निर्णय नं. ११४७८ - लागु औषध (नुफिनसमेत)
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल
फैसला मिति : २०८०।१२।७
०७९-CR-०३६९
मुद्दा:– लागु औषध (नुफिनसमेत)
पुनरावेदक / प्रतिवादी : सर्लाही जिल्ला, बलरा नगरपालिका, वडा नं. ९ बलुवाभार बस्ने राम पवित्र महतोको छोरा जियालाल महतो
विरूद्ध
प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार
लागु औषधको कारोबार गर्ने वा सेवन गर्ने दुवै व्यक्तिले लागु औषध खरिद गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँसम्म ओसार्नुपर्ने र केही समयका लागि सञ्चयसमेत गर्नुपर्ने हुन्छ । तर त्यो व्यक्ति सेवनकर्ता नभई लागु औषधको कारोबार गर्ने हो भन्नलाई निजले आफूसँग भएको लागु औषध को कसलाई र के कति मूल्यमा बिक्री गर्ने रहेछ भन्ने कुरा वादीले खुलाउनुपर्ने । अझ आरोपित व्यक्ति सेवनकर्ता हो कि, कारोबार गर्ने हो भन्ने कुरा लागु औषधको किसिम, सोको मात्रा र समूहलगायतका तथ्यहरूले निर्धारण हुने ।
(प्रकरण नं.३)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री उद्धवप्रसाद चौलागाई र श्री चन्द्रकला रेग्मी
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी
अवलम्बित नजिर :
ने.का.प. २०७१, नि.नं. ९२१७, अङ्क ७
सम्बद्ध कानून :
लागु औषध (नियन्त्रण) ऐन, २०३३
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री अशोककुमार बस्नेत
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री यज्ञराज भट्ट
माननीय न्यायाधीश श्री बासुदेव आचार्य
उच्च अदालत पाटन
फैसला
न्या.सुनिलकुमार पोखरेल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी परेको निवेदनमा अनुमति प्रदान भई यस अदालतसमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, ठहर एवम् तपसिल यसप्रकार रहेको छः-
मुद्दाको संक्षिप्त तथ्य
मिति २०७४।०९।०७ गते अन्दाजी १६:०० बजेको समयमा काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं. १० धौलागिरीस्थित सडक खण्डमा जियालाल महतोलाई शंकास्पद अवस्थामा फेला पारी निजलाई चेक जाँच गर्ने क्रममा निजको साथबाट लागु औषध ३७/३७ एम्पुल नुफिन, फेनारगन र डाइजेल्याब फेला परेको भन्ने बेहोराको बरामदी मुचुल्का ।
मिति २०७४।०९।०७ गते अन्दाजी १६:०० बजेको समयमा काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका, वडा नं. १० धौलागिरीस्थित सडक खण्डमा जियालाल महतोलाई शंकास्पद अवस्थामा फेला पारी निजलाई चेक जाँच गर्ने क्रममा निजको साथबाट लागु औषध ३७/३७ एम्पुल नुफिन, फेनारगन र डाइजेल्याब फेला परेको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको प्रहरी प्रतिवेदन ।
मैले कुनै पनि किसिमको लागु औषध सेवन गर्दिनँ । हाल म वैदेशिक रोजगारीको सिलसिलामा बाहिर जाने भनेको हुनाले आजभन्दा १ महिनाअगाडि वैदेशिक रोजगारीमा बाहिर जाने कुरा गर्दै जाने क्रममा नरेन्द्र झा भन्ने मानिसलाई चिनेको थिएँ । निज नरेन्द्र झासँग चिनजान भएपछि निज नरेन्द्रले नै मलाई विदेश पठाइदिन्छु भनेको हुनाले निजसँग समय समयमा सम्पर्कसमेत भइरहने हुनाले ऐ. ८ गतेको दिन तिम्रो काठमाडौंमा अन्तर्वार्ता छ, तिमी अन्तर्वार्ता दिन जानु र मेरो अलि अलि टिटिको सामान छ, काठमाडौंमा चिज श्रेष्ठलाई दिनु, निज चिज श्रेष्ठले नै तिमीलाई अन्तर्वार्ता गर्ने ठाउँमा पुर्याइदिन्छ भनेका थिए । उक्त टिटिको सामान पुर्याएपछि तिमीलाई मैले अलि अलि मेडिकल खर्च दिन्छु, भनेका थिए र मैले हुन्छ भनेपछि ऐ. ६ गतेको दिन म अन्तर्वार्ता दिन भनी काठमाडौं आउने बेलामा म रौतहट बस्ने हुनाले नरेन्द्र झाले मेरो साथबाट बरामद लागु औषध रौतहटको चपुरस्थित झोलामा लिई आई मलाई दिई गएका थिए । उक्त बरामद लागु औषध चिज श्रेष्ठले काठमाडौं जिल्ला, बलम्बुस्थित लिन आउँछ, उसैलाई दिएर ऊ सँगै अन्तर्वार्ता दिन जानु भनी मलाई बरामद लागु औषध दिई गएका थिए । मैले तिम्रो सम्पर्क नं. चिजलाई दिएको छु, भोलि तिमीलाई फोन गर्छ भनी गएका थिए र निज नरेन्द्र श्रेष्ठले दिएको बरामद लागु औषध भएको झोला लिई आउँदै गर्ने क्रममा ऐ. ७ गतेको दिन नरेन्द्र झाले दिएको झोला दिन भनी काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं. १० धौलागिरीस्थित आइपुग्दा प्रहरीले मलाई फेला पारी चेक जाँच गर्ने क्रममा बरामद लागु औषध फेला पारेपछि प्रहरीले मलाई पक्राउ गरी लिई आएको हो भन्नेसमेत बेहोराको प्रतिवादी जियालाल महतोले मौकामा गरेको बयान ।
आजभन्दा अन्दाजी ९ वर्षअगाडि मैले मेरो आफ्नै नामबाट काठमाडौंबाटै ९८०८८६२५२५ नं.को सिम खरिद गरी प्रयोग गर्दै आएकोमा मेरो उक्त नं.को सिमसहितको मोबाइल आजभन्दा ७ वर्षअगाडि यकिन मिति याद भएन, काठमाडौं जिल्ला, सतुंगलस्थित हराएको थियो । मेरो उक्त नं.को सिम हराएपछि मैले मेरो उक्त सिम बन्दसमेत गरेको थिएन । मेरो उक्त मोबाइलसहितको सिम को-कस्ले भेटाई प्रयोग गर्दै आएको थियो मलाई थाहा भएन । म रोजगारीको सिलसिलमा विगत ५ वर्ष अगाडिदेखि बाहिर बस्दै आएको हुनाले उक्त सिमसमेत बन्द गरेको थिएन । आजभन्दा अन्दाजी २ महिनाअगाडि मात्र म नेपाल आएकोमा यस कार्यालयबाट खबर पाई विस्तृत रूपमा बुझ्दा मिति २०७४।०९।०७ गते अन्दाजी १६:०० बजेको समयमा काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं.१० धौलागिरीस्थित सडक खण्डमा जियालाल महतोको साथबाट लागु औषध ३७/३७ एम्पुल नुफिन, फेनारगन र डाइजेल्याब फेला पारी निजलाई पक्राउ गरेकोमा निज प्रतिवादी जियालाल महतोले बरामद लागु औषध नरेन्द्र झाले दिएको र निजको सम्पर्क नं. ९८०८८६२५२५ हो भनी खुलाई लेखाइदिएकोमा प्रहरीले मलाई सोही बारेमा सोधपुछको लागि बोलाएका रहेछन् । मैले मेरो नामबाट खरिद गरेका उक्त सिम आजभन्दा ७ वर्षअगाडि मोबाइलसहित हराएकोमा उक्त नं.को सिम प्रतिवादी जियालाल महतोलाई बरामद लागु औषध दिने नरेन्द्र झा भन्ने मानिसले प्रयोग गर्दै आएका रहेछन् । निज नरेन्द्र झाले मेरो नामको उक्त सिम के कहाँबाट फेला पारी प्रयोग गर्दै आएको हो, मलाई थाहा भएन । मैले निज प्रतिवादी जियालाल महतो तथा नरेन्द्र झा कोही कसैलाई चिनेको पनि छैन । निजहरूसँग मेरो कुनै पनि किसिमको सम्बन्धसमेत छैन । प्रतिवादी जियालाल महतोले रौतहटतिरबाट लागु औषध लिई आई ओसारपसार गरी काठमाडौंमा ल्याइदिने काम गर्दा रहेछन् भन्ने कुरा हाल आएर मात्र थाहा पाएको हो भन्नेसमेत बेहोराको अर्जुन न्यौपानेको कागज ।
भौतिक सबुत नं. १ मा डाइजेल्याब, सबुत नं. २ मा ब्युप्रिनोफिन र सबुत नं. ३ मा फेनारगन पाइएको छ भन्ने बेहोराको लागु औषध परीक्षण प्रतिवेदन ।
मिति २०७४।०९।०७ गते अन्दाजी १६:०० बजेको समयमा म आफ्नै घरमा थिएँ । उक्त मिति र समयमा काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं. १० धौलागिरीस्थित सडक खण्डमा जियालाल महतोलाई शंकास्पद अवस्थामा फेला पारी निजलाई प्रहरीले चेक जाँच गर्ने क्रममा निजको साथबाट लागु औषध ३७/३७ एम्पुल नुफिन, फेनारगन र डाइजेल्याब फेला परेको हुँदा निजलाई प्रहरीले पक्राउ गरी लगेको हो । निज प्रतिवादी जियालाल महतोले रौतहटतिरबाट लागु औषध लिई आई ओसारपसार गरी काठमाडौंमा ल्याइदिने काम गर्दा रहेछन् भन्ने कुरा मैले आफ्नै घरगाउँमा साथीहरूमार्फत सुनी थाहा पाएको हो भन्नेसमेत बेहोराको सन्दिप थापा, रमेश पुन र निरज शाक्यसमेतले गरेको कागज ।
मिसिल संलग्न हुन आएको बरामदी खानतलासी मुचुल्का, प्रहरी प्रतिवेदन, प्रतिवादीको बयान, बुझिएका मानिसहरू अर्जुन न्यौपाने, सन्दिप थापा, रमेश पुन र निरज शाक्यसमेतले गरेको घटना विवरण कागज, बरामदी लागु औषधको परीक्षण प्रतिवेदनसमेतको आधार प्रमाणहरूबाट मिति २०७४।०९।०७ गते अन्दाजी १६:०० बजेको समयमा काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं. १० धौलागिरीस्थित सडक खण्डमा जियालाल महतोलाई शंकास्पद अवस्थामा फेला पारी निजलाई चेक जाँच गर्ने क्रममा निजको साथबाट लागु औषध ३७/३७ एम्पुल नुफिन, फेनारगन र डाइजेल्याब फेला पारी बरामद गरेको हुँदा निज प्रतिवादी जियालाल महतोले बरामद लागु औषध बेचबिखन गर्ने प्रयोजनार्थ ओसारपसार गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी जियालाल महतोलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ) र (च) अनुसारको कसुर अपराधमा सोही ऐनको दफा १४ को उपदफा १(झ) बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
म काठमाडौंस्थित ब्राइट इन्स्टिच्युटमा कम्प्युटर डिप्लोमा अध्ययन गर्दैछु । मैले विगत केही समय अगाडिदेखि लागु औषध सेवन गर्दै आएको थिएँ । म काठमाडौंबाट घर गएको समयमा हालै चिनजान भएका नरेन्द्र झाले मलाई सेवनको लागि लागु औषध किनी ल्याइदिएपछि मैले किनी मिति २०७४।०९।०७ मा म घरबाट काठमाडौंमा बस चढेर आउने क्रममा चेक जाँचको क्रममा प्रहरीले मेरो साथबाट ३७/३७ एम्पुल नुफिन, फेनारगन र डाइजेल्याब फेला पारी पक्राउ गरेको हो । मैले लागु औषध ओसारपसार बिक्री वितरण गरेको छैन । मैले आफैँ लागु औषध सेवन गर्दै आएको र मेरो साथबाट बरामद लागु औषध मैले सेवनको लागि किनी ल्याएको हुँदा मलाई सेवनमा सम्म कमभन्दा कम सजाय पाउनु पर्छ भन्नेसमेत बेहोराको प्रतिवादी जियालाल महतोले सुरू काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल विशेष अदालत ऐन, २०५९ को दफा (७) (घ) बमोजिम रू.१,२०,०००।- (एक लाख बिस हजार रूपैयाँ) वा सो बराबरको जेथा जमानत वा कानूनबमोजिमको बैंक ग्यारेन्टी दिन ल्याए लिई मुद्दा पुर्पक्षको लागि तारेखमा राख्नु नदिए थुनामा राख्न कारागार कार्यालयमा पठाइदिनू भन्नेसमेत बेहोराको सुरू जिल्ला अदालतबाट मिति २०७४।११।१३ मा भएको आदेश ।
मिति २०७४।०९।०७ को मुचुल्का र प्रतिवेदन बेहोरा ठिक साँचो हो । सोमा भएको सही मेरै हो । प्रतिवादी जियालाल महतोको साथबाट नुफिन ३७ थान, डाइजेपाम ३७ थान र फेनारगन ३७ थान बरामद भएको हो भन्नेसमेत बेहोराको प्रतिवेदक प्रहरी जवान सुरेशबहादुर चन्द र प्रहरी हवल्दार विक्रम लामाले सुरू अदालतमा गरेको बकपत्र।
प्रतिवादी जियालाल महतोले स्वयम् सेवन गर्ने प्रयोजनका लागि लागु औषध लिई आएको हो । बिक्री वितरण गर्न होइन । अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी धर्मेन्द्रकुमार चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी जियालाल महतोले बरामद लागु औषध सेवन गर्न राखेको हो भने पनि मौकामा सेवनको जिकिर नलिएको, सेवन गर्न नै रौतहटबाट ल्याएको भनी विश्वास गर्न सकिने आधार नपाइएको, मिसिल संलग्न प्रमाणबाट रौतहटदेखि काठमाडौं ल्याउँदा पक्राउ परेको देखिँदा वारदातको प्रकृति, लागु औषधको परिमाणसमेतलाई विचार गर्दा प्रतिबन्धित लागु औषध ओसारपसार गरेको पाइयो । अत: प्रतिवादी जियालाल महतोलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(झ) नं.बमोजिम अभियोग दाबीअनुसार २(दुई) वर्ष कैद सजाय र रू.१,००,०००।- (एक लाख रूपैयाँ) जरिवाना हुने ठहर्छ भनी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७५।०३।२० को फैसला ।
म पुनरावेदक प्रतिवादी जियालाल महतोले सुरू अदालतमा गरेको बयानमा सेवनको लागि किनी ल्याएकोसम्म हो भनी सेवनको कसुरमा साबित रही बयान गरेको, बरामद भएको लागु औषधको परिमाणलाई हेर्दा पनि उक्त लागु औषध बिक्री वितरणको निम्ति नभई सेवनको निम्ति बोकेको भन्ने प्रस्ट हुन्छ । यसैगरी मेरो साक्षी धर्मेन्द्रकुमार चौधरीले गरेको बकपत्रमा समेत म लागु औषध सेवनकर्ता मात्र भएको कुरा प्रस्ट भएको हुँदा सेवनतर्फ सजाय गर्नुपर्नेमा लागु औषधको कारोबारीको रूपमा मलाई सजाय गर्ने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी म पुनरावेदकलाई सेवनतर्फ मात्र सजाय गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जियालाल महतोले उच्च अदालत पाटनमा पेस गरेको पुनरावेदन पत्र ।
यसमा प्रतिवादीले अदालतसमक्ष बयान गर्दा लागु औषध सेवन गर्छु भनी बयान गरेको र निजबाट बरामद भएको परिमाणसमेतलाई दृष्टिगत गर्दा प्रतिवादीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(झ) बमोजिम सजाय गर्ने गरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७५।०३।२० को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफल निमित्त मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ उच्च सरकारी वकिल कार्यालय, पाटनलाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत पाटनको मिति २०७६।०५।२४ को आदेश ।
प्रतिवादीको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट निज लागु औषधको सेवनकर्ता नेगेटिभ भन्ने देखिएको र उक्त लागु औषधको परिमाण हेर्दा ३७/३७ एम्पुल रहेको भन्ने देखिँदा उल्लिखित परिमाणको लागु औषध निज प्रतिवादीले सेवनकै लागि बोकेर ल्याएको हो भनी मान्न मिल्ने नदेखिँदा निजले लागु औषधको ओसारपसारसम्बन्धी कसुर गरेको देखियो । यस अवस्थामा सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७५।०३।२० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७६।०७।१९ मा भएको फैसला ।
म निवेदकसँग बरामद भएको लागु औषधमध्ये ३७/३७ एम्पुल नुफिन, फेनारगन र डाइजेल्याब हुन् । जसमध्ये फेनारगनलाई प्रचलित नेपाल कानूनले लागु औषधको परिभाषाभित्र नराखेको नहुँदा उक्त फेनारगनलाई लागु औषध मान्न मिल्दैन । बाँकी रहेका नुफिन र डाइजेल्याब जम्मा ७४ पिस हुन आउँदछ । उल्लिखित परिणामको सो लागु औषध म स्वयम्ले लागु औषधको सेवनको कुलतमा फसी आफैँ सेवन गर्न भनी बोकी हिँडेको अवस्थामा बरामद भएको सो लागु औषधलाई विपक्षी नेपाल सरकारले उक्त मेरो साथबाट बरामद भएको लागु औषध बिक्री वितरणको लागि ओसारपसार वा सञ्चय गरेको कुरालाई शंकारहित तवरले पुष्टि हुने गरी कुनै पनि प्रमाण पेस गरिएको छैन । म निवेदक लागु औषधको नसामा फसेको कारण मेरो अभिभावकले मलाई उक्त दुर्व्यसनबाट छुटाउनको निम्ति मिति २०७३।०५।०२ देखि मिति २०७३।०७।०७ सम्म Si-yaan Rehabilitation Center, हेटौंडामा उपचारको निम्ति राखेको प्रमाण मेरो कानून व्यवसायीमार्फत बहसको क्रममा पेस भएकोमा सो पत्रलाई काठमाडौं जिल्ला अदालत तथा उच्च अदालत पाटनले प्रमाणमा लिएको छैन । प्रमाण ऐन, २०३१ को दफा २१ बमोजिम उक्त पत्र प्रमाणमा लिनुपर्ने प्रस्ट कानूनी व्यवस्था रहेको छ । उक्त पत्र सही हो वा होइन भनी सो पत्रको परीक्षणपश्चात् निर्णयमा पुग्नु अलग विषय हो तर महत्त्वपूर्ण प्रमाणको रूपमा रहेको उक्त पत्रलाई नबुझी मलाई लागु औषध ओसारपसारतर्फ सजाय गरेको फैसला त्रुटिपूर्ण रहेकोले उक्त फैसला बदर गरी म निवेदकलाई लागु औषध सेवनतर्फ न्यून सजाय गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जियालाल महतोको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भनी परेको निवेदन ।
यसमा निवेदक प्रतिवादी जियालाल महतोले अदालतमा बयान गर्दा सेवनका लागि ल्याएको भनी बयान गरेको, बरामदित वस्तु डाइजेल्याब, नुफिन र फेनारगन रहेको र मात्रा पनि कम नै रहेको, सुधार केन्द्रमा बसेको भनी Si-yaan Rehabilation center को पत्रसमेत पेस भएको, बिक्री वितरण ओसारपसार पुष्टि नभएकोमा लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(झ) बमोजिम गरेको सजाय ने.का.प. २०७१ नि.नं. ९२१७, ने.का.प. २०७५ नि.नं. १०००३ तथा मुद्दा नं. ०७१-CR-०७६७ मा “कसुरको दफा मात्र उल्लेख गरेर पुग्दैन सो दफाबमोजिमको काम प्रतिवादीबाट भएको भन्ने कुरा र तत्सम्बन्धी प्रमाण पनि दाबिमा खुल्नु आवश्यक हुने । बरामदित मात्रा थोरै छ, बरामद भएको मात्रालाई पन्छाएर हचुवाको भरमा बरामद थोरै भए पनि कारोबारी नै हुन् भनी भन्न पनि मिल्दैन” भन्ने प्रतिपादित सिद्धान्तसमेतको विपरीत देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (ख) बमोजिम मुद्दा दोहोर्याइ हेर्ने अनुमति प्रदान गरिदिएको छ । नियमानुसार गर्नू भन्नेसमेत बेहोराको मिति २०७९।०४।१८ मा यस अदालतबाट भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा समावेश भई निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न सम्पूर्ण कागजातहरूको अध्ययन गरियो ।
पुनरावेदक प्रतिवादी जियालाल महतोको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री उद्धवप्रसाद चौलागाई र श्री चन्द्रकला रेग्मीले प्रतिवादी जियालाल महतो लागु औषध दुर्व्यसनमा परेको र निजलाई उक्त दुर्व्यसनबाट छुटाउनको निम्ति मिति २०७३।०५।०२ देखि मिति २०७३।०७।०७ सम्म Si-yaan Rehabilitation Center, हेटौंडामा राखिएको प्रस्ट देखिएको साथै निज प्रतिवादीले अदालतमा उपस्थित भई गरेको बयानमा आफू लागु औषधको सेवनकर्ता रहेको र बरामद भएको लागु औषध निजले सेवनको लागि राखेको भन्ने बेहोरा खुलाएको अवस्थामा निजलाई लागु औषध सेवनमा सजाय नगरी ओसारपसारतर्फ सजाय गरेको फैसला त्रुटिपूर्ण रहेकोले उक्त फैसला बदर गरी निजलाई लागु औषध सेवनतर्फ न्यून सजाय गरिपाउँ भनी तर्कपूर्ण बहस प्रस्तुत गर्नुभयो ।
त्यसैगरी, वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका महान्यायाधिवक्ताको कार्यालयका विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीले मौकाको बयानमा प्रतिवादीले आफू सेवनकर्ता रहेको भनी खुलाउन नसकेको, निज प्रतिवादीको स्वास्थ्य परीक्षण रिपोर्टमा लागु औषध सेवन नेगेटिभ देखिएको अवस्थामा निजबाट बरामद भएको लागु औषधको मात्रालाई आधार बनाई सुरू काठमाडौं जिल्ला अदालतले निजलाई लागु औषध ओसारपसारमा सजाय गरेको फैसला सदर गरेको उच्च अदालत पाटनको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भनी गर्नुभएको तर्कपूर्ण बहससेत सुनियो ।
यसमा प्रतिवादी जियालाल महतोको साथबाट मिति २०७४।०९।०७ मा काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं. १० मा चेक जाँचको क्रममा लागु औषध नुफिन, फेनारगन र डाइजेल्याब ३७/३७/३७ एम्पुल गरी जम्मा १११ एम्पुल बरामद भएको र उक्त लागु औषध निजले रौतहट जिल्लाबाट ल्याएको भन्ने देखिन आएकोले निजलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ) र (च) अनुसारको कसुर अपराधमा सोही ऐनको दफा १४ को उपदफा १(झ) बमोजिम सजाय गरिपाउँ भन्ने मुख्य अभियोग दाबी रहेको देखियो । सुरू काठमाडौं जिल्ला अदालतबाट निज प्रतिवादीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(झ) नं.बमोजिम अभियोग दाबीअनुसार २(दुई) वर्ष कैद सजाय र रू.१,००,०००।- (एक लाख रूपैयाँ) जरिवाना हुने ठहर गरी फैसला भएकोमा सोही फैसला सदर हुने ठहर्याई उच्च अदालत पाटनबाट फैसला भएको देखियो । सोही फैसलाउपर चित्त नबुझाई प्रतिवादी जियालाल महतोले आफू लागु औषध सेवनकर्ता मात्र रहेको जिकिर लिई सेवनतर्फ न्यून सजाय गरिपाउँ भन्ने बेहोरा उल्लेख गरी यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भनी दिएको निवेदनमा अनुमति प्रदान भई प्रस्तुत मुद्दा पेस हुन आएको देखियो ।
उपर्युक्त बेहोराको तथ्य र बहस जिकिर रहेको प्रस्तुत मुद्दाको मिसिल संलग्न प्रमाण कागजातहरू अध्ययन गरी हेर्दा उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक प्रतिवादी जियालाल महतोको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ दृष्टिगत गर्दा, प्रतिवादी जियालाल महतोको सँगसाथबाट लागु औषध नुफिन, फेनारगन र डाइजेल्याब ३७/३७/३७ एम्पुल बरामद भएको र उक्त बरामद भएका चिजवस्तु भौतिक सबुत नं. १ मा डाइजेल्याब, सबुत नं. २ मा नुफिन र सबुत नं. ३ मा फेनारगन पाइएको छ भन्ने बेहोराको लागु औषध परीक्षण प्रतिवेदनसमेत रहेको देखिँदा निजको साथबाट लागु औषध बरामद भएको तथ्यमा कुनै विवाद रहेन । प्रतिवादी जियालाल महतोको पुनरावेदन हेर्दा, आफूलाई अभियोग दाबीअनुसारको कसुरदार ठहर गरी सजाय निर्धारण भएको सुरू र उच्च अदालतको फैसला त्रुटिपूर्ण भएकाले उक्त फैसला बदर गरी निज लागु औषध सेवनकर्ता मात्र रहेकोले सेवनतर्फ न्यून सजाय गरिपाउँ भन्ने नै मुख्य पुनरावेदन जिकिर देखियो । अब यी पुनरावेदक प्रतिवादीको सँगसाथबाट बरामद भएको लागु औषध निजले बिक्री वितरण गर्नको लागि ल्याइराखेको हो वा प्रतिवादी आफैँले सेवन गर्नका लागि ल्याइराखेको हो भन्ने नै निरूपण गर्नुपर्ने मुख्य विषय देखियो ।
३. प्रतिवादी जियालाल महतोले अनुसन्धानको क्रममा बयान गर्दा आफूले लागु पदार्थ सेवन गर्ने गरेको छैन भन्ने बेहोरा लेखाएको देखिए तापनि निजले अदालतमा उपस्थित भई गरेको बयानमा निजको साथबाट बरामद भएको लागु औषध निजले सेवनको लागि ल्याएको हो, लागु औषध ओसारपसार र बिक्री वितरण गरेको छैन भन्ने बेहोरा लेखाएको देखिन्छ । लागु औषधको कारोबार गर्ने वा सेवन गर्ने दुवै व्यक्तिले लागु औषध खरिद गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँसम्म ओसार्नुपर्ने र केही समयका लागि सञ्चयसमेत गर्नुपर्ने हुन्छ । तर त्यो व्यक्ति सेवनकर्ता नभई लागु औषधको कारोबार गर्ने हो भन्नलाई निजले आफूसँग भएको लागु औषध को-कसलाई र के कति मूल्यमा बिक्री गर्ने रहेछ भन्ने कुरा वादीले खुलाउनुपर्ने हुन्छ । अझ सेवनकर्ता हो कि कारोबार गर्ने व्यक्ति हो भन्ने कुरा लागु औषधको किसिम, सोको मात्रा र समूहलगायतका तथ्यहरूले निर्धारण गर्ने हो ।
४. प्रस्तुत मुद्दामा अनुसन्धान अधिकारीसमक्ष र अदालतमा भएको प्रतिवादीको फरक फरक बयानहरूको विश्वसनीयताको परीक्षण गर्दा मिसिल संलग्न अन्य प्रमाण र प्रतिवादीउपरको आरोपको पुष्ट्याईं गर्नुपर्ने दायित्वसम्बन्धी कानूनी व्यवस्थाहरू हेर्नुपर्ने देखियो । लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा आफ्नो सँग साथबाट लागु औषध बरामद हुने व्यक्तिले नै आफ्नो निर्दोषिताको प्रमाण पुर्याउनुपर्ने भनी उल्लेख भए तापनि त्यस्तो बरामद लागु औषध सेवनका लागि होइन, बिक्री वितरण वा कारोबारका लागि नै थियो भन्ने दाबी गर्दा प्रतिवादीले त्यस्तो लागु औषध क-कसलाई, के कति मूल्यमा बिक्री गर्ने हो भन्ने कुरा वादी पक्षले प्रमाणित गर्न सकेको देखिँदैन । प्रतिवादीबाट बरामद लागु औषध निजले के कुन उद्देश्यले खरिद गरी सञ्चय गरेको थियो भन्ने कुरा अभियोजन पक्षले यकिन गर्नुपर्छ । प्रस्तुत मुद्दामा वादी पक्षले त्यस्तो दायित्व निर्वाह गर्न सकेको भन्ने मिसिल संलग्न प्रमाणहरूबाट देखिँदैन ।
५. प्रमाण ऐन, २०३१ को दफा २५ मा “फौजदारी मुद्दामा अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादी पक्षको हुन्छ” भन्ने कानूनी व्यवस्था रहेको छ । “फौजदारी अभियोगमा वादी पक्षले प्रतिवादीमाथि लगाएको आरोपलाई शङ्कारहित तवरले प्रमाणित गर्ने भार वादी पक्षमा हुन्छ । अपराध पुष्टि गर्ने क्रममा शङ्काको गुञ्जायस रहनु हुँदैन । शङ्काको स्थिति उत्पन्न भएको अवस्थामा त्यसको फाइदा अभियुक्तमा जाने” भनी यसै अदालतबाट नजिर सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । प्रस्तुत मुद्दाका प्रतिवादीलाई मिति २०७३।०५।०२ देखि मिति २०७३।०७।०७ सम्म Si-yaan Rehabilitation Center, हेटौंडामा लागु औषधको दुर्व्यसनबाट छुटाउनको निम्ति राखिएको भन्ने मिसिल संलग्न सिआन पुनर्स्थापना केन्द्रको मिति २०७३।०७।०७ को पत्रबाट देखिएको अवस्थामा केवल निजले अनुसन्धानको क्रममा लागु औषध सेवन गर्ने नगरेको भन्ने आधार लिई निजलाई लागु औषध ओसारपसार तथा बिक्री वितरणमा सजाय गर्नु न्यायोचित देखिएन ।
६. प्रस्तुत मुद्दामा वादी पक्षले यी पुनरावेदक प्रतिवादी जियालाल महतोको सँगसाथबाट बरामद भएको लागु औषध को-कसलाई के-कति मूल्यमा बिक्री वितरणको लागि ओसारपसार गरेको भन्ने कुरा शङ्कारहित तवरले पुष्टि हुने गरी प्रमाण पेस गरेको नदेखिँदा प्रतिवादीले अदालतमा आफूबाट बरामदी लागु औषध बिक्री वितरण, ओसारपसार गर्ने कार्यका लागि ल्याएको नभई सेवन गर्नका लागि ल्याएको भनी गरेको बयान, प्रतिवादीबाट बरामद भएको लागु औषधको मात्रा, लागु औषधको किसिम र निजलाई दुर्व्यसनबाट छुटाउनको लागि मिति २०७३।०५।०२ देखि मिति २०७३।०७।०७ सम्म Si-yaan Rehabilitation Center, हेटौंडामा राखिएको भन्ने सिआन पुनर्स्थापना केन्द्रको पत्रसमेतका प्रमाणबाट निज प्रतिवादीको पुनरावेदन जिकिर तर्कसम्मत रूपमा पुष्टि भएको पाइयो ।
७. अतः माथि विवेचित आधार कारणसमेतबाट प्रतिवादी जियालाल महतोको साथबाट बरामद भएको लागु औषध नुफिन, फेनारगन र डाइजेल्याब निजले सेवन गर्नका लागि ल्याउँदै गर्दा पक्राउ परेको देखिँदा सो कार्य लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(छ) को कसुर भएकाले निजले उक्त ऐनको दफा ४(च) को कसुर गरेको ठहर्याई ऐ. ऐनको दफा १४(१)(झ) को सजाय हुने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७५।०३।२० मा भएको फैसलालाई सदर गरेको उच्च अदालत पाटनको मिति २०७६।०७।१९ को फैसला केही उल्टी हुने ठहर्छ । प्रतिवादीले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(छ) को कसुर गरेबाट सोही ऐनको दफा १४(१)(ज) अनुसार २(दुई) महिना कैद र रू.२,०००।- (दुई हजार रूपैयाँ) जरिवानासमेत सजाय हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
१. माथि ठहर खण्डमा उल्लेख भएबमोजिम प्रतिवादी जियालाल महतोलाई २(दुई) महिना कैद र रू.२,०००।- (दुई हजार रूपैयाँ) जरिवाना सजाय हुने ठहरेकोले सुरू जिल्ला अदालतको फैसला सदर गरेको उच्च अदालत पाटनको फैसलाबमोजिम कसिएको कैद तथा जरिवानाको लगत संशोधन गरी २ महिना कैद र रू.२,०००।- जरिवाना लगत कसी निम्नानुसार गर्नूः
(क) प्रतिवादी जियालाल महतोलाई २ महिना कैद हुने ठहरेकोमा निजलाई लागेको कैद भुक्तान भइसकेको देखिँदा असुल जनाउनू ।
(ख) प्रतिवादीले सुरू काठमाडौं जिल्ला अदालतमा मिति २०७४।११।१३ मा ध.र.नं. १६१५ मार्फत रू.१,२०,०००।- धरौटी दाखिला गरी तारिखमा रही रूजु हाजिर रहेको देखिँदा यस अदालतबाट ठहर भएको जरिवाना रू.२,०००।- कट्टा गरी बाँकी हुन आउने रकम रू.१,१८,०००।- (एक लाख अठार हजार रूपैयाँ) निज प्रतिवादीले म्यादभित्र फिर्ता माग्न आए नियमानुसार फिर्ता दिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाउनू ।
(ग) प्रतिवादीले उच्च अदालत पाटनमा पुनरावेदन दायर गर्दा मिति २०७६।०३।२० मा ध.र.नं. १४२८ बाट राखेको धरौटी रकम रू. रू.१,९९,०००।- (एक लाख उनान्सय हजार रूपैयाँ) निजले म्यादभित्र फिर्ता माग्न आए नियमानुसार फिर्ता दिनु भनी उच्च अदालत पाटनमा लेखी पठाउनू ।
२. प्रस्तुत फैसलाको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाइदिनू ।
३. सरोकारवालाले फैसलाको नक्कल माग्न आए नियमानुसार दिनू ।
४. प्रस्तुत फैसलाको विद्युतीय प्रति यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.तिलप्रसाद श्रेष्ठ
इजलास अधिकृतः तिर्थ लक्ष्मी महर्जन
इति संवत् २०८० साल चैत्र ७ गते रोज ४ शुभम् ।