निर्णय नं. ११४५३ - लागु औषध गाँजा
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना
माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी
माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान
फैसला मिति : २०८०।१०।२५
०७९-CF-०००९
मुद्दा : लागु औषध गाँजा
पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा, पिडारीगुठी गा.वि.स. वडा नं. ५ बस्ने फत्त महमद मियाँ
विरूद्ध
प्रत्यर्थी / वादी : प्र.ना.नि. हस्तबहादुरको प्रतिवेदनले नेपाल सरकार
सहअभियुक्तको पोल मुद्दामा निश्चयात्मक र प्राथमिक प्रमाण हुन नसक्ने । सहअभियुक्तको पोल जतिसुकै किटानी भए तापनि यसलाई संशयपूर्वक नै हेरिनुपर्ने ।
(प्रकरण नं.५)
अदालतबाहिर गरिएको बयानमा पोलसमेत त्यसरी बयान गर्ने अभियुक्त कसुरमा साबित छ र त्यस्तो पोल अन्य प्रमाणबाट समर्थित हुनुका साथै निजले उक्त बयान यातना वा डर, धाक, धम्कीविना, स्वेच्छाले र सचेतपूर्वक दिएको छ भने साबिती बयानसरह नै पोल बयानलाई समेत प्रमाणमा लिन बाधा नहुने । तर प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को खण्ड (क) को देहाय (१), (२) र (३) को अवस्थाको विद्यमानता छैन भने त्यस्तो पोल बयानलाई प्रमाण ग्राह्य मान्न नमिल्ने ।
(प्रकरण नं.९)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री लव कुमार मैनाली
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री शम्भुबहादुर कार्की तथा विद्वान् उपन्यायाधिवक्ता श्री विना दाहाल
अवलम्बित नजिर :
ने.का.प.२०६३, अङ्क ८, नि.नं. ७७४९
ने.का.प. २०२८, अङ्क १, नि.नं. ६१२
सम्बद्ध कानून :
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
लागु औषध (नियन्त्रण) ऐन, २०३३
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :-
माननीय जिल्ला न्यायाधीश श्री लेखनाथ घिमिरे
पर्सा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
माननीय न्यायाधीश श्री उमेश कुमार सिंह
पुनरावेदन अदालत, हेटौंडा
फैसला
न्या.डा.नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन परेकोमा यस अदालतको संयुक्त इजलासबाट सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(ग) बमोजिम पूर्ण इजलासमा पेस गर्नु भनी मिति २०७९।१२।२६ मा भएको आदेशानुसार यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः-
संक्षिप्त तथ्य
जिल्ला पर्सा गा.वि.स. पिडारीगुठी वडा नं. ५ स्थित पूर्व ग्यास शेषको खपडाको घर, पश्चिममा ईसराफिल शेषको टालीको छानो भएको घर, उत्तरमा मोस्ताक मियाको फुसको घर, दक्षिणमा मोस्ताक मियाँकै खाली खेत यति चार किल्लाभित्र सार्वजनिक सडकमा प्रतिवादीहरू जोगिन्द्र हजरा दुषाद, जमीर मियाँ, जंगी मियाँ, ओरन्जेव मियाँ, अविनास कुमार सिंह, मुस्लिम मियाँसमेतले पोकाहरू तथा बोरामा सामानहरू बोकी आएको अवस्थामा फेला पारी खानतलासी लिँदा प्रतिवादीहरूमध्ये जोगिन्द्र हजरा दुषादले बोकी आएको एउटा पोकामा लागु औषध गाँजा १८ किलो, जमीर मियाँले बोकी आएको एक वटा पोकामा लागु औषध गाँजा १८ किलो, जंगी मियाँले बोकी आएको एउटा पोकामा लागु औषध गाँजा १८ किलो, ओरन्जेव मियाँले बोकी आएको दुई वटा पोकामा लागु औषध गाँजा ३६ किलो, अविनास कुमार सिंहले बोकी आएको दुईवटा पोकामा लागु औषध गाँजा ३६ किलो, मुस्लिम मियाँले बोकी आएको दुई वटा पोकामा लागु औषध गाँजा ३६ किलो तथा निजहरूसँगै बोरामा सामान बोकी आएका तर प्रहरीलाई देखी सो सामान निजहरूले नजिकै भुईंमा फाली भागी फरार रहेका शम्भु हजराले फाली गएको एउटा जुटको बोराबाट लागु औषध गाँजा २० किलो र फत्त महमद मियाँले फाली भागेको दुई वटा प्लाष्टिकको बोरामा रहेको लागु औषध गाँजा १४ किलोसमेत गरी जम्मा १९६ किलो लागु औषध गाँजा बरामद गरी निजहरूलाई पक्राउ गरिएको भन्नेसमेत बेहोराको खान तलासी तथा बरामदी मुचुल्का ।
मिति २०६८।६।४ गते बिहान मेरो कमान्डमा टोली खटी गस्ती गर्दै ९:५५ बजेको समयमा जिल्ला पर्सा, पिडारीगुठी वडा नं. ५ स्थित सडकमा पुग्दा ८ जना मानिसहरूको समूहमध्ये दुई जना व्यक्ति आफूले बोकी ल्याएको सामान फाली भागी फरार भएको र बाँकी ६ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई निजहरूको नाम थर वतन सोधपुछ गर्दा भारत विहार वेतिया जिल्ला भंगाहा थाना जसौली ग्राम बस्ने मुस्लिम मियाँ, ऐ.ऐ. वेगुसराय जिल्ला वलीया थाना सदानन्दपुर ग्राम बस्ने अविनास कुमार सिंह, जिल्ला पर्सा गा.वि.स. पिडारीगुठी वडा नं. ४ बस्ने जंगी मियाँ, ऐ. वडा नं. ५ बस्ने ओरन्जेव मियाँ, ऐ.ऐ. बस्ने जोगिन्द्र हजरा दुषाद, ऐ.ऐ. बस्ने जमीर मियाँ भनी आफ्नो नाम थर वतन बताएको र निजहरूसँग आएका अन्य दुई जना सामान फाली भाग्ने व्यक्तिहरूको नाम थर वतनसमेत सोधपुछ गर्दा जिल्ला पर्सा, पिठारीगुठी वडा नं. ५ बस्ने वर्ष ४५ को फत्त महमद मियाँ र ऐ.ऐ. बस्ने विपत पासवानको छोरा वर्ष ४५ को शम्भु हजरा भएको भनी बताएकोले निजहरूसँग भएको पोका तथा बोरासमेत कानूनको रीत पुर्याई खानतलासी लिँदा प्रतिवादीहरूमध्ये जोगिन्द्र हजरा दुषादले बोकी आएको एउटा पोकामा लागु औषध गाँजा १८ किलो, जमीर मियाँले बोकी आएको एउटा पोकामा लागु औषध गाँजा १८ किलो, जंगी मियाँले बोकी आएको एउटा पोकामा लागु औषध गाँजा १८ किलो, ओरन्जेव मियाँले बोकी आएको दुई वटा पोकामा लागु औषध गाँजा ३६ किलो, अविनास कुमार सिंहले बोकी आएको दुईवटा पोकामा लागु औषध गाँजा ३६ किलो, अविनास कुमार सिंहले बोकी आएको दुईवटा पोकामा लागु औषध गाँजा ३६ किलो, मुस्लिम मियाँले बोकी आएको दुई वटा पोकामा लागु औषध गाँजा ३६ किलो तथा निजहरूसँगै बोरामा सामान बोकी आएका तर प्रहरीलाई देखी सो सामान निजहरूले नजिकै भुईंमा फाली भागी फरार रहेका शम्भु हजराले फाली गएको एउटा जुटको बोराबाट लागु औषध गाँजा २० किलो र फत्त महमद मियाँले फाली भागेको दुई वटा प्लाष्टिकको बोरामा रहेको लागु औषध गाँजा १४ किलोसमेत गरी जम्मा १९६ किलो लागु औषध गाँजा बरामद गरी निजहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि दाखिला गराएको भन्ने बेहोराको प्रहरीको प्रतिवेदन ।
मिति २०६८।६।४ गते प्रहरीले म तथा मसँगै पक्राउ परी आएका जोगिन्द्र हजरा दुषाद, जमीर मियाँ, जंगी मियाँ, ओरन्जेव मियाँ, अविनास कुमार सिंहसमेतको साथबाट र फरार शम्भु हजरा र फत्ते महमद मियाँसमेतले फाली गएको बोरासमेतबाट बरामद गरेको लागु औषध गाँजा १९६ किलो हामीहरूले ओसारपसार गरी भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको हो । सो लागु औषध गाँजा फत्त महमद मियाँ र शम्भु हजराले हामीहरूलाई निजहरूको घर नजिक रहेको बाँसघारीमा लगी कसैलाई एक पोका, कसैलाई दुई पोका र आफूहरूले बोरामा बोकी हामीहरूलाई रू. ५/५ सय मजदुरी दिने सर्तमा ओसारपसार गर्न लगाई भारततर्फ लैजाँदै गर्दा पक्राउ परेको हो । प्रहरीले हामीहरूलाई रोक्न खोज्दा निज फत्त महमद मियाँ र शम्भु हजरा आ-आफ्नो साथमा भएको गाँजासहितको बोराहरू फाली भागी गएको हो । निजहरूको घर जिल्ला पर्सा, पिडारीगुठी गा.वि.स. वडा नं. ५ मा नै छ भन्नेसमेत बेहोराको प्रतिवादी मुस्लिम मियाँको अनुसन्धान अधिकारीसमक्ष भएको बयान कागज ।
मिति २०६८।६।४ गते प्रहरीले म तथा मसँगै पक्राउ परी आएका जोगिन्द्र हजरा दुषादसमेतको साथबाट र फरार शम्भु हजरासमेतले फाली गएको बोरासमेतबाट बरामद गरेको लागु औषध गाँजा १९६ किलो हामीहरूले ओसारपसार गरी भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको हो । सो लागु औषध गाँजा जिल्ला पर्सा, गा.वि.स. पिडारीगुठी वडा नं. ५ बस्ने फत्त महमद मियाँ र शम्भु हजराले हामीहरूलाई निजहरूको घरनजिक रहेका बाँसघारीमा लगी कसैलाई एकपोका कसैलाई दुई पोका बोकाई आफूहरूले बोरामा बोकी हामीहरूलाई रू. ५/५ सय मजदुरी दिने सर्तमा ओसारपसार गर्न लगाई भारततर्फ लैजाँदै गर्दा पक्राउ परेको हो । प्रहरीले हामीहरूलाई रोक्न खोज्दा निज फत्त महमद मियाँ र शम्भु हजरा आ-आफ्नो साथमा भएको गाँजासहितको बोराहरू फाली भागी गएको हो भन्नेसमेत बेहोराको प्रतिवादी जंगी मियाँको अनुसन्धान अधिकारीसमक्ष भएको बयान कागज ।
मिति २०६८।६।४ गते प्रहरीले म तथा मसँगै पक्राउ परी आएका जोगिन्द्र हजरा दुषादसमेतको साथबाट र फरार शम्भु हजरासमेतले फाली गएको बोरासमेतबाट बरामद गरेको लागु औषध गाँजा हामीहरूले ओसारपसार गरी भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको हो । सो लागु औषध गाँजा मेरो बुबा फत्त महमद मियाँ र मेरै गाउँको शम्भु हजराले हामीहरूलाई मेरो घर नजिक रहेको बाँसघारीमा लगी कसैलाई एक पोका कसैलाई दुई पोका र आफूहरूले बोरामा बोकी ओसारपसार गर्न लगाई भारततर्फ लैजाँदै गर्दा पक्राउ परेको हो । प्रहरीले हामीहरूलाई रोक्न खोज्दा बुबा फत्त महमद मियाँ र शम्भु हजरा आ-आफ्नो साथमा भएको गाँजासहितको बोराहरू फाली भागी गएको हो भन्नेसमेत बेहोराको प्रतिवादी ओरन्जेव मियाँको अनुसन्धान अधिकारीसमक्ष भएको बयान कागज ।
मिति २०६८।६।४ गते प्रहरीले म तथा मसँगै पक्राउ परी आएका मुस्लिम मियाँसमेतको साथबाट र फरार शम्भु हजरासमेतले फाली गएको बोरासमेतबाट बरामद गरेको १९६ किलो लागु औषध गाँजा हामीहरूले ओसारपसार गरी भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको हो । सो लागु औषध गाँजा जिल्ला पर्सा, गा.वि.स. पिडारीगुठी वडा नं. ५ बस्ने फत्त महमद मियाँ र शम्भु हजराले हामीलाई निजहरूको घर नजिक रहेको बाँसघारीमा लगी कसैलाई एकपोका कसैलाई दुई पोका र आफूहरूले बोरा बोकी हामीलाई रू. ५/५ सय मजदुरी दिने सर्तमा ओसारपसार गर्न लगाई भारततर्फ लैजाँदै गर्दा पक्राउ परेको हो । प्रहरीले हामीलाई रोक्न खोज्दा निज फत्त महमद मियाँ र शम्भु हजरा आ-आफ्नो साथमा भएको गाँजासहितको बोराहरू फाली भागी गएको हो भन्नेसमेत बेहोराको प्रतिवादी जोगिन्द्र हजरा दुषादको अनुसन्धान अधिकारीसमक्ष भएको बयान कागज ।
मिति २०६८।६।४ गते प्रहरीले म तथा मसँगै पक्राउ परी आएका जोगिन्द्र हजरा दुषादसमेतको साथबाट र फरार शम्भु हजरासमेतले फाली गएको बोरासमेतबाट बरामद गरेको लागु औषध गाँजा १९६ किलो हामीहरूले ओसारपसार गरी भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको हो । सो लागु औषध गाँजा जिल्ला पर्सा, गा.वि.स. पिडारीगुठी वडा नं. ५ बस्ने फत्त महमद मियाँ र शम्भु हजराले हामीलाई निजहरूको घर नजिक रहेको बाँसघारीमा लगी कसैलाई एकपोका कसैलाई दुई पोका र आफूहरूले बोरामा बोकी हामीलाई रू ५/५ सय मजदुरी दिने सर्तमा ओसारपसार गर्न लगाई भारततर्फ लैजाँदै गर्दा पक्राउ परेको हो । प्रहरीले हामीलाई रोक्न खोज्दा निज फत्त महमद मियाँ र शम्भु हजरा आ-आफ्नो साथमा भएको गाँजासहितको बोराहरू फाली भागी गएको हो भन्नेसमेत बेहोराको प्रतिवादी अविनास कुमार सिंहको अनुसन्धान अधिकारीसमक्ष भएको बयान कागज ।
मिति २०६८।६।४ गते प्रहरीले म तथा मसँगै पक्राउ परी आएका जोगिन्द्र हजरा दुषादसमेतको साथबाट र फरार शम्भु हजरासमेतले फाली गएको बोरासमेतबाट बरामद गरेको लागु औषध गाँजा १९६ किलो हामीले ओसारपसार गरी भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको हो । सो लागु औषध गाँजा जिल्ला पर्सा, गा.वि.स. पिडारीगुठी वडा नं. ५ बस्ने फत्त महमद मियाँ र शम्भु हजराले हामीलाई निजहरूको घर नजिक रहेको बाँसघारीमा लगी कसैलाई एकपोका कसैलाई दुईपोका र आफूहरूले बोरामा बोकी बोकाई हामीहरूलाई रू. ५/५ सय मजदुरी दिने सर्तमा ओसारपसार गर्न लगाई भारततर्फ लैजाँदै गर्दा पक्राउ परेको हो । प्रहरीले हामीलाई रोक्न खोज्दा निज फत्त महमद मियाँ र शम्भु हजरा आ-आफ्नो साथमा भएको गाँजासहितको बोराहरू फाली भागी गएको हो भन्नेसमेत बेहोराको प्रतिवादी जमीर मियाँको अनुसन्धान अधिकारीसमक्ष भएको बयान कागज ।
जिल्ला पर्सा, पिडारीगुठी गा.वि.स. वडा नं. ५ स्थित उत्तर हसमदीन अन्सारीको घर, दक्षिण मुस्ताक शेषको घर, पूर्व काशी साहको धान खेत, पश्चिम कच्ची बाटो यति चार किल्लाभित्र पश्चिम मोहडा भएको फत्त महमद मियाँको घर खान तलासी गर्दा अपराधसँग प्रमाण लाग्ने कुनै चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको खान तलासी मुचुल्का ।
जिल्ला पर्सा, पिडारीगुठी गा.वि.स. वडा नं. ५ स्थित उत्तर जोखु अन्सारीको घर, दक्षिण श्री किसुन पासवानको घर, पश्चिम कच्ची बाटो, पुर्व दिनेश पासवानको घर यति चार किल्लाभित्र रहेको शम्भु हजराको घर खान तलासी गर्दा अपराधसँग प्रमाण लाग्ने कुनै चिजवस्तु फेला नपरेको भन्नेसमेत बेहोराको खान तलासी मुचुल्का ।
प्रतिवादी ओरन्जेव मियाँको जन्म मिति २०५५।१।७ मा भएको भन्ने जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि निवेदनसाथ पेस भएको ।
परीक्षणको लागि पठाइएको लागु औषध गाँजा नमुनाहरूमा लागु औषध गाँजा पाइएको छ भन्नेसमेत बेहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन ।
मिति २०६८।६।४ गते बिहान ९:५५ बजेको समयमा जिल्ला पर्सा, गा.वि.स. पिडारीगुठी वडा नं. ५ मा प्रहरी टोलीले प्रतिवादीहरू जोगिन्द्र हजरा दुषाद, जमीर मियाँ, जंगी मियाँ, ओरन्जेव मियाँ, अविनास कुमार सिंह, मुस्लिम मियाँसमेतलाई लागु औषध गाँजा १९६ किलोसहित पक्राउ गरेकोमा सो लागु औषध गाँजा कारोबार ओसारपसार गर्नेमा तत्काल आफूले बोकी आएको लागु औषध गाँजा फाली भागी फरार भएका फत्त महमद मियाँ र शम्भु हजरासमेतको संलग्नता रहेको भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का ।
जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान गरी रायसाथ पेस गरेको प्रस्तुत मिसिल संलग्न बरामदी मुचुल्का, प्रहरीको प्रतिवेदन, पक्राउमा परी आएका प्रतिवादीहरूको बयान, परीक्षण प्रतिवेदन तथा वस्तुस्थिति मुचुल्कासमेतबाट मिति २०६८।६।४ गतेका दिन जिल्ला पर्सा, गा.वि.स. पिडारीगुठी वडा नं. ५ बाट जोगिन्द्र हजरा दुषाद, जमीर मियाँ, जंगी मियाँ, ओरन्जेव मियाँ, अविनास कुमार सिंह र मुस्लिम मियाँसमेतबाट लागु औषध गाँजा १९६ किलो बरामद भएको वारदात सिद्ध हुन आयो । प्रतिवादीहरू फत्त महमदले गाँजा जम्मा पारी आफू, आफ्नो छोरा र अन्य ज्याला लिई गाँजा ओसारपसार गर्ने मानिसहरू खोजी ज्यालामा गाँजा बोकाई जोगिन्द्र हजरा दुषादले १८ किलो, जमीर मियाँले १८ किलो, जंगी मियाँले १८ किलो, ओरन्जेव मियाँले ३६ किलो, अविनास कुमार सिंहले ३६ किलो, मुस्लिम मियाँले ३६ किलो बोकी आएकै बखत पक्राउ परेको तथा निज फत्त महमद मियाँ र शम्भु हजराले भुईंमा फालेको बोराबाट एउटा बोरामा २० किलो र अर्का दुई बोरामा गाँजा १४ किलोसमेत गरी जम्मा १९६ किलो गाँजा ओसारपसार गरी गराई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) अनुसारको कसुर अपराध गरेकोले निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १४(१) को देहाय (घ)(५) अनुसार कारबाही र सजाय हुन साथै प्रतिवादी ओरन्जेव मियाँको उमेर सम्बन्धमा निजले बयान गर्दा १७ वर्ष भनी लेखिएको, निजको उमेर परीक्षण गराउँदा निजको सम्भावित उमेर १७-१९ वर्ष रहेको उल्लेख भई आएको, निजको आमा लक्ष्मिया खातुनले निवेदनसाथ पेस गरेको जन्म दर्ता प्रमाणपत्रबाट निजको जन्म मिति २०५५।१।७ उल्लेख भएको देखिएकोमा बालन्याय (कार्यविधि) नियमावली, २०६३ को नियम १५ बमोजिम जन्म दर्ता भएकोमा जन्म दर्ताको प्रमाणलाई नै आधार लिनुपर्ने देखिएकाले वारदातका दिन निजको उमेर १३ वर्ष ४ महिना २७ दिन देखिन आएकाले निजको हकमा बालबालिका ऐन, २०४८ को दफा ११(२) बमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
अभियोग दाबीबमोजिमको कसुर अपराध मैले नगरेको हुनाले मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी ओरन्जेव मियाँले सुरू अदालतमा गरेको बयान ।
अभियोग दाबीबमोजिमको कसुर अपराध मैले नगरेको हुनाले मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी अविनास कुमार सिंहले सुरू अदालतमा गरेको बयान ।
अभियोग दाबीबमोजिमको कसुर अपराध मैले नगरेको हुनाले मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी जंगी मियाँले सुरू अदालतमा गरेको बयान ।
अभियोग दाबीबमोजिमको कसुर अपराध मैले नगरेको हुनाले मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी मुस्लिम मियाँले सुरू अदालतमा गरेको बयान ।
अभियोग दाबीबमोजिमको कसुर अपराध मैले नगरेको हुनाले सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी जमिर मियाँले सुरू अदालतमा गरेको बयान ।
अभियोग दाबीबमोजिम कसुर अपराध मैले नगरेको हुनाले मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी जोगिन्द्र हजरा दुसाधले सुरू अदालतमा गरेको बयान।
अभियोग दाबीबमोजिमको कसुर अपराध मैले नगरेको हुनाले मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी फत्त महमद मियाँले सुरू अदालतमा गरेको बयान ।
अदालतको आदेशानुसार प्रतिवादी मुसलिम मियाँको साक्षी ममसहिद मियाँ, प्रतिवेदक प्र.ना.नि.हस्तबहादुर ताम्रकार, प्रतिवादी जंगी मियाँको साक्षी हनिफ मियाँ, प्रतिवादी फत्त महमदको साक्षी दिनेश पासवान, अविनास कुमार सिंहको साक्षी रसिद मियाँ, जोगिन्द्र हजरा दुसाधको साक्षी अलि अमजद राउत गदीले गरेको बकपत्र मिसिल संलग्न रहेको ।
प्रतिवादी शम्भु हजराको नाउँमा जारी भएको म्यादी पुर्जी मिति २०६८।९।२७ मा तामेल भई म्यादभित्र हाजिर नभई सुरू म्यादै गुजारी बसेको ।
प्रतिवादीहरूले मौकामा कसुर स्वीकार गरी गरेको बयान तथा सो सँग तादम्यता राख्ने बरामदी मुचुल्का, प्रतिवेदकको बकपत्र तथा परीक्षण प्रतिवेदनसमेतबाट लागु औषध ओसारपसार गरेको भनी लिएको प्रतिवादी उपरको अभियोग दाबी पुष्टि हुँदा दाबीबमोजिमको कसुर प्रतिवादीहरूले गरेको ठहर्छ । सजायको हकमा प्रतिवादीहरूले व्यक्तिगत रूपमा बोकी लगेको गाँजाको परिमाणलाई विचार गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा (१) को खण्ड (घ) को देहाय (५) बमोजिम प्रतिवादीमध्येका जंगी मियाँ, जोगिन्दर हजरा दुसाध, तथा जमिर मियाँलाई जनही कैद वर्ष २ (दुई) तथा रू. १५,०००|- (पन्ध्र हजार) जरिवाना, प्रतिवादीमध्येका मुस्लिम मियाँ र अविनास कुमार सिंहलाई जनही २ वर्ष ६ महिना कैद र रू. २०,०००|- (बीस हजार) जरिवाना, प्रतिवादीमध्येका ओरन्जेव मियाँ १४ वर्षमुनिको नाबालक देखिँदा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) आकर्षित भई सोबमोजिम निजलाई कैद महिना २ (दुई) मात्र र प्रतिवादी फत्त महमद लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा (१) को खण्ड (घ) को देहाय (५) बमोजिम कैद वर्ष ३ (तीन) तथा रू.२५,०००|- (पच्चिस हजार) जरिवानासमेत हुने ठहर्छ । प्रतिवादीमध्येका शम्भु हजरा फरार भएको पाइँदा निजको हकमा अ.बं. १९० नं.बमोजिम मुल्तबिमा राखिदिने ठहर्छ भन्ने बेहोराको सुरू पर्सा जिल्ला अदालतको मिति २०६९।१०।७ को फैसला ।
मबाट गाँजा बरामद भएको छैन । प्रहरीसमक्ष मलाई पोल गर्ने प्रतिवादीहरूले अदालतसमक्ष गरेको बयानमा मलाई पोलेका छैनन् । बरामद भएको गाँजा ओसारपसारमा मेरो कुनै संलग्नता रहेको कुरा देखाउन सकेको छैन । मैले अन्य प्रतिवादीहरूलाई भरियाको रूपमा लिएर गएको भए आफ्नो नाबालिग छोरासमेतलाई भरिया बनाई आफूसमेत भरिया भई जानुपर्ने अवस्था नै हुँदैनथ्यो । बरामद भएको गाँजा मेरो हो भन्ने प्रमाणित भएको अवस्थासमेत छैन । अभियुक्त पक्राउ गरी प्रतिवेदन पेस गर्ने प्रतिवेदकले म भागी गएको भनी भन्न नसकेको हुँदा मलाई कैद र जरिवाना गर्ने गरी सुरू पर्सा जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी फत्त महमद मियाँको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदन पत्र ।
यसमा यी पुनरावेदक प्रतिवादी मौकामा पक्राउ नपरेको र निजसँगबाट लागु औषध गाँजा बरामदसमेत नभएको अवस्थामा सुरूको फैसला विचारणीय भई फरक पर्नसक्ने देखिँदा मुलुकी ऐन अ.बं. २०२ नं. को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय हेटौंडालाई पेसीको जानकारी दिनु भनी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०।५।१८ मा भएको आदेश ।
पक्राउ परेका अन्य प्रतिवादीहरूले यी पुनरावेदक प्रतिवादीले अन्य प्रतिवादीलाई ज्याला दिई गाँजा बोक्न लगाई आफूसमेतले १४ के.जी. गाँजा बोकी लगेको र प्रहरीले पक्राउ गर्न लाग्दा यी पुनरावेदक प्रतिवादी भागी गएको भनी मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको पाइन्छ । अन्य प्रतिवादीहरूले यी पुनरावेदक प्रतिवादीलाई अनाहकमा पोल गर्नुपर्ने कारण मिसिलबाट देखिँदैन । सहअभियुक्तहरूको बयान र बरामदी मुचुल्कासमेतबाट यी पुनरावेदक प्रतिवादीले १४ के.जी. गाँजा बोकी ओसारपसार गरेको देखिएको कुरा मिसिल संलग्न प्रमाणहरूबाट समर्थित भएको देखिँदा अभियोग दाबीबमोजिम सजाय गरी भएको सुरू फैसलालाई अन्यथा भन्न सकिने अवस्था देखिएन । बरामद भएको लागु औषधको अनुपातमा समन्यायिक दृष्टिकोणबाट सजाय निर्धारण गर्नुपर्नेमा यी प्रतिवादीलाई ३ वर्ष कैद गरेको हदसम्म सुरू पर्सा जिल्ला अदालतको मिति २०६९।१०।७ गतेको फैसला मिलेको नदेखिँदा केही उल्टी भई यी पुनरावेदक प्रतिवादीलाई कैदको हकमा २ वर्ष कैद र रू. २५,०००।- जरिवाना हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०७०।८।२६ मा भएको फैसला ।
मबाहेकका अन्य प्रतिवादीहरूले प्रहरीमा गरेको पोललाई मुख्य आधार लिई मलाई सजाय गरिएको छ । प्रहरीमा पोल गर्ने प्रतिवादीहरूले अदालतमा बयान गर्दा मलाई पोल गरेका छैनन् । अन्य प्रतिवादीहरूले प्रहरीसमक्ष गरेको बयान निजहरूको इच्छाविपरीतको हो भनी निजहरूले अदालतमा बयान गरेको अवस्था छ । मैले अदालतमा उपस्थित भई बयान गर्दा मिति २०६८।६।४ गतेका दिन श्रीमतीको इलाजको लागि वीरगन्जमा थिएँ भनेकोमा मेरो सो भनाइ मेरा साक्षीको बकपत्रबाट समेत पुष्टि भएको छ । मेरो घर खानतलासी गर्दा कुनै अवैधानिक वस्तुसमेत फेला परेको छैन । सहअभियुक्तको प्रहरीमा भएको पोल निजहरूले आफूलाई कसुरबाट बच्न र आफ्नो अपराधलाई कमत्तर गर्ने अभिप्रायले मेरो नाम पोल्दैमा सोलाई अकाट्य प्रमाणको रूपमा ग्रहण गर्ने मिल्दैन । मेरो नाम पोल्दैमा अरूले गरेको कसुर म माथि सर्ने होइन । घटनास्थल प्रहरी मुचुल्काका मानिसहरू सम्मानित अदालतमा आई बकपत्र गरेको छैन । अनुसन्धानको अवस्थामा तयार भएका कागजहरूलाई अदालतमा आई पुष्टि गरिँदैन भने त्यसलाई मेरो विरूद्धमा प्रमाणमा लिन मिल्दैन । प्रतिवेदकसमेत २५ जना प्रहरी भएकोमा २ जना पोका फाली भागे तर निजहरूलाई लखेटिएन र ६ जना प्रतिवादीहरू भागेनन् भन्ने प्रतिवेदकको भनाइ कानूनसम्मत् देखिँदैन । मैले गाँजा आफ्नो छोरालाई बोक्न लगाएको भए आफू भाग्दा आफ्नो नाबालक छोरालाई पनि भाग्न लगाउँथे र अन्यलाई पनि भाग्न भन्ने थिएँ । प्रहरीमा भएको सह-अभियुक्तहरूको पोल इच्छाविपरीतको हुँदा सहअभियुक्तको उक्त बयानलाई आधार मानी मिति २०६९।१०।७ मा पर्सा जिल्ला अदालतबाट भएको फैसला र मिति २०७०।८।२६ मा पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसलासमेत लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२, प्रमाण ऐन, २०३१ को दफा ७(ग), ९, १८, २५, ५४ समेतको विपरीत भई त्रुटिपूर्ण हुनुका साथै सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीतको हुँदा बदर उल्टी गरी मेरो पुनरावेदन जिकिरबमोजिम प्रस्तुत मुद्दाबाट मलाई सफाइ हुने गरी इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी फत्त महमद मियाँको यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा पुनरावेदक प्रतिवादीसँग लागु औषधी बरामद भएको नदेखिएको, प्रतिवादी कसुरमा इन्कार रही बयान गरेको अवस्थामा सह अभियुक्तको पोलको आधारमा कसुरदार ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको मिति २०७०।८।२६ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा तथा ने.का.प. २०६३, अङ्क ८, नि.नं. ७७४९, पृ. १०३४ मा प्रतिपादित सिद्धान्तको प्रतिकूल भई फरक पर्न सक्ने देखिएकोले मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. तथा फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १४० को उपदफा ३ को प्रयोजनार्थ पेसीको सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७५।५।२० मा भएको आदेश ।
प्रस्तुत मुद्दामा वारदात मिति २०६८।६।४ रहेको भए तापनि मिति २०७७।२।२० मा भएको दोस्रो संशोधनबाट प्रमाण ऐन, २०३१ को दफा ९क मा थप भएको “दुई वा दुईभन्दा बढी व्यक्तिले कसुर गरेकोमा त्यस्ता व्यक्तिहरूमध्ये कुनै व्यक्तिले अदालतमा आफू साबित भई अन्य अभियुक्तलाई पोल गरेकोमा त्यस्तो पोल अन्य प्रमाणबाट पुष्टि भएमा प्रमाणमा लिन हुन्छ” भन्ने व्यवस्था र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १०३ मा भएको “यस परिच्छेदबमोजिम प्रमाण परीक्षण गर्दा कुनै अभियुक्तले कुनै सहअभियुक्तलाई पोल गरेमा त्यसरी पोलेको कुराको हदसम्म त्यस्तो अभियुक्तले जिरह गर्न सक्ने छ” भन्ने कानूनी व्यवस्थासमेतको आधारमा तथा यस अदालतबाट पुनरावेदक/प्रतिवादी रामशरण महतसमेत विरूद्ध अनिल श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार भएको (ने.का.प.२०६३, अङ्क ८, नि.नं. ७७४९) कर्तव्य ज्यान मुद्दामा सह-अभियुक्तको पोलका सम्बन्धमा न्यायिक सिद्धान्तसमेत प्रतिपादन भई मुद्दाका अन्य स्वतन्त्र प्रमाणहरूको मूल्याङ्कन र मौकामा साबित भएका वा अदालतमा त्यस्तो साबितीलाई समर्थन नगरेका सहअभियुक्तको पोललाई उल्लिखित कानूनहरूमा आएको परिवर्तनसमेतका आधारमा नयाँ कोणबाट व्याख्या गरिनुपर्ने र प्रस्तुत मुद्दाको वस्तुस्थितिको आधारमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ को व्याख्या सम्बन्धमा उत्पन्न जटिल कानूनी प्रश्नको निरूपण पूर्ण इजलासबाट गर्नु उपयुक्त हुने यो इजलासले ठानेकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(ग) बमोजिम प्रस्तुत मुद्दा निर्णयार्थ पूर्ण इजलासमा पेस गर्नु भनी यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।१२।२६ मा भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक/प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री लव कुमार मैनालीले सहअभियुक्तहरूले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा मात्र यी पुनरावेदक प्रतिवादीलाई पोल गरेको अवस्था छ । सहअभियुक्तको पोललाई मात्र प्रमाणमा लिन नमिल्ने र सहअभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुनुपर्ने भन्ने सम्बन्धमा ने.का.प. २०६३ अङ्क ८ नि.नं. ७७४९, ने.का.प. २०४२ अङ्क १० नि.नं. २५१९, ने.का.प. २०४६ अङ्क १० नि.नं. ३९५९, ने.का.प. २०५७ अङ्क २ नि.नं. ६८५२ मा समेत व्याख्या भएको अवस्था छ । प्रमाण ऐन, २०३१ मा मिति २०७७।२।२० मा दोस्रो संशोधन भई दफा ९क थप गरी सहअभियुक्तको पोललाई प्रमाणमा लिने सम्बन्धमा नवीन व्यवस्था गरेको हो । तर प्रस्तुत मुद्दाको वारदात २०६४ सालको देखिँदा उक्त कानूनी व्यवस्था प्रस्तुत मुद्दामा आकर्षित हुन सक्दैन । यी पुनरावेदको साथबाट गाँजा बरामद नभएको हुँदा लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १२ मा उल्लिखित व्यवस्था यी पुनरावेदकको हकमा आकर्षित हुँदैन । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १०३ बमोजिम सहअभियुक्तको पोललाई जिरह गर्ने मौकासमेत प्रदान गरिएको छैन । आरोपित कसुरमा पुनरावेदक प्रतिवादी फत्त महमद मियाँको संलग्नता रहेको पुष्टि हुने वस्तुनिष्ठ प्रमाणको अभाव रहेकोमा पनि कसुरदार ठहर्याएको सुरू र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी प्रतिवादीलाई सफाइ हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी/वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री शम्भुबहादुर कार्की तथा विद्वान् उपन्यायाधिवक्ता श्री विना दाहालले सहअभियुक्त आफ्नो नाबालक छोराले समेत यी पुनरावेदक प्रतिवादीलाई पोल गरेको अवस्था छ । आफ्नो नाबालक छोरा पक्राउ पर्दासमेत यी पुनरावेदक प्रतिवादी एक पटक पनि भेट्न नगई फरार हुनुबाट पनि अपराधबाट उम्किन खोजेको प्रस्ट देखिन्छ । सहअभियुक्तको पोल सम्बन्धमा यसै अदालतको पूर्ण इजलासबाट ने.का.प. २०६३ अङ्क २ नि.नं. ७६४९ मा प्रतिपादित सिद्धान्तअनुसार पनि यी पुनरावेदकलाई सहअभियुक्तले गरेको पोल प्रमाणमा ग्रहण गर्न मिल्ने हुन्छ । पुनरावेदक प्रतिवादी फत्त महमद मियाँले प्रहरीलाई देखी आफूले बोकी हिँडेको लागु औषध गाँजाको पोका फाली भागेको र निजले फालेको पोकाबाट १४ किलो गाँजा बरामद भएको तथ्य सहअभियुक्तहरूको प्रहरीमा भएको बयान, प्रहरी प्रतिवेदन र प्रहरी प्रतिवेदकले सुरू अदालतमा गरेको बकपत्रसमेतका प्रमाणहरूबाट पुष्टि भएको छ । तसर्थ यी पुनरावेदकलाई अभियोग मागदाबीबमोजिमको कसुरमा सजाय गर्ने गरी तत्कालीन पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०।८।२६ मा भएको फैसला मिलेको हुँदा सदर कायम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
मिसिल अध्ययन गरी हेर्दा, यी पुनरावेदक/प्रतिवादी फत्त महमद मियाँलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) अनुसारको कसुरमा ऐ. को दफा १४(१) को खण्ड (घ) को देहाय (५) बमोजिम सजायको मागदाबीसहित अभियोगपत्र दायर भएकोमा निजले अभियोग दाबीबमोजिमको कसुर गरेको ठहर गरी सुरू पर्सा जिल्ला अदालतबाट ३ (तीन) वर्ष कैद र रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) जरिवाना हुने गरी मिति २०६९।१०।७ मा फैसला भएको पाईन्छ । सो फैसलाउपर प्रतिवादी फत्त महमद मियाँले पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गरेकोमा तत्कालीन पुनरावेदन अदालत हेटौंडाबाट निज प्रतिवादीलाई ३ वर्ष कैद गरेको हदसम्म सुरू अदालतको फैसला केही उल्टी गरी निजलाई २ वर्ष कैद र रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) जरिवाना हुने गरी मिति २०७०।८।२६ मा फैसला भएको देखिन्छ । तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसलामा समेत चित्त नबुझाई निजले यस अदालतमा पुनरावेदन गरेकोमा यस अदालतबाट मिति २०७५।५।२० मा प्रत्यर्थी झिकाउने आदेश हुँदा यी पुनरावेदक प्रतिवादीसँग लागु औषध बरामद भएको नदेखिएको, निज कसुरमा इन्कार रही बयान गरेको अवस्थामा सहअभियुक्तको पोलको आधारमा मात्र कसुरदार ठहर्याएको भन्ने आधारहरूलाई ग्रहण गरी आदेश भएको पाइन्छ । यस अदालतको संयुक्त इजलासबाट प्रस्तुत मुद्दामा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ को व्याख्या सम्बन्धमा उत्पन्न जटिल कानूनी प्रश्नको निरूपण पूर्ण इजलासबाट गर्नु उपयुक्त हुने भएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(ग) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेस गर्नु भनी मिति २०७९।१२।२६ मा आदेश भएबमोजिम प्रस्तुत मुद्दा आज यस इजलाससमक्ष पेस हुन आएको देखियो ।
उपर्युक्तबमोजिमको तथ्य एवम् बहस जिकिर रहेको प्रस्तुत मुद्दामा निम्न विषयमा निर्णय दिनुपर्ने देखियो :
(क) पुनरावेदक प्रतिवादी फत्त महमद मियाँको प्रस्तुत वारदातमा संलग्नता देखिन्छ वा देखिँदैन ?
(ख) परिवर्तित कानूनी व्यवस्थाको सन्दर्भमा सहअभियुक्तको पोललाई प्रमाणमा ग्रहण गर्न मिल्ने हो वा होइन ?
(ग) अदालत बाहिरको पोल बयानको प्रमाण ग्राह्यता के कस्तो रहन्छ ?
(घ) जिरह नगरिएको सहअभियुक्तको पोललाई प्रमाणमा लिन मिल्छ वा मिल्दैन ?
(ङ) सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६९।१०।७ मा भएको फैसला केही उल्टी गरी तत्कालीन पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०।८।२६ मा भएको फैसला मिलेको छ वा छैन ? प्रतिवादी फत्त महमद मियाँको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ?
२. पहिलो प्रश्न अर्थात् पुनरावेदक/प्रतिवादी फत्त महमद मियाँको प्रस्तुत वारदातमा संलग्नता देखिन्छ वा देखिँदैन भन्नेतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा जम्मा आठ जना प्रतिवादीहरू रहेकोमा फरार प्रतिवादी शम्भु हजराका हकमा मुद्दा मुल्तबी रहेको देखिन्छ । यी पुनरावेदक/प्रतिवादी फत्त महमद मियाँले सुरू पर्सा जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत हेटौंडाबाट भएको कैद तथा जरिवानाबापत अ.बं. १९४ नं.बमोजिमको सुविधा प्राप्त गरी प्रस्तुत पुनरावेदन पत्र दर्ता गरेको देखियो । प्रतिवादी फत्त महमद मियाँले यस अदालतमा पुनरावेदन गर्दा मूलतः निजको हकमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ को अवस्था विद्यमान नभएको र प्रहरीमा बयान गर्दा सहअभियुक्तले पोल गरेको आधारमा आफूलाई कसुरदार ठहर गर्न मिल्ने होइन भनी जिकिर लिएको देखिन्छ ।
३. मिति २०६८।६।४ गते बिहान जिल्ला पर्सा गा.वि.स. पिडारीगुठी वडा नं. ५ स्थित सार्वजनिक सडकमा प्रतिवादीहरू जोगिन्द्र हजरा दुषाद, जमीर मियाँ, जंगी मियाँ, ओरन्जेव मियाँ, अविनास कुमार सिंह, मुस्लिम मियाँसमेतले पोकाहरू तथा बोरामा सामानहरू बोकी आएको अवस्थामा फेला पारी खान तलासी लिँदा प्रतिवादीहरूमध्ये जोगिन्द्र हजरा दुषादले बोकी आएको पोकाबाट १८ किलो, जमीर मियाँले बोकी आएको पोकाबाट १८ किलो, जंगी मियाँले बोकी आएको पोकाबाट १८ किलो, ओरन्जेव मियाँले बोकी आएको दुई वटा पोकाबाट ३६ किलो, अविनास कुमार सिंहले बोकी आएको दुईवटा पोकाबाट ३६ किलो, मुस्लिम मियाँले बोकी आएको दुई वटा पोकाबाट ३६ किलो तथा निजहरूसँगै बोरामा सामान बोकी आएका तर प्रहरीलाई देखी सो सामान निजहरूले नजिकै भुईंमा फाली भागी फरार रहेका शम्भु हजराले फाली गएको एउटा जुटको बोराबाट २० किलो र फत्त महमद मियाँले फाली भागेको दुई वटा प्लाष्टिकको बोराबाट १४ किलोसमेत गरी जम्मा १९६ किलो लागु औषध गाँजा बरामद गरिएको भन्नेसमेत बेहोराको खान तलासी तथा बरामदी मुचुल्कासहित प्रहरी प्रतिवेदनसमेत रहेको देखिन्छ । बरामदित लागु औषधको नमुनामा गाँजा पाइएको भन्ने विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट देखिन्छ ।
४. प्रतिवादीहरूले सुरू अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेको भए तापनि यी पुनरावेदकबाहेकका अन्य प्रतिवादीहरू वारदातस्थलबाटै तत्काल पक्राउ परेको अवस्था छ । निजहरूले मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा बरामदित लागु औषध गाँजा प्रतिवादी फत्त महमद मियाँ र फरार प्रतिवादी शम्भु हजरा दुषादले आफूहरूलाई बोकाई भारततर्फ लैजाँदै गर्दा बाटैमा प्रहरीले चेक जाँच गर्दा आफूहरू पक्राउ परेको, प्रहरीले रोक्न खोज्दा यी पुनरावेदक प्रतिवादी फत्त महमद मियाँ र फरार प्रतिवादी शम्भु हजरा दुषादले आफ्नो साथमा बोकी ल्याएको गाँजासहितको बोरा फाली भागी गएको भनी यी पुनरावेदक प्रतिवादी फत्त महमद मियाँसमेतलाई पोल गरेको समेत देखिन्छ । यी पुनरावेदक प्रतिवादीसमेतले गाँजा बोकी गैरहेको अवस्थामा प्रहरीले रोक्दा पोका फाली भागी गएको भन्ने बेहोरा मौकाको खानतलासी तथा बरामदी मुचुल्का र प्रहरी प्रतिवेदनमा समेत उल्लेख भएको देखिन्छ । प्रहरीले रोकी खानतलासी गर्न खोज्दा पोका फाली भागी जाने व्यक्ति यिनै पुनरावेदक प्रतिवादीसमेत हुन भनी मौकामा पक्राउ परेका यिनै प्रतिवादीका नाबालक छोरा ओरेन्जेव मियाँलगायत अन्य सबै प्रतिवादीहरू र वस्तुस्थिति मुचुल्काका व्यक्तिहरू शमशेर देवान, लाल महमद मियाँ, मनिलालप्रसाद यादवसमेतले लेखाइदिएको अवस्था छ । प्रतिवादीहरूले गरेको बयान बेहोरा हेर्दा बयानमा एकरूपता एवम् एकअर्काको बेहोरा समान र सङ्गतिपूर्णसमेत देखिन आउँछ । यसरी बोरा फाली हिँड्ने व्यक्ति यी पुनरावेदक प्रतिवादी नभएको भए स्वयम् निजका नाबालक छोरा ओरेन्जेव मियाँले समेत आफ्ना बुबालाई पोल गर्नुपर्ने कुनै मनासिब आधार कारण मिसिलबाट देखिन आउँदैन । अदालतमा हाजिर हुन उपस्थित भएका यी पुनरावेदक प्रतिवादीले अदालतमा बयान गर्दा उक्त वारदातमा आफ्नो संलग्नता नभएको, वारदातको समयमा आफू परिवारको उपचार गराउन वीरगन्जमा थिएँ भनी आरोपित कसुरमा इन्कार रहेको देखिए तापनि उक्त इन्कारी पुष्टि हुने कुनै वस्तुनिष्ठ प्रमाण पेस गर्न सकेको देखिँदैन । अर्कातर्फ मौकामा पक्राउ परेका अन्य प्रतिवादीहरूले पनि अदालतको बयानमा इन्कारी भए तापनि मौकाको बयान स्वेच्छाविपरीतको हो, डर धाक धम्की दिई बयान गराइएको हो भनी जिकिर लिएको वा सो कुरा पुष्टि हुने कुनै भरपर्दो प्रमाण पेस गर्न सकेको नदेखिँदा निजहरूले गरेको अदालतको इन्कारी बयान केवल आरोपित कसुरबाट उन्मुक्त पाउने उद्देश्यले गरेको भन्ने मात्र देखियो । यस स्थितिमा निजहरूले अदालतको बयानमा आफूलाई पोल गर्न नसकेको भनी पुनरावेदकले लिएको जिकिर मनासिब देखिन आएन । मौकाको पोल बयान खानतलासी तथा बरामदी मुचुल्का एवम् प्रहरी प्रतिवेदनसमेतका अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भइरहेको देखिँदा यी पुनरावेदक प्रतिवादी फत्त महमद मियाँको आरोपित कसुरमा संलग्नता पुष्टि हुन आएको देखियो ।
५. अब परिवर्तित कानूनी व्यवस्थाको सन्दर्भमा सहअभियुक्तको पोललाई प्रमाणमा ग्रहण गर्न मिल्ने हो वा होइन ? भन्ने दोस्रो प्रश्नतर्फ विचार गर्दा, सहअभियुक्तले गरेको पोललाई प्रमाणमा लिन नमिल्ने र सहअभियुक्तले गरेको पोलमा जिरह गर्ने मौका दिइनुपर्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकिर एवम् निजका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताको जिकिर रहेको देखिन्छ । साबिकमा प्रमाण ऐन, २०३१ तथा मुलुकी ऐनलगायत प्रमाणसम्बन्धी अन्य कुनै कानूनमा सहअभियुक्तको पोलको प्रमाण ग्राह्यतासम्बन्धी विशेष व्यवस्था भएको पाइँदैन । तथापि प्रमाण ऐन, २०३१ जारी हुनुपूर्व नै यस अदालतबाट हिरा पासी विरूद्ध श्री ५ को सरकार भएको डाँका मुद्दामा कुनै अभियुक्तले अन्य व्यक्तिउपरसमेत पोल गरी गरेको साबिती बयान अन्य कुनै स्वतन्त्र र विश्वसनीय प्रमाणबाट समर्थित नभएमा–निज पोलिएको व्यक्ति विरूद्ध प्रमाण लगाउन न्यायोचित नहुने भनी सहअभियुक्तको पोललाई प्रमाणमा ग्रहण गर्नका लागि त्यस्तो पोल अन्य प्रमाणबाट समर्थित हुनुपर्ने सिद्धान्त विकास गरेको देखिन्छ । हाम्रो कानूनमा यससम्बन्धी छुट्टै व्यवस्था नभए तापनि अन्य प्रमाणबाट समर्थित भएको सहअभियुक्तको पोललाई प्रमाणमा लिन नमिल्ने उल्लिखित दृष्टिकोणलाई यस अदालतले विधायिकी प्रावधान जत्तिकै अविच्छिन्न रूपमा अवलम्बन गर्दै आएको र यससम्बन्धी मान्यतालाई परिमार्जित गर्दै ल्याएको समेत देखिन आउँछ । दृष्टान्तका लागि पुनरावेदक प्रतिवादी रामशरण महतसमेत विरूद्ध अनिल श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा सहअभियुक्तको पोललाई आधारभूत प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने तर अन्य प्रमाणले समर्थन गरेको हदसम्म प्रमाणमा लिन मिल्ने भनी व्याख्या गरेको पाइन्छ । यसबाट सहअभियुक्तको पोलको प्रमाण ग्राह्यतालाई आधारभूत रूपमा नै अस्वीकार गर्ने नभई यसकै आडमा मात्र कसुर प्रमाणित गर्ने दृष्टिकोण लिन नमिल्ने भन्नेसम्म देखिन आउँछ । मुद्दाको तथ्य, बेहोरा तथा अन्य प्रमाणबाट सहअभियुक्तको पोल समर्थित भइरहेको देखिन्छ भने सहअभियुक्तको पोललाई प्रमाणमा लिनै नहुने भन्ने दृष्टिकोण राख्नु न्यायोचित हुने देखिएन । तथापि यस्तो पोललाई प्रमाणका रूपमा ग्रहण गर्दा यसरी पोल गर्ने व्यक्तिले साक्षीसरह शपथ खाएको हुँदैन, निजलाई जिरह नगरिएको अवस्था पनि हुन सक्छ र आफूउपरको कसुरबाट बच्न वा अन्य कसैलाई झुठ्ठा कसुरमा फसाउन पोल गरेको हुन सक्छ भन्नेतर्फ न्यायकर्ता अत्यन्त सजग र संवेदनशील हुनुपर्ने आवश्यक रहन्छ । वस्तुतः सहअभियुक्तको पोल मुद्दामा निश्चयात्मक र प्राथमिक प्रमाण हुन सक्दैन । सहअभियुक्तको पोल जतिसुकै किटानी भए तापनि यसलाई संशयपूर्वक नै हेरिनुपर्दछ । तर यसो भनिरहँदा यसको प्रमाण ग्राह्यता नै नरहेको भन्नु पनि उचित हुँदैन । त्यसकारण यसको निश्चयात्मकताका लागि अन्य प्रमाणबाट समर्थित हुनु अपरिहार्य मानिन्छ । सबै मुद्दामा ठोस र प्रत्यक्ष प्रमाणको उपलब्धता नरहन सक्छ । यस स्थितिमा मुद्दाको तथ्यबाट खुल्न आएको परिस्थितिबाट सहअभियुक्तको पोल समर्थित भएमा मात्र प्रमाण ग्राह्य मानिनु पर्ने हुन्छ ।
६. यस सम्बन्धमा यसै अदालतबाट पुनरावेदक प्रतिवादी रेशमलाल चौधरीसमेत विरूद्ध नेपाल सरकार भएको ०७७-CR-१०७५ को कर्तव्य ज्यान मुद्दामा एकै मुद्दामा सँगै पुर्पक्ष गरिएको अवस्थामा आफूसमेत आरोपित कसुरमा साबित भई अन्य सहप्रतिवादीहरूलाई पोल गरेको र त्यस्तो पोल अन्य स्वतन्त्र प्रमाणबाट समेत समर्थित भएको अवस्थामा सहअभियुक्तको रूपमा नाबालिग प्रतिवादीले व्यक्त गरेको कथनलाई प्रमाणको रूपमा लिन मिल्ने भनी व्याख्या भएको देखिन्छ । सहअभियुक्तको पोल प्रमाणमा लिन मिल्ने भन्ने सम्बन्धमा उक्त मुद्दामा भएको व्याख्या प्रस्तुत मुद्दाको तथ्यगत अवस्थासँग मेल खाने प्रकृतिको देखिँदा प्रस्तुत मुद्दामा समेत सान्दर्भिक देखिन्छ ।
७. प्रमाण ऐन, २०३१ मा मिति २०७७।२।२० मा भएको दोस्रो संशोधनले उल्लिखित मान्यतालाई आत्मसात् गरेको देखिन्छ । सो ऐनको दफा ९क मा भएको “दुई वा दुईभन्दा बढी व्यक्तिले कसुर गरेकोमा त्यस्ता व्यक्तिहरूमध्ये कुनै व्यक्तिले अदालतमा आफू साबित भई अन्य अभियुक्तलाई पोल गरेकोमा त्यस्तो पोल अन्य प्रमाणबाट पुष्टि भएमा प्रमाणमा लिन हुन्छ” भन्ने व्यवस्थाले केवल आफू मात्र साबित भई अन्य प्रतिवादीहरूलाई पोल गरेको र त्यस्तो पोल अन्य प्रमाणबाट पुष्टि भएमा मात्र प्रमाणमा लिन मिल्ने कानूनी व्यवस्था नै भइसकेको सन्दर्भमा अव सहअभियुक्तको पोलको प्रमाण ग्राह्यताका पूर्वावस्थाका सम्बन्धमा कुनै दुविधा हुनुपर्ने अवस्था देखिएन ।
८. अब, तेस्रो अर्थात् अदालतबाहिरको पोलको प्रमाण ग्राह्यतासम्बन्धी प्रश्नका सम्बन्धमा विचार गर्दा, मुद्दाका सम्बन्धमा पक्षले व्यक्त गरेको कुरा निजका विरूद्ध प्रमाणमा लिन मिल्ने प्रमाण कानूनको स्वीकार्य मान्यता हो । तर न्यायिक निकायभन्दा बाहिर अभिव्यक्त कथनका सम्बन्धमा भने खास अवस्थामा मात्र त्यस्तो कथनलाई प्रमाणमा लिन मिल्छ । यस सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को खण्ड (क) मा फौजदारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाइएको अभियोगको सम्बन्धमा अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा अदालतले देहायबमोजिम ठहराएमा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था रहेको पाइन्छः-
(१) सो कुरा व्यक्त गर्दा अभियुक्त सचेत अवस्थामा र आफूले भनेको र गरेको कुरा बुझ्न सक्ने अवस्थामा थियो ।
(२) निजलाई बाध्य गरी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो इच्छा विरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको होइन ।
(३) सो अभियोगबारे कुनै सार्वजनिक अधिकारीले गर्ने कारवाईको सम्बन्धमा यस्तो धम्की वा विश्वास पर्ने आश्वासन दिएको थिएन जसबाट निजले सो कुरा असत्य रूपमा व्यक्त गर्ने सम्भावना थियो र जुन धम्की वा आश्वासन कार्यान्वित गर्न सक्ने अधिकार र शक्ति सो अधिकारीलाई थियो भन्ने कुरा निजले युक्तिसङ्गत रूपमा विश्वास गरेको थियो ।
९. उल्लिखित कानूनी व्यवस्था हेर्दा पक्षले कसैको डर, धाक, धम्कीविना स्वतन्त्र रूपमा स्वेच्छाले र सचेत अवस्थामा अभिव्यक्त कथनका हकमा अदालतबाहिरको अभिव्यक्तिसमेत निजका विरूद्धमा प्रमाणमा लिन मिल्ने देखिन्छ । तर उल्लिखित व्यवस्था सम्बन्धित प्रतिवादीको हकमा सम्म आकर्षित हुने हो । पोल बयानको सन्दर्भ अन्य प्रतिवादीहरूका हकमा समेत लागु हुने भएकोले सोही दफा ९ को उपदफा (२) को व्यवस्था सहअभियुक्तको पोलका हकमा समेत आकर्षित हुने हो वा होइन भन्ने प्रश्नको निरूपण हुन आवश्यक हुन्छ । वस्तुतः प्रमाण ऐन, २०३१ को दफा ९क को व्यवस्थालाई समेत ऐ. को दफा ९ को सन्दर्भबाट अलग गरेर हेर्न मिलेन । दफा ९क को व्याख्या दफा ९ को सादृश्यतामा नै गर्न आवश्यक देखियो । यस स्थितिमा अदालतबाहिर गरिएको पोल बयानमा समेत त्यसरी बयान गर्ने अभियुक्त कसुरमा साबित छ र त्यस्तो पोल अन्य प्रमाणबाट समर्थित हुनुका साथै निजले उक्त बयान यातना वा डर, धाक, धम्कीविना स्वेच्छाले र सचेतपूर्वक दिएको छ भने साबिती बयानसरह नै पोल बयानलाई समेत प्रमाणमा लिन बाधा देखिएन । तर ऐ. दफा ९ को उपदफा (२) को खण्ड (क) को देहाय (१), (२) र (३) को अवस्थाको विद्यमानता छैन भने त्यस्तो पोल बयानलाई प्रमाण ग्राह्य मान्न मिल्ने देखिएन ।
१०. अब पुनरावेदक प्रतिवादीले निज उपर पोल गर्ने सहअभियुक्तलाई जिरह गर्ने अवसर नपाएकोले उक्त पोल बयान प्रमाण ग्राह्य हुने वा नहुने भन्ने चौथो प्रश्नका सम्बन्धमा विचार गर्दा, आफूलाई पोल गर्ने अभियुक्तलाई पोलिने अभियुक्तले जिरह गर्न पाउने नेपालका सन्दर्भमा नवीनतम कानूनी व्यवस्था देखिन आउँछ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १०३ मा सहअभियुक्तको जिरह गर्न सकिने भन्ने व्यवस्था राखी प्रमाण परीक्षणका क्रममा सहअभियुक्तको पोलमा पोलाई खाने प्रतिवादीले जिरह गर्न सक्ने प्रावधान राखेको देखिन्छ । तथापि उक्त कानूनी व्यवस्था हेर्दा यस परिच्छेदबमोजिम प्रमाण परीक्षण गर्दा कुनै अभियुक्तले कुनै सहअभियुक्तलाई पोल गरेमा त्यसरी पोल गरेको कुराको हदसम्म त्यस्तो सहअभियुक्तले जिरह गर्न सक्ने छ भन्ने वाक्यांश प्रयुक्त भएको देखिँदा अदालतको बयानमा पोल गरेका सहअभियुक्तको हकमा सम्म जिरह गर्न सकिने अवस्था देखियो । मौकामा पोल गरेका तर अदालतको बयानमा कसुरमा इन्कार रहेका वा पोल नगरेका प्रतिवादीलाई न त जिरह गर्न सकिने कानूनी व्यवस्था देखियो न त त्यस्तो जिरह गर्नुको औचित्य नै देखिन आउँछ । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी फत्त महमद मियाँलाई पोल गर्ने सहअभियुक्तहरू अदालतको बयानमा कसुरमा इन्कार रहेको देखिँदा निजहरूलाई जिरह गर्नुपर्ने आवश्यकता र औचित्य नै देखिएन ।
११. यसबाहेक उक्त कानूनी व्यवस्थामा अभियुक्तले पोलेको कुराको हदसम्म त्यस्तो सहअभियुक्तले जिरह गर्न सक्ने छ भन्ने कानूनी व्यवस्था देखिँदा प्रमाण परीक्षणको कार्यविधि स्वरूप अनिवार्य रूपमा जिरह गर्नुपर्ने आवश्यकता देखिन आउँदैन । सहअभियुक्तले पोल गरेको विषयमा पोल गर्ने र पोलाई खाने दुवै अभियुक्तको एकै साथ सुनुवाइ भएको अवस्था छ र पोलाई खानेले पोल गर्नेलाई "जिरह गर्न चाहेमा" उक्त पोल गरेको विषयमा सम्म सीमित रही जिरह गर्न पाउने अवस्था देखियो । तथापि पूर्वपठित संहिताको दफा १०३ ले सहअभियुक्तको जिरहलाई स्वेच्छिक प्रबन्धका रूपमा व्यवस्था गरेको भए तापनि यसबाट सहअभियुक्तको कथनको सत्यता पर्गेल्न सहयोग पुग्ने र आफू विरूद्धको पोलको जिरह गर्न पाउने सम्बन्धित अभियुक्तको हकको विषयसमेत हुँदा न्यायिक कार्यविधिमा यसलाई फौजदारी न्याय एवम् स्वच्छ सुनुवाइको हकका रूपमा आत्मसात गरी अब उप्रान्त कुनै अभियुक्तको बयान गराउँदा निजले सहअभियुक्तलाई पोल गरेमा सो हदसम्म त्यसरी पोल गर्ने अभियुक्तलाई जिरह गर्न पाउने गरी कार्यविधिको अवलम्बन गर्नु भनी सबै अदालतहरूको ध्यानाकर्षण गराउनुपर्ने देखिन आयो ।
१२. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी फत्त महमद मियाँ मौकामा फरार रही अन्य प्रतिवादीहरूको बयानपश्चात् मात्र अदालतमा उपस्थित हुन गएको देखिँदा यी पुनरावेदक प्रतिवादीले निजलाई पोल गर्ने अन्य प्रतिवादीहरूलाई जिरह गर्नुपर्ने अवस्थाको विद्यमानता नहुनुको साथै प्रस्तुत मुद्दाको सुनुवाइ हुँदाका बखत सहअभियुक्तलाई जिरह गर्न पाउने उल्लिखित कानूनी व्यवस्था नै नभएको सन्दर्भमा जिरह नगरिएको सहअभियुक्तको पोल प्रमाण ग्राह्य नहुने भन्ने पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन । साथै सहअभियुक्तको जिरह नभएकै कारण मिसिल संलग्न अन्य प्रमाणसमेतका आधारबाट गरिएको न्यायिक निष्कर्षलाई अन्यथा मान्न मिलेन ।
१३. अब, सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६९।१०।७ मा भएको फैसला केही उल्टी गरी तत्कालीन पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०।८।२६ मा भएको फैसला मिलेको छ वा छैन ? प्रतिवादी फत्त महमद मियाँको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने अन्तिम प्रश्नका सम्बन्धमा विचार गर्दा, मिति २०६८।६।४ गते पर्सा जिल्ला पिडारीगुठी -५ स्थित सडकमा चेक जाँच गर्दा आफूले ल्याएको लागु औषध गाँजाको पोका फाली भागी जाने दुई जना व्यक्तिमध्ये एक जना व्यक्ति यी पुनरावेदक प्रतिवादी भएको भन्ने मौकामा पक्राउ परेका अन्य प्रतिवादीहरूको पोल, मिसिल संलग्न खानतलासी तथा बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन तथा सो प्रतिवेदन पेस गर्ने प्र.ना.नि. हस्तबहादुर ताम्राकारले अदालतमा गरेको बकपत्रलगायतका प्रमाणबाट समर्थित भएको अवस्था देखियो । यी पुनरावेदक प्रतिवादीले केवल सहअभियुक्तको पोलका आधारमा मात्र गढाउ गर्न नमिल्ने भन्ने जिकिर लिएको भए तापनि यी प्रतिवादी वारदात परिदृश्यमा नै देखा नपरेका उनाउ व्यक्ति नभई निज वारदात स्थलमा लागु औषध गाँजाको पोका बोकी गैरहेकोमा प्रहरीले रोकी जाँच गर्दा पोका फाली भागी गएको अवस्था रहेको छ । निजले फाली गएको लागु औषध गाँजा बरामद भएको अवस्थासमेत छ । निजलाई प्रहरीले रोक्न खोज्दाखोज्दै भागी गएका हुन् भनी वारदातस्थलबाट तत्काल पक्राउ परेका अन्य प्रतिवादीहरूले गरेको बयान बेहोरालाई केवल सहअभियुक्तको पोल भनी नजरअन्दाज गर्न मिल्ने देखिएन । वस्तुतः बरामदी मुचुल्का र प्रहरी प्रतिवेदनसमेतका प्रमाण र वारदातको तथ्य र परिस्थितिले पनि यी पुनरावेदक प्रतिवादी वारदातस्थलमा नै उपस्थित भई पोका फाली गएको बेहोरा पुष्टि भइरहेको अवस्था छ । निजउपरको पोल तथ्य प्रमाणबाट समर्थित नभएको निराधार पोल भन्ने देखिन आएन । तथ्य प्रमाणबाट समर्थित पोल बयानलाई प्रमाणमा लिन प्रचलित कानूनले बाधा नगरेको र हाम्रो न्यायिक अभ्यास र प्रचलनसमेत रहे भएको सन्दर्भमा सोसमेतका आधार प्रमाणबाट प्रतिवादी फत्त महमद मियाँलाई अभियोग दाबीबमोजिम कसुर गरेको ठहर गरेको तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसला मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन । आफू निर्दोष हुँदा आरोपित कसुरबाट सफाइ पाउँ भनी निज प्रतिवादी फत्त महमद मियाँले लिएको पुनरावेदन जिकिर एवम् यस अदालतको संयुक्त इजलासबाट प्रत्यर्थी झिकाउने गरी भएको आदेशमा उल्लिखित आधार कारणसँग यो इजलास सहमत हुन सकेन ।
१४. अतः माथि विवेचित आधार, कारण कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादी फत्त महमद मियाँलाई अभियोग मागदाबीबमोजिम लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (क) अनुसारको कसुरमा ऐ. को दफा १४ को उपदफा (१) को खण्ड (घ) को देहाय (५) बमोजिम ३(तीन) वर्ष कैद र रू. २५,०००।- जरिवाना हुने ठहर्याई सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६९।१०।७ गते भएको फैसला केही उल्टी गरी यी पुनरावेदक प्रतिवादीले फाली भागेको गाँजाको प्रकृति र परिमाणसमेतलाई विचार गरी निजलाई ऐ. दफा १४ को उपदफा (१) को खण्ड (घ) को देहाय (५) बमोजिम २(दुई) वर्ष कैद र रू.२५,०००।- (पच्चिस हजार रूपैयाँ) जरीवाना हुने ठहर गरी तत्कालीन पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०।८।२६ मा भएको फैसला न्यायोचित र कानूनतः मिलेको देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादी फत्त महमद मियाँको पुनरावेदन जिकिर पुग्न सक्दैन।अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
१. माथि इन्साफ खण्डमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १०३ को कार्यान्वयनका सम्बन्धमा विवेचना गरिएबमोजिम अब उप्रान्त कुनै अभियुक्तको बयान गराउँदा सहअभियुक्तलाई पोल गरेमा सो हदसम्म निजलाई जिरह गर्न पाउने गरी उक्त कार्यविधिको अवलम्बन गर्नु गराउनु भनी सबै अदालतहरूको ध्यानाकर्षण गराउन यस अदालतका मुख्य रजिस्ट्रारलाई अवगत गराउनू ।
२. प्रस्तुत फैसला विद्युतीय मुद्दा व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी सोको जनाउ फैसलाको पिठमा उल्लेख गर्नू ।
३. प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्तको कार्यालयलाई दिनू ।
४. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.प्रकाशकुमार ढुङ्गाना
न्या.अब्दुल अजीज मुसलमान
इजलास अधिकृत (उपसचिव):- कुबेर पाण्डे
इति संवत् २०८० साल माघ २५ गते रोज ५ शुभम् ।