निर्णय नं. ११४१० - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कुमार रेग्मी
माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना
फैसला मिति : २०८१।०१।३१
मुद्दा:- कर्तव्य ज्यान
०७५-CR-०५१६
पुनरावेदक / प्रतिवादी : फागु चमारको छोरा, जिल्ला नवलपरासी, साबिक कुडिया गाउँ विकास समिति, वडा नं. ४, हाल सुस्ता गाउँपालिका, वडा नं. ३ घर भई हाल कारागार कार्यालय परासी, नवलपरासीमा थुनामा रहेको रूदल चमार (हरिजन)
विरूद्ध
प्रत्यर्थी / वादी : प्रमानन्द कोहारको जाहेरीले नेपाल सरकार
०७५-CR-०५७६
पुनरावेदक / प्रतिवादी : रूदल चमार (हरिजन) को छोरा, जिल्ला नवलपरासी साबिक कुडिया गाउँ विकास समिति, वडा नं. ४, हाल सुस्ता गाउँपालिका वडा नं. ३ घर भई हाल कारागार कार्यालय परासी, नवलपरासीमा थुनामा रहेको रामानन्द चमार (हरिजन)
विरूद्ध
प्रत्यर्थी / वादी : प्रमानन्द कोहारको जाहेरीले नेपाल सरकार
०७५-CR-०५७७
पुनरावेदक / प्रतिवादी : रूदल चमार (हरिजन) को श्रीमती, जिल्ला नवलपरासी, साबिक कुडिया गाउँ विकास समिति, वडा नं. ४, हाल सुस्ता गाउँपालिका, वडा नं. ३ घर भई हाल कारागार कार्यालय परासी, नवलपरासीमा थुनामा रहेको दिनानाथ चमार (हरिजन)
विरूद्ध
प्रत्यर्थी / वादी : प्रमानन्द कोहारको जाहेरीले नेपाल सरकार
०७५-CR-०५७८
पुनरावेदक / प्रतिवादी : रूदल चमार (हरिजन) को श्रीमती, जिल्ला नवलपरासी, साबिक कुडिया गाउँ विकास समिति, वडा नं. ४ हाल सुस्ता गाउँपालिका, वडा नं. ३ घर भई हाल कारागार कार्यालय परासी नवलपरासीमा थुनामा रहेको बुदिया चमार (हरिजन)
विरूद्ध
प्रत्यर्थी / वादी : प्रमानन्द कोहारको जाहेरीले नेपाल सरकार
०७५-CR-०५७९
पुनरावेदक / प्रतिवादी : जिल्ला नवलपरासी, साबिक कुडिया गाउँ विकास समिति, वडा नं. ४, हाल सुस्ता गाउँपालिका, वडा नं. ३ घर भई हाल कारागार कार्यालय परासी, नवलपरासीमा थुनामा रहेको प्यारे चमारको छोरा कोदाइ चमार (हरिजन) समेत
विरूद्ध
प्रत्यर्थी / वादी : प्रमानन्द कोहारको जाहेरीले नेपाल सरकार
धामी झाँक्रीहरूद्वारा गर्ने गराउने परम्परागत उपचारका नाममा हुने पूजामा यदाकदा मान्छेको भोग वा बलि दिने जस्तो अमानवीय र क्रूर कसुरसमेत यदाकदा हुने गरेकोमा यस्तो कसुरलाई कानूनले पूर्णतया बन्देज गरेको मानिने ।
(प्रकरण नं.१९)
समाजमा रहेका यस्ता अन्धविश्वास र कुरीति कायम रहेको देखिएकाले सामाजिक अन्धविश्वास र कुरीतिका जगमा हुने मानव बलि जस्तो जघन्य र मानवता विरोधी अपराधका घटना हुनबाट रोक्न समाजमा सचेतना फैलाउन र कथम्कदाचित घटना भई हालेमा कानूनी दायरामा ल्याउन अझ स्पष्ट कानूनी प्रबन्ध गरिनुपर्ने ।
(प्रकरण नं.२४)
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रामबन्धु शर्मा र विद्वान् अधिवक्ता श्री रामपुकार महतो, वैतनिक कानून व्यवसायी विद्वान् अधिवक्ता श्री सूर्यलक्ष्मी महर्जन, विद्वान् अधिवक्ता श्री हरिप्रसाद मैनाली
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्ति न्यौपाने
अवलम्बित नजिर :
ने.का.प.२०७४, अङ्क ८, नि.नं.९८६१
ने.का.प.२०७५, अङ्क ५, नि.नं.१०००८
ने.का.प.२०८०, अङ्क ९, नि.नं.१११६२
सम्बद्ध कानून :
नेपालको संविधान
मुलुकी अपराध संहिता, २०७४
नेपालको अन्तरिम संविधान, २०६३
बालबालिकासम्बन्धी ऐन, २०४८ र २०७५
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
बोक्सीको आरोप (कसुर तथा सजाय) ऐन, २०७२
जनस्वास्थ्य सेवा ऐन, २०७५
प्रमाण ऐन, २०३१
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४
सुरू तहको फैसला गर्ने :
मा. जिल्ला न्यायाधीश श्री स्वीकृति पराजुली
नवलपरासी जिल्ला अदालत
पुनरावेदन तहको फैसला गर्ने :
माननीय न्यायाधीश श्री रमेश पोखरेल
माननीय न्यायाधीश श्री बामदेव ज्ञवाली
उच्च अदालत तुलसीपुर, बुटवल इजलास
फैसला
न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा प्रतिवादीहरूको पुनरावेदन परी पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, ठहर एवं तपसिल खण्ड यसप्रकार रहेको छः
मुद्दाको संक्षिप्त तथ्य
मिति २०७२।०४।०५ गते अं.५:०० बजेको समयमा जिल्ला नवलपरासी, कुडिया-०४ बस्ने जाहेरवाला प्रमानन्द कोहारको घरपरिवार खेतमा धान गोड्ने काम गरिरहेको र घरमा निजको नाबालक नाति वर्ष १० को जीवन कोहार रहेको थियो । खेतबाट फर्केपछि नातिको खोजतलास गर्दा फेला नपरेको र सोधपुछ गर्दा छिमेकी सुर्यभान चमारको घरमा खेलिरहेको भन्ने छरछिमेकबाट थाहा पाएपछि निजको घरमा गई सोधपुछ गर्दा थाहा नभएको भन्ने जानकारी पाएपछि तत्काल इलाका प्रहरी कार्यालय बेलाटारीमा निवेदन दिई खोजतलासको क्रममा बच्चा ऐ. स्थित कलौनी घोल खोलाको किनार शिवान दुर्गा मन्दिरको नजिक झाडीमा घोप्टो पारी फालेको मृत फेला परेको हुँदा कर्तव्य गरी मारी फाल्ने प्रतिवादीहरू जिल्ला नवलपरासी कुडिया गा.वि.स. वडा नं. ४ बस्ने प्यारे चमारको छोरा वर्ष ३५ को कोदाइ चमारसमेतलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त ।
मेरो छोरा वर्ष १० को सोनु भन्ने जीवन कोहार मिति २०७२।०४।०५ गते बेलुका अं. ५:३० बजेको समयमा गाउँमा खेल्न गएकोमा हालसम्म घर फर्की नआई हराई बेपत्ता भएको हुँदा खोजतलास गरिपाउँ भन्नेसमेत बेहोराको हुलिया निवेदन र सोसँग संलग्न खोजतलास जाहेरी दरखास्त ।
जिल्ला नवलपरासी, कुडिया गाउँ विकास समिति, वडा नं.४ मर्चहवास्थित पूर्वमा वनवारी हरिजनको खेतबारी, पश्चिममा कलौनी घोल तथा पटेरा घारी, उत्तरमा मर्चहवाबाट बिगेप जाने कच्ची बाटो र दक्षिणमा कलौनी घोल तथा पटेरा घारी यति चार किल्लाभित्र मर्चहवाबाट बिगेप जाने कच्ची बाटोको दायाँ किनार दक्षिण-पूर्व कलौनी घोल तथा पटेरा घारीमा मिति २०७२।०४।०५ गतेदेखि हराई बेपत्ता भएका जिल्ला नवलपरासी कुडिया गाउँ विकास समिति वडा नं.४ बस्ने बर्ष १० को सोनु भन्ने जीवन कोहारको पूर्व टाउको पश्चिम खुट्टा भई घोप्टो सडी गली किरा परी दुर्गन्धित अवस्थामा मृत लास रहेको । सो मृतक लासको टाउको रहेको स्थानमा छिपछिपे पानी रहेको र सो लास घरदेखि अं.५०० मिटर दक्षिणतर्फ रहेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
जिल्ला नवलपरासी, कुडिया गाउँ विकास समिति वडा नं. ४ स्थित पूर्वमा राम असरे धरीकारको कच्ची घर, पश्चिममा नरेश हरिजनको कच्ची घर, उत्तरमा शर्मानन्द कोहारको घर र दक्षिणमा महंग हरिजनको कच्ची घर यति चार किल्लाभित्र सुर्यभान चमार र कोदाइ चमारको सिमेन्टको टायल र पटेराले बारेको कच्ची घरहरू रहेको, सो घरहरू भत्काइएको अवस्थामा रहेको र सो घरभित्र रहेका विभिन्न सामानहरू यत्रतत्र छरिएको अवस्थामा रहेको साथै उक्त घरहरू प्रहरीसमेतको रोहबरमा खानतलासी गर्दा घटनामा प्रमाण लाग्ने कुनै चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला नवलपरासी, कुडिया गाउँ विकास समिति वडा नं. ४ स्थित पूर्वमा कोदाइ हरिजनको कच्ची घर, पश्चिममा बाँस घारी, उत्तरमा कोदाइ हरिजनको टिनले छाएको घर र दक्षिणमा सुर्यभान हरिजनको गोठ तथा आँपको रूख यति चार किल्लाभित्र धारादेखि ४ फिटको दूरीमा पटेराको बार छेउमा आकाशे रंगको महिलाले लगाउने पेटिकोट र फिक्का हरियो रंगको महिलाले लगाउने साडी रहेको, सो साडी तथा पेटिकोटमा रगत जस्तो रातो पदार्थ छिटाहरू रहेको सो कपडा प्रहरीले बरामद गरी लिई गएको भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
मृतकको लास फेला परेको स्थानको घटनास्थलको रेखा चित्रण मिसिल सामेल रहेको छ ।
जिल्ला नवलपरासी, कुडिया गाउँ विकास समिति, वडा नं. ४, मर्चहवास्थित पूर्व कुडीया बिगेप चोकको शिव मन्दिर, पश्चिममा मर्चहवाबाट फटकी टोल जाने कच्ची बाटो, उत्तरमा श्रीनगर टोल र दक्षिणमा नर्सही गाउँ विकास समितिको सिमाना मर्चहवा गाउँमा एक तल्ले कोदाइ हरिजनको घर, उक्त घरभित्र प्रवेश गरी हेर्दा भित्तामा हनुमान, दुर्गामाता, कृष्ण काली माताको फोटो टाँगिएको उक्त फोटोको तल भुइँमा अगरबत्ती बालेको टुक्रा, सलाईका काँटीहरू अबिर र सानो माटोको दियोसमेत रहेको सोही स्थानमा मिति २०७२।०४।०५ गते बेलुकी कोदाइ हरिजन, गंगा हरिजन, रूदल हरिजन, विजय हरिजन, सुर्यभान हरिजनसमेतले जीवन कोहारलाई पूजा गरी मन्साएको भनिएको स्थान रहेको, उक्त घरको पूर्वतर्फ ढोकाको उत्तर डोरीमा हरियो कोठे सर्ट निलो हरियो धर्के चारपाटे लुंगी रहेको र उक्त सर्टको दायाँ बाहुलाको माथिल्लो भागमा रगतको टाटा जस्तो रातो पदार्थ लागेको अवस्थामा रहेको हुँदा उक्त कपडा, भगवान्को फोटो ६ वटा, ऐना, काइयो, अबिर, बालेको अगरबत्तीका टुक्रा, दियोसमेतका सामानहरू प्रहरीले बरामद गरी लिई गएको । उक्त घरबाट पूर्वतर्फ पटेरा घोलमा मृतक लास फेला परेको भनिएको स्थान रहेको र सो स्थानमा जलाइएको सलाईका टुक्रा, जलाई फालेको अगरबत्ती, सलाईको बट्टाहरू फेला परेको । उक्त सलाईको काँटी, अगरबत्तीका टुक्राहरू प्रतिवादीहरूले पूजा गरी जीवन कोहारलाई घाँटी रेटी मारी फालेको भनिएको स्थानबाट बरामद गरिएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
Sharp Forced Injury (Cut throat) भन्नेसमेत बेहोराको मृतक सोनु भन्ने जीवन कोहारको शव परीक्षण प्रतिवेदन ।
मेरो ठुलो छोरा विजय हरिजनलाई भूत चढ्ने काम्ने क्रममा गाउँकै रूदल हरिजन र सुर्यभान हरिजनसमेतलाई बोलाई भूत चढेको छोरा विजयलाई सोधपूछ गर्ने क्रममा छोराले काम्दै मलाई मान्छेको भोग चाहिन्छ भनेपछि मसमेतले सल्लाह गरी मान्छेको भोग दिन्छौं भनेपछि छोरा विजय काम्न छोडेको हो । विजयलाई बाहिरको मान्छेको भोग दिए ठिक हुन्छ भनेपछि मसमेत रूदल हरिजन, सुर्यभान हरिजन बसी मैले भोग दिने मान्छे खोज्छु । आज बेलुका मान्छेको भोग दिनुपर्छ तपाईहरूले मलाई सहयोग गर्नु मैले रू.५०,०००।- दिन्छु भन्ने सल्लाह गरी मैले रूदल हरिजनलाई रू.५०,०००।- दिएको हुँ, सोनुलाई बिस्कुट दिई फकाइ घरभित्र लगी सुर्यभान, रूदल र गंगासँग सल्लाह गरी गंगाले मेरो घरभित्र रहेको भगवान्को फोटोहरूमा अगरबत्ती बाली बलि दिन घोलमा जाने भनी सल्लाह गरी छोरा विजयको साथमा गंगा हरिजन, रूदल हरिजन र सुर्यभान हरिजन घोलतर्फ गएका हुन् । एकैछिनपछि मैले जीवनलाई ललाइ फकाइ ऊखु काट्ने गडासा (हतियार) पूजा गर्ने सामग्रीसमेत साथमा लुकाइ सो स्थानमा पुग्दा अन्य विजय, गंगा हरिजन, रूदल हरिजन र सुर्यभान हरिजनसमेत भई पटेरा घारीभित्र घोलनजिक लगी मैले लिई गएको पूजाको सामान गंगा हरिजनलाई दिएपछि निज गंगाले अगरबत्ती बाली छोरा विजयको टाउकोमा समेत घुमाई छोरा विजयलाई बाटोमा मान्छे कुरूवा राखी बलि दिने आदेश दिएपछि सुर्यभान हरिजनले जीवनको दुवै खुट्टा समाते । रूदलले जीवनको दुवै हात समाती पटेरा घारीमा उत्तानो पारेकामा मैले घरबाट लिई गएको गडासाले सोनु भन्ने जीवन कोहारको घाँटी रेटी काटेको हुँ । घरमा पूजा गर्ने क्रममा कान्ति हरिजन, बुदिया हरिजन, सुनिता हरिजन, रामानन्द हरिजन, दिनानाथ हरिजन, लक्ष्मी हरिजनसमेतले मान्छेको बलि दिने भनी बचन दिएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी कोदाइ हरिजनले गरेको बयान ।
मिति २०७२।०४।०५ गते प्रतिवादी कोदाइ हरिजनले फोन गरी आफ्नो छोरा विजय हरिजन बिरामी भएको र मान्छेको बलि दिएमा छोरा विजय ठिक हुने भएको हुँदा सोखा (झाँक्री) काम गर्न भनी मलाई बोलाएको हुँदा मैले पूजाको सामान किनिराख्न भनी कोदाइ हरिजन मलाई बोलाउन आएपछि म निजको घरमा गई हेर्दा रूदल, सुर्यभान, विजय, लक्ष्मीलगायतका जाहेरीमा उल्लिखित मानिसहरू कोदाइको घरमा जम्मा भएका रहेछन् । त्यसपछि मैले कोदाइको घरमा रहेको फोटोहरूमा पूजा गरी विजयलाई पूजा गरेको हुँ । त्यति बेला जीवन कोहार पनि कोदाइको घरमा नै थियो । घरमा पूजा गरेपछि कोदाइले मलाई सुर्यभान, रूदल र विजयलाई घोलमा गई बस्न भनेपछि हामी चार जना घोलमा गई बसेका हौं । हामी बसेको १० मिनेटपछि निज कोदाइ हरिजनले जीवनलाई लिई घोलतर्फ पुगेपछि निज जीवन कोहार हामीलाई देखी डराई भाग्न खोज्दा निजलाई कोदाइ हरिजनले भाग्न उम्कन नपाउने गरी मुख छोपी पटेरा घारीभित्र घोलनजिक लगी कोदाइले लिई गएको पूजाको सामान मलाई दिएपछि मैले अगरबत्ती बाली कोदाइको छोरा विजयको टाउकोमा समेत घुमाई जीवनलाई बाटोमा मान्छे कुरूवा राखी मैले बलि दिने आदेश दिएपछि सुर्यभान हरिजनले जीवनको दुवै खुट्टा समाते रूदलले जीवनको दुवै हात समाती पटेरा घारीमा उत्तानो पारी कोदाइले घरबाट लिई गएको गडासाले सोनु भन्ने जीवन कोहारको घाँटी रेटी काटेको हो भन्नेसमेत बेहोराको प्रतिवादी गंगा हरिजनले गरेको बयान ।
मिति २०७२।०४।०५ गते छोरा विजय हरिजनलाई भूत चढेको छ हेरी दिनुस् भनी कोदाइको श्रीमती कान्ति हरिजनले मलाई बोलाउन आएको हुँदा म कोदाइको घरमा जाने क्रममा सुर्यभान, कोदाइ, विजय, लक्ष्मी हरिजनलाई देखेको हुँ सोही क्रममा विजय कामिरहेको अवस्थामा मैले कुन देउता हो ? के चाहिन्छ ? तिमीलाई भनी सोधपुछ गर्दा विजयले काम्दै म भूत हुँ, मलाई मासु चाहिन्छ भनेपछि के को मासु चाहियो भनी सोध्दा मलाई मान्छेको मासु चाहिन्छ भनेपछि मैले मान्छेको मासु दिन्छु भनेपछि विजय काम्न छोडेको हो । तपाइँहरूले मलाई सहयोग गर्नु, मैले ५०,०००।– दिन्छु भन्ने सल्लाह गरी कोदाइले मलाई रू.५०,०००।– दिएको हो । सोही क्रममा अं.०७:३० बजेको समयमा गंगा हरिजन, सुर्यभान, म, विजय, कोदाइ, लक्ष्मी, कान्तिसमेतका मानिसहरू घरमा जम्मा भई गंगाले घरमा पूजा गरी म, गंगा, विजय र सुर्यभान घोलमा गई बस्ने भनी सल्लाह गरी हामी चार जना घोलमा गई बसेका हौं । हामी बसेको १० मिनेटपछि निज कोदाइ हरिजनले जीवनलाई लिई घोलतर्फ पुगेपछि निज जीवन कोहार हामीलाई देखी डराई भाग्न खोज्दा निजलाई कोदाइ हरिजनले भाग्न उम्कन नपाउने गरी मुख छोपी पटेरा घारीभित्र घोलनजिक लगी कोदाइले लिई गएको पूजाको सामान गंगा हरिजनलाई दिएपछि गंगाले अगरबत्ती बाली कोदाइको छोरा विजयको टाउकोमा समेत घुमाई जीवनलाई बाटोमा मान्छे कुरूवा राखी गंगाले बलि दिने आदेश दिएपछि मैले जीवनको दुवै हात समातेँ, सुर्यभान हरिजनले जीवनको दुवै खुट्टा समाती पटेरा घारीमा उत्तानो पारी कोदाइले घरबाट लिई गएको गडासाले सोनु भन्ने जीवन कोहारको घाँटी रेटी काटेको हो भन्नेसमेतको रूदल हरिजनले गरेको बयान ।
मिति २०७२।४।५ गते बिहानको समयमा म मेरो घरअगाडि नै थिएँ । सोही बखत दाजु कोदाइ हरिजनको छोरा विजय हरिजनलाई भूत चढेको छ भन्ने थाहा पाई मसमेत भई हेर्न जाँदा विजय हरिजन कापिरहेको थियो । सोही क्रममा विजय कामिरहेको अवस्थामा रूदल हरिजनले कुन देउता हो ? के चाहिन्छ ? तिमीलाई भनी सोधपुछ गर्दा विजयले काम्दै म भूत हुँ । मलाई मासु चाहिन्छ भनेपछि के को मासु चाहियो भनी सोध्दा मलाई मान्छेको मासु चाहिन्छ भनेपछि रूदलले मान्छेको मासु दिन्छु भनेपछि विजय काम्न छोडेको हो । सोही क्रममा अं.०७:०० बजेको समयमा गंगा हरिजन, रूदल, म, विजय, कोदाइ, लक्ष्मी, कान्तिसमेतका मानिसहरू घरमा जम्मा भई गंगाले घरमा पूजा गरी म, गंगा, विजय र रूदल घोलमा गई बस्ने भनी सल्लाह गरी हामी चार जना घोलमा गई बसेका हौ । हामी बसेको १० मिनेटपछि निज कोदाइ हरिजनले जीवनलाई लिई घोलतर्फ पुगेपछि पूजाको सामान गंगा हरिजनलाई दिएपछि गंगाले अगरबत्ती बाली कोदाइको छोरा विजयको टाउकोमा समेत घुमाई विजयलाई बाटोमा मान्छे कुरूवा राखी गंगाले बलि दिने आदेश दिएपछि मैले जीवनको दुवै खुट्टा समाते, रूदल हरिजनले जीवनको दुवै हात समाती पटेरा घारीमा उत्तानो पारी कोदाइले घरबाट लिई गएको गडासाले सोनु भन्ने जीवन कोहारको घाँटी रेटी काटी केही पर झाडीमा लगी फाली हामी आ-आफनो घरतर्फ लाग्ने क्रममा निज रूदल हरिजनले घटनाबारे कसैलाई नबताउनु भनी रू.५,०००।- दिएको हो । तर मैले लिएको थिइन भन्नेसमेत बेहोराको प्रतिवादी सुर्यभान हरिजनले गरेको बयान ।
मिति २०७२।०४।०५ गते बिहान म आफ्नै घरमा थिएँ । बिहान अं.०७:०० बजेतिर म सधैँ झैं काम्न लागेको रहेछु । मेरो आमाबुबा, भाइ मलगायत सुर्यभान हरिजन, सुनिता हरिजन, रूदल हरिजन, बुदीया हरिजन, रामानन्द चमार र दिनानाथ चमार मात्र मेरो घरमा रहेका थिए । निजहरूबिच आपसमा कुरा हुँदा मैले बल्ल थाहा पाएँ, म काम्दा मलाई रूदलले सोधपुछ गर्दा म अघोरी बाबा हुँ मलाई मान्छेको गोस (मासु) चाहिन्छ, नत्र तेरो छोरा विजयलाई खान्छु भनेको हुँदा मलाई मानिसको भोग दिन्छौं छोरा विजयलाई केही नगर्नु भनेको रहेछ । त्यति बेला मानिसको भोग घोल नदीको किनारमा दिनुपर्दछ, भनेका रहेछ । त्यसपश्चात बुबा कोदाइ र रूदल हरिजनबिच मान्छे खोज्ने, आज बेलुका भोग दिने र उक्त व्यवस्था रूदलले मिलाउने सर्तमा बुबाले रूदललाई रू.५०,०००।- (पचास हजार) दिएका रहेछन् र रूदल पैसा लिई परिवारसहित आफ्नो घरतर्फ गए र सुर्यभानका परिवार पनि घर गए, हाम्रो परिवार खाना खायौं र बुबा आमा, भाइ कता गए । म घरमा सुतेँ, बुबा घरमा आउने जाने गर्नु हुन्थ्यो । बेलुका अं. ७:०० बजेको समयमा बुबासहित गंगा हरिजन, रूदल हरिजन, बुदीया हरिजन, सुनिता हरिजन, रामानन्द हरिजन, दिनानाथ हरिजन मेरो घरमा जम्मा भए । घरका अन्य सदस्यहरू घरमा नै थिए, सबै जम्मा हुँदा सोनु पनि घरमा आए, त्यसपछि गंगा हरिजनले घरमा पूजा गरेपछि बुबा कोदाइ हरिजनले मलाई सुर्यभान, रूदल र गंगा हरिजनलाई घोलमा गई बस्न भनेपछि हामी चार जना घोलमा गई बसेका हौं । हामी बसेको १० मिनेटपछि निज बुबा कोदाइ हरिजनले जीवनलाई लिई घोलतर्फ पुगेपछि निज जीवन कोहार हामीलाई देखी डराई भाग्न खोज्दा निजलाई बुबा कोदाइ हरिजनले भाग्न उम्कन नपाउने गरी मुख छोपी पटेरा घारीभित्र घोलनजिक लगी बुबा कोदाइले लिई गएको पूजाको सामान गंगालाई दिएपछि गंगा हरिजनले अगरबत्ती बाली मेरो टाउकोमा समेत घुमाई पूजा गरी मलाई बाटोमा मान्छे कुरूवा राखी गंगा हरिजनले बलि दिने आदेश दिएपछि सुर्यभान हरिजनले जीवनको दुवै खुट्टा समाते, रूदलले जीवनको दुवै हात समाती पटेरा घारीमा उत्तानो पारे, बुबा कोदाइले घरबाट लिई गएको गडासाले सोनु भन्ने जीवन कोहारको घाँटी रेटी काटेको हो भन्नेसमेत बेहोराको प्रतिवादी विजय हरिजनले गरेको बयान ।
मिति २०७३।४।५ गते बिहान अं. ७:०० बजेतिर छोरा विजय कामेपछि स्थानीय मानिस जम्मा भई हेर्न लागे । सोही क्रममा रूदल, सुर्यभान पनि त्यहीँ रहेका र रूदलले झारफुक एवं सोखाको काम गर्ने हुँदा रूदललाई छोरालाई के भएको हो, सधैँ काप्छ, हेरिदिनु न भनेपछि रूदलले कामेको छोरालाई सोधपुछ गर्न लागे । तिमी किन यस्तो दुःख दिन्छौ, को हौ भनी सोध्दा म अघोरी हुँ । मलाई मानिसको मासु चाहिन्छ भनेपछि रूदलले मान्छेको मासु हुँदैन दिन सक्दैन, खसी कुखुरा, सुंगुर के खान्छौ भन्दा हुँदैन मानिसकै मासु चाहिन्छ भनेपछि छोरा काम्न छाडेको हो । बेलुका अन्दाजी ७ बजेतिर अँध्यारो भएको अवस्थामा गंगा हरिजन, रूदल, सुर्यभानसमेत बिहान उपस्थित सबै हाम्रो घरमा जम्मा भए । उक्त समयमा जीवन पनि हाम्रो घरको ढोकामा थिए । गंगा हरिजनले घरभित्र फोटा टाँगेको स्थानमा अगरबत्ती, कपुर बाली पूजा गरे । छोरा विजयलाई पूजा गरेपश्चात् निजहरूबिच आपसमा सल्लाह गरी गंगा हरिजन, रूदल हरिजन र छोरा विजय घोलमा गई बस्ने भनी सँगै गए । केही बेरपछि श्रीमान् कोदाइले अगरबत्ती सलाई, कपुर र गडासा लिई घोलमा जाने भनी गए । जीवन पनि हाम्रो घरको ढोकामा थिए, घुम्न जाउँ भनी सँगै लगेँ भन्नेसमेत बेहोराको प्रतिवादी कान्ति हरिजनले गरेको बयान ।
मिति २०७२।४।५ गते बिहान अं. ७:०० बजे म आफ्नो घरमा थिएँ । जेठाजुको छोरा वर्ष १८ को विजय हरिजन घरभित्र काँपेको छ भनी जेठानी दिदीले भनेपश्चात् म र गाउँका अन्य मानिसहरूसमेत भई जेठाजुको घरमा जम्मा भयौं । प्रतिवादी रूदल हरिजनले कामिरहेका विजयलाई देवता चढेको भनी तिमी कुन देवता हौ ? के चाहिन्छ ? के दिउँ भनी सोध्दा म अघोरी देवता हुँ । मलाई गोस चाहिन्छ भने । रूदलले के को गोस दिने भन्दा मलाई मान्छेको मासु चाहियो भने । त्यसपछि हुन्छ, मानिसको मासु दिन्छु भनेपश्चात् निज विजय काम्न छाडेका हुन् । त्यसपछि जम्मा भएका मानिसहरू आ-आफ्नो घरतर्फ गएपछि हामी आपसमा बसी छलफल गर्दा अब मान्छेको भोग दिनुपर्यो के गर्नेभन्दा कोदाइले मान्छे म खोज्छु भोग दिन के के गर्नुपर्छ भनिसकेपश्चात् रूदलले सोखा (झाँक्री) बोलाउनुपर्छ । पूजाको सामान किन्नु पर्यो भनी सल्लाह गरी म तथा श्रीमान्समेत आफ्नो घरतर्फ गयौ । सोही दिन बेलुका निज कोदाइको घरमा जम्मा भई सोखा गंगा हरिजनले कोदाइको घरमा अगरबत्ती बाली पूजा गरिरहँदा मसमेत सो स्थानमा उपस्थित थिएँ । पूजा गरेपछि कोदाइ, रूदल, मेरो श्रीमान्समेत घोलतर्फ गएका थिए । कोदाइ हरिजनले मान्छे म ल्याउँछु भनेका थिए । यही मान्छे ल्याउँछु भनेका थिएनन् । जीवनलाई नै बलि दिने भन्ने कुरा मलाई थाहा थिएन । पछि थाहा पाएको भन्नेसमेत बेहोराको प्रतिवादी सुनिता हरिजनले गरेको बयान ।
मिति २०७२।०४।०५ गते छोरा विजय हरिजनलाई भूत चढेको छ हेरिदिनुस् भनी कोदाइ हरिजनले घरमा आई जानकारी गराएकोमा घरमा भएका श्रीमान् रूदल हरिजन, छोरा रामानन्द हरिजन, छोरा दिनानाथ हरिजन र मसमेत भई निज कोदाइ हरिजनको घरमा जाने क्रममा विजय हरिजनलाई कामिरहेको अवस्थामा देखेको हुँ । विजयलाई बाहिरको मान्छेको भोग दिए ठिक हुन्छ भनेपछि मसमेत कोदाइ हरिजन, सुर्यभान हरिजन, कोदाइको श्रीमती कान्ति, कोदाइको छोरा विजय, कोदाइको कान्छो छोरा लक्ष्मी, मेरो श्रीमान् रूदल, छोरा दिनानाथ र रामानन्द, सुर्यभानको श्रीमती सुनिता भई बसी छलफल गर्ने क्रममा कोदाइले मैले भोग दिने मान्छे खोज्छु । आज बेलुका मान्छेको भोग दिनुपर्छ भनी बताएपछि हामी सबै आ-आफ्नो घरतर्फ लाग्यौं । दिउँसो श्रीमान्ले मलाई रू.१०,०००।- (दश हजार) राख्न दिएका थिए । मैले काहाँबाट ल्याएको पैसा हो भनेपछि श्रीमान् रूदलले मैले कोदाइलाई सहयोग गरेबापत कोदाइले मलाई रू. ५०,०००।- (पचास हजार) दिएको छ र यो विषयमा कसैलाई नभन्नु भनी बताएका हुन् त्यसपछि मैले रू.१०,०००।- (दश हजार) राखेको हुँ । सोही क्रममा साँझ अं.०७:३० बजेको समयमा बुबा गंगा हरिजन, सुर्यभान, विजय, कोदाइ, लक्ष्मी, कान्ति, श्रीमान् रूदलसमेतका मानिसहरू घरमा जम्मा भई बुबा गंगाले कोदाइको घरमा पूजा गरी सल्लाहअनुसार श्रीमान् रूदल, बुबा गंगा, विजय, सुर्यभान र कोदाइ घरबाट निस्की बाहिर गएपछि कोदाइबाहेक ४ जना कलौनी घोलतर्फ गएका हुन् । त्यसपछि गंगा, रूदल, विजय, सुर्यभान र कोदाइसमेत मिली निज बालक जीवन कोहारको घाँटी रेटी हत्या गरेको हो । साँझको पूजापश्चात् मसमेत अन्य बाँकी आ-आफ्नो घरमा गएका थियौं । मैले घटना सम्बन्धमा कोही कसैलाई जानकारी दिइन । मिति २०७२।०४।०८ गते श्रीमान् रूदलले पुन: रू.२०,०००।- (बिस हजार) मलाई राख्न दिएको हो । म पूजा गर्ने कोदाइको घरमा मात्र थिएँ, बालकको बलि दिएको घटनास्थलमा थिइन भन्नेसमेत बेहोराको प्रतिवादी बुदीया हरिजनले गरेको बयान ।
मिति २०७२।४।५ गतेको बिहानको समयमा गाउँ नजिकै रहेको कोदाइ हरिजनको छोरा विजय हरिजन (चमार) लाई भूत चढेको र निज कामिरहेको अवस्थामा मेरो बुबा सोखा काम गर्ने भनी कोदाइको घरमा आई निज भूत चढेका विजयलाई सोधपुछ गर्ने क्रममा के चाइयो ? कुन भूत हो ? तिमी, भनी बुबा रूदलले सोधेकोमा म अघोरी बाबा हो, मलाई भोग चाइन्छ भनी बताएका र के को भोगभन्दा मान्छेको भोग चाहिन्छ भनेकोले अन्य प्रतिवादीहरू र मसमेत भई कोदाइको घरमा बसी अब मान्छेको मासु कसरी दिन सकिन्छ भनी सल्लाह गर्दा कोदाइले ठिक छ भोग दिने मानिस म खोज्छु भनी बताएका तर के कुन मानिसको भोग दिने हो भनी बताएका थिएनन् । सोही क्रममा बेलुका अन्दाजी ७:३० बजेको समयमा पुन: कोदाइको घरमा जाहेरीमा उल्लिखित प्रतिवादीहरू र मसमेत भई कोदाइको घरमा पूजा गरी गंगा, सुर्यभान, रूदल र विजय मर्चहवा घोलतर्फ गएका र कोदाइ हरिजन पनि केही समयपछि सोही स्थानतर्फ गएका हुन् । केहिछिन पछि मृतकका घर परिवार रुँदै कराउँदै बच्चा हराएको भनी खोजतलास गर्न आएपछि भोग दिएको मानिस गाउँकै शिवमंगल कोहारको छोरा बर्ष १० को जीवन कोहार रहेछ भनी थाहा पाएको हुँ । त्यसपछि मैले घटना सम्बन्धमा कोही कसैलाई बताएको थिइन । तर घटनाबारे लुकाइ मृतकको खोजी कार्यमा सहयोग गरेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी दिनानाथ हरिजनले गरेको बयान ।
मिति २०७२।०४।०५ गते बिहानको समयमा म घरअगाडि नै थिएँ । सोही बखत कोदाइ हरिजनको छोरा विजय हरिजनलाई भूत चढेको छ भन्ने थाहा पाई मसमेत भई हेर्न जाँदा विजय हरिजन कामिरहेको थियो । सोही क्रममा विजय कामिरहेको अवस्थामा बुबा रूदल हरिजनले कुन देउता हो ? के चाहिन्छ तिमीलाई ? भनी सोधपुछ गर्दा विजयले काम्दै म भूत हुँ, मलाई मासु चाहिन्छ भनेपछि के को मासु चाहियो भनी सोध्दा मलाई मान्छेको मासु चाहिन्छ भनेपछि बुबा रूदल हरिजनले मान्छेको मासु दिन्छु भनेपछि विजय काम्न छोडेको हो । बेलुकी अं.०७:०० बजेको समयमा जाहेरीमा उल्लिखित प्रतिवादीहरू गंगा हरिजन, रूदल, विजय, कोदाइ, लक्ष्मी, कान्तिसमेतका मानिसहरू घरमा जम्मा भई गंगाले कोदाइको घरमा पूजा गरी गंगा, विजय, सुर्यभान र रूदल घोलमा गई बस्ने भनी सल्लाह गरी चार जना घोलमा गई बसेका र कोदाइ हरिजनसमेत केही समयपछि सो स्थानतर्फ गएका हुन् । भोग दिएको मानिस गाउँकै शिव मंगलको छोरा वर्ष १० को जीवन कोहार भएको, मैले पनि मानिस खोजी गर्ने जस्तो नाटक गरेँ । खोजतलास गर्ने क्रममा मिति २०७२।०४।०८ गते गाउँ नजिकै छिवानमा रहेको घोलको पटेरा घारीमा जीवन कोहारको मृत अवस्थामा सडी गली मृतकको घाँटी काटिएको अवस्थामा शव फेला परेको हो भन्नेसमेत बेहोराको प्रतिवादी रामानन्द हरिजनले गरेको बयान ।
मेरो दाजु विजय हरिजनलाई भूत चढ्ने, काम्ने क्रममा गाउँकै रूदल हरिजन र सुर्यभान हरिजनसमेतलाई बोलाई भूत चढेको दाजु विजय हरिजनलाई सोधपुछ गर्ने क्रममा दाजु विजयले काम्दै मलाई मान्छेको भोग चाहिन्छ भनेपछि मसमेतले सल्लाह गरी मान्छेको भोग दिन्छौ भनेपछि दाजु विजय काम्न छोडेको हो । गाउँका मानिस सबै गएपछि दाजु विजयलाई बाहिरको मान्छेको भोग दिए ठिक हुन्छ भनेपछि रूदल हरिजन, रूदलको श्रीमती, रूदलको २ छोरा, सुर्यभान र सुर्यभानको श्रीमती र हाम्रो घरको परिवारसमेत बसी छलफल हुँदा सोही क्रममा बुबा कोदाइ हरिजनले भोग दिने मान्छे म खोज्छु आज बेलुका मान्छेको भोग दिनुपर्छ भन्ने सल्लाह भई उक्त कार्यमा सहयोग पुर्याउन भनी बुबा कोदाइले रूदल हरिजनलाई रू.५०,०००।- दिएका हुन् । मिति २०७२।०४।०८ गते कलौनी घोलमा काटेर मारी फालेको अवस्थामा सोनुको लास फेला परेको हो भन्नेसमेत बेहोराको प्रतिवादी लक्ष्मी हरिजनले गरेको बयान ।
मृतक तथा प्रतिवादी गाउँ नजिकैका छिमेकी हुन् । यस्तैमा मिति २०७२।०४।०५ गतेको बिहान कोदाइ हरिजनको छोरा विजय चमार (हरिजन) घरभित्र काम्दै गरेको अवस्थामा छ भन्ने खबर सुनी थाहा पाएपछि म पनि उक्त स्थानमा गएको हुँ । कोदाइको छोरा विजय हरिजन घरभित्र भगवान्को फोटो टाँसेको कोठामा काम्दै रहेकोमा रूदल चमारले विजयलाई तिमी को हौ ? भनी सोधपुछ गर्दा विजयले काम्दै म अघोरी हुँ, मलाई मान्छेको भोग चाहिन्छ भनेकोमा निज रूदलले ल हुन्छ मान्छेको भोग दिन्छौं भनेपछि विजय काम्न छोडेको हो । मिति २०७२।०४।०८ गते बिहान ११ बजे कलौनी घोलमा हराएको बालक सोनु भन्ने जीवन कोहारको लास सडी गलिसकेको अवस्थामा देखेको हो । मृतक लासको घाँटी काटिएको अवस्थामा थियो । त्यसपछि घटना सम्बन्धमा शंका लागी कोदाइ हरिजन, सुर्यभान हरिजन, रूदल हरिजन र गंगा हरिजनलाई सोध्दा जाहेरीमा उल्लिखित प्रतिवादीहरूले प्रतिवादी कोदाइ हरिजनको घरमा पूजा गरी गंगा, सुर्यभान, रूदल, विजय हरिजन घोल घटनास्थलमा गई बसेको र कोदाइ हरिजनले जीवन कोहारलाई बिस्कुट दिई फकाइ घटनास्थलमा लगी गंगा हरिजनले अगरबत्ती बाली पूजा गरी गंगा हरिजनले बलि दिने आदेश दिएपछि सुर्यभान हरिजनले जीवनको दुवै खुट्टा, रूदलले जीवनको दुवै हात समाती पटेरा घारीमा उत्तानो पारे, कोदाइ हरिजनले मुख थुनी घरबाट लिई गएको गडासाले सोनु भन्ने जीवन कोहारको घाँटी रेटी मारी पटेरा घारीमा लास र गडासा घोलमा फालेको रहेछन् । उल्लिखित प्रतिवादीहरूलाई हदैसम्मको सजाय होस भन्नेसमेत बेहोराको राम बरण कोहारले गरेको घटना विवरण कागज।
मृतक जीवन कोहार मेरो छोरा हो भने प्रतिवादीहरू मेरो गाउँको छिमेकी हुन् । छोरा जीवन कोहार घरबाहिर खेल्न गएकोमा घरमा नआएपछि सधैं कोदाइ हरिजनको घरमा जाने त्यहाँ छ कि भनी सोधपुछ गर्दा कोदाइको श्रीमतीले जीवन आज यहाँ आएको छैन भनेपछि गाउँघर सबैतिर खोजतलास गर्ने क्रममा मिति २०७२।०४।०८ गतेका बिहान ११ बजेतिर छोरा जीवन कोहारको मृत लास घरबाट १००० (एक हजार) फिट टाढा कलौनी घोलमा घोप्टो परेको र घाँटी काटेको अवस्थामा फेला परेको हो । पछि बुझ्दा जाहेरीमा उल्लिखित प्रतिवादीहरूले प्रतिवादी कोदाइ हरिजनको घरमा पूजा गरी गंगा, सुर्यभान, रूदल, विजय हरिजन घोल घटनास्थलमा गई बसेको र कोदाइ हरिजनले जीवन कोहारलाई बिस्कुट दिई फकाइ घटनास्थलमा लगी गंगा हरिजनले अगरबत्ती बाली पूजा गरी गंगा हरिजनले बलि दिने आदेश दिएपछि सुर्यभान हरिजनले जीवनको दुवै खुट्टा, रूदलले जीवनको दुवै हात समाती पटेरा घारीमा उत्तानो पारी कोदाइ हरिजनले मुख थुनी घरबाट लिई गएको गडासाले सोनु भन्ने जीवन कोहारको घाँटी रेटी मारी पटेरा घारीमा लास र गडासा घोलमा फालेको हो भन्ने प्रतिवादीहरूको भनाइबाट पुष्टि हुन आएको हो र घटनाको जानकारी गोप्य राख्न कोदाइले रूदललाई रू.५०,०००।- (पचास हजार) दिएको भन्नेसमेत खुलाएको हुँदा जाहेरीमा उल्लिखित प्रतिवादीहरू कोदाइ हरिजन, रूदल हरिजन, सुर्यभान हरिजन, कान्ति हरिजन, बुदीया हरिजन, सुनिता हरिजन, दिनानाथ हरिजन, रामानन्द हरिजन, विजय हरिजन, लक्ष्मी हरिजन र गंगा हरिजनलाई हदैसम्मको सजाय होस् भन्नेसमेत प्रायः एकै मिलान बेहोराको शिव मंगल कोहार र निर्मला कोहारले गरेको घटना विवरण कागज ।
उक्त घोलको पानी सुकाउन सकिँदैन, घोल गहिरो छ, घोलमा गोहीहरू जस्ता जल जीवहरू बस्ने हुँदा निजहरूलाई बाँच्न बस्न बाधा पुग्छ साथै घोल सम्पूर्ण हिलो अवस्थामा भएकोले प्रतिवादी कोदाइ हरिजनले घटना घटाएपछि फालेको गडासा सबुद प्रमाण खोजतलास गर्न असम्भवसमेत देखिन्छ र घोलको पानी निकास गर्दा गाउँ बस्तीलाई समेत असर पर्न सक्ने देखिन्छ भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का ।
जिल्ला नवलपरासी, कुडिया गाउँ विकास समिति वडा नं.४ स्थित पूर्वमा राम नयन हरिजनको कच्ची घर, पश्चिममा किशोर हरिजनको जग्गा, उत्तरमा राजेन्द्र हरिजनको कच्ची घर र दक्षिणमा अर्जुन मुसहरको खेतबारी यति चार किल्लाभित्र खपडाको छानो, टाटीको बार भई पूर्व मोहडा भई बनेको कच्ची घर सो घरभित्र प्रवेश गरी हेर्दा दुई वटा कोठा रहेको र जसमध्ये बुदिया सुत्ने भनिएको कोठाभित्रको खाटसमेत खानतलासी गर्दा बिस्तारामा रहेको सिरानीमुनि कालो प्लाष्टिकले बेरिएको पोका रहेको र उक्त पोका फुकाली हेर्दा नेपाली रू.५००।- का दरले २० ओटा नोट गरी जम्मा रू.१०,०००।- (दश हजार) फेला परेको भन्नेसमेत बेहोराको खानतलासी बरामदी मुचुल्का ।
मिति २०७२।०४।०५ गतेको बिहान कोदाइ हरिजनको छोरा विजय चमार (हरिजन) घरभित्र काम्दै म अघोरी हुँ, मलाई मान्छेको भोग चाहिन्छ भनेकोमा निज रूदलले हुन्छ, मान्छेको भोग दिन्छौं भनेपछि विजय काम्न छोडेको हो । त्यसपछि म आफ्नो घरतर्फ गएको हुँ । मिति २०७२।०४।०८ गते बिहान ११ बजे कलौनी घोलमा हराएको बालक सोनु भन्ने जीवन कोहारको लास सडी गलिसकेको अवस्थामा देखेको हो । मृतक लासको घाँटी काटिएको अवस्थामा थियो । त्यसपछि घटना सम्बन्धमा शंका लागी कोदाइ हरिजन, सुर्यभान हरिजन, रूदल हरिजन र गंगा हरिजनलाई सोध्दा जाहेरीमा उल्लिखित प्रतिवादीहरू कोदाइ हरिजन, रूदल हरिजन, सुर्यभान हरिजन, कान्ति हरिजन, बुदिया हरिजन, सुनिता हरिजन, दिनानाथ हरिजन, रामानन्द हरिजन, विजय हरिजन, लक्ष्मी हरिजन र गंगा हरिजनले प्रतिवादी कोदाइ हरिजनको घरमा पूजा गरी गंगा, सुर्यभान, रूदल, विजय हरिजन घोल घटनास्थलमा गई बसेको र कोदाइ हरिजनले जीवन कोहारलाई बिस्कुट दिई फकाइ घटनास्थलमा लगी गंगा हरिजनले अगरबत्ती बाली पूजा गरी गंगा हरिजनले बलि दिने आदेश दिएपछि सुर्यभान हरिजनले जीवनको दुवै खुट्टा, रूदलले जीवनको दुवै हात समाती पटेरा घारीमा उत्तानो पारेका र कोदाइ हरिजनले मुख थुनी घरबाट लिई गएको गडासाले सोनु भन्ने जीवन कोहारको घाँटी रेटी मारी पटेरा घारीमा लास र गडासा घोलमा फालेको हुँदा प्रतिवादीहरूलाई हदैसम्मको सजाय होस् भन्नेसमेत बेहोराको रामचन्द्र यादवसमेतले गरिदिएको वस्तुस्थिति मुचुल्का ।
यसमा जिल्ला नवलपरासी कुडिया गाउँ विकास समिति वडा नं.४ स्थित कलौनी घोलमा पानीको मात्रा अत्यधिक भएको र सो घोलको पानीको निकाससमेत नभएको तथा उक्त घोलमा गोही जस्ता जीवजन्तुसमेत रहने बस्ने गरेकोले उक्त स्थानमा खोजतलास गर्न असम्भव रहेको भन्नेसमेत बेहोराको कुडिया गाउँ विकास समितिको कार्यालय नवलपरासीको पत्र रहेको ।
मेरो श्रीमान्ले दिएको बरामदी नोटहरू यिनै हुन् । मान्छेको भोग दिन घोलमा जाँदा धेरै मान्छे जाँदा गाउँमा थाहा हुन्छ । आइमाई केटा केटी नआऊ । हामी गंगा हरिजन, सूर्यभान, रूदल, छोरा विजय र म मात्र घोलमा जान्छौं भनी श्रीमान् कोदाइले भनेका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी कान्ति हरिजनले गरेको ततिम्बा बयान ।
बरामदी रूपैयाँ मान्छेको बलि दिन मेरो श्रीमान्ले लिई राख्न दिएमध्येकै हो भन्नेसमेत बेहोराको प्रतिवादी बुदिया हरिजनले गरेको ततिम्बा बयान ।
कोदाइ हरिजनसँग प्राप्त गरेको रकममा केही खर्च भई बाँकी रहेको यही बरामदीअनुसार हो, सनाखत गरे । मिति २०७२।४।५ गते का दिन कोदाइ हरिजनको घरमा म, मेरो श्रीमती बुदिया हरिजन, कोदाइ हरिजन, कान्ति हरिजन, विजय हरिजन, लक्ष्मी हरिजन, सुर्यभान हरिजन, गंगा हरिजन, सुनिता हरिजन, रामानन्द हरिजन, दिनानाथ हरिजन भई पूजा गरेका हौं । सोही क्रममा कान्ति हरिजन, बुदिया हरिजन, सुनिता हरिजन, रामानन्द हरिजन, दिनानाथ हरिजन र लक्ष्मी हरिजनले मान्छेको बलि दिन भनी वचन दिएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी रूदल हरिजनले गरेको ततिम्बा बयान ।
बरामदी रूपैयाँ मैले दिएमध्येकै हो । मिति २०७२।०४।०५ गतेका दिन मेरो घरमा म, मेरो श्रीमती कान्ति हरिजन, छोरा विजय हरिजन, कान्छा छोरा लक्ष्मी हरिजन, रूदल हरिजन, सुर्यभान हरिजन, गंगा हरिजन, बुदिया हरिजन, सुनिता हरिजन, रामानन्द हरिजन, दिनानाथ हरिजन भई पूजा गरेका हौं । सोही क्रममा कान्ति हरिजन, बुदिया हरिजन, सुनिता हरिजन, रामानन्द हरिजन, दिनानाथ हरिजन र लक्ष्मी हरिजनले मान्छेको बलि दिन भनी वचन दिएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी कोदाइ हरिजनले गरेको ततिम्बा बयान ।
मिति २०७२।०४।०५ गते अं.५:०० बजेको समयमा जिल्ला नवलपरासी कुडिया-४ बस्ने जाहेरवालाको नाति सोनु भन्ने जीवन कोहारलाई प्रतिवादीहरू गंगा चमारले अगरबत्ती बाली छोरा विजयको टाउकोमा समेत घुमाई छोरा जीवनलाई बाटोमा मान्छे कुरूवा राखी बलि दिने आदेश दिएको, सुर्यभान हरिजनले जीवनको दुवै खुट्टा समातेको, रूदल हरिजनले मृतक जीवनको दुवै हात समाती पटेरा घारीमा उत्तानो पारी कोदाइ चमारले आफ्नो घरबाट लिई गएको गडासाले मृतक सोनु भन्ने जीवन कोहारको घाँटी रेटी काटेको, घरमा पूजा गर्दा मानिसको बलि दिनु भनी वचन दिने कान्ति चमार, विजय चमार, लक्ष्मी चमार, सुर्यभान चमार, सुनिता चमार, रूदल चमार, बुदिया चमार, रामानन्द चमार, दिनानाथ चमार र गंगा हरिजन चमारसमेतको मानिसको बलि दिने भनी मत सल्लाह र आदेश एवं वचन दिई विजय हरिजनलाई निको पार्न मानिसको बलि दिई घाँटी रेटी गाउँ नजिकै रहेको कलौनी घोलमा लगी घाँटी रेटी कर्तव्य गरेको निजहरूको उक्त कार्य प्रतिवादीमध्येका कोदाइ हरिजनले मुलुकी ऐनको ज्यानसम्बन्धीको महलको १ नं. विपरीत सोही १३ नं. को देहायको (१) को कसुर अपराध हुँदा निज प्रतिवादी कोदाइ हरिजनलाई सोही महलको १३ नं. को देहायको (१) बमोजिमको सजाय हुन र अन्य प्रतिवादीहरू सुर्यभान हरिजनले जीवनको दुवै खुट्टा समातेको, रूदलले मृतकको दुवै हात समाती पटेरा घारीमा उत्तानो पारेको उक्त कार्य मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. विपरीत सोहि १३ नं. को देहायको (४) को कसुर अपराध हुँदा निज प्रतिवादी सुर्यभान हरिजन, रूदल हरिजनलाई सोही महलको १३ नं. को देहायको (४) बमोजिमको सजाय हुन र प्रतिवादीहरू घरमा पूजा गर्दा मानिसको बलि दिनु भनी वचन दिने कान्ति चमार, लक्ष्मी चमार, सुर्यभान चमार, सुनिता चमार, रूदल चमार, बुदिया चमार, रामानन्द चमार, दिनानाथ चमारसमेतले मानिसको बलि दिने भनी घर कोठामा पूजा गरी वचन आदेश दिएको र मानिसको बलि खान्छु भनी मर्ने ठाउँमा गई विजय चमारले मानिस हेर्ने तथा मार्नलाई आदेश बचन दिने र गंगा चमारले अगरबत्ती बाली घाँटी रेटी बलि दिने आदेश गरेको, उक्त कार्य मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. विपरीत सोही १३ नं. को देहायको (४) को कसुर अपराध हुँदा निज प्रतिवादी गंगा हरिजन, कान्ति चमार, विजय चमार, लक्ष्मी चमार, सुनिता चमार, रूदल चमार, बुदिया चमार, रामानन्द चमार, दिनानाथ चमारसमेतलाई सोही महलको १३ नं. को देहायको (४) बमोजिमको सजाय हुन र प्रतिवादीमध्येका लक्ष्मी चमारको उमेर सम्बन्धमा लुम्बिनी अञ्चल अस्पताल, बुटवलको च.नं.११३ मिति २०७२।०४।१९ को पत्रसाथ संलग्न प्रतिवेदनबाट वर्ष १४ को देखिँदा निजको हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ दफा ११(३) बमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग दाबी ।
उक्त दिन बिहान म खेतमा बदाम गोडेर १० बजेतिर खाना खान भनी घरमा आउँदा छोरा विजय कामिरहेको देखेँ । छोराले मलाई भूत चढेछ, मुर्दाको मासु चाहिन्छ अनि भूतले छोड्छ भनी काम्न थाल्यो । अनि साँझ साढे सात बजेतिर मेरो दुवारमा जीवनलाई खेलिरहेको देखेँ । उसलाई फकाएर ल्याई गाउँबाट दक्षिणतर्फको पुरानो नदीमा लगी गडासाले काटी मारी बलि दिएको हुँ । विजय चाहिँ सडकमा मान्छे हेर्न उभिएको थियो । बलि दिने कार्य उसैले भनेअनुरूप उसैका लागि गरेको हो । रूदल र सुर्यभान रातको १० बजेसम्म घरमा थिएँ । गडासा सोही घोलमा फालेको हुँ । मैले लगाएको लुंगी र हरियो रंगको सर्ट प्रहरीले बरामद गरी ल्याएको हो । भगवानको फोटोहरू पूजा गरेको फोटोहरू हुन् । बरामदी मुचुल्कामा उल्लिखित सामानहरूसमेत सबै ठिक हुन् । फोटोहरू देखाउँदा देखे उक्त सबै फोटाहरू घटनास्थलका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी कोदाइ हरिजनले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बयान ।
उक्त दिन बिहान पसलबाट घर फर्कने क्रममा कोदाइको घर आइपुग्दा कोदाइको छोरा बिरामी भई कामिरहेको रहेछ । हामीले विजयलाई के भएको भनी सोध्दा विजयले मलाई भूत चढेछ, मान्छेको मासु चाहिन्छ, अनि मात्र ठिक हुन्छ भन्यो । कोदाइले मेरो हातको मासु खा भन्दा विजयले आफ्नो घरको मान्छेको मासु खान्न भन्यो । त्यसपछि म घर फर्की दिनभरि घरमा नै बसेँ । कोदाइ र मेरो घर करिब १५० मि. को फरक भएकोले हल्ला भएको पनि सुनिनँ । बच्चा मैले मारेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी रूदल हरिजनले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बयान ।
उक्त दिन बिहान म कोदाइको घर पुग्दा कोदाइको छोरा बिरामी भई कामिरहेको रहेछ । अनि हामीले विजयलाई के भएको भनी सोध्न थाल्यौं । जवाफमा विजयले मलाई भूत चढेछ मलाई मान्छेको मासु चाहिन्छ, अनि मात्र ठिक हुन्छ भन्यो । त्यसपछि म र रूदल पनि आफ्नो घर गएको हो । अनि २ बजेपछि मेरो श्रीमती सुनिता खेतमा काम गर्न गइन र म चाहिँ छोरी करिना बिरामी भएकोले औषधी गर्न कुडिया गएकोमा बेलुका ७ बजेतिर घर फर्के । बच्चा हराएको र मारेको भन्ने गाउँमा हल्ला फैलियो । त्यसपछि मलाई केही थाहा छैन बच्चा मैले मारेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी सुर्यभान हरिजनले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बयान ।
उक्त दिन म भारत घरमा थिएँ । मिति २०७२।४।५ भन्दा ४/५ दिनअगाडि मेरो नातिनी हराएको हुँदा खोज्न म नेपाल आएको थिएँ । त्यसको लगत्तै भारत गएको हुँ । भारतको वजाहाबाट गाउँलेले पक्रेर ल्याएको हो । बच्चालाई काट्दा म थिइन । फोटोहरू देखेँ, पूजा गर्ने ठाउँ त्यही हो भन्नेसमेत बेहोराको प्रतिवादी गंगा हरिजनले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बयान ।
उक्त दिन बिहान ९ बजेसम्म अलिराजाको घरमा काठको काम गर्ने मेसिन बनाउन गएको र १० बजेतिर खाना हातले समाउनासाथ ममाथि देवता चढ्यो र चक्कर लाग्यो र अँध्यारो भयो । बाबुले सूर्यभानलाई बोलाएर मलाई के भयो भनी सोध्दा मलाई मान्छेको मासु चाहिन्छ भन्दा त्यो हामीले ल्याउन सक्दैनौं भनी कपुर जलाइदिएपछि मलाई शान्त भयो र म सुतेँ । दिउँसो १२ बजे नुहाएर खाना खाई म सुतेँ र दिउँसो ३ बजे उठेर माछा मार्ने जाल लिन इन्डिया गई साँझ ७ बजे घर आएको हो । साँझ ८ बजेतिर जीवनको आमा जीवनलाई खोज्न भनी आएको हो । जीवन हराएको भनेपछि जीवनलाई खोज्न जाँदा भेटिएन । साँझ साढे सात बजेतिर मेरो दुवारमा जीवनलाई खेलिरहेको देखे । जीवनको परिवारले हाम्रो घरले लुकाएको भनेका हुन् । त्यो दिनको २ दिनपछि जीवन मृत अवस्थामा भेटिएको हो भन्नेसमेत बेहोराको प्रतिवादी विजय चमारले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बयान ।
उक्त दिन बिहान विजय मलाई भूत चढेको छ भन्दै कामिरहेको थियो । काम्दै मलाई मान्छेको मासु चाहिन्छ भन्दै थियो । घरमा बाबु आमा रूदल सुर्यभानलगायत अन्य व्यक्तिहरू थिए । म चाहिँ खाना खाइ बाख्रा चराउन गएँ । सोखाले घरमा पूजा लगाएको थियो । अरू मलाई केही थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी लक्ष्मी हरिजनले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बयान ।
उक्त दिन म र मेरा पति बिहान भैंसीलाई घाँस काटी खेतीको काम गरेको र मेरो बच्चा बिमारी भएकाले कुडियामा उपचार गर्न लगेकोमा बेलुका ७ बजे घर फर्केको हो भन्नेसमेत बेहोराको प्रतिवादी सुनिता हरिजनले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बयान ।
उक्त दिन दिनभर म मेरो घरमा थिएँ । मेरा दुवै छोराहरू जाली भर्ने बालुवा गिट्टी झार्ने काम गर्न गएका थिए । मेरो पति रूदल घरमा थिए, बिहान सामान किन्न पसल गएका र बेलुका घरमा नै थिए । छोराहरू काम गर्न गएर ३/४ दिनपछि मात्र घरमा आएका हुन् । मेरो पति बच्चाहरू बिमार हुँदा झारफुक गर्दछन् । झारफुक गर्दा ठिक नभए डाक्टर कहाँ लैजान्छन् । मेरो बुबा गंगा मेरो घरमा नआएको २ वर्ष भयो । हाम्रो गाउँमा पनि मेरो बुबा आएका छैनन् भन्नेसमेत बेहोराको प्रतिवादी बुदिया हरिजनले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बयान ।
उक्त दिन म खाना बनाउँदै थिएँ । छोरा बिरामी भई कामिरहेको थियो । अनि सोखा आयो । सोखाले पूजापाठ गर्यो । म आफ्नो घरको काममा व्यस्त भएँ । अरू मलाई केही थाहा भएन । अनुसन्धान अधिकारीमा भएको बयान झुठ्ठा हो । सहीछाप मेरै हो । पूजा गर्ने स्थान मेरो घरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी कान्ति हरिजनले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बयान ।
उक्त दिन म कपडा सिलाउन दिन कुडिया गएकोमा साँझ ६ बजेतिर घर आएको थिएँ । मृतकका बुबासहित गाउँको २०/२५ जनाजति मान्छे मेरो घरमा आई छोरा हरायो, कता गयो भनी मेरो बुबासँग सोधे । बुबाले दुर्गाको मन्दिर आसपास हेर्नु भनी जवाफ दियो । अनि मसहित गाउँको मान्छेहरू गरी करिब १८/२० जना जति भई खोज्न गयौं । रातिको २ बजेसम्म खोज्यौं । अनुसन्धान अधिकारीसमक्ष भएको बयानमा भएको सहीछाप मेरै हो, बेहोरा झुठ्ठा हो । फोटो देखेँ, पूजा गर्ने स्थान त्यही हो भन्नेसमेत बेहोराको प्रतिवादी रामानन्द हरिजनले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बयान ।
उक्त दिन म बिहान ७ बजे नै जाहेरवाला परमानन्दको टेक्टर लिई निजको छोरा लालबहादुर कोहारसमेत भई उसैको खेत जोत्न खेताला लिएर गएको र उसैको घरमा खाना खाई राति ८ बजे घरमा गएको हुँ । राति ९ बजे जीवन हराएको भनी साहु परमानन्दले खोज्न आएपछि म पनि उसैसँग बच्चा खोज्न गएको हो । रातदिन गरी लगातार ४ दिनसम्म खोजेपछि पनि बच्चा भेटिएन । साउनको ५ गते परमानन्दको छोरा भेटिए । प्रहरी आएपछि उनीहरूले मेरो आमा, मलाई र मेरो दाजुलाई पक्रेर ल्याएका हुन् । बाबु त्यो बेला घरमा थिएनन् । बाबुले ढुङ्गामा जालीको काम गर्छन् । बाबुले झारफुकको काम गर्दैनन् भन्नेसमेत बेहोराको प्रतिवादी दिनानाथ हरिजनले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बयान ।
मिति २०७२।४।५ गतेका दिन हामी नातिलाई घरमा छोडेर धान गोड्न गएकोमा नाति सुर्यभान चमारकोमा खेलेको र साँझ घरमा आउँदा नातिलाई नदेखी गाउँ छिमेकमा खोजी गर्दा सुर्यभानको घरमा खेलेको भनी छिमेकीले भनेकोमा सुर्यभानकोमा गएर सोध्दा नदेखेको भनेपछि प्रहरीमा निवेदन दिई खोजी गर्ने क्रममा मिति २०७२।०४।०८ गते मर्चहवास्थित कलौनी खोलामा नातिको घाँटी काटी फालेको अवस्थामा लास फेला पारेको र छिमेकी कोदाइ चमारको छोरा बिरामी परेकोले झारफुक गर्दा बिरामीलाई सन्चो बनाउन मानिसको बलि दिनुपर्छ भनेकोले कोदाइ चमारले हुन्छ दिन्छु भनी भनेको कुरा छरछिमेकले सुनेका हुँदा मेरो नातिलाई मार्नमा कोदाइ चमार, सुर्यभान चमार, विजय चमार, लक्ष्मी चमार, सुनिता चमार, कान्ति चमार, गंगा हरिजन, रामानन्द चमार, दिननाथ चमार, बुदिया हरिजन, रूदल चमारले मिलेमतो गरी मारेका हुन् भन्नेसमेत बेहोराको जाहेरवाला प्रमानन्द कोहारले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
मिति २०७२।०४।०५ गतेका दिन हामी छोरालाई घरमा छोडेर धान गोड्न गएकोमा साँझ घरमा आउँदा छोरालाई नदेखी गाउँ छिमेकमा खोजी गर्दा सुर्यभानको घरमा खेलेको भनी छिमेकीले भनेकोमा सुर्यभानकोमा गएर सोध्दा नदेखेको भनेपछि प्रहरीमा निवेदन दिई खोजी गर्ने क्रममा मिति २०७२।०४।०८ गते मर्चहवास्थित कलौनी खोलामा नातिको घाँटी काटी फालेको अवस्थामा लास फेला पारेको र छिमेकी कोदाइ चमारको छोरा बिरामी परेकोले झारफुक गर्दा बिरामीलाई सन्चो बनाउन मानिसको बलि दिनुपर्छ भनेकोले कोदाइ चमारले हुन्छ दिन्छु भनी भनेको कुरा छरछिमेकले सुनेको र मेरा छोरा एक्लै देखी आफ्नो छोरालाई सन्चो बनाउनको लागि मेरो छोरालाई घरमा लगी सबै जना प्रतिवादीहरू मिली मेरो छोरालाई धारिलो हतियार प्रयोग गरी घाँटी काटेर घरैमा बलि दिएर पटेर घारीमा लगी फालेको अवस्थामा मसमेतले देखेको हो । मेरो छोरालाई धारिलो हतियार प्रयोग गरी मार्नेमा प्रतिवादीहरू कोदाइ चमार, सुर्यभान चमार, विजय चमार, लक्ष्मी चमार, कान्ति चमार, सुनिता चमार, गंगा चमार, रूदल चमार, बुदिया चमार, रामानन्द चमार, दिनानाथ चमारसमेतले हत्या गरेका हुन् भन्नेसमेत बेहोराको वादीका साक्षी शिव मंगल कोहारले सुरू जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
मिति २०७२।०४।०५ गतेका दिन अन्दाजी ७ बजे कोदाइ चमारको घरभित्र जाँदा काम्दै गरेको विजयलाई रूदलले तिमी को हो ? भनी सोधेको र विजयले मान्छेको भोग चाहिन्छ भनेकोले झाँक्री रूदलले हुन्छ भनेपछि काम्न छोडेपछि म घर गएको हो । सोही दिन साँझ जीवन कोहार हराएको भनी निजको बाबुसमेतले भनेपछि मसमेत भई राति १० बजेसम्म खोज्दा पनि कतै फेला नपरेकोले अर्को दिनसमेत खोजी गरेको र मिति २०७२।४।८ गतेका दिन पटेरा घारीमा फेला पारेको हो । कोदाइ चमारले आफ्नो छोरा निको पार्नको लागि जीवन कोहारलाई फकाई घरमा लगेर बिस्कुट अनार खुवाएर कोदाइ चमारको घरमा राखी धारिलो हतियारले घाँटी रेटेर मारेका हुन् र लास पटेर घारीमा लगेर फालेका थिए भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको वस्तुस्थिति मुचुल्काका साक्षी हरिलाल गुप्ताले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
मिति २०७२।४।५ गतेका दिन जीवन कोहारको घरमा आमा बुबा कोही पनि नभएको बेलामा जीवनलाई फकाइ फुलाइ कोदाइको घरमा लगेर घाँटी काटेर घरमै बलि दिई पटेर घारीमा फालेका थिए । गाउँकै एक जना व्यक्ति खेतबाट घरतर्फ फर्किंदा मृतकको बुबासँग पटेरा घारीमा कुनै जीव सडेको जस्तो गन्ध आएको छ भनेकोमा हेर्न जाँदा जीवन कोहारको धारिलो हतियार प्रयोग गरी मारेको लास भेटिएको थियो भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने साक्षी रामवरण कोहारले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
उक्त मितिमा गरेको बरामदी मुचुल्काको सहीछाप मेरो नै हो । यिनीहरूलाई कडाभन्दा कडा सजाय दिनुपर्छ भन्नेसमेत बेहोराको सुरेश कुर्मीले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
घटनाबारे मैले सुनेअनुसार कोदाइ चमारको छोराले भूत खेलाएको र सोही क्रममा उसले मलाई मान्छेको मासु चाहिन्छ भनेको हो । मृतक जीवन कोहार हराएको हुनाले जिल्ला प्रशासनमा निवेदन दिइयो । सोको एक दुई दिनपछि लास गन्हाउन थालेपछि गाउँको दक्षिणपट्टिको पटेर घारीमा लास भेटियो । पछि बुझ्दै जाँदा कोदाइ चमारको घरभित्र रूदल चमारले टाउको समातेको निजको श्रीमती बुधियाले मुखमा कपडा कोचेको कोदाइको कान्छा भाइ सुर्यभानले खुट्टा समातेको कोदाइले चक्कुले बच्चालाई काटेको र अरू सबै जनाले सो घटना समर्थन गर्दै हेरेर बसेका भन्ने मैले सुनेको हुँ । वच्चाको हत्या गरेका हुन् भन्नेसमेत बेहोराको लास जाँच मुचुल्काका साक्षी रामनारायण कुशहवाले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
मिति २०७२।०४।०५ मा कोदाइको छोरा विजय काम्दै म अघोरी हुँ, मलाई मान्छेको मासु चाहिन्छ भनेपछि उसको काका सुर्यभानले मान्छेको मासु चढाउँछु, मेरो केटोलाई छोड भनी कुराकानी गरेको मैले देखेको हुँ । यो सब दिउँसोको कुरा हो, सो समयमा रूदल, गंगा, सुर्यभान, दिनानाथ, कान्ति चमार, सुर्यभानको बुढी, विजय, लक्ष्मीलगायत ११ जना उपस्थित थिए । सोही दिन मृतक जीवन कोहारलाई कान्तिले र लक्ष्मीले फकाई घरभित्र बोलाएछन् । त्यसपछि घरभित्र दुर्गाकालीको फोटोअगाडि उनीहरूले बलि दिएका हुन् । रेट्ने बेलामा मैले देखेको होइन । उनीहरूले बलि दिएकै हुन् भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका साक्षी रामचन्द्र यादवले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
उक्त घटना मैले प्रत्यक्ष देखेको नभई सुनेअनुसार घटनामा सबै प्रतिवादीहरू संलग्न रहेकोले कडाभन्दा कडा कारबाही होस् भन्नेसमेत बेहोराको बरामदी मुचुल्काका साक्षी भगवतीप्रसाद कुर्मीले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
उक्त मितिमा गरेको कागजको बेहोरा सुनी पाएँ देखी पाएँ । बेहोरा र सहीछाप मेरो हो । यी प्रतिवादीहरूलाई कडाभन्दा कडा कारबाही होस् भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्काका साक्षी राघेश्याम यादवले सुरू नवलपरासी जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
यसमा वादी नेपाल सरकारको अभियोग दाबीअनुसार प्रतिवादीमध्येका कोदाइ चमार हरिजनको हकमा ज्यानसम्बन्धीको १३(१) नं.अनुसार सर्वस्वसहित जन्मकैद र प्रतिवादी लक्ष्मी चमार (हरिजन) बाहेकका प्रतिवादीहरूको हकमा अभियोग मागदाबीअनुसार ऐ. को १३(४) नं.अनुसार जन्मकैद सजाय हुने ठहर्छ । प्रतिवादीमध्येका लक्ष्मीको उमेर १३ र १४ वर्षको विचमा रहेको अर्थात् १४ बर्षभन्दा कम रहेको हुँदा निजको हकमा समेत कसुर कायम गर्ने प्रयोजनको लागि ज्यानसम्बन्धीको १३(४) नं.अनुसार जन्मकैद हुने भए पनि बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) नं.अनुसार नभई ऐ. ११(२) नं.अनुसार तजविजी कैद ६ महिना सजाय हुने ठहर्छ, निजलाई लाग्ने कैद ऐ. दफा ५०(२) नं.अनुसार बाल सुधार गृहमा बस्ने गरी व्यतीत गर्नुपर्ने भन्नेसमेत बेहोराको सुरू नवलपरासी जिल्ला अदालतबाट मिति २०७३।०५।०६ मा भएको फैसला ।
सहप्रतिवादी कोदाइ चमारले मृतकलाई कर्तव्य गरी मारेको र यसमा अरू कसैको संलग्नता छैन भनी कसुरमा साबित रही अदालतमा समेत बयान गरेको छ । कोदाइबाहेकका सहप्रतिवादीहरूले अदालतमा बयान गर्दासमेत मलाई दोष लगाएको र निजहरू अदालतमा कसुरमा साबित रहेको अवस्था पनि छैन । अनुसन्धान अधिकारीसमक्ष गरेको भनिएको बयानलाई स्वतन्त्र बयानको रूपमा हेरी प्रमाणमा ग्रहण गर्न पनि मिल्दैन । अदालतमा मैले बयान गर्दा मैले अभियोग दाबीअनुसार कुनै कसुर अपराध नगरेको भनेर प्रस्ट पारेकै छु । केवल प्रहरीसमक्ष भएको मेरो ईच्छाविपरीतको बयानलाई मात्र आधारमानी मलाई दोषी ठहर गरी मलाई जन्मकैदको सजाय गर्ने गरी भएको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रूदल चमार (हरिजन)ले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पेस गरेको पुनरावेदन ।
सहप्रतिवादी कोदाइले आफूले मात्र मृतकलाई हत्या गरेको, यसमा अरू कसैको संलग्नता छैन भनी कसुरमा साबित रही बयान गरेको, कोदाइबाहेकका अन्य सहप्रतिवादीहरूले अदालतमा बयान गर्दासमेत मलाई दोष लगाएको अवस्था पनि छैन र निजहरू अदालतमा कसुरमा साबित रहेको अवस्था पनि छैन । मैले अदालतमा बयान गर्दा पूर्ण इन्कारी बयान गरेको र अनुसन्धान अधिकारीसमक्षमा भएको मेरो ईच्छाविपरीतको बयानलाई प्रमाणमा लिन मिल्दैन । मृतकलाई मार्नुपर्नेसम्मको कुनै कारण नरहेको, मार्न वचन नदिएको, सहप्रतिवादी कोदाइसँग रकम नलिएको र कोदाइको घरको पूजामा संलग्न नभएको अवस्थामा केवल मानव बलि दिएको भन्ने कुरालाई मात्र आधारमानी मलाई दोषी ठहर गरी मलाई जन्मकैदको सजाय गर्ने गरी भएको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दिनानाथ चमार (हरिजन) ले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पेस गरेको पुनरावेदन ।
सहप्रतिवादी कोदाइले आफूले मात्र मृतकलाई हत्या गरेको, यसमा अरू कसैको संलग्नता छैन भनी कसुरमा साबित रही बयान गरेको अवस्थामा निजको बयानसमेतलाई मेरो विरूद्ध प्रमाणमा लगाई फैसला गरेको न्यायको मान्य सिद्धान्तविपरीत छ । कोदाइबाहेकका अन्य सहप्रतिवादीहरूले अदालतमा बयान गर्दासमेत मलाई दोष लगाएको अवस्था पनि छैन । मैले अदालतमा बयान गर्दा पूर्ण इन्कारी बयान गरेको र अनुसन्धान अधिकारीसमक्षमा भएको बयान मेरो इच्छाविपरीतको हो । अरू स्वतन्त्र प्रमाणले पुष्टि नभएको अनुसन्धानको बयानलाई प्रमाणमा लिन मिल्दैन । मृतकलाई मार्ने कुरामा मेरो संलग्नता छैन । मृतकलाई मार्ने मनसाय नरहेको, मार्न वचन नदिएको, सहप्रतिवादी कोदाइसँग रकम नलिएको अवस्थामा केवल शंका र अनुमानको भरमा मलाई दोषी ठहर गरी मलाई जन्मकैदको सजाय गर्ने गरी भएको सुरू फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी गंगा हरिजन चमारले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पेस गरेको पुनरावेदन ।
सहप्रतिवादी कोदाइले आफूले मात्र मृतकलाई हत्या गरेको र यसमा अरू कसैको संलग्नता छैन भनी कसुरमा साबित रही गरेको बयानका सम्बन्धमा मेरो कुनै जिकिर प्रतिवाद रहेको छैन । अन्य सहप्रतिवादीहरूले अदालतमा बयान गर्दासमेत मलाई दोषी देखाई बयान गरेको अवस्था पनि छैन । मैले अदालतमा बयान गर्दा पूर्ण इन्कारी बयान गरेको र अनुसन्धान अधिकारीसमक्षमा भएको मेरो बयान ईच्छाविपरीतको हो । अरू स्वतन्त्र प्रमाणले पुष्टि नभएको अनुसन्धानको बयानलाई प्रमाणमा लिन मिल्दैन । मृतकलाई मार्ने कुरामा मेरो संलग्नता छैन । मृतकलाई मार्ने मनसाय नरहेको, मार्न वचन नदिएको, सहप्रतिवादी कोदाइले मृतकलाई मार्न मसँग कुनै सल्लाह गरेको पनि छैन । साथै वारदातका सम्बन्धमा वादी पक्षकै साक्षीहरूको बकपत्र पनि एकापसमा बाझिएको अवस्थामा ज्यान मार्ने कार्य भएको भन्ने आधारले मात्र मलाई दोषी ठहर गरी मलाई जन्मकैदको सजाय गर्ने गरी भएको सुरू फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी बुदिया चमार (हरिजन) ले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पेस गरेको पुनरावेदन ।
सहप्रतिवादी कोदाइले आफूले मात्र मृतकलाई हत्या गरेको र यसमा अरू कसैको संलग्नता छैन भनी कसुरमा साबित रही बयान गरेको साथै अन्य सहप्रतिवादीहरूले अदालतमा बयान गर्दासमेत मलाई दोषी देखाई बयान गरेका छैनन् । मैले अदालतमा बयान गर्दा पूर्ण इन्कारी बयान गरेको छु । अनुसन्धान अधिकारीसमक्षमा भएको बयान मेरो ईच्छाविपरीतको भएको र अरू स्वतन्त्र प्रमाणले पुष्टि नभएको अनुसन्धानको बयानलाई प्रमाणमा लिन मिल्दैन । मृतकलाई मार्ने कुरामा मेरो संलग्नता छैन । मृतकलाई मार्न मैले वचन दिएको भनी वादी पक्षले पुष्टि गर्न सकेको छैन । सहप्रतिवादीहरूसँग मृतकलाई मार्ने सम्बन्धमा मैले कुनै सल्लाह पनि नगरेको अवस्थामा विवादास्पद प्रमाणहरूलाई आधार मानी शंकाको भरमा मलाई दोषी ठहर गरी जन्मकैदको सजाय गर्ने गरी भएको सुरू फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामानन्द चमार (हरिजन) ले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पेस गरेको पुनरावेदन ।
प्रस्तुत मुद्दामा सबै प्रतिवादीहरूलाई एकै दृष्टिबाट हेर्न मिल्दैन । हामी पुनरावेदक प्रतिवादीहरूको अनुसन्धानमा भएको बयान इच्छा विरूद्धको भएको र हामीले यथार्थ बयान अदालतमा उपस्थित भई गरेकोमा उक्त अदालतको बयानलाई प्रमाणमा नलिई केवल मौकाको बयानलाई मात्र आधार लिइएको छ । घटनामा संलग्न नभएको र घटनास्थलमा नगएको प्रतिवादीहरूलाई समेत जन्मकैद हुने फैसला भएको छ । प्रस्तुत मुद्दाको कसुरदार कोदाइ हरिजन मात्र हुन भनी निजले मौका तथा अदालतमा गरेको बयानबाट स्पष्ट भई घटनामा निजबाहेक अरू कसैको संलग्नता छैन भन्ने पुष्टि भएकोमा हामीसमेतका प्रतिवादीलाई जन्मकैदको सजाय ठहर गरेको सुरू अदालतको त्रुटिपूर्ण फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सूर्यभान चमार, कोदाइ चमार, कान्ति चमार हरिजन, विजय चमार र सुनिता चमार हरिजनसमेतले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पेस गरेको संयुक्त पुनरावेदन ।
यसमा पुनरावेदक प्रतिवादी कोदाइ हरिजनले वारदात आफु एक्लैले घटाएको भनी अदालतमा बयान गरेका र निजबाहेकका अन्य प्रतिवादीले कसुरमा इन्कार रही बयान गरेका छन्, तर वारदातको प्रकृतिबाट एकजना प्रतिवादीले मात्र वारदात घटाउन सक्ने अवस्था देखिँदैन । कोदाइ हरिजनबाहेकका अन्य पुनरावेदक प्रतिवादीहरूको पनि वारदातमा संलग्नता रहेको भए कुन पुनरावेदक प्रतिवादीको वारदातमा कस्तो सहभागिता वा संलग्नता छ भन्ने कुराको विवेचना नगरी सबै पुनरावेदक प्रतिवादीहरूलाई दाबीबमोजिम गोश्वारा तवरबाट एउटै सजाय हुने ठहर गरी सुरू अदालतबाट भएको फैसला विचारणीय देखिँदा प्रस्तुत मुद्दामा छलफलको लागि मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ उच्च सरकारी वकिल कार्यालय, बुटवललाई पेसीको सूचना दिई नियमानुसार गरी पेस गर्नु होला भन्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७४।९।४ को आदेश ।
यसमा कोदाइ चमार (हरिजन) को हकमा ज्यानसम्बन्धीको १३ नं. को देहायको (१) बमोजिम सर्वस्वसहित जन्मकैद र प्रतिवादी लक्ष्मी चमार (हरिजन) बाहेकका प्रतिवादीहरूको हकमा अभियोग मागदाबीअनुसार ऐ. को १३ नं. को देहायको (४) अनुसार जन्मकैद, प्रतिवादी लक्ष्मीको उमेर १३ र १४ वर्षको विचमा रहेको अर्थात् १४ वर्षभन्दा कम रहेको हुँदा निजको हकमा समेत कसुर कायम गर्ने प्रयोजनको लागि ज्यानसम्बन्धीको १३ नं. को देहायको (४) अनुसार जन्मकैद हुने भए पनि बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) नं.अनुसार नभई ऐ. ११(२) नं.अनुसार तजबिजी कैद ६ महिना सजाय हुने र निजलाई लाग्ने कैद ऐ. दफा ५०(२) नं.अनुसार बाल सुधार गृहमा बस्ने गरी व्यतित गर्नुपर्ने ठहर गरी सुरू नवलपरासी जिल्ला अदालतबाट मिति २०७३।५।६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७४।१२।२७ को फैसला ।
सहप्रतिवादी कोदाइ चमारले मृतकलाई आफूले मात्र कर्तव्य गरी मारेको भनी अदालतमा समेत आई बयान गरेको, अन्य सहप्रतिवादीहरूले अदालतमा बयान गर्दा मलाई दोष नलगाएको, अनुसन्धान अधिकारीसमक्ष भएको मेरो बयान स्वेच्छाको नभएको र अदालतमा मैले अभियोग दाबीअनुसार कुनै कसुर अपराध नगरेको भनी इन्कारी बयान गरेको साथै साँझ र राति कोदाइको घरको पूजामा नगएको अवस्थामा केवल प्रहरीसमक्ष भएको मेरो ईच्छाविपरीतको बयानलाई मात्र आधारमानी अनुमानको भरमा मलाई जन्म कैदको सजाय गरेको सुरूको फैसलालाई सदर ठहर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला त्रुटिपूर्ण भएकाले बदर (उल्टी) गरी मलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रूदल चमार (हरिजन) ले यस अदालतमा पेस गरेको पुनरावेदन ।
सहप्रतिवादी कोदाइले मृतकको हत्या आफैँले मात्र गरेको भनी अदालतमा समेत बयान गरेको छ । अरू सहप्रतिवादीले अदालतमा बयान गर्दा मलाई दोष लगाएको छैन । घर खर्च गर्न श्रीमतीले राखेका रकम बरामदी भएको आधारमा मलाई कसुरदार कायम गर्न मिल्दैन । कथित पूजा सामाग्री र पूजास्थलका फोटाहरूलाई देखे चिनेको भन्दैमा अपराधलाई स्वीकार गरेको भन्न पनि मिल्दैन । मैले मृतकलाई मार्नु भनी वचन दिएको भन्ने कुरा वादी पक्षले पुष्टि गर्न सकेको छैन । कोदइको घरको पूजामा म संलग्न छैन । मृतकलाई मार्ने मनसाय पनि राखेको छैन । मेरो पक्षको प्रमाणलाई उचित मूल्याङ्कन नगरी सबैलाई एकमुष्ट रूपमा दोषी देखाई मलाई जन्म कैदको सजाय गरेको सुरूको फैसलालाई सदर ठहर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला त्रुटिपूर्ण हुँदा बदर (उल्टी) गरी मलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामानन्द चमार (हरिजन) ले यस अदालतमा पेस गरेको पुनरावेदन ।
सहप्रतिवादीहरू कसैले पनि मलाई दोषी देखाई अदालतमा बयान गरेका छैनन् । प्रतिवादी कोदाइ आफू एक्लैले मृतकको हत्या गरेको स्वीकार गरी अदालतमा समेत बयान गरेको छ । उक्त दिन म घरमा थिइनँ । मैले मृतकलाई मार्नको लागि वचन दिएको भनी वादी पक्षले पुष्टि गर्न सकेको छैन । कोदाइको छोरा विजयले बिरामी हुँदा मान्छेको बलि चाहियो भनी भनेको कुरा जान्दाजान्दै कसैलाई नभनी सहमति दिएको भन्ने कुरा हो सोसमेत आत्मपरक तर्क मात्र हो । कोदाइका छोरा विजय बिरामी हुँदा गाउँमा घर बाहिर सबैले देख्ने स्थानमा निजको झारफुक भएको हो । मैले अदालतमा पूर्ण इन्कारी बयान गरेको छु । अनुसन्धानको बयान मेरो स्वेच्छाको होइन । यसरी स्वतन्त्र प्रमाणले पुष्टि नगरेको अनुसन्धानको बयानलाई आधार मानी मनसाय तत्त्वलाई आत्मपरक तवरले गैरकानूनी रूपमा व्याख्या गरी मलाई जन्म कैदको सजाय गरेको सुरूको फैसलालाई सदर ठहर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला त्रुटिपूर्ण हुँदा बदर (उल्टी) गरी मलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दिनानाथ चमार (हरिजन) ले यस अदालतमा पेस गरेको पुनरावेदन ।
सहप्रतिवादी कोदाइलगायत कसैले पनि मलाई दोषी देखाई अदालतमा बयान गरेका छैनन । अनुसन्धानमा प्रहरीले तयार पारेको बयानमा मलाई सहीछाप गराएका हुन् । मैले अदालतमा बयान गर्दा पूर्ण इन्कारी बयान गरेको छु । अनुसन्धान अधिकारीसमक्षको बयानलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि नगरेसम्म प्रमाणमा लिन मिल्दैन । मृतकलाई मार्ने कुरामा मेरो कुनै संलग्नता नै छैन । मैले मार्ने मनसाय पनि राखेको छैन । मृतकलाई मार्न वचन दिएको पनि होइन । यस स्थितिमा केवल मानव बलि दिएको भन्ने हल्लाको भरमा मलाई एकमुष्ट रूपमा दाषी देखाई सुरू नवलपरासी जिल्ला अदालतबाट मलाई जन्मकैदको सजाय गर्ने गरी भएको फैसलालाई सदर ठहर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला त्रुटिपूर्ण भएकाले बदर (उल्टी) गरी मलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी बुदिया चमार (हरिजन) ले यस अदालतमा पेस गरेको पुनरावेदन ।
यसमा प्रस्तुत मुद्दाको रूप र प्रकृतिबाट दुवै पक्षको उपस्थितिमा छलफल भई न्यायिक निरूपण हुन मनासिब हुँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेस गर्नू । थुनामा रहेका प्रतिवादीहरूका तर्फबाट बहस प्रतिरक्षार्थ वैतनिक वकिललाई पेसीको जनाउ दिनु भन्ने यस अदालतको मिति २०७६।३।१७ को आदेश ।
प्रतिवादीमध्येका म कोदाइ हरिजनले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानलाई अन्य सहप्रतिवादीको बयानले पुष्टि गरेको तथा अदालतको बयानमा स्वीकार गरेको भए पनि मैले मेरो छोराको मागअनुसार मान्छेको बलि नदिए छोरालाई सन्चो नहुने भएकाले छोराको काम्ने बानी सन्चो गराउन अत्तालिएर गर्न नहुने गम्भीर कार्य गर्नसम्म पुगेको हो । कर्तव्य गर्ने मनसाय सोच विचार र नियत नभईकन गरेको कार्य हुँदा त्यसतर्फको परिस्थितिलाई मध्यनजर नगरी ज्यानसम्बन्धी महलको १३ नं. को देहायको (१) अनुसार सजाय हुने गरी भएको सुरूको फैसला सदर गरेको उच्च अदालतको त्रुटिपूर्ण फैसला बदर गरी न्याय दिलाइपाऊँ ।
प्रतिवादीमध्येका कोदाइ हरिजन बाहेक हामी अन्य चार जना प्रतिवादीहरूको अदालतमा भएको बकपत्रअनुसार वारदातको समयमा कोही कहाँ कोही कतै भएकोले प्रत्यक्ष रूपमा वारदातमा संलग्नता रहेको छैन । स्वयम् प्रतिवादी कोदाइ हरिजनले मैले नै कर्तव्य गरेको हो भनी गरेको बयानले पुष्टि गरी रहेको अवस्थामा सबै प्रतिवादीहरूलाई एकै दृष्टिमा हेरी एकै किसिमको सजाय गर्न मिल्ने होइन । यसरी हामी प्रतिवादीहरूको अदालतमा स्वतन्त्र रूपमा भएको बयानलाई मूल्याङ्कन नै नगरी केवल मौकामा भएको बयानलाई मात्र अर्थात् हुँदै नभएको बयान बेहोरालाई घटनामा सरिक भएको वारदात स्थलमा नगएकोलाई पनि वारदात स्थलमा गएको र अपराध गर्नमा मिलोमतो रहेको अटुट रूपमा कुनै न कुनै तरिकाबाट सरिक भएको भनी वारदातस्थलमा गए भएकालाई सरह एकै दृष्टिमा हेरी सजाय गर्न नमिल्नेमा अर्थात् ज्यानसम्बन्धी महलको १७ नं. को देहाय (३) बमोजिम सजाय हुनुपर्नेमा सो नगरी ऐ. को १३ नं. को देहायको (४) बमोजिम सजाय हुने गरी गरी भएको सुरू जिल्ला अदालतको फैसलालाई सदर ठहर गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासको फैसला त्रुटिपूर्ण हुँदा उल्टी बदर गरी न्याय दिलाई पाउँ भन्नेसमेत बेहोराको कोदाइ चमार (हरिजन), सुर्यभान चमार (हरिजन), कान्ति चमार (हरिजन), विजय चमार र सुनिता चमार (हरिजन) समेतले यस अदालतमा पेस गरेको संयुक्त पुनरावेदन ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदक/प्रतिवादीहरूका तर्फबाट उपस्थित वैतनिक कानून व्यवसायी विद्वान् अधिवक्ता श्री सूर्यलक्ष्मी महर्जनले पुनरावेदक/प्रतिवादी कोदाइ चमार एक्लैले जीवन कोहारलाई कर्तव्य गरी मारेको हो भनी मौका तथा अदालतमा समेत अभियोग दाबीबमोजिमको कसुरमा साबित रही बयान गरेको अवस्था छ । निजबाहेकका अन्य पुनरावेदक/प्रतिवादीहरूले अदालतमा आरोपित कसुरमा इन्कार रही बयान गरेको अवस्थामा अनुसन्धानको बयानलाई मात्र आधार मानी वारदातमा कुन प्रतिवादीको के कस्तो भूमिका रहेको थियो भन्ने विवेचना नै नगरी सबै प्रतिवादीहरूलाई जन्म कैदको सजाय ठहर गरेको सुरू नवलपरासी जिल्ला अदालतको फैसला सदर हुने ठहर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ हुने गरी न्याय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
पुनरावेदक/प्रतिवादीहरू सूर्यभान चमार (हरिजन) र सुनिता चमार (हरिजन) को तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री रामबन्धु शर्मा र विद्वान् अधिवक्ता श्री रामपुकार महतोले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा सुनिताले विजय बिरामी छ भन्ने सुनेर कोदाइको घर गएकोमा विजयले मान्छेको मासु चाहिन्छ भनेका हुन् भनी बयान गरेकी छन । यी पुनरावेदक/प्रतिवादीहरू सुनिता चमार (हरिजन) र सुर्यभान चमार (हरिजन) दुवैले अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेकोमा अनुसन्धानको बयानलाई मात्र आधार मानी अभियोग दाबीबमोजिम कसुरदार ठहर गरी जन्मकैदको सजाय ठहर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला नमिलेको हुँदा उल्टी गरी यी प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ हुने गरी न्याय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
पुनरावेदक/प्रतिवादीहरू विजय चमार र कान्ति चमार (हरिजन)को तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री हरिप्रसाद मैनालीले यी पुनरावेदक/प्रतिवादीहरूले अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरका छन् । पुनरावेदक/प्रतिवादी विजय चमार वारदातस्थल कलौनी घोलमा उपस्थित भए पनि जीवन कोहारलाई मार्ने कार्यमा यी प्रतिवादीहरूले कुनै हतियार प्रहार गर्ने कार्य गरेको छैन । पुनरावेदक/प्रतिवादी कान्ति चमार (हरिजन) वारदातस्थल कलौनी घोलमा गएकी छैनन् । यी प्रतिवादीहरूले मृतक जीवन कोहारलाई बलि दिनु भनी भनेको अवस्था पनि छैन । बिरामी हेर्न गएको अवस्थासम्म हो । यस स्थितिमा यी पुनरावेदक/प्रतिवादीहरूलाई जन्मकैद सजाय ठहर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला त्रुटिपूर्ण भएकाले बदर गरी निज पुनरावेदक/ प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ हुने गरी न्याय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।
प्रत्यर्थी/वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री शान्ति न्यौपानेले वारदातमा प्रतिवादीहरूमध्ये गंगा हरिजन, रूदल चमार (हरिजन), सूर्यभान चमार (हरिजन), कोदाइ चमार (हरिजन) र विजय चमार बलि दिएको स्थान घोलमा गएको अवस्था छ । अन्य प्रतिवादीहरू बलि दिएको स्थान घोलमा नगए पनि कोदाइको घरमा भएको पूजामा सहभागी भएका छन् । बच्चा बलि दिएको घटना मिति २०७२।०४।०५ गते भएकोमा ३ दिनसम्म अर्थात् ८ गतेसम्म यी प्रतिवादीहरूले कहीँकतै कसैलाई सो घटनाबारे जानकारी गराएको देखिँदैन । पुनरावेदक/प्रतिवादी कोदाइ चमार (हरिजन) ले अदालतमा समेत कसुरमा साबित रही बयान गरेको अवस्था छ । प्रतिवादीमध्येका कोदाइ चमारले मृतकको घाँटी रेटेको, प्रतिवादी सूर्यभान, रूदल, गंगा, विजय वारदातस्थल घोलमा गई मृतकलाई समात्ने, गौडा कुर्ने कार्य गरी वारदातमा प्रत्यक्ष रूपमा संलग्न भएका छन् । अन्य प्रतिवादीहरू बालकलाई वलि दिनुपूर्व र तत्पश्चात् कोदाइको घरमा भएको पूजामा उपस्थित भएका छन् । मृतक जीवन कोहारलाई कोदाइ चमारको घरमा ल्याउँदा, पूजाआजा गर्दा र त्यहाँबाट घोलमा लगी नरबलि दिइ मानिसको हत्या गर्ने गराउने कार्यमा समेत सँगसाथ रहेको, सहमती जनाएको र वचन दिएको अवस्था हुँदा प्रतिवादी कोदाइ चमार (हरिजन) लाई सर्वस्वसहित जन्मकैद अन्य प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलको १३ नं. को देहायको (४) अनुसार सजाय गर्ने गरेको सुरू फैसला सदर ठहर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला मिलेको हुँदा सदर कायम गरिपाउँ भनी बहस गर्नुभयो ।
यसमा प्रतिवादी कोदाइ हरिजनले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. विपरीत सोही १३ नं. को देहायको (१) को कसुर अपराध गरेको हुँदा निज प्रतिवादी कोदाइ हरिजनलाई सोही महलको १३ नं. को देहायको (१) बमोजिम सजाय हुन र अन्य प्रतिवादीहरू सुर्यभान हरिजनले जीवनको दुवै खुट्टा समातेको, रूदलले मृतकको दुवै हात समाती पटेरा घारीमा उत्तानो पारेकोमा उक्त कार्य मुलुकी ऐनको ज्यानसम्बन्धीको महलको १ नं. विपरीत सोही १३ नं. को देहायको (४) को कसुर अपराध हुँदा निज प्रतिवादी सुर्यभान हरिजन, रूदल हरिजनलाई सोही महलको १३ नं. को देहायको (४) बमोजिमको सजाय हुन र प्रतिवादीहरू घरमा पूजा गर्दा मानिसको बलि दिनु भनी वचन दिने गंगा हरिजन, कान्ति चमार, लक्ष्मी चमार, सुनिता चमार, रूदल चमार, बुदिया चमार, रामानन्द चमार, दिनानाथ चमारसमेतले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. विपरीत सोही १३ नं. को देहायको (४) को कसुर अपराध गरेको हुँदा निज प्रतिवादीहरूलाई सोही महलको १३ नं. को देहायको (४) बमोजिमको सजाय हुन र प्रतिवादीमध्येका लक्ष्मी चमारको उमेर वर्ष १४ को देखिँदा निजको हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ दफा ११(३) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोग दाबी रहेछ ।
प्रतिवादीमध्येका कोदाइ चमार (हरिजन) को हकमा ज्यानसम्बन्धीको १३ नं. को देहायको (१) अनुसार सर्वस्वसहित जन्मकैद र अन्य सबै प्रतिवादीहरूको हकमा ऐ. १३ नं. को देहायको (४) अनुसार जन्मकैद सजाय हुने र प्रतिवादीमध्येका लक्ष्मी चमारको उमेर १४ वर्षभन्दा कम रहेको हुँदा ज्यानसम्बन्धीको १३ नं. को देहायको (४) अनुसार जन्मकैद हुने भए पनि बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार नभई ऐ. ११(२) अनुसार तजबिजी कैद ६ महिना बाल सुधार गृहमा बस्ने गरी सजाय हुने ठहर्याई सुरू नवलपरासी जिल्ला अदालतबाट मिति २०७३।०५।०६ मा फैसला भएको देखियो । उक्त सुरू फैसलाउपर लक्ष्मी चमार हरिजनबाहेकका अन्य सबै प्रतिवादीहरूको पुनरावेदन परेकोमा उच्च अदालत तुलसीपुर, बुटवल इलजासबाट उक्त सुरू फैसला नै सदर हुने ठहर्याई फैसला भएकोमा प्रतिवादीहरू रूदल चमार (हरिजन), रामानन्द चमार (हरिजन), दिनानाथ चमार (हरिजन), बुदिया चमार (हरिजन), कोदाइ चमार (हरिजन), सूर्यभान चमार (हरिजन), कान्ती चमार (हरिजन), विजय चमार (हरिजन), सुनिता चमार (हरिजन) ले पुनरावेदन तहको उक्त फैसलामा समेत चित्त नबुझाई यस अदालतमा पुनरावेदन दायर गरेकोमा प्रत्यर्थी झिकाउने आदेशसमेत भई आज निर्णयार्थ यस इजलाससमक्ष पेस भएको पाइयो ।
उपर्युक्तबमोजिमको तथ्य रहेको प्रस्तुत मुद्दामा पुनरावेदक/प्रतिवादीहरू र प्रत्यर्थी/वादी नेपाल सरकार दुवै पक्षका विद्वान्हरूबाट प्रस्तुत बहस जिकिर सुनी मिसिल संलग्न कागज प्रमाण एवम् उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।१२।२७ मा भएको फैसला बदर गरिपाउँ भनी पुनरावेदकहरूले लिइएका जिकिरहरूसमेत अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा निम्नानुसारको विषयमा केन्द्रित भई न्याय निरूपण गर्नुपर्ने देखियो ।
(१) प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई लगाइएको अभियोग दाबीबमोजिमको वारदात स्थापित भएको देखिन्छ वा देखिँदैन ?
(२) अभियोग दाबीबमोजिमको कसुरमा प्रतिवादीहरूको संलग्नता रहेको देखिन्छ वा देखिँदैन ?
(३) उच्च अदालत तुलसीपुर, बुटवल इलजासबाट मिति २०७४।१२।२७ मा भएको फैसला मिलेको छ, छैन ? र पुनरावेदक / प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ?
२. निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा प्रतिवादी लक्ष्मी हरिजन चमारले उच्च अदालत तुलसीपुर, बुटवल इलजासमा पुनरावेदन दिएको नदेखिएकोले सुरू फैसलामा नै चित्त बुझाई बसेको देखिँदा निजको हकमा विवेचना गरिरहनु परेन । त्यसैगरी प्रतिवादी गंगा चमार हरिजनको हकमा हेर्दा, उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।१२।२७ मा भएको फैसलाको जानकारीसहितको पुनरावेदनको म्याद कारागार कार्यालय नवलपरासीमा थुनामा रहेका निज प्रतिवादी गंगा चमार हरिजनको नाममा मिति २०७५।०३।१३ मा जारी भई मिति २०७५।०४।१६ मा तामेली हुँदा निज प्रतिवादी गंगा चमार हरिजनको मिति २०७५।०१।०३ मा मृत्यु भएको भनी उक्त तामेली म्यादमा उल्लेख भएको देखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ बमोजिम निजको हकमा ज्यानसम्बन्धीको कसुरमा प्रतिवादीको मृत्युसँगै निजलाई ठहरेको कैद सजाय मिनाहा हुने हुँदा प्रस्तुत फैसलाबाट केही बोलिरहनु परेन ।
३. सर्वप्रथम प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई लगाइएको अभियोग दाबीबमोजिमको वारदात स्थापित भएको देखिन्छ वा देखिँदैन? भनी हेर्दा, मृतकका परिवारले मिति २०७२।०४।०५ देखि हराएको छोरा सोनु भन्ने जीवन कोहार छिमेकी सुर्यभान चमारको घरमा खेलिरहेको भन्ने छरछिमेकबाट थाहा पाएपछि निजको घरमा गई सोधपुछ गर्दा थाहा नभएको भन्ने जानकारी पाइएपछि तत्काल इलाका प्रहरी कार्यालय वेलाटारीमा निवेदन दिएको र खोजतलासको क्रममा कलौनी घोल (खोला)को किनार शिवान दुर्गामन्दिरको नजिक झाडीमा घोप्टो पारी फालेको मृत अवस्थामा मिति २०७२।०४।०८ मा फेला परेकोले प्रतिवादीहरूलाई हदैसम्मको सजाय गरिपाउँ भनी किटानी जाहेरी दरखास्त दिई उक्त जाहेरी दरखास्तको बेहोरा खम्बिर हुने गरी जाहेरवालाले अदालतमा बकपत्रसमेत गरिदिएको देखिन्छ । मृतकको मिति २०७२।०४।०८ मा भएको लास जाँच मुचुल्कामा मृतकको लास सडी गली दुर्गन्धित अवस्थामा फेला परेको, लासको घाँटीमा ४ इन्च लम्बाइ, ४ इन्च चौडाइ, २ इन्च गहिराइ गोलाकारमा काटिएको, बिचमा काटिएको जस्तो घाउ साथै घाँटीभित्र २ वटा नलीमध्ये दायाँपट्टिको नली पूरा काटिएको देखिएको भन्ने उल्लेख भएको देखियो । मृतकको घाँटी काटिएको भन्ने निजको मिसिल सामेल तस्वीरबाट पनि देखिन्छ । घाँटीमा काटिएको sharp forced Injury (cut throat) र घाँटी काटिएको स्थानमा “Surface of neck measuring १०x६ cm and nearly ५ cm in depth. No any Hesitation cuts” भन्ने बेहोरा मृतकको शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिन आयो । धारिलो वस्तु गडासाले जीवन कोहारको घाँटी रेटी काटेको हो भन्नेसमेत बेहोराको प्रतिवादी गंगा हरिजनले मौकामा गरेको कागज, मेरो द्वारमा खेलिरहेको जीवनलाई फकाएर ल्याई गाउँबाट दक्षिणतर्फको पुरानो नदीमा लगी गडासाले काटी मारी बलि दिएको हुँ भन्ने कोदाइ चमार (हरिजन)को अदालतसमक्षको साबिती बयानसमेतका मिसिल संलग्न कागज प्रमाणका आधारमा जाहेरवालाको नाति सोनु भन्ने जीवन कोहारको मृत्यु स्वाभाविक नभई बलि दिई कर्तव्यबाट निजको मृत्यु भएको भन्ने निर्विवाद रहेको देखिन आयो ।
४. प्रस्तुत मुद्दाको मिसिल सामेल कागजातहरूको अध्ययन गर्दा, यी मृतक वा पीडित परिवारका तर्फबाट यी प्रतिवादीहरूको जिउ ज्यान वा सम्पत्तिउपर क्षति पुर्याउन खोजेको वा क्षति पुर्याएको कारणले नभई काम्ने बिरामी भएका विजयलाई निको पार्न (कामेका बेला मान्छेको मासु चाहियो भनेको कारण) धामी झाँक्रीको सल्लाहबमोजिम मान्छेको भोग दिने अर्थात् मानव बलि दिएकोले यो घटना घट्न पुगी निर्दोष १० वर्षे नाबालिगको ज्यान गएको अवस्था देखिन्छ । यो वारदात भएको ठाउँ नवलपरासी जिल्लाको साबिकको कुडिया गाउँ विकास समिति र हालको सुस्ता गाउँपालिकाको ग्रामीण चमार बस्ती रहेको देखिन्छ । वारदातमा संलग्न भएका र प्रतिवादी कायम गरिएका व्यक्तिहरू चमार (हरिजन) जातिका दलित, पिछडिएका भनिएका समुदायका भएको देखिन्छ । यो ग्रामिण र दलित वस्तीमा शिक्षा र चेतनाको पँहुच वारदात मितिसम्म पनि पुगी नसकेको भन्ने कुरा विजय बिरामी भएकाले घर परिवार र छिमेकीहरू मात्र होइन एउटा सिङ्गो चमार (हरिजन) गाउँ टोल नै बिरामीले मागेबमोजिम मानव बलि दिनुपर्छ भन्ने झाँक्रीहरूको कुरामा विश्वास गरी विजयले कामेका बेला मान्छेको मासु चाहिन्छ अर्थात् मानव बलि चाहिन्छ भनी मागेको कुरालाई सत्य मानेर तान्त्रिक बोलाई बिरामी ठिक बनाउन मानव बलिसहितको पूजा गर्न गराउन तयार भएको देखिन्छ । यो घटनामा समाजका कुनै एक व्यक्तिले पनि यो कुरा गलत हो, यो गर्नु हुँदैन, बिरामीलाई उपचार गर्न त अस्पताल लानुपर्छ भन्न सकेको भए यो घटना नहुने देखिन्छ । विजय काम्ने बिरामी हुनुमा अदृश्य शक्ति (देवता) को हात रहेको र विजय कामेको बेला मान्छेको मासु चाहियो भनेको कुरालाई सत्य मान्ने सामाजिक परम्परा र अन्धविश्वासमा आधारित धामी झाँक्री वा तान्त्रिक उपचार पद्धतिका आडमा भएको यो घटनामा एउटा बिरामी मानिसलाई सन्चो पार्न भनी अर्को नाबालिग व्यक्तिको ज्यान लिने अर्थात् नरबलि वा मानव बलि दिएको यो मुद्दा अरू ज्यानसम्बन्धी मुद्दाभन्दा फरक एवम् विशेष प्रकृतिको भएको देखिन्छ । यस स्थितिमा मानव बलिको अर्थ र परिभाषाका साथै मानव बलि के कस्तो अपराध हो ? साथै मानव बलिका सम्वन्धमा भएका कानूनी व्यवस्थाहरूको समेत सङ्क्षेपमा चर्चा गर्नु सान्दर्भिक हुने देखियो ।
५. मानव बलिको अर्थ र परिभाषाका सम्बन्धमा हेर्दा, बलि शब्दको अर्थ देवदेवतालाई अर्पिने भोग्य वस्तु नैवेद्य देवतालाई भोग दिइने पशुपन्छी भन्ने हुन्छ । बलि प्रथा भन्नाले कुलायन वा देवी देवतालाई बलि दिने चलन, देवदेवताका नाममा पशुवध गरिने परम्परा भन्ने बुझिन्छ । मानव बलिलाई अग्रेंजीमा Human Sacrifice भनिएकोमा Sacrifice शब्दको अर्थ the practice or an act of killing animal, bird etc or surrendering a possession as an offering to a deity हुने जसको सार बलि वा बलिदान दिनु वा चढाउनु भन्ने हुन्छ । यस आधारमा मानव बलि भन्नाले मानवलाई देवी देवतालाई बलि चढाउनु भन्ने देखियो ।
६. अमानवीय प्रथाको सम्बन्धमा कानूनी व्यवस्था गर्न भारतको कर्नाटक प्रान्तले THE KARNATAKA PREVENTION AND ERADICATION OF INHUMAN EVIL PRACTICES AND BLACK MAGIC ACT, 2017 जारी गरेकोमा सो दफा २ को (१) को (c) मा “Inhuman, evil practices and black magic” means the commission of any act, specified in the schedule, by any person by himself or caused to be committed through or by instigating any other person; अर्थात् “अमानवीय, दुष्ट प्रथाहरू र कालो जादू" भन्नाले अनुसूचीमा उल्लिखित कुनै पनि कार्य, कुनै व्यक्तिद्वारा आफैँले वा अन्य कुनै व्यक्तिलाई उक्साएर गराइएको कार्य भन्ने बुझिन्छ । यो ऐनले कानूनी रूपमा "अमानवीय, दुष्ट अभ्यास र कालो जादू" लाई हानिकारक प्रथाहरूको रूपमा परिभाषित गरिएको पाइन्छ । त्यसैगरी भारतको महाराष्ट्र प्रान्तले THE MAHARASHTRA PREVENTION AND ERADICATION OF HUMAN SACRIFICE AND OTHER INHUMAN, EVIL AND AGHORI PRACTICES AND BLACK MAGIC ACT, 2013 जारी गरी सोको दफा २ को उपदफा (१) (b) मा “human sacrifice and other inhuman, evil and aghori practices and black magic” means the commission of any act, mentioned or described in the Schedule appended to this Act, by any person by himself or caused to be committed through or by instigating any other person भनी सोको अनुसूचीमा अमानवीय, दुष्ट र अघोरी कार्य र कालो जादू गर्ने; वा जरण-मरण (jaran-maran) वा यस्तै नाममा नरबलि दिने वा दिन प्रयास गर्ने, वा यस्ता अमानवीय कार्यहरू गर्न सल्लाह दिने, उक्साउने वा प्रोत्साहित गर्नेसमेतका कार्यहरूलाई मानव बलीको परिभाषाअन्तर्गत समेटेको देखियो । यी परिभाषाको अध्ययनबाट तन्त्रमन्त्र वा धामी झाँक्रीले उपचारका नाममा गर्ने विभिन्न प्रकारका अमानवीय क्रियाकलापलाई मानव बलिको परिभाषामा समेटेको देखिन्छ । मानव बलिको अपराधलाई नियन्त्रण गर्न युगान्डाको संसद्ले पारित गरेको THE PREVENTION AND PROHIBITION OF HUMAN SACRIFICE BIll, 2020 को दफा १ मा human sacrifice” means the killing, mutilation, removal of organs or body parts of a person for sale or for purposc of witchcraft, rituals or any harmful human practices; अर्थात् “मानव बलि" भन्नाले बोक्सी, टुना-मुना, वा हानिकारक मानवीय अभ्यासका लागि कुनै व्यक्तिको हत्या, अङ्ग-भङ्ग, अङ्ग वा शरीरका भागहरू निकाल्ने वा बिक्री गर्ने कार्यलाई बुझिन्छ भनी परिभाषित गरेको देखिन्छ ।
७. माथि भएको विवेचनासमेतको आधारमा हेर्दा “मानव बलि” भन्नाले कुनै सामाजिक सांस्कृतिक वा परम्परागत विश्वासका आधारमा देवी देवतालाई खुसी पारी भूत प्रेत हटाउन धामी झाँक्रीले झारफुक वा तन्त्र मन्त्र वा टुना मुना गर्ने, बोक्सीको दोष लगाउने, मानिसलाई मन्दिर वा देवताका नाममा चढाउने, मानिसको हत्या गरी देवी देवताका नाममा भोग दिने जस्ता अमानवीय क्रियाकलाप गरी मानिसको ज्यान लिने, अङ्गभङ्ग गरिदिने जस्ता कार्यलाई समेत जनाउने भन्ने देखियो । मानव बलिको घटना स्थानीय समुदायमा व्याप्त अन्धविश्वास जादु, टुना-मुना गर्ने वा व्यक्तिले विभिन्न समस्याबाट पार पाउन वा सफलताको खोजीमा गरिने अमानवीय कार्य जुन सामाजिक वा साँस्कृतिक परम्परागत मान्यतामा आधारित रहने र यस्तो कार्य विशेष गरी धामी झाँक्री वा तान्त्रिक विधि जस्ता अन्धविश्वासजन्य मान्यतामा आधारित शक्तिको प्राप्ति वा आर्थिक फाइदाको उद्देश्यले गरिने भन्नेसमेत देखियो । यस आधारमा हेर्दा प्रस्तुत मुद्दामा काम्ने बिरामी भएका विजयलाई ठिक पार्न विजयले कामेर मान्छेको मासु चाहियो भनेकोमा धामीहरूको सल्लाहमा पूजा पाठ गरी १० वर्षे बालक सोनु भन्ने जीवन कोहारको धारिलो हतियार गड्साले घाँटी रेटी हत्या गर्ने वा ज्यान मार्ने कार्यलाई मानव बलि दिएको घटनाका रूपमा हेर्न मिल्ने देखियो ।
८. अब मानव बलि दिने के कस्तो अपराध हो ? भनी विचार गर्दा, प्रस्तुत वारदात भएका बखत प्रचलित नेपालको अन्तरिम संविधान, २०६३ ले प्रस्तावनामा नै मानव अधिकारको प्रत्याभूति गरी प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने छ र कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कुनै कानून बनाइने छैन भन्ने व्यवस्था गरी मृत्युदण्डलाई निषेध गरिएकोमा हाल प्रचलित नेपालको संविधानले समेत यही व्यवस्थालाई निरन्तरता दिएको देखिन्छ । यी संवैधानिक व्यवस्थाको रोहमा हेर्दा मानव बलि दिने कार्य मानवाधिकार विरोधी अपराध भएको र कानूनद्वारा वर्जित रहेको भन्ने देखियो । मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन गर्न र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले बनेको राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा (२)(च) ले मानव अधिकार भन्नाले व्यक्तिको जीवन स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित संविधान तथा अन्य प्रचलित कानूनद्वारा प्रदान गरिएका अधिकार सम्झनुपर्छ र सो शब्दले नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा निहित अधिकारसमेतलाई जनाउँछ भनी परिभाषा गरिएको देखिन्छ । मानव अधिकारको यो परिभाषाबाट देशको संविधान र कानूनले व्यक्तिलाई प्रदान गरेका स्वतन्त्रपूर्वक जीवन बाँच्न पाउनेलगायतका अधिकारका साथै मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताले निर्दिष्ट गरेका अधिकारसमेत मानव अधिकारभित्र समेटिने देखियो । यसरी व्यक्तिको जीवन लिला समाप्त पार्ने मानव बलिको अपराधको परिणामस्वरूप मानिसको स्वतन्त्रपूर्वक जीवन बाँच्न पाउनेलगायतका मानव अधिकार हनन हुने भएकाले मानव बलि दिने कार्य मानवता विरोधी अपराधसमेत भएको देखियो ।
९. संयुक्त राष्ट्र संघको मानवाधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रले व्यक्तिको सुरक्षित जीवन जिउन पाउने हक (Everyone has the right to life, liberty and the security of person.) लाई सुनिश्चित गरेको देखिन्छ । नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (International Covenant on Civil and Political Rights (ICCPR) 1966) को Article ६(१) ले Every human being has the inherent right to life. This right shall be protected by law. No one shall be arbitrarily deprived of his life भन्ने अर्थात् बाँच्न पाउने हकको ग्यारेन्टी गरी व्यक्तिको बाँच्न पाउने अधिकारलाई व्यक्तिको मानव अधिकारको रूपमा सुनिश्चित गरेको छ । मानवाधिकारको विश्वव्यापी घोषणापत्र र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले गरेका यी व्यवस्थाबाट धार्मिक वा अन्य कुनै नाममा मानिसको जीवन समाप्त गर्न बन्देज गरेको र मानव बलि दिने कार्यबाट व्यक्तिको जीवनसमेत समाप्त हुने भएकाले मानव बलिलाई क्रूर एवम् मानवता विरोधी अपराधका रूपमा स्वत: बुझ्न सकिन्छ ।
१०. अब मानव बलि कसुर र सजायका सम्बन्धमा भएका कानूनी व्यवस्थाका सम्वन्धमा विचार गर्दा, १० वर्षका नाबालिगलाई धारिलो हतियार गडसाले घाँटीमा रेटी बलि दिई ज्यान मारेको प्रस्तुत मुद्दामा वारदात भएका बखत प्रचलित साबिक मुलुकी ऐनमा मानवलाई बलि दिएको सम्बन्धमा छुट्टै कानूनी व्यवस्था भएको नदेखिए तापनि बलि दिएको परिणामस्वरूप ज्यान मरेको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. ले कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नाको उद्योग गर्न हुँदैन भन्ने व्यवस्था गरी मानव बलि दिई ज्यान मार्न र ज्यान मार्न लगाउन नहुने गरी कानूनी व्यवस्था गरेको देखियो ।
११. प्रस्तुत मुद्दामा १० वर्षका नाबालिगलाई बलि चढाएको देखिएको अवस्थामा बालबालिकाको हक, हितको संरक्षण गरी तिनीहरूको शारीरिक मानसिक र बौद्धिक विकास गर्ने उद्देश्यले बनेको साबिकको बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ७ ले बालबालिकाप्रति क्रूर र यातनापूर्ण व्यवहार गर्न नहुने भन्ने, दफा १४ को उपदफा (१) मा कसैले आफ्नो वा अरू कसैको बालकलाई किनी वा कुनै प्रलोभन दिई वा कुनै किसिमको करकाप वा अनुचित प्रभावमा पारी आफ्नो कुनै भाकल वा अन्य कुनै धार्मिक अभिप्राय पूरा गर्ने उद्देश्यले कुनै देवी देवताको नाउँमा चढाउनु वा समर्पण गर्नु हुँदैन भन्ने र उपदफा (२) मा कसैले पनि आफ्नो बालकलाई उपदफा (१) को प्रयोजनको लागि कुनै रकम लिई कसैलाई बिक्री गरी दिन वा अरू कुनै प्रकारले हस्तान्तरण गरी दिन हुँदैन भन्ने व्यवस्था गरी भाकल पूरा गर्न वा कुनै धार्मिक उद्देश्यले बालबालिकालाई देवी देवतालाई चढाउन वा समर्पण गर्न नहुने भनी नाबालिगलाई बलि दिने अर्थात् मानव बलि दिने कार्यलाई बन्देज गरेको देखियो ।
१२. हाल प्रचलित बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ मा बालबालिका विरूद्ध कसुरको सम्बन्धमा व्यवस्था भएको देखिन्छ । उक्त ऐनको दफा ६६ को उपदफा (२) ले बालबालिका विरूद्ध हिंसा गरेको मानिने कार्यहरू तोकेकोमा सोको देहाय खण्डको (झ) मा क्रूर अमानवीय व्यवहार गर्ने वा यातना दिने, (ठ) मा भाकल, धार्मिक वा अन्य कुनै अभिप्रायले कसैको नाउँमा चढाउने वा समर्पण गर्ने वा परम्परा, संस्कृति, रीतिरिवाजको नाममा कुनै प्रकारको हिंसा, विभेद, हेला वा बहिस्कार गर्ने वा उपहासको पात्र बनाउने (ड) मा जादु वा सर्कसमा लगाउने(त) मा प्रचलित कानूनविपरीत बालबालिकाको अङ्ग झिक्नेसमेतका कार्यहरू उल्लेख गरेको र यस्ता कार्यहरू माथिल्ला प्रकरणहरूमा चर्चा गरिएको मानव बलिको परिभाषाअन्तर्गत समेटिएको देखिन्छ । यो कानूनी व्यवस्थाको रोहमा हेर्दा, बालबालिकालाई क्रूर र अमानवीय व्यवहार गर्न, भाकल पूरा गर्न कसैको नाममा बालबालिकालाई चढाउनेसमेतका कार्य गर्न नहुने र यस्तो कार्य गरिएमा बालबालिका विरूद्धको हिंसासम्बन्धी कसुर हुने देखियो । बालबालिकासम्बन्धी कानूनले पनि बालबालिकालाई क्रूर र अमानवीय रूपमा यातना दिने र मन्दिरमा भाकल गरी बालबालिका चढाउने कार्यलाई बन्देज गरी यस्तो कार्य पुजारी वा धामी झाँक्रीले समेत गर्न गराउन नहुने व्यवस्था गरेको देखिन आयो ।
१३. मानव बेचबिखन तथा ओसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(क) मा कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने (ग) प्रचलित कानूनबमोजिम बाहेक मानवको अङ्ग झिक्ने कार्यलाई कसुर कायम गरेको देखिन्छ । यो व्यवस्थाले मानव बलि दिने उद्देश्यले मानिस किनेमा वा बेचेमा वा मानिसको अङ्ग झिक्ने कार्य गरेकोमा मानव बेचबिखन तथा ओसार पसारको कसुरसमेत हुने देखियो ।
१४. मानव बली दिएको र ज्यान मरेको अवस्थामा हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) मा कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था गरेको देखिन्छ । हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ ले मानव बलि दिएको कसुरलाई छुट्टै कसुरका रूपमा व्यवस्था नगरे पनि मानव बलिबाट ज्यान मरेकोमा ज्यानसम्बन्धीको कसुर कायम हुने देखियो ।
१५. यो वारदात धामी झाँक्रीको सल्लाहमा बिरामीलाई सन्चो बनाउन उपचार गर्ने नाममा नाबालिगलाई बलि दिएको अर्थात् मानव बलि दिएको वारदात भएकोले धामी झाँक्रीको प्रथा र सेवा बारेसमेत केही चर्चा गर्नु सान्दर्भिक हुने देखियो । सामाजिक तथा साँस्कृतिक अन्धविश्वासमा आधारित कुरीति बोक्सी प्रथालाई नियमन गर्न बनेको बोक्सीको आरोप (कसुर तथा सजाय) ऐन, २०७२ को दफा ३(१) ले कसैले कुनै व्यक्तिउपर देहायको कुनै कार्य गर्न वा गराउन हुँदैन भनी सोको देहाय (च) मा धामी, झाँक्री, टुनामुना, तन्त्रमन्त्र, झारफुक वा यस्तै अन्य कुनै माध्यमद्वारा बोक्सीको आरोप लगाउने भन्ने व्यवस्था गरेको देखिन्छ । यो कानूनी व्यवस्थाले बोक्सीको आरोप लगाउने धामी, झाँक्री प्रथा वा यस्तै अन्य कुनै माध्यमलाई बोक्सीको आरोपसम्बन्धी कसुर कायम गरी विधायिकाले दण्डनीय अपराध मानेको देखिन्छ ।
१६. प्रस्तुत वारदातमा १० वर्षे नाबालिगलाई बलि दिएको सन्दर्भमा बालबालिकासम्बन्धी कानूनसमेत आकर्षित हुने भएकाले साबिकको बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा १४ को उपदफा (३) मा कुनै पनि देवस्थलका पण्डा, पुजारी, धामी वा मुखियाले उपदफा (१) बमोजिमको काम गर्न कसैलाई पनि प्रोत्साहन दिनु हुँदैन र कसैले कुनै बालकलाई कुनै देवी देवताको मन्दिरमा चढाउन वा समर्पण गर्न ल्याएमा सोबमोजिमको धार्मिक विधि विधान आफैँले सम्पन्न गर्न वा अरूलाई पनि सो गर्ने अनुमति दिनु हुँदैन भन्ने व्यवस्था रहेको देखिन्छ । यो कानूनी व्यवस्थाले भाकल पूरा गर्न वा अन्य उद्देश्यले बालबालिकालाई देवी देवतालाई चढाउन नहुने र मठ मन्दिरका पण्डा, पुजारी, धामीले समेत यस्तो कार्य आफैँले गर्न वा अरूलाई गर्न अनुमति दिनसमेत नहुने भन्ने देखियो ।
१७. धामी झाँक्रीको सेवाका सम्बन्धमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २ (ज) ले परम्परागत उपचार प्रदायक भन्नाले परम्परागत रूपमा जडीबुटी जान्तव र खनिजबाट उपचार गर्ने व्यक्ति सम्झनुपर्छ भनी परिभाषा गरेबाट परम्परागत रूपमा उपचार गर्नेमा धामी झाँकी वा तान्त्रिकसमेत पर्ने देखियो । यसरी धामी झाँकी वा तान्त्रिकलाई परम्परागत उपचार प्रदायक मान्दा ऐ. ऐनको दफा २२ को उपदफा (३) ले परम्परागत उपचार सेवाको हकमा स्थानीय तहले तोकेको मापदण्डबमोजिम स्वीकृति लिई सेवा प्रदान गर्नुपर्ने भन्ने व्यवस्था गरेबाट धामी झाँक्री वा तान्त्रिक जस्ता परम्परागत उपचार प्रदायकलाई पूर्णतः वर्जित नगरी परम्परागत उपचार प्रदायकका रूपमा सूचीकृत गरी नियमन गर्न खोजेको देखिन्छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ ले दिएको अधिकारको प्रयोग गरी केही स्थानीय तहले यस प्रकारको मापदण्ड जारी गरी लागुसमेत गरेको देखिन्छ । धामी झाँक्रीलगायत परम्परागत उपचारकलाई परम्परागत उपचार पद्धतिअन्तर्गत सूचीकृत गर्न खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, गुल्मी जिल्लाको रूरू क्षेत्र गाउँपालिका, मुस्ताङ जिल्लाको लो-घेकर दामोदर कुण्ड गाउँपालिका, लोमन्थाङ गाउँपालिका र घरपझोङ गाउँपालिका लगायतका पालिकाहरूले परम्परागत उपचारकको सूचीकरण मापदण्ड जारी गरेको देखिन्छ । त्यसैगरी समुदायमा धामी, झाँक्री, वैद्य तथा धार्मिक गुरूहरूलाई एकीकृत पोषणको महत्त्ववारे जानकारी गराई बिरामी बच्चा तथा महिलाहरूको पोषणसम्बन्धी समस्याको पहिचान गरी सम्बन्धित ठाउँमा प्रेषण गर्ने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको समन्वयमा सुआहारा कार्यक्रमले अभिमूखीकरण सहजकर्ता निर्देशिका समेत तयार गरेको देखिन्छ ।
१८. धामी झाँक्रीको सल्लाह वा सेवाका सम्बन्धमा हाम्रो आफ्नै न्यायिक अभ्यास हेर्दा, पुनरावेदक/प्रतिवादी सञ्जु महतोसमेत विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा बोक्सा बोक्सी भूतप्रेत हुँदैनन्, धामी झाँक्रीको बलले कुनै रोग वा क्षतिलाई ठिक पार्न सकिँदैन । ठिक पार्न सकिन्छ भन्नु अन्धविश्वास बाहेक केही होइन भन्दै धामी, झाँक्रीले सामाजिक सेवा नभई समाजमा अन्धविश्वास फैलाउने र त्यसैको आडमा शोषण गरिरहेका छन् भन्ने पुरूष, महिला, बाल, युवा, प्रौढ सबैलाई बुझाउन जरूरी छ । बोक्सी प्रथाका विरूद्ध मात्र होइन त्यसको कारकको रूपमा रहेको धामी, झाँक्री प्रथाको विरूद्ध नै हाम्रो राज्य, कानूनी प्रणाली र न्याय व्यवस्था उभिन सक्नुपर्ने भनी व्याख्या भई बोक्सा बोक्सी विरूद्ध सचेतनाको निमित्त उपयुक्त पाठ्यक्रम तयार गरी विद्यालय तहको शिक्षामा समावेस गर्नु भनी यस अदालतबाट शिक्षा मन्त्रालय र सञ्चार मन्त्रालयका नाममा निर्देशनात्मक आदेशसमेत जारी भएको देखिन्छ ।
१९. उल्लिखित कानूनी व्यवस्थासमेतको रोहबाट हेर्दा धामी, झाँक्री तथा धार्मिक गुरूहरूको उपचार पद्धतिलाई पूर्णतः वर्जित नगरी धामी झाँक्रीलाई स्वास्थ्य संस्थामा बिरामी प्रेषण गर्ने जस्ता सकारात्मक कार्यमा परिचालन गर्न खोजेकोसमेत देखिन्छ । तथापि: धामी झाँक्रीहरूद्वारा गर्ने गराउने परम्परागत उपचारका नाममा हुने पूजामा यदाकदा मान्छेको भोग दिने अर्थात् मानव बलि दिने जस्तो अमानवीय र क्रूर कसुरसमेत यदाकदा हुने गरेकोमा यस्तो कसुरलाई कानूनले पूर्णतया बन्देज गरेको देखिन आयो ।
२०. मानव बलि दिई ज्यान मारेको कसुरमा कसुरदारलाई के कस्तो सजाय हुने कानूनी व्यवस्था छ ? भन्ने सम्बन्धमा हेर्दा, साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहायको (१) मा धार भएको वा नभएको जोखमी हतियार गैह्रले हानी, रोपी, घोची ज्यान मारेमा जतिजना भई हतियार छाडेको छ उतिजना ज्यानमारा ठहर्छन । सर्वस्वसहित जन्म कैद सजाय गर्नुपर्छ” भन्ने व्यवस्था रहेबाट धारिलो हतियारले हानी मानव बलि दिई ज्यान मारेकोमा सर्वस्वसहित जन्म कैदको सजाय हुने र ऐ. १३ नं. को देहायको (४) मा जुनसुकै कुरा गरीकन पनि ज्यान मार्नामा वचन दिनेलाई वा वारदात भइरहेको ठाउँमा गै मार्नालाई संयोग पारिदिना निमित्त मानिसको ज्यूमा हात हाली पक्री समातिदिनेलाई जन्मकैद गर्नुपर्छ भन्ने व्यवस्था रहेको देखिन्छ । यो व्यवस्थाले मानव बलि दिन वा ज्यान मार्नका लागि वचन दिने र बलि दिन पक्रिने समाउनेलाई जन्मकैदको सजाय हुने व्यवस्था रहेको देखिँदा मानव बली दिई ज्यान मारेकोमा उच्चतम सजाय सर्वस्वसहित जन्मकैदको सजाय हुने देखियो ।
२१. हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ मा को दफा १७७ को उपदफा (२) मा भएको व्यवस्थाबमोजिम ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुने छ भन्ने व्यवस्था गरी मानव बलि दिई ज्यान मरेकोमा जन्मकैदको सजाय हुने देखिन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ३८ ले कसुरको गम्भीरता बढाउने अवस्थामा कसैलाई यातना दिई वा क्रूर अमानवीय वा अपमानजन्य व्यवहार गरी कसुर गरेको, मानवता विरूद्धको कसुर गरेको, बालबालिकाको विरूद्ध कसुर गरेकोसमेतका कसुरलाई उल्लेख गरेको देखिन्छ । यसरी मानव बलि क्रूर, अमानवीय र मानवता विरूद्धको कसुर भएको साथै नाबालिगलाई बलि दिएकोमा बालबालिका विरूद्धको कसुर गरेको भई कसुरको गम्भीरता बढाउने कसुरसमेत हुने देखियो । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ ले क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको कसुर गर्ने कसुरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्ने व्यवस्था गरेकोले मानव बलि दिने कार्य क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको कसुरसमेत भएकाले मानव बलि दिने कसुरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्ने भन्ने देखियो ।
२२. मानव बलिका सम्बन्धमा हाम्रो छिमेकी देश भारतमा रहेको कानूनी व्यवस्था हेर्दा भारतीय दण्ड संहिता १८६० (THE INDIAN PENAL CODE) को दफा ३०२ मा Whoever commits murder shall be punished with death, or imprisonment for life, and shall also be liable to fine भन्ने व्यवस्था गरी ज्यान मार्ने कसुरमा मृत्यु दण्डसम्मको सजाय हुने व्यवस्था गरेको देखिन्छ ।
२३. भारतको सर्वोच्च अदालतले मानव बलिसम्बन्धी मुद्दामा मृत्यु दण्डको सजाय हुने ठहरसमेत गरेको देखिन्छ । मानव बलिको कसुरका सम्बन्धमा छिमेकी देश भारतको सर्वोच्च अदालतले अपवादविना कठोर सजाय दिनुपर्दछ भनेको छ । शुशिल मुर्मु विरूद्ध झारखण्ड राज्य (Sushil murmur vs state of jharkhanda (2004)3) भएको मानव बलिसम्बन्धी मुद्दामा यस्तो अपराधलाई सबैभन्दा अपवादात्मक उदाहरणको मुद्दा मानि अत्यन्तै विरलै भेटिने मुद्दा (‘रेरेस्ट अफ रेयर केसहरू’) भनी जसमा कुनै द्विविधा बिना मृत्युदण्डको सजाय हुनुपर्छ भन्ने ठहर गरि मानव बलि दिने अपराधीलाई मृत्युदण्डको सजाय गरेको पाइन्छ ।
२४. यसरी बोक्सी, भूत, प्रेत, पिशाचले मानिस बिरामी हुने र उपचारका लागि धामी झाँक्री लगाउने, तान्त्रिक देखाउने र उनीहरूको सल्लाहमा कतिपय अवस्थामा बिरामी निको पार्न वा परेका अन्य समस्याको निराकरण गर्न मान्छेको मासु/रगत चाहिने भनी मानव बलि दिने जस्तो जघन्य अपराधका घटनाहरू यदाकदा भइरहेको देखिन्छ । समाजमा छोराछोरी नभएमा छोराछोरी जन्माउन, गरिब भए लक्ष्मी वा धन प्राप्ति गरी धनी हुन, मानिसमा देखिने काम्ने, बहुलाउने जस्ता रोग/बिराम निको पार्ने नाममा आजपर्यन्त पनि समाजमा यस्ता अन्धविश्वास र कुरीति कायम रहेको देखिएकाले सामाजिक अन्धविश्वास र कुरीतिका जगमा हुने मानव बलि जस्तो जघन्य र मानवता विरोधी अपराधका घटना हुनबाट रोक्न समाजमा सचेतना फैलाउन र कथम्कदाचित घटना भई हालेमा कानूनी दायरामा ल्याउन अझ स्पष्ट कानूनी प्रबन्ध हुनुपर्ने अवस्थासमेत देखिन आयो ।
२५. मृतक सोनु भन्ने जीवन कोहारलाई बलि दिएको र निजको मृत्यु कर्तव्यद्वारा भएको देखिएको स्थितिमा अभियोग दाबीबमोजिमको कसुरमा प्रतिवादीहरूको संलग्नता रहेको देखिन्छ वा देखिँदैन ? भनी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदक/प्रतिवादीहरूले हत्याको कुनै योजना मनसाय नरहेको र मृतकसँग कुनै रिसइवी नभएकोले आरोपित कसुरबाट सफाइ पाउँ भनी जिकिर लिएको देखिन्छ । मिसिल हेर्दा, मृतक र निजका परिवारसँग कुनै प्रकारको पूर्वरिसइवी नरहेको, निजलाई मार्नुपर्नेसम्मको पूर्वलेनदेन वा कुनै कारण पनि रहेको देखिँदैन । जीवनको हत्या गर्नुको एक मात्र कारण काम्ने बिरामी रहेका विजयलाई ठिक पार्न धामी/झाँक्रीहरू रूदल, सुर्यभानको भनाइअनुसार मानव बलि दिने भन्ने अन्धविश्वासी धारणालाई मानिएको देखिन्छ । अघिदेखि विजयले मानव बलि मागिरहेको र घटना भएको दिन बिहान कामेको विजयलाई सोध्दा मान्छेको मासु चाहियो भनेपछि बेलुका ७ बजेतिर यो घटना घटेको देखिन्छ । यसबाट हत्याको जरिया धामी/झाँक्रीको विश्वासमा र त्यसको आडमा बिरामीको उपचार गर्ने बहानामा मानव रगत वा मान्छेको मासु दिने अर्थात् मानव बलि चढाउने अन्धविश्वासी सामाजिक कुसंस्कार र कुपरम्परा नै रहेको देखियो । हाम्रो समाजमा लुकेर बसेको धामी, झाँक्रीको उपचार पद्धतिको जगमा हुने विरलै पाइने यस प्रकारका क्रूर मानवता विरोधी मानव बलि दिने जस्तो जघन्य अपराधलाई सुस्पष्ट परिभाषित गरी ठोस सजायको कानूनी व्यवस्था गरेको नपाइए पनि यो मान्छेलाई बर्बरतापूर्वक मार्ने कर्तव्य ज्यानकै कसुर भएकाले व्यक्ति हत्या विरूद्धको कानूनी व्यवस्थाबमोजिम नै अभियोजन र सजाय गरिनुपर्ने देखियो ।
२६. सर्वप्रथम पुनरावेदक/प्रतिवादी कोदाइ चमारको हकमा विचार गर्दा, निज प्रतिवादी कोदाइ चमारले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत सोही १३ नं. को देहायको (१) को कसुर गरेकोमा सोही १३ नं. को देहायको (१) बमोजिम सजायको माग गरी वादी नेपाल सरकारले अभियोग पत्र दायर गरेको देखिन्छ । मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहायको (१) बमोजिमको कसुर ठहर हुन धारिलो हतियारले प्रहार गरी ज्यान मारेको पुष्टि भएको हुनुपर्ने देखिन्छ । यी पुनरावेदक/प्रतिवादीसमेतका उपर किटानी जाहेरी परेको देखिन्छ । पुनरावेदक प्रतिवादी कोदाइ चमार (हरिजन) ले छोरा विजयलाई काम्ने बिराम निको पार्न मृतक सोनु भन्ने जीवन कोहारको हत्या आफैँले गरेको भनी मौकामा बयान गरी अदालतमा भएको बयानमा समेत अभियोग दाबीबमोजिमको कसुरमा साबित भई बयान दिए तापनि अदालतको बयानमा जीवनलाई म एक्लैले मारेको हुँ भनी बयान गरेको देखिन्छ । पुनरावेदक/प्रतिवादी रूदल चमार (हरिजन) ले कोदाइले बच्चा मारेको भनी अदालतमा बयान गरेबाट निजको साबिती बयान बेहोरा पुष्टि भई गडासाले घाँटीमा रेटी सोनु भन्ने जीवन कोहारको हत्या गर्ने कार्यमा यी प्रतिवादी कोदाइ चमार (हरिजन) को प्रत्यक्ष संलग्नता भएको तथ्य निर्विवाद पुष्टि हुन आयो ।
२७. पुनरावेदक/प्रतिवादीहरू रूदल चमार, रामानन्द चमार, दिनानाथ चमार, बुदिया चमार, सुर्यभान चमार, कान्ति चमार, विजय चमार र सुनिता चमारको हकमा दृष्टिगत गर्दा, यी पुनरावेदक प्रतिवादीहरूउपर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं.विपरीतको कसुरमा ऐ. १३ नं. को देहायको (४) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको देखिन्छ । वारदात भएका बखत प्रचलनमा रहेको मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहायको (४) को कसुर ठहर हुन यी पुनरावेदक प्रतिवादीहरूले मृतकलाई बलि दिई ज्यान मार्नका लागि वचन दिने वा वारदातस्थलमा गई मार्नलाई पक्री हानी ज्यान मार्नमा समाई संयोग पारिदिएको देखिनुपर्ने देखिन्छ । अब यी पुनरावेदक/प्रतिवादीहरूले मृतकलाई मार्न वचन दिएको वा मार्नाका निमित्त शरीर हातमा पक्री, समाई, हानी ज्यान मार्नमा संयोग पारिदिएको अवस्था हो होइन भन्ने हेरी न्याय निरूपणको लागि विवेचना गर्नुपर्ने देखियो ।
२८. पुनरावेदक/प्रतिवादी सूर्यभान चमार (हरिजन) को हकमा हेर्दा, यी प्रतिवादीले अदालतमा गरेको बयानमा बिहान प्रतिवादी विजय कामेको स्थानमा आफूहरू रहेको तर मृतकलाई मार्ने बखतमा आफू नरहेको साथै छोरी बिरामी भएकोले दबाई गर्न कुडिया गएको भनी बयान गरेको देखिन्छ । यी प्रतिवादीले वारदात मिति समयमा अन्यत्र रहेको (Alibi) को जिकिर लिएको भए तापनि Alibi जिकिर पुष्टि गर्ने प्रमाण पेस गरेको मिसिलबाट देखिँदैन । निजले अदालतमा गरेको बयानमा बच्चा आफूले मारेको हैन भनी आरोपित कसुरमा इन्कार गरी बयान गरेको भए तापनि बच्चालाई बलि दिँदा यी प्रतिवादीले मृतकको दुवै हात समाएको भनी अनुसन्धान अधिकारीसमक्ष बयान गरेको र निजको मौकाको उक्त साबिती बयानलाई अदालतमा बयान गर्दासमेत आफैँले स्वेच्छाले बयान गरेको भनी स्वीकार गरेको अवस्थाले निज प्रतिवादीको अदालतको इन्कारी बयान खण्डित भएकोले प्रस्तुत वारदातमा निजको प्रत्यक्ष संलग्नता रहेको देखिन्छ ।
२९. अन्य प्रतिवादीहरूको हकमा विचार गर्दा, कोदाइ हरिजनबाहेकका अन्य प्रतिवादीहरूले अदालतमा आई बयान गर्दा वारदातमा आफ्नो संलग्नता नरहेको भनी इन्कारी बयान गरेको देखिन्छ । विजय हरिजनलाई भूत चढेको छ भनी विजय काम्दै म भूत हुँ, मलाई मासु चाहिन्छ भनेपछि के को मासु चाहियो भनी सोध्दा मलाई मान्छेको मासु चाहिन्छ भनेपछि मान्छेको मासु दिन्छु भनेपछि विजय काम्न छोडेको हो । तपाइँहरूले मलाई सहयोग गर्नु भनी सल्लाह गरी कोदाइले रूदललाई रू.५०,०००।-दिएको हो । सोही क्रममा अं.०७:३० बजेको समयमा गंगा हरिजन, सुर्यभान, रूदल, विजय, कोदाइ, लक्ष्मी, कान्तिसमेतका मानिसहरू घरमा जम्मा भई गंगाले घरमा पूजा गरी रूदल, गंगा, विजय र सुर्यभान घोलमा गई बस्ने भनी सल्लाह भएकोमा चार जना घोलमा गई बसेका र १० मिनेटपछि कोदाइ हरिजनले जीवनलाई लिई घोलतर्फ पुगेपछि निज जीवन कोहार हामीलाई देखी डराई भाग्न खोज्दा निजलाई कोदाइ हरिजनले भाग्न उम्कन नपाउने गरी मुख छोपी पटेरा घारीभित्र घोलनजिक लगी कोदाइले लिई गएको पूजाको सामान गंगा हरिजनलाई दिएपछि गंगाले अगरबत्ती बाली कोदाइको छोरा विजयको टाउकोमा समेत घुमाई निजलाई बाटोमा मान्छे कुरूवा राखी गंगाले बलि दिने आदेश दिएपछि रूदलले जीवनको दुवै हात समाते, सुर्यभान हरिजनले जीवनको दुवै खुट्टा समाती पटेरा घारीमा उत्तानो पारी कोदाइले घरबाट लिई गएको गडासाले सोनु भन्ने जीवन कोहारको घाँटी रेटी काटेको र कलौनी घोलमा फालेको अवस्थामा मृतक सोनुको लास फेला परेको हो भनी प्रतिवादीहरू रूदल चमार (हरिजन), सुर्यभान चमार (हरिजन), विजय चमार, कान्ति चमार (हरिजन), सुनिता चमार (हरिजन), वुदीया चमार (हरिजन), दिनानाथ चमार (हरिजन) र रामानन्द चमार (हरिजन) समेतले मौकाको बयानमा खुलाइदिएको देखिन्छ । प्रतिवादीहरूको मौकाको बयानबाट जीवन कोहारको बलि दिने कार्यमा प्रतिवादीहरू कोदाइ चमार (हरिजन), रूदल चमार (हरिजन), सूर्यभान चमार (हरिजन), विजय चमारको प्रत्यक्ष संलग्नता रहेको देखिन आयो ।
३०. प्रस्तुत मुद्दामा कोदाई चमार (हरिजन) बाहेकका प्रतिवादीहरूले अदालतमा भएको आ-आफ्नो बयानमा मौकामा भएको बयान बेहोरा झुठा हो भनी बयान गरेको देखिए तापनि उक्त मौकाको बयान कागजमा लागेको सहीछाप आफ्नो भएको भनी स्वीकार गरी बयान गरेको देखिन्छ । निज प्रतिवादीहरूको मौकाको उक्त बयान आफ्नो इच्छा विरूद्ध डर, त्रास देखाई, धम्की दिई बयान गराइएको हो भनी पुष्टि गर्ने दायित्व प्रतिवादीहरूमा रहनेमा सो मौकाको साबिती बयानलाई अन्यथा हो भनी पुनरावेदक/प्रतिवादीहरूले अदालतमा भएको बयानमा स्पष्ट रूपमा सप्रमाण खुलाउन सकेको समेत देखिँदैन । इच्छाविपरीत बाध्य गरी वा यातना दिई वा यातना दिने धम्की दिई वा आफ्नो इच्छा विरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी बयान बेहोरा लेखाइएको हो भन्ने प्रमाणित नभएसम्म प्रतिवादीहरूबाट मौकामा भएको बयानलाई प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) बमोजिम प्रमाणमा लिन मिल्ने नै देखिन्छ । यी प्रतिवादीहरूको मौकाको बयान बेहोरा वारदात एवं घटना, घटनास्थल मुचुल्का, मृतकको शव तथा शव परीक्षण प्रतिवेदनसमेतबाट समर्थितसमेत हुन आएको देखिन आउँछ । मौकामा बुझिएका हरिलाल गुप्ता, रोशन हरिजन घटना विवरणका मानिसहरू शिव मंगल कोहार, निर्मला कोहार, रामवरण कोहारले सुर्यभान, कोदाइ, रूदलका परिवारहरू छिमेकी भएर पनि मृतकलाई खोज्न गएनन् भनी मौकामा कागज गरिदिएको देखिन्छ । बलि दिने कार्यमा संलग्न भएको कारण यी प्रतिवादीहरूले मृतकलाई खोज्न नजानुलाई स्वाभाविक नै मान्नुपर्छ । मौकामा कागज गर्ने व्यक्तिहरू राधेश्याम यादव, भगवतीप्रसाद कुर्मी, रामचन्द्र यादव, रामनारायण कुसहवा, सुरेश कुर्मी, रामवरण कोहार, हरिलाल गुप्ता, शिव मंगल कोहार, प्रमानन्द कोहारसमेतले मौकामा गरेको कागजको बेहोरालाई समर्थन गरी वकपत्रसमेत गरिदिएको देखिन्छ ।
३१. प्रतिवादीहरूको अनुसन्धानको बयान प्रमाण ग्राह्य देखिएबाट वारदातमा रहेको प्रतिवादीहरूको भूमिकाको विश्लेषण गर्दा प्रतिवादीहरू सुर्यभान चमार (हरिजन) ले जीवन कोहारको दुवै खुट्टा समातेको, रूदल चमार (हरिजन) ले जीवनको हात समातेको र विजय चमारले बाटोमा मान्छे हेरी मृतकलाई मार्न वचन दिई मृतकको खुट्टा तथा टाउको र शरीरमा समाउनेसमेतको काम गरेको, प्रतिवादी गंगाले पूजा गरी बलि दिन भनेको र विजयले मान्छेको भोग/बलि चाहियो भनी भोग मागेको हुँदा छोराको इच्छा पूरा गर्न यो अपराध गरेको भनी प्रतिवादी कोदाइ चमार (हरिजन)ले साबिती बयान दिएको देखिन्छ । प्रतिवादी विजयले मानव बलि चाहियो भनी वचन दिई वारदात स्थलमा उपस्थित रही बलि दिन सहयोगसमेत गरेको देखियो । यसरी प्रतिवादीहरू सूर्यभान चमार (हरिजन), रूदल चमार (हरिजन) र विजय चमारले जीवन कोहारको बलि दिने कार्यमा बलि दिने स्थान कलौनी घोलमा उपस्थित भई बलि दिन वचन दिने, प्रक्रिने, समाउने कार्य गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. को देहायको (४) बमोजिमको कसुर अपराध गरेको पुष्टि भएको स्थितिमा यी प्रतिवादीहरूलाई जन्मकैदको सजाय हुने ठहर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला मिलेको देखियो ।
३२. प्रतिवादीहरू कान्ति चमार (हरिजन), सुनिता चमार (हरिजन), बुदिया चमार (हरिजन), दिनानाथ चमार (हरिजन) र रामानन्द चमार (हरिजन) को वारदातमा रहेको संलग्नताका सम्बन्धमा हेर्दा, यी प्रतिवादीहरू कोदाइको घरमा भएको पूजामा सम्म सहभागी भएको निज प्रतिवादीहरूको बयान बेहोराबाट पुष्टि भएको देखियो । यी प्रतिवादीहरू विजय बिरामी भएको अवस्थामा हेर्न र घरको पूजामा उपस्थितसम्म भएको देखिन्छ । कोदाइको घरमा बिहान र बेलुकाको पूजामा समेत सहभागी भएका यी प्रतिवादीहरूले जीवनलाई बलि दिने घटनाको बारेमा थाहा पाएर पनि यस्तो गर्न हुँदैन भनी कही कतै कसैलाई जानकारी गराएको भन्ने देखिँदैन । घटनाबारे पूर्वजानकारी भएर पनि कसैलाई नभनी गुपचुप बस्नु, काम्ने बिरामी भएका विजयलाई निको पार्न मानव बलि दिने जस्तो विषयमा केही नबोली बस्नुले यी प्रतिवादीहरू निर्दोष रहेको भनी मान्न सकिँदैन । तथापि यी प्रतिवादीहरू सोनु भन्ने जीवन कोहारलाई बलि दिएको स्थान घोलमा गएको भन्ने मिसिलबाट खुल्दैन । यसबाट यी प्रतिवादीहरू कलौनी घोल अर्थात् मानव बलि दिएको स्थानमा नगएको र घटनामा प्रत्यक्ष सहभागी रहेको नदेखिएको स्थितिमा कोदाइको घरमा भएको पूजामा सम्म उपस्थित भएको देखिन्छ । यी प्रतिवादीहरूले सोनु भन्ने जीवन कोहारलाई बलि दिनु भनी बोलेको, वचन दिएको पनि देखिँदैन । यसरी यी प्रतिवादीहरू बलि दिएको स्थान घोलमा नगएका साथै जीवनलाई बलि दिनु भन्ने, पक्रिने, समाउने गरेको भन्ने ठोस प्रमाणबाट नदेखिएको अवस्थामा जीवनलाई बलि दिने अर्थात् ज्यान मार्नमा वचन दिएको मानी ज्यानसम्बन्धीको १३ नं. को देहायको (४) अनुसारको कसुर गरेको हो भन्न मिल्ने देखिँदैन । अभियोग पत्रबाट बलि चढाउने कार्यको जिम्मा लिने प्रतिवादीमध्येका प्रतिवादी कोदाइको श्रीमती प्रतिवादी कान्ति, प्रतिवादी रूदलको श्रीमती प्रतिवादी बुदिया र प्रतिवादी सूर्यभानको श्रीमती प्रतिवादी सुनिता हुन् भने पूजाको काम गर्ने प्रतिवादी गंगा प्रतिवादी बुदियाका पिता तथा प्रतिवादीहरू रामानन्द र दिनानाथ प्रतिवादी रूदलकै छोराहरू नाताका रहेको देखिन आएको छ । एउटै घर परिवारका सदस्यहरू रहेका प्रतिवादीहरूबिच घर परिवारमा दुःख बिमार हुँदा सल्लाह सहमति हुनु र घरमा भएको पूजामा सहभागी हुनुलाई अस्वाभाविक मान्न पनि मिल्दैन । गाउँघरमा कोही बिरामी पर्यो भन्ने सुनेपछि गाउँभरिका मानिस बिरामी हेर्न जाने हाम्रो सामाजिक परिवेशसमेतलाई ध्यानमा राख्दा बिरामी हेर्न गएको तर अरू भूमिका केही नरहेकोसम्मको कार्यलाई सबै अवस्थामा कसुर अपराधसँग मात्रै जोडेर हेर्न मिल्दैन । यस सन्दर्भमा ज्यानसम्बन्धीको १३(४) नं.अनुसारको “ज्यान मार्नमा वचन दिने” भन्ने शब्दको निरपेक्ष अर्थ नगरी समय सापेक्ष अर्थ गर्नुपर्ने हुन्छ । ‘मार भनी भनेकोलाई सबै सन्दर्भ परिस्थितिमा कानूनअनुसार सजाय गर्दा व्यावहारिक नहुने र यसो गर्दा अन्यायसमेत पर्न जान्छ । त्यसैले मार् हान् भनी भनेको कुरा साँच्चिकै मार्ने मनसायसहित भनेको हो, होइन ? यसरी मार् भनी वचन दिएकोले मात्र मारेको हो, होइन ? भन्ने जस्ता कुरा यसमा विचारणीय हुन आउने । ज्यान मार्ने मनसायले नै मार भनेको र मार भनेका कारणले मात्र मारेको भन्ने नि:सन्देह पुष्टि नभएको यस्तो अवस्थामा यी प्रतिवादीले नेपाल सरकारको पुनरावेदन जिकिरअनुसार ज्यानसम्बन्धी महलको १३(४) नं. को कसुरमा सहभागिता रहेको हो भनी भन्न नसकिने भनी यस अदालतबाट व्याख्यासमेत भइसकेको देखिन्छ । यसरी प्रतिवादीहरू कान्ति चमार (हरिजन), सुनिता चमार (हरिजन), बुदिया चमार (हरिजन), दिनानाथ चमार (हरिजन) र रामानन्द चमार (हरिजन) को हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहायको (४) बमोजिमको कसुर ठहर गरी जन्मकैदको सजाय ठहर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला सो हदसम्म नमिलेकोले यथावत् कायम रहिरहन सक्ने देखिएन ।
३३. मृतकलाई बलि दिएको स्थल कलौनी घोलमा नगएका तर बलि दिने सम्बन्धमा भएको पूजामा सम्म सहभागी भई बलि दिने सल्लाहमा सरिक भएको देखिएका पुनरावेदक/प्रतिवादीहरू कान्ति चमार (हरिजन), सुनिता चमार (हरिजन), बुदिया चमार (हरिजन), दिनानाथ चमार (हरिजन) र रामानन्द चमार (हरिजन) लाई कायम हुने कसुर र सजायका सम्वन्धमा भएका कानूनी व्यवस्थाको अध्ययन गर्दा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ नं.मा ज्यान मार्नालाई मतलबमा भने पसेको तर मुख्य भई वचन पनि नदिने हात हतियार पनि नछोड्ने जिउमा पनि नछुने देहायका अवस्थाका अरू मतलबीहरूलाई ज्यान मरेको रहेछ भने देहायबमोजिम र ज्यान मरेको रहेन छ भने आधा सजाय गर्नुपर्छ भन्ने व्यवस्था रहेको देखिन्छ । ऐ.को देहाय (३) मा अरू किसिमसँग मतसल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरी रहनेलाई र लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई छ महिना देखि तीन वर्षसम्म कैद सजाय गर्नुपर्छ भन्ने व्यवस्था रहेको देखिन्छ । यो कानूनी व्यवस्थाको आलोकबाट हेर्दा, मार्ने ठाउँ अर्थात् बलि दिएको स्थान घोलमा नगएका तर बलि दिन गरिएको पूजा पाठ गरेको ठाउँमा गएका र बलि दिने सल्लाह हुँदा प्रत्यक्ष रूपमा बोली सहमति वा असहमति केही नराखेका प्रतिवादीहरूलाई अरू किसिमका मतलबी मान्नुपर्ने हुँदा यी प्रतिवादीहरूलाई छ महिनादेखि तीन वर्षसम्म कैद सजाय हुने देखियो । यस स्थितिमा पुनरावेदक प्रतिवादीहरू कान्ति चमार (हरिजन), सुनिता चमार (हरिजन), बुदिया चमार (हरिजन), दिनानाथ चमार (हरिजन) र रामानन्द चमार (हरिजन) मानव बलि दिने कार्यको अरू किसिमका मतलबीसम्म देखिएको तर बलि दिएको वारदात स्थल घोलमा उपस्थित भएको नदेखिएको, जीवनको बलि दिई ज्यान मार्न वचन दिएको भन्ने पनि नदेखिएको र मृतकउपर हतियार छाडेको वा हानेको पनि नदेखिएको अवस्थामा निजहरूको हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नं. को देहायको (४) बमोजिमको कसुर कायम हुन सक्ने देखिएन । यसर्थ निज प्रतिवादीहरूलाई जन्मकैदको सजाय ठहर गरेको हदसम्मको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला नमिलेको देखिँदा केही उल्टी हुने भई ऐ.को १७ नं. को देहायको (३) बमोजिम यी प्रतिवादीहरूलाई जनही ३ वर्ष कैदको सजाय गर्नु न्यायको रोहमा उपयुक्त र मनासिब हुने देखियो । यसबाहेक अभियोग दाबीबाट सफाइ पाउँ भन्ने हदसम्मको यी प्रतिवादीहरूको पुनरावेदन जिकिरसँग यो इजलास सहमत हुन सकेन ।
३४. पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भनी हेर्दा प्रस्तुत वारदातमा पुनरावेदक/प्रतिवादी कोदाइ चमार (हरिजन) को संलग्नता देखिएकोमा पनि निजले छोरा निको पार्न अकस्मात् यो कार्य भएको र ज्यान मार्ने मनसाय नरहेकाले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३ नं. को देहायको (१) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी भएको फैसला नमिलेकोले उल्टी गरी सफाइ पाउँ भनी जिकिर लिएको पाइन्छ । यी पुनरावेदक प्रतिवादीको छोरा कामेकाले झाँक्री लगाई झारफुक गर्दा मान्छेको मासु खाने भनेकाले यो वारदात भई जाहेरवालाको १० वर्षको छोरा सोनु भन्ने जीवन कोहारको हत्या भएको देखिएको छ । यी पुनरावेदक प्रतिवादीले छोरा विजयलाई काम्ने बिराम निको पार्न मानव बलि दिने योजना गरी सोनु भन्ने जिवन कोहारलाई बलि दिँदाको कार्य र सोको परिणाम स्वरूप मान्छेको ज्यान मर्ने भन्ने कुराको पूर्वज्ञान यी प्रतिवादीलाई नरहेको भन्ने देखिँदैन । यसरी मानव बलि दिई पूजा गर्दा मानिसको ज्यान जाने भन्ने कुराको ज्ञान प्रतिवादीलाई रहे भएको स्थितिमा मनसाय रहेनछ भनी मान्न सकिने देखिँदैन । यस सन्दर्भमा यस अदालतबाट आफूले गरेको कार्यको परिणामको जानकारी हुन सक्ने अवस्थामा आफूमा मार्ने मनसाय नरहेको भनी भन्न नमिल्ने । त्यस्तै कुनै कसुर हुन मनसाय तत्त्वको विद्यमानता पहिलेदेखि नै हुनुपर्छ भन्ने नहुने । घटनाक्रमको जुनसुकै अवस्थामा पनि मनसाय सिर्जना हुन सक्ने । आफूले गरेको कार्यको परिणाम जानकारी हुने अवस्था नै मनसाय तत्त्व विद्यमान रहेको देखिने आधार हुने भनी यस अदालतबाट व्याख्या भएको देखिन्छ । यो व्याख्याको रोहबाट हेर्दासमेत बिरामी विजयले कामेर मलाई भूत लागेको छ, मान्छेको मासु खाने भनेकाले यो घटना भएको तर मार्ने कुनै मनसाय र सोच नरहेकोमा पनि उच्च अदालतबाट सजाय ठहर गरेको नमिलेको भन्ने पुनरावेदन जिकिर मनासिब देखिएन ।
३५. साबिक मुलुकी ऐनबमोजिम प्रतिवादी कोदाइ चमार (हरिजन) लाई मानव बलि दिई ज्यान मरेको कर्तव्य ज्यानको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएको उच्च अदालतको फैसला सदर हुने देखिएको साथै मानव बलि दिने क्रूर अमानवीय कसुरमा कानूनले तोकेको उच्चतम हदको सजाय गर्नुपर्ने भन्ने सम्बन्धमा माथि विभिन्न प्रकरणहरूमा चर्चा गरिएको छ । माथी विभिन्न प्रकरणहरूमा विवेचना भएअनुसार मानव बलिको कसुर गर्नेलाई हाल प्रचलनमा रहेको मुलुकी अपराध संहिता, २०७४ मा भएको व्यवस्थाबमोजिम कसुरदारलाई आजीवन कारावासको सजायसम्म गर्न सकिने भए तापनि वारदात मिति समयमा प्रचलनमा रहेको मुलुकी ऐनबमोजिम नै सजाय गर्नुपर्ने भई मुलुकी अपराध संहिता, २०७४ ले तोकेको सजाय गर्न मिल्ने अवस्था देखिँदैन । साबिक मुलुकी ऐनबमोजिम निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय गरेको मिलेको देखिए तापनि मुलुकी अपराध संहिता, २०७४ को दफा ४० को उपदफा (२) ले “कानूनमा कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो संहिता प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन” भन्ने व्यवस्था गरेको देखिन्छ । यस आधारमा हाल मुलुकी अपराध संहिता, २०७४ लागु भइसकेको स्थितिमा साबिक मुलुकी ऐनबमोजिम यी प्रतिवादीलाई भएको सर्वस्वको सजायसमेत कायम राख्न मिल्ने देखिएन । त्यसैगरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ मा “कुनै कसुरका सम्बन्धमा कसुर गर्दाका बखतभन्दा सजाय निर्धारण गर्दाका बखत कानूनबमोजिम घटी सजाय हुने रहेछ भने घटी सजाय हुने गरी निर्धारण गर्नुपर्ने छ” भन्ने व्यवस्था रहेको देखिन्छ । यी व्यवस्थाले कसुर वारदात भएका बखत मानव बलि दिई ज्यान मारेको कसुरमा कसुरदारलाई सर्वस्वसहित जन्म कैदको सजाय हुने व्यवस्था रहेकोमा हालको मुलुकी अपराध संहिता, २०७४ ले ज्यान मारेको कसुरमा जन्मकैदको सजाय हुने व्यवस्था गरेको र यो सजाय वारदात मितिमा बहाल रहेको मुलुकी ऐनले तोकेको सर्वस्वसहित जन्मकैदको सजायभन्दा घटी भएकाले घटी सजाय हुने गरी सजाय निर्धारण गर्नुपर्ने भएकाले प्रतिवादीलाई जन्मकैदको सजाय हुने देखिन्छ । यो मुद्दा साबिक मुलुकी ऐनबमोजिम चलेको तर हाल मुलुकी ऐन खारेज भई मुलुकी अपराध संहिता लागु भएको स्थितिमा सजाय गर्दा अवलम्बन गर्नुपर्ने कानूनी प्रक्रियाका सम्बन्धमा हेर्दा, केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ख) मा “कुनै कानूनअन्तर्गत कुनै अदालतमा दायर भएको कुनै फौजदारी कसुरका मुद्दामा सजाय गर्नुपर्दा सोही कानूनबमोजिम नै गर्नुपर्ने छ । तर कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ” भन्ने व्यवस्था रहेको देखियो । यो कानूनी व्यवस्थाले मुलुकी ऐनबमोजिम अभियोजन भएको मुद्दामा सजाय गर्दा मुलुकी ऐन खारेज भए पनि सोही ऐनबमोजिम सजाय गर्नुपर्ने तर मुलुकी ऐनमा भएको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी भएको स्थितिमा मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने भएको र मानव बलि दिई ज्यान मारेको कसुरमा मुलुकी अपराध संहितामा जन्मकैदको सजाय मात्र भएको र सर्वस्वको सजाय हुने व्यवस्था नभएकाले साबिक मुलुकी ऐनबमोजिम प्रतिवादी कोदाइ चमार (हरिजन) लाई भएको सर्वस्वको सजाय गर्न नमिल्ने देखिएकाले जन्मकैदको सजाय मात्र हुने देखिँदा अभियोग दाबीबमोजिमको कसुरबाट सफाइ हुनुपर्छ भन्ने पुनरावेदक/प्रतिवादी कोदाइ चमार (हरिजन) को पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।
३६. पुनरावेदक प्रतिवादीहरू सुर्यभान चमार (हरिजन), रूदल चमार (हरिजन) र विजय चमारले प्रतिवादी कोदाइ चमार (हरिजन) एक्लैले ज्यान मारेको भनी साबित भएको हुँदा हामी निर्दोष भएकाले अनुसन्धानको बयानलाई आधार मानी कसुरदार ठहर गरेको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरी अभियोग दाबीबमोजिमको कसुरबाट सफाइ पाउँ भनी पुनरावेदन जिकिर गरेतर्फ हेर्दा माथि चर्चा भएअनुसार मानव बलि दिने कार्य प्रतिवादी कोदाइ चमार (हरिजन) एक्लैले गर्न सक्ने अवस्था नदेखिएको साथै यी पुनरावेदक प्रतिवादीहरूको सोनु भन्ने जीवन कोहारलाई बलि दिने कार्यमा प्रत्यक्ष संलग्नता रहेको देखिएको र निजहरूको अनुसन्धान अधिकारीसमक्ष भएको बयान अन्य प्रमाणबाट पुष्टि भएकोले उच्च अदालतबाट भएको फैसला सदर हुने देखिएको स्थितिमा स्वेच्छाको नरहेको मौकाको बयानलाई आधार मानी अदालतको इन्कारी बयानलाई नहेरी दोषी ठहर गरी जन्मकैदको सजाय ठहर गरेको उच्च अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर स्वीकारयोग्य देखिएन ।
३७. तसर्थ: माथि उल्लिखित तथ्य, कानूनी व्यवस्था र न्यायिक सिद्धान्तको विवेचनासमेतको आधारमा सुरू नवलपरासी जिल्ला अदालतको फैसला सदर ठहर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।१२।२७ मा भएको फैसला कोदाइ चमार (हरिजन) लाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ नम्बरको देहायको (१) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेको मिलेको देखिँदा फैसला सदर हुने भए तापनि मुलुकी अपराध संहिता, २०७४ को दफा ४० को उपदफा (२), फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५ र केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को उपदफा (२) को देहाय (ख) मा रहेको कानूनी व्यवस्थाबमोजिम सर्वस्वको सजाय नहुने भएकाले निजलाई जन्मकैदको सजाय मात्र हुने, मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुरमा प्रतिवादीहरू रूदल चमार (हरिजन), सुर्यभान चमार (हरिजन) र विजय चमारको हकमा सोही महलको १३ नं. को देहायको (४) बमोजिम जन्मकैदको सजाय ठहर गरेको हदसम्मको फैसला मिलेको देखिँदा सदर हुने र प्रतिवादीहरू कान्ति चमार (हरिजन), सुनिता चमार (हरिजन), बुदिया चमार (हरिजन), दिनानाथ चमार (हरिजन) र रामानन्द चमार (हरिजन) को हकमा ऐ.को.१३ नं. को देहायको (४) बमोजिम जन्मकैदको सजाय ठहर गरेको हदसम्म उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भई निज प्रतिवादीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १७ नं. को देहायको (३) बमोजिम जनही ३ वर्ष कैदको सजाय हुने ठहर्छ । यसबाहेक पुनरावेदक/प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल खण्ड
१. माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदक प्रतिवादी कोदाइ चमार (हरिजन) लाई सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।१२।२७ मा भएको फैसला सदर हुने तर निज प्रतिवादीलाई भएको सर्वस्वको सजाय नहुने, जन्म कैदको सजाय मात्र हुने ठहरी फैसला भएकाले सोबमोजिम निजको नाममा राखिएको सर्वस्वसहित जन्म कैद सजायको लगत संशोधन गरी जन्म कैदको मात्र लगत राखी कानूनबमोजिम असुल गर्नु भनी सुरू नवलपरासी जिल्ला अदालतमा लेखी पठाउनू ।
२. माथि ठहर खण्डमा लेखिएबमोजिम उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसला केही उल्टी भई प्रतिवादीहरू कान्ति चमार (हरिजन), बुदिया चमार (हरिजन), रामानन्द चमार (हरिजन), दिनानाथ चमार (हरिजन) र सुनिता चमार (हरिजन) लाई जनही ३ वर्ष कैदको सजाय हुने ठहरी फैसला भएको र निज प्रतिवादीहरूलाई ठहरेको जनही कैद वर्ष ३ (तीन) निज प्रतिवादीहरू मिति २०७२।०४।०९ मा पक्राउ परी सोही मितिदेखि निरन्तर थुनामा रही उक्त कैद सजाय भुक्तान भइसकेको देखिएकाले अन्य मुद्दा वा कारणबाट थुनामा राख्न नपर्ने भए निज प्रतिवादीहरूलाई थुनामुक्त गरिदिनु भनी सम्बन्धित कारागार कार्यालयमा लेखी पठाइदिनू भनी संक्षिप्त आदेश भई पत्राचारसमेत भएको देखिँदा निज प्रतिवादीहरूको नाममा राखिएको जन्मकैद सजायको लगत संशोधन गरी जनही ३ (तीन) वर्ष कैदको लगत कायम गरी असुलसम्म जनाइदिनू भनी सुरू नवलपरासी जिल्ला अदालतमा लेखी पठाइदिनू ।
३. सरोकारवालाले फैसलाको नक्कल मागेमा कानूनबमोजिमको दस्तुर लिई नक्कल दिनू ।
४. प्रस्तुत फैसलाको प्रतिलिपिसहित मुद्दा फैसला भएको जानकारी कैदमा रहेका प्रतिवादीहरू र महान्यायाधिवक्ताको कार्यालयसमेतलाई दिनू ।
५. प्रस्तुत फैसला यस अदालतको विद्युतीय मुद्दा व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी फैसलाको पीठमा समेत जनाउनू ।
६. यो मुद्दाको पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.टेकप्रसाद ढुङ्गाना
इजलास अधिकृत (उप-सचिव): टीकाबहादुर थापा
इति संवत् २०८१ साल वैशाख ३१ गते रोज २ शुभम् ।