निर्णय नं. ४३५७ - कर्तव्य ज्यान

निर्णय नं. ४३५७ ने.का.प. २०४८ अङ्क ९, १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
सम्वत् २०४७ सालको फौ.पु.नं. २७२
फौज्दारी साधक –६९
फैसला भएको मिति: २०४८।९।१७।४ मा
पुनरावेदक/प्रतिवादी : जिल्ला ओखलढुंगा, फुलवारी गा.वि.स. वार्ड नं. ८ घर भै हाल कारागार शाखा सप्तरीमा थुनामा रहेका लिलाबहादुर खड्का
विरुद्ध
वादी : रुद्रबहादुरको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) घाँटी अठ्याई दिएको कारणबाट मृत्यु भएको, मृत्यु पछि आफ्नो बचाउको लागि रुखमा लगी झुण्डाई दिएकोमा अन्यथा जिकिर समेत नरहेकोबाट निज पुनरावेदक प्रतिवादीले ज्यानसम्बन्धी महलको १ नं. र ऐ.को (साविक पेज नं. ४९२) १३(३) नं. विपरीतको अपराधिक कार्य गरेकोमा विवाद देखिन नआएकोले निजलाई ऐ.को १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको इन्साफ कानुनसंगत नै देखिने ।
(प्रकरण नं. १९)
(२) आफू उपर सौता ल्याउने कुरा सुनी मर्न भनी घर छाडी हिडेकी, घर फर्क भनी सम्झाउँदा नमानेकीले घाँटीमा समाउँदा निजको मृत्यु हुन गएको भन्ने कुरा बयानमा उल्लेख रहेको सौता ल्याइसकेको भन्ने कुरा कहीं कतैबाट प्रमाणित हुन नसकेको, लाशको डाक्टरी परीक्षण पनि भएको नपाइएको, पुनरावेदक प्रतिवादीलाई मार्नु पर्नेसम्मको पूर्व स्थिति अवस्था पनि देखिन नआएको निजलाई दावी बमोजिम सजायँ गर्दा न्यायसंगत नहुँदा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष (७) सात हुने ।
(प्रकरण नं. २०)
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर, कारागार मार्फत पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय फैसला यस प्रकार छ ।
२. भाइ लिलाबहादुरकी श्रीमती सीतादेवी २०४७।७।९ गते घरबाट हिंडेकी, रातको समयमा खोज तलाश गर्दा फेला नपरेकी र ऐ.१० गते विहान खानी खोलाको चिलाउनेको रुखमा झुण्डी मरेको देखिएकोले, कानुन बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको रुद्रबहादुरको जाहेरी दर्खास्त ।
३. २०४४।७।४ गते सीतादेवी माथि सौता ल्याउने सम्बन्धमा श्रीमती र मेरो बीच भनाभन कुटपिट समेत भएको थियो । ऐ.०९ गते बेलुकी श्रीमती सीतादेवीले, म तिमै्र अगाडि झुण्डिएर मर्छु भनी बाहिर निस्किन्, म टर्च खोज्दै थिएँ, त्यसपछि खोज्दै जाँदा रुद्रबहादुरको धानबारीमा श्रीमती बसी रहेको देखी, बायाँ हातले घाँटी किलकिलेमा समाई राखें, घाँटीको हात छाडी हेर्दा, श्रीमती मरी सकेकी रहिछन्, सो कुरा भक्तबहादुरलाई भनी, निज र म मिली मृतकलाई बोकी चिलाउनेको रुखमा लगी झुण्डाई दिएको हो भन्ने समेत व्यहोराको मृतकको लोग्ने लिलाबहादुर खड्काले प्रहरी समक्ष गरेको बयान कागज ।
४. २०४४।७।९ गतेको रात मृतक सीतादेवीको लाश मैले टाउको पट्टी, लीलाबहादुरले खुट्टा पट्टी बोकी चिलाउनेको रुखमा लगी झुण्ड्याई दिएको हो, मार्नमा मेरो सहमत छैन भन्ने समेत व्यहोराको भक्तबहादुर खड्काले प्रहरी समक्ष गरेको बयान कागज ।
५. मृतक सीतादेवी झुण्डिएको अवस्थामा भेटिएकोले पहिलाको जाहेरीमा सोही व्यहोरा लेखी दिएको, तर पछि पक्राउमा परेका व्यक्तिहरुको कर्तव्यमा सहमती रहेको बुझिएकोले कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरीवाला रुद्रबहादुर खड्काको कागज ।
६. सीतादेवीलाई लीलाबहादुरले कर्तव्य गरी मारी, भक्तबहादुर समेत भई रुखमा झुण्ड्याइएको भन्ने समेत व्यहोराको अधिकांश सरजमीनका मानिसको सरजमीन मुचुल्का । (साविक पेज नं. ४९३)
७. लीलाबहादुर खड्काले आफ्नी श्रीमती सीतादेवीलाई घाँटीमा थिची, कर्तव्य गरी मारेका र मारी सकेपछि भक्तबहादुरको सहयोगबाट रुखमा लगी झुण्ड्याइएको व्यहोरा संकलित प्रमाणबाट पुष्टी हुन आएकाले अभियुक्त लिलाबहादुर खड्कालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सजायँ हुन र कुलबहादुर खड्कालाई ऐ.को १७(३) अनुसार सजायँ हुन पेश गरेका छौं भन्ने समेत व्यहोराको अभियोग प्रतिवेदन दावी रहेछ ।
८. मृतक मेरी श्रीमती सीतादेवी खड्कासंग २०४४।७।९ गते बेलुका ७ बजेसम्म कुनै रिसइवी थिएन, छैन, ९ गते दिनभर म घरमा नै छु, श्रीमती गाइवस्तु चराउन गएकी थिइन्, वस्तु घरमा ल्याई आएपछि म घरमा हलो बनाउने काम गर्दै थिएँ । निजले गाई वस्तु बाँधी त्यसपछि निजको अनुहार मलिन देखी सन्चो भएन कि भनी सोधनी गरेँ । आफूलाई सन्चै छु भनिन् र बेलुकाको खानपिन सकेपछि, निजको अनुहार अँध्यारो भएकाले किन तिम्रो अनुहार अँध्यारो छ भने तपाई अर्को श्रीमती ल्याउने रे म तपाइको अगाडि आत्महत्या गरेर मर्छु भनिन्, त्यसपछि घरबाट निस्की गइन, म टर्चलाइट खोज्न लागेँ त्यसपछि कहाँ गइन् भनी खोज्दै जाँदा रुद्रबहादुरको धान खेतमा भेटी कहाँ हिंडेकी भनी सोद्धा नबोली हिंड्न खोजेकीले चोलीको कठालोमा समाती एक थप्पड हिर्काएँ, घाँटीमा लाग्यो, श्रीमती त्यतिकैमा लल्याक लुलुक भइन र भुँइमा ढलिन र मरिछन् । सीतादेवीलाई मार्नेमा अरु कसैको साथ सहयोग रहेको छैन । लाश मैले नै बोकी चिलाउनेको रुखमा, पोटुकाको पासो बनाई झुण्डाई घरतर्फ आएको हुँ मार्नमा कसैको सहमत छैन भन्ने समेत व्यहोराको लीलाबहादुरले अदालत समक्ष गरेको बयान कागज ।
९. सीतादेवीलाई मारेको कुरा मलाई थाहा छैन । निजको लाश झुण्डाउनमा मैले सहयोग गरेको छैन, प्रहरी समक्ष भएको कागज मेरो स्वइच्छा विपरीतको हो भन्ने समेत व्यहोराको कुलबहादुरले अदालत समक्ष गरेको बयान कागज ।
१०. यसमा मिसिल संलग्न बयान कागजबाट, प्रतिवादी लिलाबहादुरलाई ज्यानसम्बन्धी महलको १७ नं. बमोजिम कैद वर्ष (१०) को सजायँ हुने र कुलबहादुरलाई ऐ.को २५ नं. बमोजिम (६) महीना कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको ओखलढुड्डा जिल्ला अदालतको फैसला ।
११. अभियोग प्रतिवेदन दावी बमोजिम सजायँ नगर्ने ठहराएको जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी अभियोग प्रतिवेदन दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारतर्फबाट परेको पुनरावेदनपत्र ।
१२. मलाई ज्यानसम्बन्धी महलको २५ नं. बमोजिम कैद महीना (६) गर्ने गरेको जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी अभियोगबाट नै फुर्सद पाउँ भन्ने कुलबहादुर खड्काको र ज्यानसम्बन्धी महलको (५) नं. अनुसार सजायँ गर्नु पर्नेमा (१४) नं. बमोजिम कैद वर्ष (१०) को सजायँ गर्ने गरेको जिल्ला अदालतको निर्णय त्रुटिपूर्ण हुँदा सो बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको पृथक पृथक पुनरावेदनपत्र ।
१३. ओखलढुड्डा जिल्ला अदालतको इन्साफ न्याय कानुनसंगत नै देखिँदा मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको सगरमाथा अञ्चल अदालत ओखलढुड्डा बेञ्चको फैसला ।
१४. जिल्ला अदालतको त्रुटिपूर्ण फैसलालाई सदर ठहराएको अञ्चल अदालतको फैसला मिलेको नहुँदा बदर गरी पुनरावेदन जिकिर बमोजिम होस् भन्ने समेत व्यहोराको कुलबहादुर, लीलाबहादुर र श्री ५ को सरकारबाट परेको पृथक–पृथक पुनरावेदन ।
१५. यसमा अभियुक्त लिलाबहादुरले आफ्नै श्रीमती सीतादेवीलाई घाँटीमा दावी सोही बखत सीतादेवीको मृत्यु हुन गएको देखिँदा निज लिलाबहादुरलाई (साविक पेज नं. ४९४) ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ हुने ठहर्ने, वारदातको स्थिति अवस्थालाई हेर्दा, अ.बं. १८८ नं. बमोजिम जम्मा कैद वर्ष (१०) को सजायँ हुन्छ । कुलबहादुरको हकमा निज समेत भई सीतादेवीको लाश रुखमा झुण्डाएको देखिन आउँदा निजलाई ज्यानसम्बन्धी महलको २५ नं. अनुसार रु. २०।– जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१६. वारदातको स्थिति र अवस्थाबाट ज्यानसम्बन्धी महलको ६ नं. अनुसारको सजायँ हुनु पर्नेमा, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजायँ गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ न्यायसंगत नभएकाले बदर गरी पुनरावेदन जिकिर बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको कारागार शाखा मार्फत लीलाबहादुर खड्काको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।
१७. नियम बमोजिम पेशीमा चढी पेश हुन आएकोमा, बन्दी पुनरावेदकको तर्फबाट कानुनी सहायता परियोजनाबाट मुकरर हुनुभएको विद्वान अधिवक्ता सन्ध्या बस्नेत अनुपस्थित रहनुभएको यसमा पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब बेमनासिब के रहेछ हेरी निर्णय दिन पर्ने हुन आएको प्रस्तुत मुद्दामा सीतादेवीको मृत्यु आफूले घाँटीमा दावी (अठ्ठाई) दिएको कारणबाट भएकोमा, पुनरावेदक प्रतिवादी लालबहादुर खड्का अदालतमा समेत सावित नै देखिन्छन् । वारदातको दिन सौता ल्याउने कुरा सुनी निजको अनुहार मलिन भएको, निजले मेरो अगाडि झुण्डी मर्ने कुरा गरी बेलुका घरबाट निस्केकी, घरबाट खोजी गर्दै जाँदा धान खेतमा भेटी निजले लगाएको चोलीमा समाती गर्धनमा एक थप्पड हिर्काउँदा सीतादेवी मरेकीले आफैंले बोकी रुखमा लगी झुण्डाई दिएको भन्ने कुरा पुनरावेदक प्रतिवादीको बयानमा उल्लेख रहेको, सो कुरा घटनास्थल प्रकृति मुचुल्का, सरजमीनका मानिसहरुको बकाइबाट समेत पुष्टि भएको पाइन्छ ।
१८. मृतक श्रीमती सीतादेवीलाई घरमा फर्काउन प्रयास गर्दा नमानेकी र निजकै हितमा सम्झाई बुझाई गर्दा पनि घरतर्फ नफर्केकीले निजलाई एक थप्पड हिर्काउँदा मृत्यु हुन गएकोले ज्यानसम्बन्धी महलको ६(३) नं. बमोजिम सजायँ हुनु पर्ने भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर रहेको देखिन्छ । तर सौता ल्याउने विषयमा निज पति पत्नीको बीच झगडा रिसइवी रहे भएको कुरा मिसिल संलग्न कागजबाट खुल्न आएको वारदातको दिन पनि रातको समयमा श्रीमती सितादेवीले घर छाडी हिंडेकी, निजलाई खोज खबर गर्न भनी हिंडेका प्रतिवादी निजका पतिबाट घर फर्की भन्दा नमानेकीले एक थप्पड हिर्काएको भन्ने जिकिर छ, तर एक थप्पड चोटकै कारणबाट मृतक सीतादेवीको मृत्यु भएको भन्ने प्रमाणिक पुष्टी हुन नसकेको, घाँटी दावी अठ्ठाई दिएपछि निजको मृत्यु भएको भन्ने देखिएकोले ज्यानसम्बन्धी महलको ६(३) नं. बमोजिम सजायँ हुनु पर्ने भन्ने पुनरावेदन जिकिर कानुनसंगत देखिन आएन ।
१९. जहाँसम्म ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजायँ गर्ने गरेको फैसला समेत नमिलेको भन्ने पुनरावेदन जिकिर छ । यस सम्बन्धमा हेर्दा रातको समयमा घर छाडी हिंडेकी सीतादेवीलाई एकान्त अवस्थामा भेटी घाँटी अठ्ठाई दिएको सोही कारणबाट निजको मृत्यु भएको देखिन्छ । घाँटी अठ्ठाई दिएको कारणबाट सीतादेवीको मृत्यु भएको, मृत्युपछि आफ्नो बचाउको लागि श्रीमतीलाई रुखमा लगी झुण्डाई दिएकोमा अन्यथा जिकिर समेत नरहेकोबाट निज पुनरावेदक प्रतिवादी लिलाबहादुर खड्काले ज्यानसम्बन्धी महलको १ नं. र ऐ.को १३(३) नं. विपरीतको अपराधिक कार्य गरेकोमा विवाद देखिन नआएकोले निजलाई ऐ.को १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ कानुनसंगत नै देखिँदा मनासिब ठहर्छ । (साविक पेज नं. ४९५)
२०. प्रस्तुत मुद्दाको वारदात स्थिति अवस्थालाई हेर्दा आफू उपर सौता ल्याउने कुरा सुनी मर्न भनी, घर छाडी हिंडे्की, घर फर्क भनी सम्झाउँदा नमानेकीले घाँटीमा समाउँदा निजको मृत्यु हुन गएको भन्ने कुरा सीतादेवीको पति लीलाबहादुरको बयानमा उल्लेख रहेको सौता ल्याइसकेको भन्ने कुरा कहीं कतैबाट प्रमाणित हुन नसकेको, लाशको डाक्टरी परीक्षण पनि भएको नपाइएको, पुनरावेदक प्रतिवादी लीलाबहादुरले सीतादेवीलाई मार्नु पर्ने सम्मको पूर्व स्थिति अवस्था पनि देखिन नआएकोबाट निजलाई दावी बमोजिम सजायँ गर्दा न्यायसंगत नहुँदा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष ७ (सात) हुने ठहर्छ ।
२१. साधकको हकमा प्रतिवादीबाट पुनरावेदन परी आएकोले सो को समेत लगत कट्टा गरी दिनु, अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी लीलाबहादुर खड्का के इन्साफ खण्डमा लेखिए बमोजिम ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुनेमा अ.बं. १८८ नं. बमोजिम कैद वर्ष ७ (सात) मात्र हुने ठहरेकोले निज मिति २०४४।७।१९ देखि नै हिरासतमा बसेको देखिँदा सोही मिति देखि कैद कट्टी हुने गरी कैद वर्ष ७ को लगत राखी पुनरावेदकलाई जानकारी दिनु भनी सम्बन्धित अदालतमा लगत दिनु..१, इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकाले पुनरावेदक प्रतिवादी लीलाबहादुर खड्काको हकमा पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।११।१६ को फैसलाले कसेको लगत, अब कायम नरहने हुँदा सो लगत कट्टा गर्न, सम्बन्धित अदालतमा लगत दिनु..२, कारागार मार्फत पुनरावेदन दर्ता भई आएको देखिँदा फैसलाको जानकारी थुनामा रहेका पुनरावेदक प्रतिवादीलाई दिनु..३, मिसिल नियमानुसार गरी बुझाई दिनु..४
उक्त रायमा म सहमत छु । न्या.लक्ष्मणप्रसाद अर्याल
इति सम्वत् २०४८ साल पौष १७ गते रोज ४ शुभम् ।