निर्णय नं. ११३९८ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
माननीय न्यायाधीश श्री नहकुल सुवेदी
फैसला मिति : २०८०।३।११
मुद्दा : कर्तव्य ज्यान
०६९-CR-०८७८
पुनरावेदक / प्रतिवादी : अगनबहादुर पुनको नाति टेकबहादुर पुनको छोरा रूपन्देही जिल्ला मोतीपुर गा.वि.स. वडा नं. ९ बस्ने गगनबहादुर पुनसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : रूपन्देही जिल्ला मोतीपुर गा.वि.स. वडा नं. ९ बस्ने केशवलाल श्रेष्ठको जाहेरीले नेपाल सरकार
०६९-CR-१०३९
पुनरावेदक / वादी : केशवलाल श्रेष्ठको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला रूपन्देही मोतीपुर गा.वि.स. वडा नं. ९ बस्ने टेकबहादुरको छोरा गगनबहादुर पुनसमेत
फौजदारी मुद्दामा अभियुक्तउपरको कसुर स्थापित हुनका लागि तीन महत्त्वपूर्ण पूर्वावस्था स्थापित भएको हुनुपर्ने । सर्वप्रथम आपराधिक कार्य वा वारदात (corpus delicti) स्थापित हुनु आवश्यक हुने । वारदातको अस्तित्व (existence of incidence) स्थापित हुन नसकेमा कसुरदारमा संलग्नताको प्रश्न उठ्न नसक्ने । कर्तव्य ज्यान मुद्दामा केवल लास फेला पर्नु मात्र वारदात स्थापित हुनका लागि पर्याप्त हुन नसक्ने । वारदात स्थापित हुनका लागि मृतकको मृत्यु कर्तव्यबाट भएको तथ्य स्थापित हुनुपर्ने । मृतकको मृत्यु कर्तव्यबाट भएको हो भन्ने तथ्य स्थापित हुन नसकेमा कसुरदारउपर कसुर स्थापित हुने पूर्वावस्था नै नरहने र अभियुक्तउपरको कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहने भएकाले वादी पक्षले नै वारदातको अस्तित्व स्थापित गराउन सक्नुपर्ने ।
(प्रकरण नं.४)
अभियुक्तउपरको आरोपित कसुर प्रमाणित गर्ने भारअन्तर्गत दोस्रो पूर्वावस्था कसुरदारको पहिचान (identification of accused) गर्नु रहेको हुने । वारदात वा आपराधिक कार्य स्थापित हुनु र अभियुक्तउपरको कसुर पुष्टि हुनु दुई फरक अवस्था हुने । वारदात स्थापित भएको पुष्टि भए तापनि वारदातमा आरोपित व्यक्तिको संलग्नता पुष्टि नभएमा अभियुक्तउपरको अभियोग स्थापित हुन नसक्ने । अभियुक्तको पहिचान शङ्कारहित तरिकाले पुष्टि हुनुपर्ने ।
(प्रकरण नं.५)
अभियुक्तउपरको आरोपित कसुर प्रमाणित गर्ने भारअन्तर्गत अन्तिम वा तेस्रो पूर्वावस्था कसुरदारको वारदातमा संलग्नताको तह वा स्तर (involvement of accused) को पहिचान गर्नु रहेको हुने । प्रतिवादीहरूको आरोपित कसुरमा संलग्नता भएको पुष्टि भएकै अवस्थामा पनि सबै प्रतिवादीहरूको समान स्तरको संलग्नता नरहेको हुन सक्ने । अदालतले कसुरदारलाई सजाय निर्धारण गर्दा संलग्नताको स्तर, कसुरको गम्भीरता र दोषको मात्राअनुसार समानुपातिक रूपमा गर्नुपर्ने । कसुरदारको व्यक्तिपिच्छेको संलग्नताको स्तर यकिन नगरी गोश्वारारूपमा सजाय ठहर गर्नु फौजदारी दायित्वको वैयक्तिकताको सिद्धान्त (principle of individualized criminal liability) को विपरीत हुन जाने । कसुरमा संलग्न जति सबैलाई एकैरूपमा हदैसम्मको चर्को सजाय हुनुपर्ने भन्ने फौजदारी न्यायको सिद्धान्तअनुकूल हुन नसक्ने ।
अभियुक्तउपरको कसुर प्रमाणित हुनसक्ने वा नसक्ने प्रश्नको निर्क्यौल वारदातको अस्तित्व, कसुरदारको पहिचान र संलग्नताको स्तर (existence of incidence, identification of accused र involvement of accused) का आधारमा गरिने ।
(प्रकरण नं.६)
वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री सुधिज्ञ पन्त र श्री पशुपति भण्डारी
अवलम्बित नजिर :
ने.का.प. २०५३, अङ्क ७, नि.नं. ६२२६
ने.का.प. २०६७,अङ्क २, नि.नं. ८३११
ने.का.प २०७९, अङ्क नि नं १०८१६
ने.का.प. २०७६, अङ्क ४, नि.नं. १०२४६
ने.का.प. २०५७, अङ्क ८, नि.नं ६९३२
ने.का.प २०७७ अङ्क नि.नं १०४९३
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री हरिप्रसाद बगाले
पाल्पा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री श्री नारायणप्रसाद दाहाल
मा. न्यायाधीश श्री नीता गौतम दिक्षीत
पुनरावेदन अदालत, बुटवल
फैसला
न्या.नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) अन्तर्गत यस अदालतको अधिकारक्षेत्र रही वादी तथा प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
मुद्दाको संक्षिप्त तथ्य
मिति २०६६।६।२६ गतेका बेलुकी राति मेरो छोरा वर्ष २० को प्रविण श्रेष्ठ र गगनबहादुर पुनसमेतका ६ जनासमेत भई आफ्नो घरबाट बुटवल दोहोरी साँझमा आएको र निजका साथीहरू घर फर्की गएकोमा निज घरमा नफर्किएकोले निजको खोजतलासको क्रममा जिल्ला पाल्पा, दोभान गा.वि.स. वडा नं ५ स्थित तिनाउ खोलाको किनारमा मेरो छोराको मृत लास फेला परेको हो । घटनाको विवरण बुझ्दै जाँदा विपक्षीहरूको निर्मम कुटपिटले मेरो छोराले लगाएको भेष्ट च्यातिएको अवस्थामा रहेकोबाट निज छोरालाई गगनबहादुर पुनसमेतका व्यक्तिहरूले कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मिति ०६६।६।२८ गतेको केशवलाल श्रेष्ठको जाहेरी दरखास्त ।
जिल्ला पाल्पा, दोभान गा.वि.स. वडा नं ५ स्थित तिनाउ खोलाको पुर्वी किनार बगरमा उत्तर खुट्टा दक्षिण टाउको गरी घोप्टो अवस्थामा मृतक प्रविण श्रेष्ठको लास रही उक्त लासको टाउकोमा १ इन्च लामो चोट लागी मुखबाट रगत निस्किएको, अनुहारमा ढुङ्गाले दाबी खाल्टो परेको, दायाँ बायाँ खुट्टा, हात र निधारमा दरखरिएको घा चोट, बायाँ आँखा सुनिएको बन्दसमेत रही शरीर रगताम्यसमेत भएको भन्ने घटनास्थलमा खिचिएको मृतकको फोटोसहितको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का ।
मिति ०६६।६।२६ गते राति ९:४५ बजेतिर मैले काम गर्ने गरेको दोहोरी साँझमा मानिसहरू रक्सी खान तथा नाचगान गर्न आउने क्रममा मोतीपुर घर भएका ७ जना व्यक्तिहरू आएको र निजहरूले नाचगान तथा रमाइलो गरेको अवस्थामा पछि नाम थाहा भएका प्रविण भन्ने व्यक्तिले बियर खोली हल्लाई नाचगान गर्ने क्रममा नाच्दै गरेका प्रमोद भन्नेसँग ठोकिन गई धकेला धकेलसमेत भएको हो । हानाहान केही भएको होइन । दोहोरी साँझ बन्द भएपश्चात् सबै जना बाहिर गएका हुन् । त्यसपछि मैले कुनै वास्ता गरिनँ, मेरो कर्मचारीले बाटोमा तल बबाल गर्न थालेका छन् भनेका थिए । मैले झ्यालबाट हेर्दा निजहरू गाडी लिई गएका हुन् । मिति ०६६।६।२८ गते निज प्रविण श्रेष्ठको तिनाउ खोलामा लास फेला परेको भन्ने थाहा पाएको हुँ । निजलाई को कसले कर्तव्य गरी मारेको हो भन्ने सम्बन्धमा मलाई थाहा भएन भन्नेसमेत बेहोराको मिति ०६६।७।५ गते दोहोरी साँझमा कार्यरत बुझिएका व्यक्ति बाबुराम पौडेलको कागज ।
मिति ०६६।६।२६ गते प्रविण श्रेष्ठसमेतको हामी ७ जना साथीहरूले रमाइलो गर्ने क्रममा मोतीपुरमा सामान्य रक्सीसमेत सेवन गरी दोहोरी साँझमा जाने भनी मिरमिरे दोहोरी साँझ बुटवलमा आई उक्त स्थानमा समेत हामी सबै जनाले रक्सी खाई नाचगान गर्ने क्रममा प्रविणको अपरिचित व्यक्तिसँग हातपातसमेत भएको र उक्त स्थानमा मगाएको खाने कुरासमेत खान नपाई हामीहरू उक्त दोहोरी साँझ बन्द हुने भएकोले त्यहाँबाट हिँडी ट्राफिक चोकबाट मैले मेरो लु १.च १७६७ नं.को भ्यानमा सबै जनालाई राखी तल्लो सिद्धबाबाभन्दा केही माथि ल्याई रोकी सबैलाई झार्न खोज्दा निज प्रविण श्रेष्ठ गाडीबाट नझरेपछि निजलाई मैले कपालमा समाती निजलाई गाडीबाट तल झारे । सबै जना गाडीको पछाडिपट्टि रहेको अवस्थामा मैले निजलाई गाडीभन्दा केहीमाथि कुटपिट र घिसार्दैसमेत लगी केशव कुँवर र मेरो सल्लाहबमोजिम लास रहेको ठाउँभन्दा माथि बाटोबाट तिनाउ खोलातिर धकेलिदिएको हो । पछि सबै जना फर्कने क्रममा अरू साथीले प्रविण कता गए भनी भन्दा मसमेत भई केही वर खोज तलास गरेजस्तो गरी फेला नपरेपछि निजको गोलपार्कमा ठुलो बुबाको घरमा गए होलान् भन्ने ठानी हामी घरमा गएको र पछि मिति ०६६।६।२८ गते खोजतलासको क्रममा दोभान ५ स्थित तिनाउ खोलाको किनारामा निज मृतकको लास फेला परेको हो । उक्त दिन मैले निजलाई मेरो गाडीमा लिई मैले पैसा खर्च गरी खुवाउँदै गर्दा पनि निजले झगडा गरी रहेकोले मेरो पैसा खर्च पनि गराउने मैले भनेको पनि नमानी उल्टै झगडा गर्दै हिँड्ने गरेकोले मैले सहन नसकी निजलाई कुटपिट गरी फालिदिने मनसाय लिई मैले निजसमेतका साथीहरूलाई मेरै गाडीमा सिद्धबाबामा ल्याई उक्त कार्य गरेको हुँ भन्नेसमेत बेहोराको अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी गगनबहादुर पुनले मिति ०६६।७।९ मा गरेको बयान ।
मिति ०६६।६।२६ गते प्रविण श्रेष्ठ समेतको हामी ७ जना साथीहरू रमाइलो गर्ने क्रममा मोतीपुरमा सामान्य रक्सी सेवन गरी दोहोरी साँझमा जाने भनी मिरमिरे दोहोरी साँझ बुटवलमा आई उक्त स्थानमा समेत हामी सबै जनाले रक्सी खाई नाचगान गर्ने क्रममा प्रविणको अपरिचित एक जना नाच्ने व्यक्तिसँग हातपातसमेत भएको र उक्त स्थानमा मगाएको खाने कुरासमेत खान नपाई हामीहरू उक्त दोहोरी साँझ बन्द हुने भएको र प्रविणले त्यहाँ झगडासमेत गर्न लागेकोले हामीहरू त्यहाँबाट हिँडी साथी गगनबहादुर पुनले लगेको उक्त लु.१ च १७६७ नं. को भ्यानमा सबै जनालाई राखी भ्यान गगनले चलाई तल्लो सिद्धबाबाभन्दा केही माथि लगी सबै जना रक्सीको नशामा भएकोले निज प्रविण श्रेष्ठलाई समेत गाडीबाट झराली अन्य साथी गाडीको पछाडिपट्टि रहेको अवस्थामा गगनबहादुर पुनले निज प्रविण श्रेष्ठलाई गाडीभन्दा केही अघि लगी गगनले निजलाई कुटपिट गरी यसले साह्रै सतायो भिरबाट धकेलौं भनेकोले म र गगन भई निजलाई बाटोबाट तिनाउ खोलातिर धकेलिदिएको हो । पछि सबै जना फर्कने क्रममा प्रविण कता गए भनी अन्य साथीहरूले भन्दा मसमेत भई केहीबेर खोजलास गरेजस्तो गरी निज फेला नपरेपछि हामी सबै सोही गाडीमा चढी घरतर्फ गएको र पछि मिति ०६६।६।२८ गते खोज तलासको क्रममा दोभान ५ स्थित तिनाउ खोलाको किनारमा मृतक लास फेला परेको हो भन्नेसमेत बेहोराको अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी केशव कुँवरले मिति ०६६।७।९ गते गरिदिएको बयान कागज ।
Hypovolemic and neurogenic shock and injuries including head injury भन्नेसमेत बेहोराको मृतक प्रविण श्रेष्ठको शव परीक्षण प्रतिवेदन ।
मिति ०६६।६।२६ गते प्रविण श्रेष्ठसमेतका हामी ७ जना साथीहरू रमाइलो गर्ने क्रममा मोतीपुरमा सामान्य रक्सी सेवन गरी दोहोरी साँझमा जाने भनी मिरमिरे दोहोरी साँझ बुटवलमा आई उक्त स्थानमा समेत हामी सबै जनाले रक्सी खाई नाचगान गर्ने क्रममा प्रविणको अपरिचित एक जना नाच्ने व्यक्तिसँग हातपातसमेत भएकोले निजलाई हामीहरूले सो ठाउँबाट बाहिर लगेका हौं र साथी गगनबहादुर पुनले लगेको लु.१ च १७६७ नं. को भ्यानमा सबै जनालाई राखी गगनले भ्यान चलाई तल्लो सिद्धबाबाभन्दा केही माथि ल्याई गाडी रोकेकोमा हामी गाडीबाट झरिसकेपछि बल्ल सिद्धबाबा भन्ने ठाउँ रहेछ भन्ने मैले थाहा पाएको हुँ र उक्त स्थानमा गाडीबाट झरी हामी सबै जना पिसाब फेर्न जाने क्रममा म पिसाब फेर्न गएँ । कमल राना, बुद्धि वि.क., कमल गिरी, प्रविण श्रेष्ठ गाडीभन्दा पछाडि बसेका थिए । केशव कुँवर र गगन पुन गाडीभन्दा अगाडि गएका थिए । केही बेरमा प्रविण कता गए मैले ख्याल गरिनँ । केहीबेर प्रविण श्रेष्ठ, गगन पुन र केशव कुँवर हराएका थिए । केहीबेरमा गगन पुन र केशव कुँवर आई अब गाडीमा जानेभन्दा प्रविण श्रेष्ठ हराएकोले केहीबेर मसमेतले खोज तलास गरी फेला नपरेपछि हामी त्यहाँबाट सोही गाडीमा घरमा आएका हौं । पछि मिति ०६६।६।२८ गते खोज तलासको क्रममा दोभान ५ स्थित तिनाउ खोलाको किनारमा प्रविण श्रेष्ठको मृतक लास फेला परेको हो भन्ने थाहा पाएको हुँ । उक्त दिन हामीहरू बसेको ठाउँभन्दा २०० मिटर माथि लास फेला परेकोले प्रविण श्रेष्ठलाई गगन पुन र केशव कुँवरले मारेको हुनुपर्छ भन्नेसमेत बेहोराको अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी खुमबहादुर कुँवरले मिति ०६६।७।१३ मा गरेको बयान ।
मिति ०६६।६।२६ गते प्रविण श्रेष्ठसमेतका हामी ७ जना साथीहरू रमाइलो गर्ने क्रममा मोतीपुरको होटलमा सामान्य रक्सी सेवन गरी बसेकोमा पछि गगन पुनसमेत आई रक्सी सेवन गर्ने क्रममा प्रविण श्रेष्ठले छिटो छिटो खाएकोले गगनले तैंले मात्रै खाने भनी २/३ थप्पड प्रविण श्रेष्ठलाई हानेका हुन् । उक्त स्थानमा रक्सीसमेत खाई हामीहरू दोहोरी साँझमा जाने भनी मिरमिरे दोहोरी साँझ बुटवलमा हामी ७ जना आई उक्त स्थानमा समेत हामी सबै जनाले रक्सी खाई नाचगान गर्ने क्रममा प्रविणको अपरिचित एक जना नाच्ने व्यक्तिसँग हातपातसमेत भएकाले दोहोरी बन्द हुने बेला भएको र प्रविणले झगडासमेत गरेकोले साथीहरूले प्रविणलाई समाई बाहिर लग्दा पनि अन्य अपरिचित मानिससँग प्रविणले झगडा गर्न लाग्दा गगनबहादुर पुनले आफ्नो लु.१.च १७६७ नं. को भ्यानमा हामी सबैलाई राखी निजले गाडी चलाई तल्लो सिद्धबाबाभन्दा केही माथि ल्याई गाडी रोकेकोमा गाडीबाट झर्दा सिद्धबाबा भन्ने ठाउँ रहेछ भन्ने मैले थाहा पाएको हुँ । कहाँ ल्याएको भन्दा सबै जना झर पिसाब फेर्ने भनी गगनले भनेकोले हामी सबै जना गाडीबाट झरी केशव तथा गगन गाडीभन्दा अगाडितर्फ गए । म, कमल राना र कमल गिरीसमेत भई बस्दा कमल गिरीले प्रविण श्रेष्ठलाई त्यहीँ राखेका थिए । कमल गिरीको फोन आएपश्चात् फोनमा कुरा गर्न लागे । म तथा कमल राना आफ्नै सुरमा गफगाफ गरी बसेका थियौं । सोही बेलामा प्रविण श्रेष्ठ कता गए केही थाहा भएन । केहीबेरपश्चात् गगन र केशव आई घर जाऔं भन्दा प्रविण खोई त भनी निजको खोजी भयो । प्रविण कता गए भनी खोज्दा निज नभेटिएकोले हामी सबै जना गयौं । पछि मिति ०६६।६।२८ गते खोज तलासको क्रममा दोभान ५ स्थित तिनाउ खोलाको किनारमा निजको लास फेला परेको थाहा पाएको हुँ । उक्त दिन हामीहरू बसेको ठाउँभन्दा माथि लास फेला परेको र सो ठाउँमा गगन तथा केशव गाडीभन्दा केही माथि गई केही समय हराएको हुँदा निजहरूले नै मारेको हुनुपर्छ भन्नेसमेत बेहोराको अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी बुद्धि वि.क. ले मिति ०६६।७।१३ गते गरेको बयान ।
मिति २०६६।६।२६ गते प्रविण श्रेष्ठसमेतका हामी ७ जना साथीहरू रमाइलो गर्ने क्रममा मोतीपुरमा सामान्य रक्सी सेवन गरी हामीहरू दोहोरी साँझमा जाने भनी मिरमिरे दोहोरी साँझ बुटवलमा आई उक्त स्थानमा समेत हामी सबै जनाले रक्सी खाई नाचगान गर्ने क्रममा प्रविणको अपरिचित एक जना नाच्ने व्यक्तिसँग हातपातसमेत भएकोले प्रविण जमिनमा लडी अनुहारमा सानो चोटसमेत लागेको थियो । हामीले प्रविणलाई सो ठाउँबाट समाई बाहिर ल्याई साथी गगनबहादुर पुनले लगेको लु.१ च १७६७ नं.को भ्यानमा हामी सबै जना बसी गगनले भ्यान चलाई तल्लो सिद्धबाबाभन्दा केही माथि ल्याई गाडी रोकेकोमा गाडीबाट झर्दा सिद्धबाबा भन्ने ठाउँ रहेछ भन्ने मैले थाहा पाएको हुँ । कहाँ ल्याएको भन्दा सबै जना झर, पिसाब फेरी घर जाने भनी गगनले भनेकोले हामी सबै जना गाडीबाट झरी केशव तथा गगन गाडीभन्दा अगाडितर्फ गए । कमल गिरीले प्रविण खै भनेपछि हामी खोजतलास गर्न थाल्यौं तर प्रविण भेटिएनन । गगनले प्रविणको ठुलो बुबाको घर गोलपार्कमा छ, त्यहाँ बसेको होला भनी हामीलाई गाडीमा बस्न लगाई घरमा लागेका हौं । पछि मिति ०६६।६।२८ गते खोज तलासको क्रममा दोभान ५ स्थित तिनाउ खोलाको किनारमा निजको मृतक लास फेला परेको हो भन्ने थाहा पाएको हुँ । प्रविणको हत्या को-कसले के-कसरी गर्यो भन्ने मैले नदेखेकोले थाहा भएन । उक्त दिन हामीहरू बसेको ठाउँभन्दा माथि लास फेला परेको र उक्त दिन गगन तथा केशव गाडीभन्दा माथि गएकोले प्रविणलाई निजहरूले नै मारेको हुनुपर्छ भन्नेसमेत बेहोराको अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी कमल रानाले मिति ०६६।७।१३ गते गरेको बयान ।
मिति २०६६।६।२६ गते प्रविण श्रेष्ठसमेतका हामी ७ साथीहरू रमाइलो गर्ने क्रममा मोतीपुरमा सामान्य रक्सी सेवन गरी हामीहरू दोहोरी साँझमा जाने भनी मिरमिरे दोहोरी साँझ बुटवलमा आई उक्त स्थानमा समेत हामी सबै जनाले रक्सी खाई नाचगान गर्ने क्रममा प्रविणको अपरिचित एक जना नाच्ने व्यक्तिसँग हातपातसमेत भएकोले हामीले निज प्रविणलाई सो ठाउँबाट समाई बाहिर सडकमा लैजाँदा पनि प्रविणले अपरिचित मानिससँग झगडा गर्न लागेकोले साथी गगनबहादुर पुनले लगेको लु.१ च १७६७ नं.को भ्यानमा हामी सबै जनालाई राखी गगनले भ्यान चलाई तल्लो सिद्धबाबाभन्दा केही माथि ल्याई गाडी रोकेकोमा गाडीबाट झर्दा सिद्धबाबा भन्ने ठाउँ रहेछ भन्ने मैले थाहा पाएको हुँ । कहाँ ल्याएको भन्दा सबै जना झर, पिसाब फेर्ने भनी गगनले भनेकोले हामी सबै जना गाडीबाट झरेको र प्रविण श्रेष्ठ गाडीबाट नझरेपछि गगनले गाडीबाट प्रविणको कपालमा समाती झारेका हुन् र गाडीबाट झरी केशव तथा गगन गाडीभन्दा अगाडितर्फ गए । म, कमल राना र बुद्धि वि.क. समेत भई गाडी पछाडि बस्दा प्रविण श्रेष्ठलाई त्यहीँ राखेका थिए । केहीबेरमा मेरो फोन आएपश्चात् म फोनमा कुरा गर्न लागेँ । कमल राना तथा बुद्धि वि .क. आफ्नै सुरमा गफगाफ गरी बसेका थिए । सो बखत प्रविण कता गए थाहा भएन । केहीबेरपश्चात् गगन र केशव आई अब घर जाऔं भन्दा प्रविण खोई त भनी निजको खोजी भयो । प्रविण कता गए भनी खोज्दा निज नभेटिएकोले हामी सबैजना सोही गाडी चढी घरतर्फ गयौं । पछि मिति ०६६।६।२८ गते खोजतलासका क्रममा दोभान ५ स्थित तिनाउ खोलाको किनारमा मृतक लास फेला परेको हो भन्ने थाहा पाएको हुँ । उक्त दिन हामीहरू बसेको ठाउँभन्दा माथि लास फेला परेको र उक्त दिन गगन तथा केशव गाडीभन्दा माथि गएकोले प्रविण श्रेष्ठलाई निजहरूले नै मारेको हुनुपर्छ भन्नेसमेत बेहोराको अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी कमल गिरीले मिति २०६६।७।१३ गतेको बयान ।
मिति २०६६।६।२६ गते जिल्ला रूपन्देही मोतीपुर गा.वि.स. अन्तर्गतमा बस्ने गगन पुन, केशव कुँवर, खुमबहादुर कुँवर, प्रविण श्रेष्ठ, कमल राना, कमल गिरी, बुद्धि वि.क. समेत भई मोतीपुरमा रक्सी सेवन गरी बुटवलतर्फ आएकोमा बुटवलमा समेत रक्सी सेवन गरी सिद्धबाबा भन्ने ठाउँमा आएकोमा फर्कने क्रममा प्रविण श्रेष्ठ हरायो भनी बाँकी ६ जना घरमा फर्किएको र खोजतलासको क्रममा मिति ०६६।६।२८ गते मृतक लास फेला परेकोले सँगै आएका अन्य ६ जनाले नै प्रविण श्रेष्ठलाई कर्तव्य गरी मारेको हुनुपर्छ भन्नेसमेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका सुजन घिमिरेसमेतका मानिसहरूले मिति २०६६।७।२० गते गरिदिएको एकै मिलानको कागज ।
मिति २०६६।६।२८ गते जिल्ला पाल्पा दोभान गा.वि.स. वडा नं. ५ स्थित तिनाउ खोलाको किनारमा पुरूष व्यक्तिको मृतक लास फेला परेको भन्ने थाहा पाएको हो । सो सम्बन्धमा बुझ्दा मिति २०६६।६।२६ गते जिल्ला रूपन्देही मोतीपुर बस्ने गगन पुनसमेतका व्यक्तिहरू बुटवल दोहोरी साँझमा आई सो ठाउँबाट राति तल्लो सिद्धबाबामा लु.१ च १७ ६७ नं.को भ्यानमा चढी आएको र सबै जना उक्त स्थानमा केहीबेर बसी फर्कने क्रममा प्रविण श्रेष्ठ भन्ने व्यक्ति हराएको र खोजतलासको क्रममा निजलाई मिति ०६६।६।२८ गते मृतक अवस्थामा फेला परेको भन्नेसमेत सुनी थाहा पाएको हो । निज प्रविण श्रेष्ठलाई गगन पुनसमेतका अन्य ६ जना व्यक्तिहरूले नै कर्तव्य गरी मारेको हुनुपर्छ भन्नेसमेत बेहोराको वस्तुस्थितिमा बुझिएका धर्मराज श्रेष्ठसमेतले मिति २०६६।७।२० गते गरिदिएको एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
मिति २०६६।६।२६ गते राति मृतक प्रविण श्रेष्ठलगायतका उल्लिखित प्रतिवादीहरूले मोतीपुरको होटलमा सँगै रक्सी खाई प्रतिवादी गगनबहादुर पुनको लु.१ च. १७६७ नं. को भ्यानमा चढी बेलुकी ९.४५ बजे बुटवलस्थित मिरमिरे दोहोरी साँझमा पुगी पुन: रक्सी बियरसमेत सेवन गर्दा दोहोरी साँझमा निज प्रविण श्रेष्ठको प्रमोद भन्ने व्यक्तिसँग सामान्य झगडा हुँदा निजलाई बाहिर निकालेपछि पनि प्रविण श्रेष्ठले अन्य अपरिचित व्यक्तिहरूसँग झगडा गर्न थालेकाले प्रतिवादी गगनबहादुर पुनले यो प्रविण अरूले भन्दा बढी रक्सी पनि खाने, झगडा पनि गर्ने र भनेको पनि नमान्ने भनी निजसँग रिसाई निजलाई कुटपिट गरी फालिदिने मनसायले प्रतिवादीहरूमध्येका गगनबहादुर पुन र केशव कुँवरले जाहेरवालाका छोरा प्रविण श्रेष्ठलाई पाल्पा सिद्धबाबा मन्दिरअगाडि सिद्धार्थ राजमार्गको सडकछेउमा लगी कुटपिट गरी भिरबाट तिनाउ खोलामा खसाली कर्तव्य गरी मारेकाले मु.ऐन ज्यानसम्बन्धी महलको १ नं.को कसुरमा सोही महलको १३ (३) नं. बमोजिम निजहरूलाई सजाय गरी अन्य प्रतिवादीहरू खुमबहादुर कुँवर, बुद्धि वि.क., कमल राना र कमल गिरी उक्त कर्तव्य ज्यानको कसुरको वारदात स्थलमा गई रक्सी सेवन गरी लट्ठ परेका प्रविण श्रेष्ठको सुरक्षामा ध्यान नदिएको र प्रविण श्रेष्ठ हराएको कुरासमेत थाहा हुँदाहुँदै खोजतलासमा समेत ध्यान नदिई झारा टार्ने काम मात्र गरी मृतकको घर परिवारलाई जानकारीसमेत नदिई ज्यान मार्ने मराउने कार्यमा मतलबमा पसेका मतियार भएकोले निजहरूलाई मु.ऐन ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिमको कसुरमा सोही १७(३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
मिति २०६६।६।२६ गते बुटवलमा साथी केशव कुँवरलाई बोलाई साँझ करिब ६:०० बजेतिर मेरो घर मोतीपुरतर्फ गई मोतीपुरको होटलमा जाँदा बुद्धि वि.क., कमल गिरीसमेतका साथीहरू पनि त्याहाँ आएकाले हामी सबै सातै जनाले बियर र मासु खाई करिब ९.०० बजेतिर बुटवल मिरमिरे दोहोरी साँझमा जाने सल्लाह भई हामी सबै बुटवल आएका हौं । त्यसरी मिरमिरे दोहोरी साँझमा आई बियर खान थालेकोमा सबैले खाँदै गरेको अवस्थामा प्रविणले त्यहाँ नाचिरहेका व्यक्तिलाई हानेको र निजले बियरको बोतल हल्लाउँदा सो होटलमा खानपिन गरेका अन्य व्यक्तिहरूलाई समेत असर परेको थियो । निजले हल्ला गरेका हुँदा सोही दोहोरी साँझका होटल एकाउन्टेन्टले तपाइँको साथीले हल्ला गर्न थाले, तपाइँहरू यहाँबाट जानुहोस् भनेकाले अरू साथीहरूले प्रविणलाई तल झारेँ । मैले बिल भुक्तानी गरी तल झरेको हुँ । प्रविणले मसँग दाइ म आज घर जान्न । ठुली आमाको घरमा गोलपार्क जान्छु भनेकाले मेरो गाडीमा सबैजना बसी गोलपार्क आउँदै गर्दा सबै साथीहरूले सिद्धबाबा गएर आउँ भनेकाले निजलाई गोलपार्क नओराली सिद्धबाबातर्फ आएको हो । तल्लो सिद्धबाबा चौपारीनजिक गाडी रोकी केशव कुँवर र म अगाडिबाट तल झर्यौ । पछाडिका ५ जना साथीहरू खुमबहादुर, कमल राना, बुद्धि वि.क., प्रविण श्रेष्ठ र कमल गिरी गाडीबाट पछाडि झरी पिसाब फेर्न थाले । प्रविण र कमल गिरी छुट्टै गफ गरी बसेका थिए । केही समयपछि जाउँ भनी कमल रानाले भनेपछि हामी ६ जना गाडीमा चढ्यौं । प्रविण गाडीमा नआएकाले सबैजना भई प्रविणलाई खोजी गर्दा नदेखेपछि हामीले प्रविण श्रेष्ठ ठुलीआमाको घरमा गयो होला भनी गाडी चढी मोतीपुरमा आयौं । केशव र म केशव कुँवरको घरमा आई बसेका हौं । अरू ४ जना साथीहरू आ-आफ्नो घरमा गएका हुन् । मैले प्रविण श्रेष्ठलाई मारेको होइन । जाहेरी बेहोरा झुठा हो । प्रविण श्रेष्ठलाई को को मिली हत्या गरेका हुन्, सो मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी गगनबहादुर पुनले सुरू अदालतमा गरेको बयान ।
मिति २०६६।६।२६ गते साँझ मोतीपुरको होटलबाट हामी सातै जना भई बुटवल मिरमिरे दोहोरी साँझमा करिब ९:३० बजेतिर आएको हौ । त्यहाँ मृतक प्रविणले बियर खाई अन्य व्यक्तिहरूलाई बियर छ्यापेकाले नचिनेका व्यक्तिहरूले प्रविणलाई पिट्न थालेकाले हामीले निजलाई तल झारेको हो । निजको शरीरबाट रगतसमेत आएको थियो । मैले मिरमिरे दोहोरी साँझ बुटवलमा धेरै रक्सी खाएकोले धेरै नशा लागेको थियो । म त्यहाँबाट गगनले चलाएको गाडीमा चढेको हो । गाडीमा घर जाने हो भनी चढेकोसम्म थाहा पाउँछु । त्यसपछि अन्य केही कुरा थाहा पाएको थिइन । राति करिब १:०० बजेतिर मात्र मोतीपुर गई त्यहाँ गएको थाहा पाएको हो । सिद्धबाबा गएको, गाडीबाट झरेकोसमेत केही थाहा मैले पाइनँ । सिद्धबाबामा के के भयो ? सो मलाई केही थाहा छैन । मैले प्रविण श्रेष्ठलाई कर्तव्य गरी मारेको होइन, ममाथि लागेको अभियोग झुठा हो । म निर्दोष छु प्रविणलाई कसले मारेको हो सोबारे मलाई केही थाहा नभएकाले मलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी केशव कुँवरले सुरू अदालतमा गरेको बयान ।
मिति २०६६।६।२६ गते साँझ मोतीपुर होटलबाट हामी सबैजना प्रतिवादी र मृतकसमेत ७ जना भई मोतीपुरको होटलबाट बुटवलको दोहोरी साँझमा बेलुका ९:३० बजेतिर गएका हौं । त्यहाँ मृतक प्रविण श्रेष्ठले बियर खाई बोतल हल्लाई अर्को ग्रुपको मान्छेलाई बियर छर्केका हुँदा निजसँग झगडा भई नचिनेका व्यक्तिहरूले पिटेकाले हामीले प्रविणलाई तल झारेका हौं । निजको शरीरबाट रगतसमेत आएको थियो । मिति २०६६।६।२६ गते हामी बुटवल दोहोरी साँझबाट सिद्धबाबा आई घर जाने क्रममा राति भएकाले सो रात प्रविणको बारेमा कतै जानकारी दिइएन । अर्को दिन हामी सबै प्रविणलाई खोज्न गएको हो । जाहेरवालाको घर मेरो घर नजिकै पर्छ । प्रविणसँग मेरो कुनै रिसइवी थिएन । को को मिली हत्या गरेको हो सो मलाई केही थाहा छैन । सिद्धबाबा आउँदा प्रविणलाई धेरै रक्सी लागेको थियो । त्यहाँको बाटोमा पनि ढुङ्गा ढुङ्गा थियो । रक्सीको नसामा प्रविण आफैँ लडी मरेको हुनसक्छ । हामीले निजलाई मारेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी खुमबहादुर कुँवरले सुरू अदालतमा गरेको बयान ।
मोतीपुर होटलबाट हामी सातै जना भई मिति २०६६।६।२६ गते साँझ करिब ६:०० बजेसम्म मासु रक्सी खाई बुटवल दोहोरी साँझमा साँझ करिब ९:३० बजेतिर आएको हौं । त्यहाँ मृतक प्रविणले बियर खाई एक हातमा बियर लिई त्यहाँ नाचिरहेका अन्य व्यक्तिहरूलाई बियर छ्यापेकाले नचिनेका व्यक्तिहरूले प्रविणलाई पिट्न थालेकाले हामीले निजलाई तल झारेको हो । निजको शरीरबाट रगतसमेत आएको थियो । दोहोरी साँझको नाम मलाई थाहा भएन । प्रविण श्रेष्ठ र मेरो कुनै रिसइवी थिएन । मिति २०६६।६।२६ गते राति हामी सिद्धबाबाबाट घरमा गई सुतेका हौं । भोलिपल्ट बिहान मैले प्रविणको बारेमा निजको माइजू र अरू गाउँका मानिसहरूलाई भनेको हो । प्रविण श्रेष्ठलाई को को मिली मारे मलाई थाहा छैन । प्रविण सिद्धबाबा पुग्दा रक्सी बढी लागेको थियो । प्रविण अरू केटाहरूसँग लड्दा निजको टि-सर्टमा रगत लागेको थियो । मैल प्रविणलाई मार्नेसम्मको कुनै पनि काम नगरेकाले न्याय पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी बुद्धि वि.क. ले सुरू अदालतमा गरेको बयान ।
हामी प्रतिवादीहरू सातै जना भई मिति २०६६।६।२६ गते मोतीपुर चोकमा रहेको साबित्री कुँवर भन्ने दिदीको होटलमा मासु किनी त्यहीँ पकाई मासु, लोकल रक्सी र भुजा खाई सबै जनाले साँझ बुटवल मिरमिरे दोहोरी साँझमा जाने भन्ने सल्लाह गरी साँझको करिब ९:०० बजेतिर गगनको गाडीमा चढी मिरमिरे दोहोरी साँझ बुटवलमा आएका हौ । त्यहाँ मृतक प्रविणले बियर खाई अन्य व्यक्तिहरूलाई बियर छ्यापेकाले नचिनेका व्यक्तिहरूले प्रविणलाई पिट्न थालेकाले हामीले निजलाई तल झारेको हो । निजको शरीरबाट रगतसमेत आएको थियो । दोहोरी साँझमा प्रविणको अन्य नचिनेका व्यक्तिहरूसँग झगडा भएको र सर्ट तानातानसमेत भएको हो । प्रविणले म घर जान्न गोलपार्क ठुलो बाबाको घरमा जान्छु भनेकाले प्रविण श्रेष्ठलाई हामीले गोलपार्कतर्फ जाँदै गर्दा प्रविणले सिद्धबाबा जाउँ भनेकाले हामी गाडी लिई सिद्धबाबा गएको हो । रातको करिब ११:०० बजेको समय भएकाले हामी १५/२० मिनेट मात्र त्यहाँ बसी घर जान भनी गाडीमा बसेपछि प्रविणलाई नदेखी खोजेको हो । उसलाई नदेखेपछि प्रविण ठुलो बाबाको घरमा गयो होला भनी हामी आ-आफ्नो घरतिर गएका हौं । प्रविणलाई हामीले मारेको होइन । हामीले भन्दा प्रविणले रक्सी धेरै खाएका थिए । हामीले उसलाई मार्ने भए दोहोरी साँझबाट निजलाई अरूको पिटाइबाट बचाई लग्ने थिएनौं । धेरै रक्सी खाएकाले प्रविण आफैँ सिद्धबाबामा लडेर मरेको होला भन्नेसमेत बेहोराको प्रतिवादी कमल रानाले यस अदालतमा गरेको बयान ।
मिति २०६६।६।२६ गते दिउँसो म मोतीपुरको पसलमा भैलोमा बजाउने डेग बनाउन आएको थिएँ । त्यहाँ सबै साथीहरू भेट भएकाले होटलबाट हामी सातै जना भई बुटवल मिरमिरे दोहोरी साँझमा करिब ९:३० बजेतिर आएको हौं । त्यहाँ मृतक प्रविणले बियर खाई अन्य व्यक्तिहरूलाई विचार छ्यापेकाले नचिनेका व्यक्तिहरूले प्रविणलाई पिट्न थालेकाले हामीले निजलाई तल झारेको हो । निजको शरीरबाट रगतसमेत आएको थियो । प्रविणलाई मसमेतले कर्तव्य गरी मारेको होइन । मिरमिरे दोहोरी साँझ बुटवलमा रक्सी बियर खाँदै नाच्ने गर्दा प्रविण श्रेष्ठको अन्य व्यक्तिहरूसँग झगडा भई कुटपिटसमेत भएको थियो । त्यसपछि हामी होटलबाट हिँडी हावा खान भनी सिद्धबाबा गएकोमा सिद्धबाबाबाट घर जाउँ भनी फर्कने क्रममा प्रविण हराएका हुन् । निज प्रविणलाई मसमेतले कर्तव्य गरी मारेको होइन । प्रविणलाई धेरै रक्सी लागेकाले आफैँ भिरबाट अप्ठ्यारो ठाउँमा झुक्किएर लडी मरेको हो । प्रविणको अरू कुनै कारणबाट मृत्यु भएको होइन । म निर्दोष छु मैले अभियोग माग दाबीबमोजिम सजाय पाउनुपर्ने होइन । निज प्रविण अन्य के कारणले मरे मलाई केही थाहा भएन । गगन र केशवले धकेलेर प्रविणलाई मारेको पनि होइन । मेरो प्रविणसँग कुनै रिसइवी पनि थिएन भन्नेसमेत बेहोरा प्रतिवादी कमल गिरीले सुरू अदालतमा गरेको बयान ।
तत्काल प्राप्त आधार र प्रमाणहरूबाट प्रतिवादीहरूमध्ये गगनबहादुर पुन र केशव कुँवरले मृतकलाई वारदात स्थल भिरमा लगी धकेली कर्तव्य गरेको अवस्था समर्थित हुन आएकोले यी प्रतिवादीहरूको हकमा थुनछेक प्रयोजनको लागि मुलुकी ऐन, अ.ब. ११८ को देहाय (२) नं. आकर्षित हुने हुँदा मुद्दा पुर्पक्षको लागि नियमानुसार सिधा खान पाउने गरी जिल्ला कारागार कार्यालय पाल्पामा थुनामा राख्न थुनुवा पुर्जी दिनू । प्रतिवादीहरूमध्ये खुमबहादुर कुँवर, बुद्धि वि.क, कमल राना र कमल गिरीका हकमा निजहरूको बयानमा मृतकसँग रिसाएका गगनबहादुरले केशवलाई साथ लिई के-कस्तो तरिकाले गायब गरे भन्ने कुरा गुमराहमा राखेको तथा मृतकको संरक्षकलाई मृतक हराएको जानकारीसमेत नगराएको देखिँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई मुलुकी ऐन, अ.ब.११८ को देहाय (५) र (१०) नं. बमोजिम जनही रू.२५,०००।- अक्षेरूपी पच्चिस हजार वा सो बराबरको जेथा जमानत माग गर्नू । सो धरौटी जमानत निजहरूले दिए निजहरूलाई मुद्दा पुर्पक्षका लागि धरौटी तारेखमा राख्नु र सो धरौटी जमानत दिन नसके नियमानुसारको सिधा खान पाउने गरी जिल्ला कारागार कार्यालय पाल्पामा थुनामा राख्न थुनुवा पुर्जी दिई पठाइदिनू । साथै प्रस्तुत वारदातमा प्रयोग भएको लु.१च.१६६७ नं. को भ्यान जिन्सीमा आम्दानी बाँध्नु र वादी प्रतिवादीको साक्षी बुझी नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०६६।०७।२५ गतेको सुरू पाल्पा जिल्ला अदालतको आदेश ।
प्रतिवादी गगनबहादुरसमेतका मैले नचिनेका ६/७ जनाको ग्रुप मैले काम गर्ने दोहोरी साँझमा रातको ९:४५ को समय आई रक्सी वियर अडर गरी खाएका हुन् । केही समय नाचगान गरेका हुन् । निजहरूमध्येका एक जनाले वियरको पिचकारी लगाउँदा अन्य मानिसलाई लाग्न गई झगडासमेत हुन लागेको थियो । दुवैतर्फका साथीहरूले निजहरूलाई छुट्याएर पछि रातको १०:५ बजेतिर निजहरू भ्यानमा चढी ट्राफिक चोकतिर गएका हुन् । प्रमोद भन्ने व्यक्ति र मृतक प्रविणको दोहोरी साँझमा सामान्य झगडा भएको थियो भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी कागज गर्ने बाबुराम पौडेलले सुरू अदालतमा गरेको बकपत्र ।
मेरो होटल मोतीपुरमा निज प्रतिवादीहरूसमेतका ५ जना आई वियर मासु खाएका हुन् । खाना खाइसकेपछि मर्ने भाइ प्रविण र गगनको झगडा भई गगनले मर्ने भाइलाई एक थप्पड हानेका हुन् । पछि दुवै जना मिली दुवैले वियर खाई भ्यानमा चढी हिँडेका हुन् । प्रविणको मृत्यु कसरी भयो थाहा भएन भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी सावित्री कुँवरले सुरू अदालतमा गरेको बकपत्र ।
मृतक र प्रतिवादीहरूसमेत भई मिति २०६६।६।२६ गते मोतीपुरमा नास्ता खाई सोही मितिको साँझ बुटवलमा दोहोरी साँझबाट पुन: सिद्धबाबातर्फ आई भ्यान रोकी पिसाब फेर्न भनी भ्यानबाट ओर्लेछन् । भ्यानको अगाडि २ जना र पछाडि मृतकसमेत ५ जना पिसाब फेर्न लागेछन् । पिसाब फेरिसकेपछि केहीबेर त्यहाँ बसी घरलाई फर्कन लाग्दा प्रविणलाई फेला नपारेपछि प्रतिवादीहरूले प्रविणलाई खोजेछन् । खोज्दा पनि फेला नपारेपछि प्रविणले दोहोरी साँझबाट निस्कँदा ठुलोबाबाको घरमा जान्छु, आज म घरमा जान्न भनेको रहेछ । त्यसैले प्रविण ठुलो बाबाको घर गोलपार्क गए होला भनी प्रतिवादीहरू घरतर्फ लागेका रहेछन् । मृतक प्रविण आफैँ लडेर मृत्यु भएजस्तो लाग्छ । प्रतिवादीको कर्तव्यबाट मृतक प्रविणको मृत्यु भएको होइन । मृतकको मृत्यु मैले गाउँमा छलफल भएको आधारमा थाहा पाएको हो । सँगै खानपिन गरेर मोतीपुरबाट हिँडेको सँगै दोहोरी साँझ गएको आधारमा प्रतिवादी कमलसमेतको नाम किटान गरेको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी कमल गिरीको साक्षी गोपाल गिरीले सुरू अदालतमा गरेको बकपत्र ।
वारदातको साँझमा सबै प्रतिवादीहरू मोतीपुर साबित्री कुँवरको होटलमा नास्ता पानी गरी मेरो छोरा प्रविण श्रेष्ठ र प्रतिवादीहरू बुटवल दोहोरी साँझमा गएका र दोहोरी साँझमा प्रतिवादीहरूले मेरो छोरालाई धक्का मुक्का गरी कुटपिट गरेका रहेछन् । त्यसपछि सिद्धबाबा गई पिसाब फेर्न भनी झरिसकेपछि अरू सबै जना प्रतिवादीहरू फर्केका र मेरो छोरा नफर्केकोमा पछि सिद्धबाबाको सडकदेखि २०० मिटर तल मेरो छोराको लास फेला परेको थियो । मेरो छोरालाई प्रतिवादीहरूले नै कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको साक्षी जाहेरवाला केशवलाल श्रेष्ठले सुरू अदालतमा गरेको बकपत्र ।
वारदातको साँझ गाउँको स्थानीय होटलबाट बुटवलको दोहोरी साँझमा मृतक र प्रतिवादीहरूसगै गएका र दोहोरी साँझबाट प्रतिवादी र मृतकसमेत ७ जना भई सिद्धबाबातर्फ भ्यानमा चढी गएका रहेछन् । सिद्धबाबानजिक पुगेपछि पिसाब फेर्न झरेको अवस्थामा यी प्रतिवादीहरू सबै जना मिली सडकको डिलबाट मृतकलाई खोलामा फाली कर्तव्य गरी मारेका हुन् । सँगै गएको साथी मृतक नफर्किएपछि प्रतिवादीहरूले कुनै खबर नगरी ढाकछोप गरी बसेकाले यी प्रतिवादीहरूले नै कर्तव्य गरी मृतकलाई मारेको हुनुपर्छ भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी वस्तुस्थिति मुचुल्काका संजय कुमार उदासले गरेको बकपत्र ।
प्रतिवादी गगनसमेतहरूले मृतक प्रविण श्रेष्ठले हत्या गरको होइनन् । अभियोग मागदाबी झुठा हो । प्रतिवादी गगन र मृतकबिच पूर्व रिसइवी थिएन । प्रतिवादीहरूले अभियोग मागदाबीबाट सफाइ पाउनुपर्ने हो । घटना भएको दिन गगनको गाडीमा सिद्धबाबा पुगेपछि पिसाब फेरी फर्कने बेला गगनसमेतका व्यक्तिहरूले प्रविणलाई खोजेको रहेछन् र नभेटेपछि गगनसमेतका व्यक्तिहरू घरतर्फ फर्केका रहेछन् । यस्तो अवस्थामा निज मृतकको मृत्यु लडेर मृत्यु भएको हुन सक्छ । प्रतिवादी गगन, केशवसमेतका प्रतिवादीहरू निर्दोष हुन् । अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी गगन पुनको साक्षी कृष्ण गलामीले सुरू अदालतमा गरेको बकपत्र ।
खुमबहादुर कुँवर राम्रो चालचलनका मान्छे हुन् । प्रविण श्रेष्ठले जाँड खाई आफैँ लडेको हुन् । निजले जाँड निकै खाएका थिए भन्ने सुनेको हुन् । निजको मृत्यु लडेरै भएको हो भन्ने सुनेको हुम् र प्रहरीमा कागज गर्नेले (गलत) झुठ्ठा लेखाइदिएका हुन् । मृतक प्रविण र प्रतिवादी खुमबहादुरबिच केही रिसइवी थिएन राम्रो साथी भाइ हुन् । सधैँ राम्रोसँग साथ सँग गर्ने साथी हुन्, थिए भन्नेसमेत बेहोराको प्रतिवादी खुमबहादुर कुँवरको साक्षी गोमान सिंह कुँवरले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू र मृतकले मोतीपुर होटलमा सँगै नास्ता खाने, दोहोरी साँझ बुटवलमा समेत सँगै गइसकेपछि सँगै मृतकलाई घरमा ल्याउनुपर्नेमा योजनाबद्ध ढङ्गले सिद्धबाबातर्फ ल्याई कुटपिट गरी तिनाउ खोलामा फालेकाले यी प्रतिवादीहरूले नै कर्तव्य गरी मृतकलाई मारेका हुन् । प्रहरीसमक्ष गरेको कागजको करिब १ महिनापछि म मृतकको घरमा जाँदा प्रतिवादीहरूको तर्फबाट विभिन्न प्रलोभनहरू देखाई केस मिलाप गर्न आग्रह गरेकोले के प्रस्ट हुन्छ भने विना गल्ती अथवा विना कसुर मिलापत्र गर्न खोज्दैनन् त्यसैले प्रविण श्रेष्ठको मृत्यु गगनसमेतका ६ जना व्यक्तिले गरेको हुन् भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी वस्तुस्थिति मुचुल्काका सुजन घिमिरेले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी केशवसमेतले मृतकलाई मारेका होइनन् । निजले सफाइ पाउनुपर्छ । मृतक प्रविणको मृत्यु रक्सी खाएर आफैँ सिद्धबाबाको भिरबाट लडेर भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी केशव कुँवरको साक्षी देऊ कुमारी कुँवरले सुरू अदालतमा गरेको बकपत्र ।
सबै गाउँलेहरू जम्मा भई निज प्रतिवादीहरूलाई समेत निज मृतक पिसाब फेर्न जाँदा रक्सीको सुरमा लडेर मरेको हुनुपर्छ भनेकोले सोही आधारमा थाहा पाई भनेको हुँ । निजको मृत्यु प्रतिवादीहरूको कर्तव्यबाट भएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी कमल रानाको साक्षी श्यामबहादुर रानाले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी राम्रो चालचलनका भएका व्यक्ति हुन् । मृतकले रक्सी खाई मातेका हुँदा आफैँ सिद्धबाबाको भिरबाट लडेर निजको मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादी बुद्धि वि.क.को साक्षी दलबहादुर सुनारले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू गगनबहादुर र केशवबहादुरले प्रविण श्रेष्ठलाई दोहोरी रेष्टुरेन्टबाट ठुलाबाबाको घर गोलपार्क लैजान भनी गाडीमा राखी गोलपार्क नगई सिद्धबाबाको मन्दिर भएको ठाउँमा लैजानु यी प्रतिवादीहरूको आपराधिक मानसिकता देखिन्छ । होटलकी साहुनी सावित्री कुँवरले गरेको बकपत्र, अनुसन्धानको क्रममा कागज गर्ने सन्जयकुमार दास र सुजन घिमिरेले गरेको बकपत्र जाहेरवालाको बकपत्र, लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन घटनास्थलमा लिएको नमुना रगत र गगनबहादुरको गाडीमा फेला परेको मृतकको रगत लागेको टी-सर्टसमेतको परीक्षणसमेतबाट यी प्रतिवादी गगनबहादुर केशवबहादुरलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम जनही सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । यी प्रतिवादीहरू र मृतकबिच ज्यान लिनुपर्नेसम्मको पूर्वरिसइवी र अन्य कारण देखिँदैन । घटना क्रममा घातक हतियारको प्रयोग नभएको एवं रक्सी बढी लागेको, मृतकसँग पहरा भीर भएको स्थानमा वादविवाद झगडा हुँदा वारदात घटेको परिस्थितिसमेतबाट प्रतिवादीहरलाई ठहरेबमोजिम सजाय गर्दा चर्को हुन जाने भई घटी सजाय न्यायिक चित्तले देखेकोले निज प्रतिवादीहरूलाई १० वर्ष कैद गर्दा न्यायिक मकसद पूरा हुने ठानी १० वर्ष कैद गर्न राय दिएको छु । ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिमको अभियोग माग दाबी भएका प्रतिवादीहरू खुमबहादुर कुँवर, बुद्धि वि.क., कमल राना र कमल गिरी वारदात स्थलमा मौजुदा रही सहप्रतिवादी गगनबहादुर पुन र केशव कुँवरले साथमा लगेका मृतकलाई मरे बाँचेको यकिन गर्ने भरमगदुर प्रयास गरी खोजतलास गरेको नपाइएको, घटनाको यथार्थलाई खुलेर व्यक्त नगरी वारदातलाई सन्देहजनक बनाउन प्रयास गरेकोबाट मतलबमा पसेको देखिँदा निजहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम जनही ६ महिना कैद हुने ठहर्छ भन्ने बेहोराको सुरू पाल्पा जिल्ला अदालतको मिति २०६८।१।२५ को फैसला ।
हामीसँगै गएका मृतक प्रविण रातिमा हराउँदैमा शंकाको भरमा हामीले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७(३) नं.को कसुर गरेको भन्न मिल्दैन । हामी प्रतिवादीहरूले मृतकलाई भीरबाट धकेली दिइ कर्तव्य गरी मार्ने सोँचसम्म राखेको भए भ्यान रोकेको ठाउँ तल्लो सिद्धबाबा मुनिदेखि अन्दाजी २०० मिटर उत्तरतर्फ माथिबाट ढुङ्गा खसिरहने भिरको बाटोको पश्चिम किनारमा रहेको बिजुलीको पोलको फेददेखि ३० फिट उत्तरतर्फ रहेको पानी बग्ने कलभर्टको दक्षिणतर्फ लगी खोल्सामा धकेलिदिने प्रश्न नै रहँदैन । किनभने त्यो ठाउँबाट सिधै मानिस तल तिनाउमा नझरी बिचैमा अड्की बाँच्ने सम्भावना रहन्छ । घटनाक्रम तथा मृतकको लास प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टमा उल्लिखित प्रविणका चोटहरू मृतक प्रविण श्रेष्ठ प्रमोद भन्ने व्यक्तिसँग मिर्मिरे दोहोरी साँझमा नाच्दा ठोकिई भुइँमा लड्दा तथा निज प्रमोद भन्नेसमेतसँग झगडा गर्दा र हामीलाई थाहा जानकारी नदिई आफैँ तल्लो सिद्धबाबादेखि करिब २०० मिटर उत्तरतर्फ गई सडकबाट तिनाउतिर खस्दा लागेको चोट होइन । जाहेरवालाले अदालतसमक्ष बकपत्र गर्दा स.ज.९ मा प्रतिवादीहरूले मृतकलाई कुटपिट गरे भन्ने कुरा अनुमानको आधारमा भनेको हो भनी बकपत्र गरेको हुँदा सुरू फैसला बदर गरी अभियोग माग दाबीबाट हामीलाई फुर्सद दिलाई न्याय पाउँ भन्ने प्रतिवादी खुमबहादुर कुँवर, बुद्धिबहादुर वि.क. कमल सुनार र कमल गिरीको पुनरावेदन अदालत बुटवलमा पेस गरेको पुनरावेदन पत्र ।
घटनास्थल तथा मृतकको लास प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टमा उल्लिखित मृतक प्रविण श्रेष्ठका चोटहरू हाम्रो कारणले नलागी प्रमोद भन्ने व्यक्तिसँग मिर्मिरे दोहोरी साँझमा नाच्दा ठोक्किई भुइँमा लड्दा तथा निज प्रमोद भन्ने व्यक्तिसँग झगडा गर्दा र हामीलाई थाहा जानकारी नदिई आफैँ तल्लो सिद्धबाबादेखि करिब २०० मिटर उत्तरतर्फ गई सडकबाट तिनाउतिर खस्दा लागेका चोट हुन् भन्ने कुरा मिसिल संलग्न कागजात तथा घटनास्थल प्रकृतिबाट स्पष्ट हुन्छ । हामी सफा नियतले एकछिन चिसो हावा खाने र सबैले पिसाब फेर्ने उद्देश्यले सिद्धबाबा भ्यानमा जाँदैमा हामी कसुरदार हौं भनी अनुमान गर्न मिल्दैन । जाहेरवाला र मृतक प्रविणसँग हाम्रो कुनै पूर्वरिसइवी थिएन । म केशव कुँवरले गगन पुनको भ्यान मिति २०६६/०६/२६ गते दिउँसो चलाउँदैमा मैले प्रविणको कर्तव्य गरेको हो भन्ने मिल्दैन । हामीले मृतकलाई मार्ने मनसाय, तयारी योजनासमेत गरेको भन्ने कुरा मिसिल संलग्न कागजातले पुष्टि गर्दैनन् । हामीले मृतकलाई भिरबाट धकेलिदिने कार्य नगरेको हुँदा घाउबाट रगत बगी shock भई मृत्यु हुँदैमा कर्तव्य गरी मारेका चोट हुन् भनी कल्पना गर्न मिल्दैन । मृतकको टिसर्टमा भेटिएको मानवीय रगत फोटाहरूको आधारमा हामी विरूद्ध प्रमाण लिन मिल्ने होइन । सुरू जिल्ला अदालतले मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम हामीलाई १० वर्ष कैद गर्दा फौजदारी न्यायको मकसद पूरा हुने ठानी राय लेख्दा लिइएका आधारहरूले पनि हामीलाई कर्तव्य ज्यानजस्तो जघन्य कसुर गरेको ठहराउन नमिल्नेमा हामीलाई हराई गरिएको फैसला सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ८ समेतका कानूनको त्रुटिपूर्ण भई बदरभागी रहेको हुँदा सो फैसला बदर गरी अभियोग मागदाबीबाट हामीलाई फुर्सद दिलाइपाउँ भन्ने प्रतिवादीहरू गगनबहादुर पुन र केशव कुँवरको पुनरावेदन अदालत बुटवलमा पेस गरेको पुनरावेदन पत्र ।
गगनबहादुर पुन र केशव कुँवरलाई प्रहरीसमक्ष भएको भिरबाट धकेलिदिएको भन्ने बयानसम्मका आधारमा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम कसुरदार ठहर गरेको सुरू इन्साफ प्रमाण मूल्याङ्कनको दृष्टिले फरक पर्नसक्ने देखिँदा छलफलका लागि अ.बं.२०२ नं. बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय बुटवललाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको आदेश ।
अत्यधिक मादक पदार्थ सेवन गरेको मृतक प्रविण श्रेष्ठलाई प्रतिवादी गगनबहादुर पुन र केशव कुँवरले सो अप्ठ्यारो स्थानमा होस नपुर्याएको कारणले घटना हुन गएको देखिएकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६ नं. को देहाय (२) बमोजिम भवितव्य पर्न गएको देखिँदा पाल्पा जिल्ला अदालतबाट मिति २०६८/१/२५ मा भएको फैसला केही उल्टी भई प्रतिवादीमध्येका गगनबहादुर पुन र केशव कुँवरलाई सोही नं. बमोजिम जनही २ वर्ष कैद र अन्य प्रतिवादीहरू खुमबहादुर कुँवर, बुद्धिबहादुर वि.क., कमल राना र कमल गिरिले मृतक प्रविण श्रेष्ठलाई निजको मृत्यु भएको स्थानमा पुर्याउनमा कुनै भूमिका रहेको नदेखिँदा निजहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भनी मिति २०६९/०३/२४ गते पुनरावेदन अदालत बुटवलको फैसला ।
मिति २०६६/६/२६ गते बेलुकी ६ बजेदेखि हामीसमेतका प्रतिवादीहरू र मृतकसँगै साथमा रही दोहोरी साँझ बन्द भएपछि मात्र दोभान गा.वि.स. र बुटवल नगरपालिकाको सिमाना दोभान गा.वि.स.मा गएको देखिँदैमा उक्त कुरालाई आधार मानी हामीलाई २ वर्ष कैद गर्न मिल्दैन । हामीसमेतले मृतक प्रविण श्रेष्ठलाई मार्नुपर्ने मनसाय रहेको कुरा र घटनामा संलग्नता भएको कुरा मिसिल संलग्न कुनै प्रमाणबाट पुष्टि हुन सकेको नदेखिएको भनी फैसला गर्दा आधार ग्रहण गरिएकोले हामीले होस नपुऱ्याएको भनी भवितव्यतर्फ सजाय गर्न मिल्ने होइन । यसैगरी हाम्रो अदालतको इन्कारी बयानलाई हाम्रा साक्षीको बकपत्र र सह-प्रतिवादीहरूको अदालतको बयानसमेतका मिसिल संलग्न प्रमाणले पुष्टि गरेको अवस्थामा हामीलाई अभियोग मागदाबीबाट सफाइ दिई फैसला गर्नुपर्नेमा हामीलाई दोषी ठहराई दुई वर्ष कैद गर्ने गरी गरिएको पुनरावेदन फैसला सो हदसम्म बदर गरी दिई न्याय दिलाइपाउँ भन्ने बेहोराको प्रतिवादी गगनबहादुर पुन र केशव कुँवरले यस अदालतसमक्ष पेस गरेको पुनरावेदन पत्र ।
मृतक प्रविण श्रेष्ठको पोष्टमार्टम रिपोर्टबाट Hypovolemic and neurogenic shock and injuries including head injury को कारणबाट मृत्यु भएको भन्ने देखिन आएबाट निजको मृत्यु कर्तव्यबाटै भएको भन्ने तथ्य प्रमाणित भइरहेको छ । प्रतिवादी गगनबहादुर पुन र केशव कुँवरले मृतकलाई मिर्मिरे दोहोरी साँझबाट भ्यानमा राखी सिद्धबाबा स्थित सडकमा ल्याई पूर्व झगडाको रिसइवीको कारण मार्ने मनसायले भ्यानबाट कुटपिट गर्दै कपालमा समाती झारी दुवैजना प्रतिवादीहरूले एकआपसमा सल्लाह गरी भिरबाट तिनाउ खोलामा खसालिदिई कर्तव्य गरी मारेको तथ्य पुष्टि भइरहेको छ । प्रतिवादीका परिवारले यस घटनामा आर्थिक प्रलोभनसमेत देखाई माफी गरिदिनुहोस् भनी भनेका हुँदा प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी किटानी बकपत्र गरेको पाइन्छ । मिसिल संलग्न उपर्युक्त प्रमाणहरूलाई गहन रूपमा विश्लेषण नगरी प्रस्तुत वारदातलाई भवितव्य कायम गरी प्रतिवादीहरू गगनबहादुर पुन र केशव कुँवरलाई ज्यानसम्बन्धीको महलको ६ (२) नं. बमोजिम सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ । निज प्रतिवादीहरूले मौकाको साबिती बयानलाई स्वेच्छा विरूद्धको हो भनी अन्यथा प्रमाणित गर्न सकेको अवस्था छैन । जसबाट समेत निजहरूको उक्त साबिती बयानलाई प्रमाण ऐन, २०३१ को दफा ९ (२) बमोजिम प्रमाणको रूपमा ग्रहण गर्नुपर्नेमा सो नगरी उक्त साबिती बयान अन्य प्रमाणबाट पुष्टि नभएको भन्ने आधार लिई गरिएको फैसला स्वतः बदरभागी छ । प्रतिवादीहरू खुमबहादुर कुँवर, बुद्धि वि.क., कमल राना र कमल गिरीलाई ज्यानसम्बन्धीको महलको १७(३) नं. बमोजिम सजाय गर्ने गरेको फैसलालाई उल्टी गरी निज प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ । निज प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको यस अदालतमा दायर भएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीहरूको कसुर स्थापित हुने प्रत्यक्ष प्रमाणको अभाव देखिएको र प्रतिवादीहरूले के कुन कार्य गरेका हुन् भन्ने अवस्था नदेखिएको हुँदा तथ्यगत प्रमाणबेगर कसुरदार ठहर गरेको फैसला प्रमाण मूल्याङ्कनको रोहबाट पुनरावेदन अदालत बुटवलको मिति २०६९।३।२४ को फैसला फरक पर्न सक्ने देखिएको र दोहोरो पुनरावेदन परेको सन्दर्भमा मुलुकी ऐन, अ.बं. २०२ नं. प्रयोजनार्थ परेका पुनरावेदकहरू परस्पर सुनाई वादी नेपाल सरकारको पुनरावेदनको हकमा पुनरावेदन अदालतबाट सफाइ पाउने प्रत्यर्थी प्रतिवादीहरूलाई मुलुकी ऐन, अ.बं. २०२ नं. प्रयोजनार्थ म्याद सूचना जारी गरी हाजिर भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने बेहोराको मिति २०७४।१०।२ को यस अदालतको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरू अध्ययन गरियो ।
यसमा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्त भण्डारीले मृतकको पोष्टमार्टम रिपोर्टबाट Hypovolemic and neurogenic shock and injuries including head injury को कारणबाट मृत्यु भएको भन्ने देखिन्छ । वारदातको दिन यी प्रतिवादीहरूसमेत तथा मृतक प्रविण श्रेष्ठ एउटै गाडीमा बसी दोहोरी साँझमा गएका र मृतक प्रविण श्रेष्ठलाई प्रतिवादी गगनबहादुर पुनले गालामा थप्पड हानेका भनी मोतीपुर होटलकी सावित्री कुँवरले सुरू अदालतमा उपस्थित भई बकपत्र गरेकी देखिन्छ । प्रतिवादीहरू केशव कुँवर तथा गगनबहादुर पुनले मौकामा प्रविण श्रेष्ठलाई भिरबाट खसाली कर्तव्य गरी मारेको तथ्यमा एकआपसमा परस्पर पोल गर्दै साबिती बयान गरेका छन् । सँगै गएको साथी भिरबाट धकेलिई कर्तव्यबाट मरेकोमा निजको खोजतलास नगर्नु एवं त्यसको जानकारी मृतक पक्षका आफन्तलाई नगर्नुबाट निज प्रतिवादीहरूसमेत मृतकलाई कर्तव्य गरी मार्ने कार्यमा मत सल्लाहमा पसेको तथ्य स्वतः प्रमाणित हुन जान्छ । तसर्थ, निज प्रतिवादीहरू गगनबहादुर पुन र केशव कुँवरलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।
यस्तै पुनरावेदक प्रतिवादीहरू गगनबहादुर पुनको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री सुधिज्ञ पन्त र प्रतिवादी केशव कुँवरसमेत सम्पूर्ण प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री पशुपति भण्डारीले जाहेरी दरखास्त आफैँमा निश्चयात्मक प्रमाण होइन, सो जाहेरीलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि गरेको हुनुपर्छ । प्रतिवादीहरू सफा नियतले सिद्धबाबासम्म भ्यानमा जाँदैमा कसुरदार हुन् भनी अनुमान गर्न मिल्ने देखिँदैन । टाउकोमा चोट लाग्नुले यी प्रतिवादीहरूले धकेलेर नै मारेको भन्ने हुँदैन । प्रस्तुत वारदात दुर्घटना हो तर यी प्रतिवादीहरूको कुनै कार्यका कारण भएको भने होइन । यी प्रतिवादीहरूले मृतकलाई मार्नुपर्नेसम्मको कारण पुष्टि हुनसकेको छैन । शंकाको भरमा प्रमाणको विवेचना नै नगरी यी प्रतिवादीहरूकै कारण प्रविण श्रेष्ठको मृत्यु भएको भनी जनही २ वर्ष कैद गर्ने गरी गरिएको तत्कालीन पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण रहेकोले सो हदसम्म उल्टी गरी अभियोग मागदाबीबाट सफाइ दिनुपर्ने भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा, प्रतिवादीहरू गगनबहादुर पुन र केशव कुँवरलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं.को कसुरमा सोही महलको १३ (३) नं. बमोजिम तथा अन्य प्रतिवादीहरू खुमबहादुर कुँवर, बुद्धि वि.क., कमल राना र कमल गिरीलाई ऐ. महलको १७ (३) नं. बमोजिमको कसुरमा सोही १७(३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा सुरू पाल्पा जिल्ला अदालतबाट प्रतिवादीहरू खुमबहादुर कुँवर, बुद्धि वि.क., कमल राना र कमल गिरीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं. बमोजिम जनही ६ महिना कैद हुने तथा प्रतिवादीहरू गगनबहादुर पुन र केशवबहादुर कुँवरलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ (३) नं. बमोजिम जनही सर्वस्वसहित जन्मकैदको सजाय हुने र प्रतिवादीहरू गगनबहादुर पुन र केशवबहादुर कुँवरलाई ठहरेबमोजिम सजाय गर्दा न्यायको रोहबाट चर्को पर्न जाने देखिएकाले मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. बमोजिम निज प्रतिवादीहरूलाई १० वर्ष कैदको सजाय गर्न उपयुक्त हुने रायसहित फैसला भएकोमा पुनरावेदन अदालत बुटवलबाट सो फैसलामा केही उल्टी भई प्रतिवादी गगनबहादुर पुन र केशव कुँवरलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६(२) नं. बमोजिम बमोजिम जनही २ वर्ष कैद हुने र अन्य प्रतिवादीहरू खुमबहादुर कुँवर, बुद्धिबहादुर वि.क, कमल राना र कमल गिरीले अभियोग दाबीबाट सफाइ पाउने ठहरी भएको फैसलामा चित्त नबुझाई प्रतिवादी गगनबहादुर पुन र केशव कुँवरको तर्फबाट आरोपित कसुरबाट सफाइ पाउँ भनी एवम् प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट दोहोरो पुनरावेदन पर्न आई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको देखियो ।
पुनरावेदन अदालत बुटवलबाट भएको उल्लिखित फैसलामा चित्त नबुझाई पुनरावेदक प्रतिवादीहरू गगनबहादुर पुन र केशव कुँवरले देहायका मुख्य जिकिर लिई यस अदालतमा पुनरावेदन गरेको देखिन्छः
वारदातको दिन दोहोरी साँझ बन्द भएपछि मृतक प्रविण श्रेष्ठसँगै हामीहरूसमेत बुटवल नगरपालिका र दोभान गा.वि.स. को सिमानामा गएको देखिँदैमा सोही कुरालाई आधार मानी हामीलाई दोषी करार गरी २ वर्ष कैद गर्न कदापि मिल्दैन ।
हामीले मृतक प्रविण श्रेष्ठलाई मार्नुपर्ने कुनै मनसाय नै नरहेको र वारदातमा हामीहरूको संलग्नता भएको कुरा मिसिल संलग्न कुनै प्रमाणबाट पुष्टि हुन सकेको पनि देखिँदैन । तसर्थ, हामीले होस नपुर्याएको भनी हामीलाई भवितव्यतर्फ सजाय गर्न मिल्दैन ।
हाम्रो अदालतको इन्कारी बयानलाई हाम्रा साक्षीको बकपत्र र अन्य सहप्रतिवादीहरूको अदालतको बयानसमेतका मिसिल संलग्न प्रमाणले पुष्टि गरेको अवस्थामा हामीलाई अभियोग मागदाबीबाट सफाइ दिई फैसला गर्नुपर्नेमा हामीलाई दोषी ठहर्याई दुई वर्ष कैद गर्ने गरी गरिएको पुनरावेदन अदालत बुटवलको फैसला बदर गरिदिई न्याय दिलाइपाऊँ ।
यसैगरी उच्च अदालत बुटवलबाट प्रतिवादीहरूलाई कम सजाय भएको भनी उल्लिखित फैसलामा चित्त नबुझाई पुनरावेदक वादी नेपाल सरकारले देहायका मुख्य जिकिर लिई यस अदालतमा पुनरावेदन गरेको देखिन्छः
प्रतिवादी गगनबहादुर पुन र केशव कुँवरले मृतकलाई मिर्मिरे दोहोरी साँझबाट भ्यानमा राखी सिद्धबाबास्थित सडकमा ल्याई पूर्वझगडाको रिसइवीको कारण मार्ने मनसायले भ्यानबाट कुटपिट गर्दै कपालमा समाती झारी भिरबाट तिनाउ खोलामा खसालिदिई कर्तव्य गरी मारेको तथ्य पुष्टि भइरहेको छ ।
मृतक प्रविण श्रेष्ठको पोष्टमार्टम रिपोर्टबाट Hypovolemic and neurogenic shock and injuries including head injury को कारणबाट मृत्यु भएको भन्ने देखिन आएबाट निजको मृत्यु कर्तव्यबाटै भएको भन्ने तथ्य प्रमाणित भइरहेको देखिन्छ ।
प्रतिवादीका परिवारले प्रस्तुत वारदातमा पीडित पक्षलाई समेत देखाई यी प्रतिवादीहरूलाई माफी गरिदिनुहोस् भनी आर्थिक प्रलोभनमा पार्ने प्रयत्न गरेको हुँदा प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी सुरू अदालतमा बकपत्र गरेकोसमेतका प्रमाणहरूलाई विश्लेषण नगरी प्रस्तुत वारदातलाई भवितव्य कायम गरी यी प्रतिवादीहरू गगनबहादुर पुन र केशव कुँवरलाई कम सजाय गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ ।
निज प्रतिवादीहरूले मौकाको साबिती वयानलाई स्वेच्छा विरूद्धको हो भनी अन्यथा प्रमाणित गर्न सकेको अवस्था छैन । जसबाट समेत निजहरूको उक्त साबिती बयानलाई प्रमाण ऐन, २०३१ को दफा ९ (२) बमोजिम प्रमाणको रूपमा ग्रहण गर्नुपर्नेमा सो नगरी उक्त साबिती बयान अन्य प्रमाणबाट पुष्टि नभएको भन्ने आधार लिई गरिएको फैसला स्वतः बदरभागी छ ।
प्रतिवादीहरू खुमबहादुर कुँवर, बुद्धि वि.क., कमल राना र कमल गिरीलाई ज्यानसम्बन्धीको महलको १७(३) नं. बमोजिम सजाय गर्ने गरेको फैसलालाई उल्टी गरी निज प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ ।
उल्लिखित तथ्य एवं पुनरावेदन जिकिर तथा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता एवम् पुनरावेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरूको बहस सुनी प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूको निरूपण हुनुपर्ने देखिन आयोः
क) मृतकको मृत्यु प्रतिवादीहरूको कर्तव्यबाट भएको हो वा होइन ?
ख) पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ वा छैन ? र पुनरावेदक वादी नेपाल सरकार र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ?
२. अब, पहिलो अर्थात् मृतकको मृत्यु प्रतिवादीहरूको कर्तव्यबाट भएको हो वा होइन ? भन्ने प्रश्नका सम्बन्धमा विचार गर्दा, मिति २०६६।६।२६ गते राति मेरो छोरा वर्ष २० को प्रविण श्रेष्ठ र गगनबहादुर पुनसमेतका ६ जनासमेत भई आफ्नो घरबाट बुटवल दोहोरी साँझमा गएका र निजका साथीहरू घर फर्की गएकोमा निज घरमा नफर्किएकोले खोजतलासको क्रममा जिल्ला पाल्पा दोभान गा.वि.स. वडा नं. ५ स्थित तिनाउ खोलाको किनारमा मृतकको लास फेला परेको हो । घटनाको विवरण बुझ्दै जाँदा विपक्षीहरूको निर्मम कुटपिटले मेरो छोराले लगाएको भेष्ट च्यातिएको अवस्थामा रहेकोबाट निज छोरालाई गगनबहादुर पुनसमेतका प्रतिवादीहरूले कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मृतकका बाबुको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।
३. मिसिल संलग्न कागजात हेर्दा जिल्ला पाल्पा, दोभान गा.वि.स. वडा नं ५ स्थित तिनाउ खोलाको पूर्वी किनार बगरमा उत्तर खुट्टा दक्षिण टाउको गरी घोप्टो अवस्थामा मृतक प्रविण श्रेष्ठको लास रही उक्त लासको टाउकोमा १ इन्च लामो चोट लागी मुखबाट रगत निस्किएको, अनुहारमा ढुङ्गाले दाबी खाल्टो परेको, दायाँ बायाँ खुट्टा, हात र निधारमा दरखरिएको घा चोट, बायाँँ आँखा सुनिएको बन्दसमेत रही शरीर रगताम्यसमेत भएको भन्ने घटनास्थलमा खिचिएको मृतकको फोटोसहितको घटनास्थल तथा लास प्रकृति मुचुल्का देखिन्छ । मृतकको मृत्यु टाउकोको चोटलगायतका (Hypovolemic and neurogenic shock and injuries including head injury) कारणबाट मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदनसमेत देखिन आउँछ । वारदातको दिन यी प्रतिवादीहरू र मृतक प्रविण श्रेष्ठ मिर्मिरे दोहोरी साँझमा गई रक्सी खाई राति अबेर प्रतिवादीहरूमध्ये गगनबहादुर पुनको लु.१च. १७३७ नं. को भ्यानमा मृतक र सबै प्रतिवादीहरू बसी सिद्धबाबाभन्दा केहीमाथि ल्याई गाडी रोकी सबैजना पिसाब फेर्न भनी गाडीबाट झरेको तथ्यमासम्म विवाद देखिँदैन । यसरी राति पिसाब फेर्न झरेका बखत यी प्रतिवादीहरूले प्रविण श्रेष्ठलाई बाटोको डिलबाट तिनाउ नदीमा खसाली कर्तव्य गरी मारेको भन्ने अभियोग दाबी देखिँदा निज प्रविण श्रेष्ठको मृत्यु अभियोग दाबीबमोजिम प्रतिवादीहरूले भिरबाट खसाली भएको हो होइन भन्ने सम्बन्धमा हेर्नुपर्ने देखिन आयो ।
४. सो सम्बन्धमा हेर्दा, फौजदारी मुद्दामा अभियुक्तउपरको कसुर स्थापित हुनका लागि तीन महत्त्वपूर्ण पूर्वावस्था स्थापित भएको हुनुपर्छ । सर्वप्रथम आपराधिक कार्य वा वारदात (Corpus delicti) स्थापित हुनु आवश्यक हुन्छ । वारदातको अस्तित्व (existence of incidence) स्थापित हुन नसकेमा कसुरदारको संलग्नताको प्रश्न उठ्न सक्दैन । ज्यान मुद्दामा केवल लास फेला पर्नु मात्र वारदात स्थापित हुनका लागि पर्याप्त हुन सक्दैन । वारदात स्थापित हुनका लागि मृतकको मृत्यु कर्तव्यबाट भएको तथ्य स्थापित हुनुपर्छ । मृतकको मृत्यु कर्तव्यबाट भएको हो भन्ने तथ्य स्थापित हुन नसकेमा कसुरदारउपर कसुर स्थापित हुने पूर्वावस्था नै नरहने र अभियुक्तउपरको कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहने भएकाले वादी पक्षले नै वारदातको अस्तित्व स्थापित गराउन सक्नुपर्छ ।
५. अभियुक्तउपरको आरोपित कसुर प्रमाणित गर्ने भारअन्तर्गत दोस्रो पूर्वावस्था कसुरदारको पहिचान (identification of accused) गर्नु रहेको हुन्छ । वारदात वा आपराधिक कार्य स्थापित हुनु र अभियुक्तउपरको कसुर पुष्टि हुनु दुई फरक अवस्था हो । वारदात स्थापित भएको पुष्टि भए तापनि वारदातमा आरोपित व्यक्तिको संलग्नता पुष्टि नभएमा अभियुक्तउपरको अभियोग स्थापित हुन सक्दैन । अभियुक्तको पहिचान शङ्कारहित तरिकाले पुष्टि हुनुपर्छ ।
६. अभियुक्तउपरको आरोपित कसुर प्रमाणित गर्ने भारअन्तर्गत अन्तिम वा तेस्रो पूर्वावस्था कसुरदारको वारदातमा संलग्नताको तह वा स्तर (Involvement of accused) को पहिचान गर्नु रहेको हुन्छ । प्रतिवादीहरूको आरोपित कसुरमा संलग्नता भएको पुष्टि भएकै अवस्थामा पनि सबै प्रतिवादीहरूको समानस्तरको संलग्नता नरहेको हुन सक्छ । अदालतले कसुरदारलाई सजाय निर्धारण गर्दा संलग्नताको स्तर, कसुरको गम्भीरता र दोषको मात्राअनुसार समानुपातिक रूपमा गर्नुपर्ने हुन्छ । कसुरदारको व्यक्तिपिच्छेको संलग्नताको स्तर यकिन नगरी गोश्वारारूपमा सजाय ठहर गर्नु फौजदारी दायित्वको वैयक्तिकताको सिद्धान्त (principle of individualized criminal liability) को विपरीत हुन जान्छ । कसुरमा संलग्न जति सबैलाई एकैरूपमा हदैसम्मको चर्को सजाय हुनुपर्ने भन्ने फौजदारी न्यायको सिद्धान्तअनुकूल हुन सक्दैन । यसप्रकार अभियुक्तउपरको कसुर प्रमाणित हुनसक्ने वा नसक्ने प्रश्नको निर्क्यौल वारदातको अस्तित्व, कसुरदारको पहिचान र संलग्नताको स्तर (existence of incidence, identification of accused र involvement of accused) का आधारमा गरिने भएकाले यी पूर्वावस्थालाई फौजदारी न्याय प्रक्रियामा 3Is को सिद्धान्त Principle of 3I’s पनि भन्ने गरिन्छ ।
७. उल्लिखित सिद्धान्तको आलोकमा प्रस्तुत मुद्दाको तथ्य तथा परिस्थितिलाई हेर्दा प्रथमतः मृतक प्रविण श्रेष्ठको मृत्यु कर्तव्यबाट भएको हो वा होइन भन्ने सम्बन्धमा नै यकिन हुनुपर्ने देखिन्छ । सो सम्बन्धमा हेर्दा प्रतिवादीहरूले मौकामा बयान गर्दा आरोपित कसुरमा साबिती भई निज मृतक प्रविण श्रेष्ठलाई भिरबाट तिनाउ खोलामा खसाली कर्तव्य गरी मारेको भनी लेखाएको भए तापनि प्रतिवादी गगनबहादुर पुनले सुरू अदालतमा बयान गर्दा "वारदातको दिन साँझ करिब ६:०० बजेको समयमा मोतीपुरस्थित मोतीपुरको होटलमा प्रविण श्रेष्ठ, बुद्धि वि.क, कमल गिरीसमेतका साथीहरूसमेत सातै जनाले बियर र मासु खाई करिब ९:०० बजेतिर बुटवल मिरमिरे दोहोरी साँझमा बियर खान थालेकोमा प्रविण श्रेष्ठले हो-हल्ला गरेका हुँदा सोही दोहोरी साँझका एकाउन्टेन्टले तपाइँको साथीले हल्ला गर्न थाले, तपाइँहरू यहाँबाट जानुहोस् भनेकाले प्रविणलाई तल झारेको र प्रविणले म आज घर जान्न ठुली आमाको घरमा गोलपार्क जान्छु भनेकाले मेरो गाडीमा सबैजना बसी गोलपार्क आउँदै गर्दा सबै साथीहरूले सिद्धबाबा गएर आउँ भनेकाले निजलाई गोलपार्क नओराली सिद्धबाबातर्फ आएको हो । तल्लो सिद्धबाबा चौपारीनजिक गाडी रोकी केशव कुँवर र म अगाडिबाट तल झर्यौं । पछाडिका ५ जना साथीहरू खुमबहादुर, कमल राना, बुद्धि वि.क., प्रविण श्रेष्ठ र कमल गिरी गाडीबाट पछाडि झरी पिसाब फेर्न थाले । प्रविण र कमल गिरी छुट्टै गफ गरी बसेका थिए । केही समयपछि जाउँ भनी कमल रानाले भनेपछि हामी ६ जना गाडीमा चढ्यौं । प्रविण गाडीमा नआएकाले सबैजना भई प्रविणलाई खोजी गर्दा नदेखेपछि हामीले प्रविण श्रेष्ठ ठुलीआमाको घरमा गयो होला भनी गाडी चढी मोतीपुरमा आयौं । मैले प्रविण श्रेष्ठलाई मारेको होइन" भनी आरोपित कसुरमा इन्कार रही लेखाएको देखिन्छ ।
८. यस्तै अर्का प्रतिवादी केशव कुँवरले सुरू अदालतमा बयान गर्दा "मिति २०६६।६।२६ गते साँझ मोतीपुरको होटलबाट हामी सातै जना भई बुटवल मिरमिरे दोहोरी साँझमा करिब ९:३० बजेतिर आएको हौं । त्यहाँ मृतक प्रविणले बियर खाई अन्य व्यक्तिहरूलाई बियर छ्यापेकाले नचिनेका व्यक्तिहरूले प्रविणलाई पिट्न थालेकाले हामीले निजलाई तल झारेको हो । निजको शरीरबाट रगतसमेत आएको थियो । मैले मिरमिरे दोहोरी साँझ बुटवलमा धेरै रक्सी खाएकोले धेरै नसा लागेको थियो । म त्यहाँबाट गगनले चलाएको गाडीमा चढेको हो । गाडीमा घर जाने हो भनी चढेकोसम्म थाहा पाउँछु । त्यसपछि अन्य केही कुरा थाहा पाएको थिइनँ । राति करिब १:०० बजेतिर मात्र मोतीपुर गई त्यहाँ गएको थाहा पाएको हो । सिद्धबाबा गएको, गाडीबाट झरेकोसमेत केही थाहा मैले पाइनँ । सिद्धबाबामा के के भयो सो मलाई केही थाहा छैन । मैले प्रविण श्रेष्ठलाई कर्तव्य गरी मारेको होइन" भनी लेखाएको देखिन्छ । यस्तै प्रतिवादीहरू खुमबहादुर कुँवर, बुद्धि वि.क., कमल राना र कमल गिरीको बयानले समेत सोही बेहोराको बयान गरेको देखिन्छ । अन्य सहप्रतिवादीहरूले मौकामा र अदालतमा बयान गर्दासमेत आरोपित कसुरमा इन्कार रहेको देखिएको र निजहरूको इन्कारी बयान बेहोरा निजहरूका साक्षीहरूको बकपत्रबाट समर्थित भएको देखिन्छ ।
९. प्रतिवादीहरूको बयानबाट मृतकलगायतका प्रतिवादीहरू बुटवलको दोहोरी साँझबाट निस्किँदा नै धेरै रक्सी खाई बेसुर अवस्थामा रहेका र वारदातस्थलमा पुगी पिसाब फेर्न भनी निस्किँदासमेत नसाले सम्हालिन नसकेको अवस्थामा रहेको देखिन्छ । प्रतिवादीहरूको बयान बेहोरा हेर्दा गाडी रोकी पिसाब फेर्न गएको भनिएको सडकको डिलपट्टि भिर भई सोबाट लडी तल नदी किनारमा पुगिने अवस्थाको वारदात चित्रण देखिन्छ । रातको समयमा नसाको सुरमा सडकको डिलपट्टि हिँड्दा मृतक स्वयम् लड्न सक्ने अवस्थालाई समेत इन्कार गर्न सकिने अवस्था देखिएन ।
१०. प्रतिवादी गगनबहादुर पुनले मौकाको साबिती बयानमा प्रविण श्रेष्ठ गाडीबाट झर्न नमानेकाले कपालमा समाती गाडीबाट तल झारेको र कुटपिट गरी घिसार्दै लगी लास रहेको ठाउँभन्दा माथिबाट तिनाउ खोलातिर धकेलिदिएको भनी उल्लेख गरेको तथा अर्का प्रतिवादी केशव कुँवरले पनि सोही बेहोरा लेखाइदिएकोमा मृतक प्रविण श्रेष्ठसँगै गाडीको पछाडिको सिटमा बसेका कमल रानासमेतका प्रतिवादीहरूको मौकाको तथा अदालतको बयानबाट सो बेहोरा समर्थित भएको देखिएन । प्रतिवादीहरूमध्येका बुद्धि वि.क.ले मौकामा गरेको बयानसमेतबाट प्रतिवादीहरू गगनबहादुर पुन र केशव कुँवर गाडीबाट पहिले झरी गाडीभन्दा अगाडितर्फ गएका तथा निज बुद्धि वि.क. र अन्य प्रतिवादीहरू कमल राना, कमल गिरी र मृतक प्रविण श्रेष्ठ गाडीभन्दा पछाडि बसेको भनी घटना विवरण उल्लेख गरिदिएको देखिन्छ ।
११. प्रतिवादी खुमबहादुर कुँवरको बयानबाट पनि प्रतिवादी गगनबहादुर पुन र केशव कुँवरले मौकामा अनुसन्धान अधिकारीसमक्ष गरेको बयानअनुरूप गगनबहादुर पुनले प्रविण श्रेष्ठलाई गाडीबाट झारी कुटपिट गरी घिसारी अगाडि लगी भिरबाट खसालेको भन्ने देखिन आउँदैन । मृतक प्रविण श्रेष्ठ कमल गिरीसमेतसँग गफगाफ गरी पछाडि नै बसेको भन्ने देखिन्छ । निजहरूको बयानमा त्यसपछि प्रविण श्रेष्ठ कता गए थाहा भएन भन्ने उल्लेख गरेको देखिँदा कमल गिरीहरूबाट छुट्टिई प्रविण श्रेष्ठ लास रहेको स्थलको माथितिर एक्लै गएको भन्ने देखिन आउँछ । जुन कुरा प्रतिवादी गगनबहादुर पुनले अदालतमा गरेको बयान बेहोरासँग मिल्न आउँछ । प्रतिवादी गगनबहादुर पुनले सुरू अदालतमा बयान गर्दा कमल गिरीलगायतका प्रतिवादीहरू तथा मृतक प्रविण श्रेष्ठ गाडीबाट झरी पछाडि गई पिसाब फेर्न थालेका र प्रविण श्रेष्ठ तथा कमल गिरी छुट्टै गफ गरी बसेका भनी लेखाएको बेहोरा अन्य प्रतिवादीहरूले मौकामा अनुसन्धान अधिकारीसमक्ष लेखाइदिएको बयानसँग तादात्म्य कायम हुन आउँछ । मृतकको शरीरमा भिरबाट तल खस्दा घाउ चोट लाग्ने अवस्थाको भएको एवम् मिर्मिरे दोहोरी साँझमा नै मृतक प्रविण श्रेष्ठ र अन्य अपरिचित व्यक्तिबिच हानाहान हुँदासमेत मृतक रगतपिच्छे भई शरीरमा रगत लागेको भन्ने मिसिलबाट खुल्न आउँदा निजको शरीरमा लागेको घाउचोटकै आधारमा मात्र यी प्रतिवादीहरूले मृतकलाई भिरबाट खसाली मारेको भनी निष्कर्षमा पुग्न मिल्ने अवस्था देखिएन । अपितु मिसिल संलग्न लास जाँच प्रकृति मुचुल्का तथा लासका फोटोहरू हेर्दासमेत पिच सडकमा घिसारी लतार्दा हुनसक्ने छाला खुइलिएको, ददारिएको घाउ चोटको प्रकृति देखिन नआउँदा प्रतिवादी गगनबहादुर पुनले गाडीबाट झारी कुटपिट गर्दै परसम्म लतार्दै भिरबाट खसालेको भन्ने मौकाको साबिती बयान मिसिल संलग्न स्वतन्त्र प्रमाणबाट समर्थित हुन सकेको देखिएन ।
१२. मृतकको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण Hypovolemic and neurogenic shock and injuries including head injury अर्थात् टाउकोको चोट भनिए पनि यी प्रतिवादीहरूले भिरबाट खसालिदिएको कारणले नै उक्त चोटहरू लाग्न गएको भनी भन्न सकिने कुनै आधार पाइएन । यस अतिरिक्त प्रतिवादीहरूले मृतकलाई मार्नुपर्नेसम्मको कुनै कारण मिसिलबाट देखिन आउँदैन । मृतक र प्रतिवादीहरू सँगसाथ दोहोरी साँझ तथा अर्को एक होटलमा गई सँगै नाचगान खानपिन गरेको भन्ने देखिन्छ । मृतकले खाएको बिल भुक्तानीसमेत प्रतिवादी गगनबहादुर पुनले गरेको देखिएको छ । मृतकले मिर्मिरे दोहोरी साँझमा रक्सीले माती हो-हल्ला गर्दा यिनै प्रतिवादीहरूले छुट्याई तल झारी आफ्नै गाडीमा राखी घर पुर्याउन हिँडेको देखिन्छ । उक्त तथ्य वादी नेपाल सरकारका साक्षी बाबुराम पौडेल र सावित्रा कुँवरले सुरू अदालतमा गरिदिएको बकपत्रबाट समेत पुष्टि हुन्छ । मृतकका पिता जाहेरवाला केशवलाल श्रेष्ठले सुरू अदालतमा बकपत्र गर्दा पनि निजहरूबिच ज्यान लिनुपर्नेसम्मको कुनै रिसइवी नभएको र अनुमानको आधारमा निजहरूउपर जाहेरी दिएको भनी लेखाइदिएको देखिन्छ ।
१३. प्रतिवादीहरूले प्रविण श्रेष्ठ गाडीमा चढे नचढेको यकिन नगरी त्यहीँ छाडी हिँडेका कारण निजहरूले प्रविण श्रेष्ठलाई भिरबाट खसाली मारेका हुन् भनी निष्कर्षमा पुग्नलाई पनि प्रतिवादी गगनबहादुर पुन र केशव कुँवर अगाडिको सिटमा बसेका र पछाडिको सिटमा को को बसे नबसेको भन्ने सम्बन्धमा यकिन नगरेको देखिन आउँछ । मृतकले प्रतिवादीहरूलाई गोलपार्कमा ठुलो बाबाको घरमा बस्छु भनेकोमा जाहेरवालाको बकपत्रबाट निजको दाजुको घर गोलपार्कमा रहेको भन्ने पुष्टिसमेत भएबाट प्रतिवादीहरूले मृतक आफ्नो ठुलोबाबाको घर गोलपार्कमा जान झरी हिँडेको हुनसक्ने विश्वास गर्न सक्ने परिस्थितिसमेतलाई मध्यनजर गर्दा प्रतिवादीहरूले मृतक गाडीमा चढे नचढेको यकिन नगरी छाडी हिँडेको कारणबाट मात्र निजहरूले नै कर्तव्य गरी मारेको भनी निष्कर्षमा पुग्न मिल्ने अवस्था पनि देखिएन ।
१४. फौजदारी कसुरमा अभियुक्तउपरको कसुर वादीले प्रमाणित गर्नुपर्छ । प्रमाण ऐन, २०३१ को दफा २५ को व्यवस्था पनि यही हो । कसुर प्रमाणित हुन किटानी जाहेरी पर्नु वा सोका आधारमा नेपाल सरकारले कसैउपर अभियोग लगाउनु मात्र पर्याप्त हुँदैन । अभियोग वस्तुनिष्ठ प्रमाणहरूबाट शङ्कारहित तरिकाले पुष्टि हुनुपर्दछ । वादी पक्षले अभियुक्तउपरको कसुर शङ्कारहित तवरले प्रमाणित हुने प्रमाण पेस गर्न नसकेमा त्यसको सुविधा अभियुक्तले पाउँछ । हामीले अवलम्बन गरेको न्यायिक प्रणालीले जबसम्म अभियोजन पक्षले शंकारहित तवरले अभियोग दाबी पुष्टि गर्न सक्दैन तबसम्म प्रतिवादीलाई निर्दोष मानेको छ । अपराधको पुष्टि शंकारहित तवरबाट (Beyond Reasonable Doubt) हुनुपर्ने भन्ने फौजदारी न्यायको मान्य सिद्धान्तसमेत रहेको छ ।
१५. यस सम्बन्धमा यस अदालतको पूर्ण इजलासबाट धनवीर आले मगर विरूद्ध श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दा मा "शङ्का स्वयंले प्रमाणको स्थान ग्रहण गर्न सक्दैन । केवल शङ्का र अनुमानको आधारमा व्यक्त गरिएका कुरालाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन" भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । यसैगरी विनय मानन्धर विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दा मा "विश्वासिलो अकाट्य प्रमाणको अभावमा अनुमान, आशङ्का र सम्भावना जस्ता मनोगत प्रमाणलाई एक मात्र आधार बनाई कर्तव्यबाटै मृतकको मृत्यु भएको भनी निष्कर्षमा पुग्न न्यायोचित नहुने" भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । यस्तै यस अदालतबाट सन्तोष तामाङ विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दा, नेपाल सरकार विरूद्ध विष्णु याख्खा (राई) भन्ने विष्णुकुमार याख्खा राई भएको कर्तव्य ज्यान मुद्दा, नेपाल सरकार वि. मन्जु श्रेष्ठसमेत भएको मुद्दा तेजबहादुर रोकायासमेत वि. नेपाल सरकार भएको मुद्दा मा शंकाविहीन तवरबाट कसुर प्रमाणित गर्ने भार वादीमा रहने र त्यस्तो प्रमाणको भार पुर्याउन नसके प्रतिवादीलाई कसुर र स्थितिको लाभ पुग्न जाने भनी सिद्धान्त प्रतिपादनसमेत भएको पाइन्छ ।
१६. यसप्रकार माथि विवेचित 3Is को सिद्धान्त तथा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका रोहबाट हेर्दा प्रविण श्रेष्ठको मृत्यु नै कर्तव्यबाट भएको भन्ने स्थापित हुन नआएकाले उक्त वारदातमा यी प्रतिवादीहरूको संलग्नता वा पहिचानको प्रश्न विवेचना गरिरहनुपर्ने देखिएन ।
१७. अब, दोस्रो अर्थात् पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ वा छैन ? र पुनरावेदक वादी नेपाल सरकार र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने प्रश्नका सन्दर्भमा हेर्दा प्रतिवादीहरूले मृतकलाई मार्नुपर्नेसम्मको कुनै कारण मिसिलबाट देखिन नआएको, प्रतिवादीहरूले मौकामा गरेको साबिती बयान मिसिल संलग्न स्वतन्त्र प्रमाणबाट समर्थित हुन नसकेको एवम् वारदात हुँदाको तथ्य, परिस्थितिसमेतको विश्लेषण गर्दा मृतकको मृत्यु नै कर्तव्यबाट भएको भन्ने स्थापित हुन नसकेको स्थितिमा यी प्रतिवादीहरूले होस नपुर्याई गरेको कुनै काम कारबाहीका कारण भवितव्य परी मृतक प्रविण श्रेष्ठको मृत्यु भएको भन्ने पुनरावेदन अदालत बुटवलको फैसला मिसिलबाट समर्थित हुनसकेको देखिन नआएकाले पुनरावेदक प्रतिवादीहरू गगनबहादुर पुन र केशव कुँवरलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६(२) नं. बमोजिम जनही २ वर्ष कैद सजाय गर्ने ठहराएको पुनरावेदन अदालत बुटवलको फैसला सो हदसम्म मिलेको देखिएन । अन्य प्रतिवादीहरूलाई कसुरबाट सफाइ दिने ठहराएको हदसम्म सो अदालतको फैसला मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन । निजहरूले समेत आरोपित कसुरबाट सफाइ पाउनुपर्ने देखियो ।
१८. तसर्थ, माथि उल्लिखित आधार, कारण, कानूनी व्यवस्थासमेतबाट प्रतिवादीहरू खुमबहादुर कुँवर, बुद्धि वि.क., कमल राना र कमल गिरीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं. बमोजिम जनही ६ महिना कैद हुने एवम् प्रतिवादीहरू गगनबहादुर पुन र केशव कुँवरलाई ऐ. महलको १३ (३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. बमोजिम १० वर्ष कैद सजाय हुन राय व्यक्त गरेको सुरू पाल्पा जिल्ला अदालतको मिति २०६८।१।२५ को फैसला केही उल्टी गरी प्रतिवादीहरू गगनबहादुर पुन र केशव कुँवरलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६ नं. को देहाय (२) बमोजिम जनही २ वर्ष कैद सजाय हुने र अन्य प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याई तत्कालीन पुनरावेदन अदालत बुटवलबाट मिति २०६९/०३/२४ मा भएको फैसला केही उल्टी भई पुनरावेदक प्रतिवादीहरू गगनबहादुर पुन र केशव कुँवरले समेत आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
१. माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादीहरू गगनबहादुर पुन र केशव कुँवरले अभियोग दाबीबाट सफाइ पाउने ठहरेकाले पुनरावेदन अदालत बुटवलको फैसलाबमोजिम निजहरूको नाउँमा राखेको मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६(२) नं बमोजिम जनही २ वर्षको कैद सजायको लगत कट्टा गर्नु भनी सुरू पाल्पा जिल्ला अदालतमा लेखी पठाउनू ।
२. प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू ।
३. सरोकारवालाले फैसलाको प्रतिलिपि माग गर्न आएमा नियमबमोजिम प्रतिलिपि उपलब्ध गराउनू ।
४. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गर्नुका साथै फैसलाको विद्युतीय प्रति अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.हरिप्रसाद फुयाल
इजलास अधिकृत:- शिव वाग्ले (उपसचिव) / रोशनी खड्का (शाखा अधिकृत)
इति संवत् २०८० साल असार ११ गते रोज २ शुभम् ।