शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११५१२ - अंश चलन

भाग: ६७ साल: २०८२ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी

माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना

माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल

फैसला मिति : २०८१।११।११

०७३–ल्ँ–००१५

 

मुद्दाः अंश चलन

 

पुनरावेदक / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ४ हाल ऐ.ऐ. वडा नं. ३ बस्ने धनमान सिंह बस्नेत

विरूद्ध

प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २७ घर भई हाल सप्तरी जिल्ला, राजविराज नगरपालिका वडा नं. ८ बस्ने अयोध्यादेवी बस्नेतको मुद्दा सकार गर्ने ऐ.ऐ. बस्ने उत्तमकुमार सिंह बस्नेत

 

नाता पुस्तामा विवाद नहुनु वा अंशबन्डा गर्नुपर्ने नाता सम्बन्धको व्यक्ति हुनु भनेको नै स्वतः अंश पाउने भनी अर्थ गर्न नमिल्ने । निजहरूबिच पहिले अंशबन्डा भई भिन्‍न भए नभएको यकिन हुनुपर्ने । 

(प्रकरण नं.३)

व्यवहार प्रमाणको यकिन गर्ने विषय मुद्दाको तथ्य, सम्पत्तिको प्रकृति तथा वादी प्रतिवादीहरूको आचरण र व्यवहारलगायतका समग्र घटनाक्रम र परिस्थिति हेरी न्यायकर्ताले निर्क्यौल गर्ने विषय देखिने । कुनै निरपेक्ष नियम वा गणितीय सूत्रका रूपमा हेरिनु उचित नहुने । 

(प्रकरण नं.६)

वतन फरक भएको भन्‍ने आधारमा मात्र बन्डा भएको निष्कर्षमा पुग्नु उचित नहुने, तथापि वादी प्रतिवादीहरू आफ्नो स्मृतिभन्दा पूर्व (तष्mभ ष्mmझयचष्ब)ि देखि नै पुस्तौनी फरक वतनमा बसोबास गर्दै आइरहेको भनी जिकिर लिएको अवस्थामा सो तथ्य पनि व्यवहार प्रमाणको दृष्टिले विचारणीय देखिने । 

(प्रकरण नं.७)

समयको अस्वाभाविक अन्तराल पनि व्यवहार प्रमाणबाट बन्डा भए नभएको हेरिनुपर्ने अर्को महत्त्वपूर्ण पक्ष हुने । कानूनले अंशमा दाबी गर्नका लागि निश्‍चित हदम्याद निर्धारण नगरेको भए तापनि व्यवहार प्रमाणको दृष्टिले समयको अस्वाभाविक अन्तराल कतिपय अवस्थामा आफैँमा अलग व्यवहारको सजिव प्रमाण हुने । 

(प्रकरण नं.८)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा र श्री सुन्दरलाल चौधरी तथा विद्वान् अधिवक्ताद्वय श्री सुदिप पाठक र श्री कृष्ण थापा 

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री श्यामप्रसाद खरेल र श्री सतिशकृष्ण खरेल तथा विद्वान् अधिवक्ता श्री विदुर विक्रम थापा 

अवलम्बित नजिर :

ने.का.प.२०१८, अङ्क ८, नि.नं.१५७

ने.का.प.२०४९, अङ्क ८, नि.नं.४५९९

ने.का.प.२०५३, अङ्क ११, नि.नं.६२९२

ने.का.प.२०६३, अङ्क ९, नि.नं.७७६१

ने.का.प.२०८०, अङ्क ३, नि.नं.११०४६

सम्बद्ध कानून :

मुलुकी देवानी संहिता, २०७४

भूमि सुधार ऐन, २०२१

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री सुष्मालता माथेमा

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री कृष्णप्रसाद बस्याल

माननीय न्यायाधीश श्री हरिप्रसाद घिमिरे

पुनरावेदन अदालत पाटन

यस अदालतको संयुक्त इजलासबाट फैसला गर्नेः

स.प्र.न्या.श्री रामकुमार प्रसाद शाह

मा.न्या.श्री चोलेन्द्र शम्शेर ज.ब.रा.

 

फैसला

न्या.डा.नहकुल सुवेदी : यस अदालतको संयुक्त इजलासको मिति २०७२।०१।०६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम प्रतिवादीको यस अदालतमा परेको पुनरावलोकनको निवेदनउपर मिति २०७३।०६।१४ मा पुनरावलोकनको अनुमति प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, ठहर एवं तपसिल यसप्रकार छः

तथ्य खण्ड

मूल पुर्खा इन्द्रमान सिंहका ५ छोरामा जेठा विष्णुमान सिंह, माहिला हेममान सिंह, साहिँला  बद्रिमान सिंह, काहिँला पहलमान सिंह र कान्छा यज्ञमान सिंह हुनुहुन्थ्यो । जेठा विष्णुमान सिंहका छोरा स्वर्गीय जगतमान सिंह र जगतमान सिंहका छोरा प्रतिवादी धनमान सिंह बस्नेत हुन् । माहिला हेममान सिंहको सन्तान कोही नभएकोले निजलाई फिरादीका पतिले नै पालन पोषण गरी मृत्युपश्‍चात् सद्‍गत संस्कार पनि गर्नुभएको हो । साहिँला  स्वर्गीय बद्रिमान सिंहको सन्तानमा निजको छोरा स्वर्गीय बखतमान सिंह र बखतमानका छोरा प्रतिवादी आनन्द प्रताप सिंह हुन् । काहिँला स्वर्गीय पहलमान सिंहको छोरा प्रतिवादी गणेशमान सिंह हुन् । कान्छा स्वर्गीय यज्ञमान सिंहको छोरा फिरादीका पति पदममान सिंह हुन्, निजको २०२९ सालमा देहावसान भइसकेको छ र निजकी धर्मपत्नी म फिरादी अयोध्यादेवी बस्नेत र छोराहरू क्रमशः उत्तम, वीरेन्द्र, सुरेन्द्र र देवेन्द्र छौं । छोराहरू आफ्नो व्यवहार आफैँ चलाइआएका छन् । हामी वादी प्रतिवादीहरूबिच अंशबन्डा गर्न बाँकी भएकोले म फिरादीका पतिको मृत्यु भएपछि अंशबन्डा गरौं, मलाई अंश दिनुहोस् भनी विपक्षीहरूसँग भन्दा निजहरूले अंश दिँदैनौं, जे मन लाग्छ गर भन्‍नुभयो । ससुरा यज्ञमान सिंह बस्नेत र निजका दाजुभाइबिच अंशबन्डा भएको छैन । सम्पूर्ण सम्पत्ति विष्णुमानको जीवनकालभर निजले, तत्पश्‍चात् निजका छोरा स्वर्गीय जगतमानले र जगतमानको मृत्युपछि निजका छोरा धनमान सिंह बस्नेतले जिम्मा लिई आएका छन् । मेरा पतिको सप्तरी जिल्ला अदालतमा कार्यरत रहँदाकै अवस्थामा २०२९ सालमा मृत्यु भएपछि प्रतिवादी धनमान सिंह बस्नेतसँग अंश माग्दा निजले मूल पुर्खा इन्द्रमानका सबै छोराहरूका सन्तान नजुटी बन्डा हुन सक्दैन भनी जग्गा तथा घरको आयस्ताको ४ खण्डको १ खण्ड भनी २०३० सालदेखि नै केही रकम दिँदै आएका थिए । २०४६ सालमा प्रतिवादी धनमानले बन्डापत्र गर्न बोलाएकोले राजविराजबाट आई बन्डा गर्नुपर्ने पैतृक सम्पत्ति तथा बढे बढाएको सम्पत्ति के कति छ भनी सोध्दा प्रतिवादी धनमान सिंहले अंशबापत रू.५०,०००।– बुझी अंश छोडपत्र गरिदिनुहोस् भन्‍नुभयो । निजको सो कुरा मैले मानिन । अन्य प्रतिवादीहरूले पनि मेरो अंश मार्ने नियतले मलाई सोही कुरा भनेका र मैले अंश नै दिनुहोस् भन्दा प्रतिवादी धनमानले मेरो नाममा सम्पत्ति राखेको छैन जे सक्छौं त्यही गर्नु भनेका हुँदा यो फिराद गरेकी छु । प्रतिवादीहरूबाट तायदाती फाँटवारी लिई ४ खण्डको १ खण्ड अंश छुट्याई दिलाई भराइपाउँ भन्‍ने बेहोराको फिरादपत्र । 

वादीले यज्ञमान सिंह बस्नेतको सम्पत्तिबाट मात्र अंश पाउनुपर्ने हो । मेरा बाजे विष्णुमान सिंह बस्नेत धेरै अघिदेखि नै आफ्ना पिता पुर्खाबाट छुट्टीभिन्‍न भई बसेका हुन् । निज बाजेको जिम्मामा पैतृक सम्पत्ति रहेको भए सो सम्पत्ति बाजेका नाममा रहनुपर्ने र बाजेका नामबाट बाबुका नाममा नामसरी हुनुपर्ने हो, तर त्यस्तो भएको छैन । पिता जगतमान सिंहले मिति १९९६।०५।१६ मा श्री ३ जुद्ध शम्शेरबाट व्यक्तिगत रूपमा पोता बिर्ताको जग्गा लालमोहरबाट प्राप्त गरेकोमा हाल मैले सोही सम्पत्ति भोग गरी आएको छु । वादीलाई मैले मासिक रूपमा खर्च दिएको भन्‍ने बेहोरा झुठ्ठा हो । वादीका पुर्खा मेरा बाजेकै पालादेखि छुट्टीभिन्‍न भएको हुँदा वादीलाई मैले अंश दिनुपर्ने होइन । साबिकमा बाजे त्यसपछि पिता तथा हाल म र मेरा एकासगोलका व्यक्तिहरूबाहेक अन्य कोही व्यक्तिहरू हाम्रो परिवारमा सामेल भएका छैनन् । भूमि सुधार लागु हुँदा पितासमेतले भर्नुभएको अनुसूचीहरूबाट समेत त्यो कुरा प्रस्ट हुन्छ । वादीले मेरा बाजेका पालादेखि सगोलमा बसेको कुनै प्रमाण देखाउन सकेको छैन । निजको ससुरासमेतको सम्पूर्ण सगोलको सम्पत्तिहरू साबिकमा मेरा बाजे, बाजेपछि पिता र पिता पछि मेरा जिम्मामा रहेको भनी उल्लेख गरेका कुरा झुठ्ठा हुँदा वादी दाबीबाट अलग फुर्सद गराइपाउँ भन्‍ने बेहोराको प्रतिवादी धनमान सिंह बस्नेतको प्रतिउत्तरपत्र । 

तत्कालीन श्री ३ चन्द्र शम्शेरको पालामा बाजे इन्द्रमान सिंहको सम्पूर्ण सम्पत्ति सर्वस्व भएकोमा जेठा बाबु विष्णुमान सिंहले दिएको बिन्तिपत्रबमोजिम सो सर्वस्व भएको सम्पत्तिमध्ये ६ भागको १ भाग सम्पत्ति फिर्ता भएकोसम्म हो । सो सम्पत्ति हाम्रा पिताहरूबिच बन्डा भएको छैन र मसँग बन्डा गर्नुपर्ने सम्पत्ति पनि नभएकोले वादीलाई अंश दिनुपर्ने होइन भन्‍ने बेहोराको प्रतिवादी गणेशमान सिंह बस्नेतको प्रतिउत्तरपत्र ।

प्रतिवादी आनन्दमान सिंह बस्नेतका नाममा जारी भएको म्याद मिति २०५१।०३।२३ मा तामेल भएकोमा निजले प्रतिउत्तर नफिराई सुरू म्याद गुजारी बसेको । 

हाम्रा पिताका दाजुभाइबिच अंशबन्डा भएको छैन । विष्णुमान सिंह हाम्रो जेठो हजुरबुबा भएको कारणले घर व्यवहार वहाँले नै गर्दै आउनुभएको थियो । निजको शेषपछि निजका छोरा जगतमानले र हाल प्रतिवादी धनमान सिंहले पुर्ख्यौली सम्पत्तिको रेखदेख गरिरहनुभएको छ । सप्तरी जिल्ला अदालतमा कार्यरत रहँदाको अवस्थामा २०२९ सालमा हाम्रा पिताको मृत्यु भएपछि आमाले प्रतिवादी धनमान सिंहसँग अंश माग्दा पछि सबै अंशियार भेला भएपछि अंश गरौंला भनी २०३० सालदेखि केही रकम दिँदै आउनुभएकोले हाम्रो लालनपालन र शिक्षादीक्षा भएको हो । हाल हामी आफैँ सक्षम भइसकेको छौं । हाम्रा पिता र विपक्षीहरूबिच अंशबन्डा भएको छैन । हाम्रो भाग अंशबन्डा गरिपाउँ भन्‍ने बेहोराको वादीका छोरा उत्तम, वीरेन्द्र र सुरेन्द्रसमेतको तर्फबाट निजहरूको वारेस शिवप्रसाद मैनालीले गरेको बयान कागज । 

वादी अयोध्यादेवी र प्रतिवादी धनमान सिंहबिच काकी भतिजको नाता पर्दछ । वादी प्रतिवादीका बिच अंश बन्डा नभएकोले वादीले प्रतिवादीबाट अंश पाउनुपर्ने हो भन्‍ने बेहोराको वादीका साक्षी राजकुमार श्रेष्ठले गरेको बकपत्र । 

प्रतिवादीका जिम्मामा जिजु बाजेका पालादेखिको पैतृक सम्पत्ति छैन । प्रतिवादीका बाबु जगतमान सिंहलाई श्री ३ जुद्ध शम्सेरले १९९६ सालमा बकस दिएको सम्पत्तिमात्र प्रतिवादीका नाममा हुँदा प्रतिवादीले वादीलाई अंश दिनुपर्ने होइन भन्‍ने बेहोराको प्रतिवादी धनमान सिंह बस्नेतका साक्षी भक्तबहादुर पंडितले गरेको बकपत्र । 

वादीले प्रतिवादीलाई अंश दिनुपर्ने हो होइन भन्‍ने सम्बन्धमा मलाई केही थाहा छैन । प्रतिवादी गणेशमान सिंह आफ्ना बाबुहरूबाट पैतृक सम्पत्ति नलिई बसेका छन् भन्‍ने बेहोराको प्रतिवादी गणेशमान सिंह बस्नेतका साक्षी रामहरि थापाले गरेको बकपत्र । 

इन्द्रमान सिंहका ५ छोरामा जेठा विष्णुमान सिंह, माइला हेममान सिंह, साहिँला पहलमान सिंह, काहिँला बद्रिमान सिंह र कान्छा यज्ञमान सिंह हुन् । जेठा विष्णुमानका छोरा जगतमान, माहिला हेममान सिंहको छोरा डिल्लीमान, साहिँला पहलमान सिंहको छोरा गणेशमान, काहिँला बद्रिमानका छोरा बखतमान र बखतमानका छोरा प्रतिवादी आनन्द प्रताप र कान्छा यज्ञमानको छोरा पदममान सिंह हुन् । जगतमान सिंहको छोरा धनमान सिंह, डिल्लीमानको सन्तान नभएको, बखतमानको छोरा आनन्द प्रताप सिंह, गणेशमानको छोरा बोधमान सिंह र बद्रीमान सिंह, पहलमान सिंहको जेठो छोरा परलोक भइसकेको र माहिलो छोरा उत्तममान सिंह, साहिँलो सुरेन्द्रमान र कान्छो वीरेन्द्रमान सिंह हुन् । वादी अयोध्यादेवी वीरेन्द्रमान सिंहकी श्रीमती हुन् । वादी अयोध्यादेवी प्रतिवादी गणेशमानकी भाउजू, आनन्द र धनमानकी ठुलीआमा नाताकी हुन् भन्‍ने बेहोराको वादीले खुलाएको नाता सम्बन्धी बयान । 

इन्द्रमान सिंहका विष्णुमान, हेममान, बद्रिमान, पहलमान, यज्ञमानसमेत ५ छोरा हुन् । जेठा विष्णुमानका छोरा जगतमान, हेममानका छोरा डिल्लीमान, बद्रीमानको छोरा बखतमान, पहलमानका छोरा गणेशमान र यज्ञमानका छोरा पदममान हुन् । जगतमानका छोरा धनमान, डिल्लीमानको सन्तान नभएको, बखतमानको छोरा आनन्दमान, गणेशमानको छोरा बोधमान र बद्रिमान, पदममान सिंहको जेठो छोरा परलोक भइसकेको, माहिला उत्तम, साहिँला सुरेन्द्र र कान्छा वीरेन्द्र हुन् । गणेशमान सिंहको भाउजु र आनन्द र धनमानकी ठुलीआमा नाताकी यी वादी हुन् भन्‍ने बेहोराको प्रतिवादी गणेशमान सिंह बस्नेतले नाता सम्बन्धमा गरेको बयान । 

मैले पेस गरेको तायदातीमा उल्लिखित जग्गाहरूमध्ये मेरा नाममा आएको पैतृक सम्पत्ति भनेको मिति २०३१।०१।१९ मा तत्कालीन भूमिसुधार कार्यालय, काठमाडौंमा भरेको ७ नं. फाँटवारीमा उल्लिखित जग्गामध्ये भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम राख्‍न पाउने जग्गा मात्र हो । सो जग्गा मिति १९९६।०५।१६ को लालमोहरबाट मेरा पिता जगतमान सिंहले पाउनुभएको हुँदा सो जग्गाबाट वादीले अंश पाउने अवस्था हुँदैन । असमान सिंहको हाँगातर्फका देवीमान र इन्द्रमान पहिले नै छुट्टिएको कुरालाई वादीले स्वीकार गरेको छ । वादीका पतिले ७ नं. फाँटवारी पनि अलग्गै भरेको छ । जग्गा नापजाँच र दर्तासमेत आ–आफ्नो नाममा भई व्यवहार प्रमाणबाट छुट्टीभिन्‍न भएको पुष्टि हुन्छ । तायदातीमा उल्लिखित ललितपुर उपमहानगरपालिका वडा नं. ५८, ६०, ६१ को घरजग्गामध्ये कि.नं. ५८ को जग्गा मिति २०२९।०८।२४ मा रूपराज शाक्यबाट राजीनामा गरी लिएको, कि.नं. ६१ को जग्गा मिति २०२७।०८।०३ मा हराचा ज्यापुबाट राजीनामा गरी लिएको र कि.नं. ६० को जग्गा न्हुच्छेलाल डंगोलले आमा देवकुमारी बस्नेतलाई मिति २०११।०२।२० मा छोडपत्र गरिदिएको जग्गा हुँदा सो जग्गाबाट पनि वादीले अंश पाउने होइन भन्‍ने बेहोराको प्रतिवादी धनमान सिंह बस्नेतले पेस गरेको निवेदन । 

काठमाडौं जिल्ला, भूतखेल गाउँ विकास समिति वडा नं. २च कि.नं. ५३ को २–३–३ को जग्गा प्रतिवादी गणेशमान सिंहका नाउँमा र ऐ.ऐ. कि.नं. ३१८ को ०–५–०, ऐ.ऐ. बाहिरी गाउँ विकास समिति वडा नं. ६ को कि.नं. २४६ को ०–६–२ र ऐ. कि.नं. २४७ को ०–६–२ जग्गा निजका छोराहरू केदारमान र बद्रीमानका नाममा दर्ता रहेको छ भन्‍ने बेहोराको प्रतिवादी धनमान सिंह बस्नेतले गरेको कागज । 

वादीहरूका पिताले नै आफ्नो जीवनकालमा ७ नं. फाँटवारी भरी सोमा उल्लिखित सम्पत्ति बिक्री व्यवहारसमेत गरिसकेको, वादी प्रतिवादीहरू तीन पुस्ताअघिका हाँगा छुटेका नातेदार भएकोमा प्रतिवादी धनमानका पिताले आफ्ना सन्तान दरसन्तानले खान पाउने गरी लालमोहर पाएको जग्गामा दाबी गर्न वादीलाई हक भएको नदेखिनुका साथै व्यवहार प्रमाणबाट नै यिनीहरू छुट्टिई बन्डा भइसकेको छैन भन्‍ने स्थितिसमेत देखिन नआएकोले अंश छुट्याइपाउँ भन्‍ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भनी काठमाडौं जिल्ला अदालतबाट मिति २०६२।०९।२० मा भएको फैसला । 

प्रतिवादीले वादी प्रतिवादी छुट्टीभिन्‍न भएको कुराको कुनै प्रमाण पेस गर्न सकेको छैन । मेरा ससुरा र पतिसमेतले कुनै पैतृक सम्पत्ति पाएको पनि छैन । ७ नं. फाँटवारी अलग भरेका कारणले मात्र छुट्टीभिन्‍न भएको भन्‍न मिल्दैन । यस्तो स्थितिमा लिनुपर्ने प्रमाणलाई प्रमाणमा नलिई र लिनु नपर्ने प्रमाणलाई प्रमाणमा लिई गरेको सुरू काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी फिराद दाबीबमोजिम इन्साफ पाउँ भन्‍ने बेहोराको वादीले पुनरावेदन अदालत पाटनमा दिएको पुनरावेदनपत्र । 

प्रतिवादीले दिएको तायदाती फाँटवारीमा बन्डा लाग्ने भनी सम्पत्ति देखाई रहेको अवस्थामा वादीले अंश नपाउने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा नमिली फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्‍ने पुनरावेदन अदालत पाटनको मिति २०६३।०८।२६ को आदेश ।

वादी प्रतिवादीहरू ३ पुस्ताअघिका हाँगा छुटेका नातेदार भएकोमा प्रतिवादी धनमानका पिताले आफ्ना सन्तान दरसन्तानले खान पाउने गरी लालमोहरबाट पाएको जग्गामा दाबी गर्न यी वादीलाई हक भएको नदेखिनुका साथै व्यवहार प्रमाणबाट छुट्टिई बन्डा भइसकेको छैन भन्‍ने स्थितिसमेत देखिन नआएकोले अंश छुट्याइपाउँ भन्‍ने वादी दाबी पुग्न नसक्‍ने भनी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भनी पुनरावेदन अदालत पाटनबाट मिति २०६४।०७।१३ मा भएको फैसला । 

वादीका पतिले पैतृक सम्पत्ति पाई आफ्नो नाममा दर्ता गराएको, भोग छुट्याएको वा सगोलको कुनै सम्पत्ति बिक्री गरेको देखिएको अवस्थामा मात्र अंशबन्डाको ३० नं.बमोजिम छुट्टीभिन्‍न भएको मान्‍नुपर्ने हुन्छ । तर त्यस्तो कुनै प्रमाण प्रतिवादीले पेस गरेको छैन । जगतमानले सगोलमा रहेको अवस्थामा दिएको निवेदनको आधारमा प्राप्त गरेको सम्पत्तिमा मुलुकी ऐन (सातौं संशोधन) पूर्वको व्यवस्था अनुसार सबै अंशियारको समान अंश हक रहने हुन्छ । ७ नं. फाँटवारी अलग अलग भरेको आधारमा मात्र छुट्टीभिन्‍न भएको मान्‍न मिल्दैन । प्रतिवादी स्वयंले प्रतिवादीका जिम्मामा अंश लाग्न सक्ने सम्पत्ति रहेको कुरालाई तायदाती फाँटवारीमा स्वीकार गरेबाट पनि वादी प्रतिवादी छुट्टीभिन्‍न नभएको पुष्टि हुन्छ । यस्तो स्थितिमा वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी फिराद दाबीबमोजिम प्रतिवादीबाट अंश छुट्याइपाउँ भन्‍ने बेहोराको वादीले यस अदालतमा दिएको पुनरावेदनपत्र । 

मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. मा सातौं संशोधन मिति २०३४।०६।२७ मा हुनुपूर्व कुनै अंशियारका नाममा जुनसुकै बेहोराबाट प्राप्त गरेको सम्पत्ति भए पनि सबै अंशियारमा समान भाग लाग्ने व्यवस्था रहेको र वादी प्रतिवादीबिच अंशबन्डा भएको आधिकारिक लिखित प्रमाण दर्ता तिरो भोग बिक्री व्यवहार अलगअलग नभएको र व्यवहार प्रमाणसमेतबाट छुट्टीभिन्‍न भएको नदेखिएको स्थितिमा प्रतिवादी धनमान सिंहका बाबु जगतमानले १९९६ सालमा लालमोहरबाट प्राप्त गरेका जग्गा निजी आर्जनको ठहराई वादी दाबी नपुग्ने भनी सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ६(क), ५४ र अंशबन्डाको १८ र ३० नं. को व्याख्यात्मक त्रुटि हुनुको साथै ने.का.प. २०५१ नि.नं. ४८५१, पृष्ठ ३९, ने.का.प. २०४७, नि.नं. ४०८३ पृष्ठ १८५, ने.का.प. २०५५ नि.नं. ६५८३ पृ. ४५३ मा प्रकाशित यस अदालतबाट प्रतिपादित कानूनी सिद्धान्तसमेतको प्रतिकूल देखिई न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिँदा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भनी यस अदालतबाट मिति २०६६।१०।०८ मा भएको आदेश । 

मूल पुर्खा इन्द्रमानका विष्णुमान, हेममान, बद्रीमान, पहलमान र यज्ञमानसमेतका ५ छोरा रहेकोमा हेममानको निःसन्तान मृत्यु भइसकेको र बाँकी ४ अंशियारहरूबिच अंशबन्डा भएको नदेखिएको र वादी यज्ञमानका छोरा पदममानकी श्रीमती भई निजले यज्ञमानतर्फको अंश पाउने हुँदा वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट ४ भागको १ भाग अंश वादीले छुट्याई लिन पाउने ठहर्‍याई फैसला गर्नुपर्नेमा वादी दाबी पुग्न नसक्ने भनी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६४।०७।१३ को फैसला त्रुटिपूर्ण देखिँदा सो फैसला उल्टी भई वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट वादीले ४ भागको १ भाग अंश छुट्याई लिन पाउने ठहर्छ भन्‍नेसमेत बेहोराको यस अदालतको संयुक्त इजलासबाट मिति २०७२।०१।०६ मा भएको फैसला ।

 

प्रतिवादी धनमान सिंह बस्नेतको तर्फबाट यस अदालतमा परेको पुनरावलोकन बेहोरा

म प्रतिवादीले आफ्नो प्रतिउत्तरमा बाजेहरूको बिचमा बन्डा भइसकेको हो, कुनै बन्डापत्र नभए तापनि व्यवहार प्रमाणबाट भिन्‍न भइसकेको तथ्य प्रमाणित हुन्छ भनी उल्लेख गरेको थिएँ । फिरादीका पति स्वयंले सप्तरी जिल्लामा ७ नं. फाँटवारी भर्नुभएको तथा मिति २०५०।१०।०७ मा फिरादी अयोध्यादेवीले सप्तरी जिल्ला, राजविराज नगरपालिका वडा नं. ८ को प्लट नं. १२ क्षेत्रफल ०–०–८–४ जग्गा राजीनामा गरी बेचबिखन गरेको र निजहरूले गरेको व्यवहार प्रमाणसमेतको आधारमा फिरादीले अंश पाउँ भन्‍ने दाबी गर्न पाउने हकदैया नै छैन भन्‍ने जिकिरसमेत गरेको थिएँ । “वादीले पतिको मृत्युपश्‍चात् घरजग्गा आफ्नो नाममा नामसारी गराई आफ्नो नामको अचल सम्पत्ति बिक्री गरेको देखिँदा व्यवहार प्रमाणबाट वादी प्रतिवादीबिच बन्डा भइसकेको देखिन आउने“ भन्‍ने पुनरावेदक वादी गंगाबहादुर महर्जन विरूद्ध राम महर्जन भएको अंश मुद्दामा मिति २०५२।१२।०२ मा फैसला भई नि.नं. ६२९२ मा सिद्धान्तसमेत प्रतिपादित भएको अवस्थामा यस अदालतको संयुक्त इजलासबाट वादी दाबी पुग्ने गरी भएको फैसला मिलेको छैन ।

असमान सिंह बस्नेतले लालमोहर किर्ते गरे भन्‍ने उजुरी परी ठहर हुँदा किर्ते जग्गा जफत भएकोमा तत्कालीन श्री ३ महाराज चन्द्र शमशेरसमक्ष किर्ते जग्गा फुकुवा गरिपाउँ भनी म निवेदकको बाजे विष्णुमान सिंहले चढाएको बिन्तिपत्रको आधारमा बाजे विष्णुमान सिंहको परलोकपश्‍चात् पिता जगतमानलाई सम्बोधन गरी मिति १९९६।०५।१६ मा तत्कालीन श्री ३ महाराज जुद्ध शम्शेरको समयमा जारी भएको लालमोहर सनदबमोजिम ६ खण्डको १ खण्ड जग्गा बकसिस फुकुवा हुँदा सो लालमोहरमा पोता तिरी सन्तान दरसन्तान पर्यन्त खान पाउने गरी लालमोहर गरी बक्स्यो भन्‍ने बेहोरा उल्लेख भएको छ । लालमोहरको सो वाक्यांशको आधारमा सो लालमोहरबमोजिम प्राप्त गरेको जग्गामा पूर्णतया मेरो पिताको र पिताको शेषपछि म निवेदक प्रतिवादीको एकलौटी हक रहेको तथ्य निर्विवाद रहेको छ । कानूनसरह लागु हुने लालमोहर सनदबमोजिम पिता जगतमानको हकको जग्गा अंशबन्डाको १८ नं. को संशोधित व्यवस्था लागु हुनुभन्दा पूर्वको सम्पत्ति भन्‍ने तर्क गरी विपक्षी वादीले अंशबन्डा पाउने ठहर गरिनु कानूनसङ्गत हुन सक्दैन । लालमोहरमा प्रयुक्त भएको “सन्तान दरसन्तान“ भन्‍ने शब्दावलीबाट पिता जगतमानको सन्तान दरसन्तानको क्रममा रहेका हकवालाले पाउने भनिएको हो । विपक्षी मेरा बाजेका भाइ अर्थात् कान्छा बाजे यज्ञमान सिंहका सन्तान भएकोले मेरा पिताले प्राप्त गरेको लालमोहरमा उल्लिखित सम्पत्तिमा विपक्षीको हक स्थापित हुन सक्ने न्यूनतम आधार पनि रहेको छैन ।

मेरो पिताले मिति १९९६।०५।१६ मा प्राप्त गरेको लालमोहरको जग्गा २०२१ सालको नापीमा मेरो नाउँमा दर्ता भएको र ७ नं. फाँटवारी पनि भरेको हो । भूमिसुधार ऐन, २०२१ लागु भएपछि हदबन्दीमा कारबाही चली तत्कालीन भूमि प्रशासन कार्यालय काठमाडौंबाट मिति २०३१।०१।१९ मा फैसला हुँदा मेरो नाउँको जग्गा क्षेत्रफल ४६९–४–२–० हदबन्दी हुने ठहरी फैसला भएको थियो । यदी फिरादीहरू एकासगोलमा रहेको भए उक्त जग्गा हदबन्दीमा जाने होइन, हाम्रोसमेत बन्डा लाग्ने सम्पत्ति हो भनी दाबी गरी उक्त हदबन्दीमा गएको जग्गा संरक्षण गर्नुपर्ने थियो । वादीसमेतका विवादित जग्गामा हक लाग्ने भए भूमि प्रशासन कार्यालयको मिति २०३१।०१।१९ को निर्णय बदर गराई आफ्नो हक कायम गराउनुपर्नेमा सोसमेत गरिएको छैन । अतः मेरो नाममा कायम रहेको सम्पत्ति सन्तान दरसन्तानले खान पाउने गरी लालमोहरबाट प्राप्त गरेको सम्पत्ति हुँदा यस अदालतको संयुक्त इजसालबाट वादी दाबी पुग्ने गरी भएको फैसला त्रुटिपूर्ण रहेको छ । सो फैसला बदर गरी तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरिपाउँ भन्‍ने बेहोराको प्रतिवादी धनमान सिंह बस्नेतको यस अदालतमा दायर पुनरावलोकनको निवेदन ।

यसमा आफ्ना पुर्खाले लालमोहर किर्ते गरेको भन्‍ने विष्णुमान सिंह बस्नेतको उजुरी परी किर्ते ठहर भएबाट सर्वस्व भएकोमा निवेदक प्रतिवादीका पिता जगतमानले आफ्ना पिता विष्णुमान स्वर्गीय भएपश्‍चात् छ भागको एक भागसम्म माग गरेबमोजिम लालमोहरबाट बकस पाउँदासमेत तिम्रो पिता विष्णुमान सिं बस्नेत परलोक भएको हुँदा ९५ सालदेखि पोता बिर्ता तिमीहरूको सन्तान दरसन्तानले खानु भनी पोता बिर्ता दिएको उक्त मिति १९९६।५।१६ को लालमोहरबाट देखिनुका अतिरिक्त यी वादी प्रतिवादीको अलग ७ नं. फाँटवारी देखिनुका अतिरिक्त भूमि सुधार लाग्दा यिनै प्रतिवादीको पक्षमा कानूनबमोजिमको हदसम्मको जग्गा कायम रही बाँकी जग्गा हदबन्दीभन्दा बढी भई जफत हुँदासमेत यी विपक्षी वादीले दाबी नगरेको परिप्रेक्ष्यमा प्रमाणको मूल्याङ्कन गर्दा मुलुकी ऐन, अंशबन्डाको ३० नं.को व्याख्यामा त्रुटि हुन गई ने.का.प. २०४०, अङ्क ७ पृष्ठ ३७८, नि.नं. १७०४, ने.का.प. २०४६, अङ्क ९ पृष्ठ ९४५, नि.नं. ३९३७, ने.का.प. २०४५, अङ्क १० पृष्ठ १०९६, नि.नं. ३६२५, ने.का.प. २०४२ अङ्क ७ पृष्ठ ६४० नि.नं. २४२२ मा प्रतिपादित सिद्धान्तसमेतको विपरीत भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) अनुसार प्रस्तुत मुद्दामा पुनरावलोकनको निस्सा प्रदान गरिदिएको छ भन्‍ने बेहोराको मिति २०७३।०६।१४ मा यस अदालतबाट भएको आदेश ।

 

यसमा देहायको कार्य सम्पन्‍न गरी नियमानुसार पेस गर्नु भन्‍ने यस अदालतको आदेशः–

(क) प्रस्तुत मुद्दाका पक्ष विपक्षले के कुन मितिमा भूमि सुधारमा ७ नं. फाँटवारी भरेका हुन् ? को कस्को नाउँबाट सो फाराम भरिएको छ सो सम्बन्धमा पक्ष विपक्षबाट स्पष्ट विवरण खुलाउन लगाई सोको प्रतिलिपि सम्बन्धित कार्यालयबाट झिकाउनू ।

(ख) वादी अयोध्यादेवीका पति पदममान सिंह बस्नेतले ७ नं. फाँटवारी भरेको जग्गाहरू निजको मृत्युपश्‍चात् निजका नाममा रहेका जग्गाहरू के कुन मितिमा पतिका नामबाट निज वादी अयोध्यादेवीका नाममा नामसारी गराई लिएको हो ? र सो नामसारी मिसिल के कुन कार्यालयमा रहेको छ ? सो सम्बन्धमा निज वादीबाट खुलाउन लगाई सो नामसारी मिसिल झिकाउनू ।

(ग) मुद्दा पुरानो हुँदा उल्लेख भएबमोजिम यथाशीघ्र काम सम्पन्‍न गर्नु भन्‍ने यस अदालतबाट मिति २०७९।०२।१२ मा भएको आदेश ।

 

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा समावेश भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावलोकनको निवेदनसहितको मिसिल संलग्न प्रमाण कागज अध्ययन गरियो ।

पुनरावेदक प्रतिवादी धनमान सिंह बस्नेतको तर्फबाट उपस्थित हुनु भएका विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा र श्री सुन्दरलाल चौधरी तथा विद्वान् अधिवक्ताद्वय श्री सुदिप पाठक र श्री कृष्ण थापाले वादी प्रतिवादीहरू व्यवहार प्रमाणबाट बाबुबाजेकै पालामा छुट्टीभिन्‍न भई बसेका हुन् । वादीका पति २०२० सालदेखि राजविराज सप्तरीमा बसेका थिए भने प्रतिवादीहरू काठमाडौं र ललितपुरमा बस्दै आएका छन् । २०२० सालदेखि अलगअलग ठाउँमा बस्दै आएका वादी प्रतिवादीहरूबिच प्रस्तुत मुद्दाको फिराद परेको मितिसम्म पनि मानो नछुट्टिएको होला भनी अनुमान गर्न मिल्ने होइन । वादीले अंशबन्डा भएको लिखत नै छैन भनी लिएको दाबीको आधारमा मात्र यी वादी प्रतिवादीबिच हालसम्म अंशबन्डा नभएको भन्‍ने निष्कर्षमा पुग्न मिल्ने हुँदैन । फिरादीको पतिको २०२९ सालमा परलोक भएको तर फिराद मिति २०५०।१०।१८ मा मात्र परेको छ । प्रस्तुत फिराद पर्नुभन्दा अघि मिति २०५०।१०।०७ मा फिरादी स्वर्गीय अयोध्यादेवीले सप्तरी जिल्ला, राजविराज नगरपालिका वडा नं. ८ को प्लट नं. १२ को क्षेत्रफल ०–०–८–४ जग्गा राजीनामा गरी बेचबिखन गरेको प्रमाणबाट यी वादी प्रतिवादी व्यवहार प्रमाणबाट छुट्टीभिन्‍न भएको प्रस्ट छ । वादी पक्षले आफ्नो नाममा रहेको सम्पत्तिको अलग ७ नं. फाँटवारी भरेको छ । वादी पक्षले दाबी गरेको सम्पत्ति प्रतिवादीका बाबुबाजेले लालमोहरबाट प्राप्‍त गरेको सम्पत्ति हो । लालमोहरमा स्पष्‍टसँग विष्णुमान सिंहको सन्तान दरसन्तानले मात्र पाउने भनी उल्लेख भएको अवस्थामा विष्णुमानको भाइतर्फका हाँगाका यी वादीले उक्त सम्पत्तिमा दाबी गर्न हक रहँदैन । प्रतिवादी धनमान सिंह बस्नेतले पेस गरेको तायदातीमा उल्लेख भएको बन्डा लाग्न सक्ने भनिएका सम्पत्तिहरू हदबन्दीमा परी जफत भएका जग्गाहरूलाई भनिएको हो । तायदातीमा “बन्डा लाग्न सक्ने“ भन्‍ने वाक्यांश परेको आधारमा वादीले अंश पाउने भनी अर्थ गर्न मिल्दैन । संयुक्त इजलासबाट विषयवस्तुको तथ्य र सन्दर्भकै अर्को अर्थ लाग्ने गरी फैसला भएको छ । भूमिसूधार लागु हुँदाका बखत १ नं. लगत र ७ नं. अनुसूची फाराम भरी पृथक पारिवारिक लगत देखाई स्वतन्त्र व्यवहार गरी आएको र लामो समयदेखि अलगअलग स्थानमा बसी स्वतन्त्रपूर्वक जग्गा सुक्रीबिक्री वा व्यवहार गरेको, समयको अन्तराल र अंशियारका पुस्ताको तहले समेत व्यवहार प्रमाण पुष्टि गर्ने अवस्थामा वादीले प्रतिवादीबाट अंश पाउने ठहर्‍याई भएको यस अदालतको संयुक्त इजलासको फैसला नमिलेकोले उल्टी गरिपाउँ भनी बहस गर्नुभयो ।

प्रत्यर्थी वादी उत्तमकुमार सिंह बस्नेतको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री श्यामप्रसाद खरेल र श्री सतिशकृष्ण खरेल तथा विद्वान् अधिवक्ता श्री विदुर विक्रम थापाले वादी प्रतिवादीबिच नाता सम्बन्धमा विवाद छैन । वादी प्रतिवादी छुट्टीभिन्‍न भएको कुनै प्रमाण प्रतिवादीले पेस गर्न सकेको पनि छैन । वादीका नाउँमा नामसारी दाखेल खारेज भई कुनै पैतृक सम्पत्ति आएको छैन । असमान सिंहले लालमोहर किर्ते गरेको ठहरेपछि श्री ३ महाराज जुद्ध शमसेरको समयमा जारी भएको लालमोहर सनदबमोजिम यी प्रतिवादीका हजुरबुबा विष्णुमान सिंहको नाउँमा ६ खण्डको १ खण्ड जग्गा के कुन आधारमा आयो भन्‍ने कुरा प्रतिवादीले खुलाउन सकेको छैन । प्रतिवादीले विष्णुमानकै पालामा नरम करम मिलाई बन्डा भएको भनी जिकिर लिएकोमा फिरादीका ससुरा यज्ञमान र पति पदममानले अंश पाएको देखिनुपर्दथ्‍यो । घर व्यवहार मिलाउन नरम करम मिलाई बन्डा गरेको भए कुन मितिमा के कति सम्पत्ति लिएर को कसको बिचमा बन्डा भएको हो भन्‍ने कुरा देखिनुपर्छ तर प्रस्तुत मुद्दामा त्यस्तो अवस्था देखिएको छैन । प्रतिवादीले पेस गरेको तायदाती फाराममा बन्डा लाग्न सक्ने सम्पत्ति भनी उल्लेख हुनु भनेकै यी वादी प्रतिवादीबिच रीतपूर्वकको अंशबन्डा नभएको स्वीकारोक्ति प्रमाण हो । बन्डा नलाग्ने भन्‍नु र बन्डा लाग्न सक्ने भन्‍नु फरक कुरा हो । पक्ष स्वयम्‌ले बन्डा लाग्न सक्ने सम्पत्ति भनी स्वीकार गरेको अवस्थामा बहसका क्रममा अन्यथा जिकिर लिएर हुँदैन । हदबन्दीमा भएको निर्णयका आधारमा अंश पाइसकेको भनी अनुमान गर्न मिल्दैन । साथै तत्कालीन भूमि प्रशासन कार्यालय काठमाडौंको मिति २०३१।०१।१९ को निर्णयले अंश पाउने नपाउनेमा तात्त्िवक फरक पार्दैन । लालमोहरमा सन्तान दरसन्तान भन्दैमा अंश एकलौटी हुन सक्दैन । व्यवहार प्रमाणबाट पिता पुर्खाकै पालादेखि छुट्टीभिन्‍न भइसकेको भनी जिकिर लिने प्रतिवादीले सोबमोजिमको प्रमाण पेस गर्न नसकेको अवस्थामा फिराद दाबीबमोजिम वादीले प्रतिवादीबाट अंश पाउने ठहर्‍याई यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भनी बहस गर्नुभयो ।

यसमा, वादी प्रतिवादीहरू मूल पुर्खा इन्द्रमानका सन्तान हौँ, निजका सन्तानहरूमा रीतपूर्वकको अंशबन्डा भएको छैन । पैतृक र सोबाट बढेबढाएको सम्पूर्ण सम्पत्ति प्रतिवादी धनमान सिंहसँग भएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी प्रतिवादीहरूबाट ४ भागको १ भाग अंश दिलाइपाउँ भन्‍ने वादी अयोध्यादेवीको फिराद दाबी भएकोमा वादी प्रतिवादी पिता पुर्खाको पालामा नै व्यवहार प्रमाणबाट छुट्टीभिन्‍न भई बसेको हुँदा वादीले अंश पाउने होइन भन्‍ने प्रतिउत्तर जिकिर रहेको देखियो । सुरू काठमाडौं जिल्ला अदालतबाट वादी दाबी नपुग्ने ठहर्‍याई भएको फैसला तत्कालीन पुनरावेदन अदालत पाटनबाट सदर भएको रहेछ । सोउपर वादीको यस अदालतमा मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी परेको निवेदनमा यस अदालतबाट निस्सा प्रदान भई तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई वादीले प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट ४ भागको १ भाग अंश छुट्ट्याई लिन पाउने ठहर भएको देखियो । यस अदालतको संयुक्त इजलासबाट भएको सोही फैसलाउपर चित्त नबुझाई प्रतिवादीको तर्फबाट यस अदालतमा मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा पेस हुन आएको देखियो ।

उल्लिखित तथ्य र पुनरावेदन जिकिर भएको प्रस्तुत मुद्दामा पुनरावेदक/प्रतिवादी र प्रत्यर्थी/वादी दुवैतर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको तर्कपूर्ण बहस जिकिरसमेत मनन गरी देहायका प्रश्‍नहरूको निरूपण गर्नुपर्ने देखियोः–

(क) वादी र प्रतिवादीहरूबिच नाता पुस्तामा विवाद छ वा छैन ?

(ख) वादी प्रतिवादीहरूबिच अंशबन्डा भएको अवस्था हो वा होइन ? वादीले प्रतिवादीबाट अंश पाउनुपर्ने अवस्था देखिन्छ वा देखिँदैन ?

(ग) वादीले अंश पाउनुपर्ने भनी दाबी गरेको सम्पत्ति के कस्तो प्रकृतिको सम्पत्ति हो ? र सो सम्पत्तिबाट वादीले अंश पाउनुपर्ने हो वा होइन ?

(घ) वादीले अंश पाउने ठहर्‍याएको यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मिलेको छ वा छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ?

 

२. अब पहिलो प्रश्‍न वादी र प्रतिवादीहरूबिच नाता पुस्तामा विवाद छ वा छैन ? भन्‍नेतर्फ विचार गर्दा फिराद दाबी, प्रतिउत्तर जिकिर, नातामा गरेको बयान तथा साक्षीको बकपत्रसमेतबाट वादी प्रतिवादीबिचको नाता सम्बन्ध देहायको पुस्तावलीबमोजिमको देखिन आउँछः–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

३. उक्त पुस्तावली हेर्दा, प्रतिवादीका हजुरबुबा स्वर्गीय विष्णुमान र फिरादी अयोध्यादेवीको ससुरा स्वर्गीय यज्ञमान स्वर्गीय इन्द्रमानको छोराहरू भई दाजुभाइ नाताका रहेको तथ्यमा विवाद रहेन । फिरादी स्वर्गीय अयोध्यादेवी प्रतिवादी धनमान सिंह बस्नेतको आफ्नै हाँगाको काकी नाताको नभई प्रतिवादी धनमानका हजुरबुबा विष्णुमानका कान्छा भाइ स्वर्गीय यज्ञमानको छोरा स्वर्गीय पदममानको श्रीमती देखिँदा हजुरबुबाको हाँगाबाट छुट्टिएको, नातामा काकी पर्नेसम्म देखिन्छ । यसबाट फिरादीको मुद्दा सकार गर्ने छोरा वादी उत्तमकुमार सिंह बस्नेत र पुनरावेदक प्रतिवादी धनमान मूल पुर्खा इन्द्रमानको हाँगाबाट छुट्टिएका चौथो पुस्ताका दाजुभाइ नाताका व्यक्ति देखिन आउँछन् । वादी प्रतिवादीको फिराद तथा प्रतिउत्तर एवम् निजहरूले अदालतमा आई गरेको बयानबाट उल्लिखित नाता पुस्तामा विवाद देखिन नआए तापनि यस अदालतको संयुक्त इजलासबाट भएको फैसलामा निज अयोध्यादेवीलाई यज्ञमानको पत्‍नी भएको आधार मानी गरेको फैसला नाता पुस्ताका दृष्टिले सो हदसम्म गलत तथ्य उल्लेख भई मिलेको देखिएन । तथापि नाता पुस्तामा विवाद नहुनु वा अंशबन्डा गर्नुपर्ने नाता सम्बन्धको व्यक्ति हुनु भनेको नै स्वतः अंश पाउने भनी अर्थ गर्न मिल्दैन । यसका लागि निजहरूबिच पहिले अंशबन्डा भई भिन्‍न भए नभएको यकिन हुन आवश्‍यक हुन्छ ।

४. प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरूबिच अंशबन्डा भएको अवस्था हो वा होइन ? र वादीले प्रतिवादीबाट अंश पाउनुपर्ने अवस्था छ वा छैन ? भन्‍ने प्रश्‍न मुख्य प्रश्‍नको रूपमा रहेको छ । अब उक्त प्रश्‍नको निरूपणका लागि तत्काल कायम रहेको मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं. मा मिति २०३४।०९।२७ मा भएको सातौँ संशोधनपूर्व र सो संशोधनले गरेको कानूनी व्यवस्थालाई सुक्ष्म रूपमा हेर्नुपर्ने देखियो । उक्त संशोधनपूर्व अंशबन्डा भएको ठहर हुनका लागि रीतपूर्वकको बन्डापत्र खडा गरी रजिस्ट्रेसन पारित गरेकै हुनुपर्ने अनिवार्यता थियो । सो नम्बरमा तत्काल कायम रहेको “अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम बन्डा छुट्टयाई बन्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिस्ट्रेसन गर्नुपर्नेमा सो गरी राख्‍नुपर्छ । सोबमोजिम नभएको बन्डा सदर हुँदैन“ भन्‍ने कानूनी व्यवस्थाले पारित बन्डापत्रको लिखतबाहेक अन्य आधारबाट अंशबन्डा भएको मान्‍न मिल्ने अवस्था थिएन । तर मिति २०३४।०९।२७ मा भएको उक्त संशोधनले उल्लिखित व्यवस्थामा प्रतिबन्धात्मक वाक्यांश थप गरी रितपूर्वकको बन्डापत्र पारित नभएको अवस्थामा पनि घरसारमा नरम करम मिलाई आफ्नो अंश भागको सम्पत्ति दाखिल खारेज, भोग बिक्री व्यवहार आदि भएको छ भने त्यस्तो बन्डाले मान्यता पाउने कानूनी व्यवस्था गर्‍यो जुन यस प्रकार छ “…तर यो ऐन प्रारम्भ हुँदासम्ममा बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम करम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो–आफ्नो हिसाब भाग शान्तिबमोजिम लिई पाई दाखिल खारेजसमेत गराइसकेको वा बन्डाबमोजिम आफ्नो–आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको ठहरेमा पछि बन्डापत्र रजिस्ट्रेसन भएको छैन वा बन्डा घटीबढी असल कमसल भयो भन्‍न पाउँदैन । रजिस्ट्रेसन नभए पनि बन्डा भएको सदर हुन्‍छ । पाउने अंश भन्दा घटी अंश जिउनी लिएकोमा र अंश छोडपत्र गरेकोमा भने रजिस्ट्रेसन भएको हुनुपर्छ ।“

५. अंशबन्डाको महलमा भएको उल्लिखित संशोधनले अंशबन्डासम्बन्धी साबिकको कानूनी व्यवस्थामा धेरै महत्त्वपूर्ण परिवर्तन ल्याएको देखिन्छ । सो संशोधनले उक्त ऐन लागु भएको मिति अर्थात् मिति २०३४।०९।२७ लाई आधार मानी (अगत याा मबतभ) सो पूर्व भएको व्यवहार प्रमाणबाट बन्डा भइसकेको देखिएमा रीतपूर्वकको बन्डापत्र खडा गरी रजिस्ट्रेसन पारित नै नभएको भए पनि बन्डा भएको मानिने व्यवस्था गरेको र उक्त व्यवस्थालाई हाल कायम मुलुकी देवानी संहिता, २०७४ को दफा २१८(२) ले समेत निरन्तरता दिएको देखिँदा के कस्तो अवस्थामा व्यवहार प्रमाणबाट बन्डा भएको मानिने हो भन्‍ने सम्बन्धमा हेर्नुपर्ने देखिन आयो ।

६. सो सम्बन्धमा हेर्दा, अंशबन्डाको महलको ३० नं.ले घरसारमा नरम करम मिलाई आ–आफ्नो भाग लिई पाई दाखिल खारेज गरेको वा आ–आफ्नो भागको अचल सम्पत्ति छुट्टाछुट्टै भोग वा बिक्री व्यवहार गरेको हुनुपर्ने भन्‍नेसम्म देखिए तापनि व्यवहार प्रमाणबाट भिन्‍न भएको मानिने सम्पूर्ण अवस्थाको उल्लेखन गरेको स्थिति छैन । वस्तुतः व्यवहार प्रमाणको यकिन गर्ने विषय मुद्दाको तथ्य, सम्पत्तिको प्रकृति तथा वादी प्रतिवादीहरूको आचरण र व्यवहारलगायतका समग्र घटनाक्रम र परिस्थिति हेरी न्यायकर्ताले निर्क्यौल गर्ने विषय देखिन आउँछ । यसलाई कुनै निरपेक्ष नियम वा गणितीय सूत्रका रूपमा हेरिनु उचित हुँदैन ।

७. प्रस्तुत मुद्दाको तथ्य हेर्दा वादी प्रतिवादीहरू कहिलेसम्म एकै ठाउँमा बसेको वा यो यस मितिमा चुल्हो मानो छुट्टी अलग भएको भन्‍ने कुनै स्पष्ट तिथि मिति वा समयरेखा (तष्mभ ष्लिभ) खुल्न आएको देखिँदैन । फिरादपत्र/प्रतिउत्तर पत्रबाट वादी प्रतिवादीहरूको बसोबासको वतन पनि कसैको राजविराज, कसैको बालुवाटार, कसैको चोभार आदि फरकफरक ठाउँको देखिन्छ । यद्यपि वतन फरक भएको भन्‍ने आधारमा मात्र बन्डा भएको निष्कर्षमा पुग्नु उचित हुँदैन तथापि यी वादी प्रतिवादीहरू आफ्नो स्मृतिभन्दा पूर्व (तष्mभ ष्mmझयचष्ब)ि देखि नै पुस्तौनी फरक वतनमा बसोबास गर्दै आइरहेको भनी जिकिर लिएको अवस्थामा सो तथ्य पनि व्यवहार प्रमाणको दृष्टिले विचारणीय देखिन आएको छ । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको वतन ललितपुर रहेकोमा वादीका पति पदममान २०२० साल पूर्वदेखि नै राजविराजमा बसोबास गरी आएको भन्‍ने देखिन्छ । फिरादी अयोध्यादेवीको मुद्दा सकार गर्ने वादी उत्तमकुमारले मिति २०३६।०६।०७ मा र स्वयम् फिरादी अयोध्यादेवीले समेत मिति २०४५।०२।२१ मा जिल्ला प्रशासन कार्यालय, राजविराजबाट नागरिकताको प्रमाणपत्र लिएको देखिँदा निजहरू लामो समयदेखि फरकफरक वतनमा बसेको स्पष्ट हुन आउँछ ।

८. समयको अस्वाभाविक अन्तराल पनि व्यवहार प्रमाणबाट बन्डा भए नभएको हेरिनुपर्ने अर्को महत्त्वपूर्ण पक्ष हो । कानूनले अंशमा दाबी गर्नका लागि निश्‍चित हदम्याद निर्धारण नगरेको भए तापनि व्यवहार प्रमाणको दृष्टिले समयको अस्वाभाविक अन्तराल आफैँमा अलग व्यवहारको सजीव प्रमाण हुन पुग्छ । वादी प्रतिवादीहरू स्वर्गीय इन्द्रमानका छोरा अर्थात् हजुरबुबाकै हाँगाबाट फाटेकोमा तेस्रो चौथो पुस्तामा आएर अंशमा दाबी गरेको अवस्था छ । फिराद लेखबाट फिरादीको पति अदालतमा कार्यरत कर्मचारी भन्‍नेसमेत देखिन्छ । कानूनी व्यवस्थाका सामान्य जानकारसमेत देखिने निजले आफ्नो जीवनकालमा अंशको दाबी गरेको नदेखिएबाट पनि निजले अन्य दाजुभाइसँग छुट्टीभिन्‍न भई आफ्नो जानी छुट्टै व्यवहार गरेको भन्‍ने निष्कर्षमा पुग्नु स्वाभाविक हुन आउँछ । फिरादीका पतिको २०२९ सालमा मृत्यु भएपछि पनि वादीले लामो समयसम्म अंशमा दाबी गरेको अवस्था देखिँदैन । निजले फिरादपत्रमा “… मेरो पतिको सप्‍तरी जिल्ला अदालतमा कार्यरत रहँदाकै अवस्थामा २०२९ सालमा मृत्यु भएपछि प्रतिवादी धनमान सिंह बस्नेतसँग अंश माग्दा निजले मूल पुर्खा इन्द्रमानका सबै छोराहरूका सन्तान नजुटी बन्डा हुन सक्दैन भनी जग्गा तथा घरको आयस्ताको ४ खण्डको १ खण्ड भनी २०३० सालदेखि नै केही रकम दिँदै आएका थिए ।…“ भन्‍ने बेहोरा उल्लेख गरेकोमा निजले आफ्नो कथनबमोजिम प्रतिवादीले रकम दिँदै आएको भन्‍ने प्रमाण देखाउन नसकेकोबाट पनि वादी प्रतिवादीहरू आ–आफ्नो अंश भाग जानी भोग गर्दै आएको भन्‍ने निष्कर्षमा पुग्नुपर्ने हुन आउँछ ।

९. मुलुकी ऐन अंशबन्डाको ३० नं. को संशोधित कानूनी व्यवस्थाको मर्म अंशियारहरूले मिति २०३४।०९।२७ पूर्व नै आ–आफ्नो सम्पत्ति आ–आफ्नो भाग जानी भोग बिक्री व्यवहार, नामसारी, दाखेल खारेज आदि गरेको छ भने पछिबाट बन्डा भएको छैन भनी दाबी लिन नमिल्ने भन्‍ने हो । उक्त कानूनी व्यवस्थाको व्याख्या गर्दा आफ्नो सम्पत्ति नासे मासेको अंशियारले आफ्नो पौरख र उद्यमशीलताबाट सम्पत्ति आर्जन वा बढोत्तरी गरेको अंशियारउपर अंशमा दाबी लिने अनपेक्षित अवस्थाको सिर्जना हुन नसकोस् भन्‍नेतर्फ सजग रहन आवश्यक देखिन्छ । दशकौंअघि हजुरबुबा पुस्ताबाट अलग व्यवहार गरी आएका वादी प्रतिवादीहरूको हाल कायम सम्पत्तिको अनुपात हेरी सम्पत्तिमा समानुपातिकता नदेखिएको भनी बन्डा नभएको निष्कर्षमा पुग्नु उल्लिखित कानूनी व्याख्याको विपरीत हुन जाने देखिन्छ । हाल देखिएको वादी प्रतिवादीबिचको सम्पत्तिको असमानतालाई विश्‍लेषण गर्दा निजहरू हजुरबुबाको पुस्तादेखि नै झन्डै नब्बे वर्षअगाडिदेखि भिन्‍न व्यवहार गर्दै आएको तथ्यलाई अनदेखा गर्न मिल्ने देखिएन ।

१०. प्रस्तुत मुद्दामा फिरादीको पतिको नाउँमा विभिन्‍न कित्ता जग्गाहरू रहे भएको तथ्यमा विवाद छैन । भूमि सूधार ऐन, २०२१ लागु हुँदाका बखत निजले भरेको १ नं. लगत र ७ नं. फाँटवारीबाट निजको नाउँमा एवं फिरादी अयोध्यादेवीको नाउँमा सप्‍तरी जिल्लाको नगर पन्चायत, वनौली ग्राम पन्चायत, हनुमाननगर वडा नं. ८ मा कित्ता नं. १२, ५, ७०२, ४१, ६६, १५१, १५२, ४१८, १७०४ र १७८७ जग्गाहरू देखिएका छन् । उक्त फाँटवारीमा निजले परिवारका सदस्यको महलमा यी प्रतिवादीहरूलाई देखाएको अवस्था छैन । प्रतिवादीहरूले पनि आ–आफ्नो छुट्टै १ नं. लगत र ७ नं. फाँटवारी भरी एकअर्कालाई परिवारको सदस्य नदेखाएको अवस्था छ । वादी प्रतिवादीहरूले उक्त सम्पत्ति स्वतन्त्र रूपमा नामसारी दाखिल खारेज बिक्री व्यवहारसमेत गरेको देखिन्छ । उक्त बिक्री व्यवहारमा पनि अन्य अंशियार नदेखाई आफ्नो एकलौटी हक भोग स्वामित्वको भन्‍ने बेहोरा उल्लेख गरेको देखिन्छ । सो व्यवहारउपर वादी प्रतिवादीको एकआपसमा नालेस उजुर आदि परेको अवस्था छैन । वादीले आफूले नामसारी दाखिल खारेज गरेका सम्पत्ति पैतृक होइन, निजी आर्जनको हो भनी फिरादमा दाबी लिएको वा सो कुराको प्रमाण पेस गरेको अवस्थासमेत नदेखिँदा यी वादी प्रतिवादीहरू धेरै लामो समय अगाडिदेखि आ–आफ्नो भागको सम्पत्ति लिई अलगै बसी आ–आफ्नो जानी व्यवहार गरेको पुष्टि हुन आउँछ । यस स्थितिमा निजहरू व्यवहार प्रमाणबाट भिन्‍न भएको भनी मान्‍नुपर्ने देखिन आउँछ ।

११. प्रस्तुत मुद्दामा वादीले अंश पाउने ठहराएको यस अदालतको संयुक्त इजलासको फैसला आफैँमा व्यवहार प्रमाणबाट भिन्‍न भएको प्रमाणको दृष्टान्त हो । सुरू र पुनरावेदन अदालतले दाबी नपुग्ने ठहर गरेको फैसला उल्टी गरी वादीले अंश पाउने ठहर गर्दा निजले अंश पाउने ठहरेको कित्ताको विवरण र हिस्सा उल्लेख गर्नु कानूनी व्यवस्था र न्यायिक अभ्याससमेत रहे भएकोमा प्रस्तुत मुद्दामा मातहत अदालतको फैसला उल्टी गरी अंश पाउने ठहर गरेको संयुक्त इजलासले प्रतिवादीको नाउँको के कुन सम्पत्तिबाट के कति हिस्सा बन्डा पाउने हो कित्ता नम्बरसमेतको स्पष्ट विवरण खुलाई कार्यान्वयनयोग्य फैसला लेख्‍न नसक्नु आफैँमा व्यवहारबाट अलग भएको तथ्यको ज्वलन्त प्रमाण बन्‍न पुगेको छ । यसबाट वादी प्रतिवादीहरूको पारिवारिक संरचना, समयको लामो अन्तराल, पुस्तान्तरण र निजहरूको व्यवहार तथा आचरणसमेत व्यवहार प्रमाणका दृष्टिले विचारणीय हुने भनी मान्‍नुपर्ने हुन्छ ।

१२. यस सम्बन्धमा यस अदालतबाट विभिन्‍न मुद्दामा गरिएका व्याख्या र प्रतिपादित कानूनी सिद्धान्त पनि प्रस्तुत मुद्दामा आकर्षित हुने अवस्था देखिएकोले देहायका नजिर सिद्धान्तको उल्लेख गर्नु उपयुक्त देखियोः–

(क) पुनरावेदक वादी मणिरत्‍न सापकोटा विरूद्ध प्रतिवादी शशिराम सापकोटासमेत भएको अंश मुद्दामा “वादी प्रतिवादीहरूले भूमिसुधार लागु हुँदाका बखत १ नं. तथा ७ नं. फाराम भरी पृथक्‌पृथक् पारिवारिक लगत देखाई सो आधारमा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जासमेत प्राप्त गरेको तथा वादी प्रतिवादीबिच बन्डापत्रको रीतपूर्वकको कागज नभए पनि मिसिल संलग्न कागज तथा व्यवहार प्रमाणबाट बन्डा भइसकेको देखिन आएकोले अंश पाउँ भन्‍ने वादी दाबी पुग्न नसक्ने“ भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।

(ख) पुनरावेदक प्रतिवादी गंगाबहादुर महर्जन विरूद्ध वादी राम महर्जन भएको अंश चलन मुद्दामा “वादीले आफ्नो पिताको मृत्युपश्‍चात् आफ्नो नाममा नामसारी गराई आफ्नो भागको अचल सम्पत्ति बिक्री गरेको देखिँदा व्यवहार प्रमाणबाट वादी प्रतिवादीबिच बन्डा भइसकेको देखिन  आउने“ भन्‍ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।

(ग) पुनरावेदक वादी हरिहर पुरी विरूद्ध प्रतिवादी केशव पुरीसमेत भएको अंश चलन मुद्दामा “वादी प्रतिवादीहरूबिच छुट्टीभिन्‍न भएको पारित लिखतको अभाव भए तापनि व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरूका बाबुबाजे अगाडिदेखि नै छुट्टीभिन्‍न भई अलगअलग बसी भोग बिक्री व्यवहार गरी बसेका देखिएको र मुलुकी ऐन, अंशबन्डाको ३० नं. ले व्यवहार प्रमाणबाट छुट्टीभिन्‍न भएको देखिएको अवस्थामा बन्डा लिखत नै हुनुपर्ने अनिवार्यता नहुने“ भन्‍ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ ।

(घ) पुनरावेदक वादी आशाकाजी श्रेष्ठसमेत विरूद्ध प्रतिवादी नारानदास श्रेष्ठसमेत भएको अंश चलन मुद्दामा “अंश मुद्दाका विवादित विषयहरूमा अंशियार पुस्ताका हाँगाको अवस्था र समयको अन्तराल, घरायसी लिखत एवम् मानो चुलो अलगको प्रमाण, भूमिसुधार कार्यालयमा भरिएको लगत, फाँटवारी एवम् भोग, दर्ता स्रेस्ता, अंशियार भनिएकै व्यक्तिहरूबिच भएका बिक्री व्यवहार कारोबार, जग्गा वा सम्पत्ति घटबढ हुन पनि सक्ने आदि आधार प्रमाणलाई व्यवहार प्रमाणको रूपमा मध्यनजर गरी न्याय निरूपण गर्नुपर्ने ।“ भनी यसै अदालतबाट सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।

 

१३. उल्लिखित मुद्दाहरूमा प्रतिपादित सिद्धान्तहरूको आलोकमा प्रस्तुत मुद्दाको विषयवस्तुलाई हेर्दा, वादी प्रतिवादीहरू निजको बाबुबाजेको पालादेखि नै अलग बसी अलगअलग भूमि सुधार लगत फाँटवारी भरी स्वतन्त्र रूपमा सम्पत्ति नामसारी दाखिल खारेज बिक्री व्यवहार गरेको समेतका प्रमाणबाट वादी प्रतिवादीहरू व्यवहार प्रमाणबाट भिन्‍न भइसकेको पुष्टि हुन आउँछ ।

१४. यसबाहेक, प्रस्तुत मुद्दामा फिरादीले दाबी गरेको सम्पत्तिको प्रकृतिबाट पनि वादीले उक्त सम्पत्तिमा दाबी गर्ने हकदैया निजलाई रहे भएको देखिन आउँदैन । सोको लागि वादीले अंश पाउनुपर्ने भनी दाबी गरेको सम्पत्ति के कस्तो प्रकृतिको सम्पत्ति हो ? र सो सम्पत्तिबाट वादीले अंश पाउनुपर्ने हो वा होइन ? भन्‍ने तेस्रो प्रश्‍नको विश्‍लेषण गर्नुपर्ने हुन आउँछ । वादी दाबीको जग्गा तत्कालीन श्री ३ महाराज जुद्ध शमशेरद्वारा मिति १९९६।०५।१६ मा जारी भएको लालमोहर सनदबमोजिम प्रतिवादीका पिता जगतमानले प्राप्त गरेको भन्‍ने तथ्यमा विवाद देखिँदैन । मिसिल संलग्न उक्त लालमोहरको बेहोरा हेर्दा यी वादी प्रतिवादीका बुढा बाजे इन्द्रमानका भाइ असमान सिंह बस्नेतले लालमोहर किर्ते गरे भनी उजुरी परी ठहर हुँदा किर्ते गरेको जग्गा जफत भएकोमा प्रतिवादी धनमान सिंह बस्नेतका बाजे विष्णुमान सिंहले चढाएको बिन्तिपत्रको आधारमा तत्कालीन श्री ३ महाराज जुद्ध शमशेरले छ खण्डको एक खण्ड जग्गा फुकुवा गरी प्रतिवादीका बाबु जगतमानलाई बक्सिस गरेको भन्‍ने देखिन्छ । सो लालमोहरको बेहोरा हेर्दा अन्य कुराको अतिरिक्त “… उठ्तीको जग्गा तिम्रा बाबु विष्णुमान सिंह बस्नेत परलोक भइसकेकाले ९५ सालको बालीदेखि पोता तिरी सन्तान दरसन्तान पर्यन्त खान पाउने गरी हाम्रा वर्ष ३४ को उमेर हुँदा तिम्रा नाउँमा पोता बिर्ताको लालमोहर गरिबक्स्यौँ । खातिर जामासङ्ग पोता बिर्ता जानी सन्तान दरसन्तान पर्यन्त भोग गर ।“ भन्‍ने उल्लेख भएको देखिन्छ । उक्त लालमोहर जगतमान सिंह बस्‍नेतको सन्तान दरसन्तानले खान पाउने गरी दिएको भन्‍ने देखिन आउँछ । प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरूले फिरादीका ससुरा यज्ञमान र प्रतिवादीका बाजे विष्णुमान सहोदर दाजुभाइ देखिएकोमा विष्णुमानको बिन्तिपत्रका आधारमा लालमोहरबाट प्राप्त (फिर्ता भएको) सम्पत्ति वादीको हाँगाले नपाउने भन्‍न नमिल्ने भनी जिकिर लिएको अवस्था छ । तर जगतमानका नाउँमा जारी उक्त लालमोहरमा स्पष्‍टतः “सन्तान दरसन्तान पर्यन्त भोग गर“ भन्‍ने उल्लेख भएको देखिँदा भतिजका नाउँमा जारी लालमोहरबाट प्राप्त सम्पत्तिमा काकाको हाँगातर्फ जानसक्ने अवस्था भएन । उक्त लालमोहर विष्णुमान सिंह परलोक भइसकेको आधारमा जगतमानलाई दिएको सम्म हो भनी मानेको खण्डमा पनि लालमोहरमा व्यक्त भाषाबाट विष्णुमानका भाइतर्फ उक्त सम्पत्ति जानसक्ने देखिएन । लालमोहरमा प्रयुक्त “सन्तान दरसन्तान“ भन्‍ने शब्दावलीले तल्लो पुस्ताका हकवालालाई बुझाउने देखिन्छ । सन्तान दरसन्तान शब्दावलीले समान पुस्ताका अंशियारलाई समेत बुझाउने भनी मान्‍न मिलेन । यस सन्दर्भमा पुनरावेदक वादी धनलक्ष्मी श्रेष्‍ठनी विरूद्ध बमबहादुर श्रेष्‍ठसमेत भएको बकस जग्गा मुद्दा मा यस अदालतले “सन्तान दरसन्तान“ भन्‍ने शब्दले जनाउने हकवालाहरू – सन्तान दरसन्तान भन्‍नाले छोरातिर जनाउने । दातव्यपत्रमा “छोरा छोरी“ भन्‍ने बोली परेमा मात्र छोरीले दाबा गर्न पाउने भनी व्याख्या गरेको देखिन्छ । सो व्याख्याको रोहमा समेत भतिजाको सन्‍तानले भोग गर्न पाएको जग्गा काकातर्फका हाँगामा समेत जाने भनी व्याख्या गर्नु उचित देखिएन । लालमोहर, बकसपत्र आदिको व्याख्या गर्दा दाताको इच्छालाई समेत मध्यनजर गर्नुपर्ने हुन्छ । लिखतमा प्रयुक्त बोली भाषाबाट नै दाताको इच्छा पहिल्याउने हो । प्रस्तुत मुद्दामा वादी दाबीको सम्पत्तिको मुख्य स्रोत नै लालमोहर देखिएको र उक्त लालमोहर स्वर्गीय विष्णुमान/जगतमानको सन्तान दरसन्तानले खान पाउने गरी जारी भएको देखिएको अवस्थामा जगतमानको काकातर्फको हाँगाका यी वादीहरूको समेत उक्त सम्पत्तिमा हक रहने भनी अर्थ गर्न मिलेन ।

१५. यस अतिरिक्त, प्रतिवादीको नाउँको सम्पत्तिमा जगतमानले लालमोहरबाट प्राप्त गरेको सम्पत्तिबाहेक अन्य सम्पत्तिसमेत छ भन्‍ने पनि मिसिलबाट खुल्न आउँदैन । प्रतिवादीले भूमि सुधार ऐन लागु भएपछि भरेको ७ नं. फाँटवारीको सबै सम्पत्ति सोही लालमोहरभित्रको भन्‍ने देखिन्छ । भूमि सुधार ऐन, २०२१ लागु भएपछि उक्त जग्गा हदबन्दीमा कारबाही चली भूमि प्रशासन कार्यालय, काठमाडौंबाट मिति २०३१।०१।१९ मा प्रतिवादीको नाउँको क्षेत्रफल ४६९–४–२–० जग्गा हदबन्दी हुने ठहरी निर्णय भएको देखिन्छ । तत्पश्‍चात् सो कार्यालयले ऐनले तोकेको अधिकतम हदभन्दा बढी जग्गाको सम्बन्धमा हकदाबी गर्ने कोही भए १५ दिनभित्र प्रमाणसहित हकदाबी गर्न आउनु भनी मिति २०३३।०६।२२ मा गोरखापत्रमा सूचनासमेत प्रकाशित गरेको देखिन्छ । सो सूचनाबमोजिम यी वादीले हदबन्दीमा परेको उक्त जग्गामा आफ्नोसमेत हक लाग्ने भनी उजुर बाजुर गरेको देखिएन । वादीले उक्त निर्णयलाई चुनौती दिई ठहरेको अवस्था भए निजले सोही मुद्दाबाट आफ्नो हक पाउने अवस्था हुन सक्नेमा सोबखत उजुरी नगरेको अवस्थामा हदबन्दीमा परी बाँकी रहेको जग्गामा प्रतिवादी धनमान सिंह बस्नेतबाहेक यी वादीलगायत अन्य अंशियारको समेत हक लाग्ने भन्‍नु न्यायोचित, तर्कसङ्गत र कानूनसम्मत समेत हुने देखिएन ।

१६. अब, वादीले अंश पाउने ठहर्‍याएको यस अदालतको संयुक्त इजलासबाट भएको फैसला मिलेको छ वा छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्‍ने अन्तिम प्रश्‍नतर्फ विचार गर्दा यस अदालतको संयुक्त इजलासले वादीले अंश पाउने ठहर गर्दा स्वयम् प्रतिवादीले तायदाती विवरण पेस गर्दा “अंश नलाग्ने“ र “अंश लाग्न सक्ने“ भनी सम्पत्तिलाई छुट्टै भागमा बाँडी तायदाती पेस गरी प्रतिवादीले नै वादीलाई अंशियारको रूपमा स्वीकार गरेको अवस्थामा व्यवहार प्रमाणबाट बन्डा भइसकेको भन्‍न नमिल्ने भनी आधार लिएको देखिन्छ । वादीतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरूको पनि तदनुरूपको जिकिर रहेको छ । तथापि प्रतिवादीले प्रतिउत्तरपत्र र सुरू अदालतमा गरेको बयान आदिमा यी वादीलाई अंशियारको रूपमा स्वीकार गरेको देखिँदैन । अंश लाग्ने नाताको रूपमा स्वीकार गर्नु र अंशियारको रूपमा स्वीकार गर्नु दुई अलग अवस्था हो । नाता स्वीकार गरेकोलाई अंशियार स्वीकार गरेको भन्‍न मिल्दैन । निजले पेस गरेको तायदाती विवरणमा “अंश लाग्न सक्ने“ भनी हदबन्दीमा परी मिति २०३१।०१।१९ मा भूमि प्रशासन कार्यालयले जफत गरेको जग्गाको विवरण उल्लेख गरेको देखिँदा सोको स्पष्ट अर्थ वादीले पाउने अवस्था थियो भने सोही जफत भएको हिस्साबाट पाउने अवस्था हुन्थ्यो । निजले मौकामा दाबी गरी अंशियार ठहरेको भए निजको हक जति जफत हुने अवस्था हुने थिएन भन्‍नेसम्म देखिन आउँछ । सोविपरीत वादीले आफूसमेत अंशियार देखाई हदबन्दीको निर्णयउपर मौकामा उजुरी नगरी प्रतिवादीको हकमा पर्ने हदबाहेकको अन्य जग्गा जफत भएको देखिएको अवस्थामा तायदाती विवरणमा लेखिएको बेहोराले प्रतिवादीले वादीलाई अंश दिनुपर्ने भनी स्वीकार गरेको भनी अर्थ गर्न मिलेन । यसप्रकार वादी प्रतिवादीहरूबिच व्यवहार प्रमाणबाट बन्डा भइसकेको पुष्टि भएको अवस्थामा वादीले अंश पाउने ठहर गर्दा मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं.को कानूनी व्यवस्था एवम् सोको मर्म र भावनासमेत विपरीत हुन जाने हुँदा वादीले अंश पाउने ठहराएको यस अदालतको संयुक्त इजलासको फैसला कायम हुन सक्ने अवस्था देखिएन ।

१७. तसर्थ, माथि विवेचित आधार कारण, कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतका आधारमा वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६२।०९।२० को फैसला सदर गरेको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०६४।०७।१३ को फैसला कानूनसम्मत भई मिलेको देखिएकोमा उक्त फैसला सदर हुनुपर्नेमा उल्टी गरी वादी दाबीबमोजिम वादीले चार भागको एक भाग अंश छुट्ट्याई लिन पाउने ठहर्‍याएको यस अदालतको संयुक्त इजलासको मिति २०७२।०१।०६ को फैसला मिलेको नदेखिँदा उल्टी भई वादीको फिराद दाबी पुग्न नसक्ने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादीबाट अंश पाउँ भन्‍ने वादी दाबी नपुग्ने ठहरेकोले वादीले सुरूमा फिराद गर्दा राखेको कोर्ट फी रू.१५,४१८।–, तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रू.१०,०७५।– र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रू.२३१३।– समेत गरी जम्मा रू.२७,८०६।– राजस्व खातामा सदर स्याहा भइसकेको देखिँदा कोर्ट फी सम्बन्धमा केही गरिरहनु परेन …………………………………………१

सरोकारवालाले प्रस्तुत फैसलाको प्रतिलिपि पाउँ भनी माग गरेमा नियमानुसार लाग्ने दस्तुर लिई रीतपूर्वकको प्रतिलिपि दिनू…………………………………………२

प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी दायरीको लगत कट्टा गर्नु र सुरू तथा रेकर्ड मिसिल सम्बन्धित अदालतमा पठाई यस अदालतको मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू …………३

 

उक्त रायमा मेरो सहमति छ ।

न्या.बालकृष्ण ढकाल

 

माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गानाको रायः 

१. प्रस्तुत मुद्दामा पुनरावेदकको जिकिरका सम्बन्धमा निर्णय दिनुपर्ने प्रश्‍नको निर्धारण र तत् सम्बन्धमा माननीय न्यायाधीसहरूको उपयुक्तबमोजिमको बहुमत रायसँग सहमत हुन नसकेकोले विनम्रतापूर्वक देहायबमोजिम आफ्नो छुट्टै राय व्यक्त गरेको छुः–

२. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर, पूर्ण इजलासबाट प्रस्तुत मुद्दा पुनरावलोकन गर्न अनुमति प्रदान गर्दा ग्रहण गरेका आधारहरू र दुवै पक्षका विद्वान् कानून व्यवसायीहरूबाट प्रस्तुत तर्कपूर्ण बहसलाई समेत दृष्टिगत गरी हेर्दा मूलतः देहायका प्रश्‍नहरूको निरूपण गर्नुपर्ने देखिन्छः–

क. प्रस्तुत मुद्दाका वादी प्रतिवादीहरू अंशबन्डा गर्नुपर्ने नाता सम्बन्धका अंशियारहरू हुन् वा होइनन् ?

ख. वादी प्रतिवादीहरूबिच अंशबन्डा भएको देखिन्छ वा देखिँदैन ?

ग. वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट वादीले ४ भागको १ भाग अंश छुट्ट्याई लिन पाउने ठहर्‍याई यस अदालतको संयुक्त इजलासबाट मिति २०७२।०१।०६ मा भएको फैसला मिलेको छ वा छैन ?

 

३. पहिलो प्रश्‍नतर्फ विचार गर्दा, पुनरावेदक प्रतिवादी धनमान सिंह बस्नेतले सुरू काठमाडौं जिल्ला अदालतमा प्रतिउत्तरपत्र पेस गर्दा म प्रतिवादीले विपक्षी वादीलाई चिन्दिनँ । मेरो एकासगोलका परिवारका अंशियार नभएकोले अंश छुट्ट्याई दिनुपर्ने होइन भनी जिकिर लिए पनि प्रतिवादीमध्येका गणेशमान सिंह बस्नेतले नाता सम्बन्धमा बयान गर्दा इन्द्रमान सिंहका विष्णुमान, हेममान, बद्रीमान, पहलमान र यज्ञमानसमेत ५ छोरा हुन् । जेठा विष्णुमानका छोरा जगतमान, निजका छोरा धनमान हुन् । काहिँला पहलमानको छोरा प्रतिवादी गणेशमान र कान्छा यज्ञमानका छोरा स्वर्गीय पदममान र निजको पत्‍नी अयोध्यादेवी हुन् । म गणेशमानको भाउजू र धनमानकी ठुलीआमा नाताकी वादी अयोध्यादेवी हुन् भनी खुलाएको देखिन्छ । बहुमत माननीय न्यायाधीसहरूको रायमा प्रतिवादीका हजुरबुबा र वादी अयोध्यादेवीको मु.स. गर्ने उत्तमकुमार सिंह बस्नेतका हजुरबुबा दाजुभाइ रहेको तथ्यमा विवाद रहेन भन्‍ने कुरा उल्लेख भएकोले त्यसतर्फ थप विवेचना गर्नुपर्ने देखिएन । वादी तथा प्रतिवादीहरू मूल पुरूष स्वर्गीय इन्द्रमानका छोराहरूको सन्तान नाति पुस्ताका व्यक्तिहरू रहेको र बाबु तथा हजुरबुबाहरूबिच विधिवत् अंशबन्डा भएको भन्‍ने प्रमाणबाट पुष्टि नभएको अवस्थामा निजहरू अंशबन्डा गर्नुपर्ने नातापुस्ताभित्रका अंशियारहरू रहेको देखिन आउँछ ।

४. वादी प्रतिवादीहरूबिच अंशबन्डा भएको देखिन्छ वा देखिँदैन भन्‍ने दोस्रो प्रश्‍नतर्फ हेर्दा, साबिक मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं. मा “अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम बन्डा छुट्ट्याई बन्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिस्ट्रेसन गर्नुपर्नेमा सो गरी राख्‍नुपर्छ । सोबमोजिम नभएको बन्डा सदर हुँदैन“ भन्‍ने व्यवस्था रहेकोमा सो ३० नं.मा मुलुकी ऐनमा सातौं संशोधन भई प्रतिबन्धात्मक वाक्यांश थप गरी “तर यो ऐन प्रारम्भ हुँदासम्ममा बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम करम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो–आफ्नो हिसाब भागशान्तिबमोजिम लिई पाई दाखिल खारेजसमेत गराइसकेको वा बन्डाबमोजिम आफ्नो–आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको ठहरेमा पछि बन्डापत्र रजिस्ट्रेसन भएको छैन वा बन्डा घटीबढी असल कमसल भयो भन्‍न पाउँदैन ।…“ भन्‍ने व्यवस्था रहेको पाइन्छ ।

५. मुलुकी ऐनको सातौं संशोधन मिति २०३४।०९।२७ मा हुनुपूर्व व्यवहार प्रमाणबाट छुट्टीभिन्‍न भएको प्रमाणित भएमा अंशबन्डा भइसकेको मान्‍नुपर्ने भन्‍ने उक्त कानूनी व्यवस्थाबाट स्पष्ट हुन आउँछ । तर सो कानूनी व्यवस्थाबमोजिम व्यवहार प्रमाणबाट छुट्टीभिन्‍न भएको प्रमाणित हुनका लागि “सबै अंशियारबिच घरसारमा अचल सम्पत्ति नरम करम मिलाई विभाजन गरिएको“ वा “त्यसरी विभाजन गरिएको सम्पत्ति सम्बन्धित अंशियारले लिई पाई आफ्नो आफ्नो नाममा दर्ता दाखेल खारेज गराएको“ वा “बन्डाबमोजिम दाखिल खारेज नभए नगराएको भए आफ्नो भागमा परेको सम्पत्ति छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको“ मध्ये कुनै एक वा सोभन्दा बढी अवस्था विद्यमान रहेको हुनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा वादी प्रतिवादीका बिच घरसारमा नरम करम मिलाई अचल सम्पत्ति विभाजन भएको देखिँदैन भने छुट्टाछुट्टै दर्ता दाखिल खारेज भोग बिक्री व्यवहार गरेको पुष्टि हुने प्रमाण पनि पेस भएको देखिँदैन । यसरी साबिक मुलुकी ऐनको अंशबन्डाको महलको ३० नं. मा उल्लिखित अवस्थाहरूको विद्यमानता रहेको नदेखिएको स्थितिमा वादी प्रतिवादीबिच पहिले नै अंशबन्डा भइसकेको रहेछ भन्‍न मिल्ने देखिएन ।

६. प्रमाण ऐन, २०३१ को दफा २७(२) बमोजिम कुनै व्यक्तिले प्रचलित नेपाल कानूनबमोजिम अर्को व्यक्तिलाई कुनै कुरा दिएको वा बुझाएको छ भन्‍ने तथ्य प्रमाणित गर्ने दायित्व त्यस्तो दाबी गर्ने व्यक्ति (प्रतिवादी) मा निहित रहेको स्पष्ट छ । अतः जब कुनै अंशियारले आफूले अंश प्राप्त नगरेको भनी दाबी गर्दछ तब त्यस्तो अंशियारले अंश पाइसकेको छ भन्‍ने कुरा प्रमाणित गर्ने कानूनी जिम्मेवारी बन्डा भइसकेको भनी जिकिर लिने प्रतिवादी पक्षमा रहन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले वादीलाई अंश दिइसकेको वा वादीले अंश प्राप्त गरिसकेको पुष्टि गर्ने कुनै ठोस प्रमाण वा कागजात पेस गर्न सकेको देखिँदैन ।

७. प्रतिवादीले आफ्नो प्रतिउत्तरमा फिरादीलाई चिन्दिनँ भन्‍ने बेहोरा उल्लेख गरेको देखिन्छ भने सोही प्रतिउत्तर पत्रको प्रकरण २(ङ) मा …धेरै अघि नै छुट्टीभिन्‍न भई घरसारमै नरम करम मिलाई अंश छुट्टिसकेको… भन्‍ने बेहोरासमेत उल्लेख गरेको देखिन्छ । त्यसैगरी प्रतिवादी धनमान सिंह बस्नेतले सुरू अदालतमा पेस गरेको तायदाती फाँटवारीमा सम्पत्तिलाई “बन्डा नलाग्ने“ तथा “बन्डा लाग्न सक्ने“ गरी दुई भिन्‍न वर्गमा विभाजन गरेको पाइन्छ । प्रतिवादी आफैँले तयार पारेको उक्त फाँटवारीमा केही सम्पत्तिलाई “बन्डा लाग्न सक्ने“ भनी उल्लेख गर्नुले वादी प्रतिवादीहरूबिच अंशबन्डा नभएको र वादीको अंश प्राप्त गर्ने अधिकार अझै कायम रहेको तथ्यलाई स्पष्ट सङ्केत गर्दछ । यस प्रकारको वर्गीकरणबाट वादी र प्रतिवादीबिच अंशबन्डा हुन बाँकी रहेको तथ्य प्रतिवादीले नै स्वीकार गरेको मान्‍नुपर्ने देखियो । यसबाट वादी प्रतिवादी बाबुबाजेकै पालामा छुट्टीभिन्‍न भएको भन्‍ने प्रतिवादीको प्रतिवाद जिकिर स्वतः खण्डित भएको स्पष्ट छ भने यी वादी प्रतिवादी एकासगोलकै अंशियार रहेको तथ्य स्थापित भएको छ ।

८. अंशियारको सम्बन्धमा नातामा विवाद नभएपछि वादीले अंश पाउनुपर्ने कुरालाई कानूनबमोजिम प्राप्त जन्मसिद्ध हक अधिकारको रूपमा लिनुपर्ने । कुनै पनि व्यक्तिले कानून प्रतिकूल अंशियारविहीन हुनुपर्ने वा पटक पटक अंश पाइरहने भन्‍ने स्थिति स्वीकार्य नहुने । अंशमा दाबी गर्ने पक्षले आफू अंशियार भएको नाता सम्बन्धमा र अंश नपाएको कुरा स्थापित गर्नुपर्दछ भने अंश पाइसकेको भनी प्रतिवाद गर्ने पक्षले सगोलको सम्पत्तिबाट कुनै सम्पत्ति वादीले पाएको भए वादीले के कुन मितिमा के कुन सम्पत्ति के कुन रूपबाट प्राप्त गरेको हो, सो सम्पत्ति वादीको हकभोग स्वामित्वमा आएको वा निजले बिक्री व्यवहार दान दातव्य वा अरू कारणबाट हाल निजको जिम्मामा नरहेको वा हक स्वामित्व समाप्त भएको भनी पुष्ट्याइँ गर्नुपर्ने । अंशबन्डा भएको लिखत प्रमाण व्यवहार भोगसमेतबाट देखिने हुनुपर्छ, प्रतिवादीको नाममा धेरै कित्ता जग्गा छ, तर वादीको नाममा एक कित्ता पनि दर्ता नामसारी नभएको परिप्रेक्ष्यमा अंशबन्डा भइसकेको ठहराउन न्यायोचित नहुने भनी यस अदालतबाट ने.का.प. २०६५, अङ्क १, नि.नं. ७९२० मा सिद्धान्त प्रतिपादन भएको पाइन्छ । उक्त सिद्धान्तलाई प्रस्तुत मुद्दाको रोहमा हेर्दा वादी प्रतिवादीबिच नाता सम्बन्धमा कुनै विवाद नरहेको, प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा निजको नाउँमा पुर्ख्यौली सम्पत्ति धेरै देखिएको, उक्त तायदाती फाँटवारीमा नै बन्डा लाग्न सक्ने सम्पत्तिको विवरण उल्लेख भएको साथै सगोलको सम्पत्तिबाट वादीले के कुन सम्पत्ति पायो भन्‍ने कुराको पुष्‍ट्याइँ प्रतिवादीले गर्न नसकेको अवस्थामा वादी प्रतिवादीहरूबिच अंशबन्डा भएको भनी निष्कर्षमा पुग्न न्यायोचित हुने देखिएन ।

९. अब, पूर्ण इजलासबाट प्रस्तुत मुद्दा पुनरावलोकन गर्ने अनुमति प्रदान गर्दा ग्रहण गरिएका आधार हेरौं । प्रतिवादीका पिता जगतमानले आफ्ना पिता विष्णुमान स्वर्गे भएपश्‍चात् ६ भागको एक भागसम्म माग गरेबमोजिम लालमोहरबाट मिति १९६६।०५।१६ मा प्राप्त गरेको भन्‍ने पहिलो आधार लिएको देखियो । उक्त लालमोहरबाट फुकुवा भएको सम्पत्ति वादी प्रतिवादीका पूर्वजहरूको सम्पत्ति रहेको कुरा स्थापित छ । उक्त सम्पत्ति वादीहरूका हजुरबुबा यज्ञमानले गरेको कसुरबापत सर्वस्व भएको भन्‍ने जिकिरसमेत छैन । वादी प्रतिवादीका मूल पुरूष पूर्वज इन्द्रमानका भाइ देवीमानका छोरा असमानले गरेको लालमोहर किर्तेको कारण सबै सम्पत्ति सर्वस्व भएको भन्‍ने तथ्य उल्लेख भएको देखियो । उक्त सर्वस्व भएको सम्पत्ति ६ भागको १ भाग फुकुवा हुनुको प्रामाणिक आधार वा औचित्य पनि स्पष्ट हुन सकेको पाइँदैन । प्रतिवादी धनमान सिंह बस्नेतका हजुरबुबा विष्णुमानको निवेदनको आधारमा जगतमानले सर्वस्व भएको सम्पत्तिको ६ भागको १ भाग फुकुवा प्राप्त गरेको भए पनि निजले कुनै वीरता प्रदर्शन नगरी पुरस्कार पाएको वा रिझबापत प्राप्त गरेको भन्‍ने लालमोहर लिखतबाट देखिएको छैन । वादीका हजुरबुबा यज्ञमान र प्रतिवादीका हजुरबुबा विष्णुमानसमेतका ५ दाजुभाइहरूबिच अंशबन्डा भएको ठोस प्रमाण पेस नभएकोले सबै दाजुभाइ एकासगोलमा रहँदा एक भाइले प्राप्त गरेको उक्त सम्पत्ति विष्णुमानको हाँगातर्फका सन्तानको मात्र एकलौटी हुने र अरू भाइका सन्तानले त्यसबाट अंश पाउन नसक्ने कुनै कानूनी वा प्रामाणिक आधार पुनरावेदकले पेस गर्न सकेको देखिएन ।

१०. त्यसैगरी वादी प्रतिवादीको अलगअलग ७ नं. फाँटवारी रहेको भन्‍ने आधारलाई समेत पुनरावलोकनको अनुमति प्रदान गर्दा ग्रहण गरेको देखिन आएको छ । ७ नं. फाँटवारी भूमिसम्बन्धी ऐन, २०२१ को प्रयोजनको लागि दर्तावालले हदबन्दी प्रयोजनको लागि भरिने हुँदा अर्कै प्रयोजनको लागि भरिने ७ नं. फाँटवारीलाई साबिक मुलुकी ऐन, अंशबन्डाको ३० नं. को प्रयोजनको लागि अंशियारहरू छुट्टीभिन्‍न भएको प्रमाणको रूपमा ग्रहण गर्न न्यायोचित हुने देखिँदैन । यसै सन्दर्भमा यस अदालतबाट ने.का.प. २०६२, अङ्क ८, नि.नं. ७५८० मा वादी र प्रतिवादीहरूको भोगमा रहेको सम्पत्ति समान नदेखिई अस्वाभाविक अन्तरको देखिएको हुँदा भागशान्ति लिए पाएको भन्‍न सकिने अवस्था नदेखिने । यो यो पैतृक सम्पत्ति वादी प्रतिवादीहरूले दाखिल खारेज गरेको तथा अंशमा पाएको सम्पत्ति यो यसरी अलगअलग भोग बिक्री व्यवहार गरेको भन्‍ने कुराको प्रतिवादी पक्षबाट कुनै प्रमाण दिन गुजार्न सकेको समेत नदेखिँदा ७ नं. फाँटवारी अलग भरेको र फिल्डबुकमा लेखिएको बेहोराका भरमा मात्र वादी र प्रतिवादीहरू व्यवहार प्रमाणबाट छुट्टीभिन्‍न भएको मान्‍न नसकिने भनी नजिर सिद्धान्तसमेत प्रतिपादन भएको देखिन्छ ।

११. अब पूर्ण इजलासले पुनरावलोकन अनुमति प्रदान गर्दा आधार लिएका नजिरतर्फ हेरौं । यस सन्दर्भमा आदेशमा उद्धृत भएका मूलतः ४ वटा नजिरहरू ने.का.प. २०४०, अङ्क ७ नि.नं. १७०४, ने.का.प. २०४६ अङ्क ९ नि.नं. ३९३७, ने.का.प. २०४५ अङ्क १० नि.नं. ३६२५ र ने.का.प. २०४२ अङ्क ७ नि.नं. २४२२ को अध्ययन र विश्‍लेषण गर्नुपर्ने देखिन आयो । ने.का.प. २०४० अङ्क ७ नि.नं. १७०४ सँग सम्बन्धित उत्प्रेषणको रिट निवेदनमा रिट निवेदकहरू जग्गाधनी भएको जग्गामा त्यसरी मोहीको प्रमाणपुर्जा बनाइदिने निर्णय गर्नुअघि जग्गाधनीलाई बुझी निजको समेत कुरामा ध्यान दिई निर्णय गर्नुपर्ने भनी व्याख्या भएको पाइन्छ । उक्त व्याख्या प्रस्तुत मुद्दाको कानूनी प्रश्‍नसँग कुनै सान्दर्भिकता रहेको देखिँदैन । ने.का.प. २०४६ अङ्क ९ नि.नं. ३९३७ सँग सम्बन्धित अंश मुद्दामा २०२१ सालदेखि नै ७ नं. फाराम अलग अलग भरी वादी पहाडमा बसी तथा प्रतिवादी मधेसमा रही जग्गाको भोग अलग अलग रूपमा गरेको तथा २०३३ र २०४० सालमा पटक पटक वादीले मात्र आफ्नो हकभोगको जग्गा भनी विभिन्‍न व्यक्तिलाई बिक्री गरेको भनी देखिएको तथ्यगत आधारमा भूमिसुधार लागु हुँदा जग्गावालाका हैसियतले पेस गर्नुपर्ने ७ नं. फाराम वादी प्रतिवादीले अलगअलग भरेको र त्यसपछि वादीले पटक पटक विभिन्‍न व्यक्तिलाई ७ नं. फाराम आफैँले भरी आफ्नो हकभोग भएको भन्‍ने बेहोरा जनाई बिक्री गरेको देखिन आएकोले व्यवहार प्रमाणबाट अंशबन्डा भइसकेको मान्‍नुपर्ने भनी सिद्धान्त प्रतिपादन भएको देखियो । प्रस्तुत मुद्दामा प्रतिवादीको नाममा निकै धेरै जग्गा रहेको, वादीको नाममा बिटौरीमा प्राप्त थोरै जग्गा बाहेक केही सम्पत्ति भोग व्यवहारमा नरहेको र वादीले त्यसरी पटक पटक जग्गा बिक्री गरेको भन्‍ने तथ्य प्रमाणसमेत मिसिलमा नदेखिँदा उक्त सिद्धान्त प्रस्तुत मुद्दामा नजिरको रूपमा आकर्षित हुने अवस्था देखिएन ।

१२. त्यसैगरी ने.का.प. २०४५ अङ्क १० नि.नं. ३६२५ सँग सम्बन्धित अंश मुद्दामा वादीले जग्गा बिक्री गरेको लिखतमा बिक्री गरेको जग्गा कसैको हक नलाग्ने आफ्नो एकलौटी हकको जग्गा भनी देखाई मिति २०३०।०३।०८ मा बिक्री गरेको, सगोलमा रहेका भनिएका कुनै अंशियारलाई साक्षी नराखेको र प्रतिवादीहरूले पनि २०३३, २०३४, २०३६ र २०४१ सालहरूमा छुट्टै व्यवहार गरी जग्गाहरू आर्जेको देखिएको तथ्य प्रमाणको आधारमा स्वतन्त्र रूपबाट आ–आफ्नो बिक्री व्यवहार चलाई आएको भनी अंशबन्डा भइसकेको न्यायिक निष्कर्ष निकाली सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी धनमान सिंह बस्नेतको नाममा मिति १९९६।०५।१६ को लालमोहरबाट प्राप्त जग्गासमेत नामसारी दर्ता भई करिब २४० कित्ताभन्दा बढी जग्गा हकभोगमा रहेको, सोही अनुपातमा प्रत्यर्थी वादीहरूको हकभोगमा सम्पत्ति रहेको नदेखिएको, पुनरावेदक प्रतिवादीले तायदाती फाँटवारीमा एउटै स्रोतबाट प्राप्त जग्गा केही बन्डा नलाग्ने र केही बन्डा लाग्न सक्ने भनी उल्लेख गरेको यसबाट वादी प्रतिवादीका हजुरबुबाहरूबिच अंशबन्डा भएको भन्‍ने यकिन मिति वा प्रमाण पेस नगरी मौखिक रूपमा प्रतिवादीले लिएको जिकिर निजकै तायदाती फाँटवारीको बेहोराले खण्डित गरेकोले प्रस्तुत मुद्दामा वादी प्रतिवादीबिच सम्पत्तिको समानुपातिक भोग बिक्री व्यवहार पुष्टि हुन नसकेकोले उक्त सिद्धान्तसमेत आकर्षित हुने अवस्था देखिन आएन । ने.का.प. २०४२ अङ्क ७ नि.नं. २४२२ सँग सम्बन्धित उत्प्रेषणको रिट निवेदनमा मोही नामसारीको प्रश्‍न रहेको देखियो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को (१) मा ससुराको मोहियानी हक बुहारीमा नामसारी हुन सक्ने भन्‍ने व्यवस्था गरेको नपाइने भनी व्याख्या भएको उक्त नजिर प्रस्तुत मुद्दाको प्रकृति र कानूनी प्रश्‍नसँग समान नदेखिँदा प्रथमदृष्टिमा नै आकर्षित हुन सक्ने देखिएन ।

१३. अर्कोतर्फ प्रस्तुत मुद्दामा रहे जस्तै कानूनी प्रश्‍नमा साबिक अंशबन्डाको महलको ३० नं.को व्याख्या गर्दै यस अदालतबाट ने.का.प. २०६० अङ्क १ नि.नं. ७१७२ मा वादी प्रतिवादी दुवैको नाउँमा भूमिसम्बन्धी अनुसूची फाराम १ नं. तथा ७ नं. फारामहरू अलगअलग भरी छुट्टै बस्दै आएको भन्‍ने सम्बन्धमा जग्गाको विवरण भरी एकै परिवारका २ व्यक्तिले अलगअलग पेस गर्दैमा अंशबन्डा भइसकेको भन्‍न सकिने स्थिति नहुने भनी सिद्धान्त प्रतिपादन भएको देखियो । ने.का.प. २०६२ अङ्क ८ नि.नं. ७५८० मा वादी र प्रतिवादीहरूको भोगमा रहेको सम्पत्ति समान नदेखिई अस्वाभाविक अन्तरको देखिएको हुँदा भागशान्ति लिएको पाएको भन्‍न सकिने अवस्था नदेखिने भनी व्याख्या भएको पाइन्छ । त्यसैगरी ने.का.प. २०७४ अङ्क ५ नि.नं. ९८०३ मा अंशियार छोरा नातामा नै इन्कार गरेको अवस्थामा वादीले अंश पाएको भन्‍ने अवस्था नरहने भनी सिद्धान्त प्रतिपादन भएको देखिन आयो । प्रस्तुत मुद्दामा समेत वादी प्रतिवादीहरूको भोगमा रहेको सम्पत्ति अस्वाभाविक रूपमा अन्तर देखिएको छ । प्रतिवादीले सुरू प्रतिउत्तरपत्रमा वादीलाई चिन्दिनँ भनी नातामा नै विवाद उठाएको अवस्था रहेको र अंश दिनु नपर्ने प्रमुख आधारको रूपमा अलग अलग ७ नं. फाराम भरेको विषयलाई देखाएको स्थिति हुँदा यी पछिल्लो समयमा प्रतिपादित सिद्धान्तको आधारमा समेत वादी र प्रतिवादीहरूबिचमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको भनी निर्णयमा पुग्न न्यायोचित एवं कानूनसम्मत हुने देखिएन ।

१४. तसर्थ, माथि विभिन्‍न प्रकरणहरूमा विवेचना गरिएअनुसार वादी प्रतिवादीबिच नाता पुस्ता प्रमाणबाट स्थापित भएको, निजहरूबिच रीतपूर्वकको अंशबन्डा भएको भन्‍ने नदेखिएको र प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा बन्डा लाग्न सक्ने सम्पत्ति भनी प्रस्ट उल्लेख भएको स्थितिमा फिराद दाबीबमोजिम वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट वादीले ४ भागको १ भाग अंश छुट्ट्याई लिन पाउने ठहर्‍याएको यस अदालतको संयुक्त इजलासको फैसला न्यायको रोहमा मनासिब देखिँदा अन्यथा गर्नुपर्ने देखिएन । यस अदालतको संयुक्त इजलासको मिति २०७२।०१।०६ को फैसला उल्टी गरी वादी दाबी पुग्न नसक्ने भनी बहुमत माननीय न्यायाधीसहरूले व्यक्त गर्नुभएको रायसँग मेरो सहमति हुन नसकेकोले यो अलग राय व्यक्त गरेको छु ।

 

इजलास अधिकृतः तिर्थ लक्ष्मी महर्जन

इति संवत् २०८१ साल फागुन ११ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु