शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४६१ - जबरजस्ती करणी र गर्भपतन

भाग: ६७ साल: २०८२ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कुमार रेग्मी

माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल

फैसला मिति : २०८१।३।१६ 

०७५-CR-०१३२

 

मुद्दाः- जबरजस्ती करणी र गर्भपतन

 

पुनरावेदक / वादी : प्र.नि. मुक्तिनाथ सापकोटाको प्रतिवेदनले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला संखुवासभा, खाँदवारी नगरपालिका वडा नं. ३ घर भई हाल कारागार कार्यालय, संखुवासभामा कैदमा रहेका सोमनाथ ढुङ्गाना

 

जबरजस्ती करणी तथा गर्भपतन लुकीछिपी गरिने अति संवेदनशील विषय भएको र यसको सामान्यतया प्रत्यक्ष प्रमाण पाउन कठिन हुने हुँदा कसुर कायम गरी सजाय गर्नको लागि मिसिल संलग्न प्रमाणको लेखाजोखा गर्दा जाहेरी तथा पीडितको बकपत्रलाई प्रमाण मूल्याङ्कनको प्राथमिकतामा राख्‍नुपर्ने भए तापनि सो कुरालाई पीडितको शारीरिक स्वास्थ्य जाँच प्रतिवेदन तथा मिसिल संलग्न अन्य परिस्थितिजन्य प्रमाणले पुष्टि गर्नुपर्ने । पीडितको बकपत्रलाई शङ्कारहित रूपमा शारीरिक स्वास्थ्य परीक्षण, घटना प्रकृति मुचुल्कालगायतका स्वतन्त्र प्रमाणबाट कसुर पुष्टि हुन नसकेकोमा केवल जाहेरी दरखास्त, मौकाको कागज र बकपत्रलाई मात्र प्रमाणको रूपमा ग्रहण गरी यस्तो संवेदनशील फौजदारी मुद्दामा प्रतिवादीलाई सजाय गर्न उचित नहुने । 

(प्रकरण नं.५)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रतिमा दाहाल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री इश्वरीप्रसाद घिमिरे

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री दीपककुमार खरेल

सङ्‍खुवासभा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री विनोद शर्मा

माननीय न्यायाधीश श्री सीताराम मण्डल

उच्च अदालत विराटनगर, धनकुटा इजलास

 

फैसला

न्या.सुनिलकुमार पोखरेल : न्याय प्रशासन ऐन, २०७३ दफा ९ (१) (ग) बमोजिम यस अदालतमा पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छ:

तथ्यगत बेहोरा

मिति २०७३।०२।२२ गते दिनको अन्दाजी १३:०० बजेको समयमा जिल्ला सङ्‍खुवासभा खाँदवारी नगरपालिका वडा न. ३ बस्ने बलबहादुर सुवेदीको छोरा वर्ष २० को शम्भु सुवेदीले परिवर्तित नाम जिल्ला ०५ खाँदवारी नगरपालिका वडा नं. ३ बस्ने वर्ष १६ की कोसी "क" एक्लै घरमा भएको मौका छोपी कोसी "क" सुतेको कोठामा गई कोसी "क" को मुख छोपी बोल्न चल्नसमेत नदिई जबरजस्ती करणी गरेको भन्‍ने मिति २०७३।०३।०१ गतेको घटनास्थल मुचुल्काको प्रतिलिपि ।

मिति २०७३।०२।२२ गते दिनको अन्दाजी १३:०० बजेको समयमा घरमा मेरी वर्ष १६ की छोरी परिवर्तित नाम कोसी "क" एक्लै घरको माथिल्लो तलाको बरन्डा कोठामा सुती बसेको अवस्थामा छिमेकी बलबहादुर सुवेदीको छोरा वर्ष २० को शम्भु सुवेदी मेरी छोरी कोठाभित्र सुतिरहेको अवस्थामा कोठाभित्र प्रवेश गरी  मेरी छोरीको संवेदनशील अङ्गहरू सुम्सुम्याई मेरी छोरीले लगाएको रातो रंग भएको हाफपेन्ट र भित्री कपडा खोली जबरजस्ती जोर जुलुम गरी मुख थुनी बोल्न कराउनसमेत नदिई छोरीलाई खाटमा लडाई पल्टाई जबरजस्ती करणी गरेको कुरा हामी श्रीमान श्रीमती बेलुकी बजारबाट फर्केपछि घटनाबारे छोरीले बताएपछि  मैले शम्भु सुवेदीले मेरो छोरीलाई जबरजस्ती करणी गरेको थाहा पाएँ । निज शम्भु सुवेदीले योभन्दा अगाडि पनि २०७२ सालको पुस, माघ महिनादेखि यता हामी श्रीमान् श्रीमती घरमा नभएको बेला मेरी छोरी एक्लै भएको मौका छोपी पटकपटक मेरो छोरीमाथि डर धाक धम्की देखाई जबरजस्ती करणी गर्दा रहेछन ।  मैले लाज तथा डरको कारणले गर्दा उक्त दिन श्रीमान्‌समेतलाई भन्‍न सकिन तथा समाजमा होहल्ला भई बेइज्जत होला भनी डरले कोही कसैलाई नभनी यतिका दिनसम्म बसिरहेको थिएँ भन्‍नेसमेत बेहोराको परिवर्तित नाम राधाले मिति २०७३।०३।०१ मा दिएको जाहेरी दरखास्तको प्रतिलिपि ।

मिति २०७३।०२।२२ गते शनिबार परेको हुनाले मेरो बुबा तथा आमा खाँदवारी बजारमा घरायसी सामान किन्‍न भनी जानुभएको थियो । म बिहानको खाना खाई सकेर घरको धन्दा सकी आराम गर्न भनी हाम्रो दुई तले घरको बरन्डामा रहेको म सुत्‍ने कोठामा गई ढोका खुल्लै राखी ओछ्यानमा पल्टी सुतिरेहको थिएँ । उक्त दिन म एक्लै घरको कोठामा सुतिरहेको अवस्थामा शम्भु सुवेदी एक्कासि म सुतेको कोठाभित्र आई ढोकाको चुकुलसमेत लगाई म सुतेको ओछ्यानमा हाल खबर के छ भनी सोध्यो, म डराएर आत्तिँदै निजलाई किन ढोकाको चुकुल लगाउनु भएको किन म एक्लै भएको ठाउँमा आउनु भएको बाहिर जानुहोस्‌ भन्दा निज मेरो संवेदनशील अङ्गमा हात लगाई, मलाई समाई पल्टाई निजको कम्मर मुनिको कपडाहरू खोली मेरो भित्री कपडा तथा कम्मर मुनिको कपडाहरूसमेत खोल्न थालेपछि मैले के गरेको भनी जबरजस्ती उम्कन खोज्दा मलाई धाक धम्की दिँदै डर देखाएर मेरो मुख छोपी बोल्न चल्न नदिई ममाथि चढी जबरजस्ती करणी गर्‍यो । निजले जबरजस्ती करणी गर्ने क्रममा मेरो तिघ्राहरू फाँडी मेरो योनिमा निजको कडा भएको लिङ्ग प्रवेश गराई योनिभित्र स्खलनसमेत गराएको हो । निजले योभन्दा अगाडि पनि २०७२ सालको पुस तथा माघ महिनादेखि पटकपटक डर धाक धम्की दिँदै मलाई जबरजस्ती करणी गर्ने गर्दथे । योभन्दा अगाडि मैले बुबा आमाले गाली गर्ने तथा कुटपिट गर्ने डरले कसरी व्यक्त गर्ने भन्‍ने आँट नआएर कसैलाई भनेको थिइन भन्‍नेसमेत बेहोराको परिवर्तित नाम कोसी "क" ले मिति २०७३।०३।०१ गते गरेको घटना विवरण कागजको प्रतिलिपि ।

खेतमा पानी लगाउने विषयमा जाहेरवाला तथा जाहेरवालाको श्रीमान् र मेरो आमा बुबाको बिचमा विवाद झै-झगडा भएको कारण मेरो आमा बुबा जाहेरवालासँग बोलचाल हुँदैनथ्यो । म आमाबुबाले थाहा नपाउने गरी निज पीडित कोसी "क" सँग बोलचाल गर्ने क्रममा निज पीडित कोसी "क" सँग नजिक हुन पुगी हामी एक अर्कालाई मन पराउन थाली मोबाइल नम्बरसमेत आदान प्रदान भई कुरा हुँदै आएकोमा गत वर्ष २०७२ सालको टेष्ट परीक्षा सकिएपछि म र निज पीडित कोसी "क" को आपसी सल्लाहअनुरूप नै पीडित कोसी "क"लाई मैले इकोन नामको औषधी खान दिई दुई पटक निजको घरमा गई पीडितको आमा बुबा नभएको मौकामा करणी गरेको हुँ, करणी गरेको यकिन मिति म खुलाउन सक्दिनँ । त्यसपछि निज कोसी "क" ले मलाई दिनहुँ जस्तो फोन गरिरहने गर्दै थिइन् । निज पीडित कोसी "क" को घरमा मेरो छिमेकीमा बस्ने सोमनाथ ढुङ्गाना पनि दिनहुँ आउने जाने गरिरहन्थे । पीडित र सोमनाथ ढुङ्गानाबिचमा आपसी कुराकानी हुने गरेको थियो । निजहरूबिचमा अनैतिक सम्बन्ध रहेको छ भन्‍ने गाउँमा हल्ला भई रहेको थियो । यस्तैमा मिति २०७३।०२।०८ गते साँझको समयमा पीडित कोसी "क"को पेट दुखी रक्तश्राव भई निजलाई औषधी उपचारको लागि निजको आमा जाहेरवालीले खाँदवारी अस्पताल लिएर गएको भन्‍ने कुरा गाउँमा सुनेको हुँ । निजहरू अस्पतालबाट मिति २०७३।०२।०९ गते मात्र घर फर्की आएका हुन् । निजहरू घरमा आएपछि गाउँघरमा सुन्दा पीडित कोसी "क" को पेटमा भएको अन्दाजी ३ महिनाको भ्रूण अस्पतालमा नै फाली आएको र पीडितको आमा जाहेरवालीले सुत्केरी भत्तासमेत खाँदवारी अस्पतालबाट बुझी आएको भन्‍ने सुनेको हुँ । मैले निज कोसी "क" लाई करणी गर्दा बच्चा गर्भ नबस्ने इकोन नामको औषधी सेवन गराई करणी गरेको थिएँ । निज पीडित कोसी "क" ले मेरो पेटमा गर्भ रहेको कुरा मलाई सुनाएको थिइन । सो पेटमा भएको गर्भ लक्ष्मी नि.मा.वि.का शिक्षक सोमनाथ ढुङ्गानाको हो भन्‍ने गाउँ घरमा हल्ला छ । निजको नै हुन सक्छ । मैले मिति २०७३।०३।२२ गते पीडित कोसी "क"लाई जबरजस्ती करणी गरेको होइन । मैले मिति २०७२ सालको माघ महिनामा मात्र एक दिन २ पटक सहमतिमा करणी गरेको हुँ । निज पीडित कोसी "क" को पेटमा भएको गर्भ पतन गराउनमा निज कोसी "क" को आमा जाहेरवाली परिवर्तित नाम राधा र गाउँघरमा कुरा सुन्दा सोमनाथ ढुङ्गानासमेत संलग्नता हुन सक्छ भन्‍ने प्रतिवादी शम्भु सुवेदीले मिति २०७३।०३।०७ गते अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागजको प्रतिलिपि ।

परिवर्तित नाम राधाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सङ्‍खुवासभा खाँदवारी नगरपालिका वडा नं. ३ बस्ने बलबहादुर सुवेदीको छोरा वर्ष २० को शम्भु सुवेदी भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परी दाखिला हुन आएका प्रतिवादी शम्भु सुवेदीलाई अधिकार प्राप्त अधिकारीसमक्ष बयान गराउँदा निज कोसी "क" को घरमा दिनहुँ जसो ऐ.ऐ मेरो छिमेकमा बस्ने सोमनाथ ढुङ्गाना पनि आउने-जाने, आपसी कुराकानी गर्ने गर्दथे, निजहरूबिचमा अनैतिक सम्बन्ध थियो भनी गाउँघरमा हल्ला भइरहेको थियो भन्‍ने गाँउमा समेत हल्ला सुनेको कोसी "क"को पेटमा भएको अं. ३ महिनाको भ्रूण अस्पतालमा नै पतन गराएको, निज जाहेरवाला कोसी "क" को आमाले सुत्केरी भत्तासमेत लिइसकेको भन्‍ने सुनेको हो । कोसी "क" को पेटमा भएको बच्चा निज लक्ष्मी नि.मा.बि. गुवाबारीका शिक्षक सोमनाथ ढुङ्गानाको संलग्नता हुन सक्छ भनी बयान बेहोरामा खुलाई लेखाइदिएको हुँदा उक्त घटनामा संलग्नहरूलाई पक्राउ गरी कानूनी कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको मिति २०७३।०३।०७ गतेको प्रहरी प्रतिवेदन । 

मिति २०७३।०२।०८ गते रातको २२:०० बजेको समयमा परिवर्तित नाम कोसी "क" को रक्तश्राव भई पेट दुखी उपचारको लागि खाँदवारी जिल्ला अस्पतालमा कोसी "क" को आमा परिवर्तित नाम राधासमेतले ल्याएकोमा निज कोसी "क"ले ट्वाइलेट आयो भनी पुरूष शौचालयको पूर्व दक्षिणमा रहेको शौचालय कोठामा निज कोसी "क" को पेटभित्र रहेको गर्भ पतन गराएको भनी देखाएको मिति २०७३।०३।०८ गतेको घटनास्थल मुचुल्का ।

There was spontaneous, preterm, vaginal delivery of a female, weighing १००० grams at २२ weeks ४ days gestation on २०७३/२/८, २२:०० pm in the toilet of district hospital Khadbari Sankhuwasava. On examination of the child after delivery, there was no sign of life. The placenta was retained post delevery of foetus, so injection oxytocin १० units in tramuscularly followed by १० units in ५०० ml ringer’s lactate was given at the rate १६ drops per minute. The placenta was expelled at २०७३/२/९ ०६:०० am. The last menstrual period stated by Koshi ka initially was २०७२.८.२७ but on further questioning she states minimal vaginal bleeding upto २०७३/२/८. Hence, the menstrual history of Koshi ka is not reliable. but according to weight of the baby there was preterm delivery of the baby, no abortion. Koshi ka received nrs १५०० allowance from district hospital Sankhuwasava on २०७२/२/१५. Her mother had come to take the allowance भन्‍नेसमेत बेहोराको खाँदवारी जिल्ला अस्पतालबाट प्राप्त मिति २०७३।०३।०८ गतेको जवाफ ।

मिति २०७३।०२।०८ गते दिउँसोको समयमा छोरी परिवर्तित नाम कोसी "क" लाई खाँदवारी जिल्ला अस्पतालमा उपचार गर्न ल्याएकोमा इन्जेक्सन दिई स्लाइन दिँदा छोरीले मलाई दिसा (ट्वाइलेट) आयो भनेकीले मैले ट्वाइलेटमा लगेकोमा  रक्तश्राव भई सानो रगतको डल्लो जस्तो देखी म आत्तिएर नर्सलाई बोलाई पछि नर्सले सुत्केरी कोठामा लगेपछि म बाहिर बसेको अवस्थामा रातको अन्दाजी १०:०० बजे छोरीलाई सोही अस्पतालमा बेड भर्ना गरी ऐ.९ गतेका दिन औषधी लिई डिस्चार्ज भई घरतर्फ छोरीलाई लिएर आई निजसँग सोधखोज गरी बुझ्दा निजलाई पढाउने गाउँकै सोमनाथ ढुङ्गाना सर २०७२ साल माघ महिनाको दोस्रो हप्तामा मेरो घरमा कोही पनि नभएको अवस्थामा मेरो घर कोठामा आई मलाई फकाइ फुल्याई लडाई एकपटक करणी गर्नुभयो । त्यसपछि २०७३ सालको वैशाख महिना तिर सोमनाथ ढुङ्गाना मेरो घरमा आई गर्भ बसेको छ होला औषधी खानुपर्छ भनी निजले २ वटा चक्की खान दिएको, मैले खाएपश्चात् कोहीकोही बेला मेरो पेट दुख्‍न थालेको थियो भनी छोरीले भनेकी हुन् र उक्त गर्भ सोमनाथ ढुङ्गानाले करणी गरेको कारणबाट धारण गरेकी हुँ भनी छोरीले बताएको हुँदा थाहा पाएको हुँ भनी परिवर्तित नाम राधाले मिति २०७३।०३।१३ गते अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

शम्भु सुवेदीसँग मेरो प्रेम सम्बन्ध हुनुभन्दा अगाडि हाल मसँगै पक्राउमा परिआएका पढाउने सर सोमनाथ ढुङ्गानाले मलाई कक्षा नौमा पढ्दादेखि नै एकान्त ठाउँमा पारी मेरो स्तन खेलाउने सुम्सुम्याउने गर्ने गर्दै आउनुभएको थियो । मलाई टिउसन पढाउँदा पनि निज सर सोमनाथ ढुङ्गानाले सोही कार्य दोहोर्‍याउँदै आउनुभएकोमा मिति २०७२ साल पुस माघ महिनातिर निज सोमनाथ ढुङ्गाना म मात्र घरमा भएको अवस्थामा मेरो घरमा आई दिनको समयमा एक पटक करणी गरेका हुन । त्यसपछि निज सोमनाथ ढुङ्गाना मेरो घरमा आउने जाने गरी आएको भए तापनि मलाई करणी गरेका थिएनन् । मलाई सोमनाथ ढुङ्गानाले करणी गरेदेखि मेरो महिनावारी राम्रो नहुने सामान्य रक्तश्राव मात्र हुने भई आएको थियो यस्तैमा मिति २०७३ सालको वैशाख महिनामा मलाई सोमनाथ ढुङ्गानाले घरमा नै आई भेटी मलाई तिम्रो महिनावारी भएको छ छैन भनी सोधनी गरेको हुँदा, मैले राम्रो हुँदैन सामान्य रक्तश्राव मात्र हुन्छ भनेका कारण यो औषधी खानु ठिक हुन्छ भनी नाम थाहा नभएको औषधी दुई चक्की खान दिएका हुन र मैले सो औषधी खाएको हुँ । यस्तैमा मिति २०७३।०२।०८ गते बेलुका मेरो पेट अत्याधिक दुखेका कारण मैले आमालाई मेरो पेट धेरै दुखेको छ अस्पताल जाउँ भनेको हुँदा मेरो उपचार गराउन म र मेरो आमा खाँदवारी जिल्ला अस्पतालमा गएका हौं । नदुख्ने इन्जेक्सन दिएपछि मलाई स्लाइनपानी चढाएपछि ट्वाइलेट लागेको हुँदा मैले पिसाब फेर्दा रक्तश्राव भएको कारण आमालाई सुनाउँदा आमा पनि चर्पीभित्र आउनुभयो । सोही समयमा रगतको डल्लो जस्तो गर्भ चर्पीमा नै गयो । सोदेखि आमाले स्टाफ नर्सलाई बोलाउनु भयो र स्टाफनर्स आएर मलाई प्रसुति गृहमा लगेको र एकरात अस्पतालमा बसी मिति २०७३।०२।०९ गते घर फर्की गएको हो । उक्त खेर गएको गर्भ हाल मसँगै पक्राउमा परिआएका प्रतिवादी सोमनाथ ढुङ्गानाको हो भन्‍ने परिवर्तित नाम कोसी "क" ले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०७३।०३।१३ गते गरेको बयान ।

मैले परिवर्तित नाम कोसी "क" लाई कक्षा ८ मा टिउसन पढाएको थिएँ । त्यसपछि एकैचोटि कक्षा १० को टिउसन पढाएको हो । उसलाई मैले बिहानको टिउसन पढाउने गरेको थिएँ । टिउसन फी एक महिनाको एक हजार थियो । तर निजसँग मैले पाँच सय मात्र लिएको थिएँ । निज परिवर्तित नाम कोसी "क" को घरमा यकिन मिति थाहा भएन मिति २०७२ सालको पुस माघ महिनातिर एक दिन, दिनको समयमा निज पीडित कोसी "क" मात्र घरमा एक्लै भएकोले मैले निजको सहमतिमा नै निजलाई करणी गरेको हो । सोबाहेक मैले निजलाई करणी गरेको छैन । निज कोसी "क" लाई मैले कुनै औषधीसमेत खान दिएको छैन । गर्भ पतन गराउन मेरो संलग्नता छैन भन्‍ने प्रतिवादी सोमनाथ ढुङ्गानाले मिति २०७३।०३।१३ गते अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०७३।०२।०८ गते परिवर्तित नाम कोसी "क" ले पेट दुख्यो भनेपछि निजको आमाले खाँदवारी जिल्ला अस्पतालमा लगेकोमा परिवर्तित नाम कोसी "क" को पेटमा भएको बच्‍चा पतन भएको भन्‍ने सुनी थाहा पाएको हो । पछि गाउँघरमा बुझ्दा निज कोसी "क" को खेर गएको बच्चा हाम्रै गाउँको शिक्षक सोमनाथ ढुङ्गानाको भएको, निज सोमनाथ ढुङ्गानाले निजलाई पेटमा भएको बच्चा पतन गराउन दबाई खान दिएको, निजको आमाले सुत्केरी भत्तासमेत खाँदवारी अस्पतालबाट लिएकी भन्‍नेसमेत सुनेकी हुँ भन्‍ने जानुका खत्री र कुसुम बुढाथोकीको मिति २०७३।०३।१९ तथा रनबहादुर थापाको मिति २०७३।०३।२० गते गरेको एकै बेहोरा मिलान भएको अलग अलग घटना विवरण कागज ।

मिति २०७३।०२।२२ गते दिनको अन्दाजी १३:०० बजेको समयमा काम विशेषले काठमाडौंतर्फ गएको थिएँ, सोही मिति समयमा हाम्रै गाउँको शम्भु सुवेदीले परिवर्तित नाम कोसी "क" लाई जबरजस्ती करणी गरेको भन्‍ने सुनेको हो । मिति २०७३।०२।०८ गते परिवर्तित नाम कोसी "क" को पेट दुख्यो भनी निज कोसी "क" को आमाले कोसी "क" लाई खाँदवारी अस्पतालमा लगेकोमा खाँदवारी अस्पतालमा कोसी "क" को पेटमा भएको बच्चा पतन भएको र गर्भ पतन भएपछि कोसी "क" को आमा परिवर्तित नाम राधाले सुत्केरी भत्तासमेत बुझेको हो । उक्त कोसी "क" को पेटमा भएको हाल पतन भएको बच्चा सोमनाथ ढुङ्गानाको भएको गाउँघरमा अहिले हल्ला खल्ला छ भन्‍ने ईश्वर कार्की र अर्जुन ले मिति २०७३।०३।२० गते गरिदिएको एकै बेहोराको अलग अलग घटना विवरण कागजको प्रतिलिपि । 

मिति २०७३।०२।२२ गते अन्दाजी १३:०० बजेको समयमा हाम्रै गाउँको शम्भु सुवेदीले परिवर्तित नाम कोसी "क" लाई घरमा एक्लै सुतेको अवस्थामा गई जबरजस्ती करणी गरेछन्, पछि गाउँघरमा हल्ला खल्ला भएपछि सुनी थाहा पाएको हो । निज परिवर्तित नाम कोसी "क" ले मिति २०७३।०२।०८ गते पेट दुख्यो भनेपछि निजको आमा परिवर्तित नाम राधाले औषधी उपचारको लागि खाँदवारी जिल्ला अस्पतालमा लादा उक्त खाँदवारी जिल्ला अस्पतालमा कोसी "क" को पेटमा भएको बच्चा पतन भएको भन्‍ने सुनेको हो, निज कोसी "क" को हाल खेर गएको बच्चा सोमनाथ ढुङ्गानाको भएको र सोमनाथ ढुङ्गानाले कोसी "क" को पेटमा आफ्नो बच्चा छ भन्‍ने थाहा पाई निज कोसी "क" लाई औषधी खान दिएपछि उक्त गर्भ पतन भएपछि कोसी "क" को आमाले सुत्केरी भत्तासमेत लिएको भन्‍ने गाउँघरमा हल्ला खल्ला छ भन्‍ने  कुन्ता कार्कीसमेतले एकै मिलानमा खुलाई लेखाइदिएको मिति २०७३।०३।२० गतेको वस्तुस्थिति मुचुल्काको प्रतिलिपि ।

मिति २०७३।०२।०८ गते परिवर्तित नाम कोसी "क" को अत्यधिक पेट दुख्यो भनी उपचारको लागि निजकी आमा राधाले बेलुकी १८:३० बजेको समयमा आकस्मिक कक्षमा ल्याई राखी अत्यधिक पेट दुखिरहेको छ भनेपछि सिरिन्ज मार्फत दुखाई कम गर्ने औषधी दिनुभएको भन्‍ने सुनेको हो । निज आकस्मिक कक्षमा रहेकै अवस्थामा राति २२:०० बजेतिर ट्वाइलेट आयो भनेपछि निजको आमाले शौचालयमा लगेकी हुन् । शौचालयभित्र रहेको अवस्थामा निजले शौचालयभित्र नै अवधि नपुगेको मृत अवस्थामा रहेको शिशु देखेको हो । निजको आमा राधाले सुत्केरी भत्तासमेत बुझेको हो भन्‍ने खाँदवारी जिल्ला अस्पतालको स्टार्फ नर्स सदिक्षा न्यौपाने, अ.हे.व. विजय पराजुली, सि.अ.न.मि. सुनिता घिमिरे र कार्यालय सहायक चन्द्रबहादुर श्रेष्ठले मिति २०७३।०३।२१ गते गरेको एकै बेहोराको अलग अलग घटना विवरण कागज ।

मिति २०७३।०२।०८ गते बेलुकी अन्दाजी १८:३० बजेतिर म आकस्मिक कक्षको डिउटीमा रहेको बेला अत्याधिक रक्तश्राव भई पेट दुख्यो भनी उपचारमा आकस्मिक कक्षमा ल्याएको परिवर्तित नाम कोसी "क"ले उक्त मितिको २२:०० बजेतिर जिल्ला अस्पताल खाँदवारीको पुरूष शौचालयमा अवधि नपुगेको मृत अवस्थामा रहेको शिशु जन्माइ फालिछन् भन्‍ने कुरा गरिरहेको सोको पर्सिपल्ट बिहान सोही अस्पतालको डिउटीमा रहेको बेला सोही अस्पतालमा कार्यरत कर्मचारीहरूले बताएको हुनाले सुनी थाहा पाएको हुँ । मिति २०७३।०२।०८ गते बेलुकी १९:०० बजेसम्म म ऐ.ऐ.अस्पतालको आकस्मिक कक्षमा डिउटीमा रहँदा निज कोसी "क" लाई निजकी आमा परिवर्तित नाम राधासमेतले ल्याएको हुन् । निज कोसी "क" को रक्तश्राव भएको र अत्यधिक पेट दुख्यो भनेपछि हामी आकस्मिक कक्षमा कार्यरत कर्मचारीहरूले निजको दुखाई कम गर्न injection लगाई दिएको हो । त्यसपछि पनि दुखाई कम नभएको भनेपछि मैले निजलाई buscopan २० mg iv injection मार्फत लगाइदिएको हो । निज कोसी "क"लाई पटकपटक महिनावारीको विषयमा सोधखोज गर्दा निजले नियमित भइरहेको छ भनी जवाफ दिएको हो भन्‍ने बेहोराको जिल्ला अस्पताल खाँदवारी सङ्‍खुवासभामा कार्यरत अ.हे.ब. दिपेस श्रेष्ठले मिति २०७३।०३।२२ गते गरिदिएको घटना विवरण कागज ।

मिति २०७३।०२।०९ गते बिहान ०८:०० बजेबाट म जिल्ला अस्पताल खाँदवारीको इण्डोर वार्डमा डिउटीमा खटिएपछि मिति २०७३।०२।०८ गते बेलुकी अन्दाजी १८:०० बजे आकस्मिक कक्षमा रक्तश्राव भई पेट दुख्यो भनी उपचारको लागि ल्याएको अवस्थामा कोसी "क" र निजकी आमा परिवर्तित नाम राधालाई मैले प्रसूति कक्षको बेडमा देखेको थिएँ । मिति २०७३।०२।०९ गते बिहान ०८:०० बजेबाट मलाई डिउटी बरबबुझारथ गराउने स्टाफ नर्स सदिक्षा न्यौपाने र सि.अ.न.मी. सुनिता घिमिरेले बरबुझारथ गराउने क्रममा सबै कुरा भनेकोले घटनाबारे थाहा पाएको हो भन्‍ने उल्लिखित बेहोराको मिलान हुने गरी जिल्ला अस्पताल खाँदवारीमा कार्यरत सि.अ.न.मी.(छैटौं) फुलमाया तामाङ र मेडिकल अधिकृत डा.गणेश लामाले मिति २०७३।०३।२२ गते गरिदिएको एकै बेहोराको अलग अलग घटना विवरण कागज ।

मिति २०७३।०२।०९ गते बिहान ०८:०० बजेदेखि मेरो अनकल डिउटी भएकोले म जिल्ला अस्पताल खाँदवारीको आकस्मिक कक्ष हुँदै अन्तरंग कक्षमा भएका बिरामीहरूको स्वास्थ्य अवस्था परीक्षण गर्दै जाँदा महिला बिरामी रहने कक्षको बेड नम्बर ३ मा कोसी "क" लाई देखेको हो । त्यसपछि मैले सोही कक्षमा डिउटीमा रहेकी सि.अ.न.मी.फुलमाया तामाङलाई निजका विषयमा सोध्दा जानकारी गराएपछि मलाई घटनाको बारेमा थाहा भएको हो । निजको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको हो भन्‍ने बेहोराको जिल्ला अस्पताल खाँदवारी सङ्‍खुवासभाका मेडिकल अधिकृत डा.सुर्यबज्र लामाले मिति २०७३।०३।२३ गते गरेको घटना विवरण कागज ।

मिति २०७३।०२।०८ गते रातको अन्दाजी २२:०० बजेको समयमा परिवर्तित नाम कोसी "क" को पेट दुखेको र पेट दुखेपछि निजको आमा परिवर्तित नाम राधाले खाँदवारी जिल्ला अस्पतालमा औषधी उपचारको लागि लगेकोमा जिल्ला अस्पताल खाँदवारीमा परिवर्तित नाम कोसी "क" को पेटमा भएको बच्चा पतन भएको भन्‍ने कुरा सुनी थाहा पाएको हो । पछि बुझ्दा निज कोसी "क" को पेटमा भएको हाल खेर गएको बच्चा गाउँकै शिक्षक सोमनाथ ढुङ्गानाको रहेछ भनी सुनी थाहा पाएको हो । निज सोमनाथ ढुङ्गानाले परिवर्तित नाम कोसी "क" को पेटमा भएको बच्चा पतन गराउन दवाई खान दिएको र कोसी "क" को पेटमा भएको बच्चा जिल्ला अस्पतालमा पतन भएको भन्‍ने गाउँ घरमा हल्ला सुनेको हो । निज कोसी "क" को पेटमा भएको बच्चा पतन गराएपछि सुत्केरी भत्तासमेत लिएको भन्‍ने सुनेको हो भन्‍नेसमेत बेहोराको भिमा राईसमेतले एकै मिलानमा खुलाई लेखाई दिएको मिति २०७३।०३।२४ गतेको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी सोमनाथ ढुङ्गानालाई जबरजस्ती करणीतर्फ मुलुकी ऐन, जबरजस्ती करणी महलको १ र ३(३) नं. को कसुर मा सोही महलको ३(३) नं.बमोजिम सजाय गरी सोही महलकै १० नं.बमोजिम प्रतिवादी कसुरदारबाट परिवर्तित नाम कोसी ‘’क’’ लाई मनासिब क्षतिपूर्ति दिलाई भराइपाउन साथै प्रतिवादीले कोसी ‘’क’’ लाई ललाई फकाई प्रलोभनमा पारी गर्भपतन गराउन औषधीसमेत खुवाएको हुँदा गर्भपतनतर्फ २२ हप्ता ४ दिनको गर्भ भएको देखिँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २८ क. नं.बमोजिमको कसुरमा सोही २८क. नं.बमोजिम निजलाई ३ वर्ष कैद गरिपाऊँ । अर्का प्रतिवादी परिवर्तित नाम राधाले आफ्नी छोरी परिवर्तित नाम कोसी ‘’क’’ लाई गर्भ तुहाउन खाँदवारी अस्पताल लगी गर्भपतन गराई सोको जानकारी कहीँकतै नगरी अपराध लुकाउन छिपाउन प्रयास गरी गर्भपतन गराएपश्चात् अस्पतालबाट सुत्केरी भत्ताबापत रू.१५०० समेत लिएको हुँदा प्रतिवादी परिवर्तित नाम राधालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २८क. नं.विपरीतको कसुरमा गर्भपतन गराएको शिशु २२ हप्ता ४ दिनको भनी खुलिआएको हुँदा सोही महलको सोही २८क. नं.बमोजिम ३ वर्ष कैद सजाय गरिपाउँ भन्‍ने मिति २०७३।०३।२८ को अभियोग पत्र ।

किन मेरो नाम किटान गरी जाहेरी दिए, म जान्दिनँ । पीडित र म गुरु विद्यार्थीको सम्बन्धबाहेक अरू सम्बन्ध छैन । मैले पीडितलाई करणी गरी गर्भ बोकाई औषधी खान दिई पेटमा भएको गर्भपतन भएको भन्‍ने बेहोरा झुट्टा हो । निजहरू अस्पतालमा गई के कुन औषधी सेवन गराई गर्भपतन गराए म जान्दिनँ । परिवर्तित नाम कोसी ‘’क’’ लाई जबरजस्ती करणी गरी गर्भ बोकाई गर्भपतन गराएको भन्‍ने मउपरको अभियोग दाबी झुट्टा हो । झुट्टा अभियोग दाबीबाट सफाइ सफाइ पाउँ भन्‍ने प्रतिवादी सोमनाथले मिति २०७३।०३।२९ गते सुरू अदालतमा गरेको बयान ।

मेरो छोरी कोसी ‘’क’’ लाई महिनावारी भएजस्तो देखियो । भोलिपल्ट छोरीले मेरो पेट साह्रो दुख्यो, अस्पताल लैजानु भनेकीले मैले खाँदवारी अस्पतालमा लगी आकस्मिक कक्षमा राखी इन्जेक्सन लगाई स्लाइन पानीसमेत दिएको हो । अस्पतालले कस्तो इन्जेक्सन दियो थाहा भएन । छोरीले पिसाब लाग्यो भनेकीले ट्‍वाइलेटमा लाँदा ट्वाइलेटमा छोरीले पिसाब गर्दा रगतको डल्लो जस्तो बाहिर आएकोले मैले नर्सलाई बोलाएँ । नर्सले छोरीलाई सुत्केरी कक्षमा लगे, त्यसपछि मैले केही थाहा पाइनँ । छोरीलाई तेरो पेटमा भएको गर्भ कस्को हो भनी सोध्दा सोमनाथ ढुङ्गानाको हो, निजले गर्भपतन गराउनका लागि मलाई औषधी खान दिएका र मैले निजले दिएको औषधी खाएको थिएँ भनी छोरीले भनेकी हुँदा मैले थाहा पाएकी हुँ । निज सोमनाथ ढुङ्गानाले नै मेरी छोरीलाई करणी गरी गर्भ बोकाई औषधीसमेत सेवन गराई गर्भपतन गराएका हुन् । छोरीको पेटमा भएको गर्भपतन गराउनमा मेरो कुनै संलग्नता छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी परिवर्तित नाम राधाले मिति २०७३।०३।२९ गते सुरू अदालतमा गरेको बयान ।

प्रतिवादी सोमनाथ ढुङ्गानाले पीडित कोसी ‘’क’’ लाई जबरजस्ती करणी गरेको कुरा देखेको होइन । पीडितले शम्भु सुवेदीको गर्भ हो भनी भनेको सुनेको हुँ । प्रतिवादी सोमनाथ ढुङ्गानाले गर्भवती बनाएको र गर्भपतन गराएको समेत होइन । जबरजस्ती करणी गर्न र गर्भपतन गर्नमा सोमनाथ ढुङ्गानाको हात छैन भन्‍ने प्रतिवादी सोमनाथ ढुङ्गानाको साक्षी प्रकाश ढुङ्गानाले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी परिवर्तित नाम राधाले पीडित कोसी ‘’क’’ को पेट दुखी बिरामी भएपछि हस्पिटल लगेको मात्र हो । गर्भपतन गराउन लगेको होइन । गर्भपतन गराउन कुनै संलग्नता नराखेकी हुनाले अभियोग दाबीबमोजिम सजाय पाउनुपर्ने होइन । प्रतिवादी सोमनाथ ढुङ्गानाले औषधी खुवाई गर्भपतन गराएको हो भनी पीडितबाट सुनेको हुँ भन्‍ने प्रतिवादी परिवर्तित नाम राधाको साक्षी कविता खनालले सुरू अदालतमा गरेको बकपत्र ।

मैले पीडित परिवर्तित नाम कोसी ‘’क’’ लाई सोधनी गर्दा प्रतिवादी सोमनाथ ढुङ्गाना सर म कक्षा नौ मा पढ्दादेखि नै मसँग उठबस गर्दै आएका हुँदा हाल पतन भएको गर्भ निजै सोमनाथ ढुङ्गानाको हो । अरू कोही कसैको होइन । निजले दिएको औषधी खाएको कारण मेरो गर्भपतन भएको हो भनी भनेकी हुँदा पीडितको गर्भ सोमनाथ ढुङ्गानाकै हुँदा पीडितको पेटमा भएको गर्भपतन गराउनमा परिवर्तित नाम राधाको कुनै संलग्नता नहुँदा निजले अभियोग माग दाबीबाट सफाइ पाउनुपर्ने हो भन्‍नेसमेत बेहोराको परिवर्तित नाम राधाको साक्षी सीता दाहालले सुरू अदालतमा गरेको बकपत्र ।

करणी गरेको कुरा मैले देख्‍ने कुरा होइन । गाउँघरमा छलफल हुँदा पीडितले स्वतन्त्र रूपमा निजको पेटमा भएको गर्भ शम्भु सुवेदीले करणी गरेको कारण रहन गएको भनी बताएकी हुँदा यी प्रतिवादी सोमनाथ ढुङ्गानाले पीडितलाई करणी गरी गर्भवती बनाई गर्भपतन गराएको समेत होइन । निजले त्यस्तो गरेको भए समयमा नै निजउपर जाहेरी पर्नुपर्नेमा पहिलो पटक जाहेरी गर्दा शम्भु सुवेदीउपर दिएको हुँदा प्रतिवादी सोमनाथ ढुङ्गानालाई फसाउन झुट्टा अभियोग लगाएको मात्र हो भन्‍ने प्रतिवादी सोमनाथ ढुङ्गानाका साक्षी तोयानाथ ढुङ्गानाले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७३।०३।२० गतेको कागजको बेहोरा मैले भनेबमोजिम लेखिएको हो र त्यसमा भएको सहीछापसमेत मेरै हो भन्‍नेसमेत बेहोराको घटना विवरण कागज गर्ने रनबहादुर थापाले सुरू अदालतमा गरेको बकपत्र ।

मलाई प्रतिवादी सोमनाथ ढुङ्गानाले परीक्षामा राम्रो ठाउँमा राखिदिन्छु भनी २०७२ सालको पौष महिनाको पहिलो हप्‍तामा र सोभन्दा अगाडि म ९ कक्षामा पढ्दादेखि नै करणी गर्दै आएका र २०७३।०१।१८ गते पनि निज सोमनाथ ढुङ्गानाले मलाई घरमा नै आई जबरजस्ती करणी गरेका हुन् । मेरो पेटमा भएको गर्भ प्रतिवादी सोमनाथ ढुङ्गानाको हो र निजले औषधी खुवाई मेरो गर्भपतन भएको हो भन्‍नेसमेत बेहोराको पीडित परिवर्तित नाम कोसीले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७३।०३।२३ मा मैले गरेको कागजको बेहोरा मैले नै लेखाएको हुँ । सोमा भएको सहीछापसमेत मेरै हो भन्‍नेसमेत बेहोराको मौकामा घटना विवरण कागज गर्ने डा. सुर्यबज्र लामाले सुरू अदालतमा गरेको बकपत्र ।

मैले मिति २०७३।०३।२२ मा गरेको कागजमा भएको बेहोरा र सहीछाप मेरै हो । मैले गर्भपतन सम्बन्धमा परीक्षण नगरेकोले म खुलाउन सक्दिन । कोसी क ले पेट दुख्यो भनेकीले मैले दुख्‍न कम हुने औषधीसम्म गरेको हुँ भन्‍नेसमेत बेहोराको मौकामा कागज गर्ने दिपेस श्रेष्ठले सुरू अदालतमा गरेको बकपत्र ।

मैले परिवर्तित नाम कोसीको स्वास्थ्य परीक्षण गरी मिति २०७३।०३।०८ म रिपोर्ट तयार गरेको हो । सो रिपोर्टमा भएको बेहोरासमेत मैले नै उल्लेख गरेकी हुँ । प्रतिवेदन बेहोरा मेरै हो भन्‍नेसमेत बेहोराको मौकामा घटना विवरण कागज गर्ने डा. युसु पोख्रेलले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी सोमनाथ ढुङ्गानालाई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ र ३(३) नं. को कसुर मा ऐ. ऐन महलको ३(३) नं.बमोजिम ६ वर्ष कैद सजाय हुने र गर्भपतनतर्फ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २८(क) नं.बमोजिमको कसुरमा उक्त गर्भ २२ हप्‍ता ४ दिनको देखिँदा ऐ. २८(क) नं.बमोजिम निजलाई ३ वर्ष कैद सजाय हुने र प्रतिवादीबाट पीडितले रू.५०,०००।– (पचास हजार) क्षतिपूर्तिसमेत भरी पाउने ठहर्छ भन्‍ने सुरू संखुवासभा जिल्ला अदालतको मिति २०७३।१२।१५ को फैसला ।

जाहेरवालीले सुरूमा शम्भु सुवेदीउपर किटानी जाहेरी दिएकोमा पछिबाट कुरा फेर्दै मेरो नाममा जाहेरी दिएको छ । एउटै वारदातमा कहिले मेरो त कहिले शम्भुको नाममा परेको जाहेरीका आधारमा मलाई दोषी ठहर गर्न मिल्दैन । लगाउँको जबरजस्ती करणी मुद्दाका प्रतिवादी शम्भु सुवेदीसँग यी जाहेरवाला तथा पीडितको अपवित्र गठबन्धन भई मलाई फसाउने उद्देश्यले मउपर पोल गरेको कुरा स्वयं जाहेरवालीका मौका तथा अदालतसमक्षको बकपत्रसमेतबाट देखिएको छ । सहअभियुक्तको पोल निजकै मौकाको बयानबाट समर्थित छैन । मलाई सहअभियुक्त परिवर्तित नाम राधा र पीडितले मौकामा पोलेको छैन । पीडितको भनाइमा पनि एकरूपता छैन । पछिको पोललाई चिकित्सकको प्रतिवेदन र बकपत्रले खण्डन गरिरहेको छ । पतन भएको गर्भ कस्को हो भन्‍ने जाँच परीक्षण पनि भएको छैन । मउपरको अभियोग सरकारी पक्षबाट शङ्कारहित तवरबाट पुष्टि गराउन नसकेको र पीडितउपर करणी भएको भन्‍ने विभिन्‍न मितिसमेतबाट के-कुन मितिमा भएको करणीबाट गर्भ रही पतन गराइएको हो सोसमेत यकिन नभएको अवस्थामा  मलाई अभियोग दाबीबमोजिम जबरजस्ती करणी र गर्भ पतनको कसुरमा कसुरदार ठहर गरी सजाय गर्ने गरेको सुरू संखुवासभा जिल्ला अदालतको फैसला बदर गरी सफाइ पाउँ भन्‍ने प्रतिवादी सोमनाथ ढुङ्गानाले उच्च अदालत विराटनगर, धनकुटा इजलाससमक्ष पेस गरेको पुनरावेदन पत्र ।

यसमा, सुरू संखुवासभा जिल्ला अदालतबाट मिति २०७३।१२।१५ मा भएको फैसला प्रमाण मूल्याङ्कनको सन्दर्भमा विचारणीय देखिँदा दुवै पक्षलाई राखी छलफल गर्न आवश्यक देखिएकोले मुलुकी ऐन, अ.बं.२०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को ६४ र ११२ बमोजिम पुनरावेदनको प्रतिलिपिसहित उच्च सरकारी वकिल कार्यालय धनकुटालाई दिई नियमानुसार पेस गर्नु भन्‍ने उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट मिति २०७४।०९।१७ मा भएको आदेश ।

प्रतिवादीलाई अभियोग दाबीबमोजिम कसुरमा सजाय गर्ने गरेको सुरू अदालतको  फैसला मिलेको नदेखिँदा बदर भई प्रतिवादी सोमनाथ ढुङ्गानाले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्‍ने उच्च अदालत विराटनगर, धनकुटा इजलासको मिति २०७४।११।२३ को फैसला ।

वर्ष १५ की पीडित परिवर्तित नाम कोशी “क” ले मलाई पढाउने सर सोमनाथ ढुङ्गानाले मलाई नौ कक्षामा पढ्दादेखि प्रलोभन देखाई एकान्त ठाउँमा पारी मेरो संवेदनशील अङ्ग स्पर्श गर्दै आउनु भएकोमा २०७२ सालको माघ महिनातिर सोमनाथले म मात्र घरमा भएको बखत घरमै आएर जबरजस्ती करणी गरेदेखि मेरो महिनावारी रोकिएको हो । २०७३ सालको वैशाखमा सोमनाथले दिएको औषधी सेवन गरेपछि २०७३।०२।०८ गते मेरो पेट अत्यधिक दुखेकोले आमाले अस्पताल लैजानुभयो । अस्पतालमा खेर गएको गर्भ प्रतिवादी सोमनाथ ढुङ्गानाको नै हो भनी किटानीसाथ बेहोरा लेखाइदिएको कागज छ । पीडितले मौकामा कागज गर्दा मलाई प्रतिवादी सोमनाथ ढुङ्गानाले घरमै आई जबरजस्ती करणी गरेका र  महिनावारी ठिक हुन्छ यो औषधी खानु भनेकोले औषधी सेवन गरेको भनी बेहोरा लेखाई सो कुरा समर्थन गरी सोमनाथले पछिल्लो पटक २०७३ वैशाखमा समेत जबरजस्ती करणी गरेका भन्‍नेसमेतको बेहोरा खुलाई बकपत्र गरिदिएकी छन् । यसै गरी जाहेरवालीको मौकाको कागज र बकपत्र, प्रतिवादी सोमनाथले २०७२ पुस/माघमा मैले पीडितलाई करणी गरेको हुँ भनी गरेको अनुसन्धानको बयान, बुझिएका मानिसहरू जानुका खत्री, कुसुम बुढाथोकी, रनबहादुर थापा, परिवर्तित नाम अर्जुन, इश्वर कार्की र कुन्ता कार्कीसमेतले गरिदिएको वस्तुस्थिति मुचुल्का एवं जाहेरवाली परिवर्तित नाम राधा, बुझिएका रणमाया थापा र पीडित परिवर्तित नाम “क” ले गरेको बकपत्र बेहोरासमेतबाट पीडितको मौकाको उक्त बेहोरा समर्थित भइरहेकोमा समयअगावै विनाकारण २२(बाइस) हप्ताको गर्भ त्यसै पतन हुन सक्छ सक्दैन भन्‍नेतर्फ विश्लेषण नगरी अस्पतालले लेखेको Spontaneous vaginal delivery भन्‍ने प्रतिवेदनको गलत अर्थ गरी प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर वारदात गरेको कुरा पुष्टि भइरहेकोमा उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट प्रतिवादीलाई कसुरबाट सफाइ दिने गरी भएको उक्त फैसला  बदर गरी अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको  यस अदालत पेस भएको पुनरावेदन ।

यसमा पीडित नाबालिका रहेको र पीडितले अदालतमा आई बकपत्र गर्दा प्रतिवादी सोमनाथ ढुङ्गानाले आफूलाई विभिन्‍न प्रलोभन दिई जबरजस्ती करणी गरेको र जबरजस्ती करणीबाट गर्भ रहन गएकोमा निज प्रतिवादीले औषधी खान दिएपछि गर्भ पतन भएको भनी प्रस्ट किटान गरी बकपत्र गरिदिएको सन्दर्भमा मिसिल संलग्न प्रमाणहरूको मूल्याङ्कन नै नगरी प्रतिवादीलाई सफाइ दिने गरी भएको उच्च अदालत विराटनगर, धनकुटा इजलासको मिति २०७४।११।२३ को फैसला प्रमाण मूल्याङ्कनको दृष्टिकोणबाट विचारणीय देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भनी मिति २०७७।०२।०७ मा यस अदालतबाट भएको आदेश ।

प्रस्तुत मुद्दाको उठान पीडितलाई प्रतिवादी शम्भु सुवेदीले जबरजस्ती करणी गरेको भनी प्रतिवादी शम्भु सुवेदीउपर किटानी जाहेरी परेको छ । उक्त जाहेरी दरखास्तमा म प्रत्यर्थी प्रतिवादी सोमनाथ ढुङ्गानाको नाम उल्लेख छैन । किटानी जाहेरीका आधारमा निज शम्भु सुवेदीलाई पक्राउ गरेपछि निज शम्भु सुवेदीले बिना कारण मेरो नाम पोल गरेपछि मात्र मलाई पक्राउ गरी प्रहरीको कथित प्रतिवेदनका आधारमा मेरो हकमा भएको मुद्दाको अनुसन्धानलाई आधार लिई, मैले अधिकारप्राप्त अधिकारीसँग भन्दै नभनेको स्वइच्छाविपरीत लेखिएको कथित बयानलाई महत्त्वपूर्ण प्रमाण मानेर कसुरदार ठहर गर्न मिल्दैन । प्रहरी प्रतिवेदनका आधारमा म सोमनाथ ढुङ्गानालाई प्रतिवादी बनाई पेस गरेको अभियोग पत्रमा मैले कुन मिति, समयमा यी पीडितलाई जबरजस्ती करणी गरेँ, कुन मिति समयमा ‍औषधी खान दिएँ त्यो भन्‍न लेखाउन सकेकी छैनन । पीडितले यो मिति र समयमा जबरजस्ती करणी भएको भनी मिति र समय नै उल्लेख नगरी हचुवापुर्ण पोलका आधारमा मलाई कसुरदार ठहर गर्न मिल्दैन । मैले कसुरमा इन्कार रही अदालतमा गरेको इन्कारी बयानलाई बेवास्ता गरी मलाई कसुरदार ठहर गर्न मिल्दैन । शम्भु सुवेदीले मलाई बिनाकारण पोल गरेको बयानका आधारमा मलाई बिनाकारण प्रतिवादी कायम गरेको हो । किटानी जाहेरी गर्ने जाहेरवालीको जाहेरी र पीडितको मौकाको कागजभन्दा पृथक्‌ रूपमा अदालतमा निज मुख्य प्रतिवादी शम्भु सुवेदी र जाहेरवाली र पीडित मिलेर मउपर बिना कारण पोल गरी बकपत्र गरी मूल जाहेरीमा प्रतिवादी बनाइएका शम्भु सुवेदीलाई उन्मुक्ति दिएर मलाई फसाउने नियतले बकपत्र गरेका हुन । मउपर अभियोजन पक्षले जबरजस्ती करणी र गर्भ पतनको अभियोग लगाएको छ । मैले पीडितसँग करणी कार्य गरेको छैन । जब म सँगको करणी कार्यबाट गर्भ धारण नगरेको अवस्थामा मैले गर्भ पतन गराउनुपर्ने कुनै कारण पनि छैन । मैले गर्भ पतन गराउने कुनै पनि औषधी पीडितलाई दिएको छैन । पीडितले मैले यस्तो औषधी दिएको भन्‍न लेख्‍न सकेका पनि छैनन् । निज पीडितले वैशाखमा के औषधी खान दिएको भने तापनि वैशाखमा खान दिएको कारणबाट त्यतिको लामो समयपछि जेष्ठमा गर्भ पतन हुने कुराको कल्पना पनि गर्न सकिँदैन । त्यस्मा पनि निज पीडितको गर्भ पतन नभई स्वाभाविक यौनिक प्रसूति भनी जिल्ला अस्पताल संखुवासभा खाँदवारीको पत्रबाट स्पस्ट देखिको छ । खाँदवारी जिल्ला अस्पतालकी स्टाफ नर्स सदिक्षा न्यौपानेले मौकाको कागजमा अस्पतालमा पीडितलाई कस्को करणीको कारणले गर्भ रहेको भनी सोध्दा पीडितले नबताएको भनी लेखाएकी छन । पीडित र निजकी आमाले अहिले भनेअनुसार म सोमनाथको करणीका कारणले गर्भ रहेको हो भने म सोमनाथउपर मौकामा किटानी जाहेरी दिनुपर्ने मउपर मौकामा किटानी जाहेरी दिएकी छैनन् । मौकामा बुझिएका मानिसहरूले लेखाएको कागजमा जबरजस्ती करणी र गर्भपतनको प्रस्तुत मुद्दाको विषयमा अनभिज्ञता प्रकट गरेका छन् । निजहरूको अनभिज्ञतालाई संखुवासभा जिल्ला अदालतबाट प्रमाणमा ग्रहण गरिएन । निज जाहेरवाली र कथित पीडितले शम्भु सुवेदीलाई उन्मुक्ति दिँदै मलाई फसाउने नियतले मप्रति पूर्वाग्रही भई गरेको झुठो बकपत्रका आधारमा मलाई सजाय गर्न मिल्ने होइन । जब संखुवासभा जिल्ला अस्पताल, खाँदवारीको पत्रबाट मउपरको गर्भ पतन तथा जबरजस्ती करणीको अभियोग दाबी आफैँमा खण्डित भइरहेको छ ।

मसँग रिसइबी भएका मौकामा बुझिएका वस्तुस्थिति मुचुल्काका मानिसहरूले लेखाएको कुरामा कुनै सत्यता छैन । मैले बयानको क्रममा पीडितलाई मैले पढाएको हुँ भनी केही तथ्य स्वीकार गर्नु र अपराध स्वीकार गर्नु फरक कुरा हुन् । तथ्य स्वीकार गर्दैमा अपराध स्वीकार गरेको भन्‍न मिल्दैन । म प्रतिवादीले आरोपित कसुर गरेकै हो भनी शङ्कारहित तथ्ययुक्त सबुद प्रमाण वादी पक्षले पेस गर्न नसकेको अवस्थामा शङ्का र अनुमानको भरमा मात्र मलाई सजाय गरिनु प्रचलित फौजदारी न्यायको सिद्धान्तविपरीत हुने भएकोले म निर्दोष मानिसलाई सफाइ दिने गरी उच्च अदालतबाट विराटनगर, धनकुटा इजलासबाट भएको फैसला सदर गरिपाउँ भन्‍ने प्रतिवादी सोमनाथ ढुङ्गानाले यस अदालतमा पेस गरेको लिखित जवाफ ।

यस अदालतको ठहर

नियमानुसार पेसी सूचीमा चढी सुनुवाइका लागि आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा विवादको मूल विषयलाई हेर्दा, प्रतिवादी सोमनाथ ढुङ्गानाउपर पीडित परिवर्तित नाम कोशी ‘क’ लाई जबरजस्ती करणी गरेको र सोबाट रहन गएको गर्भपतनसमेत गराएको भनी जबरजस्ती करणीको कसुरमा सजाय गरी मनासिब क्षतिपूर्ति भराई दिन र गर्भपतनतर्फ ज्यानसम्बन्धीको महलको २८क नं.बमोजिमको कसुरमा समेत सजाय गरिपाउँ भनी अभियोग दाबी लिई सुरू संखुवासभा जिल्ला अदालतमा अभियोग पत्र दायर भएकोमा सुरू अदालतबाट अभियोग दाबीबमोजिम सजाय हुने गरी फैसला भएकोमा सो फैसलामा सजाय गरेको नमिलेको भनी प्रतिवादीको उच्च अदालत विराटनगर, धनकुटा इजलासमा पुनरावेदन परेकोमा उच्च अदालतबाट सुरू फैसला उल्टी गरी प्रतिवादी सोमनाथ ढुङ्गानाले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी भएको फैसलामा चित्त नबुझाई प्रतिवादी सोमनाथ ढुङ्गानालाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनको रोहबाट प्रस्तुत मुद्दा दर्ता भएको देखियो ।

प्रस्तुत मुद्दाको सुनुवाइको क्रममा आज पुनरावेदनसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री प्रतिमा दाहालले प्रतिवादी सोमनाथ ढुङ्गानाले पीडित नाबालकलाई विद्यालयमा नौ कक्षामा पढ्‍दादेखि जबरजस्ती करणी गर्ने गरेकोमा वि.सं. २०७२ साल पौष महिना र २०७३ साल वैशाख १८ गतेसमेत जबरजस्ती करणी गरेको भन्‍ने पीडितको भनाइ रहेको, प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा आफूले पीडितलाई करणी गर्ने गरेको कुराको समर्थन गर्दै कसुर स्वीकार गरी बयान गरेका तथा प्रतिवादीले औषधी खान दिएको कारणबाट पीडितको अवधि नपुगेको गर्भपतन भएको अवस्था देखिएबाट निजलाई अभियोग दाबीबाट सफाइ पाउने ठहर गरेको उच्च अदालतको फैसला बदर गरी निज प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

त्यसैगरी प्रतिवादी सोमनाथ ढुङ्गानाको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री इश्वरीप्रसाद घिमिरेले प्रतिवादी सोमनाथ ढुङ्गानाले पीडित भनिएकी परिवर्तित नाम कोशी ‘क’ लाई जबरजस्ती करणी गरेको वा औषधी खान दिएको कारणबाट गर्भपतन भएको भन्‍ने किटानी जाहेरी परेको छैन । फरक प्रतिवादीउपर परेको जाहेरीमा गर्भपतन सम्बन्धमा कुनै बेहोरा उल्लेख भएको छैन । गर्भपतन गराउन निजले पीडितलाई कुन के कस्तो प्रकारको औषधी खान दिएको भन्‍ने पनि नखुलेको, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट गर्भपतन हुने औषधी सेवन गरेको वा गर्भपतन भएको भन्‍ने नदेखिएको, प्रतिवादी कसुरमा इन्कार रहेको, यी प्रतिवादीको जबरजस्ती करणीको कारणबाट नै गर्भ रहेको हो भन्‍ने तथ्य स्थापित नभएको, यी प्रतिवादीलाई जबरजस्ती करणी गरेको भन्‍ने अर्कै मुद्दाका प्रतिवादी शम्भु सुवेदीले निजको बयानमा गरेको पोलका आधारमा अभियोग लगाइएको देखिएबाट अभियोग दाबीबाट प्रतिवादीलाई सफाइ दिने गरी भएको उच्च अदालतको फैसला मिलेकै हुँदा उक्त फैसला सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

माथि उल्लेख भएबमोजिम पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत मुद्दामा लिइएका जिकिरहरू, पुनरावेदकको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता तथा प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता र विद्वान् अधिवक्ताबाट प्रस्तुत हुन आएका बहस बुँदाहरू तथा मिसिल संलग्न कागजातहरू अध्ययन गरी इन्साफतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा देहायका प्रश्नहरू निरूपण हुनुपर्ने देखियो :

(क) वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ?

(ख) उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट भएको फैसला मिलेको छ, छैन ?

 

२. निरूपण हुनुपर्ने उपर्युक्त प्रश्नहरूका सन्दर्भमा मिसिल संलग्न कागजातहरू अध्ययन गर्दा, प्रतिवादी सोमनाथ ढुङ्गाना विरूद्धमा नाबालक परिवर्तित नाम कोशी ‘क’ लाई मिति २०७२ पौष महिनामा जबरजस्ती करणी गरी रहन गएको गर्भ पतन गराउन निजले औषधी खुवाएकोले पीडितको खाँदवारी अस्पतालमा गर्भपतन भएको भन्‍ने मुख्य अभियोग दाबी रहेको देखियो । प्रतिवादी सोमनाथ ढुङ्गाना उपर निजले जबरजस्ती करणी गरेको तथा गर्भपतन गराएको भन्‍ने बेहोरा उल्लेख गरी किटानी जाहेरी दर्ता भएको भन्‍ने मिसिलबाट देखिँदैन । निजले जबरजस्ती करणी गरेको कारणबाट पीडितको गर्भ रहेको, निजले औषधी खुवाई गर्भपतन गराएको भन्‍ने विषयमा जाहेरीमा बेहोरा उल्लेख भएको देखिँदैन । यिनै पीडित उपर प्रतिवादी शम्भु सुवेदीले जबरजस्ती करणी गरेको भनी पीडितकी आमा परिवर्तित नाम राधाले दिएको जाहेरी दरखास्तबाट कारबाही सुरू भएको जबरजस्ती करणी मुद्दाका प्रतिवादी शम्भु सुवेदीले परिवर्तित नाम कोशी ‘क’ सँग गाउँकै सोमनाथ ढुङ्गानाको अनैतिक सम्बन्ध थियो भन्‍ने गाउँघरमा हल्ला भइरहेकोमा मिति २०७३।०२।०७ गते निज कोशी ‘क’ को पेट दुखी रक्तस्राव भई निजकी आमा जाहेरवालाले खाँदवारी अस्पतालमा लगी गर्भपतन गराई सुत्केरी भत्तासमेत लिइसकेको भन्‍ने सुनेको, पीडितको पेटमा भएको बच्चा सोमनाथ ढुङ्गानाको भन्‍ने गाउँमा हल्ला चलेको, गर्भपतन गराउन पीडितकी आमा जाहेरवाला राधा र सोमनाथ ढुङ्गानाको संलग्नता हुन सक्छ भनी गरेको बयानको आधारमा प्रहरी प्रतिवेदन उठाई सोको आधारमा प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भएको पाइयो ।

३. प्रस्तुत मुद्दामा प्रतिवादी सोमनाथ ढुङ्गानाले पीडितलाई जबरजस्ती करणी गरेको कारणबाट गर्भ रहन गएकोमा निजले दिएको औषधी सेवन गर्दा गर्भपतन भएको भनी मौकामा अधिकार प्राप्त अधिकारीसमक्ष जाहेरवाला तथा पीडितले बेहोरा लेखाएको देखिए तापनि यो यस मिति समयमा जबरजस्ती करणी गरेको, यो यस्तो औषधी खान दिएको भनी यकिन र स्पष्ट हुने बेहोरा लेखाउन सकेको देखिँदैन । पीडित परिवर्तित नाम कोशी ‘क’ को मौकाको बयानबाट यी प्रतिवादी सोमनाथ ढुङ्गानाले मिति २०७२ को पौष, माघ महिनातिर करणी गरेका र मिति २०७३ वैशाख महिनामा दुई चक्की औषधी खान दिएका हुन् भनी लेखाएको देखिए पनि उक्त कार्य सम्बन्धमा कोही कसैलाई पनि नभनेको र यस विषयमा कुनै जाहेरी उजुरी परेको भन्‍ने पनि देखिँदैन । बरू मिति २०७३।०२।२२ मा शम्भु सुवेदीले जबरजस्ती करणी गरेको भनी मिति २०७३।०३।०१ मा जाहेरी परी अनुसन्धान हुँदा प्रतिवादी शम्भु सुवेदीले अदालतसमक्ष गरेको बयानबाट निजले यी प्रतिवादीलाई पोल गरेपछि प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले मिति २०७३।०३।०७ मा पेस गरेको प्रतिवेदनका आधारमा प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।

४. प्रस्तुत मुद्दाको अनुसन्धानको क्रममा प्रतिवादी सोमनाथ ढुङ्गानाले आफुले पीडितलाई मिति २०७२ पौष, माघतिर सहमतिमै करणी गरेको, सोबाहेक करणी गरेको छैन, पीडितलाई कुनै औषधी खान दिएको छैन । गर्भपतन गराउन आफ्नो संलग्नता छैन भनी बयान गरेको देखिन्छ भने निज सोमनाथ ढुङ्गानाले आरोपित कसुरमा इन्कार रहि आफूले पीडितलाई करणी गरेको, गर्भ बोकाएको, कुनै औषधी दिएको, गर्भपतन गराएको वा गर्न लगाएको होइन भनी अदालतसमक्ष बयान गर्दा कसुरमा इन्कार रही बयान गरेको देखियो । मिसिल संलग्न कागजात हेर्दा पीडित कोशी ‘क’ लाई उपचारको लागि जाहेरवाली आमाले खाँदवारी अस्पतालमा भर्ना गरेको भन्‍ने अस्पतालका कागजातबाट देखिन्छ । पीडितलाई अस्पताल लग्ने कार्यमा यी प्रतिवादीको संलग्नता रहेको भन्‍ने मिसिलबाट देखिँदैन । ‘Koshi ka did not have abortion of her fetus. It was a preterm Spontaneous vaginal delivery’ भनी उल्लेख भएको अस्पतालको प्रतिवेदनसहितका कागजातबाट देखिँदा कुनै औषधी सेवन गरे गराएको कारण अवधि नपुगी गर्भपतन भएको भन्‍ने मिसिलबाट देखिएन । निज प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भन्‍ने कुनै लक्षण तथा चिह्न रहेको भन्‍ने मिसिलमा कुनै प्रमाण कागज देखिँदैन । यसरी अस्पतालको कागजातबाट पीडितको गर्भपतन (Abortion) भएको नभई अवधि नपुगेको स्वाभाविक यौनिक प्रसुति (Preterm Spontaneous vaginal delivery) भएको भन्‍ने उल्लेख भएको पाइयो ।

५. जबरजस्ती करणी तथा गर्भपतन लुकीछिपी गरिने अति संवेदनशील विषय भएको र यसको सामान्यतया प्रत्यक्ष प्रमाण पाउन कठिन हुने भएकोले कसुर कायम गरी सजाय गर्नको लागि मिसिल संलग्न प्रमाणको लेखाजोखा गर्दा जाहेरी तथा पीडितको बकपत्रलाई प्रमाण मूल्याङ्कनको प्राथमिकतामा राख्‍नुपर्ने भए तापनि सो कुरालाई पीडितको शारीरिक स्वास्थ्य जाँच प्रतिवेदन तथा मिसिल संलग्न अन्य परिस्थितिजन्य प्रमाणले पुष्टि गर्नुपर्छ । पीडितको बकपत्रलाई शङ्कारहित रूपमा शारीरिक स्वास्थ्य परीक्षण, घटना प्रकृति मुचुल्कालगायतका स्वतन्त्र प्रमाणबाट कसुर पुष्टि हुन नसकेको देखिँदा केवल जाहेरी दरखास्त, मौकाको कागज र बकपत्रलाई मात्र प्रमाणको रूपमा ग्रहण गरी यस्तो संवेदनशील फौजदारी मुद्दामा प्रतिवादीलाई सजाय गर्न उचित नहुने फौजदारी न्यायको विधिशास्त्रीय मान्यता हो । अर्को व्यक्तिउपर जाहेरी परी कारबाही भएको फरक मुद्दाका प्रतिवादी, जाहेरवाला र पीडित भनिएका मानिसले आरोप लगाएको, मिसिल संलग्न कागजातबाट निज प्रतिवादीले गरेको जबरजस्ती करणीकै कारणबाट गर्भ रहेको तथा निजले दिएकै औषधीका कारण गर्भपतन भएको तथ्य शङ्कारहित तवरबाट स्थापित भएको नदेखिँदा वस्तुगत र ठोस सबुद प्रमाण विना शङ्काकै भरमा मात्र जबरजस्ती करणी तथा गर्भपतन जस्तो गम्भिर अभियोगमा यी प्रतिवादी सोमनाथ ढुङ्गानालाई कसुरदार मान्‍न मिल्ने नदेखिएको अवस्थामा प्रतिवादीलाई अभियोग दाबीबमोजिम जबरजस्ती करणी तथा गर्भपतनको कसुर कायम गरी सजाय हुनुपर्छ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर हामीले अङ्गाली आएको फौजदारी न्याय प्रणालीअनुकूल समेत नभएको हुँदा वादी नेपाल सरकारको उल्लिखित जिकिरसँग सहमत हुन सक्ने आधार देखिएन ।

६. पीडित परिवर्तित नाम कोशी ‘क’ को गर्भको कसको करणी र वीर्यबाट रहेको हो भन्‍नेतर्फ कुनै वैज्ञानिक परीक्षण नहुनुका साथै अस्पतालमा स्वाभाविक यौनिक प्रसूति क्रियाबाट मृत बच्चा जन्माएपछि सरकारबाट पाउने रकम निजकी आमा जाहेरवाला परिवर्तित नाम राधाले बुझेको भन्‍ने देखिएको अवस्थाबाट र जाहेरवाला तथा पीडितले पहिले शम्भु सुवेदी र त्यसपछि सोमनाथ ढुङ्गानासँग सम्बन्ध रहेको भन्‍ने जाहेरी दरखास्त, सहप्रतिवादीको बयान बेहोराको पोल तथा प्रहरी प्रतिवेदन एवं पीडितको लेखाइको आधार हेर्दा निजलाई लगाइएको अभियोग विश्वासयोग्य मान्‍न मिल्ने देखिएन । फौज्दारी मुद्दामा कसुर प्रमाणित गर्ने भार वादीमा रहने भएकोले नेपाल सरकारका तर्फबाट यी प्रतिवादी सोमनाथ ढुङ्गाना उपरको कसुर अभियोग शङ्कारहित तवरबाट प्रमाणित गर्न सकेको नदेखिएकोले प्रतिवादी सोमनाथ ढुङ्गानालाई सफाइ दिने गरी भएको उच्च अदालतको फैसलालाई अन्यथा मान्‍न मिलेन ।

७. यस प्रकार उल्लिखित आधार कारण र विवेचना तथा प्रतिवादी सोमनाथ ढुङ्गानाले पीडित परिवर्तित नाम कोशी ‘क’ लाई जबरजस्ती करणी गरी गर्भपतन गराएको भनी किटानी जाहेरी परेको नदेखिएको, फरक मुद्दाका प्रतिवादीले पोल गरी यी प्रतिवादीलाई आरोपित कसुरमा अभियोग लगाएको देखिएको, यी प्रतिवादीले कसुरमा इन्कार रही बयान गरेको, यी प्रतिवादीले यो मिति र समयमा जबरजस्ती करणी गरेको, प्रतिवादीले यस्तो औषधी दिएकोले पीडितको गर्भपतन भएको हो भनी गर्भपतनको वारदात स्थापित हुन नसकेको, प्रतिवादी शम्भु सुवेदी भएको जबरजस्ती करणी मुद्दाको मिसिल संलग्न पीडितको स्वस्थ्य जाँच प्रतिवेदनबाट जबरजस्ती करणीको लक्षण चिह्न नदेखिएको एवं पीडितको गर्भपतन(abortion) नभई स्वाभाविक यौनिक प्रसुति (Spontaneous vaginal delivery) भएको भन्‍ने अस्पतालको प्रतिवेदनसमेतबाट देखिइरहेको अवस्थामा सुरू अदालतको फैसला उल्टी गरी प्रतिवादी सोमनाथ ढुङ्गानालाई अभियोग दाबीबाट सफाइ दिनेगरी मिति २०७४।११।२३ मा उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट भएको फैसला मिलेको देखिएकोले सदर हुने ठहर्छ । प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने नेपाल सरकारको पुनरावेदन पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी प्रस्तुत फैसला यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. कुमार रेग्मी 

 

इजलास अधिकृत:- खुमप्रसाद भण्डारी 

इति संवत् २०८१ साल आषाढ १६ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु