शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४९९ - अंश चलन

भाग: ६७ साल: २०८२ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश डा. श्री कुमार चुडाल

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

फैसला मिति : २०७९।०७।०३

 

मुद्दा :- अंश चलन

 

०७८-DF-००१६

पुनरावेदक / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३५ कोटेश्वर कमलनयन मार्ग बस्ने सोजित सिलवाल खत्रीसमेत

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३५ कोटेश्वर कमलनयन मार्ग बस्ने शान्ती खत्रीसमेत

 

०७८-DF-००१८

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३५ कोटेश्वर कमलनयन मार्ग बस्ने रामहरि खत्री

विरूद्ध

प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३५ कोटेश्वर कमलनयन मार्ग बस्ने हजुरी खत्रीसमेत

 

दाइजो वा पेवा आफूखुसी गर्न नपाउने गरी अन्य कुनै कानूनी व्यवस्थाले सङ्कुचन वा नियन्त्रण गरेको नदेखिने । दाइजो, पेवाबाट आर्जित सम्पत्ति अन्य कसैलाई बिक्री व्यवहार हक हस्तान्तरण गर्न निषेध नगरी आफूखुस गर्न पाउने हकको रूपमा स्त्री अंशधनको महलको ५ नं. र अंशबन्डाको १८ नं. को व्यवस्था भएको पाइने । 

(प्रकरण नं.४)

अंशबन्डा हुँदा वा गर्दाको बेलामा दाइजो वा पेवाको सम्पत्ति अंशियार बाबुआमाको नाउँमा नै रहेका छन् भने छोराछोरीहरूले सगोलको सम्पत्तिका रूपमा अंश हक प्राप्‍त गर्ने । 

निजी आर्जन आफूखुस गर्न पाउने गरी कानूनले प्रदान गरेको हकलाई उपभोग गरी अन्यत्र व्यक्तिलाई हस्तान्तरण गरिसकेको भए बन्डा प्रयोजनको अवस्था नै नरहने हुँदा यही आलोकमा साबिक मुलुकी ऐनको स्त्री अंश धनको महल र हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ को दुवै व्यवस्थाहरू व्याख्या गरिँदा नै उक्त कानूनी व्यवस्थाहरूको कानूनसङ्गत व्याख्या तथा प्रयोगमा द्विविधा नहुने । अन्यथा साबिक मुलुकी ऐन, स्त्री अंश धनको महलको अपव्याख्या हुन गई हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ नै निष्क्रिय बन्न जाने । 

(प्रकरण नं.६)

 

वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री रमणकुमार श्रेष्ठ, श्री रमेशकुमार मैनाली तथा श्री विश्वप्रकाश सिग्देल 

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र श्री टिकाराम भट्टराई एवम् विद्वान् अधिवक्ताहरू श्री हरि कार्की, श्री हरिन्द्रप्रसाद राई, श्री कल्पना रावल र श्री विश्वेश्वर प्रसाद गौतम 

अवलम्बित नजिर :

ने.का.प.२०६९, अङ्क ३, नि.नं.८७८८

ने.का.प.२०५९, अङ्क ५, नि.नं.७०८७

सम्बद्ध कानून :

मुलुकी देवानी संहिता, २०७४

 

सुरू तहमा फैसला गर्ने:

मा. न्यायाधीश श्री लिप्‍तबहादुर थापा क्षेत्री

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः  

माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल

माननीय न्यायाधीश श्री रामचन्द्र यादव

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत पाटनको फैसलाउपर मुद्दा दोहोर्‍याई हेर्ने निवेदन परी सो निवेदनउपर मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई यस अदालतको मिति २०७८।११।०८ को आदेशबमोजिम सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२) बमोजिम पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर यसप्रकार छ:-

तथ्य खण्ड

कमलबहादुर खत्री र विपक्षी सानुमैयाँ खत्रीबाट २ छोरा ५ छोरीको जायजन्म भएकोमा सबै छोराछोरीको विवाहदान भइसकेको छ । जेठो छोरा रामहरि खत्रीतर्फबाट २ श्रीमतीमध्ये जेठी श्रीमती शान्ती खत्री र कान्छी श्रीमती हजुरी खत्री हौं । शान्ती खत्रीबाट २ छोरी  सविता र कविताको जन्म भएकोमा दुवैको विवाह भइसकेको छ । कान्छी श्रीमती म फिरादी हजुरी खत्रीको तर्फबाट २ छोरी र १ छोराको जायजन्म भएकोमा जेठी छोरी सुजाताको विवाह भइसकेको छ भने कान्छी छोरी सोजिता र सोजितको विवाह हुन बाँकी रहेको छ । कमलबहादुर खत्रीको हक खाने जम्मा ३ अंशियार भएको र उक्त ३ भागको १ भाग विपक्षी सानुमैयाँ खत्रीले, १ भाग विनोद खत्रीले र बाँकी १ भागको ५ भागमध्ये ३ भाग हामी हजुरी खत्री, सोजित खत्री र सोजिता खत्रीले अंशबापत पाउने कुरामा विवाद छैन । विपक्षीहरू एकापसमा मिली हाम्रोसमेत हक लाग्ने काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.३५ को कि.नं. १२४ को जग्गा मिति २०६५।०१।२९ मा हामीलाई थाहा नदिई बिक्री गरेको र उक्त जग्गामा हाम्रोसमेत अंश हक रहेको हुँदा अंशबन्डाको १ नं. बमोजिम जियजियैको बराबर अंश गर्नुपर्ने भएकोले सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी माग गरी उक्त सम्पत्तिलाई बराबर ३ भाग लगाई ३ भागको १ भागमध्येबाट विवाह नभएको २ जना छोराछोरीको विवाह खर्च पर सारी बाँकी सम्पत्तिलाई ५ भाग लगाई ५ भागको ३ भाग अंश दिलाई चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको हजुरी खत्रीसमेत जना तीनको मिति २०६५।०२।२० को फिरादपत्र ।

विपक्षीहरूले अंश मुद्दा गर्नुपर्ने मूल कारण काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३५ को कि.नं. १२४ को जग्गा बिक्रीको विषयलाई लिएर हो । उल्लिखित जग्गा स्त्री अंशधनअन्तर्गतको मेरो एकलौटी हकभोगको जग्गा भएकोले बिक्री गरेको हो । हामीहरूबिचमा अंशबन्डा भएको छैन । मैले विपक्षीहरूलाई अंश दिनुपर्ने होइन । विपक्षीहरूले नै मलाई अंश दिनुपर्ने हो । आजभन्दा ३१ वर्षअगाडि नै विपक्षीहरूले मलाई घरबाट निकाला गरिदिएकोले माइतीघरमा आई बसिरहेकी छु । बन्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्ति विपक्षीहरूको जिम्मामा रहेको छ, निजहरूबाटै सम्पत्तिको तायदाती माग गरी मेरो पनि अंश भाग छुट्‍याइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी शान्ती खत्रीको मिति २०६४।०४।२७ प्रतिउत्तरपत्र ।

विपक्षीहरूका पिता पतिसमेत उपर हामीले अंश माग गरी यसै सम्मानित अदालतमा फिराद दायर गरेको हुँदा अंश हक भाग छुट्‍याउन हाम्रो मन्जुरी छ भन्नेसमेत बेहोराको प्रतिवादी सानुमैयाँ खत्री र विनोद खत्रीको मिति २०६५।०५।१२ को प्रतिउत्तरपत्र ।

वादीले दाबिमा उल्लेख गरेबमोजिम हामी ५ अंशियार होइनौं । प्रतिवादीमध्येकी शान्ती खत्रीले मिति २०३६।१२।१४ मा बाग्मती अञ्‍चल अदालतमा मिलापत्र गरी अंश लिइसकेको अवस्था छ । निज एकासगोलमा नरहेकोले अंशियार कायम हुन सक्दैन । विपक्षीहरूलाई इज्जतआमद अनुसार खानलाउन दिइरहेको र हाल अंश दिनुपर्ने अवस्थाको विद्यमानता नहुँदा झुठ्ठा मुद्दाबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामहरि खत्रीको मिति २०६५।०५।१२ को प्रतिउत्तरपत्र ।

मिति २०६५।१०।२८ गतेका आदेशानुसारको प्रमाण मिसिलको सक्कल मिसिल संलग्न रहेको । 

सुरू अदालतको २०६७।०९।०७ को आदेशानुसार वादी प्रतिवादीबाट बन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी पेस भएको, पेस भएको तायदाती एकआपसमा सुनाइएको, तायदातीउपरमा उजुरी परेको, तायदातीमा उल्लिखित जग्गाको दर्ता स्रेस्ता उतार प्राप्‍त भएको र वादीले नपुग कोर्ट फीमा सुविधा लिई कारबाही भएको ।

यसै लगाउको २०६५ सालको दे.नं.५२६६ को अंशचलन, दे.नं .५२१५ को लिखत बदर दर्ता बदर, दे.नं.५२६७ को लिखत दर्ता बदर दर्ता, सं.दे.७/७७ को मानाचामल मुद्दा साथै पेस भएको ।

यसै लगाउको अंशचलन मुद्दामा सानुमैयाँ खत्री, रामहरि खत्री र विनोद सिल्वाल खत्रीलाई तीन मूल अंशियार कायम गरी तीन भागको दुई भाग अंश सानुमैयाँ र विनोदले छुट्‍याई लिन पाउने र बाँकी एक भाग सम्पत्ति रामहरि खत्रीको अंश भागमा रहने गरी आज यसै इजलासबाट फैसला भएकोले वादीहरूले तायदातीमा आएको सम्पत्तिलाई विवाह हुन बाँकी अंशियार सोजित र सोजिताको विवाह खर्च अंशबन्डाको महलको १७ नं.बमोजिम पर सारी बाँकी सम्पत्तिलाई ५ भाग गरी ५ भागको ३ भाग अंश यी वादीहरूले छुट्‍याई लिन पाउने ठहर्छ । तायदातीमा उल्लिखित ऋण बन्डा लाग्ने हो भनी वादीहरूले तायदातीमा उल्लेख गरेको बेहोरा तथ्य र प्रमाणबाट समर्थन नभएकाले सो दाबी जिकिर पुग्न सक्ने देखिएन भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६७।१२।०८ मा भएको फैसला ।

प्रस्तुत मुद्दामा शान्ती खत्रीलाई अंशियार कायम गर्न नै मिल्दैन । बाग्मती अञ्‍चल अदालतको मिति २०३६।१२।२४ को मिलापत्रबमोजिम निजका नाममा जग्गा दिई उक्त जग्गाको प्रमाणपुर्जासमेत बनी सो जग्गा बिक्री भइसकेको छ । विपक्षीले आफ्नो नाउँमा दर्ता भएको काठमाडौं जिल्ला, साबिक कोटेश्वर ९क कि.नं. २७० कित्ताकाट भई ०–२–३–० जग्गा मिति २०४५।०३।२१ मा बिक्री गरेको तथा ऐ. वडा नं. ५क कि.नं. ३५७ भई कायम कि.नं.५७१ को जग्गा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अधिग्रहण गरेको र सो रकम विपक्षीले नै बुझेको तथ्य मिसिलबाट प्रस्ट छ । अतः सुरू अदालतबाट भएको मिलापत्रअनुसार प्रतिवादी शान्ती खत्री एकासगोलमा नरहेको हुँदा फैसलामा उल्लेख भएको जम्मा ५ जना अंशियार भन्नेलाई उल्टी गरी बदर गरी ४ जना अंशियार मात्र कायम हुने फैसला गरी न्याय पाउँ भन्नेसमेत बेहोराको मिति २०६८।०८।०१ को पुनरावेदनपत्र ।

काठमाडौं महानगरपालिका, वडा नं. ३५ सिट नं. १०२।११८७–२० कि.नं. १२४ को जग्गा पैतृक सम्पत्ति हो र हामीहरू एकासगोलमा नै छौँ । विपक्षी शान्ती खत्रीले उक्त जग्गा राजीनामा गरी कुनै रकम पनि नलिई विपक्षी मेधनी प्रसादका नाउँमा नामसारी गरेको अवस्था छ । सुरू अदालतले विपक्षीको एकलौटी सम्पत्ति भनी ठहर गरिएको छ । उक्त फैसला प्रमाण ऐन, २०३१ को दफा ६क तथा मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं.समेत प्रतिकूल छ । हामी वादी प्रतिवादीबिच मिति २०६५।०२।०८ लाई मानो छुट्टिएको मिति कायम भएको र सो दिनसम्मलाई सगोल कायम गरिएको छ । विवादको कि.नं.१२४ को जग्गा सगोलको हो, शान्ती खत्रीसमेतको निजी र स्त्री अंशधनअन्तर्गतको सम्पत्ति होइन । अतः सुरू जिल्ला अदालतको फैसला बदर उल्टी गरी दाबी गरिएको काठमाडौं महानगरपालिका, वडा नं.३५ कोटेश्वरको कि.नं. १२४ जग्गाको फिराद दाबीबमोजिम लिखत दर्ता बदर गरी सो सम्पत्तिबाट समेत हामीले अंश पाउने गरी फैसला गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६८।०८।०२ को पुनरावेदनपत्र ।

यसमा २०६५ सालको दे.मि.नं. ५२१५ को लिखत बदर मुद्दामा मिति २०३६।१२।१४ मा भएको मिलापत्रबाट आधी मात्र पाउने सानुमायाको सम्पत्तिसम्म बन्डा गर्ने र आधी भाग प्राप्‍त गर्ने शान्ती खत्रीको नाममा रहेको कि.नं. १२४ को जग्गा बन्डा नलाग्ने भनी गरेको सुरूको फैसला अंशबन्डाको १८ नं. र स्त्री अंशधनको १ नं. र प्रमाण ऐन, २०३१ को दफा ६(क) समेतको व्याख्यात्मक प्रश्‍नमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६९।०३।१४ को आदेश ।

दाबीको कि.नं. १२४ को जग्गाको हैसियत शान्तीको हकमा बकस र सानुमैयाँको हकमा पैतृक भएको पाइयो । उक्त बाग्मती अञ्‍चल अदालतको मिलापत्रका दिनदेखि बकसको सम्पत्तिले अंशचलन मुद्दामा बन्डा नगरिएको र सानुमैयाँका हकमा बन्डा हुने गरेको देखियो । उक्त मिति २०३६।१२।२४ को मिलापत्र बदर नहुँदासम्म लिखत बदरसमेत हुन नसक्ने र  हजुरआमाले मिलापत्रबाट हक छाडी दिएपछि हजुरी खत्री र निजका नाति सोजित, सोजिताले पनि दाबी गर्न मिल्ने देखिएन । स्त्री अंशधनको महलबमोजिम पनि दाबीको जग्गा निज शान्तीले आफूखुस गर्न पाउने देखिएको हुँदा निजले अरूलाई हक हस्तान्तरण गरेमा वादीहरूले अन्यथा भन्न मिल्ने अवस्था देखिन आएन । मुलुकी ऐन, अ.बं.८५ बमोजिम निजहरू हकमा सो नम्बर आकर्षित पनि हुने देखिँदा सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०७०।०२।०२ को फैसला ।

विवादित कि.नं. १२४ को जग्गा शान्तीको हकमा बकस र सानुमैयाँको हकमा पैतृक हुन सक्दैन । उक्त जग्गा हामीहरूको पैतृक सम्पत्ति भएको हुनाले सगोलमा रहेका परिवारको जसको नाममा भए पनि अंशियारबिच बन्डा लाग्ने हुँदा शान्तीको हकमा उक्त जग्गा बकस हुने होइन । कि.नं.१२४ को जग्गामा हामीहरूको समेत हक लाग्ने हुनाले हामीहरूको हक लाग्ने जग्गा अंशियारहरूबिच लेनदेन एवम् मुद्दा गर्दैमा हाम्रो हक जाने होइन । अंशियारका नाममा रहेको जुनसुकै स्रोतबाट प्राप्‍त भएको सम्पत्ति सबैलाई बन्डा लाग्ने भएकाले मिति २०३६।१२।२४ को मिलापत्र बदर गराई रहनुपर्ने होइन । एकाघरको हजुरआमाले एकासगोलको अंशियारलाई दिँदैमा हाम्रो हक जाने होइन । उल्लिखित जग्गा साबिकमा कमलबहादुरसमेतले हालैदेखिको बकसपत्र गरी दिँदा अंशियार तथा हामीहरूको मन्जुरीबाट दिइएको होइन । सबैको मन्जुरी नगरी पाएको अवस्थामा स्त्री अंशधनअन्तर्गतको भन्न मिल्ने होइन, अंशबन्डाको १९(५), स्त्री अंशधनको ४ नं., लेनदेन व्यवहारको १० नं. र प्रमाण ऐन, २०३१ को दफा ६ (क) लाई एकैसाथ राखी हेर्ने हो भने उक्त जग्गा स्त्री अंशधनअन्तर्गत पर्न सक्तैन । पुनरावेदन अदालतबाट फैसला गर्दा मुलुकी ऐन अ.बं.८५ नं.समेत आकर्षित हुने भन्ने आधार लिएको भए पनि के कुन कारण उक्त नं. आकर्षित हुने उल्लेख भएको छैन । कि.नं १२४ को क्षे.फ. ००२८२.१९ वर्ग मिटर जग्गा शान्ती खत्रीले मिति २०६५।०१।२९ मा मेधनीप्रसाद नेपाललाई राजीनामा गरिदिएको लिखत बदरतर्फ छुट्टै नालेस गरेकोमा सोतर्फ यस मुद्दामा बोल्नु सान्दर्भिक होइन । यसर्थ, काठमाडौं जिल्ला अदालतबाट मिति २०६७।१२।०८ मा भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मुलुकी ऐन अ.बं.८५ नं., स्त्री अंशधनको १, ४ र ४ नं., लेनदेन व्यवहारको १० एवम् प्रमाण ऐन, २०३१ को दफा ६ (क) एवम् अंशबन्डाको १, २, १८, १९ नं. को व्याख्यात्मक त्रुटि भएकाले उक्त फैसलाहरू बदर गरी हामीहरूको निवेदन जिकिर एवम्‌ बमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको हजुरी खत्रीसमेतको यस अदालतमा पेस भएको निवेदन ।

उक्त कि.नं. १२४ को जग्गा पैतृक भएकोमा विवाद छैन । एक अंशियारबाट अर्को अंशियारको नाममा जुन शीर्षकबाट हकहस्तान्तरण भए पनि स्वामित्वको हिसाबमा कुनै फरक पर्ने होइन भन्ने सिद्धान्तको प्रतिकूल हुनुको साथै सो फैसला यस सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्त (ने.का.प.२०५५, अङ्क ६, नि.नं. ६५५३) र मिति २०३४।०९।२७ भन्दा अघिको बकसले निजी आर्जनको दर्जा प्राप्‍त गर्न पनि नसक्ने भएको हुँदा विपक्षीले बिक्री गरेको दाबीको कि.नं. १२४ को जग्गा शान्ती खत्रीको आफूखुस गर्न पाउने ठहरी काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट गरेको फैसला बदरभागी छ । सुरू जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा मुलुकी ऐन, अ.बं. ८५ नं. को गम्भीर त्रुटिपूर्ण प्रयोग र व्याख्या भएको छ । अत: उक्त सुरू जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ६क र ५४ र मुलुकी ऐन, अ.बं. ८५ नं. को गम्भीर त्रुटिपूर्ण प्रयोग र व्याख्या भएको तथा नजिरको पालना नभएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) (क) र (ख) बमोजिम दोहोर्‍याई हेरी सुरू जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसलालाई बदर गरी मेरो प्रतिउत्तर जिकिरअनुसार हुने गरी फैसला गरी न्याय पाउँ भन्ने बेहोराको रामहरि खत्रीको यस अदालतमा पेस भएको निवेदन ।

यसमा सगोलका बुढी सासू तथा ससुराबाट शान्ती खत्रीले बकसपत्र प्राप्‍त गरेको विवादित कि.नं. १२४ को जग्गा पैतृक सम्पत्ति भई सगोलमा रहेकी वादी हजुरी खत्रीको पनि बन्डा लाग्नेमा शान्ती खत्रीको निजी आर्जनको भनी बन्डा नलाग्ने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०७०।२।२ को फैसलामा यस अदालतबाट ने.का.प. २०३६ नि.नं. १२४१ पृष्ठ ६५ मा प्रतिपादित नजिर सिद्धान्तको पालना भएको नदेखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ, कानूनबमोजिम गर्नु भन्ने बेहोराको यस अदालतको मिति २०७२।५।२३ को आदेश ।

यसमा साबिक जिल्ला काठमाडौं, कोटेश्वर गाउँ पञ्चायत वडा नं. ५/क कि.नं.३९१ को १-१-३ जग्गा प्रतिवादी शान्ती खत्रीले मिति २०३४।१।१८ मा हालैदेखिको बकसपत्र प्रास गरेउपर ५ भागको ३ भाग बकसपत्रको लिखत बदर गरिपाउँ भनी सानुमैयाँ खत्रीसमेतले दायर गरेको बकसपत्र लिखत बदर मुद्दामा उल्लिखित कि.नं.३९१ को जग्गासमेत आधा सानुमैयाँ खत्री र आधा शान्ती खत्रीले कित्ताकाट गराई खाने गरी सानुमैयाँ खत्री, रामहरि खत्री, विनोद खत्री र शान्ती खत्रीका बिचमा बागमती अञ्चल अदालतबाट मिति २०३६।१२।२४ मा मिलापत्र भएको देखिन्छ । सोही जग्गा कित्ताकाट भई कायम भएको कि.नं. ५६९ को ०-८-३-२ जग्गा नयाँ नापी हुँदा कि.नं.१२४ को २८२.१९ वर्गमिटर जग्गा कायम भएको पाइन्छ । प्रस्तुत अंश चलन मुद्दामा उक्त जग्गा शान्ती खत्रीले मिति २०३६।१२।२४ को मिलापत्रबाट पाएको आधार र कारण उल्लेख गरी बन्डा नलाग्ने एवम्‌ दर्ता बदरसमेत नहुने ठहर गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०६७।१२।०८ मा फैसला भएको देखियो । काठमाडौं जिल्ला अदालतबाट भएको उक्त फैसला पुनरावेदन अदालत पाटनबाट सदर भएउपर वादी हजुरी खत्रीसमेतले सो फैसलामा चित्त नबुझाई मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी परेको निवेदनमा यस अदालतबाट मिति २०७२।०५।२३ मा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको देखिन्छ ।

मुलुकी ऐन, स्त्री अंशधनको महलको ४ नं. मा स्वास्नी मानिसलाई माइती मावलीपट्टिका नातेदार इष्टमित्रहरूले दिएको चल अचल र त्यसबाट बढे बढाएको सम्पत्ति दाइजो ठहर्छ । लोग्ने वा लोग्नेपट्टिका अंशियारले सबै अंशियारहरूको मन्जुरीको लिखत गरिदिएको र लोग्नेपट्टिका अरू नातेदार वा इष्टमित्रले दिएकोमा चल अचल र त्यसबाट बढे बढाएको सम्पत्ति पेवा ठहर्छ भन्ने तथा ऐ.को ५ नं. मा स्वास्नी मानिसले आफ्नो दाइजो पेवा आफूखुस गर्न पाउँछन्‌ । निजको शेषपछि त्यस्तो सम्पत्ति अपुतालीको महलबमोजिम हुन्छ’ भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । सासू सानुमैयाँ खत्री, पति रामहरि खत्री र देवर विनोद खत्री मूल ३ अंशियार रहेकोमा लोग्ने तथा निजका सबै अंशियारहरूको मन्जुरीबाट मिलापत्र भई शान्तीकुमारी खत्रीको नाममा उक्त जग्गा आएको देखिएकोले लोग्ने र निजका अंशियारका तर्फबाट आएको उक्त जग्गा सम्पत्ति मुलुकी ऐन, स्त्री अंशधनको ४ नं. को उक्त कानूनी व्यवस्थाबमोजिम शान्ती खत्रीको पेवा प्रकृतिको जग्गा सम्पत्ति देखिन्छ ।

माथि उल्लिखित कानूनी प्रावधानलाई मध्यनजर गर्दा, नेपाली समाजमा महिलाको आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, सांस्कृतिक तथा पारिवारिक परिवेशलाई मनन गरेर नै महिलाको आर्थिक अधिकार र हैसियत सुरक्षित गर्न, आत्मसम्मान र आत्मनिर्भरतामा विचलन आउन नदिन, पारिवारिक असहज परिस्थितिलाई सामना गर्न तथा जीवनमा आइपर्ने बाधा व्यवधानलाई पन्छ्याउन केही खास स्रोतबाट आएका सम्पत्ति महिलाले आफूखुस गर्न पाउँदा समाजको लैङ्गिक सन्तुलनसमेत कायम गर्न केही हदसम्म भए पनि सहज हुनसक्छ भन्ने अभिप्रायले मुलुकी ऐनमा अंशबन्डाको महलको व्यवस्था हुँदाहुँदै पनि स्री अंशधनको महलको ४ नं.अन्तर्गत प्राप्‍त गर्ने सम्पत्तिमा महिलाले आफूखुस गर्न पाउने गरी विधायिकाले केही विशेष व्यवस्था गरेको पाइयो । यस विशेष व्यवस्थालाई हेर्ने हो भने स्त्री अंशधनको सम्पत्ति बन्डा लाग्ने नभभई आफूखुस गर्न पाउने देखिन्छ ।

यसरी एकातर्फ प्रतिवादी शान्तीकुमारी खत्रीले सासू, पति र देवरसहितका अंशियारको मन्जुरीले मिलापत्रको माध्यमबाट पेवाको रूपमा प्राप्‍त गरेको सम्पत्ति निजको मुलुकी ऐन, स्त्री अंशचलनको महलको ४ नं.अन्तर्गतको आफूखुसी गर्न पाउने भई बन्डा नलाग्ने प्रकृतिको सम्पत्ति देखिन्छ भने अर्कोतिर बाबुआमाले जुनसुकै बेहोराबाट प्राप्‍त गरेको सम्पत्ति पैतृक मान्नुपर्ने भई छोराछोरीको हक लाग्ने भनी ने.का.प. २०६४ अङ्क २, नि.नं. ७८१४ मा सिद्धान्त प्रतिपादित भएको पाइन्छ । प्रतिपादित सिद्धान्तबमोजिम प्रस्तुत मुद्दाका वादी सोजित र सोजितालाई प्रतिवादी शान्ती खत्रीको सम्पत्ति अंश हक लाग्ने ठहर गर्दा मुलुकी ऐन, स्त्री अंशधनको महलको १ नं., ४ नं. तथा ५ नं. र अंशबन्डाको १८ नं. को कानूनी व्यवस्था निष्प्रभावी तथा निस्तेज हुने वा नहुने भन्ने उल्लिखित महत्त्वपूर्ण कानून व्याख्याको जटिल प्रश्न सन्निहित रही पूर्ण इजलासबाट निरूपण हुन उपयुक्त देखिँदा प्रस्तुत मुद्दा र यसैसँग लगाउमा रही अन्तरप्रभावी रहेका ०७२-CI-०५६४ र ०७२- CI-०५६६ को अंश चलन, ०७२- CI-०५६५ र ०७२- CI-०५६८ को लिखत दर्ता बदर तथा ०७२-CI-०५६९ को मानाचामलसमेतका मुद्दाको लगत संयुक्त इजलासबाट कट्टा गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(म) बमोजिम नियमानुसार पूर्ण इजलासमा पेस गर्नुहोला भन्ने बेहोराको यस अदालतको मिति २०७८।११।०८ को आदेश ।

यस अदालतको ठहर

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको निवेदनपत्रसहितको प्रमाण मिसिलहरूसमेत अध्ययन गरी पुनरावेदक/वादीहरू हजुरी खत्रीसमेतको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री रमणकुमार श्रेष्ठ, श्री रमेशकुमार मैनाली तथा श्री विश्वप्रकाश सिग्देलले वादी र प्रतिवादीहरूको नाता सम्बन्धमा कुनै विवाद छैन । विवादको कि.नं.१२४ को जग्गा वादीहरूको समेत हक लाग्ने पैतृक सम्पत्ति भएकोले उक्त जग्गा प्रतिवादी शान्तीको हकमा बकस र अर्का प्रतिवादी सानुमैयाँको हकमा पैतृक हुने होइन । वादीहरूको समेत हक रहेको पैतृक सम्पत्तिको विषयमा भएको लेनदेन एवम् सोउपर कुनै मुद्दा पर्दैमा वादीहरूको अंश जस्तो नैसर्गिक हक हनन हुने सक्दैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) ले नै एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा कुनै सम्पत्ति रहे पनि सगोलकै मानिने व्यवस्था गरेकोमा विवादको सम्पत्तिसमेत पैतृक रही वादीहरूलाई समेत बन्डा लाग्ने हुँदा मिति २०३६।१२।२४ मा भएको मिलापत्र स्वत: बदर हुने हुँदा बदर गराउनुपर्ने अवस्था छैन । कि.नं.१२४ को जग्गा साबिकमा कमलबहादुरसमेतले हालैदेखिको बकसपत्र गरी दिँदा वादीहरूको सहमति वा मन्जुरी लिइएको छैन । यस अवस्थामा प्रतिवादी शान्ती खत्रीले उक्त जग्गा स्त्री अंशधनको महलबमोजिम आफूखुसी गर्न पाउने होइन । एकासगोलका अंशियारहरूको नाममा रहेको सम्पत्ति सगोलको मान्नुपर्ने भनी प्रतिपादित सिद्धान्तहरूसमेतका आधारमा काठमाडौं जिल्ला अदालतबाट मिति २०६७।१२।०८ मा भएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७०।०२।०२ को फैसला बदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो । 

पुनरावेदक/प्रतिवादी रामहरि खत्रीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री हरिन्द्रप्रसाद राईले कि.नं.१२४ को जग्गा पैतृक भएकोमा विवाद छैन । एक अंशियारबाट अर्को अंशियारको नाममा जुन शीर्षकबाट हक हस्तान्तरण भए पनि स्वामित्वमा कुनै फरक पर्ने होइन । मिति २०३४।०९।२७ भन्दा अघिको बकसले निजी आर्जनको हुन नसक्ने भएकाले कि.नं.१२४ को जग्गा शान्ती खत्रीले आफूखुसी गर्न पाउने पनि होइन । शान्ती खत्रीले बकसबाट पाएको जग्गा एकासगोलकै सम्पत्ति रहेकोले स्त्री अंशधनको महलबमोजिम आफूखुसी गर्न पाउने जग्गा नभएको हुँदा काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला नमिलेकोले बदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो । 

प्रत्यर्थी/प्रतिवादी शान्ती खत्रीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र श्री टिकाराम भट्टराई एवम् विद्वान् अधिवक्ताहरू श्री हरि कार्की र श्री कल्पना रावलले प्रतिवादी शान्ती खत्रीको नाममा कायम रहेको विवादको कि.नं.१२४ को जग्गा निज शान्तीले निजकी बुढी सासू निरकुमारी खत्री र ससुरा कमलबहादुर खत्रीले मिति २०३४।०१।२८ मा हालैदेखिको बकसपत्र गरिदिएकोमा आधा सानुमैयाँ खत्री र आधा प्रतिवादी शान्ती खत्रीको हुने गरी हक कायम हुने गरी बागमती अञ्‍चल अदालतबाट मिति २०३६।१२।२४ मा मिलापत्रबाट प्राप्‍त गरेका हुन् । सोपश्चात् प्रतिवादी शान्तीको नाममा गरिलिएको जग्गामध्ये विमानस्थल विस्तारको कारण अधिग्रहणमा परेकोमा सोबाहेक बाँकी रहेको कि.नं.१२४ को जग्गा स्त्री अंशधनको महलको ४ नं.बमोजिम आफूखुसी गर्न पाउने निजी सम्पत्ति हुँदा तायदातीमा आएका सम्पत्तिलाई तीन भाग गरी तीन भागको दुई भाग सम्पत्ति वादीहरूले पाउने ठहर्‍याई काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकोले सोही फैसला सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो । 

प्रत्यर्थी/प्रतिवादीहरू सानुमैयाँ खत्री र विनोद सिलवाल खत्रीसमेतको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री विश्वेश्वर प्रसाद गौतमले प्रतिवादीमध्येका रामहरि खत्रीले वादी हजुरी खत्री श्रीमती छँदाछँदै शान्ती खत्रीसँग विवाह गरेपछि घरायसी कलह सुरू भएकोले कलह सुल्झाउनका लागि जग्गा बकस गरिदिएका हुन् । जग्गा आधाआधा भई प्रतिवादीमध्येका शान्तीको हकमा बकस हुने र सानुमैयाँको हकमा पैतृक हुने गरी मिति २०३६।१२।२४ मा मिलापत्र हुँदा अन्य अंशियारहरूको मन्जुरी लिइएको छैन । समान स्रोत र हैसियतबाट आएको सम्पत्तिहरू सगोलकै मान्नुपर्ने समान हैसियतको हुनुपर्नेमा प्रतिवादी शान्तीको हकमा उक्त जग्गा बकस भई निजले आफूखुसी गर्न पाउने ठहर्‍याएको फैसलाले अन्य अंशियारहरूको अंश हकमा आघात पुग्ने हुँदा पुनरावेदन अदालत पाटनबाट भएको फैसला बदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो । 

यसमा, वादी प्रतिवादीहरूका बिचमा अंशबन्डा भई नसकेको र कि.नं.१२४ को जग्गा अंशियारहरूको मन्जुरीबेगर बिक्री गरेको अवस्थामा सम्पूर्ण सम्पत्तिको तायदती फाँटवारी माग गरी उक्त सम्पत्तिलाई बराबर तीन भाग लगाई तीन भागको एक भागमध्येबाट विवाह नभएका छोरा सोजित र छोरी सोजिताको विवाह खर्च पर सारी बाँकी सम्पत्तिलाई पाँच भाग लगाई पाँच भागको तीन भाग अंश दिलाई चलनसमेत चलाइपाउँ भन्ने वादीहरूको फिराद दाबी रहेको देखिन्छ । विवादित कि.नं.१२४ को जग्गा स्त्री अंशधनको महलबमोजिम मेरो आफूखुसी गर्न पाउने जग्गा हो । वादी दाबीबमोजिम वादीहरूको समेत अंश हक रहेको कुनै पनि सम्पत्ति मेरो जिम्मामा नरही सम्पूर्ण सम्पत्तिहरू अन्य प्रतिवादीहरूको जिम्मामा रहेकोले वादीहरूलाई मैले अंश दिन नपर्ने भन्ने प्रतिवादी शान्ती खत्रीको, फिराद दाबीबमोजिम अंश हक भाग छुट्याउन हाम्रो मन्जुरी छ भन्ने प्रतिवादीहरू सानुमैयाँ खत्री र विनोद खत्रीको तथा प्रतिवादीमध्येका शान्ती खत्रीले मिति २०३६।१२।२४ मा भएको मिलापत्रबाट नै अंश बुझी एकासगोलमा नरहेकोले निज अंशियार नरहेको र विपक्षीहरूलाई इज्जतआमद अनुसार खान लाउन दिइरहेको अवस्थामा हाल अंश दिनु नपर्ने भन्ने प्रतिवादी रामहरि खत्रीको छुट्टाछुट्टै प्रतिउत्तर जिकिर रहेको देखिन्छ । उल्लिखित फिराद दाबी तथा प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा तायदातीमा पेस भएका सम्पत्तिमध्ये कि.नं.१२४ को प्रतिवादी शान्ती खत्रीको हकमा निजी आर्जनको हुने तथा बाँकी रहेको सम्पत्तिमध्येबाट प्रतिवादी रामहरि खत्रीको अंश भागमा आउने सम्पत्तिलाई विवाह हुन बाँकी वादीहरू सोजित र सोजिताको विवाह खर्च पर सारी बाँकी सम्पत्तिलाई ५ भाग गरी ५ भागको ३ भाग अंश वादीहरूले छुट्याई लिन पाउने ठहर्‍याई काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालतबाट मिति २०७०।०२।०२ मा फैसला भएको पाइन्छ । कि.नं.१२४ को जग्गाको हैसियत प्रतिवादी सानुमैयाँको हकमा पैतृक र शान्ती खत्रीको हकमा बकस हुने भनी पुनरावेदन अदालत पाटनबाट भएको फैसलामा चित्त नबुझाई वादीहरू तथा प्रतिवादी रामहरि खत्रीको तर्फबाट मुद्दा दोहोर्‍याई हेरी पाउने निवेदन परेकोमा कि.नं.१२४ को जग्गा पैतृक भई सगोलका वादीहरूको समेत हक लाग्नेमा उक्त जग्गा शान्ती खत्रीको निजी आर्जनको ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला यस अदालतबाट ने.का.प.२०३६, नि.नं.१२४१ मा प्रतिपादित सिद्धान्तको पालना नभएको आधारमा मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भएको देखिन्छ । 

कि.नं.१२४ को जग्गा वादीहरूको समेत अंश हक रहेको एकासगोलको जग्गा रहेको, एकाघरमा रहेको हजुरआमाले एकासगोलमै रहेका अर्का अंशियारलाई कुनै सम्पत्ति दिँदैमा उक्त सम्पत्तिमा अन्य अंशियारहरूको हकको अन्त्य नहुने, लोग्ने वा बाबुआमाको नाममा रहेको जुनसुकै बेहोराबाट प्राप्‍त भएको सम्पत्ति छोराछोरी एवम् पत्‍नीको लागि पैतृक हुने र कि.नं.१२४ को जग्गा साबिकमा कमलबहादुरसमेतले हालैदेखिको बकसपत्र गरिदिँदा अन्य अंशियारहरूको मन्जुरी नलिएको हुँदा प्रतिवादी शान्ती खत्रीले बकसपत्रबाट प्राप्‍त गरेको जग्गा स्त्री अंशधनको महलबमोजिमको नहुने हुँदा उक्त जग्गा शान्ती खत्रीको हकमा बकसपत्रबाट प्राप्‍त भई स्त्री अंशधनको महलबमोजिम आफूखुसी गर्न पाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले बदर हुनुपर्ने भन्ने वादीहरू हजुरी खत्रीसमेतको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ ।

त्यस्तै, कि.नं.१२४ को जग्गा पैतृक भएकोमा विवाद नरहेको, एक अंशियारबाट अर्को अंशियारको नाममा जुन शीर्षकबाट हस्तान्तरण भए पनि स्वामित्वमा कुनै फरक नपर्ने भनी प्रतिपादित सिद्धान्त तथा प्रमाण ऐन,२०३१ को दफा ६(क) प्रतिकूल भएकोले पुनरावेदन अदालत पाटनको फैसला बदर गरी प्रतिउत्तर जिकिरबमोजिम हुनुपर्ने भन्ने प्रतिवादी रामहरि खत्रीको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ ।

यस अदालतको संयुक्त इजलासको मिति २०७८।११।०८ मा भएको आदेशबमोजिम विवादित जग्गा मुलुकी ऐन, स्त्री अंशधनको महलको ४ नं.अन्तर्गतको आफूखुसी गर्न पाउने भई बन्डा नलाग्ने प्रकृतिको सम्पत्ति देखिन्छ भने अर्कोतिर बाबुआमाले जुनसुकै बेहोराबाट प्राप्‍त गरेको सम्पत्ति पैतृक मान्नुपर्ने भई छोराछोरीको हक लाग्ने भनी ने.का.प. २०६४, अङ्क २, नि.नं. ७८१४ मा प्रतिपादित सिद्धान्त मुलुकी ऐन, स्त्री अंशधनको महलको १ नं., ४ नं., ५ नं. र अंशबन्डाको महलको १८ नं.को कानूनी व्यवस्थाको प्रयोगका सम्बन्धमा विश्लेषण गर्नका लागि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(ग) बमोजिम पूर्ण इजलासमा पेस भएको देखिन्छ ।

उपर्युक्तानुसारको तथ्य, पुनरावेदन जिकिर तथा दुवै पक्षबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू तथा विद्वान् अधिवक्ताहरूको बहससमेत सुनी निम्नानुसारको प्रश्नहरूमा केन्द्रित रही न्याय निरूपण गर्नुपर्ने देखिन्छ । 

(क) विवादको कि.नं.१२४ को जग्गा पैतृक हो वा स्त्री अंशधनको महलबमोजिम प्रतिवादी शान्ती खत्रीले आफूखुसी गर्न पाउने हो? उक्त जग्गामा वादीहरूको अंश हक लाग्न सक्छ वा सक्दैन ?

(ख) विवादको कि.नं.१२४ को जग्गा प्रतिवादी शान्ती कुमारीले बिक्री गरेपश्चात् पनि पैतृक सम्पत्तिको रूपमा रही अन्य अंशियारहरूको हक लाग्न सक्छ वा सक्दैन ? 

(ग) पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदक / वादीहरू तथा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ?

 

२. अब, पहिलो प्रश्नतर्फ विचार गर्दा, यस अदालतको संयुक्त इजलासबाट साबिक मुलुकी ऐन, स्त्री अंशधनको महलको१ नं., ४ नं, ५ नं. तथा अंशबन्डाको महलको १८ नं. को प्रयोग के कुन अवस्थामा लागु हुने भन्ने अवस्थाको निरूपणको लागि प्रस्तुत मुद्दा पूर्ण इजलाससमक्ष पेस हुन आएकोले सर्वप्रथमत: सोसम्बन्धी कानूनी व्यवस्थाहरूको बारेमा हेरिनुपर्ने देखिन्छ । साबिक मुलुकी ऐन, स्त्री अंशधनको महलको ४ नं.मा "...लोग्ने वा लोग्नेपट्टिका अंशियारले सबै अंशियारहरूको मन्जुरीको लिखत गरिदिएको र लोग्नेपट्टिका अरू नातेदार वा इष्टमित्रले दिएको चल अचल र त्यसबाट बढे बढाएको सम्पत्ति पेवा ठहर्छ" र ऐ. महलको ५ नं. मा "स्वास्नी मानिसले आफ्नो दाइजो पेवा आफूखुस गर्न पाउँछन् । ऊ मरेपछि यसले खानु भनी लिखत गरिदिएको रहेछ भने लिखतैबमोजिम हुन्छ । लिखत रहेनछ भने सँग बसेका छोराछोरी भए त्यस्ता छोराछोरीले, त्यस्ता छोराछोरी नभए भिन्न बसेका छोराछोरीले, त्यस्ता छोराछोरी पनि नभए लोग्नेले, लोग्ने पनि नभए विवाह भएकी छोरीले, ऊ पनि नभए छोराका छोरा वा अविवाहिता छोरीले र निजहरू पनि नभए हकवालाले पाउँछन्" भन्ने व्यवस्था रहेको पाइन्छ । उल्लिखित स्त्री अंश धनको महलको ४ नं.को व्यवस्थाअनुसार लोग्ने वा लोग्नेपट्टिबाट प्राप्‍त भएको र अन्य अंशियारहरूको मन्जुरी रहेको सम्पत्ति पेवा भई स्त्री अंशधन हुने देखिन्छ भने नं.५ को व्यवस्थाअनुसार त्यस्ता सम्पत्ति प्राप्‍त गर्ने व्यक्तिले आफूखुसी गर्न पाउने देखिन्छ ।

३. साबिक मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. मा "मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नम्बरबमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । सोबाहेक कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नम्बरबमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ । बन्डा गर्न कर लाग्दैन । अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खती उपती आफ्नो आफ्नो गरी आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन लाएको ऋण आफ्नो आफ्नो हुन्छ" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । 

४. हाल प्रचलनमा रहेको मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ को उपदफा (१) को खण्ड (ज) मा "महिलालाई पति वा पतितर्फका सबै अंशियारहरूको मन्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरिदिएको वा पतितर्फका नातेदार वा इष्टमित्रबाट प्राप्‍त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति" लाई निजी सम्पत्ति मानिने र उपदफा (२) मा "कुनै पनि व्यक्तिले आफ्नो निजी सम्पत्ति यस ऐनको अधीनमा रही आफूखुसी गर्न पाउने छ" भन्ने व्यवस्था गरेको छ । सोही ऐनको दफा २५७(३) ले "...बाबु आमा र छोराछोरीबिच अंशबन्डा गर्ने प्रयोजनको लागि बाबु आमाले आर्जन गरेको सम्पत्तिसमेत सगोलको सम्पत्ति मानिने छ" भन्ने व्यवस्था गरेको पाइन्छ । उक्त कानूनी व्यवस्थाहरूको विश्लेषण गर्दा साबिक मुलुकी ऐन, स्त्री अंशधनको महलको ४ नं. र ५ नं. को कानूनी व्यवस्थाले दाइजो वा पेवा सम्पत्ति निजी आर्जनकै श्रेणीमा रहेको देखिन्छ । वस्तुत: कसैको मन्जुरी सहमति लिनुपर्ने नै देखिन्न, स्वत: आफूखुसी गर्न पाउने नै हुन्छ । दाइजो वा पेवा आफूखुसी गर्न नपाउने गरी अन्य कुनै कानूनी व्यवस्थाले सङ्कुचन वा नियन्त्रण गरेको देखिन आउँदैन । साथै, त्यस्तो दाइजो, पेवाबाट आर्जन सम्पत्ति अन्य कसैलाई बिक्री व्यवहार हक हस्तान्तरण गर्न निषेध नगरी आफूखुस गर्न पाउने हकको रूपमा स्त्री अंशधनको महलको ५ नं. र अंशबन्डाको १८ नं. को व्यवस्था भएको पाइन्छ । 

५. "...आमाबुबाका नाममा जुनसुकै स्रोतबाट आएको सम्पत्ति निजहरूका सन्तान अर्थात् दोस्रो तहमा अंशियार छोराछोरीका लागि पैतृक सम्पत्ति नै मान्नुपर्ने..." (ने.का.प.२०६९, अङ्क ३, नि.नं.८७८८) भन्ने प्रतिपादित न्यायिक सिद्धान्त रहेको छ । साथै, प्रचलित मुलुकी देवानी संहिता,२०७४ को दफा २५७(३) मा पनि बाबुआमा र छोराछोरीबिच अंशबन्डा गर्ने प्रयोजनको लागि बाबुआमाले आर्जन गरेको सम्पत्तिसमेत सगोलको मानिने व्यवस्था रहेको छ । उक्त "बाबुआमाले आर्जन गरेको" भन्ने प्रयुक्त शब्दावलीले त्यस्तो सम्पत्ति आर्जनको स्रोतहरू खुला रूपमा राखेको देखिन्छ । तथापि यहाँ विचारणीय कुरा के रहेको छ भने अंशबन्डा गर्ने प्रयोजनको लागि सम्म त्यस्तो बाबुआमाले आर्जन गरेको सम्पत्ति सगोलको सम्पत्ति हुने हो ।  

६. दाइजो वा पेवा निजी आर्जनको हुने आफूखुस गर्न पाउने भन्ने एकातर्फ कानूनी व्यवस्था रहेको छ । अर्कोतर्फ अंशबन्डा प्रयोजनको लागि बाबुआमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्ति छोरा, छोरी, बाबुआमाका बिचमा अंशबन्डा गर्दा सगोलको भई पैतृक सम्पत्ति मानिने भन्ने कानूनी व्यवस्था रहेको छ । यी कानूनी व्यवस्थाहरू एकापसमा विरोधाभाषपूर्ण जस्तो देखिए पनि त्यस्तो हुने होइन । यी कानूनी व्यवस्थाहरू आआफ्नो स्थानमा दुरूस्त रहेका छन् । एकापसमा गतिरोध गर्ने विधायिकाको मनसाय पनि होइन । अंशबन्डा प्रयोजनका लागि अर्थात् अंशबन्डा हुँदा वा गर्दाको बेलामा त्यस्तो दाइजो वा पेवाको सम्पत्ति अंशियार बाबुआमाको नाउँमा नै रहेका छन् भने छोराछोहरूले सगोलको सम्पत्तिका रूपमा अंश हक प्राप्‍त गर्ने हुन्छ । त्यस्तो दाइजो वा पेवाको सम्पत्ति निजी आर्जन र आफूखुस गर्न पाउने हकाधिकारको उपभोग गरी अन्य व्यक्तिहरूलाई हस्तान्तरण गरिसकेको अवस्थामा अंशियार बाबुआमाको नाउँमा नै सम्पत्ति नरहने हुँदा अंशबन्डा प्रयोजनको लागि सगोलको सम्पत्ति रहने र पैतृक सम्पत्ति रहने हुँदैन । दाइजो वा पेवाको सम्पत्ति अंशियार बाबुआमाको नाउँमा रहेको छ भने बन्डा प्रयोजनमा छोराछोरीको लागि सगोलको पैतृक सम्पत्ति हुने र बन्डा लाग्ने हुन्छ । निजी आर्जन आफूखुस गर्न पाउने गरी कानूनले प्रदान गरेको हकलाई उपभोग गरी अन्यत्र व्यक्तिलाई हस्तान्तरण गरिसकेको भए बन्डा प्रयोजनको अवस्था नै नरहने हुँदा यही आलोकमा यी दुवै व्यवस्थाहरू व्याख्या गरिँदा नै उक्त दुवै कानूनी व्यवस्थाहरूको कानूनसङ्गत व्याख्या तथा प्रयोगमा द्विविधा हुँदैन । अन्यथा साबिक मुलुकी ऐनको स्त्री अंश धनको महलको अपव्याख्या हुन जाने र हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ नै निष्क्रिय बन्न जाने जोखिम रहन जाने हुन्छ । यस अदालतमा "आफूखुस गर्न पाउने सम्पत्ति" को सम्बन्धमा बृहत् पूर्ण इजलासबाट "...आफ्नो खुस गर्न पाउनेबाहेक अंशियार र हक हुनेहरूको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान बकस गरिदिन हुँदैन भन्ने शब्दावलीले अंशबन्डाको महलको १८ नं.ले बन्डा गर्न कर नलाग्ने र १९ नं.को देहाय २ ले आफ्ना पालामा आर्जित सम्पत्ति आफूखुस गर्न पाउने नै देखिने" (ने.का.प.२०५९, अङ्क ५, नि.नं.७०८७, मिनबहादुर बस्नेत वि. वेदकुमारी बस्नेतसमेत, मुद्दा: बकसपत्र बदर) भनी प्रतिपादित न्यायिक सिद्धान्तसमेत स्मरण गर्नुपर्ने देखिन आउँछ । वस्तुत: आफूखुस गर्न पाउने सम्पत्ति हक हस्तान्तरण गर्दा अंशियारको मन्जुरी लिन नपर्ने भन्ने दृष्टिकोण रहेको छ । 

७. अब प्रस्तुत मुद्दाको तथ्य विषयवस्तुतर्फ विचार गरी पुस्तेवारीतर्फ हेर्दा, खड्कबहादुर र नीरकुमारीको छोरा कमलबहादुर खत्री रहेको भन्ने देखिन्छ । कमलबहादुर खत्री र निजकी पत्नी सानुमैयाँबाट जेठा छोरा रामहरि खत्री र कान्छा छोरा विनोद सिलवाल खत्रीको जन्म भएको देखिन्छ । रामहरि खत्रीको जेठी श्रीमती शान्ती खत्री र कान्छी श्रीमती हजुरी खत्री रहेको भन्ने देखिन्छ । जेठी श्रीमती शान्ती खत्रीको तर्फबाट दुई छोरीहरू सविता र कविताको जायजन्म भएकोमा निजहरूको विवाह भइसकेको भन्ने देखिन्छ । कान्छी श्रीमती हजुरी खत्रीको तर्फबाट छोरीहरू सुजाता र सोजिताको जन्म भएकोमा सुजाताको विवाह भइसकेको र छोरा सोजित खत्रीको जायजन्म भएको भन्ने तथ्य रहेको छ । उक्तबमोजिमको पुस्तेवारीमा कुनै विवाद रहेको देखिँदैन । रामहरि खत्रीकी कान्छी श्रीमती हजुरी खत्री र निजका तर्फबाट जायजन्म भएका छोरी सोजिता र छोरा सोजितसमेतले अंश दिलाइपाउँ भनी सौता तथा सौतेनी आमा शान्ती खत्रीसमेत उपर प्रस्तुत मुद्दा दायर गरेको पाइयो । प्रतिवादी शान्ती कुमारी खत्रीको नाउँमा प्राप्‍त भएको जग्गा जो हाल निजले अन्य व्यक्तिलाई हस्तान्तरण गरिसकेका छन्, सो विवादमा आएको सम्पत्तिको स्रोतसहितको तथ्यको बारेमा विवेचना गर्नुपर्ने देखियो । 

८. प्रत्यर्थी/प्रतिवादी शान्ती खत्रीका पति रामहरि खत्रीले मिति २०३४।०१।०९ मा वादी हजुरी खत्रीसँग दोस्रो विवाह भएपछि घर कलह भएको भन्ने देखिन्छ । विवादको कि.नं.१२४ को जग्गाको मूल स्रोतको रूपमा रहेको काठमाडौं जिल्ला, कोटेश्वर ५/क, कि.नं.३९१ को क्षेत्रफल १-१-१-०, कि.नं.३५७ क्षेत्रफल १-४-०-० र ऐ.९/क को कि.नं.२७० को क्षेत्रफल ०-५-० जग्गा प्रत्यर्थी/प्रतिवादी शान्ती कुमारीका बज्यै सासू निरकुमारी र ससुरा कमलबहादुरले मिति २०३४।०१।२८ मा र.नं.५३७५को हालैदेखिको बकसपत्रको लिखत गरी प्रत्यर्थी/प्रतिवादी शान्ती कुमारी खत्रीलाई हक हस्तान्तरण गरेको देखिन्छ । उक्त लिखतको कैफियत महलमा "शान्ती कुमारीले हामीहरूको परी आएको कामकाज गरेकोले सो रिझबापत हकभोगको उक्त लेखिएको जग्गाहरू हालैदेखि आफूखुसी गर्न पाउने गरी बकसपत्र गरिदिएको" भनी उल्लेख भएको देखिन्छ । 

९. उक्त हालैदेखिको बकसपत्रको लिखतबमोजिम आफ्नो हक जति बदर गरिपाउँ भनी वादी रामहरि, विनोद र सानुमैयाँ (सासू) ले कमलबहादुर खत्री, निर कुमारी र शान्ती कुमारीउपर बकसपत्र बदर गरिपाउँ भनी काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दाउपर बागमती अञ्‍चल अदालतमा पुनरावेदन दर्ता भएको देखिन्छ । सो पुनरावेदनमा रामहरि र विनोदसहित वादी सानुमैयाँ खत्री र प्रतिवादी शान्ती कुमारी खत्रीका बिचमा आधाआधा बन्डा गरी कित्ताकाट गरी लिने र प्रत्यर्थी/प्रतिवादी शान्ती खत्रीको हकमा उक्त जग्गा बकसबमोजिम हुने गरी मिति २०३६।१२।२४ मा मिलापत्र भएको साथै पेस भएको लिखत बदर मुद्दाको प्रमाण मिसिलबाट देखिन्छ । उक्त मिलापत्र हुँदा प्रतिवादीहरू सानुमैयाँ खत्री, रामहरि खत्री, विनोद खत्री, शान्ती कुमारी खत्री र जग्गा दिने निरकुमारी खत्रीसमेत साक्षी रहेको देखिन्छ । वस्तुत: २०३६ सालमा बज्यै सासू र ससुराबाट प्राप्‍त गरेको बकसपत्रको जग्गामध्ये आधा हिस्सा शान्तीको कायम हुने भनी सो बखतका अंशियारहरूले मन्जुरी दिएको देखिन्छ । उक्त मिलापत्रउपर प्रतिवादी रामहरि खत्रीकी कान्छी श्रीमती वादी हजुरी खत्रीले सो मन्जुरीउपर कुनै उजुरबाजुर गरी मिलापत्र बदर गराउन सकेको पनि देखिँदैन ।

१०. प्रतिवादी शान्ती कुमारी खत्रीको आफ्ना पालामा आर्जन गरेको आफूखुस गर्न पाउने कि.नं.१२४ को ००२८२.१९ वर्ग मिटर जग्गा निज प्रतिवादीले मेधनीप्रसाद नेपाललाई मिति २०६५।०१।२९ मा र.नं.६४१२(क) को राजीनामाको लिखत गरी फिराद परेको मिति २०६५।०२।२० भन्दा करिब एक महिनाअघि नै बिक्री गरेको देखिन्छ । यस प्रकार मुलुकी ऐन, अंशबन्डाको महलको १९ नं. को कानूनी व्यवस्था तथा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा आफूखुसी गर्न पाउने जग्गा प्रतिवादी शान्ती कुमारीले मेधनीप्रसाद नेपाललाई राजीनामा पारित गरिदिएको कार्य कानून प्रतिकूल रहेको मान्न मिल्ने देखिँदैन । यस अदालतको बृहत् पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्तबाट नै साबिक मुलुकी ऐन, अबन्डाको महलको १९(२) नं.बमोजिम आफ्नो पालामा आर्जित सम्पत्ति आफूखुसी गर्न पाउने भन्ने सिद्धान्त स्थापित भइसकेको देखिँदा प्रस्तुत मुद्दाको विवादको विषयमा पनि सोही न्यायिक सिद्धान्त आकर्षित हुने नै देखियो । प्रथमत: प्रतिवादी शान्ती खत्रीको आफ्नै पालामा आर्जन गरेको निजी आर्जनको सम्पत्ति निजले स्त्री अंश धनको महलको ५ नं.बमोजिम आफूखुसी गर्न पाउने नै देखियो । सोही हकाधिकारअन्तर्गत निज शान्ती खत्रीले २०६५ सालमा नै विवादित सम्पत्ति जग्गा मेधनीप्रसाद नेपाललाई राजीनामा लिखत गरी हक हस्तान्तरण गरिसकेको पाइयो । अब, सो सम्पत्ति अंशियारको नाउँमा नै रहेको छैन र अंशियारबाहेकका अन्य व्यक्तिको स्वामित्वमा गइसकेको पाइन्छ । अत:, उक्त अंशियारको नाउँमा नै नरहेको सम्पत्तिको हकमा बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्‍त गरेको सम्पत्ति छोराछोरीको लागि बन्डा लाग्ने पैतृक सम्पत्ति रहने भन्ने अवस्था नै रहन जाने भएन । प्रतिवादी शान्ती खत्रीले आफूखुस गर्न पाउने अधिकार कानूनले प्रदान गरेको र त्यस्तो सम्पत्ति निजले बिक्री गर्न कसैको सहमति मन्जुरी लिई रहन नपर्ने भई बिक्रीसमेत गरी अंशियार शान्ती खत्रीको नाउँमा नै रहेको छैन । आमाबाबुले जुनसकै स्रोतबाट प्राप्‍त गरेको सम्पत्ति छोराछोरीको लागि बन्डा प्रयोजनका लागि पैतृक सम्पत्ति हुने स्थितिमा त्यो सम्पत्ति अब रहेन । साथै प्रस्तुत मुद्दाको तथ्यबाट साबिक मुलुकी ऐन, स्त्री अंशधनको महलको व्यवस्था निस्तेज हुने प्रसङ्ग नै सान्दर्भिक रहेको देखिएन । यसर्थ, प्रतिवादी शान्ती कुमारी खत्रीका सौतेनी छोराछोरीहरूका हकमा बिक्री भइसकेको सम्पत्ति पैतृक नै हुनुपर्ने भन्ने पुनरावेदन जिकिर मनासिब देखिएन । 

११. अब, पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन? पुनरावेदक/वादीहरू र पुनरावेदक/प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन? भन्ने सम्बन्धमा विचार गर्दा, प्रत्यर्थी/प्रतिवादी शान्ती खत्रीका बज्यै सासू निरकुमारी र ससुरा कमलबहादुरले काठमाडौं जिल्ला, कोटेश्वर ५/क, कि.नं.३९१ को क्षेत्रफल १-१-१-०, कि.नं.३५७ क्षेत्रफल १-४-०-० र ऐ.९/क को कि.नं.२७० को क्षेत्रफल ०-५-० जग्गा मिति २०३४।०१।२८ मा र.नं.५३७५ को हालैदेखिको बकसपत्रको लिखत गरी प्रतिवादी शान्ती खत्रीलाई हक हस्तान्तरण गरेको लिखतउपर परेको लिखत बदर मुद्दामा बागमती अञ्‍चल अदालतमा मिति २०३६।१२।२४ मा उक्त जग्गाहरू आधा प्रतिवादी शान्ती खत्रीको हकमा निजी हुने र आधा प्रतिवादी सानुमैयाँ खत्रीको हकमा पैतृक हुने गरी मिलापत्र भएको देखिन्छ । सोपश्चात् उक्त जग्गाहरू आधाआधा गरी प्रतिवादी शान्ती खत्रीको हकमा कायम गरी लिएको कोटेश्‍वर गा.वि.स., वडा नं.५/क को कि.नं.५६९ हालको नयाँ नापीबमोजिम कि.नं.१२४ कायम भएको देखिएबाट उक्त कि.नं.१२४ को जग्गा प्रतिवादी शान्त्री खत्रीले आफूखुसी गर्न पाउने देखिन्छ । बागमती अञ्चल अदालतबाट भएको मिलापत्रबमोजिम प्रतिवादी सनुमैयाँको हकमा प्राप्‍त भएको आधा जग्गा निजले आफ्नो सासू र पतिबाट नै प्राप्‍त गरेको देखिएकोले उक्त जग्गा पैतृक नै रहेको भन्ने पनि स्थापित हुन्छ । यस परिप्रेक्ष्यमा प्रतिवादी सानुमैयाँ खत्रीले मिलापत्रबाट प्राप्‍त गरेको जग्गा पितापुर्खाको पालाको सम्पत्तिबाट प्राप्‍त भएको र एकासगोलमा रहेका अंशियारका सन्तानहरूले अंश पाउने प्रकृतिको हुनाले प्रथम वा अघिल्ला पुस्ताका लागि पैतृक हुने उक्त सम्पत्ति दोस्रो वा पछिल्लो पुस्ताका अंशियारको हकमा पनि पैतृक हुने देखिन्छ । सानुमैयाँ खत्रीका छोराहरू रामहरि र विनोदले आमाको नाउँमा रहेको सम्पत्तिबाट अंश पाउने नै हुन्छ । साथै रामहरिका छोराछोरी तथा श्रीमतीहरूले आफ्नो पति पिताको अंश भागबाट अंश पाउने हुन्छ । प्रतिवादी शान्ती खत्रीको निजी आर्जनको आफूखुस गर्न पाउने कि.नं.१२४ को जग्गा निजले अन्य व्यक्तिलाई हक हस्तान्तरण गरिसकेको हुँदा अंशबन्डा प्रयोजनका लागि सो सम्पत्ति बन्डा लाग्ने अवस्था नै देखिएन ।  

१२. अत: माथि विवेचित आधार, कारण, कानून तथा प्रतिपादित सिद्धान्तहरूका आधारमा सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६७।१२।०८ मा भएको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०७०।०२।०२ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीहरू तथा प्रतिवादी रामहरि खत्रीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको विद्युतीय प्रति अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.डा.कुमार चुडाल

न्या.तिलप्रसाद श्रेष्ठ

 

इजलास अधिकृत :- कृष्णशोभा सुवाल

इति संवत् २०७९ साल कार्तिक ३ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु