निर्णय नं. १५६४ - जग्गा खिचोला दर्ता

निर्णय नं. १५६४ ने.का.प. २०३९ अङ्क ६
फुलबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३८ सालको देवानी फूल नम्बर ३२
फैसला भएको मिति : २०३९।६।१२।३ मा
वादी/निवेदक : जि.मोरङ्ग, विराटनगर न.पं.वडा नं.२ बस्ने हिरण्यबहादुर बस्नेत समेत
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.सुनसरी धरान न.पं.वडा नं.६ पुरानो बजार बस्ने कुसुमकुमारी श्रेष्ठ
मुद्दा : जग्गा खिचोला दर्ता
(१) सुरुको निर्णयसँग सहमत नभई सिंगलबेञ्चले झगडीया झिकाएमा मुद्दा डिभिजनबेञ्चको अधिकार क्षेत्र भित्र पर्न जाने ।
(प्रकरण नं. १५)
फैसला
न्या.धनेन्द्रबहादुर सिंह
१. सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३६।३।२२।६ मा भएको इन्साफ फुलबेञ्चबाट जाँच गरी दिनु भन्ने हुकुम बक्स पाउँ भनी हिरण्यबहादुर, योगराज समेतले श्री ५ महाराजाधिराज सरकारको हजुरमा चढाएको विन्तिपत्रमा “यो विन्तिपत्र जाहेर हुँदा व्यहोरा साँचो भए सर्वोच्च अदालत डिभिजनबेञ्च बाट ०३६।३।२२ मा फैसला भएको जग्गा खिचोला दर्ता बदर मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई इन्साफ जाँची कानून बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ” भनी मौसुफका विशेष जाहेरी विभागबाट ०३८।१।१५।२ मा लेखी आई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यस प्रकार छ : कुसुमकुमारीको पति श्यामप्रसादले धरान चौकी वारीको ५–१९–८ मध्ये नयाँ बजार पूर्व समेत चार किल्लाको २–९–१२ जग्गा मध्ये ०–९–१२ दाजु पदमबहादुरले आफ्नो घर पूर्व १८ लग्गी सम्म र यस अघि विक्री भई गएको मानिसलाई जग्गा छुट्याई पुरै २ विगाहा जग्गा रु.६००१।–मा मिति २००२।८।१० मा पास गरी दिएको बाट पश्चिम सन्धीसर्पन मिलाई पर्खाल लगाई त्यसमा नपुग ०–२–० बाट पूर्व लिई घर बनाई बासुदेवलाई दान गरेको बाँकी आफैले भोग गरेको । ०१७ सालमा सर्भे आउँदा अन्दाजी ०–१–१० खेमराज अन्दाजी ०–१–१० खगेन्द्र समेतले दक्षिणपट्टिको मेरो जग्गा कुसुमकुमारीले दिएको छ भनी खगेन्द्र खेमराज र मेरो अरु जग्गा बाँकी छ भनी कुसुमकुमारीले समेत नपाउने गरेमा उजुर परी खारेज फैसला भएको, उक्त मिचिएको जग्गा मध्ये खगेन्द्र, खेमराज, कुसुमकुमारी, ज्ञानबहादुरका नाउँमा फिराद गर्न आएको छु । मेरो बजार तालुकको घर पूर्व खगेन्द्रले ०–१–१०, कर्णबहादुरले ०–१५–०, खेमराज, कुसुमकुमारीले खेमराजको घर उत्तर ०–१२–० कालीप्रसादको हो भनी ०–०–४ जग्गामा राधे वैदारले ०४ सालमै घर बनाएकोले दावा गर्न नमिल्ने । ०–०–४ जग्गा समेतको जग्गामा भित्र भित्रै दर्ता गरी कर्णबहादुर मरेकाले ज्ञानबहादुरका नाउँमा फिराद गर्न आएको छु । ०–१–८ रु.१५८३।–खगेन्द्रकुमारबाट जग्गा धुर ०–०–१५ को रु.८४७।५० ज्ञानबहादुरबाट जग्गा धुर ०–०–१७ को रु.९५६।५० कुसुमकुमारी, खेमराजबाट भाडा दिलाई बेहकबाट पूर्जा लिई गराएको दर्ता बदर गरी पाउँ भन्ने समेत मित्रबहादुर, खुमबहादुर, योगराज समेत जना ३ को मिति ०२३।११।११ को संयुक्त फिरादपत्र ।
३. वादी दावाको जग्गा साविकमा कुसुमकुमारी श्रेष्ठनीको दर्ताको निजै कुसुमकुमारीसँग ०–१–१२ जग्गा ०११ सालमा मेरो भाइ शोभारामले राजीनामा लिई भोगचलन गरी आएको भाइ परलोक भएकोले मैले भोग चलन गरिआएको दावा झुठ्ठा हो भन्नेसमेत खगेन्द्रकुमार राईको प्रतिवादी ।
४. श्यामप्रसादसँग खरीद गरेको ०–०–१५ जग्गाको अघिल्लो लिखत के भएर हो निज श्यामप्रसाद परलोक भएपछि निजकी पत्नी कुसुमकुमारीले ०९।२।३ मा राजीनामा गरी दिएको बाबु परलोक भए पछि भोगी सर्भेमा समेत दर्ता गराएको हुँ । वादीको जग्गा खिचोला गरी दर्ता गरेको समेत छैन भन्ने समेत ज्ञानबहादुर लिम्बुको प्रतिवादी ।
५. यै वादीले म समेतका नाउँमा पहिले मुद्दा गरी अञ्चल अदालत समेतबाट खारेज भएकोमा दोहर्याई नालेस गरेको हुन वादी लेख अनुसार मैले केही गरे गराएको छैन भन्ने समेत कालीकाप्रसादको प्रतिवादी ।
६. म उपर दर्ता सम्मको जिकिर लिए तापनि दर्ता बदर तर्फ लिन नसकी खरीद लिखत बमोजिम जम्मा दर्ता भई सकेकोमा यस परिवन्धबाट यो मितिमा यो जग्गा दर्ता गराए भन्ने उजुर समेत किटानी नगरी हचुवा बोली लेखेको वादी बमोजिमको जग्गा दर्ता गराउनु समेत गरेको छैन वादीलाई पतिले विक्री गरेको जग्गा विगाहा २–०–० वादीले भोग गरी बाँकी मेरो जग्गा लिने मुरादले फिरादमा अंशियार समेत देखाई फिराद गरेको हो भन्ने समेत कुसुमकुमारी र गौरीमानको संयुक्त प्रतिउत्तर ।
७. वादीले यति जग्गा मिच्यो भन्ने र लेख्न नसके पनि मैले वादीको जग्गामा मिची सर्भेमा नपाएको भन्ने वादी झुठ्ठा हो भन्ने समेत भनी सुन्दर श्रेष्ठको प्रतिवादी ।
८. खेमराज, बै.राधामान, गोविन्द मान समेतले सुरु म्यादै गुजारी बसेका रहेछन् ।
९. वादी दावा बमोजिम प्रतिवादीहरुले खिचोला गरेको ठहरिंदैन भन्ने समेत २०२७।५।२६ को सुनसरी जिल्ला अदालतको फैसला रहेछ ।
१०. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीहरुको पुनरावेदन परेकोमा न.नं.८८ को जग्गा श्यामप्रसादले वादीलाई विक्री गरेको बाहेक मेरो भनी कुसुमकुमारीले दावा लिएको जिकिर नपुग्ने। कारण श्यामप्रसादले लिखत गरी दिँदा अरुलाई विक्री गरेका पृथक पृथक खुलाई जग्गा लेखी दिएको कुसुमकुमारीको जग्गा बाँकी भई निजको हकमा र ०११ सालमा शोभारामलाई विक्री गरेको जिकिर पुग्न नसकी हक नपुग्ने जग्गा दावा लिएकोले दर्ता बदर सदरको तहकिकात गर्न नपरेको बजार लाइनको जग्गा भए बाली पनि नलगाएको दावा पनि लिएको खाली जग्गा दर्ताको बहाल पाउँ भन्ने फिराद दावा पुग्न नसक्ने, सुरुले गल्ती इन्साफ गरेको ठर्हछ भन्ने समेत कोशी अञ्चल अदालतको ०२९।३।२ को फैसला ।
११. उक्त इन्साफमा चित्त बुझेन नालेस गर्ने हदम्यादको विचार हुनु पर्ने म्याद नाघी सकेपछि म्यादै नथमाई गरेको नालेसबाट इन्साफ गरी मुद्दा हराएको छ । अञ्चल अदालतको इन्साफ उल्टाई हक इन्साफ पाउँ भन्ने समेत प्र.कुसुमकुमारीको सर्वोच्च अदालतमा पुनरावेदन परेकोमा न्याय प्रशासन सुधार ऐन, २०३१ अनुसार पूर्वाञ्चल क्षेत्रीय अदालतमा सरी गएको रहेछ । जग्गा बढी देखिँदा न.नं.८८ को जग्गा तर्फ वादी दावा पुग्न सक्दैन । अतएव प्र.कुसुमकुमारीको वादी दावी बमोजिम जग्गा खिचोला गरेको ठहर्दैन । न.नं.८८ को मेरो भनी कुसुमकुमारीले दावी लिएको सो निजको जिकिर नपुग्ने ठहराएको को.अं.अ.को इन्साफ गल्ती भन्ने समेत गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट मिति २०३४।४।२४।२ मा फैसला भएको रहेछ ।
१२. यसमा पूर्वाञ्चल क्षेत्रीय अदालतका मिति ०३४।४।२४ का फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत पुनरावेदन तर्फ विचार गर्दा निवेदनमा र उपरोक्त अनुमति दिएको आदेश व्यहोराबाट अधिकार क्षेत्रको प्रश्न उठाएको देखिन्छ । क्षेत्रीय अदालत नियमावली, २०३० को नियम १८ (ङ) मा “सिंगलबेञ्चबाट तल्लो तहको अदालतको निर्णय फरक पर्ने देखी विपक्षीलाई झिकाउने आदेश गरेको मुद्दा डिभिजनबेञ्चले हेर्ने” भन्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतको डिभिजनबेञ्चबाट झगडीया झिकाउने आदेश भएको र अन्ततोगत्वा डिभिजनबेञ्चबाटै फैसला निर्णय समेत भए गरेको देखिँदा तात्वीक त्रुटि गरेको भन्न मिल्ने देखिँदैन । तसर्थ वादीको प्रस्तुत पुनरावेदन खारेज हुने ठर्हछ भन्ने समेत ०२६।३।२२।६ को डिभिजनबेञ्चको फैसला रहेछ ।
१३. यसमा निवेदक वादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालको र विपक्षी कुसुमकुमारीको तर्फबाट विद्वान अधिवक्ता श्री दमन ढुङ्गानाको ०३९।६।१।६ मा बहस सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णय तर्फ हेर्दा यसमा यस अदालत डिभिजनबेञ्चबाट २०३९।३।२२।६ मा भएको निर्णय उपर इन्साफ जाँच गरी पाउँ भन्ने हिरण्यबहादुर समेतको निवेदनमा फुलबेञ्चबाट दोहर्याई इन्साफ जाँची कानून बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी ०३८।१।१५।३ मा मौसुफका विशेष जोहरी विभागबाट लेखी आई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चबाट ०३४।४।२४ मा भएको फैसला अधिकार क्षेत्र भित्रको हो होइन भन्ने विषयमा नै सर्वप्रथम निर्णय दिनु पर्ने देखियो ।
१४. यसमा हाम्रा ४ किल्ला भित्रको जग्गामा भित्र भित्रै दोहरा किनबेच गरेको दर्ता पूर्जा लिएको बदर वातिल गरी खिचोला मेटाई भाडा आयस्ता रु.१५८३।–खगेन्द्रकुमारबाट रु.८४७।५० ज्ञानबहादुरबाट रु.९५६।५० कुसुमकुमारी खेमराजबाट गरी जम्मा रु.३३८७।–भराई बेहकबाट पूर्जी लिई दर्ता गराएको दोहरा पारी किनबेच गरेमा समेत सजाय गरी पाउँ भन्ने समेत दावी दावा भएको देखिन्छ र सोही बिगोको आधारबाट कोर्ट फी दाखिल भएको देखियो । यसबाट यो मुद्दाको बिगो रु.३३८७।–मात्र भएको देखिन आयो ।
१५. क्षेत्रीय अदालत नियमावली, २०३० को नियम १८ मा डिभिजनबेञ्चबाट हेरिने मुद्दा देहायमा लेखिएका मुद्दा मामिलाको पुनरावेदन वा साधक डिभिजनबेञ्चबाट हेरी किनारा हुनेछ भनी देहाय (ग) मा “झगडा परेको वा दावा गरेको विषयको मोल बिगो पन्ध्र हजार रुपैयाँ भन्दा बढी भएको मुद्दा” भन्ने र नियम २० मा “यो नियमावलीमा डिभिजनबेञ्चबाट हेरिने भनी स्पष्ट किटान भएका मुद्दा बाहेक अरु सवै मुद्दा सिंगलबेञ्चबाट हेरी किनारा हुनेछ” भन्ने व्यवस्था रहे भएको पाइयो । यसबाट प्रस्तुत मुद्दा सिंगलबेञ्चले हेर्ने अधिकार क्षेत्रभित्र पर्न आएको देखिन आयो । सुरुको निर्णयसँग सहमत नभई सिंगलबेञ्चले झगडीया झिकाएमा प्रस्तुत मुद्दा डिभिजनबेञ्चको अधिकारक्षेत्र भित्र पर्न जाने हुन्छ । तर, सो बमोजिम झगडीया झिकाएको नाताबाट यो मुद्दा डिभिजनबेञ्चले हेरेको देखिँदैन । प्रथम तह नै डिभिजनबेञ्चबाट हेरेको देखियो । उपरोक्त कारणबाट क्षेत्रीय अदालत नियमावली, २०३० को विपरीत डिभिजनबेञ्चले अधिकार क्षेत्र ग्रहण गरी प्रस्तुत मुद्दा निर्णय गरेको भन्नु पर्ने हुन आयो ।
१६. तसर्थ पूर्वाञ्चल क्षेत्रीय अदालतको २०३४।४।२४ को इन्साफ सदर गरी डिभिजनबेञ्चबाट ०३६।३।२२।६ मा गरेको निर्णय बदर हुने ठर्हछ । अब कानून बमोजिम निर्णय गर्नु भनी यो मिसिल पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु ।
हामीहरुको सहमती छ ।
प्र.न्या.नयनबहादुर खत्री
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०३९ साल आश्विन १२ गते रोज ३ शुभम् ।