निर्णय नं. ११४४९ - लिखत बदर
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल
फैसला मिति : २०८१।०१।३१
०७४-CI-००१०
मुद्दा:- लिखत बदर
पुनरावेदक / वादी : आसलाल प्रजापतिको नाति तिर्थराज प्रजापतिको छोरा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१ को परिवर्तित हाल ऐ.ऐ. वडा नं.९ बस्ने गोपालकृष्ण प्रजापति
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : धिज नर सिं. प्रजापतिको नाति आसलाल प्रजापतिको छोरा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१ बाट ऐ.ऐ. वडा नं.९ लिवाली बस्ने तिर्थराज प्रजापतिसमेत
जग्गाको प्रकृति र जग्गा अवस्थित रहेको स्थानको आधारमा पनि जग्गाको महत्त्व र मूल्य घटी बढी रहेको हुने । घरव्यवहार चलाउने व्यक्तिले बिक्री वितरण गरेको सम्पत्ति आफूसँग भएको जग्गाको सम्पूर्ण क्षेत्रफलको आधारमा आधाभन्दा कम बिक्री वितरण गरेको भए पनि मूल्य, महत्त्व तथा उपभोगको दृष्टिले बिक्री वितरण गरेको जग्गाको महत्त्व बढी रहेको हुन सक्ने कारण घरव्यवहार चलाउने प्रयोजनको लागि बेचबिखन गर्दा आफूसँग रहेको जग्गाको आधाभन्दा घटी वा बढी के कति बिक्री गरेको छ भनी हेर्दा क्षेत्रफललाई मात्र नहेरी जग्गाको मूल्यलाई समेत हेर्नुपर्ने ।
(प्रकरण नं.७)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रामकृष्ण निराला, विद्वान् अधिवक्ताद्वय श्री चन्द्रमणी पौडेल र श्री भिष्मराज कडरिया
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री हरिराम लवजु र श्री प्रमिला रंजित
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः-
मा.जिल्ला न्यायाधीश श्री गिरिराज गौतम
भक्तपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे
उच्च अदालत पाटन
फैसला
न्या.बालकृष्ण ढकाल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम अदालतबाट मुद्दा दोहोर्याई हेर्ने अनुमति प्राप्त गरी पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ ।
संक्षिप्त तथ्य
विपक्षीमध्येका तिर्थराज प्रजापती म वादीको पिता र पूर्णलक्ष्मी प्रजापती आमा हुन् । पिता तिर्थराज प्रजापती र आमा पूर्णलक्ष्मी प्रजापतीका तर्फबाट तीन छोराहरू जेठो म फिरादी गोपालकृष्ण प्रजापती, माहिलो ज्ञानेन्द्र प्रजापती तथा कान्छो राजाराम प्रजापती हुन् । आमा बुबाको तर्फबाट छोरीहरू माया प्रजापती, मायाकेशरी प्रजापती र रिना प्रजापतीसमेत जना ३ भएकोमा निजहरूको विवाहदान भइसकेको छ । हामीहरू जम्मा ५ अंशियार रहेको र हालसम्म पनि अंशबन्डा नभएकोमा मेरो अंशहक मार्ने नियतले म बसी आएको जिल्ला भक्तपुर नगरपालिका वडा नं १ कि.नं. १६३ क्षे.फ. ०-०-२-२ मा बनेको घर प्रतिवादी पिता तिर्थराज प्रजापतीले विपक्षीमध्येका कृष्णमोहन सुवाल र नारायणमान सुवाललाई संयुक्त रूपमा र.नं. ३४३३(ङ) मिति २०७२।३।१० मा राजीनामा पारित गरिदिएको कुरा मिति २०७२।३।१७ मा नक्कल लिई हेर्दा थाहा पाएकोले उक्त वडा नं १ कि.नं. १६३ क्षे. ०-०-२-२ मा बनेको घरमध्ये पूर्वतर्फ पाँच भागको एक भाग र.पा. लिखत बदर गरी मेरो नाममा कायम गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी ।
वादीले फिरादमा उल्लेख गरेको जग्गा एकासगोलको ऋण तिर्नका लागि बिक्री गरेको हो । वादीको अंशहक मार्ने नियतले बिक्री वितरण गरेको छैन । अझै पनि ऋण तिर्न बाँकी नै भएकाले सो ऋण तिर्नबाट जोगिनका लागि वादीले प्रस्तुत झुट्टा बेहोराको फिराद दिएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी तिर्थराज प्रजापतीको प्रतिउत्तर जिकिर ।
विपक्षी वादीले फिराद मागदाबी लिएको लिखत मिति २०७२।३।१० मा र.नं. ३४३३(ङ) को भक्तपुर जिल्ला भ.न.पा. वडा नं १ कि.नं. १६३ क्षे.फ. ०-०-२-२ मा बनेको घर जग्गा खरिद गरी लिएको अवस्था हो । यसमा वादीका पिता घरको मुख्य व्यक्ति प्रतिवादीमध्येका तिर्थराज प्रजापतिले घर व्यवहार चलाउनका लागि र ऋण तिर्नका लागि प्रस्तुत घर जग्गा बिक्री वितरण गरेकाले फिराददाबीबमोजिम लिखत बदर हुनुपर्ने होइन । वादीको प्रस्तुत फिराद दाबी खारेज गरी न्याय गरिपाउँ भन्नेसमेत बेहोराको कृष्णमोहन सुवाल र नारायणमान सुवालको संयुक्त प्रतिउत्तर जिकिर ।
यी प्रतिवादीहरूका बिचमा मिति २०७२।३।१० र.नं. ३४३३(ङ) बाट भएको लिखतको घर जग्गामा यी वादीको अंशहक निहित रहेको र सो लिखतमा यी वादीको मन्जुरी नरहेको र लगाउको अंश मुद्दामा देखिएको सम्पत्तिको मूल्याङ्कन र विवादको लिखतको मूल्याङ्कन असमान रहेको अवस्थामा विवादको लिखत नरम गरम मिलाई वादीको ५ भागको १ भाग भाग लिखत बदर हुने गरी ५ भागको १ हकदर्ता कायम हुने ठहर्छ भन्ने सुरू भक्तपुर जिल्ला अदालतको मिति २०७३।०१।०९ को फैसला ।
वादी छोरासमेत सगोलमा रहेको सँगै रहेबसेको घर मर्मत गर्न र परिवारको खर्च बेहोर्न लिएको ऋण तिर्नका लागि उक्त विवादित घर बिक्री गरेको हो । उक्त घर बिक्री गर्दासमेत केही ऋण तिर्न बाँकी रहेको र सो ऋण तिर्न पर्ला भनेर झुट्टो कहानी कल्पेर मुद्दा दायर गरेको अवस्था हो । घर व्यवहार चलाउन घरको मुख्य व्यक्तिले आफ्नो नाउँमा दर्ता रहेको सम्पत्तिमध्ये आधा सम्पत्ति बेचबिखन गर्न सक्ने मुलुकी ऐन, अंशबन्डाको महलको दफा १९(१) ले गरेको व्यवस्थालाई व्याख्या गर्दा मूल्यको अनुपातमा व्याख्या गर्ने नभई बाँकी रहेको समान प्रकृतिको के कति क्षेत्रफलको घर जग्गा बाँकी छ भन्ने विवेचना गरी सो क्षेत्रफलको आधारमा अंशबन्डाको १९(१) व्याख्या गर्नुपर्नेमा भक्तपुर जिल्ला अदालतले तायदातीमा लेखाएको मूल्य र बिक्री गरेको घरको मूल्यको विवेचना गरी कानून प्रतिकूल इन्साफ गरेको देखियो । मैले बिक्री गरेको भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. १ कि.नं. १६३ को क्षेत्रफल ०-०-२-२ को घर रहेको र सो वडा नं. १ को घरभन्दा पनि महत्त्वपूर्ण वडा नं. २ को हाल बसोबास गरी आएको घरको क्षेत्रफल ०-२-०-२ र कि.नं. ८७१ को ३ नाले घरसमेतको क्षेत्रफल हेर्ने हो भने बिक्री गरेको भन्दा ६ गुणाभन्दा बढी रहेको अवस्था छ । तायदातीमा लेखिएको मूल्यलाई आधार मानी गरेको फैसला अंशबन्डाको १९(१) नं.को र दण्ड सजाय महलको २६ नं.समेतको प्रतिकूल भई बदरभागी भएकोले बदर गरी पुनरावेदन जिकिर एवम् प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्ने प्रतिवादी तिर्थराज प्रजापतीसमेतको उच्च अदालत पाटनमा परेको पुनरावेदन ।
दाता तिर्थराजबाट घर जग्गा खरिद गरेकोमा उक्त घर जग्गाको स्रोत हेर्दा अपुतालीबाट प्राप्त गरेको देखिन्छ । अपुताली परी प्राप्त भएको सम्पतिमा अंशबन्डाको १८ नं. ले बन्डा नलाग्ने आफूखुस गर्न पाउने भई मलाई बिक्री गरेको हो । त्यस्तै अंशबन्डाको १९(१) ले समेत घरको मुख्य व्यक्तिले घर व्यवहार चलाउन आधासम्म सम्पत्ति बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यस्तो कानूनी व्यवस्था भएकोमा मेरो दाताले आधा सम्पत्तिभन्दा धेरै कम ०-०-२-२ मा बनेको कि.नं. १६३ को घर जग्गा मलाई विपक्षी वादीसमेत सगोलमा रहेको घरको घरायसी ऋण तिर्न र भूकम्पले क्षति भएको घर मर्मत गर्न एकाघरकी दाताकी श्रीमती साक्षी किनारामा बसी रजिस्ट्रेसन पारित गरिदिनुभएको हो । कानूनी आधारबमोजिम हामी पुनरावेदकहरूले खरिद गरेको भक्तपुर जिल्ला, भ.न.पा. वडा नं. १ को कि.नं. १६३ को घरजग्गा मिति २०७२/३/१० मा र.नं. ३४३३ (ङ) बाट पारित राजीनामा लिखत बदर हुन नसक्ने भएकोले बुझ्नुपर्ने प्रमाण नबुझी, नबुझ्नुपर्ने प्रमाण ग्रहण गरी लिखत बदर हुने ठहर्याएको सुरू भक्तपुर जिल्ला अदालतको फैसला कानूनी रूपले त्रुटिपूर्ण र कानूनका मान्य सिद्धान्तहरूसमेतविपरीत भएको हुँदा उल्टी गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी कृष्णमोहन सुवालसमेतको उच्च अदालत पाटनमा परेको संयुक्त पुनरावेदन ।
यसमा यिनै प्रत्यर्थी वादी र प्रतिवादीमध्येका तिर्थराज प्रजापतीसमेत प्रतिवादी भएको ०७२-CP-००३३ को अंश चलन मुद्दामा पेस भएको तायदाती फाँटवारीबाट प्रस्तुत मुद्दाको विवादित लिखत खडा हुँदाको अवस्थामा प्रतिवादी तिर्थराज प्रजापतीको नाउँमा विवादित मुद्दाको लिखतको घरजग्गाभन्दा बढी नै घरजग्गा बाँकी रहेको भन्ने देखिन आएकोले वादी दाबीअनुसार लिखत बदर हुने ठहर्याएको सुरू फैसला मुलुकी ऐन, अ.बं. २०२ नं.बमोजिम छलफलका लागि उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम प्रत्यर्थी वादीका नाममा म्याद सूचना जारी गरी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत पाटनबाट मिति २०७३।०७।२२ को आदेश ।
वादी दाबीबमोजिम प्रतिवादीहरूको बिचमा मिति २०७३/३/१० मा र.नं. ३४३३(ङ) बाट पारित राजीनामाको लिखतमध्ये ५ भागको १ भाग बदर हुने ठहर्याएको सुरू भक्तपुर जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा उल्टी भई वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७३।०९।२५ मा भएको फैसला ।
सुरू जिल्ला अदालतले लगाउको अंशचलन मुद्दामा विपक्षीले पेस गरेकै तायदाती मूल्याङ्कन र प्रस्तुत मुद्दाको लिखतमा यकिन भएको मूल्याङ्कनलाई आधार मानी पक्ष विपक्षको तथ्य बुझी भएको फैसलालाई उल्टी हुने गरी विपक्षीको पुनरावेदन दाबी मात्रलाई हेरी भए गरेको फैसला गम्भीर त्रुटिपूर्ण छ । बिक्री गरेको जग्गाको मूल्य पनि विपक्षीले नै देखाई लेखाइदिएका हुन् भने अंशबन्डा गर्न बाँकी सम्पतिको मूल्य पनि विपक्षीले नै लेखाई देखाई दिएका हुन् । विपक्षीले लेखाई देखाई दिएकै मोल बिगोबमोजिम सुरू जिल्ला अदालतबाट न्यायोचित फैसला भएको छ । त्यसलाई प्रभाव पार्नकै निमित्त विपक्षीले पुनरावेदनमा जग्गाको मूल्य परिवर्तन गरी फरक र काल्पनिक मूल्य कायम गरी आफूअनुकूल मन लागि ढंगले अदालतलाई गुमराहमा पारी पुनरावेदन गरेको अवस्था छ । पुनरावेदन गर्दा सफा हात र शुद्ध मनका साथ अदालतमा प्रवेश नगरेको विपक्षीलाई सहयोग गरी सुरू फैसला उल्टी हुने गरी भए गरेको फैसला स्थापित सिद्धान्तसमेतको बर्खिलाप छ । विपक्षीले आफूअनुकूल एउटै विषयमा फरक फरक बेहोरा उल्लेख गरेकै आधारलाई मानी स्वीकार गरी, अन्तिम भइसकेको फैसलालाई समेत गम्भीर असर पर्ने गरी त्यसबाट के कस्तो असर प्रभाव पर्छ भन्ने विश्लेषणसमेत नगरी भए गरेको उच्च अदालतको फैसला बदर गरी सुरू जिल्ला अदालतको न्यायसङ्गत फैसला कायम गरी न्याय इन्साफ पाउन साबिक न्याय प्रशासन ऐन, २०४८ तथा हालको संशोधित न्याय प्रशासन ऐन, २०७३ दफा १२ को उपदफा १ को खण्ड (क), (ख) का आधारमा यो निवेदन गर्न आएको छु । मुद्दा दोहोर्याई हर्न अनुमति प्रदान गरी उच्च अदालत पाटनको फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको गोपालकृष्ण प्रजापतिले यस अदालतमा पेस गरेको निवेदन ।
यसमा वादी अंशियार देखिई अंश पाइसकेको अवस्था देखिँदैन । कि.नं. १६३ को विवादित ०-०-२-२ जग्गा र सो मा बनेको घरको मूल्य रू.२५,००,०००।- (पच्चीस लाख रूपैयाँ) र अन्य बाँकी सम्पत्ति पेस भएको तायदाती फाँटवारीअनुसार रू. १५,००,०००।- (पन्ध्र लाख रूपैयाँ) देखिएको छ । आफ्नो हक गएको भनी लेनदेन व्यवहारको १० नं.बमोजिम म्यादभित्रै लिखत बदरमा वादीको दाबी परेको अवस्था देखिन्छ । यस्तो अवस्थामा वादी दाबी नपुग्ने गरी भएको उच्च अदालत पाटनको फैसला अंशबन्डाको १९(१) लेनदेन व्यवहारको १० नं., अदालती बन्दोवस्तको १८४क., प्रमाण ऐन, २०३१ को दफा ३, ५४ समेतको व्यवस्थाको प्रतिकूल भएको देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा १ खण्ड (क) जमाजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिदिएको छ । नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७४।०३।१९ मा भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन गरी निम्नबमोजिको बहससमेत सुनियो ।
पुनरावेदक/वादीको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री रामकृष्ण निराला, विद्वान् अधिवक्ताद्वय श्री चन्द्रमणी पौडैल र श्री भिष्मराज कडरियाले हाम्रो पक्षको अंश हक लाग्ने सम्पत्ति निजको मन्जुरीबिना बिक्री वितरण गरेको र जग्गा बिक्रीबाट प्राप्त रकम के कुन प्रयोजनका लागि खर्च भएको हो भन्ने कुराको जानकारीसमेत पक्षले थाहा नपाएको अवस्था रहेकोले पारित भएको लिखतको पाँच भागको एक भाग बदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
त्यसैगरी प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट विद्वान् अधिवक्ताद्वय श्री हरिराम लवजु र श्री प्रमिला रंजितले हाम्रो पक्षले जग्गा बिक्री गर्दा वादीको सम्पुर्ण हक जाने गरी बेचबिखन गरेको होइन घरको मुख्य व्यक्ति भएको हुनाले घरव्यवहार चलाउनका लागि सम्पूर्ण सम्पत्तिको आधाभन्दा कम सम्पत्ति मात्र बिक्री गरेको हुँदा उच्च अदालतले लिखत बदर नहुने भनी गरेको फैसला सदर गरिपाउँ भनी भनी बहस प्रस्तुत गर्नुभयो ।
उल्लिखित बहससमेत सुनी उच्च अदालत पाटनले गरेको फैसला मिलेको छ छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा, मेरो अंश हक लाग्ने सम्पत्ति भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं १ कि.नं. १६३ क्षे.फ. ०-०-२-२ घरजग्गासमेत मेरो अंशहक मार्ने नियतले प्रतिवादी पिता तिर्थराज प्रजापतीले विपक्षीमध्येका कृष्णमोहन सुवाल र नारायणमान सुवाललाई संयुक्त रूपमा राजीनामाको लिखत पारित गरिदिएकोले पारित राजीनामा लिखतमध्येबाट ५ खण्डको १ खण्ड बदर गरी सो १ खण्ड म वादीको नाममा दा.खा. दर्ता हुने ठहर गरी फैसला गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी रहेकोमा वादीको अंशहक मार्ने नियतले बिक्री वितरण गरेको छैन । अझै पनि ऋण तिर्न बाँकी नै भएकाले सो ऋणसमेतका लागि घर व्यवहार प्रयोजनले बिक्री गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी तिर्थराज प्रजापती र घरको मुख्य व्यक्ति प्रतिवादीमध्येका तिर्थराज प्रजापतिले घर व्यवहार चलाउनको लागि प्रस्तुत घरजग्गा बिक्री गरेकाले फिराद दाबीबमोजिम लिखत बदर हुनुपर्ने होइन भन्नेसमेत कृष्णमोहन सुवालसमेतको संयुक्त प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा विवादित जग्गामा दाबीको ५ भागको १ भाग लिखत बदर भई हकदर्तासमेत कायम हुने ठहर्छ भन्ने सुरू भक्तपुर जिल्ला अदालतबाट भएको फैसला उपर चित्त नबुझाई प्रतिवादी कृष्णमोहन सुवालसमेत तथा तीर्थराज प्रजापतिसमेतको छुट्टाछुट्टै उच्च अदालत पाटनमा पुनरावेदन परेकोमा वादी दाबीबमोजिम प्रतिवादीहरूको बिचमा मिति २०७३/३/१० मा र.नं. ३४३३(ङ) बाट पारित राजीनामाको लिखतमध्ये ५ भागको १ भाग बदर हुने ठहर्याएको सुरू भक्तपुर जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा उल्टी भई वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट फैसला भएकोमा सो फैसलाउपर वादी गोपालकृष्ण प्रजापतिले यस अदालतमा मुद्दा दोहोर्याई हेर्ने अनुमति पाउँ भनी दिएको निवेदनमा मुद्दा दोहोर्याई हेर्ने अनुमति पाइ प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा दर्ता भई पेस हुन आएको देखियो ।
३. पिता तिर्थराज प्रजापती र आमा पूर्णलक्ष्मी प्रजापतीका तर्फबाट हामी तीन छोराहरू जेठो म फिरादी गोपालकृष्ण प्रजापती, माहिलो ज्ञानेन्द्र प्रजापती तथा कान्छो राजाराम प्रजापती हुन् । छोरीहरू माया प्रजापती, मायाकेशरी प्रजापती र रिना प्रजापतीसमेत जना ३ भएकोमा निजहरूको विवाहदान भइसकेको छ । हामीहरू जम्मा ५ अंशियार रहेको र हालसम्म पनि अंशबन्डा नभएकोमा मेरो अंशहक मार्ने नियतले मसमेत बसी आएको जिल्ला भक्तपुर नगरपालिका वडा नं १ कि.नं. १६३ क्षे.फ. ०-०-२-२ मा बनेको घर प्रतिवादी पिता तिर्थराज प्रजापतीले विपक्षीमध्येका कृष्णमोहन सुवाल र नारायणमान सुवाललाई संयुक्त रूपमा बेचबिखन गरेकोले सो लिखतको पाँच भागको एक भाग लिखत बदर गरी मेरो नाममा कायम गरिपाउँ भनी गोपाल कृष्ण प्रजापतिको फिराद दाबी रहेकोमा मैले वादीले फिरादमा उल्लेख गरेको जग्गा एकासगोलको ऋण तिर्नका लागि बिक्री गरेको हुँ । वादीको अंशहक मार्ने नियतले बिक्री वितरण गरेको छैन । अझै पनि ऋण तिर्न बाँकी नै भएकाले सो ऋण तिर्नबाट जोगिनका लागि वादीले प्रस्तुत झुट्टा बेहोराको फिराद दिएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी तिर्थराज प्रजापतीको प्रतिउत्तर जिकिर रहेको देखिन्छ ।
४. प्रतिवादी तिर्थराज प्रजापतीले जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं १ कि.नं. १६३ क्षे.फ. ०-०-२-२ मा बनेको घरसमेत र.नं.३४३३ङ मिति २०७२।३।१० मा कृष्णमोहन सुवाल तथा नारायणप्रसाद सुवाललाई संयुक्त रूपमा राजीनामापास गरिदिएको देखिन्छ । प्रतिवादी तिर्थराज प्रजापतीको एकाघरमा निजकी श्रीमती पूर्णलक्ष्मी प्रजापती र निजहरूका छोराहरू गोपालकृष्ण प्रजापती, ज्ञानेन्द्र प्रजापती र राजाराम प्रजापतीसमेत जम्मा पाँच जना अंशियारहरू रहे भएको देखिन्छन् । तिर्थराज प्रजापतीले आफ्नो नाममा रहेको घरजग्गा कृष्णमोहन सुवालसमेतलाई बेचबिखत गर्दा राजीनामाको लिखतमा यी वादी गोपालकृष्ण प्रजापतीलाई साक्षी राखेको तथा निजको मन्जुरीसमेत लिएको देखिन आएन ।
५. गोपालकृष्ण प्रजापतीले तिर्थराज प्रजापतीसमेत विरूद्ध भक्तपुर जिल्ला अदालतमा दिएको अंश मुद्दामा प्रतिवादी तिर्थराज प्रजापतीले पेस गरेको तायदाती फाँटवारीमा सम्पूर्ण अचल सम्पत्तिको मूल्य रू. १५,००,०००।- भनी पेस गरेको र यस मुद्दाका वादी गोपालकृष्ण प्रजापतीको नाममा र अन्य अंशियारहरूका नाममा समेत कुनै सम्पत्ति रहे भएको देखिँदैन । प्रतिवादी तिर्थराज प्रजापतीले कृष्णमोहन सुवालसमेतलाई बिक्री गरेको जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १ कि.नं. १६३ क्षे.फ. ०-०-२-२ मा बनेको घरसमेत मूल्य राजीनामाको लिखतमा रू.२५,००,०००।- उल्लेख भएको देखिन्छ । यसरी प्रतिवादीले बिक्री गरेको घरजग्गाको मूल्य र निजको नाममा बाँकी रहेको घरजग्गाको मूल्य हेर्दा आफूसँग रहेको बाँकी घरजग्गाको मूल्यभन्दा बढी मूल्यको घरजग्गा लिखत पारित गरेको देखिन्छ ।
६. मुलुकी ऐन अंशबन्डाको महलको १९(१) नं. मा पितापुर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधीसम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा, एका सगोलका छोरी वा विधवा बुहारीको मन्जुरी नभए पनि आफूखुस गर्न पाउँछ । अचलमा आधीभन्दा बढी भने व्यवहार चलाउनै परेपनि एक्काइस वर्ष नाघेका स्वास्नी, छोरा, एका सगोलका छोरी वा विधवा बुहारीको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैन भन्ने र ऐ. लेनदेन व्यवहारको महलको १० नं.मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुसी गर्न पाउने अरूको मन्जुरी लिनु नपर्नेमा बाहेक अरूमा एकाघरसँगका अंशियार सबै साक्षी बसेको वा निजहरूले मन्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ ।
७. घरव्यवहार चलाउने घरको मुख्य व्यक्तिले घरव्यवहार चलाउनको लागि चलमा सबै र अचलमा आधासम्म बेचबिखन गर्न पाउने कानूनी व्यवस्था रहेको पाइन्छ । कुनै अंशियारको नाममा भएको जग्गा जमिन एउटै प्रकृतिको हुँदैन । जग्गाको प्रकृति र जग्गा अवस्थित रहेको स्थानको आधारमा पनि जग्गाको महत्त्व र मूल्य घटी बढी रहेको हुन्छ । घरव्यवहार चलाउने व्यक्तिले बिक्री वितरण गरेको सम्पत्ति आफूसँग भएको जग्गाको सम्पूर्ण क्षेत्रफलको आधारमा आधाभन्दा कम बिक्री वितरण गरेको भए पनि मूल्य, महत्त्व तथा उपभोगको दृष्टिले बिक्री वितरण गरेको जग्गाको महत्त्व बढि रहेको हुनु सक्छ । यस कारण घरव्यवहार चलाउने प्रयोजनको लागि बेचबिखन गर्दा आफूसँग रहेको जग्गाको आधाभन्दा घटी वा बढी के कती बिक्री गरेको छ भनी हेर्दा क्षेत्रफललाई मात्र नहेरी जग्गाको मूल्यलाई समेत हेर्नुपर्ने हुन्छ ।
८. प्रतिवादी तिर्थराज प्रजापतीको एकाघरमा वादी गोपाल कृष्ण प्रजापतीसमेत पाँच जना अंशियार रहेकोमा विवाद नभएको र तिर्थराज प्रजापतीले आफ्नो नाममा रहेको एकासगोलको घर जग्गा बेचबिखन गर्दा उल्लिखित कानूनी व्यवस्थाबमोजिम अंशियारहरूलाई राजीनामाको लिखतमा साक्षीको राखेको तथा निजहरूको मन्जुरी लिएको समेत नदेखिएको र कानूनले बिना मन्जुरी बेचबिखन गर्न पाउने गरी तोकेको सीमाभन्दा बढी मूल्यको घरजग्गा बेचबिखन गरेको देखिँदा उच्च अदालत पाटनले सुरूको फैसला उल्टी गरी वादी दाबी नपुग्ने भनी गरेको फैसला कानूनअनुरूप भए गरेको देखिन आएन ।
९. अतः उच्च अदालत पाटनले सुरूले वादी दाबीबमोजिम लिखत बदर हुने भनी गरेको फैसला उल्टी गरी वादी दाबी नपुग्ने भनी उच्च अदालत पाटनले मिति २०७३।९।२५ मा गरेको फैसला उल्टी भइ वादी गोपालकृष्णको फिराद माग दाबीबमोजिम मिति २०७३।३।१० मा र नं ३४३३ङ बाट प्रतिवादीहरू कृष्णमोहन सुवाल तथा नारायणप्रसाद सुवाललाई संयुक्त रूपमा प्रतिवादी तिर्थराज प्रजापतीले गरिदिएको राजीनामाको लिखतको ५ (पाँच) भागको १(एक) भाग नरम गरम मिलाई लिखत बदर भई वादी गोपालकृष्ण प्रजापतिको नाममा दर्ता कायम हुनेसमेत ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम उच्च अदालत पाटनले मिति २०७३।९।२५ मा गरेको फैसला उल्टी भइ र.नं.३४३३(ङ) मिति २०७२।३।१० बाट प्रतिवादी तिर्थराज प्रजापतीले कृष्णमोहन सुवाल तथा नारायणप्रसाद सुवाललाई संयक्त रूपमा राजीनामा पास गरिदिएको जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं १ कि.नं. १६३ क्षे.फ. ०-०-२-२ मा बनेको घरजग्गासमेतको लिखतको ५(पाँच) भागको १(एक) भाग बदर हुने ठहरी फैसला भएको हुँदा वादी गोपालकृष्ण प्रजापतीले जग्गा दर्ता गरिपाउँ भनी ऐनका म्यादभित्र दरखास्त दिए फैसलाअनुसार बदर भएको घरजग्गा वादी गोपालकृष्णको नाममा दर्ता गरी दिन मालपोत कार्यालय भक्तपुरलाई लेखी पठाउनु भनी सुरू भक्तपुर जिल्ला अदालतमा लेखी पाठाई दिनू...१
वादी गोपालकृष्ण प्रजापतीले मुद्दा दर्ता गर्दा जिल्ला अदालतमा रू.२००।- अदालती शुल्क र अन्य दस्तुर रू ४८समेत जम्मा रू. २४८।- राखी मुद्दा दर्ता भएकोमा जिल्ला अदालतको फैसलाउपर प्रतिवादी तिर्थराज प्रजापतीले उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गर्दा रू. ८२।- र नं. १३३ मिति २०७३।५।१४ मा धरौट राखेको देखिएकोले सो रकम वादी गोपालकृष्ण प्रजापतीले पाउने हुँदा निजको ऐनका म्यादभित्र सो रकम पाउँ भनी दरखास्त परे सो धरौटमा राखेको रकम निज वादीलाई भुक्तानी दिनू भनी उच्च अदालत पाटनमा लेखी पठाइदिनू...................................२
वादीले सुरूमा राखेको अदालती शुल्कसमेतको रकम रू.२४८।- प्रतिवादीहरूबाट भराई पाउँनेमा प्रतिवादीमध्येको तिर्थराज प्रजापतीले आफुले वादीलाई भराई दिने अदालती शुल्कसमेतको रकम रू ८२।- र.नं. १३३ मिति २०७३।५।१४ मा धरौट राखेको देखिँदा वादीले भराई पाउने बाँकी रकम रू. १६६।- प्रतिवादीहरू कृष्णमोहन सुवाल र नारायणमान सुवालबाट भराइ पाउने हुँदा सो रकम भराई पाउँ भनी प्रतिवादीहरूको जायजेथा देखाई वादीले ऐनका म्यादभित्र दरखास्त दिए सो रकम दामासाहीले भराई दिनु भनी सुरू भक्तपुर जिल्ला अदालतमा लेखी पठाइदिनू......................................................३
नक्कल माग्ने सरोकारवालाहरूबाट नियमानुसार लाग्ने दस्तुरलिई नक्कल सारी सराइदिनू......................४
प्रस्तुत फैसला विद्युतीय व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी दायरीको लगतकट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू.............................५
उक्त रायमा सहमत छु ।
न्या.सपना प्रधान मल्ल
इजलास अधिकृतः- सूर्यप्रसाद भण्डारी
इति संवत् २०८१ साल वैशाख ३१ गते रोज २ शुभम् ।