शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५६३ - अंश

भाग: २४ साल: २०३९ महिना: असोज अंक:

निर्णय नं. १५६३          ने.का.प. २०३९ अङक ६

 

फुलबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

२०३८ सालको दे.फु.नं. २८

फैसला भएको मिति  : २०३९।२।२१।६ मा

निवेदक प्रतिवादी : ललितपुर, विसंखुनारायण ७ नं.वडा बस्ने लक्ष्मीकुमारी गिरीसमेत

विरुद्ध

विपक्षी वादी : ऐ.ऐ.बस्ने गणेश गिरी समेत

मुद्दा : अंश

(१)                     जालसाजी भनी दावी लिनेले जालसाजी भनेर मात्र पुग्दैन । यसको सबूत प्रमाण पनि    दिनु पर्छ ।

(प्रकरण नं. २३)

(१)                आफ्नो अंश भाग छुट्याई बण्डापत्र खडा गरिएको कुरामा विवाद नदेखिएको र घर जग्गा भोग चलन गरेको कुरालाई वादीहरुले आफ्नो फिरादमा नै स्वीकार गर्नु भएकोले बण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल घर जग्गा वादीहरुले भोग गरेको रहेछ भन्न नमिल्ने ।

(प्रकरण नं. २७)

निवेदक प्रतिवादीहरुतर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

फैसला

न्या.नयनबहादुर खत्री

१.     डिभिजनबेञ्चका मा.न्यायाधीशहरुको मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावलीको नियम ३३ (क) बमोजिम प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

२.    मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : हाम्रा बाबा लोग्ने ईश्वर गिरीका दुई श्रीमतिमा जेठी विपक्ष लक्ष्मीदेवी तर्फका जेठा छोरा मुक्तीप्रसाद गिरी, माइला छोरा म कुलमान गिरी, कान्छा छोरा म जगन्नाथ गिरी, छोरी विपक्षी सीता समेत ५ अंशियार  र म कान्छी पदमकुमारी तर्फ जेठा छोरा गणेश गिरी, माहिला छोरा म भैरव गिरी, कान्छो छोरा शिव गिरी समेत ४ अंशियार समेत दुवै श्रीमती तर्फ गरी ९ अंशियारमा बाबा ईश्वरी गिरी ०९ सालमै परलोक हुनु भएको कान्छी तर्फका ४ अंशियार २०१९।१।४ गते बसोबासको निमित्त केही घर जग्गा लिई मानो छुट्टिई बसेको जेठी तर्फका माहिलो म कुलमान र कान्छो र जगन्नाथ मिति ०२७।१।१२ का दिन बसोबासको निमित्त केही घर जग्गा लिई मानो छुट्टिई बसेको हामीहरुको रीतपूर्वकको अंशबण्डा भएको छैन । विपक्षीहरु सगोल बसी आएको विपक्षी मध्ये मुक्तीप्रसाद जिम्मा मठ गुठीको जग्गा पूर्खाको सबै मठ एकलौटी चलाई आयस्ता खाएको हामीले पनि मठ चलाई आयस्ता खान पाउने नदिएको भई हामी कान्छीपट्टिका ०१९।१।४ गते र जेठी तर्फका ०२७।१।१२ गते मानु छुट्टिएकोले सो मिति कायम गरी दायदाती समेत लिई सीताको एक भागको आधा र हामी ८ अंशियारको भाग लगाई एक एक भाग हामीहरुको अंश विपक्षहरुबाट दिलाई पाउँ भन्ने समेत पदमकुमारी गिरी, गणेश गिरी, शिव गिरी, भैरव गिरी, कुलमान गिरी, जगन्नाथ गिरीको ०३२।१।२९।२ को संयुक्त फिराद ।

३.    विवाहिता म लक्ष्मीकुमारी र ल्याइता विपक्षी वादी पदमकुमारी हुन । पुर्खा वलिराजका १९६२ साल जेष्ठ ११ गते मठका महन्तहरु समेत साक्षी राखी खसिनी अर्थात ल्याईता तर्फलाई एकभाग सम्म खान दिनु मठमा दावा गर्न नपाउने थिती बन्देज गरी दिनु भएकोले ल्याइता पदमकुमारी र निजका छोराहरुले मठमा दावी गर्न नपाउने प्रष्ट छ । विवाहित पट्टिको जेठोले मात्र मठ चलाउन पाउने थिती बन्देज अनुसार मठको काम मुक्तिप्रसादले चलाई आएको कुरा वादीले लेखेकै छन् । ०१२ सालको बण्डापत्रमा लेखिएको जग्गाहरु वादी मध्येका ४ जनाको बीचमा ०२२।१।१९।७ मा बण्डा भएकोले बण्डा भएन भन्न न्यायोचित भएन । म लक्ष्मीकुमारी समेतका ५ जनाको बीचमा पनि ०२७।१।१२ मा बण्डापत्र खडा गरिएको हुँदा दावी झुट्टा ठहरिने र वादीहरुका नाउँमा पनि नापी भएको  छ । बण्डा नहुने मठमा दावी गरेको हुँदा खारेज गरी पाउँ भन्ने समेतको लक्ष्मीकुमारी गिरी, सीता गिरी, मुक्तिप्रसाद गिरीको ०३२।६।२३ को संयुक्त प्रतिउत्तर।

४.    अशिंयारहरु वादीहरु भएबाट अंश भाग लाग्ने कुरामा दुवै थरको मुख मिलेको र अंशबण्डा छुट्टिएको र मानो छुट्टिएको पास भएको लिखत पेश हुन नआएबाट गुठी जग्गाको हकमा धर्मलोप नहुने गरी गुठीका २, ३ नं. बमोजिम गुठी चलाई शेष बाँकी आएमा आफ्नो पालोमा खान पाउने गरी रैकर जग्गा समेत जग्गा अंशियार देखिएका ९ जनाको उक्त दायदातीमा लेखिए बमोजिम अंश वादीहरु ६ जनाले अंश पाउने ठर्हछ भन्ने समेत ललितपुर जिल्ला अदालतको ०३३।९।३० को फैसला ।

५.    उक्त फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीहरुको म.क्षे.अ.मा पुनरावेदन ।

६.    प्रतिवादीहरुले प्रमाण दिएको ०१२।५।५ र ०२७।१।१२ को बण्डापत्र घरायसमा भएको हो पारित भएको छैन भनी प्रतिवादीहरुले स्वीकार गरेकोले रजिष्ट्रेृशनको ऐन बमोजिम पारित नभएको बण्डापत्रलाई मान्यता दिन नमिल्दा पुनरावेदन जिकिर पुग्न नसक्ने भई वादीहरुले अंश पाउने ठहराएको ललितपुर जि.अ.को इन्साफ मनासिव छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३४।९।१५।६ को फैसला ।

७.    म.क्षे.अ.को निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीहरुको त्यस अदालतमा परेको निवदनमा डिभिजनबेञ्चबाट रायबाझी भई फुलबेञ्च समक्ष पेश हुँदा हाल प्रचलित अंशबण्डाको ३० नं.०३४।९।२७ गते प्रकाशित भई लागू भएको देखिएकोले सो ऐन लागू हुनु भन्दा अगावै क्षेत्रीय अदालतबाट तत्काल प्रचलित कानून बमोजिम भएको निर्णय पछि लागू भएको ऐनको त्रुटि भयो भन्न नमिल्ने हुँदा पुरावेदनको अनुमति दिन मिलेन भन्ने राय मनासिव भन्ने ०३५।९।४ को आदेश ।

८.    श्री ५ महाराजाधिराजका हजुरमा प्रतिवादीहरुले चढाएको विन्तिपत्रमा म.क्षे.अ.बाट ०३४। ९।१५ मा छिनिएको मुद्दा त्यस अदालतबाट इन्साफ जाँची दिनु भन्ने समेत हुकुम प्रमांगी ।

९.    वादी प्रतिवादीहरुको बीच ०१२।५।५ मा घरसारमा आआफ्नो भाग अंशबण्डा छुट्याई लिएको लिखतबाट देखिएको सो जग्गा मध्येकै जग्गा प्र.मुक्तिप्रसादका नाउँमा दर्ता भएको देखिँदा छलफलनिमित्त वादीहरुलाई झिकाउने भन्नेसमेत स.अ.डिभिजनबेञ्चको ०३६।४।१४को आदेश ।

१०.    ०१२।५।५ को बण्डापत्र जालसाजी हो । ०२७।१।१२ को कागज हामीलाई थाहा छैन । ०२२।१।१९ को कागज सद्दे हो भन्ने समेत भैरव गिरीको बयान ।

११.    ०१२।५।५ को कागज जालसाजी हो । ०२२।१।१९ को कागज ठीक हो । ०२७।१।१२ को कागज थाहा छैन भन्ने समेत शिव गिरीको बयान ।

१२.   ०१२।५।५ को कागज जालसाजी हो । ०२२।१।१९ को कागज कसरी भयो थाहा छैन । म साक्षी बसेको छैन लिखत जालसाजी हो । ०२७।१।१२ को कागज पनि जालसाजी हो भन्ने समेत कुलमान गिरीको बयान ।

१३.   ०१२।५।५ र ०२२।१।१९ तथा ०२७।१।१२ का लिखतहरु सद्दे हुन भन्ने समेत प्रतिवादीको वारेस भरत गिरीको बयान ।

१४.   उक्त मुद्दा निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा वादी प्रतिवादीहरुका बीच ०१२।५।५ मा, वादी पदमकुमारी र निज तर्फका सन्तानहरुको बीचमा ०२२।१।१९ मा र प्रतिवादी लक्ष्मीकुमारी तर्फका सन्तान वादी कुलमान समेतका बीच ०२७।१।१२ गते घरसारमा भएको बण्डापत्रको लिखत साँचो देखिन आउनुको साथै प्रतिवादीले पेश गरेको सर्भे क्षेत्रीय किताबको उतारबाट ललितपुर जिल्ला बिष्ट छाप पञ्चायत वडा नं.५ (क) कि.नं.८५, ८६, ८७, ८८, ८९ र ९० को जग्गा वादी मध्येका गणेश गिरीका नाउँमा दर्ता भएको देखिन आएबाट घरसारमा नरम गरम मिलाई बण्डा भएको देखिन आउँछ । वादीहरुले फिराद गर्दा बसोबासको लागि केही घर जग्गा लिई मानो छुट्टी बसेको भन्ने उल्लेख गरेकोबाट समेत वादीहरु घरसारमा बण्डा गरी अंश लिई सकेको फिराद लेखाईबाट देखिन आएबाट अंश पाउने ठहराएको सुरुको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेको देखिएन भन्ने समेत मा.न्या.श्री  धनेन्द्रबहादुर सिंह  ,

१५.   प्रतिवादीहरुले आधार मानेका ०१२।५।५, ०२२।१।१९ र ०२७।१।१२ का तिनै अंशबण्डाको  कागजहरु रजिष्ट्रेशन पास नभएकोले अंश भई सकेको भन्ने प्रमाणहरुको रुपमा ग्रहण गर्न नसकिने कुरा स्पष्ट छ । तर ०३४।९।२७ मा संशोधित अंशबण्डाको ३० नं.अनुसारको अवस्था देखिन आए अंशबण्डाको कागज भए पनि नभए पनि अंशबण्डा भैसकेको भन्ने निष्कर्षमा पुग्न सकिन्छ । उक्त अनुसार अघि नै बण्डापत्रमा उल्लेख भए अनुसार आआफ्नो भागमा परेको जग्गा दाखिल खारिज गराई दर्ता भोग विक्री व्यवहार आधी अलग अलग गरेको कुराको प्रमाणमा बण्डापत्रका अलावा ल.पु.विसंखुनारायण विष्टछाप गा.पं.वडा नं.५ (क) कि.नं.८५, ८६, ८७, ८८, ८९ र ९० का जग्गाको नापी फिल्डबुक श्रेस्ताको नक्कल यस अदालतमा मुद्दा दर्ता भई कारवाई चलेको अवस्थामा पेश भएको पाइन्छ । उक्त प्रतिलिपि हेर्दा कैफियत महलमा गणेश गिरीको सही नभई सही गणेश गिरी हस्ते मुक्ति गिरी भन्ने जनिएको देखिन्छ । साथै त्यस क्षेत्रीय किताबमा उल्लेख भएको जग्गा ०२२।१।१९ को घरायसको बण्डापत्रमा गणेश गिरीको मात्र भनी उल्लेख भएकै जग्गा हुन भन्ने कुरा समर्थन गर्न सक्ने प्रमाण भएको देखिँदैन । अरु वादीहरुले पनि आआफ्नो अंश भागको जग्गा अलग्गै दर्ता तिरो भोग विक्री व्यवहार इत्यादि गरेको प्रमाण पनि प्रतिवादीले देखाउन सकेको देखिन आउँदैन ।

१६.    यस अदालतबाट भएको कारवाईको सिलसिलामा मिति ०२७।१।१२ को घरायसको बण्डापत्रमा वादी कुलमानले पनि सही गरेको भन्ने कुराको विषयमा कुलमानको बयान गर्दा सो सही निजको हो भन्ने स्वीकार नगरेकोमा लेखा बिशेषज्ञको राय प्रतिवेदनबाट सो सही निज कुलमानकै देखिएन आए पनि उक्त कागज घरसारको बण्डापत्रको कागज भएको रजिष्ट्रेशन पास नभएको बण्डापत्रको कागज प्रमाण योग्य नहुने कागजमा उल्लेख भएको कुरा वादीहरुको विरुद्ध प्रमाण लाग्ने र सो को आधारमा बण्डा भैसकेको भनी ठहर गर्न मिल्ने नदेखिँदा वादीले अंश पाएको भन्ने प्रतिवादी जिकिर समर्थित हुन सकेको नदेखिएकोले ल.पु.जि.अ.को इन्साफ सदर गर्दै गरेको म.क्षे.अ.को इन्साफ मनासिव छ भन्ने मा.न्या.श्री जोगेन्द्रप्रसाद श्रीवास्तवको राय भई डिभिजनबेञ्चबाट ०३८।४।१५ मा रायबाझी फैसला भएको रहेछ ।

१७.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीहरु तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले लक्ष्मी र पद्मकुमारीको बीचमा अंश नभएको भए आफ्नो आफ्नो गुँडमा ०२२।१।१९ र ०२७।१।१२ मा अंश हुनु पर्ने थिएन । ०१२।५।५ को बण्डापत्र भएपछि जेठी र कान्छीका सन्तानले पनि आफ्नो आफ्नो भाग छुट्याई आफ्नो आफ्नो नाउँबाट ७ नं.फाराम भरेको छ । आफ्नो आफ्नो नाउँमा रहेको जग्गाको भोग व्यवहार देखिन्छ । मुक्तिप्रसाद र जगन्नाथका नाउँमा जग्गा दर्ता रहेको पाइन्छ । यस्तो स्थितिमा पुनः अंश गर्नु पर्छ भन्न मिल्दैन भन्ने समेत विपक्षी वादी तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले ०१२ सालमा भएको बण्डापत्रमा जगन्नाथ र शिव गिरीको उमेर नाबालक  देखिन्छ । अ.बं.२४ नं.ऐनको रीत पुर्‍याई उक्त कागजमा सहिछाप भएको पाइंदैन । गणेश गिरी ७ नं.फाराम भरेको छैन । जंगनाथका नाउँमा जग्गा दर्ता छैन । ०१२ सालको बण्डापत्र रीतपूर्वकको छैन । त्यस बण्डापत्रलाई मान्यता दिन मिल्दैन । वादीका नाउँमा जग्गा दाखिल खारेज भएकोबाट देखिन आउँदैन । दाखिल खारेज तिरोसमेत तिरेपछि मात्र बण्डा भएको मानिने कानूनी व्यवस्था हो । तर यसमा सो कुरा भएको छैन । तसर्थ वादीले अंश पाउनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

१८.   यसमा वादीहरुले अंश पाउँ भनी दावी लिनु भएकोमा प्रतिवादीहरुले अंशबण्डा भई सकेकोले बण्डा गरी दिनु पर्ने छैन भनी प्रतिवाद गरेको पाइन्छ ।

१९.    ईश्वर गिरीको दुइ श्रीमती मध्ये जेठी लक्ष्मीकुमारीको गुँडमा अर्थात आमा लक्ष्मीकुमारी छोरी सीता गिरी, छोरा मुक्तिप्रसाद गिरी, कुलमान गिरी, जगन्नाथ गिरीको बीचमा मिति ०२७।१।१२।७ मा र कान्छी पद्मकुमारीको गुँडमा अर्थात आमा पद्मकुमारी, छोरा गणेश गिरी, भैरव गिरी र शिव गिरीको बीचमा मिति ०२२।१।१९ मा र जेठी लक्ष्मीकुमारी र कान्छीकुमारी समेतका दुई गुँड आठ अंशियारहरुको बीचमा मिति ०१२।५।५ मा समेत घरयसी बण्डापत्र देखिन्छ ।

२०.   उक्त बण्डापत्रहरुलाई सुनाउँदा ०१२।५।५ को बण्डापत्रलाई कुलमान गिरी समेतका सवै वादीहरुले जालसाज भन्नु भएको रहेछ ।

२१.   प्रमाण सम्बन्धी ऐन, ०३१ को दफा २५ मा फौजदारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुनेभन्ने उल्लेख भएको पाइन्छ । तर ०१२।५।५ को बण्डापत्रलाई जालसाजी भन्ने यी वादीहरुले उक्त बण्डापत्र जालसाजी भन्ने तर्फ कुनै प्रमाण दिन सक्नु भएको पाइन्न ।

२२.   ०२२।१।१९ को बण्डापत्रलाई वादी कुलमान, जगन्नाथ गिरी, गणेश गिरीले जालसाजी भने तापनि त्यस्तो बण्डापत्रलाई वादी पद्मकुमारी, भैरव गिरी, शिव गिरीले सद्दे भन्नु भएको र ०२७।१।१२।७ को बण्डापत्रलाई वादी गणेश गिरी, जगन्नाथ गिरी, कुलमान गिरीले जालसाजी भन्ने उक्त बण्डापत्रमा परेको सहिछाप मेरो होइन भनी कुलमान गिरीले भन्नु भएको छ तापनि रेखा बिशेषज्ञबाट जाँच गराउँदा उक्त बण्डापत्रमा परेको ल्याप्चे सहिछाप कुलमानको हो भनी राय दिएकोले त्यस्तो ल्याप्चे सहिछाप कुलमानको होइन भन्ने स्थिति रहेन ।

२३.   जालसाजी भनी दावी लिनेले जालसाजी भनेर मात्र पुग्दैन । यसको सबूत प्रमाण पनि दिनु पर्छ । तर, प्रस्तुत ०२२।१।१९ र ०२७।१।१२ को बण्डापत्रहरुको सम्बन्धमा समेत जालसाजी भनी दावी लिने वादीहरुले जालसाजीको सबूत दिन सक्नु भएको देखिन्न । सबूतको अभावमा मिति ०२२।१।१९ र मिति ०२७।१।१२ को अंशबण्डाको लिखतलाई जालसाजी भन्न मिलेन ।

२४.   मिति ०१२।५।५ को बण्डापत्रमा उल्लेख भएको जग्गालाई अंगाल्दै कान्छी पद्मकुमारी, निजका छोरा गणेश गिरी, भैरव गिरी र शिव गिरीको बीचमा मिति ०२२।१।१९ मा र सोही ०१२।५।५ को बण्डापत्रलाई स्वीकार गर्दै जेठी लक्ष्मीकुमारी, छोरी सीता गिरी, छोरा मुक्तिप्रसाद, कुलमान र जगन्नाथका बीचमा मिति ०२७।१।१२ मा बण्डापत्र भएकोले ०१२।५।५ को बण्डापत्रलाई वादीहरुले स्वीकारै गरेको मान्नु पर्ने स्थिति छ । यस्तो अवस्था र जालसाजी गरेको सबूत प्रमाणको अभावमा ०१२।५।५ को बण्डापत्र जालसाजी भन्ने स्थिति रहेन ।

२५.   ०१२।५।५ मा अंशबण्डा हुँदा शिव गिरी र जगन्नाथ गिरी नाबालख देखिए पनि उक्त बण्डापत्रलाई स्वीकार गर्दै पछि पद्मकुमारी र लक्ष्मीकुमारीको गुँडमा क्रमशः ०२७।१।१२ मा र ०२२।१।१९ मा अंशबण्डा हुँदा यिनै शिव गिरी र जगन्नाथ गिरी समेत उक्त अंशबण्डाको कागतमा बसेको देखिँदा नावालख शिव गिरी र जगन्नाथ गिरीको हकमा ०१२।५।५ को बण्डापत्र कायम रहने भन्ने स्थिति रहेन ।

२६.   अंशबण्डाको लिखत रजिष्ट्रेशन पास नभएकोले पुनः बण्डापत्र हुने हो होइन भनी हेर्दा अंशबण्डाको ३० नं.मा अंशबण्डा गर्दा साक्षी राखी कानून बमोजिम बण्डा हुँदा बण्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहिछाप गरी रजिष्ट्रेशन गर्नु पर्नेमा सो गरी राख्नु पर्छ । सो बमोजिम नभएको बण्डापत्र सदर हुँदैन । तर, यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुटिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बरोबर लिई पाई दाखेल खारेज समेत गराई सकेको अंशबण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टा छुट्टै भाग बिक्री व्यवहार गरेमा व्यवहार प्रमाणबाट बण्डा भई सकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा घटी बढी असल कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ । अंश भन्दा घटी अंश जिउनी लिएकोमा र अंश छोडपत्र गरेकोमा भने रजिष्ट्रेशन भएको हुनु पर्छ भन्ने लेखिएको पाईन्छ ।

२७.   आफ्नो अंश भाग छुट्याई बण्डापत्र खडा गरिएको कुरामा विवाद नदेखिएको र धेरै जग्गा भोग चलन गरेको कुरालाई वादीहरुले आफ्नो फिरादमा नै स्वीकार गर्नु भएकोले बण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल घर जग्गा वादीहरुले भोग गरेको रहेनछ भन्न मिलेन ।

२८.   भोग व्यवहार प्रमाणबाट अंशबण्डा भएको छैन भनी ठहराउन संशोधित वर्तमान अंशबण्डाको ३० नं.ले नमिल्ने हुँदा वादीहरुले प्रतिवादीहरु उपर अंश पाउँ भनी झुट्टै उजुर गरेको ठहर्छ । वादी दावी नपुग्ने ठहराएको डिभिजनबेञ्चका माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय मनासिव अरु तपसीलमा लेखिए बमोजिम गर्नु मिसिल नियम बमोजिम बुझाई दिनु।

तपसील

देहायका वादीहरु के म.क्षे.अ.का मिति ०३४।९।१५।६ का फैसलाले प्रतिवादी लक्ष्मीकुमारी गिरीबाट कोर्ट फि रु.२४२।२८ मुक्तिप्रसाद गिरीबाट रु.२४२।२८ र सीता गिरीबाट रु.२४२।२८ समेत जम्मा रु.७२६।८४ भराउने गरेकोमा यस अदालतमा ०३४।८।२ मा वादीहरुले धरौट राखेको देखिएको उक्त फैसला अनुसारको धरौट वादीहरुलाई फिर्ता दिनु पर्दैन । कोर्टफि फिर्ता पाउँ भनी प्रतिवादी लक्ष्मीकुमारी गिरी, मुक्तिप्रसाद गिरी र सीता गिरीहरुको ऐनका म्याद भित्र दर्खास्त परे दस्तूर केही नली फिर्ता दिनु भनी का.जि.अ.त.मा लगत दिनु.............................................................................................................१

वादी पद्मकुमारीगिरी १, वादी गणेशगिरी १, वादी भैरव गिरी १, वादी शिव गिरी १, वादी कुलमानगिरी १, वादी जगन्नाथ गिरी १,

देहायमा वादीहरु के माथि इन्साफ खण्डमा जालसाजी नठहरेकोले द.स.१८ नं.ऐनले देहाय बमोजिम तजविजि रु.१।एकका दरले जनही जरिवाना हुन्छ । वादीहरुको वारेस र आफ्नो हकमा समेत समेत कुलमान गिरी रुजु हुँदा कानून बमोजिम असुल गरी ऐ.ऐ.मा लगत दिनु................................................................................................................२

वादी पदमकुमारी गिरी १, वादी गणेश गिरी १, वादी भैरव गिरी १ ,वादी शिव गिरी १, वादी कुलमान गिरी १, वादी जगन्नाथ गिरी १

हामीहरुको सहमती छ ।

 

न्या.त्रिलोकप्रताप राणा

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०३९ साल जेष्ठ २१ गते रोज ६ शुभम् ।



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु