शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४६४ - अंश चलन

भाग: ६७ साल: २०८२ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल

माननीय न्यायाधीश श्री नृपध्वज निरौला

फैसला मिति : २०८१।७।२९

०८०-NF-००२९

 

मुद्दा: अंश चलन

 

पुनरावेदक / वादी : नरबहादुरको नाति, चोकबहादुरको छोरा, काठमाडौं जिल्ला, मूलपानी गाउँ विकास समिति वडा नं. ९ हाल परिवर्तित कागेश्‍वरी मनहरा नगरपालिका वडा नं. ६ मूलपानी बस्ने चेतबहादुर फुयाँल

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : नरबहादुरको नाति, चोकबहादुरको छोरा, काठमाडौं जिल्ला, मूलपानी गाउँ विकास समिति वडा नं. ९ हाल परिवर्तित कागेश्‍वरी मनहरा नगरपालिका वडा नं. ६ मूलपानी बस्ने नारायणहरी फुयाँलकी श्रीमती बिमला फुयाँलसमेत

 

घर निर्माण नै रोकिपाउँ भन्‍ने निवेदन दिएको वादीले उक्त घर निर्माणमा योगदान गरेका होलान् भनी सामान्य अनुमानसमेत गर्न नमिल्ने । घर निर्माण भएको जग्गा सगोलको भए तापनि उक्त निर्मित घरमा सगोलको लगानी नभई कुनै अंशियारको निजी तवरबाट लगानी भएमा अन्य अंशियारको बन्डा नलाग्ने ।

(प्रकरण नं.५)

पृथक् पृथक् तथ्य एवम् विषयवस्तु रहेका मुद्दामा पृथक् पृथक् राय, सिद्धान्त एवम् व्याख्या हुनु स्वाभाविक हुने । फरक फरक तथ्य एवम् विषयवस्तु रहे भएको मुद्दामा कायम गरिएको फरक राय, सिद्धान्त एवम् व्याख्यालाई ruling बाझिएको भन्‍न नमिल्ने । 

(प्रकरण नं.६)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शालिकराम सापकोटा

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण नेउपाने एवम् विद्वान् अधिवक्ताद्वय श्री तृप्ती घिमिरे एवम् श्री आतिस कार्की

अवलम्बित नजिर :

ने.का.प. २०७९, अङ्क ११, नि.नं. १०९७४

ने.का.प. २०६९, अङ्क ३, नि.नं. ८७८७

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री कमलराज विष्ट 

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर

माननीय न्यायाधीश श्री रमेशकुमार पोखरेल

उच्च अदालत पाटन

यस अदालतको संयुक्त इजलासबाट फैसला गर्नेः-

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल 

माननीय न्यायाधीश श्री नहकुल सुवेदी

 

फैसला

न्या.सुनिलकुमार पोखरेल : यस अदालतको संयुक्त इजलासको मिति २०७९।६।९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम वादीको यस अदालतमा परेको पुनरावलोकनको निवेदनउपर मिति २०८०।११।१७ मा पुनरावलोकनको अनुमति प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-

संक्षिप्त तथ्य

म फिरादीको बाजे नरबहादुर फुयाँलको पाँच जना छोराहरू गणेशबहादुर फुयाँल, चोकबहादुर फुयाँल, श्यामबहादुर फुयाँल, डिल्लीबहादुर फुयाँल भन्‍ने दिलबहादुर फुयाँल र हरिबहादुर फुयाँल हुन् । बाजे बज्यै तथा जेठो बुबा गणेशबहादुर र जेठी आमाको कालगतिले परलोक भइसकेको छ । बाबु चोकबहादुर बेपत्ता भई निजको हक खाने हकदारहरूमा म फिरादी चेतबहादुर फुयाँल र विपक्षीहरू रत्‍नबहादुर के.सी. र नारायण हरि फुयाँलसमेत गरी तीन जना छौँ । काका श्यामबहादुर पनि बेपत्ता भई निजकी श्रीमती तथा छोराछोरी कोही पनि छैनन् । बाबु बाजेको पैतृक सम्पत्तिको विषयमा आमा तथा काकाहरूबिच मिति २०५१।२।१७ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा परी सो मुद्दामा मिति २०५३।३।११ मा मिलापत्रसमेत भई सो मिलापत्रअनुसार पैतृक सम्पत्ति भाग बन्डा लगाइसकेको छ । तत्कालीन अवस्थामा आमा विष्णुकुमारी फुयाँल जीवितै भएको र बुबा चोकबहादुर बेपत्ता भएकोले बुबाको भागको सम्पत्ति पनि आमा विष्णुकुमारी तथा हामी वादी प्रतिवादीहरूको संयुक्त जिम्मामा रहने गरी मिलापत्रमा समेत उल्लेख भएको थियो । अंशबन्डा लाग्ने उक्त सम्पत्तिहरू हामी वादी प्रतिवादीहरूको संयुक्त जिम्मामा रहेको छ र हालसम्म हामीबिच कुनै अंशबन्डा भएको छैन । काठमाडौं जिल्ला अदालतमा मिति २०५३।३।११ को मिलापत्र भएपश्‍चात् हामी वादी प्रतिवादीहरूको संयुक्त जिम्मामा भएका सम्पत्तिहरू आमा जीवित भएकोले बन्डा नगरी बसेका थियौं । आमा विष्णुकुमारीको मिति २०५६।९।८ मा परलोक भएकोले निजको नाममा भएको सम्पत्ति मसमेतका नाममा नामसारीसम्म गरे तापनि अधिकांश सम्पत्तिहरू विपक्षीहरूले नै भोगचलन गर्नुका साथै निजका श्रीमतीहरूका नाममा समेत रहे भएको हुँदा विपक्षीहरूका श्रीमतीहरूलाई समेत मुलुकी ऐन, अदालती बन्दोबस्तको १३९ नं.बमोजिम झिकाई सगोलका सम्पत्तिहरूबाट मुलुकी ऐन, अंशबन्डाको २०, २१, २२ र २३ नं. समेतबमोजिम तायदाती फाँटवारी लिई फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी मूल अंशियार ३ जना मात्र हुँदा सम्पूर्ण सम्पत्तिलाई ३ भाग लगाई सोबाट मेरो एक भाग अंश छुट्ट्याई चलनसमेत चलाई पाउँ भन्‍नेसमेत वादी चेतबहादुर फुयाँलको मिति २०६९।०६।२९ को फिराद दाबी ।

विपक्षी दाजु पहिले नै आफ्नो अंश भाग लिई छुट्टी भिन्‍न बसेका हुन् । विपक्षी वादी र हामी प्रतिवादीहरूले आ-आफ्नो अंश भागबापत पाएका पैतृक घरजग्गाहरू सबै संयुक्त रूपमा नामसारी गरेका छौं । संयुक्त नाममा दर्ता रहेका पैतृक सम्पत्तिबाहेक हामी तथा हाम्रा श्रीमतीहरूको नाममा दर्ता रहेका जग्गा जमिन विपक्षी वादीको हक लाग्ने नभई हाम्रो निजी आर्जन र ऋणधन गरी जोडेका सम्पत्तिहरू हुन् । विपक्षी चेतबहादुर फुयाँलसमेत प्रतिवादी भई चलेको अंश मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०५३।३।११ मा भएको मिलापत्रमा विपक्षी वादी चेतबहादुर र हामी प्रतिवादीहरूसमेतका नाममा हाम्रो अंश भागमा छुट्याइएका जग्गाहरू संयुक्त रूपमा दर्ता कायम हुने गरी राखिएका हुन् । उक्त मिलापत्रबाट विपक्षी एवं हामीहरूसमेतको संयुक्त नाममा दर्ता हुने गरी पैतृक सम्पत्तिबाट विपक्षी र हाम्रो अंश भाग छुट्टिई सकेको छ । मिति २०५३।३।११ को मिलापत्रबमोजिम विपक्षीको समेत अंशभाग छुट्टिइसकेकोले उक्त सम्पत्तिलाई कित्ताकाट गरी संयुक्त दर्ता छुट्याउन हामी पनि मन्जुर नै छौं । संयुक्त दर्ता बाहेकका जग्गाहरू तथा हामी प्रतिवादीहरू र म नारायण हरिको श्रीमती बिमला फुयाँलको नाममा रहेका अन्य जग्गा जमिन एवं घरहरू पैतृक सम्पत्ति नभई बन्डा नलाग्ने हाम्रो निजी आर्जनका सम्पत्ति हुन् । विपक्षी वादीको श्रीमतीहरू नानुमाया फुयाँल, श्रीमती निर्मला फुयाँल र छोराहरू सन्तोष तथा सम्पूर्ण फुयाँलसमेत रहेको र विपक्षी वादीले छुट्टै व्यवहार गरी आएको तथ्य २०५३।३।११ मा मिलापत्र भएको अंश मुद्दाको प्रतिउत्तर पत्रमा खुलाउनुभएको छ । गणेशबहादुर फुयाँलसमेत उपर विपक्षी वादीकी श्रीमती नानुमाया फुयाँलले दायर गरेको अंश चलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०५७।२।१९ मा भएको फैसलाबाट पनि विपक्षीको श्रीमती नानुमाया फुयाँलले विपक्षी वादीको अंश हक लाग्ने सम्पत्तिबाट अंश पाउने तथ्य निर्धारण भएकोले सो फैसलाको तपसिल खण्डमा उल्लेख भएका घरजग्गाहरू मात्र विपक्षी वादीको हक हिस्सा लाग्ने पैतृक सम्पत्तिहरू हुन् भन्‍ने तथ्य स्पष्ट हुन्छ । केही सम्पत्तिहरू हामीहरूले आ-आफ्नो हक बिक्री वितरण गरेको समेतका तथ्यहरूबाट विपक्षी वादीले हामीहरूउपर बन्डा नलाग्ने सम्पत्तिमा समेत दाबी गर्न पाउने कुनै आधार नभएकोले विपक्षी वादीको फिराद खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीहरू रत्‍नबहादुर के.सी. र नारायण हरि फुयाँलको मिति २०६९।१०।२४ मा पेस भएको संयुक्त प्रतिउत्तर जिकिर ।

वादी र मबिच समेत २०३६ सालमा नै घरसारमा बन्डा भइसकेको हो । यी वादी चेतबहादुर फुयाँल र निजकी श्रीमती नानुमायाबिच अंश मुद्दा चली मलाई समेत झिकाई सो मुद्दामा नानुमायाले अंश पाउने ठहरी फैसलासमेत भएको छ । म छुट्टी भिन्‍न भइसकेको अंशियारबाट यी वादीले अंश पाउनुपर्ने होइन भनी अ.बं. १३९ नं.बमोजिम बुझिएकी सावित्री के.सी.ले सुरू अदालतमा गरेको बयान । 

वादी र मसमेत अंशियार हौँ । वादी २०३६ सालमा नै भिन्‍नै बसेकोले हामीबिचमा अंशबन्डा भइसकेको हुँदा वादीले मबाट अंश पाउनुपर्ने होइन भनी अ.बं. १३९ नं.बमोजिम बुझिएकी बिमला फुयाँलले सुरू अदालतमा गरेको बयान ।

वादी प्रतिवादीबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादीको जिम्मामा रहेको बन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी पेस गर्न लगाउनु भनी मिति २०७०।९।२५ मा भएको आदेश ।

वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारी मिसिल सामेल रहेको ।

वादी प्रतिवादी सगोलको अंशियार भई वादीले प्रतिवादीबाट अंश पाएको अवस्था नदेखिँदा प्रतिवादीले तायदाती फाँटवारीमा उल्लेख गरेको कि.नं. ४६२ को जग्गा प्रतिवादी नारायण हरिले पुरूषोत्तम खनालबाट बकस पाएको देखिँदा सो जग्गाबाहेक वादी प्रतिवादीले तायदाती फाँटवारीमा उल्लेख गरेको जग्गामध्ये दर्ता स्रेस्ता मिले भिडेको जग्गाबाट वादीले ३ भागको १ भाग अंश पाउनेमा सो १ भागमध्येबाट वादीको पत्‍नी नानुमाया फुयाँलले पाएको अंशबाहेक गरी बाँकी जग्गा वादीले प्रतिवादीबाट अंश पाउने ठहर्छ भनी मिति २०७२।७।२३ मा सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला । 

वादी गणेशबहादुर फुयाँल प्रतिवादी नारायणहरी फुयाँलसमेत भएको अंश मुद्दामा मिति २०५३।३।११ मा भएको मिलापत्रबाट हामीबिच बन्डा लाग्ने सम्पत्ति छुट्टिइसकेको छ । सो मिलापत्रमा उल्लेख भएबाहेकका सम्पत्ति निजी आर्जनको बन्डा नलाग्ने सम्पत्ति भएकोमा सो मिलापत्रलाई सुरू फैसलामा प्रमाणको रूपमा ग्रहण गरिएको छैन । विपक्षी वादीको श्रीमती नानुमाया फुयाँल वादी र गणेशबहादुर फुयाँल तथा स्वयं विपक्षी चेतबहादुरसमेत प्रतिवादी भई काठमाडौं जिल्ला अदालतमा चलेको अंश मुद्दामा मिति २०५७।२।१९ मा भएको फैसलाको ठहर खण्डमा उल्लिखित निर्णयाधार एवं तपसिल खण्डले सम्पत्तिको विवरण स्पष्ट भएको छ । सो सम्पत्तिहरू विपक्षी वादीसमेतको नाममा संयुक्त दर्ता रहेको सम्पत्तिबाट छुट्याई लिन पाउने अधिकार मात्र भएका विपक्षी वादीलाई उक्त मिलापत्र र फैसलाले उल्लेख गरेकोभन्दा बढी विपक्षीको हकहिस्सा नै नलाग्ने हाम्रा निजी आर्जन र पैतृकदेखि बाहेकका बन्डा गर्न नपर्ने जग्गासमेत बन्डा हुने किसिमबाट भएको फैसला यथार्थपरक छैन । प्रतिवादी नारायण हरि र निजको पत्‍नी बिमलाको नाममा राजीनामा र बकसपत्रबाट केही सम्पत्ति बिमलादेवीको निजी आर्जनको भन्‍ने पुष्टि नभएको भनी निर्णयाधार लिएको छ । मुलुकी ऐन, अ.बं. १३९ नं.बमोजिम बुझिएकी पुनरावेदिका म बिमलादेवी फुयाँलले काठमाडौं जिल्ला अदालतमा पेस गरेको तायदाती फाँटवारीमा मेरो नाममा रहेका हालैको बकसबाट प्राप्त एवं निजी आर्जनको रकमले राजीनामाको लिखतबाट खरिद गरेको जग्गा एवं सम्पत्ति पैतृक नभएकोले वादी चेतबहादुरको अंश हक लाग्ने अवस्था छैन । मैले पेस गरेको तायदाती फाँटवारीको कुनै मतलब नगरी विपक्षी वादीको आधारहीन दाबीलाई मात्र आधार मानी समान तहको अंशियार बाहिरको म बिमलादेवीको निजी आर्जनको स्त्री अंशधनको महलबमोजिम कुनै अंशियारलाई बन्डा नलाग्ने सम्पत्तिसमेत बन्डा लगाइदिने गरी सुरू अदालतबाट भएको फैसला त्रुटिपूर्ण छ । म नारायण हरि फुयाँलले आफ्नै ज्ञान, सिप र प्रयासबाट जगदम्बा कार्पेट इण्डष्ट्रिज नामको कार्पेट उद्योग स्थापना गरी कृषि विकास बैंकबाट ऋणसमेत लिई सो उद्योग सञ्‍चालन गरी आर्जित विशुद्ध निजी आर्जनको रकम एवं ऋणसमेतलाई विभिन्‍न मितिमा खरिद एवं बिक्री गर्दै जोडेको सम्पत्तिहरूलाई सगोलमा नै रहँदा उद्योग खोलेको भन्‍ने आत्मपरक तर्क लगाई मेरो निजी आर्जनको बन्डा नलाग्ने सम्पत्तिलाई बन्डा लगाइदिने गरी भएको सुरू फैसला (कि.नं. ४६२ को जग्गा बन्डा नलाग्ने भन्‍ने बेहोराबाहेक) त्रुटिपूर्ण भएकोले बदर गरी विपक्षीको दाबी नपुग्ने गरी इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको बिमला फुयाँलसमेतको उच्च अदालत पाटनमा पेस भएको संयुक्त पुनरावेदनपत्र । 

प्रतिवादीहरू नारायण हरि फुयाँल, रत्‍नबहादुर के.सी.समेतले मिति २०७०।१०।१५ मा काठमाडौं जिल्ला अदालतमा पेस गरेको तायदाती फाँटवारीमा आफ्नो छुट्टै ज्ञान, सिप र प्रयासले कृषि विकास बैंकबाट कर्जा लिई जगदम्बा कार्पेट इण्डष्ट्रिजसमेत चलाई निजी पेसा व्यवसायबाट आर्जन गरेको हुनाले बन्डा गर्नु नपर्ने भनी कि.नं. ४६३, २२०, २१४, २१८, २२१, ८७, २३४, २३६, ४६२, ४९०, २३२, ४१६, ४१७ र २६५ का घरजग्गा बन्डा नलाग्ने भनी जिकिर लिएकोमा कि.नं. ४६२ बाहेकका अन्य कि.नं.का घर जग्गाको हकमा पर्याप्त विवेचना नगरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला अंशबन्डाको १८ नं.को व्याख्याको रोहमा विचारणीय भई फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४(२) बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार गर्नु भन्‍ने बेहोराको उच्च अदालत पाटनको मिति २०७४।२।२५ को आदेश । 

वादी गणेशबहादुरले दायर गरेको अंश चलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०५३।३।११ मा मिलापत्र हुँदा प्रतिवादी चोकबहादुर फुयाँलको हक खाने विष्णुकुमारी, चेतबहादुर, रत्‍नबहादुर र नारायण हरिसमेतको अंश भागमा परेको जग्गाको विवरण उल्लेख भएकोबाट वादी प्रतिवादी सगोलको अंशियार भई वादीले प्रतिवादीबाट अंश पाइसकेको भन्‍ने अवस्था नदेखिएकोले प्रतिवादीले तायदाती फाँटवारीमा उल्लेख गरेको कि.नं. ४६२ को जग्गा प्रतिवादी नारायण हरिले पुरूषोत्तम खनालबाट बकस पाएको देखिँदा सो जग्गाबाहेक वादी प्रतिवादीले तायदाती फाँटवारीमा उल्लेख गरेको जग्गामध्ये दर्ता स्रेस्ता भिडेका जग्गाबाट वादीले ३ भागको १ भाग अंश पाउने र सो १ भागमध्येबाट वादीको पत्‍नी नानुमाया फुयाँलले पाएको अंश बाहेक गरी बाँकी जग्गा वादीले प्रतिवादीबाट अंश पाउने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२।०७।२३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७४।०८।०४ को फैसला ।

हामी वादी प्रतिवादीहरू अंशियार भएको र संयुक्त नाममा दर्ता रहेको पैतृक सम्पत्तिमा बन्डा लाग्ने कुरामा मुख मिलेको हुँदा सो हदसम्म फैसला कानूनबमोजिम भएको छ, निजी सम्पत्तिमा बन्डा लगाएकोमा चित्त बुझेन । हाम्रो निजी भनी दाबी लिएको जग्गामध्येको कि.नं. ८५ र ८७ को जग्गा मिति २०५३।३।११ मा अंश मुद्दामा मिलापत्र गरी अंश छुट्‍टाई लिएपछि ठुलोबुबा गणेशबहादुर, काकाहरू दिलबहादुर र हरिबहादुरले मिति २०५३।६।२० मा म नारायण हरि फुयाँललाई र.नं. १४८४ बाट हालैको बकसपत्र गरिदिनुभएको जग्गा हो । सो जग्गा बकसपत्र पाएको कारण अंशबन्डाको १८ नं.ले मेरो निजी हुने कुरामा विवाद नै छैन । कि.नं. ८५ को जग्गा मिति २०६६।०८।०९ मा प्लट मिलानका लागि राजीनामा गरी तुला बडालका नाममा गएको र निजबाट सोही मितिमा राजीनामा गरी म नारायण हरिको नाममा आएको अवस्था हो । यसैगरी कि.नं. ८५ को बाँकी जग्गामध्ये मिति २०६६।०९।८ मा तुला बडालबाट नै प्लट मिलान गर्दा कित्ताफोड भई राजीनामाबाट कित्ता नं. ८८, २३१, २३४, २३६ कायम भएको हो । यी जग्गाको मूल स्रोत मिति २०५३।६।२० को बकसपत्रबाट प्राप्त कि.नं. ८५ र ८७ भएकोले उक्त राजीनामाबाट प्राप्त कित्ता जग्गाहरू सगोलको भनी बन्डा गर्न मिल्ने होइन ।

वादी रिता श्रेष्ठ र प्रतिवादी योगेन्द्रमान श्रेष्ठ रहेको अंश मुद्दामा (ने.का.प. २०६७ नि.नं. ८४७५ अङ्क १०) “पैतृक सम्पत्तिको योगदान रहेको भन्‍ने तथ्य कहीँकतैबाट स्थापित हुन नसकेको सम्पत्तिमा कसैले आफ्नो आर्जनबाट जोडेको सम्पत्तिलाई सगोलको सम्पत्ति भन्‍न नसकिने । निजी आर्जनको सम्पत्तिमा सो आर्जन गर्ने अंशियारको निजी ठहरी आफूखुस गर्न पाउँछ भन्‍ने अंशबन्डाको १८ नं. मा स्पष्ट कानूनी व्यवस्था रहेको हुँदा त्यस्तो सम्पत्तिमा अन्यलाई अंश हक नलाग्ने” भनी नजिरसमेत कायम भएको छ । यस मुद्दामा मिति २०५३।५।२७ मा सासू विष्णु कुमारीले म बुहारी बिमला फुयाँललाई बकसपत्र गरिदिएको कि.नं. २६५ र २६८ को जग्गा तथा मिति २०६७।४।१८ मा पुरूषोत्तम खनालबाट बकसपत्र गरी लिएको कि.नं. १९८ को जग्गा र मिति २०५८।११।२१ मा मैले राजीनामा गरी लिएको कि.नं. २२१ को जग्गासमेत कृषि विकास बैंकमा धितो राखी रू.२०,२७,०००।- कर्जा लिई जगदम्बा कार्पेट उद्योग सञ्‍चालन गरी व्यवसाय गरेको र सोही व्यवसायबाट नाफाको रूपमा आर्जन गरेको कि.नं. २१४, २१८, २२१, ४६२, ४६३, २२० जग्गाहरू हुन् । नानुमायाबाट रत्‍नबहादुर के.सी.ले राजीनामा गरी किनेको दुवाकोट ५ख को कि.नं. ४९० को क्षेत्रफल ०-२-३-३ र म बिमलाको नाउँको कि.नं. २३२ ४१६, ४१७, ४९० को जग्गाको स्रोत सम्बन्धमा कुनै बुझ्‌नुपर्ने प्रमाण नै नबुझी वादीको सो उद्योगमा कुनै लगानी नभएको अर्थात् पैतृक सम्पत्तिको कुनै योगदान नरहेको अवस्थामा लिखित रूपमा बन्डा नभए पनि छुट्टै घरमा बसी छुट्टै व्यवहार गरी बकस पाएको जग्गाबाट व्यवहार गरी आर्जन गरेको सम्पत्तिसमेत बन्डा हुने ठहर गरेको फैसला मिलेको छैन । कि.नं. २६५ र २६८ को जग्गा सासू विष्णुकुमारीबाट मिति २०५३।५।२७ मा बकस भई मिति २०६६।८।१० मा अम्बिका चौलागाइसँग प्लट मिलान गर्दा कायम हुन आएको कि.नं. ४१६ र ४१७ जग्गा हो । मिति २०६७।४।१८ मा पुरूषोत्तम खनालबाट हालैको बकसपत्र गरी लिएको कि.नं. १९८ बाट राजेश ढकालसँग मिति २०६७।७।२० मा प्लट मिलान गर्दा हुन आएको कि.नं. ४६३ समेत बन्डा गरिएको फैसलाले उक्त स्थापित नजिरको उल्लङ्घन भएको छ । बकसपत्रबाट प्राप्त भएको कि.नं. ४१६, ४१७ र २६५ को जग्गामा हामीहरूको बसोबास गरेको घर छ, सो घरसमेत बन्डा हुने गरी भएको फैसला त्रुटिपूर्ण छ । बकसबाट प्राप्त जग्गासमेत धितो राखी व्यवसाय गरी आर्जन गरेको जग्गासमेत निजी नै हुने र बन्डा नलाग्ने जग्गाहरू हुन्, सो जग्गाहरूसमेत बन्डा लाग्ने गरी भएको फैसला बदरभागी छ । निजी आर्जनको हो भनी प्रमाणसहित पेस गरेको फाँटवारीको कुनै मूल्याङ्कन नै नगरी विपक्षी वादीको आधारहीन फिराद दाबीलाई मात्र आधार मानी म बिमलादेवीको निजी आर्जनको एवं स्त्री अंशधनको महलबमोजिम कुनै बन्डा नलाग्ने सम्पत्ति बन्डा गरेको त्रुटिपूर्ण छ । यसरी उल्लिखित तथ्य प्रमाणको समुचित मूल्याङ्कन नै नगरी (कि.नं. १९८ /४६२) बाहेकको बाँकी निजी सम्पत्तिमा बन्डा लाग्ने गरी भएको सुरू अदालतको फैसला सदर गर्ने गरी भएको उच्च अदालत, पाटनबाट भएको फैसला त्रुटिपूर्ण रहेको हुँदा मुद्दा दोहोर्‍याई हेरी प्रतिउत्तरपत्रबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी बिमला फुयाँलसमेतले यस अदालतमा पेस गरेको निवेदन ।

यसमा मूल अंशियार गणेशबहादुर फुयाँल खत्री, डिल्लीबहादुर भन्‍ने दिलबहादुर फुयाँल खत्री र हरिबहादुर फुयाँल खत्रीको नाममा कि.नं. ८५ र ८७ को जग्गा अंश भागमा प्राप्त गर्ने गरी मिति २०५३।३।११ मा मिलापत्र गरेको देखिन्छ । सोही अंशबापत प्राप्त कित्ता जग्गाहरू पछिल्लो पुस्ता प्रतिवादी भतिजा यी निवेदक नारायण हरिलाई मिति २०५३।६।२० मा हालैको बकसपत्र गरिदिएको र.नं. १४८४ को लिखतबाट देखिन्छ । अघिल्लो पुस्ताका काकाहरूले आफ्नो अंश हकमा परेको जग्गा भतिजालाई बकस दिएकोमा निज बकस प्राप्त गर्नेका समान पुस्ताका दाजुभाइलाई बन्डा लाग्ने गरी भएको उच्च अदालत पाटनको फैसलामा अंशबन्डाको १८ नं. तथा मुलुकी ऐन, अ.बं. १८४(क), १८५ नं. एवम् प्रमाण ऐन, २०३१ को दफा ३, ५४समेतको त्रुटि भई न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिदिएको छ भन्‍ने यस अदालतको मिति २०७४।१२।१३ को आदेश ।

यसमा प्रस्तुत मुद्दाको समग्र तथ्यगत विषयवस्तुतर्फ दृष्टिगत गर्दा यो विवादको समाधान मेलमिलाप प्रक्रियाबाट हुनु उपयुक्त देखिएको र दुवै पक्षका कानून व्यवसायीहरूसमेत मेलमिलाप प्रक्रियाबाट समाधान गर्न सहमत हुनुभएको हुँदा मेलमिलापका लागि एक महिनाको समय तोकी मेलमिलाप प्रक्रियामा पठाउने गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७८ बमोजिम यो आदेश गरिएको छ । दुवै पक्षलाई मेलमिलाप केन्द्रमा जान तारेख तोकी पठाई मेलमिलाप भएमा मिलापत्रका निम्ति र सो हुन नसके पेसी तोकी यसमा निम्नानुसारका मिसिलहरू झिकाउन जरूरी देखिएकाले ती मिसिलहरू अविलम्ब झिकाई नियमानुसार पेस गर्नू:-

मिति २०५३।३।११ मा सुरू जिल्ला अदालतमा मिलापत्र भएको २०५१ सालको दे.मि.नं. ५१११ को अंश मुद्दा,

मिति २०५७।२।१९ मा सुरू जिल्ला अदालतबाट फैसला भएको वादी नानुमाया फुयाँल र प्रतिवादी चेतबहादुर फुयाँलसमेत भएको २०५१ सालको दे.मि.नं. २९६।४६८३,

मिति २०७१।९।२० मा सुरू जिल्ला अदालतबाट फैसला भएको ०५०।०५१ को दे.दा.नं. ८९४ को अंश मुद्दा भन्‍ने यस अदालतबाट मिति २०७८।११।२९ मा भएको आदेश ।

 

यसमा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको वादी निर्मला फुयाँल विरूद्ध प्रतिवादी चेतबहादुर फुयाँल भएको बसोबासको व्यवस्था मिलाई अंश हक संरक्षण गरिपाउँ भन्‍ने मुद्दा नं. ०७८-CP-२४२६ को सक्‍कल मिसिल सो अदालतबाट झिकाई आएपछि मिति २०७९।६।९ मा हेर्दाहेर्दैमा पेसी चढाई नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०७९।०६।०२ मा भएको आदेश ।

यसमा, सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२।७।२३ मा वादी/प्रतिवादीले तायदाती फाँटवारीमा उल्लेख गरेको कि.नं. ४६२ प्रतिवादी नारायण हरि फुयाँलको नाउँको जग्गाबाहेक उक्त तायदाती फाँटवारीमा उल्लेख गरेको जग्गामध्ये दर्ता स्रेस्ता मिले भिडेको जग्गाबाट वादीले ३ भागको १ भाग अंश पाउनेमा सो १ भागमध्येबाट वादीको पत्‍नी नानुमाया फुयाँलले पाएको अंश बाहेक गरी बाँकी जग्गा वादीले प्रतिवादीबाट अंश पाउने ठहर गरी भएको फैसला सदर हुने ठहर गरी उच्च अदालत पाटनबाट मिति २०७४।०८।०४ मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी नारायण हरि फुयाँलको नामको कि.नं. ८५ र कि.नं. ८७ हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको साबिक कि.नं. ८५ कित्ताकाट भई हाल कायम भएको कि.नं ८८, २३१, २३४, २३६ र कि.नं. ८७ का जग्गाहरू प्रतिवादी नारायण हरि फुयाँलको निजी सम्पत्ति हुँदा सो सम्पत्ति बन्डा नलाग्ने, वादी प्रतिवादीको आमा/सासू विष्णुकुमारी फुयाँललाई हेरविचार गरेबापत बिमला फुयाँलले हालैको बकसपत्रमार्फत प्राप्त गरेको कि.नं. २६५ र कि.नं. २६८ लाई प्लट मिलान गर्दा कायम हुन आएको हालको कि.नं. ४१६ र कि.नं. ४१७ को जग्गाबाट ४ भागको १ भाग वादीले अंश पाउने, प्रतिवादी बिमला फुयाँलले घर निर्माण गर्दा सो घर निर्माणमा प्रत्यर्थी वादीको कुनै योगदान रहेको नदेखिँदा साबिक कि.नं. २६५ र कि.नं. २६८ र कि.नं. २६८ कित्ताकाट भई हाल कायम भएको कि.नं. ४१६ र कि.नं. ४१७ मा बनेको घर बन्डा नलाग्ने साथै, वादीले पाउने उपर्युक्तानुसारको अंश भागमध्ये ५ भागको १ भाग सम्पत्ति यी वादीको श्रीमती नानुमाया फुयाँलले आफ्नो अंश भागबापत मिति २०५७।०२।१९ मा नै छुट्याई लिई पाउने ठहर भएको देखिँदा सोहीबमोजिम अंश भाग छुट्याई बाँकी सम्पत्ति मात्र यी वादीले पाउने हुँदा अन्य सम्पत्तिको हकमा उच्च अदालत पाटनको फैसला मिलेको देखिँदा सो हदसम्म सदर हुने ठहर्छ भन्‍नेसमेत बेहोराको यस अदालतको संयुक्त इजलासको मिति २०७९।६।९ गतेको फैसला ।

यसमा, विपक्षी प्रतिवादी नारायण हरि फुयाँलका नाउँमा रहेको कि.नं. ८५ बाट कित्ताकाट भई हाल कायम कि.नं. ८१, २३१ २३४ र २३६ को जग्गा मिति २०६६।८।९ मा तुलबहादुर बडालका नामबाट प्रतिवादी नारायण हरि फुयाँलको नाममा राजीनामाबाट प्राप्त भएका जग्गाहरू देखिएका छन् । उक्त जग्गा प्रतिवादी नारायण हरि फुयाँलले मिति २०५३।३।११ को मिलापत्रबाट ठुलोबुबा गणेशबहादुर तथा काका दिलबहादुर र हरिबहादुरले अंशबापत प्राप्त गरेको जग्गा हो भनिएको र सोही जग्गा मिति २०५३।६।२० मा र.नं. १४८४ बाट गणेशबहादुरसमेतले हालैदेखिको बकसपत्र गरिदिएको कारणले बन्डा नलाग्ने भनिएको छ । तर उक्त कि.नं. ८५ को जग्गा मिति २०५३।११।३ को बन्डापत्रबाट गणेशबहादुरसमेतको नाउँमा गएको भनी दाबी लिए तापनि वि.सं. २०२१/०२२ सालको सर्वे नापीमा सो कि.नं. ८५ को र कि.नं. ८७ समेतका जग्गा देवेन्द्र पुरूष ढकालको नाउँमा दर्ता भई शिवकुमारी खत्रीनीको नाउँ किसानको महलमा कायम भई फिल्डबुक तयार भएको र म निवेदक वादीका पिता चोकबहादुर फुयाँल खत्री सो जग्गाको किसान निज शिवकुमारी खत्रिनी हो भनी साक्षी बसेको हो । उक्त जग्गा गणेशबहादुर खत्रीसमेतले अंशबापत आफ्नो नाउँमा प्राप्त हुन सक्ने जग्गा होइन । यसरी कि.नं. ८५ र ८७ का जग्गाधनी देवेन्द्र पुरूष ढकाल भएको कुरा नयाँ प्रमाणबाट देखिएको हुँदा उक्त जग्गासमेतमा म निवेदक वादीको अंशहक लाग्ने गरी इन्साफ गरिपाऊँ । साथै म प्रत्यर्थी/वादी चेतबहादुर फुयाँल र विपक्षी पुनरावेदक प्रतिवादी बिमला फुँयालसमेत भएको प्रस्तुत मुद्दा नं. ०७४-CI-०८३० को अंश चलन मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।६।९ मा फैसला हुँदा “वादी प्रतिवादीको आमा/सासू विष्णुकुमारी फुयाँललाई हेरविचार गरेबापत बिमला फुयाँलले हालैको बकसपत्रमार्फत प्राप्त गरेको कि.नं. २६५ र कि.नं. ४१७ को जग्गाबाट ४ भागको १ भाग वादीले अंश पाउने, प्रतिवादी बिमला फुयाँलले घर निर्माण गर्दा सो घर निर्माणमा प्रत्यर्थी/वादीको कुनै योगदान रहेको नदेखिँदा साबिक कि.नं. २६५ र कि.नं. २६८ र हाल कि.नं. २६८ बाट कित्ताकाट भई कायम भएको कि.नं. ४१६ र कि.नं. ४१७ मा बनेको घर बन्डा नलाग्ने ठहर्छ” भनी फैसला भएको पाइन्छ । तथापि पुनरावेदक वादी ताराबहादुर थापा र मनु थापा प्रत्यर्थी/प्रतिवादी भएको ०६९-CI-०३०८ नं.को अंश मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०७७।११।१७ मा फैसला हुँदा “घर प्रतिवादी मनु थापाको निजी आर्जनबाट निर्माण गरेको भनी देखिने कुनै विश्‍वसनीय वा भरपर्दो प्रमाण पेस हुन आएको देखिँदैन । प्रमाणबाट घर सगोलको लगानीबाटै बनेको देखिन आएको छ । सगोलमा रहँदा सामूहिक प्रयासबाट आर्जित सम्पत्तिमा सबै अंशियारको अंश भाग लाग्ने हुन्छ । यदि सम्पत्तिको केही भाग निजी थियो भने पनि त्यसलाई सामूहिक सम्पत्तिमा मिसाइयो भने सो सम्पत्तिलाई सबै अंशियारको अंशहक लाग्ने सगोलको सम्पत्ति भनी मान्‍नुपर्ने हुन्छ । यसरी सगोलको सम्पत्तिमा मिसाइएको अवस्थामा निजी आर्जनको सम्पत्तिले समेत सगोलको सम्पत्तिको स्वरूप धारण गर्न पुग्दछ” भनी फैसला भएको अवस्था छ । यसरी उल्लिखित ०६९-CI-०३०८ नं. को मुद्दामा व्यक्त भएको निर्णय बिन्दु र म निवेदकको मुद्दा नं. ०७४-CI-०८३० को मुद्दामा व्यक्त भएको निर्णय बिन्दुमा एकरूपता हुनुपर्नेमा सो नभएको पाइँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को उपनियम (२) (ख) एवम् न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को (ख) को रोहमा प्रस्तुत ०७४ CI-०८३० नं. को अंश चलन मुद्दा पुनरावलोकन गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक/वादी चेतबहादुर फुयाँलले यस अदालतमा दायर भएको पुनरावलोकनपत्र ।

यसमा प्रस्तुत अंश चलन मुद्दाका प्रतिवादी बिमला फुयाँलको नाउँको कि.नं. ४१६ र ४१७ को जग्गासमेत अंशियारहरूबिच अंश लाग्ने ठहर भई सो जग्गामा बनेको घर बन्डा नहुने गरी भएको मिति २०७९।६।९ को फैसला, यस अदालतको संयुक्त इजलासबाट ०६९-CI-०३०८ नं. को अंश चलन मुद्दामा भएको फैसला एवम् ने.का.प. २०७९ अङ्क ११ नि.नं. १०९७४ मा प्रतिपादित कानूनी सिद्धान्तसमेतको प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) को देहाय (ख) बमोजिमको अवस्थाको विद्यमानता रहेको देखिँदा प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेर्न अनुमति प्रदान गरिदिएको छ भन्‍नेसमेत बेहोराको मिति २०८०।११।१७ मा यस अदालतबाट भएको आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी पुनरावेदक वादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री शालिकराम सापकोटाले कि.नं. ८५ र ८७ को जग्गा प्रतिवादी नारायणहरि फुयाँलले आफ्नो ठुलोबुबा र काकाहरूबाट बकसपत्र पाएको हुँदा सो जग्गा निजको निजी आर्जनको सम्पत्ति हुने ठहरी वादीले अंशहक पाएको देखिँदैन । यद्यपि वि.सं. २०२१/०२२ सालको सर्वे नापीमा उक्त जग्गाका जग्गाधनी देवेन्द्र पुरूष ढकाल र किसानको महलमा शिवकुमारी खत्रीनीको नाउँ उल्लेख भई फिल्डबुक कायम भएको पाइन्छ । यसरी यस अदालतको संयुक्त इजलासबाट कि.नं. ८५ र ८७ समेतका जग्गाबाट वादीले अंशहक नपाउने ठहरी फैसला भइसकेपश्‍चात् सो सम्बन्धमा नयाँ प्रमाण फेला परेकोमा दुई मत देखिन आएन । त्यसैगरी यी निवेदक वादी रहेको ०७४-CI-०८३० नं.को अंश चलन मुद्दाको तथ्य एवम् विषयवस्तु र यसै अदालतको संयुक्त इजलासबाट फैसला भएको ०६९-CI-०३०८ नं. को अंश मुद्दाको विषयवस्तु समान रहेको स्थितिमा उल्लिखित ०६९- CI-०३०८ नं.को मुद्दामा सो मुद्दाका वादीले विवादित जग्गामा बनेको घरसमेतमा अंश पाउने ठहरी फैसला भएको देखिन्छ भने प्रस्तुत ०७४- CI-०८३० नं.को मुद्दामा निज वादीले विवादित जग्गामा निर्माण भएका घरमा अंश नपाउने ठहरी फैसला भएको अवस्था छ । तसर्थ प्रस्तुत ०७४- CI-०८३० नं.को मुद्दामा यस अदालतको संयुक्त इजलासबाट भएको फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(ख) समेतको रोहमा त्रुटिपूर्ण देखिँदा बदर गरी फिराद दाबीबमोजिम इन्साफ गरिपाउँ भनी बहस गर्नुभयो ।

त्यसैगरी प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण नेउपाने एवम् विद्वान् अधिवक्ताद्वय श्री त्रिप्ती घिमिरे एवम् श्री आतिस कार्कीले वि.सं. २०२१/०२२ सालको सर्वे नापीमा कि.नं. ८५ र ८७ को जग्गाको जग्गाधनीमा देवेन्द्र पुरूष ढकाल र किसानको महलमा शिवकुमारी खत्रिनीको नाउँ उल्लेख भई फिल्डबुक कायम भएको हुँदा सो जग्गाबाट आफूले अंश पाउनुपर्ने भनी वादीले पुनरावलोकन जिकिर लिएको देखिन्छ । तथापि उल्लिखित जग्गाको जग्गाधनी प्रतिवादी नारायणहरि फुयाँलका दाता गणेशबहादुर फुयाँलसमेत नभई अन्य व्यक्ति हुँदैमा निज वादीले सो जग्गाबाट के कुन आधारमा अंश पाउने हो ? भन्‍ने कुरा कहीँकतै खुलाएको पाइँदैन । यी निवेदक वादी रहेका ०७४-CI-०८३० नं.को अंश चलन मुद्दा र निजले आफ्नो पुनरावलोकनको निवेदनमा उल्लेख गरेका ०६९-CI-०३०८ नं.को अंश मुद्दाको तथ्य, विषयवस्तु एवम् पेस गरिएका सम्बद्ध प्रमाणको स्तरीयता नै पृथक् पृथक् रहे भएको अवस्था छ । यस अदालतको संयुक्त इजलाससमेतले फरक फरक तथ्य, विषयवस्तु रहेका एवम् मुद्दाका पक्षहरूले आफ्नो दाबी पुष्टि गर्ने हेतुले पेस गरेका प्रमाणको स्तरीयताको आधारमा अनेकौं फरक फरक राय एवम् सिद्धान्त कायम र प्रतिपादन गरेको पाइन्छ । यस सन्दर्भमा, यस अदालतको संयुक्त इजलासबाट कायम गरिएको राय बाझिएको भन्‍न मिल्ने होइन । तसर्थ वादीको आधारविहीन पुनरावलोकनको निवेदन खारेज गरी यस अदालतको संयुक्त इजलासबाट भएको फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

यसमा, म फिरादीको बाजे नरबहादुर फुयाँलको पाँच जना छोराहरू गणेशबहादुर फुयाँल, चोकबहादुर फुयाँल, श्यामबहादुर फुयाँल, डिल्लीबहादुर फुयाँल भन्‍ने दिलबहादुर फुयाँल र हरिबहादुर फुयाँल हुन् । बाबु बाजेको पैतृक सम्पत्तिको विषयमा आमा तथा काकाहरूबिच काठमाडौं जिल्ला अदालतमा मुद्दा परी सो मुद्दामा मिति २०५३।३।११ मा मिलापत्रसमेत भएको अवस्था छ । काठमाडौं जिल्ला अदालतमा मिति २०५३।३।११ को मिलापत्र भएपश्‍चात् हामी वादी प्रतिवादीहरूको संयुक्त जिम्मामा भएका सम्पत्तिहरू आमा जीवित भएकोले बन्डा नगरी बसेका थियौं । आमा विष्णुकुमारीको मिति २०५६।९।८ मा परलोक भएकोले निजको नाममा भएको सम्पत्ति मसमेतका नाममा नामसारीसम्म गरे तापनि अधिकांश सम्पत्तिहरू विपक्षीहरूले नै भोगचलन गर्नुका साथै निजका श्रीमतीहरूका नाममा समेत रहे भएको हुँदा विपक्षीहरूका श्रीमतीहरूलाई समेत झिकाई कानूनबमोजिम तायदाती फाँटवारी लिई फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी मूल अंशियार ३ जना मात्र हुँदा सम्पूर्ण सम्पत्तिलाई ३ भाग लगाई सोबाट मेरो एक भाग अंश छुट्ट्याई चलनसमेत चलाई पाउँ भन्‍नेसमेत वादी चेतबहादुर फुयाँलको फिराद दाबी रहेको देखिन्छ । वादी प्रतिवादी सगोलको अंशियार भई वादीले प्रतिवादीबाट अंश पाएको अवस्था नदेखिँदा प्रतिवादीले तायदाती फाँटवारीमा उल्लेख गरेको कि.नं. ४६२ को जग्गा प्रतिवादी नारायण हरिले पुरूषोत्तम खनालबाट बकस पाएको देखिँदा सो जग्गाबाहेक वादी प्रतिवादीले तायदाती फाँटवारीमा उल्लेख गरेको जग्गामध्ये दर्ता स्रेस्ता मिले भिडेको जग्गाबाट वादीले ३ भागको १ भाग अंश पाउनेमा सो १ भागमध्येबाट वादीको पत्‍नी नानुमाया फुयाँलले पाएको अंश बाहेक गरी बाँकी जग्गा वादीले प्रतिवादीबाट अंश पाउने ठहरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर गरेको उच्च अदालत पाटनबाट भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादी बिमला फुयाँलसमेतको तर्फबाट यस अदालतमा दायर भएको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्‍ने निवेदनमा अनुमति प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा दायर हुन आएको पाइन्छ । यसमा, सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने ठहर गरी उच्च अदालत पाटनबाट भएको फैसला केही उल्टी गरी प्रतिवादी नारायण हरि फुयाँलको नामको कि.नं. ८५ र कि.नं. ८७ हालैदेखिको बकसपत्रबाट प्राप्त गरेको साबिक कि.नं. ८५ कित्ताकाट भई हाल कायम भएको कि.नं ८८, २३१, २३४, २३६ र कि.नं. ८७ का जग्गाहरू प्रतिवादी नारायण हरि फुयाँलको निजी सम्पत्ति हुँदा सो सम्पत्ति बन्डा नलाग्ने, वादी प्रतिवादीको आमा/सासू विष्णुकुमारी फुयाँललाई हेरविचार गरे बापत बिमला फुयाँलले हालैको बकसपत्रमार्फत प्राप्त गरेको कि.नं. २६५ र कि.नं. २६८ लाई प्लट मिलान गर्दा कायम हुन आएको हालको कि.नं. ४१६ र कि.नं. ४१७ को जग्गाबाट ४ भागको १ भाग वादीले अंश पाउने, प्रतिवादी बिमला फुयाँलले घर निर्माण गर्दा सो घर निर्माणमा प्रत्यर्थी वादीको कुनै योगदान रहेको नदेखिँदा साबिक कि.नं. २६५ र कि.नं. २६८ र कि.नं. २६८ कित्ताकाट भई हाल कायम भएको कि.नं. ४१६ र कि.नं. ४१७ मा बनेको घर बन्डा नलाग्ने साथै, वादीले पाउने उपर्युक्तानुसारको अंश भागमध्ये ५ भागको १ भाग सम्पत्ति यी वादीको श्रीमती नानुमाया फुयाँलले आफ्नो अंश भागबापत मिति २०५७।०२।१९ मा नै छुट्याई लिई पाउने ठहर भएको देखिँदा सोहीबमोजिम अंश भाग छुट्याई बाँकी सम्पत्ति मात्र यी वादीले पाउने हुँदा अन्य सम्पत्तिको हकमा उच्च अदालत पाटनको फैसला मिलेको देखिँदा सो हदसम्म सदर हुने ठहर गरी यस अदालतको संयुक्त इजलासबाट भएको फैसलाउपर वादीले चित्त नबुझाई पुनरावलोकन गर्दा सोमा अनुमति प्रदान भई प्रस्तुत मुद्दा यस इजलाससमक्ष पेस हुन आएको देखियो ।

उपर्युक्त तथ्य, प्रमाण एवम् बहस बुँदासमेत रहेका प्रस्तुत मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर ठहर्‍याएको उच्च अदालत पाटनको फैसला केही उल्टी गरेको यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मिलेको छ वा छैन, पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्‍ने सन्दर्भमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, 

वादी एवम् प्रतिवादीको पुस्तेवारी यसप्रकार रहेको छः-

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

३. उल्लिखित पुस्तेवारीबमोजिम, मूल पुरूष एवम् वादी, प्रतिवादीका बाजे नाता पर्ने नरबहादुर फुयाँलका ५ जना छोराहरू गणेशबहादुर फुयाँल, श्यामबहादुर फुयाँल, हरिबहादुर फुयाँल, डिल्लीबहादुर भन्‍ने दिलबहादुर फुयाँल र चोकबहादुर फुयाँल रहेको देखिन्छ । चोकबहादुर फुयाँल र विष्णुकुमारी फुयाँलका तीन जना छोराहरूमा वादी चेतबहादुर फुयाँल र प्रतिवादीहरू रत्‍नबहादुर के.सी. र नारायण हरि फुयाँल रहेका छन् । त्यसैगरी प्रतिवादी नारायण हरि फुयाँलकी श्रीमती बिमला फुयाँललाई अ.बं. १३९ नं.बमोजिम बुझी निज कारणी सरह तारेखमा रहेको देखिन्छ । वादीले उपर्युक्तबमोजिमको नाता पुस्तेवारी खुलाई फिरादपत्र दायर गरेकोमा प्रतिवादीले प्रतिउत्तरपत्र फिराउँदा सो नाता एवम् पुस्तेवारीमा कुनै विवाद नदेखाई स्वीकार गरेको अवस्था छ । यसबाट चोकबहादुर फुयाँलको अंश हक खाने मूल अंशियार विष्णुकुमारी फुयाँल, चेतबहादुर फुयाँल, रत्‍नबहादुर के.सी. एवम् नारायण हरि फुयाँलसमेत गरी चार जना रहेभएको देखिन आउँछ । यी वादी प्रतिवादीकी आमा विष्णुकुमारी फुयाँलको मृत्यु भइसकेकोले हाल बुबा चोकबहादुर फुयाँलको अंश भाग खाने निज वादी प्रतिवादी गरी जम्मा तीन जना बाँकी रहेकोमा दुई मत देखिँदैन । प्रतिवादीले २०५३ सालमै वादीसँग मानो छुट्टिएको भन्‍ने जिकिर लिए तापनि सुरू अदालतले फिराद परेको अघिल्लो दिन अर्थात् मिति २०६९।६।२८ लाई वादी प्रतिवादीबिच मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी माग गर्ने आदेश गरेकोमा प्रतिवादीहरूले त्यस आदेशउपर कुनै निवेदन दिएको देखिएन । सोही आदेशको आधारमा प्रतिवादीले तायदाती फाँटवारीसमेत पेस गरेको पाइन्छ । साथै, प्रतिवादी नारायण हरि फुयाँलको नाउँमा रहेको कि.नं. ४६२ को जग्गा बन्डा नलाग्ने निजी सम्पत्ति ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतले फैसला गरेकोमा उच्च अदालत पाटनले सोही सुरू फैसला सदर ठहर्‍याएको एवम् यस अदालतको संयुक्त इजलासबाट समेत कि.नं. ४६२ को जग्गा निजी ठहर्‍याई सुरू र उच्चले गरेको फैसला नै सदर गरेको पाइन्छ । यसरी सुरू, उच्च र यस अदालतको संयुक्त इजलासबाट कि.नं. ४६२ को जग्गा बन्डा नलाग्ने भनी गरेको फैसलाउपर निज वादीले चित्त बुझाई सो सन्दर्भमा पुनरावलोकन गरेको देखिँदैन । त्यसैगरी बिमला फुयाँलको नाउँमा दर्ता स्रेस्ता कायम रहेका कि.नं. २६५ र कि.नं. २६८ बाट कित्ताकाट भई हाल कायम कि.नं. ४१६ र ४१७ का घरजग्गा बन्डा लाग्ने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतले गरेको फैसला उच्च अदालत पाटनले सदर ठहर्‍याएकोमा यस अदालतको संयुक्त इजलासले सुरू र उच्चको फैसला केही उल्टी गरी उल्लिखित कि.नं.का जग्गासम्म बन्डा लाग्ने तर सोमा बनेको घर बन्डा नलाग्ने गरी फैसला गरेको देखिन्छ । यस अदालतको संयुक्त इजलासबाट भएको उक्त फैसलाउपर निज प्रतिवादीले उजुरबाजुर गरेको पाइँदैन । यसबाट वादी प्रतिवादीबिच मानो छुट्टिएको भन्‍ने कायम गरिएको मिति २०६९।६।२८, कि.नं. ४६२ को जग्गा प्रतिवादी नारायणहरि फुयाँलको निजी आर्जनको ठहरेको एवम् प्रतिवादी बिमला फुयाँलको नाउँमा दर्ता स्रेस्ता रहेको कि.नं. २६५ र कि.नं. २६८ बाट कित्ताकाट भई हाल कायम कि.नं. ४१६ र ४१७ को जग्गा बन्डा लाग्ने ठहरेको सन्दर्भमा थप विवेचना गरिरहनु परेन । प्रतिवादी नारायणहरि फुयाँलका नाउँमा दर्ता स्रेस्ता रहेका कि.नं. ८७ र निजकै नाउँमा रहेका साबिक कि.नं. ८५ बाट कित्ताकाट भई बनेका नयाँ कित्ताहरू एवम् अर्का प्रतिवादी बिमला फुयाँलका नाउँमा दर्ता स्रेस्ता रहेका साबिक कि.नं. २६८ बाट कित्ताकाट भई हाल कायम कि.नं. ४१६ र ४१७ मा बनेको घरबाट बन्डा गरिपाउँ भनी वादीको मूल पुनरावलोकन दाबी रहेको पाइँदा सोहीतर्फ विचार गर्नुपर्ने देखिन आयो ।

४. यसमा, मिति २०५३।३।११ मा अंश मुद्दामा मिलापत्र गरी अंश छुट्टयाई लिएपछि ठुलो बुबा गणेशबहादुर फुयाँल तथा काका दिलबहादुर फुयाँल र हरिबहादुर फुयाँलले र.नं. १४८४ बाट मिति २०५३।६।२० मा प्रतिवादी नारायण हरि फुयाँललाई हालैदेखिको बकसपत्रको लिखत पारित गरिदिएको देखिन्छ । उक्त कि.नं. ८५ र ८७मध्ये कि.नं. ८५ को जग्गा मिति २०६६।८।९ मा प्लट मिलानका लागि राजीनामा गरी तुलाबहादुर बडालका नाममा गएको र प्लट मिलान गरी सो कित्ता नं. ८५ बाट कित्ताकाट भई कि.नं. ८८ (क्षेत्रफल ०-२-२-०), कि.नं. २३१ (क्षेत्रफल ०-९-३-१), कि.नं. २३४ (क्षेत्रफल ०-०-१-०) र कि.नं. २३६ (क्षेत्रफल ०-८-२-३) कायम भई प्रतिवादी नारायण हरि फुयाँलको नाउँमा राजीनामाबाट पुनः प्राप्त भएको देखिन्छ । यसरी प्रतिवादी नारायण हरि फुयाँलको नाउँमा दर्ता स्रेस्ता कायम रहेका उक्त कि.नं. ८७ को क्षेत्रफल ०-२-२-० तथा साबिक कि.नं. ८५ बाट कित्ताकाट भई हाल कायम भएको कि.नं. ८८, २३१, २३४ र २३६ को जग्गाको मूल स्रोत निजको ठुलो बुबा तथा काकाहरूले गरिदिएको बकसपत्र देखियो । साबिक मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. मा “कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्न वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउने” भन्‍ने कानूनी व्यवस्था रहेको पाइन्छ । उल्लिखित कानूनी प्रावधानअनुसार प्रतिवादी नारायण हरि फुयाँलले ठुलोबुबा तथा काकाहरूलाई रिझाएबापत अंशबन्डापश्‍चात् अघिल्लो पुस्ताबाट बकसपत्रमार्फत पाएको सम्पत्ति निजी सम्पत्ति रहेकोले समान पुस्ताका समान हैसियतका दाजुभाइलाई बन्डा लाग्ने भन्‍ने देखिन आएन । तसर्थ, साबिक कि.नं. ८५ बाट कित्ताकाट भई हाल कायम भएको कि.नं. ८८, २३१, २३४ र २३६ एवम् कि.नं. ८७ का जग्गाहरू प्रतिवादी नारायणहरि फुयाँलको निजी सम्पत्तिको रूपमा रहेको देखिएकोले सुरू काठमाडौं जिल्ला अदालतले उक्त जग्गासमेत बन्डा लाग्ने गरी गरेको फैसला सदर ठहर्‍याएको उच्च अदालत पाटनबाट भएको फैसला सो हदसम्म उल्टी गरेको यस अदालतको संयुक्त इजलासको फैसला अन्यथा देखिन आएन । 

५. साथै, वादीले अर्का प्रतिवादी बिमला फुयाँलको नाउँमा दर्ता स्रेस्ता रहेको कि.नं. ४१६ र ४१७ मा बनेको घरसमेतमा बन्डा लाग्नुपर्ने जिकिर लिई पुनरावलोकनको निवेदन दायर गरेकोमा सोतर्फ हेर्दा, प्रतिवादी बिमला फुयाँलले सबिक कि.नं. २६८ हाल कि.नं. ४१६ र ४१७ को क्षेत्रफल १-०-०-० जग्गामा घर निर्माणका लागि नक्सा पास गरिपाउँ भनी मूलपानी गाउँ विकास समितिमा आवेदन दिएकोमा घर निर्माण गर्न स्वीकृति दिएको भनी उक्त गाउँ विकास समितिको मिति २०६२।१।६ को पत्रबाट देखिन्छ । उक्त जग्गामा रहेको घर आफूले पाएको दाइजो पेवाबाट बनाएको हो भनी निजले प्रतिउत्तरपत्रमा उल्लेख गरेको पाइन्छ । त्यसैगरी यस अदालतबाट वादी कलावती चमार र प्रतिवादी रामराजा चमारसमेत भएका अंश मुद्दामा “सम्पत्ति आर्जनमा सगोलका परिवार सदस्य सबैको श्रम र सिप परेको छ भने त्यसमा कसैको पनि हक नमरोस् र कुनै एक व्यक्तिको मात्र निजी ज्ञान, सिप, श्रम परेको छ भने त्यसमा अरूलाई भाग बन्डा गर्न कर नलागोस् भन्‍ने विधिकर्ताको मनसाय अंशबन्डाको १८ नं. बाट परिलक्षित हुने” भनी (ने.का.प. २०६९, अङ्क ३, नि.नं. ८७८७) मा सिद्धान्तसमेत प्रतिपादित भएको पाइन्छ । प्रतिवादी बिमला फुयाँलले उक्त साबिक कि.नं. २६८ बाट कित्ताकाट भई कायम भएको कि.नं. ४१६ र ४१७ मा बनेको एक तल्ला घरमा तल्ला थप्ने कार्य सुरू गर्न लाग्दा वादी चेतबहादुर फुयाँलले अदालतमा मुद्दा विचाराधीन रहेकोले अन्तिम किनारा नलागेसम्म हाललाई घर निर्माण कार्य रोकी पाउँ भनी काठमाडौं जिल्ला अदालतमा मिति २०७१।८।२१ मा निवेदन दिएको देखिन्छ । सो निवेदनमा “उल्लिखित कि.नं.का जग्गामा घर निर्माण भएमा पनि निवेदकको हकहितमा प्रतिकूल असर नपर्ने र मुद्दा फैसला हुँदा ठहरेबमोजिम हुने नै हुँदा निवेदकको मागबमोजिम हाल केही गरिरहनु परेन” भनी काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।९।४ मा आदेश भएको अवस्था छ । सो घर निर्माण भइराखेको र तला थपको सम्बन्धमा स्वयम्‌ वादीले नै सुरू काठमाडौं जिल्ला अदालतमा रोक्का निवेदन दिएको देखिन्छ । यसरी जुन घर निर्माण नै रोकी पाउँ भन्‍ने निवेदन दिएको वादीले उक्त घर निर्माणमा योगदान गरेका होलान् भनी सामान्य अनुमानसमेत गर्न मिल्ने देखिँदैन । घर निर्माण भएको जग्गा सगोलको भए तापनि उक्त निर्मित घरमा सगोलको लगानी नभई कुनै अंशियारको निजी तवरबाट लगानी भएमा अन्य अंशियारको बन्डा लाग्ने होइन । प्रस्तुत मुद्दामा पनि मिसिल संलग्न प्रमाणहरूबाट विवादित कि.नं. ४१६ र ४१७ को जग्गामा निर्मित घरमा वादी चेतबहादुर फुयालको कत्ति पनि लगानी भएको नदेखिँदा प्रस्तुत मुद्दामा पुनरावलोकनको अनुमति दिँदा आधार लिएको ने.का.प. २०७९, अङ्क ११, नि.नं. १०९७४ को नजिर आकर्षित हुने देखिएन । अतः साबिक कि.नं. २६८ बाट कित्ताकाट भई कायम भएको कि.नं. ४१६ र ४१७ मा बनेको घरसमेत बन्डा लाग्ने गरी सुरू काठमाडौं जिल्ला अदालतले गरेको फैसला सदर ठहर्‍याएको उच्च अदालत पाटनको फैसला सो हदसम्म उल्टी गरी सो जग्गामा बनेको घर बन्डा गर्न नमिल्ने एवम् सो घर र घरले चर्चेको जग्गासमेत प्रतिवादी बिमला फुयाँलले पाउने अंश भागमा मिलाउनुपर्ने भनी यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मिलेकै देखिन आयो ।

६. वादीले पुनरावलोकन गर्दा, कि.नं. ८५ र ८७ का जग्गाको जग्गाधनी देवेन्द्र पुरूष ढकाल देखिएको र किसानको महलमा शिवकुमारी खत्रिनीको नाउँ रहेकोमा निज शिवकुमारी खत्रीनी सो जग्गाको किसान हो भनी बुबा चोकबहादुर फुयाँल साक्षी बसेको देखिँदा उक्त जग्गामा आफ्नोसमेत अंशहक लाग्ने भनी जिकिर लिएको पाइन्छ । उल्लिखित जग्गाको जग्गाधनी एवम् किसान प्रतिवादीको ठुलोबुबा र काकाहरूबाहेकका व्यक्ति हुँदैमा सो जग्गामा यी वादीको अंशहक के कुन कानूनी प्रावधानका आधारमा कायम हुन आउँछ भन्‍ने कहीँकतै खुलाउन सकेको देखिँदैन । त्यसैगरी वादी ताराबहादुर थापा र प्रतिवादी मनु थापा भएको ०६९-CI-०३०८ नं.को अंश मुद्दामा यस अदालतको संयुक्त इजलासबाट फैसला हुँदा अवलम्बन गरिएको निर्णय बिन्दु (speaking order) र म निवेदक चेतबहादुर फुयाँल वादी र प्रतिवादी बिमला फुयाँलसमेत रहेका प्रस्तुत ०७४-CI-०८३० नं.को अंश चलन मुद्दामा यस अदालतको संयुक्त इजलासबाट फैसला हुँदा अवलम्बन गरिएको निर्णय बिन्दु (speaking order) बाझिएको देखिँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(ख)समेतको कानूनी प्रावधानको रोहमा प्रस्तुत मुद्दा पूर्ण इजलासबाट पुनरावलोकन गरिपाउँ भन्‍नेसमेत जिकिर लिएको पाइन्छ । उल्लिखित ०६९-CI-०३०८ नं.को अंश मुद्दामा “विवादित कि.नं. १८१ को जग्गामा घर निर्माण भइरहँदा वादी ताराबहादुर थापाले सो घर रोक्ने हेतुले कहीँकतै उजुरबाजुर गरेको पाइँदैन । प्रतिवादी मनु थापाले कि.नं. १८१ को जग्गा बकसपत्रबाट प्राप्त गरेको निजी आर्जनको सम्पत्ति हो भनी दाबी लिए तापनि सोको पुष्टि प्रयोजनार्थ प्रतीतलायक प्रमाण पेस गर्न सकेको पाइँदैन । त्यसैगरी निजले उक्त विवादित जग्गामा बनेको सो घर आफ्नो निजी आर्जनबाट निर्माण गरेको भनी देखिने कुनै भरपर्दो प्रमाण पेस गर्न नसकेको तथ्य एवम् प्रमाणबाट उक्त कि.नं. १८१ को जग्गा र सो जग्गामा रहेको घरसमेतबाट वादी ताराबहादुर थापाले अंश पाउने” ठहर भई फैसला भएको देखिन्छ । जबकि यी चेतबहादुर फुयाँल वादी रहेका प्रस्तुत ०७४-CI-०८३० नं.को अंश चलन मुद्दामा “प्रतिवादी बिमला फुयाँलले विवादित कि.नं. ४१६ र ४१७ को जग्गा वादी/प्रतिवादीको आमा/सासू विष्णुकुमारी फुयाँलबाट बकसपत्र प्राप्त गरेको देखिएकोमा निज आमा/सासूले आफ्नो हक लाग्नेजति सम्पत्ति मात्र बकस दिन मिल्नेमा सम्पूर्ण सम्पत्ति नै बकस दिएको पाइएकोले यी वादीको हकसम्म बदर भई उक्त जग्गाबाट ४ भागको १ भाग वादीले अंशबापत पाउने एवम् सो कित्ताहरूमा घर निर्माण भइरहेको अवस्थामा वादी चेतबहादुर फुयाँलले सो घर निर्माण रोक्ने उद्देश्यले सुरू काठमाडौं जिल्ला अदालतमा निवेदन दिएको पाइँदा उक्त घर निर्माणमा निज वादीको सहयोग नदेखिएको एवम् प्रतिवादी बिमला फुयाँलले सो घर आफ्नो दाइजो पेवाबाट भएको पैसाले निर्माण गरिएको हो भनी प्रतिउत्तरपत्रमा खुलाई लेखाइदिएको समेतबाट सो जग्गामा बनेको घर बन्डा नलाग्ने निजी सम्पत्ति रहेको देखिँदा सो जग्गामा बनेको घर बन्डा गर्न नमिल्ने भई सो घर र घरले चर्चेको जग्गासमेत प्रतिवादी बिमला फुयाँलले पाउने अंश भागमा मिलाउने” ठहरी फैसला भएको अवस्था छ । यसरी उल्लिखित दुई मुद्दाहरूमा भएका फरक फरक तथ्य, विषयवस्तु एवम् प्रमाणसमेतका आधारमा यस अदालतको संयुक्त इजलासबाट फरक फरक राय कायम हुने गरी फैसला भएको अवस्था छ । यस अदालतबाट कायम गरिने राय एवम् प्रतिपादित हुने सिद्धान्त मुद्दाको तथ्य एवम् विषयवस्तु तथा सम्बद्ध सबुत प्रमाणको स्तरीयतासमेतमा निर्भर हुने गर्दछ । पृथक् पृथक् तथ्य एवम् विषयवस्तु रहेका मुद्दामा पृथक् पृथक् राय, सिद्धान्त एवम् व्याख्या हुनु स्वाभाविक देखिन्छ । फरक फरक तथ्य एवम् विषयवस्तु रहे भएको मुद्दामा कायम गरिएको फरक राय, सिद्धान्त एवम् व्याख्यालाई Ruling बाझिएको भन्‍न मिल्ने होइन । यसबाट वादीले लिएको पुनरावलोकन जिकिर एवम् यस अदालतबाट मिति २०८०।११।१७ मा प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेर्न अनुमति प्रदान गर्दा लिइएका आधार कारणसमेतबाट सहमत हुन सकिएन । 

७. अत: उल्लिखित तथ्य एवम् प्रमाणसमेतबाट सुरू काठमाडौं जिल्ला अदालतले मिति २०७२।७।२३ मा वादी/प्रतिवादीले तायदाती फाँटवारीमा उल्लेख रहेको प्रतिवादी नारायण हरि फुयाँलको नाउँको कि.नं. ४६२ को जग्गाबाहेक वादी प्रतिवादीले तायदाती फाँटवारीमा उल्लेख रहेको जग्गामध्ये दर्ता स्रेस्ता मिले भिडेको जग्गाबाट वादीले ३ भागको १ भाग अंश पाउनेमा सो १ भागमध्येबाट वादीकी पत्‍नी नानुमाया फुयाँलले पाएको अंश बाहेक गरी बाँकी जग्गा वादीले प्रतिवादीबाट अंश पाउने ठहर गरी भएको फैसला सदर हुने ठहर गरी उच्च अदालत पाटनबाट मिति २०७४।०८।०४ मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई हालैको बकसपत्रबाट प्राप्त गरेको प्रतिवादी नारायण हरि फुयाँलको नामको साबिक कि.नं. ८५ बाट कित्ताकाट भई हाल कायम भएको कि.नं. ८८, २३१, २३४, २३६ र कि.नं. ८७ का जग्गाहरू प्रतिवादी नारायण हरि फुयाँलको निजी सम्पत्ति हुँदा सो सम्पत्ति बन्डा नलाग्ने, वादी प्रतिवादीको आमा/सासू विष्णु कुमारी फुयाँललाई हेरविचार गरेबापत बिमला फुयाँलले हालैको बकसपत्रमार्फत प्राप्त गरेको कि.नं. २६५ र कि.नं. २६८ लाई प्लट मिलान गर्दा कायम हुन आएको हालको कि.नं. ४१६ र कि.नं. ४१७ को जग्गाबाट ४ भागको १ भाग वादीले अंश पाउने, प्रतिवादी बिमला फुयाँलले घर निर्माण गर्दा सो घर निर्माणमा प्रत्यर्थी वादीको कुनै योगदान रहेको नदेखिँदा साबिक कि.नं. २६५ र कि.नं. २६८ र हाल कि.नं. २६८ कित्ताकाट भई कायम भएको कि.नं. ४१६ र कि.नं. ४१७ मा बनेको घर बन्डा नलाग्ने साथै वादीले पाउने उपर्युक्तानुसारको अंश भागमध्ये ५ भागको १ भाग सम्पत्ति यी वादीको श्रीमती नानुमाया फुयाँलले आफ्नो अंश भागबापत मिति २०५७।०२।१९ मा नै छुट्याई लिई पाउने ठहर भएको देखिँदा सोहीबमोजिम अंश भाग छुट्याई बाँकी सम्पत्ति मात्र यी वादीले पाउने हुँदा अन्य सम्पत्तिको हकमा उच्च अदालत पाटनको फैसला मिलेको देखिँदा सो हदसम्म सदर हुने ठहर्‍याई यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।६।९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत फैसला यस अदालतको विद्युतीय मुद्दा व्यवस्थापन प्रणालीमा प्रविष्ट गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा हामी सहमत छौं ।

प्र.न्या.प्रकाशमान सिंह राउत

न्या.नृपध्वज निरौला

 

इजलास अधिकृत:- गगनदेव महतो

इति संवत् २०८१ साल कार्तिक २९ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु