निर्णय नं. ११५०४ - सवारी ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल
फैसला मिति : २०८०।११।२०
०७६-CR-०८६८
मुद्दाः- सवारी ज्यान
पुनरावेदक / वादी : गोपाल लामिछानेको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, चन्द्रगिरी नगरपालिका वडा नं. ६ थानकोट चेकपोष्ट बस्ने बुलाल मानन्धर
लापरवाही गरी सवारी चलाउँदा कसैको ज्यान जानसक्ने अवस्थाको जानकारी चालकमा हुनु र सो हुँदासमेत उचित सावधानी नअपनाउनुलाई लापरवाहीपूर्ण सवारी चलाएको मानिने । सवारी लापरबाही साथ चलाएको हो कि होइन भन्ने तथ्यको निर्क्यौल सवारीको गति, बाटोको अवस्था, चालकको अवस्था (मादक पदार्थ सेवन, सवारी चालक अनुमतिपत्र भए नभएको), सवारीको यान्त्रिक अवस्था जस्ता मानकहरूमा आधारित भएर गर्नुपर्ने । यिनै मानकहरूको आधारमा टेकेर प्रतिवादीको कसुर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) वा १६१(३) अन्तर्गतको हो भनी न्याय निरूपण गर्नुपर्ने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कल्पना राई
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री कुमारप्रसाद आचार्य
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री चित्रबहादुर गुरूङ
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल
माननीय न्यायाधीश श्री कृष्णबहादुर थापा
उच्च अदालत पाटन
फैसला
न्या.सुनिलकुमार पोखरेल : उच्च अदालत पाटनको फैसलाउपर मुद्दा दोहोर्याई पाउँ भनी परेको निवेदनमा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः-
तथ्य खण्ड
मिति २०७३।१०।१८ गते दिउँसो १६:१५ बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ वनस्थली स्थित पूर्व पश्चिम बालाजु चोकदेखि स्वयम्भूतर्फ आउने जाने पक्की सडक, उत्तरमा ग्लोवल आइ.एम.ई. बैंक र दक्षिणमा खाली जग्गा तथा एसियन पसल यति चार किल्लाभित्र पर्ने सार्वजनिक स्थान सडक रहेको, सो सडकको पूरा चौडाइ ४० फिट रहेको सो सडकको आधा भाग २० फिट रहेको सो सडकको दक्षिणतर्फको किनारबाट १२ फिटबिच भागमा बा ४ख १६७० नं. को ट्रिपर तथा ४ फिट टायरको डाम रहेको, सो सडकको दक्षिण किनारबाट १० फिटबिच भागमा बा ४७ प ८३१७ नं. को युनिकन मोटरसाइकल रहेको, उक्त ट्रिपर चालक, ट्रिपर तथा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई लगेको भन्ने घटना मुचुल्का ।
मिति २०७३।१०।१८ गते दिउँसो १६:१५ बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ वनस्थली स्थित सडक खण्डमा रेडियम लामिछानेले चलाएको बा ४७ प ८३१७ नं. को मोटरसाइकललाई बा ४ ख १६७० नं. को ट्रिपरले ठक्कर दिँदा सख्त घाइते भएको भन्ने यस कार्यालयमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली उक्त स्थानमा गई घाइतेलाई तत्काल उपचारको लागि अस्पतालतर्फ पठाई उक्त ट्रिपर चालक बुलाल मानन्धर र ट्रिपर तथा मोटरसाइकलसहित पक्राउ गरेको भन्ने प्रहरी प्रतिवेदन ।
मृतक रेडियम लामिछानेको मुख चिउँडोमा काटिएको छातिको पछाडिको भाग र खुट्टामा ददारिएको डाम तथा चोट रहेको, दायाँ हातको कुइनाबाट हाडको जोर्नी जस्तो भाग बाहिर निस्केको लास जाँच मुचुल्का ।
म जाहेरवालाको छोरा वर्ष २३ को रेडियम लामिछाने आफ्नो कलेजको पढाइ सकी मिति २०७३।१०।१८ गते दिउँसो १६:१५ बजे तिर बा.४७प. ८३१७ नं. को मोटरसाइकलमा बालाजुबाट वनस्थली हुँदै घर कलङ्कीतर्फ फर्की आउने क्रममा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वार्ड नं. १६ वनस्थली चोकदेखि १०० मिटर पश्चिम रिङरोडमा बा.४ख. १६७० नं. को ट्रिपरले ओभरटेक गरी लापरबाही तरिकाले ट्रिपर चलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटनाग्रस्त भई मोटरसाइकल चालक छोरा घाइते भएकोले तत्काल उपचारार्थ पिपल्स मेडिकल अस्पताल बालाजु नयाँबजार लगेकोमा निजको मृत्यु भएकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको गोपाल लामिछानेको जाहेरी दरखास्त ।
बा ४ ख १६७० को ट्रिपरको सम्पूर्ण पाटपुर्जा ठिक छ भनी प्राप्त मेकानिकल जाँच प्रतिवेदन ।
Blunt Force Injury to The Chest and Abdomen भन्ने मृतक रेडियम लामिछानेको शव परीक्षण प्रतिवेदन ।
मिति २०७३।१०।१८ गतेका दिन अन्दाजी १६:१५ बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १६ वनस्थली स्थितमा पुग्दा सडक किनारमा लोकल बस रोकी रहेको, बसलाई दाहिने पट्टिबाट क्रस गरी अगाडि बढ्ने क्रममा मैले चलाएको ट्रिपरको बायाँ साइडको अगाडिको भागले उक्त स्थानमा गुडेको बा ४७ प ८३१७ नं. को मोटरसाइकलको लुकिङ ग्लासमा छोई उक्त मोटरसाइकल अनियन्त्रित भई सडकमा लड्यो र मैले तुरून्त ब्रेक हानी गाडी रोकी हेर्दा मोटरसाइकल चालक मेरो गाडीको अगाडिको बायाँ चक्का अगाडि घोप्टो अवस्थामा रहेको अवस्थामा स्थानीय मानिसले मलाई समाई प्रहरीको जिम्मा लगाइदिएका हुन् र पछि बुझ्दा मोटरसाइकल चालक घाइतको पिपल्स मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भन्नेसमेत बेहोराको प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको बयान ।
मिति २०७३।१०।१८ गते दिउँसो अन्दाजी १६:१५ बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ वनस्थली चोक स्थितमा वनस्थली हुँदै कलङ्कीतर्फ गइरहेको रेडियम लामिछानेले चलाएको बा ४७ प ८३१७ नं.को मोटरसाइकललाई सोही दिशातर्फबाट आइरहेको बुलाल मानन्धरले चलाएको बा.४.ख.१६७० नं. को ट्रिपरले पछाडिबाट ओभरटेक गरी लापरबाही तरिकाले अगाडिको बायाँ साइडबाट ठक्कर दिँदा मोटरसाइकल चालकको उपचार क्रममा सोही दिन मृत्यु भएको भन्ने कुरा सुनी थाहा पाएको हो । निज ट्रिपर चालक बुलाल मानन्धरलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको बुझिएका व्यक्ति महानन्द ढकालले गरिदिएको कागज ।
मिति २०७३।१०।१८ गते दिउँसो अन्दाजी १६:१५ बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ वनस्थली चोक स्थितमा वनस्थली हुँदै कलङ्कीतर्फ गइरहेको रेडियम लामिछानेले चलाएको बा. ४७ प. ८३१७ नं. को मोटरसाइकललाई सोही दिशातर्फबाट आइरहेको बुलाल मानन्धरले चलाएको बा ४ ख १६७० को ट्रिपरले पछाडिबाट ओभरटेक गरी लापरबाही तरिकाले अगाडिको बायाँ साइडबाट ठक्कर दिँदा मोटरसाइकल चालक रेडियम लामिछानेलाई किचेको अवस्थामा मसमेतका स्थानीय मानिसहरू र तत्काल प्रहरीको सहयोगमा घाइतेलाई उपचारको लागि अस्पताल पठाएकोमा चेकजाँचको क्रममा सोही दिन मृत्यु भएको भन्ने कुरा सुनी थाहा पाएको हो । निज ट्रिपर चालक बुलाल मानन्धरलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको बुझिएका व्यक्ति ध्रुव देवकोटाले गरिदिएको कागज ।
मिति २०७३।१०।१८ गतेका दिन प्रतिवादी बुलाल मानन्धरले चलाएको बा.४ख. १६७० नं. ट्रिपरमा थिएँ । ट्रिपर बालाजु चोक हुँदै कंलकी जाने क्रममा दिन अ.१६:१५ बजे का.जि.का.म.न.पा.वडा नं.१६ वनस्थली चोक स्थितमा पुग्दा सो ट्रिपरको खलासी बस्ने ठाँउ म बसेको साइडमा एक्कासी आवाज आएपछि मैले बाहिर हेर्दा ट्रिपरदेखि ३/४ फिट दक्षिणतर्फ बाटोमा वा ४७ प ८३१७ नं को मोटरसाइकल लडेको र मोटर साइकल चालक रेडियम लामिछाने म बसेको साइडको अगाडिको चक्कातिर आएको देखी मैले मान्छे मान्छे भनी चिच्याई कराए पछि निज बुलाल मानन्धरले तत्कालै ब्रेक लगाई सो ट्रिपर रोकी हामी दुवैजना ट्रिपरबाट झरी हेर्दा सो मोटरसाइकल चालकलाई मैले बसेको साइडको अगाडिको चक्काले च्यापी घाइते भएकाले तत्काल स्थानीय मानिस तथा प्रहरी र हामी दुवैजनासमेतले मोटरसाइकल चालकलाई उद्धार गरी अस्पतालतर्फ पठाएकोमा निज मोटरसाइकल चालक रेडियम लामिछानेको पिपल्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने कुरा पछि सुनी थाहा पाएको हो भन्नेसमेत बेहोराको बुझिएका श्यामकृष्ण अधिकारीको कागज ।
मिति २०७३।१०।१८ गतेको बिहान म काठमाडौं बजारमा आई बेलुका आफ्नो मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा अं.१६:१५ बजे का.जि.का.म.न.पा.वडा नं.१६ वनस्थलीमा पुग्दा गाडीको भिड भएको थियो मेरो अगाडि अगाडि बा.४ ख. १६७० ट्रिपर चालक बुलाल मानन्धरले ट्रिपर चलाई कलङ्कीतर्फ गई रहेको थिएँ, सोही दिशातर्फ आगाडि कलङ्कीतर्फ गइरहेको बा.४७प. ८३१७ नं. को मोटरसाइकल चालक रेडियम लामिछानेले चलाएका थिए । निज अगाडि बढ्ने क्रममा निजको मोटरसाइकलको अगाडि रहेको सिसाले ट्रिपरमा छुन गई उक्त मोटरसाइकल सडकमा ढलेकाले तत्कालै ट्रिपर चालकले ट्रिपर रोकी रहेको मैले देखेको हुँ । उक्त स्थानमा जम्मा भएका स्थानीय मानिसले ट्रिपरले मानिसलाई हान्यो भन्ने कुरा गरेको र निज घाइतेको उपचारकै क्रममा मृत्यु भएको कुरा सुनी थाहा पाएको हो भन्नेसमेत बेहोराको बुझिएका कान्छा मानन्धरको कागज ।
बा ४७ प. ८३१७ नं. को मोटरसाइकलको लेगार्ड तथा दुवैतर्फको साइडलाइट क्षति भएको अन्य सम्पूर्ण पार्टपूर्जा ठिक हालतमा रहेको भन्ने यान्त्रिक जाँच प्रतिवेदन ।
प्रतिवादी बुलाल मानन्धरले लापरबाही गरी चलाएको बा ४ ख. १६७० नं. ट्रिपरले रेडियम लामिछानेलाई ठक्कर दिएको र सो ठक्करबाट घाइते भई उपचारको क्रममा निजको मृत्यु भएकोले प्रतिवादी बुलाल मानन्धरलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसुरमा सोही नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी ।
रेडियम लामिछानेले चलाएको मोटरसाइकलले मेरो गाडीलाई बायाँबाट ओभरटेक गर्दा मोटरसाइकलको लुकिङ ग्लासले मेरो ट्रिपरमा छुन आएर लडी घाइते भएका हुन् । मेरो गाडीले ठक्कर दिएर लडेको होइन । जाहेरी बेहोरा झुट्टा हो । मैले लापरबाही तरिकाबाट गाडी चलाएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी बुलाल मानन्धरले सुरू जिल्ला अदालतमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी कसुरदार हुन् भन्ने मनासिब आधार देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी यी प्रतिवादीबाट रू.७५,०००।- नगद वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेन्टी दिए लिई मुद्दा पुर्पक्षको निमत्त तारेखमा राख्नु, नदिए थुनामा राख्नु र वादी प्रतिवादीका साक्षी बुझ्न झिकाउनु भन्नेसमेत बेहोराको सुरू अदालतबाट मिति २०७३।११।१७ मा भएको आदेश ।
मोटरसाइकल गलत साइडबाट आइरहेको थियो । Overtake गर्दा Balance बिग्रेर लडेर वाइक घिस्रदै गाडीमा ठोक्किएको हो भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी प्रकाश बलामीको बकपत्र ।
मैले गरेको घटना विवरण कागजमा भएको सबै कुरा ठिक हो । तर गाडीले च्यापेको भन्ने बेहोरा झुट्टा हो भन्नेसमेत बेहोराको बुझिएका मानिस श्यामकृष्ण अधिकारीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी बुलाल मानन्धरले लापरबाही तरिकाले सवारी चलाएको नदेखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) को कसुर र सजायको अभियोग दाबी नपुग्ने र सोही दफाको उपदफा (३) बमोजिमको कसुरमा सोही उपदफाबमोजिम २ (दुई) महिना कैद र रू.२,०००।- (दुई हजार रूपैयाँ) जरिवाना हुने ठहर्छ भन्नेसमेत बेहोराको काठमाडौं जिल्ला अदालतबाट मिति २०७४।०७।२१ मा भएको फैसला ।
प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफूले ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई छोइएको भनी उल्लेख गरेको र सडक दुर्घटना प्रतिवेदनमा ट्रिपर चालकको ध्यान नभएको भनी उल्लेख भएबाट यी प्रतिवादीले दायाँबायाँ नहेरी ध्यान नदिई सोही दिशामा गइरहेको मोटरसाइकललाई ठक्कर दिएको देखिन्छ । बुझिएका मानिसहरूको कागजबाट समेत आफ्नो बाटो हिँडिरहेको मोटरसाइकललाई सोही दिशाबाट आएको ट्रिपरले ओभरटेक गरी बायाँतर्फको भागले मोटरसाइकललाई ठक्कर दिएको देखिन्छ । प्रस्तुत मुद्दामा दायाँबायाँ नहेरी सवारी चलाउँदा दुर्घटना हुन सक्छ भन्ने ख्याल नगरी लापरबाहीसँग सवारी हाँकी ओभरटेक गर्दा वारदात घट्न गएको अवस्थामा प्रतिवादीलाई अभियोग दाबीभन्दा कम सजाय गर्ने गरी मिति २०७४।०७।२१ मा सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण देखिँदा बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन ।
सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७४।०७।२१ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७५।९।६ मा भएको फैसला ।
प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफूले ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोकिएर अनकन्ट्रोल भई सडकमा लड्यो र मोटरसाइकल चालक मेरो गाडीको अगाडिको बायाँ चक्का अगाडि घोप्टो अवस्थामा रहेको भनी लेखाइ दिएका छन् । सडक दुर्घटना प्रतिवेदनमा ट्रिपर चालकले ध्यान नदिएको भनी उल्लेख भएको र ट्रिपरको अगाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको भनी उल्लेख भएको छ । बुझिएका मानिसहरूले गरेको कागजसमेतबाट प्रतिवादीले लापरबाहीपूर्वक सवारी चलाई मोटरसाइकललाई ठक्कर दिएको र सोही कारणले मोटरसाइकल चालकको मृत्यु भएको तथ्य तथा प्रमाणले पुष्टि भइरहेको अवस्थामा प्रतिवादीलाई अभियोग दाबीभन्दा कम सजाय गर्ने गरी सुरू अदालतबाट भएको फैसला सदर गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन ।
यसमा प्रतिवादी बुलाल मानन्धरले अनुसन्धानको क्रममा बयान गर्दा आरोपित कसुरमा साबित रही बयान गरेको देखिन्छ । घटना विवरण कागज गर्ने श्यामकृष्ण अधिकारीले ट्रिपरले पछाडिबाट ओभरटेक गरी लापरबाही तरिकाले बायाँ साइडबाट ठक्कर दिएको भनी मौकामा उल्लेख गरेको र अदालतमा समेत सोही बेहोरालाई समर्थन गरी बकपत्र गरेको अवस्थामा प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) नं. बमोजिम सजाय गर्ने गरी गरेको उच्च अदालत पाटनको मिति २०७५।९।६ को फैसलामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२)(३) को व्याख्यात्मक त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरिदिएको छ, नियमानुसार गर्नु भन्नेसमेत बेहोराको मिति २०७६।५।२६ मा यस अदालतबाट भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी आज यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरियो ।
पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री कल्पना राईले जाहेरी बेहोरामा नै स्पष्ट रूपमा प्रतिवादीले चलाएको बा.४ख. १६७० नं.को ट्रिपरले बा.४७.प. ८३१७ नं.को मोटरसाइकललाई ठक्कर दिएको भनी उल्लेख भएको छ । प्रतिवादीले अनुसन्धान अधिकारीसमक्षको बयानमा आफूले चलाएको ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएको भनी कसुरमा साबित रही बयान गरेका छन् भने सडक दुर्घटना प्रतिवेदनबाट पनि मोटरसाइकल चालक रेडियम लामिछानेकोको मृत्यु प्रतिवादीले चलाएको ट्रिपरले दिएको ठक्करबाट भएको देखिन्छ । प्रतिवादीले सडकको दायाँबायाँ नहेरी लापरवाहीपूर्ण तरिकाले सवारी चलाई मोटरसाइकललाई ठक्कर दिँदा रेडियम लामिछानेको मृत्यु भएको पुष्टि भएको अवस्थामा प्रतिवादीलाई अभियोग दाबीभन्दा कम सजाय गर्ने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर गरेको उच्च अदालत पाटनको फैसला त्रुटिपूर्ण भएकाले उक्त फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
त्यसैगरी, प्रतिवादी बुलाल मानन्धरको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री कुमारप्रसाद आचार्यले रेडियम लामिछानेले चलाएको मोटरसाइकलले बायाँबाट ओभरटेक गर्दा प्रतिवादीले चलाएको ट्रिपरमा ठक्कर लाग्न गई भएको सवारी दुर्घटनाबाट निज रेडियम लामिछानेको मृत्यु भएको हो । प्रतिवादीले लापरबाहीपूर्वक सवारी नचलाएको अवस्थामा सुरू काठमाडौं जिल्ला अदालतबाट प्रतिवादी बुलाल मानन्धरलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम सजाय गर्ने गरी भएको फैसला सदर गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा, प्रतिवादी बुलाल मानन्धरलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसुरमा ऐ. दफा १६१(२) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेकोमा प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम २ (दुई) महिना कैद तथा रू.२,०००।- (दुई हजार रूपैयाँ) जरिवाना हुने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । उक्त फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत पाटनमा पुनरावेदन गरेकोमा उक्त अदालतबाट सुरू फैसला सदर गर्ने गरी फैसला भएको देखिन्छ । उच्च अदालत पाटनको फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भनी निवेदन दायर भएकोमा उक्त निवेदनमा मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा पेस हुन आएको देखिन्छ ।
पुनरावेदकको पुनरावेदन जिकिर, मिसिल संलग्न कागजातहरू र दुवैतर्फका विद्वान् कानून व्यवसायीहरूको बहससमेत सुनी प्रस्तुत मुद्दामा मूलत: उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. अब निर्णयतर्फ विचार गर्दा, मिति २०७३।१०।१८ गते दिउँसो १६:१५ बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वार्ड नं. १६ वनस्थली स्थित सडक खण्डमा रेडियम लामिछानेले चलाएको बा.४७प. ८३१७ नं. को मोटरसाइकललाई बा.४ ख १६७० नं. को ट्रिपरले ठक्कर दिँदा सख्त घाइते भएको र उपचारको क्रममा मृत्यु भएको भन्ने जाहेरी दरखास्त, सडक दुर्घटना प्रतिवेदन, शव परीक्षण प्रतिवेदनलगायतका कागजातहरूबाट देखिन्छ । रेडियम लामिछानेको प्रतिवादीले चलाएको ट्रिपरको ठक्करले मृत्यु भएकोमा प्रतिवादीको समेत साबिती नै रहेकोले निज रेडियम लामिछानेको मृत्यु सवारी दुर्घटनाको कारणबाट भएको चोटले नै भएको देखिन आएकोले सो कुरालाई थप विवेचना गरिरहनु परेन ।
३. रेडियम लामिछानेको मृत्यु सवारी दुर्घटनाबाट भएको देखिन आएको अवस्थामा सो वारदातमा यी प्रतिवादीउपर लापरबाहीपूर्ण तवरले सवारी चलाएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) को कसुरमा सोही दफाबमोजिम सजाय गरिपाउँ भन्ने नै वादी नेपाल सरकारको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ ।
४. प्रतिवादी बुलाल मानन्धरले चलाएको सवारीको ठक्करले रेडियम लामिछानेको मृत्यु भएको देखिए पनि प्रतिवादीले लापरवाहीपूर्वक सवारी चलाउँदा उक्त दुर्घटना भएको हो होइन ? भन्ने सम्बन्धमा हेर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) ले लापरवाहीपूर्ण अवस्थालाई निश्चित गरेको छ । उक्त दफामा “कसैको ज्यान जानसक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनुपर्ने सतर्कता नअपनाई कसैले लापरवाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जनुसकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरूप एक्काइस दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनसुार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुनेछ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाबमोजिमको कसुर स्थापित हुनका लागि कसैले सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने सम्भावना रहेको जानीजानी लापरवाही गरी सवारी चलाएको कारणबाट सवारीमा रहेको र सवारी बाहिर रहेको कुनै व्यक्तिको मृत्यु भएको हुनुपर्ने हुन्छ । लापरवाही गरी सवारी चलाउँदा कसैको ज्यान जानसक्ने अवस्थाको जानकारी चालकमा हुनु र सो हुँदासमेत उचित सावधानी नअपनाउनुलाई लापरवाहीपूर्ण सवारी चलाएको मानेको छ । सवारी लापरबाही साथ चलाएको हो कि होइन भन्ने तथ्यको निर्क्यौल सवारीको गति, बाटोको अवस्था, चालकको अवस्था (मादक पदार्थ सेवन, सवारी चालक अनुमतिपत्र भए नभएको), सवारीको यन्त्रिक अवस्था जस्ता मानकहरूमा आधारित भएर गर्नुपर्ने हुन्छ । यिनै मानकहरूको आधारमा टेकेर प्रतिवादीको कसुर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) हो वा १६१(३) हो भनी न्याय निरूपण गर्नुपर्ने हुन्छ ।
५. उल्लिखित कानूनी व्यवस्था र मानकहरूको आधारमा प्रस्तुत मुद्दाको तथ्यलाई हेर्दा, प्रतिवादीले ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानी जानी वा लापरवाही गरी सवारी चलाएको थियो थिएन भनी हेर्नु पर्ने हुन्छ । सडक दुर्घटना प्रतिवेदनको नापनक्सा तथा विवरणबाट प्रतिवादीले चलाएको ट्रिपर आफ्नै साइडबाट निश्चित गतिमा गएको र मेकानिकल परीक्षण प्रतिवेदनबाट ट्रिपरको एक्सिलेटर, ब्रेक, क्लज, साइडलाइट, ऐना, साइरन, हर्न, अन्य इन्जिनको भागसमेत ठिक रहे भएको देखिन्छ । प्रतिवादीको शारीरिक जाँच प्रतिवेदनबाट पनि निजको मानसिक अवस्था सामान्य रही मादक पदार्थ सेवन गरेको पनि देखिँदैन । प्रतिवादीसँग सवारी चालक अनुमति पत्रसमेत रहेको देखिन्छ । उल्लिखित तथ्य र प्रमाणहरूबाट प्रतिवादीले सवारी लापरवाही गरी चलाएको देखिन आउँदैन । अर्कोतर्फ मृतक रेडियम लामिछानेले चलाएको मोटरसाइकल अचानक प्रतिवादीले चलाएको ट्रिपरसँग ठोकिएर दुर्घटना भएको मिसिल संलग्न कागज प्रमाणहरूबाट देखिएको छ । रेडियम लामिछानेको मृत्यु उपर्युक्त तथ्य प्रमाणहरूबाट प्रतिवादीले लापरबाहीपूर्बक चलाएको सवारी दुर्घटनाको कारणबाट भएको देखिन नआएकोले प्रतिवादीले अभियोग वादीबमोजिम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (२) बमोजिमको कसुर गरेको देखिन आएन ।
६. सुरू तथा उच्च अदालतले प्रतिवादी बुलाल मानन्धरलाई सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१(३) बमोजिमको कसुर सोही दफाबमोजिम सजाय गरेको देखिन्छ । सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१(३) मा “कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जनुसकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार ऐ. दफा १६१(३) बमोजिमको कसुर कायम हुनका लागि ज्यान मर्न सक्छ भन्ने जस्तो अवस्था नदेखिएको र सोही अवस्थामा सवारी दुर्घटना हुन्छ भने यस दफाबमोजिमको कसुर हुने देखिन्छ । प्रतिवादी अनुमति प्राप्त सवारी चालक रहेको र सवारी चालक अनुमति पत्रको म्यादसमेत बाँकी रहेको देखिन्छ । निजले सवारी चलाउँदाको समयमा मादक पदार्थ सेवन गरेको नदेखिएको तथा लापरवाही तरिकाले सवारी चलाएको समेत नदेखिई अचानक सडक दुर्घटना हुन गएको भन्ने मिसिल संलग्न कागजातबाट देखिन आउँछ । यसरी प्रतिवादीले चलाएको सवारीको ठक्करले दिई मोटरसाइकल चालक रेडियम लामिछानेको मृत्यु भएको देखिएकाले प्रतिवादीको कार्य सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१(३) मा उल्लेख भएबमोजिमको कसुर देखिएको हुँदा प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिमको कसुरमा ऐ. दफा १६१(३) बमोजिम सजाय गरेको काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने गरी उच्च अदालत पाटनले गरेको फैसला मिलेकै देखिँदा अन्यथा गर्नुपर्ने देखिएन भने यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गर्दा लिइएका आधारहरूसँग सहमत हुन सकिएन ।
७. अत, माथि विवेचित तथ्य र प्रमाणका आधारमा प्रतिवादी बुलाल मानन्धरको लापरवाहीबाट दुर्घटना भएको भन्ने पुष्टि हुन नसकेकोले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) आकर्षित हुने अवस्था विद्यमान नरहेको हुँदा यी प्रतिवादीलाई सोही ऐनको दफा १६१(३) बमोजिम २ (दुई) महिना कैद र रू.२,०००।- (दुई हजार रूपैयाँ) जरिवाना हुने ठहर्याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७४।०७।२१ मा भएको फैसला सदर गर्ने गरी उच्च अदालत पाटनबाट मिति २०७५।०९।०६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू । फैसालाको नक्कल माग्ने सरोकारवालालाई नियमानुसार नक्कल दिनू । प्रस्तुत फैसलाको विद्युतीय प्रति यस अदालतको विद्युतीय प्रणालीमा प्रविष्ट गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशमान सिंह राउत
इजलास अधिकृत: सुशिल आचार्य
इति संवत् २०८० साल फागुन २० गते रोज १ शुभम् ।