निर्णय नं. ११३९१ - नामसारी दर्ता हक कायमसमेत
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७९।११।१८
०७४-CI-०६५१
मुद्दा:– नामसारी दर्ता हक कायमसमेत
पुनरावेदक / वादी : अनिरूद्र श्रेष्ठको नाति, केदारनाथको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १७ घर भई हाल काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिका, वडा नं. १८ गैह्रीगाउँ लामाबगर, लालीगुराँस टोल बस्ने रामेश्वर श्रेष्ठ
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : सूर्यमान श्रेष्ठको नाति, सूर्यबहादुर श्रेष्ठको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १८ किलागल बस्ने ऋषि केशवमान श्रेष्ठसमेत
फिल्डबुकबाट नापी भएको जग्गाको जग्गाधनी, जोताहा र जग्गाको नाप यकिन गरिने हुँदा हाम्रो कानूनी व्यवस्थाअनुसार यसको अभावमा जग्गामा व्यक्तिको स्वामित्व सिर्जित हुन कठिन हुने जग्गामा स्वामित्वको सम्बन्धमा विवाद उठान भई अन्य निश्चयात्मक प्रमाणहरूको अभाव रहे सो विवादलाई सुल्झाउन प्रथमतः फिल्डबुकतर्फ नै दृष्टिपात गर्नु वाञ्छनीय हुने ।
सर्भे नापी पुरानो नापीलाई विस्थापित गर्ने र जग्गा पुनः वैज्ञानिक तवरले नापी गर्ने गराउने प्रयोजनका लागि कानूनबमोजिम गरिएको कार्य मात्र नभई जग्गाको स्वामित्व निर्धारण एवम् त्यस्तो स्वामित्वलाई नवीकरण गर्ने प्रक्रियासमेत भएकोमा सो मौकामा आफ्नो जग्गाको नापी गर्ने गराउने एवम् आफूलाई सम्बन्धित जग्गाको जग्गाधनीको रूपमा स्थापित गर्ने कार्य नगरी स्वामित्वको आधार सिर्जना गर्न नसकेको अवस्थामा सर्भे नापीअघिको विस्थापित स्रेस्ता आधारमा कुनै जग्गामा स्वामित्वको सिर्जना हुने भनी मान्न नमिल्ने ।
(प्रकरण नं.४)
मुद्दा फिर्ता लिने र मुद्दामा प्रतिउत्तर नफिराउनु पक्षहरूको स्वेच्छा र अधिकारको विषय हुने । निजहरूले त्यसरी मुद्दा फिर्ता लिनु वा प्रतिउत्तर नफिराएको विषयलाई मुद्दामा वादीको हकमा निर्विवाद एवम् मुद्दामा तात्त्विक रूपले फरक पार्ने आधारभूत प्रमाण सिर्जित भएको अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुरेश प्रधान
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमनकुमार श्रेष्ठ तथा विद्वान् अधिवक्ता श्री रामप्रसाद भुषाल
अवलम्बित नजिर :
ने.का.प.२०७२, अङ्क १२, नि.नं.९५०७
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री सीताप्रसाद पोखरेल
काठमाडौं जिल्ला अदालत
उच्च तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री पदमराज भट्ट
माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
पुनरावेदन अदालत पाटन
फैसला
न्या. कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्याइ हेरिपाउँ अन्तर्गत यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
मेरो बाजे अनिरूद्र श्रेष्ठको नामको टोखा मौजा हा.नं. २३३ मध्येबाट भिडी दर्ता हुने काठमाडौं जिल्ला, चपली गा.वि.स., वडा नं. ७(ग) कि.नं. ६०, ६१, ६२ र ७० को ४ कित्ता जग्गा साबिक बाजेदेखि हक भोग गर्दे आएकोमा भुलवश नापीको समयमा दर्ता गर्न बाँकी रहेको र फिल्डबुकमा सूर्यबहादुर श्रेष्ठको नाम जनिएको हो । उक्त जग्गा मेरो बाजे अनिरूद्र श्रेष्ठको नाममा टोखा मौजा हा.नं. २३३ मध्येबाट भिडी दर्ता हुने जग्गा भएकोले मोही भाग कटाइ आधा जग्गाको हक कायम गरी मेरो नाममा दर्तासमेत गरिपाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।
काठमाडौं जिल्ला, चपली गा.वि.स., वडा नं. ७/ग कि.नं. ६०, ६१, ६२ र ७० को ४ कित्ता जग्गा म प्रतिवादीको पिता सूर्यबहादुर श्रेष्ठको नाममा मात्र नाप नक्सा भएको जग्गा हो । वादीले मालपोत कार्यालय, चाबहिलमा हक दाबीको निवेदन दिँदा काठमाडौं जिल्ला, चपली गा.वि.स. वडा नं. ७/ग कि.नं. ६०, ६१, ६२ र ७० को ४ कित्ता बाजे अनिरूद्र श्रेष्ठको नाममा साबिक लगत टोखा मौजा हा.नं. २३३ मध्येबाट भिडी आएको बेहोरा उल्लेख गरेको भए तापनि कुत बुझाएको कुरा स्वीकार गर्नुभएको छ । मेरो पिताको नाममा रहेको जग्गालाई नापीबाट बदर गराउनसमेत सक्नुभएको छैन । फिल्डबुकलाई पनि चुनौती दिनुभएको अवस्था नहुँदा फिराद दाबी खारेज गरिपाउँ भन्ने प्रतिवादी ऋषि केशवमान श्रेष्ठको प्रतिउत्तरपत्र ।
प्रतिवादी कृष्णबहादुर थापाले अड्डाको रोहबरमा म्याद बुझी सुरूमा नै प्रतिउत्तर नफिराई बसेको ।
यसमा प्रतिवादीमध्येका ऋषि केशवमान श्रेष्ठले फिराद दाबीको जग्गामा हक कायम गरिपाउँ भनी दिएको यसै लगाउको फिरादलाई म वादी दाबी प्रमाणित गर्न सक्दिनँ, मुद्दा फिर्ता पाउँ भनी निवेदन दिएकोमा यसै इजलासबाट मुद्दा फिर्ता भइसकेको अर्को प्रतिवादी मोही कृष्णबहादुर थापाको प्रतिउत्तर नै नपरेको प्रस्तुत मुद्दामा यी वादीले साबिक लगतसम्म पेस गरी हक कायम गरिपाउँ भनी मुद्दा दिएकोमा फिराद दाबीको जग्गा सुर्यबहादुर श्रेष्ठको हो भनी नापी भएको देखिन्छ । २०२१/२०२२ सालमा नापी भई सोही समयमा तयार भएको फिल्डबुकमा उल्लिखित कुरालाई यी वादीले चुनौती दिएका छैनन् । अतः कि.नं. ६०, ६१, ६२ र ७० का जग्गाहरूको हक कायम गरी मेरो नाममा नामसारी दर्तासमेत हुने गरी इन्साफ गरिपाउँ भन्ने फिराद दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको फैसला ।
म पुनरावेदकको बाजे अनिरूद्र श्रेष्ठको नाउँमा साबिक दर्ता रहेको मौजा टोखा हा.नं. २३३ भाजु रावनेट खलाको रोपनी ३ सँग भिडी दर्ता हुने जग्गा नै नापीमा काठमाडौं जिल्ला, चपली गा.वि.स., वडा नं. ७(ग) कि.नं. ६०, ६१, ६२ र ७० कायम भई नापनक्सा भएको सत्य तथ्य बेहोरा विपक्षीमध्येका फिल्डबुकमा लेखिएको सुर्यबहादुर श्रेष्ठको छोरा ॠषि केशवमान श्रेष्ठले मुद्दा फिर्ता लिँदा खुलाइदिएको, विपक्षीहरूमध्ये कृष्णबहादुर थापाले म्याद बुझी प्रतिउत्तर पत्र नै नफिराई मेरो फिराद दाबीलाई स्वीकार गरेको, मैले हकदाबी निवेदन गर्दा नै यथार्थ बेहोरा खुलाई समयभित्र मालपोत कार्यालय, चाबहिलमा हकदाबी गरेको, उक्त जग्गामा अरू कसैको हकदाबी नरहेको आदि आधार प्रमाणहरूको न्यायिक मूल्याङ्कन नगरी लगत फिल्डबुकमा नाम उल्लेख हुन नसकेको कुरालाई नै निर्णयाधार बनाई मेरो फिराद दाबी पुग्न नसक्ने ठहर्याई जिल्ला अदालतले लिएका निर्णयाधार हचुवा र एकतर्फी भएको हुँदा अ.बं. १८४(क), १८५, प्रमाण ऐन, २०३१ को दफा ३, ५४, मालपोत ऐन, २०३४ को दफा ७, ८(३) समेतको आधारमा सुरू काठमाडौं जिल्ला अदालतको फैसला बदर गरी म पुनरावेदकको सुरू फिराद दाबीबमोजिम उक्त जग्गामा मेरो हक कायम हुने ठहर्याई इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक रामेश्वर श्रेष्ठको पुनरावेदन जिकिर ।
यसमा नापीमा सुर्यबहादुर श्रेष्ठका नाउँमा नापी भएकोमा निजका छोरा विपक्षीमध्येका केशवमान श्रेष्ठले विवादको जग्गाका सम्बन्धमा दिएको फिराद दाबी मिति २०७१।१२।३ मा कायलनामा गरी फिर्ता लिएको देखिन्छ । यसरी नापीमा कायम भएको फिल्डबुक स्रेस्ताअनुसार हक कायम हुन नसकेको स्थितिमा वादीले दाबीमा आधार लिएको साबिकको लगत स्रेस्तासँग भिड्ने हो, होइन ? भन्ने सम्बन्धमा बुझ्नुपर्ने आवश्यक प्रमाण नबुझी भएको सुरूको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७२।०८।२१ को आदेश ।
दाबीको जग्गाको फिल्डबुक उतारबाट दाबीको जग्गामा वादीको हक रहे, भएको भन्ने देखिँदैन । वादीबाट प्रस्तुत भएको दाबीको जग्गाको हकको स्रोतअनुसार दाबीको जग्गा भिडी सो जग्गामा वादीको हक रहेको समर्थित हुन सकेको देखिँदैन । दाबीको जग्गामा वादीको हक रहे, भएको भन्ने सम्बन्धमा वादीबाट तथ्ययुक्त प्रमाण प्रस्तुत हुन सकेको पनि पाइँदैन । प्रमाणमा रहेको माथि उल्लिखित नामसारी दर्ता हक कायमसमेत मुद्दामा सो मुद्दाका वादीले दाबी साबित गर्न नसक्ने भनी सो मुद्दा अ.बं. ९२ अनुसार फिर्ता लिए पनि दाबीको जग्गामा सोही कारणबाट स्वतः प्रस्तुत मुद्दाका वादीको हक स्थापित हुने भनी मान्न मिल्ने अवस्था हुँदैन । माथि विवेचना गरिएअनुसार दाबीको जग्गामा वादीको हक रहे, भएको भन्ने सम्बन्धमा तथ्ययुक्त प्रमाण वादीबाट प्रस्तुत हुन सकेको नदेखिएको हुँदा दाबीको जग्गामा वादीको हक कायम हुने देखिन आएन । तसर्थ, वादीको फिराद दाबी पुग्न नसक्ने ठहर्याएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।१२।०३ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०७२।१२।१६ मा भएको फैसला ।
म निवेदकको बाजे अनिरूद्र श्रेष्ठको नाममा साबिक दर्ता रहेको मौजा टोखा हा.नं. २३३ भाजु रावतटे रोपनी ३ जग्गा सर्भे नापी हुँदा जिल्ला काठमाडौं चपली गा.वि.स. वडा नं. ७(ग) कि.नं.६०, ६१, ६२, र ७० को क्रमशः क्षेत्रफल ०-११-१-०, ०-६-१-०, २-१-०-० र १-९-१-० समेत ४ कित्ता कायम भई नापी भएको हो । सर्भे नापीको बखत फिल्डमा परिवारको मान्छे कोही पनि उपस्थित हुन नसकेको र हाम्रो कारिन्दा सूर्यबहादुर श्रेष्ठ मोहीहरूसँग बाली उठाउने व्यक्ति हुँदा मोहीहरूले बाजे अनिरूद्र श्रेष्ठको नाम लेखाउनुपर्नेमा भुलवश सूर्यबहादुर श्रेष्ठको नाम लेखाएका हुन । उल्लिखित जग्गाहरू टोखा मौजा हा.नं.२३३ को भाजु रावतटे खल्लाबाट भिडी दर्ता हुने जग्गा हुँदा सो जग्गा नामसारी गरी लिने मेरो नैसर्गिक अधिकार हो । उक्त जग्गा मोही बद्रीबहादुर थापाले रैकर परिणत गर्न निवेदन दिएकोमा आमा भक्तिमाया श्रेष्ठले सो जग्गाको फिल्डबुकमा कारिन्दा सूर्यबहादुर श्रेष्ठको नाम उल्लेख भए पनि सो जग्गा ससुरा अनिरूद्र श्रेष्ठको नाममा पहिला नै रैकरमा परिणत भइसकेको टोखा मौजा हा.नं.२३३ को जग्गा हो भनी हकदाबीको निवेदन दिई कारबाही चलेको मिसिल कागजातबाट देखिन्छ । सूर्यबहादुर श्रेष्ठको मृत्युपश्चात् निजका छोरा ऋषिकेशवमान श्रेष्ठले २०६६।३।३१ मा दर्ता नामसारी माग गरी मा.पो.का. चावहिलमा निवेदन दिएकोमा सो निवेदनमा कारबाही भएन । अर्का प्रतिवादी कृष्णबहादुर थापाले मोहीको हैसियतले तीन कित्ता जग्गा रैकर परिणत गरी पाउन माग गरेकोमा हकदाबीको ३५ दिने सूचनामा मैलेसमेत ३ कित्ता नभई ४ कित्ता जग्गा हकदाबी गरेकोमा निजले सो निवेदनमा तारेख छोडी बसेका हुन् । सो जग्गामा मालपोत कार्यालयको आदेशानुसार सर्जमिनसमेत हुन नसकेपश्चात् हक कायम गरी ल्याउनु भनी निर्णय भएको हो । सोही निर्णयअनुसार हक कायम गर्न फिराद गरेकोमा सुरू अदालत र पुनरावेदन अदालत पाटनसमेतबाट मेरो प्रमाणको न्यायिक मूल्याङ्कन भएन । हाल उक्त जग्गाको पारिवारिक घरायसी बन्डासमेतको आधारमा म मात्र हकवाला भएकोले मेरो नाममा नामसारी गरिपाऊँ । विपक्षीमध्येको ऋषिकेशवमान श्रेष्ठको पिता सूर्यबहादुर श्रेष्ठ साबिक पोता किलागल ५०२ को लगत फोड भई मौजा बालाजु हा.नं.११४६, ११४७ र ११९० कायम भएको लगत भिडाई दर्ता हुने भने तापनि कि.नं. ६०, ६१, ६२ र ७० को जग्गा निजको जग्गा होइन । सो साबिक लगत निजको मात्र नभई निजको परिवारको संयुक्त लगत भएको तथा निजको नाममा १२ आना कायम हुने देखिँदा सोभन्दा ६ दोब्बर बढी जग्गा दाबी गर्न पाउने होइन । साथै निज प्रतिवादीले मालपोत कार्यालयबाट हक कायममा निर्णय भएपछि फिराद दायर गरी पछि उक्त जग्गा टोखा हा.नं.२३३ भाजु रावतटे ३ रोपनी भनी स्वीकार गरी मुद्दा फिर्ता लिएको अवस्था छ । अर्का प्रतिवादी कृष्णबहादुर थापाले म्याद गुजारी प्रतिउत्तर नफिराई बसेको अवस्था छ । यसबाट सूर्यबहादुर श्रेष्ठको नाम फिल्डबुकमा भुलवस लेखिन गएको तथ्य स्थापित भएको अवस्था छ । तर फिल्डबुक उतारबाट जग्गामा जग्गामा वादीको हकभोग रहेको भन्ने देखिँदैन भनी फैसला भएकोले सो फैसलामा उल्लिखित निर्णयाधार गलत छ । सूर्यबहादुरको छोराले उक्त जग्गाहरू मैले दाबी गरेबमोजिमको लगतको होइन भनेको र अर्का प्रतिवादीले प्रतिउत्तर नफिराई मेरो दाबी स्वीकार गरेको अवस्थामा फिल्डबुकलाई मात्र प्रमुख प्रमाण मानी गरिएको फैसला त्रुटिपूर्ण छ । साबिक लगत भनेको पहिलाको जग्गाधनी दर्ता प्रमाणपुर्जा हो । २०२१ सालभन्दा अगाडि सोही लगतको आधारमा जग्गा किनबेच हुन्थ्यो । फिल्डबुक सहायक प्रमाण मात्र हो । साबिक लगत प्रमुख प्रमाण हो । तसर्थ, सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा ने.का.प. २०४३ नि.नं. २५९४ पृष्ठ २६ मा प्रतिपादित सिद्धान्तसमेतका आधारमा निवेदन मागबमोजिम निस्सा प्रदान गरी उल्लिखित जग्गा मेरो नाममा हक कायम दर्ता नामसारी हुने गरी इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादीको यस अदालतमा पर्न आएको निवेदन पत्र ।
यसमा कि.नं. ६०, ६१, ६२ को जग्गा बाजे अनिरूद्र श्रेष्ठको नामको साबिक जग्गा रहेको मौजा टोखा हा.नं. २३३ भाजु राउतटे रोपनी ३ को जग्गा सर्भे हुँदा काठमाडौं जिल्ला, चपली गा.वि.स. वडा नं. ७ग कि.नं. ६०, ६१, ६२, ७० जग्गासमेत नापनक्सा भई उस समयमा अनिरूद्ध श्रेष्ठ लेखाउनुपर्नेमा सो नलेखाई सर्पबहादुर श्रेष्ठको नाउँमा लेखाएको भए पनि उक्त जग्गा हा.नं. २३३ बोटे मिति दर्ता हुने गरी नामसारी गरिपाउँ भन्ने रामेश्वर श्रेष्ठको दाबी रहेको देखिन्छ । उक्त कि.नं.को जग्गामा नापीको समयमा तयार भएको फिल्डबुकमा कि.नं. ६० को मोही कृष्णबहादुर कि.नं. ६१ बद्री थापा कि.नं. ६२ गुण्डा थापा, कि.नं. ७० को बद्रि थापा भई यो जग्गा किलागल बस्ने सुर्यबहादुर श्रेष्ठको भनी उल्लेख भएकोमा फिल्डबुकमा उल्लेख भएका जग्गाधनी सुर्यबहादुरको हक खाने ऋषिकेशवमानले दाबी छाडिदिएको र रामेश्वर श्रेष्ठ नै जग्गाधनी रहेको भनी मोहीहरूले दाबी छाडिदिएको अवस्थामा उक्त रै.नं. २३३ सँग भिडी दर्ता हुने हो, होइन ? सोतर्फ कुनै तथ्य उल्लेख नगरी दाबी नपुग्ने भनी भएको फैसला प्रमाण मूल्याङ्कन तथा यसै अदालतबाट ने.का.प. २०४३, नि.नं.२५९४, पृष्ठ २६ मा प्रतिपादित सिद्धान्तसमेतको रोहमा प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१) (क) र (ख) को अवस्था विद्यमान रहेको पाइएकोले पुनरावेदन गर्ने अनुमति प्रदान गरिदिएको छ । विपक्षी झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०७४।१०।२१ मा यस अदालतबाट भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनपत्रसमेतमा सम्पूर्ण मिसिल कागजान अध्ययन गरियो । पुनरावेदक वादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री सुरेश प्रधानले नापीको बखत सूर्यबहादुर श्रेष्ठको नाममा भुलवश नापी भएको छ । सर्भे नापीमा नापी भएको जग्गा वादीका बाजेको मौजा टोखा हा.नं. २३३ भाजु रावतटे रोपनी ३ बाट भिड्छ । सो जग्गा रोक्कामा पनि चपलीकै भिड्छ । प्रतिवादी ऋषिकेशवमानले मुद्दा फिर्ता लिई वादीले देखाएको लगतबाट भिड्ने जग्गा भनी स्वीकार गरेको छ । मोहीका छोराले पनि अनिरूद्रको जग्गा भनेको छ । तसर्थ, वादीका नाममा हक कायम गरी नामसारीसमेत गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रतिवादी कृष्णबहादुर थापाको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री रमनकुमार श्रेष्ठ तथा विद्वान् अधिवक्ता श्री रामप्रसाद भुषालले प्रथमतः फिल्डबुकमा वादीका बाजेको नाम उल्लेख छैन । भुलवश अरूको नामम दर्ता भए मुद्दा दिएर फिल्डबुक बदर गराउन सक्नुपर्छ । तर फिल्डबुक बदर गरिपाउँ भनी मुद्दा लिएर आएको अवस्था छैन । मेरो होइन यसको हो भनी हक कायम गर्न आएको अवस्था छ । गैरव्यक्ति आएर हक कायम हुँदैन । विवादित जग्गामा मोहीको घर छ । र विवादको जग्गा बिर्ता जग्गा भएकोले मोहीको नाममा रैकरमा परिणत गरी एकलौटी दर्ता गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
यसमा सर्भे नापीमा कायम भएको जिल्ला काठमाडौं, चपली गा.वि.स. वडा नं.७(ग) कि.नं. ६०, ६१, ६२, र ७० को क्रमशः क्षेत्रफल ०-११-१-०, ०-६-१-०, २-१-०-० र १-९-१-० समेत ४ कित्ता जग्गा म वादीका बाजे अनिरूद्र श्रेष्ठको नाममा साबिक दर्ता रहेको मौजा टोखा हा.नं.२३३ भाजु रावतटे रोपनी ३ बाट भिड्ने जग्गा भएकोले मोहीको भाग आधा कटाई आधा जग्गामा मेरो हक कायम गरी मेरो नाममा नामसारी दर्ता गरिपाउँ भन्ने वादी दाबी तथा वादी दाबीको जग्गा साबिक पोता किलागल ५०२ को लगतबाट कित्ता फोड भई मौजा बालाजु हा.नं.११४६ सूर्यमान श्रेष्ठ, ऐ. हा.नं. १४४७ रत्नमान श्रेष्ठका नाममा र ऐ.हा.नं. ११९० माइली बज्यै कृष्णादेवी श्रेष्ठका नाममा कायम हुन आई नापी हुँदा म प्रतिवादीको पिता सूर्यबहादुर श्रेष्ठको नाममा मात्र नापनक्सा भई फिल्डबुकसमेत कायम भएको जग्गा हो, सो जग्गाको हक खाने म प्रतिवादी मात्र हुँ भनी प्रतिवादी ऋषिकेशवमान श्रेष्ठको प्रतिउत्तर परेको देखिएकोमा सुरू काठमाडौं जिल्ला अदालतबाट फिराददाबी नपुग्ने गरी फैसला भएउपर वादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनबाट सुरू फैसला सदर हुने ठहर गरी फैसला भएको देखिन्छ । पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर मुद्दा दोहोर्याइ हेरी पाउन निस्सा प्रदान गरिपाउँ भनी वादीको यस अदालतमा निवेदन पर्न आएकोमा वादीलाई मिति २०७४।१०।२१ मा पुनरावेदन गर्ने अनुमति प्रदान भएपश्चात् प्रस्तुत निवेदन पुनरावेदनको रोहमा दर्ता हुन आई आज इजलाससमक्ष पेस हुन आएको पाइयो ।
वादीले मुद्दा दोहोर्याई हेरिपाउँ भनी दिएको निवेदनमा सर्भे नापीमा कायम भएको जिल्ला काठमाडौं चपली गा.वि.स. वडा नं.७(ग) कि.नं.६०, ६१, ६२, र ७० को क्रमशः क्षेत्रफल ०-११-१-०, ०-६-१-०, २-१-०-० र १-९-१-० समेत ४ कित्ता जग्गा म वादीका बाजे अनिरूद्र श्रेष्ठको नाममा साबिक दर्ता रहेको मौजा टोखा हा.नं.२३३ भाजु रावतटे रोपनी ३ बाट भिड्ने जग्गा हो । प्रतिवादी ऋषिकेशवमान श्रेष्ठले सो बेहोरा उल्लेख गर्दै मुद्दा फिर्ता लिएको र अर्का प्रतिवादीले सुरू म्याद गुजारी प्रतिउत्तर नफिराई मेरो दाबी स्वीकार गरी बसेको अवस्थामा मौजा टोखा हा.नं. २३३ को साबिक लगत मुख्य प्रमाण हुँदाहुँदै फिल्डबुकलाई मात्र आधार बनाई भएको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन दर्ता गर्ने अनुमति प्रदान गरी उक्त जग्गा मेरो नाउँमा हक कायम दर्ता नामसारी गरिपाउँ भनी जिकिर लिएको देखियो ।
उल्लिखित तथ्य एवम् जिकिर भएको प्रस्तुत मुद्दामा वादी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता र विद्वान् अधिवक्ताको तर्कपूर्ण बहस जिकिरसमेत सुनी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ वा छैन ? वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, वादीले सर्भे नापी भएको सो कि.नं. ६०, ६१, ६२, र ७० जग्गा मौजा टोखा हा.नं. २३३ भाजु रावतटे रोपनी ३ बाट नै भिड्ने भन्ने जिकिर लिए तापनि के कसरी कुन आधारले भिड्ने हो भन्ने सम्बन्धमा वादी मौन रहेको देखिन्छ । वादीले दाबी लिएको जग्गा टोखा मौजाभित्रको रहेको तर सर्भे नापीमा नापी हुँदा सो जग्गा चपलीमा नापी भएबाट जग्गाको अवस्थिति र स्थान नै फरक परेको देखिन्छ । टोखा मौजाभित्रको जग्गा सर्भे नापी हुँदा चपली कायम भई नापी हुनुपर्ने आधार र कारण वादीले खुलाउन सकेको देखिँदैन । त्यस्तै वादीले दाबी लिएको टोखा मौजाको २३३ लगतमा ३ रोपनी जग्गा भन्ने उल्लेख भएकोमा सर्भे नापी भएको जग्गाको क्षेत्रफल चार रोपनीभन्दा बढी देखिन आउँछ । वादीले सो जग्गामा कायम रहेका मोहीहरू वा निजका सन्तानहरूलाई साक्षीको रूपमा खडा गरी सो जग्गा आफ्नो बाजेको हो भनी पुष्टि गराउन सकेको अवस्था पनि छैन । प्रस्तुत मुद्दामा प्रतिवादी कृष्णबहादुर थापाले प्रतिउत्तरपत्र नफिराए पनि प्रस्तुत मुद्दामा प्रमाणमा रहेको वादी ऋषिकेशवमान श्रेष्ठ प्रतिवादी यिनै वादी भएको ०७०-CP-१९६६ हक कायम मुद्दामा प्रतिवादीमध्येका मोही कृष्णबहादुर थापाले फिराएको प्रतिउत्तर बेहोरामा यी पुनरावेदक वादीलाई जग्गाधनीको रूपमा इन्कार गरी माथि उल्लिखित जग्गामध्ये कि.नं. ७० को जग्गा आफूसँग सम्बन्धित जग्गा नरहेको बेहोरा खुलाएको देखिन आउँछ । मालपोत कार्यालय चावहिलबाट प्रमाणमा प्राप्त हुन आएको मिसिल हेर्दा पनि यी पुनरावेदक वादीले हकदाबीका साथ दाबीका जग्गा बाजे अनिरूद्र श्रेष्ठको र निजको नाममा दर्ता हुन सक्ने विश्वसनीय प्रमाणहरू पेस गर्न सकेको देखिँदन । यसरी पुनरावेदक वादीले आफ्नो बाजेको मौजा टोखा हा.नं. २३३ भाजु रावतटे रोपनी ३ बाट नै भिड्ने जग्गा नै सर्भे नापीको कि.नं. ६०, ६१, ६२, र ७० को जग्गा हो भन्ने जिकिर लिए पनि सो दुई जग्गाबिचको परस्पर सम्बन्ध पुष्टि गर्न सकेको देखिएन ।
३. पुनरावेदक वादीले आफ्नो बाजे अनिरूद्र श्रेष्ठको भई भुलवश सर्भे नापीमा सूर्यबहादुर श्रेष्ठको नाममा नापी हुन गएको मौजा टोखा हा.नं.२३३ भाजु रावतटे रोपनी ३ बाट भिड्ने भनी दाबी लिएको सर्भे नापीमा जिल्ला काठमाडौं, चपली गा.वि.स., वडा नं.७(ग) कि.नं. ६०, ६१, ६२ र ७० को क्रमशः क्षेत्रफल ०-११-१-०, ०-६-१-०, २-१-०-० र १-९-१-० जग्गाहरू आफ्नो हक कायम भई नामसारीसमेत हुनुपर्छ भन्ने दाबी लिएको देखिए पनि नापी कार्यालय, चावहिलबाट प्राप्त सो जग्गाको फिल्डबुकमा किसानको महलमा कृष्णबहादुर थापा, बद्री थापा, गुण्डा थापा जनिई का.ई. मंगल माझी उल्लेख भई किसानको बेहोरामा “यो जग्गा किलागल बस्ने सूर्यबहादुर श्रेष्ठलाई कोदो कुत तिरी खाई आएको” भन्ने बेहोरा उल्लेख भएको देखिन्छ । सोबाहेक फिल्डबुकबाट उल्लिखित जग्गाहरू वादीका बाजे अनिरूद्र श्रेष्ठको रहे भएको भन्ने तथ्य दर्सिएको देखिँदन । यस्तै मुद्दामा यस अदालतबाट “साबिकको नापीमा दर्ता बाँकी रहन गएको जग्गाको हक स्वामित्व निरूपण गर्दा सो नापीमा खडा भएको फिल्डबुकमा लेखिएका बेहोराहरू महत्त्वपूर्ण प्रमाण हुन्छ । उस बखतको नापीमा खडा भएको फिल्डबुकमा लेखिने बेहोराहरू सो जग्गाको स्वामित्वको सम्बन्धमा कालान्तरमा विवाद उठ्ला भनी अनुमान गरी लेखिएका काल्पनिक कुराहरू होइनन् । त्यसैले सो फिल्डबुकलाई सो जग्गाको स्वामित्व निर्धारक प्रमाणको रूपमा उच्च महत्त्व दिनुपर्ने” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । उल्लिखित प्रतिपादित सिद्धान्तले दर्ता हुन बाँकी जग्गाको सम्बन्धमा फिल्डबुकलाई प्रमुख मानक मान्नुपर्ने अनिवार्यतालाई प्रस्ट्याएको देखिन आउँछ । फिल्डबुकमा पुनरावेदक वादीका बाजेको नाम उल्लेख भएको नदेखिएको यस अवस्थामा वादीको बाजेको जग्गा होला भनी अनुमान गर्न मिल्ने देखिएन ।
४. पुनरावेदक वादीको उल्लिखित जग्गाहरू बाजे अनिरूद्र श्रेष्ठको नै रहे भए तापनि सर्भे नापीका बेला भुलवश कारिन्दा सूर्यबहादुर श्रेष्ठका नाममा नापी भएको भन्ने जिकिर रहे पनि सर्भे नापीका सम्बन्धित जग्गा नाप जाँचको सूचना प्रकाशित हुने, जग्गाधनीसमेतको उपस्थितिमा नापीको कार्य गरिने, जग्गाधनीको हकभोगको प्रमाणको आधारमा जग्गादर्ता गरिने तथा कुनै उजुरको भए त्यस्तो उजुरी दर्ता गर्ने सकिने भए पनि सर्भे नापी वा सो त्यसपश्चात् पनि वादीका बाजे, पिता वा अन्य अग्रजहरूको आफ्नो स्वामित्व वा हकभोग रहेको जग्गा गलत व्यक्तिको नाममा नापीमा दर्ता भएको भनी उजुरी परेको अवस्था देखिँदैन । यसरी पुनरावेदकले आफ्नो भनी जिकिर लिएको जग्गा मौजा टोखा हा.नं.२३३ भाजु रावतटे रोपनी ३ बाट नै भिड्ने भनी मान्ने हो भने पनि सर्भे नापी भएर अन्य व्यक्तिको नाममा फिल्डबुक कायम भइसकेको देखिएको र सोउपर कुनै उजुर बाजुरसमेत नपरेको अवस्थामा त्यस्तो स्रेस्तालाई विस्थापित भएको मान्नुपर्ने हुन्छ । त्यस्तो विस्थापित स्रेस्ता आधारमा दाबीको जग्गामा वादीको हक कायम हुन सक्ने अवस्था देखिँदैन । फिल्डबुक जग्गाको स्वामित्व सिर्जना गर्ने प्राथमिक एवम् प्रारम्भिक प्रमाण हो । फिल्डबुकबाट नापी भएको जग्गाको जग्गाधनी, जोताहा र जग्गाको नाप यकिन गरिने हुँदा हाम्रो कानूनी व्यवस्थाअनुसार यसको अभावमा जग्गामा व्यक्तिको स्वामित्व सिर्जित हुन कठिन हुन्छ । त्यसकारण जग्गामा स्वामित्वको सम्बन्धमा विवाद उठान भई अन्य निश्चयात्मक प्रमाणहरूको अभाव रहे सो विवादलाई सुल्झाउन प्रथमतः फिल्डबुकतर्फ नै दृष्टिपात गर्नु वाञ्छनीय हुन आउँछ । सर्भे नापी पुरानो नापीलाई विस्थापित गर्ने र जग्गा पुनः वैज्ञानिक तवरले नापी गर्ने गराउने प्रयोजनका लागि कानूनबमोजिम गरिएको कार्य मात्र नभई जग्गाको स्वामित्व निर्धारण एवम् त्यस्तो स्वामित्वलाई नवीकरण गर्ने प्रक्रियासमेत भएकोमा सो मौकामा आफ्नो जग्गाको नापी गर्ने गराउने एवम् आफूलाई सम्बन्धित जग्गाको जग्गाधनीको रूपमा स्थापित गर्ने कार्य नगरी स्वामित्वको आधार सिर्जना गर्न नसकेको अवस्थामा सर्भे नापीअघिको विस्थापित स्रेस्ता आधारमा कुनै जग्गामा स्वामित्वको सिर्जना हुने भनी मान्न मिल्दैन । यसरी सर्भे नापीमा विवादित जग्गाको नापी गराई आफूलाई जग्गाधनी स्थापित गर्न नसकेबाट वादीका बाजे अनिरूद्र श्रेष्ठले नै सो विवादित जग्गाउपरको दाबी परित्याग गरेको एवम् पुनरावेदक वादीको परिवारका अन्य सदस्यहरूले समेत सर्भे नापीको फिल्डबुकलाई चुनौती दिएको अवस्था देखिन आएन । अघिल्लो पुस्ताका बाजेलगायतका परिवारका अग्रजहरूले नै आफूलाई जग्गाधनी कायम गर्न नसकेको अवस्थामा साबिक स्रेस्तामा बाजेको नाम रहेको भन्ने आधारमा मात्र निजभन्दा तल्लो पुस्ताका यी पुनरावेदक वादीको सो विवादित कि.नं. ६०, ६१, ६२, र ७० को जग्गामा हक कायम हुन सक्ने अवस्थाको विद्यमानता नदेखिँदा सुरू फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसलालाई अन्यथा गर्नुपर्ने देखिएन ।
५. पुनरावेदक वादीको, प्रतिवादी ऋषिकेशवमान श्रेष्ठले हककायम गरिपाउँ भनी काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा कि.नं. ६०, ६१, ६२, र ७० जग्गाहरू मौजा टोखा हा.नं.२३३ भाजु रावतटे रोपनी ३ बाट भिड्ने तथ्यलाई स्वीकार गरी आफ्नो हक कायम मुद्दा फिर्ता लिएको र प्रतिवादी कृष्णबहादुर थापाले प्रस्तुत मुद्दामा सुरू म्याद गुजारी प्रतिउत्तर नफिराई आफ्नो दाबीलाई स्वीकार गरेको अवस्थामा आफ्नो हक कायम नामसारी हुनुपर्ने भन्ने जिकिर लिएको हकमा विचार गर्दा, मुद्दा फिर्ता लिने र मुद्दामा प्रतिउत्तर नफिराउनु पक्षहरूको स्वेच्छा र अधिकारको विषय हो । निजहरूले त्यसरी मुद्दा फिर्ता लिनु वा प्रतिउत्तर नफिराएको विषयलाई मुद्दामा वादीको हकमा निर्विवाद एवम् मुद्दामा तात्त्विक रूपले फरक पार्ने आधारभूत प्रमाण सिर्जित भएको अर्थ गर्न मिल्दैन । माथि चर्चा गरिएअनुरूप फिल्डबुकले पुनरावेदक वादीको जिकिरलाई अन्यथा गरिसकेको अवस्थामा सो फिल्डबुकको तथ्य वैधानिक तवरले अन्यथा नभएसम्म प्रतिवादी ऋषिकेशवमान श्रेष्ठले मुद्दा फिर्ता लिने क्रममा व्यक्त गरेको कथनमा प्रामाणिक मूल्य रहने वा सो कथन फिल्डबुकमा उल्लिखित तथ्यको विपरीत हुने गरी प्रमाणमा ग्राह्य हुने देखिँदैन । प्रस्तुत मुद्दामा प्रतिवादी कृष्णबहादुर थापाले प्रतिउत्तर नफिराए पनि प्रतिवादी ऋषिकेशवमान श्रेष्ठले दिएको हक कायम मुद्दामा प्रतिउत्तर फिराई पुनरावेदक वादीको जिकिरको खण्डन गरेको नै हुँदा प्रस्तुत मुद्दामा प्रतिवादी कृष्णबहादुर थापाले प्रतिउत्तर नफिराउनु नै वादी दाबीको जग्गामा वादीको हक कायम हुने आधार सिर्जित भएको मान्न मिलेन । यस स्थितिमा प्रतिवादी ऋषिकेशवमान श्रेष्ठले सर्भे नापीको कि.नं. ६०, ६१, ६२, र ७० जग्गाहरू मौजा टोखा हा.नं. २३३ भाजु रावतटे रोपनी ३ बाट भिड्ने तथ्यलाई स्वीकार गरी आफ्नो हक कायम मुद्दा फिर्ता लिएको र प्रतिवादी कृष्णबहादुर थापाले प्रस्तुत मुद्दामा सुरू म्याद गुजारी प्रतिउत्तर नफिराई आफ्नो दाबी स्वीकार गरेकोले हक कायम नामसारी हुनुपर्ने भन्ने पुनरावेदकको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
६. अतः माथि उल्लिखित आधार, कारण र प्रमाणहरूको रोहमा सुरू काठमाडौं जिल्ला अदालतबाट कि.नं. ६०, ६१, ६२, र ७० जग्गाहरूमा दाबी नपुग्ने ठहर गरी भएको फैसला सदर गर्ने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७२।१२।१६ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गर्नुका साथै फैसलाको विद्युतीय प्रति यस अदालतको कम्प्युटर सफ्टवेयर प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशमान सिंह राउत
इजलास अधिकृतः किरणकुमार सिंह
इति संवत् २०७९ साल फागुन १८ गते रोज ५ शुभम् ।