शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४७४ - जबरजस्ती करणी

भाग: ६७ साल: २०८२ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल 

माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल

फैसला मिति : २०८१।०३।२६

 

मुद्दाः- जबरजस्ती करणी

 

०७५-CR-१०८२

पुनरावेदक / प्रतिवादी : भाइचा पोडेका छोरा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.१७ ढल्को घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल थुनामा रहेका निर्मल पोडे

 

विरूद्ध

प्रत्यर्थी / वादी : परिवर्तित लैनचौर (प) को जाहेरीले नेपाल सरकार

 

०७५-CR-१५५१

पुनरावेदक / वादी : परिवर्तित लैनचौर (प) को जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : भाइचा पोडेका छोरा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.१७ ढल्को घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल थुनामा रहेका निर्मल पोडे

 

कुनै आपराधिक कार्य गर्नको लागि आपराधिक मनसायबमोजिमको तयारी पूरा गरिसकेपछि त्यस्तो आपराधिक कार्य गर्न चाहने व्यक्तिले आफूले चाहेको निषेधित परिणाम प्राप्‍त गर्नको लागि गरेको कुनै पनि भौतिक कार्य वा आपराधिक कार्यले अपेक्षित परिणाम ल्याउन नसकेको अवस्थामा कुनै कसुरको उद्योगको कसुर कायम हुने । कसुरको उद्योग स्थापित हुनका लागि अभियुक्तले वारदात घटाउने मनसायका साथ सोतर्फ गम्भीर प्रयास गरेको र सो कार्य खतरनाकरूपले पूर्ण अपराधको नजिक पुगेको (dangerous proximity to the end) हुनुपर्ने । जबरजस्ती करणी गर्ने मनसायसाथ तयारीका चरण पार गरी करणी गर्नका लागि पीडितलाई समात्‍ने, लडाउने वा पीडितका भित्री कपडा खोल्ने र पुरूष लिंग महिला योनिमा छुवाउने प्रयास गर्नेसम्मको कार्य भएको तर कुनै कारणले त्यस्तो कार्य सम्पन्न हुन नसकेमा जबरजस्ती करणीको उद्योगको कसुर हुने ।

(प्रकरण नं.४)

 

वादीका तर्फबाट : विद्वान्‌ उपन्याधिवक्ता श्री प्रकाश घिमिरे

प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः

मा. जिल्ला न्यायाधीश श्री दलबहादुर के.सी.

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल

माननीय न्यायाधीश श्री शान्ति सिंह थापा

उच्च अदालत पाटन

 

फैसला

न्या.महेश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार रहेको छ :-

तथ्य खण्ड

मिति २०७४।०२।०७ गते बिहान अ. ०६:३० बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १७ ढल्कोस्थित गणेशमान पुजारीको घरको भुइँ तल्लाको कोठामा पसल गरी बस्ने काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१७ ढल्को घर भएका भाइचा पोडेको छोरा वर्ष ६४ को निर्मल पोडेले जाहेरवाली नाम परिवर्तित लैनचौर (प) को छोरी वर्ष ९ की नाम परिवर्तित लैनचौर (फ) लाई ललाइ फकाइ पैसा दिई खाजा लिन पठाई आफ्नो पसलसँगै रहेको गोदाम रहेको कोठामा लगी पटकपटक आफ्नो लिङ्ग खेलाउन लगाउने, निजको योनि सुमसुमाउने, लिङ्ग योनिमा घुसाई पीडित बालिका वर्ष ९ की नाम परिवर्तित लैनचौर (फ) लाई निज प्रतिवादी निर्मल पोडेले जबरजस्ती करणी गरेको हो भनी देखाइएको चार किल्लासहितको घटनास्थल मुचुल्का ।

काठमाडौं महानगरपालिका वडा नं १७ ढल्कोस्थित प्रतिवादी निर्मल पोडेले सञ्चालन गर्दै आएको किराना पसलमा मेरो छोरी वर्ष ९ की नाम परिवर्तित लैनचौर (फ) एक वर्ष पहिलदेखि सामानहरू किनमेल गर्न जाने गर्थिन्, सोही सिलसिलामा निज प्रतिवादीले मेरो नाबालिका छोरीलाई ललाइ फकाइ पैसा दिई खाजा लिन पठाई आफ्नो पसलसँगै रहेको गोदाम रहेको कोठामा लगी पटकपटक छोरीलाई आफ्नो लिङ्ग खेलाउन लगाउने र निजको योनि सुमसुमाउने कार्य गर्दै आएको र मिति २०७४।२।७ गते अन्दाजि ६:३० बजेको समयमा छोरी निजको पसलमा गएकीमा निज प्रतिवादीले छोरीलाई रू·१०।- (दश) रूपैयाँ दिई खाजा लिन पठाई पीडित छोरीलाई गोदाम कोठामा लगी आफ्नो लुगा खोली छोरीको समेत लुगा खोली आफ्नो लिङ्ग खेलाउन लगाई निज छोरीको योनि सुमसुम्याई योनिमा लिङ्ग घुसाउने प्रयास गरेको तथा आफ्नो हातको औंलाले योनि चलाई घोची जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादी निर्मल पोडेलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७४।०२।०९ गतेको नाम परिवर्तित लैनचौर (प) को जाहेरी दरखास्त ।

परिवर्तित नाम लैनचौर (प) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निर्मल पोडे भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा पक्राउमा परी आएका निज प्रतिवादीलाई यस कार्यालयको सनाखत परेडमा दायाँदेखि बायाँ १ पंक्तिमा उभ्याइएका एउटै हुलिया भएका एकै वर्णका व्यक्तिहरू हेरी देखी पहिचान गरेँ, सो सनाखत परेडको दायाँबाट गन्ती गर्दा तेस्रो स्थानमा र बायाँबाट गन्ति गर्दा तेस्रो स्थानमा उभिएका निर्मल पोडेले अन्तिम पटक मिति २०७४।२।७ गते अं. ७:३० बजे मलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी मेरो शरीरको गोप्य अङ्ग योनि सुम्सुमाई औंला घुसाई (छिराई) जबरजस्ती करणी गरेका हुन् भनी निज जाहेरवाली परिवर्तित नाम लैनचौर (प) र प्रतिवादी निर्मल पोडेको रोहबरमा यो सनाखत कागज लेखी लेखाई सुनी सहीछाप गरिदिएँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम लैनचौर (फ) ले गरेको सनाखत कागज ।

जाहेरवाली परिवर्तित नाम लैनचौर (प) र मेरो घर एउटै टोलमा भएको कारण निज र पीडितलाई पनि चिन्दछु । पीडित विभिन्न प्रकारका सरसामानहरू लिन भनी मेरो पसलमा आएका बखत कहिलेकाहीँ १०/१५ रूपैयाँ दिई गोलमरी (खाजाको परिकार) लिन पठाउने गरेको थिएँ । मिति २०७४।२।७ गते बिहान ७:३० बजेको समयमा निज पीडित दुध लिन मेरो पसलमा आएकोमा निजलाई खाजा लिएर आउन पठाई खाजा ल्याएपश्चात् मेरो पसलभित्रको गोदाम कोठामा चिया पकाई राखेको हुँदा निज पीडित सोही ठाउँमा आएको तथा आफू र निज पीडितले खाजा खाएका थियौं । निजले तत्पश्चात् एक पाकेट दुध लिई आफ्नो घरमा गएकी हुन् । मैले निजलाई ललाइ फकाइ आफ्नो लिङ्ग चलाउन लगाएको र मैले निजको योनि सम्सुमाउने तथा निजको योनिमा लिङ्गसमेत घुसाउने प्रयास लगायतका कुनै क्रियाकलाप गरेको छैन । मैले गर्दै नगरेको अपराधलाई के कसरी सो कुरा मैले गरेको हो भनी निज जाहेरवालीले मेरो नाममा जबरजस्ती करणी गरेको भनी किटानी जाहेरी दिएकी हुन् सो सम्बन्धमा मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी निर्मल पोडेले अधिकारप्राप्‍त अधिकारीसमक्ष गरेको बयान ।

प्रतिवादी निर्मल पोडेलाई विगतदेखि नै चिन्दै आएकी छु । निजको पसलमा गएको अवस्थामा निजले मलाई पैसा दिई खाजा ल्याउन पठाउने र पसलको गोदाममा लिई खाजा खाने तथा मलाई पनि केही दिने गर्दै आएका थिए । निजले मेरो सुसु गर्ने अङ्ग (योनि) सुम्सुमाउने र निजले आफ्नो लिङ्ग मलाई खेलाउन लगाउने गर्दै आएका थिए । मिति २०७४।२।७ गते अं.०६.३० बजेको समयमा म आफ्नो घरदेखि दुध लिन भनी निज प्रतिवादीको पसलमा गएको अवस्थामा निज प्रतिवादीले सदाझैँ आफनो किराना पसलमा बोलाई विभिन्न प्रलोभनमा पारी डर त्राससमेत देखाई आफ्नो लिङ्ग खेलाउन लगाएको र निजले मेरो शरीरको कपडा खोली योनिमा औंलाले चलाई घोचेपश्चात् मेरो योनि दुखेकोले म चिच्चाउन लाग्दा निजले मलाई रू.१०।– दिई फकाएका हुन् । तत्पश्चात् म आफ्नो घरमा जाँदा मेरो योनि दुखेकोले पहिले मलाई डर लागी सो कुरा कसैलाई नभनेकोमा दुख्दै गएकोले सो कुरा मैले जाहेरवाली नाम परिवर्तित लैनचौर (प) लाई मिति २०७४।२।९ गते बताएकी हुँ । निज प्रतिवादीले मलाई विभिन्न प्रलोभनमा पारी आफ्नो पसल गोदाममा लिई जबरजस्ती करणी गरेका हुन् । निज प्रतिवादीलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरी क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम लैनचौर (फ) ले लेखाइदिएको घटनाविवरण कागज ।

जाहेरवालीले भनेपश्चात् वारदात सम्बन्धमा थाहा पाएकी हुँ । जाहेरवालीले प्रहरीमा उजुरी गरेपश्चात् प्रतिवादीलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी अपराध मुद्दा चलाई निजउपर अनुसन्धान भइरहेको भन्नेसमेत थाहा पाएकी हुँ । निज प्रतिवादी टोल छिमेकमा रहँदा बस्दासमेत निजको बारेमा मैले पहिलेदेखि नै नराम्रो कुरा सुन्दै आएको थिएँ । निज प्रतिवादीले उल्लिखित कार्य गरेकोमा मलाई पूर्ण विश्वास लाग्छ । निज प्रतिवादीलाई कानूनबमोजिम हदैसम्मको कारबाही होस् भन्नेसमेत बेहोराको निस्ना पुजारीले गरेको घटना विवरण कागज ।

मिति २०७४।२।७ गते अं.६:३० बजेको समयमा नाम परिवर्तित लैनचौर (फ) लाई प्रतिवादी निर्मल पोडेले विभिन्न बहाना प्रपञ्च मिलाई ललाइ फकाइ प्रलोभनमा पारी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१७ ढल्कोस्थित आफ्नै पसल गोदाममा लगी परिवर्तित नाम लैनचौर (फ) ले नमान्दा नमान्दै निज नाबालिकालाई आफ्नो लिङ्ग खेलाउन लगाई निज प्रतिवादीले पीडितको कपडा खोली योनि चलाई उत्तेजित लिङ्ग जबरजस्ती निजको योनिमा घुसाउनेसमेतको कार्य गरी जबरजस्ती करणी गरेको वारदात स्थापित हुन आएकोले निज प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३(१) नं. को कसुर भएकोले निज प्रतिवादी निर्मल पोडेलाई ऐ. महलको ३(१) नं.बमोजिम सजाय गरी ऐ. को १० नं. र १०ग नं.बमोजिम उचित क्षतिपूर्ति भराइपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।

जाहेरवालीको घर मेरै टोलमा भएकाले निज र निजको छोरीलाई पहिलेदेखि नै चिन्दछु । निजकी छोरी पहिलेदेखि मेरो किराना पसलमा सामान किन्न आउने गर्दथिन् । मैले निजलाई अर्को पसलमा गोलमरी भन्ने खाने कुरा किन्न पठाउने र आधा मेरो छोरीलाई र आधा जाहेरवालीकी छोरीलाई दिने गरेको थिएँ । जाहेरवालीकी छोरीलाई मैले आफ्नै छोरी जस्तो व्यवहार गर्ने गरेको थिएँ । मैले नराम्रो कुनै कुरा गरेको छैन । मिति २०७४।०२।०७ गतेका दिन पनि बिहान साढे छ बजेतिर निज मेरो पसलमा आएपछि गोलमरी किन्न पठाएको हो । निजले गोलमरी किनेर ल्याएपछि आधा उसैलाई दिएर पठाएको हो । मैले जाहेरी दरखास्तमा भने जस्तो निजलाई कपडा खोल्न लगाई मेरो पिसाब फेर्ने उसलाई खेलाउन लगाएको, उसको पिसाब फेर्ने ठाउँमा मेरो पिसाब फेर्ने अङ्ग लगेर दलेको, पसाएको भनेर लेखिएको बेहोरा सबै झुट्ठा हो । जाहेरवाली पीडितकी आमा पसलमा ग्याँस लिन आउँने गर्दथिन् । ग्याँसको सटेज भएको बेलामा ग्याँस नदिएको भनी मसँग भनाभनसमेत भएको रिसइवीले मलाई फसाउनको लागि आफ्नो छोरीलाई यस्तो गरेको भनी झुट्ठा आरोप लगाएको हो भन्नेसमेत बेहोराको प्रतिवादी निर्मल पोडेले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादीले मौकामा अनुसन्धान अधिकारीसमक्ष र यस अदालतमा बयान गर्दा इन्कार रहे तापनि पीडित नाबालक परिवर्तित नाम लैनचौर (फ) सँग चिनजान रहेको र मिति २०७४।०२।०७ मा निज पीडितलाई गोलमरी किन्न पठाएको तथ्यलाई स्वीकारी बयान गरेको देखिन्छ । यी प्रतिवादीले मेरो वर्ष ९ की छोरी पीडित परिवर्तित नाम लैनचौर (फ)लाई जबरजस्ती करणी गरेको हुँदा कारबाही गरिपाउँ भनी यी प्रतिवादीउपर मिति २०७४।०२।०९ मा दिएको किटानी जाहेरी दरखास्त, प्रतिवादीले आफूलाई निजको किराना पसलमा बोलाई विभिन्न प्रलोभनमा पारी डर त्रासमा पारी प्रतिवादीको लिङ्ग खेलाउन लगाएको र आफ्नो शरीरको कपडा खोल्न लगाई योनिमा औंलाले चलाई घोचेको भनी पीडितले मौकामा गरेको कागज एवम् प्रतिवादीलाई पीडितले चिनी गरेको सनाखत कागज, घटनास्थल मुचुल्का, मौकामा बुझिएका व्यक्तिले लेखाएको बेहोरासमेतका तत्काल प्राप्‍त प्रमाणबाट यी प्रतिवादी अहिले नै निर्दोष रहेछन् भनी मान्न मिल्ने अवस्था नदेखिँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल यी प्रतिवादी निर्मल पोडेलाई मुलुकी ऐन, अ.बं.११८ को देहाय २ नं.बमोजिम थुनामा राख्न अ.वं १२१ नं.बमोजिम थुनुवा पुर्जी दिई पुर्पक्षका लागि सम्बन्धित कारागार कार्यालयमा थुनामा राख्न पठाइदिनु भनी मिति २०७४।०३।०४ मा सुरू अदालतबाट भएको थुनछेक आदेश । 

मैले विगत आठ वर्षदेखि प्रतिवादीलाई चिन्दछु । हामी ढल्कोमा एउटै घरमा दुईपट्टि सटर सञ्चालन गर्दछौँ । दैनिक बिहान छ बजेदेखि पसल खोली काम गर्न बस्दछौँ । निर्मल पोडे र उहाँको छोरी आई पसल खोल्ने गर्नुहुन्छ । उक्त घटना भएको भनिएको समयमा यी प्रतिवादी र म सँगै चिया खाँदै पत्रिका पढ्दै थियौँ, हुँदै नभएको घटना भयो भनी उहाँलाई आरोप मात्र लगाइएको हो । यी प्रतिवादीले जबरजस्ती करणी जस्तो अपराध गरेका छैनन् । उनले प्रस्तुत मुद्दाबाट सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी सन्तोषकुमार खड्काले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीलाई मैले ६/७ वर्ष अगाडिदेखि चिन्दछु । उहाँको चालचलन आनीबानी राम्रो छ । उहाँले जबरजस्ती करणी जस्तो कार्य गर्नुभएको छैन । निजले प्रस्तुत मुद्दाबाट सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी आरती राई पुजारीले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी निर्मल पोडे मेरो बुबा भएकोले म राम्रोसँग चिन्दछु, उहाँलाई झुट्ठा मुद्दा लगाइएको हो । बुबा र म मिलेर पसल सञ्चालन गर्दछौँ । घटना भएको भनिएको दिन बिहान ६:०० बजेतिर पीडित भनिएको बालिका हाम्रो पसलमा दुध किन्न आएकी थिइन् । मैले उसलाई पैसा दिएर गोलमरी किन्न पठाएकोमा आएपछि आधा मैले राखेँ र आधा त्यो नानीलाई दिएँ । उनी गोलमरी र दुध लिएर घर फर्किएकी हुन् । हाम्रो पसलमा भएको गोदाममा मुस्किलले मात्र पस्न सकिन्छ । घटना गोदामभित्र भएको भनिएकोमा त्यहाँ जबरजस्ती करणीको घटना हुन सम्भवै छैन । ग्याँस सटेजको समयमा हामीले ग्याँस नदिएको भनी जाहेरवाली हामीसँग रिसाएकी हुनाले बुबालाई मुद्दा हालेको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी निरू पुजारीले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७४।०२।११ मा मैले गरिदिएको कागज बेहोरामा भएको सहीछाप मेरो हो । प्रतिवादी निर्मल पोडेले मलाई रू.१० दिई चकलेट किनी खाउ भनी मेरो पिसाब फेर्नेमा चलाएका थिए । मलाई दुखेको थियो । मैले कसैलाई भनेको थिइनँ भन्नेसमेत बेहोराको पीडित नाम परिवर्तित लैनचौर (फ) ले सुरू अदालतमा गरेको बकपत्र ।

उक्त मितिमा मैले दिएको जाहेरी बेहोरा ठिक साँचो हो । त्यसमा भएको सहीछाप मेरो हो । छोरीलाई सामान किन्न पसलमा जाउ भनी पठाउन खोज्दा छोरी रोइन्, पसल जाँदिन भनिन् । किन जान नमानेको भनी सोध्दा पसलको बुबाले मलाई शरीरमा सबैतिर छुन्छ । अनि मेरो पिसाब गर्नेमा छाम्छ, मेरो कपडा खोलेर मेरो पिसाब फेर्ने ठाउँमा बुबाको पिसाब गर्ने छिराउँछ भनी बताएकी थिइन भन्नेसमेत बेहोराको जाहेरवाला परिवर्तित नाम लैनचौर (प) ले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०७४।०२।२८ मा मैले गरेको घटना विवरण कागजमा भएको सहीछाप र बेहोरा मेरो हो । घटना सम्बन्धमा पीडितले मलाई भनेर थाहा पाएकी हुँ भन्नेसमेत बेहोराको कागज गर्ने निस्ना पुजारीले अदालतमा गरेको बकपत्र ।

मिति २०७४।०२।०९ गते मैले स्वास्थ्य परीक्षण गरिदिएको प्रतिवेदनमा लेखिएको बेहोरा ठिक साँचो हो । त्यसमा भएको सहीछाप मेरो हो । उक्त समयमा मैले पीडितको स्वास्थ्य परीक्षण गर्दा निजको मानसिक अवस्था ठिकै थियो । पीडितले प्रतिवादीले मलाई आफ्नो गोप्य अङ्ग देखाएको र छुन लगाएको तथा मेरो पनि सुरूवाल खोल्न लगाई गोप्य अङ्ग हेरेको भनेकी थिइन् । विगत १ वर्षदेखि यसरी नै यौनहिंसा गरिरहेको थियो भन्ने सुनेँ । कन्याजाली च्यातिएको अवस्था थिएन । Penetration गरेको अवस्थामा च्यातिने तर Sexual Penetration नगरेको समयमा नच्यातिने भएकाले नानीको Case मा Hymen intact छ भन्ने बेहोरासहितको वरिष्ठ चिकित्सक डा. देवी गुरूङले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०७४।०२।०९ गतेको घटनास्थल मुचुल्का कागजमा भएको सहीछाप मेरो हो र त्यसमा भएको बेहोरा ठिक साँचो हो भन्नेसमेत बेहोराको वादीका साक्षी प्र.स.नि. ताराराम वि.क.ले अदालतमा गरेको बकपत्र ।

मिति २०७४।०२।०९ मा मैले गरेको घटनास्थल मुचुल्काको विवरण ठीक हो त्यसमा भएको सहीछाप मेरो आफ्नो हो भन्ने बेहोराको प्र.ज. पदम श्रेष्ठले अदालतमा गरेको बकपत्र ।

मिति २०७४।०२।०९ गतेको घटना विवरण कागजमा भएको सहीछाप मेरो हो । कागजमा लेखिएको बेहोरा मलाई जानकारी छैन । मैले चिनेअनुसार निर्मल पोडे त्यस्तो अपराध गर्ने खालको मानिस होइन भन्नेसमेत बेहोराको बुझिएका गणेशमान पुजारीले अदालतमा गरेको बकपत्र ।

घटना विवरण कागजमा लेखिएको बेहोरा ठिक साँचो हो । त्यसमा भएको सहीछाप मेरो आफ्नो हो भन्नेसमेत बेहोराको बुझिएका निशा देउलाले अदालतमा गरेको बकपत्र ।

मिति २०७४।०२।०९ गतेको घटना विवरण कागजमा भएको बेहोरा ठिक साँचो हो । त्यसमा भएको सहीछाप मेरो आफ्नो हो । उक्त घटना भएको भनिएको दिन म ड्युटीमा गएको थिएँ । मलाई फोन आएकोले म घरमा पुग्दा प्रहरी चौकीमा लगिसकेकोले प्रहरी चौकीमा पुगेर नै घटनाको बारेमा जानकारी पाएको हुँ भन्नेसमेत बेहोराको बुझिएका रामबहादुर पोडेले अदालतमा गरेको बकपत्र ।

प्रतिवादी निर्मल पोडेले पीडित लैनचौर (फ) लाई मिति २०७४।२।७ गते बिहान काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १७ ढल्को स्थित प्रतिवादीको पसल गोदाममा लगी जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३(१) नं. विपरीतको कसुर गरेको पुष्टि भएकोले निज प्रतिवादी निर्मल पोडेलाई ऐ. जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम १० वर्ष कैद सजाय हुने ठहर्छ । पीडित परिवर्तित नाम लैनचौर (फ) ले क्षतिपूर्तिबापत ऐ. महलको १० नं. बमोजिम प्रतिवादीबाट रू. ५०,०००।– भरी पाउने ठहर्छ भन्‍ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७४।९।१२ को फैसला ।

वारदात भएको कुरा वारदातस्थल तथा पीडितको शारीरिक परीक्षणबाट समेत पुष्टि हुनुपर्नेमा मनोगत रूपमा मात्र कसुरदार कायम गर्ने गरी भएको फैसला आफैँमा त्रुटिपूर्ण छ । पीडितको स्वास्थ्य परीक्षणबाट कुनै प्रकारको घाउ चोट केही कोतरिएको अवस्था शरीरमा नदेखिएको प्रतिवेदनमा उल्लेख भएको छ । स्वास्थ्य परीक्षण गर्ने डक्टरले सुरू अदालतमा बकपत्र गर्दा पीडितको Hymen Intact रहेको भनी लेखाएको तथा निजको प्रतिवेदनबाट समेत पीडित भनिएकी नाबालिकाको शारीरिक अवस्था, मानसिक अवस्था सामान्य रहेको, कन्याजाली नच्यातिएको, योनिको वरिपरि र शरीरको अन्य भागमा घाउचोट नभएको भनी प्रस्टसँग उल्लेख भएकोमा उक्त प्रतिवेदनसमेतलाई प्रमाणमा नलिई मलाई हदैसम्म सजाय गर्ने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७४।९।१२ को फैसला प्रमाणको मूल्याङ्कन नगरी भएको हुनाले उक्त फैसला बदर गरी म पुनरावेदक प्रतिवादीलाई सफाइ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको निर्मल पोडेको तर्फबाट उच्च अदालत पाटनमा परेको पुनरावेदन ।

यसमा प्रतिवादीले अधिकारप्राप्‍त अधिकारी र अदालतसमक्ष गरेको इन्कारी बयान तथा पीडितको स्वास्थ्य परीक्षणसमेतका आधारमा सुरू फैसला विचारणीय देखिँदा अ.बं. २०२ नं. को प्रयोजनार्थ प्रतिवादीको पुनरावेदनको प्रतिलिपिसमेतको जानकारी उच्च सरकारी वकिल कार्यालय पाटनलाई दिई नियमानुसार गरी पेस गर्नु भन्‍ने उच्च अदालत पाटनको मिति २०७५।१।११ को आदेश ।

मिसिल संलग्न प्रमाणबाट प्रतिवादी निर्मल पोडेले जाहेरवालाको छोरीलाई जबरजस्ती करणीको उद्योगसम्मको कसुर गरेको देखिएबाट प्रतिवादीलाई सुरू काठमाडौं जिल्ला अदालतबाट जबरजस्ती करणीको कसुर गरेको ठहर गरी जबरजस्ती करणीको महलको ३(१) बमोजिम १० वर्षको कैदको सजाय हुने ठहर गरेको फैसला सो हदसम्म बदर हुने ठहर्छ । प्रतिवादीलाई सोही महलको ५ नं.बमोजिम ५ वर्ष कैदसम्म हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनको मिति २०७५।०२।१५ को फैसला ।

जाहेरी दरखास्त श्रुतिजन्य भएको प्रत्यक्षदर्शी नभएको समग्र तथ्यले (Material facts) जाहेरी कसुर प्रमाणित गर्ने आधार हुन सक्दैन । स्वास्थ्य परीक्षणबाट र परीक्षण गर्ने विशेषज्ञको बकपत्रबाट करणीको कुनै लक्षण र करणीको प्रयास शरीरमा नदेखिएको भन्ने स्थापित तथ्यले पीडितको भनाइलाई प्रमाण ऐन, २०३१ को दफा ३ बमोजिम मुद्दामा ठहर गर्नुपर्ने Relevant fact मान्न सकिँदैन । अपराध गर्ने मनसाय लिई सोहीअनुसार धेरै दिनको तयारी योजनापश्चात् आपराधिक कार्यमा उत्रिएको तर कार्य सम्पन्न हुन नपाएको भए मात्र उद्योग हुन्छ । प्रस्तुत मुद्दामा उद्योग स्थापित हुन Mens-rea, Preparation, attempt, Actus-rea जस्ता तत्त्व स्थापति भएपश्चात् पीडित असाध्य रोई कराई चिच्याहट गरी पीडक स्वयम् सिथिल भएको, उक्त हल्लाको आवाजले मौकामै मानिस जमघट भएको कारण करणी हुन नपाएको, तेस्रो पक्षको अप्रत्यासित उपस्थितिले बाधा डालेको, जबरजस्ती करणी हुन नपाएको उद्योग मात्र भएको भन्ने पीडित र जाहेरवालीको कथन रहेको, पीडितको योनिभित्र, बाहिर वा अन्य शरिरमा करणीको चिह्न चोटहरू देखिएको, प्रतिवादी उत्तेजनामा आउँदा वीर्य स्खलन भई पीडितको शरीर र अन्य कहीँकतै छरिएको, स्वास्थ्य परीक्षणले जबरजस्तीको प्रयास देखिएको, जबरजस्ती करणी गर्न खोज्दा असफल भएको सन्दर्भमा प्रतिवादी साबित भएको र पीडित तथा जाहेरवाली वा कसैले घटनाको विषयमा तत्काल मौकामै वा त्यसको अघि वा पछि उजुर गरेको हुनुपर्दछ । प्रस्तुत मुद्दामा प्रतिवादीले पीडितलाई करणी गर्ने मनसाय स्वरूप धेरै लामो तानाबाना बनाएको र करणीको कार्यमा उत्रिएको तर सफल हुन नसकेको भन्ने कुरालाई वादीबाट प्रेषित कुनै पनि प्रमाणले पुष्टि नगर्ने भई प्रतिवादी निर्दोष भएको हुँदा सुरू जिल्ला अदालतको फैसलालाई आंशिक उल्टी गरी ५ वर्ष कैद हुने गरी उच्च अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण भएको हुँदा बदर गरी सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी निर्मल पोडेको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।

जाहेरवालाको किटानी जाहेरीलाई जाहेरवाला तथा पीडिताले सुरू अदालतमा उपस्थित भई बकपत्र गरी पुष्ट्याईं गरिदिएको देखिन्छ । पीडित तथा जाहेरवालाले प्रतिवादीउपर पोल गरी फसाउनुपर्ने अन्य कुनै कारणसमेत देखिँदैन । यस तथ्यलाई समेत समुचित विश्लेषण नगरी सुरू फैसला उल्टी गरी भएको उच्च अदालतको फैसला प्रमाण मूल्याङ्कनको दृष्टिकोणबाट समेत त्रुटिपूर्ण रहेको छ । मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को स्पष्टीकरण खण्ड (घ) मा “गुद्‌द्वार वा मुखमा लिङ्ग पसाएमा वा लिङ्गबाहेक कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने छ” भन्ने व्यवस्था भएको देखिन्छ । पीडितले अदालतमा उपस्थित भएर बकपत्र गर्दा पनि प्रतिवादीले योनि चलाई करणी गरेको तथ्य उजागर गरी लेखाइदिएको देखिन्छ । तर उच्च अदालत पाटनबाट भएको फैसलामा पीडितको भनाईको कुनै स्थानसमेत नदिई पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट जबरजस्ती करणी भएको नदेखिने भनी आधार ग्रहण गरेको देखिन्छ । सम्मानित सर्वोच्च अदालतबाट “जबरजस्ती करणीको वारदातको पहिलो कडी भनेको स्वयम्‌ पीडिता हुने र पीडितालाई प्रत्यक्ष र जीवित प्रमाण मान्नुपर्ने हुन्छ भने पीडितको शारीरिक परीक्षण अर्को कडी मान्नुपर्ने" (ने.का.प. २०६९ अङ्क ८, नि.नं. ८८७८ पृ. १२८) । त्यसै गरी “जबरजस्ती करणी मुद्दामा पीडितको भनाइ नै सर्वाधिक महत्त्वको रहन जाने कुरामा विमति हुन नसक्ने ।” (नेका.प.२०६८ अङ्क २, नि.नं. ८५६४ पृ. ३१६) भन्ने नजिरसमेत प्रतिपादन भइरहेको अवस्थामा उल्लिखित उच्च अदालतको फैसला उल्लिखित नजिरसमेत प्रतिकूल भई त्रुटिपूर्ण देखिएको हुँदा उच्च अदालत पाटनको फैसला बदर गरी सुरू अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दायर भएको पुनरावेदन ।

यसमा उच्च अदालत पाटनबाट मिति २०७५।०२।१५ मा भएको फैसलाउपर वादी नेपाल सरकार र प्रतिवादी निर्मल पोडे दुवैको पनुरावेदन परेकोले मुलुकी अपराध संहिता, २०७४ को दफा १४० (३) को प्रयोजनार्थ दुवै पक्षलाई परस्पर जानकारी गराई पुनरावेदन र आदेशको प्रतिलिपिसहित महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७७।०३।२६ को आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्‍न कागजातहरू अध्‍ययन गरियो ।

पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री प्रकाश घिमिरेले जाहेरवालाको किटानी जाहेरीलाई जाहेरवाला तथा पीडिताले सुरू अदालतमा उपस्थित भई बकपत्र गरी पुष्ट्याईं गरिदिएको देखिन्छ । पीडित तथा जाहेरवालाले प्रतिवादीउपर पोल गरी फसाउनुपर्ने अन्य कुनै कारणसमेत देखिँदैन । मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को स्पष्टीकरण खण्ड (घ) मा “गुद्‌द्वार वा मुखमा लिङ्ग पसाएमा वा लिङ्गबाहेक कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने छ” भन्ने व्यवस्था भएकोमा पीडितले अदालतमा उपस्थित भएर बकपत्र गर्दा प्रतिवादीले योनि चलाई करणी गरेको तथ्य उजागार गरी लेखाइदिएको अवस्थामा उच्च अदालत पाटनबाट पीडितको भनाइलाई अनदेखा गरी भएको फैसला त्रुटिपूर्ण भएको हुँदा बदर गरी यी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम नै सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो । 

साथै प्रतिवादी निर्मल पोडेलाई इजलासबाट पटकपटक पुकारा हुँदासमेत कानून व्यवसायीसमेत उपस्थित भएको पाइएन ।

यसमा प्रतिवादी निर्मल पोडेले परिवर्तित नाम लैनचौर (फ) लाई ललाइ फकाइ प्रलोभनमा पारी आफ्नै पसल गोदाममा लगी निजले नमान्दा नमान्दै आफ्नो लिङ्ग खेलाउन लगाई निज प्रतिवादीले पीडितको कपडा खोली योनि चलाई उत्तेजित लिङ्ग जबरजस्ती निजको योनिमा घुसाउनेसमेतको कार्य गरी जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३(१) नं. को कसुर गरेकोले निज प्रतिवादीलाई ऐ. महलको ३(१) नं.बमोजिम सजाय गरी ऐ. को १० नं. र १०ग नं.बमोजिम उचित क्षतिपूर्ति भराइपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा प्रतिवादी निर्मल पोडेलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम १० वर्ष कैद सजाय हुने तथा ऐ. महलको १० नं. बमोजिम पीडितले प्रतिवादीबाट रू. ५०,०००।– क्षतिपूर्ति भरिपाउने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७४।९।१२ मा भएको फैसलाउपर प्रतिवादीको तर्फबाट उच्च अदालत पाटनमा पुनरावेदन परेकोमा उक्त अदालतले यी प्रतिवादीले जबरजस्ती करणीको उद्योगसम्म गरेको भनी सुरू अदालतको फैसला उल्टी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको ५ नं.बमोजिम यी प्रतिवादीलाई ५ वर्ष कैद हुने ठहर्‍याई मिति २०७५।०२।१५ मा फैसला गरेकोमा उक्त फैसलाउपर वादी तथा प्रतिवादी दुवैको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ आज यस इजलाससमक्ष पेस भएको देखिन्छ । 

उल्लिखित तथ्यगत बेहोरा, पुनरावेदन जिकिर र बहस बुँदा भएको प्रस्तुत मुद्दामा उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ वा छैन ? र वादी तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को स्पष्टीकरण खण्ड (घ) मा “गुद्वार वा मुखमा लिङ्ग पसाएमा वा लिङ्गबाहेक कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिने छ” भन्ने व्यवस्था भएको तथा जाहेरवाला र पीडितले अदालतमा उपस्थित भएर बकपत्र गर्दा प्रतिवादीले पीडितको योनि चलाई करणी गरेको तथ्य लेखाइदिएको अवस्थामा पीडितको भनाइलाई अनदेखा गरी भएको उच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको हुँदा उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको देखियो । साथै स्वास्थ्य परीक्षण र सो परीक्षण गर्ने विशेषज्ञको बकपत्रबाट करणीको कुनै लक्षण र करणीको प्रयास भएको पीडितको शारीरिक परीक्षणबाट नदेखिएको तथा उद्योग स्थापित हुन Mens-rea, Preparation, attempt, Actus-rea जस्ता तत्त्व स्थापितसमेत नभएको अवस्थामा प्रतिवादीलाई जबरजस्ती करणी उद्योगतर्फ सजाय गर्न नमिल्ने हुँदा उच्च अदालतको फैसला बदर गरी अभियोग मागदाबीबाट आफूले सफाइ पाउनुपर्ने भन्ने नै प्रतिवादी निर्मल पोडेको मुख्य पुनरावेदन जिकिर देखियो ।

३. पीडितले मौकामा अनुसन्धान अधिकारीसमक्ष कागज गर्दा प्रतिवादीले आफ्नो योनि सुम्सुमाई निजको लिङ्ग खेलाउन लगाई आफ्नो योनिमा लिङ्ग घुसाउन लागेकोमा भित्र नगएपछि हातले योनि चलाई जोरसँग घोचेकाले दुःखी रोई कराएकोमा निजले १०।– रूपैयाँ दिई कसैलाई नभन्नु भनी फकाएका हुन् भनी लेखाइदिएको देखिन्छ । निजले प्रतिवादीलाई सनाखतसमेत गरिदिएको देखिन्छ । साथै निजले सुरू अदालतमा बकपत्र गर्दा प्रतिवादीले मेरो पिसाब फेर्ने ठाउँ चलाएका थिए, त्यसो गर्दा मलाई दुखेको थियो भनी लेखाएको देखिन्छ । जबरजस्ती करणी मुद्दामा पीडित आफैँ प्रत्यक्षदर्शी प्रमाण हो । यसैले निजको भनाइलाई महत्त्वपूर्ण प्रमाणको रूपमा लिइन्छ । पीडितको स्वास्थ्य परीक्षण गर्ने डा. देवी गुरूङले सुरू अदालतमा उपस्थित भई प्रतिवादीले मलाई आफ्नो गोप्य अङ्ग देखाएको र छुन लगाएको तथा मेरो पनि सुरूवाल खोल्न लगाई गोप्य अङ्ग हेरेको भनी पीडितले भनेकी थिइन् । विगत १ वर्षदेखि यसरी नै यौनहिंसा गरिरहेको थियो भन्ने खुलाएकि थिइन् भनी बकपत्र गरेको देखिन्छ । प्रतिवादी निर्मल पोडेले मलाई रू.१० दिई चकलेट किनी खाउ भनी मेरो पिसाब फेर्नेमा चलाएका थिए । मलाइ दुखेको थियो । मैले कसैलाइ भनेको थिइन भन्नेसमेत बेहोराको पीडित नाम परिवर्तित लैनचौर (फ) ले सुरू अदालतमा बकपत्र गरेको अवस्था छ । जाहेरवाला, पीडित र अनुसन्धानका क्रममा कागज गर्ने व्यक्तिले अनुसन्धानमा भएको कागजलाई समर्थित हुने गरी अदालतमा बकपत्र गरेको अवस्था हुँदा निजहरूको जाहेरी तथा अनुसन्धानका क्रममा भएको कागज र बकपत्र प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाण ग्राह्य रहेको छ । प्रतिवादी आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिए तापनि यी पीडित आफ्नो पसलमा समय समयमा आउने गरेको तथा वारदात भएको दिनमा समेत आएको तथा आफूले निजलाई १० रूपैयाँ दिएर पठाएको भन्ने तथ्यमा स्वीकारोक्ति रही बयान गरेको देखिन्छ । मिसिल संलग्न यी सबै प्रमाणहरूको सादृश्यतामा जबरजस्ती करणीजन्य वारदात घटित भएको कुरा स्थापित रहेको छ । अपितु घटित वारदात वादी नेपाल सरकारले अभियोजन गरेअनुरूप जबरजस्ती करणीको पूर्ण अपराध हो वा सुरू र उच्च अदालतबाट ठहर भएको उद्योगको कसुरसम्म भएको हो भन्ने सम्बन्धमा नै निरूपण गर्नुपर्ने अवस्था देखियो । 

४. अब, प्रस्तुत मुद्दामा जबरजस्ती करणीको पूर्ण अपराध भएको छ वा उद्योगसम्मको कसुर भएको छ भन्ने सम्बन्धमा हेर्दा कुनै पनि कसुरको उद्योग त्यस्तो स्थिति हो, जहाँ आपराधिक परिणामका लागि मनसाय राखी अन्तिम तहसम्मको कार्य भएको हुन्छ तर कुनै कारणले परिणाम प्राप्‍त हुँदैन । फौजदारी विधिशास्त्रबमोजिम कुनै आपराधिक कार्य गर्नको लागि आपराधिक मनसायबमोजिमको तयारी पूरा गरिसकेपछि त्यस्तो आपराधिक कार्य गर्न चाहने व्यक्तिले आफूले चाहेको निषेधित परिणाम प्राप्‍त गर्नको लागि गरेको कुनै पनि भौतिक कार्य वा आपराधिक कार्यले अपेक्षित परिणाम ल्याउन नसकेको अवस्थामा कुनै कसुरको उद्योगको कसुर कायम हुने हुन्छ । कसुरको उद्योग स्थापित हुनका लागि अभियुक्तले वारदात घटाउने मनसायका साथ सोतर्फ गम्भीर प्रयास गरेको र सो कार्य खतरनाकरूपले पूर्ण अपराधको नजिक पुगेको (Dangerous proximity to the end) हुनुपर्छ । यस हिसाबले जबरजस्ती करणी गर्ने मनसायसाथ तयारीका चरण पार गरी करणी गर्नका लागि पीडितलाई समात्‍ने लडाउने वा पीडितका भित्री कपडा खोल्ने र पुरूष लिङ्ग महिला योनिमा छुवाउने प्रयास गर्नेसम्मको कार्य भएको तर कुनै कारणले त्यस्तो कार्य सम्पन्न हुन नसकेमा जबरजस्ती करणीको उद्योगको कसुर हुने देखिन्छ । 

५. प्रस्तुत मुद्दाको तथ्यलाई उल्लिखित जबरजस्ती करणीका लागि आवश्यक तत्त्व र सैद्धान्तिक आलोकमा हेर्दा, स्वास्थ्य परीक्षण प्रतिवेदनबाट जबरजस्ती करणी भएको भन्ने स्पष्ट नखुलेको, स्वास्थ्य परीक्षण गर्ने डा. देवी गुरूङले सुरू अदालतमा बकपत्र गर्दा पीडितले आफूलाई प्रतिवादीले समय समयमा शोषण गरिरहेको भनी उल्लेख गरेको तथा निजको Hymen intact रहेको भनी बकपत्र गरेको तथा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको मिति २०७४।०३।२० को प्रतिवेदनअनुसार प्रतिवादीले प्रयोग गरेको कट्टुको परीक्षणबाट Semen could not be detected भन्ने नदेखिएको समेतका मिसिल संलग्न प्रमाणबाट यी प्रतिवादीले पीडितलाई अभियोग दाबीबमोजिम जबरजस्ती करणीको पूर्ण अपराध गरेको भन्ने पुष्टि हुन आएन । परन्तु, पीडितले सुरू अदालतमा बकपत्र गर्दा प्रतिवादीले मेरो पिसाब फेर्ने ठाउँ चलाएका थिए, त्यसो गर्दा मलाई दुखेको थियो भनी बकपत्र गरेको देखिन्छ । पीडितको आमा जाहेरवालीले मेरो पिसाब गर्नेमा छाम्छ, मेरो कपडा खोलेर मेरो पिसाब फेर्ने ठाउँमा बुबाको पिसाब गर्ने छिराउँछ भनी बताएकी थिईन भनी बकपत्र गरेको पाइन्छ । पीडित र जाहेरवाला आफ्नै सामाजिक प्रतिष्ठा र नारी अस्मितामा आँच आउने गरे प्रतिवादीउपर ग्याँसको सिलिन्डर नपाएको निहुँमा जबरजस्ती करणी गरेको भनी दोषारोपण गर्नु हाम्रो सामाजिक परिवेशमा स्वाभाविक र प्रतीतलायक देखिँदैन । मिसिल संलग्न परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मिति २०७४।०२।०९ को पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन हेर्दा, परीक्षण विवरणमा यी प्रतिवादीले पीडितलाई शोषण गरिरहेको भन्ने उल्लेख भएको र पीडितको स्वास्थ्य परीक्षण गर्ने डा. देवी गुरूङले प्रतिवादीले मलाई आफ्नो गोप्य अङ्ग देखाएको र छुन लगाएको बकपत्र गरेको अवस्था छ । यी सबै प्रमाणहरूको सापेक्षता र वारदातको समग्र प्रकृतिबाट जबरजस्ती करणीको पूर्ण अपराधको वारदात घटित भएको नदेखिए पनि प्रतिवादीले पीडितउपर जबरजस्ती करणीको उद्योगको कसुर गरेको पुष्टि भइरहेको देखियो ।

६. माथिल्ला प्रकरणमा विश्लेषण गरिएअनुसार प्रस्तुत मुद्दामा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको पुष्टि भइरहेको हुँदा निजलाई जबरजस्ती करणीको उद्योगको कसुरमा सजाय गरेको उच्च अदालत पाटनको फैसला अन्यथा नदेखिँदा परिवर्तन गरिरहनुपर्ने देखिएन । यसैले वादी नेपाल सरकार र प्रतिवादी दुवै पक्षको पुनरावेदन र विद्वान्‌ उपन्यायाधिवक्ताको बहससँग सहमत हुन सकिएन ।

७. अतः उल्लिखित आधार, कारणबाट प्रतिवादी निर्मल पोडेले पीडित लैनचौर (फ) लाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३(१) नं. विपरीतको कसुर गरेको पुष्टि भएकोले निज प्रतिवादी निर्मल पोडेलाई ऐ. जबरजस्ती करणीको महलको ३(१) नं. बमोजिम १० वर्ष कैद सजाय हुने तथा पीडित परिवर्तित नाम लैनचौर (फ) ले क्षतिपूर्तिबापत प्रतिवादीबाट रू. ५०,०००।– भरिपाउने ठहर्‍याएको काठमाडौं जिल्ला अदालतको मिति २०७४।९।१२ को फैसला उल्टी गरी यी प्रतिवादी निर्मल पोडेले जाहेरवालाको छोरीलाई जबरजस्ती करणीको उद्योगसम्मको कसुर गरेको देखिएकोले निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ५ नं. बमोजिम ५ वर्ष कैद सजाय हुने ठहर्‍याएको उच्च अदालत पाटनको मिति २०७५।०२।१५ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार तथा प्रतिवादी निर्मल पोडेको पुनरावेदन जिकिर पुग्न सक्दैन । 

८. प्रस्तुत मुद्दाको फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु । 

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृतः ललित सापकोटा

इति संवत् २०८१ साल आषाढ २६ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु