निर्णय नं. ११३८७ - अंश
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा
फैसला मिति : २०७९।०८।२९
मुद्दाः अंश
०७८-DF-०००७
पुनरावेदक / वादी : पर्वत जिल्ला, चुवा गा.वि.स. वडा नं.३ बस्ने भनिएको सो नभई बर्दिया जिल्ला, जमुनी गा.वि.स. वडा नं.१ बस्ने युवराज सुवेदी
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : पर्वत जिल्ला, चुवा गा.वि.स. वडा नं.३ बस्ने भोलाप्रसाद सुवेदीसमेत
०७८-DF-०००८
पुनरावेदक / प्रतिवादी : पर्वत जिल्ला, चुवा गा.वि.स. वडा नं.३ बस्ने भोलाप्रसाद सुवेदी
विरूद्ध
प्रतर्थी / वादी : पर्वत जिल्ला, चुवा गा.वि.स. वडा नं.३ बस्ने भनिएको सो नभई बर्दिया जिल्ला, जमुनी गा.वि.स. वडा नं.१ बस्ने युवराज सुवेदी
अंशबन्डा नभएका एकासगोलको घरपरिवारको नाममा रहेको सम्पत्तिलाई एकासगोलको मान्नुपर्ने । त्यस्तो सम्पत्ति सबै अंशियारहरूलाई बन्डा गर्नुपर्ने । कुनै अंशियारको नाउँमा रहेको सम्पत्ति निजी आर्जनको भई अंशबन्डाको १८ नं. बमोजिम बन्डा गर्नु नपर्ने सम्पत्ति हो भनी दाबी गर्नेले त्यस्तो सम्पत्ति पैतृक सम्पत्तिको लगानीबेगर आफूले निजी ज्ञान, सिप वा प्रयासबाट आर्जन गरेको हो भनी प्रमाणित गर्नुपर्ने ।
(प्रकरण नं.४)
वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री कृष्ण थापा र श्री सपना सुवेदी
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री कृतिनाथ शर्मा पौडल
अवलम्बित नजिर :
ने.का.प.२०६७, अङ्क १०, नि.नं.८४७५
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री सुदर्शनराज पाण्डे
पर्वत जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित
माननीय न्यायाधीश श्री उमेशराज पौड्याल
पुनरावेदन अदालत बागलुङ
यस अदालतमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश डा.श्री कुमार चुडाल
फैसला
न्या. सपना प्रधान मल्ल : यस अदालतको संयुक्त इजलासको फैसलाउपर सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को उपनियम (२) को खण्ड (क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
तथ्य खण्ड
विपक्षी पिता भोलाप्रसादका २ श्रीमतीमा जेठी म फिरादीको आमा विपक्षी चन्द्रकली सुवेदी भई निज र पिता भोलाप्रसादको सहवासबाट एक छोरी र म फिरादीको जायजन्म भएको, विपक्षीमध्येकी कान्छी तुलाकुमारीतर्फबाट २ छोरा गोविन्दप्रसाद र इन्द्रप्रसाद तथा तीन छोरी कमला, सीता र मनुको जायजन्म भएकोमा सबै छोरीहरूको विवाहदान भइसकेको छ । विपक्षी पिता भोलाप्रसादले मेरी आमा चन्द्रकलीलाई हेलाहोचो गरी अंशसमेत नछुट्याएकाले मसमेत माइती मावलीमा बसेको हुँदा सधैँ मावलीमा बसी जीविकोपार्जन गर्न नसकी विपक्षी पिता तथा आमासमेतसँग गई इज्जत आमदअनुसार खान लाउन, औषधी उपचार गर्न, शिक्षादीक्षा प्राप्त गर्न खर्च दिनुहोस् भन्दा तँलाई खान लाउन पनि दिन्न जे जानेको छस् गर् भनी अन्यायपूर्ण जवाफ दिई अंश दिन इन्कार गरेकाले प्रतिवादीहरूसँग तायदाती फाँटवारी माग गरी सम्पूर्ण सम्पत्तिलाई ६ बन्डा लगाई त्यसको १ भाग अंश दिलाइपाउँ भन्नेसमेत बेहोराको फिराद पत्र ।
विपक्षीकी आमा चन्द्रकलीले म भोलाप्रसादउपर यसै पर्वत जिल्ला अदालतमा मिति २०३१।३।१५ मा अंश मुद्दाको फिराद दर्ता गरेकीमा मैले निज तत्काल मेरो सतीत्वमा नरहेको र मिति २०३०।६।४ गतेदेखि चुडामणी भन्ने व्यक्तिसँग पुन: विवाह गरी गइसकेको भन्ने प्रतिउत्तर परेको थियो । त्यसै लगाउको जारी मुद्दामा मैले अर्कै व्यक्तिलाई वारेस दिई भारतमा तीर्थयात्रा गर्न र आफन्त भेट्न गएको मौकाको फाइदा उठाई मेरो तारेख गुजार्न लगाई विपक्षीकी आमाले म भोलाप्रसादबाट ५ भागको १ भाग अंश पाउने भनी मिति २०३२।८।१५ मा फैसला भएकोमा निजले पाउने अंशबापत नगदै बुझी लिइसकेको अवस्था छ । उल्लिखित अंश मुद्दामा निज चन्द्रकलीले ९ महिनाजतिको गर्भ रहेको भनी फिरादपत्रको प्रकरण नं. २ मा उल्लेख गरे तापनि २०२९ साल मार्ग महिनादेखि निज चन्द्रकली र म भोलाप्रसादबिच भेटघाट नभएकाले मेरो गर्भ बोकेकी छु भन्ने वादीको दाबी सर्वथा झुट्टा भएको र उक्त कुरालाई मैले मौकैमा खण्डन गर्दै आएको छु । चन्द्रकलीले दिएको अंश मुद्दामा १७ महिनापछि अर्थात् मिति २०३२।८।१५ मा सो मुद्दा फैसला भएको हो । यदि सो बखत चन्द्रकलीको कोखबाट यी वादी जन्मेको हुन्थे भने मुद्दा चल्दाचल्दै जन्मेको शिशु सोही अवस्थामा अंशियार कायम हुनुपर्नेमा सो कुनै केही नभएबाट यी वादी हाम्रो छोरा वा अंशियार कायम हुनसक्ने अवस्था नभएको हुँदा अंश दिनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी गोविन्द सुवेदी, तुलाकुमारी सुवेदी र भोलाप्रसाद सुवेदीको संयुक्त प्रतिउत्तर पत्र ।
सहप्रतिवादी भोलाप्रसाद सुवेदी र म चन्द्रकलीको मिति २०१७।१।२६ मा विवाह भएकोमा विवाहपश्चात् सहप्रतिवादी तुलाकुमारीलाई भोलाप्रसाद सुवेदीले मिति २०२३।२।२४ मा विवाह गरी ल्याएपछि सौतासमेतका कुरा सुनी मलाई हेलाहोचो गरेबाट प्रतिवादी भोलाप्रसादसमेत उपर मैले मिति २०३१।३।१५ मा पर्वत जिल्ला अदालतमा फिराद दायर गरी मिति २०३२।८।१५ मा पाँच भागको १ भाग अंश पाउने गरी फैसला भएको छ । भोलाप्रसाद र मबाट मिति २०२२।३।१९ मा एक छोरीको जन्म भई विवाहसमेत भइसकेको छ । सहप्रतिवादी भोलाप्रसादउपर मैले मिति २०३१।३।१५ मा अंश मुद्दा दायर गर्दा सहप्रतिवादी भोलाप्रसादको वीर्यबाट रहेको नौ महिनाको गर्भ उदरमा थियो । उक्त कुरा तत्कालीन अंश मुद्दामा समेत उल्लेख गरेकी र मिति २०३१।४।१५ मा मेरो उदरबाट विपक्षी वादी युवराज सुवेदीको जन्म भएको हो । मिति २०३२।८।१५ को फैसलाअनुसार मैले बन्डा छुट्याउन प्रयत्न गरे तापनि सहप्रतिवादी भोलाप्रसादकै अवरोधबाट अंश छुट्याई वा नगदसमेत केही नलिएकी हुँदा मैलेसमेत एक बन्डा अंश पाउन बाँकी छ । वादी छोरा युवराज सहप्रतिवादी भोलाप्रसादको खुद छोरा हुन् र निजले सहप्रतिवादीहरूसँग ६ भागको एक भाग अंश पाउनुपर्ने हो भन्नेसमेत बेहोराको प्रतिवादी चन्द्रकली सुवेदीको प्रतिउत्तर पत्र ।
प्रतिवादी चन्द्रकली सुवेदी मेरो आमा, प्रतिवादी भोलाप्रसाद सुवेदी मेरो पिता, प्रतिवादी तुलाकुमारी सुवेदी मेरो सौतेनी आमा, प्रतिवादी गोविन्दप्रसाद सुवेदी मेरो दाजु, प्रतिवादी नबनाइएका इन्द्रप्रसाद सुवेदी पनि मेरो दाजु नाता पर्नुहुन्छ । मेरो आमा चन्द्रकलीलाई बाबु भोलाप्रसादले चुडामणीको गर्भ बोकी चुडामणीसँग पोइला गएको भनी चुडामणीउपर जारी मुद्दा दिए तापनि मेरो आमा चन्द्रकलीले विपक्षी बाबु भोलाप्रसादबाट पाँच भागको १ भाग अंश पाउने भनी फैसला भएको, वादी म युवराज सुवेदीको बाबु भोलाप्रसादले दिएको जारी मुद्दासमेत मिति २०३१।१२।३ मा डिसमिस फैसला भएको हुँदा फिराद दाबीबमोजिम प्रतिवादीहरूसँग नाताकायम गराई ६ भागको १ भाग अंश दिलाइपाउँ भन्नेसमेत बेहोराको वादी युवराज सुवेदीले अ.बं. ८० नं बमोजिम नातामा सुरू पर्वत जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादी भोलाप्रसाद सुवेदी बाबु, प्रतिवादी तुलाकुमारी आमा नाता पर्नुहुन्छ । प्रतिवादी चन्द्रकली र वादी युवराज सुवेदी को हुन् ? थाहा छैन । वादी युवराज सुवेदी चुवा गा.वि.स. अन्तर्गत नबस्नु भएको र प्रतिवादीहरू अंशियारसमेत नभएका हुँदा अंश पाउने भन्ने कुरै आउँदैन । प्रतिवादीहरूको सम्पत्ति देखेर नाता कायम गरी अंश हत्याएर खान पाइन्छ कि भनी दुःख दिने उद्देश्यले झुट्टा मुद्दा दिएका हुन् । गाउँ सर्जमिन गरी डि.एन.ए. जाँच गर्ने प्रविधिसमेत हाल नेपालमा भएको हुँदा डि.एन.ए. जाँचको आदेशसमेत गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी गोविन्दप्रसाद सुवेदीले अ.बं. ८० नं. बमोजिम नातामा सुरू पर्वत जिल्ला अदालतमा गरेको बयान ।
वादीलाई मैले देखे चिनेको पनि छैन । निजको गाउँघरमा बसोबाससमेत छैन । निज वादीसँग हामीहरूको कुनै नाता पर्दैन । निज वादी ३८, ४० वर्षको हुँदासम्म निजसँग नाता सम्बन्ध पर्ने भए कुनै कुराको जानकारी हुनुपर्दथ्यो । लामो समयसम्म पनि नातामा दाबी गर्न नसकेकोले कुनै नाता सम्बन्ध नपर्ने हुँदा अंश दिनुपर्ने होइन । प्रतिवादीहरूले बढे बढाएको सम्पत्ति देखेर दुःख दिने उद्देश्यले झुट्टा मुद्दा दिएका हुन् । डि.एन.ए. परीक्षणसमेत गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी तुलाकुमारीले अ.बं. ८० नं. बमोजिम नातामा सुरू पर्वत जिल्ला अदालतमा गरेको बयान ।
विपक्षी वादीकी आमा भनिएकी चन्द्रकली मबाट अंश नबुझ्दै २०२९ सालदेखि भिन्न बसेकी हुन् । चन्द्रकलीले २०३० सालमा मलाई विपक्षी बनाई अंश मुद्दा दिए तापनि सोभन्दा अगाडि नै मैले चुडामणी जैसीले लगेको भनी जारी मुद्दा दिई वारेस राखी भारततर्फ गएको अवस्थामा मेरो वारेस विपक्षीको जाल प्रपञ्चमा परी तारेख छोडी जारी मुद्दा डिसमिस भएको र अंश मुद्दासमेत एकतर्फी भई चन्द्रकलीले अंश पाउने फैसला भएको रहेछ । वादीले फिरादपत्रमा आफू २०३१ सालमा जन्मेको दाबी लिए तापनि मैले निजकी आमा चन्द्रकलीलाई २०२९ सालदेखि नै छाडी अलग बस्ने गरेको हुँदा वादी दाबी झुट्टा हो । चन्द्रकलीले मिति २०३०।६।४ मा पुन:विवाह गरेको हुँदा वादी २०३१ सालमा जन्मेको व्यक्ति मेरो छोरा नाता पर्ने व्यक्ति होइनन् । यदि चन्द्रकलीको पेटमा मेरो गर्भ भए सोही अवस्थामा नाता कायम गर्नुपर्ने थियो । वादी मेरो वीर्यबाट गर्भ रही नजन्मेको हुँदा कस्को गर्भ बोकी बच्चा जन्माएकी हुन्, उनै चन्द्रकलीलाई थाहा होला । मेरो अंशियारहरूमा चन्द्रकलीले आफ्नो अंश बुझी लिइसकेकी हुँदा कान्छी तुलाकुमारीतर्फको छोरा गोविन्दप्रसाद, इन्द्रप्रसादसमेत गरी अब ४ अंशियार मात्र बाँकी छौं । यी वादीले जालसाज गरी नागरिकता बनाएको हुँदा सोही नागरिकताको आधारमा सम्पत्ति खान पाइन्छ कि भनेर अंश मुद्दा दिएको हुनुपर्दछ । आवश्यक भएमा रक्त परीक्षणसमेत गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी भोलाप्रसाद सुवेदीले अ.बं. ८० नं. बमोजिम सुरू पर्वत जिल्ला अदालतमा नातामा गरेको बयान ।
वादी को हुन् ? कसको अंशियार हुन्, मलाई थाहा छैन । वादीले दिएको प्रस्तुत अंश मुद्दामा म वादीको अंशियार होइन । वादीले भोलाप्रसादको अंश हत्याएर खान पाइन्छ कि भनेर मलाई समेत अंशियार भनी रिसइवीले झुट्टा मुद्दा दिएका हुन् । भोलाप्रसादको २ छोरामध्ये म इन्द्रप्रसाद र गोविन्दप्रसाद सुवेदी, आमा तुलाकुमारी सुवेदीसमेत गरी जम्मा ४ अंशियार सगोलमा छौं । वादी हाम्रो अंशियारा नै नभएको हुँदा कति भागको कति भाग अंश पाउने हुन् भन्ने कुनै सवाल नै रहेन । नागरिकता लिने क्रममा सिफारिस गर्नेले आर्थिक प्रलोभनमा परी भोलाप्रसादलाई दुःख दिने नियतले सिफारिस गरी बाबुको नाम उल्लेख गरी नागरिकता लिएको हुनुपर्दछ भन्नेसमेत बेहोराको अ.बं.१३९ नं.बमोजिम बुझिएका इन्द्रप्रसाद सुवेदीले सुरू पर्वत जिल्ला अदालतमा गरेको बयान ।
वादी युवराज सुवेदी प्रतिवादी भोलाप्रसादका छोरा हुन् र वादीले प्रतिवादीहरूबाट ६ भागको १ भाग अंश पाउने हुन् । अंश पाउने कुरामा कुनै हदम्याद हुँदैन भन्नेसमेत बेहोराको वादीका साक्षी राजुप्रसाद सुवेदीले सुरू पर्वत जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी भोलाप्रसाद सुवेदीको परिवारमा भोलाप्रसाद १, निजकी श्रीमती १ र छोरा २ समेत गरी जम्मा ४ अंशियार भएको मलाई जानकारी छ । वादी युवराज सुवेदी प्रतिवादी भोलाप्रसाद सुवेदीको छोरा होइनन् भनी स्वयंले जिकिर गरेको अवस्थामा सहवास जस्तो गोप्य र व्यक्तिगत विषयमा मैले यसै भन्न सक्दिनँ । डि.एन.ए. परीक्षणको आधारमा वादी युवराज प्रतिवादी भोलाप्रसादको छोरा ठहरेमा वादीले अंश पाउनुपर्दछ भन्नेसमेत बेहोराको प्रतिवादीमध्येका भोलाप्रसाद, गोविन्दप्रसाद, तुलाकुमारीसमेत जना ३ को साक्षी कृष्णप्रसाद उपाध्यायले सुरू पर्वत जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीमध्येकी चन्द्रकली प्रतिवादी भोलाप्रसादको जेठी श्रीमती हुन् । वादी युवराज चन्द्रकलीको गर्भमा हुँदा वादी चन्द्रकली र प्रतिवादी भोलाप्रसादबिच अंश मुद्दा चलेको मलाई थाहा छ । प्रतिवादीमध्येकी चन्द्रकलीले पनि ६ भागको १ भाग अंश र वादी युवराजले पनि ६ भागको १ भाग अंश पाउनुपर्दछ । वादी युवराज र प्रतिवादी भोलाप्रसादबिच बाबु छोराको नाता कायम हुनुपर्दछ भन्नेसमेत बेहोराको प्रतिवादीमध्येकी चन्द्रकली सुवेदीका साक्षी मिठु गिरीले सुरू पर्वत जिल्ला अदालतमा गरेको बकपत्र ।
भोलाप्रसादले चन्द्रकलीसमेत उपर दायर गरेको २०३१ सालको जारी मुद्दासमेतबाट यी वादी युवराज सुवेदी प्रतिवादीहरू भोलाप्रसाद सुवेदी र प्रतिवादी चन्द्रकली सुवेदीको सन्तान भन्ने देखिन आएकाले सोहीबमोजिम नातासमेत कायम हुने भएकाले यी वादी प्रतिवादीहरूका बाबु १, सौतनी आमा १, आमा १ र दुवैतर्फका छोराहरू गरी जम्मा ६ अंशियार रहेका हुँदा यी प्रतिवादीहरूले निजी आर्जनका भनी लिएका जिकिरहरू प्रमाणित हुन नसकेकाले प्रतिवादी भोलाप्रसादले पेस दाखेल गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिलाई ६ भाग लगाई ६ भागको १ भाग तथा प्रतिवादी चन्द्रकलीले पेस गरेको सम्पत्तिलाई २ भाग लगाई २ भागको १ भाग अंश यी वादीले छुट्टाई लिन पाउने गरी सुरू पर्वत जिल्ला अदालतबाट मिति २०७०।३।१३ मा भएको फैसला ।
प्रस्तुत अंश मुद्दाका वादीकी आमा चन्द्रकली सुवेदीले यी वादी युवराज सुवेदी म पुनरावेदक भोलाप्रसाद सुवेदीका छोरा हुन् भनी उल्लेख गरेकै भरमा अन्य कुनै प्रमाणहरूबाट उक्त कुरा पुष्टि हुने अवस्था नहुँदा नहुँदै सुरू जिल्ला अदालतले वादी युवराज र म पुनरावेदक भोलाबिचमा बाबुछोराको नाता कायम गरी मेरो निजी आर्जनको र मेरी कान्छी श्रीमतीले बकस पाएको तथा घरका अन्य अंशियारका नाउँमा दर्ता स्रेस्ता कायम रहेका जग्गाहरूसमेत बन्डा गरिदिने गरी भएको सुरू पर्वत जिल्ला अदालतको फैसला बदर गरी मेरो प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी भोलाप्रसाद, तुलाकुमारी र गोविन्दप्रसाद सुवेदीको पुनरावेदन अदालत बागलुङमा दायर भएको संयुक्त पुनरावेदनपत्र ।
सुरू पर्वत जिल्ला अदालतबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्ने गरी भएको सुरू फैसला मिसिल संलग्न प्रमाणको मूल्याङ्कनबाट फरक पर्नसक्ने देखिँदा छलफलका लागि अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत बागलुङको मिति २०७०।११।२६ को आदेश ।
पुनरावेदक प्रतिवादी तुलाकुमारीका नाउँमा रहेको कि.नं.३०, ४९, २९९, १७५५ का जग्गाहरू गोविन्दप्रसादसमेतले बेल्जियमबाट कमाई पठाएको रकमले खरिद गरेको निजहरूको निजी आर्जनको भई यी वादीसमेतलाई बन्डा लाग्ने अवस्थाको जग्गा सम्पत्ति नदेखिँदा सो जग्गा सम्पत्तिसमेत बन्डा हुने गरी सुरू पर्वत जिल्ला अदालतबाट मिति २०७०।३।१३ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा सो हदसम्म उक्त फैसला केही उल्टी भई उक्त जग्गा सम्पत्ति बन्डा नलाग्ने गरी पुनरावेदन अदालत बागलुङबाट मिति २०७१।२।६ मा भएको फैसला ।
चन्द्रकलीले अंश पाएको, श्रीमती कायम भएको नाताले सम्म हो । मिति २०३२।८।१५ को फैसलामा विपक्षीलाई छोरा नाता कायम गरिएको छैन । निज उक्त समयमा जीवित भए त्यसै समयमा अंशियार कायम गरिदिनुपर्ने थियो, नगरेको भए एक तहमाथि पुनरावेदन गर्नुपर्नेमा सो गरेको अवस्था पनि छैन । चन्द्रकलीले फिराद गर्दा उनको पेटमा ९ महिनाको गर्भ भएको भन्ने दाबी झुट्ठो हो । चन्द्रकलीले ०३१।४।१५ मा वादी जन्मेको भन्ने दाबी गरेका छन् । त्यो मिति कायम गर्दा फिराद दर्ताका दिन ३७ वर्ष पुगेको हुनुपर्नेमा फिरादमा वादीको उमेर ३८ वर्ष भनी आफैँ खुलाइरहेका छ्न् । वादी खुदै विबन्धित छन् र गर्भमा रहेको भनेको भ्रूण यी वादी होइन्न् भन्ने छर्लङ्ग छ । कथंकदाचित गर्भ थियो भन्ने मान्ने हो भने २०२९ सालदेखि चन्द्रकलालाई निकाला गरिएकोमा मिति २०३०।६।४ मा उनका बहिनी ज्वाइँले लगी गएकोले गर्भ भए चुडामणीकै होला मेरो होइन डि.एन.ए परीक्षण गरी यकिन गरिपाउँ भनी गरिएको मेरो पुनरावेदन जिकिरलाई गलत तरिकाले व्याख्या गरिएको छ । मिति २०५२।९।२६ मा वादीले जिल्ला प्रशासन कार्यालयबाट झुक्याई नागरिकता प्रमाण पत्र हात पारेको स्पष्ट छ । झुक्याई गराइएको लिखत स्वत: जालसाजी हुन्छ । नागरिकता दिँदा अ.नं.३०० मा वादीको नाम भएको रेकर्डबाट देखिएकोले नागरिकता दिइएको भनिएको छ तर त्यो अस्थायी निस्सा भएको कुनै रेकर्ड जिल्ला प्रशासनमा छैन । यसरी वादीले खुदै आफूले उल्लेख गरेको उमेर र २०३१।४।१५ मा जन्मेको भन्ने कथन परस्पर मेल खाँदैन । विपक्षीको कथन र ०३१ सालको अंश मुद्दाको फिराद र फैसलामा संलग्न विवरण परस्पर बाझिन गएका छन् । यस्तो अवस्थमा डि.एन.ए परीक्षण आवश्यक पर्दछ, यस्तो बुझ्नैपर्ने प्रमाण नबुझ्ने सुरू अदालतको गलत फैसलालाई समर्थन गरेको पुनरावेदन अदालतको फैसला अन्यायपूर्ण रहेको छ ।
म तुलाकुमारीको सौताको छोरा कायम हुन सक्दैन र म गोविन्दप्रसादको भाइ पनि कायम हुन सक्दैन । सोबाहेक म तुलाकुमारीले आफ्नो दाइजो मासिदिएबापत पुनरावेदक भोलाप्रसादले हालै बकस गरिदिएका अचल सम्पत्ति पुनरावेदक भोलाप्रसादले हालै बकस गरिदिएको अचल पुनरावेदक तुलाकुमारीको निजी कायम गरी दिनुपर्नेमा अंशबन्डाको नं.१८ समेत विपरीत भएकोले पुनरावेदन अदालत बागलुङको फैसला बदर गरी, न्याय दिलाइपाउँ भन्नेसमेत बेहोराको भोलाप्रसाद सुवेदी, तुलाकुमारी सुवेदी र गोविन्दप्रसाद सुवेदीको समेत संयुक्त पुनरावेदनपत्र ।
भोलाप्रसाद सुवेदीले विभिन्न मितिमा बैंकमा रकम जम्मा गरेका भौचरहरू, बेल्जियमबाट म मेरा छोरीहरू र ज्वाइँसमेतले आइ.एम.ई. मार्फत रकम पठाइदिएको फाँटवारी फ्याक्सको फोटोकपी पेस गर्नुभएको छ । उक्त प्रमाणहरूबाट प्रतिवादी गोविन्द सुवेदीसमेत बेल्जियममा गएको, बसेको र केही रकम नेपाल पठाएको भन्नेसमेत दखिन्छ । यस्तो प्रमाणहरूको आधारमा सगोलका अंशियारहरूको नाममा खरिद गरिएको खरिदीको सम्पत्ति बन्डा नलाग्ने भनी भएको फैसला प्रमाण ऐन, २०३१ विपरीत छ । प्रत्यर्थीहरूले पुनरावेदन साथ पेस गरेको भनिएका प्रमाणहरू आफूसँग कुनै कारणबाट नरहेको र प्रतिउत्तर पत्र साथ पेस गर्न नसकेको भनी फैसलामा उल्लेख हुन सकेको छैन । आफैँसँग रहने प्रकृतिको प्रमाण तत्काल पेस नगरी मुद्दाको अवस्था हेरी आफैँ सृष्टि गरी पेस गरिएको जस्तो देखिएको छ । गोविन्दप्रसाद बेल्जियम गएको, रकम पठाएको, भोलाप्रसादको नाममा जम्मा गरिएको भन्नेलगायतका कुनै पनि बेहोरा जग्गाहरू बन्डा लाग्ने नलाग्ने के कस्तो प्रकृतिका हुन् भनी प्रमाणित गर्ने आधार बन्न सक्दैन । तुलाकुमारीको नाममा खरिद गरिएका जग्गाहरू तायदातीमा उल्लेख भएबमोजिम बन्डा नलाग्ने प्रकृतिको होइन । प्रमाण ऐन, २०३१ को दफा ६(क) को व्यवस्थाअनुसार वस्तुनिष्ठ र निर्विवाद प्रमाणबाट खण्डित भएको अवस्थामा मात्र अंशियारको नाममा रहेको कुनै सम्पत्ति निजी कायम हुन सक्दछ । प्रतिवादी तुलाकुमारीको नाममा उल्लेख भएका जग्गाहरू निजी कायम हुने कुनै आधार, कारण नरहेको अवस्थामा निज आर्जन कायम गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ ।
पुनरावेदक र प्रत्यर्थी सँगै नबसेको कारण सौतेनी आमा तुलाकुमारीको नाममा खरिद भएका जग्गाहरू म पुनरावेदकलाई बन्डा नलाग्ने भनी फैसला गरिएको छ । अंशबन्डाको १८ नं. को कानूनी व्यवस्थाअनुसार एउटै घरमा वा एउटै भान्सा गरी बसेका अंशियारको बिचमा मात्र खरिदीका सम्पत्ति बन्डा लाग्ने भन्ने होइन । प्रत्यर्थीहरूले पुनरावेदन पत्र साथ पेस गर्नुभएका भनिएका प्रमाणहरू तथा जग्गा खरिद गरिएका लिखतहरू म पुनरावेदकलाई देखाई सनाखत नामकरण गराइएको छैन । मुद्दाको एउटा पक्षले पेस दाखिल गरेको प्रमाणहरू अर्को पक्षलाई नदेखाई सनाखत नामकरण नगराई प्रमाणमा लिन मिल्ने व्यवस्था कुनै प्रचलित कानूनमा रहेको छैन । प्रतिउत्तर पत्रसाथ पेस नभएका तथा पुनरावेदकलाई हेर्न सुन्न नदिइएका प्रमाणहरूलाई ग्रहण गरी तुलाकुमारीको नाममा राजीनामाको लिखतबाट खरिद गरिएका जग्गाहरू बन्डा नलाग्ने ठहर गरेको हदसम्मको फैसला बदर गरी उक्त जग्गाहरूसमेत बन्डा लाग्ने गरी न्याय दिलाइपाउँ भन्नेसमेत बेहोराको भोलाप्रसाद सुवेदीको यस अदालतमा दायर भएको पुनरावेदनपत्र ।
यसमा वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. को प्रयोजनार्थ एक अर्कालाई पुनरावेदनको जानकारी दिई नियमानुसार पेस गर्नुहोला भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७४।०९।१२ को आदेश ।
निजी आर्जन हो भन्नेले वस्तुनिष्ठ र विश्वसनीय प्रमाणद्वारा पुष्टि गर्न नसकेको अवस्थामा पर्वत जिल्ला अदालतको मिति २०७०।०३।१३ को फैसला केही उल्टी हुने ठहर गरी आमा तुलाकुमारी सुवेदीका नाउँमा रहेका कि.नं ३०, ४९, २९९, १७५५ का जग्गाहरू निजी आर्जनबाट खरिद भएकाले बन्डा नलाग्ने भनी मिति २०७१।०२।०६ मा पुनरावेदन अदालतबाट भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई हाल जीवित अंशियार ४ जना मात्र रहेको हुँदा उक्त कित्ता नम्बरका जग्गाहरूबाट समेत ४ भागको १ भाग अंश वादीले पाउने भन्ने बेहोराको माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीको राय ।
पर्वत जिल्ला अदालतबाट मिति २०७०।३।१३ मा भएको फैसलामा केही उल्टी गरी पुनरावेदन अदालत बागलुङबाट मिति २०७१।२।६ मा भएको फैसलामा कि.नं.३०, ४९, २९९ र १७५५ का जग्गाहरूलाई पुनरावेदक गोविन्दप्रसादको स्वआर्जन भई बन्डा नलाग्ने भनी भएको फैसला मिलेको नदेखिँदा सो फैसला केही उल्टी भई पर्वत जिल्ला अदालतको फैसलाको तपसिलमा उल्लिखितमध्ये कि.नं.३० सगोलको भई बन्डा लाग्ने र कि.नं.४९, २९९, १७५५ का जग्गाहरू निजी आर्जनको देखिएकाले बन्डा नलाग्ने र अन्य सम्पत्तिबाट हाल जीवित अंशियार ४ जना मात्र बाँकी रहेकाले वादीले ४ भागको १ भाग अंश पाउने भन्नेसमेत बेहोराको माननीय न्यायाधीश डा.श्री कुमार चुडालको फरक राय ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दमा वादी युवराज सुवेदीको तर्फबाट विद्वान् अधिवक्ताद्वय श्री कृष्ण थापा र श्री सपना सुवेदीले तुलाकुमारीको नाममा रहेको कि.नं.३०,४९,२९९ र १७५५ को जग्गाहरू तुलाकुमारीको निजी आर्जनको सम्पत्ति भएको प्रमाणित गर्ने वस्तुनिष्ठ प्रमाणको अभाव रहेको छ । निजले उक्त जग्गा गोविन्दप्रसादले बेल्जियमबाट आर्जित रकमबाट खरिद गरिएको भन्ने जिकिरअनुसार भएको भए सो कुरालाई पहिले नै पुष्टि गर्नुपर्ने थियो । बेल्जियमबाट पैसा पठाइएको प्रमाण उच्च अदालतमा पुनरावेदन गरिसकेपश्चात् मात्र पेस गरिएको छ । उक्त सम्पत्ति आमा तुलाकुमारीको नाममा रहेको छ भने निजी आर्जनको भन्ने जिकिर छोरा गोविन्दको रहेको छ । यसरी मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. को व्यवस्थाअनुसार कुनै सम्पत्ति निजी हुनको लागि उक्त जग्गाहरू आर्जनकर्ताको नाममा रहन जरूरी रहन्छ । यस मुद्दामा आर्जन नगर्ने सौतेनी आमा तुलाकुमारीका नाममा खरिद गरिएको जग्गाहरू बन्डा नलाग्ने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीको राय सदर हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।
प्रत्यर्थी / प्रतिवादी भोलाप्रसाद सुवेदीसमेतको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री कृतिनाथ शर्मा पौडलले तुलाकुमारीको नाममा रहेको कि.नं. ३०, ४९, २९९ र १७५५ को जग्गाहरू निजी आर्जनबाट खरिद गरिएका सम्पत्ति हुन् । उक्त जग्गा गोविन्दप्रसाद सुवेदीले बेल्जियमबाट कमाई गरेको रकमबाट खरिद गरिएको हुँदा उक्त जग्गा बन्डा लाग्ने प्रकृतिको होइन । निज गोविन्दप्रसाद विदेशमा भएकोले निजको नाममा जग्गा दर्ता हुन नसकेको कारणले मात्र उक्त जग्गा आमा तुलाकुमारीको नाममा खरिद गरी दर्ता भएकोसम्म हो । तसर्थ, माननीय न्यायाधीश डा. श्री कुमार चुडालको राय सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा प्रतिवादी भोलाप्रसाद सुवेदीको दुई श्रीमती जेठी चन्द्रकली र कान्छी तुलाकुमारी रहेकोमा जेठी श्रीमतीतर्फबाट एक छोरी र वादी युवराज सुवेदीको जन्म भएको, कान्छी श्रीमतीबाट दुई छोराहरू गोविन्दप्रसाद र इन्द्रप्रसाद र ३ छोरीको जन्म भएकोमा छोरीहरूको विवाह भइसकेको हुँदा प्रतिवादीहरूसँग तायदाती फाँटवारी माग गरी ६ भागको १ भाग अंश दिलाइपाउँ भन्ने फिराद दाबी रहेको र वादी युवराज सुवेदी अंशियार नभएको हुँदा अंश दिनु नपर्ने भन्ने प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा सुरू पर्वत जिल्ला अदालतबाट वादी युवराज सुवेदीले प्रतिवादी भोलाप्रसाद र तुलाकुमारीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट २ भागको १ भाग अंश पाउने गरी फैसला भएको देखिन्छ । उक्त फैसलाउपर चन्द्रकलीबाहेकका विपक्षीको पुनरावेदन परी पुनरावेदन अदालत, बागलुङबाट प्रतिवादी तुलाकुमारीको नाउँमा दर्ता रहेको कि.नं.३०, ४९, २९९ र १७५५ का जग्गाहरू गोविन्दप्रसादसमेतले बेल्जियमबाट कमाई पठाएको रकमले खरिद गरिएको निजी आर्जनको सम्पत्ति रहेको हुँदा बन्डा लाग्ने सम्पत्ति नदेखिँदा सुरू जिल्ला अदालतको फैसला केही उल्टी भई उक्त जग्गा सम्पत्ति बन्डा नलाग्ने गरी फैसला भएको देखिन्छ । उक्त फैसलाउपर चित्त नबुझाई वादी प्रतिवादी दुवै पक्षको तर्फबाट यस अदालतमा पुनरावेदन परेकोमा यस अदालतको संयुक्त इजलासमा पेस हुँदा सो इजलासका माननीय न्यायाधीशहरूको बिचमा रायमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को उपनियम (२) को खण्ड (क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा निर्णयार्थ पेस हुन आएको देखियो ।
संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिच रायमा मतैक्य हुन नसकी पेस हुन आएको प्रस्तुत मुद्दामा वादी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको विद्वतापूर्ण बहस सुनी र मिसिल कागज अध्ययन गरी हेर्दा, पुनरावेदन अदालत बागलुङबाट भएको फैसला मिलेको छ वा छैन ? वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, वादी युवराज सुवेदीको आमा चन्द्रकलीले पर्वत जिल्ला अदालतमा भोलाप्रसाद सुवेदीउपर २०३१ सालमा दे.नं.२१७ को अंश मुद्दा दायर गरेकोमा चन्द्रकलीलाई भोलाप्रसादको श्रीमती भएकोले ५ भागको १ भाग अंश पाउने गरी मिति २०३२।८।१५ मा फैसला भएको देखिन्छ । उक्त फैसला अन्तिम भई बसेको देखिँदा चन्द्रकली भोलाप्रसादको पत्नी कायम भई निजको परिवारको सदस्य भएकोमा विवाद रहेन । प्रस्तुत मुद्दा चन्द्रकलीसमेतलाई विपक्षी बनाई दायर भएकोमा निज चन्द्रकलीले युवराज सुवेदी भोलाप्रसाद सुवेदीको छोरा हुन् भनी स्वीकार गरी प्रतिउत्तरपत्र फिराएको, निज युवराज सुवेदीले भोलाप्रसाद सुवेदीको नामबाट नागरिकताको प्रमाणपत्र लिएको र भोलाप्रसादले दायर गरेको नागरिकता जालसाजीसम्बन्धी मुद्दामा भोलाप्रसाद सुवेदीको दाबी पुग्न नसक्ने ठहरी सुरू पर्वत जिल्ला अदालतबाट मिति २०७०।३।१३ मा भएको फैसला पुनरावेदन अदालत बागलुङबाट मिति २०७१।०२।०६ मा सदर हुने ठहरी फैसला भई अन्तिम भई बसेको अवस्थाबाट यी वादी युवराज सुवेदी प्रतिवादी भोलाप्रसाद सुवेदीको छोरा भएको तथ्यमा विवाद रहेन ।
३. यसबाट भोलाप्रसाद सुवेदी मूल पुरूष भई निजको जेठी श्रीमती चन्द्रकली र निजको छोरा वादी युवराज सुवेदी, कान्छी श्रीमती तुलाकुमारी र निजतर्फबाट छोराहरू गोविन्द सुवेदी र इन्द्रप्रसाद गरी जम्मा ६ जना अंशियार रहे भएको देखिन्छ । मूल पुरूष भोलाप्रसाद सुवेदीको मिति २०७७।०७।०७ मा मृत्यु भएको र चन्द्रकली सुवेदीको मिति २०७२।५।१३ मा मृत्यु भइसकेको मिसिल संलग्न मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपिबाट देखिँदा अंशियारहरूको संख्यामा घटबढ भई अब जम्मा ४ अंशियारहरू तुलाकुमारी तथा छोराहरू युवराज सुवेदी, गोविन्द सुवेदी र इन्द्रप्रसाद सुवेदीबिच अंशबन्डा गर्नुपर्ने देखियो ।
४. दाबीको तुलाकुमारीको नाउँ दर्तामा रहेको कि.नं.३०, ४९, २९९ र १७५५ को जग्गा निजी आर्जनको जग्गा हो भन्ने प्रतिवादी तुलाकुमारी सुवेदीसमेतको पुनरावेदन जिकिर रहेको देखिन्छ । सो सम्बन्धमा विचार गर्दा, मुलुकी ऐन, अंशबन्डाको १८ नं. ले मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार, व्यासायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नं. बमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । सोबाहेक कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ, बन्डा गर्न कर लाग्दैन भन्ने व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाअनुसार कुनै पनि अंशियारले सगोलको सम्पत्तिबाट लगानी गरी कुनै पनि सम्पत्ति जोड्छ वा कुनै पनि ऋण लिन्छ भने उक्त सम्पत्ति र ऋणलाई सगोलको सम्पत्ति मान्नुपर्दछ । यस्तो सम्पत्ति र ऋणलाई सबै अंशियारहरूबिच समान रूपमा बन्डा लगाउनुपर्ने हुन्छ । तर यदि कुनै सम्पत्ति आफ्नो निजी प्रयासबाट आर्जन गरिएको छ भने त्यस्तो सम्पत्ति निजी सम्पत्ति भई कसैलाई बन्डा गर्नुपर्दैन । साथै प्रमाण ऐन, २०३१ को दफा ६क. मा एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ भन्ने व्यवस्थासमेत रहेको हुँदा अंशबन्डा नभएका एकासगोलको घरपरिवारको नाममा रहेको सम्पत्तिलाई एकासगोलको मान्नुपर्ने हुन्छ । त्यस्तो सम्पत्ति अंशबन्डा सबै अंशियारहरूलाई बन्डा गर्नुपर्ने उक्त कानूनी व्यवस्थाको मर्म रहेको देखिन्छ । त्यसरी कुनै अंशियारको नाउँमा रहेको सम्पत्ति निजी आर्जनको भई अंशबन्डाको १८ नं. बमोजिम बन्डा गर्नु नपर्ने सम्पत्ति हो भनी दाबी गर्नेले त्यस्तो सम्पत्ति पैतृक सम्पत्तिको लगानीबेगर आफूले निजी ज्ञान, सिप वा प्रयासबाट आर्जन गरेको हो भनी प्रमाणित गर्नु पर्दछ ।
५. प्रस्तुत मुद्दाको सन्दर्भमा, विवादित कि.नं.३०,४९,२९९ र १७५५ को कित्ताको जग्गा कस्तो प्रकृतिको हो भन्ने सन्दर्भमा हेर्दा, तुलाकुमारी सुवेदीको नाममा रहेको कि.नं.१७५५ को ०-११-०-० जग्गा र.नं.४८१८ख बाट मिति २०६०।९।९ मा रू.६,५४,०००।– मा अनु पराजुलीबाट, कि.नं.३० को २-३-२-२ जग्गा र.नं.४३४ बाट मिति २०६१।०५।८ मा रू.२,००,०००।– मा कमल प्रसाद सुवेदीबाट, कि.नं.४९ को १-३-९-१ र कि.नं.२९९ को ०-७-३-३ को जग्गा र.नं.१७३० मार्फत मिति २०६५।१।२० मा रू.२,५०,०००।- मा देव कुमारीबाट राजीनामाको लिखतबाट खरिद गरेको जग्गा रहेको भन्ने मिसिल संलग्न उक्त राजीनामाको लिखतको प्रतिलिपिबाट समेत देखिन आयो ।
६. प्रमाण ऐन, २०३१ को दफा २७ मा प्रचलित कानूनबमोजिम वादीलाई दिनु वा बुझाउनुपर्ने कुरा सो कानूनबमोजिम दिए वा बुझाएको छ भनी प्रमाणित गर्ने भार प्रतिवादीको हुने छ भन्ने कानूनी व्यवस्था रहेको हुँदा यस मुद्दाको सन्दर्भमा प्रतिवादी भोलाप्रसाद सुवेदीले तुलाकुमारीको नाममा रहेको जग्गा गोविन्दप्रसाद सुवेदी र निजको श्रीमतीले बेल्जियमबाट पठाएको रकमबाट खरिद गरेको भन्ने जिकिर लिएको देखिन्छ । निज प्रतिवादीहरूले गोविन्दप्रसाद र निजको श्रीमतीले विदेश बेल्जियमबाट पठाएको पैसाले तुलाकुमारीको नाममा जग्गा खरिद गरेको भनिएकोमा निज गोविन्दप्रसादले बेल्जियमबाट पैसा पठाएको भन्ने देखिने वस्तुनिष्ठ प्रमाण मिसिल संलग्न रहेको देखिँदैन । गोविन्दप्रसादले आई.एम.ई. बाट पैसा पठाएको भन्ने जिकिर लिए तापनि आई.एम.ई.बाट पैसा पठाएको वस्तुनिष्ठ प्रमाणको अभाव रहेको देखिन्छ । मिसिल संलग्न रहेको कृषि विकास बैंकको नगद जम्मा गरेको भौचरबाट भोलाप्रसाद सुवेदीले नगद जम्मा गरेकोसम्म देखिन्छ । उक्त रकम गोविन्दप्रसादले बेल्जियमबाट पठाई आएको नगद नै हो भन्न सकिने अवस्था उक्त भौचरबाट देखिँदैन । साथै भोलाप्रसाद सुवेदीले स्वयंले कृषि विकास बैंक लि. कुस्माबाट आफ्नै नाममा रहेको कृषि विकास बैंक, पृथ्वीचोक पोखरामा रकम पठाउनुले पनि उक्त भौचरलाई विश्वासयोग्य प्रमाणको रूपमा लिन मिल्ने देखिएन ।
७. यसै सन्दर्भमा, आफ्नै आर्जनको कमाइबाट आमाका नाममा खरिद गरेको जग्गा भए तापनि त्यसको वस्तुनिष्ठ प्रमाण पेस हुन नसकेको अवस्थामा आमाका नाममा रहेको त्यस्तो जग्गा स्वाभाविक रूपमा सन्ततिहरूका लागि पैतृक सम्पत्ति मानिन्छ, त्यस्तो सम्पत्तिमा छोराको मात्र हक लाग्छ भनी छोरीलाई बाहेक गर्ने गरी व्याख्या गर्न नमिल्ने भनी योगेन्द्रमान श्रेष्ठ विरूद्ध रीता श्रेष्ठ भएको (ने.का.प.२०६७, अङ्क १०, नि.नं.८४७५) अंश चलन मुद्दामा यस अदालतबाट सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रतिपादित उक्त सिद्धान्तअनुसार आमाको नाउँमा निजी आर्जनको सम्पत्ति रहे पनि सो सम्पत्ति छोराछोरीको लागि बन्डा लाग्ने पैतृक सम्पत्ति मान्नुपर्ने देखियो । यस मुद्दाको सन्दर्भमा पनि गोविन्दप्रसादले बेल्जियमबाट पठाएको पैसाबाट आमा तुलाकुमारीको नाममा रहेको जग्गा खरिद गरेको भने तापनि वस्तुनिष्ठ प्रमाणको अभावमा तुलाकुमारीको नाममा रहेको जग्गा सगोलको नै मान्नुपर्ने देखियो । यस अदालतबाट प्रतिपादित उल्लिखित सिद्धान्तसमेतको आधारमा आमा तुलाकुमारीको नाममा रहेको जग्गा निजको छोराहरूको लागि पैतृक सम्पत्तिसरह हुने हुँदा तुलाकुमारीको नाममा रहेको जग्गा बन्डा लाग्ने प्रकृतिको देखियो ।
८. उल्लिखित तथ्य, कानूनी व्यवस्था, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त एवं विवेचनासमेतको आधारमा तुलाकुमारीको नाममा रहेको कि.नं.३०, ४९, २९९ र १७५५ को जग्गा गोविन्दप्रसादको निजी आर्जनको भन्ने ठोस प्रमाण नदेखिएको, आमा बुबाको नाममा रहेको सम्पत्ति छोराहरूको लागि पैतृक सम्पत्ति हुने हुँदा छोराछोरीलाई उक्त जग्गा बन्डा गर्नुपर्ने देखिएकोले तुलाकुमारी सुवेदीको नाममा रहेको दाबीको कि.नं.३०, ४९, २९९ र १७५५ को जग्गाहरू सगोलको सम्पत्ति भएकोले हाल जीवित ४ अंशियारहरू तुलाकुमारी सुवेदी, युवराज सुवेदी, गोविन्द सुवेदी र इन्द्रप्रसाद रहेको हुँदा उक्त कित्ता जग्गाहरूबाट ४ भागको १ भाग अंश वादीले पाउने भनी माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीले व्यक्त गर्नुभएको रायसँग नै यो इजलास सहमत छ ।
९. अतः वादी प्रतिवादीहरू कुल ६ अंशियार देखिएकोले ६ भागको १ भाग अंश दाबी गरेकोमा प्रतिवादी भोलाप्रसादसमेतले मिति २०६९।९।१२ मा पेस गरेको तायदाती फाँटवारीमा देखाइएको र प्रतिवादी तुलाकुमारीको नाममा रहेको अचल सम्पत्तिबाट वादीले ६ भागको १ भाग अंश पाउने तथा प्रतिवादी चन्द्रकलीको नाममा रहेको जग्गाबाट यी वादीले दुई भागको १ भाग अंश पाउने गरी सुरू पर्वत जिल्ला अदालतबाट मिति २०७०।३।१३ मा भएको फैसला केही उल्टी भई प्रतिवादी तुलाकुमारीको नाउँमा रहेको कि.नं.३०, ४९, २९९ र १७५५ को जग्गा निजी आर्जनको भएकोले बन्डा लाग्ने अवस्थाको नहुँदा सुरू जिल्ला अदालतको फैसलालाई केही उल्टी गर्ने गरी पुनरावेदन अदालत बागलुङबाट मिति २०७१।०२।६ मा भएको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई हाल जीवित अंशियार ४ जना मात्र रहेको हुँदा तायदातीमा पेस भई बन्डा लाग्ने ठहर भएका अन्य जग्गा र तुलाकुमारीको नाउँमा दर्ता कायम रहेको कि.नं.३०, ४९, २९९ र १७५५ को जग्गासमेतबाट ४ भागको १ भाग सम्पत्ति वादीले अंशबापत पाउने ठहर गरेको संयुक्त इजलासका माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीको राय मनासिब हुँदा उक्त राय सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी भोलाप्रसाद सुवेदीसमेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत बागलुङको फैसला केही उल्टी भई प्रतिवादी तुलाकुमारी सुवेदीको नाममा रहेको कि.नं.३०, ४९, २९९ र १७५५ जग्गासमेतबाट वादी युवराज सुवेदीले ४ भागको १ भाग अंश पाउने भएकोले बन्डा छुट्याइपाउँ भनी वादीले दरखास्त दिए सुरू पर्वत जिल्ला अदालतको फैसलाको तपसिल खण्डको प्रकरण नं.१ मा उल्लेख भएबमोजिमको सम्पत्तिलाई ४ भागको १ भाग बन्डा छुट्याइदिनु भनी फैसलाको प्रतिलिपिसहित सुरू पर्वत जिल्ला अदालत तहसिल शाखामा लेखी पठाउनू .....................................१
पुनरावेदक वादीले सुरू जिल्ला अदालतमा राखेको कोर्ट फी रू.१०० तथा र.नं.२३८ मार्फत राखेको नपुग कोर्ट फी रू.६४१३ समेत जम्मा रू.६५१३।- प्रतिवादीहरूबाट भराइपाउने हुँदा प्रतिवादीहरूले पुनरावेदन अदालत बागलुङमा र.नं.६ मिति २०७०।७।२९ मा राखेको कोर्ट फी धरौटी रकम रू.६,५१३ बाट भराइपाउँ भनी वादीले निवेदन दिएमा कुनै दस्तुर नलिई सो रकम वादीलाई फिर्ता दिनु भनी उच्च अदालत पोखरा, बागलुङ इजलासमा लेखी पठाउनु, नक्कल माग्न आएमा सरोकारवालाबाट लाग्ने दस्तुर लिई नक्कल दिनू ..................................२
फैसलाको मुद्दा दर्ता दायरीको लगत कट्टा गर्नु र विद्युतीय प्रति अपलोड गरी मिसिल अभिलेख शाखामा पठाइदिनू .....................................................३
उक्त रायमा हामी सहमत छौं ।
न्या.सुष्मालता माथेमा
न्या.मनोजकुमार शर्मा
इजलास अधिकृत: श्रद्धा विष्ट
इति संवत् २०७९ मङ्सिर २९ गते रोज ५ शुभम् ।