शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४८५ - हक कायम नामसारी दर्ता

भाग: ६७ साल: २०८२ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायधीश श्री अनिलकुमार सिन्हा

माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा

फैसला मिति : २०७९।०४।१८

०७४-CI-०३६५

 

मुद्दा : हक कायम नामसारी दर्ता

 

पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८ विहारकुण्ड स्थित रसिक चुडामणी भगवान् चारूशिला कुञ्ज स्थान बस्ने स्व. रामपुकार शरणको चेला ऐ. ऐ. बस्ने हालको महन्थ रामबाबु पाण्डे भन्‍ने रामसुरत शरण वैष्णवको मृत्यु भई कानूनबमोजिम मुद्दा सकार गर्ने अविनास शरण वैष्णव

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८ स्थित रसिक चुणामणी भगवान्‌ चारूशिला कुञ्ज स्थान बस्ने महन्थ स्वः लक्ष्मण शरणको चेला छोरा स्वः विमल शरण वैष्णवको मृत्यु भई कानूनबमोजिम मुद्दा सकार गर्ने ऐ. ऐ. बस्ने राम कुमार राउत शरण वैष्णव

 

सार्वजनिक हितप्रति समर्पित एकजना उदार मन भएका परोपकारी भावले अभिप्रेरित व्यक्तिको उदारताको लाभ समुदायले उठाउन पाउने प्रक्रिया र पद्धति नै गुठी हुने । जुन एक पटक प्रारम्भ भएपश्‍चात् निरन्तर रूपमा चलिरहने प्रक्रिया र प्रथाको रूपमा रहने ।

(प्रकरण नं.२)

गुठीको स्थापना र संरक्षण गर्नुपर्ने, गुठीको सम्पत्ति मासिखान नहुने, पुरातात्तिक र ऐतिहासिक महत्त्व बोकेका मठ मन्दिरको सम्पत्ति नास गर्ने कार्यलाई अदालतले छुट दिन नसक्ने, गुठी एउटा भौतिक सम्पत्ति मात्र नभएर यसभित्र एउटा अलौकिक सम्पदा लुकेर रहेको र यस्तो सम्पदा सभ्यताको विकासको परिचयात्मक चिह्न रहेकोले यसको संरक्षण गरी अन्तरपुस्ता पुस्तान्तरण गर्न पनि गुठीको संरक्षण गर्नु राज्यको मात्र कर्तव्य नरही सरोकारवाला सबैको कर्तव्य र दायित्वसमेत रहने । 

(प्रकरण नं.३) 

मिथिला क्षेत्रमा रहेका मठ मन्दिरको संरक्षण गर्न, सोको सञ्‍चालन व्यवस्थापन गर्न, सनातन धर्म र संस्कृतिको जगेर्ना गर्नको निमित्त सुयोग्य पात्रको छनौट गरी यस्ता मठ मन्दिर देवालहरूको संरक्षण गरी संस्कृति र सम्पदाको पुस्तान्तरणको लागि लक्ष्मीनारायण मठ मटियानी स्थानलाई भेषधारी महन्थ नियुक्ति गरी चादर पगडी गरी दिनेसमेतको अधिकार संवत् १९३४ र १९७० मा भएको सनद लालमोहरसमेतबाट मान महन्थलाई प्रदान गरिएको भन्‍ने मान्यता रही आएको देखिने । 

(प्रकरण नं.५) 

महन्थ पदवी भनेको साधारण पदवी र जिम्मेवारी नभई असाधारण प्रकृतिको उच्च आचरणमा रहनुपर्ने र नैतिकतायुक्त, समाजको पथपर्दशकको भूमिकामा सामाजिक अभियन्ताको रूपमा स्थापित भई सोअनुसारको भूमिका खेल्नुपर्ने धार्मिक र सामाजिक पदवी रहेकोले उच्च नैतिक आचरण कायम राख्‍न नसक्ने व्यक्तिले यो पदको गरिमा बढाउन नसक्ने । 

(प्रकरण नं.८)

गुठीको आत्मा भनेको नै परम्परादेखिको सभ्यता र संस्कृतिलाई निरन्तरता दिने, सामजिक र धार्मिक जगेर्ना गर्ने, समाजमा लोक कल्याणकारी कार्यहरू गरी मानवीय भावनाको प्रवर्द्धन गर्ने हुँदा यी वादी प्रतिवादीबाट कालान्तरसम्म यस्ता उद्देश्यको प्रवर्द्धन गर्छन र गरिरहने छन् भन्‍ने विश्‍वास गर्न लायक अवस्था नदेखिँदा दुवैलाई चुडामणी भगवान् चारूशिला कुञ्‍जस्थानको महन्त एवं संरक्षक कायम गरी मन्दिरको नाममा रहेको विवादित कि.नं. का जग्गा जमिन (चल अचल सम्पत्ति) हक कायम गरी नामसारी हुन नसक्ने । 

(प्रकरण नं.१०)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री महादेवप्रसाद यादव, श्री श्यामप्रसाद खरेल र श्री लक्ष्मण सिंह तथा विद्वान्‌ अधिवक्ताहरू श्री राजनकुमार निरौला, श्री सुभाष आचार्य र श्री धिरेन्द्रकुमार साह

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री प्रकाशबहादुर के.सी. 

अवलम्बित नजिर :

ने.का.प.२०५३, अङ्क ८, नि.नं.६२३९

ने.का.प.२०६४, नि.नं.७८८५

ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३६७

ने.का.प.२०६८, नि.नं.८५६३

ने.का.प.२०७२, नि.नं.९५०४

ने.का.प.२०७५, नि.नं.१००३१

ने.का.प.२०७६, नि.नं.१०२२५

सम्बद्ध कानून :

नेपाल अधिराज्यको संविधान, २०४७

मुलुकी देवानी संहिता, २०७४

गुठी संस्थान ऐन, २०३३

स्थानीय सरकार सञ्चालन ऐन, २०७४

 

सुरू तहमा फैसला गर्नेः-

मा. जिल्ला न्यायाधीश श्री चन्द्रमणी ज्ञवाली 

धनुषा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री तेजबहादुर के. सी.

माननीय न्यायाधीश श्री चित्रदेव जोशी

पुनरावेदन अदालत जनकपुर

 

फैसला

न्या.डा.मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्न अनुमति प्रदान भई यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छ :

तथ्य खण्ड

धनुषा जिल्ला, जनकपुर नगरपालिका वडा नं. ८ मा अवस्थित चुडामणी भगवान् चारूशिला कुञ्ज स्थानको संरक्षक मुल गुरु स्वर्गीय जनकनन्दनी शरणका चेला स्व. रामसुन्दर शरण र राम सुन्दरको दुई चेलामा सीता शरण वैष्‍णव मेरो काका गुरु लक्ष्मण शरण मेरो गुरु बुबा हुनुहुन्छ । सीता शरण मिति २०३९ सालमै साकेतवास भएको र वहाँको चेला रामपुकार शरण हुनुहुन्थ्यो । रामपुकारको मृत्यु मिति २०५७।३।१९ मा भयो । निज जीवित हुन्जेल कोही कसैलाई चेला नियुक्ति गर्नुभएको थिएन । वहाँको साकेत वाँसपछि कुट्टीको सम्पूर्ण चल अचल सम्पत्ति गुरूबुबा लक्ष्मण शरणले भोग गरी आउनुभएको थियो । मेरो गुरु बुबा लक्ष्मण शरणले भतिज चेला रामपुकारलाई शेषपछिको बकसपत्र गरिदिए पनि बक्स पाउने निज आफैँ पहिले साकेत वाँस हुनुभएकोले बकसपत्रको औचित्य नै समाप्‍त भएको थियो । उक्त कुञ्ज मेरा गुरु बाबु लक्ष्मण शरणले चलाउनुभएको अवस्थामा गुरूको मिति २०५८।८।२२ मा मृत्यु भएकोले मृत्युपछि म वादीले सो कुञ्ज सञ्‍चालन गरी आएको छु । गुरूबुबा लक्ष्मण शरणको मृत्युपश्‍चात् लक्ष्मीनारायण मठ मटियानी स्थानबाट मिति २०५८।१०।२९ मलाई गुरूबुबा लक्ष्मणको एक मात्र चेला एवं कुञ्जको एक मात्र महन्थ भनी महन्थ नियुक्त गरी चादर पगडी गरी दिएका छन । विपक्षी रामबाबुले नै मिति २०५८।१०।२९ मा लक्ष्मीनारायण मठमा निवेदन दिई मलाई सो कुट्टीको महन्थ भएको स्वीकार गरेको, साधु सेवा समितिको मिति २०५९।०२।०५ को पत्रबाट लक्ष्मण शरणको एक मात्र चेला भएको प्रमाणित गरेको, त्यसैगरी मिति २०५८।१०।२८ मा श्री रामनन्दीय वैष्णव संघको प.सं. १९ को पत्रबाट महन्थ पदवीमा रहेको भनी प्रमाणित गरेको, धनुषा जिल्ला अदालतबाट दण्ड जरिवाना सम्बन्धमा मिति २०६०।११।१४ मा भएको मुचुल्का र बाबु लक्ष्मण शरण जीवित छँदै मलाई मिति २०५३।०८।०४ मा महन्थ रहेको र निजको एकमात्र हकदार भएको भनी कागज गरिदिएका छन । गुठी संस्थानको मिति २०५६।१।१२ को पत्रबाट वडा अध्यक्षलाई वास्तविकता बुझी पठाउने भनी गरेको मिति २०५६।०१।२० मा भएको सर्जमिनबाट म चेला भई कुट्टी सञ्‍चालन गरी आएको छु भन्‍ने पुष्टि र प्रमाणित छ । गुरु लक्ष्मण शरणको नाममा रहेको जग्गा नामसारी सम्बन्धमा जनकपुर नगरपालिकाबाट मिति २०६३।०१।०४ को सिफारिस र मालपोत कार्यालयबाट मिति २०६४।०९।०६ मा भएको सर्जमिन र मिति २०५९।१०।२१ च.नं. ७८ बाट जग्गा नामसारीको लागि मटियानी मठबाट भएको सिफारिससमेतबाट म उक्त स्थानको महन्थ हुँ भन्‍ने बेहोरा प्रमाणित छ । 

यसरी उक्त कुञ्जको महन्थ भएकोले चुडामणी भगवान्‌ चारूशिला कुञ्‍ज स्थानको संरक्षक रामपुकार शरण र लक्ष्मण शरणको संयुक्त नाममा दर्ता रहेको जिल्ला धनुषा, बसविट्टी गाउँ विकास समिति वडा नं. १ कि.नं. ६८ को ०-१०-३ ऐ.ऐ. कि.नं. ११४ ०-१-७ ऐ.ऐ. कि.नं. १३० को ०-०-६ ऐ.ऐ. कि.नं. १३५ को ०-१-१० ऐ. वडा नं. ३ कि.नं. ८५ को ०-१५-२ ऐ. वडा नं. ४ कि.नं. ११२ को ०-५-१० ऐ.ऐ. कि.नं. १४१ को ०-३-७ ऐ.ऐ. कि.नं. १५१ को ०-६-४ ऐ.ऐ. वडा नं. ९ को कि.नं. ७४ को १-४-५ ऐ.ऐ. कि.नं. १०२ को ०-१-१५ ज.न.पा. वडा नं. ७ सिट नं. १३५४-१६ कि.नं. ६ ०-९-१२-३ ऐ.ऐ. सिट नं. १३५४-१७ कि.नं. ७ ०-०-४-३ र ऐ.ऐ. सिट नं. १३५४-२१ कि.नं. ८ को ०-३-१० जग्गाको हकदार चेला महन्थ म मात्र भएकोले नामसारी सिफारिसका लागि विपक्षी प्रतिवादीले मिति २०५८।१०।३० मा मन्जुरनामा कागज गरिदिएकोमा सो मन्जुरनामा कागज करकापमा पारी गराएको भनी धनुषा जिल्ला अदालतमा करकाप मुद्दा चली वादी दाबी नपुग्ने ठहरी फैसला अन्तिम भएको छ । उल्लिखित कागज प्रमाणहरूको आधारमा जनकपुर नगरपालिकाबाट मेरा नाउँमा नामसारीको लागि सिफारिस भई नामसारीको लागि मालपोत कार्यालयमा कारबाहीको क्रममा विपक्षीले बाधा विरोध गरेकोले मालपोत कार्यालयबाट विपक्षीलाई बयान गराउँदा मिति २०५८।१०।३० मा विपक्षीले राजिखुसी मन्जुरीले कागज गरेको स्वीकार गरी बयान गरेका छन् । उल्लिखित स्व. गुरूबाबु लक्ष्मण शरण र गुरूभाइ रामपुकार शरणको नाममा रहेका जग्गाहरू मेरा नाममा नामसारी हुने गरी मिति २०६२।०९।०४ मा निर्णय भएउपर विपक्षीको पुनरावेदन परी पुनरावेदन अदालत जनकपुरबाट मिति २०६६।०३।२२ मा उल्लिखित कुञ्ज स्थानको आधिकारिक महन्थ को हो? सुरू जिल्ला अदालतबाट हक कायम गरी ल्याउनु भनी फैसला भएको जानकारी मिति २०६६।१०।१४ मा नक्कल लिई थाहा पाई सो फैसलाअनुसार यो नालेस दिन आएको छु । प्रतिवादीले मसमेत उपर कुञ्जको जग्गाको मिति २०६१ सालको धानवाली लुटेको भनी दिएको लुटपिटसमेतका मुद्दाहरू फिराद दाबी खारेज हुने ठहर भई फैसला अन्तिम भई बसेको छ । विपक्षीले रामानन्दीय वैष्णव संघबाट पाएको सिफारिस र लक्ष्मीनारायण मठबाट चादर पगडी गरी निज रामबाबु पाण्डे वैष्णव धर्ममा नरहेको, गृहस्त जीवनमा रहेको र दुईवटा श्रीमती रहेको तथा नेपाल सरकारको शिक्षक सेवामा रहेको कारण देखाई सिफारिस रद्ध गर्ने गरी मिति २०६६।०६।२८ मा पत्राचारबाट र मुलुकी ऐन, गुठीको महलको १२ नं.समेतको आधारमा विपक्षी रामपुकार शरणको चेला एवं उक्त कुञ्जको महन्थ हुन नसक्ने स्पष्ट छ । उल्लिखित कुञ्जको स्व. गुरूबाबु लक्ष्मण शरण र गुरूभाइ रामपुकारको साकेतवाँसपछि स्वर्गीय लक्ष्मण शरणको चेला छोरा नातासमेतले म फिरादी उक्त कुञ्जको महन्थ रहेभएको हुँदा आधिकारिक उत्तराधिकारी हकवाला महन्थ मलाई कायम गरी चुडामणी भगवान् चारूशिला कुञ्ज स्थानको नाउँमा दर्ता रहेको संरक्षक गुरूबुबा लक्ष्मण शरण तथा गुरूभाइ रामपुकार शरणको नाउँमा कायम रहेको जग्गा र सम्पत्तिको संरक्षकमा मेरा नाउँमा हक कायम गरी नामसारी दाखिला खारेज गरी जग्गाधनी प्रमाणपुर्जासमेत पाउँ भन्‍ने बेहोराको वादीले सुरू अदालतमा दायर गरेको फिराद दाबी । 

फिराद दाबी हकदैयाविहीन, बनावटी, आधारहीन रहेका छन् । फिरादमा देखाएका जग्गाहरू रसिक चुडामणी भगवान्‌ सेवक स्व. सीता शरण, लक्ष्मण शरण वैष्‍णव एवं रसिक चुडामणी संरक्षक स्व. रामपुकार पाण्डे भन्‍ने रामपुकार शरण, लक्ष्मण शरण दुई जनाको संयुक्त नाममा दर्ता रहेको र प्रतिवादी म रामसुरत स्व. रामपुकार पाण्डे भन्‍ने रामपुकार शरणको छोरा चेला एवं स्व. लक्ष्मण शरणको नाति चेला पर्ने व्यक्ति रहेको तथ्यलाई विपक्षीले यहाँ स्वीकारै गर्नु भएको छ । दाबी गैरकानूनी नै रहेको तथ्यको पुष्‍टि यसै साथ संलग्न स्व. लक्ष्मण शरणसँग २०४८ सालमा चलेको देवानी नं. १७८० को करार बदर मुद्दामा यी वादी स्वयंबाट मिति २०४९।०३।१० मा गरिएको मिलापत्रमा उल्लेख भएका सर्तहरूबाटै खुल्न आउँछ । उल्लिखित दे.नं. १७८० को मुद्दाको मिलापत्रमा लक्ष्मण शरणको कुट्टी एवं चल अचल सम्पत्तिमा चेलाको हैसियतले विमल राउतको कुनै हक अधिकार नहुने, कुट्टीमा बस्न पनि नपाइने साथै चेला हुँ भनी भविष्यमा दाबीसमेत गर्न नपाउने गरी करार बदर हुने गरी मिलापत्र गरी आएका व्यक्ति हुन । लक्ष्मण शरणले यिनलाई पुनः चेला बनाइएको कुनै प्रमाण बिना नै स्वघोषित रूपमा नै आफू लक्ष्मण शरणको उत्तराधिकारी चेला रहेको भन्‍ने देखाई कुट्टी स्थानका जग्गाउपर आफ्नो हक कायम गरी नामसारी गरी पाउन दायर गरिएको फिराद प्रमाण ऐन, २०३१ को दफा ३४ एवं मुलुकी ऐन, अ.बं. ८२ नं. विपरीतको हकदैयाविहीन रहेको प्रस्टै छ । रसिक चुडामणी भगवान् चारूशिला कुञ्ज स्थानका संस्थापक स्व. राम सुन्दर शरणज्यूको जनकजाया शरण, सीता शरण र लक्ष्मण शरण गरी तीन चेला थिए । प्रमुख कारोवारी महन्थ शिष्य जनकजाया शरणज्यूले मिति २०२६ सालमा पारित गर्नुभएको र.नं. १५७९ का सर्तनामा लिखतअनुसार सो स्थानको प्रमुख उत्तराधिकारी महन्थमा सीता शरण वैष्णव र सहयोगी पुजारीमा लक्ष्मण शरणलाई कायम गरी आफू निसन्तान देहत्याग गर्नुभएको थियो । त्यसपश्‍चात् स्व. सीता शरणले स्व. रामपुकार शरणलाई रामपुकार शरणले म रामसुरत शरणलाई आफ्नो शिष्य मुकरर गर्नुभएको हो । स्व. लक्ष्मण शरणले वादीलाई मिति २०४४ सालमा आएर आफ्नो शिष्य बनाए पनि मिति २०४९।०३।१० मा गरेको करार बदर मुद्दाका मिलापत्रद्वारा लक्ष्मण शरण चेलाविहीन हुन गएका हुन । मिति २०५८।०८।२२ मा साकेतवाँस भएपछि उक्त कुञ्ज स्थान चुडामणी भगवान्‌ सेवक स्व. सीता शरण स्व. लक्ष्मण शरण र संरक्षक रामपुकार पाण्डे भन्‍ने रामपुकार शरणको नाममा रहेको फिराद दाबिमा उल्लिखित जग्गाहरूलाई नामसारी गराई ल्याउने हकदैया उक्त कूलको एक मात्र बाँकी छोरा चेला म नै हो भन्‍ने विषयमा कुनै विवाद छैन । 

गुरू रामपुकार शरणको मृत्युपश्‍चात् वहाँको एकल संरक्षणमा दर्ता रहेको जनकपुर नगरपालिकाको विभिन्‍न ५ कित्ता जग्गालाई लक्ष्मण शरणको जीवित अवस्थामै रामानन्द वैष्णव संघको मिति २०५७।०४।०८ को सिफारिस, जनकपुर नगरपालिकाको मिति २०५७।०४।१८ को नाता प्रमाणित, लक्ष्मीनारायण मठ मटियानी स्थानबाट मिति २०५७।०६।२७ को चादर पगडी पत्र एवं नगरपालिकाको सिफारिससमेतको आधारमा मिति २०५७।१०।०२ को दिन मालपोत कार्यालय धनुषाले मेरो एकल संरक्षकत्वमा नामासारी दर्ता गरिदिएको मिसिल प्रमाणबाट समेत पनि दाबीका जग्गाहरूमा हकै नभएका विपक्षी वादीको हक कायम हुने अवस्था छैन । उल्लिखित पूरै जग्गा म रामसुरतको नै हक संरक्षण कायम हुनुपर्ने सम्पत्ति रहेको छ । अतः मैले पुनरावेदन अदालत जनकपुरको मिति २०६६।०३।२२ को फैसलाअनुसार उक्त कुञ्ज स्थानको महन्थ पदमा आफ्नो हक कायम गराई आफ्नो नामका संरक्षकत्वमा नामसारी गराई पाउन दे.नं. २३९७ को फिराद दायर गरी सकेकोले हकदैया विहीन वादीको फिराद खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीको फिराद प्रतिउत्तर । 

वादीका साक्षी सहदेव राउतले अदालतमा गरेको बकपत्र र प्रतिवादीका साक्षी माहाविर शरणले अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको । 

मिथिला क्षेत्रमा भएका मठ मन्दिरहरूको संरक्षण, व्यवस्थापन, मठ मन्दिर सञ्‍चालनार्थ महन्थ नियुक्ति गरी चादर पगडी गरी दिनेसमेतको लक्ष्मीनारायण मठ मटीहानी स्थानलाई संवत् १९३४ र १९७० मा भएको सदर लालमोहरसमेतका आधारमा प्राप्‍त अधिकारबमोजिम लक्ष्मीनारायण मठ मटियानी स्थानबाट मिति २०६६।१२।०५ च.नं. ५९ को पत्रबाट प्रतिवादी रामसुरतले पाएको मिति २०५७।०६।२७ को चादर पगडी बदर गरिदिएउपर यी प्रतिवादीले प्राप्‍त उक्त कुञ्जको चादर पगडी बदर गर्ने निर्णयउपर उजुर गरी बदर गराउन सकेको नदेखिएको एवं वादी विमल शरणले उक्त रसिक चुडामणी भगवान् चारूशिला कुञ्जको संरक्षण गरी आएको भनी सो आधारमा निजलाई मिति २०५८।१०।२९ मा महन्थ पदमा लक्ष्मीनारायण मठका मानमहन्थले नियुक्त गरेको समेत उक्त लक्ष्मीनारायण मठबाट प्राप्‍त निर्णय फाइलबाट देखिँदा दाबीको रसिक चुडामणी भगवान्‌ चारूशिला कुञ्जको आधिकारिक उत्तराधिकारी संरक्षक हकवाला महन्थ वादी विमल शरण राउत ठहरी दाबीको रसिक चुडामणी कुञ्जको नाम दर्ता कायम भएका जग्गाको संरक्षक लक्ष्मण शरण र रामपुकार शरणको नामको संरक्षक खारेज गरी वादी विमल शरण वैष्णवलाई संरक्षकसमेत कायम गरी दिनुपर्ने ठहर्छ भन्‍ने बेहोराको सुरू धनुषा जिल्ला अदालतबाट मिति २०६९।१।६।४ मा भएको फैसला । 

मुलुकी ऐन, गुठी महलको कानूनी व्यवस्थानुसार मिति २०५७।०६।२७ गते नै म पुनरावेदकलाई लक्ष्मीनारायण मठका मानमहन्थले चादर पगडी प्रदान गरी चारूशिला कुञ्ज स्थानका महन्थ नियुक्त गरिसकेको साथै प्रत्यर्थीले मउपर धनुषा जिल्ला अदालतमा दे.नं. १७६४ को धर्मलोप मुद्दा दिएकोमा सो मुद्दामा धर्मलोपसम्बन्धी कसुरका कुनै कार्य नगरेको भन्‍ने ठहर गरी भएको फैसलासमेतबाट उक्त स्थानको महन्थ म पुनरावेदक नै रहेको पुष्‍टि भई राखेकोमा सोलाई कुनै मूल्याङ्कन नै नगरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्‍ने बेहोराको प्रतिवादीका तर्फबाट साबिक पुनरावेदन अदालत जनकपुरमा दायर गरेको पुनरावेदन । 

यसमा यिनै वादी प्रतिवादी भई चलेको मुद्दा साथै पेस हुन आएको दे.पु.नं. ०२७७ को नवीकरण नामसारी मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएको परिप्रेक्ष्यमा प्रमाणको मूल्याङ्कन सम्बन्धमा फैसला विचारणीय हुँदा प्रस्तुत मुद्दामा समेत अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलका लागि प्रत्यर्थी झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत जनकपुरबाट मिति २०७०।६।१३ मा भएको प्रत्यर्थी झिकाउने आदेश । 

मिति २०५७।०६।२७ मा यी पुनरावेदकले पाएको चारूशिला कुञ्‍ज स्थानको महन्थ पद र चादर पगडी बदर गरी विपक्षी वादी विमल शरण वैष्णवलाई मिति २०५८।१०।२९ मा रसिक चुडामणी भगवान् चारूशिला कुञ्ज स्थानको महन्थ पदमा नियुक्त गरी चादर पगडी दिएबाट यी पुनरावेदक प्रतिवादी उक्त स्थानको महन्थ पदमा कायमै रहेको भनी मान्न सकिने अवस्था देखिएन । लक्ष्मीनारायण मठ मटियानीको मानमहन्थले दिएको नियुक्ति र चादर पगडीलाई आधार मानि धनुषा जिल्ला अदालतले रसिक चुडामणी भगवान् चारूशिला कुञ्ज स्थानको अधिकारीक महन्थ विपक्षी वादी विमल शरण राउत भएको ठहर गरी सो कुञ्ज स्थानको नाम दर्ताको जग्गा निजकै संरक्षणमा सञ्‍चालन गर्न पाउने हक हुने गरी सुरू धनुषा जिल्ला अदालतबाट मिति २०६९।०१।०६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍ने बेहोराको साबिक पुनरावेदन अदालत जनकपुरबाट मिति २०७०।९।८ मा भएको फैसला ।

रसिक चुडामणी भगवान् चारूशिला कुञ्‍ज स्थान र सो संग सम्बन्धित भेषधारी अधीनस्थका भित्री कुट्टी स्थान भएकोमा विवाद देखिएको छैन । चारूशिला कुञ्‍ज स्थानका साबिकको भेषघारी महन्थ जनकजाया शरणले गुरूभाइ सीता शरण वैष्णवलाई मुख्य महन्थ र लक्ष्मण शरणलाई सहायक पूजारीमा नियुक्त गरेको, मुख्य महन्थ सीता शरण वैष्णवले मेरो गुरु रामपुकार शरणलाई आफूहरूको शेषपछि स्थानका सर्वाधिकार सम्पन्‍न महन्थ हुन पाउने गरी शेषपछिको बकसपत्र लिखत मिति २०३९।०८।२८ मा दुवै जना मिलेर पारित गरिदिनुभएको हो । लक्ष्मण शरणको जीवनकालमै महन्थ सीता शरणको मृत्यु हुँदा वहाँलाई महन्थ नबनाई गुरु रामपुकार शरणलाई रसिक चुडामणी भगवान्‌ चारूशिला कुञ्‍जस्थानको महन्थ बनाइएकोमा मिति २०५७।३।१९ मा रामपुकार शरणको हत्या भएपछि नगरपालिकाबाट प्राप्त नाता प्रमाणित प्रमाणपत्रसमेतका कागजातका आधारमा मलाई मिति २०५७।०६।२७ मा लक्ष्मीनारायण मठका मान महन्थले परम्परा अनुरूपको चादर पगडी गरी चारूशिला कुञ्‍जस्थानको महन्थमा नियुक्त गरेको प्रमाणित छ । गुरु रामपुकार शरणको मृत्युपश्चात् वहाँको एकल संरक्षणमा दर्ता रहेको रसिक चुडामणी भगवान्‌ एवं शालीग्राम भगवान्‌जी नामका जनकपुर नगरपालिकाअन्तर्गतको विभिन्‍न ५ कित्ता जग्गाहरूलाई लक्ष्मण शरणको जीवित अवस्थामै रामानन्द वैष्णव संघको मिति २०५७।०४।०८ को सिफारिससमेतको आधारमा मिति २०५७।१०।०२ गतेको दिन मालपोत कार्यालय धनुषाले मेरो एकल संरक्षकत्वमा नामसारी दर्ता गरिदिएको मौजुदै रहेको मिसिल प्रमाणबाट समेत दाबीको जग्गाहरूमा विपक्षीको हक लाग्ने अवस्था छैन । 

विपक्षी वादी लक्ष्मण शरणले मिति २०४४।०७।२४ मा विधिवत् रूपमा करार गरी यिनै विपक्षी विमल शरण राउतलाई चेला नियुक्त गर्नु भएको थियो । निजले कुट्टी स्थानका चल अचल श्री सम्पत्तिहरू हिनामिना, बिक्री व्यवहार गर्न र आफ्ना आफन्तहरूलाई दिन थालेको देखेपछि निजलाई आफ्नो चेला र कुट्टी स्थानको उत्तराधिकारीबाट हटाउन मिति २०४८।०५।२० मा धनुषा जिल्ला अदालतमा दे. नं. १७८० को "करार बदर" मुद्दा दायर भएको थियो । उक्त मुद्दामा मिति २०४९।०३।१० गते लक्ष्मण शरण र विमल शरणबिच मिलापत्र हुँदा लक्ष्मण शरणको कुट्टी एवं चल अचल सम्पत्तिमा चेलाको हैसियतबाट विमल शरणको कुनै हकाधिकार नरहने, लक्ष्मण शरणको कुट्टी स्थानमा बस्न पनि नपाउने, साथै चेला हुँ भनी भविष्यमा दाबीसमेत गर्न नपाउने र करार बदर हुने गरी प्रस्ट सर्तहरू राखेर विपक्षीलाई लक्ष्मण शरणको शिष्य रहन र हुनबाट विधिवतरूपमा कानूनबमोजिम निष्काशित गरेको थियो । 

विपक्षीले पुनः आफूलाई लक्ष्मण शरणले विधिवतरूपमा चेला बनाएको भनी लक्ष्मण शरणज्यूको कुट्टी स्थानसमेतको हक खाने उत्तराधिकारी (चेला) आफू हुँ भन्‍ने गलत तथ्य दर्शाई मिलापत्रको सर्त प्रतिकूल स्वघोषित रूपमै कुट्टी स्थानको जग्गामा आफू उत्तराधिकारी एवं संरक्षक हुँ भनी नामसारी गराइपाउँ भनी चलाएको प्रस्तुत मुद्दाको विपक्षीको दाबी प्रमाण ऐन, २०३१ को दफा ३४ र सर्वोच्च अदालतबाट प्रतिपादित ने.का.प. २०४६ अङ्क २ नि नं. ३७३५, ने.का.प. २०४८ अङ्क ११ नि.नं. ४४११ समेतका मुद्दाहरूमा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल विवन्धित एवं हकदैया विहीन रहेकोले गैरकानूनी रहेको प्रस्ट छ ।

विपक्षीलाई मैले लेखिदिएको भनिएको मिति २०५८।८।१२, २०५८।१०।२९ र २०५८।१०।३० का लिखत कागजहरू सद्धे नै रहेको भन्‍ने ठहरिन आए पनि चारूशिला कुञ्‍ज स्थानका लिखत, परम्परा एवं स्वः लक्ष्मण शरणसँग नै यी विपक्षीको भएको मिलापत्रको सर्त भावनाका प्रतिकूल भएकाले कुनै पनि लिखत कागजले विपक्षीलाई हकदैया सिर्जना हुने अवस्था छैन । प्रमाण ऐन, २०३१ को दफा ३४ ले विबन्धन लाग्छ भन्‍ने गैरकानूनी तर्कलाई अघि सारेर रूसिक चुडामणी भगवान् संरक्षक रामपुकार शरण र लक्ष्मण शरणको संयुक्त नाममा दर्ता रहेको उल्लिखित जग्गाहरू विपक्षी वादीलाई आधिकारिक महन्थ रहेकोले संरक्षकसमेत कायम गरी हक कायम नामसारी गरी दिने ठहर गरेको धनुषा जिल्ला अदालतको फैसला सदर गरेको उच्च अदालत जनकपुरबाट भएको फैसला कानूनतः त्रुटिपूर्ण र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेकोले दोहोर्‍याई हेर्न निस्सा प्रदान गरी म पुनरावेदकलाई संरक्षक कायम गरी हक कायम नामसारीसमेत गरिपाउँ भन्‍ने बेहोराको रामबाबु पाण्डे भन्‍ने रामसुरत शरण वैष्णवले यस अदालतमा दायर गरेको निवेदन । 

यसमा वादी विमल शरण वैष्णवले वादी लक्ष्मण शरण वैष्णव प्रतिवादी निजै विमलशरण वैष्णव भएको दे.नं. १७८० को करार बदर मुद्दामा २०४९।०३।१० मा धनुषा जिल्ला अदालतमा मिलापत्र गर्दा वादी विमलशरणले कुट्टीको चल अचल सम्पत्तिमा चेलाको हैसियतले कुनै हक अधिकार नरहेने, कुट्टीमा बसोबाससमेत गर्न नपाउनेसमेतको सर्त उल्लेख गरी मिलापत्र गरेको देखिएको, मिति २०२६।०१।०२ मा पारित भएको सर्तनामाबाट लक्ष्मण शरण सहायक पुजारीसम्म रहेको देखिएकोमा लक्ष्मण शरणको चेलाको नाताले महन्थ पाउने अवस्था नरहेकोमा वादी दाबीबमोजिम रसिक चुडामणी भगवान्‌ चारूशिला कुञ्ज स्थानको नाम दर्ताको जग्गा निज विमल शरणकै संरक्षणमा सञ्‍चालन गर्न पाउने हक हुने गरी धनुषा जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरेको तत्कालीन पुनरावेदन अदालत जनकपुरको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, ३४ समेतको त्रुटि देखिएकोले पुनरावेदन गर्न अनुमति प्रदान गरिदिएको छ । साथै लगाउँमा रहेको ०६७-CR-०७९१ को लुटपिट मुद्दासमेत साथै राखी नियमानुसार पेस गर्नु भन्‍ने बेहोराको यस अदालतबाट मिति २०७४।०५।२६ मा भएको आदेश । 

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न तथ्य, कागजात तथा प्रमाणसमेतको अध्ययन गरी हेरियो ।

पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री महादेवप्रसाद यादव, श्री श्यामप्रसाद खरेल र श्री लक्ष्मण सिंह तथा विद्वान्‌ अधिवक्ताहरू श्री राजनकुमार निरौला, श्री सुभाष आचार्य र श्री धिरेन्द्रकुमार साहले भगवान्‌ चारूशिला कुञ्‍ज स्थानको संरक्षक एवं मुल पुजारी राम सुन्दरले ३ जना शिष्यहरू नियुक्त गरेको जसमा पहिलो जनकजाय, दोस्रो सीता शरण, तेस्रोमा लक्ष्मण शरण रहेका थिए । सीता शरणले रामपुकार शरणलाई चेला बनाएकोमा लक्ष्मण शरणको समेत सहमति थियो । २०४४ सालमा लक्ष्मण शरणले विमल शरणलाई करार गरी शिष्य बनाएकोमा विमल शरणले मन्दिरको चल अचल सम्पत्ति हिनामिना गरेको, कुट्टीको परम्पराविपरीत कार्य गरेको भनी मिति २०४८।०५।३० मा करार बदर मुद्दा दायर गरेकोमा धनुषा जिल्ला अदालतमा मिलापत्र हुँदा विमल शरणले चेलाको हैसियतले कुट्टीको कुनै सम्पत्ति माथि दाबी नगर्ने, कुनै हक अधिकार नहुने, अब उप्रान्त चेला हुँ भनी दाबी नगर्ने र कुट्टीमा समेत बस्न नपाउने गरी मिलापत्र गरेको हुन । प्रत्यर्थी प्रतिवादीले पुनरावेदकले धर्मलोप गरेको आरोप लगाई मिति २०६२।०२।०६ मा धर्मलोप मुद्दा धनुषा जिल्ला अदालतमा दायर गरेकोमा सो मुद्दामा धर्मलोप गरेको भन्‍ने वादी दाबी नपुग्ने ठहर्‍याई पुनरावेदकलाई महन्थ नै भनी सम्बोधन गरेकोमा सो फैसलाउपर प्रत्यर्थी वादीले कुनै सम्मानित अदालतमा चुनौतीसमेत नदिई स्वीकार गरेको अवस्था छ । पुनरावेदकलाई रसिक चुडामणी चारूशिला कुञ्‍ज स्थानको रामपुकार शरणले उत्तराधिकारी शिष्य मुकरर गरेको भनी मिति २०५७।०४।०८ मा वैष्णव संघले सिफारिस गरेको, जनकपुर नगरपालिकाले मिति २०५७।०४।१८ मा रामपुकार शरण र लक्ष्मण शरणको शेषपछिको संरक्षक एवं एकमात्र हकदार रहेको भनी नाता प्रमाणित गरेको, लक्ष्मीनारायण मठ मटियानी स्थानका मान महामहन्थले मिति २०५७।०६।२७ मा मन्दिरको महन्थ हुने भनी चादर पगडी दिएको र मिति २०५७।०९।०४ मा स्व. रामपुकारज्यूको संरक्षकत्वमा रहेको कुट्टीको जग्गा पुनरावेदकको नाउँमा नामसारीको लागि जनकपुर नगरपालिकाबाट सिफारिस भई मालपोत कार्यालय धनुषाले मिति २०५७।१०।०२ मा नामसारी गरी दिने गरी भएको निर्णयबाट पुनरावेदक नै आधिकारिक महन्थ भन्‍ने प्रमाणित भएको बेहोरा स्पष्ट छ । विपक्षीले मिति २०५८।०८।२२ को कथित लक्ष्मण शरणको चेला भनी गरेको अधिकारनामा, मिति २०५८।१०।२९ मा मटिहानी स्थानमा दिएको निवेदनका आधारमा पगरेको चादर पगडी र मिति २०५८।१०।३० को कागजले विपक्षीलाई चारूशिला कुञ्‍ज स्थानको हकवाला शिष्य वा लक्ष्मण शरणको चेला वा चारूशिला कुञ्ज स्थानको संरक्षक वा महन्थ बनाउन सक्ने होइन । लक्ष्मी नारायण मठ मटियानी स्थानको २०५७।०६।२७ को पत्रद्वारा पुनरावेदकलाई चादर पगडी दिएको कुरामा विवाद छैन । एक पटक चादर पगडी दिएपछि नियुक्त महन्थबाट हटाइएको भन्‍ने लक्ष्मीनारायण मठ मटियानीको मिति २०६६।१२।०५ को पत्र गैरकानूनी छ, त्यस्तो बदर गर्ने अधिकार मानमहन्थलाई छैन । पुनरावेदक महन्थ कायम रहेकै अवस्थामा पुनः मिति २०५८।१०।२९ मा विपक्षीलाई लक्ष्मीनारायण मठ मटियानी स्थानबाट महन्थ पदमा गरेको नियुक्ति र चादर पगडीको पत्र कानूनसम्मत छैन । 

मन्दिरको नित्य परम्पराअनुसारको पूजा आजा पुनरावेदकको छोरा एवं प्रस्तुत मुद्दा सकार गर्ने अविनास पाण्डे भन्‍ने अविनास शरणले गर्दै आएको छ । प्रत्यर्थी वादीको मुद्दा सकार गर्ने निजको छोरा लागु औषध, चोरी जस्ता कार्यमा सरीक भई धनुषा जिल्ला अदालतबाट दोषी ठहर भई कैदसमेत भुक्तान गरी नैतिक आचरणमा नरहेको स्पष्ट छ । मन्दिरको सम्पत्ति वंशकोको आधारमा अंश पाउने प्रकृतिको सम्पत्ति होइन, महन्थहरूको सम्पत्ति वंशमा सर्दैन, वैष्णव परम्परा र संस्कृतिअनुसार मात्र सम्पत्तिको संरक्षक हुने हुनाले पनि तथ्य प्रमाणको समुचित मूल्याङ्कन नगरी गरिएको सुरू धनुषा जिल्ला अदालतको त्रुटिपूर्ण फैसला सदर गरेको साबिक पुनरावेदन अदालत जनकपुरको फैसला प्रचलित कानून, गुठीको धार्मिक सांस्कृतिक प्रथा, परम्परा, प्रचलन र सम्मानित अदालतबाट प्रतिपादित नजिर सिद्धान्त प्रतिकूल भएकोले बदर गरी पुनरावेदक प्रतिवादीलाई महन्थ कायम गरी फिराद दाबिमा उल्लिखित जग्गाहरूको संरक्षक कायम हुने गरी पुनरावेदकको नाममा हक कायम दर्ता नामसारी हुनुपर्ने हो भनी गर्नु भएको बहस सुनियो । 

प्रत्यर्थी वादीको तर्फबाट विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री प्रकाशबहादुर के.सी.ले रसिक चुडामणी भगवान्‌ चारूशिला कुञ्ज स्थानका सञ्चालक एवं महन्थ लक्ष्मण शरणको मृत्यु मिति २०५८।०८।२२ मा भएपछि लक्ष्मीनारायण मठ मटीहानी स्थानका मानमहन्थले मिति २०५८।१०।२९ मा रसिक चुडामणी भगवान्‌ चारूशिला कुञ्ज स्थानको महन्थको रूपमा विमल शरण वैष्णवलाई नियुक्त गरी चादर पगडी दिएको हो । साधु सेवा समितिको मिति २०५९।०२।०५ को पत्र, त्यसैगरी मिति २०५८।१०।२८ को रामनन्दनी वैष्णव संघको प.सं. १९ को पत्र, मिति २०५६।०१।२० मा जनकपुर नगरपालिकाको वडा अध्यक्षबाट भएको सर्जमिन र गुरु लक्ष्मण शरणको नाउँको जग्गा नामसारी गर्न जनकपुर नगरपालिकाबाट भएको सिफारिस र पुनरावेदक प्रतिवादीले वादीलाई महन्थ नियुक्तिको लागि मिति २०५८।१०।२९ मा लक्ष्मीनारायण मठ मटियानी स्थानमा महन्थ नियुक्ति गरिपाउँ भनी दिएको निवेदनका साथै निजले मालपोत कार्यालय, धनुषामा मिति २०५८।१०।३० मा आफू महन्थ नभएको भनी स्वीकार गरी बयान गरेका छन् । यी पुनरावेदकले उल्लिखित मन्जुरीनामा करकापमा गराएको भनी करकाप मुद्दा दायर गरेकोमा करकाप ठहर नहुने गरी धनुषा जिल्ला अदालतबाट फैसला भएको अवस्था छ । गुठीको परम्परा र प्रचलनको निरन्तरताको लागि भेषधारीले राखेको सम्पत्ति भेषधारीमा रही संरक्षकत्व कायम भई रीत परम्पराअनुसारको धर्म संस्कृतिको जगेर्ना गर्ने हो । यी पुनरावेदकले विबन्धनको सिद्धान्तअनुसार आफूले गरेको कागजातबाट समेत आफ्नो हकदैया नरहेको, गुठीको महलको ११ नं.बमोजिम महन्थको नाममा हुनुपर्नेमा पुजारीको नाममा भएकोले पनि बदर हुनुपर्ने हो । पुनरावेदक प्रतिवादी सरकारी शिक्षक रूपमा कार्यरत रहेको, निजले गृहस्थ जीवनयापन गरेको हुनाले पनि महन्थ कायम हुन सक्ने होइन । हाम्रो पक्ष वादी विमल शरण वैष्णव रसिक चुडामणी चारूशिला कुञ्ज स्थानको स्व. महन्थ लक्ष्मण शरणको आधिकारिक चेला रहेको, विभिन्‍न मितिमा श्री लक्ष्मीनारायण मठको मानमहन्थले महन्थ रहेको भनी चादर पगडी गरेको मिसिल संलग्न प्रमाणसमेतको समुचित मूल्याङ्कन गरी उक्त मन्दिरको आधिकारिक महन्थ तथा संरक्षक कायम गर्ने गरी मिति २०६९।०१।०६ मा धनुषा जिल्ला अदालतबाट भएको फैसला सदर गरेको साबिक पुनरावेदन अदालत जनकपुरको फैसला प्रचलित कानून, प्रमाण र सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्त अनुसारनै भएकोले सदर हुनुपर्ने हो भनी गर्नुभएको बहस सुनियो ।

जिल्ला धनुषा, साबिक जनकपुर नगरपालिका वडा नं. ८ मा अवस्थित चुडामणी भगवान्‌ चारूशिला कुञ्ज स्थानको संरक्षक लक्ष्मण शरण र रामपुकार शरणको एकमात्र चेला आफू रहेकोले गुरूको मृत्युपश्‍चात् मलाई रामपुकार शरण र लक्ष्मण शरणको एकमात्र चेला महन्थ भनी महन्थ नियुक्त गरी चादर पगडी गरिदिएकाले चुडामणी भगवान्‌ संरक्षक रामपुकार शरण र लक्ष्मण शरणको संयुक्त नाममा दर्ता रहेको जिल्ला धनुषा, बसविट्टी गाउँ विकास समिति वडा नं. १ कि.नं. ६८ को ०-१०-३ ऐ.ऐ. कि.नं. ११४ ०-१-७ ऐ.ऐ. कि.नं. १३० को ०-०-६ ऐ.ऐ. कि.नं. १३५ को ०-१-१० ऐ. वडा नं. ३ कि.नं. ८५ को ०-१५-२ ऐ. वडा नं. ४ कि.नं. ११२ को ०-५-१० ऐ.ऐ. कि.नं. १४१ को ०-३-७ ऐ.ऐ. कि.नं. १५१ को ०-६-४ ऐ.ऐ. वडा नं. ९ को कि.नं. ७४ को १-४-५ ऐ.ऐ. कि.नं. १०२ को ०-१-१५ ज.न.पा. वडा नं. ७ सिट नं. १३५४-१६ कि.नं. ६ ०-९-१२-३ ऐ.ऐ. सिट नं. १३५४-१७ कि.नं. ७ ०-०-४-३ र ऐ.ऐ. सिट नं. १३५४-२१ कि.नं. ८ को ०-३-१० जग्गासमेतका हकदार चेला महन्थ भएकोले नामसारी हुनुपर्ने हो । उल्लिखित स्व. गुरूबाबु लक्ष्मण शरण र गुरूभाइ रामपुकार शरण नाममा रहेका जग्गाहरू मेरा नाममा नामसारी हुने गरी मालपोत कार्यालय धनुषाबाट मिति २०६२।९।४ मा निर्णय भएउपर विपक्षीको पुनरावेदन परी पुनरावेदन अदालत जनकपुरबाट मिति २०६६।३।२२ मा उल्लिखित कुञ्ज स्थानको आधिकारीक महन्थको हो? सुरू जिल्ला अदालतबाट हक कायम गरी ल्याउनु भनी फैसला भएको बेहोरा नक्कल सारी थाहा पाई उल्लिखित कुञ्जको स्व. गुरूबाबु लक्ष्मण शरण र गुरूभाइ रामपुकारको मृत्युपछि स्व. लक्ष्मण शरणको एकमात्र चेला छोरा नातासमेत रहेको बेहोरा नाता प्रमाणित प्रमाणपत्र, श्री लक्ष्मीनाराणमठ मटियानी स्थानबाट पगरेको चादर पगडी, उक्त स्थानको महन्थ रहेको प्रमाणित गरेको पत्र, श्री रामानन्दनी वैष्णव साधु संघको पत्र, जनकपुर नगरपालिकको सिफारिस, विपक्षी प्रतिवादीले मिति २०५८।१०।२९ र मिति २०५८।१०।३० मा गरेको मन्जुरनामा कागजसमेतका सम्बद्ध कागजातलगायतका प्रमाणहरू प्रमाणमा लगाई उक्त कुञ्जको आधिकारिक उत्तराधिकारी हकवाला महन्थ मलाई कायम गरी रसिक चुडामणी भगवान्‌ चारूशिला कुञ्ज थानको नाउँमा दर्ता रहेको संरक्षक गुरूबुबा लक्ष्मण शरण तथा रामपुकार शरणको नाउँमा कायम रहेको जग्गा तथा सम्पत्तिको संरक्षकमा मेरा नाउँमा हक कायम गरी नामसारी दाखिला खारेज गरी जग्गा धनी प्रमाणपूर्जासमेत पाउँ भन्‍ने बेहोराको वादीको फिराद दाबी रहेकोमा प्रतिवादीले रामपुकार शरण र लक्ष्मण शरणको आधिकारिक हकवाला चेला आफैँ भएको, वादी आफ्नो आचरणमा नरहेको, मन्दिरको जग्गा जमिन, सम्पत्ति अपचलन गरेकाले काका गुरु स्व. लक्ष्मण शरण वैष्णवसँग धनुषा जिल्ला अदालतमा दे.नं. १७८० को करार बदर मुद्दा चली वादीले मिलापत्र गर्दा लक्ष्मण शरणको कुट्टीमा बस्न नपाउने, चेलाको हैसियतले मन्दिरको चल अचल सम्पत्ति प्रयोग गर्न नपाउने साथै चेला हुँ भनी भविष्यमा दाबी गर्न पनि नपाउने गरी करार बदर मुद्दा मिलापत्र गरेको हुन । वादीलाई चेला बनाएको कुनै प्रमाणसमेत पेस गर्न सकेको छैन । गुरु रामपुकारको मृत्युपश्‍चात् वहाँको एकल संरक्षणमा दर्ता रहेको जनकपुर नगरपालिकाको विभिन्‍न ५(पाँच) कित्ता जग्गाहरू लक्ष्मण शरणको जीवित अवस्थामै रामानन्द वैष्णव संघको मिति २०५७।०४।०८ को सिफारिस, नगरपालिकाको मिति २०५७।०४।१८ को नाता प्रमाणित प्रमाणपत्र, लक्ष्मीनारायण मठ मटियानी स्थानको मिति २०५७।०६।२७ को चादर पगडी एवं जनकपुर नगरपालिकाको सिफारिसअनुरूप मिति २०५७।१०।०२ मा मालपोत कार्यालय धनुषाले मेरो एकल संरक्षकत्वमा नामासारी दर्ता गरिदिएको छ । आधिकारिक महन्थ आफू भएकोले दाबीका जग्गाहरूमा वादीको हक कायम हुन सक्ने नहुँदा फिराद दाबी खारेज गरी मेरो नाउँमा संरक्षकत्व कायम गरी हक कायम नामसारी गरिपाउँ भन्‍ने फिराद प्रतिउत्तर रहेकोमा प्रत्यर्थी वादीको नाममा हक कायम नामसारी हुने ठहर गरेको सुरू फैसला सदर गरेको साबिक पुनरावेदन अदालत जनकपुरको फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्‍ने निवेदन परी आदेश भई निर्णयार्थ इजलाससमक्ष पेस भएको देखियो । 

पुनरावेदक प्रतिवादीले रामपुकार शरणको मिति २०५७ मा मृत्यु भएपछि गुरूभाइ लक्ष्मण शरण जीवित रहेको अवस्थामानै रामानन्द वैष्णव संघको मिति २०५७।०४।०८ को सिफारिस, जनकपुर महानगरपालिकाको नाता प्रमाणित प्रमाणपत्र, लक्ष्मीनारायण मन्दिर मटियानीका मानमहन्थबाट मिति २०५७।०६।२७ मा चादर पगडी गरी चारूशिला कुञ्‍जस्थानको महन्थको चादर पगडी नियुक्त गरेको हो । विपक्षी वादीले मेरा काका गुरु लक्ष्मण शरणसँग गरेको करार बदर मुद्दामा गरेको मिलापत्रको सर्तनामा कागज लगायतका प्रमाणबाट महन्थ हुनसक्ने अवस्था नहुँदा साबिक पुनरावेदन अदालत जनकपुरको फैसला बदर गरी आफूलाई महन्थ कायम गरी दाबीका जग्गा हक कायम नामसारी गरिपाउँ भन्‍ने मुख्य पुनरावेदन जिकिर रहेको पाइन्छ ।

उल्लिखित पुनरावेदन जिकिर, मिसिल संलग्न तथ्य, कागजात एवं प्रमाणहरूको अध्ययन गरी दुवैतर्फबाट उपस्थित विद्वान्‌ कानून व्यवसायीहरूको बहस जिकिरसमेत सुनी देहायको विषयमा निर्णय दिनुपर्ने देखियो ।

क) गुठीको परम्पराअनुसार महन्थ तोक्ने पद्धति के कस्तो रहेको छ । वादी प्रतिवादीमध्ये आधिकारिक महन्थ को हुने हो ? 

ख) दाबीका विवादित जग्गा जमिनलगायतका सम्पत्तिको संरक्षण गर्ने गरी हक, भोग र स्वमित्व वादी प्रतिवादीमा रहने हो वा होइन ? गुठी नित्य परम्परा गर्ने जिम्मेवारी को कसमा रहने हो ? 

ग) साबिक पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ?

 

२. माथि उल्लिखित मूल प्रश्नहरूको निरूपण गर्नुपूर्व गुठीको सांस्कृतिक मुल्य र मान्यता, नेपालमा गुठी परम्परा कसरी विकास हुन गयो ? यस सम्बन्धमा हाम्रो संवैधानिक र कानूनी व्यवस्था के कस्तो रहेको छ ? साथै हाम्रो न्यायिक दृष्टिकोण र अभ्यासको सम्बन्धमा समेत विवेचना गर्नु उपयुक्त हुने देखिन आयो । गुठीको अवधारणागत पक्षलाई नियाल्दा गुठी भन्‍नाले संस्कृत शब्द "गोष्ठी" बाट अपभ्रंश भई गुठी शब्द बनेको हो । सामूहिक उत्तरदायित्वको भावनाका आधारमा गुठीको जन्म भएको हुँदा कालान्तरमा गोष्ठी नामबाट सम्बोधन गर्न थालियो । नेपाली जनजिब्रोमा गोष्ठीलाई गुठी भन्‍न रूचायो । यसरी लामो समयदेखि राष्ट्रको धार्मिक, सांस्कृतिक परम्पराको उत्थानमा सहयोगी तथा लोकोपकारी कार्यहरू गर्न समर्पित रहयो" भनी यसको अवधाराणागत पक्षलाई उजागर गरेको देखिन्छ । नेपाल अधिराज्यको संविधान २०४७ को धारा १९ को उपधारा (२) मा "प्रत्येक धार्मिक सम्प्रदायलाई कानूनबमोजिम आफ्नो स्वतन्त्र अस्तित्व कायम राखी आफ्नो धार्मिक स्थल र धार्मिक गुठीको सञ्‍चालन र संरक्षण गर्ने हक हुने छ" भनी मौलिक हकको रूपमा स्थापित गरेको देखिन्छ । त्यस्तै नेपालको संविधानको धारा ३२ मा "भाषा तथा संस्कृतिको" हकको व्यवस्था गरी ऐ. को उपधारा २ मा "प्रत्येक व्यक्ति वा समुदायलाई आफ्नो सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ" भनी सांस्कृतिक हकको व्यवस्था गरी परम्परा र संस्कृतिलाई निरन्तरता दिने, संरक्षण गर्न पाउने हकको प्रत्यभूत गरेको अवस्था छ । उल्लिखित व्यवस्थाहरूले हरेक जाति र सम्प्रदायले आफ्नो धर्म र परम्पराअनुसारको धार्मिक परम्पराको संरक्षण र सम्बर्द्धन गर्नको लागि मठ, मन्दिर, चैत्य, गुम्बा, मस्तिज, गिर्जाघरलगायतको धार्मिक आस्थाको संरचना निर्माण गरी संरक्षण गर्नको लागि गुठीलगायतका अन्य परम्पराको स्थापना गर्न सक्ने व्यवस्था गरेको देखिन्छ । मुलुकी ऐन, गुठीको महलको ११ नं. मा "भेषधारीहरूले गुठी नराखी आफ्ना नाउँको दरिएको वा आफ्नो हकपुग्ने जग्गाको पोत तिरो तिरी बाँकी रहेको आफूले खान पाउने आयस्ताबाट देव देवताको पूजा आजा, धर्म सदावर्त इत्यादि काम चलाउने गरी राखेको वा काम चलाई आएका जग्गा ती सरिसकेपछि तिनका चेलाले लागेको पोत तिरो तिरी बाँकी रहेको आयस्ताबाट साबिकबमोजिमको काम चलाई शेष बाँकी रहेमा सो शेषसम्म खानहुन्छ । त्यस्तो जग्गा बन्धक राख्‍न वा हक छाडी बिक्री दान बकस इत्यादि गरी लिन दिनसमेत हुँदैन । मालपोत तिरो बाँकी राखे कानूनबमोजिम पजनी हुन्छ" भन्‍ने व्यवस्था गरेको देखिन्छ । ऐ.को १२ नं.ले "कुनै मठ स्थानको महन्थको पद रिक्त भएमा शिष्य उपशिष्यले सो महन्थयाई चलाउने लालमोहर भएकोमा सो मठ स्थानको काम राम्रोसँग चलाउन सक्ने नेपाली नागरिक शिष्य उपशिष्यले सो महन्त्याई पाउने छ" भन्‍ने व्यवस्था गरेकोमा मुलुकी देवानी संहिता, २०७४ को भाग ४ को परिच्छेद ६ मा समेत गुठीसम्बन्धी व्यवस्था गरेको देखिन्छ । उल्लिखित व्यवस्थाहरूले धार्मिक परम्पराको संरक्षणको लागि गुठी राख्‍न सक्ने र त्यस्तो गुठीको आयस्ता गुठीको परम्परा र उद्देश्यअनुसार खर्च गर्नुपर्ने भन्‍ने रहेको देखिन्छ । साथै गुठीलाई व्यवस्थित रूपमा सञ्‍चालन गर्न योग्यता पुगेको नेपाली नागरिकलाई महन्थको जिम्मेवारी सुम्पन्‍न सकिने र त्यस्तो व्यक्ति सामाजिक र नैतिक रूपमा सक्षम र योग्यसमेत हुनुपर्ने भनी नैतिक पक्षमा समेत उजागर गर्ने मूल आशय रहेको देखिन्छ । त्यसैले महन्थ भनेको कुनै मन्दिर वा मठको पुजारी वा खान्किदार मात्र नभएर संस्थागत रूपमानै समाज रूपन्तरण गर्ने संवाहक, नैतिक मूल्य मान्यता स्थापित गर्ने एउटा सामाजिक संस्थाको रूपमा समेत लिनुपर्ने हुन्छ । गुठीको कानूनी मान्यताको सम्बन्धमा हेर्दा "गुठी परम्परालाई व्यवस्थित र पारदर्शी रूपमा सञ्‍चालन गर्नको लागि गुठी संस्थान गठन गरिएको, राजगुठीअन्तर्गतका सम्पत्तिहरूको रेखदेख र संरक्षण संस्थान मातहतबाट सञ्‍चालन हुने व्यवस्था गरेको छ । कुनै मठ वा कुनै देवी देवताको पर्व, पूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामका लागि कुनै मन्दिर देवस्थल पाटी, पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरन, बाग बगैचा, जङ्गल, पुस्ताकालय, पाठशाला, ‍औषधालय, चिकित्सालय, घर इमरात वा संस्था बनाउन चलाउन वा त्यसको संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयास्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडी राखेको सम्पत्तिलाई जनाउँदछ" भनी गुठी संस्थान ऐन, २०३३ को दफा २(ग) मा परिभाषित गरेको देखिन्छ । उल्लिखित परिभाषाहरूको सारमा भन्‍नुपर्दा सार्वजनिक हितप्रति समर्पित एकजना उदार मन भएका परोपकारी भावले अभिप्रेरित व्यक्तिको उदारताको लाभ समुदायले उठाउन पाउने प्रक्रिया र पद्धति नै गुठी हो । जुन एक पटक प्रारम्भ भएपश्‍चात निरन्तर रूपमा चलिरहने प्रक्रिया र प्रथाको रूपमा रहन गएको देखिन्छ । ऐनले विभिन्‍न प्रकारका गुठी रहन सक्ने व्यवस्था गरेकोमा ऐ. को दफा २ (च) ले "राजगुठी र छुटगुठी बाहेकका दुनियाँको निजी गुठी सम्झनुपर्दछ" भनी निजी गुठीको परिभाषित गरेको पाइन्छ । यसले राजगुठी लगतमा दर्ता नभएका तथा व्यक्ति आफैँले स्थापना र सञ्‍चालन गर्दै आएका व्यक्तिगत र पारिवारिक दुनियाँका गुठीलाई निजी गुठीको रूपमा परिभाषित गरेको छ । ऐ. ऐनको दफा १९क. मा निजी गुठीको लगत शीर्षकको उपदफा (१) मा "निजी गुठीका गुठीयारले गुठीको लगत तोकिएबमोजिमको ढाँचामा संस्थानमा दिनुपर्ने", ऐ. को उपदफा २ मा "उपदफा १ बमोजिमको लगत प्राप्त भएपछि संस्थानले व्यक्तिगत वा पारिवारिक रूपमा र सामाजिक हितको लागि राखिएका निजी गुठीको लगत तोकिएबमोजिम छुट्टाछुट्टै राख्नु पर्ने" भन्‍ने व्यवस्था गरेको देखिन्छ । ऐनको दफा २० मा निजी गुठीको हक तथा दायित्व संस्थानले लिनसक्ने भन्‍ने व्यवस्था गरी उपदफा १ मा "कुनै निजी गुठीको दातासमेत सबै वा अधिकांश गुठीयारहरूले त्यस्तो निजी गुठीको हक दायित्व संस्थानले नै बेहोर्ने गरी बन्दोवस्त र सञ्‍चालन संस्थानबाट नै हुन लिखित अनुरोध गरेमा संस्थानले त्यस्तो गुठीको हक र दायित्व लिई बन्दोबस्त र सञ्चालन गर्न सक्ने छ" भन्‍ने ऐ. को उपदफा (२) मा "व्यक्तिगत वा पारिवारिक रूपमा राखिएको निजी गुठीबाहेक सामाजिक हितको लागि राखिएको निजी गुठीको गुठियारले शिलापत्र, धर्मपत्र, दानपत्र आदिमा लेखिएबमोजिम सो गुठीको सञ्‍चालन नगरी गुठीको सम्पत्ति हिनामिना गरेको देखिएमा गुठियारले लिखित अनुरोध नगरे पनि संस्थानले त्यस्तो गुठीको जिम्मा लिई बन्दोवस्त सञ्‍चालन गर्न सक्ने छ" साथै ऐ. को उपदफा ३ मा "पशुपति अमालकोट कचहरीमा कुत बुझाउनुपर्ने वा पशुपति गुह्रेश्वरीसँग सम्बन्धित सबै खालका गुठीको जग्गाको जग्गा प्रशासन गुठी संस्थानले जिम्मा लिई बन्दोवस्त र सञ्‍चालन गर्न सक्ने छ" भन्‍ने व्यवस्था गरेकोमा ऐ.को उपदफा ४ मा "उपदफा (१) वा (२) बमोजिम संस्थानले हक दायित्व लिएपछि त्यस्तो निजी गुठी राजगुठीमा परिणत भई त्यस्तो निजी गुठीको चल, अचल जायजेथा देवमूर्तिसमेत उपर निजी गुठी वा दाता गुठीयारको भइरहेको सबै अधिकार संस्थानमा सर्ने छ र त्यस्तो निजी गुठीका दाता, गुठीयार खान्गीदारको सबै हक अधिकार समाप्त हुनेछ" भन्‍ने व्यवस्था रहेको देखिन्छ । यस व्यवस्थाले निजी गुठीको लगत गुठीयारले गुठी संस्थानमा दर्ता गर्नुपर्ने र गुठी संस्थानले प्राप्त लगतको वर्गीकरण गरी राख्नुपर्ने र गुठीको सम्पत्ति हिनामिना वा अपचलन गरेमा निजी गुठीको हक दायित्वसमेत गुठी संस्थानले लिन सक्ने, देवालय, मठ मन्दिरको सांस्कृति प्रचलन र पूजाआजा नित्य क्रियाकलाप सञ्‍चालनको लागि महन्थको पगडी दिन सक्ने, यस्तो पगडी लिने व्यक्ति उच्च नैतिकवान्, इमानदार र चरित्रवान् भई समाजलाई उचित मार्ग निर्देशन दिन सक्नेसम्मको हुनुपर्ने भन्‍ने कानूनी र परम्परागत मान्यता रहेको देखिन्छ ।

३. गुठी परम्पराको निरन्तरता र स्थायित्वको लागि भएका उल्लिखित संवैधानिक तथा कानूनी व्यवस्थाका अतिरिक्त यस अदालतबाट गुठीको सन्दर्भमा सार्वजनिक सरोकारको विषयमा वा मुद्दाको रोहमा प्रवेश गरी प्रतिपादन भएका न्यायिक सिद्धान्तहरूले मार्ग निर्देशन गरेका विषयको समेत प्रस्तुत मुद्दाको निरूपणको सन्दर्भमा विवेचना गर्नु सान्दर्भिक हुने देखिन आयो । जसअनुसार निवेदक महन्थ रामचन्द्र भारती विरूद्ध संसद् सचिवालयसमेत भएको उत्प्रेषण परमादेशको रिट निवेदनमा "गुठी संस्थान ऐन, २०३३ प्रारम्भ हुँदाको अवस्थामा गुठी संस्थानको हक दायित्व भई संस्थान स्वयंले बन्दोबस्त र सञ्‍चालन गरी आएको गुठी जग्गालाई राजगुठी र गुठीको पर्व पुजा इत्यादि दानपत्र लिखतबमोजिम काम चलाई बाँकी रहेको शेष कसर वा सलामीसम्म राजगुठीमा बुझाउनुपर्ने वा त्यस्तो गुठी चलाउनेले शेष कसर खाने गरी गुठी संस्थान ऐन, २०२१ प्रारम्भ हुनुअगावै श्री ५ को सरकारमा बुझाउनु पर्ने मालपोत वा तिरो बुझाउनुपर्ने दायित्वबाट छुट पाएको गुठीलाई छुट गुठी मानिने कानूनी प्रावधान रहेको पाइन्छ । उक्त प्रावधानबाट नेपाल अधिराज्यको विभिन्‍न भागमा छरिएर रहेका राजगुठीहरूलाई सुव्यवस्थित रूपले सञ्‍चालन गर्न नै गुठी संस्थानको स्थापनाको उद्देश्य रहेको देखिन्छ । तसर्थ, राजगुठीमा परिणत भएका छुट गुठी र निजी गुठीको दानपत्र, लिखत र परम्पराबमोजिम पर्व पूजा इत्यादि नरोकिने र धर्मलोप नहुने गरी बन्दोबस्त र सञ्‍चालन गर्नु गराउनुपर्ने गुठी संस्थानको कर्तव्य तोकिएको छ । निजी गुठीको हकमा दफा २० बमोजिम कुनै निजी गुठीको दातासमेत सबै वा अधिकांश गुठीयारले त्यस्तो गुठीको हक दायित्व संस्थानले नै बेहोर्ने गरी संस्थानबाट बन्दोबस्त र सञ्‍चालन हुन लिखित अनुरोध गरेमा मात्र संस्थानले त्यस्तो निजी गुठीलाई आफ्नो हक दायित्वमा लिई बन्दोबस्त र सञ्‍चालन गर्न पाउँछ अन्यथा नपाउने" भनी तथा जनहित संरक्षण मञ्‍चका तर्फबाट निवेदक प्रकाशमणी शर्मा विरूद्ध नेपाल सरकार मन्त्रिपरिषद्‌को सचिवालयसमेत भएको उत्प्रेषण परमादेश मुद्दामा "दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो निजी हक छाडी सार्वजनिक हितका लागि समर्पण गर्ने हुँदा गुठी भनेको कुनै सामाजिक वा धार्मिक कार्य निरन्तर रूपले सञ्चालन गर्न आफ्नो सम्पत्तिको हक वा स्वामित्व हस्तान्तरण पनि हो, जसले गुठी स्थापना गर्छ वा राख्दछ, उसले सँगसँगै त्यस्तो सम्पत्तिमा आफ्नो हक Wave पनि गर्दछ । गुठीको सिर्जनासँगै व्यक्तिको हक समाप्त हुन्छ । गुठी व्यक्तिको हक समाप्त हुने र समूह, समुदाय वा सम्प्रदायको हक सिर्जना हुने प्रक्रिया भएकाले गुठी राख्नेले आफ्नो इच्छापत्र मार्फत व्यक्त इच्छालाई नमासिने गरी जोगाई निरन्तरता (Perpetual Continuity) प्रदान गर्नु राज्य वा राज्यको अङ्ग अर्थात् सरकारको अङ्गका रूपमा रहेका गुठी संस्थान जस्ता Agency वा Instrumentality of the State को कानूनी कर्तव्य हुने" भनी उल्लेख भएको छ । यसमा गुठीको स्थायित्व र निरन्तरताका साथै गुठी जग्गालाई रैतानीमा परिणत गर्ने गरी राज्यले नीति बनाउन नसक्ने भनी विशद व्याख्या गरेको छ । कामेश्वर प्रसाद सिंह विरूद्ध गुठी संस्थान केन्द्रीय कार्यालय भएको गुठी तैनाथी जग्गा कायम मुद्दामा "गुठी संस्थान (दोस्रो संशोधन) ऐन, २०३३ को दफा ३९(१) को व्यवस्थाबाट एउटा प्रकृतिको जग्गालाई अर्को प्रकृतिको जग्गामा दर्ता भएको प्रमाणित भएको अवस्थामा गुठी संस्थानको प्रशासकलाई पुनः सो जग्गा पुरानो प्रकृतिमा लग्ने निर्णय गर्न पाउने अख्तियारी प्रस्ट शब्दमा प्रदान गरेको देखिँदा यो ऐनको सम्बन्धमा संशोधन पछिको कानून पहिलेको कार्यमा लागु हुन सक्दैन, गुठी प्रशासकलाई यस्तो निर्णय गर्न पाउने अधिकार छैन भन्‍न नमिल्ने" भनी एक प्रकृतिको गुठी जग्गालाई अर्को प्रकृतिको जग्गामा परिवर्तन गर्न नमिल्ने भनी व्याख्या भएको देखिन्छ । यस्तै पुनरावेदक प्रतिवादी तुल्सीमाया महर्जन विरूद्ध प्रत्यर्थी पञ्‍चनारायण महर्जन भएको दर्ता बदर मुद्दामा "संवैधानिक एवं कानूनी व्यवस्थाका आधारमा गुठी तैनाथी जग्गा गुठी अधीनस्थ जग्गामा गुठी अधीनस्थ जग्गा गुठी रैतानी नम्बरी जग्गामा वा गुठी घर वा जग्गा रैकरमा दर्ता गर्ने कार्य स्वभावतः गुठी स्थापनाको उद्देश्य प्रतिकूलको कार्य हो भन्‍ने नै देखियो । गुठी तैनाथी जग्गा गुठी रैतानी नम्बरी जग्गामा वा गुठीको घर वा जग्गा रैकरमा दर्ता हुनबाट जोगाउन जुनसुकै चरणमा पनि हस्तक्षेप गर्न सक्ने संस्थानको अधिकार गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को उपदफा (१) ले सुनिश्‍चित गरेको पाइने" भनी थप व्याख्या र विश्लेषण गरेको देखिन्छ । त्यस्तै पुनरावेदक ज्ञानेन्द्ररत्‍न तुलाधर विरूद्ध प्रत्यर्थी रेसमान तुलाधरसमेत भएको धर्मलोप मुद्दामा "गुठीका गुठीयारहरूको प्रमुख उद्देश्य अघिदेखि चली आएको पूजाआजा चलाई सामूहिक रूपले थिति बन्देजअनुसार भोग चलन गर्न पाउनेसम्म हुन्छ । गुठीको सम्पत्ति नासी, मासी वा खण्डिकरण गरी गुठीको सनातन देखिको अस्तित्वलाई लोप गर्नु गुठीको उद्देश्य एवं मान्यताविपरीत हुने" भनी गुठीको सम्पत्ति मासिखाए खण्डिकरण गरेमा धर्मलोप हुने भनी व्याख्या भएको छ । पुनरावेदक गुणराज पराजुली विरूद्ध सत्यदेवी पौडैलको मुद्दा सकार गर्ने ऋषिराम पौडेलसमेत भएको निर्णय दर्ता स्रेस्ता बदर गरी दर्ता गरिपाउँ भन्‍ने मुद्दामा "गुठीजन्य सम्पत्ति हाम्रो देशको सभ्यता संस्कृति तथा पहिचानसँग अन्योन्याश्रित सम्बन्ध भएको सम्पदा हो । यस्तो सम्पदाको संरक्षण र सम्बर्द्धन विशेषरूपमा हुनु पर्ने कुरामा विवाद हुन नसक्ने । सार्वजनिक प्रकृतिको गुठीजन्य सम्पत्ति हिनामिना हुनबाट बचाउन तथा नासिन र मासिन नदिन त्यसको व्यवस्थापन एवं बन्दोबस्त कुनै व्यक्तिबाट नभई राज्यकैतर्फबाट अर्थात्‌राज्यको तर्फबाट गुठी जग्गा प्रशासन गर्ने निकाय गुठी संस्थानबाट मात्र हुन वाञ्छनीय हुन्छ । त्यस्तो सार्वजनिक प्रकृतिका गुठीजन्य सम्पदा तथा सम्पत्ति नासिन तथा मासिन नदिई कुनै पनि बेहोराले त्यसको स्वामित्व कुनै व्यक्तिको नाममा हस्तान्तरण हुन नदिनु गुठी संस्थान तथा मालपोत कार्यालयलगायतका सरकारी निकायको कर्तव्य भएको भन्‍ने कुरामा विवाद हुन नसक्ने" भनी गुठीको सम्पत्ति सार्वजनिक प्रकृतिको सम्पत्ति भएको र राज्यका निकायहरूबाट यस्को संरक्षण गर्नु राज्यको कर्तव्यसमेत रहेको भनी व्याख्या भएको छ । गुठीकै संरक्षणको सम्बन्धमा निवेदक बैकुण्ठ तिवारी भन्‍ने बैकुण्ठदास वैष्णव विरूद्ध गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंसमेत भएको उत्प्रेषण परमादेशको निवेदनमा "देशभित्र रहेका मठ मन्दिरहरू जनताका अमूल्य सम्पत्ति हुन् । पूर्वजहरूले हामीलाई यी अमूल्य निधिहरू नासोको रूपमा छाडेका हुन् र भावी पुस्तालाई हामीले सोहीरूपमा हस्तान्तरण गर्ने कर्तव्य राख्दछौं । नेपालको संविधानले अङ्गीकार गरेको "अन्तरपुस्ता समन्याय" को सिद्धान्तको मान्यता पनि यही हो । कुनै धार्मिकस्थल तथा धार्मिक गुठीको सञ्‍चालनमा व्यक्तिगत लोभलालच वा स्वार्थको कुनै स्थान हुनु हुँदैन । चाहे गुठी संस्थान होस् वा महन्थ वा जग्गा कमाउने मोही नै किन नहोस्, मठ मन्दिर वा गुठी परम्पराको विनास गर्ने हक कसैलाई नहुने । स्वार्थवश गरिएका कुराहरूलाई छुट दिँदा हाम्रा धार्मिक र सांस्कृतिक धरोहर नासिनुका साथै सभ्यतासमेत स्खलित हुन पुग्छ । मठको महन्थ वा पुजारी भनेको मठ मन्दिरको न्यासी (Trustee) हो, त्यसबाट फाइदा लिने व्यक्ति होइन । उसले भगवानको मन्दिरमा बसी आराधना गर्ने, मठको सम्पत्ति तथा परम्परा जोगाउने र लोक कल्याण गर्ने हो, मठको सम्पत्ति नास गर्ने होइन" भनी व्याख्या गरेको देखिन्छ । त्यसैगरी पुनरावेदक प्रतिवादी पशुपति चैतन्य ब्रम्हचारी विरूद्ध शारदा देवी ब्राम्हणी भएको बहाल दिलाई घर खाली गराई पाउँ भन्‍ने मुद्दामा "गुठी संस्थान ऐन, २०३३ को दफा १९क.बमोजिम राम मन्दिर गुठीमा रहेका उल्लिखित जग्गालगायत अन्य सम्पत्तिको विवरण नियमित रूपमा गुठी संस्थानमा पठाई गुठीमा भएका काम कारबाही वा परिवर्तनहरूको नियमित जानकारी गराउने जिम्मेवारी पालो परेको पुजारीको हुने, साथै सोको निमित्त अनुगमन गरी आवश्यक कार्य गर्ने/गराउने जिम्मा गुठी संस्थानमा रहने गरी गुठीमा लगत राख्नुपर्ने" भनी गुठीको सम्पत्ति र आयस्ताको सम्बन्धमा गुठी संस्थानले नियमित अनुगमन गर्ने, आवश्यक निर्देशन दिन सक्ने र गुठीको लगत राख्ने कर्तव्य गुठी संस्थानमा रहने भन्‍ने व्याख्या गरेको पाइन्छ । माथि उल्लिखित प्रस्तुत न्यायिक व्याख्याहरूले गुठीको स्थापना र संरक्षण गर्नुपर्ने, गुठीको सम्पत्ति मासिखान नहुने, पुरातात्तिक र ऐतिहासिक महत्त्व बोकेका मठ मन्दिरको सम्पत्ति नास गर्ने कार्यलाई अदालतले छुट दिन नसक्ने, गुठी एउटा भौतिक सम्पत्ति मात्र नभएर यसभित्र एउटा अलौकित सम्पदा लुकेर रहेको र यस्तो सम्पदा सभ्यताको विकासको परिचयात्मक चिह्न रहेकोले यस्को संरक्षण गरी अन्तरपुस्ता पुस्तान्तरण गर्न पनि गुठीको संरक्षण गर्नु राज्यको मात्र कर्तव्य नरही सरोकारवाला सबैको कर्तव्य र दायित्वसमेत रहन जाने भन्‍ने मुलमर्म एवं भावना रहेको देखिन्छ ।

४. उल्लिखित गुठीसम्बन्धी कानूनी व्यवस्थाका अतिरिक्त न्यायिक अभ्यासको विश्लेषणपश्‍चात् अब, विवादित विषयको सन्दर्भमा उठान भएको प्रथम प्रश्नको सन्दर्भमा विचार गर्दा धनुषा जिल्ला तत्कालीन जनकपुर नगरपालिका वडा नं. ८ मा अवस्थित चुडामणी भगवान्‌ चारूशिला कुञ्‍ज स्थानको संरक्षक मूल गुरु स्व. जनकन्नदनी शरण रहेको र वहाँको चेलाहरू जनकजाय, सीता शरण र लक्ष्मण शरण गरी तीन जना चेला रहेको भन्‍ने खुल्न आउछ । जनकजाया शरणले सिता शरणलाई मूलपुजारी र लक्ष्मण शरणलाई सहायक पुजारीको रूपमा रहने गरी २०२६ सालमा सर्तनामा गरेको भन्‍ने देखिन्छ । साथै सीता शरण वैष्णवको तर्फबाट रामपुकार शरण र रामपुकार शरणको तर्फबाट रामसुरत शरणलाई चेला नियुक्त गरेको देखिन्छ । लक्ष्मण शरणको तर्फबाट विमल शरण राउत कुर्मीलाई विधिवत रूपमा २०४४ सालमा चेला नियुक्त गरिएको तथ्य मिसिल संलग्न कागजातबाट देखिन्छ । रामपुकार शरणले रामसुरत शरण वैष्णवलाई चेला नियुक्त गर्दा लक्ष्मण शरण वैष्णवसमेतको सहमतिमा गरेको भन्‍ने तथ्य उल्लेख गरे तापनि लक्ष्मण शरणको तर्फबाट पनि प्रत्यर्थी विमल शरण राउत कुर्मीलाई चेला नियुक्त गरेकोमा यिनले मठको सम्पत्ति अनियमित तवरले दुरूपयोग गरी अपचलन गरेको भनी लक्ष्मण शरणले मिति २०४८ सालको धनुषा जिल्ला अदालतमा दे.नं. १७८० को करार बदर मुद्दा दायर भई उक्त मुद्दा मिलापत्र हुँदा यी प्रत्यर्थीले कुट्टी (मठ) को चल अचल सम्पत्तिमा चेलाको हैसियतले कुनै हक दाबी नगर्ने, भविष्यमा समेत लक्ष्मण शरणको चेला हुँ भनी दाबी गर्न नपाउने, कुट्टीमा बस्न पनि नपाउने गरी करार बदर हुने गरी दुई पक्षबिच करार बदर मुद्दा मिलापत्र गरेको मिसिल संलग्न कागजातबाट देखिन्छ । सीता शरण वैष्णवका चेला रामपुकार शरणको मिति २०५७।०३।१९ मा हत्या भएपश्‍चात् रामानन्द वैष्णव संघको सिफारिस, जनकपुर नगरपालिकाबाट रामपुकार शरणको नजिकको हकवाला शिष्य रहेको भनी मिति २०५७।०४।०८ मा गरेको सिफारिसको आधारमा मिति २०५७।०४।१८ को नाता प्रमाणित प्रमाणपत्र र लक्ष्मीनारायण मठ मटियानी स्थानको मानमहन्थले मिति २०५७।०६।२७ मा महन्थ कायम गरी चादर पगडी गरी यी पुनरावेदकलाई महन्थ नियुक्ति गरेको मिसिल संलग्न कागजात प्रमाणबाट देखिन्छ । त्यस्तै अर्का लक्ष्मण शरण वैष्णवको मिति २०५८।०८।२२ मा मृत्यु भएकोमा सोपश्‍चात् यी पुनरावेदक प्रतिवादीले आफू उक्त मठको महन्थ भएकै अवस्थामा मिति २०५८।१०।२९ मा रसिक निवास स्थान र चारूशिला कुञ्‍जको सम्पूर्ण जिम्मा सुम्पेका छु, कुट्टीको संरक्षण गर्नु भनी मन्जुरनामा कागज गरी दिई लक्ष्मीनारायण मठमा महन्थ नियुक्ति गरिपाउँ भनी निवेदन दिएको, मालपोत कार्यालय धनुषामा मिति २०५८।१०।३० मा राजिखुसीले मन्जुरीनामा गरेको हुँ भनी बयान गरेकोमा सोउपर वादीले करकापमा मन्जुरीनामाको कागज गराएको भनी वादी विमल शरण राउतउपर धनुषा जिल्ला अदालतमा मुद्दा नं. २०५८ सालको स.फौ.न. ५६ को करकाप मुद्दा दिएकोमा करकाप नठहर्ने गरी फिराद दाबी खारेज हुने फैसला भई अन्तिम भएको देखिन्छ । साथै यी पुनरावेदकले मिति २०५८।१०।२९ मा जानकी रसिक चुडामणीस्थानका महन्थ लक्ष्मण शरण वैष्णवको कालगतिले मृत्यु भई सबैभन्दा नजिकको अपुताली हक खाने एकमात्र हकवाला उत्तराधिकारी चेला छोरा विमल शरणलाई चादर पगडी गरिदिनु होला भनी लक्ष्मीनारायण मठमा निवेदन दिएकोमा सो कागजको सम्बन्धमा वातिल गराउँदा कागज करकापपूर्ण र किर्ते हो भनी उल्लेख गरेको भए तापनि सो उपर साधिकार निकायबाट आफ्नो हक स्थापित गराउन सकेको अवस्था छैन । 

५. यसरी यसै मुद्दाका प्रत्यर्थी वादी विमल शरणले आफूलाई रामपुकार शरण र लक्ष्मण शरणको एकमात्र चेला भएको लेखाई साधुँ सेवा समितिको मिति २०५८।०२।०५ को पत्रबाट लक्ष्मण शरण वैष्णवको एकमात्र चेला भनी पत्र लिई मिति २०५८।१०।२८ मा श्री रामनन्दनी वैष्णव संघबाट समेत महन्थ रहेको पत्र बनाई लक्ष्मीनारायण मठ मटियानी स्थानबाट मिति २०५८।१०।२९ मा कुट्टीको महन्थ भनी चादर पगडी गरी महन्थ रहेको दाबी गरेको देखिन्छ । मिथिला क्षेत्रमा रहेका मठ मन्दिरको संरक्षण गर्न, सोको सञ्‍चालन व्यवस्थापन गर्न, सनातन धर्म र संस्कृतिको जगेर्ना गर्नको निमित्त सुयोग्य पात्रको छनौट गरी यस्ता मठ मन्दिर देवालहरूको संरक्षण गरी संस्कृति र सम्पदाको पुस्तान्तरणको लागि लक्ष्मीनारायण मठ मटियानी स्थानलाई भेषधारी महन्थ नियुक्ति गरी चादर पगडी गरी दिनेसमेतको अधिकार संवत् १९३४ र १९७० मा भएको सनद लालमोहरसमेतबाट मानमहन्थलाई प्रदान गरिएको भन्‍ने मान्यता रही आएको देखिन्छ । 

६. यसरी लक्ष्मीनारायण मठ मटियानी स्थानका मानमहन्थले विभिन्‍न समयमा वादी प्रतिवादीलाई निजको मठप्रति रहेको हैसियत के कस्तो हो, यी नै आधिकारिक व्यक्ति हुन होइनन्, आधिकारीकताको प्रमाणित हैसियत के कस्तो हुने, एक पटक महन्तको पगडी दिएपछि के कस्तो आधार र कारणबाट महन्थ चादर पगडी खारेज हुने भन्‍नेलगायतका यावत विषयका प्रमाणहरूको समुचित मूल्याङ्कन नगरी यी दुवैलाई चादर पगडी गरी विभिन्‍न मितिमा महन्थ नियुक्त गरेको कार्य नै विचारणीय देखिन्छ । यस्तो कार्यले कालान्तरमा ऐतिहासिक मिथिला क्षेत्रको मठ मन्दिर, धार्मिक सम्पदा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यअनुरूपको कार्यलाई समेत मद्दत पुग्ने देखिँदैन । लक्ष्मीनारायण मठका महामहन्थले गरेको चादर पगडीको निर्णयको आधारमा मात्रै वादी प्रतिवादीमध्ये आधिकारिक महन्थ को हो ? भन्‍ने यस मुद्दाको निरूपण गर्नुपर्ने मूल प्रश्नको निष्कर्षमा पुग्न सक्ने देखिएन ।

७. यी पुनरावेदकले मन्दिरको रीतिस्थिति र परम्पराविपरीतका काम कारबाही गरेबाट मठको धर्म संस्कृति लोप हुने कार्य गरेको भनी प्रत्यर्थीले धनुषा जिल्ला अदालतमा मिति २०६२।०२।०६ मा दायर गरेको देवानी फौजदारी नं. १७६४ को धर्मलोप मुद्दाको फैसला हुँदा यी पुनरावेदकलाई नै महन्थ भनी सम्बोधन गरी उक्त फैसलामा वादीले लक्ष्मीनारायण मठ मटियानीबाट मिति २०५८।१०।२९ को पत्रबाट महन्थमा नियुक्ति पाई आफू कुट्टीको महन्थ रहेको भन्‍ने सन्दर्भमा प्रतिवादी रामबाबु पाण्डे भन्‍ने रामसुरत वैष्णवले मिति २०५७।०६।२७ मा मानमहन्थबाट नियुक्ति भएको र सो पद बदर नभएकोले वादीलाई नियुक्ति गरेको भनिएको महन्थ पद कानूनसङ्गत नरहेकोले प्रतिवादी रामसुरत वैष्णव नै महन्थ रहेकोले धर्मलोप गरेको भन्‍ने दाबी नपुग्ने फैसला भई सो फैसलाउपर परेको पुनरावेदनमा सुरू फैसला सदर भई अन्तिम भएको अवस्थामा निज विमल शरण राउतले मानमहन्थबाट प्राप्त गरेको महन्थको चादर पगडीले समेत मान्यता पाउने देखिएन ।

८. अब, उल्लिखित मुद्दाको आधारबाट पुनरावेदक रामसुरत वैष्णवले महन्थको मान्यता पाएको भन्‍ने हो की भनी निजको हकमा हेर्दा लक्ष्मीनारायण मठ मटियानी स्थानको मानमहन्थले मिति २०५७ सालमा चादर पगडी महन्थ नियुक्ति दिएको, लक्ष्मीनारायण मठका मानमहन्थलाई महन्थ नियुक्ति गर्ने लालमोहर र सनदबाट चादर पगडी दिने अधिकारमात्र रहेको र बर्खास्त गर्ने अधिकार नरहेकोले मिति २०५८।१०।२९ मा प्रत्यर्थी विमल शरणलाई दिएको महन्थ नियुक्तिको पत्रले कानूनी मान्यता पाउन नसक्ने भन्‍ने उल्लेख गरेको पत्र मिसिल साथ पेस गरेको देखिन्छ । साथै यी पुनरावेदक स्वयंले विमल शरण नै लक्ष्मण शरणको एकमात्र चेला रहेको भनी मिति २०५८।१०।२९ मा लक्ष्मीनारायण मठ मटियानीमा विमल शरणलाई महन्थको चादर पगडी गरिपाउँ भनी दिएको निवेदन एवं मिति २०५८।१०।३० मा मालपोत कार्यालयबाट बयान गराउँदा राजिखुसीले मन्जुरीनामा कागज गरेको भनी स्वीकार गरी कागज गरेको र यिनले आफूले दिएको मन्जुरीनामा लगायत यावत विषयमा करकापमा पारी कागज गराएको भनी दिएको करकाप मुद्दामा फिराद दाबी नपुग्ने ठहर भएको फैसलासमेतको आधारबाट यी पुनरावेदक प्रतिवादीको महन्थ हुँ भनी दाबी गर्ने कानूनी तथा नैतिक आधारमा समेत औचित्यपूर्ण मान्‍न सक्ने देखिँदैन । पुनरावेदकले प्रत्यर्थीलाई गरेको उल्लिखित मन्जुरीनामालगायतको कागजातहरू असल नियतले गुठीको संरक्षण एवं धार्मिक र सांस्कृतिक संरक्षण गर्ने भावले गरेको भन्‍ने विश्‍वासयोग्य आधार देखिँदैन । यसर्थ महन्थ पदवी भनेको साधारण पदवी र जिम्मेवारी नभई असाधारण प्रकृतिको उच्च आचरणमा रहनुपर्ने र नैतिकतायुक्त, समाजको पथपर्दशकको भूमिकामा सामाजिक अभियन्ताको रूपमा स्थापित भई सोअनुसारको भूमिका खेल्नुपर्ने धार्मिक र सामाजिक पदवी रहेकोले उच्च नैतिक आचरण कायम राख्‍न नसक्ने व्यक्तिले यो पदको गरिमा बढाउन सक्ने देखिँदैन ।

९. दोस्रो प्रश्नको सन्दर्भमा विचार गर्दा, चुडामणी भगवान्‌ चारूशिला कुञ्ज र विहार कुण्ड शालीग्राम भगवान्‌को नित्य पूजाअर्चना गर्न तथा मन्दिरको नित्य परम्पराअनुसारको कार्यलाई निरन्तरता दिनको लागी मन्दिरको संरक्षण मूलगुरु स्व. जनकनन्‍दनी शरणले आफ्नो चेला नियुक्त गरी सो चेलामार्फत मन्दिरको संस्कार र परम्परा गर्दै आएको रीत बेहोरा देखिन्छ । पुनरावेदक वादी र प्रतिवादी दुवैले आफू नै उक्त कुञ्‍जको महन्थ रहेको भनी दाबी जिकिर लिएको र सो बेहोरालाई पुष्टि गर्ने गरी सम्बद्ध निकायहरू वैष्णव संघ, साधु सेवा समाज, जनकपुर नगरपालिका, लक्ष्मीनारायण मठ मटियानी स्थानका मानमहन्थलगायतका निकायहरूबाट पुनरावेदक र प्रत्यर्थी दुवैलाई विभिन्‍न मितिमा दिएको नाता प्रमाणित गरेको प्रमाणपत्र, महन्थको चादर पगडी गरी महन्थमा नियुक्ति गरेको पत्रलगायतका प्रमाणहरू दुवैमा रहेको देखिन्छ । पुनरावेदक प्रतिवादी रामसुरत वैष्णवले आफू महन्थ रहेको भनी गुरु रामपुकार शरणको नाममा संरक्षकत्वमा रहेका मन्दिरको तत्कालीन जनकपुर नगरपालिका वडा नं. ८ का केही कित्ता जग्गाहरू आफ्नो नाममा नामसारी गरेको भन्‍ने बेहोरा मिसिल सलग्न कागजातबाट देखिन्छ । यी पुनरावेदकले प्रत्यर्थी वादी विमल शरणलाई मन्दिरको एकमात्र महन्थ रहेको भनी मन्दिरको जग्गा जमिन, चल अचल सम्पत्ति नामसारी गर्नको निमित्त निजले मिति २०५८।१०।३० मा मन्जुरीनामा दिई निजलाई नै महन्थ कायम गराई पाउँ भनी लक्ष्मीनारायण मटियानी स्थानमा समेत निवेदन दिएको देखिन्छ । उक्त बेहोरालाई प्रत्यर्थीले मन्जुरीनामा जबरजस्ती करकापमा पारी गराएको भनी धनुषा जिल्ला अदालतमा करकापको फिराद दिएकोमा करकाप दाबी नपुग्ने ठहर भई फैसला अन्तिम भएको अवस्था विद्यमान छ । अर्कोतर्फ यी प्रत्यर्थी वादीले पुनरावेदक प्रत्यर्थी रामसुरत शरण उपर मन्दिरको सम्पत्तिलगायतका हिनामिना गरी धर्मलोप मुद्दाको ठहर भएबमोजिम वादी महन्थ कायम नहुने भन्‍ने अदालतको फैसला विद्यमान रहेको देखिन्छ । 

१०. यसरी मन्दिरको महन्थ नियुक्तिको सम्बन्धमा लक्ष्मीनारायण मठ मटीयानी स्थानका मानमहन्थबाट यी दुवैलाई विभिन्‍न समयमा महन्थको पदवी दिएको, महन्त नियुक्ति सम्बन्धमा परम्परा लगायतको धार्मिक मूल्य, मान्यता र आफूलाई प्राप्त सनद सवालअनुसारको अख्तियारीको आधारमा नभई निवेदनकै आधारमा वा विवेकको आधारमा विभिन्‍न समयमा चादर पगडी गरी महन्थको पदवी दिएको र उक्त पगडी दिँदा दुवैको चाल चलन तथा मन्दिरको संस्कार र संस्कृतिको जगेर्ना गर्ने मनसायबाट गरिएको हो वा मन्दिरको चल अचल सम्पत्ति आफ्नो स्वामित्वमा पारी एकलौटी रूपमा कब्जा गर्न खोजिएको हो सोतर्फ उचित ध्यानाकर्षण भएको देखिँदैन । यी दुवैलाई प्रयोजन परक आधारमा विभिन्‍न मितिमा विभिन्‍न सिफारिसहरू दिई महन्तको चादर पगडी गरी महन्थको पदवी दिने कार्य भएको देखिन्छ । यस्तो कार्यबाट सम्पदाको संरक्षण र गुठीको परम्परालाई निरन्तरता दिन सक्ने देखिँदैन । साथै प्रत्यर्थी विमल शरण राउतको मृत्यु भइसकेकोले निजको एकमात्र हकवाला रहेका रामकुमार राउत कुर्मीले आफू मन्दिरको आधिकारिक हकवाला हुँ भनी मुद्दा सकार गरेकोमा यिनको सम्बन्धमा समेत बहसको क्रममा विद्वान्‌ अधिवक्ताहरूले विभिन्‍न फौजदारी कसुरमा संलग्नता रही कसुरदार ठहर भएको भनी फैसलालगायतका कागजात पेस गरेकोबाट सो बेहोरा पुष्टिसमेत भएको देखिँदा माथिल्लो अदालतले त्यस्तो ठहर गरेको फैसला अन्यथा नगरेसम्म निजको नैतिक तथा सामाजिक मूल्य मान्यतामा कमजोर रहेको नै मान्‍नुपर्दछ । नैतिक र सामाजिक विधि व्यवहारमा कमजोर रहि नैतिकता र असल चालचलनबाट विमुख भएको व्यक्तिबाट मन्दिरको गुठी परम्परालाई निरन्तरता दिने, सम्पत्तिको संरक्षण गर्ने, सांस्कृतिक परम्परालाई निरन्तरता दिने, सम्पदाको संरक्षण गरी आउँदो पुस्तामा पुस्तान्तरण गर्ने सम्मको कार्य हुनसक्ने अवस्था नहुँदा कालान्तरमा गुठीको आत्मालाई नै मृत तुल्याउने अवस्था रहन्छ । अर्कातर्फ पुनरावेदक रामसुरत वैष्णवको पनि मृत्यु भएकोले निजको आधिकारिक हकवाला अविनास शरण वैष्णव रहेकोले आफू नै उक्त मन्दिरको पूजा आजा नित्य परम्परा गर्दै आएकोले आधिकारिक महन्थ रहेको, लक्ष्मीनारायण मठ मटायानी स्थानका मानमहन्थबाट समेत रामसुरत वैष्णवको मिति २०७९।०५।२४ मा कालगतिले मृत्यु भई निजको मुद्दा सकार गर्ने अविनास पाण्डे भन्‍ने अविनास शरण वैष्णवलाई रसिक चूणामणी चारूशिला कुञ्‍ज स्थानको महन्थ नियुक्ति गरी जादर पगडी गरी महन्थ नियुक्ति गरिएको भनी पत्र दिएको देखिन्छ । यसरी यी दुवै वादी प्रतिवादीबिच उक्त मन्दिरको आधिकारिक महन्थको हो ? कस्को नाममा संरक्षक कायम भई चल अचल सम्पत्तिमा हक कायम हुने भन्‍ने विवाद यस अदालतमा विचाराधीन रहेको अवस्थामा प्रस्तुत विवादको निरूपण नहुँदै पुनः लक्ष्मीनारायण मठ मटियानी स्थानबाट अविनास शरण वैष्णवलाई महन्थको चादर पगडी दिएको कार्य कानून र विधिसम्मत नरहेको र यस्तो कार्यबाट गुठीको मूल्य र मर्मलाई नै कालान्तरमा निस्तेज गर्ने देखिन्छ । तसर्थ, यो पनि भन्‍न सकिन्छ की गुठीको आत्मा भनेको नै परम्परादेखिको सभ्यता र संस्कृतिलाई निरन्तरता दिने, सामजिक र धार्मिक जगेर्ना गर्ने, समाजमा लोक कल्याणकारी कार्यहरू गरी मानवीय भावनाको प्रवर्द्धन गर्ने हुँदा यी वादी प्रतिवादीबाट कालान्तरसम्म यस्ता उद्देश्यको प्रवर्द्धन गर्छन् र गरिरहने छन् भन्‍ने विश्‍वास गर्न लायक अवस्था नदेखिँदा दुवैलाई चुडामणी भगवान्‌ चारूशिला कुञ्‍जस्थानको महन्त एवं संरक्षक कायम गरी मन्दिरको नाममा रहेको माथि उल्लिखित विवादित कि.नं. का जग्गा जमिन (चल अचल सम्पत्ति) हक कायम गरी नामसारी हुन सक्ने अवस्था देखिएन । 

११. अब, अन्तिम प्रश्नतर्फ विचार गर्दा प्रत्यर्थी वादी विमल शरण राउतले मिति २०४८।०५।२० मा धनुषा जिल्ला अदालतमा दायर गरेको दे.न. १७८० को करार बदर मुद्दामा गरेको मिलापत्रअनुसार आफूले कुट्टी एवं मन्दिरको चल अचल सम्पत्तिमा कुनै दाबी नगर्ने, कुट्टीमा बस्न पनि नपाउने साथै चेला हुँ भनी भविष्यमा पनि दाबी नगर्ने भनी गरेको मिलापत्रअनुसार पनि आफूमात्र आधिकारीक एकमात्र चेला महन्थ एवं एकमात्र हकदार रहेको भनी जिकिर लिएको देखिन्छ । यी पुनरावेदक प्रतिवादीले पनि वादी प्रत्यर्थीलाई महन्थ नियुक्ति गरिपाउँ भनी दिएको मन्जुरीनामाका सम्बन्धमा करकाप मुद्दामा फिराद दाबी नपुग्ने ठहर भएको फैसला तथा यी आफूलाई नै मिति २०५७।०६।२७ दिएको महन्थको चादर पगडी यथावत् रहेको अवस्थामा नै मिति २०५८।१०।२९ मा प्रत्यर्थीलाई मठको एकमात्र हकवाला भएकोले महन्थ नियुक्ति गरिपाउँ भनी लक्ष्मीनारायण मठमा निवेदन दिएको र मिति २०५८।१०।३० मा मठको जग्गा नामसारीको निमित्त मन्जुरीनामा दिएको भनी मालपोत कार्यालयमा गरेको बयानमा राजीखुसीले गरेको भन्‍ने अवस्था हुँदा यी दुवै तथ्यहरू एकआपसमा मेल नखाएको एवं विरोधाभासपूर्ण रहेको छ । यस्तो अवस्थामा लक्ष्मीनारायण मठ मटियानीका मानमहन्थलाई मिथिला क्षेत्रमा रहेका मठ मन्दिर र परम्परालाई जीवन्तता दिनको निमित्त महन्थ नियुक्ति गर्ने अधिकार सनद गरिदिएको भन्‍ने मान्यता रहेको र मटियानी स्थानको मानमहन्थबाट आफूलाई महन्थबाट हटाउने अधिकार नभएको र विमल शरणले झुक्यानमा पारी किर्ते गरी महन्थ रहेको भन्‍ने पत्र तयार गरेको भनी रामसुरत वैष्णवलाई महन्थ पगडी दिएको भनी उल्लेख गरेको पत्र मिसिल साथ पेस गरेको देखिन्छ । अर्कोतर्फ वादी स्वयंले दायर गरेको धर्मलोप मुद्दामा भएको फैसलाले ठहर गरेको विषयविपरीत हुने गरी भएको सुरू धनुषा जिल्ला अदालतको फैसला सदर गरेको साबिक पुनरावेदन अदालत जनकपुरको फैसला मिसिल संलग्न प्रमाण र प्रचलित कानूनसम्मत रहेको देखिएन ।

१२. तसर्थ, माथि उल्लिखित विवेचित आधार, कारणहरूबाट प्रस्तुत मुद्दाका पुनरावेदक प्रतिवादी तथा प्रत्यर्थी वादी दुवै जना रसिक चुडामणी भगवान्‌ चारूशिला कुञ्जस्थानको आधिकारिक संरक्षक हकवाला महन्थ कायम हुन नसकेकोले सुरू अदालतबाट वादी विमल शरण राउत कुर्मीलाई रसिक चुडामणी भगवान्‌ चारूशिला कुञ्‍जको आधिकारीक संरक्षक हकवाला महन्थ ठहर गरी उक्त कुञ्‍जको नाममा रहेका साबिक बसविट्टी गाउँ विकास समिति वडा नं. १ स्थितको कि.नं. ६८ को ०-१०-३, ऐ.ऐ. कि.नं. ११४ ०-१-७, ऐ.ऐ. कि.नं. १३० को ०-०-६, ऐ.ऐ. कि.नं. १३५ को ०-१-१०, ऐ. वडा नं. ३ कि.नं. ८५ को ०-१५-२, ऐ. वडा नं. ४ कि.नं. ११२ को ०-५-१०, ऐ.ऐ. कि.नं. १४१ को ०-३-७, ऐ.ऐ. कि.नं. १५१ को ०-६-४, ऐ.ऐ. वडा नं. ९ को कि.नं. ७४ को १-४-५, ऐ.ऐ. कि.नं. १०२ को ०-१-१५, ज.न.पा. वडा नं. ७ सिट नं. १३५४-१६ कि.नं. ६ ०-९-१२-३, ऐ.ऐ. सिट नं. १३५४-१७ कि.नं. ७ ०-०-४-३, र ऐ.ऐ. सिट नं. १३५४-२१ कि.नं. ८ को ०-३-१० समेतका दर्ता जग्गाको संरक्षक लक्ष्मण शरण र रापुकार शरणको नामको संरक्षकत्व खारेज गरी प्रत्यर्थी वादीलाई संरक्षकसमेत कायम गरी हक कायम दर्ता हुने ठहर गरेको सुरू धनुषा जिल्ला अदालतको फैसला सदर गरेको साबिक पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । साथै पुनरावेदक प्रतिवादीले चारूशिला कुञ्जस्थानको आधिकारिक संरक्षक महन्थ आफूलाई कायम गरी उल्लिखित दाबीका जग्गा आफ्नो नाममा हक कायम दर्ता गरी नामसारी गरिपाउँ भन्‍ने पुनरावेदन जिकिरसमेत पुग्न सक्ने देखिँदैन । उल्लिखित रसिक चुडामणी चारूशिला कुञ्‍जस्थानको सम्पत्ति वादी प्रतिवादी कसैको पनि हक पुग्न नसक्ने ठहर्छ ।

१३. अब, यी वादी प्रतिवादी दुवै चारूशिला कुञ्जस्थानको आधिकारीक संरक्षक महन्थ हुन नसक्ने र दुवैको नाममा मन्दिरको चल अचल जग्गा जमिनसमेत हक कायम हुन नसक्ने ठहर भएकोले मन्दिरको संरक्षण गरी गुठीको परम्परा मूल्यमान्यतालाई जीवन्त राख्‍नको निमित्त सरोकारवालाहरू सम्बन्धित स्थानीय निकाय, गुठी संस्थानलगायतका निकायहरूसमेतको उचित भूमिका र जिम्मेवारी रहन जाने देखिन्छ । स्थानीय सरकार सञ्‍चालन ऐन, २०७४ को दफा ११ को उपदफा २फ. ले भाषा, संस्कृति र ललितकलाको संरक्षण गर्न सक्ने काम कर्तव्य र अधिकारसमेत तोकिएको अवस्थामा देवालय, मन्दिर तथा गुठीको संरक्षणमा सहकार्य गरी आवश्यक सहयोग गर्न सक्ने नै देखिन्छ । त्यसैगरी गुठी संस्थान ऐन, २०३३ को दफा ६३ख. मा "प्रत्येक जिल्ला कार्यालयले आफ्नो जिल्लामा रहको गुठीहरूको काम कारबाहीको आवश्यक रेखदेख र निरीक्षण गर्नुका साथै देवस्थलमा रहेका प्राचिन मुर्ति, गरगहना आदि सम्पत्तिको रेखदेख गर्नुपर्ने छ" भन्‍ने व्यवस्था रहेको देखिन्छ । तथापि, मन्दिरको संरक्षण गरी गुठीको परम्परालाई निरन्तरता दिनको लागि उल्लिखित दाबीका जग्गाहरू रसिक चुडामणी भगवान्‌ चारूशिला कुञ्ज स्थानको नाममा दर्ता कायम गरी गुठी संस्थानलाई संरक्षण राखी सामाजिक धार्मिक गुठी संरक्षण र गुठीको निरन्तरताको लागि गुठी संस्थान ऐन, २०३३ को दफा २० को उपदफा (२) बमोजिम रसिक चुडामणी भगवान्‌ चारूशिला कुञ्‍जस्थान सञ्‍चालन र गुठी व्यवस्थापनको लागि गुठी संस्थान संरक्षक कायम हुने गरी सम्बन्धित स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय, धनुषासमेतको सहकार्य र सहयोगमा आवश्यक बन्दोबस्त तथा सञ्‍चालन गर्नको निमित्त गुठी संस्थान केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषाका साथै जनकपुर उपमहानगरपालिकासमेतलाई फैसलाको प्रतिलिपिसहित जानकारी दिनू ।

१४. साबिक पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी भई वादी र प्रतिवादी दुवै पक्षको दाबी नपुग्ने ठहरेकाले मन्दिरको नाममा दर्ता कायम भएका दाबीका जग्गा जमिनहरू गुठी संस्थान संरक्षक कायम हुने ठहरेकोले सोको जानकारी मालपोत कार्यालय धनुषालाई दिनू ।

१५. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी यस फैसलाको विद्युतीय प्रति यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.अनिलकुमार सिन्हा

 

इजलास अधिकृत (उपसचिव):- बासुदेव पाण्डे

इति संवत् २०७९ साल श्रावण १८ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु