शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३५९ - लेनदेन

भाग: ३३ साल: २०४८ महिना: पौस अंक:

निर्णय नं. ४३५९    ने.का.प. २०४८      अङ्क ९, १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको दे.पु.नं. ६४०

फैसला भएको मिति: २०४५।८।२१ मा

पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पं. वार्ड नं. ३२ ज्ञानेश्वर बस्ने नारायणकाजी घले

विरुद्ध

विपक्षी/वादी : का.जि.का.न.पं. वार्ड नं. १ जमल बस्ने धर्मवीर शाक्य

मुद्दा : लेनदेन

(१)    लिखतको आकृति प्रकृति र परेको बोली समेतबाट व्यापारिक कारोबारको लिखत टिपोट देखिन आएकोले मु.ऐ.(साविक पेज नं. ४९९) लेनदेन व्यवहारको २ नं. अन्तर्गतको तमसूकको १० वर्ष हदम्याद लाग्ने देखिन नआई व्यापारिक कारोबारको कागजमा लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने देखिने ।

(प्रकरण नं. १४)

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली

फैसला

न्या.बब्बरप्रसाद सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतले मिति २०४३।४।२६ मा गरेको फैसला उपर चित्त नबुझी पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीको पर्न आएको निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.    विपक्षीले हङकङबाट सामान ल्याउन भनी म बाट पटक पटक गरी रुपैयाँ लगेकोमा मिति २०३८।४।१२ गते रु. १,४४,०००।लगेको लिखत गरी ७ दिन भित्र दिन्छु भनेकोमा नदिएबाट श्रावण महीनाको व्याज पनि दिन्छु भनी ऐ.भाद्र १ गते उक्त कागजमा फेरि व्याजको कुरा जनाई दिनु भएकोमा आजसम्म साँवा ब्याज बुझाउन नल्याई आलटाल गरेकोले साँवा रु. १,४४,०००।र श्रावण महीनाको ब्याज रु. १४४०।समेत जम्मा रु. १,४५,४४०।निज विपक्षीबाट असूल उपर गरी पाउँ भन्ने समेतको फिराद ।

३.    फिरादमा लेखिएको मिति २०३८।४।१२ को लिखतको सम्बन्धमा म अनभिज्ञ हुँदा सो लिखत देख्न सुन्न पाए नामाकरण गर्ने छु सो दिन म रुम्जाटारमा छु विपक्षीसंग भेटघाट नभई र झुठ्ठा दावी लिएको हुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.    मिति २०३८।४।१२ को लिखतमा भएको लेखात्मक सही मेरै हो । स्वयं आफैंले गरेको हुँ मैले पटक पटक सामानहरु विपक्षीलाई दिएको थिएँ मेरो विपक्षसंग रु. १२,०००।लिनु थियो । देउ भन्दा सामान बिक्री भए पछि दिउँला भनी जवाफ दिएका थिए । विपक्षीलाई मैले यस भन्दा अघि रु. १,२१,०००।को मालसामान दिएको अर्को (कागजमा लेखिएको छ सो लिखत) कागज वादीबाट बुझी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी नारायणकाजी घलेको बयान ।

५.    वादीबाट दावी लिएको लिखत टिपोटलाई लेनदेनको रीतपूर्वकको तमसूक भन्न सक्ने अवस्था नभएकोले रीतपूर्वक र स्पष्ट मिति सहितको कागजको अभाव र मिति समेत नमिलेको हुँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४१।१।२४ को काठमाडौं जिल्ला अदालतको फैसला ।

 

६.    ब्याज समेतको उल्लेख लिखतमा भएको तमसूक हो भन्ने प्रष्ट भएकोबाट हदम्याद भित्रको छँदै फिराद खारेज गर्ने गरेको शुरुको फैसला कानुन विपरीत हुँदा बदर गरी दावी बमोजिम गरी पाउँ भन्ने समेतको वादीको क्षे.अ.मा परेको पुनरावेदन ।

७.    यसमा हदम्याद नाघेको कायम गरी खारेज हुने ठहर्‍याएको का.जि.अ.को निर्णय नमिली फरक पर्ने हुँदा अ.बं. २०२ नं. र क्षे.अ.नि., २०३६ बमोजिम विपक्षीलाई झिकाउने भन्ने समेत व्यहोराको क्षे.अ.को आदेश ।

८.    लिखत व्यहोरामा साहु भन्ने वाक्यांश र ब्याज समेत दिने शर्त उल्लेख भएको देखिन्छ । तमसूकको परिभाषा कानुनमा नभए पनि साहु आसामीका बीच ब्याज दिने शर्तमा भएको लिखतलाई तमसूक मान्नु पर्ने र यस्तो तमसूकी रुपैयाँ दिलाई पाउँ भनी दावी गर्न लेनदेन व्यवहारको २ नं. मा उल्लेख भएको (साविक पेज नं. ५००) नालिश गर्न दश वर्षको म्याद पाउने नै देखिन्छ । लिखत गरिदिएमा साविती नै देखिँदा वादी दावी बमोजिम लिखत बमोजिमको साँवा ब्याज वादीले प्रतिवादीबाट भराई पाउने ठहर्छ शुरु जि.अ.को इन्साफ उल्टी हुन्छ भन्ने समेत म.क्षे.अ.को मिति २०४३।४।२६ को फैसला ।

९.    वादीले प्रतिवादीबाट साँवा ब्याज भराई पाउने ठहर गरेको क्षे.अ.को इन्साफमा लेनदेन व्यवहारको २ नं. र ४० नं. को त्रुटि समेत हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीको पुनरावेदनको अनुमतिका लागि पर्न आएका निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको २०४३।६।२० को आदेश ।

१०.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत विषयमा वादीको वारेसले मिति २०४४।६।२७ गतेदेखि तारेख गुजारी बसेको देखिएको, तारेखमा रही इजलास समक्ष उपस्थित प्रतिवादीको वा.समेतलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ता श्री राधेश्याम पराजुलीले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

११.    प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

१२.   यसमा हङकङबाट सामान ल्याउन भनी पटक पटक रुपैयाँ लगेकोमा मिति २०३८।४।१२ गते रु. १,४४,०००।लगेको रजिष्टरमा लिखत गरी ७ दिन भित्र दिन्छु भनेकोमा नदिएबाट श्रावण महीनाको ब्याज पनि दिन्छु भनी पुनः उक्त कागजमा ब्याजको कुरा जनाई दिनु भएको साँवा ब्याज बुझाउन नल्याई आलटाल गरेकोले साँवा रु. १,४४,०००।र श्रावण महीनाको ब्याज रु. १४४० समेत जम्मा रु. १,४५,४४०।निज विपक्षीबाट असूल उपर गरी पाउँ भन्ने वादीको मुख्य दावी भएकोमा वादीबाट दावी लिएको लिखत टिपोटलाई लेनदेनको रीतपूर्वकको तमसूक भन्न सक्ने अवस्था नभएकोले वादी दावी खारेज हुने भनी शुरु जि.अ.ले वादी दावी खारेज गरे उपर म.क्षे.अ.मा वादीको पुनरावेदन परी म.क्षे.अ.बाट साहु आसामीको बीच ब्याज दिने शर्तमा भएको लिखतलाई तमसूक मान्नु पर्ने र यस्तो तमसूकी रुपैयाँ दिलाई पाउँ भनी दावी गर्न लेनदेन व्यवहारको २ नं. मा उल्लेख भएको नालिश गर्न १० वर्षको म्याद पाउने नै हुँदा र लिखत गरिदिएमा समेत सावित देखिँदा वादी दावी बमोजिमको साँवा ब्याज वादीले प्रतिवादीबाट भराई पाउने ठहर्छ भनी गरेको फैसला उपर प्रतिवादीको यस अदालत समक्ष पुनरावेदन गर्ने अनुमति पाउँ भनी पर्न आएको निवेदनमा लिखत प्रकृतिबाट व्यापारिक लेनदेन भन्नु पर्नेमा लेनदेन व्यवहारको २ नं. अनुसारको लिखत मानी नालिश गर्ने म्याद १० वर्ष पाउने भनी लिखत बमोजिमको साँवा ब्याज वादीले प्रतिवादीबाट भरी पाउने ठहर भएको म.क्षे.अ.को इन्साफमा उक्त लेनदेन व्यवहारको २ नं. तथा ४० नं. को त्रुटि भएको भन्ने आधारमा अनुमति पाई इजलास समक्ष पेश हुन आएको देखिन आयो ।

१३.   मिसिल साथ पेश भई आएको रजिष्टरमा रहेको उक्त सक्कल लिखत कागज हेर्दा धर्मवीर साहुसंग पटक पटक गरी लिएको छोराको समेत गर्दा लिंदा जम्मा रु. १,४४,०००।अक्षरुपी एकलाख चवालीस हजार हो– “नारायणकाजी घले । यसको भाका मालको हिसाब गर्दा पूरा आजको १ सातामा गर्ने गरी कागज लेखी दियाँ सम्वत् ०३८ साल १२ माभनी सही गरी सो को मुनी यसमध्ये श्रावण १ मैना ब्याज दिन बाँकी छ भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ ।

१४.   यस प्रकार उक्त लिखतमा चलन चल्तीमा लेखिने धनी आसामी भई यो यति व्याज तिर्ने भनी साँवा ब्याज बुझाउने स्पष्ट रुपमा समेत लेखिदिएको देखिन आउँदैन । छोरा समेतको पटक पटक रुपैयाँ लिई १,४४,०००।बुझेको भन्ने उल्लेख छ एक सातामा मालको हिसाब गर्ने भाषासम्म राखिएको बोली परेको (साविक पेज नं. ५०१) देखिन्छ । हङकङबाट माल सामान झिकाउने सन्दर्भमा रुपैयाँ दिएको फिराद व्यहोराबाट देखिएको र मिति पनि स्पष्ट रुपमा लेखिएको देखिँदैन । २०३८ साल १२ मात्र लेखिई केवल कपीमा लेखिएको टिपोटसम्म देखिन आएको छ र कारणीको सहीछापको मुनी ब्याज बोलीसम्म उल्लेख भई कारणीको सहीछाप पनि देखिँदैन । उक्त अनुसार लिखतको आकृति प्रकृति र परेको बोली समेतबाट व्यापारिक कारोबारको लिखत टिपोट देखिन आएकोले मु.ऐ. लेनदेन व्यवहारको २ नं. अन्तर्गतको तमसूकको  १० वर्ष हदम्याद लाग्ने देखिन नआई व्यापारिक कारोबारको कागजमा लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने देखिन्छ ।

१५.   तसर्थ यस्तो अवस्थाको लिखतलाई लेनदेन व्यवहारको २ नं. बमोजिम तमसूकको परिभाषा भित्र पारी १० वर्षको हदम्याद लगाई उक्त कागज बमोजिमको साँवा ब्याज वादीले प्रतिवादीबाट भरी पाउने ठहर गरेको म.क्षे.अ.को इन्साफ मिलेको देखिएन । क्षे.अ.को उक्त इन्साफ बदर भई रितपूर्वक र स्पष्ट मिति सहितको कागजको अभाव र मिति समेत नमिलेको भनी वादी दावी खारेज गरेको शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ.को इन्साफ उल्टी भएकोले क्षे.अ.को उक्त मिति ०४३।४।२६।१ को फैसलाले राखेको लगत कट्टा हुने हुँदा उक्त लगत कट्टा गरी दिनु भनी शुरु जि.अ.मा लेखी पठाउने..१, ऐ.ऐ.ठहरी फैसला भएकोले पुनरावेदक प्रतिवादी नारायणकाजी घलेके नियमले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ६२६।८२ (छ सय छब्बीस रुपैयाँ बयासी पैसा) वादी धर्मवीर शाक्यबाट भरी पाउने हुँदा ऐन बमोजिम वादीको जेथा देखाई भराई माग्न प्र.को दर्खास्त परे ऐन बमोजिम भराई दिनु भनी शुरु जि.अ.मा लेखी पठाउनु..२, ऐ.ऐ.ठहरी इन्साफ भएकोले म.क्षे.अ.का माननीय मुख्य न्यायाधीश श्री षडानन्दप्रसाद उपाध्याय र मा.न्या.श्री टोपबहादुर सिंहको उल्टीमा रेकर्ड राख्नु..३, मिसिल नियम बमोजिम गरी बुझाई दिनु..४

उक्त रायमा म सहमत छु । न्या.रुद्रबहादुर सिंह

इति सम्वत् २०४५ साल मंसीर २१ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु