निर्णय नं. १५६८ - अदालतको अवहेलना ।

निर्णय नं. १५६८ ने.का.प. २०३९ अङ्क ६
सिंगलबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
सम्वत् २०३९ सालको रिट नं.१५९
आदेश भएको मिति : २०३९।६।१०।१ मा
निवेदक : अधिवक्ता श्री बिष्णुप्रसाद भट्टराई
विरुद्ध
विपक्षी : सम्माननीय प्रधान मन्त्री श्री सूर्यबहादुर थापा समेत
विषय : अदालतको अवहेलना
(१) कसैको हक हितमा आघात भएमा कानून बमोजिमको उपचार प्रदान गर्न राज्यमा अदालतको स्थापना भएको हुन्छ । न्यायको पवित्र प्रवाहबाट त्यसको तिर्खा मेट्ने सुअवसर सबैलाई उपलब्ध छ । तर कसैले यसको उपभोग गर्दैन भन्ने कुराले यसको गति मन्द हुने होइन। जबसम्म यो स्वच्छ रुपमा निरन्तर प्रवाहित भइरहेको हुन्छ । यसको गतिमा कुनै कुराले अवरोध उत्पन्न गर्दैन, तबसम्म अदालतको गरिमामा आघात पर्यो भन्न सकिने स्थिति हुँदैन ।
(प्रकरण नं. ६)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल
विपक्षी तर्फबाट :
उल्लिखित मुद्दा :
आदेश
न्या.धनेन्द्रबहादुर सिंह
१. अदालतमा चौविस घण्टा धाएर तारेख खेप्ने पक्षमा आफू नरहेको र त्यस प्रकारको मुद्दामा लाग्ने आफ्नो बानी नभएको कुरा पनि श्री थापाले बताउनु भयो भन्ने कुरा २०३९ भाद्र ३ गतेको गोरखापत्रमा प्रकाशित भएकोमा उक्त पत्रिकाको सम्पादकलाई समेत विपक्षी बनाई अदालतको अवहेलनामा सजाय गरी पाउँ भनी प्रस्तुत निवेदन पर्न आएको छ ।
२. निवेदक र निवेदक तर्फका विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले चौविसै घण्टा धाएर तारेख खेप्ने पक्षमा आफु नरहेको भन्ने वाक्यांशले अदालतको अवहेलना हुन गएको छ । किनभने, अदालतमा मुद्दा गरे पछि तारेख खेप्नु पर्छ र तारेखको सिलसिलामा अदालतमा चौविसै घण्टा उपस्थित भई रहनु पर्छ भन्ने यो भनाईको अर्थ हो अदालत १० देखि ५ या ४ बजे सम्म मात्र खुल्छ भने चौविसै घण्टा अदालतमा उपस्थित हुनु पर्छ भन्ने कुरा अदालतलाई ब्यंग गरेको भयो, अदालतलाई निचा देखाएको हुन्छ । तसर्थ, यो अदालतको अवहेलना भयो भन्ने बहस प्रस्तुत गर्नु भएको छ ।
३. अदालतको मान मर्यादा र यसको भव्यता सदा कायम रहोस् भन्ने जनभावनाको परिपूर्ति गर्न र त्यसको सुरक्षा गर्न अदालतको अवहेलनामा कारवाही चलाई दोषीलाई दण्डित गर्ने अधिकार प्रयोगमा ल्याइने कुरा हो । निवेदन जिकिरबाट सो कुरा देखिन्छ देखिँदैन हेर्नु पर्ने हुन आएको छ ।
४. सर्वप्रथम उक्त गो.प.मा प्रकाशित समाचार के कस्तो प्रकारको छ हेरौं । निवेदनमा चौबिस घण्टा धाएर तारेख खेप्ने पक्षमा आफू नरहेको भन्ने वाक्यांशले अदालतको अवहेलना हुन गएको भनिएको छ । उक्त गो.प.मा प्रकाशित सो सम्पूर्ण लेखको अवलोकन गरी उक्त वाक्यांशको सन्दर्भ र अभिप्राय पहिल्याउनु पर्ने हुन्छ । उक्त लेखमा अदालतमा २४ घण्टा धाएर तारेख खेप्ने पक्षमा आफू नरहेको र यस प्रकारको मुुद्दामा लाग्ने आफ्नो बानी नभएको कुरा पनि श्री थापाले बताउनु भयो भन्ने लेखिएको छ । उक्त लेखको अवलोकनबाट मुद्दा नगर्ने भन्ने कुरा व्यक्त गरेको र मुद्दा नगर्नुको कारणमा प्रथम अदालतमा चौविस घण्टा धाएर तारेख खेप्ने पक्षमा नरहेको दोश्रा मुद्दा लड्ने बानी नभएको भन्ने कुरा दर्शाएको देखिन्छ ।
५. मुद्दामा तारेखमा बस्नु पर्छ भन्नेमा दुई मत हुन सक्ने कुरा होइन । चौविस घण्टा धाएर भन्ने कुरा कुन सन्र्दभमा प्रयोग भएको हो भन्ने हेरौं । वालकृष्ण शर्मा लिखित नेपाली शब्द कोषमा “धाउनु” शब्दको अर्थ कुनै काम सिद्ध गर्न बारम्बार जानु, टाढा देखि धेरै पटक जानु वा आउनु भन्ने छ । निकै टाढाबाट आउनु जानु गर्न परे मुद्दामा तारेखमा हाजिर हुन चौविस घण्टा भन्दा अधिक समय लाग्ने स्थिति पनि पर्न सक्छ । अदालतमा एक पटक भन्दा बढि तारेखमा हाजिर हुनु पर्ने आवस्थामा बार बार तारिखमा जानु पर्ने पनि हुन्छ । तसर्थ चौविस घण्टा धाएर भन्ने वाक्यांश पर्याप्त समय लगाएर तारिखमा हाजिर हुन आउनु जानु गर्नु पर्ने भन्ने कुरा व्यक्त गर्न प्रयोग भएको भन्ने दर्शिन्छ । यसरी उपर्युक्त सम्पूर्ण लेखलाई हेर्दा मुद्दा नगर्ने कुरालाई लिएर व्यक्तिगत धारणाको अभिव्यक्ति गरेको सम्म देखिन आउँछ ।
६. कसैको हक हितमा आघात भएमा कानून बमोजिमको उपचार प्रदान गर्न राज्यमा अदालतको स्थापना भएको हुन्छ । न्यायको पवित्र प्रवाहबाट त्यसको तिर्खा मेट्ने सुअवसर सवैलाई उपलब्ध छ । तर कसैले यसको उपभोग गर्दैन भन्ने कुराले यसको गति मन्द हुने होइन। जबसम्म यो स्वच्छ रुपमा निरन्तर प्रवाहित भइरहेको हुन्छ, यसको गतिमा कुनै कुराले अवरोध उत्पन्न गर्दैन, तबसम्म अदालतको गरिमामा आघात पर्यो भन्न सकिने स्थिति हुँदैन ।
७. प्रस्तुत निवेदनमा उल्लेख भएको गो.प.मा छापिएको लेखाईलाई सरसर्ती हेर्दा उपरोक्त आधारमा अदालतको अवहेलना हुने कुरा व्यक्त भएको पाइंदैन । तसर्थ अदालतको अवहेलनामा कारवाई चलाउन पर्ने सम्मको आधार नदेखिएकोले यसबाट केही गरी रहन परेन । प्रस्तुत निवेदन तामेलीमा राखी कानून बमोजिम गर्नु ।
न्यायाधीश,
इतिसम्वत् २०३९ साल आश्विन १० गते रोज १ शुभम् ।