शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४०९ - जबरजस्ती करणी

भाग: ६७ साल: २०८२ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी

फैसला मिति : २०८१।३।४

०७५-CR-०१९४

 

मुद्दा: जबरजस्ती करणी

 

पुनरावेदक / वादी : परिवर्तित नाम गैंडाकोट १३(ख) को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला नवलपरासी कोल्हवा गाउँ विकास समिति वडा नं.१ बस्ने डिल्लीराम थारूको छोरा शंकरप्रसाद थारू

जबरजस्ती करणीसम्बन्धी कसुरको सर्वोत्तम प्रमाण पीडित हुने हुँदा पीडितको उमेर आर्थिक, सामाजिक अवस्थालाई समेत संवेदनशीलतापूर्वक विचार गर्नुपर्ने । अर्काको घरमा भाँडा माझेर खानुपर्ने विपन्‍न पारिवारिक अवस्था भएकी पीडित बालिकाको वतनमा म्याद जारी हुँदा निज फेला नपरी घर दैलोमा टाँस तामेल हुँदा निज पीडित अदालतसमक्ष उपस्थित नभएको अवस्थाको फाइदा वा सुविधा प्रतिवादीले नपाउने ।

(प्रकरण नं.५)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सुशिला ज्ञावाली 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने:-

मा.जिल्ला न्यायाधीश श्री राधाकृष्ण उप्रेती

नवलपरासी जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः- 

मा.न्यायाधीश श्री नारायणप्रसाद श्रेष्‍ठ

मा.न्यायाधीश श्री शान्ता सेढाई सापकोटा

उच्च अदालत तुलसीपुर, बुटवल इजलास

 

फैसला

न्या.शारङ्गा सुवेदी : यसै अदालतको क्षेत्राधिकारअन्तर्गत पर्ने प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउन निवेदन परी दोहोर्‍याई हेरिपाउने अनुमति प्राप्‍त भई दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर यस प्रकार छ । 

संक्षिप्त तथ्य

मिति २०७२।०६।१० गतेका दिन म जाहेरवालाको बहिनी परिवर्तित नाम गैंडाकोट १३(क) लाई शंकरप्रसाद थारूले आफ्नो होटलमा काम गर्न बोलाई रातिको समयमा जबरजस्ती करणी गरेको भनी बहिनीले गाउँघरमा भने पछि जानकारी पाई यो जाहेरी लिई उपस्थित भएको छु । प्रतिवादीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको परिवर्तित नाम गैंडाकोट १३(ख) को जाहेरी दरखास्त । 

जिल्ला नवलपरासी गैंडाकोट नगरपालिका वडा नं. १३ पितौजी स्थित पूर्वमा चेतबहादुर खत्रीको खाली जग्गा, पश्‍चिम ज्ञानबहादुर खत्रीको घर, उत्तर पूर्व पश्‍चिम पर्ने राजमार्ग सडक र दक्षिण दाना फ्याक्ट्री यति चार किल्लाभित्र चेतबहादुर खत्रीको घर, सोही घरको भित्री कोठामा प्रतिवादी शंकरप्रसाद थारूले परिवर्तित नाम गैंडाकोट १३(क) लाई विभिन्‍न किसिमका धाक धम्की दिई जबरजस्ती करणी गरेको भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

मिति २०७२।०६।१० गतेका दिन निज शंकरप्रसाद थारूले मलाई तिमी मेरो होटलमा भाँडा धुने, खाना पकाउने काम गर्नु तिमीलाई महिनाको ४/५ हजार दिउँला दसैँ खर्चसमेत दिउँला भनी भनेकोले; म सोही दिनको ३:०० बजेको समयदेखि निजको होटलमा काम गरी रातिको खाना खाई म सोही होटलको भित्र बेन्चमा सुतिरहेको अवस्थामा प्रतिवादी शंकरप्रसाद थारू सोही होटलको दक्षिणतर्फको ढोकातर्फको भुईंमा सुतेका थिए । राति अन्दाजी ११:०० बजेको समयमा निजले मलाई नानी, तिमी तल झर तिमीलाई कपडा किनिदिन्छु, जे भन्छौ त्यही ल्याइदिन्छु भनी मेरो खुट्टा समाई जबरजस्ती तल झारी मेरो कपडा खोल्न लागेपछि म कराउँदा मेरो मुख थुनी मलाई सोही होटलको दक्षिणतर्फको भुईंमा लडाई मेरो लुगा खोली जबरजस्ती करणी गरेपछि म त्यहाँबाट भागी बाहिर गई बसेको अवस्थामा समेत फेरी तानेर लिई आई अर्को चोटिसमेत करणी गरेका हुन् । पछि मलाई उक्त कुरा कसैलाई भने मार्ने धम्की दिएको हुँदा मैले उक्त कुरा २ दिनसम्म कोही कसैलाई भनेकी थिइँन । पछि होटल नजिकैको सीता आन्टीले अस्ति राति तिमी किन कराएको भनी सोधेपछि सबै कुरा भनेकी हुँ । निजलाई कानूनबमोजिम कारबाही हुनु पर्छ भन्‍नेसमेत बेहोराको पीडित गैंडाकोट १३(क) ले अनुसन्धानको क्रममा गरेको घटना विवरण कागज । 

परिवर्तित नाम गैंडाकोट १३(क) को स्वास्थ्य परीक्षण मिसिलमा संलग्न रहेको ।

मिति २०७२।०६।१० गतेका दिन परिवर्तित नाम गैंडाकोट १३(क) लाई भेटी म तिमीलाई दसैँ खर्च दिउँला साथै मासिक ४/५ हजार तलबसमेत दिउँला भनेपछि निजले हुन्छ म तपाइँको होटलमा काम गर्छु भनी कुरा भएपछि निज परिवर्तित नाम गैंडाकोट १३(क) ले सोही दिन ३:०० बजेको समयदेखि मेरो होटलमा काम गरी रातिको खानासमेत खाई होटलको ढोकासमेत बन्द गरी सुत्‍ने तयारी गर्दा गर्दै निज परिवर्तित नाम गैंडाकोट १३(क) होटलमा सुतिरहेको अवस्थामा म पनि सोही होटलमा सुतिरहेको थिएँ । राति मलाई निज परिवर्तित नाम गैंडाकोट १३(क) लाई जबरजस्ती करणी गर्ने मनसाय भएपछि निज सुतिरहेको स्थानबाट बेन्चमा सुत्दा ढाड दुख्छ, तल आउ भनी निजलाई भुईंमा सुत्‍न लगाई निजले लगाएको सुरूवाल खोली आफ्नो लिङ्ग निजको योनिमा आधा इन्च छिराई मन नलागेपछि छोडेको हुँ भन्‍नेसमेत बेहोराको प्रतिवादी शंकरप्रसाद थारूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

मिति २०७२।०६।१० गते राति म जिल्ला नवलपरासी गैंडाकोट नगरपालिका वडा नं. १० आफ्नै पसलमा सुतिरहेको अवस्थामा अन्दाजी ११:३० बजेको समयमा मेरो पसल बाहिरबाट आई एक जना बालिकाले आमा उठ्नुहोस् न, म त्यहीँ सुत्छु, यहाँ सुत्‍न सक्दिनँ भनेपछि मैले म अहिले उठ्दिनँ तिमी अन्तै जाउ भनी भित्रबाट जवाफ दिएपछि निज पछि कराइनन् । पछि कहाँ गइन् मलाई थाहा भएन । भोलिपल्ट प्रतिवादी शंकरप्रसाद थारू बाहिर गएपछि निज परिवर्तित नाम गैंडाकोट १३(क) नजिकै रहेको मेरो पसलमा आए पछि मैले राति तिमी किन कराएको भनी सोध्दा निजले आफूलाई प्रतिवादी शंकरप्रसाद थारूले जबरजस्ती करणी गरेको भनी भनेपछि हामीले घर धनी चेतबहादुर खत्रीको जिम्मा लगाई पठाएका हौ भन्‍नेसमेत बेहोराको अनुसन्धानको क्रममा सिता श्रेष्ठले गरिदिएको घटना विवरण कागज ।

छोरी प्रतिवादी शंकरप्रसाद थारूले सञ्चालन गरेको होटलमा काम गर्न भनी गएको अवस्थामा सोही राति ११:०० बजेको समयमा निज छोरीलाई जिल्ला नवलपरासी गैंडाकोट १० स्थित निजले सञ्चालन गरेको होटलमा जबरजस्ती करणी गरेको भनेपछि मसमेतले सुनी थाहा पाएका हौं । प्रतिवादीले विभिन्‍न धाक धम्की दिई कराइस् बोलिस् भने मारिदिन्छु भनी जबरजस्ती करणी गर्ने प्रयास गरेकोले प्रतिवादी शंकरप्रसाद थारूलाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्‍नेसमेत बेहोराको गैंडाकोट १३(ग) ले अनुसन्धानको क्रममा गरेको घटना विवरण कागज ।

प्रतिवादीले मेरो घरमा होटल व्यवसाय गर्छु भनेपछि मैले २ महिनाअगाडि निजलाई होटल गर्न दिएको हुँ । मिति २०७२।०६।१० गते परिवर्तित नाम गैंडाकोट १३(क) लाई जबरजस्ती करणी गरेको भनी सुनी थाहा पाएको हो । निजलाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्‍नेसमेत बेहोराको घर धनी चेतबहादुर खत्रीले अनुसन्धानको क्रममा गरेको घटना विवरण कागज ।

मिति २०७२।०६।१० गते राति अ.११:०० बजेको समयमा जिल्ला नवलपरासी गैंडाकोट नगरपालिका वडा नं. १० स्थित प्रतिवादी शंकरप्रसाद थारूले सञ्चालन गरेको होटलमा पीडित परिवर्तित नाम गैंडाकोट १३(क) लाई विभिन्‍न किसिमका धाक धम्की दिई जबरजस्ती करणी गरेको निज पीडित बालिकाले भनेपछि थाहा पाई निज बालिकालाई सोधपुछ गर्दा सबै कुरा भनेपछि मसमेतले सुनी थाहा पाएको हो । यसरी आफ्नो होटलमा काम गर्न लगाउने र आफैँले जबरजस्ती करणी गर्ने प्रतिवादी शंकरप्रसाद थारूलाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्‍नेसमेत बेहोराको यमबहादुर सुनारसमेतका मानिसहरूले एकै मिलान हुने गरी लेखाइदिएको वस्तुस्थिति मुचुल्का ।

मिति २०७२।०६।१० गतेका राति प्रतिवादी शंकरप्रसाद थारूले सञ्चालन गरेको होटलभित्र सुतिरहेकी वर्ष ११ की परिवर्तित नाम गैंडाकोट १३(क) लाई ललाइ फकाइ जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३ नं. को देहाय २बमोजिमको कसुर अपराध गरेको देखिँदा निज प्रतिवादी शंकरप्रसाद थारूलाई र सोही ऐन महलको ३ नं. को देहाय २ नं.बमोजिम सजाय गरी पाउन र पीडित गैंडाकोट १३(क) लाई सोही महलको १० नं. र १०ग. नं.बमोजिम प्रतिवादीबाट मनासिब माफिकको क्षतिपूर्ति दिलाई भराई पाउँ भन्‍नेसमेत मागदाबी लिई पेस भएको अभियोग पत्र ।

जाहेरी दरखास्तको बेहोरा झुठ्ठा हो । मैले जाहेरवालाको बहिनीलाई जबरजस्ती करणी गरेको छैन । उक्त रातिको समयमा म मेरो श्रीमती र छोरासँग सुतेको हो । जाहेरवालाको बहिनी मेरो होटलमा आफैँ काम गर्न भनी आई भाँडा माझ्न थालेकी थिई । सो दिन जाहेरवालाले यी पीडितलाई कुटपिट गरेकाले मेरो होटलमा काम गर्न आएकी रहेछ । मैले काम गर्न बोलाएको पनि होइन । यसअघि पनि कहिले काहीँ यी जाहेरवालाको बहिनी काम गर्न आउने गर्दथिन् । सो दिन मेरो होटलमा काम गर्न आएपछि मैले पीडितलाई खान दिई उसलाई घर जाउभन्दा नमानेर मेरै होटलमा सुतेकी हुन् । म, मेरो छोरा र श्रीमती अलग्गै सुतेको हो । मैले जाहेरवालाको बहिनीलाई जबरजस्ती करणी गरेको होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी शंकरप्रसाद थारूले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बयान ।

मिसिल संलग्न किटानी जाहेरी, घटनास्थल मुचुल्का, वस्तुस्थिति मुचुल्का, यी प्रतिवादीको मौकाको बयानसमेतका तत्काल प्राप्‍त आधार प्रमाणहरूबाट यी प्रतिवादी आरोपित कसुरका कसुरदार रहेछन् भनी भन्‍न सकिने अवस्थाको विद्यमानता रहेको हुँदा मुलुकी ऐन, अ.बं. ११८ को देहाय ५ र १० नं.बमोजिम प्रतिवादीबाट रू. ५०,०००।– धरौटी नगदै वा सो बराबरको जेथा जमानत दिए लिई निजलाई तारेखमा राख्‍नु भन्‍नेसमेत बेहोराको सुरू नवलपरासी जिल्ला अदालतको मिति २०७२/६/२४ को आदेश ।

मिति २०७२।६।२४ को सुरू अदालतको थुनछेक आदेशउपर वादी पक्षको अ.बं. १७ नं.बमोजिम पुनरावेदन अदालतमा निवेदन परेकोमा प्रतिवादीलाई धरौटी लिई तारेखमा राख्‍ने गरी भएको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ । यी प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा राख्‍नु भन्‍ने तत्कालीन पुनरावेदन अदालत बुटवलको मिति २०७२।९।३० को आदेश ।

निज प्रतिवादी शंकर थारूले मेरो घरमा विगत ४/५ महिनादेखि होटेल गरी बसेका थिए र निज प्रतिवादी र जाहेरवाला लेनदेन व्यवहार सम्बन्धमा १०/१५ दिनअघि झगडा गरेको र यो घटना घटेको भनेको हुन् । निज प्रतिवादीले जाहेरवालालाई जबरजस्ती करणी गरेका हुन् होइनन्; मैले देखेको होइन, सुनी थाहा पाएको हो भन्‍नेसमेत बेहोराको घटना विवरणमा कागज गर्ने चेतबहादुर खत्रीले सुरू नवलपरासी जिल्ला अदालतमा गरेको बकपत्र ।

म र प्रतिवादी छिमेकी हौं । प्रतिवादीले होटेल गरेको ठाउँमा पीडित भनिएकीको दाजु आई मादक पदार्थ सेवन गरेको र निज प्रतिवादीले निजले खाएको मूल्य रकम माग्दा नदिएकोले निजहरूबिच झगडा भएको थियो । म नजिकै छिमेकी भएकोले उक्त झगडा म आफैँले देखेको हुँ । घटना घटेको भनेको दिन पीडितलाई निजको दाजुले कुटपिट गरेको र उक्त प्रतिवादीको होटेलमा आएको, खानपिन गरेको र बेलुका घरमा जाउ भन्दा म घर जान्‍न, घर गयो भने मेरो दाजुले पिट्छन् भनेकीले पीडितलाई प्रतिवादीले निजको होटेलमा बास बस्न दिएको हो । यी प्रतिवादी निर्दोष छन् । यी प्रतिवादीले पीडित भनिएकीलाई जबरजस्ती करणी गरेका छैनन् । अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्‍नेसमेत बेहोराको प्रतिवादी शंकरप्रसाद थारूका साक्षी सुरेश कुमार महतोले सुरू नवलपरासी जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादीले जबरजस्ती करणी गरेको भए जबरजस्ती करणी हुँदा देखिने चिह्न दशी प्रमाणहरू स्वास्थ्य परीक्षण रिपोर्टबाट देखिनुपर्नेमा सो भए गरेको नदेखिएको, यी प्रतिवादीउपर १३ वर्षकी नाबालिकाले र निजको दाजुले आफ्नो सामाजिक मान प्रतिष्ठामा आँच आउने गरी झुठ्ठा पोल उजुर गर्नुपर्ने अवस्था र स्थितिसमेत रहे भएको नदेखिएको अवस्थामा यी प्रतिवादीलाई थुनछेक को सन्दर्भमा रू. ५०,०००।- धरौटी तारिखमा छोडिएकोमा श्री पुनरावेदन अदालत बुटवलले थुनामा राखी कारबाही गर्नु भनी भएको आदेशपश्‍चात् निज फरार रहेको अवस्था, निज प्रतिवादीलाई करणी जस्तो मुद्दामा फसाउनुपर्ने कारण रहे भएको नदेखिएको र सो बेहोरालाई प्रतिवादीले समेत लेखाउन नसकेको अवस्थामा यी प्रतिवादी शंकरप्रसाद थारूले आफ्नो होटलमा काम गर्ने वर्ष १३ की नाबालिका परिवर्तित नाम गैंडाकोट १३ क लाई जबरजस्ती करणीको उद्योगसम्मको कसुर गरेको पुष्टि भएको देखिँदा निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ५ नं. बमोजिम ऐ. को ३(२) नम्बरले हुने सजायको आधा सजाय कैद वर्ष ४(चार) हुने ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू नवलपरासी जिल्ला अदालतबाट मिति २०७३।०२।२४ मा भएको फैसला ।

प्रतिवादी शंकरप्रसाद थारूले पीडित परिवर्तित नाम गैंडाकोट १३(क) लाई आफ्नो होटलमा कामदारको रूपमा दिउँसो ३.०० बजेदेखि रातिसम्म काममा लगाई राति सोही होटलमा सुतेकी पीडितलाई जबरजस्ती करणी गरेको हुँ भनी अधिकारप्राप्त अधिकारीसमक्षको बयान, पीडितको मौकाको कागज, मौकामा बुझिएकी सीता श्रेष्ठको कागज, जाहेरी दरखास्त र वस्तुस्थिति मुचुल्काका मानिसको भनाइसमेतबाट पुष्टि भएको र प्रतिवादीउपर पीडितले जबरजस्ती करणी गरेको भनी उजुर दिनुपर्ने कारणसमेत प्रतिवादीले भन्‍न लेखाउन नसकेको अवस्थाबाट शंकर थारूले परिवर्तित नाम गैंडाकोट १३(क) लाई जबरजस्ती करणी गरेको पुष्टि भएको अवस्थामा सोविपरीत प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय नगरी सोभन्दा कम उद्योग गरेको ठहर गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तत्कालीन पुनरावेदन अदालत बुटवलमा दिएको पुनरावेदन पत्र ।

पीडितले अनुसन्धानको क्रममा गरेको कागज, प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान बेहोरा र जबरजस्ती करणीको महलको १(ग) नं. को कानूनी प्रावधानको व्याख्यासमेतको समग्रतामा जबरजस्ती करणी उद्योगको कसुरमा प्रतिवादीलाई सजाय हुने ठहर गरी सुरू अदालतबाट भएको फैसला विचारणीय देखिँदा अ.बं. २०२ नं. र उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्‍ने तत्कालीन पुनरावेदन अदालत बुटवलको मिति २०७३।८।१६ को आदेश ।

प्रतिवादी कसुर गरेतर्फ इन्कार रहेको, जबरजस्ती करणीको कुनै चिह्न स्वास्थ्य जाँच प्रतिवेदनमा उल्लेख नभएको, पीडित अदालतसमक्ष उपस्थित भई बकपत्र नगरेको, पीडित नाबालक रहेको आफ्नो मान प्रतिष्ठामा आँच आउने गरी त्यसै कसैउपर झुठ्ठो दोषारोपण गर्न पर्ने अवस्था नभएको, प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान, प्रतिवादीले अदालतसमक्षको बयानमा वारदातको राति पीडित आफ्नो होटलमा सुतेको भन्‍ने तथ्यलाई स्वीकार गरेको, सुरू जिल्ला अदालतको फैसलाउपर पुनरावेदन नगरी स्वीकार गरी बसेको अवस्था रहेबाट प्रतिवादीले जबरजस्ती करणीको उद्योगसम्मको कसुर कायम गरी जबरजस्ती करणीको महलको ५ नं.बमोजिम ३(२) नम्बरले हुने सजायको आधा सजाय कैद वर्ष ४ को सजाय प्रतिवादीलाई हुने ठहर गरी सुरू जिल्ला अदालतबाट मिति २०७३।२।२४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७३।१२।२१ मा भएको फैसला ।

जाहेरवालाको बहिनी पीडित परिवर्तित नाम गैंडाकोट १३(क) लाई प्रतिवादी शंकरप्रसाद थारूले आफ्नो होटलमा काम गर्न भनी बोलाई रातिको समयमा जबरजस्ती करणी गरेको भनी किटानी जाहेरी परेको देखिन्छ । पीडित गैंडाकोट १३(क) ले पनि आफूलाई प्रतिवादीले निजको होटेलमा रातको समयमा मुख थुनी २ पटकसम्म जबरजस्ती करणी गरेको र करणीपश्‍चात् डर, धम्की र प्रलोभनसमेत दिएको भनी कागज गरेको अवस्था भएको र निज जाहेरवाला तथा पीडितले प्रतिवादीलाई झुट्टा आरोप लगाउनुपर्ने कारणसमेत केही नदेखिएको, प्रतिवादी शंकरप्रसाद थारूले अनुसन्धानको क्रममा बयान गर्दा आफूले पीडित बालिकालाई जबरजस्ती करणी गरेको र करणी गर्दा आधा इन्चजति लिङ्ग योनिमा प्रवेश गराएको कुरामा समेत साबित भएको देखिन्छ । प्रतिवादीको उक्त भनाइ जाहेरी तथा पीडितको कागजबाट समर्थित रहेको अवस्था छ । पीडित नाबालिका भएकोले निजले आफैँले काम गर्ने होटल मालिकसँग प्रतिकार गर्न सक्ने अवस्था पनि नदेखिएको, पीडितको शारीरिक जाँचबाट निजको योनिको कन्याजाली च्यातिएको भन्‍ने नखुलेको अवस्था भए पनि विष्णु अधिकारी विरूद्ध नेपाल सरकार भएको जबरजस्ती करणी मुद्दा (ने.का.प.२०६३, पृ.२३१) मा प्रतिपादित सिद्धान्तको आधारमा समेत जबरजस्ती करणीको अपराध हुनका लागि योनिमा लिङ्ग प्रवेश हुन अनिवार्य हुने हुँदा उच्च अदालतको फैसलामा जबरजस्ती करणीको महलको ३(२) नं. र ५ नं. तथा उल्लिखित नजिरको पालनामा त्रुटिपूर्ण देखिएकोले उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारले यस अदालतमा दोहोर्‍याइपाउँ भनी दिएको निवेदन ।

यसमा उच्च अदालतबाट जबरजस्ती करणी उद्योगको वारदात ठहर गरेको देखियो । पीडित १३ वर्षकी नाबालिका रहेकी र निज पीडितले कागज गर्दा तथा प्रतिवादी शंकरप्रसाद थारूले अनुसन्धानका क्रममा कागज गर्दा पीडितको योनिमा लिङ्गको केही भाग प्रवेश गराएको कुरा उल्लेख भएको देखिँदा मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को स्पष्टीकरण (ग) बमोजिम जबरजस्ती करणीको कसुर भएको देखिनेमा अन्यथा गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७३।१२।२१ को फैसलामा कानूनको व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ उपदफा (१) खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरीदिएको छ । नियमानुसार गर्नु भनी यस अदालतबाट मिति २०७५।४।११ मा भएको आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता श्री सुशिला ज्ञवालीले प्रतिवादीले पीडित परिवर्तित नाम गैंडाकोट १३(क) लाई अनुसन्धानको क्रममा बयान गर्दा, आफ्नो लिङ्ग आधा इन्च छिराई मन नलागेपछि छोडेको हुँ भनी जबरजस्ती करणीको कसुर गरेको कुरा स्वीकार गरेको, पीडित गैंडाकोट १३(क) ले पनि आफूलाई प्रतिवादीले होटेलमा रातको समयमा मुख थुनी २ पटकसम्म जबरजस्ती करणी गरेको भनी कागज गरेको, वारदात मितिमा पीडित परिवर्तित नाम गैंडाकोट १३(क) प्रतिवादीको होटलमा सुतेको कुरामा विवाद नरहेको, पीडितको शारीरिक जाँचबाट निजको योनिको कन्याजाली च्यातिएको भन्‍ने नखुलेको अवस्था भए पनि लिङ्ग प्रवेश गर्नु नै जबरजस्ती करणी हुने भन्‍ने (ने.का.प.२०६३, पृ.२३१) मा प्रतिपादित सिद्धान्तको आधारमा समेत सुरू नवलपरासी जिल्ला अदालतबाट प्रतिवादीलाई जबरजस्ती करणीको कसुर ठहर नगरी जबरजस्ती करणीको उद्योग ठहर गरेकोमा सो फैसला सदर गरेको उच्च अदालत बुटवल इजलासको फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

यसमा प्रतिवादी शंकरप्रसाद थारूले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३ नं. को देहाय २बमोजिमको कसुर अपराध गरेको देखिँदा सोही महलको ३ नं. को देहाय २ बमोजिम सजाय गरी पाउन र पीडित गैंडाकोट १३(क) लाई सोही महलको १० नं. र १०ग. नं.बमोजिम प्रतिवादीबाट मनासिब माफिकको क्षतिपूर्ति दिलाई भराई पाउँ भन्‍ने अभियोग मागदाबी रहेको देखिन्छ । जबरजस्ती करणीको उद्योगसम्मको कसुर कायम गरी प्रतिवादीलाई जबरजस्ती करणीको महलको ५ नं.बमोजिम ऐ. ३(२) नं. ले हुने सजायको आधा सजाय कैद वर्ष ४ को सजाय हुने ठहर गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याई उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७३।१२।२१ मा भएको फैसलाउपर यस अदालतसमक्ष वादी नेपाल सरकारको तर्फबाट दोहोर्‍याइपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट दोहोर्‍याई हेरिपाउने गरी अनुमती प्राप्त भई पुनरावेदनसरह दर्ता भई प्रस्तुत मुद्दा निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको देखियो ।

प्रस्तुत मुद्दामा सुरू नवलपरासी जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? सो सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, जबरजस्ती करणीको उद्योगसम्मको कसुर गरेको ठहर्‍याई प्रतिवादीलाई ४ वर्ष कैद सजाय हुने ठहर गरी सुरू अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याई उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिमको कसुर कायम गरी सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको जिकिर रहेको देखिँदा सोतर्फ नै विवेचना गर्नुपर्ने अवस्था देखिन आयो । प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरे नगरेतर्फ हेर्दा प्रतिवादीले पीडित परिवर्तित नाम गैंडाकोट १३(क) लाई मिति २०७२।०६।१० गतेको राति जबरजस्ती करणी गरेको भनी पीडितको दाजुले प्रतिवादीको विरूद्ध किटानी जाहेरी दिएको देखिन्छ । प्रतिवादीले सञ्‍चालन गरेको होटलमा भाँडा धुनेसमेतको काम गरे महिनाको ४/५ हजार रूपैयाँ दिउँला दशैं खर्चसमेत दिउँला भनी पीडित बालिकालाई मिति २०७२।०६।१० का दिन काममा लगाई राति होटलभित्र बेन्चमा निज बालिका सुतिरहेको अवस्थामा कपडा किनिदिन्छु । जे भन्छौ, त्यही दिन्छु भनी फकाइ बेन्चबाट तल झारी मुख थुनी जबरजस्ती करणी गरेको र पीडित भागी बाहिर गई बसेको अवस्थामा पुनः तानेर ल्याई जबरजस्ती करणी गरेको सो कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको भन्‍नेसमेतको बेहोरा खुलाई पीडितले घटना विवरण कागज गरिदिएको देखिन्छ । प्रतिवादीले मौकामा बयान गर्दा वारदात मितिमा राति बेन्चमा सुतिरहेकी पीडित बालिकालाई उठाई भुइँमा सुत्‍न लगाई पीडितको सुरूवाल खोली आधा इन्चजति आफ्नो लिङ्ग पीडितको योनिमा प्रवेश गराएको भन्‍ने तथ्यमा साबित नै रही बयान गरेको अवस्था देखिन्छ । मिसिल प्रमाणहरूबाट प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम निज प्रतिवादीको सो बयान बेहोरा प्रमाणमा लिन नमिल्ने अवस्था र कारण केही देखिन आएको छैन । त्यसै गरी पीडित बालिकाले प्रतिवादीका विरूद्ध झुठा आरोप लगाउनुपर्नेसम्मको अवस्था र कारणसमेत केही देखिन आएको छैन ।

३. प्रतिवादीले आदालतसमक्ष बयान गर्दा, आरोपित कसुरमा इन्कार रही बयान गरेको भए तापनि वारदात मितिमा दिनभरि प्रतिवादीले पीडितलाई भाँडा माझ्नेसमेतको काममा लगाएको राति पीडित निजको होटलमा नै सुतेको र सो राति प्रतिवादी पनि सोही ठाउँमा सुतेको तथ्यमा भने साबित नै रहेको अवस्था देखिन्छ । पीडित आर्थिक रूपमा विपन्‍न पारिवारिक पृष्ठभूमि भएकी १४ वर्षभन्दा कम उमेरकी बालिका भएको र प्रतिवादीले सञ्‍चालन गरेको होटलमा मासिक ४/५ हजार मजदुरी पाउने आशामा भाँडा माझ्नेसमेतको कार्य गर्न मन्जुर भई काम गर्न गएको भन्‍ने तथ्यमा प्रतिवादीको अन्यथा जिकिर रहेको देखिँदैन । यि प्रतिवादी ३८ वर्षको बलिष्ठ पुरूषले आफ्नो अधीनमा जुठो भाँडा माझ्न बसेकी बालिका विरूद्ध जबरजस्ती करणी गरेको अवस्थामा पीडितले प्रतिवाद गर्न सक्ने अवस्था नहुने स्पष्ट देखिन्छ । प्रतिवादीले धम्की दिएको कारण पीडितले सो कुरा तत्काल अभिव्यक्त गर्न नसकी वारदातको दुई दिनपछि मात्र घटनाबारे बताएको र जाहेरी परेको अवस्था मिसिल प्रमाणबाट देखिन्छ । पीडितको योनिमा प्रतिवादीले आफ्नो लिङ्गको आधा इन्चजति मात्र प्रवेश गराई जबरजस्ती करणी गरेको अवस्थामा पीडितको कन्याजाली नच्यातिने अवस्था हुनु स्वाभाविक देखिन्छ । पीडितको उमेर, आर्थिक सामाजिक अवस्थासमेतलाई दृष्टिगत गर्दा प्रतिकार गर्ने क्षमता नहुने अवस्था देखिन आएबाट पीडितको शरीरमा सङ्घर्षका चिह्नहरू घाउ खतहरू नहुनु पनि स्वाभाविक देखिन्छ ।

४. वादी पक्षका साक्षी घटना विवरण कागज गर्ने व्यक्ति चेतबहादुर खत्रीले मौकामा कागज गर्दा प्रतिवादीले आफ्नो घरमा दुई महिना अघिदेखि होटल व्यवसाय गरी आएको मिति २०७२/६/१० को राति पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको भन्‍ने सुनी थाहा पाएको भनी कागज गरेकोमा वारदातको प्रत्यक्ष साक्षीसमेत नरहेका निज साक्षीले प्रतिवादीले आरोपित कसुर गरेको होइन मैले देखेको होइन सुनेको हो भनी अदालतसमक्ष गरेको बकपत्रलाई प्रमाणमा लिई निज प्रतिवादीले आरोपित कसुर गरेको होइन भन्‍न मिल्ने अवस्था देखिएन । प्रतिवादीको साक्षी सुरेश कुमार महतोले प्रतिवादीले बयानमा नै नखुलाइको बेहोरा जाहेरवालाले प्रतिवादीको होटलमा मादक पदार्थ सेवन गरेको मूल्य नतिरी विवाद भएको भन्‍नेसमेतको बेहोरा खुलाई गरेको बकपत्रलाई वस्तुनिष्ठ प्रमाण मान्‍न मिल्ने भएन ।

५. जबरजस्ती करणीको उद्योगको कसुर गरेको ठहर्‍याई सुरू अदालतबाट भएको फैसलाउपर ऐनका म्यादभित्र प्रतिवादीको कुनै पुनरावेदन नपरेको हुँदा निजले सो फैसलामा चित्त बुझाएको भनी मान्‍नुपर्ने हुन्छ । सो आधारमा हेर्दा वारदात भए घटेको कुरामा प्रतिवादीको अन्यथा जिकिर नरहेको अवस्था देखिन आयो । वारदातको प्रकृतिबाट अभियोग दाबीबमोजिम जबरजस्ती करणीको कसुर भए घटेको हो वा जबरजस्ती करणीको उद्योग मात्र हो भन्‍नेतर्फ हेर्दा मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. हेर्दा “कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा जबरजस्ती करणी गरेको ठहर्छ” भनी र सोही महलको १ नं. को स्पष्टीकरण (ग) को कानूनी व्यवस्था हेर्दा “योनिमा लिङ्ग केही मात्र प्रवेश भएको रहेछ भने पनि यस नम्बरको प्रयोजनको लागि करणी गरेको मानिने छ” भन्‍ने कानूनी व्यवस्था रहेको पाइन्छ । सो व्यवस्थाअनुसार योनिमा लिङ्गको पूर्ण प्रवेश नभएको, वीर्य स्खलन नभएको, घर्षण नभएको अवस्थामा पनि करणीको कसुर कायम हुन सक्ने नै देखिन्छ । प्रस्तुत मुद्दाका पीडितको योनिमा घाउचोटहरू नलागेको, निलडाम नभएको, कन्याजाली नच्यातिएको भन्‍ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिन आएको छ । सुरू अदालतबाट पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई आधार लिई प्रतिवादीले जबरजस्ती करणीको उद्योगसम्म गरेको भनी ठहर गरेको अवस्था देखिन्छ । तर उपर्युक्त मुलुकी ऐन, जबरजस्ती करणीको महल १ नं. को व्यवस्थाअनुसार योनिमा लिङ्गको केही भाग प्रवेश भएको रहेछ भने पनि जबरजस्ती करणी भएको मान्‍नुपर्ने हुँदा जबरजस्ती करणीको उद्योगसम्मको कसुर मात्र भएको हो भनी मान्‍न मिल्ने अवस्था देखिएन । पीडितको योनिमा प्रतिवादीको लिङ्ग पूर्ण रूपमा प्रवेश नै नभएको अवस्थामा पीडितको कन्याजाली नच्यातिएको हुन सक्छ । कन्याजाली नच्यातिएको भन्‍ने आधारमा जबरजस्ती करणीको वारदात नै कायम हुन नसक्ने भन्‍न मिल्दैन । पीडितको कन्याजाली नच्यातिएको, वीर्य स्खलित नभएको भन्‍ने आधारमा अभियुक्तलाई आरोपित कसुरबाट उन्मुक्ति दिन मिल्दैन । प्रतिवादीले पीडित परिवर्तित नाम गैंडाकोट १३(क) लाई अभियोग माग दाबीअनुसार मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३ नं. को देहाय २ बमोजिमको कसुर गरेको तथ्य मिसिल प्रमाणबाट स्थापित हुन आएकोले प्रतिवादीलाई जबरजस्ती करणीको महलको ५ नं.बमोजिम ३(२) नं. ले हुने सजायको आधा सजाय हुने ठहर गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसलासँग सहमत हुन सकिएन । जबरजस्ती करणीसम्बन्धी कसुरको सर्वोत्तम प्रमाण पीडित हुने हुँदा पीडितको उमेर आर्थिक, सामाजिक अवस्थालाई समेत संवेदनशीलतापूर्वक विचार गर्नुपर्ने हुन्छ । अर्काको घरमा भाँडा माझेर खानुपर्ने विपन्‍न पारिवारिक अवस्था भएकी पीडित बालिकाको वतनमा म्याद जारी हुँदा निज फेला नपरी घर दैलोमा टाँस तामेल हुँदा निज पीडित अदालतसमक्ष उपस्थित नभएको अवस्थाको फाइदा वा सुविधा प्रतिवादीले पाउने भन्‍न मिल्दैन । 

६. तसर्थ, माथि विवेचना गरिएबमोजिमको आधार, कारण, प्रमाण सम्बद्ध कानून तथा स्थापित सिद्धान्तसमेतको आधारबाट प्रतिवादीले जबरजस्ती करणीको महलको ५ नं.बमोजिम ३(२) नं. ले हुने सजायको आधा सजाय कैद वर्ष ४ को सजाय हुने ठहर गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला केही उल्टी भई प्रतिवादी शंकरप्रसाद थारूले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३ नं. को देहाय २बमोजिमको कसुर अपराध गरेको देखिँदा सोही ऐन महलको ३ नं. को देहाय २ नं.बमोजिम ८ वर्ष (आठ) कैद र ऐ. महलको दफा १० नं. र १०ग. नं.बमोजिम प्रतिवादी शंकरप्रसाद थारूबाट पीडितले रू.५०,०००।– क्षतिपूर्ति भराई लिन पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम सुरू नवलपरासी जिल्ला अदालतको फैसला सदर गर्ने गरेको उच्च अदालत पाटनको फैसला केही उल्टी भई प्रतिवादी शंकरप्रसाद थारूले मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय २ नं.बमोजिम ८ वर्ष (आठ) कैद हुने ठहरेकाले निज प्रतिवादी मिति २०७२/६/१३ गतेदेखि प्रहरी हिरासतमा बसी मिति २०७२/६/२५ गते धरौट राखी छुटेको देखिँदा प्रहरी हिरासतमा रहेको दिन १२ कटाई सुरू नवलपरासी जिल्ला अदालतमा फौ.ल.नं. ३३६९ मिति २०७३/९/८ मा कसेको लगत संसोधन गरी निज प्रतिवादी बेरूजु हुँदा लगत कसी असुल गर्नु भनी सुरू नवलपरासी जिल्ला अदालतमा लेखी पठाइदिनू-१

सुरू अदालतको फैसला सदर गर्ने गरेको उच्च अदालतको फैसला केही उल्टी भई प्रतिवादी शंकरप्रसाद थारूबाट पीडित परिवर्तित नाम गैंडाकोट १३(क) ले क्षतिपूर्तिबापत रू.५०,०००।– भरिपाउने ठहरिएकोले प्रतिवादीले सुरू अदालतमा राखेको धरौटी तारिख गुजारी जफत भएकोले पीडित परिवर्तित नाम गैंडाकोट १३(क) ले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १६५(३) बमोजिम प्रतिवादीको यसै सरहदको जेथा देखाई निवेदन दिए नियमानुसार प्रतिवादीबाट पीडतलाई क्षतिपूर्ति भराइदिनु भनी सुरू नवलपरासी जिल्ला अदालतमा लेखी पठाइदिनू-२

प्रस्तुत फैसलाको प्रतिलिपिसहित फैसलाको जनकारी महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंलाई दिनू-३

सरोकारवालाले फैसलासहितको नक्कल माग गरे नियमानुसार लाग्ने दस्तुर लिई फैसलाको नक्कल दिनू-४

प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी फैसला अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू-५ 

                         

उक्त रायमा म सहमत छु ।

न्या.सपना प्रधान मल्ल

 

इजलास अधिकृत (उपसचिव) : इन्द्रकुमार योङहाङ

इति संवत् २०८१ साल असार ४ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु