठारीकर्तालाई बिक्री गर्दा बिक्रेताले लिएको वा लिन सक्ने मुनाफासमेत गणना गरी कम्प्युटेड भ्यालु मेथडअनुसार भन्सार मूल्य निर्धारण गरिने र सो प्रक्रियाबाट पनि भन्सार मूल्य निर्धारण गर्न नसकिएमा ऐ.को उपदफा (१२) बमोजिम भन्सार अधिकृतले उपदफा (२), (८), (९), (१०) र (११) विपरीत नहुने गरी मनासिब आधारमा त्यस्तो मालवस्तुको भन्सार मूल्य निर्धारण गर्न सक्ने कानूनी व्यवस्था गरेको देखिन आयो ।
६. अब, उल्लिखित कानूनी व्यवस्थाको रोहमा प्रस्तुत मुद्दामा गरिएको भन्सार मूल्याङ्कन प्रक्रियालाई हेर्दा भन्सार अधिकृतले पैठारीकर्ताले ऐनको दफा १३(३) बमोजिम घोषणा गरेको मूल्यमा सन्तुष्ट हुन नसकेको भनी ऐ.उपदफा (६) बमोजिम पैठारीकर्तालाई थप प्रमाण पेस गर्न पत्राचार गरेको मिसिल संलग्न कागजातबाट देखिन्छ तर त्यसरी थप प्रमाण माग हुँदा पैठारीकर्ताले आयातित मालवस्तुको मूल्य पुष्टि हुने उत्पादकको मूल्य सूची वा अन्य कुनै थप कागजात पेस नगरी पहिले पेस गरेको बिल बीजकलाई नै पुनः पेस गरेको देखिन्छ । पैठारीकर्ताले पेस गरेको उक्त कागजातबाट समेत घोषित मूल्यको सत्यता पुष्टि हुन नसकेमा भन्सार अधिकृतले भन्सार ऐन, २०६४ को दफा १३ को उपदफा (६) पछिका उपदफाबमोजिमको प्रक्रिया क्रमशः अवलम्बन गरी भन्सार निर्धारण मूल्य निर्धारण गर्नुपर्ने कानूनी व्यवस्था रहेको देखियो ।
७. प्रत्यर्थी पैठारीकर्ताले आफूले भन्सार मूल्य घोषणा गर्दा बैंकले जारी गरेको प्रतीतपत्र (letter of credit Lc) र बीजक पेस गरेकोमा भन्सार मूल्यको सत्यता पुष्टि गर्ने सोभन्दा बलियो अन्य प्रमाण हुन नसक्ने भन्ने जिकिर लिएको देखिए तापनि पैठारीकर्ताले घोषणा गरेको मूल्यमा भन्सार अधिकृत विश्वस्त हुन नसकेमा निजले पैठारीकर्तासँग थप प्रमाण माग्न सक्ने अवस्था रहन्छ । भन्सार मूल्याङ्कन प्रयोजनका लागि मूल्य यकिन गर्न पाउने अधिकार भन्सार अधिकृतमा रहे भएको नै देखिन्छ । तथापि निजले मालवस्तुको मूल्य निर्धारण गर्दा स्वेच्छाचारी ढङ्गले निर्धारण गर्ने नभई ऐनले तोकेबमोजिमको कार्यविधि अवलम्बन गरी निर्धारण गर्नुपर्ने देखिन्छ । जुन कार्यविधिका सन्दर्भमा माथिका प्रकरणहरूमा चर्चा भइसकेको छ ।
८. अब, प्रत्यर्थी न्यु एभरेष्ट ट्रेडर्सले Guava international Traders, England बाट पैठारी गरेका Land Rover Discovery-3 6 cyl TDV-6, 7 Seater 2270cc गाडीको बीजक मूल्य CIF CAL USD 22580 र TD4 5 Seaters 2179cc diesel गाडीको बीजक मूल्य CIF CAL USD 16028 घोषणा गरी भन्सार मूल्य काममा गरिपाउँ भनी मिति २०६६।४।१४ मा सुख्खा बन्दरगाहा भन्सार कार्यालय सिर्सियामा पेस गरको पैठारीसम्बन्धी घोषणा पत्रअनुरूप नै भन्सार मूल्य कायम हुने हो वा होइन भन्ने सम्बन्धमा हेर्दा पैठारीकर्ता प्रत्यर्थी फर्मले उक्त घोषणा मूल्यको समर्थनमा २५ जुन २००९ को G५५६९/७० को इन्भ्वाइस र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट भुक्तानी भएका प्रतीतपत्र (LC) समेत पेस गरेको देखिन्छ । तथापि बीजकमा उल्लेख गरेको मूल्य सोही वस्तु पैठारी गर्ने अन्य पैठारीकर्ताको भन्दा कम देखिएको भनी सुख्खा बन्दरगाहा भन्सार कार्यालय, सिर्सिया, पर्साबाट भन्सार मूल्य निर्धारणसम्बन्धी निर्णय गर्नुअघि मिति २०६६।१२।०२ मा पैठारीकर्तासँग मूल्य पुष्टि हुने थप कागजात माग गरेको देखिन्छ । सोको जवाफमा पैठारीकर्ताले Bank मार्फत L/c/TT खोली आयात गरेको र सोसँग सम्बन्धित सम्पूर्ण सक्कल कागजात पेस गरिसकेकोले गाडीको बीजक मूल्यलाई नै मान्यता प्रदान गरिपाउँ भन्ने जवाफ पेस गरेको मिसिलबाट देखिन्छ । त्यस्तै मूल्याङ्कन पुनरावलोकन समितिबाट पनि च.नं. २९६ मिति २०६६।१२।२० को पत्रबाट पैठारीकर्तालाई प्रस्तुत सवारी साधनको सम्बन्धमा अन्तिम बिक्री तहसम्मको लागत विवरण, बिक्री बीजकको प्रतिलिपि, मूल्य खुल्ने विज्ञापन प्रतिलिपि, कोटेसनद्वारा अन्य निकायलाई आपूर्ति गरेको विवरणलगायत मूल्य हुने प्रमाण पेस गर्न अनुरोध गरेकोमा प्रत्यर्थी फर्मको तर्फबाट मिति २०६७।११।१९ मा उल्लिखित गाडीहरू व्यापारिक प्रयोजनको लागि आयात गरिएको नभई फर्म आफैँले प्रयोग र उपयोग गर्नको लागि आयात गरिएको हो । सम्बन्धित बिक्रेता कम्पनीको आधिकारिक बिल तथा बैंकमार्फतको भुक्तानीलगायत आवश्यक सम्पूर्ण कागजात पेस गरिसकेकोले प्रस्तुत गाडीको बीजक मूल्यलाई नै मान्यता गरिपाउँ भनी भन्सार अधिकृतले माग गरेबमोजिमको थप प्रमाण संलग्न नगरी पुन: साबिककै बेहोराको जवाफ पेस गरेपश्चात् सुख्खा बन्दरगाहा भन्सार कार्यालय, सिर्सिया, पर्साबाट पैठारी गरिएका मालवस्तु Freelander-2 TD 4 5 seater, 2179cc diesel. गाडीको हकमा भन्सार ऐन, २०६४ को दफा १३(९) बमोजिम प्रतियुनिट CIF CAL USD 27,145 र Land Rover Discovery-3 6 CYL TDV 6, 7 seater, 2720cc गाडीको हकमा ऐ. दफा १३(१२) बमोजिम USD 29,046 कारोबार मूल्य निर्धारण गर्ने गरी मिति २०६६।१२।३ मा निर्णय गरेको देखियो ।
९. अब Freelander 2 गाडीको भन्सार मूल्याङ्कन प्रक्रियालाई हेर्दा भन्सार कार्यालयले भन्सार ऐन, २०६४ को दफा १३(९) बमोजिम प्रत्यर्थीले पैठारी गरेको मालवस्तुसँग मिल्दोजुल्दो मालवस्तु (Similar Goods) पहिले नै नेपालमा पैठारी भएको भनी सो आधारमा मूल्य निर्धारण गरेको देखिन्छ । उक्त कार्यालयले विभिन्न मितिमा यस्तै मालवस्तु पैठारी गरेका विभिन्न पैठारीकर्ताको फरकफरक बीजक मूल्यलाई भन्सार ऐन, २०६४ को दफा १३(१२) बमोजिम मनासिब आधार (Fall back method) बाट भन्सार मूल्य निर्धारण गरेको देखिन्छ । जसअनुसार विनायक फ्रेसहाउस पोखरा, अशोक स्टिल प्रा.लि. बारा र जे.वि. भण्डारी एसोसिएट्स काठमाडौंले बीजक मूल्य १६,०२८ CIF CAL USD राखेकोमा सो कार्यालयको मिति २०६६।११।२६ र २०६७।४।१६ को निर्णयले भन्सार मूल्य CIF CAl USD 27,145 कायम गरेको र स्पेस एन्ड कन्सर्न ललितपुरको USD २३८२२ पैठारी मूल्यलाई मिति २०६७।०२।१३ को निर्णयले CIF CAl USD 27,145 भन्सार मूल्य कायम गरेको देखिन्छ । यसबाट प्रत्यर्थी पैठारीकर्ताले पैठारी गरेको मिल्दोजुल्दो मालवस्तुको भन्सार मूल्य USD 27,145 कायम रहेको भन्ने प्रत्यर्थी कार्यालयको अभिलेखबाट देखिन आउँछ । भन्सार ऐन, २०६४ को दफा १३(९) ले भन्सार अधिकृतलाई पहिले नेपालमा पैठारी भएका मिल्दोजुल्दो मालवस्तुको आधारमा भन्सार मूल्य निर्धारण गर्ने अधिकार प्रदान गरेको सन्दर्भमा तदनुरूप भन्सार अधिकृतले प्रत्यर्थीले पैठारी गरेका गाडीसँग मिल्दोजुल्दो मोडलका विभिन्न पैठारीकर्ताले पहिले पैठारी गरेका गाडीको पहिले कायम गरेको मूल्यलाई आधार लिई भन्सार मूल्य कायम गर्ने निर्णय गरेको र प्रत्यर्थी पैठारीकर्ताले भन्सार अधिकृतले आधार लिएका पहिले पैठारी गरिएका गाडी निजले पैठारी गरेका गाडीसँग मिल्दोजुल्दो मोडेलका होइनन् भनी जिकिर लिन र सो जिकिरको पुष्टि गर्न सकेको अवस्था नदेखिँदा पहिले पैठारी गरिएका गाडीको भन्सार मूल्यलाई आधार लिई भन्सार मूल्य कायम गरेको भन्सार अधिकृतका निर्णयलाई अन्यथा भन्न मिलेन ।
१०. यसैगरी Land Rover Discovery -३ को भन्सार मूल्यका सन्दर्भमा हेर्दा भन्सार अधिकृतले भन्सार ऐन, २०६४ को दफा १३(१२) बमोजिम मनासिब आधारमा मूल्य कायम गरेको देखियो । भन्सार ऐन, २०६४ को दफा १३ को उपदफा (१२) मा सो दफाबमोजिम भन्सार मूल्य निर्धारण गर्ने अन्य प्रक्रियाबाट भन्सार मूल्य निर्धारण हुन नसके अन्य उपदफामा निर्धारित प्रक्रियाको विपरीत नहुने गरी ऐ.उपदफा (१२) बमोजिम मनासिब आधारबाट भन्सार मूल्य निर्धारण गर्न सकिने कानूनी व्यवस्था देखियो । सो सम्बन्धमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, सिर्सिया पर्साको मिति २०६६।१२।३ को निर्णय हेर्दा भन्सार ऐन, २०६४ को दफा १३ को उपदफा (४) बमोजिम भन्सार मूल्य निर्धारण गर्न नसकिएको, उपदफा (८) वा (९) बमोजिम मूल्य निर्धारण गर्नको लागि समरूप वा मिल्दोजुल्दो मालवस्तुको भन्सार मूल्य उपलब्ध नभएको, उपदफा (१०) बमोजिम तत्काल मूल्य कायम गर्न सम्भव नभएको र उपदफा (११) बमोजिम मूल्य कायम गर्न आवश्यक सूचना उपलब्ध हुन सक्ने अवस्था नभएको कारणले ऐ. उपदफा (१२) बमोजिम मूल्य निर्धारण गर्नुपरेको भनी उपदफा (१२) बमोजिम निर्णय गर्नुपर्नाको कारणसमेत स्पष्ट खुलाई पैठारीकर्ताले एकसाथ पैठारी गरेको अर्को सवारी साधन Freelander -२ माभन्दा यो सवारी साधनमा सिट क्षमता, सुरक्षा व्यवस्था, सामानको गुणस्तरीयता, आन्तरिक र बाह्य बनोटलगायतका समग्र Technical specification बढी र गुणस्तरीयसमेत रहेको भनी Freelander-२ को कायमी मूल्यमा ७% वृद्धि गरी CIF CAl USD 29,046।- मूल्य कायम गरेको देखिन्छ । उक्त निर्णय हेर्दा भन्सार अधिकृतले आधार कारण नै उल्लेख नगरी स्वेच्छाचारी ढङ्गले भन्सार मूल्य कायम गरेको अवस्था देखिँदैन । Freelander-2 भन्दा Discovery-3 सवारीको मूल्य बढी पर्ने होइन, भन्सार अधिकृतले गरेको निर्णय प्राविधिक रूपमा नै गलत छ भनी पैठारीकर्ताले आधार प्रमाणसहित दाबी लिन नसकेको र स्वयम् पैठारीकर्ताले घोषणा गरेको बीजक मूल्यमा समेत Discovery-3 को मूल्य Freelander-2 को भन्दा ७% भन्दा बढी नै देखिएको अवस्थामा भन्सार अधिकृतले कानूनले दिएको अख्तियारी प्रयोग गरी बढी मूल्य कायम गर्नुपर्नाको आधार कारणसमेत खोली मनासिब आधारबाट कायम गरेको भन्सार मूल्याङ्कनलाई अन्यथा भन्न मिल्ने अवस्था देखिएन ।
११. यस सन्दर्भमा यस अदालतबाट नेपाल सरकार, भन्सार विभागको महानिर्देशक बोधराज निरौला विरूद्ध निर्मलादेवी गोयन्का भएको भन्सार मूल्याङ्कन धरौट फिर्ता मुद्दामा "पैठारी गरिएको कुनै माल वा वस्तुको धनीबाट पेस भएको कारोबार मूल्य "वास्तविक कारोबार मूल्य कायम गर्ने पद्धति" सँग मेल नखाने भएमा भन्सार अधिकृतले पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्यलाई मान्यता नदिई पैठारी गरिएको माल वा वस्तुको अभिलेख मूल्य, मूल्य सूची वा सोही प्रकारको माल वा वस्तुको मूल्यको आधारमा त्यस्तो माल वा वस्तुको मूल्य कायम गरी भन्सार महसुल निर्धारण गर्नुपर्ने भनी प्रतिपादित सिद्धान्तसमेत प्रस्तुत मुद्दाको सन्दर्भमा आकर्षित हुने देखिन्छ । भन्सार मूल्य कायम गर्ने प्रयोजनका लागि बीजक मूल्य आधारभूत र महत्त्वपूर्ण प्रमाण हुने भए तापनि बीजक मूल्य शङ्कास्पद देखिएमा सोही मूल्य नै कारोबार मूल्य हो भनी प्रमाण पेस गरी बीजक मूल्यको विश्वसनीयता पुष्टि गराउने जिम्मेवारी पैठारीकर्ताको हुन्छ । बीजकको विश्वसनीयतामा शङ्का देखिएको अवस्थामा भन्सार ऐन, २०६४ ले निर्धारण गरेबमोजिमको विधि र प्रक्रिया अवलम्बन गरी भन्सार अधिकृतले कायम गरेको कारोबारको मूल्यलाई नै मान्यता दिनुपर्ने हुन्छ । केबल बीजक र भुक्तानीको प्रमाण वा प्रतीतपत्रको पर्याप्त प्रमाण मात्र कारोबार मूल्य हुने भनी मानेमा भन्सार ऐन, २०६४ को दफा १३ को कारोबार मूल्य निर्धारणसम्बन्धी अन्य व्यवस्था निष्प्रभावी हुन जाने देखियो । यस स्थितिमा सुरू भन्सार कार्यालयले कायम गरेको मूल्यलाई सोही ऐनको दफा ६१ बमोजिम गठित पुनरावलोकन समितिले समेत मान्यता प्रदान गर्ने गरी गरेको निर्णय कानूनसम्मत देखिएकोमा सो विपरीत भन्सार कार्यालय तथा मूल्याङ्कन पुनरावलोकन समितिको निर्णय बदर गरी बीजक मूल्यलाई नै मान्यता प्रदान गरेको राजस्व न्यायाधिकरण काठमाडौंको निर्णय मिलेको नदेखिँदा उल्टी हुनुपर्ने देखियो ।
१२. तसर्थ, माथि विवेचित आधार, कारण कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट पैठारीकर्ताले घोषणा गरेको मूल्य नै आयातित मालवस्तुको कारोबार मूल्य हो भनी विश्वस्त हुन नसकेकाले अघि पैठारी गरिएका मिल्दोजुल्दो मालवस्तुको मूल्य तथा मनासिब आधारसमेतका आधारमा Land Rover Freelander-2 को मूल्य CIF CAL USD 27,145 र Land Rover Discovery-3 को मूल्य CIF CAL USD 29,046 कारोबार मूल्य कायम गरेको सुरू सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया पर्साको मिति २०६६।१२।३ मा भएको निर्णय उल्टी गरी पैठारीकर्ताले घोषणा गरेको मूल्यलाई मान्यता प्रदान गरेको राजस्व न्यायाधिकरण काठमाडौंको मिति २०६८।८।२५ को फैसला नमिलेकाले उल्टी भई सुरू सुख्खा बन्दरगाह भन्सार कार्यालयको मिति २०६६।१२।३ को निर्णय र उक्त निर्णय सदर गरेको मूल्याङ्कन पुनरावलोकन समितिको मिति २०६७।९।२० को निर्णय सदर कायम हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.तिलप्रसाद श्रेष्ठ
न्या.अब्दुल अजीज मुसलमान
इजलास अधिकृत : खेमकुमारी बस्नेत
इति संवत् २०८१ साल मङ्सिर २० गते रोज ५ शुभम् ।