शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४८४ - अपहरणपश्‍चात् हत्या

भाग: ६७ साल: २०८२ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायधीश डा. श्री आनन्दमोहन भट्टराई

माननीय न्यायधीश डा. श्री कुमार चुडाल

फैसला मिति : २०८०।०८।१७

 

मुद्दा : अपहरणपश्‍चात् हत्या

 

०७५-CR-०३५६

पुनरावेदक / वादी : परशुराम यादवको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला रूपन्देही साबिक मझगांवा गा.वि.स. वडा नं.४ हाल ऐ. कोटहीमाई गाउँपालिका वडा नं.५ बस्ने जलिल चुरीहारको छोरा बरकत अलि चुरीहारसमेत

 

०७४-CR-०९१८

पुनरावेदक / प्रतिवादी : जिल्ला रूपन्देही करौता गा.वि.स. वडा नं.९ पिपरी घर भई हाल नयाँबस्ती घरभै हाल कारागार कार्यालय सुनसरीमा भई हाल कारागार कार्यालय जगन्‍नाथ देवल सेन्टर जेलमा थुनामा रहेका भदई एवं अरमान भन्‍ने अमामुद्दिन मुसलमान

विरूद्ध

प्रत्यर्थी / वादी : परशुराम यादवको जाहेरीले नेपाल सरकार

०७४-CR-०९८४

पुनरावेदक / प्रतिवादी : जलिल चुरिहारको छोरा जिल्ला रूपन्देही मझगावा गा.वि.स. वडा नं.४ बस्ने मझगावा घर भई हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेको वरकत अलि चुरीहार

विरूद्ध

प्रत्यर्थी / वादी : परशुराम यादवको जाहेरीले नेपाल सरकार

 

क्षेत्राधिकारमा क्षेत्रीयताको अतिरिक्त राष्ट्रियता तथा हानिको सिद्धान्तसमेतको अनुशरण गरेको पाइने । नेपाली नागरिकलाई अपहरण गरी नेपालबाहिर लगिन्छ भने पनि नागरिकको रक्षा गर्ने तथा अपराधजन्य कार्यको कारण नेपाली नागरिकलाई पर्न गएको क्षतिसमेतलाई मध्यनजर गरी सो आधारमा कानूनले नेपालका अदालतलाई मुद्दा हेर्ने क्षेत्राधिकार प्रदान गरेको देखिने ।

(प्रकरण नं.२)

प्रतिवादीहरूबाट नाबालकलाई अपहरण गर्ने र हत्या गर्नेसमेतका कसुर हुन गएको भनी अभियोग पत्र पेस भएको एउटै कारोबार (single transaction) को शृङ्खला हुँदा भारतमा लास फेला परेको भन्‍ने मात्र कारणले नेपालमा मुद्दा नचल्ने भन्‍न नमिल्ने । 

भारतसँग नेपालको खुला सीमा रहेको कारण पनि नेपाली नागरिकलाई अपहरण वा अन्य तरिकाले भारत लगी भारतमा थप कसुर गर्ने सम्भावना रहने हुँदा हामीहरूले क्षेत्राधिकारको विषयमा क्षेत्रीयताको अतिरिक्त राष्ट्रियता र हानिको सिद्धान्तलाई समेत अङ्गीकार गरेमा मात्र हामीहरूले आफ्ना नागरिकको सुरक्षा गर्न सकिने । 

अपहरण र हत्या एउटै कारोबारको शृङ्खलाको रूपमा घटेको हुँदा नेपालको अदालतलाई प्रस्तुत मुद्दाको सुनुवाइ गर्ने क्षेत्राधिकार रहे भएको देखिँदा अभियोग पेस भई सुनुवाइ गरेकोलाई क्षेत्राधिकारविहीन भन्न नमिल्ने । 

(प्रकरण नं.३)

 

वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री शम्भु कुमार बस्नेत 

प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री गिरिराज दाहाल 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने न्यायाधीशः- 

माननीय न्यायाधीश श्री शंकरराज बराल

रूपन्देही जिल्ला अदालत

पुनरावेदन तह फैसला गर्ने :

मा. न्यायाधीश श्री नरबहादुर शाही

मा. न्यायाधीश श्री शान्ता सेढाई सापकोटा

उच्च अदालत तुलसीपुर, बुटवल इजलास

 

फैसला

न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको पुनरावेदन दायरीमा दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:-

तथ्य खण्ड

मेरो छोरा संजय भन्ने दिवाकर यादव मिति २०६८।२।२३ मा अपहरणमा परेकोमा सो सम्बन्धमा अदालतमा मुद्दा दायर भए तापनि अपहरित छोरा फेला परेको थिएन । नेपाल प्रहरी, भारतीय प्रहरी, मेरा भारतमा रहेका चिनजानका मित्रहरू मिली खोजतलास जारी रहेकोमा सो घटनामा धम्की दिई फिरौती माग गर्ने रमेश यादवलाई भारतको बम्बईमा फेला पारी भारतीय प्रहरीको सहयोगले सोधपुछ गरेका थियौं । निज रमेश यादवले बरकत अलि चुरीहार, आलम चुरीहार र पिन्टु भन्‍ने दुर्योधन यादवसमेत मिली मेरो छोरालाई नेपालबाट अपहरण गरी भारतमा ल्याएको, मलाई अलि चुरीहार र पिन्टु भन्‍ने दुर्योधन यादवले भारतीय नं. को सिम दिई फिरौती रकम माग गर्न भनेकाले सोहीअनुसार रकम माग गरेको हुँ, परशुराम यादवले भा.रू.५ लाख फिरौती दिन्छु भनेको कुरा निज बरकत अलिलाई जानकारी गराउँदा पनि निजले बच्चा छाडिदिन मानेनन् । उक्त घटनामा अंशु तथा आशु भन्ने राहुल प्रताप सिंह, तौलन भन्ने तुल्लाह मुसलमान, ओपी भन्ने ओमप्रकाश पासवान, मनसुर आलमसमेतको संलग्नता छ । बच्चा तुल्ला मुसलमानको साथमा छ भनी बताएका थिए । सो हुनाले तुल्ला मुसलमानकोमा खोजतलास गर्दा फेला नपरेको र निजकै गाउँका प्रधान बिनोदकुमार जैसवालसँग सहयोग माग गरी निजका परिवारसँग समन्वय गर्दा तुल्ला मुसलमानले फोनबाट गाउँका प्रधान तथा प्रहरीलाई बालकको शव बडेहारी स्थित घोलामा पुरिएको अवस्थामा छ भन्नेसमेत बताई दिएकोले निजले बताएको स्थानमा गई खोजतलास गर्दा अपहरित छोराको शव मिति २०६८।११।१३ मा नालन्दा स्कुलको ड्रेस र बेल्टसहित फेला परेकोले भारतीय प्रहरीमार्फत पोष्टमार्टम गराई सदगतको लागि जिम्मा बुझी सतगत गरेको हुँ । मेरो छोरालाई छुटाई दिन्छौ भनी फिरौती स्वरूप नख्खु बाबा भन्ने श्रवण पाण्डे, अरमान मुसलमान भन्ने व्यक्तिलाई रू.१ लाख, कुदरत मुसलमानलाई भा.रू ६ लाख रकम दिँदासमेत निजहरूले मेरो छोराको हत्या गरेका छन् भन्नेसमेत बेहोराको पर्शुराम यादवको जाहेरी दरखास्त ।

मलाई पिन्टुले फोन गरी भारत नौतनवा मधुवनी स्कुल नजिक बोलाएका थिए । सो ठाउँमा पुगी आलाम चुरिहारको साला निजलाई मैले भेट गरेँ । निज पिन्टु, आलम, आलमको ससुरा मन्सुर आलमको घरबाट जाहेरवाला परशुराम यादवको छोरालाई लिएर आए, निजहरूले भनेअनुसार निजहरूसँग मिली उक्त बालकलाई मोटरसाइकलमा राखी भारत सोनवर्षा पुलसम्म छाडी फर्केको हुँ । त्यसको दोस्रो दिन पिन्टु र बरकतले परशुरामलाई फोन गरी ७५ लाख फिरौती रकम माग गर्न भनेकाले फोन गरी फिरौती रकम माग गरेको हुँ । सो घटना सम्बन्धमा कुरा गर्दा बरकत अली र आलमसँग कुरा हुन्थ्यो, कहिलेकाहीँ आलमले बरकतसँग कुरा गराउँदथे । परशुराम यादवले फिरौती स्वरूप रू.३/४ लाख दिन्छु भनेका छन्, बच्चा फिर्ता दिन भनी मैले बरकतलाई भन्दा भर्खर नयाँ मोटरसाइकल किनेको छु सो रकम र अरूलाई दिनसमेत पुग्दैन भनी बच्चा फिर्ता दिन नमानेका हुन भन्नेसमेत बेहोराको प्रतिवादी रमेश यादव भन्नेले हिन्दी भाषामा बताएको श्रव्यदृश्य रेकर्ड ।

त्यसैगरी मलाई तुल्लाले बोलाएकाले निज र म भारत एक्सडहवासम्म गएकोमा सो स्थानमा अपहरित बच्चा, निजको मामा (पिन्टु भन्ने व्यक्ति), रमेश यादव र बरकतको भाइसमेत आएका थिए । उक्त बच्चालाई मोटरसाइकलमा राखी म कोल्हुईसम्म पुगेकोमा मोटरसाइकल खराब भएकाले म सो स्थानमा झरी घर गएको हुँ । त्यसपछि बच्चालाई तुल्ला मुसलमानसमेतले लगेका हुन् । बरकत अलि, बरकतको भाइ (आलम), रमेश यादव, तुल्लाह मुसलमान र मसमेत बृजमनगंजसमेतमा भेट गरेका हौं । उनीहरूले एकआपसमा कुरा गर्दा बच्चा पढ रहा है, ४/५ लाख रूपैया दिन्छु भनेका छन् भन्ने भनेको सुनेको हुँ, बरकत अलि बृजमनगंजमा आउँदा नम्बर नभएको मोटरसाइकल लिएर आउने गर्दथे । बरकत र तुल्लाह मुसलमान रिस्तेदारसमेत रहेकाले कुराकानी गर्दथे । बच्चाको सम्बन्धमा तुल्लाह मुसलमानलाई थाहा होला भन्नेसमेत बेहोराको हिन्दी भाषामा अन्सु भन्ने राहुल प्रताप सिंहले बताएको जाहेरवालाले पेस गरेको श्रव्यदृश्य रेकर्ड रहेको ।

जाहेरवालाले मेरो छोरा अपहरणमा परेकोले खोज तलासको लागि सहयोग गरिदिनुपर्‍यो भनेकोले मलाई जानकारी भएसम्मका मानिसहरूसँग सोधपुछ गरिरहेको अवस्थामा जेठा बाबु हरूफ चुरीहारको छोरा आलम चुरिहारसँग ४/५ वर्ष पहिले चिनजान भएको राम्रो चालचलन नभएको व्यक्ति रमेशको फोन नं. माग्दा निजले मलाई रमेश यादवको नं. नदिएको र मेरो नं. रमेश यादवलाई दिएका रहेछन् । रमेश यादवले मेरो ९८०४४००९९७ नं. मा भारतीय ९१७५०७३७७०३६ नं. बाट फोन गरेकाले मैले हाम्रो गाउँको पर्शुराम यादवको छोराको अपहरण भएको छ, सो सम्बन्धमा तपाइँलाई थाहा जानकारी भएको भन्ने निज पर्शुराम यादवबाट थाहा हुन आएकोले सो बच्चा कहाँ छ फर्काई दिनुपर्‍यो भनेको हो । निजले बच्चा कहाँ छ भन्ने आफूलाई थाहा नभएको र आफू केवल रकम माग गर्ने हो भनी पटकपटक फोन सम्पर्क हुँदा बताएको हो । त्यसपश्चात् रमेश यादवसँग मेरो भेटघाट फोन सम्पर्कसमेत भएको छैन । संजय भन्ने दिवाकर यादवको अपहरण मैले गरेको हैन । को कसले गरे मलाई थाहा जानकारी भएन । जाहेरी दर्खास्तसाथ पेस हुन आएको श्रव्यदृश्यमा भएका निज रमेश यादवलाई मैले चिने, निजले मलाई किन मुख्य योजनाकार भने जानकारी भएन । निजले मलाइ फोन गर्दा फिरौती रकम लिएर बच्चा छाडिदेउ भनेको हो । मैले नागार्जुन ट्रेडर्सबाट मोटरसाइकल किनेको हो । सो सम्बन्धमा निजलाई केही भनेको छैन । निजले मलाई पटकपटक फोन गर्ने गर्दथे तर निजलाई रकम सम्बन्धमा कुनै कुराकानी गरेको हैन, किन त्यसरी बरकत अलिले नमानेकोले अपहरित बच्चा मुक्त नगराएको भने थाहा भएन । मैले २०६८।२।२९ मा नागार्जुन ट्रेडर्सबाट कुल रू.१,८६,९००।– मध्ये रू.७४,०००।– दिई केही समय अनटेष्ट चलाएको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी बरकत अलि चुरीहारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६८।२।२३ गतेदेखि अपहरणमा परेका जाहेरवाला पर्शुराम यादवको छोरा दिवाकर यादवलाई खोजतलास गर्ने क्रममा पटकपटक फोन सम्पर्क गरी फिरौती रकम माग गर्ने रमेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी घटना सम्बन्धमा सोधपुछ गर्दा निज संजय भन्ने दिवाकर यादवलाई बरकत अलि चुरीहार, पिन्टु भन्ने दुर्योधन यादवसमेतले मिलि अपहरण गरी भारतमा ल्याएको हुन् । सो घटनामा मसमेत जाहेरी दरखास्तमा उल्लिखित आसु तथा अन्सु भन्ने राहुल प्रताप सिंह, तुल्ला मुसलमान, आलम चुरीहारसमेतका व्यक्तिको संलग्नता छ । निज बरकत अलिले फिरौती रकम माग गर्न भनी भनेकाले फोन गरी फिरौती रकम माग गरेको हुँ । अपहरित बालक के कहाँ छन् भन्ने सम्बन्धमा अन्सु तथा आसु भन्ने राहुल प्रताप सिंह, तुल्ला मुसलमानसमेतलाई थाहा होला भनी बताएकोले निज अन्सु तथा आसु भन्ने राहुल प्रताप सिंहलाई भारतीय प्रहरीले सोधपुछ गर्दा सो घटना घटाउने मुख्य अपहरित बच्चा हाल के कहाँ छन् भन्ने सम्बन्धमा तुल्ला मुसलमानलाई थाहा होला भनी बताई निज तुल्ला मुसलमानलाई खोजतलास गर्न निजको घरमा फेला परेनन् । तुल्ला मसलमानले भारतीय प्रहरी र निजको गाउँ प्रधान विनोद कुमार जैसवाललाई फोन गरी बालक संजय भन्ने दिवाकर यादवको शव भारत जिल्ला महाराजगंजअन्तर्गत पर्ने बडेहारी स्थित घोलामा पुरेको अवस्थामा छ भनी बताई उक्त स्थानमा गई खोजतलास गर्दा अपहरित बालकको शव फेला परी सनाखत भएको हो । बरकत अलि चुरीहारसमेतका प्रतिवादीहरू मिली जाहेरवालाको छोरा संजय भन्ने दिवाकर यादवलाई अपहरण गरी बन्धक बनाई फिरौती रकमसमेत लिई हत्या गरेका रहेछन् । प्रतिवादी तुल्ला मुसलमानको भारत स्थित गाउँघरमा बुझ्दा बरकत अलि चुरिहारले निजसँग पहिले देखि नै भेटघाट गर्दथे, बरकत अलि चुरिहारउपर २०६५।०६६ सालमा सवारी दर्ता किर्ते मुद्दा पर्दा निज फरार रहँदा तुल्ला मुसलमानको घरमा बसेका थिए भन्नेसमेत बताएका थिए । यस घटना सम्बन्धमा मैले अपहरण तथा शरीर बन्धक मुद्दामा रूपन्देही जिल्ला अदालतमा बकपत्रसमेत गरेको छु । यसरी अपहरणपश्चात् हत्याको वारदात घटनाउने सम्पूर्ण प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही होस् भन्नेसमेत बेहोराको उमाशंकर यादवले गरेको घटना विवरण कागज ।

उमाशंकर यादवले गरेसरह करिब एकै मिलान बेहोरा उल्लेख गर्दै अपहरित बालकको शव भारत महाराजगंजको बडेहारी स्थित घोलामा उत्खनन गर्दा नालन्दा स्कुलको ड्रेस बेल्टसहित पुरेको अवस्थामा फेला परेको हो । मसमेत उक्त स्थानमा गई सनाखत गरी भारतमै पोष्टमार्टम गराई सतगतको लागि जिम्मा बुझेको हो । यस घटनामा संलग्नमध्येका रमेश यादव, ओपि भन्ने ओमप्रकाश पासवान र अन्सु तथा आसु भनेर चिनिने राहुल प्रताप सिंहलाई भारतीय प्रहरीले फेला पारेको केहि दिनमै मिति २०६८।११।१३ गते अपहरित बालक संजय भन्ने दिवाकर यादवको शव फेला परेको हो । जाहेरी दर्खास्तमा उल्लिखित प्रतिवादीहरूको मिलेमतोमा बालक संजय भन्ने दिवाकर यादवलाई अपहरण गरी भारतमा लगि आलम चुरिहारको ससुरा मंसुर आलम, राहुल प्रताप सिंह, तुल्ला मुसलमानसमेतको घरमा बन्धक बनाई फिरौती रकम समयमा नै नपाएकोले हत्या गरेका रहेछन् । रमेश यादवले बालकलाई छाडिदेउ भनी बरकत अलि चुरिहारलाई भन्दा जाहेरवालाले दिन्छु भनेको रकमले सबैलाई बाँड्न तथा भर्खर किनेको मोटरसाइकलको पैसा तिर्नसमेत पुग्दैन भनी बरकतले नमानेकाले बालक अपहरणमुक्त हुन नसकेको हो भन्नेसमेत थाहा हुन आएको हो भन्नेसमेत बेहोराको सुरेन्द्र यादवले गरेको घटना विवरण कागज । 

जिल्ला रूपन्देही मझगांवा गा.वि.स.वडा नं. ४ स्थित पूर्वमा छोटकी मझगांवादेखि इतहिया जाने कच्ची बाटो, पश्चिममा अब्दुल करिम चुरीहारको जग्गा, उत्तरमा सेवक मुराउको घर, दक्षिणमा सन्तोष कुमार ठाकुरको खाली जग्गा, यति चार किल्लाभित्र रहेको बरकत अलि चुरीहार अब्दुल करिम चुरीहारको दक्षिण मोहडा भएको घर खानतलासी गर्दा बा.४५प.४४०९ नं. को मोटरसाइकल फेला पारी बरामद गरेको भन्ने खानतलासी बरामदी मुचुल्का ।

प्रतिवादी वरकत अलि चुरीहार आ.व.०६५/०६६ सालमा यस कार्यालयमा दर्ता भएको किर्ते मुद्दामा फरार रही प्रतिवादी तुल्ला मुसलमानको घरमा बस्ने गरेको भनी बुझ्न आई पुरानो अभिलेख हेर्दा निज प्रतिवादी सवारी दर्ता किताब किर्ते मुद्दामा मिति २०६५।१२।३ गतेदेखि ऐ .२३ गतेसम्म फरार देखिएको भन्ने प्रहरी प्रतिवेदन । अपहरणपश्चात् हत्या मुद्दाका प्रतिवादी अरमान भन्ने अमामुदिन मुसलमानलाई जाहेरवाला पर्शुराम यादवले चिनाई दिई पक्राउ गरी दाखिला गरेको भन्ने प्रहरी प्रतिवेदन ।

जाहेरवाला पर्शुराम यादवको छोरा संजय भन्ने दिवाकर यादवको मिति २०६८।२।२३ गते अपहरण भएको र निजको अपहरण गर्ने कार्य बरकत अलि चुरीहार, आलम चुरीहार, पिन्टु भन्ने दुर्योधन यादव, तुल्ला मुसलमानसमेतका व्याक्तिहरूले घटाएको भन्ने श्रवण पाण्डेले बताएपश्चात् सो घटना सम्बन्धमा थाहा पाएको हुँ । जाहेरवाला पर्शुराम यादवले मलाई भेटी निज अपहरित बालक संजय भन्ने दिवाकर यादवको खोजतलास गरिदिनुपर्‍यो भनी भनेकाले मैले खर्च लाग्छ भनी निजबाट भारत सिद्धार्थनगर लौटन भन्ने स्थानमा पटक पटक गरी प्रतिवादी नख्खु बाबा भन्ने श्रवण पाण्डे र म मिली जाहेरवालाबाट रू. १ लाख लिएका हौ । फिरौती रकम भनी लिएको होइन । अपहरित बालकको खोजतलास गरिदिने सर्तमा उक्त रकम बुझेका हौं । सोही क्रममा निज संजय भन्ने दिवाकर यादवको शव भारत वडेहारी गाउँ नजिक घोलामा पुरेको अवस्थामा मिति २०६८।११।१३ गते फेला परी जाहेरवालाले बुझेको भनी थाहा पाएको हो । निज बालकको अपहरण गरी हत्या गर्नमा मेरो कुनै संलग्नता छैन । उल्लिखित घटनामा संलग्न रमेश यादव, तुल्ला मुसलमानसमेतलाई साथी नख्खु बाबा भन्ने श्रवण पाण्डेले राम्रोसंग चिन्छु, मैले समन्वय गर्छु भनी मलाई बताएका थिए । पिन्टु भन्ने दुर्योधन यादव, आलम चुरिहार, कुद्रत भन्ने व्यक्तिलाई मैले देखेमा चिन्ने भएको र निजहरू भारतमै लुकिछिपी बसेका छन् भन्ने थाहा पाएकोले उल्लिखित प्रतिवादीहरूसँग भेट गरी सहयोग लिएमा पक्कै अपहरित बालकलाई फिर्ता गराउन सकिन्छ भनी नख्खु बाबा भन्ने श्रवण पाण्डे र म मिली जाहेरवालाबाट रू १ लाख लिएका हौं । बरकत अलि चुरिहार, आलम चुरिहार मन्सुर आलम, रमेश यादव, तुल्ला मुसलमान, राहुल प्रताप सिंह, पिन्टु भन्ने दुर्योधन यादव, कुद्रत मुसलमान, ओम प्रकाश पासवान, लल्लु भन्ने रियाज फकिरसमेत मिली बालकलाई अपहरण गरी बन्धक बनाएका छन् भनी नख्खु बाबा भन्ने श्रवण पाण्डेले बताएका थिए भन्नेसमेत बेहोराको प्रतिवादी भदई तथा अरमान भन्ने अमामुद्दिन मुसलमानले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६८।२।२३ गते जाहेरवाला पर्शुराम यादवको एक मात्र छोरा संजय भन्ने दिवाकर यादव अपहरणमा परेकोमा निजसँगै साथमा रहि प्रहरीसँग समन्वय गरी खोजतलास गर्ने क्रममा रमेश यादव, पिन्टु भन्ने दुर्योधन यादवसमेतको संलग्नतामा अपहरण भएको र लामो समयसम्म फेला पार्न सकिएको थिएन । खोजतलासकै कममा कुद्रत भन्ने व्यक्तिले जाहेरवालासँग रकम लिएकोमा लामो समयसम्म पनि अपहरित बालकलाई फिर्ता गरेनन् । मिति २०६८।११।१३ गते भारत जिल्ला महाराजगंजअन्तर्गत वडेहारी नजिक घोलामा गाडेको अवस्थामा मृतक लास फेला परी सनाखत गरेको थाहा पाएको हो । उक्त घटना सम्बन्धमा बुझ्दा बरकत अलि चुरीहार, रमेश यादव, आलम चुरीहार, राहुल प्रताप सिंह, तुल्ला मुसलमान, मन्सुर आलम मुसलमान, नाम थाहा नभएको मन्सुर आलम मुसलमानको छोरा, नख्खु बाबा भन्ने श्रवण पाण्डे, अरमान भन्ने अमामुदिन मुसलमान, पिन्टु भन्ने दुर्योधन यादव, कुद्रत भन्ने व्यक्ति, ओम प्रकाश पासवान, लल्लु भन्ने रियाज फकिर, दिलदार मुसलमानसमेतका व्यक्तिहरूले बरकत अलि चुरीहार, पिन्टु भन्ने दुर्योधन यादव, रमेश यादव, तुल्ला मुसलमानको मूख्य भूमिका योजनामा भारतको विभिन्न स्थानमा बन्धक बनाई राखी फिरौती रकमसमेत लिई हत्या गरी गाडेको थाहा हुन आयो । यसरी अपहरणपश्चात् हत्या घटना घटाउने सम्पूर्ण प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही होस् भन्नेसमेत बेहोराको गोविन्द यादव, विष्णुदेव यादव, दुर्गाप्रसाद अधिकारीसमेतका मानिसहरूले गरेको वस्तुस्थिति मुचुल्का । 

९८०७५१४२२० नं. को मोबाइल मिति २०६९।१२।७ गते बाट मेरो नाममा रहेको छ । उक्त सिमबाट मैले कुनै घटना घटाएको छैन । अपहरणपश्चात् हत्या मुद्दाका प्रतिवादी वरकत अलि चुरीहार र आलम चुरीहारलाई मैले चिन्दिन । उल्लिखित प्रतिवादीहरूले उक्त सिम सेवा बन्द गराएपश्चात् सो सिम एन.सेल ले मेरो नाममा जारी गरेको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रेम थापाले गरेको विवरण कागज ।

जिल्ला रूपन्देही मझगांवा गा.वि.स.वडा नं. ४ बस्ने हरिफ चुरीहारको छोरा आलम चुरिहार ऐ. असुरैना गा.वि.स. वडा नं. ३ वेलाहा बस्ने छोटेलाल यादवको छोरा पिन्टु भन्ने दुर्योधन यादव, ऐ . पोखरभिण्डी गा.वि.स. वडा नं. १ बस्ने मनउर फकिरको छोरा अं वर्ष २५/३० को लल्लु भन्ने रियाज फकिर, ऐ . सिलौटिया गा.वि.स. वडा नं. १ वतन भएका अं. वर्ष ३५/३६ को दिलदार मुसलमान, भारत जिल्ला महाराजगंज ग्राम सुण्डी बस्ने हनुमान यादवको छोरा वर्ष अं. २८ को रमेश यादव, ऐ. ग्राम सहजगवा बस्ने सुरेश सिंहको छोरा अन्सु तथा आशु सिंह भन्ने राहुल प्रताप सिंह, ऐ.ग्राम बडेहारी बस्ने कनहई मुसलमानको छोरा अं. वर्ष ४० को तुल्ला मुसल्मान, ऐ. नौतनवा बस्ने मन्सुर आलम मुसलमान, ऐ, बस्ने नाम थर नखुलेको मन्सुर आलम मुसलमानको छोरा, सिद्धार्थनगर ग्राम करूवाल बस्ने हरिराम पाण्डेको छोरा, नख्खु बाबा भन्ने श्रवण पाण्डे, ऐ. महाराजगंज ग्राम गुजरौलिया बस्ने अं. वर्ष ३२ को ओपि भन्ने ओम प्रकाश पासवान भन्ने व्यक्तिसमेत नेपाल सरहदभित्र फेला नपरेको भन्ने प्रहरी प्रतिवेदन ।

प्रतिवादी कुद्रत मुसलमान भन्‍ने कुद्रत देवान फकिर मुसलमानको खोजतलास गर्दा फेला नपरेको । निजको जिल्ला रूपन्देही फरेना गा.वि.स.वडा नं. २ वतन हो भन्ने बुझिएको भन्नेसमेत बेहोराको इलाका प्रहरी कार्यालय मर्चवारबाट प्राप्त सि.नं.११०३ को प्रहरी सञ्चार । 

भारत महाराजगंज थाना बृजमनगंज पोष्ट सहेजनवा बुजमनगंज ग्राम बस्ने आशु भन्ने राहुल प्रताप सिंह र ऐ. गुजरौलिया बस्ने ओम प्रकाश पासवान श्री रूपन्देही जिल्ला अदालतको मिति २०६७।१२।२७ को फैसला अनुसार लागु औषध मुद्दामा सफाइ पाई जिल्ला प्रशासन कार्यालय, रूपन्देहीको मिति २०६८।१।२ को फैसलाअनुसार हातहतियार खरखजाना मुद्दामा सफाइ पाई निजहरू सोही मितिमा छुटी गएको रेकर्डबाट देखिएको भन्ने जिल्ला कारागार कार्यालय रूपन्देहीको पत्र । 

प्रतिवादीहरूले कसुरको मात्रा र गुरूत्व (Gravity of crime) मा बढावा दिनेगरी नाबालकको अपहरणपश्चात् कर्तव्यको वारदात सम्पन्न भएको छ । संजय भन्ने दिवाकर यादवलाई प्रतिवादीहरूले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको कानूनी व्यवस्था अनुरूप अपहरण गरिएको वा बन्धक बनाइएको व्यक्तिको हत्या गरिएको अवस्थामा त्यो हत्याको कसुरमा परिणत हुने र ज्यानसम्बन्धीको महलसमेत आकर्षित हुन्छ । प्रतिवादीहरू बरकत अलि चुरीहार, आलम चुरीहार, भदई तथा अरमान भन्ने अमामुदिन मुसलमान, कुद्रत भन्ने देवान फकिर मुसलमानउपर मुलुकी ऐन, अपहरण गर्ने शरीर बन्धक लिने महलको १ र २ नं. विपरीतको कसुरमा सोही महलको ३ नं.बमोजिम सजाय र ऐ. को ७ र ९ नं.बमोजिम थप सजाय साथै मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. विपरीतको कसुरमा १३(३) नं.बमोजिम सजाय गरी प्रतिवादीहरूले जाहेरवालाबाट लिएको फिरौती रकम निज जाहेरवालालाई दिलाई भराई पाऊँ । प्रतिवादीमध्येका पिन्टु भन्ने दुर्योधन यादव, लल्लु भन्ने रियाज फकिर, दिलदार मुसलमानको हकमा मिति २०६८।८।२२ मा अपहरण तथा शरीर बन्धक मुद्दाको अभियोगपत्र श्री रूपन्देही जिल्ला अदालतसमक्ष दायर भइसकेको अवस्था देखिँदा निज प्रतिवादीहरूको हकमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. १३(३) नं. विपरीतको कसुरमा १३(३) नं.बमोजिम सजाय गरिपाऊँ । अन्य फरार प्रतिवादीहरू आलम चुरीहार, कुद्रत भन्ने देवान फकिर मुसलमान, पिन्टु भन्ने दुर्योधन यादव, लल्लु भन्ने रियाज फकिर, दिलदार मुसलमानसमेतको हकमा कानूनबमोजिम झिकाई मुद्दाको कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग माग दाबी ।

जिल्ला रूपन्देही रोहिनीहवा गा.वि.स. मा बस्ने अष्टभुजा पाठक मेरो टेन्ड हाउस रहेको मझगावामा यी जाहेरवाला पर्शुराम यादवलाई लिएर आउनुभएको थियो । अष्टभुजाले पर्शुराम यादवको छोरा हराएको छ । तपाइँले पनि खोज्नमा सहयोग गरिदिनुपर्‍यो भनी अनुरोध गरेकाले २।४ ठाउँमा मैले फोनसमेत गरी पत्ता लगाउने प्रयास गरेकोमा कहीँ पत्ता लाग्न नसकी मैले खोज्न सक्दिन भनी भनेको हो । त्यही वेलामा यी जाहेरवाला पर्शुराम यादवलाई मैले चिनेको हुँ । सो भन्दा अगाडि मैले चिनेको पनि थिएन । मैले जाहेरवालाको छोरालाई अपहरण गरी फिरौतिसमेत लिई हत्या गरेको होइन । कसले अपहरण गरेर हत्या गरे सोसमेत मलाई थाहा छैन । मेरै गाउँका राम गणेश पालसमेतका व्यक्ति मेरो पाटीका विरोधी भएका र पटक पटक लड्ने व्यक्ति भएकाले वादविवाद भएका कारण जाहेरी दिनमा मुख्य राम गणेश पाल नै हुन । जाहेरी बेहोरा झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादी वरकत अलि चुरिहारले सुरू अदालतमा गरेको बयान ।

जाहेरीबमोजिम मैले जाहेरवालाको छोरालाई अपहरण गरी फिरौती रकम लिई हत्या गरेको होइन । जाहेरवालाको छोरा दिवाकर यादवलाई कसले अपहरण गरे कसले हत्या गरे सो मलाई थाहा छैन । मैले कसैलाई अपहरण गरी हत्या गरेको छैन । मैलै कसैसँग फिरौती रकम पनि लिएको छैन, भन्नेसमेत होराको प्रतिवादी अमामुद्धिन मुसलमानले सुरू अदालतमा गरेको बयान ।

प्रतिवादी लल्लु भन्ने रियाज फकिरका नाउँको म्याद पुर्जी मिति २०७०।१२।१९ मा. आलम चुरीहारको म्याद पुर्जी मिति २०७१।१।१९ मा, पिन्टु भन्ने दुर्योधन यादवको नाउँमा मिति २०७१।०६।३० मा, कुद्रत देवान फकिरको नाउँको म्याद मिति २०७१।०८।०७ मा रीतपूर्वक तामेल भई तामेली प्रति मिसिल सामेल रहेकोमा निज प्रतिवादीहरू सो म्यादमा हाजिर नभई म्याद गुजारी फरार रहेको देखियो ।

प्रतिवादीमध्येका दिलदार मुसलमानका नाउँको म्याद मिति २०७१।३।३२ मा बैपत्ते तामेल भएकोले निजका नाउँको अर्को वतन छ छैन भनी आदेशानुसार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा पत्राचार भएकोमा निजको अभियोग पत्रमा उल्लिखित वतनबाहेक अर्को वतन छैन भनी जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीको च.नं.२९११ मिति २०७१।१०।२२ को पत्र प्राप्त भई मिसिल सामेल रहेको ।

मेरो छोरा संजय भन्ने दिवाकर यादवलाई २०६८ साल जेठ २३ गते नालन्दा. स्कुलबाट बिदा भई घर फर्कने क्रममा वरकत आलम, पिन्टु भन्ने दुर्योधन यादव, रमेश यादव, तुल्ला मुसलमान भई अपहरण गरी फिरौती रकम पचहत्तर लाख मागेका थिए । बच्चालाई दिलाइदिन्छु खोजाइदिन्छु भनेर रू. १ लाख लिएका हुन् । त्यसपछि छोरा नदिलाएपछि कुदरतले मैले दिलाइदिन्छु भनी मसँग भारतीय रूपैयाँ ६ लाख लिएका हुन् । म बम्बैमा गएको अवस्थामा रमेशले तपाइँको छोरा दिवाकर तुल्लासँग छ भनेका थिए । पिन्टु भन्ने दुर्योधन, वरकत र आलम तुल्लासमेत मिली मेरो छोरा दिवाकर यादवलाई अपहरण गरी हत्या गरेका हुन् । मेरो छोरालाई प्रतिवादीहरूले अपहरण गरी पहिला नौतनवा, त्यसपछि भारतको ब्रिज बड़िहारी गाउँमा लगेको भन्ने सुने । त्यहीँ बडीहारी भन्ने ठाउँको नालामा गाडेको अवस्थामा मृतक छोराको लासलाई विद्यालयको पोसाकमा मिति २०६८।११।१३ मा फेला पारेको हो भन्नेसमेत बेहोराको जाहेरवाला पर्शुराम यादवले सुरू अदालतसमक्ष गरेको बकपत्र ।

प्रतिवादी अभामुद्दीनलाई चिन्छु निजको चालचलन राम्रो छ । यो मुद्दामा यी प्रतिवादी रोजगारको सिलसिलामा भारतको मुम्बईमा थिए । यी प्रतिवादीले कसुर गरेका छैनन् भन्नेसमेत बेहोराको प्रतिवादी अमामुद्दीन मुसलमानका साक्षी लुलुर मुसलमानले सुरू अदालतसमक्ष गरेको बयान ।

यी प्रतिवादी वरकत अलि राजनीतिक व्यक्ती भएकाले त्यस्तो काम गर्दैनन्, गरेको पनि होइन । राजनीतिक दुश्मनीको कारण जाहेरी परेको हो । यी बरकत अलिले अभियोग दाबीअनुसारको कसुर नगरेको हुँदा निजले सफाइ पाउनुपर्ने हो भन्नेसमेत बेहोराको प्रतिवादी बरकत अलि चुरीयारका साक्षी मोती लोधले सुरू अदालतसमक्ष गरेको बकपत्र ।

मुद्दा नं. ०६८-०१८१२ को परशुराम यादवको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पिन्टु भन्ने दुर्योधन यादवसमेत भएको अपहरण तथा शरीर बन्धक मुद्दाको छिनुवा मिसिल प्रमाणको रूपमा साथै पेस भएको ।

प्रतिवादीहरू बरकत अली चुरीहार, भदई एवं अरमान भन्ने अमामुद्दीन मुसलमानसमेतले वर्ष ११ का संजय भन्ने दिवाकर यादवलाई मिति २०६८।२।२३ गतेका दिन स्कुलबाट घर फर्कदै गरेको अवस्थामा अपहरण गरी नेपाल तथा भारतको विभिन्न स्थानमा लगि बन्धक बनाई फरार रहेका अन्य प्रतिवादीहरूसमेतले फिरौतीबापतको रकम जाहेरवालाबाट प्राप्त गरेर पनि निज बालक दिवाकर यादवलाई भारत महाराजगंज जिल्लाको बडेहारी नजिक हत्या गरी घोलामा गाडेको अवस्थामा लास प्राप्त भएको अवस्था र यी प्रतिवादीको संलग्नता रहेको पूष्टि हुन आएकाले प्रतिवादीहरू बरकत अलि चुरिहार र भदई एवं अरमान भन्ने अमामुद्दीन मुसलमानलाई अभियोग दाबी मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ३ नं.बमोजिम जनही १० (दश) वर्ष कैद र रू ५०,००० (पचास हजार) जरिवाना हुने र दुईभन्दा बढ़ी भई नाबालकलाई अपहरण गरी बन्धक बनाएकोमा उक्त ऐनको ७ र ९ नं.बमोजिम थप ४/४ (चार/चार) वर्ष सजाय हुने ठहर्छ । साथै अपहरित बालकलाई बन्धक बनाएकै अवस्थामा हत्या गरेको अभियोगमा दाबीबमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम निज प्रतिवादीहरूलाई जनही जन्म कैद हुने ठहर्छ । अभियोग दाबिमा फिरौती रकमसमेत भराई पाउँ भन्ने माग भएकोमा जाहेरवालाले बकपत्र गर्दा प्रतिवादी बरकत अलिलाई रकम दिएको होइन भनी र अमामुद्दीन मुसलमानलाई दिएको रकम के कति हो सो खुलाउन नसकेबाट फिरौती रकम दिलाई पाउँ भन्नेसम्मको प्रतिवादीहरूउपरको अभियोग दाबी पुग्न नसक्ने ठहर्छ भन्ने सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७२।१०।४।२ मा भएको फैसला ।

म प्रतिवादी अमामुद्दिन मुसलमानले अपहरण गरी जाहेरवालासँग फिरौती माग गरेको कुरा स्वयं जाहेरवालाले भन्न सकेका छैनन् । नाबालक बच्चाको अपहरणमा मेरो कुनै भूमिका एवं संलग्नता नरहेको अवस्थामा अन्य व्यक्तिको पोलकै आधारमा म दोषी पर्ने अवस्था छैन । बालक अपहरणमा परेको र बालकको खोज तलास गरिदिन पर्‍यो भनी जाहेरवालाले मलाई भेटी भनेकाले मैले हुन्छ खर्च लाग्छ भनी बताएपश्चात् निज जाहेरवालाले के कति खर्च लाग्छ भनी मलाई सोधेकाले रू. १,००,०००।- भनी बताए । सो रू. १,००,०००।- लिएको हो भन्ने देखाइन्छ । सो कुरा अनुसन्धानबाट नै गलत देखिन्छ । भारतमा घटेको घटनाको विषयमा नेपालभित्र मुद्दा चलाई म अमामुद्दिन मुसलमानसमेतलाई कैद जरिवाना गर्ने गरी भएको फैसला क्षेत्रात्मक त्रुटि रहेको छ । मैले नाबालकलाई हत्या गरेको कुरा कतैबाट पुष्टि भएको छैन । मलाई कसुर अपराध गरेको ठहर गरी कैद जरिवाना हुने गरी भएको सुरू रूपन्देही जिल्ला अदातलको फैसला त्रुटिपूर्ण रहेकाले उल्टी गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी अमामुद्दिन मुसलमानको पुनरावेदन पत्र ।

जाहेरवालाको नाबालक छोरा अपहरणमा परिसकेपछि म वरकत अलि चुरिहारले खोज्नमा सहयोग नगरेको कारण मउपर शंकासम्म गरी जाहेरी दरखास्त दिए पनि सोबमोजिम स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन । प्रस्तुत मुद्दामा म वरकत अलि घटना वारदातमा संलग्न नरहेको हुँदा भारतमा भएको भन्ने व्यक्ति रमेश यादवको तथाकथित बयान बेहोराको आधारमा भारतमा घटेको घटनाको विषयमा नेपालभित्र मुद्दा चलाई मलाई दोषी ठहर गरि भएको सुरू फैसलामा अदालतको अधिकार क्षेत्रात्मक त्रुटि रहेको हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी वरकत अलि चुरिहारको पुनरावेदन पत्र ।

प्रतिवादीहरूले बालक अपहरण गरी हत्या गरेकोतर्फ ठहर भई यी प्रतिवादीहरूलाई सजायसमेत हुने ठहरेको अवस्थामा अपहरणपश्चात् कर्तव्य गरी मार्नुपर्ने कारण के रहयो ? अपहरण गर्नु कै उद्देश्य के थियो भनी हेर्दा फिरौती रकम रू. ७५ लाख मागेको तथ्य मिसिलबाट पुष्टि भइरहेको र ७ लाख रूपैयाँ यी जाहेरवालाले प्रतिवादीहरूमध्येकै व्यक्तिलाई दिएको तथ्यसमेत पुष्टि भइरहेको तथा जाहेरवालाले अदालतमा आई गरेको बकपत्रको स.ज. १२ मा अरमान भन्ने भदैले मेरो बच्चा खोजी दिन्छु भनेर रकम लिएका हुन भनी स्पष्ट साथ लेखाइ के कति रकम फिरौती मागेका र जाहेरवालाले के कति दिएका भनी पुष्टि भइरहेको तथ्यलाई अनदेखा गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय हुने तर फिरौती रकम दिलाइदिने दाबी नपुग्ने ठहर गरी गरेको सुरू जिल्ला अदालतको फैसला फिरौती रकम नपुग्ने ठहर गरेको हदसम्म त्रुटिपूर्ण हुँदा बदर गरि अभियोग माग दाबीबामोजिम गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

यसमा यिनै जाहेरवालाले ०६८ सालमा दिएको जाहेरीमा यी प्रतिवादीहरूको नाम उल्लेख नगरेको र आरोपित कसुरमा प्रतिवादीहरू इन्कार रही बयान गरेको अवस्थामा यी प्रतिवादीलाई सजाय गर्ने गरेको सुरू जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने र सुरू जिल्ला अदालतको फैसलाउपर वादी नेपाल सरकारको समेत पुनरावेदन पर्न आएको देखिँदा दुवै पक्षको पुनरावेदन अ.व. २०२ नं को प्रयोजनार्थ एक अर्को पक्षलाई सुनाई नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७३।९।२६ मा भएको आदेश ।

प्रतिवादीहरू वरकत अलि चुरिहार र भदई एवं अरमान भन्ने अमामुद्दीन मुसलमानलाई अभियोग दाबीअनुसार मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ३ नं.बमोजिम जनही १० (दश) वर्ष कैद र रू. ५०,०००/- (पचास हजार) जरिवाना हुने र दुईभन्दा बढी भई नाबालकलाई अपहरण गरी बन्धक बनाएकोमा उक्त ऐनको दफा ७ र ९ नं.बमोजिम थप ४/४ (चार/चार) वर्ष सजाय हुने र अपहरित बालकलाई बन्धक बनाएकै अवस्थामा हत्या गरेको अभियोगमा दाबीबमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम निज प्रतिवादीहरूलाई जनही जन्मकैद हुने ठहर्छ । अभियोग दाबिमा फिरौती रकमसमेत भराई पाउँ भन्ने माग भएकोमा जाहेरवालाले बकपत्र गर्दा प्रतिवादी बरकत अलिलाई रकम दिएको होइन भनी र अमामुद्दिन मुसलमानलाई दिएको रकम के कति हो सो खुलाउन नसकेबाट फिरौती रकम दिलाइपाउँ भन्ने सम्मको यी प्रतिवादीहरूउपरको अभियोग दाबी पुग्न नसक्ने ठहरी सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०७२।१०।४।२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार तथा पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, बुटवल इजलासको मिति २०७४/०२/०९ को फैसला ।

प्रस्तुत मुद्दामा प्रतिवादीहरूले बालक अपहरण गरी हत्या गरेकोतर्फ ठहर भई यी प्रतिवादीहरूलाई सजायसमेत हुने ठहरेको अवस्थामा अपहरणपश्चात् कर्तव्य गरी मार्नुपर्ने कारण के रहयो अपहरण गर्नुको उद्देश्य के थियो भनी हेर्दा फिरौती रकम ७५ लाख मागेको तथ्य मिसिलबाट पुष्टि भइरहेको छ । जाहेरीमा उल्लिखित नख्खु बाबा भन्ने श्रवण पाण्डे र प्रतिवादी अरमान मुसलमान भन्ने व्यक्तिलाई भारू. १ लाख र अर्का कुदरत मुसलमानलाई भा.रू. ६ लाख गरी जम्मा ७ लाख रकम दिँदासमेत छोरालाई नछाडी मारी फालेको भन्ने किटानी जाहेरी बेहोरा र जाहेरवालाले अदालतमा उपस्थित भई गरेको बकपत्रमा उल्लेख भएको छ । सो तथ्यलाई अनदेखा गरी प्रतिवादीहरूलाई अपहरण गरी हत्यातर्फ कसुर ठहरसमेत भइसकेको अवस्थामा फिरौती रकम भराउने ठहर नगरेकोतर्फ भएको फैसलामा मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १२ नं. को व्याख्यात्मक त्रुटि भई बदरभागी रहेकोले फिरौती रकम दिलाउनेतर्फ समेत अभियोग दाबीबमोजिम गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारले मिति २०७५/०४/२९ मा यस अदालतमा गरेको पुनरावेदन ।

प्रस्तुत मुद्दामा सुरू एवम् उच्च अदालतबाट फैसला हुँदा जाहेरी दरखास्त मउपर किटानी नभएको, वादीपक्षका साक्षीहरूबाट मलाई कसुर पुष्टि गर्न नसकेका, अन्य प्रतिवादिहरूले पोल नगरेको जस्ता मिसिल संलग्न प्रमाणहरूलाई मध्यनजर गरिएको छैन । संविधान प्रदत्त मौलिक हकको जानकारी नगराई, सोको उपभोग गर्न नदिई गराईएको अधिकारप्राप्त अधिकारीसमक्षको मेरो गैरन्यायिक साबिती बयानलाई आधार लिई प्रस्तुत मुद्दामा मलाई कसुरदार कायम गर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । अधिकारप्राप्त अधिकारीसमक्षको बयान बेहोरालाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन सकेको छैन । अतः रूपन्देही जिल्ला अदालतबाट भए गरिएको मिति २०७२।१०।४ को फैसलालाई सुरू सदर गर्ने गरी श्री उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७४।०२।०९ गते भए गरेको फैसला उल्टी बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्‍नेसमेत बेहोराको भदई एवं अरमान भन्‍ने अमामुद्दिन मुसलमानको मिति २०७४/११/२१ मा यस अदालतमा गरेको पुनरावेदन ।

म प्रतिवादी वरकत अलि चुरिहारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान मलाई सोधपुछ गरी मैले भनेबमोजिम लेखिएको होइन । अदालतसमक्ष इन्कारी बकपत्र गरेको तर्फ ध्यान नै नदिई प्रस्तुत मुद्दामा फैसला भएको छ । फोन सम्पर्क हुँदैमा बच्चा कहाँ र कता राखेको थियो भन्ने जानकारी निज प्रतिवादीलाई थियो भन्ने सहजै अनुमान गर्न सकीदैन । अनुमानको भरमा मलाई सजाय गर्न मिल्ने होइन । निज प्रतिवादी घटनामा संलग्न नभएको भए भारतीय मानिस रमेश यादवलाई बच्चालाई छाडी देउ भनी भन्न सक्ने अवस्था रहँदैन भनी शंका र अनुमान गरी शंका र अनुमानको भरमा मलाई दोषी ठहर गर्न मिल्दैन । बालकको अपहरण नेपालबाटै भएको र हत्या भारतमा भएको भए पनि बच्चाको अपहरण को कस्ले गरे र हत्या पनि को कसले गरे भन्ने कुराको ठोस आधार प्रमाण मिसिल संलग्न कागजबाट देखिँदैन । नाबालक दिवाकर यादवको हत्या भारतमा भएको भन्ने कुरा घट्ना प्रकृति मुचुल्का एवं अनुसन्धानबाट पुष्टि भएकोमा भारतमा घटेको घट्नाको विषयमा नेपालभित्र मुद्दा चलाई म वरकत अलिलाई कैद गरी जरिवाना गर्ने गरी भएको फैसला अदालतको क्षेत्रात्मक त्रुटि रहेको छ । म भारतमा गई नाबालकलाई हत्या गरेको कुरा कहीँकतैबाट पुष्टि भएको छैन । भारतमा घट्ना भएको पुष्टि भएकोमा भारतमा घट्ना हुँदा म त्यस ठाउँमा संलग्न नभएको प्रति बेवास्ता गरी नेपालभित्र मुद्दा चलाई मलाई दोषी ठहर गरी भएको सुरूको फैसलालाई सदर गर्ने गरी भएको उच्च अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी बदर गरी दिई न्याय दिलाई पाउँ भन्‍नेसमेत बेहोराको वरकत अलि चुरिहारको मिति २०७४/१२/०१ मा यस अदालतमा गरेको पुनरावेदन ।

यसमा, सुरू जिल्ला अदालतको मिति २०७२।१०।४ को फैसलाले मुल्तबिमा रहेका प्रतिवादीहरूमध्ये रूपन्देही जिल्ला अदालतले कुद्रत देवान फकिर मुसलमानका हकमा थुनुवा प्रतिवादी भनी मिति २०७७।१०।८ प.सं. ०७७/०७८ च.नं. ६३८९ को पत्रबाट यस अदालतमा सक्कल मिसिल माग भएको र यस अदालतले ०७४-CR-०९८४ को मुद्दा विचाराधीन रहेको भनी मिसिल संलग्न कागजातको प्रमाणित प्रतिलिपि मिति २०७७ । ११ । २५ च.नं. ७७१-२-२०६७७ को पत्रबाट पठाएको देखिन्छ । हाल प्रतिवादी कुद्रत देवान फकिर मुसलमानलगायतका फरार रहेका अन्य प्रतिवादीहरूको सो मुद्दा के कुन अवस्थामा छ ? रूपन्देही जिल्ला अदालतबाट फैसला भए नभएको एवम् फैसला भएको भए सोउपर उच्च अदालत तुलसीपुर बुटवल इजलास, तथा यस अदालतमा समेत पुनरावेदन परे नपरेको वा साधक दायर भए नभएको बुझी यस अदालतमा पुनरावेदन परेको वा साधक दायर भएको भए साथै राखी नियमानुसार पेस गर्नु भन्‍नेसमेत बेहोराको यस अदालतको मिति २०८०/०१/२८ को आदेश ।

यसमा वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० को उपदफा (३) को प्रयोजनार्थ दुवै पक्षको पुनरावेदन एक अर्कालाई सुनाई नियमानुसार पेस गर्नु भन्‍नेसमेत बेहोराको यस अदालतको मिति २०७६/०८/१० को आदेश ।

ठहर खण्ड

नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री शम्भु कुमार बस्नेतले प्रतिवादीहरूले जाहेरवालाको छोरा दिवाकर यादवको अपहरण गरी हत्या गरेको पुष्टि भइसकेको छ । सो क्रममा प्रतिवादीहरूले आपसी मिलेमतोमा जाहेरवालासँग फोन सम्पर्क गरी ७५ लाखसम्म मागेको भन्ने प्रतिवादीमध्ये रमेश यादवले स्वीकार गरेको अवस्था छ । जाहेरवाला स्वयमले आफूले फिरौतीबापत सात लाख दिएको भन्ने अदालतको बकपत्रमा स्वीकार गरेको र सोलाई प्रतिवादीहरूको अनुसन्धानको क्रममा भएको साबिती बयानसमेतको प्रमाणले पुष्टि गरिरहेको अवस्थामा प्रतिवादीहरूबाट जाहेरवालालाई फिरौतीबापत दिएको रकम भराउनेतर्फ अभियोग दाबी पुष्टि नहुने भनी ठहर्‍याएको हदसम्म उच्च अदालत तुलसीपुर बुटवल इजलासको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी पुर्णरूपमा अभियोग मागदाबीबमोजिम गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

पुनरावेदक प्रतिवादी भदई भन्ने अमामुद्दिन मुसलमानका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री गिरिराज दाहालले प्रतिवादी अमामुद्दीन मुसलमानले कसुरमा इन्कार रही बयान गरेका छन् । जाहेरवालाले नै छोरा खोजीदिनु पर्‍यो भनेपश्‍चात् असल नियतले जाहेरवालाको छोरालाई खोजतलास गर्नका निम्ति भारतसम्म जानुपर्ने भएकोले सोबापत लाग्ने रकम रू.१,००,०००/- (एक लाख) जाहेरवालासँग मागेको सम्म हो । यो रकम फिरौतीबापत मागेको होइन । यसरी तथ्यलाई तोडमोड गरी प्रतिवादी अमामुद्दीनलाई नाबालकको अपहरण तथा हत्या गरेको जस्तो जघन्य कसुरमा मुद्दा चलाई कसुरदारसमेत कायम गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलाससमेतको फैसला कानून एवम् न्यायको रोहमा त्रुटिपूर्ण हुँदा निजलाई अभियोग दाबीबाट पूर्णरूपमा सफाइ दिलाई पाउँ भनी गर्नुभएको बहससमेत सुनियो । 

मिसिल कागज अध्ययनपश्चात् दुवैतर्फका विद्वान्‌ अधिवक्ताहरूको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा यी प्रतिवादीहरूलाई अपहरण तथा शरीर बन्धक र ज्यान मुद्दामा सजाय गरेको तर फिरौती नभराएको सुरू तथा पुनरावेदन अदालतको निर्णय मिलेको छ वा छैन सोही कुराको निर्णय दिनुपर्ने देखिन आयो ।

सो सन्दर्भमा हेर्दा मिति २०६८/२/२३ मा जाहेरवालाको छोरा वर्ष ११ को संजय भन्ने दिवाकर यादवलाई रमेश यादवसमेतका व्यक्तिले अपहरण गरी भारत लगी मुक्त नगरेकोमा अपहरण शरीर बन्धक मुद्दा चलेको तर अपहरित व्यक्ति फेला नपरेको अवस्था रहेकोमा खोज्दै जाँदा निजको शव मिति २०६८/११/१३ मा भारत स्थित महाराजगंज ग्राम मटिहना टोला बडेहारीमा भेटिएपछि पुनः परशुराम यादवको जाहेरी परी प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । यसै क्रममा प्रतिवादी बरकत अलि चुरिहार र भदई एवं अरमान भन्ने अमामुद्दीन मुसलमानसहित आलम चुरिहार, पिन्टु भन्ने दुर्योधन यादव, देवान फकिर मुसलमान, लल्लु भन्ने रियाज फकिर र दिलदार मुसलमानसमेतले नाबालक दिवाकर यादवलाई अपहरण र हत्यासमेत गरेकोमा मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ३, ७, ९ नं तथा मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) समेतको सजायको माग दाबी लिई मुद्दा चलेकोमा सुरू जिल्ला अदालतबाट अन्यको हकमा मुलतवी रही यी भदई एवं अरमान भन्ने अमामुद्दिन मुसलमान र वरकत अलि चुरिहारउपर मुलुकी ऐन अपहरण र शरीर बन्धकको महलको ३ नं.बमोजिम जनही १०(दश) वर्ष कैद र रू. ५०,०००/- (पचास हजार) जरिवाना तथा ऐ. ७ र ९ नं.बमोजिम थप जनही ४ (चार) वर्षको सजाय हुने एवम् मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम जन्मकैद हुने र फिरौती रकम दिलाइपाउँ भन्नेतर्फ अभियोग दाबी नपुग्ने ठहर्‍याई फैसला भएको रहेछ र सोही फैसलालाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले समेत सदर गरेको रहेछ । उक्त फैसला चित्त नबुझाई वादी नेपाल सरकार तथा प्रतिवादीहरूमध्ये भदई भन्ने अमामुद्दीन मुसलमान र बरकत अलि चुरिहारको दोहोरो पुनरावेदन परेको देखिन्छ ।

उक्त फैसलाउपर फिरौती नभराएतर्फ वादी नेपाल सरकारको र वारदातमा पुनरावेदक प्रतिवादीहरूको संलग्नता रहेको भन्ने शंकारहित तवरबाट पुष्टि नभएको एवम् भारतमा भएको कसुरमा नेपालको अदालतको क्षेत्राधिकार नहुने अवस्थामा अभियोग दाबीलाई समर्थित हुने गरी पुनरावेदक प्रतिवादीहरूलाई कसुरदार ठहर्‍याएको हदसम्म उच्च अदालत तुलसीपुर बुटवल इजलासको फैसला उल्टी गरिपाउँ भन्ने जिकिर लिई प्रतिवादीहरू बरकत अलि चुरिहार र भदई भन्ने अमामुद्दीन मुसलमानले फरक-फरक पुनरावेदन दायर गरेको देखिन्छ ।

उपर्युक्तबमोजिमको तथ्य र जिकिर रहेको प्रस्तुत मुद्दामा मुख्य रूपमा मुद्दाको सुनुवाइ गर्ने क्षेत्राधिकार नेपालको अदालतलाई छ वा छैन, उल्लिखित वारदातमा पुनरावेदक प्रतिवादीहरूको सम्लग्नता रहेको छ वा छैन, वादीको अभियोग दाबीबमोजिम जाहेरवालाले पुनरावेदक प्रतिवादीहरूबाट फिरौती रकम भराई पाउने हो वा होइन भन्ने तथा उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला मिलेको छ वा छैन पुनरावेदक वादी एवम् प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्ने प्रश्नहरूको निरूपण गर्नुपर्ने देखिन्छ ।

२. सर्वप्रथम प्रस्तुत मुद्दाको सुनुवाइ गर्ने क्षेत्राधिकार नेपालको अदालतलाई छ वा छैन भन्ने सम्बन्धमा विचार गर्दा वस्तुतः कुनै पनि मुद्दामा क्षेत्राधिकारको प्रश्न उठेमा उक्त प्रश्नको निर्क्यौल गरेर मात्र मुद्दाको विषय वस्तुमा प्रवेश गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी बरकत अलि चुरिहारले वारदातका सम्बन्धमा आफू निर्दोष भएको कुराको अतिरिक्त अपहरित बालकको हत्या भारतमा भएको कारण प्रतिवादीउपर नेपालमा मुद्दा चलाउन नमिल्ने भनी पुनरावेदन जिकिर लिएको देखिन्छ । सो सम्बन्धमा हेर्दा जाहेरवाला परशुराम यादवका छोरा दिवाकर यादव मिति २०६८/२/२३ मा नेपालको रूपन्देही सि.न.पा वडा नं. ९ स्थित निज अध्ययनरत नालन्दा उ.मा.वि. बाट भिनाजुको घर जाने क्रममा स्कुल कम्पाउन्ड बाहिरको बाटोबाट अपहरण भएको भन्ने जाहेरीमा उल्लेख भएको र तत्पश्‍चात मिति २०६८/११/१३ मा भारतको महाराजगंज जिल्ला बडेहारी स्थित घोलामा पुरिएको अवस्थामा बालकको शव रहेको भन्ने जानकारी पाई सो स्थानमा गई हेर्दा नालन्दा स्कुलको ड्रेस र बेल्टसहित अपहरित बालकको शव फेला परेको देखिन्छ । जाहेरी साथ अपहरित बालक दिवाकर यादवको पोस्टमार्टम रिपोर्टसमेत पेस भएको देखिन्छ । मिसिल संलग्न पोष्टमार्टम रिपोर्टबाट उक्त लास निज बालक दिवाकर यादवको हो भन्नेमा विवाद देखिँदैन । साबिक मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिने महलको ११ नं. मा कसैले कुनै व्यक्तिलाई नेपालबाहिर लगी यस महलबमोजिम अपहरण गर्ने वा शरीर बन्धक लिने वा नेपाली नागरिकलाई नेपाल बाहिर यस महलबमोजिम अपहरण गर्ने वा शरीर बन्धक लिने कार्य गरे गराएको रहेछ भने निजले नेपालभित्रै कसुर गरेसरह मानी त्यस्तो व्यक्तिलाई यस महलबमोजिम सजाय गर्नुपर्छ भन्ने कानूनी व्यवस्था गरेको पाइन्छ । उपर्युक्त व्यवस्थाले क्षेत्राधिकारमा क्षेत्रीयता (territoriality) को अतिरिक्त राष्ट्रियता (nationality) तथा हानी (Harm) को सिद्धान्तसमेतको अनुशरण गरेको पाइन्छ । अर्थात् नेपाली नागरिकलाई अपहरण गरी नेपालबाहिर लगिन्छ भने पनि नागरिकको रक्षा गर्ने तथा अपराधजन्य कार्यको कारण नेपाली नागरिकलाई पर्न गएको क्षतिसमेतलाई मध्यनजर गरी सो आधारमा उक्त कानूनले नेपालका अदालतलाई मुद्दा हेर्ने क्षेत्राधिकार प्रदान गरेको देखिन्छ ।

३. उक्त कुराको अतिरिक्त यहाँ हेर्नुपर्ने अर्को पक्ष पनि छ । जाहेरवालाको छोरा नेपालमा नालन्दा स्कुलमा अध्ययन गरिरहेको बालक दिवाकर यादवलाई विद्यालयको समयपश्चात् विद्यालयको गेटबाट निस्कनासाथ अपहरण गरि भारत लगेको र भारतमा निजको शव फेला परेको अवस्था छ । यहाँ प्रतिवादीहरूबाट नाबालकलाई अपहरण गर्ने र हत्या गर्नेसमेतका जुन कसुर हुन गएको भनी अभियोग पत्र पेस भएको छ सो एउटै कारोबार (Single transaction) को शृङ्खला हुँदा भारतमा लास फेला परेको भन्‍ने मात्र कारणले नेपालमा मुद्दा नचल्ने भन्‍न मिल्ने देखिँदैन । भारतसँग नेपालको खुला सीमा रहेको कारण पनि नेपाली नागरिकलाई अपहरण वा अन्य तरिकाले भारत लगी भारतमा थप कसुर गर्ने सम्भावना रहन्छ । त्यस अर्थमा पनि हामीहरूले क्षेत्राधिकारको विषयमा क्षेत्रीयताको अतिरिक्त राष्ट्रियता र हानिको सिद्धान्तलाई समेत अङ्गीकार गर्नु आवश्यक हुन्छ । त्यसो गरेमा मात्र हामीहरूले आफ्ना नागरिकको सुरक्षा गर्न सक्छौं । यहाँ अपहरण र हत्या एउटै कारोबारको शृङ्खलाको रूपमा घटेको हुँदा नेपालको अदालतलाई प्रस्तुत मुद्दाको सुनुवाइ गर्ने क्षेत्राधिकार रहे भएको देखिँदा रूपन्देही जिल्ला अदालतमा अभियोग पेस भई सो अदालतले सुनुवाइ गरेकोलाई क्षेत्राधिकारविहीन भन्न मिलेन । 

४. अब दोस्रो प्रश्‍न प्रस्तुत वारदातमा पुनरावेदक प्रतिवादीहरूको संलग्नता रहेको छ वा छैन ? भन्ने सम्बन्धमा विचार गर्दा पुनरावेदक प्रतिवादीहरूले आफू कसुरमा संलग्न नभएको भन्दै आफ्नो निर्दोषिताको जिकिर लिई छुट्टाछुट्टै पुनरावेदन दायर गरेको देखिन्छ । यी प्रतिवादीहरूको संलग्नताबारे विचार गर्नुपूर्व प्रस्तुत वारदातको स्वरूप र प्रतिवादीहरूको संलग्नताबारे पनि विचार गर्नुपर्ने देखिएको छ । यद्दपि प्रस्तुत अपहरण र हत्याको वारदात घट्दाको अवस्था अर्थात् मिति २०६८।११।१३ मा नेपालमा संगठित अपराधसम्बन्धी कानून जारी भएको अवस्था देखिँदैन । तर वारदातको स्वरूप हेर्दा संगठित रूपमा नै बालकलाई नेपालबाट सीमा कटाई भारत लैजाने, भारतको नौतनवामा मन्सुर आलमको घरमा राखेको, त्यसपछि निजलाई रमेश यादवले मोटरसाइकलमा राखी नौतनवा (मधुवनी स्कुल नजिक) बाट सोनवर्षा पुलसम्म पुर्‍याउने, त्यसपछि एकसडहवा, कोल्हुईसहित विभिन्न स्थानमा विभिन्न व्यक्तिहरूको साथमा लुकाई राख्ने र फिरौती माग्ने कार्य गरिरहेको, अन्तिममा तुल्ला मुसलमानको साथमा राखिएको र त्यसपछि उत्तर प्रदेशको महाराजगन्ज जिल्ला ग्राम वेडिहारी भन्ने स्थानमा पानीको घोलभित्र गाडिएको अवस्थामा बालकको शव भेटिएको देखिन्छ । यसरी अपहरण गर्ने, बालकलाई लुकाउने र फिरौती माग्ने कार्यमा नेपाल र भारतका व्यक्तिहरू संलग्न रहेकोमा नेपालबाट बालकको अपहरण गर्नेमा बरकत अलि चुरिहार, आलम चुरिहार र पिन्टु भन्ने दुर्योधन यादवको नाम जाहेरीमा उल्लेख भएको देखिन्छ भने भारततर्फ सो कार्यमा संलग्न हुनेमा रमेश यादव, अन्सु भन्ने राहुल प्रताप सिंह, रियाज फकिर, कुद्रत मुसलमान, लल्लु भन्ने रियाज फकिर, दिलदार मुसलमान, मन्सुर आलम मुसलमान, आलमको ससुरा, नख्खु बाबा भन्ने श्रवण पाण्डे, ओपि भन्ने ओम प्रकाश मुसलमान आदि संलग्न रहेको भन्ने मिसिलबाट खुल्न आएको देखिन्छ । यी व्यक्तिहरूमध्ये कोही बालकलाई एकठाउँबाट अर्को ठाउँमा सार्न, लुकाउन र कोही फिरौती माग्न, कोही बालक खोज्न सहयोग गरेको बाहनामा जाहेरवाला परशुराम यादवबाट रकम फुत्काउने कार्यमा संलग्न रहेको पनि देखिन्छ । अपहरण र हत्याबिच करिब नौ महिनाको अन्तराल रहेको, साथै नेपाल भारत सीमा वारिपारिको स्थिति (Cross-border situation) रहेको हुँदासमेत पीडित र जाहेरवालालाई अरू सताउने कार्य हुनु असम्भव देखिँदैन । मिसिल हेर्दा अपहरित बालक संजय भन्ने दिवाकरको खोजीमा भारतीय प्रहरी पनि संलग्न रहेको, रमेश यादव र राहुल प्रताप सिंहलाई पक्राउ गरेको र निजहरूबाट नेपाल र भारततर्फबाट संलग्न व्यक्तिहरूको नाम, फिरौती मागिएको कुरा र बालकलाई मारी गाडिएको कुरा भारतीय प्रहरीले पत्ता लगाई शवको उत्खनन गरी पोष्टमार्टम रिपोर्ट पनि तयार गरेको देखिन्छ भने नेपाल प्रहरीलाई रमेश यादव र राहुल प्रताप सिंहले बोलेका कुराहरूको श्रव्यदृश्य रेकर्ड प्राप्त भएको र सोही आधारमा यी वरकत अलि चुरिहार, भदई एवं अरमान भन्ने अमामुद्दिन मुसलमानसहितका अभियुक्तहरूको संलग्नता उल्लेख गरी अभियोग पत्र तयार भएको देखिन्छ ।

५. यहि सन्दर्भमा अब पुनरावेदक प्रतिवादी बरकत आलि चुरिहारको हकमा हेर्दा निजउपर किटानी जाहेरी परेको देखिन्छ । जाहेरीमा बरकत अलि चुरिहार, आलम चुरिहार (बरकतको जेठो बाबु हरूफ । हरिफ चुरिहारको छोरा) र पिन्टु भन्ने दुर्योधन यादवलाई नेपालबाट बालकको अपहरण गरी भारत लगेको भन्ने आरोप लगाइएको छ । बालक अपहरण गरी भारत लगेपछि पिन्टु र वरकतले बालकका बाबु परशुराम यादवलाई फोन गरी ७५,००,०००/- (पचहत्तर लाख) फिरौती रकम माग गर्न भनेकोले फोन गरी रकम मागेको, घटना सम्बन्धमा वरकत अलि र आलमसँग कुरा हुने गरेको, आफूले वरकतलाई परशुरामले फिरौती स्वरूप रू.३/४ लाख दिन्छु भनेका छन, बच्चा छोडिदिन भन्दा भरखर नयाँ मोटरसाइकल किनेको छु सो रकम र अरूलाई दिनसमेत पुग्दैन भनी यी वरकतले भनेको भन्ने निजकै सहकर्मीको रूपमा भारतमा काम गर्ने रमेश यादवले श्रव्यदृश्यमार्फत भनेको कुरा मिसिलबाट देखिन्छ । त्यसैगरी निज वरकत अलिसमेतलाई आफूले वृजमनगंजमा भेटेको निजहरूले बच्चाको बाबुले ४।५ लाख रूपैयाँ दिन्छु भनेका छन् भनी वरकत, आलम, रमेश र तुल्ला मुसलमानले कुरा गरेको आफूले सुनेको, वरकत अलि वृजमनगंज आउँदा नम्वर नभएको मोटरसाइकल लिएर आउने गरेको, वरकत अलि र तुल्ला मुसलमान रिस्तेदार रहेको भन्नेसमेत राहुल प्रताप सिंहले भनेको पनि श्रव्यदृश्यबाट देखिएको भन्ने कुरा उल्लेख भएको छ । पेस हुन आएको श्रव्यदृश्यमा भएका रमेश यादवलाई आफूले चिनेको, निजले आफूलाई फोन गर्दा फिरौती लिएर बच्चा छाडिदेउ भनेको हो, निजले आफूलाई आफ्नो ९८०४४००९७७ नं. मा भारतीय नम्बर ९१७५०७३७७०३६ बाट पटकपटक फोन गर्ने गरेको भनी निज बरकत अलिले अनुसन्धानसमक्ष बयान गरेको देखिन्छ भने, मिति २०६८।२।२३ मा बालक अपहरण भएपश्चात् मिति २०६८।२।२९ मा निजले किनेको बा ४५प४४०९ नं.को मोटरसाइकल निजको घरबाट बरामद भएको देखिन्छ । वरकत अलि चुरिहारको फौजदारी कसुरको रेकर्ड रहेको भन्ने निज विरूद्ध चलेको सवारी दर्ता किताब किर्ते मुद्दामा संलग्न रहेको प्रहरी प्रतिवेदन मिसिल संलग्न रहेको देखिन्छ । यसरी पुनरावेदक प्रतिवादी बरकत अलि चुरिहारले बालक दिवाकर यादवलाई अपहरण र हत्या गरेकोमा अनुसन्धान एवम् अदालतमा कसुरमा इन्कार रहि बयान गरे तापनि निज उपर जाहेरवालाको किटानी पोल र बकपत्र रहेको अवस्था छ । विवादित वारदात संगठित प्रकृतिको देखिएको, संगठित प्रकृतिको अपराधमा मुख्यरूपमा साझा योजना बनेको छ वा छैन भन्ने र कसले के काम गर्‍यो भन्दा पनि योजनाको कार्यान्वयनको लागि काम गरेको छ वा छैन भन्ने हेरिनेसमेत भएबाट यहाँ यी प्रतिवादी वरकत अलिको संलग्नतामा बालकलाई अपहरण गरी भारत पुर्‍याई अन्ततः हत्यासमेत भएको अवस्था हुँदा निज निर्दोष रहेछन भन्न सकिएन । 

६. अर्का पुनरावेदक प्रतिवादी भदई एवं अरमान भन्ने अमामुद्दीन मुसलमानको हकमा हेर्दा अमामुद्दीन मुसलमान र श्रवण पाण्डेले अपहरित बालक छुटाइदिन्छु भनी रू. १,००,०००/- (एक लाख) लिएको भनी किटानी जाहेरी परेपश्‍चात् अनुसन्धानको क्रममा निज पक्राउ परेको देखिन्छ । प्रतिवादी अमामुद्दीन मुसलमानले अनुसन्धान एवम् अदालतमा कसुरमा इन्कार रही बयान गरे तापनि अनुसन्धानको क्रममा बयान गर्दा वारदात वरकत अलि, दुर्योधन यादव, तुल्ला मुसलमानसमेतका व्यक्तिहरूले घटाएको भन्ने आफूले नख्खु बाबा भन्ने श्रवण पाण्डेबाट थाहा पाएको, पिन्टु भन्ने दुर्योधन यादव, आलम चुरिहार र कुद्रत भन्ने व्यक्तिलाई आफूले चिन्ने र अन्य रमेश यादव, तुल्ला मुसलमानलाई श्रवण पाण्डेले चिन्ने भएकोले आफूसमेत मिली जाहेरवालासँग रू. १,००,०००/- (एक लाख) लिएको कुरा यी प्रतिवादीले अनुसन्धान अधिकारीसमक्षको बयानमा उल्लेख गरेको देखिन्छ । सोबाट निज अमामुद्दीन मुसलमानलाई अपहरित बालक कहाँ थियो भन्ने थाहा भएको र निजसमेत वारदातमा संलग्न अन्य प्रतिवादीहरूको चिनजान सम्पर्कमा रहेको देखिन्छ । यहि सिलसिलामा प्रतिवादी अमामुद्दिन र निजको साथी भनिएको श्रवण पाण्डेले जाहेरवाला परशुराम यादवलाई निजको छोरा खोज्न खर्चलाग्छ भनी रकम लिएको तथा सो सम्बन्धमा अन्य प्रतिवादीहरूसँग सम्पर्कमा रहेको देखिन्छ । अपहरित बालकलाई भारत लगेपश्‍चात् कहाँ कहाँ राखियो र कसरी अन्ततः निजको लास घोलमा गाडिएको अवस्थामा फेला पर्‍यो भन्ने माथि उल्लेख भइसकेको छ । अपहरण र हत्याको वारदात नेपाल तथा भारतका विभिन्न व्यक्तिहरू मिली गरिएको संगठित प्रकृतिको अपराध भएको कुरा पनि माथि उल्लेख भइसकेको छ । सो तथ्यले वारदातको जालो र संगठित रूपलाई उजागर गरेको छ । संगठित अपराधमा आपराधिक संजालमार्फत अपराध गर्ने र फरक-फरक व्यक्तीले फरक-फरक भूमिका निर्वाह गरी अपराधको अन्तिम स्वरूप दिएका हुन्छन् । संगठित रूपमा गरेको कसुरको हकमा कसुर कायम गर्दा र सजाय निर्धारण गर्दासमेत सोहीबमोजिम हेरिनुपर्ने हुन्छ । तसर्थ, पुनरावेदक प्रतिवादीहरू प्रत्यक्ष हत्यामा संलग्न रहेको भन्ने देखिएको छैन । तापनि अपहरणको परिणाम स्वरूप नै दिवाकर यादवको हत्या भएको, र यी प्रतिवादी अमामुद्दिन सो कार्यमा संलग्न अन्य व्यक्तिहरूसँग चिनजान, सम्पर्कमा रही जाहेरवालाबाट रकमसमेत खाएको कुरा स्वीकार गरेकोबाट यी प्रतिवादी अमामुद्दिन मुसलमान निर्दोष रहेछन् भन्न सकिने अवस्था देखिएन । 

७. अब तेस्रो प्रश्‍न वादीको अभियोग दाबीबमोजिम जाहेरवालाले पुनरावेदक प्रतिवादीहरूबाट फिरौती रकम भराई पाउने हो वा होइन ? भन्ने सम्बन्धमा हेर्दा जाहेरवाला परशुराम यादवले नख्खु भन्ने श्रवण पाण्डे र अरमान मुसलमानलाई रू.१,००,०००/- (एक लाख) तथा कुदरत मुसलमानलाई रू. ६,००,०००/- (छ लाख) रकम दिएको भनी जाहेरीमा उल्लेख गरेको देखिन्छ । तर यसै वारदातसँग सम्बन्धित ०६८-CR-०२०८ नं. को अपहरण तथा शरीर बन्धक मुद्दामा समेत प्रस्तुत फिरौती रकमको सम्बन्धमा वादी दाबी नपुग्ने भनी सुरू रूपन्देही जिल्ला अदालतबाट सुरू फैसला भई उक्त फैसला पुनरावेदनको रोहमा समेत सदर भई अन्तिम भएको देखिन्छ । यस स्थितिमा वादी नेपाल सरकारले पुनः सोही विषयलाई उठान गरी पुनरावेदन दायर गरेको सन्दर्भमा फैसलाको अन्तिमताको सिद्धान्त विपरीतसमेत हुने देखिँदा जाहेरवालाले पुनरावेदक प्रतिवादीहरूबाट वादी दाबीबमोजिम फिरौती रकम भराई पाउने देखिन आएन ।

८. अब उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको फैसला मिलेको छ वा छैन, पुनरावेदक वादी एवम् प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन भन्नेतर्फ हेर्दा प्रस्तुत वारदात संगठित समूहको संलग्नतामा नियोजित र योजनाबद्धरूपमा भएको देखिन्छ । वारदातको असरतर्फ हेर्दा पुनरावेदक प्रतिवादीहरूसमेतको मिलेमत्तोमा संयुक्त योजना बनाई एउटा ११ वर्षको नाबालकलाई स्कुलको गेटबाट अपहरण गरी भारत पुर्‍याई हत्या भएको देखिन्छ । कसुरको संजाल एक देशबाट अर्को देशसम्म फैलिएको र एक नाबालकको निर्ममता पूर्व अपहरणपश्‍चात् हत्या भएको छ । प्रतिवादीहरूबाट जघन्य कसुरको प्रदर्शन भएको छ । यस स्थितिमा प्रतिवादीहरू बरकत अलि चुरिहार र भदई एवं अरमान भन्ने अमामुद्दीन मुसलमानलाई मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिने महलको ३ नं.बमोजिम जनही १० (दश) वर्ष कैद र रू. ५०,०००/- (पचास हजार) जरिवाना तथा नाबालकलाई अपहरण गरी बन्धक बनाएकोमा ऐ. ७ र ९ नं.बमोजिम थप ४/४ वर्ष कैद सजाय एवम् अपहरित बालकको हत्यासमेत गरेकोमा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं.बमोजिम प्रतिवादीहरूलाई जनही जन्मकैद हुने र फिरौतीतर्फ वादी दाबी नपुग्ने भनी रूपन्देही जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले समेत सदर गरेको देखिन्छ । कसुरको प्रकृति एवम् गम्भीरतासमेतलाई मध्यनजर गर्दा प्रतिवादीहरूलाई भएको सजाय कानूनको परिधिभित्र परेको देखिँदा कसुर कायम प्रयोजनको निम्ति तात्त्विक भिन्नता नहुँदा उच्च अदालत तुलसीपुर बुटवल इजलासको फैसलालाई अन्यथा गरिरहनु परेन । तसर्थ माथि उल्लिखित आधार कारणसमेतबाट उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट मिति २०७४/०२/०९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक नेपाल सरकार एवम् प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल खण्ड

प्रस्तुत मुद्दाको अनुसन्धानको क्रमका सङ्कलन गरिएका मिसिल संलग्न कागजाहरूको पेटबोलीमा संलग्नता देखिएका भारतीय नागरिकहरू रमेश यादव, नख्खु बाबा भन्ने श्रवण पाण्डे, कुद्रत मुसलमान, अंशु तथा आशु भन्ने राहुल प्रताप सिंह, तौलन भन्ने तुल्लाह मुसल्मान, ओपी भन्ने ओमप्रसाद पासवान, मनसुर आलमसमेतको हकमा अनुसन्धान कार्य भएको नदेखिँदा निजहरूको हकमा आवश्यक अनुसन्धान कार्यवाही अगाडि वढाई कानूनबमोजिम जो गर्नुपर्ने हो गर्न गराउन महान्यायाधिवक्ताको ध्यानाकर्षण गराउनू.........१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला अपलोड गरी मिसिल नियमानुसार गर्नू........२ 

 

उक्त रायमा म सहमत छु ।

न्या.डा.कुमार चुडाल

 

इजलास अधिकृत:- सदिक्षा राउत (शाखा अधिकृत)

इति संवत् २०८० साल मङ्सिर १७ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु