शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४५७ - नाता कायम

भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

फैसला मिति : २०७९।७।३

०७४-CR-०२४३

 

मुद्दाः- नाता कायम

 

पुनरवेदिका / वादी : जिल्ला रूपन्देही विष्णुपुरा गा.वि.स. वडा नं.७ माइतीघर भई हाल जिल्ला कपिलवस्तु हथौसा गा.वि.स. वडा नं.८ बस्ने निर्मला हरिजन चमार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला रूपन्देही विष्णुपुरा गा.वि.स. वडा नं.७ गिदहिया बस्ने शिव नारायण चमार

 

बाबु आमा दुवैको मृत्युपश्‍चात् नातामा विवाद उठेबाट आमा बाबुको मृत्युको कारणले मात्र नाता नरहने भन्‍न नमिल्ने । मृतकको जीवन नरहे पनि नाता जीवित रहने, पहिचान र नाता जीवितसँग मात्र नजोडिने, मृत्यु भइसकेका व्यक्तिसँग पनि नाता र पहिचान जोडिने । बाबु आमासँगको नाता निर्मित नभई जन्मको आधारमा प्राप्‍त गरिने नाता हुने । वैवाहिक सम्बन्धको जस्तो जोडिने र तोडिने नाता नहुने । जीवित हुँदासम्म नातामा विवाद नरहेको बाबु आमाको मृत्युपश्‍चात् मृतकको विवाहित छोरी हुँदाहुँदै नातामा प्रश्‍न उठाई आफूले अपुताली खाने नियतले विवाद उठाउँदैमा विवाहित भएको नाताले मात्र महिलाको आफ्नो बाबु आमासँगको नाता नरहेको भन्‍न नमिल्ने । 

(प्रकरण नं.१२)

 

पुनरवेदिका / वादीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ताद्वय श्री टीकाराम भट्टराई, श्री हरि अर्याल र विद्वान् अधिवक्ताद्वय श्री चुरामणी भूसाल, श्री जगदेव चौधरी

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ता श्री केदारप्रसाद दाहाल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री रामकृष्ण खनाल

कपिलवस्तु जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री नारायणप्रसाद दाहाल

माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ

पुनरावेदन अदालत, बुटवल

 

फैसला

न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को देहाय (क) को आधारमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्राप्‍‌त भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍‌त तथ्य एवम् ठहर यस प्रकार रहेको छ:

तथ्य खण्ड

बाबु साधु चमार र आमा गुलवा चमारको तर्फबाट म एक मात्र छोरी निर्मला चमारको जन्म भएको र बाबु आमाको शेषपछि मैले अपुताली जग्गा सम्पत्ति हक भोग गर्दै आएको छु । उक्त जग्गाहरू नामसारी गर्नका लागि सम्बन्धित कार्यालयमा निवेदन दिएकोमा हाम्रो कुनै नाता नभएको विपक्षी प्रतिवादी शिव नारायण चमारले मेरो बाबुको झुट्ठा भतिजा नाता देखाई मेरो बाबुको अपुताली खाने नियतले म निर्मला चमारको विवाह दर्ता प्रमाणपत्र र नागरिकता प्रमाणपत्र बदरको उजुरी निवेदन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दिएकोमा कारबाही हुँदा नागरिकता र विवाह दर्तासमेत बदर हुने गरी मिति २०६६।०४।०४ मा भएको निर्णयमा चित्त नबुझी पुनरावेदन अदालत बुटवलमा पुनरावेदन गरेकोमा पुनरावेदन अदालत, बुटवलबाट नातासम्बन्धी विवाद उठेकोमा साधिकार निकायबाट नाता कायम गरी ल्याउन भनी सम्बन्धित पक्षहरूलाई नसुनाइएको भन्‍‌नेसमेत आधारमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको निर्णय बदर गरी मिसिल फिर्ता पठाइएकोमा मिति २०६७।०४।१३ मा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट निर्मला चमार कसकी छोरी हुन्, नाता कायम गरी ल्याउन भनी आदेश दिएकोले जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुको सक्कल मिसिलसमेत बुझी र मिति २०६४।०५।०९ मा भएको मेरो विवाह दर्ता प्रमाणपत्र र मेरो नेपाली नागरिकतामा बाबुको नाम साधु चमार भनी प्रस्ट उल्लेख भएकाले बाबु साधु चमार र आमा गुलवा चमारको म निर्मला चमार छोरी नाता कायम गरिपाउँ भन्‍‌नेसमेत बेहोराको फिराद दाबी ।

बलइ चमारका दुई छोरा ओरी चमार र महावीर चमार भई महावीर चमारका एक मात्र छोरा साधु चमार भएको र साधु चमारको गुलवा चमारसँग विवाह भई निसन्तान भएको । साधु चमारको २०२९ सालमा मृत्यु भएको र गुलवा चमारको मिति २०६३।१२।२६ मा मृत्यु भएपछि मृत्युको सूचना फाराम भर्दा निर्मला चमारको पति विष्णु चमारले मृतकसँगको नातामा आफूलाई नाति भनी उल्लेख गरेबाट हजुरआमाको छोरीसँग नातिको विवाह हुने कुरा आउँदैन । त्यस्तै, निर्मला चमारको ससुरा दशरथ हरिजनले मिति २०६४।१२।३० मा मृत्युको सूचना फाराम भर्दा गुलवासँग आफ्नो माइजू भान्जाको नाता पर्ने भनी उल्लेख गरिएबाट माइजूको छोरीसँग भान्जाको छोराको विवाह हुने कुरा आउँदैन । मिति २०६४।०८।०३ मा पतरीया गा.वि.स.को कार्यालयको सिफारिसमा निर्मला चमार राम किसुन चमारको छोरी हुन् । निजको उमेर २३ वर्षको छ र निजको दशरथ चमारको छोरासँग २०६२ सालमा विवाह भएको भनी सिफारिस गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा चलेको नागरिकता बदर मुद्दामा राम किसुन चमार र कृष्णप्रसाद चमार एउटै हो भनी कागज गर्दासमेत स्वीकार गरी सकिएको छ । निर्मला चमार राम किसुन चमारको छोरी भनेर उल्लेख गरिएको छ जुन जिल्ला रूपन्देही, विष्णुपुरा गा.वि.स. कार्यालयले मिति २०४९।०३।३० को हालैदेखिको बकसपत्रको सिफारिस पत्रमा साधु चमारको छोरा छोरी दाजु भाइ कोही नभएको भनी सिफारिस गरिएको छ । त्यस्तै, गुलवा चमारको परलोक भएको हुँदा निजको छोराछोरी अन्य हकवाला कोही नभएकोले निज मृतकका नाममा दर्ता रहेको जग्गा अरू कसैको नाममा दाखिल खारेज नगर्ने गरी रोक्का राखिदिनु भनी मिति २०६४।०५।०४ मा निर्मला चमारको ससुरा दशरथ हरिजनसमेत ४५ जनाको हस्ताक्षरसहित मालपोत कार्यालय, रूपन्देहीमा दिएको निवेदन, नागरिकता वदर मुद्दामा गा.वि.स. पतरिया र विष्णुपुरामा सर्जमिन हुँदा अधिकांश मानिसले निर्मला चमार साधु चमारको छोरी होइन भनी लेखी लेखाइदिएका छन् । त्यस्तै ३७ वर्षको उमेरसम्म निर्मला चमारले किन नागरिकता बनाइनन्, किन गुलवा चमार मरेपछि २०६३ सालमा मात्र नागरिकता बनाउनु पर्‍यो । तसर्थ, वादी साधु चमारकी छोरी होइनन् । निजको नागरिकता जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुवाट बदरसमेत भइसकेको, साधु चमार र गुलवा चमारको मृत्यु भएपछि निजहरूको सम्पत्ति अपुताली खाने बदनियत लिएको हुदा वादीको नाता कायम हुनुपर्ने होइन, वादीको नाता कायमको दाबी खारेज गरिपाउँ भन्‍‌ने प्रतिउत्तर जिकिर ।

साधु र गुलवाको छोराछोरी थिएनन् । उनीहरू निसन्तान थिए । निर्मला चमार कपिलवस्तु जिल्ला, पतरिया गा.वि.स, वडा नं. ३ छपिया बस्ने कृष्णप्रसाद चमारको छोरी हुन् । कृण्णप्रसाद चमारका २ वटा श्रीमतीमध्ये जेठी श्रीमतीको तर्फबाट निर्मला चमार भन्‍‌ने पवित्रा कुमारी चमारको जन्म भएको हो । निर्मला चमारको माइतीको नाम पवित्रा कुमारी चमार हो । नागरिकता र विवाह दर्ता गर्दा निर्मला चमार लेखाइ बताएकी हुन् । निर्मला चमार र साधु चमारको बाबु छोरीको नाता कायम हुनुपर्ने होइन, वादी दाबी झुट्ठा हो भनी प्रतिवादीका साक्षी सन्तु धोवीले सुरू अदालतमा आई गरिदिएको बकपत्र ।

वादी निर्मलाको बाबुको नाम साधु र आमाको नाम गुलवा हो । निर्मलाको विवाह विष्णु हरिजनसँग भएको हो । साधुको एक मात्र छोरी निर्मला हुन् । निजहरूको अपुताली हक खाने छोरी निर्मला हुन् । प्रतिवादी शिव नारायण चमार निर्मलाको बाबु साधुको कुनै नाता पर्दैनन् । साधु र निर्मलाको बाबु छोरीको नाता कायम हुनुपर्छ भन्‍‌नेसमेत बेहोराको वादीका साक्षी त्रिलोकी चमारले सुरू अदालतमा आई गरिदिएको पत्र ।

आदेशानुसार जिल्ला रूपन्देही विष्णुपुरा गा.वि.स. वडा नं. ७ को मतदाता नामावलीको प्रमाणित प्रतिलिपि वादीले मिति २०६८।०१।२२ मा निवेदनसाथ पेस गरी सुरू मिसिल संलग्न रहेको ।

सुरू अदालतका आदेशानुसार वादी निर्मला चमारले नागरिकता लिँदा भरेका अनुसूची फारामसमेतका सक्कल कागजातहरू जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको च.नं. १७७०, मिति २०६८।०९।११ को पत्रसाथ प्राप्‍‌त भइसुरू मिसिल संलग्न रहेको ।

वादी निर्मला चमारलाई चिन्दिनँ । ऊ हाम्रो केही नाता पर्दैन । ससुरा ढोढे चमार सासू फुलशंकरी चमारबाट जन्मेका एक मात्र छोरा कृष्णप्रसाद चमार हुन् । कृष्णप्रसाद चमारको श्रीमती म रम्हावती चमार हुँ । कृष्णप्रसाद चमार र रम्हावतीबाट छोरा उमेश चन्द्र, रमेश चन्द्र, महेश चन्द्र र छोरीहरू पवित्रा, सावित्रा र सुमित्रा जन्मिएका छन् भन्‍‌नेसमेत अ. वं. १३९ नं. बमोजिम बुझिएका राम कृष्ण चमार भन्‍‌ने कृष्णप्रसाद चमारको अनुमति लिई निजको श्रीमती रम्हावती चमारले अदालतमा आई गरिदिएको बयान ।

सुरू अदालतको आदेशअनुसार भई आएको सर्जमिन मुचुल्का सुरू मिसिल सामेल रहेको ।

सुरू अदालतको आदेशानुसार श्री विष्णुपुरा गा.वि.स. कार्यालय, रूपन्देहीको च.नं. ३३, मिति २०६४।०५।०२ को नाता प्रमाणितको सिफारिस सक्कल, सोही कार्यालयको च.नं.४८४, मिति २०६९।०९।०५ को पत्रसाथ प्राप्‍‌त भई मिसिल संलग्न रहेको ।

वादी निर्मला चमारले पनि साधु चमार र गुलवा चमाइनको छोरी हुँ भन्‍‌ने अन्य कुनै ठोस प्रमाण प्रस्तुत गर्न सकेको नदेखिएको तथा प्रतिवादीको साक्षीले यस अदालतमा आई बकपत्र गर्दा यी वादी निर्मला चमार साधु चमार र गुलवा चमाइनको छोरी होइनन् भनी यस अदालतमा बकपत्र गरिदिएको देखिएको समेतका आधार प्रमाणवाट वादी निर्मला चमार साधु चमार र गुलवा चमाइनको छोरी भएको भन्‍‌ने नदेखिँदा वादी दाबीबमोजिम निज साधु चमार र गुलवा चमाइनको छोरी म निर्मला चमार हुँदा बाबु साधु चमार, आमा गुलवा चमारको म निर्मला चमार छोरी नाता कायम गरिपाउँ भन्‍‌नेसमेतको वादीको दाबी पुग्न नसक्ने ठहर्छ भन्‍‌नेसमेत बेहोराको सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०६९।१२।०८ को फैसला ।

उक्त फैसामा चित्त बुझेन । बाबु साधु चमार आमा गुलवा चमारको सेवा सम्भार गरी निजहरूको मृत्युपछि धर्मअनुसार क्रियाकर्म गरी बाबु आमाको अपुताली जग्गा म वादी निर्मला चमारबाटै हक भोग हुँदै आएको छ । अपुतालीको ११ नं. को कानूनी व्यवस्थाअनुसार अपुताली खानको लागि नाता नभए पनि सेवा सम्भार एवम् क्रियाकर्म गरेको प्रमाणित भएमा जसले पनि अपुताली प्राप्‍‌त गर्न पाउने कानूनी व्यवस्थाअनुसार अपुताली खानको लागि नाता नभए पनि सेवा सम्भार एवम् क्रियाकर्म गरेको प्रमाणित भएमा जसले पनि अपुताली प्राप्‍‌त गर्न पाउने कानूनी व्यवस्था छ । मैले अपुताली खाने मात्र नियत लिई दाबी गरेको नभई रक्त सम्बन्धको छोरी भएको नाताले पनि दाबी गरेको हुँ । मैले प्राप्‍‌त गरेको नागरिकता, विवाह दर्तासमेतबाट मेरो बाबु साधु चमार, आमा गुलवा देखिएको अवस्था एवम् अकाट्‍य प्रमाण हुँदाहुँदै पनि दाबी नपुग्ने ठहर्‍याई भएको फैसला त्रुटिपूर्ण हुँदा त्यसलाई बदर गरी नाता कायम गरिपाउँ भन्‍‌नेसमेत बेहोराको वादी निर्मला चमारले पुनरावेदन अदालत, बुटवलमा गरेको पुनरावेदन ।

प्रतिवादी शिव नारायणले प्रतिउत्तरमा वादी निर्मला राम किसुन भन्‍‌ने कृष्णप्रसाद र रम्हावतीको छोरी भनी उल्लेख गरेको र जिल्ला प्रशासन कार्यालयमा कृष्णप्रसादले बयान गर्दा निर्मला आफ्नो छोरी होइनन् भनी ठाडो बयानमा उल्लेख गरेको देखिएको हुँदा वादीले प्राप्‍‌त गारेको नाता प्रमाण र नागरिकता सम्बन्धमा विवेचना नगरी भएको सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०६९।१२।०८ को फैसला समग्र प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलका लागि प्रत्यर्थी झिकाई आएमा वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्‍‌ने पुनरावेदन अदालत, बुटवलको मिति २०७०।०८।१८ को आदेश । 

वादी निर्मला चमारले नेपाली नागरिकको हैसियतबाट कानूनबमोजिम नेपाली नागरिकताको प्रमाणपत्र पाउने सम्बन्धमा वादी निर्मला चमारको साधु चमार एवम् गुलवा चमाइनसँग नाता कायम नभएको कुराले असर नपार्ने भएको देखिँदा वादीको दाबी पुग्न नसक्ने गरी भएको कपिलवस्तु जिल्ला अदालतको फैसला मिलेको देखिन आयो । तसर्थ, वादी निर्मला चमारको साधु चमार र गुलवा चमारसँग बाबु छोरी एवम् आमा छोरी नाता कायम नभएको अवस्थामा पनि वादी निर्मला चमारले नेपाली नागरिकको हैसियतबाट नागरिकताको प्रमाणपत्र कानूनबमोजिम पाउने नै भएको हुँदा वादीको दाबी पुग्न नसक्ने ठहराएको सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०६९।१२।०८ को फैसला सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍‌नेसमेत बेहोराको पुनरावेदन अदालत बुटवलको मिति २०७१।०३।२४ को फैसला ।

मिति २०६६।०४।०४ मा जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुबाट म निवेदिका वादीको नागरिकता प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्र रद्द हुने ठहरी भएको फैसला पुनरावेदन अदालत, बुटवलबाट मिति २०६६।१२।२५ मा उल्टी बदर भई मेरो नागरिकता प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्रका बारेमा पुनः छानबिन गरी पुनः निर्णय गर्नु भन्‍‌ने पुनरावेदन अदालत बुटवलको मिति २०६६।१२।१५ को फैसला कार्यान्वयन हुनुपर्ने हो, होइन ? भन्‍‌ने प्रश्‍नमा दुवै अदालतका फैसला मौन रहेका छन् । विवाह दर्ता प्रमाणपत्र र नागरिकता प्रमाणपत्र जारी गर्ने निकायले छानबिन गरी कानूनबमोजिम प्रमाणपत्र जारी गरेको अवस्थामा ती प्रमाणपत्रहरूमा म निवेदिका वादीको बाबु साधु चमार र आमा गुलवा चमाइन हो भनी बाबु छोरी र आमा छोरीको नाता कायम गरिसकेको अवस्थामा ती प्रमाणपत्रहरूउपर सो कारबाही मुद्दा चली फैसला हुँदा पनि ती प्रमाणपत्रहरू रद्द हुन नसकी यथावत् सदर कायम भएको अवस्थामा म निवेदिकाको बाबु साधु चमार र आमा गुलवा चमाइनसँग मेरो बाबु छोरी, आमा छोरीको नाता कायम हुने गरी निर्णय फैसला गर्नु स्वाभाविक र कानूनबमोजिम हुनेमा सोको विपरीत विवाह दर्ता र नागरिकता प्रमाणपत्र यथावत् सदर कायमै राखी बाबु छोरी र आमा छोरीको नाता भने कायम नहुने मेरो बादी दाबी नपुग्ने गरी भएको सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०६९।१२।०८ र पुनरावेदन अदालत बुटवलको मिति २०७१।०३।२४ को फैसला त्रुटिपूर्ण भएकोले बदर गरिपाउँ भनी वादीले यस अदालतमा पेस गरेको पुनरावेदन-पत्र । 

सुरू रेकर्ड र भए प्रमाण मिसिलसमेत झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्‍‌नेसमेत बेहोराको यस अदालतको मिति २०७२।१२।२४ को आदेश ।

यसमा निवेदक वादी निर्मला चमाइनले मिति २०६४।०५।०९ मा प्राप्‍‌त गरेको विवाह दर्ता प्रमाणपत्रमा निजको पिताको नाम साधु चमार उल्लेख भएको, प्रतिवादीले यी वादी साधु चमारको छोरी नभै कृष्ण चमार भन्‍‌ने कृष्णप्रसाद चमारको छोरी हुन् भनी प्रतिउत्तरपत्रमा जिकिर लिएकोमा निज कृष्ण चमार भन्‍‌ने कृष्णप्रसाद चमारलाई मुलुकी ऐन अ.बं. १३९ नं.अनुसार बुझ्दा निजले निर्मला चमारलाई चिन्दिनँ, ऊ हाम्रो केही नाता पर्दैन भनी बयान गरेको देखिन्छ । उपर्युक्त प्रमाणहरूलाई मूल्याङ्कन नगरी वादी दाबी नपुग्ने ठहर्‍याई सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलामा मुलुकी ऐन, अ.बं. १८४ क, १८५ तथा प्रमाण ऐन, २०३१ को दफा दफा ३ र ५४ को त्रुटि देखिन आउँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा १ को खण्ड (क) बमोजिम मुद्दा दोहोऱ्याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । कानूनबमोजिम गर्नु भन्‍‌नेसमेत बेहोराको मिति २०७४।०५।०४ को यस अदालतबाट आदेश ।

यसमा शिव नारायण चमारको जाहेरीले वादी नेपाल सरकार विरूद्ध जिल्ला कपिलवस्तु हथौसा-८ बस्ने विष्णु हरिजनसमेत भएको विवाद दर्ता प्रमाण पत्र र नागरिकताको प्रमाणपत्र बदर मुद्दामा निर्मला चमारको नामको नागरिकता रद्द हुने ठहर्‍याई जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुबाट मिति २०६६।०४।०४ मा भएको फैसलासहितको मिसिल जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुबाट झिकाई प्राप्‍‌त भएपछि यसै मुद्दासाथ राखी नियमानुसार पेस गर्नु भन्‍‌नेसमेत बेहोराको यस अदालतको मिति २०७६।०८।१७ को आदेश ।

ठहर खण्ड

नियमबमोजिम आजको दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो ।

पुनरावेदिका वादी निर्मला हरिजन चमारको तर्फवाट उपस्थित विद्वान् वरिष्‍ठ अधिवक्ताद्वय श्री टीकाराम भट्टराई, श्री हरि अर्याल र विद्वान् अधिवक्ताद्वय श्री चुरामणी भूसाल, श्री जगदेव चौधरीले पुनरावेदिकाले आफ्‍नो नागरिकताको प्रमाणपत्र र विवाहदर्ताको प्रमाणपत्रमा आफ्नो बाबुको नाम साधु चमार भनी उल्लेख गराएको; पुनरावेदिकाको उक्त कागजातहरू बदर गरिपाउन विपक्षीबाट जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस भई उक्त कागजातहरू रद्द हुने गरी निर्णय भएको भए तापनि पुनरावेदन अदालत, बुटवलबाट उक्त फैसला बदर गरिएको; विपक्षीले जसका छोरी यी पुनरावेदिका हुन् भनी जिकिर लिएका छन् तिनै बाबु भनिएका व्यक्ति (निजको अनुपस्थितिमा निजकी श्रीमती) ले बयानमा पुनरावेदिकालाई नचिन्‍ने भनी उल्लेख गराएको लगायतका वस्तुनिष्‍ठ प्रमाणहरूको मूल्याङ्कन नगरी सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०६९।१२।०८ को फैसला सदर गर्ने पुनरावेदन अदालत बुटवलको मिति २०७१।०३।२४ को फैसला त्रुटिपूर्ण भएकोले बदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रतिवादी शिव नारायण चमारको तर्फबाट उपस्थित विद्वान् वरिष्‍ठ अधिवक्ता श्री केदारप्रसाद दाहालले मालपोत कार्यालयमा पुनरावेदिकाको ससुराले मृतक गुलवा चमार निःसन्तान भएको भनी तिनको नामको जग्गा रोक्का राख्‍न निवेदन दिएको; उक्त निवेदनमा अदालतबाट गरिएको यी पुनरावेदिकाको साक्षीको रूपमा उपस्थित व्यक्तिले यी पुनरावेदिकाको आमा गुलवा हुन् भनी बकपत्र गराएको भए तापनि मालपोत कार्यालयमा पेस गरिएको उक्त जग्गा रोक्कासम्बन्धी निवेदनमा मृतक गुलवा निःसन्तान भनी उल्लेख गराएको; अदालतबाट गरिएको सर्जमिनमा समेत पुनरावेदिकाको आमा गुलवा होइनन् भनी बुझिएका व्यक्तिहरूले उल्लेख गराएको लगायतका प्रमाणको आधारमा पुनरावेदन अदालत, बुटवलले गरेको फैसला सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो । 

उल्लिखित तथ्य तथा पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा वादी प्रतिवादी दुवैतर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरूले गर्नुभएको तर्कपूर्ण बहससमेत सुनी तत्कालीन पुनरावेदन अदालत, बुटवलले गरेको फैसला मिलेको छ वा छैन वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्‍‌ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, यी पुनरावेदिकाको बाबु आमाको केही नाता नपर्ने विपक्षी शिव नारायण चमार नामका व्यक्तिले आफ्नो बाबुको भतिजा नाता देखाई अपुताली खाने नियतले यी पुनरावेदिका विरूद्ध यिनको नागरिकताको प्रमाणपत्र र विवाहदर्ता प्रमाणपत्र बदर गरिपाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा निवेदन दिएकोमा सोउपर कारबाही हुँदा, उक्त निकायले मिति २०६६।०४।०४ मा यिनको उक्त कानूनी कागजातहरू बदर हुने गरी निर्णय गरेउपर यिनको चित्त नबुझी पुनरावेदन अदालत, बुटवलमा पुनरावेदन गरेकोमा साधिकार निकायबाट निर्णय गरी ल्याउन नसुनाएको भन्‍ने आधारमा सो निर्णय बदर गरेकोले जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले नाता कायम गरी ल्याउन आदेश दिएपश्‍चात् नाताकायम गरिपाउँ भन्‍ने बेहोराको फिरादपत्रबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।

३. सो सम्बन्धमा मिसिल संलग्न कागजातहरू अध्ययन गर्दा, यी पुनरावेदक विरूद्ध विपक्षी शिव नारायण चमारले मिति २०६४।०८।१४ मा जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुमा दिएको विवाह दर्ता बदरको निवेदन र मिति २०६४।१०।०३ मा ऐ. कार्यालयमा दिएको नागरिकता बदर गरिपाउँ भन्‍ने निवेदनमा सो कार्यालयले “हथौसा गा.वि.स. बाट जारी भएको दर्ता नं. १७, मिति २०६४।०५।०९ को विवाह दर्ता प्रमाणपत्र र सोही विवाह दर्ता प्रमाण पत्रको आधारमा साधु चमारलाई बाबु देखाई लिइएको निर्मला चमारको नाममा रहेको ना.प्र.नं. ३८१००३।१७५२ भएको मिति २०६४।०६।२० मा जारी भएको नागरिकता रद्द हुने ठहर्छ” मिति २०६६।०४।०४ मा निर्णय गरेको देखिन्छ । जिल्ला प्रशासन कार्यालयको उक्त निर्णय उपर उच्च अदालत बुटवलमा पुनरावेदन परेकोमा सो अदालतले जिल्ला प्रशासन कार्यालयको मिति २०६६।०४।०४ को निर्णय साधिकार निकायबाट नाता कायम गरी ल्याउन नसुनाएको आधारमा बदर गरी यी पुनरावेदिका निर्मला हरिजन चमारको विवाह दर्ता प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको बारेमा पुनः छानबिन प्रमाण सङ्कलन गरी निर्णय गर्नु भनी मिति २०६६।१२।१५ मा फैसला गरेको देखिन्छ । उक्त फैसलाअनुरूप जिल्ला प्रशासन कार्यालयले नाता कायम गरी ल्याउन मिति २०६७।०४।१३ मा आदेश दिएअनुसार कपिलवस्तु जिल्ला अदालतमा यी पुनरावेदिकाले नाताकायम मुद्दाको फिराद दायर गरेको देखिन्छ ।

४. उक्त फिरादउपर कारबाही गर्दै सुरू कपिलवस्तु जिल्ला अदालतले साधु चमार र गुलवा चमारको छोरी हुँ भन्‍ने ठोस प्रमाण फिरादी निर्मला हरिजन चमारले प्रस्तुत गर्न नसकेको आधारमा वादी दाबी पुग्न नसक्ने गरी मिति २०६९।१२।०८ मा फैसला गरेको देखिन्छ । सो फैसलामा चित्त नबुझाई यी पुनरावेदिकासमेतको उच्च अदालत बुटवलमा पुनरावेदन परेकोमा सो अदालतबाट “वादी साधु चमार र गुलवा चमारसँग बाबु छोरी एवम् आमा छोरीको नाता कायम नभएको अवस्थामा पनि वादी निर्मला चमारले नेपाली नागरिकको हैसियतबाट नागरिकताको प्रमाणपत्र कानूनबमोजिम पाउने नै भएको हुँदा वादीको दाबी पुग्न नसक्ने ठहराएको सुरू कपिलवस्तु जिल्ला अदालतको मिति २०६९।१२।०८ को फैसला सदर हुने ठहर्छ ।” भनी मिति २०७१।०३।२४ मा फैसला भएकोमा सो फैसलामा चित्त नबुझाई वादी निर्मला हरिजन चमारले यस अदालतमा पुनरावेदन गरेको देखिन्छ ।

५. वादी निर्मला हरिजन चमारको पुनरावेदन जिकिर हेर्दा, सुरू जिल्ला अदालतले आफूले प्राप्‍त गरेको विवाह दर्ता प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र विवादित भएकोले तिनलाई प्रमाणमा ग्रहण गर्न नमिल्ने भनी फैसला गरेको र पुनरावेदन अदालत बुटवलले नेपाली नागरिकको हैसियतमा आफूले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्‍त गर्नु स्वाभाविक भएकोले सोमा बाबु आमाको नाम जे लेखिए पनि फरक पर्दैन भनी नागरिकताको प्रमाणपत्रको वैधानिकतामा प्रश्‍न नउठाइएको तर नाता कायम भने नहुने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्‍ने जिकिर लिएको देखियो ।

६. विपक्षी शिव नारायण चमारले यी पुनरावेदिका किसुन भन्‍ने कृष्‍णप्रसाद चमार र रम्हावती चमारको छोरी हुन् भनी प्रतिउत्तर पत्रमा लेखाएको सन्दर्भमा कपिलवस्तु जिल्ला अदालतले निज कृष्‍णप्रसाद चमारलाई अ.बं. १३९ नं.बमोजिम बुझ्दा निज कृष्‍णप्रसाद चमारको अदालतमा अनुपस्थितिमा निजकी श्रीमती रम्हावती चमारले आफ्नो बयानको स.ज. नं. ३ मा यी पुनरावेदिका आफ्ना छोरी होइनन् भनी लेखाएको देखिन्छ । 

७. नागरिकता राज्य र नागरिकको सम्बन्धलाई जोड्ने दस्ताबेज हो । यो नागरिक आधिकारको अधिकारपत्र हो । नागरिकता लिन कानूनी मापदण्ड पूरा भएको कुनै पनि नागरिकले समयमा नागरिकता नलिएको वा ढिलो नागरिकता लिएको आधारमा अनागरिक हुने होइन । महिलाले बाबु जीवित हुँदै वा विवाह नहुँदै नागरिकता लिनुपर्छ भन्‍ने पनि हुँदैन । फेरि बाबुको नामबाट नागरिकता लिने वा पतिको नामबाट नागरिकता लिने महिलाको छनौटको अधिकार हो भन्‍ने भन्‍ने सिद्धान्त मुद्दा नं. २०६६-WD-०८६९ मा निना तामाङ (गुरूङ) को मुद्दामा व्याख्यासमेत भइसकेको छ । राज्यबाट प्राप्‍त हुने सुविधा वा लाभको निमित्त मात्र पनि नागरिकता लिएको हुन सक्दछ । महिलाले पिता वा पति-कसैको पनि सहयोगमा नागरिकता लिन सक्दछ । पतिको नामबाट नागरिकता लिएको आधारमा बाबुसँग नाता नरहेको मान्‍न सकिने देखिएन । 

८. जहाँसम्‍म सर्जमिनको आधारमा समेत साधु चमार र गुलवा चमारसँग यी पुनरावेदिकाको नाता कायम हुन सक्दैन भन्‍ने प्रतिवादीको जिकिरको सम्बन्धमा विचार गर्दा, वादी प्रतिवादीका आ-आफ्नातर्फका सर्जमिनका व्यक्ति र साक्षीहरूले आ-आफ्नो पक्षको तर्क राखेको देखिन्छ । नागरिकताको हकमा जिल्ला प्रशासन कार्यालयको नागरिकता प्रमाणपत्र रद्द गर्ने निर्णय जिल्ला अदालतले उल्टी गरी उच्च अदालतले सदरसमेत भएको देखिन्छ । तसर्थ, सो विषयमा बोल्नुपर्ने र अन्यथा गर्नुपर्ने देखिएन ।

९. त्यसैगरी, विपक्षी शिव नारायण चमारले जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुमा दायर गरेको मिति २०६४।०८।१४ को निवेदनमा कारबाहीको क्रममा राम कृष्‍ण चमार भन्‍ने कृष्‍णप्रसाद चमारले मिति २०६५।०८।२९ मा वयान गर्दा, स्पष्‍टसँग आफूले निर्मला चमार साधु चमारको छोरी हुन् भनी सुनेको तर उनी आफ्नो छोरी नभएको भनी लेखाएको पाइन्छ । त्यसैगरी, उक्त बयानमा कृष्‍णप्रसाद चमारले आफ्नो उमेर ४२ वर्ष भनी लेखाएको देखिएबाट उनी वि.सं. २०२३ सालमा जन्मिएका देखिन्छन् । पुनरावेदिका निर्मला हरिजन चमारको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुबाट जारी नागरिकतामा उनको जन्ममिति वि.स. २०२९ भनी लेखिएको देखिएबाट बाबु छोरी भनी विपक्षी शिव नारायण चमारले दाबी लिएका यी दुई व्यक्ति जम्मा ६ वर्ष जेठो कान्छो देखिँदा ६ वर्षकै उमेरमा कृष्‍णप्रसाद चमारले यी पुनरावेदिकालाई जन्म दियो होला भनी मान्‍न सकिएन । त्यसैगरी, निज कृष्‍णप्रसाद चमारकी श्रीमती रम्हावती चमारसमेतले जिल्ला प्रशासन कार्यालयमा बयान गर्दा, निर्मला चमार आफ्नी छोरी नभएको भनी बयान गरेको देखिन्छ । साथै, निजले आफ्नो जन्म २०२८।११।१५ मा भएको भन्दै २०२९।११।१० मा निर्मला चमारलाई जन्माउन सकिने उमेर देखिँदैन । 

१०. गुलवा चमारको मृत्यु फाराममा पुनरावेदिकाको श्रीमान् विष्‍णु चमारको मृतकसँग नाति नाता पर्ने भन्‍ने उल्लेख भएकोले नातिसँग छोरीको विवाह सम्भव छैन भन्‍ने सन्दर्भमा, गाउँघरमा बोलचाललाई सहज बनाउन नाता राख्‍दै सम्बोधन गर्ने चलन तथा तौरतरिकालाई नकार्न सकिँदैन । सोको आधारमा मात्र निजहरूबिच पति पत्‍नीको सम्बन्ध नरहेको भनी मान्‍न सकिएन ।

११. नेपालको कानूनले रगतको नाता र वैवाहिक नाताको आधारमा नागरिकता लिन पाउने व्यवस्था गरेको छ । पुनरावेदिका वादीले मिति २०६४।०६।२० मा जारी भएको आफ्नो नागरिकताको बाबुको नाम लेख्‍ने खण्डमा साधु चमार भनी विवरण भरेको र मिति २०६४।०५।०९ मा दर्ता भएको निजको विवाह दर्ताको प्रमाणपत्रसमेतमा निजको बाबुको नाम साधु चमार भनी उल्लेख भएको देखिन्छ । यस्तोमा अमूक व्यक्तिले निजको अर्को बाबु आमा हुन् भन्दैमा अमूक व्यक्तिसँग निजको पहिचान र नाता जोडिने होइन । त्यसमा पनि जसलाई यी अमूक व्यक्तिले पुनरावेदिकाको बाबु आमा भनेका छन्, तिनले अदालतमा आई बयान गर्दा आफूले तिनलाई नचिन्‍ने र तिनीसँग कुनै नाता सम्बन्ध नभएको भनी नातामा इन्कार गरेको देखिन्छ । 

१२. साथै, विपक्षीले पुनरावेदीकाको बाबु भनी जिकिर लिएका व्यक्तिको उमेर र यी पुनरावेदिकाको उमेरको ६ वर्षको फेरसमेतले पुनरावेदिकाको बाबु विपक्षीले उल्लेख गरेको व्यक्ति हुन् भनी भन्‍न सकिने अवस्था देखिएन । बाबु आमा दुवैको मृत्युपश्‍चात् मात्र नातामा विवाद उठेबाट आमा बाबुको मृत्युको कारणले मात्र नाता नरहने भन्‍न मिल्ने देखिएन । मृतकको जीवन नरहे पनि नाता जीवित रहन्छ, पहिचान र नाता जीवितसँग मात्र जोडिँदैन, मृत्यु भइसकेका व्यक्तिसँग पनि नाता र पहिचान जोडिने नै देखिन्छ । बाबु आमासँगको नाता निर्मित नाता नभई जन्मको आधारमा प्राप्‍त गरिने नाता हो । वैवाहिक सम्बन्धको जस्तो जोडिने र तोडिने नाता होइन । जीवित हुँदासम्म नातामा विवाद नरहेको बाबु आमाको मृत्युपश्‍चात् मृतकको विवाहित छोरी हुँदाहुँदै नातामा प्रश्‍न उठाई आफूले अपुताली खाने नियतले विवाद उठाउँदैमा विवाहित भएको नाताले मात्र महिलाको आफ्नो बाबु आमासँगको नाता नरहेको भन्‍न मिल्ने देखिएन । मृतकहरूसँग वादी/पुनरावेदिकाको नाता रहेकै देखिन्छ । 

१३. तसर्थ, माथि उल्लिखित आधार र कारणहरूबाट कपिलवस्तु जिल्ला अदालतले नाता कायम नहुने भनी मिति २०६९।१२।०८ मा गरेको फैसला सदर गर्ने उच्च अदालत बुटवलको मिति २०७१।०३।२४ को फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी हुने भई पुनरावेदिका वादी निर्मला हरिजन चमारको साधु चमार र गुलवा चमारसँग बाबु छोरी र आमा छोरीको नाता कायम हुने ठहर्छ ।

तपसिल खण्ड

१. माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदिका वादी निर्मला हरिजन चमारको साधु चमार र गुलवा चमारसँग बाबु छोरी र आमा छोरीको नाता कायम हुने ठहर भई निजको बाबु आमाको सम्पत्तिमा निजको हक स्थापित भएको हुँदा निजको नाममा अचल सम्पत्ति नामसारी गर्ने प्रयोजनको लागि सम्बन्धित निकायमा आवश्यक पत्राचार गर्नु भनी सुरू कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाउनू ।

२. सरोकारवालाले फैसलाको नक्कल माग गरे कानूनबमोजिम लाग्ने दस्तुर लिई रितपूर्वकको प्रमाणित प्रतिलिपि उपलब्ध गराउनू ।

३. फैसलाको विद्युतीय प्रति अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

४. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।       

 

उक्त रायमा म सहमत छु ।

न्या.डा.आनन्दमोहन भट्टराई

 

इजलास अधिकृत: दीपशिखा मुनाकमी

इति संवत् २०७९ साल कात्तिक ३ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु