शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४०८ - अंशचलन

भाग: ६७ साल: २०८२ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा

माननीय न्यायाधीश श्री नहकुल सुवेदी

फैसला मिति : २०७९।१२।१४

 

मुद्दा : अंशचलन

 

०७२-CI-०९०१

पुनरावेदक / वादी : बुद्धिबहादुर रायमाझीको बुहारी स्व.जयबहादुर रायमाझीको श्रीमती काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ नयाँबजार बस्ने इन्दिरा रायमाझी परलोक भई मु.स. गर्ने छोरा सन्तोष रायमाझी

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : डम्बरबहादुर रायमाझीको बुहारी अम्बर सिं बस्नेतको छोरी बुद्धिबहादुर रायमाझीको श्रीमती काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ घर भई हाल नवलपरासी जिल्ला गैंडाकोट गाउँ विकास समिति वडा नं. १ बस्ने हंशकुमारी रायमाझीसमेत

 

०७२-CI-११६२

पुनरावेदक / प्रतिवादी : स्व. बुद्धिबहादुर रायमाझीको बुहारी विजय रायमाझीको श्रीमती काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१६ नयाँबजार बस्ने सुधा रायमाझी

विरूद्ध

प्रत्यर्थी / वादी : स्व. बुद्धिबहादुर रायमाझीको बुहारी जयबहादुर रायमाझीको श्रीमती काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँबजार बस्ने इन्दिरा रायमाझी

 

०७२-CI-१५८९

पुनरावेदक / प्रतिवादी : डम्बरबहादुर रायमाझीको बुहारी बुद्धिबहादुर रायमाझीको श्रीमती, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ घर भई हाल नवलपरासी जिल्ला, गैंडाकोट गाउँ विकास समिति वडा नं. १ बस्ने हंशकुमारी रायमाझी

विरूद्ध

प्रत्यर्थी / वादी : बुद्धिबहादुर रायमाझीको बुहारी, जयबहादुर रायमाझीको श्रीमती काठमाडौं, जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँबजार बस्ने इन्दिरा रायमाझी

 

०७४-CI-००३४

पुनरावेदक / प्रतिवादी : स्व.बुद्धिबहादुर रायमाझीको छोरा, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँ बजार बस्ने विजय रायमाझी

विरूद्ध

प्रत्यर्थी / वादी : स्व.बुद्धिबहादुर रायमाझीको बुहारी, जयबहादुर रायमाझीको श्रीमती काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१६ नयाँ बजार बस्ने इन्दिरा रायमाझी

 

विदेशमा गई काम गर्ने व्यक्तिले आफू देशबाहिर रहँदा बस्दा त्यहाँ आर्जन गरेको रकम आफन्तको नाममा पठाई निजहरूकै नाममा जग्गा जमिन खरिद गर्नु व्यावहारिक रूपमा चलन चल्तीमा रहेकै विषय हुने । विदेशमा आर्जन गरेको त्यस्तो रकम नेपालमा पठाएको र त्यस्लाई प्रयोग गरी परिवारका अरू कुनै सदस्यको नाममा सम्पत्ति जोडेको तथ्य लिखत प्रमाणबाट खुल्न आउँछ भने व्यक्तिगत विश्‍वासमा गरेको त्यस्तो कारोबार व्यवहारलाई अन्यथा भन्‍नुपर्ने अवस्था नरहने । त्यस अवस्थामा विदेशमा काम गरी रकम पठाउने व्यक्तिको अधिकार सुरक्षित हुने दृष्‍टिकोण अवलम्बन गर्नु न्यायको रोहमा उपयुक्त हुने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री बद्रीबहादुर राउत, श्री विश्‍वद्वीप अधिकारी र श्री गोपालकृष्‍ण घिमिरे तथा विद्वान्‌ अधिवक्ताहरू श्री सरिता शर्मा र श्री ज्ञानेन्द्रबहादुर कुँवर 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री शेरबहादुर के.सी. तथा विद्वान्‌ अधिवक्ताहरू श्री विनोद शर्मा र श्री चुडामणी पोखरेल 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा.जिल्ला न्यायाधीश श्री कृष्‍णबहादुर थापा

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री शिवराज अधिकारी

माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.नहकुल सुवेदी : पुनरावेदन अदालत पाटनको मिति २०७१।११।३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत प्रतिवादीको पुनरावेदन परी न्याय प्रशासन ऐन, २०७३ को दफा ९ (१) अन्तर्गत यस अदालतको अधिकार क्षेत्रभित्रको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः-

तथ्यगत बेहोरा

विपक्षीमध्येका हंसकुमारी रायमाझी मेरी सासू नाताकी हुनु, ससुरा बुद्धिबहादुर रायमाझीको मिति २०६५।६।१३ मा मृत्यु भएको हो । साथै म फिरादीका पति जयबहादुर रायमाझी मिति २०३९।९।२५ मा परलोक हुनुभएको हो । त्यस्तै विपक्षीमध्येका विजय रायमाझी र सुधा रायमाझी तथा अजय रायमाझी र अनुराधा रायमाझी क्रमशः जेठाजु, जेठानी तथा देवर देवरानी नाताका हुन् । सासू ससुराबाट जम्मा ४ जना छोरा छोरीको जायजन्म भएकोमा १ छोरीको अघि नै विवाह भई विपक्षी सासू, जेठाजु, देवर र फिरादी गरी जम्मा ४ जना अंशियार छौं । हामीहरू अंशियारबिचमा हालसम्म अंशबन्डा भएको छैन । हामी एकासगोलमा बसी आएकोमा घरायसी कारणसमेतले मेरो अंश हक छुट्टाउन विपक्षीसँग भनेकोमा विपक्षीले इन्कार गरेकाले प्रस्तुत फिराद लिई आएकी छु । अतः फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टेको मिति कायम गरी सम्पूर्ण चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी माग गरी सम्पूर्ण सम्पत्तिलाई ४ भाग लगाई ४ भागको १ भाग अंश दिलाई पाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । 

मेरो नाममा बन्डा गर्नुपर्ने कुनै पनि चल अचल सम्पत्ति रहेको छैन । मेरो नाममा भएको उल्लिखित घर जग्गालगायत मेरा नाममा भएको जग्गा मेरो माइतीतर्फबाट दिएको दाइजो पेवाबाट बढे बढाएको रकमबाट घर जग्गा खरिद गर्ने बिक्री गर्ने, पुनःखरिद गर्ने गरी आर्जन गरेको सम्पत्ति हो । वादीले म वृद्धलाई पालनपोषण हेरविचार गर्नुपर्नेमा उल्टो मउपर झुट्टा बेहोराको फिराद गरेबाट म अत्यन्त पीडित हुन पुगेकी छु । सबै छोरा बुहारी नाति नातिनीले मलाई हेरविचार बेवास्ता गरी आएका छन् । मेरो घरबाट आउनुपर्ने बहाल रकमसमेतबाट वञ्चित गरेको हुँदा हाल विवाहिता छोरी श्रीमती शोभा खड्काबाट सहायता लिन बाध्य भएकी छु भन्नेसमेत बेहोराको प्रतिवादी हंसकुमारी रायमाझीको प्रतिउत्तर जिकिर । 

नातामा विवाद छैन । मेरो नाउँमा बन्डा गर्नुपर्ने सम्पत्ति छैन । बन्डा गर्नुपर्ने सम्पत्ति आमा हंस कुमारीसँग छ । विपक्षीले अंश पाउने नै भएको र विपक्षीलगायत हामी कसैको पनि अंशबन्डा नभएकोले हामी ४ अंशियारमध्ये ४ भागको १ भाग विपक्षीले पाउने नै हो । बन्डा गर्नुपर्ने सम्पत्ति मसँग नभएकाले मबाट अंश माग गर्नुपर्ने होइन वादी दाबी खारेज गरिपाउँ भन्ने प्रतिवादी अजय रायमाझीको प्रतिउत्तर जिकिर । 

विपक्षीले फिरादमा उल्लेख गरे जस्तो नाता सम्बन्धको बेहोराबाहेक अन्य बेहोरा झुट्टा, काल्पनिक र असत्य हुन् । अंशबन्डा गर्नुपर्ने जो जे भएको पैतृक सम्पत्ति प्रतिवादीमध्येका हंसकुमारी रायमाझी र अजय रायमाझीको नाममा छ । म तथा मेरो पति विजय रायमाझीको नाममा अंशबन्डा गर्नुपर्ने चल अचल सम्पत्ति छैन सो कुरा विपक्षी वादीले आफ्नो फिरादको विरूद्ध खण्डमा प्रतिवादी बनाइएकी सासू हंसकुमारी रायमाझीको प्रतिउत्तर जिकिरबाट समेत प्रस्ट रूपमा स्थापित भएको हुँदा मुलुकी ऐन अंशबन्डाको १८ नं.बमोजिम निजी आर्जनबाट प्राप्त सम्पत्तिबाहेक म प्रतिउत्तरकर्ता र मेरो पति विजय रायमाझीको नाममा अंशबन्डा गर्नुपर्ने अन्य सम्पत्ति नभएको हुँदा पैतृक सम्पत्ति नभएको व्यक्तिलाई प्रतिवादी कायम गरी ल्याएको फिरादले कुनै औचित्य नराख्ने हुँदा मेरो हकमा फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सुधा रायमाझीको प्रतिउत्तर जिकिर । 

प्रतिवादी विजय रायमाझी र अनुराधा रायमाझीको नाममा मिति २०६७।८।१२ मा तामेल भएको म्यादमा प्रतिउत्तर नफिराई निजहरूले सुरू म्याद नै गुजारी बसेको । 

वादी प्रतिवादीहरू सगोलका ४ मुख्य अंशियारहरू भएको र वादीले प्रतिवादीहरूबाट अंश पाउनुपर्ने देखिँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी दिएको छ । वादी प्रतिवादीहरूले पेस गरेको अंश तायदाती फाँटवारीमा प्रतिवादी सुधा रायमाझीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित कि.नं. १९९ को घर जग्गा निजी आर्जनको भन्ने देखिँदा सो घर जग्गाबाहेक अरू बाँकी तायदाती फाँटवारीमा उल्लिखित अचल सम्पत्तिको ४ भाग गरी त्यसबाट १ भाग अंश सम्पत्ति वादीलाई प्रतिवादीहरूबाट दिलाई भराई चलनसमेत चलाइदिने ठहर्छ । प्रतिवादी सुधा रायमाझीले तायदाती फाँटवारीमा देखाएको ऋणको हकमा कि.नं. १९९ को जग्गा बन्डा नहुने भएकोले ऋणको हकमा केही बोलिरहनु परेन भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।८।१२ को फैसला । 

पति बुद्धिबहादुर रायमाझीको तर्फबाट कुनै पैतृक श्रीसम्पत्ति केही नभएको भन्ने तथ्यमा कुनै पक्षको विवाद छैन, अन्यथा जिकिरसमेत छैन । मैले माइतीबाट प्राप्त भएको उदयपुर मौजाअन्तर्गतको जग्गा जमिन बिक्री गरी सोबाट काठमाडौंमा घर बसोबास भएको तथ्य मुद्दाको कुनै पक्षले इन्कार गरेका छैनन् । दाइजोको हैसियतबाट हेर्ने हो भने हाम्रो परिवारमा मेरो दाइजो र सोबाट बढेबढाएको बाहेक कुनै सम्पत्ति छैन । सगोलको सम्पत्ति र सोबाट बढेबढाएको यो सम्पत्ति हो भनी कुनै पक्षले जिकिर लिन सकेको अवस्था छैन । त्यस्तोमा आफ्नै छोरा नाति भएकोले बाँडीचुँडी खाउन् भनी गरेको सौहार्दलाई गलत व्याख्या गरियो । बृद्ध उमेरमा छोरा बुहारीले नहेरेको अवस्थामा हाल म माइतीपट्टिका इष्टमित्रले दिएको जग्गामा सानो कुटी (घर) मा देवघाटमा बसिरहेकी छु । यसरी मैले माइती पक्षबाट दाइजोको रूपमा पाएको सम्पत्तिमा कसैको हक नलाग्ने कायम गर्नुपर्नेमा सबै अंशियारहरूको अंश लाग्ने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी हंशकुमारी रायमाझीले पुनरावेदन अदालत पाटनमा दायर गरेको पुनरावेदन पत्र । 

फैसला गर्दा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरिसकेपश्चात् पुनः विपक्षीमध्येकी सुधा रायमाझीका नामको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ स्थित कित्ता नं. १९९ को क्षे.फ. ०-६-०-० जग्गा र उक्त जग्गामा बनेको घर बन्डा नलाग्ने गरी फैसला गरिएको छ । उक्त घर जग्गा विपक्षी सुधा रायमाझीले स्त्री अंशधनको ५ नं.बमोजिम प्राप्त गरेको सम्पत्ति नभई अंशियारहरू एकासगोलमा रहेका बखतमा अंशहक लाग्ने गरी खरिद गरी लिएको सम्पत्ति हो । त्यसकारण उक्त घर जग्गामा सबै अंशियारहरूको समान हक रहने हुँदा उक्त कि.नं. १९९ को क्षे.फ. ०-६-०-० को घरजग्गा बन्डा नलाग्ने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।८।१२ को फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी उक्त घरजग्गासमेत बन्डा लाग्ने गरी फैसला गरिपाउँ भन्नेसमेत बेहोराको वादी इन्दिरा रायमाझीले पुनरावेदन अदालत पाटनमा दायर गरेको पुनरावेदन पत्र । 

यसमा वादी इन्दिरा रायमाझी तथा प्रतिवादी हंशकुमारी रायमाझी दुवैतर्फबाट पुनरावेदन परेको देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ दुवै पक्षलाई परस्पर सुनाई पुनरावेदन नगर्ने प्रतिवादीहरू अजय रायमाझी, सुधा रायमाझी, अनुराधा रायमाझी र विजय रायमाझीसमेतलाई अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७०।११।१ को आदेश । 

बाबुआमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्तिमा सगोलको छोरा छोरीको अंश हक लाग्ने नै हुँदा निज हंशकुमारीका नाउँमा रहेको उक्त कि.नं. २१४३ को ०-२-०-० जग्गा ४ भागको १ भाग पुनरावेदक वादीले पाउने ठहऱ्याएको सुरू फैसलालाई अन्यथा भन्न मिल्ने देखिएन । सुधा रायमाझीको नाउँमा दर्ता रहेको कि.नं. १९९ को ०-६-०-० जग्गा निज सुधा रायमाझीले मानो छुट्टिनुअगावै खरिद गरिलिएको पारित लिखतबाट देखिएको र सो जग्गा आफ्नो निजी आर्जनबाट पारित गरिलिएको भन्ने तथ्य प्रमाणित हुन नसकेको देखिँदा सो जग्गाको हकमा बन्डा नगर्ने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६९।८।१२ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई उल्लिखित कि.नं. १९९ को जग्गासमेत बन्डा लाग्ने ठहर्छ । उक्त कि.नं. १९९ मा बनेको घर मानो छुट्टिएको मितिपश्चात् निर्माण भएको देखिँदा उक्त घरसमेत बन्डा गरिपाउँ भन्ने पुनरावेदक वादी इन्दिरा रायमाझीको र कि.नं. २१४३ को जग्गा बन्डा गर्ने गरी सुरू काठमाडौं जिल्ला अदालतले गरेको फैसला उल्टी गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादी हंसकुमारी रायमाझीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०७१/११/३ को फैसला । 

सुरू काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत पाटनले मिति २०७१।११।०३ मा भएको फैसलाले प्रतिवादी हंशकुमारी रायमाझीका नाउँको सम्पत्ति पुनरावेदकहरूका भागमा ४ भागको १ भाग बन्डा लाग्ने ठहर गरी भएको फैसलाउपर पुनरावेदकको कुनै विमति छैन । सुरू काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनले स्वीकार गरेको तथा कहीँकतैबाट प्रतिवाद नभएको तथ्यको रूपमा हामी अंशियारहरूबिच मानो छुट्टिएको मिति २०६७।०५।२३ हो र प्रत्यर्थीमध्येको सुधा रायमाझीको नाउँमा सगोलमा छँदै, सगोलको सम्पत्तिबाट उक्त कि.नं. १९९ को क्षे.फ. ०-६-०- ० जग्गा खरिद गरिएको भन्ने स्थापित तथ्यको रूपमा रहेको छ । प्रत्यर्थीले पेस गरेको हिमालयन बैंकको स्टेटमेन्टबाट मिति २०६७।०१।०८ मा निजले ऋण लिएको भन्ने मिसिल संलग्न प्रमाणले पुष्टि गरिरहेको अवस्था छ भने उक्त ऋणबाट नै निजले घर बनाएको भनी पुनरावेदन अदालत पाटनले स्वीकार गरिसकेको अवस्थामा हामी अंशियारहरू सगोलमा रहँदा नै ऋण लिएको भन्ने उक्त स्टेटमेन्ट र मानो छुट्टिएको मितिले स्पष्ट पारी रहेको अवस्थामा सगोलमा छँदा भएको ऋण र धन सबै अंशियारहरूबिच बराबर बन्डा लाग्दछ भन्ने मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. को कानूनी व्यवस्थाले नै स्पष्ट रूपमा मानो नछुट्टिँदै सगोलमा छँदै सगोलको सम्पत्तिबाट बढे बढाएको श्रीसम्पत्ति र ऋणमा बराबर भाग लाग्छ भन्ने कानूनी व्यवस्था भएकोमा उक्त कानूनी व्यवस्थालाई बेवास्ता गरी मानो छुट्टिनुअघि नै खरिद गरेको उक्त कि.नं. १९९ को जग्गा ४ भागको १ भाग लाग्ने तर मानो छुट्टिनुअघि नै ऋण लिई निर्माण भएको भन्ने पुष्टि भइरहेको घरको हकमा बन्डा नलागी उक्त घरमा सुधा रायमाझीको मात्र एकलौटी हक हुने भनी भएको पुनरावेदन अदालत पाटनको मिति २०७१।११।०३ को फैसला घर बन्डा नलाग्ने हदसम्मको आंशिक उल्टि गरी मानो छुट्टिनुअघि नै निर्माण भएको उक्त कि.नं. १९९ को निर्मित घरसमेत ४ भागको १ भाग पुनरावेदकको भागमा पर्ने गरी फैसला गरी न्याय इन्साफ दिलाइपाउँ भन्‍ने बेहोराको इन्दिरा रायमाझी परलोक भएकोले निजको मु.स. गर्ने सन्तोष रायमाझीको तर्फबाट यस अदालतमा दायर पुनरावेदन पत्र । 

विपक्षी वादीले फिराद गर्दा फिरादको प्रकरण ३ मा हाम्रो बढ्दो पारिवारिक संख्याको कारणले परिवारमा आन्तरिक वैमनस्यता तथा झगडा सिर्जना नहोस् भनी आपसी सहमति एवं समझदारीमा आ-आफ्नो गरी खाइ आइरहेका थियौं र विपक्षीहरू भिन्न भई आ-आफ्नो गरी बसी आए तापनि भएको सम्पूर्ण पैतृक सम्पत्ति सगोलमा नै रही हालसम्म अंशबन्डा भएको छैन भनी उल्लेख गरी हामीहरू पैतृक सम्पत्ति केहि नलिई अलग बसी आफ्नो ज्ञान सिप प्रयासले ऋण धन आ-आफ्नो हुने गरी छुट्टै व्यवहार गरी बसी आएका हौं भन्ने कुरामा वादीले स्वीकार गर्नुभएको छ । प्रतिवादीमध्येकी हंसकुमारी रायमाझीले प्रतिउत्तर गर्दा प्रतिउत्तरको प्रकरण १को (ग) मा छोराहरू ठुला भई विवाह गरेपश्चात् सबैले आ-आफ्नो श्रीमतीहरू लिई अलग अलग बसी आएका थिए । जेठो छोरा विजय रायमाझी अमेरिका जाने आउने गर्छ निजले आफ्नो श्रीमती सुधा रायमाझीका नाममा घर जग्गा खरिद गरी बसेको छ भनी खुलाउनुभएको छ । प्रतिवादीमध्येका अजय रायमाझीले पनि प्रतिउत्तरको प्रकरण २ मा हामीहरूबिच अंशबन्डा नभए तापनि सबै अंशियारले आ-आफ्नो गरी भनी खाइ आएका थियौं बन्डा गर्नुपर्ने सम्पूर्ण श्री सम्पत्ति आमाकै नाममा रहेको छ भनी उल्लेख गरेबाट हामीहरू अलग अलग बसी आ-आफूले गरी भनी खाइ आइरहेको कुरामा वादी र प्रतिवादीहरू सबैको मुख मिलेको छ । सबै वादी प्रतिवादीहरूको मुख मिलिरहेको कुरातर्फ दृष्टि नदिई मेरा पति विदेश अमेरिका बसी आर्जन गरेको सम्पत्ति र १३ वर्ष वडा लेखापालमा काम गरी निजी रूपमा आर्जन गरेको सम्पत्तिबाट म सुधा रायमाझीका नाममा खरिद गरेको कि.नं.१९९ को निजी जग्गालाई मानो छुट्टिएको मितिअघि खरिद गरिएको भन्ने आधार लिई बन्डा लाग्ने गरी भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३४ को विबन्धनको सिद्धान्तविपरीत भई त्रुटिपूर्ण रहेकाले पुनरावेदन अदालत पाटनबाट भएको फैसला उल्टी गरी सुरू काठमाडौं जिल्ला अदालतको फैसलाबमोजिम गरिपाउँ भन्‍ने बेहोराको सुधा रायमाझीले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।

स्वयम्‌ वादीले फिराद दिँदा पैतृक सम्पत्ति नलिई सबै अंशियार अलग अलग बसी आ-आफ्नो गरी खाई आइरहेका छौं भनी अलग अलग व्यवहार गरी आएको कुरा स्वीकार गरेको अवस्थामा एक पटक एउटा तथ्यलाई स्वीकार गरिसकेपछि फेरि पछि आएर सो कुरा हैन भन्न विबन्धनको सिद्धान्तले नमिल्ने र पहिले स्वीकार गरेको तथ्य फरक पर्ने गरी पछि भनेको कुराले कानूनी मान्यता नपाउने अवस्था हुँदाहुँदै वादी प्रतिवादीको मुख मिलेको कुराभन्दा बाहिर गई तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा गम्भीर कानूनी त्रुटि भएको छ । मूल रूपमा कि.नं.१९९ को जग्गा अंशबन्डाको १८ नं.बमोजिम निजी ज्ञान सिप र प्रयासबाट आर्जन भएको सम्पत्ति हो होइन हेरिनुपर्नेमा सोतर्फ विश्लेषण भएको छैन । म पुनरावेदक विजय रायमाझी २०४४ साल फाल्गुण ६ गतेदेखि २०५७ साल माघ २१ गतेसम्म १२ वर्ष ११ महिना १५ दिन लुम्बीनी विकास कोषमा वडा लेखापाल पदमा कार्यरत छु । सो कुरा लुम्बीनी विकास कोषले मिति २०५७।११।२६ गते दिएको पत्रबाट स्पष्ट हुन्छ । सोपछि मिति २०६१।५।२९ गतेदेखि हालसम्म निरन्तर संयुक्त राज्य अमेरिका गई रोजगारी गरी त्यहा आर्जन गरेको रकम नेपाल पठाई सोही रकमसमेतबाट नेपालमा रहेकी श्रीमती सुधा रायमाझीका नाममा उक्त कि.नं.१९९ को जग्गा खरिद गरी लिएको हो । मैले अमेरिकाबाट पठाएको रेमिटेन्स हिमालय बैंकको बैंक स्टेटमेन्टबाट प्रमाणित भइरहेको छ । यसरी म पुनरावेदक विजय रायमाझीले नोकरी गरी आर्जन गरेको रकम र श्रीमती छोरा छोरीबाट समेत सात समुन्द्र टाढा बसी विदेशी भूमिमा गई रातदिन मेहनत गरी लामो समयसम्म रगत पसिना बगाई ज्यानलाई हत्केलामा राखी आर्जन गरेको सम्पत्तिले उक्त कि.नं. १९९ को जग्गा खरिद गरी लिएको कुरा प्रस्ट हुँदाहुँदै फैसलामा सुधा रायमाझीले निजी आर्जन गर्ने क्षमताको स्रोत नखुलेको भन्ने सतही आधार ग्रहण गरी मेरो निजी आर्जनबाट खरिद गरेको जग्गा बन्डा लाग्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नहुँदा उल्टी गरिपाउँ भन्‍ने बेहोराको विजय रायमाझीको तर्फबाट यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।

मेरा पति बुद्धिबहादुर रायमाझीको तर्फबाट कुनै पैतृक श्रीसम्पत्ति केही नभएको भन्ने तथ्यमा कुनै पक्षको विवाद छैन अन्यथा जिकिरसमेत छैन । मैले माइतीबाट प्राप्त भएको उदयपुर मौजाअन्तर्गतको जग्गा जमिन बिक्री गरी सोबाट काठमाडौंमा घर बसोबास भएको तथ्य मुद्दाको कुनै पक्षले इन्कार गरेको छैनन् । दाइजोको हैसियतबाट हेर्ने हो भने हाम्रो परिवारमा मेरो दाइजो र सोबाट बढेबढाएको बाहेक कुनै सम्पत्ति छैन । सगोलको सगोलको सम्पत्ति र सोबाट बढेबढाएको यो सम्पत्ति हो भनी कुनै पक्षले जिकिर लिन सकेको अवस्था छैन । यसरी मेरो माइती पट्टिका इष्टमित्रले दिएको दाइजोको जग्गामा भएको घर जग्गामा कसैको हक नलाग्ने भई मैले आफूखुसी गर्न पाउने कोही कसैलाई बन्डा गर्नु नपर्ने सम्पति छोरा बुहारीलाई बन्डा गर्नुपर्ने गरी भएको फैसलामा स्त्री अंशधनको महलको ४र ५ नं. को गम्भीर त्रुटि हुन गएको छ । मुलुकी ऐन अंशबन्डाको १८ नं. को व्यवस्था र स्त्रीअंशधनको व्यवस्था दुई अलग अलग कानूनी व्यवस्था हुन् । मुलुकी ऐन अंशबन्डाको १८ नं. को व्यवस्थाले स्त्री अंशधनको महललाई सङ्कुचित वा प्रतिस्थापन नगर्ने भएकाले उक्त स्त्री अंशधनको महलले समेट्ने सम्पत्तिमा बन्डा लाग्ने हुँदैन । अतः बन्डा लाग्ने गरी भएको सुरू अदालतको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनबाट भएको फैसला उल्टी गरिपाउँ भन्‍नेसमेत बेहोराको हंसकुमारी रायमाझीले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।

यसमा वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिँदा उक्त पुनरावेदनहरू मुलुकी ऐन, अ.बं. २०२ नं. प्रयोजनार्थ परस्पर सुनाई विपक्षीलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नू भन्‍ने बेहोराको यस अदालतको मिति २०७५/२/२८ को आदेश । 

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी सन्तोष रायमाझीको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री बद्रीबहादुर राउत, श्री विश्‍वद्वीप अधिकारी र श्री गोपालकृष्‍ण घिमिरे तथा विद्वान्‌ अधिवक्ताहरू श्री सरिता शर्मा र श्री ज्ञानेन्द्रबहादुर कुवरले अंशियारहरूबिच मानो छुट्टिएको मिति २०६७।०५।२३ भएकोमा विवाद छैन । मानो नछुट्टिएकै अवस्थामा सुधा रायमाझीको नाउँमा सगोलमा छँदै सगोलको सम्पत्तिबाट उक्त कि.नं. १९९ को क्षे.फ. ०-६-०- ० जग्गा खरिद गरिएको भन्ने स्थापित तथ्यको रूपमा रहेको छ । सगोलमा छँदा भएको ऋण र धन सबै अंशियारहरूबिच बराबर बन्डा लाग्दछ भन्ने मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. को कानूनी व्यवस्था भएकोमा उक्त कानूनी व्यवस्थालाई बेवास्ता गरी मानो छुट्टिनुअघि नै खरिद गरेको उक्त कि.नं. १९९ को जग्गा ४ भागको १ भाग लाग्ने तर मानो छुट्टिनुअघि नै ऋण लिई निर्माण भएको भन्ने पुष्टि भइरहेको घरको हकमा बन्डा नलाग्ने उक्त घरमा सुधा रायमाझीको मात्र एकलौटी हक हुने भनी भएको पुनरावेदन अदालत पाटनको मिति २०७१।११।०३ को फैसला घर बन्डा नलाग्ने हदसम्मको आंशिक उल्टी गरी मानो छुट्टिनुअघि नै निर्माण भएको उक्त कि. नं. १९९ को निर्मित घरसमेत ४ भागको १ भाग पुनरावेदकको भागमा पर्ने गरी फैसला हुनुपर्दछ भनी बहस गर्नुभयो ।

यस्तै पुनरावेदक प्रतिवादी विजय रायमाझी र सुधा रायमाझीको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री शेरबहादुर के.सी. तथा विद्वान्‌ अधिवक्ताहरू श्री विनोद शर्मा र श्री चुडामणी पोखरेलले वादी प्रतिवादीहरू सगोलमा नबसी छुट्टाछुट्टै रूपमा बसी आ-आफ्नो जीवन निर्वाह गरिरहेकोमा विवाद छैन । विजय रायमाझीले आमा हंसकुमारीबाट कुनै चल सम्पत्ति नलिएको भन्‍ने कुरा हंसकुमारीले सुरू अदालतमा फिराएको प्रतिउत्तर पत्रबाट समेत पुष्टि भएको छ । सुधा रायमाझीको नाममा रहेको घर जग्गा निजको पति विजय रायमाझीले विदेश अमेरिकामा आर्जन गरेको सम्पत्ति र १३ वर्ष वडा लेखापालमा काम गरी निजी रूपमा आर्जन गरेको सम्पत्तिबाट आर्जन गरिएको भन्ने कुरा मिसिल संलग्न कर्जा लिएको भन्‍ने बेहोराको हिमालयन बैंकको बैंक स्टेटमेन्ट तथा अमेरिकाबाट विभिन्न मितिमा नेपाल रकम पठाएको भन्‍ने Bank of America को बैंक स्टेटमेन्टसमेतवाट प्रस्ट भइरहेको अवस्थामा निज विजय रायमाझीको आफ्नै ज्ञान, सिप र क्षमताबाट आर्जनको सम्पत्तिमा अन्य अंशियारहरूको हक नलाग्ने भएकाले उक्त कि.नं १९९ को जग्गामा अन्य अंशियारहरूको समेत अंश भाग लाग्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला उल्टी हुनुपर्दछ भनी बहस गर्नुभयो ।

यसमा, हामी एकासगोलमा बसी आएकोमा घरायसी कारणसमेतले मेरो अंश हक छुट्टाउन विपक्षीसँग भनेकोमा विपक्षीले इन्कार गरेकाले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी माग गरी सम्पूर्ण सम्पत्तिलाई ४ भाग लगाई ४ भागको १ भाग अंश दिलाई पाउँ भन्नेसमेत बेहोराको इन्दिरा रायमाझीको फिराद दाबी र आफूहरूसँग बन्डा गर्नुपर्ने कुनै पनि चल अचल सम्पत्ति नरहेको, आफ्नो नाममा भएको सम्पत्ति बन्डा नलाग्‍ने दाइजो पेवा र निजी आर्जन गरेको सम्पत्ति भन्ने प्रतिवादीहरूको प्रतिउत्तर जिकिर एवम् प्रतिवादी विजय रायमाझी र अनुराधा रायमाझीले प्रतिउत्तर नफिराई सुरू म्यादै गुजारी बसेको प्रस्तुत मुद्दामा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.४ स्थित कि.नं. १९९ को घर जग्गाबाहेक अरू बाँकी तायदाती फाँटवारीमा उल्लिखित अचल सम्पत्तिको ४ भाग गरी त्यसबाट १ भाग सम्पत्ति वादीलाई प्रतिवादीहरूबाट दिलाई भराई चलनसमेत चलाइदिने ठहर्छ । प्रतिवादी सुधा रायमाझीले तायदाती फाँटवारीमा देखाएको ऋणको हकमा कि.नं. १९९ को जग्गा बन्डा नहुने भएकोले ऋणको हकमा केही बोलिरहनु परेन भनी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।८।१२ मा भएको फैसलाउपर चित्त नबुझाई वादी इन्दिरा रायमाझीले कि.नं. १९९को घर जग्गा बन्डा नलाग्ने हदसम्म तथा प्रतिवादीमध्येका हंसकुमारी रायमाझीले आफ्नो नाममा रहेका घर जग्गा अंशबन्डा हुने हदसम्‍म उल्टी हुनुपर्ने माग गरी पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेकोमा उक्त अदालतबाट मिति २०७१।११।३ मा फैसला हुँदा सुरू काठमाडौं जिल्ला अदालतको फैसला केही उल्टी भई प्रतिवादी हंसकुमारीको पुनरावेदन जिकिर नपुग्ने तर इन्दिरा रायमाझीको पुनरावेदनतर्फ भने सुधा रायमाझीको नाममा रहेको कि.नं. १९९ को घर जग्गामध्ये घर बन्डा नलाग्ने तर जग्गा भने ४ भागको १ भाग वादीले पाउने गरी भएको फैसला चित्त नबुझाई वादी प्रतिवादीहरूले यस अदालतमा पुनरावेदन गरेको अवस्था छ ।

उल्लिखित तथ्य तथा पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा दुवै तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको तर्कपूर्ण बहस जिकिर सुनी तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन र वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन छैन भन्‍ने सम्बन्धमा हेरी निर्णय दिनुपर्ने देखियो । 

२. अब, निर्णयतर्फ विचार गर्दा, वादीको फिराद पत्र र प्रतिउत्तर पत्रबाट बुद्धिबहादुर रायमाझी र प्रतिवादी हंसकुमारी रायमाझीको ३ छोराहरू जयबहादुर रायमाझी, विजय रायमाझी र अजय रायमाझी भएकोमा र वादी इन्दिरा रायमाझी स्वर्गीय जयबहादुरको श्रीमती भएकोमा कुनै विवाद देखिँदैन । वादीले आफ्नो फिराद पत्रको प्रकरण नं. २ मा हामीहरूको बिचमा हालसम्म अंशबन्डा नभए तापनि बढ्दो पारिवारिक संख्याको कारणले आपसी समझदारीमा आ-आफ्नो गरी खाई आइरहेका थियौं भनी उल्लेख गरेको र प्रतिवादी हंशकुमारीले पनि हामी वादी प्रतिवादीको बिचमा अशबन्डा भइसकेको छ भनी सप्रमाण जिकिर लिन नसकेकोले यी वादी प्रतिवादीहरू सगोल अंशियार भएको देखिन्छ । यस्तो अवस्थामा परिवारको पैतृक सम्पत्तिबाट हकवालाहरूले अंश पाउनुपर्ने पर्ने कुरामा विवाद रहेन ।

३. सुरू जिल्ला अदालतले गरेको फ़ैसलामा आफ्नो दाइजो पेवाको सम्पत्ति बन्डा गर्ने गरेकोमा चित्त नबुझेको भनी पुनरावेदक/प्रतिवादी हंशकुमारी रायमाझीको पुनरावेदन परेको र प्रतिवादीमध्ये सुधा रायमाझीको नाउँमा रहेको कि.नं. १९९ को ०-६-०-० घर जग्गामध्ये त्यसमा बनेको घर पनि बन्डा गरी त्यसबाट पनि ४ भागको १ भाग आफूले पाउनुपर्नेमा सो घरलाई निज सुधा रायमाझीको निजी आर्जनको भनी फैसला गरेको हदसम्म चित्त नबुझी पुनरावेदक वादी इन्दिरा रायमाझीले र कि.नं. १९९ को ०-६-०-० को घर जग्गा आफ्नो निजि आर्जन भएकाले कोही कसैलाई बन्डा नलाग्नुपर्ने सो जग्गासमेत पैतृक मानी ४ भागको १ भाग वादीले पाउने गरी भएको हदसम्म बदरको माग गरी सुधा रायमाझी र विजय रायमाझीले पुनरावेदन गरेको देखियो ।

४. पुनरावेदक प्रतिवादी हंशकुमारी रायमाझीले कि.नं. २१४३ को ०-२-० जग्गा र त्यसमा बनेको घर पैतृक सम्पत्ति नभई आफ्नो माइतीको दाइजोबाट खरिद गरी त्यसबाट बढे बढाएको भएकाले मुलुकी ऐन अंशबन्डाको महलको १८ नं. तथा स्त्री अंशधनको ५ नं. बमोजिम निजी आर्जनको भई बन्डा लाग्ने होइन भन्‍ने जिकिर लिएको देखिन्‍छ । मुलुकी ऐन अंशबन्डाको महलको १८ नं. हेर्दा अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्न वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ, बन्डा गर्न कर लाग्दैन भन्‍ने व्यवस्था देखिन्‍छ । तथापि बुबा आमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोरा छोरीका लागि पैतृक नै हुन्छ । सन्तानहरूका लागि पैतृक सम्पत्ति भनेको आफ्नो आमा बाबु वा पुर्खाहरूको सम्पत्ति हो । बाबु आमाको सम्पत्तिबाट छोरा छोरीहरूले पाउने अंशबाट नै सम्पत्ति पुस्तान्तरण हुँदै जाने नेपाली समाजको चरित्र पनि हो । मुलुकी ऐन अंशबन्डाको महलको १८ नं.बमोजिमको निजी आर्जन तथा स्त्री अंशधनको ५ नं.बमोजिमको दाइजो पेवा सम्पत्तिहरू समान पुस्ताका अंशियारहरूमा बन्डा गर्दा निजी आर्जन मानिने हो । तर आफूपछिका हकवालाहरूमा बन्डा लाग्ने भन्‍ने नै कानूनको मकसद भएको हुँदा पुनरावेदक/प्रतिवादी हंशकुमारी रायमाझी पुनरावेदक/वादी इन्दिरा रायमाझीका पति स्व. जयबहादुर रायमाझीको आमा भएकोले बाबु आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्तिमा सगोलको छोरा छोरीको अंश हक लाग्ने नै हुन्छ । तसर्थ, निज हंशकुमारीका नाउँमा रहेको उक्त कि.नं. २१४३ को ०-२-०-० जग्गा ४ भागको १ भाग पुनरावेदक वादीले पाउने ठहर्‍याएको सुरू फैसलालाई सो हदसम्म सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसलालाई अन्यथा भन्न मिल्ने देखिएन । आफूले माइतीबाट पेवा स्वरूप सम्पत्ति पाएकाले बन्डा हुनुपर्ने होइन भन्‍ने हंशकुमारी रायमाझीको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।

५. जहाँसम्म प्रतिवादीमध्येका विजय रायमाझीको पत्‍नी सुधा रायमाझीको नाउँमा दर्ता रहेको कि.नं. १९९ को ०-६-०-० जग्गा र त्यसमा बनेको घरबाट पनि ४ भागको १ भाग घर जग्गा आफूले अंश भाग पाउनुपर्ने भन्ने पुनरावेदक/वादी इन्दिरा रायमाझीको मु.स. गर्ने सन्तोष रायमाझीको पुनरावेदन जिकिर छ त्यसतर्फ विचार गर्दा, निजले आफ्नो प्रतिउत्तर पत्रमा म प्रतिवादी सुधा रायमाझीको नाममा रहेको कि.नं. १९९को घर जग्गा म प्रतिवादी तथा अमेरिकामा रहेका मेरा लोग्ने प्रतिवादी विजय रायमाझीको ज्ञान सिपबाट खरिद गरी ऋण सापट गरी जग्गा धितो बन्धक राखी घर निर्माण गरेको हो भनी जिकिर लिएको देखिन्छ । प्रतिवादी विजय रायमाझी मिति २०४४।११।६ देखि मिति २०५७।१०।२१ सम्म लुम्बिनी बिकास कोषको वडा लेखापाल पदमा काम गरेको भन्‍ने बेहोराको लुम्बिनी बिकास कोषको पत्र मिसिल सामेल देखिन्छ । त्यसपछि निज विजय रायमाझी मिति २०६१।५।२९ मा संयुक्त राज्य अमेरिका गई त्यहाँको Bank of America बाट नेपाल रकम पठाएको बैंक स्टेटमेन्ट मिसिल संलग्न रहेको छ । विदेशमा गई काम गर्ने व्यक्तिले आफू देशबाहिर रहँदा बस्दा त्यहाँ आर्जन गरेको रकम आफन्तको नाममा पठाई निजहरूकै नाममा जग्गा जमिन किन्‍नु व्यावहारिक रूपमा चलन चल्तीमा रहेकै विषय हो । विदेशमा आर्जन गरेको त्यस्तो रकम नेपालमा पठाएको र त्यसलाई प्रयोग गरी परिवारका अरू कुनै सदस्यको नाममा सम्पत्ति जोडेको तथ्य लिखत प्रमाणबाट खुल्न आउँछ भने व्यक्तिगत विश्‍वासमा गरेको त्यस्तो कारोबार व्यवहारलाई अन्यथा भन्‍नुपर्ने अवस्था रहँदैन । त्यस अवस्थामा विदेशमा काम गरी रकम पठाउने व्यक्तिको अधिकार सुरक्षित हुने दृष्‍टिकोण अवलम्बन गर्नु न्यायको रोहमा उपयुक्त हुन्छ ।

६. प्रस्तुत मुद्दामा त्यही रकम सुधा रायमाझीको नाममा हिमालयन बैंकमा रहेको खातामा जम्मा भएको बैक स्टेटमेन्टबाट देखिएको छ भने हिमालयन बैंकको मिति नोभेम्बर २४, २०११ पत्रबाट यी प्रतिवादी सुधा रायमाझीले सो बैंकबाट रू.१५,००,०००।- कर्जा लिएको समेत देखिन्छ । अर्कोतर्फ वादीको फिराद पत्रको प्रकरण नं. २ मा हामीबिचमा अंशबन्डा नभए तापनि आपसी सहमतिमा आ-आफ्नो गरी खाई आइरहेको थियौं भन्ने उल्लेख गरेको अवस्थामा वादीको फिराद लेखबाट समेत वादी प्रतिवादीहरू छुट्टाछुट्टै आ-आफ्नो खतीउपती गरी आएको भन्‍ने देखिन्‍छ । यसबाट प्रतिवादी सुधा रायमाझीको नाउँमा रहेको कि.नं. १९९ घर जग्गा आफ्नो ज्ञान सिपबाट आर्जन गरेको र ऋण लिएको रकमबाट जग्गा खरिद गरी घरसमेत बनाएको भन्‍ने पुनरावेदन प्रतिवादीहरू सुधा रायमाझी र विजय रायमाझीको पुनरावेदन जिकिरलाई अन्यथा भन्‍नुपर्ने देखिएन । 

७. मुलुकी ऐन अंशबन्डाको महलको १८ नं. मा अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खती उपती आफ्नो आफ्नो गरी आफनो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन लाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने व्यवस्था छ । वादी तथा प्रतिवादी विजय रायमाझीसमेतको अंशबन्डा नभएको भए तापनि अलग अलग रूपमा व्यवहार गरी आएको भन्ने पुष्टि भएको र निजले उक्त सम्पत्ति पैतृक सम्पत्ति प्रयोग गरी बढे बढाएको भन्‍ने स्थापितसमेत हुन नसकेको अवस्थामा प्रतिवादी सुधा रायमाझीले आफ्नो ज्ञान सिपले आर्जित रकमबाट कि.नं. १९९ को जग्गा किनी घरसमेत बनाएको पुष्टि भएकाले आफ्नो ज्ञान सिपबाट जोडेको सम्पत्तिमा मुलुकी ऐन अंशबन्डाको महलको १८ नं.बमोजिम प्रतिवादी सुधा रायमाझीको नाममा रहेको कि.नं. १९९ को घर जग्गा सगोलमा राखी बन्डा गर्न मिलेन । उक्त घर जग्गासमेत बन्डा हुनुपर्दछ भन्‍ने पुनरावेदक वादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

८. तसर्थ, सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।८।१२ मा भएको फैसला केही उल्टी गरी प्रतिवादी हंसकुमारी रायमाझीको नाममा रहेको कि.नं. २१४३ को घर जग्गाबाट वादीले ४ भागको १ भाग बन्डा छुट्याई लिन पाउने ठहर्‍याएको हदसम्म पुनरावेदन अदालत पाटनको फैसला सदर हुने तथा प्रतिवादी सुधा रायमाझीको नाउँमा दर्ता रहेको कि.नं. १९९ को घर जग्गा निजी आर्जनको भई अन्य अंशियारहरूलाई बन्डा नलाग्नेमा उल्लिखित घर जग्गामध्ये घर बन्डा नलाग्ने, जग्गाको हकमा ४ भागको १ भाग वादीले बन्डा छुट्याई लिन पाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०७१।११।३ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी सुधा रायमाझीको नाउँमा दर्ता रहेको कि.नं. १९९ को घर जग्गा प्रतिवादी सुधा रायमाझीको निजी आर्जन भई पुनरावेदक वादीलाई बन्डा नलाग्ने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नुहोला । 

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम सुरू जिल्ला अदालतको फैसला केही उल्टी गरी प्रतिवादी सुधा रायमाझीका नाउँको कि.नं. १९९ को जग्गासमेत बन्डा लाग्ने ठहर भएको पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी भई उक्त कि.नं. १९९ को घर जग्गा प्रतिवादीको निजी आर्जनको भई बन्डा गर्नु नपर्ने ठहरेकाले सोहीबमोजिम लगत संशोधन गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाइदिनू -१ 

प्रतिवादी हंसकुमारी रायमाझीले यस अदालतमा पुनरावेदन दर्ता गर्दा राखेको कोर्ट फीबापतको धरौटी रकम रू.१०५७।– नियमानुसार सदरस्याहा गर्नु भनी लेखा शाखामा लेखी पठाइदिनू -१ 

वादीले सुरू फिराद गर्दा लाग्ने कोर्ट फी रू.३५,०२०।– र पुनरावेदन अदालतमा पुनरावेदन गर्दा सोको १५% ले हुने कोर्ट फी रू.५,२५३।– समेत जम्मा रू.४०,२७३।– कोर्ट फी ऐन, २०१७ को दफा २३ बमोजिम पछि दाखिल गर्ने गरी सुविधा लिई दर्ता भएको देखिएकोले बन्डा छुट्याउँदा बखत वादीबाट असुल गर्नु र उक्त कोर्ट फी प्रतिवादीबाट भराइपाउँ भनी वादीले निवेदन दिएमा निजले अंश पाएको सम्पत्तिको अनुपातमा प्रतिवादीहरूबाट भराइदिनू -१ 

प्रतिवादीहरू सुधा रायमाझी र विजय रायमाझीको पुनरावेदन जिकिर पुग्ने गरी फैसला भएकाले निजहरूले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फीबापतको धरौटी रकम क्रमशः रू.११,३०७।– र रू.११,३२२।– निजहरू फिर्ता माग्न आएमा नियमानुसार गरी फिर्ता दिनु भनी लेखा शाखामा लेखी पठाइदिनू -१

सरोकारवाला नक्‍कल माग्न आएमा नियमानुसार गरी नक्‍कल दिनू -१

प्रस्तुत फैसला विद्युतीय प्रणालिमा प्रविष्ट गरी मुद्दाको दायरीको लगत कट्टा गर्नु र मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू -१

 

उक्त रायमा सहमत छु ।

न्या.अनिलकुमार सिन्हा

 

इजलास अधिकृत:- अञ्‍चन भट्टराई

इति संवत् २०७९ साल चैत्र १४ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु