निर्णय नं. ११३९७ - अंश भरपाईको लिखत बदर
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा
फैसला मिति : २०८०।३।२४
०७३-CI-०६८३
मुद्दाः- अंश भरपाईको लिखत बदर
पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला कुम्पुर गा.वि.स. वडा नं. ३ बस्ने रेशमराज पण्डितसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : धादिङ, जिल्ला कुम्पुर गा.वि.स. वडा नं. ३ घर भई हाल ऐ. वडा नं. ६ बस्ने कल्पना कौशिक
कुनै अंशियारले आफ्नो अंश नलिने गरी अंश छोडपत्र गर्न सक्ने । अंश छोडपत्र गर्दा आफूले पाउने अंशमध्ये आंशिक रूपमा केही अंश लिएर वा केही नलिएर पनि अंश छोडपत्र गर्न सक्ने । अंशबापत केही नगदी वा जिन्सी मात्र लिएर पनि अंश छोडपत्र गर्न सक्ने । अंश छोडपत्र गरेपछि अंश छोडपत्र गर्नेको हकमा निजको अंशबन्डा भएसरह मानिने । कतिपय अवस्थामा पत्नी वा छोराछोरीलाई अंश हकबाट वञ्चित गर्ने उद्देश्यले कुनै पति वा पिताले आफ्नो अंश छोडपत्र गर्न सक्ने अवस्था आउन नदिन मन्जुरी लिएर मात्र अंश छोडपत्र गर्न सक्ने ।
(प्रकरण नं.८)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भोजराज भट्ट
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री गणेशप्रसाद शर्मा तथा विद्वान् अधिवक्ताद्वय श्री चित्रदेव जोशी र श्री जगन्नाथ अधिकारी
अवलम्बित नजिर :
ने.का.प.२०७१, अङ्क ११, नि.नं.९२७९
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री रमेशराज पोखरेल
धादिङ जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
पुनरावेदन अदालत पाटन
फैसला
न्या.हरिप्रसाद फुयाल : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम पुनरावेदनको रोहमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः-
तथ्य खण्ड
विपक्षी प्रतिवादीहरू ससुरा रेशमराज पण्डित, सासू भिम कुमारी पण्डित, जेठा मेरो पति गिरिश कौशिक र कान्छा गोकर्णप्रसाद पण्डित गरी ४ मूल अंशियार भएकोले निजहरूबिच अंशबन्डा गरी ४ भाग लगाई सोको १ भागबाट पति गिरिश, सौता र सौता पट्टिका २ छोरा तथा म फिरादीसमेत ५ अंशियारमा ५ भाग लगाई सोको १ भाग अंश पाउँ भनी मैले २०६८ साल चैत्रमा यसै अदालतमा फिराद दायर गरेकोमा विपक्षीहरूले प्रतिउत्तर लगाउँदा सो प्रतिउत्तर पत्रमा मेरो पतिले रू.१,००,०००।- (एक लाख) नगद अंशबापत लिई प्रतिवादी गोकर्णप्रसादको भागमा ५ रोपनी र रेशम राजको भागमा २-१५-१ रोपनी लिने गरी विपक्षीहरूबिच मिति २०६८।०४।२९ मा र नं. ३४९ को अंश भरपाईको लिखत मालपोत कार्यालय धादिङबाट पारित भएको बेहोरा उल्लेख गरेको हुँदा मलाई थाहा हुन आयो । म बेवास्ता गरिएकी जेठी श्रीमती तथा बुहारी भएकोले मेरो अंश हक मेट्ने नियतले अंश भरपाई लिखत खडा गरेका हुन् । विपक्षी पतिले निरअंशी बनी सबै अंश परित्याग गरी मलाई अंशविहीन बनाई मेरो अंशहक मेट्ने कार्य गरेकोले सो कार्य मुलुकी ऐन अंशबन्डाको महल, अंशबन्डाको मूल्य मान्यतासमेतको प्रतिकूल हुँदा विपक्षीहरूबिच भएको मिति २०६८।०४।२९ को र.नं. ३४९ को अंश भरपाई लिखत बदर गरी मेरो अंश हक सुरक्षित गरिपाउँ भन्नेसमेत बेहोराको फिराद पत्र ।
हामी प्रतिवादीहरूको जम्मा सम्पत्ति मूल्य रू. ७,००,०००।- बराबरको भएको र सोको ४ भाग लगाउँदा एक भागमा रू.१,७५,०००।- पर्ने भएकोमा बहिनीहरू ३ जनाको पढाई र विवाह गर्दा लागेको खर्च ऋण र अंश हिसाब गर्दा जग्गा कित्ताकाट गरी लिनुभन्दा रकम नै बुझिलिन मन्जुर गरी म प्रतिवादीमध्येका गिरिश कौशिकले अंशबापत रू.१,००,०००।- लिई मिति २०६८।०४।२९ मा मालपोत कार्यालय धादिङबाट अंशबन्डाको लिखत पारित भएको हो । असमान व्यवहार भएको होइन । तसर्थ सो लिखत बदर हुने होइन, सदर कायम गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर पत्र ।
प्रतिवादीहरूका बिचमा मिति २०६८।०४।२९ मा र.नं. ३४९ बाट भएको अंश भरपाई लिखतमा एकासगोलमा रहेको अंशियारका नामको जग्गा प्रतिवादीमध्ये गिरिश कौशिकको नाममा देखाएको नदेखिएको र फिरादीका पति गिरिश कौशिकले बुझिलिएको अंशबापतको रकम निजले पाउने अंशभन्दा अस्वाभाविक अन्तरको देखिएको र अंश भरपाई लिखतबाट जग्गाको बाँडफाँटसमेतमा नरम गरम मिलाइएको अवस्था नहुँदा उक्त अंश भरपाई लिखतलाई स्वाभाविक मान्न सकिने अवस्था देखिँदैन र यसै लगाउमा रहेको यिनै वादी प्रतिवादी भएको दे.मि.नं. ०१८९।६४ को अंश दिलाई पाउँ भन्ने मुद्दामा प्रतिवादीहरूले दिएको तायदाती फाँटवारीमा उल्लिखित जग्गा चल अचल सम्पत्तिबाट फिरादीको मागबमोजिम अंश पाउने ठहरी आज यसै इजलासबाट फैसला भएकोले उक्त मिति २०६८।०४।२९ मा र.नं. ३४९ बाट भएको अंश भरपाई लिखत बदर हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू धादिङ जिल्ला अदालतबाट मिति २०७०।०३।१६ मा भएको फैसला ।
हामी पुनरावेदकहरूमध्ये म रेशमराज र म भिमकुमारीबाट २ छोराहरू गिरीश कौशिक र पुनरावेदक गोकर्णप्रसादको जायजन्म भई हामी ४ मात्र मूल अंशियार भएकोमा कुनै विवाद छैन । विपक्षी गिरीश कौशिकसँग विवाह गरेपश्चात् नै प्राय: माइतीमा मात्र बस्ने गरेकोले आर्जित धनसम्पत्तिमा विपक्षीको कुनै योगदान नरहेकोले विपक्षीको आर्जित सम्पत्तिमा कुनै हक हुनै सक्तैन । हामीहरूको सगोलको खेतीपातीबाट आर्जित रकमसमेत थप गरी प्रतिवादीमध्येको गिरीश कौशिक पण्डितकी कान्छी पत्नी विपक्षीको सौता लक्ष्मी कुमारीको नाममा मकवानपुर जिल्लाको हेटौंडा नगरपालिकामा घर जग्गा जोडेकोले सो घर जग्गा अचल सम्पत्तिमा हामीले आफ्नो दाबी छाड्ने र गिरीश कौशिकले अंशबापत नगद रू.१,००,०००।- (एक लाख) र हेटौंडातर्फको घर जग्गा बुझिलिएका हुन् । विपक्षीलाई अंशै नदिने, घटी गर्ने उद्देश्यले अंश भरपाई गरिएको किमार्थ होइन । एक पटक भइसकेको अंशमा चित्त नबुझे अंशबन्डाको ३२ नं. को म्याद ३ महिनाभित्र उजुर गरी बदर गराउन सक्ने व्यवस्था सम्बन्धित अंशियारको हकमा मात्र लागु हुन्छ । सोबाहेक त्यस्तो लिखत बदर गराउने कुनै पनि कानून विद्यमान छैन । अतः सुरू अदालतले गलत अनुमान गरी वास्तविक व्यवहार प्रमाणलाई हेर्दै नहेरी गरेको सुरू अदालतको मिति २०७०।३।१६ को फैसला प्रमाण ऐन, २०३१ को दफा ६ तथा दफा ७ को प्रतिकूल भएकोले उक्त फैसला उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू रेशमराज पण्डित, भिमकुमारी पण्डित र गोकर्णप्रसाद पण्डितसमेतको मिति २०७०।०९।११ मा तत्कालीन पुनरावेदन अदालत पाटनमा परेको संयुक्त पुनरावेदन पत्र ।
यसमा लगाउको ०७०-DP-०६९८ र १२१५ नं. को अंश दिलाइपाउँ भन्ने मुद्दामा अ.बं. २०२ नं. को प्रयोजनार्थ एक अर्काका पुनरावेदन परस्पर सुनाउने आदेश भएको हुँदा प्रस्तुत मुद्दासमेत उक्त मुद्दासँग अन्तरप्रभावी देखिँदा प्रस्तुत मुद्दामा समेत प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०७०।१२।२० मा भएको आदेश ।
दाबीको अंश भरपाई लिखत वादीको हकमा सम्म बदर हुने अवस्था विद्यमान रहेको देखिएको हुँदा दाबीको अंश भरपाईको लिखत पूरै बदर गर्ने गरी भएको सुरू धादिङ जिल्ला अदालतको मिति २०७०।०३।१६ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई दाबीको मिति २०६८।०४।२९ को अंश भरपाई लिखत वादीको अंश हकको हिस्सा जति बदर हुने ठहर्छ । सुरू जिल्ला अदालतको फैसला पूरै उल्टी गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोरको पुनरावेदन अदालत पाटनबाट मिति २०७२।०९।१२ मा भएको फैसला ।
प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट फैसला हुँदा प्रतिवादी गिरिश कौशिकले ज्यादै असमान हुने गरी सम्पत्ति लिएको र प्रतिवादी गिरिश कौशिकले आफ्नो अंशबापत रकम लिई अंश भरपाई गरिदिएको कार्यले वादीको अंश हकमा उल्लेखनीय असर परेको भनी यस सम्मानित अदालतबाट विन्दु देवी श्रेष्ठसमेत वि. सनम श्रेष्ठसमेत भएको अंश मिलापत्र बदर मुद्दामा प्रतिपादित सिद्धान्त (ने.का.प. २०६८ अङ्क १० नि.नं. ८७०१ पृ.सं. १७०७) समेत आधार लिई वादीको हकमा सम्म लिखत बदर हुने ठहर भएको पाइन्छ । तर लगाउको अंश मुद्दाको तायदातीमा उल्लिखित वादीका पति गिरिश कौशिकको नाममा र वादीको सौता लक्ष्मी कुमारीको नाममा रहेको अचल सम्पत्तिको कुनै चर्चा नै गरिएको छैन । कल्पना ढकालको नामको निजी आर्जनबाहेकको तायदातीमा उल्लिखित सम्पत्ति हिसाब गर्दा गिरिश कौशिकको निजले पाउने चार भागको एक भागभन्दा पनि बढी मूल्यको सम्पत्ति देखिइरहेको र उक्त सम्पत्ति उक्त अंश भरपाई हुनुभन्दा पहिलादेखि नै रहे भएको अवस्थमा त्यसतर्फ बुझ्दै नबुझी फैसला गरिएको छ । हामीहरूको सगोलको खेतीपातीबाट आर्जित रकमबाट प्रतिवादीमध्येको गिरिश कौशिक पण्डितकी कान्छी पत्नी विपक्षीकी सौता लक्ष्मी कुमारीका नाममा मकवानपुर जिल्ला हेटौंडा न.पा. वडा नं. ५ कि.नं. २८७२ ज.वि.०-०-६.१/२ जग्गा र ऐ. कि.नं. १९४७ ज.वि.०-१-० जग्गा विपक्षीका पति गिरिश कौशिक पण्डितका नाममा खरिद गरी पक्की घर बनाइएको हो । हेटौंडातर्फको सबै घर जग्गा श्री सम्पत्ति लिई अन्यत्रतर्फको घर जग्गा अचल सम्पत्तिमा आफ्नो दाबी छाड्ने र निज गिरिश कौशिकको दुवै पत्नी अर्थात विपक्षीसमेतको स-परिवार हेटौंडामा गई छुट्टी भिन्न भई बस्न मन्जुर गरी अंशबापत नगद रू.१,००,०००।- (एक लाख) र हेटौंडातर्फको उक्त घर जग्गा अंशबापत बुझिलिएका हुन् । विपक्षीलाई अंश नदिन अर्थात् घटी पार्ने उद्देश्यले अंश भरपाई गरिएको किमार्थ होइन । गलत अनुमान गरी वस्तविक व्यवहार प्रमाणलाई हेर्दै नहेरी भएको सुरू फैसला र पुनरावेदन अदालत पाटनको मिति २०७२।०९।१२ को फैसला प्रमाण ऐन, २०३१ को दफा ६,७ तथा ५४ को प्रतिकूल छ । अत: प्रतिपादित सिद्धान्त तथा प्रचलित कानूनसमेतको प्रतिकूल तथा व्यवहार प्रमाणलाई नहेरी अन्यायपूर्ण भएको उक्त फैसला उल्टी गरी वादी दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक प्रतिवादी रेशमराज पण्डित, भिमकुमारी पण्डित र गोकर्णप्रसाद पण्डितसमेतको तर्फबाट यस अदालतमा मिति २०७३।०७।२९ मा परेको संयुक्त पुनरावेदन पत्र ।
यसमा यसै लगाउको ०७३-CI-०६८२ र ०७३-CI-०६८४ नं. को अंश मुद्दामा आज यसै इजलासबाट मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २१३(३) बमोजिम प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी रहेको देखिएको हुँदा प्रस्तुत मुद्दामा पनि छलफलका लागि प्रत्यर्थीलाई मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २१३(३) को प्रयोजनार्थ झिकाई निज म्यादभित्र हाजिर भए वा हाजिर हुने अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७९।०५।१९ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरी पुनरावेदक प्रतिवादीहरूका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री भोजराज भट्टले वादीले पति गिरिश कौशिकबाट मात्र अंश पाउने हो, गिरिश कौशिकका परिवार मिति २०५८।२।१७ देखि नै भिन्न भई बसेका हुन्, गिरिश कौशिककी कान्छी पत्नी लक्ष्मीकुमारी शिवाकोटीको नाममा हेटौंडामा रहेको जग्गा सगोलको सम्पत्तिबाट आर्जित रकमबाट खरिद गरिएकोले भिन्न भएको व्यवहारलाई नै कानूनी रूप दिन मिति २०६८।०४।२९ मा अंश भरपाईको लिखत गरिएको हो, गिरिश र निजको पत्नीको नाममा रहेको उक्त जग्गासमेतको चल अचल सम्पत्ति निजले पाउने अंश भागभन्दा बढी नै रहेको अवस्थामा अंश भरपाई बदर हुने गरी भएको सुरू फैसला र सो हदसम्म सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन जिकिरबमोजिम उल्टी गरिपाउँ भनी तथा प्रत्यर्थी वादी तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री गणेशप्रसाद शर्मा, विद्वान् अधिवक्ताद्वय श्री चित्रदेव जोशी र श्री जगन्नाथ अधिकारीले वादी र प्रतिवादीमध्येका गिरिश कौशिक पति पत्नी रहेको र हालसम्म वादीले अंश नलिएको भन्ने तथ्यमा विवाद नरहेको, यी वादीलाई अंश हकबाट वञ्चित गर्ने उद्देश्यले नरम गरम नमिलाई पतिको भागमा कम सम्पत्ति पार्ने मनसायले अंश भरपाईको कागज गरिदिएको भन्ने मिसिल संलग्न तायदाती फाँटवारीबाटै देखिन्छ । तसर्थ आफ्नो अंश हकसम्मको अंश भरपाईको लिखत बदर हुने गरी भएको सुरू तथा पुनरावेदन तहको फैसला मिलैकै हुँदा सदर कायम गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपर्युक्त तथ्य र बहस जिकिर भएको प्रस्तुत मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, म बेवास्ता गरिएकी जेठी श्रीमती तथा बुहारीको अंश हक मेट्ने नियतले मेरो पतिले रू.१,००,०००।- (एक लाख) नगद अंशबापत लिई प्रतिवादी गोकर्णप्रसादले भागमा ५ रोपनी र रेशमराजको भागमा २-१५-१ रोपनी पर्ने गरी विपक्षीहरूबिच मिति २०६८।०४।२९ मा र नं. ३४९ को अंश भरपाईको लिखत मालपोत कार्यालय धादिङबाट पारित गरिएकोले सो कार्य मुलुकी ऐन अंशबन्डाको महल, अंशबन्डाको मूल्य मान्यतासमेतको प्रतिकूल हुँदा सो अंश भरपाई लिखत बदर गरी मेरो अंश हक सुरक्षित गरिपाउँ भन्नेसमेतको वादी दाबी र हामी प्रतिवादीहरूको जम्मा सम्पत्ति मूल्य रू.७,००,०००।- बराबरको भएकोमा बहिनीहरू ३ जनाको पढाइ र विवाह गर्दा लागेको खर्च ऋण र अंश हिसाब गर्दा जग्गा कित्ताकाट गरी लिनुभन्दा रकम नै बुझिलिन मन्जुर गरी हामी प्रतिवादीमध्येका गिरिश कौशिकले अंशबापत रू. १,००,०००।- लिई मिति २०६८।०४।२९ मा मालपोत कार्यालय धादिङबाट अंशबन्डाको लिखत पारित भएको हो । असमान व्यवहार नभएकोले सो लिखत सदर कायम गरिपाउँ भन्नेसमेतको संयुक्त प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा फिरादीका पति गिरिश कौशिकले बुझिलिएको अंशबापतको रकम निजले पाउने अंशभन्दा अस्वाभाविक अन्तरको देखिएको र अंश भरपाई लिखतबाट जग्गाको बाँडफाँटसमेतमा नरम गरम मिलाइएको अवस्था नहुँदा उक्त मिति २०६८।०४।२९ मा र.नं. ३४९ बाट भएको अंश भरपाई लिखत बदर हुने ठहर्छ भनी सुरू धादिङ जिल्ला अदालतबाट मिति २०७०।०३।१६ मा फैसला भएको देखिन्छ ।
३. सुरू जिल्ला अदालतको सो फैसलाउपर हामीहरूको सगोलको खेतीपातीबाट आर्जित रकमसमेत थप गरी प्रतिवादीमध्येको गिरीश कौशिक पण्डितकी कान्छी पत्नी विपक्षीको सौता लक्ष्मी कुमारीको नाममा मकवानपुर जिल्लाको हेटौंडा नगरपालिकामा घर जग्गामा हामीले आफ्नो दाबी छाड्ने र गिरीश कौशिकले अंशबापत नगद रू. १,००,०००।- (एक लाख) बुझी अंश भरपाईको लिखत गरिएकोमा वास्तविक व्यवहार प्रमाणलाई हेर्दै नहेरी अंश भरपाईको लिखत बदर गर्ने गरी भएको सुरू अदालतको मिति २०७०।०३।१६ को फैसला प्रमाण ऐन, २०३१ को दफा ६ तथा दफा ७ को प्रतिकूल गरिएकोले उक्त फैसला उल्टी गरिपाउँ भन्नेसमेत बेहोराको गिरिश कौशिकबाहेकका प्रतिवादीहरू रेशमराज पण्डित, भिमकुमारी पण्डित र गोकर्णप्रसाद पण्डितको मात्र संयुक्त पुनरावेदन पत्र परेकोमा तत्कालीन पुनरावेदन अदालत पाटनबाट सुरू धादिङ जिल्ला अदालतको मिति २०७०।३।१६ को फैसला केही उल्टी गरी दाबीको मिति २०६८।०४।२९ को अंश भरपाई लिखत वादीको अंश हकको हिस्सा जति बदर हुने र सुरू जिल्ला अदालतको फैसला पूरै उल्टी गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्याई मिति २०७२।०९।१२ मा फैसला भएको हुँदा सो फैसलाउपर प्रतिवादीहरूको पुनरावेदन यस अदालतमा पर्न आएको देखिन्छ ।
४. पुनरावेदक प्रतिवादीहरूको मुख्य पुनरावेदन जिकिर हेर्दा, हामीहरूको सगोलको खेतीपातीबाट आर्जित रकमबाट प्रतिवादीमध्येको गिरिश कौशिक पण्डितकी कान्छी पत्नी विपक्षीको सौता लक्ष्मी कुमारीका नाममा मकवानपुर जिल्ला हेटौंडा न.पा. वडा नं. ५ कि.नं. २८७२ र १९४७ जग्गा र घर लिई अन्यत्रतर्फको घर जग्गा अचल सम्पत्तिमा आफ्नो दाबी छाड्न हामीले मन्जुर गरी अंशबापत नगद रू.१,००,०००।- (एक लाख) गिरिश कौशिकले बुझिलिएका हुन् । विपक्षीलाई घटी पार्ने उद्देश्यले अंश भरपाई गरिएको किमार्थ होइन । कल्पना ढकालको नामको निजी आर्जनबाहेकको तायदातीमा उल्लिखित सम्पत्ति हिसाव गर्दा गिरिश कौशिकको निजले पाउने चार भागको एक भागभन्दा पनि बढी मूल्यको सम्पत्ति देखिइरहेको र उक्त सम्पत्ति उक्त अंश भर्पाई हुनुभन्दा पहिलादेखि नै रहे भएको अवस्थमा त्यसतर्फ बुझ्दै नबुझी, व्यवहार प्रमाणलाई हेर्दै नहेरी भएको सुरू फैसला र पुनरावेदन अदालत पाटनको मिति २०७२।९।१२ को फैसला प्रमाण ऐन, २०३१ को दफा ६, ७ तथा ५४ को प्रतिकूल हुँदा सो फैसला उल्टी गरी वादी दाबी खारेज गरिपाउँ भन्नेसमेतको पुनरावेदन जिकिर रहेको देखिन्छ ।
५. प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा, प्रत्यर्थी वादी कल्पना कौशिक र प्रतिवादीमध्येका गिरिश कौशिकबिच वैवाहिक सम्बन्ध कायम भई पति पत्नी नाताको रहेको तथ्यमा प्रत्यर्थी वादी र पुनरावेदक प्रतिवादीहरू दुवै पक्षको मुख मिलेको देखिन्छ । ससुरा रेशमराज पण्डित र सासू भिमकुमारी पण्डितबाट दुई सन्तानमध्ये जेठा छोरा वादीको पति गिरिश कौशिक र कान्छा छोरा गोकर्णप्रसाद पण्डितको जन्म भई मूल अंशियार ४ (चार) जना रहेकोमा प्रतिवादी गिरिश कौशिकले रू.१,००,०००।- नगद अंशबापत बुझी अंश भरपाईको लिखत गरी मालपोत कार्यालय धादिङबाट मिति २०६८।०४।२९ मा र.नं. ३४९ को अंश भरपाईको लिखत पास गरिदिएको कुरामा पनि विवाद देखिँदैन । मूल अंशियारमध्येका गिरिश कौशिकको दुई श्रीमतीमा जेठी यी प्रत्यर्थी वादी कल्पना कौशिक र कान्छी लक्ष्मीकुमारी शिवाकोटी रहेकोमा कान्छी श्रीमतीबाट २ छोरा र १ छोरीको जन्म भई जम्मा ६ जना अंशियार रहेको तथ्यसमेत यसै लगाउको अंश मुद्दाबाट अन्तिम भएर बसेको देखिन्छ ।
६. अंशहक जन्मको आधारमा छोराछोरीले र विवाहको आधारमा पत्नीले प्राप्त गर्दछन् । हाम्रो कानून प्रणालीमा अंशलाई नैसर्गिक अधिकारको रूपमा लिइन्छ । त्यसैले अंशबाट कुनै पनि अंशियारलाई विमुख गराउनु हुँदैन भन्ने मान्यता रही आएको छ । अंशहकलाई जीवन निर्वाहको साथसाथै आर्थिक उन्नतिको महत्त्वपूर्ण आधारको रूपमा लिने गरिन्छ । यी प्रत्यर्थी वादी र प्रतिवादीमध्येका गिरिश कौशिकबिच पति पत्नीको नातामा विवाद नदेखिनुका साथै वादीले आफ्नो अंश भागको सम्पत्ति लिइसकेको अवस्थासमेत देखिएन । साथै प्रस्तुत अंश भरपाई बदर मुद्दाका प्रतिवादी गिरिश कौशिकले प्रस्तुत मुद्दामा सुरू जिल्ला अदालतबाट भएको फैसलाउपर पुनरावेदन नगरी सुरू फैसलालाई स्वीकार गरी बसेको देखिन्छ ।
७. यस स्थितिमा प्रत्यर्थी वादी कल्पना कौशिकको पति गिरिश कौशिकले रू.१,००,०००।- नगद मात्र अंश भागबापत बुझिलिई मिति २०६८।०४।२९ मा मालपोत कार्यालय धादिङबाट र.नं. ३४९ को अंश भरपाईको लिखत पारित गरिदिएको कार्य न्यायपूर्ण छ, छैन ? भन्ने विषयमा विचार गर्नुपर्ने देखियो ।
८. मुलुकी ऐन, अंशबन्डाको महलको १ नं. मा "अंशबन्डा गर्दा यस महलका अन्य नम्बरहरूको अधीनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जीयजीयैको अंश गर्नुपर्छ ।" भनी ऐ. को २ नं. मा "यस महलमा अन्यथा लेखिएमा बाहेक यसै महलको १ नं. बमोजिम अंशबन्डा गर्दा अंश पाउने सबैको बराबर अंश गर्नुपर्छ ।" भन्ने कानूनी व्यवस्था उल्लेख भएको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाको सार भनेकै अंशबन्डा गर्दा सबै अंशियारहरूका बिच सम्पत्तिको समानरूपले अंश भाग पाउने गरी अंशबन्डा गर्नुपर्दछ भन्ने हो । तर, कुनै अंशियारले आफ्नो अंश नलिने गरी अंश छोडपत्र गर्न पनि सक्दछ । अंश छोडपत्र गर्दा आफूले पाउने अंशमध्ये आंशिक रूपमा केही अंश लिएर वा केही नलिएर पनि अंश छोडपत्र गर्न सक्दछ । अंशबापत केही नगदी वा जिन्सी मात्र लिएर पनि अंश छोडपत्र गर्न सक्दछ । अंश छोडपत्र गरेपछि अंश छोडपत्र गर्नेको हकमा निजको अंश भएसरह मानिन्छ । कतिपय अवस्थामा पत्नी वा छोराछोरीलाई अंश हकबाट वञ्चित गर्ने उद्देश्यले कुनै पति वा पिताले आफ्नो अंश छोडपत्र गर्न पनि सक्दछ । यस्तो अवस्था आउन नदिन मन्जुरी लिएर मात्र अंश छोडपत्र गर्न सक्ने कानूनको मनसाय रहेको देखिन्छ ।
९. उल्लिखित कानूनी व्यवस्थाको आलोकमा प्रस्तुत मुद्दाको तथ्यतर्फ हेर्दा, प्रत्यर्थी वादी कल्पना कौशिकको ससुरा रेशमराज पण्डित, सासू भिमकुमारी पण्डित, पति जेठा छोरा गिरिश कौशिक र देवर कान्छा छोरा गोकर्णप्रसाद पण्डित गरी ४ जना मूल अंशियार रहेकोमा गिरिश कौशिकले रू.१,००,०००।- नगद र गोकर्णप्रसाद पण्डितले बुबा रेशमराज पण्डितको नाममा रहेको धादिङ जिल्ला कुम्पुर गा.वि.स. वडा नं. ३/क कि.नं. ३४३ क्षेत्रफल ७-१५-१-० बाट ५-०-०-० रोपनी जग्गा अंश भागबापत लिई मिति २०६८।०४।२९ मा अंश भरपाईको लिखत गरिदिई मालपोत कार्यालय धादिङमा र.नं. ३४९ बाट पारित गरिएको अवस्था देखिन्छ । यसै लगाउको अंश मुद्दामा पेस भएको तायदाती फाँटवारी हेर्दा, प्रतिवादी ससुरा रेशमराज पण्डितका नाउमा धादिङ जिल्ला कुम्पुर गा.वि.स. वडा नं. ३ मा ७-१५-१-० रोपनी, मकवानपुर जिल्लाको हेटौंडामा ०-१-० कठ्ठा, अर्का प्रतिवादी गोकर्णप्रसाद पण्डितकी पत्नी कल्पना ढकालका नाममा काठमाडौं जिल्लाको गोंगबु गा.वि.स. वडा नं. ५ मा कि.नं. १२५ र ३२७ तथा ऐ. फुटुङ गा.वि.स. वडा नं. ७ मा कि.नं. ३०२ र ३०५ को जग्गाहरू रहेको देखिन्छ । यसरी अन्य प्रतिवादीहरूका नाममा रहेको उल्लिखित सम्पत्ति र यी प्रत्यर्थी वादीका पति गरिश कौशिकले अंशबापत बुझिलिएको रू.१,००,०००।- नगदलाई तुलना गरेर हेर्दा पनि अंश भरपाई गरिदिएको कार्यलाई स्वाभाविक मान्न सकिँदैन । यी पुनरावेदक प्रतिवादीहरूका बिच भएको अंश भरपाईको लिखतबाटै निज प्रत्यर्थी वादीको अंश मार्ने, दबाउने वा कम गर्ने गरी कार्य भएको देखिन्छ । यस्तो कार्यबाट वादीले थोरै वा न्यूनभाग मात्र अंश दिने वा पन्छाउने उद्देश्य रहेको देखिन्छ । तसर्थ प्रत्यर्थी वादी कल्पना कौशिकको पति गिरिश कौशिकले रू.१,००,०००।- नगद मात्र अंश भागबापत लिई मिति २०६८।०४।२९ मा मालपोत कार्यालय धादिङमा र.नं. ३४९ बाट अंश भरपाईको लिखत पारित गरिदिएको कार्यलाई न्यायपूर्ण मान्न नसकिँदा पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
१०. तसर्थ, माथि उल्लिखित आधार र प्रमाणबाट दाबीको अंश भरपाईको लिखत पूरै बदर गर्ने गरी भएको सुरू धादिङ जिल्ला अदालतको मिति २०७०।३।१६ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई दाबीको मिति २०६८।०४।२९ को अंश भरपाई लिखत वादीको अंश हकको हिस्सा जति बदर हुने र सुरू जिल्ला अदालतको फैसला पूरै उल्टी गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्याई भएको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७२।०९।१२ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
११. प्रस्तुत फैसलाको विद्युतीय प्रति यस अदालतको विद्युतीय प्रणालीमा अपलोड गर्नू । सरोकारवालाले नक्कल माग गरे नियमानुसार दस्तुर लिई नक्कल दिनू । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डा.मनोजकुमार शर्मा
इजलास अधिकृत (उपसचिव):- ज्ञानेन्द्र दाहाल
इति संवत् २०८० साल आषाढ २४ गते रोज १ शुभम् ।