शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४५४ - अंश चलन

भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश डा. श्री कुमार चुडाल 

माननीय न्यायाधीश श्री विनोद शर्मा

माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल

फैसला मिति : २०८१।३।१३

०७६-NF-००१८

 

मुद्दाः अंश चलन

 

पुनरावलोकनकर्ता / वादी : डम्बरबहादुर थापाको बुहारी धनबहादुर थापाको श्रीमती ललितपुर जिल्ला लामाटार गाउँ विकास समिति वडा नं. ४, परिवर्तित महालक्ष्मी नगरपालिका वडा नं. १८ बस्ने कान्छी थापाको मुद्दा सकार गर्ने कमला के.सी.समेत

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : डम्बरबहादुर थापाको नाति ज्ञानबहादुर थापाको छोरा ऐ.ऐ. बस्ने मनोहर थापा परलोक भई मुद्दा सकार गर्ने मनोहर थापाको श्रीमती कान्छी थापासमेत 

 

अंशसम्बन्धी हक जन्मसिद्ध भए पनि अंश एकपटक मात्र पाउने र व्यवहार प्रमाणबाट आ आफ्नो नाममा नापी दर्ता भोग तिरोभरो बिक्री व्यवहार गरेको अवस्थालाई अंशबन्डाको ३० नं. ले छुट्टी भिन्‍न भएको मानिने हुँदा एकपटक अंश लिई पाई छुट्टी भिन्‍न भइसकेपछि अंश हक समाप्‍त हुने हुँदा पटकपटक अंशमा दाबी गर्न नपाउने । 

(प्रकरण नं.७)

 

पुनरावलोकनकर्ता / वादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री विश्‍वप्रसाद सिग्देल तथा विद्वान्‌ अधिवक्ता श्री लक्ष्मण आचार्य

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री बच्चुसिंह खड्‍का, विद्वान्‌ अधिवक्ता श्री प्रकाश थापा

अवलम्बित नजिर :

ने.का.प.२०५६ अङ्‍क १२ नि.नं. ६८२४

ने.का.प.२०६३, अङ्‍क ९, नि.नं. ७७६१

ने.का.प.२०६६, अङ्‍क २, नि.नं. ८०८८

ने.का.प.२०६६, अङ्‍क ९, नि.नं. ८२२७

सम्बद्ध कानून :

 

सुरू फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री ऋषिकेश वाग्ले

ललितपुर जिल्ला अदालत 

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री गिरीराज पौड्‍याल

माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्‍ठ

पुनरावेदन अदालत पाटन

यस अदालतमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे

माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ

 

फैसला

न्या.डा.कुमार चुडाल : यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१०।२१ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२०(२)(ख) बमोजिम यस अदालतमा दायर भएको मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भन्‍ने निवेदनमा यस अदालतबाट मिति २०७६।०७।०७ मा मुद्दा पुनरावलोकनको अनुमति प्रदान भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार रहेको छः-

प्रतिवादी मनोहर थापाको काका तथा हामी फिरादीका पति धनबहादुर थापासँग सामाजिक परम्पराअनुसार विवाह भएको हो । ससुरा डम्बरबहादुर थापा र सासू कृष्णकुमारी थापाको अंशियार २ छोरा ज्ञानबहादुर थापा र धनबहादुर थापा भएकोमा जेठाजु ज्ञानबहादुर थापा तथा पति धनबहादुर थापाको परलोक भइसकेको छ । पति धनबहादुर थापा तथा म कान्छी थापाको तर्फबाट ३ छोरीहरू र म रामप्यारी थापाको तर्फबाट १ छोरीको जायजन्म भएकोमा सबै छोरीहरूको विवाह भइसकेको छ । पति धनबहादुरको अंश हक खाने हामी फिरादी र जेठाजु ज्ञानबहादुर थापाको अंश हक खाने विपक्षी प्रतिवादी मनोहर थापा रहेका छन् । ससुरा, सासू, जेठाजु र पतिको मृत्युपश्‍चात हामी फिरादीहरू विपक्षी मनोहर थापासँग एकासगोलमा बसी आएकोमा निजले हाम्रो अंश भाग छुट्‍याइदिन इन्कार गरेकाले बाध्य भई फिराद गर्न आएका छौँ । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सासू, ससुरा, पति र प्रतिवादीको नामको जो भएको श्रीसम्पत्ति निज प्रतिवादीकै जिम्मा रहेको हुँदा निजबाटै सो सम्पत्तिको तायदाती फाँटवारी लिई २ भाग लगाई पतिको १ भाग अंश हामी फिरादीलाई छुट्‍याई चलन चलाइपाऊँ भन्‍नेसमेत बेहोराको वादी रामप्यारी थापासमेतको फिरादपत्र । 

नातामा विवाद छैन । मेरो नाम मनहरी थापा नभई मनोहर थापा हो । विपक्षीका पति, मेरा हजुरआमा र मेरा बाबुबिच २०१५ सालमा नै अंश छुट्टी भिन्‍न भई छुट्टै बसी २०२१ सालको नापीमा आआफ्नै नाममा दर्ता गरी छुट्टाछुट्टै नाप नक्सा गरेका थिए । हजुरआमाको जिउनी भाग विपक्षी वादीहरूले कुलधर्मअनुसार काजक्रियासमेत नगरेको, मैले मात्र गरेकोले, हजुरआमाको मृत्युपछि निजको अपुतालीमा वादीहरूले दावा गर्न पाउँदैनन् । म प्रतिवादीको निजी आर्जनको सम्पत्तिमा पनि हक लाग्दैन । वादीहरूले आफ्नो पति धनबहादुर थापाको सम्पत्ति मात्र पाउने हो । मेरा पिता तथा हजुरआमाको सम्पत्ति पाउने होइन । फिराद दाबी खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी मनोहर थापाको प्रतिउत्तर जिकिर । 

वादीका पति र प्रतिवादीको बिचमा अंशबन्डा भएको छैन । अंश लाग्‍ने सम्पत्ति प्रतिवादीकै जिम्मा र भोगचलनमा रहेको छ भन्‍नेसमेत वादीका साक्षी मिना के.सी.ले सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।

वादीका पति र प्रतिवादी दाजुभाई मैले देखेदेखि अलग बसी घरद्वारसमेत अलग अलग भई बसोबास भान्सा गरी अलग जमिन भोगचलन गरी आएका छन् भन्‍ने प्रतिवादीका साक्षी इन्द्रबहादुर थापाले सुरू जिल्ला अदालतमा गरेको बकपत्र । 

सुरू ललितपुर जिल्ला अदालतको मिति २०६९।११।२२ को आदेशानुसार आफ्नो जिम्मामा बन्डा गर्नुपर्ने कुनै पनि चल अचल सम्पत्ति नरहेको भन्‍नेसमेत वादीको तायदाती फाँटवारी तथा हजुरआमाको नाममा दर्ता रहेका हाल बन्डा लाग्ने कित्ता नं. ५५६, १४, १३ र १५ का घरजग्गाहरू र साबिकमा बन्डा भई नापीमा बाबुको नाममा छुट्टै दर्ता कायम भई मेरो भोग रहेका र मैले खरिद गरेको बन्डा नलाग्ने कित्ता नं. ६७४, ६७८, ७९० र ५६२ का घरजग्गाहरू भनी प्रतिवादीबाट पेस भएको सम्पत्तिको तायदाती फाँटवारी सुरू मिसिल सामेल रहेको । 

सुरू ललितपुर जिल्ला अदालतको मिति २०६९।१२।२६ को आदेशानुसार नपुग कोर्टफिका हकमा द.नं. ९८६६ मिति ०६९।१२।२६ को निवेदनबाट वादीले सुविधा प्राप्‍त गरेको । 

यसमा २०१५ सालमा नै वादीका पिता तथा प्रतिवादीका पतिबिच अंशबन्डा भएको थियो भन्‍ने प्रतिवादीको जिकिर स्थापित हुन सकेको पाइएन । यस अवस्थामा वादी प्रतिवादीहरू सगोलमै रहेको ठहर्छ । तसर्थ वादीहरूले प्रतिवादीबाट वादी प्रतिवादीका नाउँमा तथा निजहरूका पुर्खाका नाउँमा कायम भएको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट आधा सम्पत्ति अंश पाउने ठहर्छ । दर्ता बाँकी रहेको कित्ता जग्गाको हकमा दर्ता भई आएको खण्डमा सोहीबमोजिम अंश पाउने ठहर्छ भन्‍ने सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०७०।०२।१२ मा भएको फैसला ।

वादी प्रतिवादीबिच २०१५ सालमा अंशबन्डा नभएको भए वादीका पति तथा प्रतिवादीका बाबुको नाममा छुट्टाछुट्टै जग्गाधनी प्रमाण पुर्जा तथा मोहीको लगत हुने थिएन । त्यसैगरी छुट्टाछुट्टै घर भान्सा भई अलगअलग बसोबास हुने थिएन । विपक्षीका पति र मेरा बाबु तथा हजुरआमाबिच २०१५ सालमा भागशान्ति अंशबन्डा गरी सोहीबमोजिम भोगी तिरी मोही लगत भई पारिवारिक लगतसमेतबाट छुट्टिएको भन्‍ने व्यवहार प्रमाणबाट प्रमाणित भइरहेको अवस्थामा मैले मिति २०६५।१०।१९ मा खरिद गरेको कित्ता नं. ५६२ समेतको जग्गा बन्डा लाग्ने गरी भएको सुरू ललितपुर जिल्ला अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ३४ एवं मुलुकी ऐन, अ.बं. १८४(क) र १८५ नं.समेतको विपरीत भएकोले उक्त फैसला बदर गरी सुरू फिराद दाबी खारेज गरिपाउँ भन्‍नेसमेत पुनरावेदक प्रतिवादी मनोहर थापाले पुनरावेदन अदालत पाटनमा दिएको पुनरावेदनपत्र ।

यसमा २०१५ सालमा अंशबन्डा गरी छुट्टी भिन्‍न भइसोही आधारमा छुट्टाछुट्टै नाममा नापी गराई भोग गरी आएको भन्‍ने प्रतिउत्तर जिकिर एवं कित्ता नं. ९०, ९२ र ११९ को जग्गा जोताहा महलमा “धनबहादुरको हकमा सही गर्ने आमा कृष्णकुमारी” जग्गाधनी महलमा “धनबहादुर हस्ते श्रीमती रामप्यारी थपिनी” जनिई कैफियत महलमा यो जग्गा ससुराको नाममा दर्ता छ, नामसारी गर्न बाँकी छ भनी सही गर्ने रामप्यारी थपिनी भनी नापी कार्यालय, ललितपुरबाट प्राप्‍त फिल्डबुक उतारमा बेहोरा उल्लेख भइरहेको अवस्थामा उक्त प्रमाणको विवेचना नगरी भएको सुरू ललितपुर जिल्ला अदालतको मिति २०७०।०२।१२ को फैसला प्रमाण मूल्याङ्‍कनको रोहमा फरक पर्नसक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत, पाटनको मिति २०७१।०७।१६ को आदेश ।

वादीहरूले तायदाती फाँटवारीमा उल्लिखित दर्ता कायम रहेको सम्पत्तिको दुई भागको एक भाग अंश छुट्‍याई पाउने ठहर्‍याएको सुरू ललितपुर जिल्ला अदालतको मिति २०७०।०२।१२ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०७१।१०।२५ मा भएको फैसला ।

म निवेदकले पेस गरेको प्रतिउत्तर जिकिरलगायतका मिसिल संलग्न सम्पूर्ण व्यवहार प्रमाणबाट अंशबन्डाको ३० नं. मुताबिक अंशबन्डा भइसकेको कुरा स्पष्‍ट भएकोमा वादीका पति तथा सासू ससुराको परलोक भएको ३५ वर्षको अवधिसम्म यदि अंशबन्डा नभएको भए विपक्षीहरू चुप लागेर बस्नुपर्ने अवस्था हुँदैन । म निवेदकले आफ्नो स्वआर्जनबाट खरिद गरी लिएको कित्ता नं. ५६२ को जग्गालाई समेत गिद्धे दृष्‍टि लगाई दूषित मनसायले दायर गरेको झुट्‍टा फिराद हो भन्‍ने कुरा विपक्षीका पतिको नाउँको कित्ता नं. ९०, ९२ र ११९ को सम्पत्ति तायदाती फाँटवारीमा नदेखाउनु र सो सम्पत्ति बन्डा लाग्ने नलाग्ने नबोली भएको फैसलालाई स्वीकारी पुनरावेदन नगरी बसेबाट नै विपक्षीहरूले बढीभन्दा बढी सम्पत्ति हातलागी गर्ने उद्देश्‍यले मात्र प्रस्तुत झुट्‍टा बेहोराको फिराद दिएको भन्‍ने कुरा विपक्षीहरूको व्यवहार प्रमाणबाट स्थापित हुँदाहुँदै पनि मिसिल संलग्न प्रमाणको मूल्याङ्‍कन नगरी अंशबन्डा गर्ने गरेको फैसला सर्वोच्‍च अदालतबाट ने.का.प. २०४० विशेषाङ्‍क पृ.२२४, वि.नि.नं. ८०, ने.का.प. २०४२ नि.नं. २४२१, ने.का.प. २०३७ नि.नं. १३७५ अङ्‍क ५ पृ. ८८, ने.का.प. २०४० नि.नं. १६३७ अङ्‍क ३ पृ. १००, ने.का.प. २०६२ अङ्‍क १० नि.नं. ७६१५, ने.का.प. २०६६ अङ्‍क ९ नि.नं. ८२२७ समेतका मुद्दाहरूमा प्रतिपादित नजिर सिद्धान्तसमेतको प्रतिकूल भएकोले मुद्दा दोहोर्‍याई हेरी वादी दाबीबमोजिम अंश पाउने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०७१।१०।२५ मा भएको फैसला बदर गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी मनोहर थापाको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

यसमा पुनरावेदक / प्रतिवादीले उल्लेख गरेको व्यवहार प्रमाणबाट डम्बरबहादुरको श्रीमती कृष्णकुमारी र छोराहरू धनबहादुर थापा र ज्ञानबहादुर थापाको नाममा २०२१ सालमा छुट्टाछुट्टै नापीका जग्गाहरू दर्ता देखिएकोले पुनरावेदन अदालत पाटनको फैसलामा मुलुकी ऐन, अदालती बन्दोबस्तको ८२, १८४(क) र १८५ नं., अंशबन्डाको १, ४, १८, २० र ३० नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३, २६, र ५४ को त्रुटि हुनुको साथै ने.का.प. २०४०, विशेषाङ्‍क पृ. २२४, वि.नि.नं. ८० मा प्रतिपादित सिद्धान्तको प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षीलाई सूचना दिई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतबाट मिति २०७२।०५।०३ मा भएको आदेश । 

वादीहरूले कित्ता नं. ९०, ९२ र ११९ को जग्गा आफ्ना पति धनबहादुरको नाउँमा दर्ता नभएको वा सो जग्गा आफूहरूले भोगचलन नै नगरेको भन्‍न सकेको देखिँदैन । तायदाती फाँटवारीमा उल्लिखित जग्गा पेस हुन आएको देखिँदैन । वादीले उल्लिखित जग्गा सगोलमै भोगचलन गरेको भन्‍न पनि नसकेकोले वादीका पति तथा प्रतिवादीका बाबुसमेत जग्गा नापी हुनुपूर्व नै अलगअलग भई नापीमा छुट्टाछुट्टै जग्गा नापी गराएको देखिएकोले यी वादी प्रतिवादीहरू सगोलको अंशियार रहेको देखिन आएन । प्रतिवादी मनोहर थापाको नाम दर्ताको जग्गा निजले २०६५ सालमा खरिद गरी लिएको देखिएकोले सो जग्गा बन्डा लाग्ने सगोलको जग्गा भएको देखिएन । कृष्णकुमारी थापाको नाउँमा दर्ता रहेका कित्ता नं. ५५६, १३, १४ र १५ का जग्गाहरूका हकमा निज कृष्णकुमारीको मृत्यु भइसकेकोले निजको हक खाने हकदार यिनै वादी प्रतिवादीहरू रहेको देखिएकोले निज कृष्णकुमारी थापाको नाम दर्ताको उक्त जग्गाहरू र दर्ता नभएको जग्गा वादी प्रतिवादीको हक पुगी दर्ता हुने भएमा त्यस्तो जग्गासम्म वादीहरूले आधा र प्रतिवादीले आधा बन्डा छुट्‍याई लिन पाउने ठहर्छ । तायदाती फाँटवारीमा उल्लिखित सबै घरजग्गा बन्डा गर्ने गरेको सुरू फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला सो हदसम्म नमिलेकोले केही उल्टी हुने ठहर्छ भन्‍ने यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१०।२१ मा भएको फैसला ।

कित्ता नं. ९०, ९२ र ११९ का जग्गाहरू धनबहादुरको नाउँमा दर्ता रहेको जग्गा होइन । अदालतको आदेशबमोजिम बुझिएको स्रेस्ताबाट जग्गा दर्ता नभएको प्रस्ट हुन्छ । सो तथ्य पुनरावेदन अदालत पाटनबाट मिति २०७१।१०।२५ मा भएको फैसलाको प्रकरण १३ मा उल्लेख भएको बेहोरा र उक्त कित्ताको स्रेस्ताको कैफियतमा उल्लिखित बेहोरासमेतबाट खुलेको छ । वादी तथा वादीका पति धनबहादुरको नाममा कुनै जग्गा दर्ता रहेको वा बिक्री गरेको भन्‍ने कहीँकतैबाट खुलेको पनि छैन । उल्लिखित जग्गाहरू धनबहादुरको नामको भनी फिरादीसमेतले भोग गरेको अनुमान गरी बन्डायोग्य कित्ता नं. ५६२, ६७४, ६७८, ७९० जग्गाको अंश नपाउने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१०।२१ मा भएको फैसला मुलुकी ऐन, अदालती बन्दोबस्तको १८४(क), अंशबन्डाको ३० नं., प्रमाण ऐन, २०३१ को दफा ६(ग), ५४ तथा ने.का.प. २०४१ नि.नं. २१०३, ने.का.प. २०४४ नि.नं. ३०५१ मा स्थापित नजिर सिद्धान्तको प्रतिकूल भएकोले प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भन्‍नेसमेत वादी रामप्यारी थापासमेतको यस अदालतमा पर्न आएको निवेदन । 

यसमा, वादी प्रतिवादी पहिले व्यवहार प्रमाणबाट छुट्टिएको भन्‍ने तथ्य पुष्‍टि नभएको, अंश मुद्दा मिति २०६८।०९।१८ मा परेको र फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरेको अवस्थामा प्रतिवादी मनोहर थापाका बाबु पहिले नै छुट्टिएको भनी निज मनोहर थापाका नाउँको सम्पत्ति बन्डा नलाग्ने ठहर गरेको यस अदालतको मिति २०७४।१०।२१ को फैसला ने.का.प. २०४४, नि.नं. ३०५१, पृष्‍ठ ३२९ मा प्रकाशित नजिर तथा मुलुकी ऐन, अंशबन्डाको ३० नं. को कानूनी व्यवस्थाको विपरीत देखिई न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) को खण्ड (ख) को अवस्था विद्यमान रहेको देखिँदा प्रस्तुत मुद्दामा पुनरावलोकनको अनुमति प्रदान गरिदिएको छ भनी यस अदालतबाट मिति २०७६।०७।०७ मा भएको आदेश।

यस अदालतको ठहर

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल कागजात अध्ययन गरी हेरियो ।

पुनरावलोकनकर्ता वादीहरू कान्छी थापाको मुद्दा सकार गर्ने कमला के.सी. तथा रामप्यारी थापाको मुद्दा सकार गर्ने कोपिला देवी अधिकारीसमेतको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री विश्‍वप्रसाद सिग्देल तथा विद्वान्‌ अधिवक्ता श्री लक्ष्मण आचार्यले वादीहरूका नाउँमा कुनै जग्गा दर्ता नभएको, वादीका पति स्व.धनबहादुर थापाको नाउँमा कित्ता नम्बर ९०, ९२ र ११९ दर्ता नभएका जग्गा रहेका छन् । प्रतिवादी मनोहरको नाउँमा दर्ता भएका कित्ता नम्बर ५६२,६७४, ६७८ र ७९० का घरजग्गाहरू र स्व.कृष्णकुमारीको नाउँमा रहेका कित्ता नम्बर ५५६, १३, १४ र १५ समेत घरजग्गा प्रतिवादीले भोगचलन गरिरहेको अवस्था छ । वादी प्रतिवादीबिच घरसारमा वा लिखत पारित गरी बन्डा भएको छैन । अतः प्रतिवादीको नाउँमा रहेका सगोलका सम्पूर्ण घरजग्गाबाट वादीहरूले आधा अंश पाउनुपर्नेमा कृष्णकुमारीको नाउँमा दर्ता भएका जग्गाबाट मात्र अंश पाउने ठहरी यस अदालतको संयुक्त इजलासबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्‍नेसमेत बहस गर्नुभयो ।

प्रत्यर्थी प्रतिवादी मनोहर थापाको मुद्दा सकार गर्ने कान्छी थापासमेतको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री बच्चुसिंह खड्‍का, विद्वान्‌ अधिवक्ता श्री प्रकाश थापाले वादीहरूका पति धनबहादुर थापा तथा प्रतिवादीका पिता ज्ञानबहादुर थापा र निजहरूकी आमा कृष्णकुमारीबिच २०१५ सालमा नै घरसारमा बन्डा भई २०२१ सालमा नापी हुँदा तीन जनाकै नाउँमा आआफ्नो अंशभागको जग्गा नापी भई दर्ता भएको छ । मिसिल संलग्न फिल्डबुक उतार र स्रेस्ता उतारबाट सो बेहोरा पुष्‍टि हुन्छ । वादीहरूका पतिसमेतले एकपटक घरसारमा अचल सम्पत्ति अंशबन्डा गरी आआफ्नो जग्गा आआफ्ना नाममा नापी दर्ता भोग बिक्री व्यवहार गरेको अवस्था हुँदा मुलुकी ऐनको सातौँ सशोधनद्वारा अंशबन्डाको ३० नं. मा थप भएको कानूनी व्यवस्थाअनुसार बन्डाको लिखत खडा गरी वा नगरी घरसारमा बन्डा छुट्‍याई आआफ्नो नाममा नापी दर्ता भोग बिक्री व्यवहार गरेको देखिए व्यवहार प्रमाणबाट छुट्टी भिन्‍न भएको पुष्‍टि हुन्छ । छुट्टी भिन्‍न भइसकेपछि प्रतिवादीको नाममा खरिद भएको जग्गा निजको निजी आर्जनको भई वादीहरूलाई बन्डा लाग्ने होइन । सर्भे नापीको समयमा वादीहरूका पतिको नाममा नापी भएका कित्ता नम्बर ९०, ९२ र ११९ का जग्गा र स्व.कृष्‍णकुमारीको नाउँमा दर्ता भएका दर्ता भएका जग्गाबाट मात्र वादीहरूले अंश पाउने हुँदा वादीहरूलाई प्रतिवादीले अंश दिनुपर्ने होइन । अतः यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१०।२१ मा भएको फैसला मिलेको हुँदा सदर गरिपाउँ भन्‍नेसमेत बहस गर्नुभयो ।

हामी फिरादीहरू र प्रतिवादी मनोहर थापा एकासगोलमा बसी आएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी प्रतिवादी मनोहर थापाबाट बन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी लिई २ भागको १ भाग अंश छुट्‍याई चलन चलाई पाउँ भन्‍ने वादी रामप्यारी थापासमेतको फिराद दाबी रहेछ । नातामा विवाद नभएको, वादीहरूका पतिले २०१५ सालमा अंश लिई छुट्टी भिन्‍न भई २०२१ सालको नापीमा आआफ्ना नाममा जग्गा नापी गराई दर्ता गरेको हुँदा वादीहरूले आफ्ना पति धनबहादुर थापाको सम्पत्ति मात्र पाउने हो । मेरा पिता र हजुरआमाको सम्पत्ति पाउने होइन । फिराद दाबी खारेज गरिपाउँ भन्‍ने प्रतिवादी मनोहर थापाको प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा वादीहरूले प्रतिवादीबाट तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट आधा सम्पत्ति अंश पाउने र दर्ता हुन बाँकी रहेको जग्गाको हकमा दर्ता भई आएको खण्डमा सोहीबमोजिम अंश पाउने भनी सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०७०।०२।१२ मा फैसला भएको पाइन्छ । 

सुरू ललितपुर जिल्ला अदालतको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भनी प्रतिवादी मनोहर थापाको तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनबाट सुरू फैसला सदर हुने ठहर्‍याई मिति २०७१।१०।२५ मा फैसला भएको देखिन्छ । उक्त फैसलामा चित्त नबुझाई प्रतिवादी मनोहर थापाले मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी यस अदालतमा निवेदन दिएकोमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा दर्ता भई यस अदालतको संयुक्त इजलासमा पेस हुँदा प्रतिवादी मनोहर थापाको नाम दर्ताको जग्गा निजले २०६५ सालमा खरिद गरी लिएको देखिँदा सो जग्गा बन्डा नलाग्ने, कृष्णकुमारी थापाको नाउँमा दर्ता रहेका कित्ता नं. ५५६, १३, १४ र १५ का जग्गाबाट वादीहरूले आधा बन्डा छुट्‍याई लिन पाउने ठहरी यस अदालतबाट मिति २०७४।१०।२१ मा फैसला भएको देखिन्छ । उक्त फैसलामा चित्त नबुझाई वादी रामप्यारी थापासमेतले पुनरावलोकन गरिपाउँ भनी यस अदालतमा निवेदन दिएकोमा यस अदालतबाट मिति २०७६।०७।०७ मा पुनरावलोकनको अनुमति प्रदान भई निर्णयार्थ पेस हुन आएको देखियो ।   

उपर्युक्तबमोजिमको बहस जिकिर एवम् तथ्य रहेको प्रस्तुत मुद्दामा मूलतः देहायका सवालहरूको विवेचना गरी न्यायिक निष्कर्षमा पुग्नुपर्ने देखियो ।

क) वादीहरू र प्रतिवादीबिच मूल विवाद के मा रहेको देखिन्छ ?

ख) वादीहरूले के कुन सम्पत्तिबाट अंश पाउने हो ? प्रतिवादी मनोहर थापाको नाउँमा दर्ता रहेका घरजग्गाबाट अंश पाउनुपर्ने हो, होइन ? 

ग) वादीहरूले प्रतिवादीबाट आधा सम्पत्ति अंश पाउने ठहरी भएको सुरू फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी गरी प्रतिवादी मनोहर थापाको नाम दर्ताको जग्गा बन्डा नलाग्ने, कृष्णकुमारी थापाको नाउँ दर्ताको कित्ता नं. ५५६, १३, १४ र १५ का जग्गाहरू र दर्ता नभएको जग्गा दर्ता हुने भएमा त्यस्तो जग्गाबाट वादी प्रतिवादीहरूले आधा आधा बन्डा छुट्‍याई लिन पाउने भनी यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१०।२१ मा भएको फैसला मिलेको देखिन्छ देखिँदैन ?

 

२. पहिलो सवालतर्फ विचार गर्दा वादी तथा प्रतिवादीका मुल पुर्खा स्व. डम्बरबहादुर थापा र निजकी पत्‍नी स्व.कृष्‍णकुमारी थापाका दुई छोराहरू स्व.ज्ञानबहादुर थापा र स्व.धनबहादुर थापा भई वादीहरू कान्छी थापा र रामप्यारी थापा स्व.धनबहादुर थापाका पत्‍नीहरू भएको तथा प्रतिवादी मनोहर थापा स्व.ज्ञानबहादुर थापाको छोरा भएको भन्‍ने मिसिलबाट देखिएको छ । हाम्रो अंश भाग छुट्‍याइदिनुस् भनी प्रतिवादीलाई भन्दा अंश दिन्‍न भनेको र अंशबन्डा लाग्ने सम्पूर्ण सम्पत्ति प्रतिवादीको जिम्मा रहेकाले निजबाटै तायदाती फाँटवारी लिई २ भागको १ भाग अंश पाउँ भन्‍ने वादी दाबी रहेको देखिन्छ । नातामा विवाद नरहेको, वादीहरूका पतिले २०१५ सालमा अंश लिई छुट्टी भिन्‍न भई २०२१ सालको नापीमा आआफ्ना नाममा जग्गा नापी गराई दर्ता गरेको हुँदा आफूले वादीहरूलाई अंश दिनु नपर्ने, वादीहरूले हजुरआमा कृष्‍णकुमारीको काजकिरिया नगरेको, आफूले गरेको हुँदा हजुरआमाको नामको सम्पत्ति वादीहरूले नपाउने भन्‍नेसमेत प्रतिउत्तर जिकिर रहेको पाइन्छ । 

३. उपर्युक्तबमोजिम फिराद दाबी र प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा वादी प्रतिवादीबिच अंशियार नातामा विवाद देखिएन । वादीहरू र प्रतिवादीबिच अंशबन्डाको लिखत नभएको स्थिति रही अंशबन्डा नभएकोले बन्डा गरिपाउँ भन्‍ने वादी दाबी रहेको र वादी प्रतिवादीका पति तथा पिताहरू २०१५ सालमा अंश लिई व्यवहार प्रमाणबाट छुट्टी भिन्‍न भएको भन्‍ने प्रतिउत्तरपत्र परेको देखिन्छ । सर्भे नापीका बखत वादीहरूका पति धनबहादुर थापा र प्रतिवादीका बाबु ज्ञानबहादुर थापा तथा वादीहरूको सासू / प्रतिवादीको हजुरआमा कृष्णकुमारीको नाउँमा अलगअलग जग्गा नापी भई दर्ता भएको भन्‍ने नापी कार्यालय ललितपुरको च.नं. १४३१ मिति २०७०।१२।२० को पत्रसाथ प्राप्‍त भई पुनरावेदन अदालत पाटनको मिसिलसाथ संलग्न फिल्डबुक उतारबाट देखिन्छ । ललितपुर जिल्ला लुभु वडा नं. ८(ख) कित्ता नम्बर ९०, ९२ र ११९ को क्रमशः क्षेत्रफल ०-२-०-०, ०-१५-०-० र ०-१२-२-० जग्गाको जोताहा महलमा धनबहादुरको हकमा सही गर्ने आमा कृष्णकुमारी, जग्गाधनी महलमा धनबहादुर हस्ते श्रीमती रामप्यारी थपिनी जनिई कैफियत महलमा यो जग्गा ससुराको नाममा दर्ता छ, नामसारी गर्न बाँकी छ भनी सही गर्ने रामप्यारी थपिनी भनी उल्लेख भएको पाइन्छ । मालपोत कार्यालय ललितपुरको च.नं. २५५० मिति २०६९।०८।१३ को पत्रसाथ प्राप्‍त भएको स्रेस्ता उतारबाट पनि उक्त कित्ता नम्बर ९०, ९२ र ११९ को जग्गा धनबहादुर थापाको नाममा दर्ता हुन बाँकी भन्‍ने देखिएको छ । यसबाट उक्त ३ कित्ता जग्गा वादीहरूका पति धनबहादुरको नाउँमा नापी गरिएको पुष्‍टि हुन्छ । वादीहरूले उक्त जग्गा आफ्ना पति धनबहादुरका नाउँमा दर्ता नभएको भनी वा आफूहरूले सो जग्गा भोगचलन नै नगरेको भनी देखाउन सकेको देखिँदैन । 

४. यसैगरी कित्ता नम्बर ५५६, ५६२ र १४ को क्रमशः क्षेत्रफल ३-१३-३-०, २-५-२-० र ०-२-१-० जग्गाको जोताहा महल र जग्गाधनी महलमा कृष्णकुमारी थपिनीको नाउँ तथा लुभु ८क कित्ता नम्बर ६७४, ६७८ र ७९० को क्रमशः क्षेत्रफल ०-१४-२-०, ०-२-०-० र १-७-२-० जग्गा प्रतिवादीका बाबु ज्ञानबहादुर थापाको नाउँमा दर्ता रहेको भन्‍ने उक्त फिल्डबुक उतारबाट देखिन आउँछ । 

५. मिति २०३४।०९।२७ मा भएको मुलुकी ऐनको सातौं संशोधनद्वारा संशोधित अंशबन्डाको महलको ३० नम्बर हेर्दा “अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम बन्डा छुट्‍याई बन्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिस्ट्रेसन गर्नुपर्नेमा सो गरिराख्‍नुपर्छ । सोबमोजिम नभएको बन्डा सदर हुँदैन । तर यो ऐन प्रारम्भ हुँदासम्ममा बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नोआफ्नो हिसाब भागशान्तिबमोजिम लिई पाई दाखिल खारेजसमेत गराइसकेको वा बन्डाबमोजिम आफ्नोआफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको ठहरेमा पछि बन्डापत्र रजिस्ट्रेसन भएको छैन वा बन्डा घटीबढी असल कमसल भयो भन्‍न पाउँदैन । रजिस्ट्रेसन नभए पनि बन्डा भएको सदर हुन्छ । पाउने अंशभन्दा घटी अंश जिउनी लिएकोमा र अंश छोडपत्र गरेकोमा भने रजिस्ट्रेसन भएको हुनुपर्छ ।” भन्‍ने व्यवस्था भएको देखिन्छ । यो व्यवस्थाअनुसार अंशियारबिच अंशबन्डा गर्दा बन्डापत्रको लिखत खडा गरी वा नगरेपनि घरसारमा अचल सम्पत्ति नरम गरम मिलाई बन्डा गरी आफ्नोआफ्नो भागशान्तिबमोजिम लिई दाखिल खारेज गरी आफ्नोआफ्नो भागको सम्पत्ति छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरे व्यवहार प्रमाणबाट बन्डा भइसकेको मानिने र जिउनी लिएको र अंश छोडपत्र गरेकोमा बाहेक रजिस्ट्रेसन पारित नभए पनि सो कार्यले मान्यता पाउन सक्ने थप व्यवस्था भएको देखिन्छ ।   

६. यस अदालतबाट पुष्करप्रसाद वाग्ले विरूद्ध राधादेवी वाग्ले उपाध्यायसमेत भएको अंशचलन मुद्दा (ने.का.प. २०६६, अङ्‍क ९, निर्णय नं. ८२२७) मा “अंशबन्डाको ३० नं. को प्रयोग र प्रयोजनका लागि विवादको स्वरूप, सम्पत्तिको प्रकृति एवं वादी प्रतिवादीहरूको व्यवहार नै निर्धारक तत्त्व हुन् । यस कानूनले व्यवहार प्रमाणबाट बन्डा भएको मानिने सुनिश्‍चित आधार नदिई केवल केही निर्णायक तत्त्वहरूको परिधि तोकिदिएको छ । यही परिधिको सीमाभित्र रही प्रत्येक मुद्दाको वस्तुस्थिति र सबुद प्रमाणको मूल्याङ्‍कन गर्दै न्यायकर्ताले एउटा न्यायिक निष्कर्ष निकाल्नुपर्ने हुन्छ । अंशबन्डाको ३० नं. को संशोधनको ऐतिहासिकता केलाउने हो भने यो पारिवारिक व्यवहारको संरक्षणतर्फ केन्द्रित छ । परिवारको कुनै सदस्य उद्यमशील तथा परिश्रमी र कुनै सदस्य निष्क्रिय तथा उडन्ते भएको अवस्थामा उद्यमशील र परिश्रमी सदस्यको हित संरक्षण गर्दै समाजमा न्यायोचित वातावरणको स्थापना गर्नमा अंशबन्डाको ३० नं. को उद्देश्य परिलक्षित छ।” भनी व्याख्या भएको पाइन्छ । यस्तै राजवीर खाँ थारू विरूद्ध वहोरी खाँ थारू भएको अंश मुद्दा (ने.का.प. २०६६, अङ्‍क २, निर्णय नं. ८०८८) मा “अंशको हक जन्मबाटै व्यक्तिले प्राप्‍त गर्ने हुनाले यो कुण्ठित हुनु हुँदैन तर जे जति भए पनि एकपटक अंश लिइसकेपछि सो हक समाप्‍त हुन्छ । जुनसुकै बेहोराबाट भए पनि आफूले प्राप्‍त गर्ने भागजति प्राप्‍त गरेपछि अंशबन्डाको लिखत नभएको भन्‍ने आधारमा पटकपटक अंशमा दाबी गर्न र अंश पाइरहने भन्‍ने स्थिति स्वीकार्य हुन नसक्ने ।” भन्‍नेसमेत सिद्धान्त प्रतिपादन भएको पाइन्छ । प्रस्तुत मुद्दामा सर्भे नापी हुनुअघि नै वादीहरूका पति र प्रतिवादीका पिता तथा निजहरूकी आमा कृष्‍णकुमारीबिच घरसारमा जग्गा बन्डा गरी छुट्टी भिन्‍न भएको भन्‍ने प्रतिवादीको जिकिर रहेकोमा नापीका बखत आआफ्नो भागका परेका जग्गाहरू आआफ्नो नाममा नापी तथा दर्ता गराई भोग गरेको भन्‍ने फिल्डबुक उतार र स्रेस्ता उतारबाट देखिएको स्थितिमा मानिएको देखिन्छ । यसैगरी यस अदालतको पूर्ण इजलासबाट भीमराज गिरी विरूद्ध धर्मराज गिरीको मुद्दा सकार गर्ने मैया गिरी भएको अंश मुद्दा (ने.का.प. २०५६ अङ्‍क १२ निर्णय नम्बर ६८२४) मा ...वादी प्रतिवादीले आआफ्नो नाममा जग्गा दर्ता तिरोभरो गरी बिक्री व्यवहार गरेको, आआफ्नो स्रेस्ता खडा गरी बसेको रसिद दर्ता एवम् लिखतका प्रमाणहरूबाट समेत वादी प्रतिवादी मुलुकी ऐन, अंशबन्डाको ३० नं.को कानूनी व्यवस्थाअनुसार व्यवहार प्रमाणबाट भिन्‍न भई बसेको देखिने भन्‍ने सिद्धान्त तथा संयुक्त इजलासबाट हरिहर पुरी विरूद्ध केशव पुरीसमेत भएको अंशचलन मुद्दा (ने.का.प. २०६३, अङ्‍क ९, निर्णय नं. ७७६१) मा “वादी प्रतिवादीहरूबिच छुट्टी भिन्‍न भएको पारित लिखतको अभाव भए तापनि व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरूका बाबु बाजे अगाडिदेखि नै छुट्टी भिन्‍न भई अलगअलग बसी भोग बिक्री व्यवहार गरी बसेका देखिएको र मुलुकी ऐन, अंशबन्डाको ३० नं. ले व्यवहार प्रमाणबाट छुट्टी भिन्‍न भएको देखिएको अवस्थामा बन्डा लिखत नै हुनुपर्ने अनिवार्यता नहुने ।” भन्‍नेसमेत व्याख्या भएको पाइन्छ । प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरूका पति पितासमेत बिच सर्भे नापी हुनुअघि नै घरसारमा अचल सम्पत्ति बन्डा गरी छुट्टी भिन्‍न भई आआफ्नो जग्गा भोग गरी आएको भन्‍ने देखिन्छ । परिवारमा रहेका उद्यमशील र परिश्रमी सदस्यले छुट्टी भिन्‍न भएपश्‍चात् आफ्नो भागको सम्पत्ति भोगचलन बिक्री व्यवहारबाट थप सम्पत्ति खरिद गर्दै बढाउँदै जाने र निष्‍कृय सदस्यले आफ्नो अंश भागको सम्पत्ति बेचबिखन गरी घटाउँदै जाने हुन्छ । यसप्रकार बढी सम्पत्ति हुने अंशियारलाई घटी सम्पत्ति हुनेले पुनः अंश माग गरी विवाद खडा भएमा कानूनद्वारा निरूपण गर्न तथा लिखत खडा गरी वा नगरी भएका घरायसी अंशबन्डापछि थप सम्पत्ति जोड्‍ने अंशियारको हित एवम् पारिवारिक व्यवहार संरक्षण गर्ने उद्देश्यबाट अंशबन्डाको ३० नं. संशोधन गरी समाजमा न्यायोचित वातावरण स्थापना गरिएको देखिन्छ । 

७. अंश हक जन्मसिद्ध हक भए पनि अंश एकपटक मात्र पाउने र व्यवहार प्रमाणबाट आआफ्नो नाममा नापी दर्ता भोग तिरोभरो बिक्री व्यवहार गरेको अवस्थालाई अंशबन्डाको ३० नं. ले छुट्टी भिन्‍न भएको मानिने हुँदा एकपटक अंश लिई पाई छुट्टी भिन्‍न भइसकेपछि अंश हक समाप्‍त हुने हुँदा पटकपटक अंशमा दाबी गर्न नपाउने भन्‍ने देखिन्छ । सर्वोच्च अदालतको उपर्युक्त व्याख्याबाट पनि आआफ्नो नाममा नापी तथा दर्ता गराई आआफ्नो स्रेस्ता खडा गरी बसेको, बाबु बाजे अगाडिदेखि छुट्टी भिन्‍न भई अलगअलग बसी भोग बिक्री व्यवहार गरेको अवस्थामा व्यवहार प्रमाणबाट छुट्टी भिन्‍न भएको देखिने, बन्डाको लिखत नै हुनुपर्ने अनिवार्यता नहुने भन्‍ने देखिन आउँछ । 

८. प्रस्तुत मुद्दामा प्रतिवादीले २०१५ सालमा नै वादीहरूका पति र प्रतिवादीका पितासमेत छुट्टी भिन्‍न भइसकेको भनी जिकिर लिएको र सर्भे नापी हुँदा वादीहरूका पति धनबहादुर थापा, प्रतिवादीका पिता ज्ञानबहादुर थापा र निजहरूको आमा कृष्‍णकुमारीका नाउँमा उपर्युक्तबमोजिम छुट्टाछुट्टै जग्गा नापी तथा दर्ता भए गरेको देखिएबाट सर्भे नापी हुनुअघि नै निजहरूका पति, पिता र आमा छुट्टी भिन्‍न भइसकेको भन्‍ने तथ्य पुष्‍टि हुन आयो । साथै निजै वादीको कारोबार व्यवहार हेर्दा पनि वादी रामप्यारी थापाले सासू कृष्‍णकुमारीको नाममा मोही कायम भएको ललितपुर जिल्ला लामाटार वडा नं. ४ कित्ता नम्बर ५६२ को २-५-२-० जग्गा निज कृष्णकुमारी तथा निजका छोराहरूसमेतको मृत्यु भइसकेकोले मेरो नाममा जोत नामसारी गरी मोहियानी हकको प्रमाणपत्र पाउँ भनी महालक्ष्मी नगरपालिका ललितपुरको च.नं. २९६ मिति २०७५।०५।०४ को सिफारिसपत्रसहित भूमिसुधार कार्यालय ललितपुरमा दर्ता नं. ३५११ को निवेदन दिएको देखिन्छ । सोही मितिमा मोही जग्गा बाँडफाँट गरी मोही लगत कट्‍टा गरिपाउँ भनी दर्ता नं. ३५१२ को निवेदन दिई भूमिसुधार कार्यालय ललितपुरबाट मोही बाँडफाँट गरी आफ्नो नामको मोही लगत कट्‍टा गरी आधा जग्गा लिएको भन्‍ने देखिएको छ । यसरी वादीहरू र प्रतिवादीका पति तथा पिताहरू व्यवहार प्रमाणबाट छुट्टी भिन्‍न भएको भन्‍ने प्रतिउत्तर जिकिर रहेको देखिन्छ । 

९. कित्ता नम्बर ६७४, ६७८, ७९० को जग्गा २०१५ सालमा घरसारमा बन्डा हुँदा बाबु ज्ञानबहादुरको भागमा परी नापीका बखत ज्ञानबहादुर थापाको नाममा नापी तथा दर्ता भएको भन्‍ने प्रतिवादीको जिकिर रहेको छ । मिसिल संलग्‍न फिल्डबुक उतार र दर्ता स्रेस्ता उतारबाट उक्त जग्गाहरू सर्भे नापीमा प्रतिवादीका बाबु ज्ञानबहादुरको नाउँमा नापी तथा दर्ता भएको भन्‍ने पुष्‍टि हुन आउँछ । सोही जग्गा बाबुको मृत्युपछि आफ्नो भोगमा आएको भन्‍ने प्रतिवादीको जिकिरलाई वादीहरूले अन्यथा भन्‍न सकेको देखिदैन । वादीहरूका पति धनबहादुरको नाउँमा समेत नापीका समयमा जग्गाहरू नापी तथा दर्ता भएको माथि प्रकरणमा विवेचना गरिसकिएको छ । जुनसुकै बेहोराबाट भए पनि आफूले प्राप्‍त गर्ने भागजति प्राप्‍त गरेपछि अंशबन्डाको लिखत नभएको भन्‍ने आधारमा मात्र पटकपटक अंशमा दाबी गर्न र अंश पाइरहने भन्‍ने स्थिति स्वीकार्य हुन नसक्ने भनी यस अदालतबाट माथि प्रकरण नं. २६ मा विश्‍लेषण गरिएबमोजिम सिद्धान्त प्रतिपादन भएको स्थितिमा प्रतिवादीको बाबुबाट प्रतिवादीको हकभोगमा आएका उक्त कित्ता नम्बर ६७४, ६७८, ७९० को घरजग्गाबाट वादीहरूले अंश पाउन सक्ने देखिएन । २०१५ सालदेखि नै व्यवहार छुट्टिई भिन्‍न भएको र लामो समयपछि दिने मोहनप्रसाद आचार्य र मदनप्रसाद आचार्य तथा लिने प्रतिवादी मनोहर थापा भई रजिस्ट्रेसन नम्बर ४६७५घ मिति २०६५।१०।२९ को राजीनामा लिखतबाट ललितपुर जिल्ला लामाटार वडा नम्बर ४ कित्ता नम्बर ५६२ को २-५-२-० जग्गा प्रतिवादी मनोहर थापाको नाउँमा खरिद भएको स्थितिमा सो जग्गा वादीहरूको अंश हक लाग्‍ने सगोलको भन्‍न मिल्ने अवस्थाको देखिन आएन । 

१०. सामान्यतया कुनै सम्पत्ति बन्डा लाग्ने हो वा होइन भन्‍ने सम्बन्धमा वादी तथा प्रतिवादीले पेस गरेको तायदाती फाँटवारी हुने र सो फाँटवारीमा आफ्नो जिकिर पेस गरेको पाइन्छ । प्रस्तुत मुद्दामा वादीहरू रामप्यारी थापासमेतले मिति २०६९।१२।१४ मा पेस गरेको तायदाती फाँटवारीमा आफ्नो जिम्‍मामा बन्डा गर्नुपर्ने कुनै सम्पत्ति नभएको भनी उल्लेख गरेको पाइन्छ । यसैगरी प्रतिवादी मनोहर थापाले सोही मिति २०६९।१२।१४ मा पेस गरेको तायदाती फाँटवारी हेर्दा साबिकमा बाबुको नाममा बन्डा भई नापीका बखत बाबुकै नाममा दर्ता कायम भई हाल आफ्नो भोगमा रहेको बन्डा नलाग्ने घरजग्गा भनी कित्ता नम्बर ६७४, ६७८, ७९० र ५६२समेत ४ कित्ता घरजग्गा उल्लेख गरेको तथा साबिकमा हजुरआमा कृष्णकुमारीको नाममा बन्डा भई नापीको समयमा निज कृष्णकुमारीकै नाममा नापी तथा दर्ता भएका हाल बन्डा लाग्‍ने घरजग्गाहरू भनी कित्ता नम्बर ५५६, १३, १४ र १५समेत ४ कित्ता घरजग्गाहरू उल्लेख गरेको देखिन्छ । 

११. यसरी स्व.कृष्‍णकुमारीका नाममा रहेका कित्ता नम्बर ५५६, १३, १४ र १५ समेतको क्रमशः क्षेत्रफल १-१३-१-०, १-४-०-०, १-५-१-० र ०-२-०-० का ४ कित्ता घरजग्गाहरू वादीहरूलाई बन्डा लाग्‍ने कुरा स्वयं प्रतिवादीले तायदाती फाँटवारी पेस गर्दा नै स्वीकारेको देखिएको र कृष्‍णकुमारीको २०३५ सालमा नै मृत्यु भइसकेको अवस्थामा निजको हक खाने हकदारहरू वादी र प्रतिवादीहरू रहेको, सोही आधारमा वादी रामप्यारीले कित्ता नम्बर ५६२ को जग्गाको मोही नामसारी गरी जग्गा बाँडफाँट गरी लिएको भन्‍ने मिसिलबाट देखिएको छ । यस स्थितिमा उक्त जग्गाहरूमा वादीहरू र प्रतिवादी मनोहर थापाको आधा आधा हक लाग्ने देखिन आयो । दर्ता हुन बाँकी रहेका जग्गाको हकमा वादीहरू र प्रतिवादीमध्ये साबिकबमोजिम भोग दर्ता तिरोभरोसमेतका सबुत प्रमाणको आधारमा जसको हक पुग्छ उसको नाममा दर्ता हुन सक्ने र दर्ता भएका बखत उक्त जग्गाको सम्बन्धमा प्रचलित कानूनबमोजिम हुने नै देखिन्छ ।  

१२. माथि प्रकरणहरूमा विवेचना गरिएबमोजिम वादी प्रतिवादीबिच रीतपूर्वक अंशबन्डाको लिखत खडा नभएतापनि मुलुकी ऐन, अंशबन्डाको ३० नं.बमोजिम २०३४ सालअघि नै व्यवहार प्रमाणबाट छुट्टी भिन्‍न भएको भन्‍ने पुष्‍टि भइरहेको अवस्था छ । यसरी छुट्टी भिन्‍न भएपछि आआफ्ना पति तथा बाबुको अंशभागको सम्पत्तिमा सम्म यी वादीहरू र प्रतिवादीको अंशहक रहने हुन्छ । सो सम्पत्तिबाहेक अंशियारमध्ये स्व.कृष्णकुमारीको नाउँमा दर्ता रहेका घरजग्गा र दर्ता हुन बाँकी रहेका जग्गासमेतबाट कृष्‍णकुमारीको हक खाने हकदार रहेका यी वादीहरू र प्रतिवादीले आधा आधा घरजग्गा बन्डा पाउने देखिन आयो । प्रतिवादीले आफ्ना बाबुबाट प्राप्‍त गरेको तथा निजले आफ्ना पालामा खरिद गरेको सम्पत्ति निज प्रतिवादीकै हुने भएकोले सो सम्पत्ति बन्डा गर्नुपर्ने देखिएन । यस स्थितिमा यस अदालतको संयुक्त इजलासबाट भएको फैसलामा पुनरावलोकनको अनुमति प्रदान गर्दा लिइएको आधार एवम् पुनरावलोकनकर्ताको तर्फबाट उपस्थित विद्वान्‌ कानून व्यवसायीहरूले प्रस्तुत गर्नुभएको बहस जिकिरसँग सहमत हुन सकिएन । 

१३. तसर्थ, माथि विवेचित तथ्य, प्रमाण, प्रचलित कानूनी व्यवस्था एवम् यस अदालतबाट प्रतिपादित सिद्धान्त तथा आधार कारणसमेतबाट वादीहरूले प्रतिवादीबाट तायदाती फाँटवारीमा उल्लिखित घरजग्गाबाट आधा अंश पाउने ठहरी भएको सुरू फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी गरी प्रतिवादी मनोहर थापाको नाम दर्ताको जग्गा बन्डा नलाग्ने, कृष्णकुमारी थापाको नाउँ दर्ताको कित्ता नं. ५५६, १३, १४ र १५ का जग्गाहरू र दर्ता नभएको जग्गा दर्ता हुने भएमा त्यस्तो जग्गाबाट वादी प्रतिवादीहरूले आधा आधा अंशबन्डा छुट्‍याई लिन पाउने भनी यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१०।२१ मा भएको फैसला मिलेको देखिदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्‍टा गरी फैसलाको विद्युतीयप्रति विद्युतीय प्रणालीमा अपलोड गरी फैसलाको पिठमा जनाउनू । साथै सुरू तथा रेकर्ड मिसिलहरू सम्बन्धित अदालतमा फिर्ता पठाई प्रस्तुत मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू । 

 

उक्त रायमा हामी सहमत छौँ ।

न्या. विनोद शर्मा

न्या. बालकृष्ण ढकाल

 

इजलास अधिकृत (उपसचिव):- कृतिबहादुर बस्नेत 

इति संवत् २०८१ साल असार १३ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु