शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४३६६ - निषेधाज्ञा

भाग: ३३ साल: २०४८ महिना: पौस अंक:

निर्णय नं. ४३६६     ने.का.प. २०४८      अङ्क ९, १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

सम्वत् २०४६ सालको दे.पु.नं. ८७२

फैसला भएको मिति : २०४८।८।२९।१ मा

पुनरावेदक/वादी: जि.बाँके नेपालगञ्ज नगरपालिका वडा नं. ११ बस्ने डा.छत्रपाल अग्रवाल

विरुद्ध

प्रतिवादी: ऐ.ऐ.बस्ने शौक्त अलि मोचीसमेत

मुद्दा : निषेधाज्ञा

(१)    प्रमाणको अभावमा प्रतिवाद गर्दा मेरो भनेकै आधारमा हक बेहकको प्रश्न समावेश रहेको भन्न मिलेन ।

(प्रकरण नं. १२)

(२)   प्रतिवाद जिकिरबाटै सेफ्टी टंकी सफा गर्ने कार्यमा अवरोध हुने आशंकाकै विद्यमानतामा निषेधाज्ञाको आदेश जारी गर्ने ठहर्‍याएको अञ्चल अदालतको फैसला मिलेको देखिँदा सो फैसलालाई उल्टी हुने ठहराएको क्षेत्रीय अदालतको निर्णय बदर हुने ।

(प्रकरण नं. १२)

पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास

फैसला

न्या.रुद्रबहादुर सिंह

१.     मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।१०।१० को फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    जि.बाँके ने.गं.न.पं. वडा नं. ११ मा पर्ने मेरो घरको पूर्व पट्टि रहेको मेरो सेफ्टी टंकी सफा गर्न लाग्दा विपक्षीहरुले रिसइवी सध्य गर्नलाई सो सेफ्टी टंकी सफा गर्न दिन्नौं भन्दै धम्की दिंदै हिंडेका र टंकी सफा नगरेमा दुर्गन्ध फैलिई मेरो घर र आसपासमा समेत बस्न नहुने भएकोले उक्त टंकी सफा गर्दा विपक्षी अन्यायीहरुले अनाहकमा हुल हुज्जत गरी झगडा गर्ने पूर्ण आशंका भएकाले मेरो एकलौटी हक भोगको सम्पत्तिमा कुनै किसिमको आघात पर्न नपाउने गरी नागरिक अधिकार ऐन, २०१२ को दफा १७(२) अनुसार विपक्षीका नाउँमा अन्तरिम आदेश सहितको निषेधाज्ञा जारी गरी पाउँ भन्ने समेत डा.छत्रपाल अग्रवालको निवेदनपत्र ।

३.    विपक्षीले सार्वजनिक जग्गा च्यापी दिवाल लगाएको र सो ठाउँमा रहेको म सामूल हक मोचीको जग्गा समेतलाई सार्वजनिकमा पार्ने यो झुठ्ठा निवेदन दिएका हुन निवेदकले सेफ्टी टंकी सफा गर्न नपाएको भन्ने काल्पनिक व्यहोरा पारी झुठ्ठा निवेदन दिएकोले निवेदन खारेज गरी पाउँ भन्ने समेत सामूल हक मोचीको लिखितजवाफ ।

४.    निवेदनमा उल्लेखित सेफ्टी टंकी निवेदकको नभई वसिमूल हक मोचीको हो सो सेफ्टी टंकी रहेको जग्गामा नै विपक्षीको कुनै हक नभएकोमा झुठ्ठा निषेधाज्ञा गरी पाउँ भनी दिएको निवेदन खारेज गरी पाउँ भन्ने समेत सौकत अलिको लिखितजवाफ ।

५.    निवेदकले नेपालगंज नगरपञ्चायतबाट (साविक पेज नं. ५३१) ०२६।९।८ मा सेफ्टी टंकी बनाउन नक्शा पास गराई निवेदकले सेफ्टी टंकी बनाएको भन्ने देखिने र विपक्षीहरुले बिना प्रमाण सेफ्टी टंकीमा नै विवाद सृजना गरेको पाइएकाले यस अवस्थामा सेफ्टी टेंकी सफा गर्दा विपक्षीहरुले बाधा अपरोध नगर्लान भन्न सक्ने अवस्था नहुँदा सो हुन नपाउने गरी विपक्षीहरुका नाउँमा निषेधाज्ञाको आदेश जारी हुने ठहर्छ भन्ने समेत भेरी अञ्चल अदालतको मिति ०४४।१२।११ को निर्णय आदेश ।

६.    निवेदकको माग अनुसार निषेधाज्ञाको आदेश जारी हुने ठहर्‍याएको भेरी अञ्चल अदालतको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भन्ने समेत सामुल हक मोचीको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

७.    सेफ्टी टेंकीमा समेत विवाद देखिएको अवस्थामा निषेधाज्ञाको आदेश जारी गर्ने ठहर्‍याएको भेरी अञ्चल अदालतको निर्णय नमिली फरक पर्ने देखिँदा विपक्षी भिकाई पेश गर्नु पर्ने समेत म.प.क्षे.अ.को मिति ०४५।६।१३ को आदेश ।

८.    निवेदन जिकिरको सेफ्टी टेंकीमा तेरो मेरो परी हक बेहकको प्रश्न उपस्थित भएकोले विवादित सेफ्टी टेंकी कसको हक भोगको हो भन्ने सम्बन्धमा सबूद प्रमाण बुझी हक बेहक गर्ने प्रकृतिको मुद्दामा यो निषेधाज्ञा पर्न आउँदैन । निर्विवाद हक स्थापित भई नसकेको अवस्थामा निषेधाज्ञा जारी गर्न नमिल्ने हुन्छ । तसर्थ निषेधाज्ञा जारी गर्ने ठहर्‍याएको भेरी अञ्चल अदालतको आदेश नमिलेकोले उल्टी हुन्छ भन्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।१०।१० को फैसला ।

९.    नेपालगंज नगर पञ्चायतबाट २०२६ सालमा इजाजत प्राप्त गरी बनाएको सेफ्टी टेंकी निर्विवाद रुपमा भोग चलन गर्दै आइरहेको र उक्त सेफ्टी टेंकीमा मेरो कानुनी हक एवं भोगाधिकारको हक स्थापित हुँदा हुँदै पनि भेरी अञ्चल अदालतबाट जारी भएको निषेधाज्ञाको आदेश बदर गरी भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला पूर्णतया न्यायिक मनको अभावमा निषेधाज्ञाको सिद्धान्त विपरीत रहेकोले यस्तो कानुन विपरीत भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी भेरी अञ्चल अदालतको फैसला सदर गरी पाउँ भन्ने समेत पुनरावेदक वादी डा.छत्रपाल अग्रवालको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

१०.    यी पुनरावेदकले २०२६ सालमा नेपालगंज नगर पञ्चायतबाट रीतपूर्वक नक्शा पास गराई विवादित सेफ्टी टेंकी बनाएको मिसिल प्रमाणबाट देखिएकोलाई विपक्षी प्रतिवादी सामुलहकले बिना प्रमाण उक्त टेंकी आफ्नो हो भनी भनेको आधारमा हक बेहकको प्रश्न उपस्थित भएको भनी निषेधाज्ञाको निवेदन खारेज गर्ने गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।१०।१० को फैसला फरक पर्ने देखिएको हुँदा छलफलको निमित्त अ.बं. २०२ नं. तथा सर्वोच्च अदालत नियमावली, २०२१ अनुसार विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति ०४६।११।२ को आदेश ।

११.    नियमानुसार दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले मेरो पक्षले २०२६ सालमा नेपालगंज नगरपञ्चायतबाट नक्शा पास गराई स्वीकृति लिएर उक्त सेफ्टी टैंक बनाएको र भोग गरी आएको कुरामा कुनै विवाद छैन । हाल आएर उक्त सेफ्टी टेंकी सफा गर्न नदिएर विवाद उठेको छ । २०२६ सालमा विपक्षीको बाबुले चर्पी बनाउन हुँदैन भनेको छ भने अहिले आएर छोराले उक्त विवादित टंकी मेरो भनेको कुरामा मिलेको छैन । उक्त टेंकी भएको जग्गा विपक्षीको हो भन्ने कुनै प्रमाण छैन । यसमा तेरो मेरोको प्रश्न छैन । जग्गा मेरै पक्षको हो भन्ने कुरामा कुनै विवाद नै छैन । २०२६ सालमा नक्शा पास गराई बनाउँदा कुनै विरोध नगरी बसेको र (साविक पेज नं. ५३२) र विवादित जग्गा आफ्नो हो भन्ने कुनै प्रमाण समेत विपक्षीले गुजार्न नसकेकोले तेरो मेरोको प्रश्न नै नभएकोले मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला बदर भई भेरी अञ्चल अदालतको फैसला सदर हुन पर्छ भन्ने बहस प्रस्तुत गर्नु भयो ।

१२.   यसमा पुनरावेदक वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ताको बहस र पुनरावेदन सहितका मिसिल संलग्न कागजातहरु अध्ययन गरी इन्साफतर्फ विचार गर्दा भेरी अञ्चल अदालतले जारी गरेको निषेधाज्ञाको आदेशलाई बदर गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के छ सो मा निर्णय दिनु पर्ने हुन आएको छ । प्रस्तुत मुद्दामा पुनरावेदक वादीले २०२६ सालमा नेपालगंज नगरपञ्चायतबाट नक्शा पास गराई सेफ्टी टेंकी बनाएको भन्ने मिसिल संलग्न नक्शा पास पुर्जीबाटै देखिन्छ । विपक्षीले आफ्नो हक भोगको हो भन्ने जिकिर लिए तापनि निजले सो जग्गा आफ्नो हो भन्ने कुराको कुनै प्रमाण पेश गर्न सकेको देखिँदैन । यसरी विपक्षीको प्रमाणको अभावमा प्रतिवाद गर्दा मेरो भनेकै आधारमा हक बेहकको प्रश्न समावेश रहेको भन्न मिलेन । प्रतिवाद जिकिरबाटै सेफ्टी टेंकी सफा गर्ने कार्यमा अवरोध हुने आशंकाकै विद्यमानतामा निषेधाज्ञाको आदेश जारी गर्ने ठहर्‍याएको भेरी अञ्चल अदालतको फैसला मिलेको देखिँदा सो फैसलालाई उल्टी हुने ठहराएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय खारेज गर्ने गरेको फैसला बदर हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केशवप्रसाद उपाध्याय

 

इति सम्वत् २०४८ साल मंसीर २९ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु