शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११५०० - कुटपिट अङ्गभङ्ग

भाग: ६७ साल: २०८२ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री कुमार रेग्मी

माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी

माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल

फैसला मिति : २०८१।०९।११

 

मुद्दाः कुटपिट अङ्गभङ्ग

 

०७९-CF-००१०

पुनरावेदक / वादी : नसिमा खातुनको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : सर्लाही जिल्ला, कौडेना गाउँ विकास समिति, वडा नम्बर ७ बस्ने आलिम खाँ पैठानसमेत

 

०७९-CF-००११

पुनरावेदक / प्रतिवादी : सर्लाही जिल्ला, कौडेना गाउँ विकास समिति, वडा नम्बर ७ बस्ने आलिम खाँ पैठानसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : नसिमा खातुनको जाहेरीले नेपाल सरकार

 

अङ्गभङ्गको कसुर यकिन गर्ने सन्दर्भमा केवल चोटलाई सतही रूपमा मात्र नहेरी विशेषतः त्यो चोटले पीडितको जीवन, काम गर्ने क्षमता वा शरीरको संरचनामा दीर्घकालीन असर तथा त्यस चोटको बारेमा चिकित्सकको राय (expert opinion) लाई आधार लिई पीडितको चोटको गम्भीरता, पीडितको अवस्था लगातका समग्र सबुत, प्रमाणको रोहमा प्रस्तुत गरिने न्यायिक दृष्टिकोण (judicial opinion) निर्णायक हुने । 

(प्रकरण नं.१५)

 

वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री सन्तोष शर्मा एवं विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने तथा विद्वान्‌ अधिवक्ता श्री पवन कुमार जायसवाल 

प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा, श्री सतिशकृष्ण खरेल र श्री सतिश कुमार झा 

अवलम्बित नजिर :

ने.का.प.२०१८, अङ्क ४, नि.नं.१३१

ने.का.प.२०४९, अङ्क ४, नि.नं.४५२१

ने.का.प.२०५२, अङ्क ७, नि.नं.६०३२

ने.का.प.२०५५, अङ्क ६, नि.नं.६५५६

ने.का.प.२०५६, अङ्क १०, नि.नं.६८०५

ने.का.प.२०५८, अङ्क ३, ४, नि.नं.६९८४

ने.का.प.२०६४, अङ्क ८, नि.नं.७८७२

ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३७४

ने.का.प.२०६७, अङ्क ६, नि.नं.८३८७

ने.का.प.२०७१, अङ्क २, नि.नं.९१२५

ने.का.प.२०७४, अङ्क १२, नि.नं.९९१३

ने.का.प.२०७७, अङ्क ८, नि.नं.१०५५५

ने.का.प.२०७८, अङ्क ८, नि.नं.१०७१९

सम्बद्ध कानून :

नेपालको संविधान

मुलुकी अपराध संहिता, २०७४

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४

प्रमाण ऐन, २०३१

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९

 

सुरू तहमा फैसला गर्ने : 

माननीय न्यायाधीश श्री अच्युत विष्ट 

सर्लाही जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

मा. न्यायाधीश श्री हरिकुमार पोखरेल

मा. न्यायाधीश श्री राजेन्द्रकुमार पोखरेल

तत्कालीन श्री पुनरावेदन अदालत जनकपुर

यस अदालतको संयुक्त इजलासबाट फैसला गर्नेः-

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

 

फैसला

न्या.कुमार रेग्मी : तत्कालीन पुनरावेदन अदालत जनकपुरबाट मिति २०७१।०१।१४ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतसमक्ष परेको पुनरावेदनउपर सुनुवाइ हुँदा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिचमा रायमा मतक्यै हुन नसकी राय बाझिएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम यस इजलाससमक्ष पेस हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-

तथ्य खण्ड

म निवेदक गाउँको समाजसेवी तथा स्वतन्त्र राजनीतिक व्यक्ति रहेको हुँदा मलाई बिगार्ने उद्देश्यले विपक्षीहरू आलिम खाँसमेतले मिति २०६६।०९।२८ को विहान मलाई अनाहकमा गालीगलौज गरेकोमा जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षा गरिपाउँ भन्‍ने निवेदन दिई साँझ ७:३० बजे घर जाँदै गर्दाको अवस्थामा हामीउपर उजुरी गर्ने भनी अनिसा खातुन, नवि अहमद भन्‍ने अहमद खाँ पैठान, मुस्तफा खाँ पैठान र कलाम खाँ पैठानसमेतले घेरी अलिम खाँले वचन दिई निजसमेत भई मलाई यत्रतत्र कुटपिट गरिरहेको अवस्थामा अनिसा खातुनले इँटाले मेरो दायाँ खुट्टाको घुँडामा हिर्काई मेरो घुँडाको हड्डी भाँचिई फ्य्राक्चर गराई घाइते बनाएकोले घाजाँचसमेत गराई पाउँ भन्‍नेसमेत बेहोराको मुस्ताक खाँ पैठानको निवेदन ।

मेरो श्रीमान्‌ मुस्ताक खाँ पैठानलाई विपक्षीहरू आलिम खाँसमेतले मिति २०६६।०९।२८ को विहान गालीगलौज गरेको र साँझ कुटपिट गर्दा दायाँ घुँडाको हड्डी भाँचिई फ्य्राक्चर भई जोर्नी नै काम नलाग्ने बनाएको हुँदा कुटपिट अङ्गभङ्गमा कारबाही र सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको नसिमा खातुनको जाहेरी दरखास्त ।

मुस्ताक खाँको शरीरमा swelling over rt. knee size ३”x२” भन्‍नेसमेत बेहोराको मिति २०६६।०९।२९ को घाउजाँच केस फाराम ।

सर्लाही जिल्ला, कौडेना गा.वि.स., वडा नं. ७ स्थित सडक घटनास्थल रहेको सोही स्थानमा प्रतिवादीहरूले कुटपिट गरेको र मुस्ताक खाँको घुडाको जोर्नी भाची दिई अङ्गभङ्ग बनाई दिएको भन्‍नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का ।

प्रतिवादी अलिम खाँसमेतले जाहेरवालाको श्रीमान्‌ मुस्ताक खाँलाई कुटपिट गरेका र अनिसा खातुनले इँटाले हानी मुस्ताक खाँको दायाँ खुट्टाको हड्डी भाँची दिई अङ्गभङ्ग बनाएको ठीक हो भन्‍नेसमेत बेहोराको बुझिएका मानिसहरू रामनरेश राय यादवसमेतका व्यक्तिहरूले गरिदिएको एकै मिलानको घटना विवरण कागज ।

blunt trauma swelling over rt. knee भन्‍नेसमेत बेहोराको मुस्ताक खाँको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा गराएको मिति २०६६।१०।२६ को घाउजाँच केस फाराम ।

मिसिल संलग्न नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जको मिति २०६६।११।१० को पत्रसाथ प्राप्त पीडित नामको घाउजाँच केस फारामबाट पीडितको दायाँ खुट्टाको हड्डी भाँचिई अङ्गभङ्ग भएको भन्‍ने देखिएको र अनुसन्धानका क्रममा कागज गर्ने रामनरेश राय यादवसमेतका व्यक्तिहरूले प्रतिवादीहरूले पीडितलाई कुटपिट गरी दायाँ खुट्टाको हड्डीसमेत भाँचिई अङ्गभङ्ग बनाएको हो भनी लेखाएसमेतका मिसिल संलग्न कागजातहरूबाट प्रतिवादीहरूले आफूउपर जिल्ला प्रहरी कार्यालयसमक्ष उजुरी गरेको भन्‍ने विषयमा पूर्वरिसइवी लिई मिति २०६६।०९।२८ साँझ घरतर्फ जाँदै गरेको अवस्थामा प्रतिवादीहरूले घेरा हाली पीडितउपर इँटासमेतले प्रहार गरी पीडितको दायाँ खुट्टा भाँची दिई अङ्गभङ्ग बनाएको पुष्टि हुन आएको हुँदा प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन, कुटपिटको महलको २ नं. बमोजिमको कसुर हुँदा प्रतिवादीहरू आलिम खाँ पैठान, अनिसा खातुन, नवि अहमद भन्‍ने अहमद खाँ पैठान, मुस्तफा खाँ पैठान र कलाम खाँ पैठानउपर ऐजन महलको ६ नं. बमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको मिति २०६६।१२।१५ को अभियोग दाबी ।

घटना वारदातका समयमा म गाउँघरमा नभई माइतीघर भारतको मरपा भन्‍ने गाउँमा थिएँ । मेरो पति गाउँघरमा राजनीति गर्ने व्यक्ति र केही ठेकेदारी कामसमेत गर्ने हुनाले निजको सो कामबाट रिसइवी राखी मेरोसमेत छवि विगार्ने उद्देश्यले ममाथि झुट्टा मुद्दा दायर गरेका हुन् । मैले कसैउपर कुटपिट अङ्गभङ्ग गर्ने काम गरेको छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी अनिसा खातुनले सुरू सर्लाही जिल्ला अदालतमा गरेको बयान । 

वारदात मितिमा म गाउँघरमा नभई उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र, हरिपुरमा थिएँ । म राजनीति र ठेकेदारी कामसमेत गर्ने हुनाले मेरो सो कामबाट रिसइवी राखी मसमेतलाई प्रतिवादी बनाई फसाइएको हो । मैले कुटपिट गरे, गराएको होइन, छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी आलिम खाँ पैठानले सुरू सर्लाही जिल्ला अदालतमा गरेको बयान ।

म घटना वारदातमा भारतको पुपरी भन्‍ने ठाउँमा भएको हुँदा मैले कुटपिट गरेको छैन, दाजु राजनीतिक पार्टीमा भएकोले सोही पार्टीगत रिसइवी राखी अनाहकमा दुःख दिने मनसायले जाहेरवालाले आफ्नो मिलुवा मान्छेसँग मिली झुट्टा आरोप लगाएका हुन् । मैले कसैसँग पनि झैझगडा गरेको र कुटपिट गरे, गराएको छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी मुस्तफा खाँ पैठानले सुरू सर्लाही जिल्ला अदालतमा गरेको बयान ।

घटनाको दिन मलाई सञ्चो नहुँदा घरमै सुतिरहेको थिएँ । दाजु राजनीतिक व्यक्ति हुँदा सो रिसइवी राखी मलाई झुट्टा अभियोग लगाएका हुन् । दाबीको कसुर गरेको छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी कलाम खाँले सुरू जिल्ला अदालतमा गरेको बयान ।

वारदात मितिमा मलाई पेट दुखिरहेको हुँदा औषधी खाई घरमै आराम गरी बसिरहेको थिएँ । हामीसमेतउपर झुट्टा र बनावटी अभियोग लगाएका हुन् । अभियोग दाबीको कसुर गरेको छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी नवि अहमद भन्‍ने अहमद खाँले सुरू जिल्ला अदालतमा गरेको बयान ।

वारदातको दिन म प्रतिवादी आलिम खाँ पैठानको घरमा इँटाको काम गरिरहेको थिएँ । बिहान जाहेरवाला र प्रतिवादीहरूबिचमा झगडा भएको थियो । बेलुकीपख पुनः निजहरूबिचमा झगडा हुँदा प्रतिवादी आलिम खाँ पैठानको आदेशले प्रतिवादी अनिसा खातुनसमेतले इँटा उठाई पीडितको दाहिने खुट्टाको घुँडामा पटक-पटक प्रहार गरी पीडितको ज्यानै मार्ने गरी कुटपिट गरेका हुन् भन्‍नेसमेत बेहोराको जाहेरवालाको साक्षी हडताल पासवानले सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादी आलिम खाँ पैठानको आदेशले अनिसा खातुनले त्यही नजिकैको इँटा उठाई दाहिने खुट्टाको घुँडामा पटक-पटक प्रहार गरी, घुँडाको हड्डी टुक्रा-टुक्रा पारी काम नलाग्ने गरी अङ्गभङ्ग गराएको र निजका भाइहरूसमेत मिली मेरो पति (पीडित) लाई ज्यानै मार्ने गरी हात, मुडकी, इँटासमेतले प्रहार गरी खुट्टा काम नलाग्ने गरी कुटपिट गरेका हुन् । निज प्रतिवादीहरूलाई हदैसम्मको सजाय गरिनुपर्दछ भन्‍नेसमेत बेहोराको जाहेरवाला नसिमा खातुनले सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।

पीडितहरू परिवारसँग झगडा हुँदा आफैमा चोट लागेको भनी मैले सुनेको हुँ । झगडा हुँदा भाग्ने क्रममा लड्दा चोट लागेको थियो । निज गाउँघरमा हिँडडुल गर्ने गरेका छन् । अदालतमा लट्ठीको सहाराले देखाउनको लागि बनावटी गरेका हुन् भन्‍नेसमेत बेहोराको जाहेरवालाको साक्षी राम आनन्दी भन्‍ने आनन्दी रामले गरेको बकपत्र ।

प्रतिवादी आलिम खाँले बचन दिए लगतै प्रतिवादीहरू कलाम खाँ, नवि अहमदसमेत ४ जना भई लछारपछार गरी कुटपिट गर्न थाले । सोही क्रममा प्रतिवादी अनिसा खातुन आई नजिकैको इँटा उठाई मलाई मेरो दाहिने घुँडामा बेस्सरी २।४ पटक हिर्काएपछि म बेहोस भएँ । हाल स्टिल डन्डी लागेकोले मेरो  घुँडा मोडिदैन र डाक्टरको सल्लाहअनुसार अभ्यास गरे पनि आजको दिनसम्म केही सुधार भएको छैन । लाठ्ठी, बैसाखीको सहायताले हिँडिरहेको छु भन्‍नेसमेत बेहोराको पीडित मुस्ताक खाँ पैठानले सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।

घटनास्थल प्रकृति मुचुल्काको बेहोराबारे मलाई थाहा छैन । पीडित र बुबासमेत बिचमा आफ्नै परिवारमै झगडा हुँदा रातिको समयमा भाग्ने क्रममा ढुङ्गामा ठोकिँदा निजको खुट्टामा चोट लागेको मलाई थाहा छ भन्‍नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्काका मानिस रामबाबु रायले सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादीमध्येका आलिम खाँले वचन दिएअनुसार अरू प्रतिवादीहरू सबै मिली कुटपिट गर्दै गर्दा प्रतिवादी अनिसा खातुनले सिङ्गो इँटा उठाई निज पीडितको दाहिने खुट्टामा बेस्सरी धेरै बेरसम्म हिर्काएको कुरा मैले आफ्नै आँखाले देखेको हुँ । प्रतिवादी अनिसा खातुनबाहेक सबै प्रतिवादीको हातमा टर्च थियो । कसले कहाँ-कहाँ हिर्काए भीडभाडमा देखिनँ तर टाउकोमा टर्चले हानी फुटेको मैले देखेको हुँ भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्काका मानिस रामनरेश रायले सुरू सर्लाही जिल्ला अदालतमा गरेको बकपत्र ।

पीडित आफ्नो बचाउका लागि भाग्न, उम्कन लाग्दा सडकमा लगाएको इँटाको सोलिङ्गमा लडी निजको दाहिने खुट्टामा चोटपटक लागेको हो । यी प्रतिवादीहरूसमेतले पीडितउपर कुनै मारपिट गर्ने आदेशसमेत दिएका होइनन् । यो सबै गाउँघरको पार्टीगत कारणले गर्दा र निज आलिम खाँको राजनीतिक छवी बिगार्नको लागि यो झुट्टा जाहेरी दिएको हो । रोडको इँटाको सोलिङ्गमा लडी निजको खुट्टाको घुँडामा चोटपटक लागेको मैले आफ्नो आँखाले देखेको हुँ भन्‍नेसमेत बेहोराको प्रतिवादी आलिम खाँ र अनिसा खातुनको साक्षी युगलकिशोर मिश्रले सुरू सर्लाही जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादी मुस्तफा खाँ आफ्नो साढुको छोरीको बिहेमा भारततिर गएका थिए । अनिसा खातुन मिति २०६६।०९।२७ को दिन नै आफ्नो माइती भारत, मरपुर गएकी थिइन् । प्रतिवादी कलामलाई सञ्‍चो नभई आफ्नो घरमा सुतिरहेका थिए । प्रतिवादीहरूले पीडित मुस्तफाउपर कुनै वारदात नै गरेका छैनन् । अनिसा खातुन गाउँघरमै थिइनन् । मुस्तफा खाँ पनि गाउँघरमा थिएनन् । त्यसैले यी प्रतिवादीहरूद्वारा त्यहाँ कुनै घटना, वारदात नै भएको छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी कलाम खाँ, मुस्तफा खाँ र अनिसा खातुनसमेतका साक्षी नसारूल मियाँले सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।

घटना वारदात भएको भनिएको समयमा प्रतिवादी आलिम खाँ पेट दर्दको उपचार गर्न हरिपुर अस्पतालमा गएका छन् । मसँग हरिपुरमा भेट भई अकस्मात आलिम खाँलाई पेट दुख्‍न थालेपछि निजलाई त्यहीँ हरिपुर अस्पतालमा उपचारको लागि भर्ना गरिएको हो । निजउपर लगाइएको अभियोग झुट्टा हो भन्‍नेसमेत बेहोराको प्रतिवादी आलिम खाँको साक्षी नागेन्द्र रायले सुरू सर्लाही जिल्ला अदालतमा गरेको बकपत्र ।

वारदात भएको भनिएको समय र स्थलमा कुनै पनि किसिमको घटना नै भएको छैन । प्रतिवादी नवि अहमद बिरामी पेट दर्द भई घरमै रहेको हुँदा म निजलाई हेर्न भनी त्यहाँ गएको थिएँ । निज उपरको पोल झुट्टा हो । मुस्तफा खाँको आफ्नै बुबासँग झगडा भई मुस्तफा खाँ भाग्ने क्रममा रोडमा इँटाको सोलिङ्गमा लड्न गई सो घुँडामा चोट लाग्न गएको हो भन्‍नेसमेत बेहोराको प्रतिवादी नवि अहमद खाँको साक्षी सइम खाँले सुरू सर्लाही जिल्ला अदालतमा गरेको बकपत्र ।

वारदात भनिएको समय र मितिमा हाम्रो गाउँमा कुनै कुटपिट अङ्गभङ्गको घटना वारदात भएको थिएन । कासिमका बाबु उनवाज र मुस्तफा खाँकाबिचमा झगडा भएको थियो । मुस्तफा खाँ आफ्नो घरबाट बाटोतर्फ भाग्दै गर्दा निज बाटोमा लड्न पुगी निजलाई चोटपटक लागेको अवस्था हो भन्‍नेसमेत बेहोराको प्रतिवादी कलाम खाँ पैठानका साक्षी जमिन मियाँले सुरू सर्लाही जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरू आलिम खाँ पैठान, अनिसा खातुन, नवि अहमद भन्‍ने अहमद खाँ पैठान, मुस्तफा खाँ पैठान, कलाम खाँ पैठानले अभियोग पत्रमा गरिएको माग दाबीबमोजिम कसुर गरेको ठहर्छ । सो ठहर्नाले पीडितको दुई खुट्टामध्ये एक खुट्टा मात्र अङ्गभङ्ग भएको देखिँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, कुटपिटको महलको ६ नं. बमोजिम चार वर्ष कैद र जनही रू.२,५००।– जरिवाना हुन्छ भन्‍नेसमेत सुरू सर्लाही जिल्ला अदालतबाट मिति २०६८।०८।१३ मा भएको फैसला ।

डाक्टरले निको भई काम लाग्ने भनी राय प्रतिवेदन दिई सो बेहोरालाई समर्थन गरी अदालतमा उपस्थित भई बकपत्रसमेत गरेको अवस्थामा न्यायिक मनको अभावमा भएको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरी इन्साफ प्रदान गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी आलिम खाँ पैठान, अनिसा खातुन, नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानको तत्कालीन पुनरावेदन अदालत जनकपुरमा परेको संयुक्त पुनरावेदन ।

सुरू सर्लाही जिल्ला अदालतको फैसला फरक पर्न सक्ने हुँदा पुनरावेदन सरकारी वकिललाई पेसीको सूचना दिई पेस गर्नु भन्‍नेसमेत तत्कालीन पुनरावेदन अदालत जनकपुरको आदेश ।

प्रतिवादीहरू आलिम खाँ पैठान, अनिसा खातुन, नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानलाई जनही रू.२,५००।- जरिवाना र चार वर्ष कैद हुने ठहर गरेको सुरू सर्लाही जिल्ला अदालतको मिति २०६८।०८।१३ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादीद्वय नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानले अभियोगबाट सफाइ पाउने र प्रतिवादीद्वय आलिम खाँ पैठान र अनिसा खातुनलाई मुलुकी ऐन, कुटपिटको महलको ६ नं. बमोजिम जनही दुई वर्ष कैद र जनही रू.१,२५०।- जरिवाना हुने ठहर्छ भन्‍नेसमेत तत्कालीन पुनरावेदन अदालत जनकपुरबाट मिति २०७१।०१।१४ मा भएको फैसला ।

पीडितले अदालतमा बकपत्र गर्दा आफ्नो नियमित काम गर्न असमर्थ रहेको, अप्रेसन गरेर घुँडामा तारले बाँध्नु परेको र घुँडाको जोर्नीमा stiffness रहेको, वैशाखीको सहाराले हिँड्डुल गर्छु भनी आफ्नो बेहोरा लेखाएका छन् । पीडितको दाहिने घुँडाको हाडजोर्नी भाँचिएको र सोमा तार लगाई राखेको डाक्टरको रिपोर्ट एवं घाजाँच केस फारामहरूबाट देखिन्छ । चोटको तत्कालीन अवस्था भनेको घुँडाले काम गर्न नसक्ने र बेकम्मा भएको अवस्था नै हो । डाक्टरले पनि उक्त चोट उपचार गर्दा काम लाग्न सक्छ भनी सम्भावनाशम्म व्यक्त गरेको अवस्था छ । यस अवस्थामा प्रतिवादी आलिम खाँ पैठान र अनिसा खातुनलाई पीडितको अङ्ग काम लाग्ने भनी कम सजाय गर्ने गरी भएको फैसला मिलेको छैन । प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान, मुस्ताफ खाँ पैठानसमेतले घेरा हाली पीडितलाई कुटपिट गरेको भन्‍ने मिसिल संलग्न कागजबाट पुष्टि भएको छ । यस्तोमा निजहरूलाई सफाइ दिन मिल्ने होइन । पीडितको भाँचिएको अङ्ग काम लाग्ने प्रकृतिको ठहर गरी प्रतिवादीहरू अलिम खाँ पैठान र अनिसा खातुनलाई कम सजाय गर्ने र प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानलाई अभियोगबाट सफाइ दिने गरी भएको हदसम्मको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेको हुँदा बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष परेको पुनरावेदन ।

जाहेरवालाको जाहेरी दरखास्तको बेहोरा र अदालतमा गरेको बकपत्रको बेहोरा एकआपसमा मिल्दैन । ती बेहोराहरू विरोधाभाषपूर्ण छ । म प्रतिवादी आलम खाँ पैठानले पीडित मुस्ताक खाँलाई कुटपिट गर्नका लागि कुनै बचन दिएको छैन । म प्रतिवादी अनिसा खातुनले पीडित मुस्ताक खाँको घुँडा भाँच्ने गरी इँटाले हानेको छैन, होइन । हाम्रो उक्त बेहोरा जाहेरवालाको साक्षीको बकपत्रबाट पुष्टि भएको छ । मलङ्गवा अस्पतालमा पीडितको खुट्टाको एक्सरे गर्दा घुँडा फुटेको वा भाँचिएको अवस्था नदेखी सामान्य सुन्निएको बेहोरा मात्र उल्लेख भएको अवस्था छ । प्राइभेट क्लिनिकको उपचारका आधारमा पछिबाट उक्त अस्पतालको घाउजाँच केस फाराम बनेकोमा विवाद छैन । पछिको घाजाँच फाराममा पनि सामान्य सुन्निएको बेहोरा मात्र उल्लेख भएको अवस्था छ । यसरी, पहिलो घाजाँच फारामलाई र आदेशलाई समेत अनदेखा गर्दै पछिबाट व्यक्तिगत रूपमा प्राइभेट क्लिनिकबाट बनाएका आधार प्रमाणलाई टेकी तयार भएका घाजाँच फारामलाई आधार बनाउन मिल्ने होइन । घाइतेको परीक्षण दुई जना चिकित्सकबाट भएको र निजहरूलाई अदालतसमक्ष परीक्षण गर्दा उनीहरूको भनाईमा एकरूपता छैन । यसरी झुट्टा बेहोराको जाहेरी दरखास्त र फौजदारी न्यायको सिद्धान्तविपरीत रहेको नारायणी उपक्षेत्रीय अस्पतालको घाजाँच केस फारामलाई आधार बनाई भएको फैसला त्रुटिपूर्ण रहेकोले उक्त फैसला उल्टी गरी हामी प्रतिवादीहरूलाई इन्साफ दिलाइपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी आलिम खाँ पैठान र अनिसा खातुनको तर्फबाट यस अदालतसमक्ष परेको संयुक्त पुनरावेदन ।

यसमा दोहोरो पुनरावेदन परेको देखिन आएकोले मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ पुनरावेदन परेको जानकारी परस्पर गराई अन्य प्रत्यर्थीहरू अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानलाई झिकाई आएपछि नियमानुसार गरी पेस गर्नु भन्‍नेसमेत यस अदालतबाट मिति २०७४।०७।०५ मा भएको आदेश ।

नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिको मिति २०६७।०५।३० को पत्रमा पीडित मुस्ताक खाँको दायाँ खुट्टाको जोर्नी फुटेको सम्बन्धमा सो फुटेको जोर्नी काम लाग्ने, नलाग्ने सम्बन्धमा सो अस्पतालका सम्बन्धित दुई जना अर्थोपेडिक सर्जन चिकित्सकहरू रहनुभएको बोर्ड गठन गरी सो बोर्डले राय दिएको भन्‍ने उल्लेख भएको देखिएको हुँदा को-को चिकित्सकको उल्लिखित बोर्ड गठन भएको हो ? निजहरू हाल कार्यरत रहनुभएको छ, छैन ? कार्यरत रहेको भए खुलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १०२ बमोजिम बकपत्र गराउनु, उक्त बोर्डले दिएको सक्कलै राय नारायणी उपक्षेत्रीय अस्पताल विकास समिति, वीरगन्जबाट झिकाउनु भन्‍नेसमेत यस अदालतबाट मिति २०७६।०३।२९ मा भएको आदेश ।

पीडितको right knee को clinical and radiological examination (x-ray plate no. r12, date 067-5-25) गर्दा old fracture (rt) patella uniting अवस्थामा देखिन्छ र साथै अपरेसन गर्ने बेलामा प्रयोग गरिएको k-wire र s-s wire पनि in-sito देखिन्छ । हाल उसको right knee मा stiffness देखिए तापनि उपचार गर्दा सो अङ्ग काम लाग्न सक्छ भन्‍नेसमेत बेहोराको बोर्डले दिएको राय प्रतिवेदनको प्रतिलिपिसहितको नारायणी अस्पताल, वीरगन्जबाट प्राप्त भएको पत्र जवाफ ।

मेरो प्रस्तुत मुद्दाका वादी प्रतिवादीसँग कुनै प्रकारको नाता, सम्बन्ध, चिनजान, रिसइवी छैन । पीडित मुस्ताक खाँको right knee को clinical and radiological examination (x-ray no. r१२ dated ०६७-५-२५) गर्दा old fracture rt. patella uniting अवस्था (पुरानो भाँचिएको पाङ्ग्रा जोडिने क्रममा) मा रहेको थियो । साथै operation गर्ने बेलामा प्रयोग गरिएको k-wire and s-s wire (अपरेसनमा प्रयोग हुने तार) पनि in-site अर्थात् हड्डीभित्र देखिएको थियो । सो समयमा right knee मा stiffness (जाम) देखिए तापनि उपचार गर्दा सो अङ्ग काम लाग्न सक्ने अवस्थामा थियो भन्‍नेसमेत बेहोराको डा. राजदेव प्रसाद कुशवाहले यस अदालतमा गरेको बकपत्र ।

पीडित मुस्ताक खाँको right knee को clinical examination गर्दा old fracture (पुरानो fracture) जोडिने क्रममा रहेको साथै अपरेशन गर्ने बेलामा प्रयोग गरिएको wire हड्डीभित्रै रहेको थियो । सो समयमा उसको right knee (दाहिने घुँडा) मा जाम रहेको थियो । उपचार गर्दा काम लाग्न सक्ने अवस्थामा थियो भन्‍नेसमेत बेहोराको डा. रोशन अलीले यस अदालतमा गरेको बकपत्र ।

प्रस्तुत मुद्दाको दुवै पक्षबाट मिति २०७९।०३।२६ सम्म बहसनोट पेस गर्न लगाई मिति २०७९।०३।३१ मा निर्णय सुनाउनका लागि नियमानुसार पेस गर्नु भन्‍नेसमेत यस अदलतबाट मिति २०७९।०३।१० मा भएको आदेश ।

प्रस्तुत वारदातमा प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्ताफ खाँको संलग्नता खुल्ने गरी निजहरूउपरको अभियोग सप्रमाण पुष्टि हुन सकेको नदेखिँदा निज प्रतिवादीहरूले अभियोग मागदाबीबाट सफाइ पाउने देखिन्छ । प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनको हकमा, कुटपिटको वारदात घटेको देखिए तापनि पीडितको दाहिने खुट्टाको घुँडाको जोर्नीमा रहेको patella (पाङ्ग्रा) फुटेको भन्‍ने तथ्य स्थापित भई उक्त चोटको उपचार गर्दा निको हुने अवस्थामा रहेको भनी सम्बन्धित विषयको विशेषज्ञहरूबाट स्पष्ट भएको र पीडितको दाहिने खुट्टाले गर्ने विशिष्ट कार्य एवं त्यस खुट्टाको उपयोगितालाई प्रयोजनहीन बनाइदिएको भन्‍ने नदेखिएबाट निज प्रतिवादीहरूले अङ्गभङ्गको कसुर गरेका हुन् भन्‍न सकिने देखिँदैन । तसर्थ, प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानलाई आरोपित कसुरबाट सफाइ दिने गरी पुनरावेदन अदालत जनकपुरबाट मिति २०७१।०३।१४ मा भएको फैसला सो हदसम्म सदर हुन्छ । पुनरावेदक प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनलाई मुलुकी ऐन, कुटपिटको महलको ६ नं. बमोजिम जनही रू.१,२५०।-जरिवाना र दुई वर्ष कैद सजाय गर्ने गरी भएको उक्त फैसला मिलेको नदेखिँदा उल्टी भई कुटपिटमा परिणत हुने ठहर्छ भन्‍नेसमेत यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।०३।३१ मा भएको फैसलामा माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीले प्रस्तुत गर्नुभएको राय ।

प्रस्तुत वारदातमा प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्ताफ खाँ पैठानको संलग्नता खुल्ने गरी निजहरूउपरको अभियोग सप्रमाण पुष्टि हुन सकेको नदेखिँदा निज प्रतिवादीहरूले अभियोगबाट सफाइ पाउने देखिन्छ । प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनको हकमा, पीडितको दायाँ खुट्टाको घुँडाको पाँग्रा patella फोरी फुटालेको भन्‍ने प्रमाणित भएकोले निज प्रतिवादीहरूलाई जनही दुई वर्ष कैद सजाय हुने देखिन्छ । यस्तो अङ्गभङ्ग भएको खत निको भएमा कानूनमा जरिवाना हुने भन्‍ने व्यवस्था नभएकोले निज प्रतिवादीहरूलाई जरिवाना गर्न मिल्ने देखिँदैन । तसर्थ, प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र अनिसा खातुनलाई सफाइ दिने तथा प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनलाई जनही दुई वर्ष कैद हुने ठहर गरी पुनरावेदन अदालत जनकपुरबाट मिति २०७१।०३।१४ मा भएको फैसला मिलेकै देखिँदा सो हदसम्म सदर हुन्छ । प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनलाई जरिवानाशमेत गर्ने गरेको हदसम्म उक्त फैसला मिलेको नदेखिँदा केही उल्टी हुने ठहर्छ । प्रस्तुत वारदातलाई कुटपिटमा परिणत हुने ठहर गर्ने माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीको रायसँग सहमत हुन नसकिएकोले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम पूर्ण इजलासमा पेस गर्नु भन्‍नेसमेत यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।०३।३१ मा भएको फैसलामा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तानले प्रस्तुत गर्नुभएको राय ।

ठहर खण्ड

मिति २०८१।०९।०४ मा बहस, सुनुवाइ भई नियमबमोजिम आजको हेर्दाहेर्दै पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुनआएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेरियो ।

वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ सहन्यायाधिवक्ता श्री सन्तोष शर्मा एवं जाहेरवालाको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने तथा विद्वान्‌ अधिवक्ता श्री पवन कुमार जायसवालले, प्रतिवादीहरू सबै वारदातमा प्रत्यक्ष संलग्न छन् । निजहरू सबैको मिलेमतोबाट वारदात भएको हो भन्‍ने मिसिलबाट प्रमाणित भएको छ । पीडितको श्रीमतीले दिएको जाहेरी एवं निजको अदालतसमक्ष गरेको बकपत्रले समेत पीडित मुस्ताक खाँ पैठानलाई सबै प्रतिवादीहरू मिलेर अङ्गभङ्ग हुने गरी कुटपिट गरेका हुन् भन्‍ने प्रमाणित भएको छ । उक्त कुरालाई विशेषज्ञहरूबाट दिएको राय र बकपत्र, मौकामा भएको घाजाँच रिपोर्टहरूसमेतबाट समर्थन भएको अवस्था छ । यसरी, प्रतिवादीहरूले कुटपिट गरी पीडितको खुट्टाको जोर्नी भाँची दिएको हुँदा प्रतिवादीहरूको उल्लिखित कार्य साबिक मुलुकी ऐन, कुटपिटको महलको २ नं. बमोजिम अङ्गभङ्गको कसुर हुने नै हुन्छ । उपचार पश्‍चात् पीडित हाल वैशाखीको सहायताले हिँडडुल सम्म गर्न सक्ने अवस्थामा पुग्दैमा अङ्गभङ्गको कसुर भएको होइन भन्‍न मिल्ने हुँदैन । यस प्रकारको वारदातलाई अङ्गभङ्गको कसुर ठहर गरिने हाम्रो न्यायिक अभ्यास पनि रहे भएकै अवस्था छ । तसर्थ, पीडितउपर भएको अङ्गभङ्गलाई दृष्टिगत गरी सबै प्रतिवादीहरूलाई कसुरदार ठहर गर्नुपर्नेमा केही प्रतिवादीहरूलाई अभियोगबाटै सफाइ प्रदान गर्ने र केही प्रतिवादीहरूलाई माग दाबीभन्दा पनि कम सजाय गर्ने गरी तत्कालीन पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला त्रुटिपूर्ण रहेको तथा अभियोग मागदाबी अनुसार सबै प्रतिवादीहरूलाई सजाय गर्ने गरेको सुरू सर्लाही जिल्ला अदालतको फैसला नै कानूनसम्मत रहेको हुँदा सुरू फैसला सदर गरिपाउँ भनी प्रस्तुत गर्नुभएको बहस सुनियो ।

प्रतिवादीहरूको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा, श्री सतिशकृष्ण खरेल र श्री सतिश कुमार झाले, प्रतिवादीहरू वारदातको समयमा वारदात स्थलमा नभई अन्यत्र  रहेका छन् । पीडितको घाजाँच रिपोर्ट एवं स्वास्थ्य परीक्षण गरी राय दिने विशेषज्ञ डाक्टरहरूले अदालतमा पीडितको घुँडाको पुरानो फ्य्राक्चर जोडिने क्रममा रहेको र उपचार गर्दा काम लाग्ने भनी आफ्नो राय बकपत्रमा समेत उल्लेख गरिदिएका छन् । पीडितलाई लागेको चोट कानूनले परिभाषा गरेबमोजिमको अङ्गभङ्ग भएको अवस्था होइन । खुट्टाको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारिदिएमा साबिक मुलुकी ऐन, कुटपिटको महलको २ नं. बमोजिम अङ्गभङ्ग ठहर्ने हुन्छ । पीडितको घुँडाको जोर्नीमा रहेको patella फुटेको भए तापनि उपचार गर्दा निको हुने भनी विशेषज्ञहरूबाट तत्काल राय पेस भएको छ भने हाल उपचारपश्‍चात् पीडित सामान्य अवस्था जस्तै हिँडडुल गर्न सक्ने अवस्थामा छन् । प्रस्तुत वारदातमा पीडितको घुँडाको जोर्नी भाँची फोरी फुकाली बेकम्मा भएको अवस्था छैन । यस अवस्थामा प्रस्तुत वारदातमा दुवै पक्षका बिचमा कुटाकुट भएकोसम्म देखिए तापनि अङ्गभङ्ग हुने गरी प्रतिवादीहरूले पीडितलाई कुटपिट गरेको भन्‍ने देखिँदैन । घुँडाको patella fracture सम्म भएको अवस्थालाई अङ्गभङ्गको कसुर भएको भन्नु कानूनसम्मत हुँदैन । यसरी, अङ्गभङ्गको कसुर स्थापित हुनै नसक्ने अवस्थामा पनि मेरो पक्षले पीडितउपर अङ्गभङ्गको कसुर गरेको ठहर गर्ने गरी तत्कालीन पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला त्रुटिपूर्ण रहेकोले त्यस्तो त्रुटिपूर्ण फैसला बदर गरी मेरो पक्षलाई अभियोगबाट सफाइ प्रदान गरिपाऊँ । 

साथै, महादेव यादवसमेत विरूद्ध बुदिया देवी सुडीसमेत भएको मुद्दा, कोमी महतो कोइरी विरूद्ध बच्चेलाल महतोसमेत भएको मुद्दा, नेपाल सरकार विरूद्ध सुरेन्द्रकुमार कविरथसमेत भएको मुद्दा, नेपाल सरकार विरूद्ध महाराज यादवसमेत भएको मुद्दा, मधुसुधन सिलवाल (के.सी.) विरूद्ध नेपाल सरकार भएको मुद्दा, नेपाल सरकार विरूद्ध बहादुरसिंह तामाङ भएको मुद्दा, वृजदेव सिंह दनुवार विरूद्ध नेपाल सरकार भएको मुद्दा, अब्बास मिया अन्सारी विरूद्ध नेपाल सरकार भएको मुद्दा, रिजवान रजानूरीसमेत विरूद्ध नेपाल सरकार भएको मुद्दा, नेपाल सरकार विरूद्ध दिनेश रजकसमेत भएको मुद्दा तथा मलिक यादव भन्‍ने शैलेन्द्र यादवसमेत विरूद्ध नेपाल सरकार भएको मुद्दासमेतमा यस अदालतको संयुक्त इजलासबाट कुटपिट तथा अङ्गभङ्गको कसुरको सन्दर्भमा फरक-फरक व्याख्या (ruling) भएको हुँदा एकरूपता हुने गरी प्रस्तुत मुद्दाबाट यस सम्बन्धमा एकरूपता हुने गरी व्याख्यासमेत गरिपाउँ भनी प्रस्तुत गर्नुभएको बहससमेत सुनियो ।

यसमा, प्रतिवादीहरू आलिम खाँ पैठान, अनिसा खातुन, नवि अहमद भन्‍ने अहमद खाँ पैठान, मुस्तफा खाँ पैठान र कलाम खाँ पैठानले मिति २०६६।०९।२८ मा पीडितउपर कुटपिट गरी निजको दायाँ खुट्टा भाँची दिई अङ्गभङ्ग बनाएको हुँदा प्रतिवादीहरूलाई मुलुकी ऐन, कुटपिटको महलको २ नं. को कसुरमा ऐजन महलको ६ नं. बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई ऐजन महलको २ नं. को कसुरमा ऐजन महलको ६ नं. बमोजिम जनही चार वर्ष कैद र जनही रू.२,५००।- जरिवाना हुने ठहर गरी सुरू सर्लाही जिल्ला अदालतबाट फैसला भएको पाइन्छ । उक्त सुरू फैसलाउपर चित्त नबुझाई, सुरू फैसला त्रुटिपूर्ण रहेकोले बदर गरिपाउँ भनी प्रतिवादीहरू आलिम खाँ पैठान, अनिसा खातुन, नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानको तर्फबाट पुनरावेदन परेकोमा उक्त पुनरावेदनउपर सुनुवाइ हुँदा, सुरू फैसला केही उल्टी गरी प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानले आरोपित कसुरबाट सफाइ पाउने तथा प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनलाई ऐजन महलको ६ नं. बमोजिम जनही दुई वर्ष कैद र जनही रू.१,२५०।- जरिवाना हुने ठहर गरी तत्कालीन पुनरावेदन अदालत जनकपुरबाट फैसला भएको पाइन्छ ।

उक्त तत्कालीन पुनरावेदन अदालत जनकपुरको फैसलाउपर चित्त नबुझाई, पीडितले आफ्नो नियमित काम गर्न असमर्थ रहेको; निजको दाहिने घुँडाको जोर्नी भाँचिएको र बेकम्मा भएको; डाक्टरले पनि उक्त चोट उपचार गर्दा काम लाग्न सक्छ भनी सम्भावनासम्म व्यक्त गरेको यस अवस्थामा प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्ताफ खाँ पैठानलाई सफाइ दिने तथा प्रतिवादीहरू अलिम खाँ पैठान र अनिसा खातुनलाई कम सजाय गर्ने गरी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण रहेकोले बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष पुनरावेदन परेको देखिन्छ त्यसैगरी, जाहेरी बेहोरा र बकपत्रको भनाई एकआपसमा नमिली विरोधाभाषपूर्ण रहेको; पीडितलाई कुटपिट गर्न कुनै बचन नदिएको तथा निजको घुँडा भाँच्ने गरी इँटाले नहानेको अवस्थामा पनि हामीलाई कसुरदार ठहर गरेको पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरी हामी प्रतिवादीहरूलाई अभियोगबाट सफाइ प्रदान गरिपाउँ भनी प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनको तर्फबाट यस अदालतसमक्ष संयुक्त पुनरावेदन परेको देखिन्छ । 

उक्त पुनरावेदनहरूउपर सुनुवाइ भई यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।०३।३१ मा रायबाझी फैसला हुँदा, प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको तत्कालीन पुनरावेदन अदालत जनकपुरको फैसला सो हदसम्म सदर हुने तथा प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनको हकमा कुटपिटमा परिणत हुने भन्‍ने माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीको राय तथा प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनलाई जरिवानासमेत गर्ने गरेको हदसम्म उक्त फैसला केही उल्टी भई जनही दुई वर्ष कैद गरेको मिलेकै देखिन्छ भन्‍ने माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तानको राय प्रस्तुत भई रायमा मतैक्य हुन नसकेको स्थितिमा निर्णयार्थ यस इजलाससमक्ष पेस हुनआएको प्रस्तुत प्रस्तुत पुनरावेदनहरूमा निम्नलिखित प्रश्नहरूको न्याय निरूपण गर्नुपर्ने देखिन आयोः-

(क) के-कस्तो वारदातलाई कुटपिट सम्मको अवस्था मानिने हो ? तथा के-कस्तो वारदात अङ्गभङ्गकै कसुर हुने हो?

(ख) प्रस्तुत मुद्दाको वारदात साबिक मुलुकी ऐन, कुटपिटको महलको २ नं. बमोजिम अङ्गभङ्गकै वारदात हो वा अन्य प्रकृतिको वारदात हो?

(ग) व्याख्या (ruling) बाझिएको भनी सुनुवाइको क्रममा उठेका विषयलाई इजलासले न्यायिक संज्ञानमा लिई निरूपण गर्न मिल्ने हो वा होइन ? तथा कुटपिट तथा अङ्गभङ्ग सम्बन्धमा यस अदालतबाट भएका व्याख्या (ruling) फरक-फरक भई बाझिएको अवस्था हो वा होइन?

(घ) तत्कालीन पुनरावेदन अदालत जनकपुरबाट मिति २०७१।०३।१४ मा भएको फैसला मिलेको छ वा छैन ? तथा वादी नेपाल सरकार एवं प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन?

(ङ) यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।०३।३१ मा भएको फैसलामा प्रस्तुत भएका रायमध्ये कुन राय सदर हुने हो वा अन्य हुने हो?

 

२. सर्वप्रथम, के-कस्तो वारदातलाई कुटपिटसम्मको अवस्था मानिने हो ? तथा के-कस्तो वारदात अङ्गभङ्गकै कसुर हुने हो ? भन्‍ने पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा, कुटपिट भन्नाले सामान्यतः एकआपसमा कुटाकुट गर्ने तथा एकअर्कालाई शारीरिक वा मानसिक चोट, पीडा पुर्‍याउने कार्यलाई बुझिने गरिन्छ भने अङ्गभङ्गले गम्भीर प्रकृतिको कुटपिटको अर्थबोध गराउने अर्थात् अङ्गभङ्गले कसैको शारीरिक बनौट नै विकृत बनाइदिने कार्यलाई बुझिने गरिन्छ । कुटपिट भन्नाले परस्परमा कुट्ने र पिट्ने काम; कुटाइ र पिटाइ; कुटामारी वा कुटाइ र पिटाइका कारणबाट उब्जिएको झगडा वा मुद्दालाई जनाउने कुटपिटको शाब्दिक अर्थ रहेको देखिन्छ । अङ्गभङ्गको शाब्दिक अर्थ हेर्दा, शरीरको कुनै अवयवको टुटफुट वा भचाँइ वा कुटपिट आदिद्वारा ठुलै चोटपटक लागि भएको शरीरको कुनै भागको खती जनाउने देखिन्छ । अंग्रेजीमा कुटपिटलाई HURT तथा अङ्गभङ्गलाई GRIEVOUS HURT भनेर सम्बोधन गरिने गरेको पाइन्छ । BLACK’S LAW DICTIONARY मा उक्त GRIEVOUS शब्दको कानूनी अर्थ शोक, पीडा, सहन गर्न गाह्रो, कसुर, हानिलाई जनाउने भनी उल्लेख भएको देखिन्छ । यसरी, शाब्दिक रूपमा हेर्दा कुटपिटसम्मले कुनै मानिसउपर सामान्य चोट, पीडा पुर्‍याउने कार्यलाई जनाउने देखिन्छ भने अङ्गभङ्गले गम्भीर प्रकृतिको कुटपिटलाई जनाउने देखिन्छ ।

३. अब, कुटपिट तथा अङ्गभङ्गसम्बन्धी हाम्रो कानूनी व्यवस्था हेरौं । साबिक मुलुकी ऐन, कुटपिटको महलको १ नं. मा, “कसैले कसैलाई हात हतियार उठाई वा अरू कुनै प्रकारले रगतपिच्छे घा चोट अङ्गभङ्ग पारेमा वा जिउमा अरू पीडा नोक्सान हुने काम गरेमा कुटपिट गरेको ठहर्छ ।” भन्‍ने कानूनी व्यवस्था भएको पाइन्छ । सोही महलको २ नं. ले देहायको अवस्थालाई अङ्गभङ्गको कसुर हुने भन्‍ने व्यवस्था भएको पाइन्छः-

“कुटपिट गर्दा देहायबमोजिम भएमा अङ्गभङ्गको खत ठहर्छ- 

आँखाको हेर्ने शक्तिहीन गरी वा आँखा फोरी अन्धो गरिदिएमा ......१

नाकको सुँघ्ने शक्ति हरण गरिदिएमा .......१

कानको सुन्‍ने शक्ति हरण गरी बहिरो गरिदिएमा ......................१

जिब्रोको बोल्ने शक्ति हरण गरिदिएमा ....१

स्वास्नी मानिसको दुध काटी बेकम्मा गरिदिएमा ........................................१

नल फलको पुरूषत्व शक्तिहीन गरी नपुंसक गरिदिएमा ........................................१

मेरूदण्ड डँडाल्नु, हात, खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारिदिएमा .......................................१ 

 

४. साबिक मुलुकी ऐनलाई विस्थापित गरी मिति २०७५।०५।०१ देखि लागु भएको हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा १९१ ले कुटपिटको सम्बन्धमा यस्तो कानूनी व्यवस्था उल्लेख गरेको पाइन्छः-

“१९१. कुटपिट गर्न नहुनेः (१) कसैले कसैलाई कुटपिट गर्न हुँदैन ।

(२) कसैले कसैलाई देहायको कुनै कार्य गरेमा निजले कुटपिट गरेको मानिने छः- 

(क) कुनै किसिमको शारीरिक पीडा पुर्‍याएमा,

(ख) कुनै काम गरी रोग सारेमा,

(ग) अन्य कुनै कार्य गरी अशक्त बनाएमा ।

स्पष्टीकरणः यस दफाको प्रोजनको लागि “अशक्त” भन्नाले शरीरको कुनै अङ्ग सामान्य रूपमा काम गर्न नसक्ने गरी अशक्त भएको अवस्था सम्झनुपर्छ र सो शब्दले मानसिक अशक्ततालाई समेत जनाउँछ । ...”

 

५. त्यसैगरी, अङ्गभङ्गको सम्बन्धमा ऐजन संहिताको दफा १९२ मा यस प्रकारको कानूनी व्यवस्था रहेको पाइन्छः-

“१९२. अङ्गभङ्ग गर्न नहुनेः (१) कसैले कसैको अङ्गभङ्ग गर्न वा गराउन हुँदैन ।

(२) कसैले कसैलाई जानीजानी कुटपिट गर्दा देहायबमोजिमको परिणाम भएमा अङ्गभङ्गको कसुर गरेको मानिने छः-

(क) आँखाको हेर्ने शक्ति हीन गरी वा आँखा फोरी दृष्टिविहीन बनाइदिएमा,

(ख) नाकको सुँघ्ने शक्ति नाश गरिदिएमा,

(ग) कानको सुन्‍ने शक्ति नाश गरिदिएमा,

(घ) जिब्रोको बोल्ने शक्ति नाश गरिदिएमा,

(ङ) महिलाको स्तन काटिदिएमा,

(च) महिलालाई बाँझोपन वा पुरूषलाई पुरूषत्वहीन बनाएमा,

(छ) मेरूदण्ड, डँडाल्नु, हात खुट्टा वा त्यस्ता अङ्गको जोर्नी भाँची, फोरी, फुकाली बेकम्मा पारिदिएमा,

(ज) कुटपिटको कारणबाट आफ्नो पेसाको काम गर्न नसक्ने गरी असक्षम बनाइदिएमा ।

(३) कुटपिटबाट तत्काल अङ्गभङ्ग नभए तापनि सोही कामको परिणाम स्वरूप पछि उपदफा (२) बमोजिमको परिणाम निस्केमा पनि अङ्गभङ्ग भएको मानिने छ । ...”

 

६. यसरी, साबिक मुलुकी ऐनमा कसैलाई रगतपिच्छे घा चोट अङ्गभङ्ग पारेमा वा जिउमा अरू पीडा नोक्सान हुने काम गरेमा कुटपिट गरेको मानिने कानूनी व्यवस्था भएकोमा हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ ले कसैलाई शारीरिक पीडा पुर्‍याएमा, रोग सारेमा, शरीरको कुनै अङ्ग सामान्य रूपमा काम गर्न नसक्ने गरी अशक्त बनाएमा वा मानसिक अशक्त बनाएमा पनि कुटपिट गरेको मानिने भनी कुटपिट सम्बन्धमा विस्तृत प्रावधान राखेको पाइन्छ । त्यसैगरी, आँखाको हेर्ने शक्ति, नाकको सुँघ्ने शक्ति, कानको सुन्‍ने शक्ति, जिब्रोको बोल्ने शक्ति हीन गरिदिएमा वा महिलाको स्तन काटिदिएमा वा महिलालाई बाँझोपन वा पुरूषलाई पुरूषत्वहीन बनाएमा वा मेरूदण्ड, डँडाल्नु, हात खुट्टा वा त्यस्ता अङ्गको जोर्नी भाँची, फोरी, फुकाली बेकम्मा पारिदिएमा त्यस्तो कुटपिटलाई अङ्गभङ्ग मानिने साबिकको कानूनी व्यवस्था भएकोमा हाल प्रचलित कानूनी व्यवस्थाले साबिकको व्यवस्थामा थप गरी कुटपिटको कारणबाट आफ्नो पेसाको काम गर्न नसक्ने गरी असक्षम बनाइदिएमा तथा कुटपिटबाट तत्काल अङ्गभङ्ग नभए तापनि सोही कामको परिणाम स्वरूप पछि अङ्गभङ्गको परिणाम निस्केमा पनि अङ्गभङ्ग भएको मानिने कानूनी व्यवस्था रहेको पाइन्छ ।

७. अब, कुटपिट तथा अङ्गभङ्ग सम्बन्धमा हाम्रो न्यायिक अभ्यासतर्फ दृष्टिगत गरौं । रगी ‍और विरूद्ध जगी औरसमेत भएको मुद्दामा, प्रतिवादीले वादीलाई कुटेको भन्‍ने दाबी भएकोमा घा खतको कारण पुष्टि हुने प्रमाण वादीले पेस गर्नुपर्ने र वादीको बयान झुट्टा हो भन्‍ने जिकिर प्रतिवादीले जिकिर लिएमा सोको प्रमाणको भार पनि प्रतिवादीमै रहने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । कृष्णमाया लिम्बुसमेत विरूद्ध रत्नमाया लिम्बुनी भएको मुद्दामा, चोट प्रहारको स्थिति अवस्था, चोटको गम्भीरता, घटना स्थलको प्रकृतिसमेतलाई मध्यनजर राखी कुटपिट सम्बन्धमा निर्णयमा पुग्नु पर्ने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । महादेव यादवसमेत विरूद्ध बुदिया देवी सुडीसमेत भएको मुद्दामा, हात खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारी दिएमा मुलुकी ऐन, कुटपिटको महलको २ नं. बमोजिम अङ्गभङ्ग हुने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । कोमी महतो कोइरी विरूद्ध बच्चेलाल महतोसमेत भएको मुद्दामा, इजलासमा अगाडि आफ्नै खुट्टाले हिँडिरहेको भन्‍ने देखिँदा खुट्टा अद्यपि काम नलाग्ने छ भन्‍ने अर्थ गर्न नमिल्ने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । नेपाल सरकार विरूद्ध विपीन महरासमेत भएको मुद्दामा, क्षतिपूर्ति भराउने कार्य सजाय नभई यो कार्य देवानी दायित्वअन्तर्गत पर्ने तथा पीडितले उपचार गर्दा फलफूल र खाना खर्चसमेतमा खर्च गरेको भनी बिल भरपाईसमेत पेस गरेमध्ये औषधि उपचारबापत र कुरूवा खर्चबापत खर्च गरेको प्रमाणित भएको रकम घा खर्चबापत भराई दिनुपर्ने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।

८. नेपाल सरकार विरूद्ध गणेशराम खर्बुजासमेत भएको मुद्दामा, पीडितलाई लागेको घाउ चोटको पीडाको मूल्याङ्कन घाउ चोट लागेकै समयमा देखिएको चोटको प्रकृति र अवस्थाबाट नै गर्नुपर्ने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । नेपाल सरकार विरूद्ध सुरेन्द्रकुमार कविरथसमेत भएको मुद्दामा, कुनै अङ्ग कुटपिटबाट भाँच्चिएको वा फुक्लेकोमा उपचारपश्‍चात् पनि कुनै सुधार नभई त्यो अङ्ग निष्क्रिय भई कुनै काम गर्न नसक्ने भएमा मात्र बेकम्मा भएको मान्‍न सकिने तर उपचारपश्‍चात् पहिलाको जस्तै त्यो अङ्गले काम गर्न सक्षम हुन्छ र काम गरिरहेको छ भने त्यस्तो अवस्थामा बेकम्माको अर्थ गर्न नमिल्ने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । नेपाल सरकार विरूद्ध महाराज यादवसमेत भएको मुद्दामा, परीक्षण प्रतिवेदनबाट पीडितको हातका औंला हाल काम लाग्ने अवस्थामा रहेको हुँदा काम नलाग्ने गरी बेकम्मा पारी प्रतिवादीहरूबाट अङ्गभङ्ग कुटपिटका कार्य भएको भनी मान्‍न नसकिने भनी व्याख्या भएको पाइन्छ । मधुसुधन सिलवाल (के.सी.) विरूद्ध नेपाल सरकार भएको मुद्दामा, पीडित व्यक्तिको दुवै खुट्टा भाँचिएर काम नलाग्ने भन्‍ने तथ्यलाई स्थापित गर्ने वस्तुनिष्ठ प्रमाण मिसिल संलग्न नभएको, घाउ जाँच केस फाराममा plateau fracture भन्‍ने उल्लेख भई घाउँ जाच गर्ने विशेषज्ञले कामै नलाग्ने अवस्थामा नभएको भनी बकपत्र गरी दिएबाट भाचिएको अङ्ग काम लाग्ने अवस्थामा अङ्गभङ्ग भएको भन्‍ने नदेखिने तथा मुलुकी ऐन, कुटपिटको महलको २ नं. बमोजिम भएको खत काम नलाग्ने भएको अवस्थामा मात्र वादी नेपाल सरकार भई मुद्दा चल्ने तथा उक्त खत अङ्गभङ्गको नभई निको भई काम लाग्ने अवस्था भएमा पीडित व्यक्ति स्वयं वादी भई मुद्दा चलाई प्रतिवादीलाई सजायको माग दाबी लिनुपर्ने भनी व्याख्या भएको पाइन्छ ।

९. त्यसैगरी, नेपाल सरकार विरूद्ध बहादुरसिंह तामाङ भएको मुद्दामा, शरीरमा तत्कालै वा लामो समयमावधि सम्म वा जीवनभरी पर्ने शारीरिक, मानसिक पीडालाई समेत अङ्गभङ्गको खतमा विचार गर्नुपर्ने हुन्छ । औषधि उपचारबाट कुटपिटको खत निको हुनसक्ने र निको भएको कारणले अङ्गभङ्गको खत नठहर्ने भन्‍ने होइन । निको भई काम लाग्न सक्ने अवस्था भए पनि अङ्गभङ्गको खत ठहर्न सक्ने देखिन्छ । वस्तुतः कुटपिटबाट व्यक्तिको शरीर अङ्गमा परेको घा चोटबाट तत्काल सो व्यक्तिलाई परेको शारीरिक, मानसिक पीडालाई मध्यनजर राखी कुटपिटको कसुर सम्बन्धमा निष्कर्षमा पुग्नुपर्ने हुन्छ । निको भई काम लाग्ने भयो भन्दैमा अङ्गभङ्गको खत ठहर्दैन भनी व्याख्या गरिनु मुलुकी ऐन, कुटपिटको महलको २ नं. को कानूनी व्यवस्थाले मिल्ने नदेखिने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । वृजदेव सिंह दनुवार विरूद्ध नेपाल सरकार भएको मुद्दामा, कुनै अङ्ग कुटपिटबाट भाँच्चिएको वा फुक्लेकोमा उपचारपश्‍चात् पनि कुनै सुधार नभई त्यो अङ्ग निष्क्रिय भई कुनै काम गर्न नसक्ने भएमा मात्र बेकम्मा भएको मान्‍न सकिने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । अब्बास मिया अन्सारी विरूद्ध नेपाल सरकार भएको मुद्दामा, मुलुकी ऐन, कुटपिटको महलको २ र ६ नं. को व्याख्या गर्दा अविच्छिन्‍न यकिन गर्न सकिने तथ्य र प्रमाणको आधारमा मात्र दोषी ठहर गर्न मिल्ने देखिने । भाँचिएको हातखुट्टा वा अन्य अङ्ग उपचार गरी काम लाग्न सक्ने अवस्थामा आउने भएमा अङ्गभङ्गमा सजाय गर्न नमिल्ने र यस्तोमा मुलुकी ऐन, कुटपिटको महलको ६ नं. बमोजिम सजाय हुने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।

१०. रिजवान रजानूरीसमेत विरूद्ध नेपाल सरकार भएको मुद्दामा, वारदातमा भाच्चिएको (fracture) र उपचारबाट निको भएपछि पनि परीक्षण गरी हेर्दा पूर्ण रूपमा काम लाग्न नसक्ने अवस्थाको कुटपिटको कार्यलाई अङ्गभङ्ग नै भएको मान्‍नुपर्छ । पीडित घाइते यार मोहम्मदको दाहिने हात र अब्‍बास मुसलमानको बायाँ हातले पूर्ववत् रूपमा काम गर्न नसक्ने अवस्थाको रहेको भन्‍ने चिकित्सकको परीक्षण प्रतिवेदनले किटानी गरी राय प्रस्तुत गरेको हुँदा प्रतिवादीहरूको उक्त कार्य कुटपिटको अङ्गभङ्गको कसुरको दायराभित्र नै पर्न आउने देखिने भनी व्याख्या भएको पाइन्छ । नेपाल सरकार विरूद्ध दिनेश रजकसमेत भएको मुद्दामा, भाँचिएको खुट्टा निको भई काम लाग्ने अवस्थाको रहेको तथा बेकम्मा पारिएको अवस्था नरहेकोमा मुलुकी ऐन, कुटपिटको महलको २ नं. मा भएको व्यवस्था अनुसार अङ्गभङ्गको कसुर मान्‍न मिल्ने नदेखिएको भनी व्याख्या भएको पाइन्छ । मलिक यादव भन्‍ने शैलेन्द्र यादवसमेत विरूद्ध नेपाल सरकार भएको मुद्दामा, पीडित जाहेरवालाहरूको हात यी पुनरावेदक प्रतिवादीहरूको कुटाईबाट भाँचिएको देखिएको भए पनि सोको उपचार गरी हाल निको भइसकेको र काम लाग्ने अवस्थामा रहेको भनी बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट प्राप्त पीडितको जाँच प्रतिवेदनबाट देखिएकोले पनि निजहरूको हात हाल निको भई काम लाग्ने भइसकेको देखिँदा उक्त कुटपिटलाई अङ्गभङ्ग प्रकृतिको भनी मान्‍न मिल्ने अवस्था नदेखिएको भनी व्याख्या भएको पाइन्छ ।

११. कुटपिट तथा अङ्गभङ्ग सम्बन्धमा अन्य मुलुकको अभ्यास हेर्दा, छिमेकी मुलुक भारतमा, कुटपिटलाई साबिक The Indian Penal Code ले शरीरमा पीडा, रोग वा दुर्वलता पुर्‍याउने कारण भनी परिभाषित गरेको पाइन्छ भने १st July २०२४ देखि प्रचलनमा रहेको The Bharatiya Nyaya Sanhita, २०२३ ले पनि सोही परिभाषालाई निरन्तरता प्रदान गरेको पाइन्छ । अङ्गभङ्गको सम्बन्धमा साबिक The Indian Penal Code ले निर्बलता बनाई दिने; आँखा, कान, जोर्नी बेकम्मा गरिदिने जस्ता कुटपिटलाई अङ्गभङ्ग मानिने भनी परिभाषित गरेको पाइन्छ भने हाल प्रचलित The Bharatiya Nyaya Sanhita, २०२३ ले पनि सोही परिभाषालाई निरन्तरता प्रदान गरेको पाइन्छ । 

१२. कुटपिट तथा अङ्गभङ्गको कसुर सम्बन्धमा भारतीय न्यायिक अभ्यास के-कस्तो रहेछ भनी हेर्दा, Mathai v. State of Kerala भएको मुद्दामा, आँखाको हेर्ने शक्ति स्थायी नाशको अर्थ आँखाको उपचारै हुन नसक्ने भन्‍ने नहुने अर्थात् permanent loss of eyesight does not mean that it should be incurable, for example, loss of sight occurring due to corneal opacity resulting from injury to the cornea may be curable by corneoplasty भनी व्याख्या भएको देखिन्छ । Niranjan Singh v. State Of Madhya Pradesh भएको मुद्दामा, “जीवन नै खतरामा रहनु” “जीवनलाई खतरा पर्नु” भन्दा गम्भीर अवस्था हुने अर्थात्  the term “endangers life” is more serious than the expression “dangerous to life” भनी व्याख्या भएको देखिन्छ । त्यस्तै Khair Din v. Emperor भएको मुद्दामा, २० दिनसम्म अस्पतालमा रहँदैमा बीस दिनसम्म आफ्नो सामान्य कार्य गर्न नसक्ने अवस्थामा रहेको पुष्टि नहुने अर्थात् remaining in the hospital for 20 days or more cannot be itself equated with the patient remaining unable to follow his ordinary pursuits for twenty days भनी व्याख्या भएको देखिन्छ । Po Yi Maung v. Ma E Tin भएको मुद्दामा हड्डीमा भएको सामान्य crack ले अङ्गभङ्ग नजनाउने भन्दै, जस्तैः खप्परको हड्डीको सम्बन्धमा अङ्गभङ्ग हुनका लागि त्यस्तो crack बाहिरी भागबाट भित्री भागसम्म विस्तारित भएको हुनुपर्ने अर्थात् it is sometimes thought that the meaning of the word fracture would imply that there should be a break in the bone and that in the case of a skull bone it is not merely sufficient that there is a crack but that the crack must extend from the outer surface of the skull to the inner surface भनी व्याख्या भएको देखिन्छ ।

१३. त्यसैगरी, Mutukdhar Singh v. Emperor भएको मुद्दामा, हड्डीको सतहमा scratch नदेखिएको हुँदा अङ्गभङ्ग मान्‍न नमिल्ने भनी व्याख्या भएको पाइन्छ भने पछि Abdul Salam v. State of Maharashtra भएको मुद्दामा, it is not necessary that a bone should be cut through and through or that the crack must extend from the outer to the inner surface or that there should be displacement of any fragment of the bone. If there is a break by cutting or splintering of the bone or there is a rupture or fissure in it, it would amount to a fracture within the meaning of clause ७ (fracture or dislocation of a bone or tooth) of section 320 (grievous hurt) भनी व्याख्या भएको पाइन्छ । State of Punjab v. Gurmail Singh भएको मुद्दामा, समयको अन्तरालमा पछि उक्त खत निको भएको अवस्थामा पनि तत्कालको अवस्था र गम्भीरतालाई हेरेर dislocation of a joint लाई अङ्गभङ्गकै कसुर ठहर गरेको देखिन्छ । चिकित्सकको एक्स-रे र रिपोर्टलाई निर्णायक प्रमाण मानी Kaka Singh v. State of Madhya Pradesh भएको मुद्दामा, हड्डी भाँचिनुलाई अङ्गभङ्ग (grievous hurt) ठहर गरेको देखिन्छ ।

१४. वेलायतमा कुटपिट र अङ्गभङ्गको कसुरका सम्बन्धमा हुबहु यहाँकै जस्तो परिभाषा नपाइए तापनि कुटपिटसँग मिल्दोजुल्दो कसुरलाई Actual Bodily Harm (ABH) तथा अङ्गभङ्गसँग मिल्दोजुल्दो कसुरलाई Grievous Bodily Harm (GBH) भनी कसुरजन्य कार्यअन्तर्गत परिभाषित गरेको देखिन्छ । कसैले पिट्ने कार्य (assault) गरेमा जसबाट कुनै शारीरिक, मानसिक चोट, पीडा पुगेमा ABH हुने र बढीमा पाँच वर्षसम्म कैद सजाय हुने देखिन्छ भने चोट, पीडाको गम्भीरता र दोषी मनसायको आधारमा GBH यकिन हुने देखिन्छ । ABH र GBH लाई विशेष गरी types of weapon used, severity or duration of the attack, planning जस्ता सान्दर्भिक सबुत प्रमाणबाट विभिन्‍नता गरिने देखिन्छ । ABH को सन्दर्भमा, the hurt need not be serious or permanent in nature, but it must be more than trifling भनी R v. Miller भएको मुद्दामा व्याख्या भएको देखिन्छ । Psychiatric injury (more than mere anxiety or fear) may constitute actual bodily harm भनी R v. Chan-Fook भएको मुद्दामा व्याख्या भएको देखिन्छ । GBH को सन्दर्भमा, while ABH covers relatively moderate injuries such as bruising or minor fractures, GBH encompasses “really serious harm” such as permanent disability or broken bones भनी DPP v. Smith भएको मुद्दामा व्याख्या भएको देखिन्छ । R v. Dica भएको मुद्दामा व्यक्तिलाई मानव प्रतिरोधात्मक क्षमता कम गराउने भाइरस (HIV) संक्रमण गराउनु पनि GBH हो भनी व्याख्या भएको देखिन्छ ।

१५. अङ्गभङ्ग हुन कुटपिट स्थापित हुनु पहिलो सर्त रहेको देखिन्छ भने कुटपिटको कारण पीडितको जीवन नै खतरामा परेको (endangers human life) वा पीडितलाई निश्चित समयसम्म अति शारीरिक पीडा दिएको (severe bodily pain) वा पीडित निश्चित समयसम्म जीवनको सामान्य काम गर्न नै नसक्ने भएको (inability to follow normal pursuits) अवस्था पुष्टि भएमा त्यस्तो कुटपिटलाई विधिशास्त्रीय रूपमा अङ्गभङ्ग मान्नुपर्ने देखिन्छ । वस्तुतः अङ्गभङ्ग भन्नाले व्यक्तिको शरीरको कुनै अङ्गको स्थायी नोक्सानी, व्यक्तिले गर्ने प्रमुख कार्यहरूमाथि अपूरणीय क्षति वा जीवन जीउनको लागि कष्टप्रद वा जिन्दगी जोखिममा पार्ने खालको चोटपटकलाई जनाउने देखिन्छ । परिणामतः कुटपिटबाट शरीरका कुनै अङ्ग जस्तैः आँखा, कान, नाग, जोब्रो, जोर्नी आदिले काम गर्नै छोड्ने; ओछ्यानमा बस्नुपर्ने वा त्यस अङ्गले काम गर्नै नसक्ने जस्ता अवस्था उत्पन्‍न भएमा त्यस्तो कुटपिट अङ्गभङ्गको कसुर हुन जाने देखिन्छ । अङ्गभङ्गको कसुर यकिन गर्ने सन्दर्भमा केवल चोटलाई सतही रूपमा मात्र नहेरी विशेषतः त्यो चोटले पीडितको जीवन, काम गर्ने क्षमता वा शरीरको संरचनामा दीर्घकालीन असर तथा त्यस चोटको बारेमा चिकित्सकको राय (expert opinion) अर्थात् Medico-Legal Report (MLR) लाई आधार लिई पीडितको चोटको गम्भीरता, आरोपीको मनोभाव, पीडितको अवस्थालगातका समग्र सबुत, प्रमाणको रोहमा प्रस्तुत गरिने न्यायिक दृष्टिकोण (judicial opinion) निर्णायक हुने देखिन्छ । 

१६. कुटपिट तथा अङ्गभङ्ग सन्दर्भमा उल्लिखित सैद्धान्तिक अवधारण, कानूनी व्यवस्था तथा न्यायिक अभ्याससमेतको आलोकमा हेर्दा, साबिक मुलुकी ऐनबमोजिम कसैले कसैलाई शरीरमा पीडा नोक्सान हुने काम गरेमा त्यस्तो कार्यलाई कुटपिटको कसुर मान्नुपर्ने अर्थात् कसैले कसैको शरीरमा पीडा हुने गरी वा नोक्सान हुने गरी कुनै कार्य गरेको पुष्टि भएमा कुटपिट ठहर्ने देखिन आयो । हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ ले कुटपिटको परिभाषालाई थप विस्तार गरी कसैले कसैलाई कुनै किसिमको शारीरिक पीडा पुर्‍याएको अवस्थाको अलावा कुनै काम गरी रोग सारेको वा शरीरको कुनै अङ्ग सामान्य रूपमा काम गर्न नसक्ने गरी अशक्त बनाएको वा मानसिक अशक्त बनाएको अवस्था पुष्टि भएमा पनि कुटपिट ठहर्ने देखिन आयो । 

१७. अङ्गभङ्गको सम्बन्धमा भने साबिक मुलुकी ऐनले प्रतिवादीको आपराधिक मनको विद्यमानता पुष्टि गर्नुपर्ने दायित्व न्यायिक विवेकउपर खुला रूपमा सुम्पिदिएको देखिन्छ तर प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ को उपदफा (२) ले आपराधिक मनको सन्दर्भमा जानीजानी कुटपिट गरेको पुष्टि हुनुपर्ने भनी प्रस्ट कानूनी व्यवस्था गरेको देखिन्छ । साबिक मुलुकी ऐन तथा हाल प्रचलित अपराध संहिता, २०७४ को रोहमा देहायका कुनै अवस्था पुष्टि भएमा त्यस्तो कुटपिटलाई अङ्गभङ्गको कसुर मान्नुपर्ने देखिन्छः-

(क) आँखाको हेर्ने शक्ति वा नाकको सुँघ्ने शक्ति वा कानको सुन्‍ने शक्ति वा जिब्रोको बोल्ने शक्ति नाश गरिदिएको अवस्थाः साबिक मुलुकी ऐन तथा हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ बमोजिम आँखाको हेर्ने शक्ति वा नाकको सुँघ्ने शक्ति वा कानको सुन्‍ने शक्ति वा जिब्रोको बोल्ने शक्ति नाश गरिदिएको अवस्था पुष्टि भएमा अङ्गभङ्ग ठहर्ने देखिन्छ । आँखा वा नाक वा कानले प्राथमिक कार्य नै गर्न नसक्ने अवस्था आउने गरी भएको कुटपिट वस्तुतः अङ्गभङ्ग ठहर्ने देखिन्छ । विशेषगरी उल्लिखित अङ्गको कार्यशक्ति पुनर्जीवित नहुने गरी अर्थात् पूर्ण रूपमा नाश वा शक्तिहीन गरिदिने कार्य पुष्टि भएमा अङ्गभङ्ग ठहर्ने देखिन आउँछ ।  

(ख) महिलाको स्तन काटिदिएको अवस्थाः साबिक मुलुकी ऐनबमोजिम महिलाको स्तन काटी बेकम्मा गरिदिएको अवस्था पुष्टि भएमा अङ्गभङ्ग ठहर्ने देखिन्छ । साबिक कानूनी व्यवस्थाले कसैले महिलाको स्तन काटिदएको हुनुपर्ने र त्यस्तो कटाईका कारण स्तन बेकम्मा भएको तथ्य स्थापित हुनुपर्ने गरी पूर्वसर्त राखेको पाइन्छ । तर हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ बमोजिम महिलाको स्तन केवल काटिदिएको अवस्थासम्म पुष्टि भएमा पनि अङ्गभङ्ग ठहर्ने देखिन आउँछ ।

(ग) बाँझोपन वा पुरूषत्वहीन बनाइदिएको अवस्थाः साबिक मुलुकी ऐनबमोजिम नल फलको पुरूषत्व शक्तिहीन गरी नपुंसक गरिदिएको अवस्था पुष्टि भएमा अङ्गभङ्ग ठहर्ने देखिन्छ । अर्थात् साबिक ऐनले पुरूषलाई नपुंसक गरिदिने कार्यलाई अङ्गभङ्गको रूपमा परिभाषित गरेको देखिन्छ भने नपुंसक गरिदिने कार्य पनि नल फलको पुरूषत्व शक्तिहीन गरेरे मात्रै गरिएको हुनुपर्ने सर्त उल्लेख गरेको देखिन्छ । तर हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ बमोजिम महिलालाई बाँझोपन वा पुरूषलाई पुरूषत्वहीन बनाइदिएको अवस्था पुष्टि भएमा अङ्गभङ्ग ठहर्ने देखिन आउँछ ।

(घ) शरीरका अङ्ग वा जोर्नी बेकम्मा पारिदिएको अवस्थाः साबिक मुलुकी ऐनबमोजिम मेरूदण्ड डँडाल्नु, हात, खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा परिदिएको अवस्था पुष्टि भएमा अङ्गभङ्ग ठहर्ने देखिन्छ । हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ बमोजिम मेरूदण्ड, डँडाल्नु, हात खुट्टा वा त्यस्ता अङ्गको जोर्नी भाँची, फोरी, फुकाली बेकम्मा पारिदिएको अवस्था पुष्टि भएमा अङ्गभङ्ग ठहर्ने देखिन्छ । साबिक ऐनले मेरूदण्ड डँडाल्नु, हात, झुट्टा वा उल्लिखित अङ्गकै जोर्नीसम्मलाई समावेश गरेकोमा हाल प्रचलित संहिताले त्यस्ता अन्य अङ्ग जस्ता अन्य अङ्गको जोर्नीलाई समेत समावेश गरेको देखिन्छ । बेकम्माको सन्दर्भमा वस्तुतः शरीरका अङ्ग वा जोर्नी कामै नलाग्ने अवस्था पुष्टि भएमा मात्रै अङ्गभङ्ग ठहर्ने देखिन आउँछ ।

(ङ) असक्षम बनाइदिएको अवस्थाः साबिक मुलुकी ऐनले नसमेटेको यसप्रकारको अवस्थालाई हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ ले अङ्गभङ्गको रूपमा परिभाषित गरेको देखिन्छ । कुटपिटको कारणबाट आफ्नो पेसाको काम गर्न नसक्ने गरी असक्षम बनाइदिएको अवस्था पुष्टि भएमा अङ्गभङ्ग ठहर्ने देखिन्छ । विशेषगरी जो व्यक्ति मुख्य रूपमा जुन कार्य गरी आफ्नो जीवनयापन गरिरहेको छ, कुटपिटका कारण प्राथमिक रूपमै सो कार्य गर्न नसक्ने अवस्था पुष्टि भएमा अङ्गभङ्ग ठहर्ने देखिन आउँछ ।  

(च) पछि अङ्गभङ्गको परिणाम निस्केको अवस्थाः साबिक मुलुकी ऐनले नसमेटेको यसप्रकारको अवस्थालाई हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ ले अङ्गभङ्गको रूपमा परिभाषित गरेको देखिन्छ । कुटपिटबाट तत्काल अङ्गभङ्ग नभए तापनि वस्तुतः सोही कुटपिटकै कारण पछि अङ्गभङ्गको परिणाम निस्केको अवस्था पुष्टि भएमा पनि अङ्गभङ्ग ठहर्ने देखिन्छ । समयावधिको अन्तरालको विषयलाई संहिताले प्रस्ट उल्लेखन गरेको अवस्था नहुँदा यो विशेष गरी अनिश्चित तथा अनन्त जोखिम विरूद्धको अधिकार तथा क्रमभङ्गताको सिद्धान्त एवं विलम्बको सिद्धान्तसमेतको रोहबाट न्यायिक विवेकबाट यकिन गरिने विषय रहेको देखिन आउँछ ।

 

१८. अब, प्रस्तुत मुद्दाको वारदात साबिक मुलुकी ऐन, कुटपिटको महलको २ नं. बमोजिम अङ्गभङ्गकै वारदात हो वा वा अन्य प्रकृतिको वारदात हो ? भन्‍ने दोस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा, पति मुस्ताक खाँ पैठानलाई प्रतिवादीहरूले कुटपिट गरी अङ्गभङ्ग बनाएको हुँदा कुटपिट अङ्गभङ्गमा कारबाही गरिपाउँ भन्‍ने नसिमा खातुनको जाहेरी दरखास्त रहेको देखिन्छ । प्रतिवादीहरूले कुटपिट गर्ने क्रममा प्रतिवादी अनिसा खातुनले इँटाले मेरो दाहिने घुँडामा हिर्काएको; हाल स्टिल डन्डी लागेकोले मेरो घुँडा मोडिदैन; लाठ्ठी, बैसाखीको सहायताले हिँडिरहेको छु भनी पीडितले बकपत्र गरिदिएको पाइन्छ । मिति २०६६।०९।२९ मा भएको पीडितको घाउजाँच केस फाराममा, swelling over rt. knee size 3”x2” भनी उल्लेख भएको देखिन्छ । त्यसैगरी, मिति २०६६।१०।२६ मा भएको पीडितको घाउजाँच केस फाराममा, blunt trauma swelling over rt. knee भनी उल्लेख भएको देखिन्छ । यसै सम्बन्धमा चिकित्सकहरूको बोर्डले दिएको राय प्रतिवेदन हेर्दा, पीडितको right knee को clinical and radiological examination (x-ray plate no. r12, date 067-5-25) गर्दा old fracture (rt) patella uniting अवस्थामा देखिन्छ र अपरेशन गर्ने बेलामा प्रयोग गरिएको k-wire र s-s wire पनि in-sito देखिन्छ; हाल उसको right knee मा stiffness देखिए तापनि उपचार गर्दा सो अङ्ग काम लाग्न सक्छ भन्‍ने बेहोरा उल्लेख भएको देखिन्छ । प्रस्तुत मुद्दाकै सम्बन्धमा डा. रोशन अली र डा. राजदेवप्रसाद कुशवाहाले गरिदिएको बकपत्र हेर्दा, पीडितको right knee को examination गर्दा पुरानो fracture जोडिने क्रममा रहेको र उपचार गर्दा काम लाग्न सक्ने अवस्थामा थियो भनी बेहोरा उल्लेख गरिदिएको पाइन्छ ।

१९. घुँडा अर्थात् खुट्टाको जोर्नीको अङ्गभङ्ग सन्दर्भमा, साबिक मुलुकी ऐन, कुटपिटको महलको २ नं. मा, “...खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारिदिएमा” भन्‍ने कानूनी शब्दावली प्रयुक्त भएको पाइन्छ । कुनै अङ्गको शक्तिहीन वा शक्तिनाश गरिदिनु वा बेकम्मा पारिदिनु (privation) भन्नाले जीवन यावनका सन्दर्भमा त्यस्तो अङ्गले गर्ने सामान्य काम गर्नै नसक्ने बनाइदिनुलाई जनाउने देखिन्छ । मेडिकल विधिशास्त्री Reddy KS Narayan and Murty OP ले, the privation of a member of a joint means injuring in any way or depriving a person of the functions of a member or a joint against his or her will.  If, due to an injury, any joint becomes stiff to the extent that the normal function of the joint is not possible, it is a grievous hurt भनी The Essentials of Forensic Medicine & Toxicology नामक पुस्तकमा उल्लेख गरेको पाइन्छ । यसै सम्बन्धमा, साबिक मुलुकी ऐनलाई खारेज गरी हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ ले परिभाषित गरेको अङ्गभङ्गसम्बन्धी कानूनी व्यवस्थालाई यहाँ उल्लेखन गर्नु पनि सान्दर्भिक देखिन्छ । ऐजन संहिताको दफा १९२ को उपदफा (२) को खण्ड (छ) ले पनि कसैले कसैलाई जानीजानी कुटपिट गर्दा मेरूदण्ड, डँडाल्नु, हात खुट्टा वा त्यस्ता अङ्गको जोर्नी भाँची, फोरी, फुकाली बेकम्मा पारिदिएमा समेत अङ्गभङ्गको कसुर गरेको मानिने भनी साबिक मुलुकी ऐनमा प्रयुक्त जोर्नी भाँची, फोरी, फुकाली बेकम्मा पारिदिएमा भन्‍ने कानूनी शब्दावलीलाई निरन्तरता प्रदान गरेको पाइन्छ । उक्त कानूनी शब्दावलीले कसैले कुटपिट गर्दा खुट्टाको जोर्नी भाँची, फोरी, फुकाली कामै नलाग्ने भएको अर्थात् उक्त जोर्नीको उपयोगितालाई नै प्रयोजनहीन बनाएको अवस्थामा अङ्गभङ्गको कसुर जनाउने हुँदा उक्त जोर्नी काम लाग्ने अवस्थामा रहे, भएमा भने त्यसलाई अङ्गभङ्गको कसुर भन्‍न मिल्ने देखिँदैन ।

२०. प्रस्तुत मुद्दामा पीडितको घाजाँच फारामबाट निजको खुट्टाको जोर्नी कामै नलाग्ने अवस्थामा रहेको भनी यकिन गर्न सकिने अवस्था छैन । पीडितको स्वाथ्य परीक्षणबाट पीडितको उक्त चोट लागेको हड्डी आधा मात्र भाँचिएको र हाडजोर्नीको डाक्टरले तार लगाइसकेको हुनाले निको हुन सक्ने भन्‍ने देखिन्छ । त्यसैगरी, पीडितको right knee मा stiffness देखिए तापनि पुरानो fracture जोडिने क्रममा रहेको र उपचार गर्दा काम लाग्न सक्ने भनी चिकित्सकहरूको बोर्डले दिएको राय प्रतिवेदन तथा सोही बेहोरा समर्थन हुने गरी चिकित्सकहरूले बकपत्रसमेत गरिदिएको अवस्था पाइन्छ । साथै, प्रतिवादीहरूले अदालतसमक्ष अभियोगमा इन्कारी रही बयान गरेको पाइन्छ । पीडितलाई लाग्न गएको चोटको परिणाम तत्काल अङ्गभङ्ग भएको छ भनी स्पष्टसँग जाँच प्रतिवेदनबाट खुल्न सकेको देखिँदैन । पीडितको दायाँ खुट्टाको घुँडाको patella fracture भएको भन्‍ने सम्मको तथ्य स्थापित भए पनि उक्त घुँडा बेकम्मा भएको भन्‍ने देखिँदैन । आ-आफ्नो पक्षको समर्थनमा बेहोरा उल्लेख गरिदिएका पक्षका बकपत्रबाट पीडितको घुँडा बेकम्मा नै भएको भनी यकिन गर्न सकिने स्थिति पनि देखिँदैन ।

२१. साबिक मुलुकी ऐन, कुटपिटको महलको ६ नं. ले अङ्गभङ्गको खतमा आठ वर्ष कैद सजायसम्म हुने तथा सो खत निको भई काम लाग्ने भएमा भने दुई वर्ष मात्र कैद सजाय हुने कानूनी व्यवस्था गरेको पाइन्छ । यस कानूनी व्यवस्थाले पनि ऐजन महलको २ नं. बमोजिम अङ्गभङ्गको कसुर स्थापित हुन प्रतिवादीले कुटपिट गरेका कारण पीडितको शरीरको कुनै अङ्गमा चोट पुगी उक्त अङ्ग तत्काल बेकम्मा अर्थात् कामै नलाग्ने अवस्थामा रहेको पुष्टि हुनुपर्ने कुरालाई इङ्गित गरिरहेको देखिन्छ । यसै सम्बन्धमा, उपचारपश्‍चात् पनि कुनै अङ्ग कुटपिटबाट काम गर्न नसक्ने भएमा मात्र बेकम्मा भएको मान्‍न सकिने भनी नेपाल सरकार विरूद्ध सुरेन्द्रकुमार कविरथसमेत भएको कुटपिट अङ्गभङ्ग मुद्दा तथा वृजदेव सिंह दनुवार विरूद्ध नेपाल सरकार भएको कुटपिट अङ्गभङ्ग मुद्दासमेतमा कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूको कुटपिटका कारण तत्काल पीडित मुस्ताक खाँको घुँडा कामै नलाग्ने गरी बेकम्मा भएको भन्‍ने मिसिलबाट खुल्नै सकेको देखिँदैन । बरू, निज पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनहरू, चिकित्सकहरूको भनाइसमेतबाट निजको घुँडाको खत निको हुने क्रममा रहेको भन्‍ने देखिन आएको हुँदा प्रस्तुत मुद्दाको वारदात साबिक मुलुकी ऐन, कुटपिटको महलको २ नं. बमोजिम अङ्गभङ्गकै वारदात हो भन्‍न मिल्ने देखिन आएन ।

२२. अब, उक्त वारदात के-कस्तो प्रकृतिको हो त भनी हेर्दा, साबिक मुलुकी ऐन, कुटपिटको महलको १ नं. ले कसैलाई रगतपिच्छे घा चोट अङ्गभङ्ग पारेमा वा जीउमा पीडा नोक्सान हुने काम गरेमा कुटपिट गरेको ठहर्ने भन्‍ने कानूनी व्यवस्था रहेको थियो । हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा १९१ को उपदफा (२) ले पनि कसैले कसैलाई कुनै किसिमको शारीरिक पीडा पुर्‍याएमा, कुनै कार्य गरी अशक्त बनाएमा समेत कुटपिट गरेको मानिने उल्लेख गरेको पाइन्छ । सोही उपदफा (२) को स्पष्टीकरण खण्डले अशक्त भन्नाले शरीरको कुनै अङ्ग सामान्य रूपमा काम गर्न नसक्ने गरी अशक्त भएको अवस्था सम्झनुपर्छ र सो शब्दले मानसिक अशक्ततालाई समेत जनाउँने भनी प्रस्टता गरेको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाले कसैले कसैलाई कुनै पनि कारणले घा चोट पारेमा वा शारीरिक रूपमा पीडा, नोक्सान हुने कुनै पनि काम गरेमा उक्त कार्य कुटपिटअन्तर्गत समावेश हुने भनी कानूनी रूपमै परिभाषित गरेको पाइन्छ ।

२३. पीडित मुस्ताक खाँको घाजाँच प्रतिवेदनहरू, निजको स्वास्थ्य परीक्षण रिपोर्टहरू, विशेषज्ञहरूले दिएको प्रतिवेदन, चिकित्सकहरूले गरिदिएको बकपत्र, साक्षीका बकपत्रलगायतका सबुद प्रमाणबाट निज पीडितको दायाँ खुट्टाको घुँडाको patella fracture भएको भन्‍ने सम्मको तथ्य स्थापित भएकै छ । प्रतिवादीहरूले अदालतमा उपस्थित भई बयान गर्दा आफूहरू वारदातको समयमा अन्यत्र रही वारदातमा संलग्न नभएको भनी बेहोरा लेखाइदिएको पाइए तापनि प्रतिवादी आलिम खाँ पैठानले कुटपिट गर्न वचन दिएबमोजिम प्रतिवादीहरूले कुटपिट गरेको र सोही क्रममा प्रतिवादीमध्ये अनिसा खातुनले आफ्नो पतिको दाहिने खुट्टाको घुँडामा पटक-पटक इँटा प्रहार गरेकी हुन् भनी पीडितको पत्‍नीले प्रतिवादीहरूउपर किटानी जाहेरी दिएको देखिन्छ । निज जाहेरवालाले अदालतमा उपस्थित भई जाहेरी बेहोरा समर्थन हुने गरी बकपत्रसमेत गरिदिएको पाइन्छ । पीडित स्वंयले घाजाँच गराइपाउँ भनी जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको निवेदनमा प्रतिवादीहरूको नाम किटानी गर्दै आलिम खाँ पैठानले वचन दिएको र अनिसा खातुनले हातमा लिएको इँटाले मेरो दाहिने खुट्टाको घुँडामा प्रहार गर्दा मेरो सो खुट्टाको घुँडाको हड्डी भाँचिई फ्य्राक्चर भएको हो भनी उल्लेख गरेको देखिन्छ । प्रस्तुत वारदातमा पीडितउपर कुटपिट नभएको भए निजले उजुरी गर्नुपर्ने, उजुरी समर्थित बकपत्र गर्न अदालतसमक्ष आउनुपर्ने तथा स्वास्थ्य परीक्षणबाट निजको घुँडामा चोट देखिनुपर्ने अवस्था नै हुने थिएन । यस अवस्थामा प्रस्तुत कुटपिटको वारदात अङ्गभङ्ग प्रकृतिको हो भन्‍ने नदेखिए तापनि साबिक मुलुकी ऐन, कुटपिटको महलको १ नं. बमोजिम कुटपिट प्रकृतिको देखिन आउँछ ।

२४. तसर्थ, कुटपिट र अङ्गभङ्ग कुटपिटका सम्बन्धमा रहेको साबिक मुलुकी ऐन, कुटपिटको महलको २ र ६ नं. को कानूनी व्यवस्था तथा हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा १९१ र १९२ ले अङ्गीकार गरेको कानूनी व्यवस्था एवं यस अदालतबाट भएका व्याख्यासमेतको रोहबाट प्रस्तुत वारदातको प्रकृतिलाई हेर्दा अङ्गभङ्ग कुटपिटको अवस्थाको विद्यमानता रहेको देखिँदैन । पीडितको अङ्गभङ्ग भयो भनिएको खुट्टाको घुँडाको भागमा चोट लागी फुटेकोसम्म स्थिति रहेको भन्‍ने सुरू घाजाँच केस फारामबाट नै देखिएको र विशेषज्ञहरूको बकपत्रसमेतबाट पीडितको चोट लागेको अङ्ग भाँची, फोरी, फुकाली बेकम्मा पारेको अवस्था रहेको भन्‍ने उल्लेख नभएको स्थितिलाई हेर्दा कुटपिट अङ्गभङ्गको कसुर स्थापित हुने देखिएन ।

२५. तेस्रो अर्थात् व्याख्या (ruling) बाझिएको भनी सुनुवाइको क्रममा उठेका विषयलाई इजलासले न्यायिक संज्ञानमा लिई निरूपण गर्न मिल्ने हो वा होइन ? तथा कुटपिट तथा अङ्गभङ्ग सम्बन्धमा यस अदालतबाट भएका व्याख्या (ruling) फरक-फरक भई बाझिएको अवस्था हो वा होइन ? भन्‍ने प्रश्नका सम्बन्धमा सर्वप्रथम व्याख्या (ruling) बाझिएको भनी सुनुवाइको क्रममा उठेका विषयलाई इजलासले न्यायिक संज्ञानमा लिई निरूपण गर्न मिल्ने हो वा होइन ? भन्‍ने प्रश्नका सन्दर्भमा विचार गरौं । वस्तुतः अदालतले आफूलाई विवादको विषयभन्दा पृथक र तटस्थ राखी सम्बन्धित पक्षले पेस गरेका दाबी र जिकिरमा सीमित रही न्याय सम्पादनको कार्य गर्दछ । अदालत स्वयंले पक्षको स्थान ग्रहण गरी दाबी वा जिकिरबाहिर गई निर्णय निरूपण पनि गर्दैन । दाबी र जिकिरभन्दा बाहिर गई निर्णय गर्न उत्प्रेरित गर्ने कुराले न्यायिक प्रक्रियाको पवित्रता र स्वच्छता गुम्न सक्ने खतरा पैदा हुने हुँदा अदालतले सदैब सो विषयमा आफूलाई चनाखो र संयमित राख्‍ने गर्दछ । त्यसैले न्यायको याचना गरी अदालत प्रवेश गर्ने पक्षले आफूलाई अन्याय परेको बेहोरा खुलाई अपेक्षा गरेको उपचार दाबी स्पष्ट खुलाई निवेदन गर्नुपर्ने हुन्छ । तथापि, दाबी प्रस्तुत गर्ने आ-आफ्नो शैली र तौरतरिका हुने भएकोले पेस गर्ने सबैले एउटै भाषा र शैलीमा प्रस्तुत हुनुपर्छ भन्‍न पनि मिल्दैन । कसैको प्रस्तुति तुलनात्मक रूपमा लामो हुन्छ भने कतिपय अवस्थामा सटिक, संक्षिप्त वा कहिलेकाहीँ सांकेतिक रूपमा समेत दाबी प्रस्तुत गरिएको हुन सक्दछ । दाबीको आधारभूत विषयवस्तु सम्प्रेषित भएको छ भने त्यस दाबीलाई अस्पष्ट वा अपूरो भएको अर्थ गर्न मिल्दैन । साथै, पक्षको दाबीमा आधारित भएर निजका कानून व्यवसायीले थप विस्तृतीकरण गरी व्याख्या वा विश्लेषणमार्फत इजलासलाई सहयोग गर्ने हुँदा पक्षको दाबीको विपरीत नभएसम्म कानून व्यवसायीको बहस जिकिरलाई समेत दाबीकै अभिन्‍न अङ्गको रूपमा लिने गरिन्छ ।

२६. नेपालको संविधानको धारा १२८ को उपधारा (२) ले सर्वोच्च अदालतलाई अभिलेख अदालतको रूपमा स्थापित गरेको छ । साथै, सोही धारा १२८ को उपधारा (४) ले, “मुद्दा मामिलाको रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको सिद्धान्त सबैले पालन गर्नुपर्ने छ” भन्‍ने संवैधानिक प्रावधान उल्लेख गर्दै संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार पनि सर्वोच्च अदालतलाई प्रदान गरेको अवस्था छ । सर्वोच्च अदालतले मुद्दा मामिलाको रोहमा गरेको संविधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्त नजिर बन्‍ने र त्यस्ता नजिर सर्वोच्च अदालत, मातहतका अदालत वा न्यायिक निकायले मात्र नभई सबैले पालना गर्नुपर्छ भन्‍ने नै संविधानको प्रबन्ध हो । सबैले पालना गर्नुपर्छ भन्नुको अर्थ सर्वोच्च अदालतले चाहिँ आफूले प्रतिपादित गरेको सिद्धान्त मान्नु पर्दैन भन्‍ने होइन । त्यसैले नजिर सिद्धान्त प्रतिपादन गर्ने यस अदालत स्वयं पनि त्यस्तो संविधान वा कानूनको व्याख्या वा प्रतिपादित कानूनी सिद्धान्तको प्राधिकारबाट बाँधिन पुग्दछ । न्यायको निश्चितता तथा अन्तिमताको लागि पनि व्याख्या वा प्रतिपादित कानूनी सिद्धान्तको पालना गर्ने विषय अपरिहार्य देखिन आउँछ।

२७. सामान्यतः पूर्वव्याख्यासँग असहमत हुने वा फरक मत व्यक्त गर्ने अधिकार इजलास वा न्यायाधीशमा रहने भए पनि त्यसको लागि विधिसम्मत र स्थापित पद्दति अवलम्बन गरिनुपर्दछ । अन्यथा एउटै तथ्यगत र कानूनी प्रश्‍न समावेश भएका विवादहरूमा एउटै इजलास वा समस्तरको भिन्‍न-भिन्‍न इजलासबाट फरक-फरक व्याख्या र निर्णय हुन पुगी न्यायिक अराजकताको स्थिति सिर्जना हुन पुग्दछ । कुनै कानूनको व्याख्या गरेर वा कानूनी सिद्धान्तको प्रतिपादन गरेर त्यसको आधारमा मुद्दाको निर्णय भएको छ भने त्यो व्याख्या वा सिद्धान्त त्यस्तै प्रकृतिका अन्य मुद्दाहरूको लागि नजिर हुने भनी प्रदीपकुमार अग्रवाल विरूद्ध कर कार्यालय, मोरङसमेत भएको रिट निवेदनमा कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । नजिरको सिद्धान्त सबैबाट परिपालना गरिनुपर्ने भनी मानबहादुर सुनार विरूद्ध कर कार्यालय, महेन्द्रनगरसमेत भएको रिट निवेदनमा कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । नजिरकै सन्दर्भमा यसको बाध्यात्मक परिपालना हुनुपर्ने भनी पीयूषबहादुर अमात्य विरूद्ध नेपाल राष्ट्र बैंकसमेत भएको रिट निवेदनमा समेत कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।

२८. प्रमाण ऐन, २०३१ को दफा ५(१)(ख) अनुसार नेपालको संविधान र नेपाल कानून अदालतले स्वयं जानकारी लिनुपर्ने विषय हुन् । यस अदालतबाट भएका व्याख्या कानूनसरह हुने हुँदा व्याख्या बाझिए वा नबाझिएको विषय यस अदालतले स्वतः जानकारी (suo motto) लिन र निर्णय एकरूपताको लागि नियमबमोजिमको न्यायिक प्रक्रिया अवलम्बन गर्न सक्ने नै देखिन्छ । यसका अतिरिक्त प्रस्तुत पुनरावेदनमा नेपालको संविधान, प्रचलित कानून तथा प्रतिपादित नजिर सिद्धान्तको प्रतिकूल फैसला भएको भन्‍ने दाबी लिएको अवस्था देखिन्छ । कानून व्यवसायीहरूले बहसको क्रममा संविधानको प्रावधान, प्रचलित कानून एवं नजिरको सिद्धान्तसमेतको विहङ्गम चर्चा र व्याख्या गर्दै उल्लेख गर्नुभएका दृष्टान्तहरूलाई यस अदालतले अनदेखा गर्न मिल्ने पनि हुँदैन । संविधान, प्रचलित कानून तथा प्रतिपादित नजिर सिद्धान्तको प्रतिकूल फैसला रहेको भन्‍ने पुनरावेदकको दाबी भई उक्त दाबीलाई थप व्याख्या, विवेचना एवं पुष्टि गर्न कानून व्यवसायीहरूले बहसको क्रममा उल्लेख गर्नुभएका नजिर सिद्धान्तहरूको विवेचना गरी संयुक्त इजलासबाट भएका व्याख्या बाझिएको वा नबाझिएको विषयमा यस इजलासले हेर्न कुनै बाधा रहेको देखिन आएन ।

२९. अब, कुटपिट तथा अङ्गभङ्ग सम्बन्धमा यस अदालतबाट भएका व्याख्या (ruling) फरक-फरक भई बाझिएको अवस्था हो वा होइन ? भन्‍ने प्रश्‍नका सम्बन्धमा विचार गर्दा, विशेषतः महादेव यादवसमेत विरूद्ध बुदिया देवी सुडीसमेत भएको मुद्दा, कोमी महतो कोइरी विरूद्ध बच्चेलाल महतोसमेत भएको मुद्दा, नेपाल सरकार विरूद्ध सुरेन्द्र कुमार कविरथसमेत भएको मुद्दा, नेपाल सरकार विरूद्ध महाराज यादवसमेत भएको मुद्दा, मधुसुधन सिलवाल (के.सी.) विरूद्ध नेपाल सरकार भएको मुद्दा, नेपाल सरकार विरूद्ध बहादुरसिंह तामाङ भएको मुद्दा, वृजदेव सिंह दनुवार विरूद्ध नेपाल सरकार भएको मुद्दा, अब्बास मिया अन्सारी विरूद्ध नेपाल सरकार भएको मुद्दा, रिजवान रजानूरीसमेत विरूद्ध नेपाल सरकार भएको मुद्दा, नेपाल सरकार विरूद्ध दिनेश रजकसमेत भएको मुद्दा तथा मलिक यादव भन्‍ने शैलेन्द्र यादवसमेत विरूद्ध नेपाल सरकार भएको मुद्दामा यस अदालतको संयुक्त इजलासबाट कुटपिट तथा अङ्गभङ्गको कसुरको सन्दर्भमा फरक-फरक व्याख्या (ruling) भएको भनी विद्वान्‌ कानून व्यवसायीहरूबाट प्रसङ्ग उठाउनु भएको अवस्था छ । 

३०. वस्तुतः एकै प्रकृतिको तथ्य र कानूनी प्रश्न समावेश भएको मुद्दाहरूको निर्णयमा एकरूपता कायम हुनु न्याय प्रणालीको महत्त्वपूर्ण विशेषता हो । सर्वोच्च अदालतले प्रतिपादन गरेको कानूनी सिद्धान्त सबैले पालना गर्नुपर्ने संवैधानिक व्यवस्थाको सन्दर्भमा न्याय प्रणालीको प्रभावकारिता र विश्वसनीयताका लागि पनि निर्णयाधारमा एकरूपता अपरिहार्य मानिन्छ । हाम्रो न्यायिक अभ्यास पनि यसै मान्यता र सिद्धान्तबाट निर्देशित रहेको पाइन्छ । एकै किसिमको कानूनी प्रश्न समावेश भएको अलग-अलग मुद्दाहरूमा एकरूपता कायम हुनुपर्ने भनी उल्लिखित प्रदीपकुमार अग्रवाल विरूद्ध कर कार्यालय, मोरङसमेत भएको रिट निवेदन, मानबहादुर सुनार विरूद्ध कर कार्यालय, महेन्द्रनगरसमेत भएको रिट निवेदन, पीयूषबहादुर अमात्य विरूद्ध नेपाल राष्ट्र बैंकसमेत भएको रिट निवेदनलगायतका कैयौ मुद्दामा यस अदालतले निरन्तर आफ्नो दृष्टिकोण पनि राख्दै आएको पाइन्छ । तथापि, मुद्दाका केही तथ्यगत विवरण मात्र समान हुँदैमा वा मुद्दाका कुनै सन्दर्भ मिल्न जाँदैमा मात्र एकै प्रकृतिको मुद्दा भनी मान्‍न मिल्ने हुँदैन । वस्तुतः मुद्दामा निर्णय हुनुपर्ने तथ्यगत प्रश्न (fact in issue) र कानूनी प्रश्न (issue of law) मा समानता भएको अवस्थामा मात्र उही व्याख्या (ruling) अर्थात् एउटै निर्णयाधार (ratio decidendi) कायम हुने हो । मुद्दाको तथ्य र निरूपण हुनुपर्ने कानूनी प्रश्नसमेत फरक भई तदनुरूप फरक निर्णयाधार (ratio decidendi) कायम भएको अवस्थालाई भने व्याख्या (ruling) बाझिएको भन्नु नजिरको सिद्धान्तअनुकूल हुँदैन ।

३१. यस अदालतको संयुक्त इजलासबाट फैसला भएका कुटपिट तथा अङ्गभङ्गसम्बन्धी उल्लिखित मुद्दाका तथ्यगत प्रश्न र कानूनी प्रश्न एवं व्याख्या (ruling) हेर्दा, महादेव यादवसमेत विरूद्ध बुदिया देवी सुडीसमेत भएको मुद्दामा, प्रतिवादीले कुटपिट गरेकोले निजहरूलाई साबिक मुलुकी ऐन, कुटपिटको महलको ६ नं. बमोजिमसमेत सजाय गरिपाउँ भन्‍ने फिराददाबी भएकोमा उक्त मुद्दामा एक्सरे रिपोर्ट र डाक्टरको राय अनुसार अङ्गभङ्गको खत भए गरेको पनि नदेखिएको र वादीहरूको घाउखत र हात भाँचिएको समेत निको भैसकी हाल काम नलाग्नेसमेत देखिएको नहुँदा कुटपिटको महलको ७ नं. बमोजिम वचन दिने प्रतिवादी इलियास मियाँलाई रू.२,०००।– जरिवाना र ६ महिना कैद हुने ठहर भएको पाइन्छ । उक्त मुद्दामा, कुटपिटको २ नं. को व्यवस्था हेर्दा हात खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारी दिएमा अङ्गभङ्ग हुने देखिन्छ । हात भाँचिएको भनेको उपर्युक्त व्यक्तिहरूको र केवल देविया देवी सुडिनको हकमा मात्र पहिले जस्ता काम नलाग्ने भन्‍ने लेखिएको सम्मको कारणले कुटपिटको महलको २ नं. को उक्त शब्दावलीभित्रको भाँची फोरी फुकाली बेकम्मा पारी दिएको भन्‍ने अर्थ गर्न मिल्ने देखिएन । वारदातको वर्णित अवस्थालाई विचार गर्दा प्रस्तुत मुद्दामा एक्सरे रिपोर्ट र डाक्टरको रायअनुसार अङ्गभङ्गको खत भए गरेको पनि नदेखिएको र वादीहरूको घाउखत र हात भाँचिएको समेत निको भइसकी हाल काम नलाग्नेसमेत देखिएको नहुँदा कुटपिटको महलको ७ नं. बमोजिम बचन दिने प्रतिवादी इलियास मियाँलाई रू.२,०००।– जरिवाना र ६ महिना कैद हुने भनी कानूनको व्याख्यासहित निर्णय भएको पाइन्छ ।

३२. कोमी महतो कोइरी विरूद्ध बच्चेलाल महतोसमेत भएको मुद्दामा, प्रतिवादीले कुटपिट गरेकोले निजहरूलाई साबिक मुलुकी ऐन, कुटपिटको महलको ६ नं. बमोजिमसमेत सजाय गरिपाउँ भन्‍ने वादीदाबी भएकोमा उक्त मुद्दामा, सिराहा अस्पतालको मिति २०४५।०३।२८ को रायमा खुट्टा हाल काम नलाग्ने भन्‍ने शब्द उल्लेख भएकोबाट सधैंभरी काम नलाग्ने भन्‍ने नभई पछि काम लाग्ने पनि हुन सक्ने देखिएको र यी पुनरावेदक वादी पुनरावेदन अदालतमा इजलासमा अगाडि आफ्नै खुट्टाले हिडिरहेको भन्‍ने देखिँदा यी वादी बच्चेलाल महतोको खुट्टा अद्यपि काम नलाग्ने छ भन्‍ने अर्थ गर्न नमिल्ने हुँदा कोमी महतो कोइरीको हकमा कुटपिटको ६ नं. अनुसार कैद वर्ष ४ गर्ने गरी सुरूले गरेको फैसलालाई कैद वर्ष २ (दुई) कायम गर्ने गरी सो हदसम्म केही उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिँदा सदर हुने ठहर भएको पाइन्छ । उक्त मुद्दामा, सिराहा अस्पतालको मिति २०४५।०३।२८ को रायमा खुट्टा हाल काम नलाग्ने भन्‍ने शब्द उल्लेख भएकोबाट सधैंभरि काम नलाग्ने भन्‍ने नभई पछि काम लाग्ने पनि हुन सक्ने देखिएको र यी पुनरावेदक वादी पुनरावेदन अदालतमा इजलासमा अगाडि आफ्नै खुट्टाले हिँडिरहेको भन्‍ने देखिँदा यी वादी बच्चेलाल महतोको खुट्टा अद्यपि काम नलाग्ने छ भन्‍ने अर्थ गर्न नमिल्ने हुँदा कोमी महतो कोइरीको हकमा कुटपिटको ६ नं. अनुसार कैद वर्ष ४ गर्ने गरी सुरूले गरेको फैसलालाई कैद वर्ष २ (दुई) कायम गर्ने गरी सो हदसम्म केही उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिँदा सदर हुने भनी कानूनको व्याख्यासहित निर्णय भएको पाइन्छ । 

३३. नेपाल सरकार विरूद्ध सुरेन्द्र कुमार कविरथसमेत भएको मुद्दामा, प्रतिवादीहरू सुरेन्द्र कुमार कविरथसमेतले कुटपिट गरी पीडितको हात भाँची अङ्गभङ्ग गरिदिएकोले निजहरूलाई साबिक मुलुकी ऐन, कुटपिटको महलको १, २ र ६ नं. को कसुरमा सोही महलको ६ नं. बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोगदाबी भएकोमा उक्त मुद्दामा कुटपिटको वारदात भएको तथ्य देखिए तापनि वारदातको प्रकृति र त्यसबाट पीडितहरूलाई पर्न गएको चोटको मात्रा, भाँच्चिएको हातको हालको अवस्थाको राय प्रतिवेदनसमेतबाट प्रस्तुत वारदात अङ्गभङ्ग कुटपिटको अन्तर्गतको वारदात नदेखिएबाट सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत हुने ठहर भएको पाइन्छ । उक्त मुद्दामा, वारदातका समयमा परेको चोटको असरले गर्दा त्यो अङ्गले तत्कालीन अवस्थामा पहिलाको जस्तो काम गर्न नसक्नु एउटा पाटो हो भने उपचारपश्‍चात् त्यो अङ्गले पहिलाको जस्तै काम गर्न सक्नु अर्को पाटो हो । कुनै अङ्ग कुटपिटबाट भाँच्चिएको वा फुक्लेकोमा उपचारपश्‍चात् पनि कुनै सुधार नभई त्यो अङ्ग निष्क्रिय भई कुनै काम गर्न नसक्ने भएमा मात्र बेकम्मा भएको मान्‍न सकिन्छ । तर उपचारपश्‍चात् पहिलाको जस्तै त्यो अङ्गले काम गर्न सक्षम हुन्छ र काम गरिरहेको छ भने त्यस्तो अवस्थामा बेकम्माको अर्थ गर्न नमिल्ने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।

३४. त्यसैगरी, नेपाल सरकार विरूद्ध महाराज यादवसमेत भएको मुद्दामा, प्रतिवादी महाराज यादवसमेतले कुटपिट गरी जयनारायण राउतको दायाँ हातको औंला भाँची अङ्गभङ्गसमेत पारी दिएकोले निजहरूलाई साबिक मुलुकी ऐन, कुटपिटको महलको २ र ६ नं. को कसुरमा सोही महलको ६ नं. अनुसार सजाय गरिपाउँ भन्‍ने अभियोगदाबी भएकोमा उक्त मुद्दामा कुटपिटको वारदात भएको तथ्य देखिए तापनि पीडितको स्वास्थ्य परीक्षणमा बाँया हातका औंला हाल काम लाग्ने अवस्थामा रहेको हुँदा काम नलाग्ने गरी बेकम्मा पारी प्रतिवादीहरूबाट अङ्गभङ्ग कुटपिटको कार्य भएको भनी मान्‍न नसकिने तथा वारदातको प्रकृति र त्यसबाट पीडितलाई पर्न गएको चोटको मात्रा, भाँच्चिएको हातका औंलाहरू हालको अवस्थाको राय प्रतिवेदनसमेतबाट प्रस्तुत वारदात अङ्गभङ्ग कुटपिटको अन्तर्गतको वारदात नदेखिएबाट प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाई साबिक सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत हुने ठहर भएको पाइन्छ । उक्त मुद्दामा मूलतः परीक्षण प्रतिवेदनबाट पीडितको हातका औंला हाल काम लाग्ने अवस्थामा रहेको हुँदा काम नलाग्ने गरी बेकम्मा पारी प्रतिवादीहरूबाट अङ्गभङ्ग कुटपिटका कार्य भएको भनी मान्‍न नसकिने भनी व्याख्या भएको पाइन्छ।

३५. मधुसुधन सिलवाल (के.सी.) विरूद्ध नेपाल सरकार भएको मुद्दामा, प्रतिवादी मधुसुधन सिलवाल (के.सी.) ले कुटपिट गरी अच्युत सिंहको दुवै खुट्टा भाँची अङ्गभङ्ग गरी दिएकोले निजलाई साबिक मुलुकी ऐन, कुटपिटको महलको २ र ५ नं. को कसुरमा सोही महलको ६ नं. अनुसार सजाय गरिपाउँ भन्‍ने अभियोगदाबी भएकोमा नेपाल सरकार विरूद्ध सुरेन्द्र कुमार कविरथसमेत भएको मुद्दामा प्रतिपादित कानूनी सिद्धान्तसमेतलाई आधार लिई उक्त मुद्दामा कुटपिटको वारदात भएको तथ्य देखिए तापनि पीडितको भाँचिएको अङ्ग काम लाग्ने भइसकेको देखिँदा साबिक मुलुकी ऐन, कुटपिटको महलको २ नं. बमोजिम अङ्गभङ्गको कसुर कायम हुन नसक्ने भएकोले उक्त मुद्दा साबिक सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत हुने ठहर भएको पाइन्छ । उक्त मुद्दामा मूलतः पीडित व्यक्तिको दुवै खुट्टा भाँचिएर काम नलाग्ने भन्‍ने तथ्यलाई स्थापित गर्ने वस्तुनिष्ठ प्रमाण मिसिल संलग्न नभएको, घाउ जाँच केस फाराममा plateau fracture भन्‍ने उल्लेख भई घाउँ जाच गर्ने विशेषज्ञले कामै नलाग्ने अवस्थामा नभएको भनी बकपत्र गरी दिएबाट भाचिएको अङ्ग काम लाग्ने अवस्थामा अङ्गभङ्ग भएको भन्‍ने नदेखिने तथा साबिक मुलुकी ऐन, कुटपिटको महलको २ नं. बमोजिम भएको खत काम नलाग्ने भएको अवस्थामा मात्र वादी नेपाल सरकार भई मुद्दा चल्ने तथा उक्त खत अङ्गभङ्गको नभई निको भई काम लाग्ने अवस्था भएमा पीडित व्यक्ति स्वयं वादी भई मुद्दा चलाई प्रतिवादीलाई सजायको माग दाबी लिनुपर्ने भनी व्याख्या भएको पाइन्छ ।

३६. नेपाल सरकार विरूद्ध बहादुरसिंह तामाङ भएको मुद्दामा, प्रतिवादीहरू बहादुरसिंह तामाङसमेतले कुटपिट गरी पीडित घाइते लालमान लामाको बायाँ हातको नाडी काटी हाड छिनाली दिएकोले निजहरूलाई साबिक मुलुकी ऐन, कुटपिटको महलको १, र २ नं. को कसुरमा सोही महलको ६ नं. बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोगदाबी भएकोमा प्रतिवादी इन्द्रबहादुर तामाङले पीडितलाई तरबारले बायाँ हातमा काटी नाडीको हड्डी पूरै भाँची अङ्गभङ्ग हुने गरी कुटपिट गरी सोही महलको २ नं. को कसुर गरेको देखएकोमा उक्त भाँचिएको हड्डी निको भई काम लाग्ने अवस्थामा रहेको भनी चिकित्सकको जाँच प्रतिवेदनबाट देखिन आएकोले निज प्रतिवादी इन्द्रबहादुर तामाङलाई सोही महलको ६ नं. बमोजिम २ वर्ष कैदको सजाय हुने ठहर भएको पाइन्छ । उक्त मुद्दामा, कुटपिटबाट परेको घा चोटको सम्बन्धमा शरीरमा तत्कालै वा लामो समयमावधि सम्म वा जीवनभरी पर्ने शारीरिक, मानसिक पीडालाई समेत अङ्गभङ्गको खतमा विचार गर्नुपर्ने हुन्छ । औषधि उपचारबाट कुटपिटको खत निको हुनसक्ने र निको भएको कारणले अङ्गभङ्गको खत नठहर्ने भन्‍ने होइन । निको भई काम लाग्न सक्ने अवस्था भए पनि अङ्गभङ्गको खत ठहर्न सक्ने देखिन्छ । वस्तुतः कुटपिटबाट व्यक्तिको शरीर अङ्गमा परेको घा चोटबाट तत्काल सो व्यक्तिलाई परेको शारीरिक, मानसिक पीडालाई मध्यनजर राखी कुटपिटको कसुर सम्बन्धमा निष्कर्षमा पुग्नुपर्ने हुन्छ । निको भई काम लाग्ने भयो भन्दैमा अङ्गभङ्गको खत ठहर्दैन भनी व्याख्या गरिनु मुलुकी ऐन, कुटपिटको महलको २ नं. को कानूनी व्यवस्थाले मिल्ने नदेखिने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ।

३७. वृजदेव सिंह दनुवार विरूद्ध नेपाल सरकार भएको मुद्दामा, प्रतिवादीहरूलाई साबिक मुलुकी ऐन, कुटपिटको महलको १ र २ नं. को कसुरमा सोही महलको ६ नं. बमोजिम सजाय गरिपाउँ भन्‍ने अभियोगदाबी भएकोमा पीडितको बायाँ आँखाको मुनितिरको गालाको भागमा चोट लागेको देखिए तापनि प्रतिवादी वृजदेव सिंह दनुवारले प्रहार गरेको भनेको इँटाको चोटबाट पीडितको बायाँ आँखाको हेर्ने शक्तिहीन भई दृष्टिविहीन भएको भन्‍ने स्थापित नहुँदा अभियोग दाबी नपुगी उक्त मुद्दा कुटपिटमा परिणत हुने ठहर भएको पाइन्छ । उक्त मुद्दामा, वारदातका समयमा परेको चोटको असरले गर्दा अङ्गले तत्कालीन अवस्थामा पहिलाको जस्तो काम गर्न नसक्नु एउटा पाटो हो भने उपचारपश्‍चात् त्यो अङ्गले काम गर्न सक्नु अर्को पाटो हो । कुनै अङ्ग कुटपिटबाट भाँच्चिएको वा फुक्लेकोमा उपचारपश्‍चात् पनि कुनै सुधार नभई त्यो अङ्ग निष्क्रिय भई कुनै काम गर्न नसक्ने भएमा मात्र बेकम्मा भएको मान्‍न सकिने । कुटपिटको २ नं. मा उल्लिखित आँखाको हेर्ने शक्तिहीन गरी वा आँखा फोरी दृष्टिविहीन बनाइदिएमा भन्‍ने भाषाबाट कुनै पनि तरहबाट दृष्टिविहीन बनाइदिएमा अङ्गभङ्ग ठहर्ने व्यवस्था गरेको छ । तर उपचारपश्‍चात् त्यो अङ्गले काम गर्न सक्षम हुन्छ र काम गरिरहेको छ भने त्यस्तो अवस्थामा दृष्टिविहीन भएको भनी अर्थ गर्न नमिल्ने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ।

३८. अब्बास मिया अन्सारी विरूद्ध नेपाल सरकार भएको मुद्दामा, प्रतिवादी अब्बास मिया अन्सारीलाई कुटपिट गरी पीडित जाहेरवाला मर्तुजा मियाको हात र खुट्टा भाँची अङ्गभङ्ग गरेकोमा साबिक मुलुकी ऐन, कुटपिटको महलको ६ नं. अनुसार सजाय गरिपाउँ भन्‍ने अभियोगदाबी भएकोमा नेपाल सरकार विरूद्ध सुरेन्द्र कुमार कविरथसमेत भएको मुद्दामा प्रतिपादित कानूनी सिद्धान्तसमेतलाई आधार लिई उक्त मुद्दामा जाहेरवालाको चोट लागेको बायाँ हात उपचारपछि कुनै काम गर्न नसक्ने बेकम्मा भएको नभई पुन: काम गर्न सक्ने अवस्थामा रहे भएको देखिँदा प्रतिवादीलाई मुलुकी ऐन, कुटपिटको महलको २ नं. को कसुरमा सोही महलको ६ नं. बमोजिम रू.२,५००।- जरिवाना र २ वर्ष कैद सजाय हुने ठहर भएको पाइन्छ । उक्त मुद्दामा, उक्त मुद्दामा, मुलुकी ऐन, कुटपिटको महलको २ र ६ नं. को व्याख्या गर्दा अविच्छिन्‍न यकिन गर्न सकिने तथ्य र प्रमाणको आधारमा मात्र दोषी ठहर गर्न मिल्ने देखिने । भाँचिएको हातखुट्टा वा अन्य अङ्ग उपचार गरी काम लाग्न सक्ने अवस्थामा आउने भएमा अङ्गभङ्गमा सजाय गर्न नमिल्ने र यस्तोमा मुलुकी ऐन, कुटपिटको महलको ६ नं. बमोजिम सजाय हुने भनी कानूनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।

३९. रिजवान रजानूरीसमेत विरूद्ध नेपाल सरकार भएको मुद्दामा, प्रतिवादी रिजवान रजानूरीसमेतले सामूहिक रूपमा कुटपिट गरी पीडितहरू अब्बास मुसलमान र यार महम्मद मुसलमानसमेतको अङ्गभङ्ग गरेकोले निजहरूलाई साबिक मुलुकी ऐन, कुटपिटको महलको २ र ६ नं. को कसुरमा सोही महलको ६ नं. अनुसार सजाय गरी सोही महलको १८ नं. बमोजिम थप सजाय गरिपाउँ भन्‍ने अभियोगदाबी भएकोमा स्वास्थ्य परीक्षणबाट पीडित यार महम्मद मुसलमानको दाहिने हातको कुहिना भाच्चिएको र नजोडिएको तथा उक्त हातले पूर्ण रूपमा काम गर्न नसक्ने भन्‍ने र पीडित अब्बास मुसलमानको बायाँ हातको fracture भएको lt. ulna को distal (fracture) जोडिई सकेको भए तापनि lt. ulna को proximal (fracture) site भने नजोडिएको हुनाले निजले पूर्ण रूपमा काम गर्न सक्ने अवस्था नरहेको भन्‍ने उल्लेख भएको स्थितिलाई समग्रमा मूल्याङ्कन गर्दा उपचारबाट पनि पीडितको हात पूर्व अवस्थामा नै काम लाग्न र कार्य गर्न सक्ने अवस्थाको नदेखिएसमेतबाट पीडितहरू अब्बास मुसलमान र यार महम्मद मुसलमानलाई अङ्गभङ्ग हुने गरी प्रतिवादीहरू रिजवान रजानुरीसमेतले कुटपिट अङ्गभङ्ग गरेको ठहर भएको पाइन्छ । उक्त मुद्दामा मूलतः वारदातमा भाच्चिएको (fracture) र उपचारबाट निको भएपछि पनि परीक्षण गरी हेर्दा पूर्ण रूपमा काम लाग्न नसक्ने अवस्थाको कुटपिटको कार्यलाई अङ्गभङ्ग नै भएको मान्‍नुपर्छ । पीडित घाइते यार मोहम्मदको दाहिने हात र अब्‍बास मुसलमानको बायाँ हातले पूर्ववत् रूपमा काम गर्न नसक्ने अवस्थाको रहेको भन्‍ने चिकित्सकको परीक्षण प्रतिवेदनले किटानी गरी राय प्रस्तुत गरेको हुँदा प्रतिवादीहरूको उक्त कार्य कुटपिटको अङ्गभङ्गको कसुरको दायराभित्र नै पर्न आउने देखिने भनी व्याख्या भएको पाइन्छ ।

४०. नेपाल सरकार विरूद्ध दिनेश रजकसमेत भएको मुद्दामा, प्रतिवादी दिनेश रजकसमेतले कुटपिट गरी पीडितको अङ्गभङ्ग गरी दिएकोले निजहरूलाई साबिक मुलुकी ऐन, कुटपिटको महलको १ र २ नं. को कसुरमा सोही महलको ६ नं. अनुसार सजाय गरिपाउँ भन्‍ने अभियोगदाबी भएकोमा महादेव यादवसमेत विरूद्ध बुदिया देवी सुडीसमेत भएको मुद्दा तथा नेपाल सरकार विरूद्ध सुरेन्द्र कुमार कविरथसमेत भएको मुद्दामा प्रतिपादित कानूनी सिद्धान्तसमेतलाई आधार लिई उक्त मुद्दामा कुटपिटको वारदात भएको तथ्य देखिए तापनि पीडितको भाँचिएको खुट्टा हाल काम लाग्ने अवस्थाको रहेको तथा बेकम्मा पारिएको अवस्था नरहेकोमा साबिक मुलुकी ऐन, कुटपिटको महलको २ नं. मा भएको व्यवस्थाअनुसार अङ्गभङ्गको कसुर मान्‍न मिल्ने नदेखिएकोले उक्त मुद्दा साबिक सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम कुटपिटमा परिणत हुने ठहर भएको पाइन्छ । उक्त मुद्दामा मूलतः भाँचिएको खुट्टा निको भई काम लाग्ने अवस्थाको रहेको तथा बेकम्मा पारिएको अवस्था नरहेकोमा मुलुकी ऐन, कुटपिटको महलको २ नं. मा भएको व्यवस्थाअनुसार अङ्गभङ्गको कसुर मान्‍न मिल्ने नदेखिएको भनी व्याख्या भएको पाइन्छ ।

४१. मलिक यादव भन्‍ने शैलेन्द्र यादवसमेत विरूद्ध नेपाल सरकार भएको मुद्दामा, प्रतिवादी मलिक यादव भन्‍ने शैलेन्द्र यादवसमेतले कुटपिट गरी पीडितहरू हात भाँची अङ्गभङ्ग गरी दिएकोले निजहरूलाई साबिक मुलुकी ऐन, कुटपिटको महलको २ र ६ नं. को कसुरमा सोही महलको ६ नं. अनुसार सजाय गरी सोही महलको १८ नं. बमोजिम थप सजाय गरिपाउँ भन्‍ने अभियोगदाबी भएकोमा नेपाल सरकार विरूद्ध सुरेन्द्र कुमार कविरथसमेत भएको मुद्दामा प्रतिपादित कानूनी सिद्धान्तसमेतलाई आधार लिई उक्त मुद्दामा कुटपिटको वारदात भएको तथ्य देखिए तापनि पीडितको हात पुनरावेदक प्रतिवादीहरूको कुटाईबाट भाँचिएको भए पनि सोको उपचार गरी हाल निको भइसकेको र काम लाग्ने अवस्थामा रहेको भन्‍ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिएको हुँदा साबिक मुलुकी ऐन, कुटपिटको महलको २ नं. मा भएको व्यवस्थाअनुसार अङ्गभङ्गको कसुर मान्‍न मिल्ने नदेखिएकोले उक्त मुद्दा साबिक सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ तथा हाल प्रचलित मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४२ बमोजिम सरकारवादी फौजदारी मुद्दाबाट दुनियाँवादी फौजदारी कुटपिट मुद्दामा परिणत हुने ठहर भएको पाइन्छ । उक्त मुद्दामा, पीडित जाहेरवालाहरूको हात यी पुनरावेदक प्रतिवादीहरूको कुटाईबाट भाँचिएको देखिएको भए पनि सोको उपचार गरी हाल निको भइसकेको र काम लाग्ने अवस्थामा रहेको भनी बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट प्राप्त पीडितको जाँच प्रतिवेदनबाट देखिएकोले पनि निजहरूको हात हाल निको भई काम लाग्ने भइसकेको देखिँदा उक्त कुटपिटलाई अङ्गभङ्ग प्रकृतिको भनी मान्‍न मिल्ने अवस्था नदेखिएको भनी व्याख्या भएको पाइन्छ ।

४२. उल्लिखित मुद्दाहरूमा मूलतः साबिक मुलुकी ऐन, कुटपिटको महलमा रहेका कानूनी प्रावधानको व्याख्याको सन्दर्भमा, आँखाको हेर्ने शक्ति, नाकको सुँघ्ने शक्ति, कानको सुन्‍ने शक्ति, जिब्रोको बोल्ने शक्ति हीन गरिदिएमा वा महिलाको स्तन काटिदिएमा वा महिलालाई बाँझोपन वा पुरूषलाई पुरूषत्वहीन बनाएमा वा मेरूदण्ड, डँडाल्नु, हात खुट्टा वा त्यस्ता अङ्गको जोर्नी भाँची, फोरी, फुकाली बेकम्मा पारिदिएको अवस्थामा त्यस्तो कुटपिटलाई अङ्गभङ्ग मानिने र त्यस अवस्था बाहेकको कुटपिटलाई अङ्गभङ्ग प्रकृतिको भनी मान्‍न नमिल्ने भनी व्याख्या भएको पाइन्छ । कुटपिट तथा अङ्गभङ्ग सम्बन्धमा यस अदालतबाट प्रतिपादित उल्लिखित नजिर सिद्धान्तहरूमा यस इजलासले बिमत्ति राख्नुपर्ने कुनै कारण देखिँदैन । उल्लिखित मुद्दाहरूको तथ्यगत विवरण एवं तथा सन्निहीत विवादको तथ्य र निरूपण हुनुपर्ने कानूनी प्रश्न नै फरक-फरक रहेको समेत अवस्था देखिन्छ । तसर्थ, मुद्दाको तथ्य र निरूपण हुनुपर्ने कानूनी प्रश्नसमेत फरक भई तदनुरूप फरक निर्णयाधार (ratio decidendi) कायम भएकोलाई व्याख्या (ruling) फरक-फरक भई बाझिएको अवस्था रहेको भन्‍न मिल्नेसमेत देखिँदैन ।

४३. यस अदालतबाट कुटपिट र अङ्गभङ्ग कुटपिटका सम्बन्धमा रहेको साबिक मुलुकी ऐन, कुटपिटको महलको २ र ६ नं. को कानूनी व्यवस्थामा भएको उल्लिखित व्याख्यासमेतको रोहबाट प्रस्तुत वारदातको प्रकृतिलाई हेर्दा अङ्गभङ्ग कुटपिटको अवस्थाको विद्यमानता रहेको देखिँदैन । पीडितको अङ्गभङ्ग भयो भनिएको खुट्टाको घुँडाको भागमा चोट लागी फुटेकोसम्म स्थिति रहेको भन्‍ने सुरू घाजाँच केस फारामबाट नै देखिएको र विशेषज्ञहरूको बकपत्रसमेतबाट पीडितको चोट लागेको अङ्ग भाँची, फोरी, फुकाली बेकम्मा पारेको अवस्था रहेको भन्‍ने उल्लेख नभएको स्थितिलाई हेर्दा प्रस्तुत वारदात कुटपिट अङ्गभङ्गको कसुर स्थापित हुने देखिएन ।

४४. अब, चौथो अर्थात् तत्कालीन पुनरावेदन अदालत जनकपुरबाट मिति २०७१।०३।१४ मा भएको फैसला मिलेको छ वा छैन ? तथा वादी नेपाल सरकार एवं प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्‍ने प्रश्नका सम्बन्धमा विचार गर्दा, प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानले अभियोगबाट सफाइ पाउने तथा प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनलाई साबिक मुलुकी ऐन, कुटपिटको महलको २ नं. को कसुरमा सोही महलको ६ नं. बमोजिम जनही दुई वर्ष कैद र जनही रू.१,२५०।- जरिवाना हुने ठहर गरी तत्कालीन पुनरावेदन अदालत जनकपुरबाट फैसला भएको पाइन्छ । प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्ताफ खाँ पैठानको हकमा हेर्दा, जाहेरी दरखास्त तथा पीडित मुस्ताक खाँले घाजाँच गराई पाउँ भनी दिएको निवेदनमा निज प्रतिवादीहरूको नाम उल्लेख भए तापनि निजहरूले पीडितउपर के-कुन प्रकृतिको चोट छाडी कुटपिट गरेका हुन् भन्‍ने स्पष्टसँग खुलाउन सकेको देखिँदैन । जाहेरवाला तथा पीडितले अदालतमा बकपत्र गर्दा आलिम खाँ पैठानले वचन दिने र अनिसा खातुनले इँटा प्रहार भन्‍ने बेहोरा उल्लेख गरेको पाइन्छ भने निज प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानको हकमा भने निजहरूले यो-यस्तो कार्य गरी यो-यसरी कुटपिट गरेका थिए भनी प्रस्ट रूपमा भन्‍न सकेको पाइँदैन । 

४५. साथै, प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानले आफूहरू वारदातमा संलग्न नभएको र दाबीको कसुर नगरेको भनी कसुरमा इन्कारी रही अदालतमा भएको बयानमा बेहोरा उल्लेख गरिदिएको पाइन्छ । निज प्रतिवादीहरूको उक्त बयान बेहोरालाई निजहरूको साक्षीको बकपत्रबाट समेत पुष्टि भइरहेको देखिँदा निज प्रतिवादीहरूले दाबीबमोजिमको अभियोग गरेको हो भन्‍ने पुष्टि हुन सकेको देखिँदैन । प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनको हकमा हेर्दा, उक्त वारदात अङ्गभङ्ग प्रकृतिको नभई कुटपिट प्रकृतिको रहेको देखिएको भनी माथिका प्रकरणहरूमा विवेचना गरी सकिएको हुँदा निज प्रतिवादीहरूलाई अङ्गभङ्गको कसुरमा कसुरदार ठहर गरेको हदसम्म तत्कालीन पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको अवस्था देखिँदैन । तसर्थ, प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन तथा अभियोग दाबीबाट सफाइ पाउँ भन्‍ने प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनको पुनरावेदन जिकिरसँग सो हदसम्म सहमत हुन सकिने अवस्था देखिन आएन।

४६. अब, यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।०३।३१ मा भएको फैसलामा प्रस्तुत भएका रायमध्ये कुन राय सदर हुने हो वा अन्य हुने हो ? भन्‍ने अन्तिम प्रश्नको सम्बन्धमा विचार गर्दा, प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानले अभियोग दाबीबाट सफाइ पाउने तथा प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनको हकमा, उक्त वारदात अङ्गभङ्ग प्रकृतिको नभई कुटपिट प्रकृतिको रहेको देखिएको भनी माथिका प्रकरणहरूमा विवेचना गरी सकिएको अवस्था छ । यस अवस्थामा प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनलाई मुलुकी ऐन, कुटपिटको महलको ६ नं. बमोजिम जनही दुई वर्ष कैद र जनही रू.१,२५०।- जरिवाना गर्ने गरी भएको तत्कालीन पुनरावेदन अदालत जनकपुरको फैसला जनही दुई वर्ष कैद सदर भई जरिवानाको हदसम्म उल्टी हुने भनी माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तानले प्रस्तुत गर्नुभएको रायसँग सहमत हुन सकिने अवस्था भएन । जहाँसम्म, प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनलाई मुलुकी ऐन, कुटपिटको महलको ६ नं. बमोजिम जनही रू.१,२५०।-जरिवाना र दुई वर्ष कैद सजाय गर्ने गरी भएको उक्त फैसला सो हदसम्म केही उल्टी भई निज प्रतिवादीहरूको हकमा प्रस्तुत मुद्दा कुटपिटमा परिणत हुने भनी माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीले प्रस्तुत गर्नुभएको रायसँग यस इजलासले कुनै विमति राख्नुपर्ने अवस्था देखिन आएन ।

४७. अतः उल्लिखित आधार कारण तथा मिसिल प्रमाणहरूबाट प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानको प्रस्तुत अभियोग दाबीको वारदातमा संलग्नता रहेको भन्‍ने पुष्टि हुन आएको नदेखिँदा निजहरू उपरको अभियोग दाबी पुग्न नसक्‍ने ठहर्‍याई सुरू सर्लाही जिल्ला अदालतबाट भएको फैसला निजहरूको हकमा सदर हुने ठहर्‍याई उच्च अदालत जनकपुरबाट मिति २०७१।०३।१४ मा भएको फैसला सो हदसम्म सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको वारदातको प्रकृति, पीडितलाई लागेको घाउ खतको अवस्थासमेतबाट अङ्गभङ्ग कुटपिटको वारदात स्थापित हुन नआई प्रस्तुत मुद्दा नेपाल सरकार वादी भई चल्ने अनुसूची-१ र अनुसूची -२ अन्तर्गत पर्ने अवस्था नदेखिई दुनियावादी भई चल्ने कुटपिटसम्बन्धी वारदात भन्‍ने देखिन आएकोले पुनरावेदक प्रतिवादीहरू अलिम खाँ पैठान र अनिसा खातुनको हकमा सुरू अदालतबाट भएको फैसला उल्टी गरी साबिक मुलुकी ऐन, कुटपिटको महल २ नं. को कसुरमा ऐजन महलको ६ नं. बमोजिम जनही दुई वर्ष कैद र रू.१२५०।- जरिवाना हुने ठहर्‍याई उच्च अदालत जनकपुरबाट भएको फैसला निजहरूको हकमा मिलेको नदेखिँदा सो हदसम्‍म उल्टी भई अभियोग दाबी पुग्‍न नसक्ने भएकोले निजहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । प्रस्तुत वारदातको प्रकृतिबाट तत्काल प्रचलित सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ हाल प्रचलित मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४२ आर्कषित हुने देखिँदा उच्च अदालत जनकपुरबाट भएको फैसला उल्टी भई सरोकारवालाले सकार गरेमा यसै मिसिलबाट प्रतिवादीहरू अलिम खाँ पैठान र अनिसा खातुनको हकमा कुटपिटतर्फ कारबाही किनारा हुने हुँदा सरोकारवालालाई सोको जानकारी दिने ठहर्छ ।

४८. प्रतिवादीहरू नवि अहमद भन्‍ने अहमद खाँ पैठान र मुस्तफा खाँउपरको अभियोग दाबी नपुग्ने र प्रतिवादीहरू अलिम खाँ पैठान र अनिसा खातुनलाई अभियोग दाबीभन्दा घटी सजाय हुने ठहर्‍याई उच्च अदालत जनकपुरबाट भएको फैसला उल्टी गरी सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम कसुर कायम गरी सजाय गरिपाउँ भन्‍ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्‍न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नूः-

तपसिल

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनको हकमा तत्काल प्रचलित सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २७ तथा हाल प्रचलित मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४२ बमोजिम प्रस्तुत मुद्दा सरकारवादी फौजदारी मुद्दा अर्थात् अङ्गभङ्ग मुद्दाबाट दुनियाँवादी फौजदारी मुद्दा अर्थात् कुटपिट मुद्दामा परिणत हुने ठहर भएकोले पीडित मुस्ताक खाँलाई सोही दफा ४२ बमोजिम दुई महिनाभित्र सुरू सर्लाही जिल्ला अदालतमा मुद्दा सकार गर्न जानु भनी प्रस्तुत फैसलाको सूचना दिनू ...१

प्रस्तुत फैसलाको सूचना पाएको मितिले दुई महिनाभित्र पीडित मुस्ताक खाँले मुद्दा सकार गरेमा निजलाई वादी पक्ष कायम गरी यसै मुद्दाको मिसिलबाट कानूनबमोजिम कारबाही र किनारा गर्नु भनी प्रस्तुत फैसलासमेत साथै राखी सुरू सर्लाही जिल्ला अदालतमा लेखी पठाउनू ...........................................२

सरोकारवालाले प्रस्तुत फैसला माग गरे नियमानुसार गरी नक्कल दिनू ...............३

प्रस्तुत फैसलाको प्रति यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी फैसलाको पीठमा जनाउनू ..................................४

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी चालू मिसिल अभिलेख शाखामा तथा अन्य मिसिल सम्बन्धित अदालत / निकायमा पठाइदिनू .........................................५

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.शारङ्गा सुवेदी

न्या.बालकृष्ण ढकाल

 

इजलास अधिकृत : वसन्त प्रसाद मैनाली

इति संवत् २०८१ साल पौष ११ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु