शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४८३ - अंशबन्डा

भाग: ६७ साल: २०८२ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा

माननीय न्यायाधीश श्री नहकुल सुवेदी

फैसला मिति : २०७८।१०।०२

०७५-CI-०४८९

 

मुद्दाः- अंशबन्डा

 

पुनरावेदक / प्रतिवादी : जिल्ला बझाङ, चैनपुर गा.वि.स. वडा नं. ५ बस्ने किडौलाको छोरा हाल जयपृथ्वी नगरपालिका वडा नं. ११ बस्ने बृखराज जैसी 

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला बझाङ, चैनपुर गा.वि.स. वडा नं. ५ बस्ने किडौलाको छोरा शिवराज जैसीसमेत

 

वादी प्रतिवादीहरूबिच मुख मिलेको हुनका लागि मुद्दाका सबैजना वादी प्रतिवादीहरूबिच साझा सहमति भएको वा समान कुरामा स्वीकारोक्ति रहेको देखिनुपर्ने । मुद्दामा रहेका एकभन्दा बढी प्रतिवादीहरूमध्ये कुनै प्रतिवादी र वादीको कुरा (मुख) मिल्यो भन्दैमा पक्षहरूबिच सहमति भएको वा विवाद बाँकी नरहेको भनी मान्न नमिल्ने । कुनै दुई अंशियारबिचको सहमतिले सो कुरामा सहमत नभएका तेस्रो अंशियारको हकमा असर पर्न नसक्ने । 

(प्रकरण नं.४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विदुषी वैतनिक अधिवक्ता श्री सुधा धिताल 

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री पूर्णप्रसाद बास्तोला

बझाङ जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:-

मा. मुख्य न्यायाधीश श्री यज्ञप्रसाद बस्याल

मा. न्यायाधीश श्री शेखरचन्द्र अर्याल

उच्‍च अदालत दिपायल

 

फैसला

न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः 

तथ्यगत बेहोरा

बुबा किडौला जैसीका छोरा जेठा बृखराज जैसी, माहिला तुलाराम जैसी र कान्छो म शिवराज जैसी तीन भाइ हौं । बुबा २०५६ सालमै परलोक हुनुभयो । अहिले आमा धनुदेवी र हामी छोराहरूसमेत चार अंशियार छौं । हामी तीनै दाजुभाइ २०४६ सालमा चल अचल सम्पत्तिको भागबन्डा गरी अलग बसेका थियौं । सो समयमा मेरो विवाह नभएको र म बुबा आमासँगै रहेको थिएँ । मेरो हिस्साको चल अचल सम्पत्ति बुबा आमा जिम्मा छोडी म २०४६ साल जेष्ठ महिनामा रोजगार गर्न विदेश भारतको बंगलोरतर्फ गएको थिएँ । म घरमा नभएको कारण २०५१ सालमा तीनैजना दाजु भाइका हकभोगको जग्गा बुबा किडौलाका नाउँमा नाप जाँच दर्ता भएको रहेछ । मैले भारतमै विवाह गरेँ । २०५६ सालमा बुबा परलोक भएपछि मिति २०६५ सालमा म घरमा आइ बुबाका नाममा दर्ता भएको सम्पूर्ण जग्गा हामी तीनै दाजु भाइका नाउँमा दाखिल खारेज नामसारी गरी मेरा हिस्साको भाडा, वर्तन, जग्गा, जमिन आमा जिम्मा छोडी म विदेश भारततर्फ गई उतै रोजगार गरी बसेको थिएँ । घरमा आमा विरामी भएको खबर पाएर घरमा आएका बखत प्रतिवादी दाइहरू कहाँ गई जग्गा साझा राख्नुभन्दा आ-आफ्ना नाउँमा बन्डा गर्नुपर्‍यो भन्दा प्रतिवादीमध्येका दाइ तुलारामले तलाई अंश दिँदैनौ; घरमा पनि बस्न पाउँदैनस् भनी आमासमेतलाई कुटपिट गरी मलाईसमेत घरबाट निकाला गरेकाले अन्यायमा परी यो फिराद गर्न आएको हुँ । प्रतिवादीहरूबाट अंशबन्डा गर्नुपर्ने चल अचल सम्पत्तिको तायदाती फाँटवारी लिई ४ भागको १ भाग अंश र मेरो विवाह खर्चका साथै कोर्ट फीसमेत दिलाई भराई पाउँ भन्ने फिराद दाबी ।

मेरा ससुरा किडौला जैसीको मृत्युपश्चात्‌का हकदारमा सासु, जेठाजु, मेरा पति र देवरसमेत गरी गरी ४ अंशियार रहेको यथार्थ हो । ससुरा जीवित रहँदाकै समयमा २०४६ सालमा मेरा पतिका भाइहरूबिच नरम-गरम मिलाई घरसारमा बन्डा गर्न मत मिली मानो छुट्टिई चल सम्पत्ति हातोहात बुझी लिई घरसारमा बन्डा गर्दा अचल सम्पत्ति कानूनी रूपमा बन्डा नगरी बसेका हुन् । २०५६ सालमा ससुरा परलोक भएपछि सासूको सहमतिमा ससुराका नामको जग्गा मेरा पतिसमेत तीन भाइको नाममा नामसारी भई आएको थियो । मेरा पति तुलाराम र फिरादी एकासगोलमा रहे बसेका अवस्थामा घर सल्लाहबमोजिम फिरादी भारतमा जाँदा मेरा पति घरमा नै बस्ने भएकोले वादी देवरले आफ्नो चल र अचल सम्पत्ति मेरा पतिको जिम्मा दिई नोकरी गर्न गएका हुन् । मेरा पतिले पहाडमा भएको चल-अचल सम्पत्तिबाट बढे बढाएको रूपैयाँ, सुन, चाँदी वादीले लिनु भएको र वादी देवरले भारतबाट कमाएको रकमले किनेका जग्गासमेत मेरा पति र निज वादीको नाममा मात्र अंशबन्डा गरिपाउँ भन्ने तुलाराम जैसीको हकमा निजकी पत्नी नर्मादेवी जैसीले दिएको प्रतिउत्तरपत्र ।

वादीले उल्लेख गरेको पुस्तेवारी ठीक छ । मिति २०४६ सालमा मेरा भाइहरू आ-आफ्ना हिस्साको चल-अचल सम्पत्तिको घरसारमा भागबन्डा गरी आ-आफ्नो अंश बुझी भिन्न भएका हौं । फिरादी शिवराजले आफ्नो हिस्साको सम्पत्ति बुबा आमा जिम्मा छोडी १६/१७ वर्षको उमेरमा नै विदेश भारततर्फ गएको हो । शिवराज घरमा नभएका कारण तीनै दाजुभाइहरूको हक भोगको जग्गा बुबाका नाममा दर्ता भएको हो । म धनुदेवीको हेरविचार छोरा बृखराजले गरी आएका छन् । फिरादी शिवराजका हकभोगको जग्गा र मेरो जिउनीको हालको कि.नं. ६८८ समेतको जग्गा म धनुदेवीले भोगी आएकी छु । शिवराजको विवाह हुँदा हामीले एक रूपैयाँ पनि विवाह खर्च दिएको छैन । म बृखराजले आफ्ना आँतका बलबाट खनजोत गरी आफ्नो साबिक गैराडाँडाको छेउतर्फ कि.नं. १४१५ को जग्गा बढाई सो जग्गामा घरसमेत बनाएको छु । धनुदेवी जैसीको जीउनीमा परेका कि.नं. ६८८, ६९७, ७१५ का ३ कित्ता र म बृखराजको आफ्नै बल परिश्रमबाट आर्जन गरेको कि.नं. १४१५ को जग्गा परसारी भाइ शिवराजको विवाह खर्चसमेत छुट्याई बाँकी जग्गाको तीन हिस्सा बन्डा छुट्याइ पाउँ भन्ने धनुदेवी जैसी तथा बृखराज जैसीको संयुक्त प्रतिउत्तरपत्र ।

प्रतिवादीमध्येका बृखराज जैसीका नाउँको कि.नं. १४३४ को क्षेत्रफल ०३६०५ व.मि. जग्गा निजको स्वआर्जनको भएकाले बन्डा हुन नपर्ने भन्ने वादी शिवराज जैसीको निवेदनबाट देखिएको र सो कित्ताउपर अन्य प्रतिवादीहरूको पनि दाबी बिरोध रहेको नदेखिँदा सोबाहेक वादी शिवराज जैसीका नाउँका तायदातीबाट प्राप्त कि.नं ८२९, ८५६ र नर्मादेवी जैसीका नाउँको कैलाली देवहरिया गा.वि.स. वडा नं ५ को कि.नं ८५५ एवं तुलाराम, बृखराज र शिवराज जैसीका संयुक्त दर्तामा रहेका जग्गाहरूबाट चार भाग लगाई तीन भाग प्रतिवादीहरूको भाग पर सारी १ भाग यी वादीले अंश पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू बझाङ जिल्ला अदालतको मिति २०७३/५/५ को फैसला ।

जिल्ला बझाङ, चैनपुर गा.वि.स. वडा नं. ५ कि.नं. १४३४ को जग्गा बुबाको पैतृक जग्गा हो; उक्त जग्गा प्रतिवादी बृखराज जैसीले नापजाँचमा आफ्ना नाममा नापी गराएको भए तापनि सबै अंशियारहरूको भाग लाग्ने जग्गा हो । निजको स्वआर्जनको जग्गा होइन । कानूनबमोजिम अंशबन्डा नभएसम्म जुनसुकै अंशियारका नाममा भएको सम्पत्ति पनि बन्डा लाग्छ । अतः कि.नं. १४३४ को जग्गा बृखराज जैसीको स्वआर्जनको ठहर्‍याई भएको सुरू बझाङ जिल्ला अदालतबाट भएको फैसला बदर गरी उक्त जग्गासमेत सबै अंशियारको बन्डा लाग्ने गरी न्याय निरूपण गरिपाउँ भन्ने प्रतिवादी तुलाराम जैसीको हकमा निजकी पत्‍नी नर्मादेवी जैसीले पुनरावेदन अदालत दिपायलमा गरेको पुनरावेदनपत्र ।

प्रतिवादी तुलाराम जैसी र बृखराज जैसी तथा वादी शिवराज जैसीसमेतका संयुक्त नाममा दर्ता रहेकोमध्ये कि.नं. १४३४ को एक कित्ता जग्गा संयुक्त दर्तावाला जग्गाधनीमध्ये बृखराज जैसीको स्वआर्जनको ठहर्‍याई सो एक कित्ता जग्गा अन्य अंशियारको अंशभाग नलाग्ने गरेको हदसम्म सुरू बझाङ जिल्ला अदालतको मिति २०७३/५/५ को फैसला नमिलेकोले सो हदसम्म उक्त फैसला केही उल्टी भई सो कि.नं. १४३४ क्षे.फ. ०३६०५ वर्ग मिटरको जग्गा पनि अंशियारबिच बन्डा लाग्ने ठहर्छ भन्‍नेसमेत बेहोराको उच्‍च अदालत दिपायलको मिति २०७४/१२/१९ को फैसला ।

जिल्ला बझाङ, चैनपुर गा.वि.स. वडा नं. ५ कि.नं. १४३४ क्षे.फ. ०३६०५ व.मि. जग्गा म बृखराज जैसीको निजी आर्जनको जग्गा हो । प्रतिवादी तुलाराम जैसीको हकमा निजको पत्‍नी नर्मादेवीले सो जग्गा सगोलको भएकाले सो जग्गासमेतबाट बन्डा लगाइ पाऊँ भनी पुनरावेदन दिएको भए तापनि सोको कुनै प्रमाण पेस गर्न सकेको छैन । सुरू बझाङ जिल्ला अदालतको आदेशानुसार तायदाती फाँटवारी पेस भई कोर्टफी दाखेल गर्दा सो जग्गाको हकमा कोर्टफी राखिएको छैन; उक्त जग्गा दाजु बृखराजको निजी हो; सो जग्गामा मेरो कुनै पनि हक लाग्दैन भनी वादी शिवराज जैसीले स्वयं निवेदन दिएको कुरा फैसलामा उल्लेख छ । निजी आर्जन भनी पेस भएको तायदाती फाँटवारी एक अर्कालाई सुनाउँदा तुलाराम जैसीको हकमा अनुमति पाएका नर्मादेवी जैसीसमेतले कागज गरिदिएको अवस्था छ । उक्त प्रमाण कागजबाट कि.नं. १४३४ क्षे.फ. ०३६०५ व.मि. जग्गा मेरो निजी आर्जनको हो भन्ने स्पष्ट हुँदाहुँदै सो जग्गासमेत सबै अंशियारमा बन्डा लाग्ने गरी उच्च अदालत दिपायलबाट भएको त्रुटिपूर्ण फैसला बदर गरी सुरू अदालतबाट भएको फैसला सदर गरिपाउँ भन्‍ने प्रतिवादी बृखराज जैसीले यस अदालतमा गरेको पुनरावेदनपत्र ।

यस अदालतको ठहर

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी बृखराज जैसीको तर्फबाट उपस्थित विदुषी वैतनिक अधिवक्ता श्री सुधा धितालले कि.नं. १४३४ को जग्गा बृखराज जैसीको स्वआर्जनको जग्गा हो; उक्त जग्गासमेत सबै अशिंयारबिच बन्डा लाग्ने गरी उच्च अदालत दिपायलबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सुरू बझाङ जिल्ला अदालतको फैसला सदर हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।

अब यसमा सुरू जिल्ला अदालतको फैसला केही उल्टी गरी विवादित कि.नं. १४३४ को जग्गासमेत अंशबन्डा लाग्ने ठहर गरेको उच्च अदालत दिपायलको फैसला मिलेको छ वा छैन ? प्रतिवादी बृखराज जैसीको पुनरावेदन जिकिर पुग्ने हो वा होइन ? भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, वादी तथा प्रतिवादीहरूबिच नाता सम्बन्धको कुरामा विवाद देखिएन । मूल पुरूष किडौला जैसी, निजको पत्नी धनुदेवी जैसी, निजहरूबाट जन्मेका छोराहरू जेठा बृखराज जैसी, माहिला तुलाराम जैसी र कान्छो शिवराज जैसी हुन भन्ने तथ्य विवादरहित अवस्थामा रहेको देखिन्छ । किडौला जैसीको २०५६ सालमा परलोक भएको हुँदा वादी प्रतिवादीहरू कूल ४ जना मात्र अंशियार रहेको देखिएको छ । प्रतिवादीहरूले समेत वादीलाई अंशियार भएकाले निजले अंश पाउनुपर्ने हो भनी स्वीकार गरेको देखिन्छ । तदनुसार अंशबन्डा हुने ठहर भएको कुरामा प्रश्न उठाइएको पनि देखिँदैन । कि.नं. १४३४ को जग्गाबाहेकका सम्पत्ति बन्डा हुने गरी भएको फैसला सम्बन्धमा अंशियारहरूले चित्त बुझाई बसेको देखिएको छ । केवल प्रतिवादी बृखराज जैसीले कि.नं. १४३४ को जग्गा आफ्नो स्वआर्जनको सम्पत्ति भएकोले बन्डा गर्नुपर्ने होइन भन्‍ने जिकिर लिएको कुरामा विवाद रहेको पाइयो । उक्त कि.नं. १४३४ को जग्गा प्रतिवादी बृखराजको स्वआर्जनको हो वा सो जग्गा सबै अंशियारबिच बन्डा हुने सगोलको सम्पत्ति हो भन्ने कुरासम्म अहिले निरूपण गर्नुपर्ने देखियो । 

३. मुलुकी ऐन, अंशबन्डाको १८ नं. मा "मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नं.बमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । सोबाहेक कुनै अंशियारले आफ्नो ज्ञान सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नं.बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ । बन्डा गर्न कर लाग्दैन । अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खती उपति आफ्नो आफ्नो गरी आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन लाएको ऋण आफ्नो आफ्नो हुन्छ" भन्ने व्यवस्था रहेको देखिन्छ । विवादित सम्पत्ति उल्लिखित कानूनी व्यवस्थाको परिधिभित्र पर्छ वा पर्दैन भन्ने प्रश्नतर्फ दृष्टिगोचर हुन सान्दर्भिक छ । उल्लिखित किंनं. १४३४ को जग्गा साबिकमा यी वादी प्रतिवादीका पति तथा बाबु नाताका किडौला जैसीका नाम रहेको र निजको नामबाट नामसारी भई बृखराज, तुलाराम र शिवराज जैसीका नाममा संयुक्त रूपमा दर्ता रहेको देखिन्छ । जग्गाको साबिक स्रोत पैतृक रहेको प्रस्ट छ । उक्त कि.नं. १४३४ को क्षे.फ. ०३६०५ व.मि. जग्गा पुनरावेदक प्रतिवादी बृखराजको एकल नाममा दर्ता रहेको भन्ने देखिँदैन । औपचारिक लिखतबाट अन्यथा अभिप्राय नदेखिएसम्म संयुक्त दर्तामा रहेको सम्पत्तिमा सवै दर्तावालाहरूको समान हक रहेको छ भनी अदालतले अनुमान गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त, एकासगोलमा रहेका अंशियारमध्ये जोसुकैका नाममा रहेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सबै अंशियारबिच बन्डा लाग्ने सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नुपर्ने प्रावधानसमेत प्रमाण ऐन, २०३१ को दफा ६(क) मा रहेको देखिन्छ । कि.नं. १४३४ को जग्गा प्रतिवादी बृखराज जैसीको स्वआर्जनको भनी पुष्टि हुने कुनैपनि प्रमाण निज प्रतिवादीले पेस गर्न सकेको देखिँदैन । तीन जना अंशियारका नाममा संयुक्त रूपमा दर्ता कायम रहेको जग्गालाई प्रतिवादी बृखराजको मात्र निजी आर्जनको मान्न र अन्य अंशियारलाई बन्डा नलाग्ने भन्नु तर्कपूर्ण हुँदैन ।

४. कि.नं. १४३४ को जग्गा बृखराजको निजी हो, सो जग्गामा आफ्नो कुनै पनि हक लाग्दैन भनी वादी शिवराज जैसीले निवेदन दिएको भनी यसलाई निजी आर्जनको स्वीकारोक्तिको रूपमा लिनु पर्ने अभिप्रायले जिकिर गरिएको देखिन्छ । वस्तुत: वादी प्रतिवादीहरूबिच मुख मिलेको हुनका लागि मुद्दाका सवैजना वादी प्रतिवादीहरूबिच साझा सहमति भएको वा समान कुरामा स्वीकारोक्ति रहेको देखिनु आवश्यक हुन्छ । मुद्दामा रहेका एकभन्दा बढी प्रतिवादीहरूमध्ये कुनै प्रतिवादी र वादीको कुरा (मुख) मिल्यो भन्दैमा पक्षहरूबिच सहमति भएको वा विवाद बाँकी नरहेको भनी मान्न मिल्दैन । कुनै दुई अंशियार बिचको सहमतिले सो कुरामा सहमत नभएका तेस्रो अंशियारको हकमा असर पर्न सक्तैन । तसर्थ, विवादित कि.नं.१४३४ को जग्गासमेतका तायदाती फाँटवारीमा उल्लेख भएका सम्पत्ति सबै अंशियारहरूबिच बराबर अंश भागबन्डा लाग्ने नै देखिन आयो । 

५. अत: कि.नं. १४३४ को क्षे.फ. ०३६०५ व.मि. जग्गासहित तायदाती फाँटवारीमा उल्लेख भएका सबै सम्पत्ति सबै अंशियारहरूबिच अंश भागबन्डा लाग्ने ठहर गरेको उच्च अदालत दिपायलको मिति २०७४/१२/१९ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । उच्च अदालतको फैसला उल्टी गरी सुरू अदालतको फैसलाअनुसार कि.नं. १४३४ को जग्गा अंशबन्डा गर्न नपर्ने निजी आर्जनको ठहर गरिपाउँ भन्ने प्रतिवादी बृखराज जैसीको पुनरावेदन जिकिर पुग्न सक्दैन । 

६. प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी, मुद्दाको दायरीको लगत कट्टा गरी, मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या.नहकुल सुवेदी

 

इजलास अधिकृत:- डल्लुराम चौधरी

इति संवत २०७८ साल माघ २ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु