शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४८१ - धर्मलोप

भाग: ६७ साल: २०८२ महिना: पौस अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री विनोद शर्मा 

माननीय न्यायाधीश श्री अब्दुल अजीज मुसलमान

माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना

फैसला मिति : २०८१।०२।०३

०७६-DF-००१०

 

मुद्दा :- धर्मलोप

 

पुनरावेदक / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १८ न्याछ्‍योँ गल्ली बलाटोल गाबहालस्थित कार्यालय रहेको न्याछ्‍योँ प्रतिष्ठानका अधिकारप्राप्त व्यक्ति प्रतिष्ठानको सचिव भरतलाल न्याछ्‍यों

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १९ बस्ने पशुपतिमान न्याछ्‍योँको श्रीमती लक्ष्मी न्याछयोँ

 

नेपालमा धार्मिक, सामाजिक तथा परोपकारी कार्यका लागि परापूर्वकालदेखि नै जग्गा जमिनहरू गुठीमा राख्‍ने परम्परा रहेको पाइने । गुठीमा जग्गा जमिन राखी सोको आयस्ताले धार्मिक, सामाजिक कार्यहरू अनवरतरूपमा चिरकालसम्म सञ्‍चालन भई रहोस् भन्ने इच्छा, चाहना सो जग्गा सम्पत्ति गुठी राख्‍ने पुर्खाको रहेको हुने । सोहीअनुरूप धार्मिक कीर्ति विधिवत् रूपले चलाइराख्‍नुपर्ने हक दायित्व गुठी राख्‍नेको वा निजका सन्तान गुठियारको हुने । 

पुर्खाले निश्‍चित धार्मिक प्रयोजनको लागि खडा गरेको निजी गुठी पछिल्ला पुस्ताले धार्मिक गुठी जग्गा रैकरमा परिणत गरी बेचबिखन गरी आफूलाई व्यक्तिगत लाभ पुर्‍याउने जस्ता काम गर्न छुट नपाउने । धर्म संस्कृतिको रक्षा तथा सेवा नै यस्ता गुठीको उद्देश्य हुँदा विगतमा जोसुकैले पनि आफ्नो सम्पत्ति समर्पण गरी आफ्नो हक दाबी छाडी राखेको गुठीका पछिल्ला पुस्ता गुठियारहरू गुठी स्थापनाको सर्त र उद्देश्यविपरीत गुठियारहरूले स्वतन्त्र र स्वच्छन्द प्रकृतिबाट गुठीका जग्गाहरूलाई आफूखुस गर्न नसक्ने । गुठीको उद्देश्यअनुरूप कार्य नभएको वा सञ्चालन नभई धर्मलोप हुन गएको भन्ने गुठी राख्‍नेको सन्तानलाई लाग्न गएको अवस्थामा उजुर गर्ने हकदैया निजलाई रहने । 

(प्रकरण नं.८) 

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री पुर्णमान शाक्य, श्री माधव बाँस्कोटा, श्री महेशकुमार नेपाल र श्री युवराज भण्डारी तथा विद्वान्‌ अधिवक्ताहरू श्री पुरूषोत्तम ढुङ्गाना, श्री राजु शाक्य, श्री जितेन्द्र बज्राचार्य र श्री सुरज अधिकारी 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री चन्द्रकान्त ज्ञवाली, श्री चण्डेश्‍वर श्रेष्ठ, श्री राघवलाल वैद्य तथा विद्वान्‌ अधिवक्ताहरू श्री विमल ज्ञवाली, श्री रत्‍न अवाले, श्री विमला खनाल र श्री दिनेशप्रसाद शर्मा 

अवलम्बित नजिर :

ने.का.प.२०४३, अङ्क ९, नि.नं.२८५६

ने.का.प.२०५२, अङ्क १, नि.नं.५०३७

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

गुठी संस्थान ऐन, २०३३

 

सुरू तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री भिमकुमार ओझा 

ललितपुर जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्यायाधीश श्री राजेन्द्रप्रसाद राजभण्डारी 

मा.न्यायाधीश श्री रामचन्द्र यादव

पुनरावेदन अदालत पाटन

यस अदालतमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही

 

फैसला

न्या.अब्दुल अजीज मुसलमान : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर भई यस अदालत संयुक्त इजलासबाट मिति २०७६।०३।०१ मा भएको फैसलाअनुसार सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम यस पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार रहेको छः

तथ्य खण्ड

साबिक जगत केशर पाध्याको नाउँमा लगत कायम रहेको न्याछ्‍योँ कुलका इष्ट देवता आगमाजु पूजाको लागि राखेको जग्गामध्येको १९५४ सालमा ४६९, १९९० मा ४५ नं. २००० मा ४३ नं. २०२१ सालमा ल.पु.माल दोस्रो मौजे पा वला ३९ नं. हाल ११ नं. भनी जनिएको तिख्यो १०९ को हाल कायम भएको विभिन्‍न जग्गामध्ये ल.पु.उ.म.न.पा. वडा नं. ५(ब) कि.नं. १३० र १३३ को जग्गा जगतकेशर पाध्याको परलोकपछि गुठियारहरू पुष्पबहादुर न्याछ्‍योँ र लक्ष्मी न्याछ्‍योँका पति पशुपतिमान न्याछ्‍योँका नाउँमा संयुक्त दर्ता भएको हामीहरूको निजी गुठीको कि.नं. १३० जग्गा कित्ताकाट भई मोही भाग छुट्‍याई बाँकी कि.नं. ७८६ को क्षे.फ. ३-८-३-२ जग्गामध्येबाट केवल लामालाई क्षे.फ. ०-४-०-० जग्गा दिई अर्को ०-१२-०-० जग्गा बिक्री गरी सोबाट आएको रकम बैंकमा राखी गुठी चलाई आएकोमा उक्त कि.नं. ७८६ को जग्गालाई कित्ताकाट गरी कि.नं. ८०१ र ८०२ कित्ताहरू बाँकी रहेकोमा उक्त जग्गाहरू न्याछ्‍योँ प्रतिष्ठानको नाउँमा नामसारी गरिदिन प्रतिष्ठानका तर्फबाट अनुरोध गर्दा आलटाल गरेकोले मिति २०६२।१२।२१ मा गुठियारको सहमति र मन्जुरीबिना बदनियत तरिकाले आफ्नै छोरीलाई हालैको बकसपत्रको लिखतबाट हक हस्तान्तरण गरिदिएको हुँदा गुठी सञ्‍चालनमा असर परेको र गुठीको मूल स्रोतको रूपमा रहेको अचल सम्पत्ति उक्त जग्गा बिक्री गरेको हुँदा विपक्षीले गरेको उक्त कार्यले गुठीलाई हानि नोक्सानी पुगेको र हामी गुठीयारहरूको हक मेट्ने कार्य गरी धर्मलोप गरेको हुँदा विपक्षीले गरेको उक्त कार्यलाई धर्मलोप ठहर गरी धर्मलोप गरेकोमा विपक्षीलाई सजाय गरी हामीहरूको गुठी अर्थात् न्याछ्‍योँ प्रतिष्ठानबाट निष्कासनसमेत गरी उपर्युक्त जग्गा न्याछ्‍योँ प्रतिष्ठानको हक कायम गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । 

वादी दाबी झुट्ठा हो, धर्मलोप हुने कार्य मैले गरेको छैन । गैरसरकारी संस्थाका रूपमा दर्ता भएको न्याछ्‍योँ प्रतिष्ठान आफैँ व्यक्ति र गुठी होइन । न्याछ्‍योँहरूको उत्थानको लागि खडा गरिएको गैरसरकारी संस्था (NGO) हो । त्यस्तो न्याछ्‍योँ प्रतिष्ठानलाई उजुर गर्ने र फिराद गर्ने हकदैया छैन । मेरा पति पशुपतिमान र पुष्पबहादुर न्याछ्‍योँको नाउँमा संयुक्त दर्ता भएको ल.पु.उ.म.न.पा. वडा नं. ५(ब) कि.नं. १३० को जग्गा जग्गाधनी र मोहीबिच बाँडफाँट गर्दा कायम हुन आएको कि.नं. ७८५ मोहीलाई र कि.नं. ७८६ जग्गाधनीको भाग भई निजी गुठी जनिएको थियो । कि.नं. ७८६ को क्षे.फ. ३-८-३-२ जग्गा हामी दर्तावाला गुठियारहरूको आपसी सल्लाह र निर्णयअनुसार रैकर गर्नको लागि निवेदन दिई मालपोत कार्यालयबाट मिति २०५५।१२।२६ को निर्णय अनुसार म लक्ष्मी न्याछ्‍योँ र पुष्पबहादुर न्याछ्‍योँसमेतका नाउँमा उक्त जग्गा गुठीको नियमित कार्य गर्न कुनै बाधा नपुगोस् गुठी चल्न सकोस् भनी सो जग्गा बराबरको मूल्य तोकी अक्षयकोष खडा गरी नेपाल बैंकमा मुद्दती खाता नं. ६१/४६११ मा रकम जम्मा गरी मिति २०५५।१२।२६ का दिन कि.नं. ७८६ को जग्गा निजी गुठी कट्टा गरी रैकर परिणत गरी सट्टापट्टा गरी लिई कि.नं. ७८६ को जग्गालाई कित्ताकाट गरी कि.नं. ८०० केवलबहादुर लामा र मसमेतको नाउँमा संयुक्त हालैको बकसपत्र गरी कि.नं. ८०१ को जग्गा हामी ज.ध.हरूको निजी बाटो कायम गरी कि.नं. ८०२ मसमेतको नाउँमा संयुक्त दर्ता कायम रहेको मसमेतको निजी जग्गा भई मैले जोसुकैलाई दान दातव्य बिक्री वितरण गर्न पाउने हुँदा मिति २०६२।१२।२१ मा मलाई रिझाएबापत मेरो छोरीलाई हालैको बकसपत्र लिखतबाट हक हस्तान्तरण गरी लिनु दिनु गरेको हो । उक्त कार्यले गुठी धर्मलोप नहुने हुँदा फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिउत्तर जिकिर । 

दर्तावाला यी प्रतिवादी लक्ष्मी न्याछ्‍योँले आफ्नो नाउँमा दर्ता प्रमाणित भएको जग्गा जोसुकैलाई हक हस्तान्तरण गर्न सक्ने नै देखिँदा प्रतिवादीले आफ्नो हक हिस्सासम्म हस्तान्तरण गरेको कार्यबाट धर्मलोप हुन नसक्ने हुँदा धर्मलोप ठहर गरी सजाय गरी गुठीबाट निष्काशनसमेत गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्ने सुरू ललितपुर जिल्ला अदालतको मिति २०६७।३।१५ को फैसला ।

सनातनदेखि चलिआएको आगमाजु देवताको गुठीको जेथामा गुठियारको हक गुठीको सनातनदेखि चली आएबमोजिमको धर्म पूजाआजा चलाई राखी सामूहिक रूपले स्थिति बन्देज अनुसार भोगचलन गर्न पाउनेसम्म मात्र हो । एकलौटी कसैको हक हुने कुरा हुँदैन, मास्न नास्न कसैलाई हक छैन भनी ने.का.प. २०४३ पृष्ठ ९१५ र गुठी राख्‍नेको सन्तानलाई गुठी धर्मलोप भएको खण्डमा धार्मिक कृति विधिवत् रूपले चलाई राख्‍नुपर्ने हक दायित्व रहन्छ । आफ्नो पुर्खाले राखेको गुठी कसैले धर्मलोप गरेमा गुठीको ३, ४ नं. तथा अ.बं. ८२ नं. ले उजुर गर्ने हकदैया निजमा रहने छ भन्ने ने.का.प. २०४० नि.नं.१८०७ मा नजिरसमेत प्रतिपादन भइरहेकोमा सोको बर्खिलाप हुने गरी धर्मलोप गरेको भनी यी वादीलाई दाबी गर्नसम्म पनि अधिकार देखिँदैन भनी भएको सुरू अदालतको फैसलामा गम्भीर कानूनी त्रुटि रहेकोले सो फैसला बदर गरी फिराद दाबीबमोजिम गरिपाउँ भन्ने वादी न्याछ्‍योँ प्रतिष्ठानका सचिव भरतलाल न्याछ्‍योँले पुनरावेदन अदालत पाटनमा पेस गरेको पुनरावेदनपत्र । 

यसमा प्रतिवादी लक्ष्मी न्याछ्‍योँले प्रतिवाद गर्दा विवादित कि.नं. ८०२ को जग्गा पति पशुपतिमान र पुष्पबहादुर न्याछ्‍योँका नाउँमा संयुक्त दर्ताको निजी गुठीको जग्गा हो भनी स्वीकार गर्नुका साथै मालपोत कार्यालयको मिति ०५५।१२।२६ को निर्णयले उक्त जग्गा अक्षयकोष खडा गरी सट्टापट्टाबाट रैकरमा परिणत भएकोले मसमेतको निजी जग्गा भएको हुँदा मेरो हकसम्म जोसुकैलाई हक हस्तान्तरण गर्न पाउने हो भन्‍ने जिकिर लिएको देखिन्छ । अक्षयकोष खडा गर्ने सम्बन्धमा मालपोत कार्यालयमा प्रतिवादीसमेतले दिनुभएको संयुक्त निवेदनमा उक्त निजी गुठी जनिएको कित्ता जग्गाहरू बिक्री गरी आएको रूपैयाँ अक्षयकोषमा जम्मा गरी त्यसबाट आर्जिने ब्याजबाट पूजापाठ चलाउन खाता सञ्‍चालन गर्ने भन्ने बेहोरा उल्लेख भएको देखिनुका साथै विवादित जग्गा रैकर परिणत गर्दा आफूले निजी सम्पत्ति अक्षय कोषमा राखेको भनी प्रतिवादीले स्पष्ट जिकिर लिनसमेत नसकेको स्थितिमा निजी गुठीको जग्गा बिक्री गरी प्राप्त रकम अक्षयकोषमा राखी गुठी सञ्‍चालन गर्ने भन्ने सर्तमा विवादित जग्गा रैकरमा परिणत गरेपछि प्रतिवादीले उक्त जग्गा आफ्नो छोरीलाई रिझबापत बकसपत्र पारित गरिदिएको स्थितिमा धर्मलोप गरेको भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिएकोले छलफलको लागि अ.बं. २०२ नं.बमोजिम प्रत्यर्थीलाई झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६८।५।१३ को आदेश । 

न्याछ्‍योँ निजी गुठीको निर्णय र संयुक्त दर्तावालहरू पुष्पबहादुर न्याछ्‍योँ र लक्ष्मी न्याछ्‍योँको निवेदन अनुसार नै मालपोत कार्यालय ललितपुरबाट सट्टापट्टाको लिखत पारित भई पुष्पबहादुर न्याछ्‍योँ र लक्ष्मी न्याछ्‍योँको नाउँमा संयुक्त रैकर दर्ता भएको र सोबापत नेपाल बैंक लि. ललितपुरमा अक्षयकोषमा रू.६,७५,३९१।- राखी सोको ब्याजबाट उक्त निजी गुठीको पूजाआजा सञ्चालन भइरहेकोमा समेत विवाद देखिँदैन । सट्टापट्टाको पारित लिखतबाट नै उक्त निजी गुठीको जग्गामा हक समाप्‍त भइसकेको मान्‍नुपर्ने हुन्छ । वादीले न्याछ्‍योँ प्रतिष्ठानको सचिवको हैसियतले प्रस्तुत फिराद गरेको देखिन्छ । निजसमेतको उपस्थितिमा न्याछ्‍योँ निजी गुठीको तर्फबाट निर्णय भई सट्टापट्टाको लिखत पारित विवादित जग्गा रैकरमा परिणत भएको देखिन्छ । साथै उक्त जग्गा सम्बन्धमा २०५५।१२।२५ मा नै निर्णय भई कार्यान्वयनसमेत भइसकेको साथै न्याछ्‍योँ प्रतिष्ठान २०५९ मा मात्र स्थापित भएको र सो जग्गामा यस प्रतिष्ठानको हक स्वामित्वसमेत रहे भएको नदेखिएको अवस्थामा प्रस्तुत मुद्दा गर्ने हकदैया नै वादीलाई भएको देखिँदैन । अत: सुरू ललितपुर जिल्ला अदालतबाट हकदैयाको अभावमा वादी दाबी खारेज गर्नुपर्नेमा वादी दाबी नपुग्ने गरी मिति २०६७।३।१५ मा फैसला भए तापनि इन्साफमा तात्त्विक असर पर्ने नदेखिएकोले सो फैसला सदर हुने ठहर्छ भन्‍ने पुनरावेदन अदालत पाटनको मिति २०६९।५।१९ को फैसला । 

गुठीको जग्गा गुठीले कसैसँग सट्टापट्टा गरेको छैन न त त्यो कुरा विपक्षीले उठाएको छ । विपक्षीले समेत नउठाएको कुरा विपक्षीको भनाइलाई भरणपोषण गर्ने गरी अस्तित्वमा नै नभएको मिति २०५५।१२।२६ मा भएको सट्टापट्टा लिखतको कुरा उल्लेख गरी सो कुरालाई अन्यथा भन्‍न नसकेको भन्‍नु ज्यादै अन्यायको कुरा हो । गुठी चलाउन मुस्किल परेकोले केही जग्गा बिक्री गरी आएको रूपैयाँ बैंकमा राखी आगमाजु पूजा सञ्‍चालन गर्ने भन्‍ने गुठीको निर्णयबमोजिम नै नानीबाबु सुनुवारलाई बिक्री गर्ने भई निजबाटै अक्षयकोष खडा गर्न लाग्ने रूपैयाँ लिई अक्षयकोष खडा गरी निजलाई बिक्री गरेको हो । विपक्षीलाई बिक्री गरेको वा सट्टापट्टा गरेको छैन होइन । यस्तो जग्गा विपक्षीको नाममा भएको कारणले मात्र निजको निजी सम्पत्ति हुन सक्दैन । उल्लिखित जग्गा साबिक स्रोत विपक्षीको निजी खरिद वा बकसपत्र नभई गुठियारको हैसियतले निजको नाममा नामसारी मात्र भएको हो । संयुक्त दर्तावालामध्येको एउटाले गुठीको हो भनी खम्बिर रूपमा प्रमाणित गरिरहेको अवस्थामा हुँदै नभएको सट्टापट्टाको कुरा उठाई उक्त जग्गा न्याछ्‍योँ प्रतिष्ठानको हो भनी भन्‍न मिलेन भन्‍ने आधार लिई गरेको फैसला आफैँमा हचुवापूर्ण भएको हुँदा सुरू तथा पुनरावेदन अदालतको फैसला गुठीको ३ र ४ नं.समेतको विपरीत र प्रतिपादित नजिर (नि.नं. २८५६, १८०७) विपरीत भई बदरभागी हुँदा मुद्दा दोहोर्‍याई हेरी उक्त फैसला बदर गरी वादी दाबीबमोजिम गरिपाउँ भन्‍ने न्याछ्‍योँ प्रतिष्ठानको निवेदन । 

यसमा पुनरावेदन अदालत पाटनको मिति २०६९।५।१९ को फैसलामा यसै अदालतको नि.नं. ७८८५ ने.का.प. २०६४ पूर्णाङ्क १० तथा ने.का.प. २०६८ अङ्क २ नि.नं. ८५६३ को मुद्दामा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल भई उक्त फैसलामा गम्भीर त्रुटि भएको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क)(ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । प्रस्तुत मुद्दाको मिसिल झिकाई लगाउको मुद्दाहरूसमेत साथै राखी नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७१।१०।१८ को आदेश । 

दर्तावाल गुठियारमध्येकी लक्ष्मी न्याछ्‍योँले आफ्नै छोरीलाई मिति २०६२।१२।२१ मा र.नं. १८९२(ख) बाट उक्त कि.नं. ८०२ को जग्गा हालैको बकसपत्र दिने कार्य मुलुकी ऐन, गुठीको महलको ३, ४, ६ र १३ नं. विपरीत भई निज प्रतिवादी लक्ष्मी न्याछयोँले धर्मलोप गरेको देखिन आएकोले निजलाई गुठियारबाट निस्कासन हुनेसमेत ठहर्छ । वादी दाबी नपुग्ने ठहराएको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६७।३।१५ को फैसला तथा वादी दाबी खारेज हुने ठहराई इन्साफमा असर नपरेको भनी सुरू फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६९।५।१५ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्नेसमेत बेहोराको माननीय न्यायाधीश श्री सपना प्रधान मल्लको राय ।

प्रस्तुत मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको ललितपुर जिल्ला अदालतको मिति २०६७।३।१५ को फैसलाउपर पुनरावेदन सुनी प्रस्तुत मुद्दामा वादीको फिरादपत्र नै खारेज गर्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६९।५।१९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक/वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन अदालत पाटनको फैसला उल्टी गर्ने सहकर्मी माननीय न्यायाधीश श्री सपना प्रधान मल्लसँग रायमा मतैक्य हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम संयुक्त इजलासतर्फको लगत कट्टा गरी प्रस्तुत मुद्दा निर्णयार्थ पूर्ण इजलाससमक्ष पेस गर्नु भन्‍नेसमेत बेहोराको माननीय न्यायाधीश श्री डम्बरबहादुर शाहीको राय ।

 

ठहर खण्ड

नियमबमोजिम मिति २०८१।०१।२० को पेसीमा चढी उक्त पेसीमा बहस, सुनुवाइ भई हेर्दाहेर्दैमा रही आजको पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेरियो ।

पुनरावेदक/वादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री पुर्णमान शाक्य, श्री माधव बाँस्कोटा, श्री महेशकुमार नेपाल र श्री युवराज भण्डारी तथा विद्वान्‌ अधिवक्ताहरू श्री पुरूषोत्तम ढुङ्गाना, श्री राजु शाक्य, श्री जितेन्द्र बज्राचार्य र श्री सुरज अधिकारीले विवादित जग्गाको स्रोत जगतकेशर पाध्याको नाउको लगत भएको र जगतकेशर पाध्याको नामको लगतबाट आएको कुरामा कुनै विवाद छैन । फिल्डबुकलगायत सम्पूर्ण स्रेस्ताबाट उक्त जग्गा निजी गुठीको हो भन्ने प्रस्ट हुन्छ । न्याछ्‍योँ कुलका इष्टदेवता आगमाजुको पूजा गर्न गुठी राखिएको जग्गा भएको र वादी भरतलाल न्याछयोँसमेत गुठियार रहेको तथ्यलाई प्रतिवादी लक्ष्मी न्याछ्‍योँले अन्यथा भन्‍न नसकेको, आगमाजु गुठिका गुठियारहरू समावेश भएर नै न्याछयोँ प्रतिष्ठान स्थापना भएको र निजी गुठीबाट पूजाआजा गर्न समस्या परेकोले गुठियारहरूको सल्लाह एवं निर्णयबमोजिम निजी गुठीकै जग्गा बिक्री गरी अक्षयकोष राखिएको हो । प्रतिवादीको निजी जग्गा बिक्री गरी अक्षयकोष राखिएको होइन । रैकरमा परिणत गर्ने प्रयोजनका लागि मालपोत कार्यालय ललितपुरमा मिति २०५५।१२।२६ मा दिएको निवेदन बेहोराबाट समेत उक्त जग्गा न्याछ्‍योँहरूको सामूहिक गुठीको सम्पत्ति रहेको पुष्टि हुन्छ । विवादित जग्गामा संयुक्त दर्तावालमध्येका पशुपतिमानको निधन भएको कारण मात्र प्रतिवादी लक्ष्मी न्याछयोँका नाममा संयुक्त नामसारी हुन गएको हो । निजको पैतृक वा निजी सम्पत्तिसरह हक हस्तान्तरण भई आएको होइन । गुठीमा सम्पूर्ण गुठियारहरूको हक हुने हुँदा न्याछयोँ प्रतिष्ठान २०५९ सालमा स्थापना भएको भन्ने प्राविधिक विषय उठाई सारभूत हकमा असर गर्न मिल्दैन । गुठी परम्पराको निरन्तरता र गुठियारहरूको हकहितको संरक्षण गर्न न्याछ्‍योँ प्रतिष्ठान स्थापना भएकाले उक्त संस्थालाई मुद्दा गर्ने हकदैया रहन्छ । संयुक्त दर्तावालमध्येका पुष्पबहादुरले समेत विवादित जग्गा गुठीको जग्गा हो भनी लगाउको कित्ताफोड मुद्दाको प्रतिउत्तरपत्र बेहोरामा लेखेको र मोही छुट्‍याउने कार्य, अक्षयकोष राख्‍ने निर्णय, अक्षयकोष सञ्‍चालन गर्ने व्यक्तिहरूको निर्धारणसमेतका कार्यहरू गुठियारहरूको सामूहिक निर्णयबाट नै भइरहेको अवस्थामा रैकर परिणत भएकै भन्ने आधारमा मात्र विवादित जग्गामा दर्तावालको एकलौटी हक हुन सक्दैन । कि.नं. ८०२ को जग्गा लक्ष्मी न्याछ्‍योँको व्यक्तिगत निजी सम्पत्ति नभई सामूहिक गुठीको सम्पत्ति रहेको र सामूहिक निर्णयबाट अक्षयकोष राखी रैकर परिणत भए पनि निजी तवरको हकहस्तान्तरण नभएबाट उक्त जग्गा आफूखुस गर्न पाउने होइन । प्रतिवादी लक्ष्मी न्याछयोँले आफ्नो हक नै नभएको निजी गुठीको जग्गा आफूखुसी बिक्री वितरण गरी धर्मलोप गरेको मिसिल संलग्न कागज प्रमाणहरूले पुष्टि भएकोले वादी दाबी नपुग्ने ठहराएको सुरू ललितपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी प्रतिवादीले धर्मलोप गरेको ठहर गरी निजलाई गुठियारबाट निष्काशन हुने गरी माननीय न्यायाधीश श्री सपना प्रधान मल्लबाट व्यक्त भएको राय सदर कायम हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो ।

प्रत्यर्थी/प्रतिवादी लक्ष्मी न्याछ्‍योँका तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री चन्द्रकान्त ज्ञवाली तथा विद्वान्‌ अधिवक्ता श्री विमल ज्ञवालीले न्याछयोँ प्रतिष्ठान गुठी नभई २०६० सालमा एन. जि. ओ. को रूपमा दर्ता भएको संस्था हो । २०६० सालमा दर्ता भएको संस्थालाई २०५५ सालमा भएको व्यवहारलाई चुनौती दिने अर्थात् फिराद गर्ने हकदैया नै छैन । दाबीको जग्गा गुठियारको आपसी सल्लाह र निर्णयअनुसार मालपोत कार्यालयमा रैकर परिणत गर्न निवेदन दिई मिति २०५५।१२।२६ को मालपोत कार्यालयको निर्णय अनुसार ने.वै.लि. गावाहालमा निजी गुठीका नाउँमा मुद्दती खाता खोली उक्त खाताको मुद्दती रसिदको रकमसँग सट्टापट्टा गरी गुठी लगत कट्टा गरी रैकर परिणत गरिएको हो । रैकर परिणत गर्ने उक्त निर्णयलाई विपक्षीले कुनै चुनौती नदिई स्वीकार गरेका छन् । गुठीको जग्गाको मूल्याङ्कन बराबरको रकम अक्षयकोषमा राखी अक्षयकोषको रकमको ब्याज रकमबाट मात्र गुठीको उद्देश्यअनुरूप गुठी चलाउने गरी गुठियारको सहमतिमा २०५५ सालमा अक्षयकोष खडा गरी गुठीको जग्गा रैकर परिणत गरिएको र मिति २०६४।१०।१० गतेअघिको त्यस प्रकारको रैकर परिणत हक हस्तान्तरणलाई नि.नं. ७८८५ को नजिरसमेतले वैधता प्रदान गरेको छ । मिति २०५५।१२।२६ मा अक्षयकोष खडा गरी निजी गुठी कट्टा भई रैकर कायम गरिएको उक्त कि.नं. ७८६ को जग्गा दर्तावालाले जोसुकैलाई हक हस्तान्तरण गर्न सक्ने नै हुँदा कि.नं. ७८६ को कि.का. भई कायम दाबीको कि.नं. ८०२ जग्गा प्रतिवादी लक्ष्मी न्याछयोँले निजको छोरी जयन्ती न्याछ्‍योँलाई हक हस्तान्तरण गरेको कार्य कानूनसम्मत हुँदा वादीको फिरादपत्र नै खारेज गर्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६९।५।१९ को फैसला सदर हुने गरी माननीय न्यायाधीश श्री डम्बरबहादुर शाहीबाट व्यक्त राय सदर कायम हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो । 

प्रत्यर्थी/प्रतिवादी अशोककुमारी पुनसमेतका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री चण्डेश्‍वर श्रेष्ठ तथा विद्वान्‌ अधिवक्ताद्वय श्री रत्‍न अवाले र श्री विमला खनालले २०५५ सालमा रैकरमा परिणत भएको निर्णयउपर मिति २०६३।१२।८ मा फिराद गरेको हुँदा प्रस्तुत फिराद हदम्यादविहीन छ । कि.नं. ७९९ र ८०० को जग्गा बिक्रीबाट प्राप्त रकमबाट अक्षयकोष खडा गरिएको होइन । मिति २०५५।१२।२६ मा लक्ष्मी न्याछ्योँबाट बैंकमा मुद्दती खाता खोली नगदसमेत दाखिला गरी अक्षयकोष खडा भएको हो, कि.नं. ७८६ को जग्गा कित्ता काट भई कायम भएको कि.नं. ७९९ र ८०० को जग्गा निलकुमारी र केवल लामालाई हा.व. गरी हस्तान्तरण भएको हो । प्रतिष्ठानको विधानको दफा २६ मा आर्थिक स्रोतमा यस मुद्दाको जग्गाबाट प्राप्त हुने रकमलाई स्रोतको रूपमा देखाइएकै छैन । विवादित कि.नं. ८०२ को जग्गा लक्ष्मी न्याछयोँले जयन्ती न्याछयोँलाई हालैको बकसपत्र गरी मिति २०६३।१०।४ मा निज जयन्ती न्याछयोँले पनि हस्तान्तरण गरेपछि मात्र प्रतिष्ठानबाट मुद्दा दर्ता गर्ने निर्णय भएको छ । २०५५ सालमा आफैँ रैकरमा परिणत गरेको विषयलाई हाल आएर गुठी हो भनी भन्न नमिल्ने हुँदा वादीको फिरादपत्र खारेज हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६९।५।१९ को फैसला सदर हुने गरी माननीय न्यायाधीश श्री डम्बरबहादुर शाहीबाट व्यक्त राय सदर कायम हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो । 

प्रत्यर्थी / प्रतिवादी लक्ष्मी न्याछ्‍योँ र अशोककुमारी पुनका तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री राघवलाल वैद्य र विद्वान्‌ अधिवक्ता श्री दिनेश प्रसाद शर्माले न्याछयोँ प्रतिष्ठानलाई धर्मलोप मुद्दा गर्ने हकदैया छैन । न्याछयोँ प्रतिष्ठान Legal Person भएको र यसको सम्पत्तिअन्तर्गत दाबीको जग्गा अर्थात् निजी गुठीको जग्गा पर्दैन । पहिला वादीले दाबीको सम्पत्तिमा वादीको निर्विवाद हक स्थापित गर्नुपर्ने हुन्छ तर विवादित जग्गामा यी वादीको निर्विवाद हक स्थापना भएको छैन । मिति २०५५।१२।२५ र मिति २०५५।१२।२६ मा रैकरमा परिणत गर्ने मालपोत कार्यालयको निर्णयहरू बदर बातिलका लागि नआई उक्त निर्णय कायमै रहेको अवस्था हुँदा सोसमेतका आधार प्रमाणहरूबाट वादीको फिरादपत्र नै खारेज गर्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६९।५।१९ को फैसला सदर हुने गरी माननीय न्यायाधीश श्री डम्बरबहादुर शाहीबाट व्यक्त राय सदर कायम हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो । 

उपर्युक्तबमोजिम दुवैतर्फका कानून व्यवसायीहरूबाट प्रस्तुत भएको बहस जिकिरसमेत सुनी प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा, कि.नं. ७८६ बाट कित्ताकाट भई कायम हुन आएको कि.नं. ७९९ को जग्गा बिक्री गरी आएको रकम बैंकमा राखी सोही अक्षयकोषको रकमबाट गुठी चलाई आएको र बाँकी कि.नं. ८०१ र ८०२ को जग्गा न्याछ्‍योँ प्रतिष्ठानका नाममा ल्याउन अनुरोध गर्दागर्दै गुठियारको सहमति र मन्जुरीबेगर लक्ष्मी न्याछ्‍योँले आफ्नै छोरी जयन्ती न्याछ्‍योँ खोसीलाई मिति २०६२।१२।२१ मा र.नं. १८९२(ख) बाट हालैको बकसपत्र गरी दिई धर्मलोप गरेको हुँदा सो कार्य धर्मलोप ठहर गरी निज लक्ष्मी न्याछ्‍योँलाई न्याछ्‍योँ प्रतिष्ठानबाट निष्काशनसमेत गरिपाउँ भन्ने फिराद दाबी रहेकोमा वादी दाबी झुट्ठा हो, धर्मलोप हुने कार्य मैले गरेको छैन । न्याछ्‍योँ प्रतिष्ठानलाई उजुर गर्ने र फिराद गर्ने हकदैया नै छैन । इष्टदेवता आगमाजु एउटै हुँदैमा र न्याछयोँ जातभित्र पर्दैमा भरतलाल न्याछयोँसमेत गुठियार हुने होइन । विवादको कि.नं. ७८६ मिति २०५५।१२।२६ मा रैकर परिणत गरी निजी गुठीको लगत कट्टा गरी अक्षयकोष खडा गरी मालपोत कार्यालयबाट सट्टापट्टा गरी लिएकोले कि.नं. ८०२ को जग्गा मेरो निजी जग्गा भई जुनसुकै तवरले जोसुकैलाई बिक्री व्यवहार, दान दातव्य वा हक हस्तान्तरण गर्न सक्ने हुँदा मैले छोरीलाई हालैको बकसपत्र लिखतबाट हक हस्तान्तरण गरी लिनु दिनु गरेको हो । उक्त कार्यले गुठी धर्मलोप नहुने हुँदा फिराद दाबी खारेज गरिपाउँ भन्ने प्रतिउत्तर जिकिर रहेको पाइयो । 

सुरू ललितपुर जिल्ला अदालतबाट वादी दाबी नपुग्ने ठहराई भएको फैसलाउपर वादीको पुनरावेदन परेकोमा हकदैयाको अभावमा वादी दाबी खारेज हुने ठहराई इन्साफमा तात्त्विक इन्साफ फरक नपरेको भनी सुरू अदालतको फैसला सदर हुने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६९।०५।१९ मा फैसला भएको देखिन आयो । उक्त फैसलाउपर पुनरावेदक वादीले मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी यस अदालतमा निवेदन दिएको र यस अदालतको मिति २०७१।१०।१८ को आदेशले मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनसरह पेस हुन आएकोमा यस अदालतको संयुक्त इजलासबाट मिति २०७६।०३।०१ मा रायबाझी फैसला भएपश्चात् सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम निर्णयार्थ प्रस्तुत मुद्दा यस इजलाससमक्ष पेस हुन आएको देखिन्छ । 

गुठीको जग्गा गुठीले कसैसँग सट्टापट्टा गरेको छैन । गुठी चलाउन मुश्किल परेकोले केही जग्गा बिक्री गरी आएको रूपैयाँ बैंकमा राखी आगमाजुको पूजा सञ्‍चालन गर्ने भन्‍ने गुठीको निर्णयबमोजिम नै नानीबाबु सुनुवारलाई बिक्री गर्ने भई निजबाटै अक्षयकोष खडा गर्न लाग्ने रूपैयाँ लिई अक्षयकोष खडा गरी निजलाई बिक्री गरेको हो । विपक्षीलाई बिक्री गरेको वा सट्टापट्टा गरेको छैन होइन । यस्तो जग्गा विपक्षीको नाममा भएको कारणले मात्र निजको निजी सम्पत्ति हुन सक्दैन । उल्लिखित जग्गाको साबिक स्रोत विपक्षीको निजी खरिद वा बकसपत्र नभई गुठियारको हैसियतले निजको नाममा नामसारी मात्र भएको हो । संयुक्त दर्तावालामध्येको एउटाले गुठीको हो भनी खम्बिर रूपमा प्रमाणित गरिरहेको अवस्थामा हुँदै नभएको सट्टापट्टाको कुरा उठाई उक्त जग्गा न्याछ्‍योँ प्रतिष्ठानको हो भन्‍न मिलेन भन्‍ने आधार लिई गरेको सुरू तथा पुनरावेदन अदालत पाटनको फैसला साबिक मुलुकी ऐन, गुठीको ३ र ४ नं.समेतको विपरीत र प्रतिपादित नजिर (नि.नं. २८५६, १८०७) विपरीत भई बदरभागी हुँदा दोहोर्‍याई हेरी उक्त फैसला बदर गरिपाउँ भनी वादी न्याछ्‍योँ प्रतिष्ठानको पुनरावेदन पर्न आएको रहेछ ।

प्रस्तुत मुद्दा यस अदालतको संयुक्त इजलाससमक्ष पेस हुँदा दर्तावाल गुठियारमध्येकी लक्ष्मी न्याछ्‍योँले आफ्नै छोरीलाई मिति २०६२।१२।२१ मा र.नं. १८९२(ख) बाट उक्त कि.नं. ८०२ को जग्गा हालैको बकसपत्र दिने कार्य मुलुकी ऐन, गुठीको महलको ३, ४, ६ र १३ नं. विपरीत भई निज प्रतिवादी लक्ष्मी न्याछयोँले धर्मलोप गरेको देखिन आएकोले निजलाई गुठियारबाट निस्कासन हुनेसमेत ठहर्छ । वादी दाबी नपुग्ने ठहराएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६९।५।१९ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री सपना प्रधान मल्लको राय र वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६७।३।१५ को फैसलाउपर पुनरावेदन सुनी प्रस्तुत मुद्दामा वादीको फिरादपत्र नै खारेज गर्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६९।५।१९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहरी पुनरावेदक/वादीको पुनरावेदन जिकिर पुग्न नसक्‍ने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री डम्बरबहादुर शाहीबाट फरक राय व्यक्त भई मतैक्य हुन नसकेको स्थितिमा यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको देखिन्छ । उपर्युक्त तथ्य र बहस जिकिर रहेको प्रस्तुत मुद्दामा अब देहायका विषयहरूमा न्याय निरूपण गर्नुपर्ने देखिन आयोः

(क) वादीलाई फिराद गर्ने हकदैया छ, छैन ? 

(ख) वादी दाबीको कि.नं. ८०२ को जग्गा बेचबिखन तथा हक हस्तान्तरण गर्न पाउने हक अधिकार प्रत्यर्थी प्रतिवादीलाई छ छैन ? 

(ग) उक्त जग्गा न्याछयोँ परिवारको निजी गुठी कायम हुने हो होइन ?

(घ) प्रतिवादीले गरेको हक हस्तान्तरणको लिखतबाट धर्मलोप हुने हो, होइन ? 

(ङ) वादी दाबी पुग्न नसक्ने ठहर गरी सुरू ललितपुर जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६९।५।१९ मा भएको फैसला मिलेको छ छैन ? पुनरावेदक/वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? 

 

२. वादी न्याछ्‍योँ प्रतिष्ठानलाई फिराद गर्ने हकदैया छ, छैन भन्ने पहिलो प्रश्‍नतर्फ विचार गर्दा, सर्वप्रथम विवादित कि.नं. ८०२ को जग्गाको साबिकको स्रोतको बारेमा प्रस्ट हुनुपर्ने देखिन्छ । सोतर्फ हेर्दा न्याछ्‍‍यों कुलका इष्टदेवता आगमाजु पूजाको लागि न्याछ्‍‍यों थरका व्यक्तिहरू मिली राखेको न्याछ्‍‍यों गुठीको साबिकमा जगतकेशर पाध्याको नाममा लगत रहेको र निज परलोक भएपछि उक्त गुठीका गुठियारमध्येका पुष्पबहादुर न्याछ्‍‍यों र पशुपतिमान न्याछ्‍‍योंका नाममा संयुक्तरूपमा नामसारी भई दर्ता कायम रहेको ललितपुर जिल्ला, ललितपुर न.पा. वडा नं. ५ब, कि.नं. १३० र १३३ को क्षेत्रफल क्रमश: रोपनी ७-१-३ र रोपनी ३-६-२ का दुई कित्ता जग्गा रहेकोमा उक्त जग्गाका दर्तावालामध्येका पशुपतिमान न्याछ्‍योँको मृत्युपछि उक्त जग्गा निजकी पत्‍नी प्रस्तुत मुद्दाकी प्रत्यर्थी/प्रतिवादी लक्ष्मी न्याछ्‍‍योंसमेतको नाममा संयुक्त नामसारी हुन गएको देखिन्छ । उक्त जग्गाहरूबाट मोहीको भागको जग्गा मोहीलाई छुट्‍याइदिने क्रममा गुठियारहरूबिचको मिति २०५५।५।१६ को निर्णयानुसार कित्ताकाट हुँदा कि.नं. १३० बदर भई कि.नं. ७८५ को क्षेत्रफल रोपनी ३-८-३-३ र कि.नं. ७८६ को क्षेत्रफल रोपनी ३-८-३-२ जग्गा कायम भएको पाइन्छ । त्यसैगरी कि.नं. १३३ बदर भई कि.नं. ७८२ को क्षेत्रफल रोपनी १-९-३-२, कि.नं. ७८३ को क्षेत्रफल रोपनी ०-२-२-२ र कि.नं. ७८४ को क्षेत्रफल रोपनी १-९-३-३ जग्गा कायम भएको देखिन्छ । उक्त कित्ताहरूमध्ये कि.नं. ७८२ र कि.नं. ७८५ को जग्गा मोहीलाई दिई कि.नं. ७८३ को जग्गा साझा बाटोको रूपमा कायम गरी कि.नं. ७८४ को क्षेत्रफल रोपनी १-९-३-३ र कि.नं. ७८६ को क्षेत्रफल रोपनी ३-८-३-२ जग्गा बाँकी रहेकोमा उक्त कि.नं. ७८६ पनि बदर भई कायम हुन आएको कि.नं. ७९९ को क्षेत्रफल रोपनी ०-१२-०-० जग्गा नानीबाबु सुनुवार र नीलकुमारी राईलाई, कि.नं. ८०० को रोपनी ०-४-०-० जग्गा केवलबहादुर लामालाई हा.ब. गरी दिने र कि.नं. ८०१ को जग्गा संयुक्त बाटोको रूपमा राख्‍ने भन्‍ने उक्त गुठीको सामूहिक निर्णयानुसार उक्त जग्गा पनि हक हस्तान्तरण गरिएको देखिन्छ भने कि.नं. ८०२ को क्षेत्रफल रोपनी २-४-३-२ जग्गा पुष्पबहादुर न्याछ्‍‍यों र लक्ष्मी न्याछ्‍‍योंको नाममा संयुक्तरूपमा रहन गएको देखिन्छ ।

३. यसरी कि.नं. ७८६ को क्षे.फ. ३-८-३-२ जग्गामध्येबाट कित्ता फोड भई कायम हुन आएको कि.नं. ७९९ को क्षेत्रफल रोपनी ०-१२-० जग्गा नानीबाबु सुनुवार र नीलकुमारी राईलाई, कि.नं. ८०० क्षेत्रफल रोपनी ०-४-० जग्गा केवलबहादुर लामालाई हा.ब. गरी दिने र कि.नं. ८०१ को जग्गा संयुक्त बाटोको रूपमा राख्‍ने भन्‍ने न्याछयोँ गुठीको सामूहिक निर्णयानुसार नै उक्त जग्गाहरू हस्तान्तरण गरिएको देखिन्छ भने बाँकी रहेको कि.नं. ८०२ को २-४-३-२ जग्गा मिति २०६२।१२।२१ मा प्रतिवादी लक्ष्मी न्याछयोँले गुठियारहरूको सहमतिबिना नै आफ्नै छोरी जयन्ती न्याछयोँलाई हालैको बकसपत्रको लिखतबाट हक हस्तान्तरण गरिदिएको देखिन आउँछ । प्रतिवादीको उक्त कार्यले गुठीको हक मेट्ने कार्य भई गुठीको चली आएको परम्परा र धर्म धान्न नसक्ने अवस्था परी गुठी धर्मलोप भएको हुँदा विपक्षीलाई धर्मलोपमा सजाय गरी न्याछयोँ प्रतिष्ठानबाट निस्कासनसमेत गरिपाउँ भनी वादीको फिराद पर्न आएको देखियो ।

४. अब, उक्त फिराद गर्ने हकदैया वादी न्याछयोँ प्रतिष्ठानलाई छ छैन भन्ने सम्बन्धमा हेर्दा, जिल्ला ललितपुर, ललितपुर उ.म.न.पा. वडा नं. ५ब कि.न. १३० र १३३ का जग्गाहरूको साबिक स्रोत जगतकेशर पाध्याको नामको लगत भएको र न्याछयोँ कुलका इष्ट देवता आगमाजुको पूजाको लागि निजी गुठीमा राखी पूजा आजा गरी आएको तथा उक्त कि.नं. १३० कित्ताफोड भई कायम हुन आएको कि.नं. ७८६ को जग्गा निजी गुठीको भई अक्षयकोष राखी मिति २०५५।१२।२६ मा रैकर परिणत भएको कुरामा कुनै विवाद छैन । सो तथ्यमा दुवै पक्षको बिचमा मुख मिलेको पाइन्छ । प्रचण्डधर न्याछ्‍योँ, पुष्पबहादुर न्याछ्‍योँ, नरेन्द्रबहादुर न्याछ्‍योँ, मोहन गोपाल न्याछ्‍योँ, रविनमान न्याछ्‍योँ, यी वादी भरतलाल न्याछ्‍योँ र प्रतिवादी लक्ष्मी न्याछ्‍योँसमेतका गुठियारहरूको मिति २०५५।१२।२५ को बैठकबाट भएको निर्णयअनुसार नै कि.नं. ७८६ को जग्गा रैकर परिणत भएको देखिन्छ । न्याछ्‍‍यों कुलका इष्टदेवता आगमाजु गुठीका गुठियारको रूपमा रहेका सबै न्याछयोँ परिवारहरू मिलेर न्याछयोँ प्रतिष्ठान स्थापना गरेको र उक्त प्रतिष्ठानमा भरतलाल न्याछयोँ र प्रतिवादी लक्ष्मी न्याछयोँसमेत संलग्न रहेको पाइन्छ । उक्त आगमजु गुठीमा संलग्न गुठियारहरूले कि.नं. ८०२ को जग्गा गुठीको जग्गा भएको र गुठीको पूजाआजा र गुठी सञ्चालनका लागि आवश्यक रहेकाले उक्त जग्गा गुठी कायम गर्नकै लागि प्रस्तुत फिराद दायर गरेको देखिन आउँछ ।

५. दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो हक त्याग गरी कुनै निश्‍चित बेहोराको धार्मिक, सांस्कृतिक, परोपकारी वा अन्य कुनै कार्यको निरन्तर सञ्चालन होस् भन्ने पवित्र भावनाले त्यस्ता सम्पत्ति अर्पण गर्ने कार्यबाट गुठीको स्थापना हुन जाने पद्धति रहेको परिप्रेक्ष्यमा गुठीका सम्पत्ति कुनै पनि तरिकाले हरण गर्न तथा नास्न, मास्न, बेचबिखन इत्यादि गर्न नपाइने गरी साबिकदेखि नै तत्काल प्रचलित कानूनले गरेको व्यवस्थालाई हालसम्म पनि विद्यमान कानूनी व्यवस्थाले निरन्तरता दिइरहेको देखिन्छ । निजी गुठीका जग्गा जमिन तथा अन्य चल अचल सम्पत्तिसमेतको संरक्षण गरी परम्परादेखि गुठीका नाममा समाजमा चलिआएका धार्मिक, सांस्कृतिक तथा परोपकारी र अन्य कार्यसमेत यथावत रूपमा सञ्चालन भई रहने अवस्था बनोस् यसबाट समाजमा रहेको सामाजिक सद्‍भाव र सहकार्यको जगेर्ना भई सामाजिक शान्ति र मेलमिलापको वातावरण बनोस् जसबाट नेपाली समाजको मौलिकपन कायम भई रहन सहयोग मिलोस् भन्ने कुरामा गुठी पद्धतिले सधैँ सकारात्मक भूमिका निर्वाह गरिरहेको हुन्छ । उक्त गुठी प्रथाको निरन्तरता र संरक्षण हुनुपर्ने कुरा पनि महत्त्वका साथ उठान हुनुलाई अन्यथा ठान्न मिल्दैन । जबसम्म गुठीका रूपमा स्रोत साधनको समुचित सुरक्षा प्रबन्ध र परिचालन हुन सक्छ, तब मात्र गुठीका नाममा सञ्चालन हुने धार्मिक, सांस्कृतिकलगायतका नेपाली समाजका मौलिक पहिचानका कुराहरू संरक्षण हुन सम्भव हुन्छ । गुठीको उद्देश्यविपरीत गुठीको सम्पत्ति हिनामिना नास्न मास्न नदिनु वा कुनै किसिमले नोक्सानीबाट बचाउनका लागि गुठियार अर्थात् गुठीका सञ्चालकहरूले निर्णय गरी आवश्यक कानूनी उपचार अवलम्बन गर्ने कार्यलाई अन्यथा मान्नु तर्कसङ्गत हुन सक्दैन ।

६. प्रस्तुत मुद्दामा अक्षय कोषको सञ्चालन तथा निजी गुठी रैकरमा परिणत गर्ने प्रयोजनका लागि गरिएका निर्णयहरू न्याछ्‍योँ परिवारका सदस्यहरूको सामूहिक निर्णयबाटै भएको पाइन्छ । मोही छुट्ट्याउने कार्य, अक्षयकोष राख्‍ने निर्णय, अक्षयकोष सञ्चालन गर्ने व्यक्तिहरूको निर्धारणसमेत गुठियारहरूबाटै भएको अवस्थाबाट सो कुराको पुष्टि हुन्छ । कि.नं. ७८६ को जग्गालाई गुठी रैकरमा परिणत गर्दा गुठियारहरूको बैठकबाटै भएको निर्णयमा प्रतिवादी लक्ष्मी न्याछयोँ सहमत नै रहेको पाइन्छ । यसरी निर्णयमा सहमत हुने तर गुठियारहरूको सामूहिक निर्णयबाट गठन भएको न्याछ्‍योँ प्रतिष्ठानले सोही गुठीको हितमा मुद्दा गर्दा प्रतिष्ठानलाई मुद्दा गर्ने अख्तियारी नै छैन हुँदैन भन्नु आफैँमा विरोधाभासपूर्ण रहेको देखिन्छ । कुनै पनि कुराको जिकिर लिँदा सो जिकिर कानूनसम्मत रहेको भन्ने आधार पनि पेस गर्न सक्नुपर्दछ । तर प्रतिवादीले प्रस्तुत मुद्दा गर्ने अधिकार हकदैया वादीलाई नभएको भन्ने जिकिर लिए पनि सो कुराको पुष्टि हुने कुनै आधार प्रमाण पेस गर्न सकेको पाइँदैन ।

७. त्यसैगरी २०५९ सालमा गैरसरकारी संस्थाका रूपमा दर्ता भएको न्याछयोँ प्रतिष्ठानले २०५९ सालअघि अर्थात् २०५५ सालमा भए गरेको काम कारबाहीउपर दाबी उजुर गर्ने हक अधिकार राख्दैन भन्नेसमेत जिकिर प्रतिवादीले लिएको देखिन्छ । न्याछ्‍योँ प्रतिष्ठान २०५९ सालमा स्थापना भएको कुरामा कुनै विवाद छैन । उक्त प्रतिष्ठानको विधानमा "न्याछयोँ वंशको इष्टदेवताको संरक्षण तथा न्याछ्‍योँ कुलको परिवारको कल्याण एवं धार्मिक, सामाजिक, आर्थिक, बौद्धिक तथा शैक्षिक विकास गर्ने, न्याछयोँ कुलका चल अचल सम्पत्ति तथा सम्पदाको संरक्षण सम्बर्द्धन तथा पुनर्निर्माण गर्ने गराउने" समेतका उद्देश्यहरू रहेको देखिएको छ । सो प्रतिष्ठान न्याछ्‍योँ गुठीका गुठियारहरू मिलेरै स्थापना गरिएको र न्याछयोँ कुल वंशबाहेकका व्यक्तिहरू प्रतिष्ठानमा संलग्न भएको देखिँदैन । न्याछ्‍योँ प्रतिष्ठानको स्थापना गर्ने कार्यमा मिति २०५५।१२।२५ मा कि.नं. ७८६ को जग्गालाई रैकरमा परिणत गर्ने निर्णय गर्ने सबै गुठियारसमेतको उपस्थिति तथा सहमति रहेको पाइन्छ । यसरी न्याछयोँ वंशको इष्टदेवताको संरक्षण तथा गुठीको चल अचल सम्पत्ति एवं सम्पदाको संरक्षणसहित धार्मिक, साँस्कृतिक कार्य गर्ने उद्देश्यसहित स्थापित न्याछयोँ प्रतिष्ठानले गुठीको हितमा फिराद दायर गर्ने कार्यलाई हकदैयाविहीन भन्न मिल्ने देखिँदैन ।

८. नेपालमा धार्मिक, सामाजिक तथा परोपकारिक कार्यका लागि परापूर्वकालदेखि नै जग्गा जमिनहरू गुठीमा राख्‍ने परम्परा रहेको पाइन्छ । गुठीमा जग्गा जमिन राखी सोको आयस्ताले धार्मिक, सामाजिक कार्यहरू अनवरतरूपमा चिरकालसम्म सञ्‍चालन भइरहोस् भन्ने इच्छा, चाहना सो जग्गा सम्पत्ति गुठी राख्‍ने पुर्खाको रहेको हुन्छ । सोहीअनुरूप धार्मिक कीर्ति विधिवत् रूपले चलाई राख्‍नुपर्ने हक दायित्व गुठी राख्‍नेको वा निजका सन्तान गुठियारको हुन आउँछ । त्यसैले गुठी राखेको सम्पत्ति कुनै किसिमबाट नास्न मास्न नपाइने गरी कानूनी व्यवस्थासमेत गरिएको पाइन्छ । पुर्खाले निश्‍चित धार्मिक प्रयोजनको लागि खडा गरेको निजी गुठी पछिल्ला पुस्ताले धार्मिक गुठी जग्गा रैकरमा परिणत गरी बेचबिखन गरी आफूलाई व्यक्तिगत लाभ पुर्‍याउने जस्ता काम गर्न छुट पाउन सक्दैन । धर्म संस्कृतिको रक्षा तथा सेवा नै यस्ता गुठीको उद्देश्य हुँदा विगतमा जोसुकैले पनि आफ्नो सम्पत्ति समर्पण गरी आफ्नो हक दाबी छाडी राखेको गुठीका पछिल्ला पुस्ता गुठियारहरू गुठी स्थापनाको सर्त र उद्देश्य विपरीत गुठियारहरूले स्वतन्त्र र स्वच्छन्द प्रकृतिबाट गुठीका जग्गाहरूलाई आफूखुस गर्न सक्ने हुँदैन । यसरी राखिएको गुठीको उद्देश्यअनुरूप कार्य नभएको वा सञ्चालन नभई धर्मलोप हुन गएको भन्ने गुठी राख्‍नेको सन्तानलाई लाग्न गएको अवस्थामा उजुर गर्ने हकदैया निजलाई रहने नै देखिन्छ । प्रस्तुत मुद्दामा न्याछयोँ परिवारका इष्ट देवताको पूजाआजाको लागि राखिएको गुठीको जग्गा हक हस्तान्तरण भई गुठीको उद्देश्यअनुरूप कार्य नभएको अवस्थामा न्याछ्‍योँ परिवारका सदस्यहरूको आपसी सल्लाह र सहमतिमा न्याछयोँ परिवार मात्रै सदस्य रहने गरी स्थापित न्याछयोँ प्रतिष्ठानलाई साबिक मुलुकी ऐन, गुठीको ३ र ४ नं. तथा अ.बं. ८२ नं. ले उजुर गर्ने हकदैया रहने नै देखियो ।

९. अब वादी दाबीको कि.नं. ८०२ को जग्गा बेचबिखन तथा हक हस्तान्तरण गर्न पाउने हक अधिकार प्रत्यर्थी/प्रतिवादीलाई छ, छैन भन्ने दोस्रो प्रश्नमा विचार गर्दा, उक्त कि.नं. ८०२ को जग्गाको साबिकको मूल स्रोतको रूपमा साबिक जगतकेशर पाध्याको नाउँमा लगत कायम रहेको न्याछ्‍योँ कुलका इष्टदेवता आगमाजु पूजाको लागि राखेको जग्गामध्येको कि.नं. १३० को जग्गा रहेको भन्ने देखिन्छ । जुन जग्गा जगतकेशर पाध्याको मृत्युपछि गुठियारहरू पुष्पबहादुर न्याछ्‍योँ र पशुपतिमान न्याछ्‍योँको नाउँमा संयुक्त दर्ता भएको पाइन्छ । उक्त कि.नं. १३० कित्ताफोड हुँदा कायम हुन आएको कि.नं. ७८६ समेत पुन: कित्ताफोड हुँदा कि.नं. ८०२ समेतका कित्ताहरू कायम हुन आएको देखिन्छ । उक्त बेहोराबाट कि.नं. ८०२ को साबिक स्रोत कि.नं. ७८६ रहेको भन्ने पाइयो । कि.नं. ७८६ को जग्गा निजी गुठीको जग्गा भएको कुरामा समेत कुनै विवाद देखिँदैन । उक्त जग्गाको साबिक जग्गाधनी दर्ता प्रमाण पुर्जाको कैफियत महलमा निजी गुठी जनिएबाट पनि कि.नं. ७८६ को जग्गा निजी गुठी भएको स्पष्ट हुन आउँछ । उक्त कि.नं. ७८६ को जग्गा पशुपतिमान न्याछयोँ र पुष्पबहादुर न्याछयोँको संयुक्त नाममा दर्ता रहेकोमा निज पशुपतिमान न्याछयोँको मृत्युपश्चात् उक्त जग्गा निजको श्रीमती प्रतिवादी लक्ष्मी न्याछयोँको नाममा नामसारी भएको तथ्यसमेत निर्विवाद रहेको छ । उक्त जग्गा न्याछ्‍योँ परिवारका गुठियारहरूको सामूहिक सहमति निर्णयबाट नै न्याछयोँ कुलका इष्ट देवता आगमाजु पुजाको लागि गुठियारकै नाममा दर्ता गरी राखेको देखिन आउँछ । उक्त जग्गालाई रैकरमा परिणत गर्ने क्रममा दर्तावाल गुठियार पुष्पबहादुर न्याछ्‍योँ र लक्ष्मी न्याछ्‍योँले मिति २०५५।१२।७ मा मालपोत कार्यालयमा पेस गरेको निवेदन बेहोरामा कि.नं. ७८६ को क्षे.फ. ३-८-३-२ जग्गाको आयस्रोतबाट आगमाजुको पूजाआजा गर्न नसकिएकोले रजिस्ट्रेसन प्रयोजनको न्यूनतम मूल्यअनुसार अक्षयकोष खडा गरी ब्याजबाट पूजाआजा निरन्तर रूपमा सञ्‍चालन गर्न गुठियारको मन्जुरी भएकोले निजी गुठी कट्टा गरी रैकर परिणत गरिपाउँ भन्ने उल्लेख भएको देखिन्छ । तर उक्त निवेदन बेहोरामा दर्तावालहरू प्रतिवादी लक्ष्मी न्याछयोँ र पुष्पबहादुर न्याछ्‍योँले निजी तरिकाले आफ्नो छुट्टै रकम अक्षयकोषको जम्मा गरी राखेको भन्ने खुल्दैन । मिति २०५५।१२।२५ को गुठियारको बैठकमा आगमाजुको नियमित पूजाआजा गर्न कि.नं. ७८६ को आयस्ताले नपुग भएकोले सो जग्गाको सट्टा नगद रू.६,७५,३९१।- ज.ध. पुष्पबहादुर न्याछयोँ र लक्ष्मी न्याछयोँको नाउँमा अक्षयकोष खडा गरी प्राप्त ब्याजबाट पूजा चलाउने र उक्त जग्गा रैकरमा परिणत गर्ने निर्णयसम्म भए गरेको देखिन्छ । उक्त निर्णय गर्दा अक्षयकोषमा दर्तावालहरूले आफ्नो निजी रकम राख्‍नुपर्ने भन्ने वा निजहरूले छुट्टै आफ्नो निजी रकम राखेको भन्ने कुरा खुलाईएको छैन भने रैकरमा परिणत भइसकेपश्चात् उक्त जग्गाहरू दर्तावालहरूको निजी हुने भन्ने सम्बन्धमा पनि कुनै निर्णय भएको वा खुलाइएको पाइँदैन । अक्षयकोष खडा गर्ने निर्णयअनुरूप मिति २०५५।१२।२६ गते अक्षयकोष खडा गरी रैकर परिणतसम्म भएको देखिन आउँछ ।

१०. उल्लिखित बेहोराअनुसार अक्षयकोष खडा गरी सो कोषमा रकम राखिएको भए तापनि उक्त रकम कुन बेहोराबाट प्राप्त हुन आएको भन्ने कुरामा समेत विवाद रहेको देखिन्छ । वादीले फिरादमा उक्त रकम कि.नं. ७९९ को जग्गा बिक्री गरी प्राप्त हुन आएको रकम जम्मा गरिएको हो भनी दाबी लिएको देखिन्छ भने प्रतिवादी लक्ष्मी न्याछ्‍योँले अक्षय कोषमा राखिएको रकम दर्तावालले निजी रकम राखेको भन्ने जिकिर लिएको पाइन्छ । दर्तावालले निजी रकम राखेको भन्ने जिकिर लिए पनि दर्तावालले नै निजी रूपमा अक्षयकोषमा रकम राखेको भन्ने मिसिल संलग्न कागजप्रमाणहरूबाट पुष्टि हुँदैन । त्यसैगरी रैकर परिणत भएपश्चात् उक्त जग्गामा निज दर्तावालहरूको मात्र एकलौटी हक हुने भन्ने कुरा गुठियारहरूको बैठक, मालपोत कार्यालयबाट पारित सट्टापट्टाको लिखतलगायत कुनै पनि प्रमाणबाट पुष्टि हुँदैन । अर्कोतर्फ कि.नं. ७८६ को जग्गा रैकरमा परिणत भएको मिति २०५५।१२।२६ गते नै उक्त कि.नं. ७८६ कित्ताकाट भई कायम हुन आएको कि.नं. ७९९ को ०-१२-०-० जग्गा नानीबाबु सुनुवार र नीलकुमारी राईलाई हालैको बकसपत्रमार्फत हक हस्तान्तरण गरिएको देखिन आएको छ । यसबाट कि.नं. ७८६ कित्ताकाट भई कायम हुन आएको कि.नं. ७९९ को जग्गा बिक्री गरी प्राप्त हुन आएको रकम नै अक्षयकोष राखिएको भन्ने वादीको दाबीलाई पुष्ट्याइँ गर्दछ । अन्यथा नानीबाबु सुनुवार र नील कुमारी राईलाई गुठीको जग्गा कित्ताकाट गरी हक हस्तान्तरण गर्नुपर्ने कुनै औचित्य पुष्टि हुँदैन ।

११. यसैगरी यिनै प्रतिवादी लक्ष्मी न्याछयोँले पुष्पबहादुर न्याछ्‍योँउपर दायर गरेको यसै लगाउको ०७६-DF-०००८ को कित्ताफोड मुद्दामा दर्तावाल पुष्पबहादुर न्याछ्‍योँको हकमा मु.स. गर्ने निजको छोरा अनुपबहादुर न्याछयोँले पेस गरेको प्रतिउत्तर बेहोरामा न्याछयोँ जातिको कुलका इष्ट देवता आगमाजुको पुजाको लागि हाम्रो पिता पुर्खाले राखेको हाल कायम कि.नं. १३० र १३३ नं. को जग्गा हाम्रो न्याछयोँ गुठीको जग्गा हो । उक्त जग्गा साबिकमा हाम्रो पिता पुष्पबहादुर न्याछयोँ र पशुपतिमान न्याछयोँको संयुक्त नाममा नामसारी भई निजी गुठी जनिएकोमा पशुपतिमान न्याछयोँको मृत्युपछि निजको श्रीमती लक्ष्मी न्याछयोँका नाममा नामसारी भई उक्त जग्गा लक्ष्मी न्याछयोँ र मेरा पिता पुष्पबहादुर न्याछयोँका नाममा कायम भएको हो । उक्त जग्गामा मोही लागेकाले मोहीलाई छुट्ट्याई दिनुपर्ने भई कित्ता काट हुँदा कि.नं. १३० बदर भई कि.नं. ७८५ र ७८६ कायम भएको र कि.नं. ७८६ को ३-८-३-२ जग्गामध्ये कित्ताकाट भई कायम हुन आएको कि.नं. ८०० को ०-४-०-० जग्गा केवलबहादुर लामालाई दिने भन्ने सर्तबमोजिम निजलाई दिई गुठीको काम र पुजा सञ्चालन गर्न कठिनाई भएकोले कि.नं. ७९९ को ०-१२-०-० जग्गा सामूहिक निर्णयबाट बिक्री गरी सो रकम बैंकमा जम्मा गरिएको हो र कि.नं. ८०१ बाटो कायम गरी कि.नं. ८०२ को जग्गा पुन: निजी गुठी जनाउँदा अक्षयकोष खडा गर्नुपर्ने भएकोले गुठीको धर्म नष्ट नगर्ने गरी गुठीकै हुने गरी साबिक दर्तावाला गुठियारकै नाममा राख्‍ने भन्ने भएबाट बाँकी जग्गा पुन: हाम्रो पिता पुष्पबहादुर न्याछयोँ र लक्ष्मी न्याछयोँको नाममा राखिएकोसम्म हो, उक्त जग्गा हामीहरूले आफूखुस हक हस्तान्तरण गर्न पाउने जग्गा होइन, न्याछयोँ निजी गुठीको जग्गा हो भनी प्रतिउत्तर फिराएको पाइन्छ । संयुक्त दर्तावालमध्येका एक पुष्पबहादुरको हकमा प्रतिउत्तर लगाउँदा निजको छोराले नै आफूहरूले निजी रकम राखी अक्षय कोष खडा गरेको हो भन्न नसकी कि.नं. ७९९ को जग्गा बिक्री गरी प्राप्त हुन आएको रकम नै अक्षयकोषमा राखेको हो भनी स्पष्ट रूपमा उल्लेख गरेबाट दर्तावालले आफ्नो निजी रकम अक्षयकोषमा राखेको भन्ने प्रतिवादी लक्ष्मी न्याछयोँको जिकिरसमेत खण्डित भएको देखियो । 

१२. त्यसैगरी २०५९ सालमा न्याछयोँ परिवारका सदस्यहरूले स्थापना गरेको न्याछयोँ प्रतिष्ठानको कार्यकारणी समितिको बैठक मिति २०६३।८।६ मा यी प्रतिवादी लक्ष्मी न्याछ्‍योँसमेतको उपस्थितिमा निजकै घरमा बसेको र उक्त बैठकमा विभिन्न विषय सूचीमा छलफल गर्दै विभिन्न निर्णयहरू गरिएकोमा उक्त निर्णयहरूमध्ये निर्णय नं. २ मा "वडा नं. १४ नखिपोटमा रहेको पुष्षबहादुर न्याछयोँ र लक्ष्मी न्याछ्‍योँको संयुक्त नाममा रहेको जग्गाबारे छलफल हुँदा लक्ष्मी न्याछ्‍योँले एक रोपनी जग्गा माग गरेको । सो सम्बन्धमा आगामी बैठकमा निर्णय गर्ने निर्णय गरियो" भन्ने निर्णयसमेत भएको देखिन्छ । सो निर्णयमा यी प्रतिवादी लक्ष्मी न्याछ्‍योँले समेत हस्ताक्षर गरेको पाइन्छ । यदि वादी दाबीको जग्गा निजी गुठीको नभई यी दर्तावालको एकलौटी हक भोगको हक हस्तान्तरण गर्न पाउने जग्गा भए न्याछयोँ प्रतिष्ठानसँग एक रोपनी जग्गा माग गर्नुपर्ने अवस्था आउने थिएन । त्यसरी एक रोपनी जग्गा किन माग गर्नुपरेको हो भन्ने विश्वसनीय आधार कारणसमेत यी प्रतिवादीले खुलाउन सकेको पाइँदैन । प्रतिवादीले उक्त जग्गा निजी एकलौटी हकको हो भन्ने कुनै प्रमाण पेस गर्न सकेको पनि देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा २७ बमोजिम कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको पुष्टाइँ गर्ने भार प्रतिवादीको हुन्छ । प्रतिवादीले विवादित जग्गा दर्तावालको मात्र एकलौटी हुने कुराको जिकिर लिए पनि सोअनुरूप आफ्नो जिकिर पुष्टाइँ गर्न सकेको पनि पाइँदैन । उल्लिखित जग्गा साबिक स्रोत विपक्षीको निजी खरिद वा बकसपत्र नभई गुठियारको हैसियतले निजको नाममा नामसारी मात्र भएको देखिन आउछ । संयुक्त दर्तावालमध्येका एक व्यक्तिले उक्त जग्गा निजी गुठीको जग्गा भनी रहेको र अर्को दर्तावाल यी प्रतिवादी लक्ष्मी न्याछयोँले उक्त जग्गामध्येबाट एक रोपनी जग्गा न्याछ्‍योँ प्रतिष्ठानसँग माग गरेको आधार प्रमाणसमेतबाट उक्त जग्गा दर्तावालको एकलौटी हकको जग्गा नभई निजी गुठीकै रहेको भन्ने कुरा पुष्टि हुन आएकोले वादी दाबीको कि.नं. ८०२ को जग्गामा दर्तावालको मात्र हक रहेको भन्ने प्रतिवादी लक्ष्मी न्याछ्‍योँको जिकिर तर्कसङ्गत देखिएन । यसै सन्दर्भमा यस अदालतबाट कान्छारत्‍न तुलाधरसमेत वि. मायादेवी तुलाधर भएको दर्ता गरिपाउँ भन्ने मुद्दामा "सनातनदेखि चलिआएको आँगन देवताको गुठीको जेथामा गुठियारको हक गुठीको सनातनदेखि चली आएबमोजिमको धर्म पूजा आजा चलाई राखी सामूहिकरूपले स्थिति बन्देजअनुसार भोगचलन गर्न पाउनेसम्म मात्र हो एकलौटी कसैको हक हुने कुरा हुँदैन मास्न नास्न कसैलाई हक छैन" भनी ने.का.प. २०४३ अङ्क ९ नि.नं. २८५६ मा सिद्धान्तसमेत प्रतिपादन भएको देखिन्छ । उक्त सिद्धान्तसमेतका आधारमा हेर्दा वादी दाबीको कि.नं. ८०२ को जग्गा प्रत्यर्थी प्रतिवादीले निजी तवरले बेचबिखन वा हक हस्तान्तरण गर्न सक्ने अधिकार रहेको मान्‍न मिलेन ।

१३. कि.नं. ८०२ को जग्गा न्याछयोँ परिवारको निजी गुठी कायम हुने हो होइन भन्ने तेस्रो प्रश्नतर्फ विचार गर्दा, गुठी संस्थान ऐन, २०३३ को दफा २(ग) मा गुठी भन्नाले "कुनै मठ वा कुनै देवी देवताको पर्वपूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी, पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरन, बाग बगैंचा, जङ्गल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय, घर, इमारत वा संस्था बनाउन, चलाउन वा त्यसको संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडिराखेको गुठीसमेतलाई सम्झनुपर्दछ" भन्ने उल्लेख भएको छ । सो कानूनी व्यवस्थाअनुसार दाताले आफ्नो हक छाडी आयस्ता प्राप्त हुने चल वा अचल दुवै किसिमका सम्पत्ति वा रकम राखी गुठी स्थापना गर्न सकिने हुन्छ ।  त्यसैगरी सोही ऐनको दफा २(च) मा "निजी गुठी भन्नाले राजगुठी र छुट गुठीबाहेकको दुनियाँको निजी गुठी सम्झनुपर्दछ" भनी परिभाषित गरेको पाइन्छ । देवी देवताको पुजा गर्नेसमेतका विभिन्न धार्मिक तथा परोपकारिक कार्यको लागि कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडिराखेमा त्यस्तो सम्पत्तिलाई गुठीको सम्पत्ति मान्नुपर्दछ । गुठीको स्थापना व्यक्ति, परिवार, समाज तथा राज्यसमेतले गर्न सक्दछ । 

१४. विवादित कि.नं. ८०२ को जग्गा जगतकेशर पाध्याको नामको लगत १९५३ वि.सं. रामकेशर ६। । कायम रहेको, न्याछ्‍योँ कुलको इष्ट देवता आगमाजु पूजाको लागि राखिएका जग्गाहरू भएको र निज जगतकेशरको १९९० सालमा मृत्यु भएपश्चात् २०४७ सालमा न्याछ्‍योँ परिवारको सामूहिक निर्णयबाट गुठियार पुष्पबहादुर न्याछ्‍योँ र पशुपतिमान न्याछ्‍योँको नाममा संयुक्त नामसारी गरिएको कुरा निर्विवाद रूपमा स्थापित भएबाट दाबीको जग्गा निजी गुठीको जग्गा हो भन्ने कुरा प्रस्ट हुन्छ । संयुक्त दर्तावालमध्येका पुष्पबहादुर न्याछ्‍योँको छोरा अनुपबहादुर न्याछयोँले कि.नं. ८०२ को जग्गा पुन: निजी गुठी जनाउँदा अक्षयकोष खडा गर्नुपर्ने भएकोले गुठीको धर्म नष्ट नगर्ने गरी गुठीकै हुने गरी साबिक दर्तावाला गुठियारकै नाममा राख्‍ने भन्ने भएबाट हाम्रो पिता पुष्पबहादुर न्याछयोँ र लक्ष्मी न्याछयोँको नाममा राखिएको सम्म हो, उक्त जग्गा निजी गुठीको जग्गा हो भनी लगाउको कित्ताफोड मुद्दामा प्रतिउत्तर फिराएको पाइन्छ । न्याछयोँ गुठीका गुठियारकै रूपमा रहेको निज अनुपबहादुर न्याछयोँले आफ्नो हित प्रतिकूल व्यक्त गरेको उक्त भनाइलाई अन्यथा मान्नुपर्ने अवस्थासमेत छैन । न्याछयोँ गुठीका गुठियारहरू मिली विधिवत् रूपमा स्थापना गरेको न्याछयोँ प्रतिष्ठानमा यी प्रतिवादी लक्ष्मी न्याछयोँ तथा निजका छोराहरू विपिनमान न्याछयोँ र रविनमान न्याछयोंसमेतको उपस्थिति र सहमतिमा वादी दाबीसमेतका न्याछयोँ गुठीका जग्गाहरूका सम्बन्धमा भएका विभिन्न निर्णयहरूसमेतबाट साबिक कि.नं. ७८६ बाट कित्ताकाट भई कायम भएका कि.नं. ७९९ को ०-१२-०-० जग्गा बिक्री गरी अक्षयकोषमा रकम जम्मा गरेको, कि.नं. ८०० को ०-४-० केवल लामालाई हा.ब. गरिदिएको, कि.नं. ८०१ बाटो प्रयोजनको लागि राखिएको र बाँकी कि.नं. ८०२ को २-४-३-२ जग्गा निजी गुठीको रहेको प्रस्ट हुन आउँछ । त्यसैगरी गुठियारहरूले दर्तावालहरूको एकलौटी हक अधिकार रहने भनी हक हस्तान्तरण गरेको भन्ने पनि देखिन नआएबाट उक्त कि.नं. ८०२ को जग्गा दर्तावालहरूको एकलौटी हक अधिकारको जग्गा नभई न्याछयोँ गुठीकै निजी गुठीको जग्गा रहेको भन्ने देखिएकाले उक्त कि.नं. ८०२ को जग्गा निजी गुठी कायम हुनुपर्ने देखिन्छ । यस्तै प्रकृतिको प्रश्न समावेश भएको अशोकविर सिंह विरूद्ध स्वयम्भुरत्न तुलाधर भएको गुठी हटक (ने.का.प.२०५२ अङ्क १ नि.नं.५०३७) मुद्दामा "सबैको सामूहिक हक लाग्ने गुठीको जग्गामा गुठियारमध्येका कुनै कसैले रैकर परिणत दर्ता गराएको छ भन्ने आधारमा अरू गुठियारको हक जान्छ भन्न नमिल्ने" भनी सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । अत: वादी दाबीको कि.नं. ८०२ को जग्गा निजी गुठीको रहेको भन्ने माननीय न्यायाधीश सपना प्रधान मल्लको राय मनासिब देखिन आयो ।

१५. प्रत्यर्थी/प्रतिवादीले गरेको हक हस्तान्तरणको लिखतबाट धर्मलोप हुने हो, होइन भन्ने चौथो प्रश्नतर्फ विचार गर्दा, साबिक मुलुकी ऐन, गुठीको महलको ३ नं. को देहाय १ मा "गुठियारसमेत राखी आफ्नो हक छोडी राखेको गुठी सो गुठी राख्‍ने वा उनका सन्तान हकदारले गुठीको दानपत्र शिलापत्रसमेतका लिखतबमोजिमको काम चलाई शेष जगेडा रहने बाहेकको खान पाउने शेष बाँकीसम्म धितो बन्धक राख्‍नु हुन्छ । लेखिएबाहेक बेचबिखन दान दातव्य गरी वा जम्मै भोग धितो राखी वा लिखतबमोजिमको कामसमेत नगरी धर्म लोप गर्न हुँदैन । सन्तान हकदारले लिखतबमोजिमको काम चलाएन वा खान पाउने शेष भोग धितोदेखि बाहेक बेचबिखन दान दातव्य र अरू जम्मै गुठी बेचबिखन दान दातव्य वा भोग धितोसमेत गरी धर्म लोप गर्‍यो भने त्यसले सो गुठीको पालो पाउँदैन" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उक्त कानूनी व्यवस्थाअनुसार गुठी सञ्चालनका सम्बन्धमा गुठी राख्‍ने वा गुठी राख्‍नेका सन्तान हकदारले कुनै लिखत, शिलालेख, दानपत्रसमेत खडा गरेको हुनुपर्दछ । तर न्याछ्‍योँ गुठीका दर्तावाल गुठियारहरूले गुठी सञ्चालनका सम्बन्धमा निजहरूले वहन गर्नुपर्ने जिम्मेवारी, कर्तव्य र दायित्वका सम्बन्धमा कुनै लिखत खडा भएको पाइँदैन । गुठी सम्बन्धमा गुठीका हकदारहरूले यी यस्ता कार्यहरू गर्नुपर्ने भन्ने कुनै लिखत, दानपत्र, शिलापत्रसमेत रहे भएको पाइँदैन । त्यसैगरी प्रतिवादी लक्ष्मी न्याछ्‍योँले जग्गाको हक हस्तान्तरण गरेको कार्यबाट न्याछ्‍योँ कुलका देवता आगमाजु पूजा सञ्चालन हुन नसकी उक्त पूजा नै रोकिन गएको भन्ने अवस्था पनि देखिँदैन । आगमाजु पूजासमेतका कार्यका लागि रू.६,७५,३९१।- को अक्षयकोष खडा गरी सोही रकमबाट प्राप्‍त हुने ब्याजको रकमबाट उक्त गुठीको काम तथा पूजाआजा सञ्चालन गर्ने व्यवस्था मिलाइएको भन्ने देखिन आएको छ । अर्कोतर्फ प्रतिवादी लक्ष्मी न्याछ्‍योँले कि.नं. ८०२ को जग्गा कित्ताफोड भएपश्चात् आफ्नो नाममा दर्ता हुन आएको जग्गा अब आफ्नो एकलौटी हकभोगमा आयो भन्ने विश्‍वासमा परी आफ्नै छोरीलाई बकसपत्रको लिखतबाट हस्तान्तरण गरेको देखिन्छ । यसै लगाउको पुनरावेदक/वादी भरतलाल न्याछयोँ प्रत्यर्थी/प्रतिवादी लक्ष्मी न्याछयोँसमेत भएको ०७६-DF-०००७ नं. को लिखत बदर मुद्दामा कि.नं. ८०२ को जग्गा हक हस्तान्तरण गरेको बकसपत्रको लिखतसमेत बदर हुने ठहरी आज यसै इजलासबाट फैसला भएको समेतका आधार कारणबाट उक्त कि.नं. ८०२ को जग्गा निजी गुठी भइरहने अवस्था भएबाट प्रतिवादी लक्ष्मी न्याछ्‍योँले गरेको हक हस्तान्तरणको लिखतबाट धर्मलोप भएको भन्न मिल्ने देखिएन ।

१६. अब वादी दाबी पुग्न नसक्ने ठहर गरी सुरू ललितपुर जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६९।५।१९ मा भएको फैसला मिलेको छ छैन, पुनरावेदक/वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने पाँचौं तथा अन्तिम प्रश्‍नतर्फ विचार गर्दा, साबिक मुलुकी ऐन, गुठीको महलको कानूनी व्यवस्थाअनुसार गुठी सञ्चालनका सम्बन्धमा गुठी राख्‍ने वा गुठी राख्‍नेका सन्तान हकदारले वहन गर्नुपर्ने जिम्मेवारी, कर्तव्य र दायित्वका सम्बन्धमा कुनै लिखत खडा भएको नदेखिएको र न्याछ्‍योँ गुठीका दर्तावाल गुठियारहरूले गुठी सञ्चालनका सम्बन्धमा के कस्ता कार्यहरू गर्नुपर्ने भन्ने कुनै लिखत, दानपत्र, शिलापत्रसमेत रहे भएको पाइँदैन । प्रतिवादी लक्ष्मी न्याछ्‍योँले जग्गाको हक हस्तान्तरण गरेको कार्यबाट न्याछ्‍योँ कुलका देवता आगमाजु पूजा सञ्चालन हुन नसकी उक्त पूजा नै रोकिन गएको भन्ने अवस्थासमेत नरहेको, निजले हालैको बकसपत्रको माध्यमबाट हक हस्तान्तरण गरेको कार्य लगाउको लिखत बदर मुद्दाबाट बदर भएको समेतका आधार प्रमाणहरूबाट कि.नं. ८०२ को जग्गा हस्तान्तरण भएको कार्यबाट धर्मलोपको कसुर स्थापित भएको भन्ने देखिँदैन । त्यसैले दाताले राखेको जग्गा मोहीलाई छुट्‍याउने, कित्ताकाट गरी केही जग्गा बिक्री गर्ने र सो बाट प्राप्त रकम गुठीको नाममा अक्षयकोष खडा गर्ने तथा कि.नं. ८०२ को जग्गा रैकर परिणत गर्ने कार्य प्रत्यर्थी प्रतिवादी लक्ष्मी न्याछयोँले मात्र गरेको नभई गुठियारहरूको सामूहिक निर्णयबाट भएको स्थितिमा प्रतिवादी लक्ष्मी न्याछ्‍योँले मात्र धर्मलोप गरेको भनी निजलाई गुठीबाट निष्काशन गर्न न्यायोचित हुने नदेखिँदा सो हदसम्म माननीय न्यायाधीश सपना प्रधान मल्लको रायसँग समेत सहमत हुन सकिएन । 

१७. यस स्थितिमा विवादित कि.नं. ८०२ को जग्गाको साबिकको स्रोतको रूपमा रहेको कि.नं. १३० को जग्गा निजी गुठीको जग्गा हो भन्ने कुरामा कुनै विवाद रहेको पाइँदैन । उक्त जग्गाको साबिकको स्रेस्ताको कैफियतमा समेत निजी गुठी जनिएको देखिन्छ । न्याछ्‍योँ परिवारका गुठियारहरूको निर्णयबाट न्याछयोँ कुलका इष्ट देवता आगमाजु पूजाको लागि गुठियारकै नाममा दर्ता गरी राखेको उक्त जग्गालाई रैकरमा परिणत गर्ने क्रममा दर्तावाल गुठियार पुष्पबहादुर न्याछ्‍योँ र लक्ष्मी न्याछ्‍योँको नाउँमा नगद रू.६,७५,३९१।- को अक्षयकोष खडा गरी उक्त जग्गा रैकरमा परिणत गर्ने निर्णय भए गरेको देखिन्छ । तर उक्त निर्णय गर्दा रैकरमा परिणत भइसकेको जग्गाहरू दर्तावालहरूको निजी हुने भन्ने सम्बन्धमा कुनै निर्णय भएको पाइँदैन भने अक्षयकोषमा राखिएको रकम दर्तावालले नै निजी रूपमा राखेको भन्ने पनि पुष्टि हुन सकेको छैन । उल्लिखित आधार कारण तथा माथि प्रकरण नं. ३२ मा विवेचना गरिएका बुँदाहरूसमेतबाट कि.नं. ८०२ को जग्गा निजी गुठीकै जग्गा रहेको भन्ने देखिन आएकोले यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीश श्री डम्बरबहादुर शाहीको रायसँग सहमत हुन सकिएन ।

१८. तसर्थ विवेचित आधार कारणहरूबाट निजी गुठीको कि.नं. ८०२ को जग्गा हक हस्तान्तरण गरी प्रतिवादीले धर्मलोप गरेको हुँदा धर्मलोप ठहर गरी सजाय गरी गुठी अर्थात् न्याछ्‍योँ प्रतिष्ठानबाट निष्कासनसमेत गरिपाउँ र उक्त जग्गामा न्याछ्‍योँ प्रतिष्ठानको हक कायम गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर गरी सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०६७।३।१५ मा भएको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनले मिति २०६९।५।१९ मा गरेको फैसला मिलेको नदेखिँदा केही उल्टी भई वादी दाबीको जग्गा न्याछ्‍योँ परिवारको निजी गुठी कायम हुने हदसम्म संयुक्त इजलासका माननीय न्यायाधीश श्री सपना प्रधान मल्लको राय सदर कायम भई प्रतिवादी लक्ष्मी न्याछयोँले धर्मलोप गरेको ठहर गरी सजाय गरी गुठीबाट निष्काशनसमेत गरिपाउँ भन्ने पुनरावेदक/वादीको पुनरावेदन जिकिर सो हदसम्म पुग्न सक्दैन । प्रस्तुत फैसलाको जानकारी पुनरावेदक वादीलाई दिनू । फैसलाको प्रति विद्युतीय प्रणालीमा प्रविष्ट गर्नु र दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.विनोद शर्मा

न्या.टेकप्रसाद ढुंगाना

 

इजलास अधिकृत (उपसचिव): भुपाल भण्डारी

इति संवत् २०८१ साल जेष्ठ ३ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु