निर्णय नं. ११४८८ - अबन्डा जग्गा बन्डा गरिपाऊँ
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल
फैसला मिति : २०८०।१२।२५
०७७-CI- ००६८
मुद्दा : अबन्डा जग्गा बन्डा गरिपाऊँ
पुनरावेदक / प्रतिवादी : मोतीलालको नाति देवेन्द्रलालको छोरा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १४ बस्ने तिर्थलाल मुलेपती
विरूद्ध
प्रत्यर्थी / वादी : मोतिलालको नाति देवेन्द्रलालको छोरा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ५ बस्ने विमल मुलेपतीसमेत
पटक पटक अंश लिनु दिनु र पुनः सगोलमा रहने नरहने कुरा अंशियारहरूको स्वेच्छामा निर्भर हुने हुँदा अंशियारहरूको यस्तो स्वेच्छिक क्रियामा अदालतले अनुचित नियन्त्रण गर्न नसक्ने ।
विवादित जग्गाहरू नामसारी गरेको र अदालतमा मिलापत्र हुँदा, मिलापत्रमा सो जग्गा तायदातीमा उल्लेख नगरेको कारणबाट प्रतिवादीको नाममा दर्ता नामसारी भएकै आधारमा मात्र वादी र प्रतिवादीको एकासगोलको अबन्डा रहेको पैतृक सम्पत्ति प्रतिवादीको एकलौटी भएको मान्न नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री पुन्य प्रसाद अर्याल र विद्वान् अधिवक्ता श्री ज्ञानेन्द्र प्रसाद अधिकारी
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बाबुराजा जोशी र विद्वान् अधिवक्ता श्री किरण न्यौपाने
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री गिरिराज गौतम
भक्तपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री टेकप्रसाद ढुंगाना
माननीय न्यायाधीश श्री राजनप्रसाद भट्टराई
उच्च अदालत पाटन
फैसला
न्या.सुनिलकुमार पोखरेल : उच्च अदालत पाटनको मिति २०७६।०१।३० को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१) को खण्ड (क) र (ख) अन्तर्गत यस अदालतमा प्रतिवादीको निवेदन परेकोमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्न अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
फिरादीका वाजे मोतिलालको २ छोरामा जेठा देवेन्द्रलाल र कान्छा सुन्दरलाल हुन् । आमा सेतीनानी र पिता देवेन्द्रलालको कोखबाट जन्मेका ५ छोराहरू क्रमश: म फिरादीका पिता जेठा ईन्द्रलाल, माइला पुर्णलाल, साइँला ईश्वरीलाल, काइँला बिमल र कान्छा तिर्थलाल गरी जम्मा ७ जना मूल अंशियारहरू भएकोमा जेठा ईन्द्रलालको मिति २०५९ सालमा परलोक भएकोले उहाँको हक खाने हकदारहरूमा म फिरादीमध्येको उपेन्द्रलाल मुलेपती हुँ । माइला पुर्णलालको २०३८ सालमा मृत्यु भइसकेको हुँदा उहाँको हक खाने उहाँको श्रीमती तुल्सीमाया हुनुहुन्छ । मिति २०२०।०४।२९ मा मेरा पिता देवेन्द्र लाल र उनका सहोदर भाइ सुन्दरलालबिच अंशबन्डा भई अलग भइसक्नुभएको छ । २०३२ सालमा विमल मुलेपतीसहित पाँचै दाजुभाइहरूलाई पिता देवेन्द्रलालले मनलागेसम्म सँगै बस्नु भनी केही जग्गा राखी छोडपत्र पास गरिदिए पनि एउटै घरमा एउटै भान्छा गरी बसी आएका छौँ । मिति २०२१।७।२८ सालमा केही जग्गाहरू हालैको बकसपत्र पास गरी दिनुभएको र बाबु आमाको सेवा टहल गरी बसेकोमा माहिला पुर्णलालले अलग बस्छु भनेकोले पछि दाबी गर्न नपाउने गरी मिति २०२४।०७।११ मा भक्तपुरको लाकुलाछेको घर आधी लिई अंश छोडपत्र गरिदिनुभयो । साहिँला छोरा ईश्वरीलालले घरको र आमा बाबुको रेखदेख गर्न छाडे । २०३३ सालमा आमाको परलोक भएपश्चात् बाँकी दाजुभाइहरू ईन्द्रलाल, बिमल र तिर्थलाल तीनै जना एकै ठाउँमा मिलेर बस्न नसकी छुट्टै भान्छा गरी बस्न थाले । पिताको २०३४ सालमा परलोक भएपश्चात् मिति २०३४।११।२५ को पास भएको अंशछोडपत्रको लिखतलाई जालसाजीपूर्वक भएको माग दाबी लिई सम्पूर्ण सम्पत्तिलाई ५ भाग लगाई १ खण्ड अंश पाउँ भनी भक्तपुर जिल्ला अदालतमा मिति २०४०।०२।२३ मा ईश्वरीलालले मुद्दा दर्ता गर्नुभई उक्त मुद्दा विभिन्न तह हुँदै मिति २०५४।१२।०६ मा सर्वोच्च अदालतबाट जालसाजी नठहर्ने र छोडपत्रको लिखत बदर नहुने तर बाँकी सम्पत्तिमा ईश्वरीलालको समेत हक हुने गरी अन्तिम फैसला भइसकेको छ । सर्वोच्च अदालतको मिति २०५४।१२।०६ को फैसलाको आधारमा मिति २०२१।०४।३२ को छोडपत्रलाई कानूनी अर्थमा छोडपत्र मान्न मिल्दैन । पिता देवेन्द्रलालको नाउँमा गुठी कार्यालयको लगतमा दर्ता कायम भएको भक्तपुर जिल्ला बछलेश्वरी गुठी नं. १ को जग्गा भक्तपुर निलबाराही गा.वि.स. वडा नं ९ को कि. नं. ४२० र ४१९ को क्षेत्रफल क्रमश: २-७-०-०, २-९-०-० जग्गा दर्ता गर्ने सम्बन्धमा कारबाही हुदै गर्दा पिता देवेन्द्रलालको मिति २०३४।१२।०४ मा मृत्यु भएकोले उहाँका छोराहरूमध्ये पितासँग बसेका जेठा ईन्द्रलाल र काहिला म फिरादीमध्येका बिमल मुलेपतीले विपक्षी प्रतिवादी तिर्थलाललाई मिलापत्र गर्न मुद्दा सकार गर्न मन्जुरनामा दिएकोमा जग्गा दर्ता भई आएपछि नामसारी गर्न फिरादी बिमल र ईन्द्रलाल तथा काका सुन्दरलालले मन्जुरी दिएकोले नै विपक्षीका नाउँमा दर्ता नामसारी भएको हो । उल्लिखित जग्गा सर्वोच्च अदालतबाट फैसला हुँदाको समयसम्म अंशको तायदाती पेस गर्न नसकेको र भक्तपुर जिल्ला अदालतबाट मिति २०६०।०६।३० गते मिलापत्र हुँदासमेत कहीँकतै उल्लेख गर्न नसकेको कारण उल्लिखित जग्गा अबन्डा पैतृक सम्पत्ति हो भन्ने प्रमाणित हुने भएकोले उक्त सम्पत्ति अबन्डाको हुन आउँछ । गुठी संस्थान भक्तपुर गुठी तहसिल तथा खर्च कार्यालयको मिति २०३५।२।३२, २०४४।२।१९ र २०४४।२।२४ को निर्णयबाट तिर्थलाल मुलेपती नाममा नामसारी भएको भक्तपुर बछलेश्वरी गुठी नं. १ को हाल भक्तपुर जिल्ला बोडे गा.वि.स. वडा नं. ९ (क) को कि. नं. ४२० कित्ताकाट गरी कायम कि. नं. ९४८ क्षे.फ. १-१२-३-० र कि.नं. ४१९ कित्ताकाट गरी कायम ९४६ को क्षे.फ. १-७-०-० जग्गाको नामसारी निर्णयउपर ईश्वरलाल मुलेपती वादी र गुठी संस्थान के.का.समेत प्रतिवादी भएको निर्णय दर्ता हक कायम मुद्दामा सर्वोच्च अदालतबाट साबिक दर्तावाला बाजे देवेन्द्रलाल मुलेपती परलोक हुनुभएकोले सँगै बसेका जेठा छोरा ईन्द्रलालसमेतले ३ खण्डको १ खण्ड हक खाने काका सुन्दरलालले समेत विपक्षी तिर्थलालका नाममा नामसारी गर्न हामीले मन्जुरी दिएका हौं । सर्वोच्च अदालतको मिति २०६६।०१।२२ मा भएको फैसलाअनुसार विपक्षी तिर्थलालका नाममा दर्ता नामसारी भई कायम उक्त जग्गामा हामी फिरादीहरूको अंश भाग लाग्ने र उक्त जग्गाहरू अबन्डा भएकोले हामीहरूको समेत हक लाग्ने हुँदा उक्त कि.नं. ४२० र ४१९ का जग्गा बन्डापत्रबमोजिम देवेन्द्रलालका समान हकदार भाइ सुन्दरलाल मुलेपतीको नाममा ३ भागको १ भाग छुट्याई बाँकी २ भागलाई पुनः ३ भाग लगाई ३ भागमध्ये हामी फिरादीको भागमा २ भाग हुने गरी बन्डा गरी अड्डैबाट चलन चलाई पाउँ भन्नेसमेत बेहोराको वादीको फिराद दाबी ।
प्रस्तुत मुद्दामा फिरादीले ईन्द्रलालको २०५९ सालमा नै मृत्यु भएको स्वीकार गर्नुभएको छ । पुर्णलालको पनि २०३८ सालमा नै मृत्यु भएको हो । ईन्द्रलालका छोरा उपेन्द्र लाल र बिमल मुलेपतीले ईन्द्रलालसँगको नाता प्रमाणित पेस गरेका छैनन् । साथै अबन्डा सम्पत्ति हो भन्ने कुनै प्रमाण देखाउन सकेको छैन । अबन्डा गोश्वाराको लिखत भएमा मात्र आ-आफ्नोखुस हुन्छ भन्ने कानूनी व्यवस्था रहेको छ । मिति २०२०।०४।२९ गते देवेन्द्रलाल र भाइ सुन्दरलालबिच बन्डा भई अलग भएका र मिति २०२०।०४।३२ मा बिमल मुलेपतीसहितका ५ भाइहरू मनलागेसम्म सँगै बस्नु भनी केही जग्गा राखी छोडपत्र गरी पछि हामी एउटै घरमा एउटै भान्छा गरी रही बसी आएका थियौँ । पछि मिति २०२१।०७।२८ मा केही जग्गा बकस गरी लिई २०२४।०७।१० मा पुर्णलाल केही अंश लिई अलग भएपश्चात् २०३३ सालमा आमा बज्यै परलोक हुनुभयो । यसरी व्यवहार प्रमाणबाट छुट्टीभिन्न भएको कुरामा वादीहरू स्वयं साबित छन् । पिता देवेन्द्रलालको बाँकी भाग मिति २०४४।०१।२३ को मोही भाग छुट्याउने निर्णयअनुसार कि.नं. ४१९ र ४२० लाई कित्ताफोड गर्दा हुन आएको कि.नं. ९४६ र ९४८ का सम्बन्धमा पनि सर्वोच्च अदालतमा परेको रिटको किनारा हुँदा कानूनसम्मत देखियो । ईश्वरीलाल वादी र म तिर्थलाल प्रतिवादी भएको निर्णय दर्ता बदर हक कायम गरिपाउँ भन्ने मुद्दामा सर्वोच्च अदालतको मिति २०६६।०१।२२ को अंश मुद्दामा तायदाती माग्दा प्रस्तुत मुद्दाको फिरादमा दाबी उल्लेख भएका छैनन् । अत: हामीहरूको पारित बन्डाबमोजिम विवादित जग्गा वादीहरूलाई दिनुपर्ने बाध्यता नभएको हुँदा पहिला भएका फैसलाहरू र गुठी संस्थान शाखा कार्यालय भक्तपुरबाट भएको निर्णयबमोजिम मेरा नाउँमा नामसारी भएको जग्गा मेरै नाउँमा दर्ता कायम गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी तिर्थलाल मुलेपतीको प्रतिउत्तर पत्र ।
पुर्खा देवेन्द्रलाल र सुन्दरलाल २ भाइ रहेकोमा सम्पूर्ण सम्पत्तिलाई ३ भाग लगाई २ भाग देवेन्द्रलाल र सुन्दरलाललाई १ भाग गरी बन्डा गर्दा कि. नं. ४१९ र ४२० अबन्डा रहेको थियो । देवेन्द्रलालका ५ छोरा रहेका छन् । कि.नं. ४१९ र ४२० कित्ताकाट भई क्रमश: कि.नं. ९४६ र ९४८ का जग्गाहरू अबन्डा रहेकाले उक्त कित्ताहरूलाई ३ भाग लगाई १ भाग सुन्दरलालको हकदारले पाउनुपर्ने हो देवेद्रलालको हक हिस्साबाट मैले कानूनबमोजिमको अंश पाउनुपर्ने हो भन्ने बुझिएका व्यक्ति ईश्वरीलालको बयान ।
तिर्थलालले दर्ता गराएको विवादको जग्गा देवेन्द्रलालको नाउँको हो भन्ने कुरामा विवाद देखिँदैन । तिर्थलालले विवादको जग्गा मेरो एकलौटी हकको हो भनी भने पनि सोलाई समर्थन गर्ने सबुद प्रमाण दिन सकेको देखिँदैन । अबन्डा सम्पत्ति भनिएको सम्पत्ति पैतृक भन्ने विवाद रहेको पनि देखिँदैन । यस अवस्थामा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतले पनि देवेन्द्रलालको पैतृक सम्पत्ति अबन्डा ठहर हुँदा त्यसउपर निजका छोराहरूको अलग अलग हैसियत रहन्छ भनी मान्न मिल्ने पनि देखिँदैन । माथि गरिएका विवेचना तथा पूर्व भएको निर्णय बदर हक कायम मुद्दामा भएको निर्णय ठहरकै आधारमा मात्र ईश्वरीलालको विवादको सम्पत्तिमा हिस्सा रहेनछ भनी मान्न नमिल्ने हुँदा तिर्थलालले दर्ता नामसारी गराएको विवादको कि.नं. ४२० र ४१९ को जग्गा अबन्डा ठहरी सो सम्पत्तिलाई देवेन्द्रलाल र सुन्दरलालबिचमा भएको मिति २०२०।४।२९ को बन्डाको भावना र मर्मअनुसार ३ भाग लगाई सोको २ भागमा देवेन्द्रलालका पाँचै भाइ छोराहरूको बराबर हक हिस्सा हुने र वादीहरूले ५ भागको २ भाग अबन्डा सम्पत्तिमा बन्डा पाउने ठहर्छ भन्ने सुरू भक्तपुर जिल्ला अदालतको मिति २०७३।०८।२३ को फैसला ।
विमल मुलेपतीसमेत वादी भएको अबन्डा जग्गाको बन्डा दिलाइपाउँ भन्ने मुद्दामा वादी विमल मुलेपतीसमेतले तिमी भाइ तिर्थलालले विवादित २ कित्ता जग्गा आफ्नो नाउँमा दर्ता गरेमा हाम्रो मन्जुर छ । पछि कुनै पनि बेहोराको उजुर विरोध हुने छैन भनी उल्लेख भएको छ । यसरी पक्षले स्वीकार गरेको तथ्यको विपरीत कुरा गरेमा प्रमाण ऐन, २०३१ को दफा ३४ अनुसार विबन्धनको सिद्धान्त आकर्षित हुन्छ र त्यस्तो पक्षलाई विबन्धन लाग्छ । गुठी संस्थान शाखा कार्यालय, भक्तपुरबाट मेरो नाउँमा दर्ता नामसारीको निर्णय सक्कल आउन नसकेको भन्ने कुराको चर्चा पनि फैसलामा गरिएको छ । विपक्षी वादीलाई फाइदा हुने गरी यो निर्णय गायव गर्ने अरू कुनै व्यक्तिलाई पनि सरोकार देखिन्न । केवल वादी र तिनका भाइ, छोराहरूसँग कर्मचारीको मिलोमतोमा सो काम भएको भन्ने बुझिन्छ । त्यसरी अड्डा अदालतको निर्णय गायब गरी गराई अर्को जघन्य कसुर अपराध गर्ने काम यो मुद्दाका वादी र गुठी तहसिल कार्यालयका सम्बन्धित कर्मचारीहरूलाई मुलुकी ऐन, अदालती बन्दोबस्तको २३ नं.को कानूनी व्यवस्थाअनुसार छानबिन गरी सजायसमेत गरी सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मेरो नाउँमा रहेको कि.नं ९४६ र ९४८ का जग्गा मेरै कायम गरिपाउँ भन्ने बेहोराको पुनरावेदक प्रतिवादी तिर्थलाल मुलेपतीको तर्फबाट परेको पुनरावेदन पत्र ।
यसमा ईश्वरीलाल मुलेपती पुनरावेदक वादी र प्रत्यर्थी तिर्थलाल मुलेपती भएको २०६१ सालको दे.पु.नं. ९८४२ भएको निर्णय दर्ता बदर हक कायम मुद्दामा कि.नं. ९४६ र ९४८ जग्गाको दर्ता बदर हक कायमतर्फ दाबी नपुग्ने गरी सर्वोच्च अदालतबाट मिति २०६६।०१।१२ मा भएको फैसलालाई अनदेखा गरी सुरू जिल्ला अदालतले सोही कि.नं. ९४६ र ९४८ को जग्गा कित्ताकाट भई हाल कायम कि.नं. ४१९ र ४२० को जग्गा यिनै पुनरावेदक ईश्वरीलाल मुलेपतीसमेतलाई बन्डा हुने भनी ठहर गरेको सुरू फैसला विचारणीय देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ तथा ११२ बमोजिम छलफल प्रयोजनको लागि प्रत्यर्थीहरूका नाउँमा म्याद सूचना जारी गरी उपस्थित भए वा उपस्थित हुने अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नुहोला भन्ने मिति २०७४।०७।१७ को उच्च अदालत पाटनको आदेश ।
पुनरावेदक प्रतिवादी तिर्थलाल मुलेपतीको नाउँमा रहेको कि.नं. ४२० र ४१९ को जग्गा हाल कित्ताकाट भई कि.नं. ९४८ र ९४६ कायम रहेको उक्त विवादित जग्गाको मुल स्रोत देवेन्द्रलाल मुलेपती देखिएको हुँदा उक्त जग्गा पैतृक सम्पत्तिको रहेको, विवादित जग्गा प्रतिवादीले निजि आर्जनको हो भनी जिकिर लिए तापनि सोको पुष्टि गर्न नसकेको, बाबुआमाको नाममा रहेको पैतृक सम्पत्ति कुनै एक सन्तानको नाममा नामसारी गर्न मन्जुर दिएकै भरमा अन्य छोराहरूको अंश हक समाप्त नहुने हुँदा तिर्थलाल मुलेपतीको नाममा दर्ता रहेको विवादित कि.नं.४१९ र ४२० को जग्गा अबन्डा ठहर्याई सो सम्पत्तिलाई देवेन्द्रलाल र सुन्दरलालबिचमा भएको मिति २०२०।०४।२९ को बन्डाको भावना र मर्मअनुसार ३ भाग लगाई सोको २ भागमा देवेन्द्रलालका पाँचै भाइ छोराहरूको बराबर हक हिस्सा हुने र वादीहरूले ५ भागको २ भाग अबन्डा सम्पत्तिमा बन्डा पाउने ठहर्छ भन्ने उच्च अदालत पाटनको मिति २०७६।०१।३० को फैसला ।
उच्च अदालत पाटनले गरेको फैसला चित्त बुझेन । हामी ५ जना भाइहरूले पिता देवेन्द्रलाल मुलेपतीबाट विभिन्न तवरले अचल सम्पत्ति प्राप्त गरी आएकोमा अंश छोडपत्र गरी आएका छौँ । उक्त अंश छोडपत्रको लिखतउपर ईश्वरीलाल मुलेपतीले बाँकी ४ भाइउपर अंश, जालसाजी र लिखत बदर मुद्दा दर्ता गराएकोमा मिति २०४६।०१।११ मा सर्वोच्च अदालतबाट जालसाजी र लिखत बदर नहुने र अंश मुद्दामा फिरादी ईश्वरीलालले पिता देवेन्द्रलालको नाममा बाँकी रहेको जग्गामा एकलौटी हक लाग्ने गरी फैसला भएको, म पुनरावेदक प्रतिवादीका नाउँमा दर्ता रहेका कि.नं.४१९ र ४२० जग्गा मेरो नाउँमा गरेको निर्णय बदर गरिपाउँ भनी ईश्वरीलालले दायरको गरेको मुद्दामा वादी दाबी नपुग्ने गरी मिति २०६६।०१।२२ मा सर्वोच्च अदालतबाट फैसला भएको देखिन्छ । मिति २०६०।०६।३० मा भक्तपुर जिल्ला अदालतमा हामीहरूबिचमा भएको मिलापत्रमा उक्त २ कित्ता जग्गाहरू कसैले हाम्रो हकको जग्गा हो भनी दाबी गर्न नसकेको हुँदा उक्त जग्गा म पुनरावेदक तिर्थलालको भएकोमा सबैले स्वीकार गरेको देखिन्छ । हामी भाइहरूबिचमा अंशबन्डा भइसकेको र कि.नं.४१९ र ४२० को जग्गा दाइहरूको सहमतिमा मेरो नाममा दर्ता गर्नका लागि मन्जुरनामा दिई उक्त जग्गामा हाम्रो दाबी छैन भनी उल्लेख गरेको आधारमा समेत उक्त जग्गा मेरो भएको प्रस्ट हुन्छ । यदि उक्त जग्गाहरू अबन्डा भएको भए सर्वोच्च अदालतको फुल बेन्चले समेत अंश मुद्दामा उक्त जग्गा ईश्वरीलालको भनी फैसला गर्नुपर्ने हो । ईश्वरीलालको उक्त जग्गा नभएको, बाँकी दाइहरूले उक्त जग्गा मेरो नाउँमा दर्ता गर्न मन्जुर दिएको, उक्त जग्गा मैले निरन्तर रूपमा भोग गर्दै आएकोलगायतका आधार प्रमाणहरूबाट समेत उक्त जग्गा मेरो नाउँमा दर्ता भएको हुँदा सगोलको सम्पत्ति नभएकोमा उच्च अदालतले प्रमाणको मूल्याङ्कन नै नगरी गरेको फैसला त्रुटिपूर्ण रहेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी तिर्थलाल मुलेपतीले यस अदालतमा पेस गरेको निवेदनपत्र ।
यसमा यसै लगाउको निवेदन नं.०७६-RI-०४३३ को सगोलको अबन्डा जग्गा बन्डा गरिपाउँ भन्नेसम्बन्धी दोहोर्याई हेरिपाउँ भन्ने निवेदनमा आज यसै इजलासबाट मुद्दा दोहोर्याई हेर्न अनुमति प्रदान भएको र उक्त निवेदन प्रस्तुत मुद्दासँग अन्तरप्रभावी देखिएको हुँदा सोही निवेदनमा लिएको आधार कारणबाट न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) र (ख) तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २१९(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिँदा मुद्दा दोहोर्याई हेर्न अनुमति प्रदान गरिदिएको छ । लगाउको मुद्दासमेत साथै राखी नियमानुसार गर्नु भन्ने यस अदालतको मिति २०७६।११।२८ मा भएको आदेश ।
यसमा, प्रस्तुत मुद्दा मेलमिलापका लागि पठाउन उपयुक्त देखिएकोले ४५ दिनको समय दिई मेलमिलापको लागि यस अदालतको मेलमिलाप केन्द्रमा पठाई मेलमिलाप भएमा मिलापत्रका लागि र नभए सोहीअनुसारको प्रतिवेदन लिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७८।०६।१९ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री पुन्यप्रसाद अर्याल र विद्वान् अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद अधिकारीले मेरो पक्षको नाममा दर्ता कायम रहेको विवादित कि.नं. ४१९ र ४२० को जग्गा वादी पक्षले अबन्डा भनी दाबी गरे तापनि भक्तपुर जिल्ला अदालतमा मिति २०६० सालमा मिलापत्र हुँदासमेत उक्त विवादित कि.नं. का जग्गाहरू अबन्डा भनी कहीँकतै उल्लेख गरेको नदेखिएको, विपक्षीहरूले समेत उक्त जग्गाहरूमा आफ्नो हक छ भनी दाबी लिन नसकेको, इन्द्रलाल मुलेपती, विमल मुलेपतीसमेतले उक्त विवादित जग्गा मेरो पक्षका नाममा दर्ता गर्दा आफ्नो हक कायम नरहेको भनी मन्जुरीनामा दिएको अवस्थामा एक पटक मन्जुरीनामा दिइसकेपछि पुनः सोही जग्गामा आफ्नो अंश दाबी गर्नु मनासिब नभएको तथा मिति २०६६।०१।२२ मा सर्वोच्च अदालतले समेत उक्त विवादित जग्गा मेरो पक्षको भएको भनी फैसला गरेको देखिँदा उक्त जग्गा बन्डा लाग्न नसक्ने भई वादी दाबी पुग्ने गरी भएको उच्च अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी विवादित जग्गा तिर्थलाल मुलेपतीको कायम गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसैगरी, प्रत्यर्थी वादी बिमल मुलेपती र उपेन्द्रलाल मुलेपतीको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री बाबुराजा जोशी र विद्वान् अधिवक्ता श्री किरण न्यौपानेले विवादित जग्गा मिति २०३५।०२।३२ मा भक्तपुर गुठी कार्यालयमा उपस्थित भई तिर्थलाल मुलेपतीको नाममा नामसारी गरिदिए हुन्छ भनी मन्जुरी दिएकै कारणले मेरो पक्षको अंश हक नजाने, मिति २०६०।०६।३० मा मिलापत्र हुँदा तायदातीमा समावेश नभएपनि उक्त सम्पत्तिको स्रोत निज पुनरावेदक प्रतिवादीको निजी आर्जनको नभई पैतृक भन्ने देखिएको, निजी आर्जनको भनी पुनरावेदकले दाबी लिए पनि सोको वस्तुनिष्ठ प्रमाण पेस गर्न नसकेको, मिति २०५४।१२।०६ मा सर्वोच्च अदालतबाट भएको फैसलाले समेत उक्त कि.नं.का जग्गाहरू तिर्थलाल मुलेपतीको नभएको भनी फैसला गरेको लगायतका आधार र कारणहरूबाट उल्लिखित विवादित कि.नं ४१९ र ४२० को जग्गामा कसैको निजी आर्जनको सम्पत्ति भएको वा एकलौटी हकभोगको रहेको प्रमाणित नभएको देखिँदा उक्त पैतृक सम्पत्तिमा अंशियार सबैको बराबरी हक लाग्ने गरी उच्च अदालत पाटनले गरेको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
स्व. देवेन्द्रलाल मुलेपतीका ५ भाइ छोराहरूमध्ये जेठा ईन्द्रलाल मुलेपतीका छोरा उपेन्द्रलाल मुलेपती र काइला बिमल मुलेपती वादी भई स्व. देवेन्द्रलालका कान्छा छोरा तिर्थलाल मुलेपतीलाई प्रतिवादी बनाई निजको नाममा कि.नं. ४२० कित्ताकाट गरी कायम कि.नं. ९४८ र कि.नं. ४१९ कित्ताकाट गरी कायम कि.नं. ९४६ को जग्गा अबन्डा रहेको र हाम्रोसमेत अंश हक लाग्ने भएकोले देवेन्द्रलाल मुलेपतीका समान हकदार भाइ सुन्दरलाल मुलेपतीको नाममा ३ भाग को १ भाग छुट्याई बाँकी २ भागलाई पुनः ३ भाग लगाई ३ भागमध्ये हामी फिरादीको भागमा २ भाग हुने गरी बन्डा गरी अड्डैबाट चलन चलाई पाउँ भन्ने फिराद दाबी रहेकोमा वादीहरूले दाबी लिएको जग्गा अबन्डा सम्पत्ति हो भन्ने वादीहरूले कुनै प्रमाण देखाउन नसकेको, मिति २०२०।०४।२९ लगायतका अन्य लिखतबाट समेत हामी दाजुभाइबिच छुट्टिई भिन्न भएको भन्ने देखिएको, किनं ४१९ र ४२० लाई कित्ताफोड गर्दा हुन आएको कि.नं ९४६ र ९४८ का जग्गाको दाजु ईश्वरीलाल मुलेपती वादी र म तिर्थलाल मुलेपती प्रतिवादी भएको निर्णय दर्ता बदर हक कायम गरिपाउँ भन्ने मुद्दामा सर्वोच्च अदालतको मिति २०६६।०१।२२ को फैसलाबाट मेरो हक कायम भएकोले उक्त जग्गा मेरै कायम गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी तीर्थलाल मुलेपतीको प्रतिउत्तर जिकिर रहेको देखिन्छ । विवादको जग्गा देवेन्द्रलाल मुलेपतीको नाउँको हो भन्ने कुरामा विवाद नभएको र तिर्थलाल मुलेपतीले विवादको जग्गा मेरो एकलौटी हकको हो भनी भनेपनि सोलाई समर्थन गर्ने सबुद प्रमाण दिन नसकेकोले विवादको कि.नं. ४२० र ४१९ को जग्गा अबन्डा ठहरी सो सम्पत्तिलाई देवेन्द्रलाल र सुन्दरलाल मुलेपतीबिचमा भएको मिति २०२०।०४।२९ को बन्डाको भावना र मर्मअनुसार ३ भाग लगाई सोको २ भागमा देवेन्द्रलाल मुलेपतीका पाँचै भाइ छोराहरूको बराबर हक हिस्सा हुने र वादीहरूले ५ भागको २ भाग अबन्डा सम्पत्तिमा बन्डा पाउने ठहर गरी सुरू भक्तपुर जिल्ला अदालतबाट फैसला भएकोमा उक्त फैसलाउपर चित्त नबुझाई प्रतिवादी तिर्थलाल मुलेपतीले उच्च अदालतमा पुनरावेदन पत्र दायर गरेकोमा उच्च अदालत पाटनले समेत सुरू जिल्ला अदालतको फैसलालाई सदर हुने ठहर्याई गरेको फैसलाउपर प्रतिवादीले यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भनी निवेदन दिई उक्त निवेदनमा मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहबाट दर्ता भएकोमा आज निर्णयार्थ पेस हुन आएको देखियो ।
उपर्युक्त तथ्य भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी र प्रत्यर्थी वादी दुवैतर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको बहस सुनी मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणहरूको अध्ययन गरी हेर्दा यसमा उच्च अदालत पाटनले गरेको फैसला मिलेको छ, छैन? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन? सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, हामी दाजुभाइहरूबिचमा अंश छोडपत्र भएको, उक्त अंश छोडपत्रको लिखतउपर ईश्वरीलाल मुलेपतीले बाँकी ४ भाइउपर प्रस्तुत मुद्दाका पुनरावेदक प्रतिवादीका नाउँमा दर्ता रहेका कि.नं.४१९ र ४२० को जग्गा निजको नाउँमा दर्ता गरेको निर्णय बदर गरिपाउँ भनी ईश्वरीलालले दायर गरेको मुद्दामा वादी दाबी पुग्न नसक्ने गरी सर्वोच्च अदालतबाट फैसला भएको देखिन्छ । भक्तपुर जिल्ला अदालतमा हामी दाजुभाइहरूबिचमा विवादित जग्गाका लागि भएको मिलापत्रमा उक्त २ कित्ता जग्गाहरू कसैले हाम्रो हकको जग्गा हो भनी दाबी गर्न नसकेको हुँदा उक्त जग्गा म पुनरावेदक प्रतिवादी तिर्थलाल मुलेपतीको भएकोमा सबैले स्वीकार गरी बसेको, हामी भाइहरूबिचमा अंशबन्डा भइसकेको र कि.नं.४१९ र ४२० को जग्गा दाजुहरूको सहमतिमा मेरो नाममा दर्ता गर्नका लागि मन्जुरनामा दिई उक्त जग्गामा हाम्रो हक छैन भनी उल्लेख गरेको, सर्वोच्च अदालतको पूर्ण इजलासले समेत ईश्वरीलाल मुलेपतीको उक्त जग्गा नभएको, उक्त जग्गा म पुनरावेदकले निरन्तर रूपमा भोग गर्दै आएकोलगायतका आधार प्रमाणहरूबाट समेत उक्त जग्गा मेरो नाउँमा नामसारी भएको हुँदा विवादित जग्गा मेरै नाउँमा दर्ता कायम गरिपाउँ भन्ने मुख्य पुनरावेदन जिकिर रहेको देखियो ।
३. पुनरावेदकको मुख्य पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, प्रत्यर्थी वादीहरू तथा पुनरावेदक प्रतिवादीका बाजे मोतिलाल मुलेपतीका २ भाइ छोराहरू; जेठा देवेन्द्रलाल मुलेपती र कान्छा सुन्दरलाल मुलेपती रहेकोमा जेठा देवेन्द्रलाल मुलेपतीका ५ भाइ छोराहरूमध्ये जेठा इन्द्रलाल मुलेपती, माइला पूर्णलाल मुलेपती, साइँला ईश्वरीलाल मुलेपती, काइँला विमल मुलेपती र कान्छा तिर्थलाल मुलेपती रहेका छन् । मिति २०२०।०४।२९ मा देवेन्द्रलाल मुलेपती र सुन्दरलाल मुलेपतीका बिचमा अंशबन्डा भइसकेको देखिन्छ । माथिल्लो पुस्ताका बिचमा अंशबन्डा भइसकेपछि लगत्तै मिति २०२०।०४।३१ मा देवेन्द्रलाल मुलेपती र निजका ५ भाइ छोराहरूका बिचमा समेत अंशछोडपत्र भएको देखिन्छ । मिति २०५९ सालमा इन्द्रलाल मुलेपतीको मृत्यु भएपछि दायर भएको प्रस्तुत मुद्दाका वादीहरू इन्द्रलाल मुलेपतीको हक खाने निजको छोरा उपेन्द्रलाल मुलेपती र विमल मुलेपती तथा प्रतिवादी तिर्थलाल मुलेपती एकासगोलका अंशियार भएकोमा अन्यथा भन्न मिल्ने देखिएन ।
४. अब, विवादित कि.नं.४१९ र ४२० को जग्गा एकासगोलको पैतृक सम्पत्ति हो, होइन ? भन्ने सम्बन्धमा विचार गर्दा, माइला पूर्णलाल मुलेपतीले मिति २०२१।०७।२८ मा हालैको बकसपत्र प्राप्त गरी मिति २०२४।०७।११ मा छोडपत्र गरी अलग बसेको र साइला ईश्वरीलाल मुलेपतीले आफू बाबुआमाको रेखदेख र लिनेदिने पनि नगर्ने सर्तमा छुट्टै बसेको देखिन्छ । मिति २०३४।११।२५ मा देवेन्द्रलाल मुलेपतीको नाउँमा केही जग्गा राखी बाँकी रहेको जग्गा इन्द्रलाल मुलेपती, विमल मुलेपती र तिर्थलाल मुलेपतीको नाउँमा अंश छोडपत्र लिखत गरेको देखिन्छ । सो लिखतउपर ईश्वरीलाल मुलेपतीले जालसाजी, लिखत बदर र अंश मुद्दा दायर गरेकोमा मिति २०५४।१२।०६ मा सर्वोच्च अदालतले जालसाजी र लिखत बदर नठहर्ने र बाँकी सम्पत्तिमा ईश्वरीलाल मुलेपतीको हक हुने गरी फैसला गरेको देखिन्छ । भक्तपुर जिल्ला अदालतबाट मिति २०६०।०६।३० मा भएको मिलापत्रमा समेत विवादित जग्गाको सम्बन्धमा तायदातीमा समावेश गरेको देखिँदैन । विवादित जग्गा कि.नं.४१९ हाल कित्ताकाट हुँदा कि.नं.९४६ कायम भएको र कि.नं.४२० हाल कित्ताकाट भई कि.नं. ९४८ कायम भएको जग्गा गुठी संस्थान भक्तपुर गुठी तहसिल तथा खर्च कार्यालयको मिति २०३५।०२।३२, २०४४।०२।१९ र २०४४।०२।२४ को निर्णयबाट तिर्थलाल मुलेपतीको नाममा नामसारी भएको देखिन्छ । उक्त जग्गा तिर्थलाल मुलेपतीको नाउँमा नामसारी हुनुभन्दा अगाडि सो जग्गाहरू वादी प्रतिवादीका बुबा देवेन्द्रलाल मुलेपतीको नाउँमा रहेको देखिएको र निज देवेन्द्रलाल मुलेपतीको मृत्युपश्चात् उक्त जग्गा पुनरावेदक प्रतिवादी तिर्थलाल मुलेपतीको नाउँमा दर्ता भएको तथ्य मिसिल संलग्न कागजहरूबाट देखिन्छ । यसरी कि.नं.४१९ र ४२० को जग्गाहरू विगतका कुनै पनि अंश छोडपत्रका लिखत वा मिलापत्रमा उल्लेख भई कुनै अंशियारहरूका भागबन्डामा परेको वा पुनरावेदक प्रतिवादीको एकलौटी हकभोगमा रहेको भन्ने वस्तुनिष्ठ प्रमाणसमेत निज पुनरावेदकले पेस गर्न नसकेको देखिँदा उक्त विवादित जग्गा पैतृक सम्पत्ति भएकोमा विवाद देखिँदैन ।
५. तिर्थलाल मुलेपतीको नाउँमा उक्त विवादित जग्गा नामसारी गर्दा काका सुन्दरलाल मुलेपती, दाजु इन्द्रलाल मुलेपती र भाइ विमल मुलेपतीले मन्जुरनामा दिएको र मिति २०६६।०१।२२ मा सर्वोच्च अदालतबाट भएको फैसलाले समेत उक्त जग्गा उक्त मुद्दाका वादी ईश्वरीलाल मुलेपतीको दाबी पुग्न नसक्ने भनी फैसला गरेको हुँदा विवादित जग्गामा मेरो एकलौटी हक हुने हो भनी जिकिर लिए तापनि उक्त जग्गा तिर्थलाल मुलेपतीको नाममा दर्ता गराउन मन्जुरीनामा दिने विपक्षी वादीहरूले पुनरावेदक प्रतिवादीका नाममा सो जग्गा नामसारी गर्न मात्र मन्जुरी दिएका हौँ, मन्जुरी दिएकै कारणबाट हक भने छाडेका होइनौँ भनी दाबी गरेको देखिन आउँछ । मिति २०६६।०१।२२ मा सर्वोच्च अदालतबाट भएको फैसलामा वादी ईश्वरीलालको दाबी नपुग्ने भन्नुको अर्थ उक्त जग्गा प्रतिवादी तिर्थलाल मुलेपतीको एकलौटी हो भन्न खोजेको नभई निजको नाउँमा दर्ता भएको कार्य बदर मात्र नभएको अवस्था देखिन्छ । फलतः देवेन्द्रलालका हकवालामध्ये जोसुकैको नाममा दर्ता रहेको सम्पत्तिमा अन्य हकवालाको समेत समान हक लाग्ने कुरा स्वतः स्थापित भएको मान्नुपर्ने देखियो । यसैगरी मिति २०५४।१२।०६ मा यस अदालतको पूर्ण इजलासबाट भएको फैसलाले देवेन्द्रलालसँग ईश्वरीलाल मात्र एकासगोलमा रहेको भने तापनि मिति २०६०।०६।३० को अंशबन्डा मिलापत्रमा ईश्वरीलालसमेतको सहभागिता रहेको कारणबाट सो पूर्व ईश्वरीलाल र अन्य प्रतिवादीहरू एकासगोलमै रहेको मान्नुपर्ने देखिन्छ । अतः पटक पटक अंश लिनु दिनु र पुनः सगोलमा रहने नरहने कुरा अंशियारहरूको स्वेच्छामा निर्भर हुने हुँदा अंशियारहरूको यस्तो स्वेच्छिक क्रियामा अदालतले अनुचित नियन्त्रण गर्न सक्ने अवस्था हुँदैन । यसरी विवादित कि.नं.४१९ र ४२० को जग्गाहरू पुनरावेदक प्रतिवादीको नाउँमा नामसारी गरेको र भक्तपुर जिल्ला अदालतमा वादी प्रतिवादीहरूका बिचमा विवादित जग्गाको विषयमा मिलापत्र हुँदा उक्त मिलापत्रमा सो जग्गा तायदातीमा उल्लेख नगरेको कारणबाट वादी दाबीको सम्पत्ति यी प्रतिवादीको नाममा दर्ता नामसारी भएकै मात्र आधारमा वादीहरू र प्रतिवादीको एकासगोलको अबन्डा रहेको पैतृक सम्पत्ति प्रतिवादीको एकलौटी भएको मान्न मिल्ने अवस्था देखिन आएन ।
६. यसरी विवादित कि.नं.४१९ र ४२० का जग्गाहरू पुनरावेदक प्रतिवादी तिर्थलाल मुलेपतीको एकलौटी तथा निजी आर्जनको सम्पत्ति नभई एकासगोलको बन्डा लाग्ने पैतृक सम्पत्ति भएको हुँदा एकासगोलका अंशियारहरूबिचमा बन्डा गर्नुपर्ने देखिन आयो । अब उक्त जग्गा को कसमा बन्डा लाग्ने हो भन्ने सम्बन्धमा विचार गर्दा, मोतिलाल मुलेपतीका २ छोराहरूमध्ये जेठा देवेन्द्रलाल मुलेपती र कान्छा सुन्दरलाल मुलेपती रहेकोमा देवेन्द्रलाल मुलेपतीको वि.सं.२०३४ सालमा मृत्यु भएको देखिन्छ । देवेन्द्रलाल मुलेपतीले विभिन्न मितिमा निजका ५ भाइ छोराहरू इन्द्रलाल मुलेपती, पूर्णलाल मुलेपती, ईश्वरीलाल मुलेपती, विमल मुलेपती र तिर्थलाल मुलेपतीका बिचमा अंश छोडपत्र लिखत गरेको मिसिल संलग्न कागज प्रमाणबाट देखिन आउँछ । विवादित कि.नं. ४१९ र ४२० को जग्गा देवेन्द्रलाल मुलेपतीको नाममा रहेकोमा निजको मृत्युपश्चात् उक्त जग्गा प्रतिवादी तिर्थलाल मुलेपतीको नाउँमा दर्ता भएको देखिएको तथा विवादित २ कित्ता जग्गाको स्रोत वादी प्रतिवादीका पिता देवेन्द्रलाल मुलेपती नै भएको हुँदा व्यावहारिक रूपमा समेत सो जग्गा बन्डा गर्न छुट भएको अबन्डा जग्गा रहेको देखियो । यसरी बाबुको नाउँमा दर्ता रहेको जग्गा निजका ५ भाइ छोराहरूमध्ये कुनै १ भाइ छोराको नाउँमा दर्ता हुन आएको अबन्डा जग्गा सबै भाइहरूमा बन्डा लाग्नुपर्ने देखिँदा पैतृक सम्पत्तिको रूपमा रहेको उक्त जग्गा वादीहरू र प्रतिवादीका नाउँमा बन्डा गर्नुपर्ने देखिन्छ । अब वादी प्रतिवादीका काका सुन्दरलाल मुलेपतीको समेत उक्त जग्गामा आफ्नो हक स्थापित रहेको छ, छैन ? भन्ने सम्बन्धमा विचार गर्दा, यी वादी प्रतिवादीका बाजे मोतिलाल मुलेपतीका २ छोराहरू देवेन्द्रलाल मुलेपती र सुन्दरलाल मुलेपती भएकोमा निजहरूबिचमा मिति २०२०।०४।२९ मा भएको अंशबन्डामा २ भाग देवेन्द्रलाल मुलेपतीले र १ भाग सुन्दरलाल मुलेपतीले पाउने गरी अंशबन्डा भएको देखिन्छ । उक्त मिति २०२०।०४।२९ को अंशबन्डाको लिखतअनुसार प्रस्तुत विवादित कि.नं.४१९ र ४२० को जग्गामा समेत यी वादीहरूका बाबु/बाजे देवेन्द्रलाल मुलेपतीको २ भाग र सुन्दरलाल मुलेपतीको १ भागमा अंश हक लाग्ने देखिन आयो । अब देवेन्द्रलाल मुलेपती र सुन्दरलाल मुलेपतीबिचमा भएको मिति २०२०।०४।२९ को अंशबन्डाको भावना र मर्मअनुरूप विवादित सम्पत्तिलाई ३ भाग लगाई सोको २ भागमा देवेन्द्रलाल मुलेपतीका ५ भाइ छोराहरूको बराबर हक हिस्सा हुने हुँदा सो ५ भागको २ भागमध्ये वादी विमल मुलेपतीको १ भाग र अर्का वादी उपेन्द्रलालका बाबु इन्द्रलाल मुलेपतीले पाउने १ भाग यी वादी उपेन्द्रलाल मुलेपतीले पाउने ठहरी उच्च अदालत पाटनले गरेको फैसला मिलेकै देखिँदा अन्यथा मान्नुपर्ने अवस्था देखिन आएन ।
७. तसर्थ, माथि उल्लिखित मुद्दाको तथ्य, आधार र कारणहरूसमेतबाट मुद्दाका यी पक्षहरूका बिचमा यसपूर्व भएका पटक पटकको अंश छोडपत्रलगायतको लिखतमा उल्लेख नभएका तर पिता देवेन्द्रलाल वा आमा सेतीनानीसमेतका नाममा रहेका विवादित जग्गाबाहेकका अन्य जग्गाहरूमा समेत यी वादी प्रतिवादीहरूको समान हक हुने कुरा निर्विवादित रूपमा स्थापित भएको मान्नुपर्ने देखियो । अतः उच्च अदालत पाटनबाट मिति २०७६।०१।३० मा विवादित कि.नं. ४१९ र ४२० का जग्गा पैतृक अबन्डा सम्पत्ति रहेको हुँदा मिति २०२०।०४।२९ को अंशबन्डाको भावना र मर्मअनुरूप विवादित सम्पत्तिलाई ३ भाग लगाई सोको २ भागमा देवेन्द्रलाल मुलेपतीका ५ भाइ छोराहरूको बराबर हक हिस्सा हुने हुँदा सो ५ भागको २ भागमध्ये वादी विमल मुलेपतीको १ भाग र अर्का वादी उपेन्द्रलालका बाबु इन्द्रलाल मुलेपतीले पाउने १ भाग वादी उपेन्द्रलाल मुलेपतीले पाउने ठहरी भएको फैसला कानूनसम्मत मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादी तिर्थलाल मुलेपतीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशकुमार ढुंगाना
इजलास अधिकृत:- जोवन काफ्ले
इति संवत् २०८० साल चैत्र २५ गते रोज १ शुभम् ।