निर्णय नं. ११४४३ - अंश चलन
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
माननीय न्यायाधीश श्री विनोद शर्मा
माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल
फैसला मिति : २०८१।३।१३
०८०-NF-००२३
मुद्दाः अंश चलन
पुनरावेदक / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ७, सुन्धारा बस्ने दीपा प्रधान चित्रकार
विरूद्ध
प्रत्यर्थी / वादी : ऐ. ऐ. बस्ने बिमल चित्रकार
अंश हक प्रचलित कानूनद्वारा स्थापित कुनै पनि व्यक्तिको नैसर्गिक हक अधिकार भएकोले विधिवत् रूपमा प्राप्त वा परित्याग नगरेसम्म सो हक समाप्त नहुने । सगोलको पैतृक सम्पत्ति पतिले पत्नीलाई बकसपत्र पारित गरिदिए तापनि उक्त सम्पत्तिमा निज पतिले आफ्नो अंश हक स्पष्ट रूपमा परित्याग नगरेसम्म सो सम्पत्तिबाट निजले अंश पाउन सक्ने ।
(प्रकरण नं.६)
सम्पत्ति निजी तवरले दान बकस पाएको हो कि होइन, दान बकस दिनेले आफ्नै पालामा आर्जेको सम्पत्ति दिएको हो वा पैतृक सम्पत्ति भन्ने यकिन गरिनु पर्ने । पत्नीलाई खुसी पार्न वादीले आफ्नो पैतृक सम्पत्ति बकस दिएमा सो सम्पत्ति सगोलको मान्नुपर्ने ।
(प्रकरण नं.९)
वादीले आफ्नो पैतृक सम्पत्ति घर व्यवहार चलाउने प्रयोजनको लागि पारिवारिक सल्लाहबमोजिम पत्नीलाई बकसपत्रको माध्यमबाट हक हस्तान्तरण गरेको कार्यलाई विधिवत् रूपमा वादीले आफ्नो अंश हक नै परित्याग गरेको भनी मान्न नमिल्ने । सगोलमा रहेका पत्नी वा छोराछोरीलाई बकसपत्र गरी हक हस्तान्तरण गरिदिएको सम्पत्तिमा हक हस्तान्तरण गर्नेले अंश नपाउने भन्ने हो भने त्यस्तो हक हस्तान्तरण गर्ने व्यक्ति निरअंशी हुनुका साथै सो कार्य अंशबन्डासम्बन्धी प्रचलित कानूनको मर्म र भावनाविपरीत हुने ।
(प्रकरण नं.११)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान् अधिवक्ता श्री शिवप्रसाद कोइराला
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री श्यामप्रसाद खरेल, श्री विश्वप्रकाश सिग्देल र श्री रमेशकुमार रोका
अवलम्बित नजिर :
ने.का.प. २०६२ अङ्क २ नि.नं. ७४९४
ने.का.प. २०६७ अङ्क ९ नि.नं. ८४५४
ने.का.प. २०६९ अङ्क ८ नि.नं. ८८६९
ने.का.प. २०७१ अङ्क ५ नि.नं. ९१६८
ने.का.प. २०७७ अङ्क ५ नि.नं. १०५०२
ने.का.प. २०७९ अङ्क ११ नि.नं. १०९७४
सम्बद्ध कानून :
मुलुकी देवानी संहिता, २०७४
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री टेकनारायण कुँवर
ललितपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य
माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान
पुनरावेदन अदालत पाटन
यस अदालतमा फैसला गर्नेः-
मा. न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला
न्या.विनोद शर्मा : पुनरावेदन अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन दायर भएको प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।१२।०९ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम मुद्दा पुनरावलोकन गरिपाउँ भनी प्रतिवादी दीपा प्रधान चित्रकारको यस अदालतमा निवेदन परेकोमा यस अदालतबाट मुद्दा पुनरावलोकनको अनुमति प्रदान भई पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
मुद्दाको संक्षिप्त तथ्य
विपक्षी दीपा प्रधानसँगको वैवाहिक सम्बन्धबाट छोरी दुचु चित्रकारको जन्म भई हामी ३ अंशियारहरू सगोलमा रहेका छौँ । विवाहपश्चात् मैले खाद्य पदार्थ प्रशोधन गर्ने सामान्य कारखाना र विपक्षीको नामबाट रेनमिन कन्सल्ट्यान्ट प्रा.लि. दर्ता गरी सञ्चालन गरी आएका छौँ । विपक्षीले ६ महिनादेखि यता घरव्यवहारमा वास्ता नगर्ने, ससानो कुरामा झगडा गर्न थालेपछि निजलाई सम्झाउँदा सम्पूर्ण घरजग्गा सम्पत्ति मेरै नाममा छ, म आफूखुसी गर्छु, कुनै पनि सम्पत्ति तिमीलाई दिन्न भनी बन्डा गर्न इन्कार गरिन् । मैले अंशबापत प्राप्त गरेको घर तथा हाम्रो संयुक्त प्रयासबाट खरिद गरेको जग्गा एवम् बैंक खाता विपक्षीकै नाममा निजकै जिम्मामा रहेको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी बन्डा गर्नुपर्ने चल अचल सम्पत्तिको तायदाती फाँटवारी विपक्षीबाटै दाखिल गर्न लगाई सम्पूर्ण सम्पत्तिलाई ३ भाग गरी ३ भागको १ भाग अंश दिलाई चलन चलाइपाउँ भन्ने बिमल चित्रकारको फिराद दाबी ।
हामीहरूको अंशियार र नाता सम्बन्धमा विवाद छैन । आफ्नो ज्ञान, सिप एवम् क्षमताअनुसार विपक्षी पतिले घरमै खाद्य पदार्थ प्रशोधनसम्बन्धी कारखाना सञ्चालन गर्नुभएको छ । मैले चीनको बेइजिङमा अध्ययन गरी सोही ठाउँमा काम गरी नेपाल फर्केपश्चात् काठमाडौंस्थित अल्फाविटा प्रा.लि.मा करिब ४ वर्ष चाईना अपरेसनसम्बन्धी मेनेजरको रूपमा काम गरेको र पछि रेनमिन कन्सल्ट्यान्ट प्रा.लि. खोली सो संस्थाको आम्दानीबाट आर्थिक सहयोग गरी आए तापनि सो कारखानाबाट भएको आम्दानी विपक्षीले मलाई राख्न दिएको अवस्था छैन । विपक्षीको हक लाग्ने कुनै रकम मैले बैंकमा जम्मा गरेको पनि छैन । विपक्षी वादीलाई मैले अंश दिनुपर्ने होइन । मेरो कमाईबाट विपक्षी पतिले सञ्चालन गरेको कारखानामा आवश्यक सहयोग गर्दा विपक्षी खुसी भई ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ७ कित्ता नम्बर २४७ को क्षेत्रफल ०-४-०-१ मा रहेको घर निजले मिति २०६९।०४।१७ मा र.नं. २७२क बाट मलाई हालैको बकसपत्रको लिखत पारित गरिदिनुभएको हो । उक्त घर विपक्षीलाई बन्डा गर्न कर नलाग्ने तथा विपक्षीलाई मैले अंश दिनु नपर्ने र अंशबन्डा गर्नुपर्ने कुनै सम्पत्ति मसँग नरहेको हुँदा फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको दीपा प्रधान चित्रकारको प्रतिउत्तर जिकिर ।
प्रस्तुत मुद्दाका वादी प्रतिवादीबाट मुलुकी ऐन, अंशबन्डाको २०, २१, २२, २३ नं.बमोजिम तायदाती फाँटवारी माग गरी तायदातीमा उल्लेख भएको जग्गाको दर्ता स्रेस्ता सम्बन्धित कार्यालयबाट झिकाउनु भन्ने सुरू अदालतको आदेशानुसार वादी प्रतिवादीबाट तायदाती फाँटवारी पेस भई तायदातीमा उल्लेख भएको जग्गाको दर्ता स्रेस्ताको प्रमाणित प्रतिलिपि मालपोत कार्यालय, ललितपुरबाट प्राप्त भई मिसिल सामेल रहेको ।
कित्ता नम्बर २४७ को घरजग्गा बन्डा लाग्ने अवस्थाको देखिँदा सोबाट अविवाहित अंशियारको हकमा विवाह खर्च पर सारी वादीले ३ भागको १ भाग अंश छुट्ट्याई चलनसमेत पाउने ठहर्छ । तर प्रतिवादीको व्यक्तिगत अध्ययन, पेसा र दक्षताका आधारमा उल्लिखित सम्पत्ति आर्जन गर्न नसक्ने अवस्थाको भन्न सकिने स्थिति नहुँदा कित्ता नम्बर १०४ र ३४४२ का जग्गाहरू प्रतिवादीको निजी आर्जन ठहरी बन्डा लाग्न नसक्ने ठहर्छ । प्रतिवादीको साथमा रहेको छोरी दुचु चित्रकारको भागमा पर्ने सम्पत्ति निजको हितविपरीत नहुने गरी संरक्षण गरी राख्नुपर्नेसमेत संरक्षकको कर्तव्यभित्र पर्ने हुँदा नाबालकको सर्वोत्तम हितलाई ध्यानमा राखी निजको उमेर नपुगेसम्म कुनै हानि नोक्सानी नहुने गरी संरक्षक आमा दीपा प्रधान चित्रकारले संरक्षण गरिदिनु पर्ने ठहर्छ भन्ने सुरू ललितपुर जिल्ला अदालतको मिति २०७०।११।११ को फैसला ।
निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधन महलको ५ नं.बमोजिम पाएकोमा त्यस्तो सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुस गर्न पाउँछ बन्डा गर्न कर लाग्दैन भन्ने व्यवस्था भएको हुँदा विपक्षी पतिले मलाई हालैको बकसपत्र गरिदिनुभएको कित्ता नम्बर २४७ को घर जग्गा मैले स्त्री अंशधनको ४, ५ नं., दान बकसको १ नं. तथा अंशबन्डाको १८ नं. को कानूनी व्यवस्थाअन्तर्गत प्राप्त गरेको हुँदा उक्त कित्ता नम्बर २४७ को घरजग्गा बन्डा हुने भनी सुरू ललितपुर जिल्ला अदालतले गरेको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म उल्टी गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दीपा प्रधानको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन ।
ललितपुर जिल्ला अदालतले कित्ता नम्बर १०४ र ३४४२ को जग्गा विपक्षीको निजी आर्जन भई बन्डा नलाग्ने ठहराएको फैसलामा चित्त बुझेन । कित्ता नम्बर १०४ को जग्गा खरिद गर्ने विपक्षी श्रीमती दीपा प्रधानलाई पटकपटक गरी रू.२३,२८,०००।- जम्मा गरिदिएको थिएँ र कित्ता नम्बर ३४४२ को जग्गा प्रधान होल्डिङ्स प्रा.लि. बाट मिति २०६९।१०।२५ मा खरिद गरेकोमा सोको अघिल्लो दिन दीपा प्रधानको नामको नेपाल इन्भेष्टमेन्ट बैंकबाट रू.३७,५०,०००।- को गुड फर पेमेन्ट चेक प्रधान होल्डिङ्स प्रा.लि. को नाममा बनाई सो चेकबाट दिन सजिलो हुन्छ भनी सन २०१३-१-१८ मा स्टान्डर्ड चार्टर्ड बैंकबाट रू.२७,२५,००० । झिकी सो रकममा थप गरी नेपाल इन्भेष्टमेण्ट बैंकमा सोही दिन दुई पटक रू.२८,५०,०००।- र रू.५,५०,०००।- जम्मा गरिदिएकोमा उक्त जग्गा खरिद गर्न रकम नपुग भएकोले मैले प्रयाग सहकारी संस्थाबाट समेत रू.२,००,०००।- ऋण लिई खरिद गरेको हो । यसरी खरिद गरेको विवादित जग्गा विपक्षीको निजी आर्जनको ठहराई बन्डा नलाग्ने भनी सुरू ललितपुर जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरी मेरो फिराद दाबीबमोजिम अंश दिलाइपाउँ भन्नेसमेत बेहोराको वादी बिमल चित्रकारको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन ।
यसमा सुरू फैसलाउपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. को प्रयोजनको लागि दुवै पक्षलाई एक अर्काको पुनरावेदनपत्रको जानकारी दिई नियामानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७१।०९।२१ को आदेश ।
यसमा सुरू ललितपुर जिल्ला अदालतबाट अदालती बन्दोबस्तको १८४(क) नं.बमोजिम मुख नमिलेको कुरामा साक्षी प्रमाण बुझी फैसला गरेको नदेखिँदा फिरादपत्र र प्रतिउत्तरपत्रमा उल्लिखित साक्षी बुझी प्रतिवादीका नाममा दर्ता रहेको कित्ता नम्बर १०४ को प्रमाणित प्रतिलिपि सम्बन्धित मालपोत कार्यालयबाट झिकाउनू । साथै वादी प्रतिवादीले स्वआर्जन वा संयुक्त आर्जनबारे प्रमाणित गर्न दाखेल गरेको मिसिल संलग्न प्रमाणहरू एक अर्कालाई देखाई सुनाई अदालती बन्दोबस्तको ७८ नं.बमोजिम कागज गराई पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७२।०३।१३ को आदेश ।
कित्ता नम्बर २४७ को घरजग्गा बिमल चित्रकारले रिजगुणबापत हालैदेखिको बकसपत्र गरिदिएको पेवा सम्पत्ति भएकोले बन्डा गर्नुपर्ने होइन । कित्ता नम्बर ३४४२ को जग्गा दीपा प्रधानले विवाह हुनुपूर्व नै जम्मा गरेको पैसा र बिहेको सुनको गरगहना बेचबिखन गरी आएको पैसा र आफ्नो रेनमिन कन्सल्टेन्टबाट प्राप्त आम्दानीबाट किनेको हो । कित्ता नम्बर १०४ को जग्गा पनि दीपा प्रधानले आफ्नै निजी स्रोतबाट संयुक्त नाममा खरिद गरेको हो भन्ने बेहोराको दीपा प्रधान चित्रकारको साक्षी सागर मास्केले पुनरावेदन अदालत पाटनमा गरिदिएको बकपत्र ।
कित्ता नम्बर २४७ को घरजग्गा बिमल चित्रकारको पैतृक सम्पत्ति हो । घरायसी व्यवहार तथा मिलेर बस्ने क्रममा प्रतिवादी दीपा प्रधान चित्रकारको नाममा गरिदिएको सो घरजग्गामा बिमल चित्रकारको समेत हक लाग्छ । कित्ता नम्बर १०४ र ३४४२ को हकमा सगोलमै बस्दा बिमल चित्रकारले सैंवु भैँसेपाटीको जग्गा बेचेको, निजले काम गरेको चौधरी ग्रुप तथा D.B. हेल्दी फुड उद्योगको आम्दानीसमेतबाट खरिद गरेको हुँदा सो जग्गामा बिमल चित्रकारको पनि हक लाग्छ भन्ने बेहोराको बिमल चित्रकारको साक्षी शुक्रराज महर्जनले पुनरावेदन अदालत पाटनमा गरिदिएको बकपत्र ।
विपक्षी दीपा प्रधानको नाममा रहेको जग्गा खरिद गर्दा सरकारी मूल्याङ्कनअनुसार न्यूनतम मूल्य मात्र उल्लेख गरी महिलाको नाममा जग्गा खरिद गर्दा कर छुटको प्रावधान भएकोले विपक्षी श्रीमतीको नाममा जग्गा खरिद गरिएको हो । मैले मेरो श्रीमती दीपा प्रधानलाई घरव्यवहार मिलाउनको लागि मिति २०६९।०४।१७ मा र.नं. २७२क बाट हालैदेखिको बकसपत्रको लिखत गरी दिएको हुँ । उक्त घर मेरो पैतृक सम्पत्ति हो । उक्त जग्गा खरिद गर्न मैले सैंवुको जग्गा बिक्री गरी सोही रकमबाट खरिद गरेको जग्गा हो । निजले मात्र निजी आर्जेको भन्ने कुरा झुट्टा हुँदा बन्डा लगाइपाऊँ । साथै पत्रमा विपक्षी श्रीमतीको पद A/c Manager छ भने काम भने Sales team को Member भन्ने उल्लेख छ । यसरी एउटै पत्रका कुराहरू एकआपसमा बाझिने देखिएकोले सम्बन्धित कार्यालयबाट बुझिपाउँ भनी बिमल चित्रकारले पुनरावेदन अदालत पाटनमा अदालती बन्दोबस्तको ७८ नं.बमोजिम गरेको बयान ।
सैंवुको कित्ता नम्बर २५ को जग्गा मिति २०६६।०७।१७ मा बिक्री गरी सोही रकमबाट अन्य जग्गाहरू खरिद गरेको भन्ने दाबी लिए पनि सो कुरा फिरादपत्रसमेतमा कहिंकतै उल्लेख गर्न र D.B. हेल्दी फुड उद्योगको आम्दानी खुलाउन पनि सक्नुभएको छैन । उक्त रकमलाई ज्ञान सिपले आर्जेको रकम भनी प्रमाणमा लिन मिल्नेसमेत होइन भन्नेसमेत बेहोराको दीपा प्रधानको वारेस चन्द्रप्रसाद गुरागाईँले पुनरावेदन अदालत पाटनमा अदालती बन्दोबस्तको ७८ नं.बमोजिम गरेको बयान ।
यसमा अदालती बन्दोबस्तको ७८ नं.अन्तर्गतको बिमल चित्रकारको बयानमा उल्लिखित Alfa Beta प्रा.लि. को PAN नं. ३०१७९०१२९ को सन् २००५ देखि २००८ सम्मको विवरण आन्तरिक राजस्व कार्यालय, बबरमहलबाट झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७२।१०।१८ को आदेश ।
कित्ता नम्बर २४७ को घरजग्गा बन्डा लाग्ने गरी भएको सुरूको फैसलालाई अन्यथा भन्न मिलेन । कित्ता नम्बर १०४ र ३४४२ को जग्गा प्रतिवादीको निजी आर्जन ठहर हुने गरी सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०७०।११।११ मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई उल्लिखित कित्ता नम्बर १०४ र ३४४२ को जग्गामा समेत विवाह खर्च पर सारी वादीले ३ भागको १ भाग अंश छुट्ट्याई लिन पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७२।१२।१५ को फैसला ।
कित्ता नम्बर २४७ को घरजग्गा सेवा रिझगुणबापत हालैदेखिको बकपत्रको माध्यमबाट मैले प्राप्त गरेको हुँदा सो घरजग्गामा मुलुकी ऐन, अंशबन्डाको १८ नं, स्त्री अंशधनको १, ४, ५ नं., दान बकसको १ नं.बमोजिम विपक्षीको भागबन्डा लाग्ने होइन । त्यसैगरी कित्ता नम्बर ३४४२ र १०४ को जग्गाहरू मेरो अध्ययन, योग्यता, श्रम तथा सिपको उपयोग गरी आर्जन गरी बचत गरेको आफ्नो खाताको रकमबाट निजी तवरले आर्जन गरेको हो । सो जग्गा खरिद गर्दा विपक्षी बिमल चित्रकारको पैतृक सम्पत्ति वा निजको आर्जनको कुनै रकम परेको छैन । सो कुरालाई मेरै एक बैंकको खाताबाट अर्को बैंकमा रकम जम्मा गरेको बैंक स्टेटमेन्टले पुष्टि गरेको छ । पैतृक सम्पत्तिको योगदान रहेको भन्ने तथ्य कहीँकतैबाट स्थापित हुन नसकेको स्थितिमा कसैले आफ्नो निजी आर्जनबाट जोडेको सम्पत्तिलाई सगोलको सम्पत्ति मान्न नसकिने । निजी आर्जनको सम्पत्तिमा सो आर्जन गर्ने अंशियारको निजी ठहरी आफूखुस गर्न पाउँछ भन्ने अंशबन्डाको १८ नं. मा स्पष्ट कानूनी व्यवस्था रहेको हुँदा त्यस्तो सम्पत्तिमा अन्यलाई अंश हक नलाग्ने । कुनै सम्पत्ति निजी ज्ञान, सिप र प्रयासबाट प्राप्त भएको अवस्थामा त्यस्तो ज्ञान, सिप र प्रयासको अवमूल्यन हुने गरी व्यवहार गरिनु नहुने भन्ने सम्मानित सर्वोच्च अदालतबाट ने.का.प. २०६७ नि.नं. ८४७५ पृ. १६६३ मा प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुने गरी सगोलमा रहेको कारण र आधारले मात्र मेरो नाममा रहेको स्वआर्जनको सम्पत्तिबाट विपक्षीलाई बन्डा लाग्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ अंशबन्डाको महलको १०, १८ स्त्री अंशधनको १, ४, ५समेतको विपरीत भई त्रुटिपूर्ण हुँदा उल्टी गरी सो घर जग्गामा विपक्षीको हक नलाग्ने गरी इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दीपा प्रधान चित्रकारको यस अदालतमा परेको पुनरावेदन ।
यसमा पुनरावेदक प्रतिवादीले विपक्षी वादीबाट बकस पाएको सम्पत्तिसमेत बन्डा लाग्ने गरी तथा स्वआर्जित सम्पत्तिको सम्बन्धमा विवेचना नै नगरी पुनरावेदन अदालत पाटनबाट भएको मिति २०७२।१२।१५ को फैसला मुलुकी ऐन, स्त्री अंशधनको ४ नं. तथा अंशबन्डाको १८ नं. को व्याख्याको सन्दर्भमा उक्त फैसला विचारणीय भई फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २०२ नं. को प्रयोजनार्थ प्रत्यर्थीका नाममा सूचना म्याद जारी गरी झिकाई म्यादभित्र हाजिर भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७४।११।१६ को आदेश ।
कित्ता नम्बर २४७ को घरजग्गा बन्डा लाग्ने गरी भएको हदसम्म सुरूको फैसला सदर गरी कित्ता नम्बर १०४ र ३४४२ को जग्गा प्रतिवादीको निजी आर्जन ठहर गरेको सुरू ललितपुर जिल्ला अदालको फैसलालाई केही उल्टी गरी कित्ता नम्बर १०४ र ३४४२ को जग्गामा समेत छोरी दुचु चित्रकारको विवाह खर्च पर सारी वादीले प्रतिवादीबाट ३ भागको १ भाग अंश छुट्ट्याई लिन पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७२।१२।१५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने यस अदालतबाट मिति २०७९।१२।०९ को फैसला ।
मैले अल्फाविटा इन्स्टिट्युटमा चाइना एजुकेसन म्यानेजरको काम गरेको, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा बोर्ड सदस्य रही काम गरेको, Renmin Consultancy को Managing Director को रूपमा काम गरेको र चिनमा IT Resources मा account manager (Sales Manager) को रूपमा काम गरी मेरो खातामा रहेको रकमबाट कित्ता नम्बर १०४ र ३४४२ खरिद गरेको हुँदा मेरो निजी आर्जनबाट खरिद गरेको सम्पत्ति बन्डा गर्नुपर्ने होइन । कित्ता नम्बर २४७ को घरजग्गा वादीले मलाई बकस गरिदिएको हुँदा सोमा निजको हक लाग्दैन । अतः मुलुकी ऐन, स्त्री अंशधनको ४ नं. र अंशबन्डाको १८ नं. विपरीत पुनरावेदन अदालत पाटनबाट भएको फैसला सदर गर्ने गरेको यस अदालतको संयुक्त इजलासको मिति २०७९।१२।०९ को फैसला यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्तविपरीत भएकोले प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दीपा प्रधान चित्रकारको यस अदालतमा परेको निवेदनपत्र ।
यसमा, प्रतिवादीको नाउँमा रहेको कित्ता नम्बर २४७ को जग्गा वादी स्वयंले आफ्नो श्रीमती प्रतिवादीको नाममा हालैको बकसपत्र गरेको देखिन्छ । प्रतिवादीको नाउँमा रहेको कित्ता नम्बर १०४ र ३४४२ जग्गा निज प्रतिवादीले स्वदेश तथा विदेशमा रोजगार गरी आर्जन गरेको रकमबाट खरिद गरी राजीनामाबाट प्राप्त गरेको निजी आर्जनको जग्गा हुँदा बन्डा गर्नु नपर्ने भनी दाबी गरेकोमा सो सम्पत्तिसमेत बन्डा लाग्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।१२।०९ मा भएको फैसलामा मुलुकी ऐन, स्त्री अंशधनको १ नं., ४ नं. र ५ नं., अंशबन्डाको १८ नं. को व्याख्यात्मक प्रश्न रहेको र यस अदालतबाट ने.का.प. २०६९ अङ्क ८ नि.नं. ८८६९ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (क) र (ख) बमोजिम पुनरावलोकनको अनुमति प्रदान गरिएको छ भनी यस अदालतबाट मिति २०८०।०९।१९ मा भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहित मिसिल कागजात अध्ययन गरियो ।
पुनरावेदक प्रतिवादी दीपा प्रधान चित्रकारको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान् अधिवक्ता श्री शिवप्रसाद कोइरालाले कित्ता नम्बर २४७ को घरजग्गा वादी बिमल चित्रकारले प्रतिवादी दीपा प्रधान चित्रकारलाई हालैदेखिको बकसपत्र लिखत रजिस्ट्रेसन पारित गरिदिएकोमा विवाद छैन । एकपटक आफ्नो पत्नी प्रतिवादी दीपा प्रधानलाई बकसपत्र पारित गरी हक हस्तान्तरण गरिसकेको घरजग्गाबाट अंश पाउँ भनी माग गर्ने अधिकार वादीलाई हुन सक्दैन । सो सम्पत्ति बकसपत्र पाउने पत्नी/ प्रतिवादीको हकमा पेवा हुने भई साबिक मुलुकी ऐन, स्त्री अंशधनको ५ नम्बर र अंशबन्डाको १८ नम्बरले बन्डा गर्न कर लाग्दैन । उक्त घरजग्गामा अंशियार रहेकी छोरी दुचुसम्मको अंश हक लाग्ने हो । कित्ता नम्बर १०४ र ३४४२ को जग्गा अल्फाबिटा इन्स्टिट्युट, Renmin Consultancy मा काम गरेको र चिनमा काम गरेको प्रतिवादीको आफ्नै ज्ञान, सिप र प्रयासबाट आर्जित रकमले खरिद गरेको हुँदा वादीलाई बन्डा लाग्ने होइन । वादीलाई बन्डा नलाग्ने प्रतिवादीको निजी आर्जनका घरजग्गाहरू बन्डा लाग्ने गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गर्नुपर्नेमा नगरी सदर हुने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।१२।०९ मा भएको फैसला नमिलेको हुँदा बदर गरिपाउँ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी वादी बिमल चित्रकारको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री श्यामप्रसाद खरेल, श्री विश्वप्रकाश सिग्देल र श्री रमेशकुमार रोकाले कित्ता नम्बर २४७ को जग्गा र घर वादी बिमल चित्रकारले अंशबापत पाएको घरजग्गा नै व्यवहार मिलाउन आफ्नो पत्नी प्रतिवादी दीपालाई हालैदेखिको बकसपत्र गरिदिएको हो । सगोलमा रहेका अंशियारको नाउँमा रहेका घरजग्गा सगोलको सम्पत्ति हुन्छ । कित्ता नम्बर १०४ र ३४४२ को जग्गा प्रतिवादीले आफ्नो निजी आर्जन भने पनि निजले काम गरेको भनिएको कम्पनी र कन्सल्टेन्सीबाट तलब प्राप्त गरेको देखिने भरपाई पेस गर्न सकेको अवस्था छैन । उक्त जग्गा प्रतिवादीको आर्जनबाट मात्र खरिद गरेको नभई वादी प्रतिवादी दुवैको सामूहिक प्रयासबाट आर्जन गरेको रकमबाट खरिद गरेको हो । सो कुरा वादीले आफ्नो नाउँको कित्ता नम्बर २५ को जग्गा बिक्री गरेको, सहकारीबाट ऋण लिएको र प्रतिवादीको बैंक खातामा रकम जम्मा गरेको कागज प्रमाणबाट पुष्टि हुन्छ । महिलाको नाउँमा जग्गा खरिद गर्दा रजिस्ट्रेसन दस्तुर छुट हुने प्रावधानका कारण प्रतिवादी दीपाको नाउँमा उक्त जग्गा खरिद गरिएको हो । पत्नीको नाउँमा भएको सगोलको सम्पत्ति बन्डा लाग्ने हुँदा उक्त तीन कित्ता घरजग्गाबाट वादीले ३ भागको १ भाग अंश पाउने ठहर्याएको तत्कालीन पुनरावेदन अदालत पाटन र यस अदालत संयुक्त इजलासको फैसला मनासिब हुँदा सदर गरिपाउँ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
प्रतिवादी दीपा प्रधान तथा निजसँगको वैवाहिक सम्बन्धबाट जन्मेकी छोरी दुचु चित्रकार र म वादी बिमल चित्रकारसमेत हामी ३ अंशियार सगोलमा छौँ । मैले अंशबापत पाएको घर एवं हाम्रो संयुक्त प्रयासबाट खरिद गरेको जग्गा तथा बैंक खातासमेत प्रतिवादीको नाम र जिम्मामा रहेको छ । अतः बन्डा गर्नुपर्ने चल अचल सम्पत्तिको तायदाती फाँटवारी प्रतिवादीबाट लिई ३ भागको १ भाग अंश पाउँ भन्नेसमेत बेहोराको वादी बिमल चित्रकारको फिराद दाबी रहेछ । फिरादमा उल्लिखित अंशियार र नाता सम्बन्धमा विवाद छैन । विपक्षीको हक लाग्ने कुनै सम्पत्ति मसँग छैन । वादीलाई मैले अंश दिनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी दीपा प्रधान चित्रकारको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा कित्ता नम्बर २४७ को घरजग्गाबाट अविवाहित अंशियारको हकमा विवाह खर्च पर सारी वादीले ३ भागको १ भाग अंश छुट्ट्याई चलन पाउने तथा कित्ता नम्बर १०४ र ३४४२ को जग्गा प्रतिवादीको निजी आर्जन ठहरी बन्डा लाग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०७०।११।११ मा फैसला भएको देखिन्छ ।
उक्त फैसलामा चित्त नबुझाई वादी बिमल चित्रकार र प्रतिवादी दीपा प्रधान चित्रकारको तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा कित्ता नम्बर २४७ को घरजग्गा बन्डा लाग्ने गरी भएको सुरूको फैसलालाई अन्यथा भन्न मिलेन, कित्ता नम्बर १०४ र ३४४२ को जग्गा प्रतिवादीको निजी आर्जन ठहर हुने गरी सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०७०।११।११ मा भएको फैसला केही उल्टी भई कित्ता नम्बर १०४ र ३४४२ को जग्गामा समेत विवाह खर्च पर सारी वादीले ३ भागको १ भाग अंश छुट्ट्याई लिन पाउने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०७२।१२।१५ मा फैसला भएको पाइन्छ । उक्त फैसलाउपर प्रतिवादी दीपा प्रधान चित्रकारको यस अदालतमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनबाट मिति २०७२।१२।१५ मा भएको फैसला सदर हुने ठहरी यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।१२।०९ मा फैसला भएको देखिन्छ । उक्त फैसला यस अदालतबाट स्थापित नजिर वा कानूनी सिद्धान्त प्रतिकूल भएकोले पुनरावलोकन गरिपाउँ भनी प्रतिवादी दीपा प्रधान चित्रकारको यस अदालतमा निवेदन परी यस अदालतबाट मिति २०८०।०९।१९ मा पुनरावलोकनको अनुमति प्रदान भई प्रस्तुत मुद्दा यस इजलासमक्ष निर्णयार्थ पेस हुन आएको देखियो ।
माथि उल्लिखित तथ्य रहेको प्रस्तुत मुद्दामा मूलतः देहायका प्रश्नहरूको विवेचना गरी न्यायिक निष्कर्षमा पुग्नुपर्ने देखियो:-
(क) वादी बिमल चित्रकारले के कुन घरजग्गा सम्पत्तिबाट अंश पाउनुपर्ने हो ? प्रतिवादी दीपा प्रधान चित्रकारको नाममा रहेका घरजग्गामा वादी बिमल चित्रकारको अंश हक लाग्छ वा लाग्दैन ?
(ख) प्रतिवादी दीपा प्रधान चित्रकारको नाममा रहेका घरजग्गाहरू निजको प्रतिउत्तर जिकिर र पुनरावेदन जिकिरबमोजिम निजको निजी आर्जनको सम्पत्ति हो वा होइन ?
(ग) तत्कालीन पुनरावेदन पाटनबाट वादीले प्रतिवादीका नाममा रहेका कित्ता नम्बर १०४, ३४४२ र २४७ को घरजग्गाबाट ३ भागको १ भाग अंश पाउने ठहरी भएको फैसला सदर गर्ने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।१२।०९ मा भएको फैसला मिले नमिलेको के देखिन्छ ?
२. अब पहिलो प्रश्नतर्फ विचार गर्दा, वादी बिमल चित्रकार र प्रतिवादी दीपा प्रधान चित्रकारबिच पति पत्नीको नाता सम्बन्ध कायम भई निजहरूको तर्फबाट जन्म भएकी एक छोरी दुचु चित्रकारसमेत गरी जम्मा तीन अंशियार एकासगोलमा रहेको भन्ने कुरामा विवाद रहेको नदेखिदा सो सम्बन्धमा थप केही विवेचना गरिरहनु परेन । वादीले अंश प्राप्त गरेको पैतृक सम्पत्ति र वादी प्रतिवादीको संयुक्त प्रयासबाट आर्जित रकमबाट खरिद गरेका जग्गाहरूसमेत प्रतिवादीको जिम्मामा रहेकोले प्रतिवादीबाट ३ भागको १ भाग अंश पाउँ भन्ने वादी दाबी तथा आफूसँग बन्डा गर्नुपर्ने सम्पत्ति नरहेको र आफ्नो नाममा रहेका घरजग्गा निजी आर्जनको सम्पत्ति भएकोले वादीलाई अंशबन्डा गर्नु नपर्ने भन्ने प्रतिवादीको जिकिर रहेको प्रस्तुत मुद्दामा वादीले के कुन सम्पत्तिबाट अंश पाउनुपर्ने हो र प्रतिवादीको नाममा रहेका घरजग्गाहरू निजको स्वआर्जनको सम्पत्ति हो वा होइन भन्ने सम्बन्धमा मिसिल संलग्न प्रमाणको विश्लेषण गरी निचोडमा पुग्नुपर्ने देखियो ।
३. यस सन्दर्भमा पुनरावेदक प्रतिवादी दीपा प्रधान चित्रकारले पेस गरेको तायदाती फाँटवारीमा ललितपुर जिल्ला, इमाडोल वडा नं. ८ कित्ता नम्बर. ३४४२ को ०-५-०-०, ललितपुर उपमहानगरपालिका वडा नं. ७ कित्ता नम्बर. २४७ को ०-४-०-१ र धादिङ जिल्ला, छत्रेदेउराली गाउँ विकास समिति वडा नं. १ख कित्ता नम्बर १०४ को ३-४-३-१ जग्गा निजको नाममा दर्ता रहेको देखिन्छ । तर वादी बिमल चित्रकारको नाममा बन्डा गर्नुपर्ने सम्पत्ति नरहेको भन्ने निजको दाबी रहेकोमा प्रतिवादीले सो दाबी अन्यथा हो भनी प्रमाणित गर्न सकेको देखिँदैन । प्रतिवादी दीपा प्रधानको नाममा रहेका घरजग्गाको स्रोत के रहेछ भनी हेर्दा, कित्ता नम्बर २४७ को घरजग्गा अंशबापत प्राप्त गरी आफूले प्रतिवादी दीपालाई हालैको बकसपत्र गरिदिएको भन्ने वादी दाबी रहेकोमा सो दाबी प्रतिवादी दीपाले स्वीकारेको देखिन्छ । कित्ता नम्बर ३४४२ को जग्गा मिति २०६९।१०।२५ मा रजिस्ट्रेसन नम्बर ३२४७ग राजीनामा लिखतमार्फत प्रमा होल्डिङ्स प्रा.लि.बाट रू.८,१९,०००।- मा प्रतिवादी दीपा प्रधानको नाममा र कित्ता नम्बर १०४ को जग्गा मिति २०६६।११।२६ मा रजिस्ट्रेसन नम्बर ५७०७ को राजीनामा लिखतमार्फत मणिबहादुर खत्रीबाट रू.६,५०,०००।- मा प्रतिवादी दीपा प्रधान तथा अन्य व्यक्तिहरू करूणा महर्जन, ज्ञानकुमारी शाक्य, जमुना महर्जनसमेत चारजनाको संयुक्त नाममा राजीनामाको लिखतबाट प्राप्त भएको देखिएको छ ।
४. प्रतिवादीले अल्फाबिटा इन्स्टिट्युटमा चाइना एजुकेसन म्यानेजरको रूपमा काम गरेको, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा बोर्ड सदस्य रही काम गरेको, Renmin Consultancy को Managing Director को रूपमा काम गरेको र चिनमा IT Resources मा account manager (Sales Manager) को रूपमा काम गरी मेरो खातामा रहेको रकमबाट कित्ता नम्बर १०४ र ३४४२ को जग्गा खरिद गरेको हुँदा सो जग्गा मेरो निजी आर्जन हो भन्नेसमेत जिकिर लिएको पाइन्छ । तथापि उपर्युक्तबमोजिम काम गर्दा प्राप्त गरेको तलबको Salary Sheet प्रमाणको रूपमा पेस गर्न सकेको देखिँदैन । अर्कोतर्फ प्रतिवादीको नाममा उक्त जग्गा खरिद गर्दा आफ्नो नाममा रहेको ललितपुर जिल्ला सैँबुको जग्गा बिक्री गरेको रकम, आफ्नो दी वि फुड उद्योगबाट आर्जन गरेको रकम र सहकारीबाट ऋण लिएको रकमसमेत सगोलमा आर्जन गरेको रकमबाट उक्त जग्गा खरिद गरेको हुँदा सो जग्गाबाट आफूसमेतले अंश पाउनुपर्ने भन्ने वादी दाबी रहेको पाइन्छ । प्रत्यर्थी वादी बिमल चित्रकारले घरमै खाद्य प्रशोधनसम्बन्धी कारखाना सञ्चालन गरेको भनी दीपा प्रधान चित्रकार स्वयंले स्वीकार गरेको देखिन्छ । मिसिल संलग्न दिने वादी बिमल चित्रकार लिने रामकृष्ण श्रेष्ठ भएको रजिस्ट्रेसन नम्बर २२२७घ मिति २०६६।०७।१७ को राजीनामा लिखतबाट वादीले ललितपुर जिल्ला सैँबु ९क कित्ता नम्बर २५ को ०-१४-२-० जग्गा रू.९,३०,०००।- मा बिक्री गरेको देखिन्छ । साथै वादीले मिति २०६९।१०।०५ मा ललितपुरस्थित प्रयाग बचत तथा ऋण सहकारी संस्था लि. बाट रू.२,००,०००।- ऋण लिएको र सो ऋण लिँदा प्रतिवादी दीपा प्रधान साक्षी बसेको मिसिल संलग्न सो ऋणसम्बन्धी तमसुकको फोटोकपीबाट देखिएको छ ।
५. यसैगरी वादी बिमल चित्रकारले प्रतिवादी दीपा प्रधानको नाममा Standard Chartered बैंक जावलाखेल शाखाको खातामा देहायबमोजिम रकम जम्मा गरेको मिसिल संलग्न भौचरबाट देखिन्छ।
क्र.सं. बैंकको नाम खाता नम्बर रकम जम्मा गरेको मिति रकम रू. कैफियत
१.Standard Chartered बैंक२०-२१००६६५-०१२९ अगस्त २०१०/ २०६७।५।१३१,८०,०००।-
२.ऐ.ऐ.ऐ.ऐ.३० मार्च २०१०/ २०६६।१२।१७२४,०००।-
३.ऐ.ऐ.ऐ.ऐ.७ फेब्रुअरी २०१०/ २०६६।१०।२४ १,२५,०००।-
४.ऐ.ऐ.ऐ.ऐ.२५ जनवरी २०१०/ २०६६।१०।१११,४०,०००।-
५.ऐ.ऐ.ऐ.ऐ.३१ मार्च २०११/ २०६७।१२।१७ १,००,०००।-
६.ऐ.ऐ.ऐ.ऐ.३० मार्च २०११/ २०६७।१२।१६१,००,०००।-
७.ऐ.ऐ.ऐ.ऐ.७ फेब्रुअरी २०११/ २०६७।१०।२४१,००,०००।-
८.ऐ.ऐ.ऐ.ऐ.१ अप्रिल २०११/ २०६७।१२।१८ २,००,०००।-
९.ऐ.ऐ.ऐ.ऐ.२०६७।०६।२९ ६८,०००।-
१०.ऐ.ऐ.ऐ.ऐ.२०६७।०४।१६ १,००,०००।-
११.ऐ.ऐ.ऐ.ऐ.२०६८।१२।१७ १,५०,०००।-
१२.ऐ.ऐ.ऐ.ऐ.२०६८।०४।३१ २,००,०००।-
१३.ऐ.ऐ.ऐ.ऐ.२०६९।४।१ ३,५६,०००।-
१४.ऐ.ऐ.ऐ.ऐ.२०६९।०१।२० २५,०००।-
१५.ऐ.ऐ.ऐ.ऐ.२०६९।०६।१६ २०,०००।-
१६.ऐ.ऐ.ऐ.ऐ.२०६९।०५।२६ २०,०००।-
साथै वादीले प्रतिवादी दीपा प्रधानको नाममा दर्ता रहेको Renmin Consultants Pvt. Ltd. को Standard Chartered बैंकमा रहेको खाता नम्बर ०१-२३०३४१८-०१ मा देहायबमोजिम रकम जम्मा गरिदिएको पनि देखिन्छः-
क्र.सं. बैंकको नाम खाता नम्बर रकम जम्मा गरेको मिति रकम रू. कैफियत
१.Standard Chartered बैंक०१-२३०३४१८-०१२०६९।०२।२५२६,०००।-
२.ऐ.ऐ.ऐ.ऐ.२०६८।०८।१३४०,०००।-
३.ऐ.ऐ.ऐ.ऐ.२ जुन २०११/ २०६८।०२।१९१६,०००।-
४.ऐ.ऐ.ऐ.ऐ.२०६९।४।१३०,०००।-
यस्तै वादी बिमल चित्रकारले नेपाल इन्भेष्टमेन्ट बैंक लि. पुल्चोक शाखाबाट प्रतिवादी दीपा प्रधानको सोही बैंकको पुतलीसडक शाखामा रहेको खाता नम्बर ०१२१०८१४४० मा सन् २००६।११।०६ अर्थात् मिति २०६३।०७।२० मा रू.१,०८,०००।- र पुतलीसडक शाखाबाट मिति २०६८।०४।३० मा रू.२,००,०००।- जम्मा गरिदिएको मिसिल संलग्न Cash Receipt बाट देखिन्छ ।
६. उपर्युक्त तथ्यबाट प्रतिवादी दीपा प्रधानको नाममा रहेका घरजग्गामध्ये कित्ता नम्बर २४७ को घरजग्गा वादीले नै निज प्रतिवादीलाई बकसपत्र दिएको देखियो । सो घरजग्गामा निज वादीले आफ्नो अंश हक परित्याग गरेको भन्ने देखिएको छैन । खासगरी अंश हक प्रचलित कानूनद्वारा स्थापित कुनै पनि व्यक्तिको नैसर्गिक हक अधिकार भएकोले विधिवत रूपमा प्राप्त वा परित्याग नगरेसम्म सो हक समाप्त हुन सक्दैन भन्ने मान्यता रहेको हुन्छ । यसरी सगोलको पैतृक सम्पत्ति पतिले पत्नीलाई बकसपत्र पारित गरी दिएको देखिए तापनि उक्त सम्पत्तिमा निज पतिले आफ्नो अंश हक स्पष्ट रूपमा परित्याग नगरेसम्म सो सम्पत्तिबाट निजले अंश पाउन सक्ने नै देखिन्छ ।
७. कित्ता नम्बर ३४४२ र १०४ का जग्गाहरू प्रतिवादी दीपा चित्रकारको नाउँमा जम्मा रू.१४,६९,०००।- मा खरिद गरेको देखिएकोमा वादी बिमल चित्रकारले आफ्नो नाममा रहेको कित्ता नम्बर २५ को जग्गा रू.९,३०,०००।- मा बिक्री गरेको, सहकारी संस्थाबाट रू.२,००,०००।- ऋण लिएको र प्रतिवादी दीपा प्रधान चित्रकारको बैंक खातामा माथिको विवरणमा उल्लेख भएअनुसार पटकपटक गरी रू.२३,२८,०००।- जम्मा गरिदिएको देखियो । यसप्रकार पति / वादीले पत्नी / प्रतिवादीलाई बकसपत्र दिएको घरजग्गा र वादी प्रतिवादीले सगोलमा आर्जन गरेको रकमबाट प्रतिवादीको नाममा खरिद गरेको जग्गासमेत तीन कित्ता घरजग्गा मात्र वादी प्रतिवादीको सम्पत्ति रहेको देखिन्छ । सोबाहेक अन्य घरजग्गा सम्पत्ति रहेको भन्ने नदेखिदा उक्त घरजग्गाबाट वादीले अंश नपाउने भन्न मिलेन । उक्त घरजग्गामा वादीको अंश हक लाग्ने नै देखिन आयो ।
८. जहाँसम्म प्रतिवादी दीपा प्रधान चित्रकारको नाममा रहेका घरजग्गाहरू निजको निजी आर्जनको भएकोले बन्डा गर्नु नपर्ने भन्ने निजको जिकिर छ सो सम्बन्धमा विचार गर्दा, प्रतिवादी दीपा प्रधानले उक्त जग्गाहरू आफूले विवाहपूर्व नेपालको अल्फाविटा कम्पनी तथा चाइनाको Multinational Company मा काम गरेको रकम र नेपालमा Renmin Consultants Pvt. Ltd. नामक कन्सल्टेन्सी सञ्चालन गरी आफ्नो ज्ञान, सिप र प्रयासबाट आर्जित रकमले खरिद गरेको हुँदा वादीलाई बन्डा नलाग्ने भनी आफ्नो प्रतिउत्तरपत्र, पुनरावेदनपत्र र पुनरावलोकनको निवेदनमा जिकिर लिएको पाइन्छ । निजले उल्लिखित कम्पनी तथा कन्सल्टेन्सीमा काम गरेको भन्ने देखिए पनि सो काम गरेबापत आर्जन गरेको रकममा वादीले आफ्नो खाद्य उद्योगसमेतबाट आर्जन गरेको रकम मिसाइएको भन्ने माथि उल्लिखित प्रतिवादीको बैंक खातामा रकम जम्मा गरेको विवरणबाट पुष्टि हुन आएको छ । यस स्थितिमा प्रतिवादीको आफ्नै ज्ञान, सिप र प्रयासबाट आर्जित रकमबाट मात्र निजका नाउँमा उक्त जग्गा खरिद गरेको भन्ने निजको भनाई खम्बिर हुन आउँदैन ।
९. सामान्यतया निजी आर्जनको सम्पत्तिभित्र आफ्नो मात्र हकको वा हक भोगको सम्पत्ति पर्दछ । यसैगरी स्वआर्जनभित्र आफ्नो मात्र खेतीपाती, उद्योग, श्रम आदिबाट हुने आर्थिक वा अन्य आय, कमाइ, आम्दानीहरू पर्दछन् । सगोलको सम्पत्ति प्रयोग नगरी वा सगोलको सम्पत्ति नमिसाईकन आफ्नै श्रम, सिप वा दान दातव्यबाट सम्पत्ति आर्जन गरेको छ भने मात्र त्यस्तो सम्पत्तिलाई स्वआर्जन मान्नुपर्ने हुन्छ । यस सम्बन्धमा तत्काल प्रचलित कानूनी व्यवस्था हेर्दा, साबिक मुलुकी ऐन, अंशबन्डाको १८ नम्बर मा “...कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नं.बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ । बन्डा गर्न कर लाग्दैन” भन्नेसमेत कानूनी व्यवस्था रहेको पाइन्छ । यसैगरी हालको व्यवस्था हेर्दा, मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ मा “निजी सम्पत्ति मानिने” शीर्षकअन्तर्गत उपदफा (१) को खण्ड (क) र (ख) मा कुनै व्यक्तिको नाममा आफ्नो ज्ञान, सिप वा प्रयासबाट आर्जन गरेको, दान बकस वा अपुतालीस्वरूप प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्तिसमेत त्यस्तो व्यक्तिको निजी सम्पत्ति मानिने व्यवस्था रहेको पाइन्छ । ऐ. संहिताको दफा २५७ मा “सगोलको सम्पत्ति मानिने” शीर्षकअन्तर्गत उपदफा (१) मा सगोलका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको भए पनि (क) पुर्खौली सम्पत्ति, (ख) निजी सम्पत्तिबाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति, (ग) अंशियारले सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्ति सगोलको सम्पत्ति मानिने भन्ने र उपदफा (२) मा कानूनबमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति हुने छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उपर्युक्त कानूनी व्यवस्थाअनुसार निजी आर्जन गरेको र दान बकस पाएको सम्पत्ति बन्डा नलाग्ने भन्नेमा विवाद छैन । तथापि सो सम्पत्ति निजी तवरले दान बकस पाएको हो कि होइन, दान बकस दिनेले आफ्नै पालामा आर्जेको सम्पत्ति दिएको हो वा पैतृक सम्पत्ति भन्ने यकिन गरिनुपर्दछ । प्रस्तुत मुद्दामा पत्नीलाई खुसी पार्न वादीले आफ्नो पैतृक सम्पत्ति बकस दिएको अवस्था भइसो सम्पत्ति सगोलको मान्नुपर्ने हुन्छ ।
१०. यसैगरी स्वास्नीमानिसले स्त्री अंशधनको महलबमोजिम प्राप्त गरेको दाइजो वा पेवा निजी आर्जन हुने भई आफूखुस गर्न पाउने बन्डा गर्नु नपर्ने भन्ने भए पनि प्रस्तुत मुद्दामा वादी दाबीको जग्गा प्रतिवादी दीपा प्रधानको दाइजो वा पेवा रहे भएको देखिँदैन । यस स्थितिमा सगोलको रकमसमेतबाट खरिद गरेको र वादीको पैतृक सम्पत्ति बकस पाएको तथ्य पुष्टि हुन आएको हुँदा सो सम्पत्तिमा सगोलका अंशियार वादीको हक नलाग्ने भन्नु प्रचलित कानूनी व्यवस्थाविपरीत हुन जान्छ । यस सन्दर्भमा यस अदालतबाट ने.का.प. २०६७ अङ्क ९ नि.नं. ८४५४ मा “दाइजो, पेवा वा निजी आर्जनको सम्पत्ति हो भनी जिकिर लिने पक्षले सो जिकिरको समर्थनमा वस्तुनिष्ठ प्रमाण पेस गरी प्रमाणित गराउन सक्नुपर्ने । तायदातीसाथ पेस गरिएका कागजातले आफ्नो निजी ज्ञान, सिप वा प्रयासबाट सम्पत्ति आर्जन गरेको भन्ने तथ्य प्रमाणित भएको नदेखिई राजीनामा लिखतसमेतबाट सम्पत्ति खरिद गरी लिएको देखिएकाले अंशियारहरू एकासगोलमा रहेका अवस्थामा कुनै अंशियारको नाममा खरिद भएकै कारणले त्यस्तो सम्पत्ति निजको मात्र निजी आर्जनको हो भनी प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम अन्यथा प्रमाणित नभएसम्म अनुमान गर्न नमिल्ने” भन्नेसमेत सिद्धान्त प्रतिपादन भएको पाइन्छ । यसैगरी ने.का.प. २०७९ अङ्क ११ निर्णय नम्बर १०९७४ मा “सगोलमा रहँदा सामूहिक प्रयासबाट आर्जित सम्पत्तिमा सबै अंशियारको अंश भाग लाग्ने देखिने । यदि सम्पत्तिको केही भाग निजी थियो भने पनि त्यसलाई सामूहिक सम्पत्तिमा मिसाइयो भने (blended in common stock) सो सम्पत्तिलाई सबै अंशियारको अंश हक लाग्ने सगोलको सम्पत्ति भनी मान्नुपर्ने । यसरी सगोलको सम्पत्तिमा मिसाइएको अवस्थामा निजी आर्जनको सम्पत्तिले समेत सगोलको सम्पत्तिको स्वरूप धारण गर्ने” भन्नेसमेत सिद्धान्त प्रतिपादन भएको पाइन्छ । प्रस्तुत मुद्दामा वादी र प्रतिवादीको सामूहिक प्रयासबाट आर्जन गरिएको रकमले प्रतिवादीको नाममा कित्ता नम्बर १०४ र ३४४२ को जग्गा खरिद गरेको र कित्ता नम्बर २४७ वादीको पैतृक सम्पत्ति सगोलमा रहेको प्रतिवादीलाई बकसपत्र गरिदिएको तथ्य पुष्टि हुन आएकोले उक्त जग्गामा वादीको अंश हक नलाग्ने प्रतिवादीको निजी आर्जनको सम्पत्ति भन्ने भनाई खण्डित हुन पुगेको छ ।
११. साथै अंशियार बाहेकका व्यक्तिबाट बकसपत्र पाएको जग्गालाई निजी आर्जनको सम्पत्ति मान्न सकिने भएतापनि सगोलका अंशियार पतिबाट बकसपत्र प्राप्त गरेको कित्ता नम्बर २४७ को घरजग्गाबाट निज पतिलाई बन्डा नलाग्ने भनी अर्थ गर्नु मनासिब र तर्कसङ्गत हुने देखिँदैन । यस सन्दर्भमा यस अदालतबाट ने.का.प. २०७७ अङ्क ५ निर्णय नम्बर १०५०२ मा “लिखतमा बकसपत्र उल्लेखसम्म गरेको आधारमा मात्र अन्य तथ्य प्रमाण नहेरी सम्पत्ति बन्डा नलाग्ने भनी व्याख्या गर्ने हो भने टाठाबाठा अंशियारले सहजै रूपमा अरू अंशियारहरूलाई निरअंशी बनाउन सक्ने र त्यस्तो कार्य अंशबन्डाको महलको उद्देश्य र भावनाविपरीत हुने” भन्ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ । यसैगरी ने.का.प. २०६२ अङ्क २ नि.नं. ७४९४ मा “प्रतिवादी अन्जुले पाएको जग्गा बकसपत्रको देखिए पनि आफ्नै पत्नीले पतिबाट बकसपत्र पाएको देखिएकोले प्रतिवादी अन्जुको नाममा रहेको सो जग्गा बन्डा गर्न नपर्ने भन्न नमिल्ने” भन्ने र ने.का.प. २०७१ अङ्क ५ नि.नं. ९१६८ मा “एकासगोलका अंशियारबिच एकले अर्कोबाट सगोलको सम्पत्ति बकसपत्र पाएकै अवस्थामा पनि सो सम्पत्तिमा सबै अंशियारको भाग लाग्ने” भन्ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ । उपर्युक्त सिद्धान्तसमेतको रोहमा वादी बिमल चित्रकारले अंशबापत प्राप्त गरेको पैतृक सम्पत्ति आफ्नै पत्नी प्रतिवादी दीपा प्रधान चित्रकारलाई बकसपत्र गरिदिएकै आधारमा सो घरजग्गामा पति/ वादीको अंश हक नलाग्ने र पत्नी/ प्रतिवादीको स्वआर्जनको सम्पत्ति हुने भन्न मिल्ने देखिँदैन । वादीले आफ्नो पैतृक सम्पत्ति घर व्यवहार चलाउने प्रयोजनको लागि पारिवारिक सल्लाहबमोजिम पत्नीलाई बकसपत्रको माध्यमबाट हक हस्तान्तरण गरेको देखिन्छ । उक्त कार्यलाई विधिवत् रूपमा वादीले आफ्नो अंश हक नै परित्याग गरेको भनी मान्न मिलेन । यदि सगोलमा रहेका पत्नी वा छोराछोरीलाई बकसपत्र गरी हक हस्तान्तरण गरिदिएको सम्पत्तिमा हक हस्तान्तरण गर्नेले अंश नपाउने भन्ने हो भने त्यस्तो हक हस्तान्तरण गर्ने व्यक्ति निरअंशी हुनुका साथै सो कार्य अंशबन्डासम्बन्धी प्रचलित कानूनको मर्म र भावनाविपरीत हुने देखिन्छ ।
१२. यसरी माथिका प्रकरणहरूमा विवेचना गरिएबमोजिम साबिक मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. ले एकासगोलका अंशियारहरूले कमाएको धन र लगाएको ऋण सगोलको हुने व्यवस्था गरेको, प्रमाण ऐन, २०३१ को दफा ६क मा “एकाघरसँगका अंशियारमध्ये जुनसुकै अंशियारको नाममा भएको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ” भन्ने कानूनी व्यवस्था रहेको अवस्थामा पति/ वादीले अंशबापत प्राप्त गरेको कित्ता नम्बर २४७ को घरजग्गा पत्नी/ प्रतिवादीलाई बकसपत्र गरिदिएकोमा विवाद छैन । पति/ वादीको नामको कित्ता नम्बर २५ को जग्गा बिक्री गर्दा प्रतिवादीले कुनै उजुरी दाबी गरेको अवस्था छैन । सहकारी संस्थाबाट ऋण लिँदा प्रतिवादी स्वयं साक्षी बसेको अवस्था विद्यमान छ । साथै वादीले प्रतिवादीको नामको बैंक खातामा रकम जम्मा गरिदिएको र सो रकमसमेतबाट प्रतिवादीको नाममा कित्ता नम्बर १०४ र ३४४२ का जग्गाहरू खरिद गरेको देखिएको हुँदा पत्नीको नाममा उक्त घरजग्गा दर्ता रहेकै कारण सो सम्पत्तिमा पति/ वादीको कुनै हक नरहने र पत्नीबाट पतिले अंश नपाउने भन्न मिल्दैन । अंशियारहरू एकासगोलमा रहेको अवस्थामा जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सबै अंशियारले बराबर बन्डा गरी लिन पाउने हुँदा वादी बिमल चित्रकारले अंशबापत पाएको कित्ता नम्बर २४७ को घरजग्गा घरव्यवहार मिलाउनको लागि आफ्नै पत्नी प्रतिवादी दीपा प्रधान चित्रकारलाई हालैदेखिको बकसपत्र गरिदिएको देखिँदा उक्त घरजग्गा सगोलको भइसो घरजग्गासमेतबाट वादीले अंश पाउने नै देखियो ।
१३. जहाँसम्म प्रस्तुत मुद्दामा पुनरावलोकनको अनुमति प्रदान गर्दा ने.का.प. २०६९ अङ्क ८ नि.नं. ८८६९ मा प्रतिपादित सिद्धान्तलाई आधार लिइएको छ सो सम्बन्धमा विचार गर्दा, उक्त मुद्दाको विवादको विषय प्रतिवादी ज्ञानु कुँवरका पतिले आफ्नो पैतृक सम्पत्ति पत्नीलाई बकसपत्र दिएको अवस्था नभई प्रतिवादी ज्ञानुलाई कित्ता नम्बर ८७ को जग्गा मिति २०४६।०३।११ मा उनाउ व्यक्ति श्याम डंगोलले “मेरो हरेक कामकाजमा सहयोग गरी रिझाई आउनुभएबापत हालैदेखिको बकसपत्र गरिदिएँ” भन्ने बेहोरा उल्लेख गरी निजी तवरले हालैदेखिको बकसपत्र गरिदिएको देखिन्छ । सो फरक प्रसङ्गको विवादमा प्रतिपादित सिद्धान्त आफ्नो पैतृक सम्पत्ति पतिले सगोलको पत्नीलाई घर व्यवहार चलाउन बकसपत्र दिएको प्रस्तुत मुद्दाको रोहमा असान्दर्भिक भई आकर्षित हुन सक्ने देखिएन । अतः प्रस्तुत मुद्दामा विवादित घरजग्गा आफ्नो निजी आर्जनको भन्ने प्रतिवादी दीपा प्रधानको जिकिर, निज प्रतिवादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् कानून व्यवसायीहरूले प्रस्तुत गर्नुभएको बहस जिकिर तथा यस अदालतबाट पुनरावलोकनको अनुमति प्रदान गर्दा लिइएको आधारसँग सहमत हुन सकिएन ।
१४. तसर्थ, माथि विवेचित तथ्य, कानूनी व्यवस्था, यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधार र कारणबाट कित्ता नम्बर २४७ को घरजग्गा बन्डा लाग्ने गरी भएको हदसम्म सुरूको फैसला सदर गरी कित्ता नम्बर १०४ र ३४४२ को जग्गा प्रतिवादीको निजी आर्जन ठहर गरेको सुरू ललितपुर जिल्ला अदालको फैसलालाई केही उल्टी गरी कित्ता नम्बर १०४ र ३४४२ को जग्गामा समेत छोरी दुचु चित्रकारको विवाह खर्च पर सारी वादीले प्रतिवादीबाट ३ भागको १ भाग अंश छुट्ट्याई लिन पाउने ठहर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७२।१२।१५ को फैसला सदर हुने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।१२।०९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत फैसलाको प्रति यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी फैसलाको पिठमा जनाउनू । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी सुरू तथा रेकर्ड मिसिलहरू सम्बन्धित अदालतमा फिर्ता पठाई प्रस्तुत मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा मेरो सहमति छ ।
न्या. बालकृष्ण ढकाल
माननीय न्यायाधीश डा. श्री कुमार चुडालको रायः
१. प्रस्तुत मुद्दामा पुनरावेदकको जिकिरका सम्बन्धमा कित्ता नम्बर १०४ र ३४४२ का हदसम्ममा समान राय भएकोले सो सम्बन्धमा थप विवेचना नगरिएको तर प्रतिवादी दीपा प्रधान चित्रकारको नाउँमा रहेको कित्ता नम्बर २४७ को घरजग्गासमेतबाट वादीले ३ भागको १ भाग अंश पाउने ठहर गरेको माननीय न्यायाधीशहरूको उपर्युक्तबमोजिमको बहुमत रायसँग सहमत हुन नसकेकोले देहायबमोजिम आफ्नो राय छुट्टै व्यक्त गरेको छुः-
२. प्रस्तुत सम्बन्धमा कित्ता नम्बर २४७ को हकमा देहायका सवालहरूको विवेचना गरी न्यायिक निष्कर्षमा पुग्नुपर्ने देखिन्छ ।
क) पतिले पत्नीतर्फ आफ्नो हकको सम्पत्ति हालैको बकसपत्र गरी दिएको सम्पत्ति सम्बन्धमा प्रचलित कानूनहरू के कस्ता रहे भएको देखिन्छ ?
ख) यस्तो सम्पत्ति सम्बन्धमा यस अदालतका व्याख्या एवम् नजिर सिद्धान्तहरू के कस्ता रहे भएको देखिन्छ ?
ग) यस्तो सम्पत्तिका सम्बन्धमा प्रचलित ऐन, कानून एवम् नजिर सिद्धान्त के कस्तो विधिशास्त्र (Jurisprudence) बाट निर्देशित भएको देखिन्छ ?
घ) कित्ता नम्बर २४७ को जग्गा पतिलाई समेत अंश लाग्ने (Reverse) गरी भएको फैसला मिलेको छ छैन ?
३. अब, पहिलो सवालका सम्बन्धमा हेर्दा, ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ७ कित्ता नम्बर २४७ को क्षेत्रफल ०-४-०-१ को घरजग्गा वादी बिमल चित्रकारले अंशबापत प्राप्त गरेको र प्रतिवादी दीपा प्रधान चित्रकारलाई रजिस्ट्रेसन नम्बर २७२क बाट मिति २०६९।०४।१७ मा हालैदेखिको बकसपत्र लिखत पारित गरी हक हस्तान्तरण गरेको भन्नेमा विवाद देखिँदैन । साबिक मुलुकी ऐन, स्त्री अंशधनको महलको १ नं. मा “कन्या, सधवा वा विधवा स्वास्नीमानिसले आफ्नो आर्जनको चल अचल आफ्नो खुस गर्न पाउँछन्” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । यसैगरी ऐ. महलको ४ नं. मा “...लोग्ने वा लोग्नेपट्टीका अंशियारले सबै अंशियारहरूको मन्जुरीको लिखत गरिदिएको र लोग्नेपट्टीका अरू नातेदार वा इष्टमित्रले दिएको चल अचल र त्यसबाट बढे बढाएको सम्पत्ति पेवा ठहर्छ” भन्ने तथा ऐ. को ५ नं. मा “स्वास्नी मानिसले आफ्नो दाइजो पेवा आफूखुस गर्न पाउँछन्” भन्नेसमेत कानूनी व्यवस्था रहेको पाइन्छ । हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ को उपदफा (१) को खण्ड (ज) को कानूनी व्यवस्था हेर्दा “महिलालाई पति वा पतितर्फका सबै अंशियारहरूको मन्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरिदिएको वा पतितर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति” निजी सम्पत्ति मानिने कानूनी व्यवस्था रहेको पाइन्छ । त्यस्तै प्रकारले दफा २५७ ले सगोलको सम्पत्ति मानिने अवस्थाहरूसमेतको उल्लेखन गरेको देखिन्छ । सो दफा २५७ को उपदफा (१) ले निजी मानिने अवस्था बाहेकको सम्पत्तिको सूची निर्धारण गर्दै उपदफा (३) ले “यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाबु आमा र छोरा छोरीबिच अंशबन्डा गर्ने प्रयोजनको लागि बाबु आमाले आर्जन गरेको सम्पत्तिसमेत सगोलको सम्पत्ति मानिने छ ।” भन्ने व्यवस्था गरेको पाइन्छ । यस कानूनी व्यवस्थाले बाबु आमाको नामको जुनसुकै प्रकारको सम्पत्ति छोरा छोरीको लागि सगोलको हुने तर पत्नीको निजी सम्पत्ति पतिका लागि सगोलको भन्न नसकिने अवस्था रहेको देखिन्छ ।
४. उपर्युक्तानुसार साबिक मुलुकी ऐन, २०२० र हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ को पति र पत्नीको निजी आर्जन र सगोलको सम्पत्ति सम्बन्धमा स्पष्ट फरक (Crystal difference) व्यवस्था गरेको देखिन्छ । अर्थात् विवाहित महिलाले माइतीबाट प्राप्त सम्पत्ति (दाइजो) र पतिको घरबाट वा नातेदार इष्टमित्रबाट सम्पत्ति (पेवा) प्राप्त गर्न सक्ने कानूनी व्यवस्था समाजको विकासक्रम, सामाजिक चरित्र, बाबुआमाको घर छाडी पतिको घर जानुपर्ने सामाजिक रीतिस्थिति, व्यवहार बन्धनसमेतका तमाम आधारभूत कडीहरूको जगमा उक्त कानूनी व्यवस्था क्रियान्वित भएको देखिन्छ । यस्ता वास्तविक अवस्थालाई मध्येनजर गर्दै प्रचलित मुलुकी देवानी संहिता, २०७४ का दफा २५६ र २५७ समेतका व्यवस्थाहरू साबिक मुलुकी ऐन, २०२० का निरन्तरताका कानूनी व्यवस्थाहरूका रूपमा भएको पाइन्छ । पति र पत्नीका सम्बन्धमा भएको यस्तो फरक कानूनी व्यवस्था मूलतः सामाजिक मूल्य मान्यता (Social Values), महिलालाई प्रदत्त संरक्षणात्मक अधिकार (Protective Right), सकारात्मक विभेदको आवश्यकता (Essentiality of Positive Discrimination)समेतमा आधारित रहेको पाइन्छ ।
५. कानून व्याख्याको सैद्धान्तिक सारसमेत हेर्दा समग्र कानूनको व्याख्या गर्दा व्याख्याको शाब्दिक नियम (Literal Rule of Construction), सुनौलो व्याख्याको नियम (Golden Rule of Interpretation), कानून व्याख्याको दुष्कृतिको नियम (Mischief Rule of Interpretation of Law) समेतका कोणबाट प्रस्तुत स्त्री अंशधनको महल एवम् प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ र २५७ का व्यवस्थाहरूको व्याख्याको कोणबाट पति र पत्नीको सम्पत्तिमा फरकपना ल्याई पतिले आफ्नो हक पत्नीलाई त्याग गर्न सक्ने कानूनी व्यवस्था गरेको भनी उक्त कानूनहरूको व्याख्या गर्नुपर्ने देखिन्छ ।
६. अब दोस्रो सवालतर्फ विचार गर्दा पतिले पत्नीलाई प्रदान गरेको सम्पत्तिमा पतिको हकाधिकार सम्बन्धमा यस अदालतले अवलम्बन गरेका विधिशास्त्र (Jurisprudence) समेत प्रस्तुत सन्दर्भमा विवेचनायुक्त अवस्थामा रहेको पाइन्छ । अंशबन्डासम्बन्धी कानून एवम् सर्वोच्च अदालतबाट भएका व्याख्याहरू एवम् नजिर सिद्धान्तसमेतबाट कुनै अंशियारका नाममा रहेको सम्पत्ति प्रमाणिक रूपमा निजी ठहरिनेबाहेक अन्य अवस्थामा त्यस्तो सम्पत्ति प्राप्त गर्ने लिखतको बेहोरा राजीनामा वा बकसपत्र जे बेहोरा भए तापनि सगोलको सम्पत्ति भई बन्डा लाग्ने भन्ने रहेको पाइन्छ । साथै अन्य अंशियारसमेतको हक लाग्ने सम्पत्ति कुनै अंशियारका नाममा राजीनामा वा बकसपत्रलगायतका बेहोराबाट प्रदान हुने बित्तिकै बन्डा नलाग्ने भन्न सकिने अवस्था रहन्न । वस्तुतः सम्पत्ति प्राप्तिका बखत भएको लिखत बेहोरा एवम् अन्य अंशियारको समेत हक लाग्ने सम्पत्ति कुनै अंशियारका नाममा हस्तान्तरित भएको स्थितिमा सगोलको सम्पत्ति नमान्दा सगोलको सम्पत्तिसम्बन्धी अंशबन्डाको कानून नै प्रकारान्तरले निस्तेज बन्न पुग्दछ । अतएवः लिखतको बेहोरा तत् अवस्थामा निर्धारक नभई हक हस्तान्तरण गर्ने सगोलका दाताको स्वयंको हक अन्य अंशियारको उपस्थिति वा सहमति एवम् तमाम अवस्थाको विश्लेषणबाट निर्क्यौल निकाल्नुपर्ने हुन्छ । अब, यस्तो स्थितिमा अरू कसै हकवाला नभएको अचल सम्पत्ति आफ्नो हकाधिकार रहे भएको पतिले पत्नीलाई आफ्नो हक छोडेको बेहोरा खुलाई प्रदान गर्दछ भने पुन सो सम्पत्तिमा दाबी (Reverse Claim) गर्न सक्दछ वा सक्दैन भन्ने सवाल देखिन आउँछ । पुनर्दाबी (Reverse Claim) प्रभावकारी हुने सम्बन्धमा मुख्यतः केही अवस्थाहरूको विद्यमानताका आधारमा तय गरिने गरिन्छ । हकाधिकार नै नभएको (Lack of legal entity); अरू कसैको पनि हकाधिकार निहित रहेकोमा नजरअन्दाज वा हटक (Oversight or deliberate exclusion legal heir); दवाव वा अनुचित प्रभाव (Coercion or undue influence); कानून निषिद्ध लिखत (Legally defect deed or statutary limitation) जस्ता अवस्थाहरू विद्यमान भएमा Reverse Claim हुन सक्ने हुन्छ । अन्यथा त्यस्तो लिखत मान्य र प्रभावकारी हुन जाने हुन्छ । जसलाई विबन्धनको सिद्धान्त (Doctrine of Estoppel) समेतको रूपमा परिभाषित गर्न सकिन्छ ।
७. यस सम्बन्धमा यस अदालतको पूर्ण इजलासबाट राजेन्द्रलाल श्रेष्ठसमेत विरूद्ध रवि विक्रम शाहको मुद्दा सकार गर्ने भावना शाह भएको लिखत बदर मुद्दामा (सर्वोच्च अदालत बुलेटिन २०६० पूर्णाङ्क २८१ वर्ष १२ अङ्क २३ चैत्र) कसैबाट निजी तवरले बकस पाएको सम्पत्ति सो पाउने अंशियारको निजी ठहरी आफूखुस गर्न पाउने, एकासगोलमा रहेका अंशियारहरूबिच पनि निजी आर्जनको रूपमा सम्पत्ति रहन सक्ने र त्यस्तो निजी आर्जन आफूखुस गर्न पाउने भन्ने व्याख्या भएको देखिन्छ । त्यस्तै भरतराज जोशी विरूद्ध ज्ञानुबाबा जोशीसमेत भएको अंशचलन मुद्दामा (ने.का.प. २०५७ अङ्क २ नि.नं. ६८५४) पति साक्षी बसी ससुराले पत्नीलाई प्रदान गरेको सम्पत्ति कि.नं. ४७८ को जग्गामा पतिको अंश हक नलाग्ने व्याख्या भएको पाइन्छ ।
८. अब प्रस्तुत मुद्दाका सम्बन्धमा हेर्दा कि.नं. २४७ को जग्गा प्रतिवादी बिमल चित्रकारले निजको हकको सम्पत्ति मिति २०६९।०४।१७ पत्नी छोरी बाहेक अन्य कोही अंशियारको हक नभई पतिले आफ्नो हकसम्मको सम्पत्ति हालैको बकसपत्रको लिखतद्वारा पत्नीलाई प्रदान गरेको देखिन्छ । उक्त सम्पत्ति छोरीका हकमा सगोल भएको भए तापनि हालैको बकसपत्र गरिदिने पति बिमल चित्रकारको Reverse Right रहन्छ वा रहँदैन भन्ने विवेचना हुनुपर्ने देखिन्छ । प्रमाणिक निजी ठहर्नेबाहेक सगोल अंशियारका नाममा रहेको जुनसुकै लिखत बेहोराका सम्पत्ति सगोल हुने, छोरा छोरीका हकमा बाबु आमाको सम्पत्ति सगोल हुने सम्बन्धमा थप विवेचना गर्न परेन । साथै साबिक मुलुकी ऐनको स्त्री अंशधनसम्बन्धी महल एवम् प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ एवम् दफा २५७ ले पत्नीलाई पतिभन्दा केही खास अवस्थामा फरक व्यवस्था गरेको कानूनी परिचर्चा माथि प्रकरणमा गरी सकिएको छ । तत् अवस्थाबाट पति बिमल चित्रकारले आफ्नो हकको हिस्सा राजीखुसीले लिखतमा हक हस्तान्तरणको बेहोरा जनाई पत्नीलाई प्रदान गरेको हिस्सामा Reverse Claim Right हुन गएमा पत्नी महिलालाई पति पुरूषको भन्दा फरक तवरका कानूनी व्यवस्थाका रूपमा रहेको साबिक मुलुकी ऐन, स्त्री अंशधनको महल एवम् प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ र दफा २५७ नै निष्क्रिय एवम् निस्तेज हुने देखिएको र कानून व्याख्याका सिद्धान्तहरू प्रतिकूल हुने भएको एवम् समन्यायको कोणबाट बिमल चित्रकार निरअंशी हुने अवस्थासमेत नदेखिएकोले विवादको कित्ता नम्बर २४७ मा बिमल चित्रकारको हकका हदसम्म प्रतिवादी दिपा चित्रकारको निजी आर्जन हुने ठहर्छ । मेरो उक्त राय अल्पमतमा परेकोले अन्य केही बोलिरहन परेन ।
इजलास अधिकृत (उपसचिव):- कृतिबहादुर बस्नेत
इति संवत् २०८१ साल असार १३ गते रोज ५ शुभम् ।